Posts filed under 'Yata Uta'

आज घटस्थापना: बडादशैं शुरू भयो

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ११ असोज । नेपालीहरूको महान् चाड बडादशैं आजदेखि १५ दिनसम्म अर्थात् आश्विनशुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्पराअनुसार दुर्गाभवानीको पूजा-आराधना गरी हर्षोल्लासका साथ मनाइंदै छ।

बडादशैंको पहिलो दिन आज बिहान आ-आफ्ना घरको पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टांसी जौ र मकै रोपेर घटस्थापना गरिंदै छ।

असोज १७ गते बिहानै महाष्टमीको पूजा गर्ने, बेलुका कालरात्रिको पूजा, १८ गते बिहान महानवमीको पूजा र १९ गते विजयादशमीको पूजा गरिदैछ।

हाम्रा समस्त पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरूमा विजया दशमीको सुखद अवसरमा सुख, शान्ति, उन्नति तथा समृद्धिको मंगलमय शुभकामना….।
- एचकेनेपाल डट कम परिवार

Recent Videos:

Popularity: 10%

2 comments September 28th, 2011

‘लेख्ने हात यही होइन भन्दै औंला चिरे’

टीका बिष्ट-
त्यसपछि मेरो मुखमा पट्टी बाँधिदिए र तेरो लेख्ने हात यही होइन भन्दै दाहिने हातका औंलाहरू ब्लेडले चिर्न थाले । मैले ‘सक्छस् भने खुकुरीले हान् किन ब्लेडले चिर्छस्’ भनें । क्याबिन नं. १४ काठमाडौं मोडेल अस्पताल, २०६६ मंसिर २७ - २३ गते घटना हुनुभन्दा १२ दिनअघि मैले लेखेको ‘किन चाहियो तीर्थाको सिन्दूर माओवादीलाई ?’ भन्ने लेख दाङबाट प्रकाशित हुने गणतन्त्र दैनिकमा प्रकाशित भएको थियो । त्यसको १५/२० दिनपहिले नै त्यही लेख रुकुमबाट प्रकाशित जन्तिधारा साप्ताहिकमा छापिइसकेको थियो।

गणतन्त्र दैनिकमा छापिएको भोलिपल्ट ‘नो नम्बर’ बाट मेरो मोबाइलमा फोन आयो । मैले परिचय माग्न खोज्दा परिचय नै नदिई कुरा सुरु गरे । ‘किन चाहियो तँलाई तीर्थाको सिन्दूर, खुब तीर्थाको सिन्दूरको बचाउ गर्ने भा’की, तँलाई बाँच्ने मन छैन ? मृतक पत्रकारको लिस्टमा तेरो नाम पनि चढाइदिउँ’ भनेर धम्की दिए । मलाई अलिअलि चिन्ता लागिरहेको थियो तर पनि वास्ता नगरी काममा लागें।

पत्रकार साथीहरूलाई घटनाबारे जानकारी गराएँ । स्थानीय रेडियोमा समाचार पनि बज्यो । ३/४ दिनपछि फेरि ‘तँलाई जतिखेर जे पनि हुनसक्छ, ख्याल गर’ भनेर अर्को फोन आयो । घटना हुनुअघि दुईपटक फोन आएको थियो।

मेरो घर रुकुमको गरायला हो । पढ्न र काम गर्ने सिलसिलामा सदरमुकाम मुसिकोटस्थित डेरामा बस्दै आएकी छु । २३ गते बिहान म कोठामै बसिरहेकी थिएँ । सवा नौ बजेतिर नचिनेको नम्बरबाट फोन आयो । ‘भाउजू बिरामी भएर जिल्ला अस्पतालमा ल्याएको छ भाउजूलाई भेट्न तुरुन्त जा’ भन्यो । मसँग ‘तँ’ भनेर कुरा गर्‍यो । ११ बजेतिर म हतारिँदै अस्पताल जानका लागि कोठाबाट निस्कें । सदरमुकामबाट विमानस्थलतिर जाँदा सानो झाडी र खोल्साखोल्सी भएको ठाउँ छ । म त्यही बाटो हुँदै अस्पतालतिर जाँदै थिएँ । भाउजू बिरामी भएको चिन्ताले हतारिँदै थिएँ । मठ भन्ने ठाउँमा पुगेपछि कसैले जिस्क्याए जसरी पछाडिबाट ढुंगा हान्यो । म त्यति वास्ता नगरी हिँडिरहें । फेरि ढुंगा हान्यो र तेस्रो पटक ढुंगा हानेलगत्तै एक्कासि तीन जनाले मलाई समाए । तीनै जनाले कालो चस्मा लगाएर मुखमा पट्टी बाँधेका थिए । दुई जनाले मेरो एक/एकवटा हात समाएर पछाडि लगे । अर्कोले मेरो ब्याग खोस्यो र सामानहरू निकाल्न थाल्यो । ब्यागमा एउटा ल्यापटप, रेडियो, मोबाइल सेट, लेसनप्लान रजिस्टर, डायरी, कलम, औषधि र सात सय २३ रुपैयाँ थियो । एउटाले लेसनप्लानको रजिस्टर च्यात्न खोज्यो । मैले नच्यात् भन्दै लात्तीले हानें।

‘खुब फाइटर रै’छे’ भन्दै मलाई अठ्याए । त्यसपछि मलाई एउटाले मात्र समाए र दुई जना मेरा सामान तोडफोड गर्न लागे । त्यतिबेरै एउटाको हात झडकारेर भागें । दुईवटा मोबाइलमध्ये एउटा मेरो साथमै थियो । उनीहरूले लखेटिरहेकै अवस्थामा मोबाइलबाट धनवीर दाहाललाई फोन गरें । ‘दाइ मलाई लखेटिरहेका छन्, म घेरिएँ’ भन्दै थिएँ, पकडिहाले र मोबाइल खोसे । त्यसपछि मेरो मुखमा पट्टी बाँधिदिए र तेरो लेख्ने हात यही होइन भन्दै दाहिने हातका औंलाहरू ब्लेडले चिर्न थाले । मैले ‘सक्छस् भने खुकुरीले हान् किन ब्लेडले चिर्छस्’ भनें । उनीहरूले ब्लेडले काट्या मान्छे मर्दैन भन्ने हामीलाई पनि थाहा छ, खुकुरी पनि ल्या’को छ, नाइनस्टिक पनि छ, नाइनस्टिकले के गर्छ थाहा छ तेरो दाइलाई मार्छ’ भने । उनीहरूले मेरो दायाँ हातका औंलाहरू चिरिदिए । तीन जनाका अगाडि मेरो केही जोर चलेन।

दस मिनेटजति यातना दिएपछि मेरो गर्दनमा समातेर भित्ताको ढुंगामा टाउको ठोक्काउन थाले । मलाई त्यतिसम्म मात्र याद छ । त्यसपछि के के गरे थाहा भएन । बेलुका आठ बजेतिर होसमा आउँदा त जिल्ला अस्पतालको बेडमा थिएँ।

म होसमा आउँदा मेरा साथीहरू निकै खुसी भए । वरिपरि साथीहरूलाई देखेर मेरो आँखा रसायो । कुटपिटपछि मलाई भीरबाट फालिदिएका रहेछन् । पत्रकार साथीहरूले त्यहाँबाट बोकेर माथि गोरेटोसम्म ल्याएछन् र अस्पताल पुर्‍याएछन् । मैले फोन गरेको २० मिनेटपछि मात्र साथीहरूले मलाई भेट्टाउनुभएको रहेछ । म बस्ने घरभन्दा दुई सय मिटर टाढा साँघुरो सडक, एकापट्ट पर्खाल र अर्कोतिर भीर भएको ठाउँमा म आक्रमणमा परेकी थिएँ।

माओवादीसँग पनि मेरो कुनै रिसिइबी छैन । एमालेको प्यारो बन्न लेखेको पनि होइन । २०५६ सालको संसदीय निर्वाचनमा एमालेका उम्मेदवारसमेत रहेका तीर्थाका श्रीमान् यदु गौतमलाई यातना दिएर माओवादीले हत्या गरेका थिए । सोही विषयवस्तुलाई छोएर यथार्थ कुरालाई लेखमार्फत बाहिर ल्याउन खोजेकी हुँ । कात्तिक १० गते माओवादीले लगाएको नारा उनै तीर्थाका विरुद्ध खनिएपछि मलाई लेख्ने प्रेरणा भएको हो । त्यही लेखकै कारण मलाई सुनियोजित आक्रमण भएको हो । अपराधी माओवादी सम्बद्ध हुन् भन्ने लाग्छ किनकि लेख छापिएपछि माओवादीले नै मलाई पटकपटक धम्की दिएका थिए । तेरो लेख लेख्ने औंला यही होइन भन्दै चिरिदिएकाले पनि मलाई आक्रमण गर्ने उनै माओवादी हुन् भन्न बाध्य भएकी हुँ।

अझै पनि माओवादीले यथार्थलाई स्वीकार्न सक्नुपर्छ । होइन भने तीर्थाको श्रीमान्लाई मारेको होइन भनेर प्रमाणित गर्न सक्नुपर्‍यो।

(कान्तिपुर संवाददाता कल्पना घिमिरेसँग कुराकानीमा आधारित)

Recent Videos:

Popularity: 8%

4 comments December 12th, 2009

पारसलाई अपहरण गर्ने योजना

एचकेनेपाल डट कम सं‍वाददाता-
माओवादीले राज्यविरुद्ध फौजी कारबाही जारी राखेको बेला प्रधानसेनापतिको सफाया र पारसलाई अपहरण गर्ने योजना बनेको नयाँ पत्रिकाले खुलासा गरेको छ।

तत्कालीन युवराज पारसलाई अपहरण गर्ने, रोल्पा पुर्‍याउने र दरबार हत्याकाण्डबारे बयान लिने- यो योजना थियो विद्रोही माओवादीको। त्यो पनि सामान्य अवस्थामा होइन, राजा ज्ञानेन्द्रले शासन-सत्ता कमान्डमा लिएको वेला।


फाइल तस्वीर
सरकारसँग दोस्रोपटकको शान्तिवार्ता १० भदौ ०६० मा भंग भएको घोषणा गरेलगत्तै माओवादीले राज्यविरुद्ध फौजी कारबाही फेरि सुरु गरेको थियो । राज्यलाई गम्भीर धक्का दिन माओवादीले पारसलाई अपहरण गरेर दरबार हत्याकाण्डबारे बयान लिने र तत्कालीन प्रधानसेनापति प्याराजंग थापाको ‘सफाया’ गर्ने योजना बनाएको थियो । त्यही योजनाको पूर्वाभ्यासका क्रममा मारिए वरिष्ठ सैनिक अधिकारी किरण बस्नेत । तर, त्यहीवेला ‘स्पेसल टास्क फोर्स’ का एक सदस्य पक्राउ परेपछि माओवादी योजना सेनाले थाहा पायो । त्यसैले पारसको अपहरण पनि भएन, तत्कालीन प्रधानसेनापतिमाथिको ‘कारबाही’ पनि सफल भएन । लोकेन्द्रबहादुर चन्दको सरकारबाट सुरु भएको दोस्रो चरणको शान्तिवार्ता सूर्यबहादुर थापाको सरकारसम्म पुगुन्जेल जारी थियो । तर, माओवादीले दोस्रो वार्ता भंग भएको घोषणा गरेलगत्तै काठमाडौंमा कमान्डो कारबाही सुरु गर्‍यो । कमान्डो कारबाहीको पहिलो चरणमा सैनिक अधिकारी बस्नेत मारिए, त्यसपछिको ‘टार्गेट’ मा थिए- प्रधानसेनापति थापा र युवराज पारस । तत्कालीन प्रधानसेनापति थापामाथि उनको सरकारी निवास शशीभवन झम्सीखेलदेखि प्रधान कार्यालय भद्रकालीसम्म जाँदा वा र्फकंदा पुल्चोकस्थित मन्त्रीनिवास आसपासको क्षेत्रमा कारबाही गर्ने योजाना बनेको थियो । तर, माओवादीको उपत्यका ‘एसटिएफ’ ले सेनापतिमाथि कारबम आक्रमण गर्नेसम्मको योजना बनाएको थियो । ‘तर तयारीमा रहेको कार ग्यारेजमा समातियो,’ माओवादीका तत्कालीन उपत्यका इन्चार्ज कुमार दाहाल भन्छन् । दाहालका अनुसार माओवादीले पारसको अपहरण र सैनिक अधिकारीमाथि कमान्डो कारबाही गर्न ५० जनाको ‘भ्याली स्पेसल टास्क फोर्स’ बनाएको थियो, जसका कमान्डर थिए निश्चल नकर्मी । टास्क फोर्सका ‘मोबाइल’ छापामार खटिन्थे पारसको निगरानी गर्न। यीमध्ये केही गुप्तचरीमा थिए, कोही योजना कार्यान्वयन गर्न।

‘पारसलाई उनी जाने होटल वा डिस्कोबाट अपहरण गर्ने योजना थियो,’ टास्क फोर्सका एक सदस्यले भने । माओवादी कार्यकर्ता व्यापारीको भेषमा दरबारमार्ग र ठमेलका होटलहरूमा बस्थे । यसरी ठूला होटल र रेस्टुराँमा बस्दा पारसको दैनिकी जान्न सकिने उनीहरूको विश्वास थियो । टास्क फोर्सले महिनौंसम्म दरबारमार्ग र ठमेलका केही होटलमा कोठा बुकिङ गरेर पारसको पिछा गरेको थियो । ‘पारसले खाने ठाउँमा हाम्रो टोली पनि पुग्थ्यो, नजिकै बसेर उनको चियो गथ्र्यो,’ माओवादीका तत्कालीन उपत्यका इन्चार्ज दाहाल भन्छन्, ‘हामी उनको निकै नजिक पुगेका थियौं । आवश्यकताअनुसार जतिवेला पनि अपहरण गर्नसक्ने अवस्था बनिसकेको थियो ।’ योजना कार्यान्वयनका लागि उपत्यकामा क्रियाशील माओवादी कार्यकर्ता पनि परिचालित थिए । त्यसवेला माओवादीको काठमाडौंमा पवनमान श्रेष्ठ, ललितपुरमा कृष्ण केसी र भक्तपुरमा दिलीप प्रजापति पार्टीको इन्चार्ज थिए।

