Posts filed under 'Chat With Pashan'

इन्द्रबहादुर राई (सगरमाथा आरोही प्रथम किरात)

सगरमाथा आरोही प्रथम किराती इन्द्रबहादुर राईसंग पनि त्यही कार्यक्रममा मेरो भेट भएको थियो। जुन दिन इन्द्रबहादुर राईसहित, कवि श्रवण मुकारुङ र राष्ट्रगान रचयिता व्याकुल माइलालाई संयुक्तरुपमा सम्मान गरिन लागेको थियो। त्यही क्रममा इन्द्रबहादुर राईसंग केही संक्षिप्त कुराकनी भएका थिए। ती कुराकानीलाई च्याट विथ पशन को रुपमा यहाँ प्रस्तुत गरिएको छ। यो अन्तर्वार्ता नभएर सामान्यतयः हामी दुईजनाबीच भएका संक्षिप्त सम्वाद हो –

पशनः इन्द्रजी तपाईले सगरमाथा आरोहण कहिले गर्नु भयो?
इन्द्रः मैले १५ मे २००६ मा सगरमाथा आरोहण गरेको थिएं। बिहान ६:४० मा सगरमाथाको चुचुरोमा पुगेको थिएं।

पशनः किरातहरुको तर्फबाट तपाई पहिले चोटी सगरमाथाको शिखरमा पुग्नु भएको हो नि होइन?
इन्द्रः हजुर..।

पशनः तपाईपछि अन्य किरात आरोही शिखर पुगेका छैनन्?
इन्द्रः पुगेका छैनन्।

पशनः यसको मतलव हालसम्म तपाईं नै प्रथम र अन्तिम सफल किरात आरोही हुनुहुन्छ ?
इन्द्रः त्यस्तै भन्नु पर्ला। धेरै किरात युवाहरु माउण्टेरिङ क्षेत्रसंग सम्बन्धित छन् तर अहिलेसम्म सगरमाथा जसलाई हामी चोमोलोङ्मा पनि भन्छौं, त्यसको शिखरमा पुग्न सेकका छैनन्।

पशनः तपाईको घर..।
इन्द्रः उदयपुर त्रिबेणी ४, बेलचोक।

पशनः परिवारमा तपाई...?
इन्द्रः कान्छो सदस्य, कान्छो भाई।

पशनः बिवाह..
इन्द्रः बिवाह गरेको छैन.. औपचारिक रुपले..(हाँस्दै)

पशनः त्यस भए उम्मेदवारको खोजिमा..
इन्द्रः हँ हँ..(हाँस्दै) अघोषित..

पशनः अहिले कहाँ बस्नु हुन्छ?
इन्द्रः म काठमाडौं बस्छु।

पशनः पेशा...?
इन्द्रः पेशाले म र्‍याफ्टिङ प्लस क्लामिङ गाइड र म एउटा आउटडोर अपरेटर हुं।

पशनः बाँकी भन्न केही छन् कि..?
इन्द्रः आउट डोर एडबेन्जर क्षेत्रमा लाग्नु भनेको अनुशासनको पाठ पनि सिक्नु हो। माउण्टेरिङ क्षेत्रमा हामी जस्ता जनजातिहरुका लागि राम्रो करियरको प्रशस्त सम्भावनाहरु छन्। त्यसैले म हाम्रा युवाहरुलाई यस क्षेत्रमा कम एन्ड ट्राई ..(Come and Try) भन्न रुचाउंछु।
च्याट विथ पशन

Popularity: 62%

47 comments May 29th, 2007

श्रवण मुकारुङ (युवा कवि)

