श्रवण मुकारुङ (युवा कवि)
नेपालका चर्चित युवा साहित्यकार श्रवण मुकारुङसंग लगभग १५/१६ वर्षपछि हङकङको युनलोङ थियटर हलमा पहिलो पटक भेट भयो। किरात राई यायोक्खा हङकङद्वारा आयोजित यलम्बर नाइट तथा सम्मान कार्यक्रम आयोजना हुन लागेको थियो त्यसबेला। श्रवणलगायत नयाँ राष्ट्रगानका रचयिता व्याकुल माइला र सगरमाथा आरोही प्रथम किरात इन्द्रबहादुर राईलाई संयुक्त रुपमा सम्मान गरिंदै थियो। बाहिर दर्शकदिर्घमा दर्शक जुटिसकेका थिए। पर्दा पछाडि कवि श्रवणलगायत कलाकारहरु तयारीमा जुटिरहेका थिए। हतारको छोटो समयमा हामीबीच केही सम्वाद भएका थिए। ती सम्वादलाई च्याट विथ पशन को रुपमा यहाँ प्रस्तुत गरिएका छन्। यो अन्तर्वार्ता नभएर सामान्यतयः हामी दुईजनाबीच भएका संक्षिप्त सम्वाद हो –
पशनः श्रवण जी के छ हाल खबर ?
श्रवणः हजुर, ठीकै छ।
पशनः काठमाडौंमा नै बस्नु हुन्छ नि?
श्रवणः हजुर, काठमाडौं मै बस्छु।
पशनः तपाईको पेशा ?
श्रवणः साहित्य लेखन।
पशनः साहित्य लेखनबाहेक..
श्रवणः त्यस्तो खास केही छैन। पूर्णकालीन साहित्य लेखनमा व्यस्त छु।
पशनः ‘बिसे नगर्चीको बयान’ ज्यादै चर्चित भयो, यसमा तपाईको धारणा के छ?
श्रवणः यो मेरो लागि पनि र समग्रमा नेपाली कविताको लागि, नेपाली कविहरुको लागि एउटा सुखद क्षण हो भन्न म चाहन्छु। यसका कारण चाहि नेपाली कविताले एउटा सामाजिक दर्पन हुने मौका पायो। सोकल्ड -मुठ्ठीभर बौद्धिक लाश भन्नेहरुले कवितालाई आफ्ना पेवा सम्झिरहेका थिए। जहाँबाट ओर्लेर आमबाटोमा समाजको सम्पतिको रुपमा कवितालाई देखाउने प्रयत्नमा यो कविताले राम्रो भूमिका खेले जस्तो लाग्छ।
पशनः साहित्य सृजनाबाहेक सम्पादन, प्रकाशनतर्फ पनि लाग्नु भएको छ कि?
श्रवणः हाललाई छैन। कविता, गीत र चलचित्रका लागि लेख्ने काम गरिरहेको छु।
पशनः कति जति गीत रेकर्ड भयो ?
श्रवणः अढाई सय जति पुग्यो होला।
पशनः तपाईलाई सबभन्दा बढी मन पर्ने आफ्नै गीत ?
श्रवणः मेरा धेरै गीतहरु मलाई मन पर्छन्। यो राम्रो त्यो नराम्रो भन्ने लाग्दैन। कतिपय राम्रा गीतहरु रेकर्ड हुन बाँकी छन्।
पशनः कति जति राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनु भयो ?
श्रवणः राज्यले दिने पुरस्कार मैले पाएको छुईंन। तर जनस्तरबाट स्थापित प्रशस्त पुरस्कार पाएको छु।
पशनः देशमा अहिले लोकतन्त्र आएको छ भनिन्छ, लोकतन्त्रसंगै साहित्य लेखनमा त्यस्तो कुनै परिवर्तन आएको छ?
श्रवणः जरुर परिवर्तन आएको छ। अहिलेका साहित्यमा आदिबासी जनजाति, दलित, महिलाका पक्षमा सम्बोधन गरिएका तिनका अन्तरबस्तुलाई छोएर सृजना भएका रचनाहरु अगाडि आउने क्रम तीब्र छन्। अहिले सामाजिक मुद्दामा र न्यायका पक्षमा लेखिएका साहित्यहरु अगाडि आएका छन्। कोरा कल्पना र मनोविनोदका साहित्यहरु पछि परेका छन्।
पशनः लोकतन्त्रपछि साहित्यमा बढी स्वतन्त्रता आएकै होला नि?
श्रवणः साहित्य सधैं स्वतन्त्र थियो। साहित्यकारले म सधैं बन्दी छु भन्ने सोंच्नु हुंदैन।
पशनः बिसे नगर्चीको बयान पछि पाठकबाट सकारात्मक प्रतिक्रिया आएकै होला तर तपाईलाई धम्की दिने अथवा हतोत्साहित गर्ने खालका प्रयाश कतैबाट भए कि?
श्रवणः त्यस्तो आएको छैन। शासक र सत्ताशिनको विपक्षमा साहित्य जहिले पनि लेखिएको हुन्छ। साहित्य जहिले पनि जनताको पक्षमा लेखिएको हुन्छ। शासक र सत्ता पक्षको विपक्षमा रहेर लेखिएका साहित्य जीवन्त हुन्छन्।
पशनः तपाईको यो विदेश यात्रा पहिलो हो कि साहित्यिक यात्रा..?
श्रवणः यो मेरो पहिलो विदेश यात्रा हो। मेरो लागि यो सुखद क्षणको अनुभव भएको छ।
पशनः (कार्यक्रमको लागि उद्घोषण) तपाईको कार्यक्रम शुरु हुन लाग्यो, पछि भेटौला।
श्रवणः हवस् धन्यवाद।
च्याट विथ पशन
Popularity: 31%
27 comments May 28th, 2007