त्यतिवेला उपत्यकासमेत हेर्ने मध्य कमान्डको इन्चार्ज थिए रामबहादुर थापा बादल । त्यस्तै उपत्यका ब्युरो इन्चार्ज थिए दाहाल र उपत्यकासहितको आसपासको क्षेत्र हेर्ने जिम्मा पाएका थिए- कुलप्रसाद केसी सोनामले । पारसलाई समात्ने र आधार इलाका -रोल्पा) पुर्‍याउने योजना थियो माओवादीको । ‘उनलाई कुनै पनि हालतमा जिउँदै राख्ने र आधार इलाकामा पुर्‍याउने भन्ने थियो,’ तत्कालीन ललितपुर इन्चार्ज कृष्ण केसी भन्छन्, ‘उनलाई आधार इलाका पुर्‍याउने टिम पनि बनिसकेको थियो ।’ तर, एकातिर प्रधानसेनापतिमाथिको कारबाही असफल भयो, त्यही वेला पारसको अपहरण योजनामा संलग्न भक्तपुरका सहसेक्रेटरी रञ्जितलाई सेनाले पक्राउ गर्‍यो । रञ्जित पक्राउ परेपछि योजनाको पोल खुलेको माओवादी भनाइ छ । ‘बीचैमा सूचना लिक भएपछि हाम्रो योजना सफल भएन,’ दाहालले भने । सेनाको देशव्यापी ‘मुभ’ कम पार्न सैन्य अधिकारीहरूमाथि कारबाही र पारसको अपहरण योजना बनाएको दाहालले बताए । उनका अनुसार दोस्रो वार्ता भंग भएलगत्तै पार्टी केन्द्रको निर्देशनमा नै राजधानीमा उच्चस्तरका ‘कमान्डो’ कारबाही गर्ने र देशभरका कार्यकर्ताको मनोबल उठाउने योजना बनेको थियो।

३२ साउन ०६० मा माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता भइराखेका दिन सेनाद्वारा रामेछापको दोरम्बामा २० माओवादी कार्यकर्ता मारिएका थिए । त्यही विषयमा आपत्ति जनाउँदै माओवादीले १० भदौबाट युद्धविराम भंग गरेको थियो । आफूविरुद्धको अमेरिकी योजनालाई असफल बनाउन माओवादीले सेना र सरकारको माथिल्लो तहमा हान्ने योजना बनाएको थियो । ‘अमेरिकी रणनीतिमा सेनाले माओवादी नेता-कार्यकर्ताको हत्या गर्ने र आधार इलाकामा आक्रमण गर्ने योजना बनाएको थियो । त्यसलाई काउन्टर गर्न र नयाँ खालको राजनीतिक शक्ति सन्तुलन तयार पार्न पारस अपहरणको योजना बनाएका थियौं,’ तत्कालीन ललितपुर इन्चार्ज केसीले भने । ‘युद्धकालमा हामीले जुन योजना बनाएका थियौं, त्यो स्वाभाविक नै थियो,’ दाहालले भने, ‘उनीहरू -सुरक्षानिकाय) ले पनि हाम्रा नेताका टाउकाका मूल्य तोकेर अपरेसन सुरु गरेका थिए ।’ माओवादी नेतृत्वलाई सिध्याउने सेनाको योजना कमजोर बनाउन पारसको अपहरण योजना बनेको उनको भनाइ छ । १२ माघ ०५९ मा सशस्त्र प्रहरीका महानिरीक्षक कृष्णमोहन श्रेष्ठको हत्या भएको तीन दिनपछि माओवादी र सरकारबीच दोस्रो वार्ताका लागि युद्धविराम भएको थियो । ‘पहिलो वार्ता असफल भएपछि दाङ सदरमुकाममा सेनाको ब्यारेकमाथि आक्रमण गरेर नयाँ शक्ति सन्तुलन बनाएजस्तै सेनापतिमाथि भौतिक कारबाही र पारसको अपहरण गरेर नयाँ शक्ति सन्तुलन बन्ने अवस्था थियो,’ माओवादी स्रोतको भनाइ छ । ‘पारसलाई अपहरण गरेपछि राज्यपक्षमाथि माओवादी कार्यकर्ताको हत्या नगर्ने नैतिक दबाब सिर्जना गर्न सकिन्थ्यो,’ तत्कालीन योजनामा सहभागी एक नेता भन्छन्।

तर, रञ्जित गिरफ्तार भएपछि उनले आफैंसमेत सहभागी भएको भ्याली एसटिएफको नेतृत्व गरेका नकर्मीसहितको ठूलो टिमलाई गिरफ्तारी गराएको दाहाल बताउँछन् । उनी भन्छन्, ‘रञ्जितले आफू गिरफ्तारमा परेपछि सबै साथीलाई ताने । त्यसपछि कमान्डो कारबाहीका योजना भताभुंग भए ।’ रञ्जितपछि माओवादीका ललितपुर सेक्रेटरी हीराबहादुर रोका, भक्तपुरका सेक्रेटरी बिके श्रेष्ठ, एसटिएफका सदस्यहरू सुचेन्द्र श्रेष्ठ, बुद्धि तामाङ, भीम गिरीलगायतको टिम पक्राउ परेको दाहाल बताउँछन् । त्यतिवेला नै गिरफ्तार भएका कृष्ण केसीलाई २७ महिना बेपत्ता पारियो भने निश्चल नकर्मी, ज्ञानेन्द्र त्रिपाठी, दीपेन्द्र पन्त, हेमनारायण श्रेष्ठ, सुचिन्द्र महर्जन, रेणुका दुवाल, रेवकला तिवारी, सत्यनारायण प्रजापति, दिलबहादुर राई, भीम गिरीलगायतका माओवादी कार्यकर्ताको अहिलेसम्म अत्तोपत्तो छैन।

Popularity: 9%

11 comments July 15th, 2009

सबै गोर्खालाई आवासीय भिसा

साभारः खिम घले / कान्तिपुर
काठमाडौं, जेठ ७ - बेलायती सेनाबाट अवकाश पाएका सबै पूर्वगोर्खाले आवासीय भिसा पाउने भएका छन्। बेलायतको संसदमा बुधबार सवालको जवाफ दिँदै त्यहाँका प्रधानमन्त्री गोर्डेन ब्राउनले भने, ‘पूर्वगोर्खाले आवासीय भिसा पाउने विषयमा गृहमन्त्री ज्याक स्मिथले बिहीबार सम्बोधन गर्नेछन्।’ ‘जो पूर्वगोर्खा यो मुलुकमा आउन चाहिरहेका छन्, उनीहरूप्रति हाम्रो गहिरो सद्भाव छ,’ ब्राउनलाई उद्धृत गर्दै बेलायती समाचार पोर्टलहरूले उल्लेख गरेका छन् । उनले गृहमन्त्रीले बिहीबार गर्ने सम्बोधनले गोर्खाहरूप्रति बेलायतको प्रतिबद्धता पूरा हुने विश्वाससमेत व्यक्त गरेका छन्।


फाईल तस्वीरः मिलन तमु, बेलायत / एचकेनेपाल डट कम

गोर्खाली अभियानलाई सघाउँदै आएको बेलायती पत्रिका मिररको अनलाइन संस्करणले एक कदम अगाडि बढेर भनेको छ, ‘मिररको अभियानले सबै गोर्खालाई बेलायत बस्ने अधिकार दिलाएको छ।’ उसले मिरर, सांसदहरू र अभिनेत्री जोहन लुम्लेलगायत धेरै शुभेच्छुकको अभियानका कारण गोर्खाहरूले अधिकार पाएको उल्लेख गरेको छ। ‘गोर्खाहरूले कमनवेल्थ मुलुकका बेलायती सेनामा काम गरेका नागरिकले जत्तिकै अधिकार पाउने छन्,’ बेलायतमै रहेका भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) का अध्यक्ष पदमबहादुर गुरुङले कान्तिपुरसँग टेलिफोनमा भने, ‘हामीले बेलायती प्रधानमन्त्रीलाई धन्यवाद दिन जाने कार्यक्रम बनाएका छौं।’

उनले नेपाली बुद्धिजीवी, मिडिया र जनताले आन्दोलनमा दिएको सहयोगप्रति धन्यवादसमेत दिए। ‘म यो खुसी सबैसँग बाँड्न चाहन्छु,’ उनले भने। यसअघि बेलायतले सन् १९९७ पछि अवकाश पाएकालाई मात्र आवासीय भिसा दिएको थियो। यसविरुद्ध गेसोले बेलायती उच्च अदालतमा मुद्दा दायर गरेको थियो। उच्च अदालतले गत असोजमा गोर्खालाई जिताए पनि बेलायती गृह मन्त्रालयले सबैलाई आवासीय अधिकार दिन इन्कार गरेको थियो।

बेलायती सेनामा भर्ती हुन थालेको झन्डै दुई सय वर्षमा गोर्खाहरूले यो अधिकार प्राप्त गरेका हुन्। पूर्वगोर्खाले बेलायतीसरह अधिकार माग्दै आन्दोलन गरेको १५ वर्षभन्दा बढी भएको छ। समान पेन्सन र सुविधा माग गर्दै सुरु गरेको संघर्ष झन्डै चार वर्षअघि मात्र मुलुकको सीमा काटेर बेलायती अदालत पुगेको थियो।

यो निर्णयले युद्धपछि बिनापेन्सन बाटो खर्च दिएर पठाइएका पूर्वगोर्खालाई प्रत्यक्ष फाइदा पुग्नेछ। जुनसुकै मुलुकमा रहेर पनि बेलायती सेनामा चार वर्ष काम गरेकाका लागि बेलायत जाने बाटो खुल्ला हुनेछ। कल्याणकारी पेन्सन लिएर गुजारा चलाइरहेका वृद्ध र विधवा गरी करिब १५ हजारलाई बेलायतमा प्रवेश गराउनेछ।

Popularity: 11%

7 comments May 21st, 2009

नेपालमा बेबी किङ ब्यूझाउंने कसरत

नेपालमा बेबी किङ ब्यूझाउंने कसरत, लामो मौनतापछि पारस बोल्न थाले…
एउटा फोन कलले नेपालका हिमालहरु हल्लिन सक्छन्: एञ्जेला चेङ

एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल १ -
लामो मौनतापछि नेपालबाट सिंगापुर पलायन भएका पूर्व युवराज पारस शाह अहिले भकाभक बोल्न थालेका छन्। उनका विषयमा सिंगापुरको द न्यु पेपरले विगत तीन दिनदेखि ऋंखलाबद्ध समाचारहरु प्रकाशन गर्दै आएको छ। पारसले सो पत्रिकामार्फत राजदरवार हत्याकाण्डमा पूर्व युवराज दीपेन्द्रलाई दोषी सावित गराउन खोजेपनि अधिकांश नेपाली उनका भनाईप्रति विश्वस्त छैनन्। उनले दरवार हत्याकाण्डमा दीपेन्द्रलाई दोषी ठहर्‍याएका छन्। उनी नेपाल फर्केर राजनीतिमा प्रवेश गर्ने बताउंदै नेपालमा नयाँ नेतृत्व दिने तयारी गरिरहेको बताएका छन्।


द न्यु पेपरले आजको संस्करणमा पारसको हितैषी भन्दै एञ्जेला चेङको अन्तर्वार्तालाई प्रमुखताका साथ प्रकाशन गरेको छ। चेङले नेपाललाई कमजोर र हैयाको दृष्टिकोणबाट हेरिरहेकी अनुभूत हुन्छ। उनले अन्तर्वार्तामा भनेकी छिन् - ‘एउटा फोन कलले नेपालका हिमालहरु हल्लिन सक्छन्।’ चेङ अन्तर्वार्तामा निकै शक्तिशाली भएर प्रस्तुत भएकी छन्। उनले आफ्नो राजदर्वारसंग विगत १० वर्षदेखि घनिष्ट सम्बन्ध रहेको बताएकी छिन्। चेङकै कारण ज्ञानेन्द्रले सत्ता छाडेको भन्नसमेत उनी पछि परेकी छैनन्। चेङले अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग समेत राम्रो सम्बन्ध रहेको आशय व्यक्त गरेकी छिन्। उनले २००६ मा कोइरालालाई फोन गरेर पूर्व राजा ज्ञानेन्द्रसंग बेबी किङको प्रस्ताव राख्न आग्रह गरेको दावी गरेकी छिन्।

चेङ तिहारको बेला नेपाल गएर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटी पारसका ६ वर्षीय छोरा ह्रदयेन्द्रलाई बेबी किङको प्रस्ताव अघि सार्ने बताएकी छिन्। उनले त्यति मात्र भनेकी छैनन् उनले आफ्ना प्रस्ताव स्वीकार गरेमा चीन सरकारलाई आग्रह गरेर नेपालमा विकाशका थुप्रै कार्यक्रम भित्र्याउने प्रलोभन देखाएकी छिन्। उनले जापान सरकारसंग पनि आफ्नो सम्बन्ध राम्रो रहेको बताएकी छिन्।

Cheng by you.
विगत २८ वर्षदेखि नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका निभाउंदै आएकी बताउने ४५ वर्षीया चेङ पेशाले आर्किटेक इन्जिनियार हुन्। उनले पारसलाई सिंगापुरमा बस्ने प्रवन्ध मिलाउने काम आफैले गरेको बताएकी छिन्।


प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्।
————————————————————————–

सिंगापुरको द न्यु पेपरमा छापिएको पूर्व युवराज पारस शाहको अन्तर्वार्ताको नेपाली रुपान्तर- मार्च ३१ -
नेपाली सेनाले आफूसँग भएको बेल्जियम एसएलआरलाई विस्थापन गर्न खोजिरहेको थियो। दीपेन्द्रले जर्मन हेक्लर एन्ड कोच जी ३६ एसल्ट राइफल मनपराएका थिए। उनी युद्धमा प्रयोग भएर राम्रैसँग परिक्षित भइसकेको कोल्ट एम १६ को विरुद्धमा थिए।

‘तर उहाँको बुबा, महाराजाधिराज त्यसमा सहमत होइबक्सेन’, पारसले भने- ‘मलाई थाहा छ, उहाँहरूले त्यसबारेमा झगडा गरिबक्सेको थियो। दीपेन्द्र निराश होइबक्स्यो। उहाँ खुसी होइबक्सन्थेन। उहाँले मलाई भनिबक्सेको थियो।’