नेपालका चर्चित युवा साहित्यकार श्रवण मुकारुङसंग लगभग १५/१६ वर्षपछि हङकङको युनलोङ थियटर हलमा पहिलो पटक भेट भयो। किरात राई यायोक्खा हङकङद्वारा आयोजित यलम्बर नाइट तथा सम्मान कार्यक्रम आयोजना हुन लागेको थियो त्यसबेला। श्रवणलगायत नयाँ राष्ट्रगानका रचयिता व्याकुल माइला र सगरमाथा आरोही प्रथम किरात इन्द्रबहादुर राईलाई संयुक्त रुपमा सम्मान गरिंदै थियो। बाहिर दर्शकदिर्घमा दर्शक जुटिसकेका थिए। पर्दा पछाडि कवि श्रवणलगायत कलाकारहरु तयारीमा जुटिरहेका थिए। हतारको छोटो समयमा हामीबीच केही सम्वाद भएका थिए। ती सम्वादलाई च्याट विथ पशन को रुपमा यहाँ प्रस्तुत गरिएका छन्। यो अन्तर्वार्ता नभएर सामान्यतयः हामी दुईजनाबीच भएका संक्षिप्त सम्वाद हो –

पशनः श्रवण जी के छ हाल खबर ?
श्रवणः हजुर, ठीकै छ।

पशनः काठमाडौंमा नै बस्नु हुन्छ नि?
श्रवणः हजुर, काठमाडौं मै बस्छु।

पशनः तपाईको पेशा ?
श्रवणः साहित्य लेखन।

पशनः साहित्य लेखनबाहेक..
श्रवणः त्यस्तो खास केही छैन। पूर्णकालीन साहित्य लेखनमा व्यस्त छु।

पशनः ‘बिसे नगर्चीको बयान’ ज्यादै चर्चित भयो, यसमा तपाईको धारणा के छ?
श्रवणः यो मेरो लागि पनि र समग्रमा नेपाली कविताको लागि, नेपाली कविहरुको लागि एउटा सुखद क्षण हो भन्न म चाहन्छु। यसका कारण चाहि नेपाली कविताले एउटा सामाजिक दर्पन हुने मौका पायो। सोकल्ड -मुठ्ठीभर बौद्धिक लाश भन्नेहरुले कवितालाई आफ्ना पेवा सम्झिरहेका थिए। जहाँबाट ओर्लेर आमबाटोमा समाजको सम्पतिको रुपमा कवितालाई देखाउने प्रयत्नमा यो कविताले राम्रो भूमिका खेले जस्तो लाग्छ।

पशनः साहित्य सृजनाबाहेक सम्पादन, प्रकाशनतर्फ पनि लाग्नु भएको छ कि?
श्रवणः हाललाई छैन। कविता, गीत र चलचित्रका लागि लेख्ने काम गरिरहेको छु।

पशनः कति जति गीत रेकर्ड भयो ?
श्रवणः अढाई सय जति पुग्यो होला।

पशनः तपाईलाई सबभन्दा बढी मन पर्ने आफ्नै गीत ?
श्रवणः मेरा धेरै गीतहरु मलाई मन पर्छन्। यो राम्रो त्यो नराम्रो भन्ने लाग्दैन। कतिपय राम्रा गीतहरु रेकर्ड हुन बाँकी छन्।

पशनः कति जति राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनु भयो ?
श्रवणः राज्यले दिने पुरस्कार मैले पाएको छुईंन। तर जनस्तरबाट स्थापित प्रशस्त पुरस्कार पाएको छु।

पशनः देशमा अहिले लोकतन्त्र आएको छ भनिन्छ, लोकतन्त्रसंगै साहित्य लेखनमा त्यस्तो कुनै परिवर्तन आएको छ?
श्रवणः जरुर परिवर्तन आएको छ। अहिलेका साहित्यमा आदिबासी जनजाति, दलित, महिलाका पक्षमा सम्बोधन गरिएका तिनका अन्तरबस्तुलाई छोएर सृजना भएका रचनाहरु अगाडि आउने क्रम तीब्र छन्। अहिले सामाजिक मुद्दामा र न्यायका पक्षमा लेखिएका साहित्यहरु अगाडि आएका छन्। कोरा कल्पना र मनोविनोदका साहित्यहरु पछि परेका छन्।