जर्मन एसल्ट राइफललाई सेनाले किन्ने सम्भावित हतियारको पछिल्लो सूचीमा राखेको थियो। सेनाले त्यतिबेला ५० हजार नयाँ बन्दुक चाहिरहेको थियो। पारसका अनुसार, दीपेन्द्रका सल्लाहकारहरूले बन्दुक किन्ने सम्झौतामा काम गरिरहेका थिए, जो सफल भएको भए युवराजले टन्नै पैसा कमाउनेवाला थिए। ‘मलाई लाग्छ, त्यो नै (हत्याकाण्ड गराउने) वास्तविक कारक थियो’, पारसले भने- ‘भनेजस्तो भएको भए करिब ५० हजार राइफल किन्ने सम्झौता हुनसक्थ्यो, जसको कुल कारोबार एउटा बन्दुकका लागि ४ सय ५४ डलरका हिसाबले १ करोड ५० लाख डलरको हुन्थ्यो।’

तर युवराजलाई पैसा किन चाहिएको थियो र ? परिवारको कुल सम्पत्ति नै २० करोड डलरभन्दा बढी थियो, होइन र?
‘हो, तर मलाई लाग्छ, आफूले भनेजस्तो भएन भने अपर्झट देश छाड्नुपर्ने सम्भावनाका लागि उहाँ योजना बनाउँदै होइबक्सन्थ्यो’, पारसले भने।

‘मलाई लाग्छ, त्यो उहाँको व्याक अप योजना थियो’, उनले थपे।

दरबार प्रतिस्पर्धी स्वार्थहरूको थलो भएको उल्लेख गर्दै पारसले भने- ‘दीपेन्द्रसँग (राजालाई मार्नुपर्ने) कारण थिए।’

पहिलो कारण, पारसका अनुसार, सबैले देखेकै घटना थियो।

६ नोभेम्बर १९९० मा राजा वीरेन्द्रले राजनीतिक जीवनको हरेक भागमा प्रभाव पुर्‍याउने सक्रिय राजतन्त्रको ३० वर्षे शासनको अन्त्य गर्दै नयाँ संविधान जारी गरेका थिए। पारसले भने- ‘१९९० मा बुबाले सक्रिय राजतन्त्र त्याग्नेबारे बताउँदा दीपेन्द्रमा परिवर्तन आयो।’

‘त्योसँग उहाँ कहिल्यै सहमत होइबक्सेन, किनकि उहाँ देशमा शासन गर्न चाहिबक्सिन्थ्यो। मलाई लाग्छ, उहाँले आफ्ना कदमबारे त्यही बेलादेखि योजना बनाउन थालिबक्सेको थियो।’

दोस्रो कारण, देवयानीसँगको दीपेन्द्रको प्रेम थियो, जसलाई राजपरिवारले स्वीकारेको थिएन।

त्यो रात दीपेन्द्रले मातको सुरमा बन्दुक चलाएका थिए भन्ने आमविश्वासलाई पनि पारसले अस्वीकार गरे।

‘उहाँले हामी (दरबारका युवा पुस्ताका सदस्य) लाई त्यसबारेमा एक वर्ष पहिले नै बताइबक्सेको थियो’, पारसले भने।

‘म प्रस्टैसँग सम्झिन्छु’, पारसले भने- ‘त्यो उहाँको सन् २००० जन्मदिन थियो। र त्यतिबेला उहाँले हामीलाई यो ‘आइभोरी टावर’लाई ध्वस्त पार्छु भनिबक्सेको थियो। हामीले उहाँलाई गभ्मीरतासाथ लिएनौं। कसरी लिन सक्थ्यौं। किनकि जो बोलिरहेको थियो, ऊ युवराज थियो। उहाँ हाम्रो राजा होइबक्सिनेवाला थियो। फेरि उहाँले आफ्नै बुबालाई मारिबक्सेला भन्ने कसले पत्याउन सक्थ्यो?’

तर हत्याकाण्डको त्यो रात पारस दीपेन्द्रको घरमा पुग्दा केही गडबडीको संकेत पाएका थिए।

‘म र अर्का भाइले पार्टीबाट छिट्टै निस्कन चाहेका थियौं’, पारसले भने- ‘किनकि हामी अन्तै जान चाहन्थ्यौं। सामान्यतः उहाँले सहमति जनाइबक्सन्थ्यो। तर यसपटक दीपेन्द्रले हुन्न भनिबक्स्यो। उहाँ हामी त्यहीं भएको चाहिबक्सन्थ्यो।’

दीपेन्द्रको घर पुग्दा पारसले आफ्ना दाजुलाई असाधारण व्यवहार गरेको पाए। उनले पिएका थिएनन्, तर मातेको अभिनय गरिरहेका थिए।

‘म उहाँलाई जान्दछु र उहाँले धेरै पिइबक्सेको छ-छैन, म थाहा पाउँछु’, पारसले भने- ‘उहाँले दिउसैदेखि पिइरहेको बताइबक्सनुभयो, तर उहाँमा रक्सीको कुनै गन्ध थिएन।’

‘त्यो कसरी हुनसक्छ ?’ पारसले भने- ‘उहाँले पूरै समय पिइबक्सेको भए उहाँबाट पूरै गन्ध आउने थियो। तर त्यस्तो केही थिएन।’

जब वीरेन्द्र दृश्यमा आए, उनी भित्र छिर्नैलाग्दा भुइँमा दीपेन्द्र ढले। पारस र दीपेन्द्रका भाइ निराजनले उनलाई उठाएर उनको कोठामा लगे।

केही समयमै दीपेन्द्र फर्किए, जसको नतिजा- पूरै परिवारको हत्या भयो।

‘त्यो पूर्णतः अस्तव्यस्तको क्षण थियो’, पारसले सम्झिए- ‘घाइतेहरू चिच्याइरहेका थिए, रगत भित्ता र भुइँभरि छरिएको थियो। मेरी पत्नीसहित बाँच्नेहरू भुइँमा घोप्टो परेर बस्दा विस्तारै रोइरहेका थिए। बुलेटहरू जथाभावी छरिइरहँदा केहीचाहिँ सोफामुनि लुकेका थिए।’

बोल्दै गर्दा उनको अनुहारमा पसिना आएको थियो। तीन घन्टे अन्तर्वार्ताका क्रममा टेबुलमा राखिएको सुन्तलाको जुसलाई उनले छोएनन्।

घटना विवरणलाई बाहिर ल्याइनुपर्छ भन्ने चाहनाका कारण दिनमै एक प्याकेट चुरोट खाने पारस अन्तर्वार्ता गर्दा एउटा चुरोट सल्काउन पनि रोकिएनन्।

उनले भने- ‘त्यो हत्याकाण्डपछिका चार वर्षसम्म म सुत्न सकिन। अझै पनि दुःस्वप्नले मलाई तर्साइरहन्छन्।’

बितेका वर्षहरूमा आफूलाई त्यो दिनको घटनाबारे सोच्ने र पुनः सोच्ने समय मिलेको उल्लेख गर्दै अबमात्र घटनाको विकासक्रमबारे प्रस्ट हुनसकेको पारसले बताए।

शुक्रबारे भोजको चलनै थियो। त्यहाँ केही होला या सम्पन्ता र सहजताको आफ्नो जीवनमै परिवर्तन ल्याउने घटना होला भन्ने कुराको अनुमानै गर्न नसकिने थियो।

राति आठ बजे समस्याको पहिलो संकेत देखिएको पारसले बताए।

‘म त्यहाँ केही ढिला पुगेँ’, उनले भने- ‘तर दीपेन्द्र कोठामै हल्लिइबक्सिरहेको थियो, मानौं कि उहाँ मातिबक्सेको थियो।’

राजा छिर्नासाथ ढलेका दीपेन्द्रलाई उठाएर उनको विछयौनामा पुर्‍याउँदा पारसले दीपेन्द्रको कम्मरमा रहेको होल्स्टरबा ग्लक पेस्तोल निकाल्न खोजेका थिए, ताकि सुत्दा उनलाई असजिलो नहोस्। तर दीपेन्द्र अचानक उठे र आफूलाई एक्लै छाड्न आदेश दिए।

‘त्यतिबेला मैले देखेँ, उहाँको कल्ट एम १६ राइफल दराज बाहिरको टेबुलमा थियो’, पारसले भने- ‘सामान्यतः त्यो दराजभित्र थियो। तर त्यसबारे मैले खासै केही अनुमान लगाइन, किनकि उहाँले आफ्नो कोठामा ६ या ७ वटा बन्दुक राखिबक्सन्थ्यो। म कोठाबाट बाहिरिएँ र भोजमा आएँ।’

राजा दरबारका पुराना पुस्ताका सदस्यसँग गफिइरहेका थिए।

तर पारसचाहिँ उनीहरूबाट छलिएका युवा पुस्ताका सदस्यहरूसँग थिए, ताकि धूमपान गर्न पाइयोस्।

राजा नजिकिँदै आउँदा उनीहरूले चुरोट निभाएका थिए।

अनि स्थिति हिंसात्मक भयो।

‘अचान दीपेन्द्र कोठामा आइबक्स्यो’, उनले भने- ‘उहाँले आर्मी पोसाक लगाइबक्सेको थियो। उहाँका काँधमा एम १६ र सटगन झुन्डिएका थिए। ग्कल पेस्तोल कम्मरमा थियो। उहाँले हेक्लर एन्ड कोच एपी ५ सव मेसिनगनबाट सिलिङमा हानिबक्स्यो। अनि उहाँको बुबालाई। महाराजलाई तीन बुलेट लाग्यो। त्यसपछि दीपेन्द्र बाहिर गइबक्स्यो। सायद भित्र छिर्ने बाटोको कब्जा गर्न। मैले त्यो सबै ठूलो स्तब्धतासाथ हेरें। कम्तीमा ३० सेकेन्डजति त म हल्लिन पनि सकिन। अनि मैले आफूलाई सम्हालेँ। राजाकी कान्छी बहिनीले उहाँलाई काखमा राखिबक्सेको थियो। राजाको टाउको उहाँको काखमा थियो।’

त्यति वर्णन गरेपछि पारस केही क्षण रोकिए। अनि उनले निराजनले आफ्नै बन्दुक निकालेर राजा नजिकै राखेको सम्झिए। कोठामा निराजनमात्रै हतियार भएका व्यक्ति थिए।

त्यसपछि निराजन दाजुको पछि दौडिए, जो बाहिर थिए। के निराजनले दीपेन्द्रलाई ठोक्न राजालाई पेस्तोल दिएका थिए? या उनी थप रक्तपात विनै दाजुको सामना गर्न चाहन्थे?

‘दुई मिनेटपछि फेरि बन्दुक चल्यो र निराजन ढाडमा एक र टाउकोमा दुई गोली लागेको अवस्थामा भेटिए’, पारसले भने- ‘मलाई लाग्छ, शक्ति हत्याउने दीपेन्द्रको योजनामा साथ नदिएकाले उनलाइ गोली हानियो।’

फर्किंदा एम १६ लिएका दीपेन्द्रले त्यसपछि जथाभावी गोली हाने। ‘उनी बुबा नजिकै गए र प्वाइन्ट ब्ल्याङ्क रेन्जमा टाउकोमै हाने’, पारसले भने- ‘औंलाले ट्रिगर दबाउँदा उनको अनुहारमा कुनै भाव देखिएन।’

त्यो भइरहँदा पारस पनि अरूसँगै सोफामुनि लुकेका थिए।

तर कोठाबाट आएको घन्टीको आवाजले दीपेन्द्रको ध्यान तान्यो। रानी ऐश्वर्या सायद हतियार लिन दीपेन्द्रको कोठामा गएकी थिइन्। ‘मेरो अनुमानमा उहाँलाई दीपेन्द्रले भर्‍याङमै भेट्टाइबक्स्यो। र गोली हानिबक्स्यो।’

‘जलेको रगतको गन्ध डरलाग्दो थियो’, उनले भने- ‘त्यस्तो गन्ध जो मान्छेलाई नजिकैबाट गोली हान्दा उत्पन्न हुन्छ। कोही भुइँमै लडेका थिए, कोही रोइरहेका थिए, कोही सहयोग मागिरहेका थिए।’

केही सयम त्यहाँ गोली चल्न रोकियो।

तर त्यो मौनतालाई केही बेरपछि बगैंचाको तलाउ नजिकैबाट आएको गोलीको आवाजले तोडयो। त्यो आवाजसँगै पारसले अर्को आवाज सुने, जो पछि दीपेन्द्रलाई अस्पताल लैजाँदा निस्केको आवाजजस्तै थियो।

‘त्यसैले मलाई लाग्छ, उहाँले बगैंचामा आफूलाई गोली हानिबक्स्यो’, पारसले भने- ‘दुख्दा निस्कने त्यो आवाज उस्तै थियो। त्यो त्यस्तो आवाज थियो, जो बिरालाले राति निकाल्छन्।’

Popularity: 10%

99 comments April 1st, 2009

पूर्वगोर्खालाई आवेदन समयसीमा नलाग्ने

साभारः कान्तिपुर, अक्टोबर २० -
काठमाडौं, कार्तिक २ - पूर्वगोर्खा सैनिकलाई बेलायतमा बसोबास गर्ने अस्थायी नगारिकताका लागि आवेदन गर्न तोकिएको समयसीमा हटाइएको छ । आवेदन गर्ने समय कात्तिक ७ सम्म थियो ।

बेलायती सेनामा चार वर्षसम्म काम गरेका सबै पूर्वगोर्खा र तिनका परिवारले अस्थायी नागरिकता पाउनुपर्ने र जहिलेसुकै आवेदन गर्न पाउनुपर्ने माग गर्दै चार दिनदेखि पूर्वगोर्खाहरूले बेलायती दूतावास अगाडि धर्ना दिइरहेका थिए ।

‘आवेदन भर्ने समयसीमा हटाएकामा हामी स्वागत गर्छौं,’ संयुक्त ब्रिटिस गोर्खा भूपू सैनिक संघका अध्यक्ष प्रेम राईले भने ।

पूर्वगोर्खाहरूले भने आवेदन गर्ने समय बढाइए पनि बेलायतले राखेका मापदण्डका कारण फाइदा लिन नसकिने बताएका छन् । बेलायतले सन् १९९७ अघि अवकाश पाएका गोर्खा सैनिकले अस्थायी नागरिकताका लागि तीन वर्ष बेलायतमा बसेको हुनुपर्ने, परिवारको कोही व्यक्ति बेलायती सेनामा हुनुपर्ने, छोराछोरी बेलायतमा पढ्दै गरेको हुनुपर्ने र दीर्घ रोगी वा अपांग हुनुपर्ने प्रावधान राखेको छ ।

‘यो सरासर जालसाझी हो, यो प्रावधान गोर्खाहरूलाई बेलायत आउन नदिने मनसायबाट बनाइएको छ,’ राष्ट्रिय सभाका सदस्य पूर्वगोर्खा मेजर दीपकबहादुर गुरुङले भने- ‘यी प्रावधान नहटाएसम्म गोर्खाहरूलाई फाइदा हुने छैन ।’

सन् १९९७ भन्दा अघि गोर्खा पल्टन हङकङ र ब्रुनाईमा राखेका कारण उनीहरूलाई दुई वर्षका लागि मात्र बेलायत लैजाने गरिन्थ्यो । गोर्खालाई १८ महिनामा घर बिदा दिने गरिन्थ्यो । थोरैमात्र तीन वर्ष बेलायत बसेका छन् ।

पूर्वगोर्खा सैनिक गर्जबहादुर गुरुङले यहाँस्थित बेलायती दूतावासमा गोर्खाहरूको समस्या समाधानमा बाधक भएको बताए । बेलायत पुगेका जोसुकै गोर्खाले त्यहाँ आवेदन गरे अस्थायी नागरिकता पाउने गरे पनि दूतावासले चाहिँ नदिएको उनले बताए । ‘यहीँबाट पाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने ।

Popularity: 12%

5 comments October 20th, 2006

थन्केको जहाज यसरी ठोक्कियो

साभारः जनआस्था -
काठमाडौं । देशका धुरन्धर विद्वानहरु, विदेशी कूटनीतिज्ञहरु र वन राज्यमन्त्रीसमेतलाई चढाएर विकट हिमाली भेगमा उडेको विमान कति पुरानो थियो भन्ने थाहा पाउदा तपाईलाई नेपालको उडान क्षेत्रको नीतिगत विडम्बना पक्कै थाहा लाग्नेछ ।


ताप्लेजुङको घुन्सा फलेडांडामा २४ जना दिग्गजहरुको सम्पूर्ण समाप्तिसहित क्षतविक्षत भएको श्री एयरको ९ एन अल्फा होटल जुलियट कलसाइनको जहाज १९८४ मा बनेको थियो। र, दुर्घटनाको मितिसम्ममा यसले २२ वर्षे आयु नाघिसकेको थियो।

वास्तवमा सो जहाज एमआई-१७ पनि थिएन। जहाज एमटी थियो र यसलाई मोडिफिकेशन (आधुनिकीकरण) गरी एमआई- १७ भर्सनमा लगिएको थियो। एमआई-१७ जहाज सन् १९९० पछिमात्र बन्न थालेका हुन्। यो बाहेक हाल नेपालमा सञ्चालित अन्य रुसी जहाजहरु एमआई-१७ भर्सनका छन्।

विश्व वन्यजन्तु कोष डब्लुडब्लूएफ जस्तो संस्थाले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वहरु, राजदूत र मन्त्रीहरुलाई उडाउनुपर्दा यस्तो जहाज कसरी रोज्न पुग्यो ? भन्ने प्रश्न उठेको छ।

नेपालको हवाई नीतिमा २० वर्षभन्दा पुरानो जहाज भित्र्याउन पाईदैन। नियमले हेर्दा यो जहाज २० वर्ष नपुग्दै भित्र्याइएको देखिन्छ तर जहाज १२ वर्षसम्म कुनै मर्मत सम्भार नभई पूर्वी जर्मनीमा बेवारिसे अवस्थामा थन्किएको थियो। पूर्वी र पश्चिम जर्मनीका बीच तनाव चलिरहंदा भएको अवरोधका कारण जहाज प्रयोगमा नआएको र प्रयोग नै नगरे पनि यन्त्रहरुको हुनुपर्ने नियमित परीक्षण नभएको कारण अत्यन्त सस्तो मूल्य ७ लाख अमेरिकी डलरमा नेपाल भित्र्याइएको थियो। २३/२४ हजार घण्टा उडाइसकेपछि जहाज हिउँचुली एयरले किन्ने प्रयत्न गर्‍यो। हवाई उड्डयनमा राम्रै दलालको संज्ञा पाइसकेका कर्णाली एयरका नारायणसिंह पुनले ६ लाख डलरमा पाए किन्ने प्रस्ताव पठाएका थिए तर मनाङ एयरले दिएन। थुप्रै एमआई-१७ जहाज रहेको श्री एयरले अन्ततः यो जहाज पनि १३ लाख डलरमा किनेको थियो।

विज्ञहरु जहाजको अवस्थालाई मात्र दुर्घटनाको सम्पूर्ण दोषचाहिं दिंदैनन्। मौसमको प्रतिकूलता दुर्घटनाको देखिएको कारण हो भने २४ जना बोकेर हाई अल्टिच्युड भएको ठाउंमा भीआईपी बोकेर उड्नु अर्को कारण हो। समाचारअनुसार, भीरमा जहाज बिष्फोट भई मानव शरीर टुक्राटुक्रा भएर छरिएका कारण हिजो अबेरसम्म सबै लाश संकलन हुन सकेका छैनन्।

Popularity: 11%

Add comment September 27th, 2006

प्रचण्डले पढे आफैंलाई सिध्याउने पत्र

जनआस्था काठमाडौं -
“हामीलाई भौतिकरुपमै सिध्याउने गरी दरबारियाहरुले टिम बनाएका रहेछन्। त्यसमध्येका तीनजना हाम्रो कब्जामा परेका छन्। मैले उनीहरुले दिएको लिखित बयान पढें। उनीहरुले दरबारियाहरुले काम लगाएको र त्यसअर्न्तर्गत हामीमाथि दोष लाग्नेगरी कान्तिपुर प्रकाशनमा आक्रमण गर्ने वा सरकारी पार्टी नेताको हत्या गर्ने लिखित बयानै दिएका छन्। उनीहरुको अर्को योजना हामीलाई खत्तम गर्ने पनि रहेछ। आफ्नो टिमका सदस्यहरु भनी उनीहरुले दिएको नामहरु सैनिक नेतृत्व नजिकका छन्। हामी त्यो टोलीको कमाण्डरको खोजीमा छौं। कमाण्डर पनि भेटिएपछि सबै कुरा सार्वजनिक गर्नेछौं।”


जनआस्था साप्ताहिकसंग हिजो राति टेलिफोनमा कुराकानी गर्दै माओवादी अध्यक्ष प्रचण्डले पार्टी नेतृत्वको सफाया गर्न र वार्ता भांड्न दरबारियाहरुले गरेका हर्कतहरुको उपरोक्त खुलासा गर्नुभयो। पक्राउ परेका तीनमध्ये सहायक कमाण्डरसंग पार्टी लिएको बयानको हवाला दिंदै प्रचण्डले थप जानकारीसहित भन्नुभयो- “तीन जनामध्ये एकजना दुई वर्षअघि माउजर लिएर सेनालाई बुझाएको व्यक्ति हो। अर्को एकजना पनि हाम्रै पार्टी अलग भएको मान्छे हो। त्यस्ता व्यक्तिहरुलाई दरबारियाहरुले हाम्रो हत्या गर्ने काममा प्रयोग गरेका रहेछन् ।”

चार सुरक्षा निकाय, खासगरी सेना प्रमुखको चयनको सम्बन्धमा हिजो सरकारले गरेको निर्णयप्रति नेकपा (माओवादी) थप आक्रोशित भएको छ। वार्ताको क्रममा प्रतिगमनकारी भूमिका निर्वाह गर्ने तथा आन्दोलन दमनको योजना बनाउने व्यक्तिलाई प्रधानसेनापति नबनाउन आफूहरुले बारम्बार भनेको पनि उहांले बताउनुभयो । “प्रधानसेनापतिमा जसलाई चयन गरियो, यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक लिएका छौं। वार्ताटोलीमार्फ् हामीले यो कुरा १२ र ८ बुंदे समझदारी तथा जनताको भावनाविपरीत हुन्छ पनि भनेका थियौं”- प्रचण्डको भनाइ थियो- “हामीले यसो भन्दा कहिले निमित्त मात्र दिन लागेका हौं भनियो, कहिले कामु मात्र दिने हो भनियो। र, अहिले त ‘कन्र्फम’ प्रधानसेनापति नै बनाइयो । यसले गम्भीर आशङ्का जन्माएको छ।”

भदौ ११-१५ मा कामीडांडामा सम्पन्न केन्द्रीय समितिको बैठकमा प्रस्तुत प्रतिवेदनमा समेत प्रधानसेनापतिबारे उल्लेख गरिएको जानकारी दिंदै प्रचण्डले भन्नुभयो- “प्रतिवेदनमै हामीले उनलाई निरंकुशताको धर्मपुत्र, गत जनान्दोलनको प्रमुख दमनकारी भनेर चित्रित गरेका छौं। यो प्रतिवेदन र्सार्वजनिक हुन बांकी छ, जसमा हामीले उनलाई पार्टी सिष्टमको सबैभन्दा विरोधी पनि भनेका छौं। हामीले भन्दाभन्दै पनि जसरी प्रधानसेनापति चयन गरियो, यसबाट प्रधानमन्त्रीले हामीसंगको सहयात्रा ब्रेक गर्न खोजेको देखिएको छ।”

यस प्रसङ्गमा एमाले महासचिव माधवकुमार नेपालसंग पनि आफ्नो कुराकानी भएको उहांको भनाइ छ। “हिजो राति र आज (मंगलबार) बिहान महासचिव नेपालसंग कुरा भएको थियो। मैले कामीडांडा बैठकको प्रतिवेदन उद्धृत गरी यो कुरा उहांलाई पनि भनेको थिएं। उहांले दिउंसो प्रधानमन्त्री कोइरालालाई भेटेर यसबारेमा कुरा गर्छु भन्नुभएको थियो। मैले उहांलाई भनें- प्रधानसेनापतिका बारेमा हाम्रोतर्फबाट पनि प्रतिनिधित्व गरी कुरा राखिदिनोस्। माधवजीले पनि यिनै व्यक्तिलाई प्रधानसेनापति बनाउने कुरा हुनै सक्दैन, तपाईंहरुले भन्नुभएको कुरा ठीक हो भन्नुभएको थियो। तर, दिउंसो त तिनै व्यक्तिलाई पो प्रधानसेनापति बनाइएको समाचार आयो “यस घटनाबाट प्रधानमन्त्री कोइरालाको शाख नराम्ररी गिरेको छ। लोकतान्त्रिक आन्दोलनका नेताको छविमा पनि दाग लागेको छ। साथै दरबारसंग बुझिनसक्नुको सांठगांठ रहेको कुराको पुष्टि गरेको छ । यो कोइरालाले इतिहासमा गरेको गम्भीरतम भूल हो”- अध्यक्ष प्रचण्ड भन्नुहुन्छ- “अझै पनि समय बाँकी छ, आंटका साथ आन्दोलनको मर्म आत्मसात गर्नुहोस्। राजनेताले जनतालाई यसरी धोका दिनुहुंदैन।”

प्रधानमन्त्री कोइरालाका व्यवहारले गम्भीर आशङ्का उत्पन्न गरे पनि नेकपा (माओवादी) का तर्फबाट वार्ता र युद्धविराम भङ्ग नहुने प्रतिबद्धता प्रचण्डको छ। “बैठकले गरेका दुइ महत्त्वपूर्ण निर्णय अनुसार पहिले त हामी स्वतन्त्र प्रयासद्वारा जनदबाव सिर्जना गर्दै जानेछौं। त्यतिले पनि नपुगे दोस्रो चरणमा सशक्त जनआन्दोलन हुनेछ। त्यो जनआन्दोलन १९ दिनसम्म जान पनि सक्छ, ९ दिनमा नै कायापलट पनि हुनसक्छ अथवा ४९ दिनसम्म पनि जानसक्छ”- प्रचण्डले थप भन्नुभयो- “आन्दोलनमाथि दमन तथा जनमतको भावनाविपरीत यताउति गरिएमा त्यो सरकारका लागि अक्षम्य भूल हुनेछ। त्यसबेला हुने जनव्रि्रोहलाई हामी नेतृत्व दिनेछौं। जनता जागेपछि को, कहा“ पुग्दोरहेछ भन्ने कुरा त्यसबेला उनीहरुले बुझ्नेछन्।”

राज्यद्वारा बेपत्ता पारिएका परिवारजनले सोमबार दिएको धर्नाका क्रममा लाठीचार्ज गर्दै शुरु गरिएको दमनले यो सरकार पनि प्रतिगमनकै बाटोमा हिंडेको देखिएको बताउंदै उहांले भन्नुभयो- “हजारौं नागरिकहरु राज्यद्वारा बेपत्ता पारिएका छन्। यस्तो बेला उनीहरुले नाराबाजी गरी आक्रोश पोख्नु गलत थिएन। तर, सरकारले उनीहरुमाथि राति लाठीचार्ज गरेर दमन गर्न खोज्यो। यसबाट सरकार पुरानै बाटोमा हिंड्न खोजेको संकेत मिलेको छ । अबको आन्दोलनको शुरुवात नै यस घटनाबाट भएको छ।” नेकपा (माओवादी) का तर्फबाट पनि बेपत्ता पारिएको भन्ने सरकारलाई लागेको छ भने लिष्ट दिए आफूहरुले तत्कालै स्थिति र्सार्वजनिक गर्ने प्रतिबद्धता उहांले व्यक्त गर्नुभयो।