पशनः लोकतन्त्रपछि साहित्यमा बढी स्वतन्त्रता आएकै होला नि?
श्रवणः साहित्य सधैं स्वतन्त्र थियो। साहित्यकारले म सधैं बन्दी छु भन्ने सोंच्नु हुंदैन।

पशनः बिसे नगर्चीको बयान पछि पाठकबाट सकारात्मक प्रतिक्रिया आएकै होला तर तपाईलाई धम्की दिने अथवा हतोत्साहित गर्ने खालका प्रयाश कतैबाट भए कि?
श्रवणः त्यस्तो आएको छैन। शासक र सत्ताशिनको विपक्षमा साहित्य जहिले पनि लेखिएको हुन्छ। साहित्य जहिले पनि जनताको पक्षमा लेखिएको हुन्छ। शासक र सत्ता पक्षको विपक्षमा रहेर लेखिएका साहित्य जीवन्त हुन्छन्।

पशनः तपाईको यो विदेश यात्रा पहिलो हो कि साहित्यिक यात्रा..?
श्रवणः यो मेरो पहिलो विदेश यात्रा हो। मेरो लागि यो सुखद क्षणको अनुभव भएको छ।

पशनः (कार्यक्रमको लागि उद्घोषण) तपाईको कार्यक्रम शुरु हुन लाग्यो, पछि भेटौला।
श्रवणः हवस् धन्यवाद।
च्याट विथ पशन

Popularity: 31%

27 comments May 28th, 2007

प्रदीपकुमार राई ‘व्याकुल माइला’ (राष्ट्र गान रचयिता)

देशमा लोकतन्त्र स्थापनापछि नयाँ राष्ट्रगानको चयनसंगै एकाएक चर्चामा आएका प्रदीपकुमार राई ‘व्याकुल माइला’, आफूलगायत कवि श्रवण मुकारुङ र सगरमाथा आरोही प्रथम किरात इन्द्रबहादुर राईको सम्मान कार्यक्रममा सरीक हुन हङकङ आएका थिए। किरात राई यायोक्खा हङकङद्वारा २० मे २००७ मा आयोजित यलम्बर नाइट तथा सम्मान कार्यक्रमको थालनी हुन केही समयअघि व्याकुल माइला र मेरोबीच सामान्य कुराकानी भएका थिए। हतारको छोटो समयमा भएका संक्षिप्त सम्वादलाई यहाँ च्याट विथ पशन को रुपमा समावेश गरिएको छ। यो अन्तर्वार्ता नभएर सामान्यतयः हामी दुईजनाबीच भएका संक्षिप्त सम्वाद हो –

पशनः तपाईको रचना राष्ट्र गानरुपमा चयन भएको छ। कतिको खुशी हुनु हुन्छ ?
व्याकुल माइलाः म एकदम खुशी छु।

पशनः यसभन्दा अघि पनि साहित्यिक लेखनमा सक्रिय हुनु हुन्थ्यो कि?
व्याकुल माइलाः म २०४७ देखि निरन्तर साहित्यिक लेखनमा छु।

पशनः राष्ट्रगानको लागि तपाईको गीत चयन भै सक्यो.. आधिकारिक रुपमा कस्तो जानकारी प्राप्त गर्नुभएको छ कहिलेदेखि कार्यान्वयन होला?
व्याकुल माइलाः छैन, कुनै किसिमको आधिकारिक जवाफ आएको छैन। तर लोकतान्त्रिक सरकारले अति सुझबुझका साथ अत्यन्त परिपक्काताका साथ निर्णय गरिरहेको छ जस्तो लाग्छ।