सरकारले काठमाडौंमा सोमबार बिहान अकस्मात् सैनिक गस्ती बढाएकाले आफू सोमबार जनयुद्धका घाइतेहरुको सम्मेलनमा नगए पनि भूमिगत भने नभएको उहांको दाबी थियो। “आकस्मिक सेना परिचालनले हामीमा कन्फ्युजन सिर्जना गर्‍यो। वार्ता समितिमार्फ् कुरा बुझ्दा थाहा भयो, सेनाले उछालेकाले यो घटना भएको रहेछ”- उहांले भन्नुभयो- “सम्मेलनमा भाग लिन जनयुद्धका क्रममा घाइते भएका हाम्रा साथीहरु गाडीमा चढी आएका थिए। जनयुद्धमा घाइते हुनेहरु स्वभाविकरुपमै जनमुक्ति सेनातर्फा छन्। थानकोटबाट छिर्ने क्रममै हाम्रा साथीहरुले हामी सेनाका हौं भन्ने जानकारी दिएकै थिए। तर, सेनाले यसबारेमा सरकारलाई गलत सूचना दियो र राजधानीमा दर्जनौं गाडीमा एसटीएफ भित्रिएको भन्दै हामीविरुद्ध लक्ष्यित गरेर सेनाको गस्ती बढाइयो।”
“यो पनि दरबारिया षड्यन्त्रको एउटा प्रमाण हो”- प्रचण्डको विश्लेषण छ- “आफूसमेत मुछिएको हतियार प्रकरणका कारण उनीहरु अत्तालिएका छन्। त्यसैले यस प्रसङ्गलाई अन्यत्रै मोड्न राजधानीमा जनमुक्ति सेनाको एसटीएफ भित्रिएको भनियो । यसरी सरकार पनि दरबारको एम्बुसमा पर्‍यो।”

अध्यक्ष प्रचण्डका अनुसार, कामीडांडा बैठकले दश सदस्यीय उच्चस्तरीय वार्ताटोली गठन गरे पनि त्यसयता प्रम कोइरालासंग कुनै कुरा भएको छैन। “गोदावरी वार्तामा नै शिखरवार्ता गर्ने सहमति भएको हो, हामी त वार्ता गर्न तयारै छौं”- प्रचण्डले भन्नुभयो- “तर कोइरालालाई भेट्नका लागि बिन्तीपत्र हाल्नुपर्छ भन्ने पक्षमा हामी छैनौं। कोइरालाको व्यक्तिवादी कार्यशैली हेर्दा दबाव नदिई निकास आउन्न भन्ने देखिएको छ।”

Popularity: 11%

2 comments September 6th, 2006

चार नेपाली इराकी जेलमा

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
कुवेतमा रोजगारीका लागि गएका मकवानपुरका चार नेपाली इराकको जेलमा रहेको समाचार प्राप्त भएको छ।

खोजतलासले जनाए अनुसार गत वर्षअसोजमा कुवेत गएका मकवानपुर पदमपोखरी गाविस-१ का सुमन लामासहित चारजना व्यक्ति म्याद गुज्रिएको खाद्यान्न लगेको आरोपमा इराकको जेलमा परेको बताइएको छ।

कुवेतमा कार्यरत ती व्यक्तिलाई इराकमा सामान नलगे जागिर खोसिदिने धम्की दिएपछि ड्राइभर लामासहित पोखराका कृष्णबहादुर महत, झापा दमकका रामकुमार राई ईश्वर बस्नेत इराक जाँदा पक्राउ परेको बताइएको छ।

उनीहरू इराकको वस्त्र जेलमा रहेको कुवेतबाट कार्यरत रही फर्केका व्यक्तिले बताएको बुझिएको छ।

Popularity: 11%

1 comment August 17th, 2006

तान्सेन दरबार ध्वस्त, दर्जनौ सुरक्षाकर्मी र माओवादीको मृत्यु

एचकेनेपाल डट कम, जनवरी २-
माओवादीले पाल्पा सदरमुकाम तानसेनमा मंगलबार राति गरेको आक्रमणमा पूरानो तानसेन दरवारलाई ध्वस्त पार्नुका साथै कम्तीमा १२ सुरक्षाकर्मी, ८ माओवादीको मृत्यु र प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापा लगायत ३५ भन्दा बढी प्रहरीहरुलाई अपहरण गरिएकोछ।

स्वतन्त्र समाचार सेवाले जनाए अनुसार माओवादीले एकतर्फी युद्धविराम भंग गरेपछिको यो सबभन्दा ठूलो आक्रमण थियो। मंगलबार राति ११ बजेदेखि बुधबार ६ बजे बिहानसम्मको माओवादी र सुरक्षाकर्मीबीचको दोहोरो भिडन्तमा परी सरकारी कार्यालयहरु रहेका पूरानो तानसेन दरवार ध्वस्त भएकोछ भने मानवीय क्षति पनि ठूलो भएको आशंका गरिएकोछ।

पाल्पा आक्रमणको जिम्मा लिंदै माओवादी अध्यक्ष प्रचण्डले पाल्पा सदरमुकाम आक्रमणमा जनसेनाले प्राप्त गरेको सफलतालाई अपार सफलताको संज्ञा दिंदै हिजै एक वक्तव्य जारी गरेकाछन्। वक्तव्यमा भनेकोछ- ‘निरंकुशताको विरुद्ध हाम्रो फौजी प्रतिरोध अझ घनीभूत र व्यापकरुपले अगाडि बढ्नेछ।’

त्यसैगरी डिपुटी कमाण्डर प्रभाकरले पनि हिजै एक वक्तव्य जारी गर्दै तानसेन कारवाहीमा डिएसपी सहित ४५ सुरक्षाकर्मीको मृत्यु भएको र सयौं हतियार माओवादीले कब्जामा लिएको दावा गरेकाछन्।

थप समाचारको लागि कान्तिपुरः
प्रजिअ र सुरक्षाकर्मीहरू अपहरित, १० सुरक्षाकर्मीसहित १९ को मृत्यु
माधव अर्याल/दीपेन्द्र बडुवाल
पाल्पा, माघ १९ - माओवादीले पाल्पा सदरमुकाम तानसेनमा मंगलबार राति गरेको आक्रमणमा १० सुरक्षाकर्मी, आठ माओवादी र एक भान्छे गरी १९ जनाको मृत्यु भएको छ ।
यहाँका सबै सुरक्षा निकाय र सरकारी कार्यालयमा एकसाथ आक्रमण गरेका माओवादीले प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापा र केही प्रहरी अपहरण गरेका छन् । २५ सुरक्षाकर्मी घाइते भएका छन् । स्रोतअनुसार राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख यामप्रसाद पराजुली र जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा हुमनाथ पाण्डे पनि अपहरित छन् ।

राजधानीमा रक्षा मन्त्रालयले जनाएअनुसार झन्डै चार हजारको संख्यामा आएका माओवादी र सुरक्षाफौजबीचको भिडन्तमा चार सैनिकको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले ६ प्रहरीको मृत्यु भएको पुष्टि गरेको छ ।

मृत्यु भएका एक प्रमुख जिल्ला अधिकारीका भान्छे हुन् । घटनामा २० प्रहरी र पाँच सैनिक घाइते भएका छन् । तीमध्ये ६ प्रहरीलाई पोखरास्थित मणिपाल र अन्यलाई उपचारार्थ काठमाडौं लगिएको छ । चारमहिने युद्धविरामपछि माओवादीले जिल्ला सदरमुकाममा गरेको यो सबैभन्दा ठूलो आक्रमण हो ।
कार्यालयका अनुसार मृत्यु भएका प्रहरीमा असई मीनबहादुर कुमाल, जवानहरू होमबहादुर नेपाली, एकबहादुर राई, लालबहादुर बस्नेत, मनबहादुर नेपाली र लोकबहादुर सुनार छन् । कार्यालयले बुधबार साँझसम्म २९ प्रहरी सम्पर्कबाहिर रहेको जनाएको छ । टुँडिखेलस्थित सैनिक ब्यारेक, कारागार शाखा, गस्तीका सुरक्षाफौज, जिल्ला प्रशासन कार्यालय र बतासे चेकपोस्टमा माओवादीले एकसाथ आक्रमण गरेका थिए । भिडन्त सुरु भएको साढे दुई घन्टापछि काठमाडौं र पोखराबाट सेनाको नाइटभिजन हेलिकप्टर पुगेको थियो ।

आक्रमणमा माओवादीले अत्याधुनिक हतियार प्रयोग गरेका थिए । जिल्ला प्रशासन कार्यालयबाट करिब दुई किलोमिटर तल रहेको सेनाको ब्यारेकमा रहेका सुरक्षाकर्मीलाई अगाडि बढ्न नदिएर कारागार र प्रशासनमा माओवादीले एकैपल्ट आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए ।

जिल्ला प्रशासन कार्यालयको उत्तरतर्फको सुरक्षापोस्टमा आक्रमण गरी माओवादी पाल्पा दरबारको मूलढोका फोरेर भित्र पसेका थिए । दरबारमा प्रशासन, जिल्ला विकास समिति, कोष तथा लेखा नियन्त्रण, मालपोत, राष्ट्रिय अनुसन्धान, जिल्ला स्काउट, दूरसञ्चार, अफिसर्स क्लबलगायत एक दर्जन सरकारी कार्यालय थिए । दरबारमा लागेको आगो बुधबार साँझसम्म पनि निभेको थिएन । जिल्ला प्रहरी र सेनाको एक टुकडी बस्ने प्रशासन क्षेत्रभित्र लामो समय भिडन्त भएको थियो । माओवादी आक्रमणपछि प्रहरीले प्रतिकार गर्न नसकेकाले नजिकैको सेनाको टुकडीले प्रतिरक्षा गरेको थियो । टुकडीको पनि गोली सकिएपछि माओवादीले उक्त क्षेत्र कब्जा गरेको थियो ।

कारागार शाखामा माओवादीले पश्चिमतर्फबाट आक्रमण गरेका थिए । डाँडाबाट आक्रमण भएपछि त्यहाँका २५ प्रहरी प्रतिकार गर्न नसकी भागेका थिए । कारागारका चार माओवादीसहित १ सय ३८ बन्दीलाई माओवादीले भगाए । कारागार प्रमुख दीपक नेपालका अनुसार तीमध्ये चार बन्दी र पाँच दलका नेता सम्पर्कमा आएका छन् । कारागारको बन्दी भवनमा माओवादीले आगो लगाएका छन् । प्रहरी ब्यारेक र कार्यालयमा पनि आगजनी गरेका छन् ।

प्रहरीलाई कब्जामा लिइसकेपछि माओवादीले जिल्ला प्रहरी कार्यालयमा आगजनी गरे । ऐतिहासिक दरबारसँगै सबै प्रशासनिक निकायका कागजपत्र जलेर नष्ट भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी, अदालतका श्रेस्तेदार, प्रहरी, स्थानीय विकास अधिकारीलगायतको निवास पनि आगजनीमा ध्वस्त भएको छ । तानसेन नगरपालिकाको भाडामा दिएको टहरा जलेको छ । ती टहरामा सर्वसाधारणले पसल चलाउँदै आएका थिए ।

तानसेन-तम्घास सडकको बतासे चेकपोस्टको संयुक्त सुरक्षाफौजमाथि आक्रमण सुरु भएपछि सेनाले रेडियो पश्चिमाञ्चल रहेको घरमा आड लिएको थियो । क्षतिग्रस्त भएकाले उक्त एफएम बुधबार सञ्चालनमा आउन सकेन । स्टुडियो र ट्रान्समिटरमा समेत क्षति पुगेको स्टेसन म्यानेजर दामोदर खनालले बताए । गस्तीका सुरक्षाकर्मीसँगको भिडन्तमा सुरक्षाकर्मीको गोली सकिएपछि माओवादीले सबैलाई एकै ठाउँमा थुनेर राखेका थिए । उनीहरू बिहान ७ बजेतिरमात्र सम्पर्कमा आएका थिए ।

सम्पर्कमा आएका प्रहरीले आफूहरू ट्वाइलेट, सिस्नोघारी र मन्दिरपछाडि लुकेर ज्यान जोगाएको बताए । अपहरित प्रहरीमध्ये अधिकांश हवाई फायर हुँदा भागेर आएका थिए । राति पौने दुई बजेदेखि नाइटभिजनले कारबाही गरेको थियो ।

मृत्यु भएका अधिकांशको निधारमा गोली लागेको छ । तानसेन बजारको असन टोलको गल्लीछेउमा माओवादीले एक शव पुरेका छन् । भिडन्तपछि सुरक्षा निकायका दुई हेलिकप्टर माओवादीको खोजीमा परिचालित छन् । रातभरिको भिडन्तले तानसेनवासी अझै त्रासमा छन् ।

यसैबीच गुल्मी समाचारदाताका अनुसार पाल्पा आक्रमणपछि माओवादीहरू सुरक्षित ठाउँ खोज्दै जिल्लाको पश्चिमी क्षेत्र र अर्घाखाँचीका ग्रामस्ण इलाकातर्फ लागेका छन् । आक्रमणपछि उनीहरूले पाल्पाका केही सुरक्ष्ााकर्मीलाई माइक्रो बसमा राखेर सँगै लिएर गएको प्रत्यक्षदर्शीले बताए । आक्रमणअघि माओवादीले तम्घास-तानसेन सडक खण्डको वीरबासदेखि बलेटक्सारसम्मका विभिन्न ठाउँमा रूख र ढुंगा तेस्र्यार्एर अवरुद्ध पारेको सडक बुधबार साँझसम्म खुलेको छैन । पाल्पा सदरमुकामनजिकै हार्थोकमा मंगलबार साँझ रोकिएका सवारीलाई भने बुधबार बिहान भिडन्त सकिएपछि माओवादीले बाटो खोलिदिएका थिए । बाटो खुला नभएकाले हार्थोकबाट छुटेका सवारी साधन र यात्रु साँझ बलेटक्सार गाविसको बीच बाटोमा अलपत्र परे ।

यसैबीच माओवादीले पाल्पा घटनाको जिम्मेवारी लिएको छ । आक्रमणको जिम्मेवारी लिँदै माओवादी अध्यक्ष प्रचण्डद्वारा बुधबार जारी विज्ञप्तिमा नगर चुनावको विरोध र लोकतन्त्र स्थापनाको आग्रहसमेत छ । विज्ञप्तिमा सात दल र माओवादीबीचको समझदारीलाई राज्यले कमजोरी ठानेको आरोप छ ।