पशनः तपाईले प्रतियोगितामा सहभागिता जनाउंनु भयो, राष्ट्र गानको रुपमा तपाईको रचना चयन भयो। त्यसपछि पनि कुनै औपचारिक जानकारी आएन?
व्याकुल माइलाः सरकारबाट कुनै जानकारी आएको छैन। मेलै जे थाहा पाएं सञ्चार माध्यमबाट थाहा पाएको हुं। सृजकको काम सृजना गर्नु हो, आफ्नो कर्तव्य पूरा गरेकोछु। जति जानकारी सञ्चार माध्यमबाट आएको छ। मेरो निम्ति त्यही पर्याप्त भएको छ।

पशनः तपाईको खास पेशा..?
व्याकुल माइलाः म कानुन व्यवसायी हुं, अधिवक्ता हुं। नयाँ कानुन व्यवसायी भएको हुनाले यो क्षेत्रमा सिक्दै छु।

पशनः वैवाहिक जीवन..?
व्याकुल माइलाः छैन।

पशनः कुमार नै हुनुहुन्छ- ?
व्याकुल माइलाः (हाँस्दै) हजुर।

पशनः विवाहको सुरसार..?
व्याकुल माइलाः अँ बेला चाहिं घटि्क सकेको छ। गाउंघर जाँदा परिवार, छरछिमेक र समाजले ढिला भै सक्यो भन्छन्- लगन जुरेको छैन..।

पशनः खास कति वर्ष पुग्नु भयो?
व्याकुल माइलाः ३४ नाग्यो।

पशनः तपाईहरुको कार्यक्रम शुरु होला जस्तो छ। पछि भेटौंला।
व्याकुलः हवस्, धन्यवाद।

(केही समयपछि औपचारिक रुपमा सम्मान कार्यक्रम शुरु हुने भएकोले हामीले हाम्रा सम्वादलाई यही टुङ्ग्यायौं।)
अडियोमा राष्ट्रगान सुन्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्

आफ्नो कम्प्युटरमा सेभ गर्न यहाँ Right क्लिक गरेर Save Target As… गरी सेभ गर्नुहोस्।
http://hknepal.com/national-anthem/new-national-anthem.mp3

‘व्याकुल माइला’ द्वारा रचित राष्ट्रिय गानः
सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली

प्रकृतिका कोटीकोटी सम्पदाको आँचल
वीरहरूका रगतले स्वतन्त्र र अटल

ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल

वहूल जाति भाषा धर्म संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।

Popularity: 39%

52 comments May 28th, 2007

राजेश पाईल राई (नेपालका चर्चित गायक)

यलम्बर नाइटका लागि हङकङ आई पुगेका राजेश पाईल राईसंग मेरो जोर्डनस्थित नाँच घरमा मे २६ मा भेट भएको थियो। आकस्मिक भेटको बेला हामीबीच उनका करियरसंग सम्बन्धित केही सम्वादहरु भएका थिए। ती सम्वादलाई च्याट विथ पशन को रुपमा यहाँ प्रस्तुत गरिएको छ। यो अन्तर्वार्ता नभएर सामान्यतयः हामी दुईजनाबीच भएका संक्षिप्त सम्वाद हो –

राजेश पाईल राईका म्युजिक भिडीयोहरू हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्। म्युजिक भिडीयो एचकेनेपाल डट कमका पाठक तथा दर्शकको लागि गायक स्वयंले उपलव्ध गराएका हुन्। यहाँहरूलाई कस्तो लाग्छ कृपया आफ्ना प्रतिक्रिया दिन नभुल्नु होला।

पशनः हङकङ कति चोटी आउंनु भयो?
राजेशः खै १३/१४ पटक आएं हुंला।

पशनः नेपाली गायक कलाकारहरुमा सबैभन्दा धेरै पटक हङकङमा आफ्नो प्रस्तुति दिनेमा तपाईं नै नम्वर वान होला नि..?
राजेशः खै म पर्छु कि शम्भु राई पर्नु हुन्छ।

पशनः तपाईको पहिलो रेकर्ड भएको गीत?
राजेशः सम्झनाको कुरा नगर..., यो गीत म १६ वर्षको छंदा रेकर्ड भएको थियो। शव्द जेबी राई र संगीत शक्ति कुमार।