Popularity: 9%

5 comments February 2nd, 2006

नेपालगञ्जमा फेरि आक्रमण

एचकेनेपाल डट कम, जनवरी २५-
माओवादीले नेपालगञ्जमा सेना, प्रहरी, प्रशासनिक निकाय लगायतलाई लक्षित गरी मंगलबार राती आक्रमण गर्दा कम्तीमा १ सेना, १ प्रहरीको मृत्यु र पांच सुरक्षाकर्मी घाइते भएको कान्तिपुरले जनाएकोछ।

सोही घटनामा एक माओवादीको शव फेला परेको छ । केही माओवादी घाइते भएको प्रत्यक्षदर्शीले बताए।

माओवादीले राति आठ बजे जिल्ला प्रहरी र भृकुटी नगर वडाप्रहरी कार्यालयबाट आक्रमण थालेका थिए । उनीहरूले वडाप्रहरीमा पनि हमला गरे । कफ्र्यु लाग्नु एक घन्टा अघि आक्रमण भएकाले अधिकांश सर्वसाधारण घर पुग्न भ्याएनन् । माओवादीले कारागार शाखा, नेपाल राष्ट्र बैंक, प्रहरी गुल्म, प्रहरी तालिम केन्द्र, अञ्चल प्रहरी कार्यालयतिरसमेत आक्रमण प्रयास गरेका थिए । बम र गोलीका आवाज निकैबेरसम्म सुनिएको थियो । कतिपय स्थानीयवासीका घरका छतबाट समेत गोली चलाइएको थियो । जिल्ला प्रहरीमा आक्रमण हुँदा मंगलबार पक्राउ परेका सात दलका ६ नेता त्यही राखिएका थिए । उनीहरू सुरक्षति रहेको स्रोतले जनायो ।

माओवादीले भेरी प्राविधि शिक्षालय परिसमा पनि आक्रमण गरे । राझा विमानस्थल र कोहलपुरस्थित सशस्त्र प्रहरी बल गण अगाडि पनि केहीबेर फायरिङ भयो । प्रजिअ विनोद अधिकारीले समयमै प्रहरी कार्यालयमा सेना र सशस्त्र प्रहरी बल पुर्याइएकाले ठूलो क्षति हुनबाट जोगिएको बताउनुभयो । आक्रमणको सूचना पाएपछि जिल्ला प्रहरी सुरक्षार्थ मंगलबार सेना र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो । वडाप्रहरीमा शनिबारै सेना तैनाथ गरिएको थियो । बुधबार यहाँ गृहमन्त्री कमल थापा आउने कार्यक्रम छ ।

Popularity: 9%

Add comment January 25th, 2006

थानकोट चौकीमा सेना परिचालन

एचकेनेपाल डट कम, जनवरी १६-
माओवादीद्वारा गत शनिवार सांझ राजधानीका विभिन्न ठाउंहरुमा श्रृंखलाबद्ध आक्रमण गरेपछि थानकोट र भक्तपुरस्थित दधिकोट इलका प्रहरी चौकीहरुमा अत्याधुनिक हतियारसहित सेनालाई परिचालन गरिएकोछ।

माओवादीले गरेको आक्रमणमा परी थानकोटमा मात्र एक प्रहरी निरक्षकसहित ११ प्रहरीले ज्यान गुमाएका थिए। उक्त घटनाबाट राजधानीबासीमा आतंक फैलिएको छ भने कमजोर सुरक्षा पोस्टहरुमा अत्याधुनिक हतियार सहित थप सुरक्षाकर्मीहरुका साथै सेना परिचालन गर्न थालिएकोछ।

अन्य समाचारको लागि नेपाल समाचारपत्र

दीपक/किशोर,काठमाडौं
काठमाडौंमा शनिबार सांझ भएका शृंखलाबद्ध आक्रमणपछि सरकार सुरक्षा निकायलाई उच्च सतर्क बनाउंदै विशेष रणनीति तयार गर्न केन्द्रित बनेको छ तर घटनापश्चात् भने राजधानीबासीमा भय बढेर गएको छ।

राजधानीका दुइ सुरक्षा पोस्ट र आधा दर्जनभन्दा बढी सरकारी कार्यालयमा माओवादी छापामारले लगातार आक्रमण गरेपछि सरकारले कमजोर सुरक्षा चौकीमा थप मद्दत पठाएको छ भने भक्तपुरको दधिकोट इलाका प्रहरी कार्यालय र थानकोटस्थित सुरक्षाजांच चौकीमा शाही नेपाली सेनालाई परिचालन गरेको छ। सरकारले समेत आशंका नगरेको थानकोट चौकीमा माओवादीले आक्रमण गरेपछि राजधानीमा विभिन्न स्थानमा छड्के चेक गर्ने र शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने कार्य आइतबार दिनभर नै सुरक्षा निकायले तीव्र बनायो।

गृहमन्त्री थापाले आइतबार नेपाल समाचारपत्रसंगको कुराकानीमा माओवादी आक्रमणलाई कायरताको संज्ञा दिनुभयो। उहांले हतियारविहीन अवस्थामा रहेका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर माओवादीले कायरतापूर्ण तवरले हत्या गरेको बताउनुहुंदै त्यस घटनाबाट सरकार विचलित नभएको बरु सुरक्षा संयन्त्रलाई अझै मजबुत बनाएको बताउनुभयो। तर राजधानीबासी भने आइतबार पनि भयभीत देखिन्थे। आइतबार सांझ पर्न नपाउंदै राजधानीबासी आ-आफ्नो गन्तव्यतर्फलागेका थिए। थानकोट चौकी आक्रमण भएको झन्डै १४ घण्टापछि माओवादी भागेको आशंकित स्थलमा हवाई र स्थल कारबाही तीव्र बनाइएको छ।

प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण हवाई तथा स्थल कारबाही प्रभावकारी हुन नसकेको सुरक्षास्रोतले जनाएको छ। थानकोट प्रहरी चौकीका प्रमुखलाई नै माओवादीले हत्या गरेपछि उहांको ठाउंमा जिल्ला प्रहरी कार्यालय काठमाडौंले प्रहरी निरीक्षक श्रीहजुर सिलवाललाई काजमा पठाएको छ भने १ सयभन्दा बढी प्रहरीलाई त्यहां खटाएको छ। गृहमन्त्री थापा थानकोट र दधिकोट प्रहरी चौकीमा पुगी घटनाका बारेमा जानकारी लिनुभएको थियो भने त्यहां तैनाथ प्रहरी अधिकृत तथा जवानहरूलाई विचलित नभई आतंककारीविरुद्ध लड्न निर्देशन दिनुभएको थियो।

राजधानीमा रहेका ट्राफिक प्रहरीहरूलाई सांझ परेपछि एक्लै बाटोमा नबस्न र बस्नुपरे शाही नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति भएका ठाउंमा मात्रै बस्न उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले निर्देशन दिएको छ।

नगरनिर्वाचन असफल बनाउने उद्देश्यले व्रि्रोही माओवादीले शहरकेन्द्रित रक्तपात शुरू गरे पनि सरकार चुनावबाट पछि नहट्ने सरकारका प्रवक्ता सूचना तथा सञ्चार राज्यमन्त्री श्री शशमशेर जबराले बताउनुभएको छ। ‘चुनाव हुन नदिने चाहना भएको एउटा समूह सडकमा छ भने अर्को समूह आतंक मच्चाउन खोजिरहेको छ, तर आन्दोलन र आतंकवादबाट जनता र राज्य तर्सिंदैनन्’, जबराले नेपाल समाचारपत्रसंग भन्नुभयो- ‘चुनाव रोकिंदैन।’

माओवादी विशेष कमान्ड इन्चार्ज तथा जनसेनाका डिपुटी कमान्डर अनन्तले आइतबार प्रेस विज्ञप्ति जारी गरी ढाडमा टेकेर टाउकोमा हान्ने फौजी रणनीतिको पहिलो सफल अभ्यास भएको बताएका छन्। आन्दोलनरत सात दलको सडक आन्दोलनले माओवादीलाई राजधानी छिर्न सहज भएको विश्लेषण पनि राज्यमन्त्री जबराको थियो। माओवादीले गाउंगाउंबाट जनता लखेटेर दलहरूलाई प्रवेश गराएको र दलहरूले आन्दोलनमा लाखौं जनता उतार्ने नाममा माओवादीलाई राजधानीमा भित्र्याएको दाबी पनि उहांले गर्नुभयो ।

Popularity: 9%

1 comment January 16th, 2006

आक्रमणपछि २० प्रहरी सम्पर्कविहीन

एचकेनेपाल डट कम, जनवरी १२ -
माओवादीले कैलालीको सदरमुकाम धनगढीमा बुधबार सांझ सुरक्षा निकाय र सरकारी कार्यालयहरुमा एकैचोटी गरेको आक्रमणमा २० प्रहरीहरु सम्पर्कविहिन भएको जनाइएकोछ।

सुरक्षा स्रोतअनुसार माओवादीले बुधबार सांझ ६:३० बजे सदरमुकाम नजिकै बोराडांडी सैनिक ब्यारेक, वडा प्रहरी कार्यालय, जिल्ला तथा अञ्चल प्रहरी कार्यालय, निर्वाचन कार्यालय र राष्ट्र बैंकलाई लक्षित गरी विस्फोट र फाइरिङ्ग गरेका थिए।

थप समाचारको लागि कान्तिपुर अनलाइन

धनगढीमा आक्रमण
मोहन बुढाऐर/चित्रांग थापा/जे. पाण्डे
धनगढी, पुस २७ - माओवादीले कैलाली सदरमुकाम धनगढीका सुरक्षा निकाय र सरकारी कार्यालयहरूमा बुधबार साँझ एकसाथ आक्रमण गरेका छन्।

सुरक्षा स्रोतअनुसार विभिन्न समूहमा साँझ ६:३० देखि आएका माओवादीले सदरमुकाम नजिकै बोराडाँडीस्थित सैनिक ब्यारेक, वडा प्रहरी कार्यालय, जिल्ला तथा अञ्चल प्रहरी, निर्वाचन कार्यालय र राष्ट्र बैंकलाई लक्षित गरी विस्फोट र फायरिङ गरेका थिए । लगत्तै प्रहरी र सेनाका तर्फबाट जवाफी फायरिङ भएको थियो।

रंगशालास्थित वडा प्रहरी कार्यालयमा खाना खान लागेका बेला आक्रमण भएपछि सुरक्षाकर्मी भागाभाग भए । त्यहाँ कार्यरत ३५ प्रहरीमध्ये २० सम्पर्कमा आउन नसकेको सुरक्षा स्रोतले जनायो । छर्रा लागेर दुई प्रहरी र एक सर्वसाधारण घाइते भएका छन् । उनीहरूको उपचार सेती अञ्चल अस्पतालमा भइरहेको छ । राति १० बजेसम्म दुवै तर्फबाट फायरिङ भइरहेको थियो । बीचबीचमा केही समय फायरिङ बन्द भए पनि विस्फोटको आवाजले बजारवासी आतंकित भए । फायरिङ सुरु भएलगत्तै बजार क्षेत्र पूरै सुनसान भएको थियो।

माओवादीले सुरुमा बजारको मध्यभागस्थित वडा प्रहरी कार्यालयमा फायरिङ गरेका थिए । लगत्तै अन्य ठाउँमा पनि विस्फोट र फायरिङ भए । भिडन्त सुरु भएपछि सर्वसाधारणहरू जो जहाँ थिए त्यहीँ बसेका थिए । चिया खाइरहेकाहरू समेत सुरक्षित हुन पसलमै बसेका थिए । राष्ट्र बैंक र बोराडाँडीमा रहेका शाही नेपाली सेनालाई आक्रमण गरेर माओवादीले अल्मल्याउन खोजेको सुरक्षा स्रोतको अनुमान छ । त्यतिबेलै माओवादीले टीकापुरस्थित सशस्त्र प्रहरी बल र सुख्खडको सैनिक बेसक्याम्पमा सामान्य आक्रणम गरेका थिए।

माओवादीले भयभीत तुल्याउन धनगढी बजार क्षेत्रमा एकैसाथ फायरिङ गरेको पुष्टि गर्दै सेनाको सुदूरपश्चिम पृतना हेडक्वार्टर स्रोतले भन्यो- ‘स्थिति नियन्त्रणमा छ, सदरमुकाममा सुरक्षाफौज परिचालन गरिएको छ ।’ घटनामा केही सर्वसाधारणसमेत परेको सुरक्षा स्रोतको आशंका छ । क्षतिको विवरण भने राति अबेेरसम्म यकिन हुन सकेन । राति भएकाले थप सैनिक बल प्राप्त नभई सुरक्षा निकाय क्षति मूल्यांकनको स्थितिमा नरहेको जनाइएको छ । जिल्लामा बाक्लो हुस्सु लागेको छ । मौैसम प्रतिकूल छ । तैपनि स्थिति नियन्त्रण बाहिर नगएको उल्लेख गर्दै सबै सुरक्षाकर्मीलाई आ-आफ्नै ठाउँमा प्रतिरक्षात्मक रूपमा रहन निर्देशन दिइएको स्रोतले जनायो।

माओवादीले युद्धविराम भंग गरेपछि जिल्ला सदरमुकामस्थित सुरक्षा निकायहरूलाई लक्ष्यित गरी एकसाथ आक्रमण गरेको यो पहिलो हो।

बर्दिया जिविसमा विस्फोट
यसैबीच बर्दिया समाचारदाताका अनुसार माओवादीले त्यहाँको जिविस कार्यालयमा बुधबार साँझ दुई शक्तिशाली बम विस्फोट गराएका छन् । विस्फोटपछिको आगलागीमा भवन पूरै क्षतिग्रस्त भएको सुरक्षा स्रोतले जनायो । विस्फोटपछि त्यहाँ आगोको ठूलो मुस्लो देखिएको एक स्थानीयवासीले बताए।

Popularity: 9%

Add comment January 12th, 2006

दरवार चुपचाप, इन्द्रबहादुर मृत्यु कुर्दैछन्

दरवार चुपचाप, इन्द्रबहादुर मृत्यु कुर्दैछन्

एचकेनेपाल डट कम, जनवरी २-
इन्डोनिसियामा मृत्युको सजाय कुरेर बसिरहेका नुवाकोट, देउराली ८-का इन्द्रबहादुर तामांगको विषयमा दरवार चुपचाप मौन सांधेर बसेकोछ। चार बर्षदेखि बेखर विदेशी भूमिमा मृत्यु कुरेर बसेका तामांगलाई बचाउंने एक मात्र अन्तिम उपाय भनेको त्यहांका राष्ट्रपतिसंग माफीका लागि अपिल गर्नु हो।

लागुऔषध अभियोगमा पक्राउ परेका तामांग थाइल्याण्डमा एकजनाको घरमा घरेलु सहायकका रुपमा काम गर्ने गर्थे। घरमालिकको नुनको सोझो गर्न केही सामान थाइल्याण्डबाट इन्डोनिशया पुर्‍याएको बखत उनी इन्डोनिसियामा पक्राउ परेका थिए।

तामांगको जीवनरक्षाका लागि दरवारमा तीनपटक विन्तीपत्र चढाउंदा पनि बचाउंको लागि पहल नभएकोमा मानव अधिकारवादी तथा उनका आफन्तहरुले चिन्ता प्रकट गरेकाछन्।

थप समाचारका लागि कान्तिपुर अनलाइनः

इन्डोनेसियामा नेपाली बिचल्ली
कान्तिपुर संवाददाता, काठमाडौं, पुस १७ - गोर्खाका इन्द्रबहादुर तामाङ इन्डोनेसियामा मृत्युदण्डको पर्खाइमा बन्दी जीवन बिताइरहेका छन् । लागूऔषध अभियोगमा पक्राउ परेका तामाङको जीवनरक्षाका लागि दरबारमा तीनपटक बिन्तीपत्र चढाउँदा पनि बचाउको पहल नभएकामा मानव अधिकारवादी तथा आफन्तले चिन्ता प्रकट गरेका छन्।

कानुनविद् गोपाल सिवाकोटी ‘चिन्तन’ ले मृत्युदण्डको फैसला बदर गर्नसक्ने बताउँदै भन्नुभयो- ‘छिटो सामूहिक पहल गरिए उनलाई बचाउन सकिन्छ, सरकाले सुपुर्दगी सन्धि वा कूटनीतिक उपायद्वारा पहल गर्नुपर्छ ।’ इन्डोनेसियाले सन् १९६६ मा राष्ट्रसंघको नागरिक तथा मानव अधिकार अनुबन्ध अनुमोदन गरिसकेको छ।

तामाङको जीवनरक्षाका लागि अधिकारवादी संघसंस्थाले इन्डोनेसियाका राष्ट्रपतिसमक्ष अपिल गरेका छन् । दिदी फूलमाया तामाङले भनिन्- ‘मेरो भाइ सोझो र इमान्दार थियो, गलत मानिसले उसलाई फसाए ।’ छोराको खबरले आमा बिरामी परेको उनले बताइन् ।

दुव्र्यसनी विरुद्धको अभियानको सेमिनारमा इन्डोनेसिया पुगेका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरलाई जीवनरक्षका लागि सरकारलाई पहल गरिदिन तामाङले आग्रह गरेका थिए । ‘म बाँच्न चाहन्छु, मैले मृत्युदण्ड पाउने अपराध गरेको छैन,’ तामाङलाई उद्धृत गर्दै कुँवरले भन्नुभयो- ‘कृपया मलाई बचाइदिनुहोस् ।’ सरकारले पहल गरे राष्ट्रपतिले माफिनामा गर्नसक्ने जानकारी इन्स्टिच्युटका कर्मचारीले कुँवरलाई दिएका थिए।

मृत्युदण्डको सजाय पाएका अन्य चार जना नेपालीलाई उच्च अदालतले आजीवन कारावासमा परिवर्तन गरिसकेको छ । तर तामाङको भने पुरानै फैसला सदर गरेको छ । अधिकारवादीको दबाबले यसअघि चीनले रवि श्रेष्ठ र ईश्वरी दाहालको मृत्युदण्डको सजायलाई आजीवन कारावास बनाएको थियो।

___________________________________________________________________

विदेशमा मृत्युदण्ड कुर्दै छन् नेपाली

कमल पौडेल, नेपाल समाचापत्र डिसेम्बर २२-
काठमाडौं, एक नेपाली युवा विदेशी भूमिमा मृत्यु कुरेर बसेका छन्। त्यहांको सरकारबाट मृत्युदण्डको सजाय सुनाइएका उनलाई सहयोग गर्ने त्यहां कोही छैनन्। फरक भाषाका कारण उनले भनेको कुरा अरूले बुझदैनन्, अरूले भनेको कुरा उनी बुझदैनन्। उनी बेखर्ची छन्। बेखबर छन्, बेसहारा छन्।

नुवाकोट देउराली-८ का २ु वर्षीय इन्द्रबहादुर तामाङ इन्डोनेसियाको जेलमा चार वर्षदेखि यस्तै कष्टपूर्ण जीवन भोग्दै छन्। उनलाई त्यहां भिसा र भाषा दुवैको समस्या छ। आंसु बगाएर शरीर हल्का पार्ने आफन्त पनि त्यहां छैनन्। आंसु पिएर मृत्यु कुर्नुबाहेक ऊ स्वयम्ले त्यहां केही गर्न सक्ने अवस्था छैन। मृत्युदण्डको सजायविरुद्ध अपिल कसरी र कहां गर्नुपर्छ, त्यो पनि उनलाई थाहा छैन। उनलाई यति मात्र थाहा छ, कुनै पनि बेला त्यहांका सुरक्षाकर्मीले उनलाई बोलाउनेछन् र कतै लगेर झुन्डयाउनेछन्। उनी इन्डोनेसियाको राजधानी जकार्ताको चिप्याङस्थित ‘नार्रकोटिक करेक्सनल इन्स्टिच्युट’ मा चार वर्षदेखि छन्।

लागू औषधसम्बन्धी सेमिनारमा भाग लिन नेपालबाट गत हप्ता त्यहां पुग्नुभएका प्रतिज्ञा लागू औषध व्यवस्थापन स्कुलका सल्लाहकार प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुंवरको त्यहांको जेल भ्रमण गर्ने क्रममा इन्द्रबहादुरसंग अकस्मात् जम्काभेट भएको थियो। ‘एउटा नेपाली युवक बेखबर चार वर्ष देखि विदेशी जेलमा मृत्यु कुरेर बसेको देखेपछि म त तीनछक्क परें। मेरो अगाडि उभिएको एक नेपाली अब केही दिनमै मारिनेछन् भन्दा मन भारी भयो, आंखा रसाए। उनले मेरा अगाडि रूंदै भने- म मर्न चाहन्न“ मलाई बचाउनुहोस्, मृत्युदण्डबाट छुटकारा दिलाइदिन सहयोग गर्नुहोस्। मैले मर्नुपर्ने अपराध गरेको छैन’ -इन्द्रबहादुरको भनाइ उद्धृत गर्दै कुंवरले नेपाल समाचारपत्रसंगको भेटमा भन्नुभयो।

प्रवउ कुंवरका अनुसार जेल पर्नुअघिसम्म उनी थाइल्यान्डमा एक जनाको घरमा घरेलु नोकरका रूपमा काम गर्थे। सोही अवस्थामा घरमालिकको आदेशअनुरूप केही सामान लिएर थाइल्यान्डबाट इन्डोनेसिया पुगेका थिए। सोही क्रममा उनी पक्राउ परे। उनको सुटकेसमा सेतो हेरोइन भेटियो। उनले उक्त सुटकेसमा के छ भन्ने कुरा पक्राउपछि मात्र थाहा पाएको पनि बताए। विदेशी भाषा बुझन नसकेका कारण आफू निर्दोष रहेको कुरा त्यहांका अधिकारीहरूलाई राम्रोसंग बुझाउन नसक्दा आफू जेल बस्नुपरेको कुरा पनि इन्द्रबहादुरले प्रवउ वसन्त कुंवरलाई जानकारी गराए। यससम्बन्धमा प्रवउ कुंवरले त्यहांका सुरक्षा अधिकारीसंग पनि कुराकानी भएको बताउनुभयो। तर प्रमाणका आधारमा इन्डोनेसियाली कानुनअनुसार उक्त सजाय भएको प्रतिक्रिया त्यहा“का अधिकारीहरूले उहांलाई दिए। प्रवउ कुंवरका अनुसार त्यहांका दुइ तहका अदालतबाट केही समय पहिले मृत्युदण्डको फैसला सदर गरिएको छ। अब उनलाई मृत्युदण्डबाट बचाउने एउटै र अन्तिम उपाय बांकी छ त्यो हो- त्यहांका राष्ट्रपतिसंग माफीका लागि अपिल गर्ने। राष्ट्रपतिबाट आममाफी हुन सके उनीविरुद्धको फैसलामा पुनर्विचार हुने थियो। ‘तर त्यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबको खांचो छ’, कुंवर भन्नुहुन्छ- ‘श्री ५ बाटै पहल भए केही हुने थियो कि’ ।

राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका महासचिव भवानीप्रसाद खरेलका अनुसार श्री ५ समक्ष इन्द्रबहादुरका आफन्तले दुइपटक बिन्तीपत्र हालिसकेका छन् तर सुनुवाइ भएको छैन। उनलाई मृत्युदण्डबाट बचाउन एम्नेस्टी इन्टरनेसनल लन्डनबाटै पहल भइरहेको पनि उहांले बताउनुभयो। एम्नेस्टी लन्डन नेपाल शाखा, नेपाल समूह-३ र राष्ट्रिय मानवअधिकार प्रतिष्ठानको संयुक्त प्रयासमा राष्ट्रपतिसमक्ष अपिल पनि पठाइसकिएको खरेलले जानकारी दिनुभयो। ‘उनको प्राण रक्षाका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा के पहल भइरहेको छ, त्यसबारे भने इन्द्रबहादुर बेखबर छन्’ -प्रवउ कुंवर भन्नुहुन्छ।

Popularity: 9%

21 comments January 2nd, 2006

निर्वाचन बिथोल्न सात दिन नेपाल बन्द

महानगर, डिसेम्बर २३-
काठमाडौं,सरकारले जसरी पनि नगर निर्वाचन गरिछाड्ने अठोट देखाइरहेका बेला माओवादीले नगर निर्वाचन बिथोल्न दुइ महिने कार्यक्रम सार्वजनिक गरेको छ। जसमा निर्वाचनका बेला सात दिने नेपालबन्द लगायतका कार्यक्रम छन्।

माओवादी अध्यक्ष प्रचण्ड र संयुक्त क्रान्तिकारी जनपरिषद् संयोजक डा. बाबुराम भट्टराईले हिजो संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन बिथोल्ने कार्यक्रम सार्वजनिक गरेको हो।

घोषित कार्यक्रमअनुसार, पुस ७ गतेदेखि पुस मसान्तसम्म प्रचार-प्रसार, माघ १ देखि १२ गतेसम्म जनपरिचालन, जनप्रदर्शन र जनसभा, माघ १३ देखि २२ गतेसम्म जनकारबाही (नगरपालिका निर्वाचनमा संलग्न पदाधिकारी र उम्मेदवारमाथि विशेष कारबाही) र माघ २३ देखि २९ गतेसम्म नेपालबन्द रहेको छ। त्यस्तै, सात दलद्वारा आयोजित विरोध कार्यक्रममा सहयोग पुग्नेगरी पुरक सङ्र्घर्षका कार्यक्रम गरिने पनि माओवादी विज्ञप्तिमा उल्लेख छ।

निर्वाचन बिथोल्न सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको माओवादीले अब युद्धविराम तोड्नसक्ने सङ्केत देखिएको छ। दुइ दिनअघि मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीले माओवादीको ढाड भांच्चिएको र मुलुक निर्वाचनमा गइसकेको बताउनुभएलगत्तै माओवादीले सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेका छन्।

युद्धविरामका बेला सात दलसंग भएको १२ बुंदे समझदारी कार्यान्वयन गर्ने र आन्दोलन सशक्त बनाउने प्रतिबद्धता पनि माओवादीले जाहेर गरेको छ।

Popularity: 9%

3 comments December 23rd, 2005

रेडियो आन्दोलनलाई अन्तर्राष्ट्रिय पुरस्कार

कान्तिपुर संवाददाता, मंसिर २३ -
काठमाडौं, नेपालको रेडियो आन्दोलन अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रतासम्बन्धी पुरस्कारबाट सम्मानित भएको छ। अन्तर्राष्ट्रिय प्रेस पहरेदार संस्था रिपोर्टर्स विथआउट बोडर्स (आरएसएफ) बाट नेपालको स्वतन्त्र रेडियो बचाऊ आन्दोलनसहित १० व्यक्ति तथा संस्थाले यस वर्षको पत्रकारिता उपविजेता पुरस्कार प्राप्त गरेका छन्।

माघ १९ पछिको सैनिक अवरोधका कारण समाचार प्रसारण बन्द भएपछि झन्डै हजार रेडियो पत्रकार बेरोजगार भएको उल्लेख गर्दै त्यही पृष्ठभूमिका गठित आन्दोलनले दर्जनौं रेडियोमा समाचार प्रसारणलाई पुनः सुचारु गरेको विज्ञप्तिमा उल्लेख छ।

आरएसएफले बिहीबार घोषणा गरेको यस वर्षको पत्रकारिता पुरस्कार विजेतामा चिनियाँ पत्रकार झाओ यान, अफगानी टीभी टोलो, सोमालियाको नेसनल युनियन अफ सोमाली जर्नालिस्टस (एनयूएसओजे) सिरियाका मासोद हामिद छन्।

पुरस्कार विजेताले झन्डै १ लाख ७५ हजार रुपैयाँ (२ हजार ५ सय डलर) पाउने आरएसफले जनाएको छ । न्युयोर्क टाइम्ससँग सम्बद्ध चिनियाँ पत्रकार झाओ सरकारी गोप्यता भंग गरेको आरोपमा जेलमा छन्।