पशनः चलचित्रमा कति गीत गाई सक्नुभयो?
राजेशः ५/६ सय जति गाएं हुंला।

पशनः विवाह भयो?
राजेशः भएको छैन। (हाँस्दै)

पशनः तपाईको गीत जस्तै सुन्दर प्रेयशी त होलान् नि?
राजेशः पहिले थियो अहिले छैन।

पशनः किन त?
राजेशः पहिले प्रेमको महत्व बुझिंन, अहिले प्रेम गर्ने फुर्सद मिलेन। त्यसैले एक्लो छु।

पशनः फ्यानहरुको चिठ्ठी पत्र-
राजेशः ५०/६० मासिक आउंछन् । खासगरी किशोरीहरुको। मलाई थाहा छैन मेरा अधिकांश फ्यान टिनेजर छन्।

पशनः फ्यानहरुबाट प्रेम प्रस्ताव आउंदैनन्?
राजेशः किन नआउनु आउंछन्। तर म उनीहरुको दिल नटुटोस् भनेर सम्झाउने प्रयाश गर्छु। पहिले आफ्नो करियर बनाउन सुझाब दिन्छु।

पशनः गायक नबनेको भए..
राजेशः थाहा छैन के बन्थें। तर म जन्मेकै श्रोता तथा दर्शकलाई स्तरीय गीतहरु पस्कनको लागि हो जस्तो लाग्छ।

पशनः तपाई बढी मात्नु हुन्छ भन्ने सुनिन्छ?
राजेशः सफल व्यक्तिहरुको चर्चा भै रहन्छ। त्यो स्वभाविक हो। किन भने म, म रहिंन। म पब्लिक फिगर परें। त्यसैले हमेशा ममाथि वाच भै रहन्छ। सबै पिउंछन्। अरुले पिउंदा सामान्य विषय हुन्छ। हामीले पिउंदा अनर्थ लाग्छन्।

पशनः यहाँसम्म आइपुग्न कतिको कठिनाईको सामना गर्नु पर्‍यो ?
राजेशः मैले यो क्षेत्रमा स्थापित हुन धेरै संघर्ष गरेको छु। भन्नेले भन्ने गर्छन् – राजेश रातोरात चर्चित भए। तर राजेशको पनि आफ्नै दुःखहरु थिए। पीडाहरु थिए। संघर्ष गर्नु पर्‍यो। मिहिनेत र परिश्रम गर्नु पर्‍यो। यी सबबिना मानिस कुनै पनि क्षेत्रमा सफल हुन सक्तैन।

पशनः गायकबाहेक ..
राजेशः मैले नायक पनि बन्ने सौभाग्य पाएकोछु। मैले उदय सुब्बाद्वारा निर्देशित चलचित्र ‘गुण्डाराज’ मा नायकको भूमिका निर्वाह गरेको छु। म संगीत कम्पोज पनि गर्छु। ‘तिम्रो लागि, पागल छ मन, प्यारी, असर, लेखान्त र कानुन’ चलचित्रमा मेरो आफ्नै संगीत छन्।

पशनः सांगीतिक यात्राको क्रममा कति देश भ्रमण गर्नुभयो?
राजेशः सांगीतिक यात्राको क्रममा भारत, हङकङ, अष्ट्रेलिया, सिंगापुर, द. कोरिया, बेलायत, मलेसिया, कतार, बहराइन, दुबई आदि देशमा पुगेको छु।

पशनः अबको यात्रा..-
राजेशः मे महिनाको अन्तिममा दुबई र जुन महिनामा क्यानडा र दक्षिण कोरिया जाँदैछु।

पशनः शुभकामना, तपाईको प्रगतिको लागि..।
राजेशः धन्यवाद, यहाँहरुको आशिर्वाद पाई रहुं।
च्याट विथ पशन

Popularity: 100%

188 comments May 27th, 2007

माधवप्रसाद घिमिरे (सचिव -पर्यटन मन्त्रालय)

एचकेनेपाल डट कमको विधिवत समुद्घाटन गरी इन्टरनेटको सञ्जालमा प्रवाहित गरि दिनु हुने त्यही व्यक्तित्वलाई लिएर फेरि मैले नयाँ स्तम्भ च्याट विथ पशन शुरु गरेको छु। उहाँ हुनुहुन्छ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री माधवप्रसाद घिमिरे। हङकङमा महावाणिज्यदूतको रुपमा कार्यरत रहंदा सन् २००४ अप्रिल १० तारिख उहाँले एचकेनेपाल डट कमको औपचारिक उद्घाटन गर्नुभएको थियो। एचकेनेपाल डट कमको प्रगतिका लागि सही निर्देश र अभिभावकको भूमिका निर्वाह गर्नु हुने श्री घिमिरेको कार्य क्षमता, निपूणता र योग्यताका कारण देशको महत्वपूर्ण मन्त्रालयको सचिव जस्तो गरिमामय पदमा बढुवा हुनु भै थप जिम्मेवारीसहित नेपाल फर्कनु भएको थियो। (अपडेटः पछि उहाँ गृहमन्त्रीसमेत हुनुभयो।)

करिव ३ वर्षपछि नेपाल सरकार र हङकङ सरकारबीच १९ अक्टोबर, १९९८ मा भएको द्विपक्षीय हवाई सेवा सम्झौतामा पुनरावलोकन गरी नयाँ हवाई सेवा सम्झौता गर्न हालै उहाँको नेतृत्वमा एक टोली हङकङ आएको थियो। यसै क्रममा मैले उहाँको हाल खबर बुझ्न कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराईमार्फत उहाँलाई फोन सम्पर्क गरेको थिएं। त्यस बेला भएका संक्षिप्त सम्वादलाई यहाँ राखिएको छ –

पहिलो दिनः मे २२ मंगलबार २००७
पशनः सर, नमस्कार आराम हुनुहुन्छ?
घिमिरेः नमस्कार, पशनजी ३ वर्षपछि भेट भइयो नि।

पशनः त्यही त सर, अनि व्यस्त त हुनुहुन्न कतै डिस्टर्व त गरिनं?
घिमिरेः मिटिङमा छु, तर छोटो समयको लागि ब्रेक टाइम भएको छ।

पशनः मिटीङ भन्नाले?
घिमिरेः त्यही मिटिङ जुन उद्धेश्यले हामी यहाँ आएका थियौं।

पशनः कुरा कहाँसम्म पुग्यो?
घिमिरेः कुरा टुङ्गि सकेको छैन जारी छ तर अहिले केही समयको लागि ब्रेक टाइम भएको हो।

पशनः त्यसो भए तपाईलाई भोलि फोन सम्पर्क गर्नु पर्ला।
घिमिरेः हुन्छ, मेरो नम्बर टिप्नोस्। यहाँ तुरुन्त फोनको सिम कार्ड पाइन्छ क्यारे त्यही प्रयोग गर्दै छु।
(उहाँले फोन नं. दिनु भयो।)

भोलि पल्ट- मे २३ बुधबार २००७ (फोन सम्वाद)
पशनः सर, नमस्कार
घिमिरेः नमस्कार पशन जी, राम्रो अध्यायको शुरुवात भएको छ। खास गरी नेपालीको लागि। म एकदम खुशी छु। (उहाँले शुरुमै यही सन्दर्भमा केन्द्रीत रहेर कुरा गर्नुभयो।)

पशनः हजुर के के समझदारी भयो?
घिमिरेः मे २२ र २३ तारिख दुई चरणमा भएको वार्तापछि द्विपक्षीय सम्झौतामा केही नयाँ कुराहरु थपिएका छन्। नेपाल र हङकङ दुई पक्षबीच हप्तामा १४/१४ वटा यात्रु सेवा र असिमित पारवाहन सेवा सञ्चालन गरिने सहमति भएको छ। दुबै पक्षबीच ५ वटा इन्टरमिडियट र ५ वटा बियोन्ड पोइन्ट्स गरी बिना पाँचौं स्वतन्त्र उडान सेवा सञ्चालन गर्न सकिने छ।

पशनः त्यसो भए, अब प्राइभेट सेक्टरका हवाई कम्पनीहरुले अवसर पाउंने भए नि?
घिमिरेः अवश्य पनि।

पशनः क्याथे प्यासिफिकको चर्चा निकै चलेको छ। त्यस सम्बन्धी पनि कुराकानी भयो कि?
घिमिरेः हामीले पहिले भएका हवाई सम्झौताको पुनरावलोकन गर्दै नयाँ सहमतिका विषयमा केन्द्रीत रहेर कुरा गर्ने हो। हामीले प्रत्यक्षरुपमा क्याथेसंग कुराकानी या प्रस्ताव राख्ने होइन। हामीले पूर्वाधार मात्र तयार गरिदिने हो। यस विषयमा अर्कै टोलीले पहल गर्ने छ। र अहिले भएका नयाँ सहमतिले प्राइभेट सेक्टरका हवाई कम्पनीहरुलाई पनि प्रोत्साहित गर्छ।

पशनः हङकङ सरकारले नेपालीमाथि लगाएको भिषा प्रतिबन्ध (प्रवेश आज्ञा) बारेमा पनि यहाँहरुले केही कुरा गर्नु भयो कि?
घिमिरेः हामीले यस विषयमा कुराकानी गरेका छौं। दुई देशबीच पर्यटन विकासका सम्भावनालाई ध्यान दिंदै नेपालीमाथि लगाउंदै आएको प्रवेश निषेधउपर पुनरावोलकन गर्न आग्रह गरेका छौं। उहाँहरुले हाम्रा आग्रहलाई सम्बन्धित निकायमा पुर्‍याई दिने बताउंनु भएको छ।

पशनः यहाँहरुले धेरै राम्रो गर्नु भयो यसबाट हङकङमा रहंदै आएका नेपाली निश्चित रुपमा लाभान्वित हुनेछन्। अनि नेपालतिर कहिले प्रस्थान गर्नु हुन्छ?
घिमिरेः भोलि जाँदैछु र फेरि जुन १४ मा आउंदै छु।

पशनः यही सहमतिका विषयमा फलो अप गर्न कि?
घिमिरेः होइन, ६ जना सगरमाथा आरोहीको सम्मानमा हङकङमा एउटा कार्यक्रम आयोजना गरिएको छ। त्यसमा सहभागी हुन।

पशनः सबै चिनीया आरोही हुन् कि?
घिमिरेः कुनै अमेरिकी, कुनै बेलायती र कुनै चिनीयाँ नागरिक छन्। तर अमेरिकी र बेलायती भए पनि अहिले हङकङमा बसोबास गर्दै आएका छन्। त्यस अवसरमा नेपाल सरकारको तर्फबाट पर्यटन विकासलाई अभिवृद्धि हुने र सहयोग पुर्‍याउने उद्धेश्यले पत्रकार सम्मेलन पनि गरिने कार्यक्रम रहेको छ।

पशनः हवस् त सर, तपाईको अमूल्य समयको लागि धन्यवाद।
घिमिरेः तपाईलाई पनि धन्यवाद।
च्याट विथ पशन

(यसबाहेक हामीबीच छोटो समयमा निकै कुराकानी भएका थिए। ती सम्वादलाई यहाँ समावेश गरिएन।)

Popularity: 24%

5 comments May 27th, 2007


Calendar

October 2018
M T W T F S S
« May    
1234567
891011121314
15161718192021
22232425262728
293031  

Posts by Month

Posts by Category