अफगानी टीभी टोलो त्यहांको स्वतन्त्र समाचारका लागि कहलिएको संस्था हो । इस्लाम संस्कारविरुद्ध गएको भन्दै धम्कीहरू टीभीलाई दिइने गरेको छ । एनयूएसओजे गृहयुद्धको जटिल अवस्थादेखि नै प्रेस स्वतन्त्रताको पक्षमा लड्दै आएको संस्था हो । हमिदलाई सिरियामा भएको कुर्दिसहरूको विरोध प्रदर्शनको तस्वीर इन्टरनेटमार्फत अन्तर्राष्ट्रियकरण गरेबापत तीन वर्षको जेल सजाय दिइएको छ।

Popularity: 9%

Add comment December 9th, 2005

नेपालमा सवा खर्ब डलर रेमिटेन्स

नेपाल समाचारपत्र, डिसेम्बर ९-
काठमाडौं, विश्वभरि नै गरिबी निवारणका लागि सशक्त माध्यम बनेको विप्रेषण (रेमिटेन्स) ले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १८ प्रतिशतको योगदान पुर्‍याइरहेको विश्वबैंकका अधिकारीहरूले बताएका छन्। ‘नेपालमा औपचारिक तहबाट भित्रिने रेमिटेन्स ७५ करोड ५० लाख डलर पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको १२ प्रतिशत हो। यसको ५० प्रतिशत अंश अनौपचारिक तहबाट भित्रिने तथ्यांकसमेत समावेश गर्दा यो १ अर्ब २० करोड अमेरिकी डलर पुग्न जान्छ, जुन कुल गार्हस्थ्य उत्पादनको १८ प्रतिशत हो’ -बिहीबार राजधानीमा विश्वबैंकको ग्लोबल इकोनोमिक प्रस्पेक्टस (विप्रेषण र आप्रवासनको आर्थिक प्रभाव) विषयक प्रतिवेदन सार्वजनिक गर्दै सो प्रतिवेदनका लेखक एवम् बैंकका वरिष्ठ अर्थशास्त्री दिलीप राणाले भन्नुभयो।

भारत, चीन र मेक्सिको विश्वका प्रमुख रेमिटेन्स प्राप्त गर्ने मुलुक रहेको तथ्यांक प्रस्तुत गर्दै अर्थशास्त्री राणाले यो तथ्यांक समावेश गर्दा नेपाल रेमिटेन्स प्राप्त गर्ने विश्वका शीर्ष २० मुलुकभित्र पर्ने जानकारी दिनुभयो। सन् २००५ मा विश्वमा आप्रवासन र रेमिटेन्सको अनुपात बढेर १ खर्ब ६७ अर्ब डलर पुगेको उल्लेख गर्दै उहांले मानिसहरू धन आर्जनका लागि गरिब मुलुकबाट धनी मुलुकमा जान्छन् भन्ने तथ्य सत्य नभई ५० देखि ६० प्रतिशत मानिस विकासशील मुलुकबाट विकासशील मुलुकहरूमै गइरहेको तथ्य प्रस्तुत गर्नुभयो।

यसै गरी बैंकका अर्का वरिष्ठ अर्थशास्त्री हान्स टिमोरले विश्व आर्थिक प्रक्षेपणका प्रमुख अंशहरू सार्वजनिक गर्दै विश्वभरि तेलको मूल्यमा आएको उच्च वृद्धिका बाबजुद आर्थिक वृद्धिले निरन्तरता पाएको उल्लेख गर्नुभयो। कार्यक्रममा व्यवस्थापन विकास केन्द्रका प्रमुख डा. विमल कोइराला, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर कृष्णबहादुर मानन्धर, अर्थशास्त्री डा. गणेश गुरुङ, आईएमई प्रबन्ध निर्देशक चन्द्र ढकाल तथा विश्वबैंकका वरिष्ठ बाहृय सम्पर्क विशेषज्ञ राजीव उपाध्यायले रेमिटेन्सले नेपालको आर्थिक विकास, यहांको विदेशी विनिमय सञ्चिति तथा भुक्तानी सन्तुलनमा पारेको प्रभावबारे जानकारी दिनुभएको थियो।

Popularity: 9%

Add comment December 9th, 2005

एमाले कार्यालयमा आक्रमण प्रयास, सुरक्षाकर्मी तैनाथ

टंक पन्त, नेपाल समाचारपत्र, डिसेम्बर ४-
काठमाडौ, बानेश्वरमा शुक्रबार भएको ढुंगामुढा घटनाको बदला लिने बहानामा ‘राष्ट्रवादी’ समूहले शनिबार सांझ नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा सशस्त्र आक्रमण गर्ने टेलिफोन धम्की दिई त्यतातर्फ जुलुस अघि बढाएपछि सुरक्षानिकाय तैनाथ गरिएको छ। प्रत्यक्षदर्शीका अनुसार राष्ट्रिय झन्डा बोकेका खुंडा-खुकुरीसहितको करिब ८०-९० जनाको समूह अपराहन ४ बजे एउटा बानेश्वर र अर्को बालाजुमा खानपिन गरी अगाडि बढेको थियो। मोटरसाइकलमा हिंडेको एउटा समूहलाई कलंकीमा प्रहरीले रोक्न खोज्दा त्यहां एक प्रहरीमाथि आक्रमण गरी अघि बढेको र अर्को समूह पनि त्यहीं मिसिएका कारण सुरक्षाका लागि कडा व्यवस्था गरिएको थियो।

श्री ५ युवराजाधिराज जिन्दाबाद, नेकपा (एमाले) मुर्दाबाद, माधव नेपाल मुर्दाबादजस्ता नारा लगाउंदै कलंकीमा पुगेको समूह त्यहा“ केही समय रोकिएको थियो। करिब साढे सात बजे सांझ कलंकीमा जम्मा भएर एमाले कार्यालय फोड्नुपर्छ, माधव नेपाललाई सिध्याउंछौं-सिध्याउंछौं जस्ता उग्र नारा लगाउंदै अगाडि बढ्न खोजेपछि सुरक्षानिकायले जुलुसलाई रोकेको थियो।

सो समूह कलंकीबाट अगाडि बढ्न खोज्नुअगाडि नै एमालेको केन्द्रीय कार्यालय सेना, सशस्त्र र नेपाल प्रहरीले घेराउ गरिसकेको थियो। सानाठूला गरी १ु वटा गाडीमा करिब अर्ढाई सय सुरक्षाकर्मी बल्खु कार्यालयअगाडि ९ बजेसम्म तैनाथ थिए। त्यसपछि सेना र सशस्त्र फर्किएको थियो भने नेपाल प्रहरी तैनाथ भइराखेको छ। कलंकीबाट बल्खुतिर आउन नपाएको हतियारसहितको समूह चक्रपथ हु“दै महाराजगन्ज पुगेको थियो। महाराजगन्ज पुगेर नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको घरअगाडि गिरिजा मुर्दाबाद, देशभक्त संघ जिन्दाबादलगायतका नारा लगाएको थियो। कलंकीबाट अगाडिपछाडि प्रहरी लगाएर उत्तेजक नाराहरू लगाउंदै अघि बढेको सो समूह चाबहिल हुंदै ललितपुरको जाउलाखेलमा पुगेर राति ९ बजेतिर तितरबितर भएको थियो।

एमालेको कार्यालय आक्रमण गर्ने धम्की र सुरक्षानिकायको तैनाथीपछि पार्टीसचिव माधवकुमार नेपाल, स्थायी कमिटीका सदस्य वामदेव गौतम, झलनाथ खनाललगायत नेता-कार्यकर्ता एवम् सञ्चारकर्मीहरू बल्खु पुगेका थिए। राति ९ बजेतिर बल्खु कार्यालय पुग्नुभएका महासचिव नेपालले सञ्चारकर्मीहरूसंग कुराकानी गर्दै जनताको पार्टी कार्यालय र जनताका नेतामाथि आक्रमण गर्ने धम्कीको आफूहरूले अध्ययन गरिरहेको बताउनुभयो। ‘जेजस्तो घटनाको प्रयास भयो त्यो गम्भीर छ, यसमा को संलग्न थिए, तिनका पछाडि को छ, सबै छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ’ -उहांले भन्नुभयो। उहा“ले शुक्रबारको घटनाका सर्न्दर्भमा लाखांै जनतासहित अत्यन्तै शान्त र संयमका साथ जनप्रदर्शन र सभा समापन भएको र त्यसपछि बानेश्वरमा के घटना भयो आफूहरूलाई जानकारी नभएको भन्दै त्यहा कसले उत्तेजित बनायो, किन एमालेमाथि आक्रमण गर्न खोजियो, त्यसमा कसको संलग्नता रहेको छ भन्ने कुराको तथ्य बाहिर आउनुपर्छ भन्नुभयो। उहांले जनताको कार्यालयको सुरक्षा जनताले गर्ने बताउंदै त्यसमा राज्यको दायित्वचाहिं के हुन्छ, उसैले बुझने कुरा भएको पनि बताउनुभयो।

महासचिव नेपालले सो कार्यको निन्दा र भर्त्सना गर्दै आज आइतबार नै नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्ने जानकारी गराउनुभयो। अधिकांश मुन्द्रा लगाएका, केही कपाल पालेका, हेल्मेट नलगाई मोटरसाइकलमा सवारहरूको सो समूहले बालाजुमा रहेको एमालेको वडा कार्यालयमाथि आक्रमण गर्न खोज्दा प्रहरीले रोकेको बताएको छ। हिजै राति नेपाली कांग्रेस (प्रजातान्त्रिक) ले एक विज्ञप्ति जारी गरी एमाले कार्यालय आक्रमण गर्ने दुष्प्रयासको कडा शब्दमा भर्त्सना गरेको छ। विज्ञप्तिमा भनिएको छ- ‘एमालेले विशाल जनप्रदर्शन गरेकोमा निरंकुशतावादी र प्रतिगमनका समर्थकहरू अत्तालिएर हातहतियारसहित पार्टी कार्यालय आक्रमण गर्न खोज्नु आपराधिक कार्य हो।’

Popularity: 9%

2 comments December 4th, 2005

युवराज अकस्मात् प्रहरी मुख्यालयमा, छानबिन समिति गठन

दीपक रिजाल, डिसेम्बर ४-
काठमाडौं, श्री ५ युवराजाधिराज पारस शनिबार प्रहरी प्रधान कार्यालय सवारी होइबक्सी शुक्रबारको बानेश्वर घटनामा भएको सुरक्षाकमजोरीबारे जानकारी लिइबक्स्यो। सवा दश बजे अकस्मात् प्रहरी प्रधान कार्यालय सवारी भई युवराजाधिराजबाट करिब एक घण्टा प्रहरी महानिरीक्षक श्यामभक्त थापालगायत वरिष्ठ प्रहरी अधिकारीहरूसंग भीभीआईपी सवारीमा सुरक्षा प्रबन्ध गर्न नसकेको भनी असन्तुष्टि व्यक्त गरिबक्स्यो।

राजदम्पतीको स्वदेश फिर्तीको क्रममा स्वागतार्थ विमानस्थल जाने क्रममा बानेश्वरमा युवराजाधिराजको सवारीसाधनमाथि ढुंगा प्रहार भएको थियो। राजधानीको सुरक्षाव्यवस्था मिलाउन नसकेका कारण हाल उपत्यकामा कार्यरत नेपाल प्रहरीका अधिकृत स्तरका प्रायः सबैको सरुवा गर्ने तयारी भइरहेको बताइएको छ। यसैबीच सो घटनाको छानबिन गर्न गृह मन्त्रालयले शनिबार नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक हिम गुरुङको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव, सशस्त्र प्रहरी बल, शाही नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिसमेत रहेको समिति गठन गरेको उच्च स्रोतले जनाएको छ। सो समितिले छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस गरेपछि दोषीमाथि कारबाही गरिने बुझिएको छ।

Popularity: 9%

5 comments December 4th, 2005

दुर्घटनामा पन्ध्रको मृत्यु

केशव भट्टराई, चितवन/ सीताराम अधिकारी, धादिङ
लमजुङबाट नारायणगढतर्फ गइरहेको एक यात्रुवाहक बस बुधबार मुग्लिङ-नारायणगढ खण्डको कालीखोलामा दुर्घटना हुंदा १५ यात्रुको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। दुइ बच्चालाई नदीले बगाएको छ।

बेंसीशहरबाट हिंडेको ग१ख ७५५ नम्बरको बस चन्डीभन्ज्याङ-५ मा दुर्घटना हुंदा १४ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। दुइ जनाको शव बसले किचेको अवस्थामा फेला परेको थियो। दुर्घटनामा बसका चालक दीपु गुरुङ र खलासी टीकाराम भट्टको समेत मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। जम्मा ५५ जना यात्रु रहेको उक्त बस दुर्घटनाबाट ३१ जनालाई सशस्त्र प्रहरी बल र स्थानीय व्यक्तिले तत्काल उद्धार गरेका थिए। तीन जना घाइतेको शिक्षण अस्पताल, भरतपुर र २७ जनाको महेन्द्र आदर्श चिकित्सालयमा उपचार भइरहेको छ। सात यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। तीव्र गतिमा रहेको सो बस ट्रकलाई उछिन्ने क्रममा सडकबाट २ सय मिटर तल नदीकिनारमा खस्न पुगेको स्थानीय रोहिणी त्रिपाठीले बताएका छन्। ‘बस निकै गति लिएर आएको थियो, ओभरटेक गर्न खोज्दा किनारमा पुगेर एकैचोटि खस्न पुग्यो’, प्रत्यक्षदर्शी त्रिपाठीले नेपाल समाचारपत्रसंग भने- ‘त्यसपछि हामी तत्काल उद्धारमा लागेका थियौ“।’

मरेकाहरूको शरीर क्षतविक्षत अवस्थामा रहेको जानकारी दिदै उनले भने- ‘हामीले शुरूमा घाइतेहरूलाई उद्धार गरेर अस्पताल पठायौं अनि मरेकाहरूको शव झिक्न थाल्यौं।’ मृतकहरूको शव पनि भरतपुर अस्पतालमा राखिएको ज्रि्रका चितवनले जनाएको छ। गोर्खा हर्मी-५ का वसुन्धरा खत्री (२०), लमजुङ वन्सार-४ की चन्द्रकुमारी विक (१९), तीरमाया विक (१३), तनहुं सिसिमरानी पोखरी-२ रत्न श्रेष्ठ (२५), लमजुङ प्याराजुङ-२ शान्तमाया गुरुङ (५०), लमजुङ बेंसीशहर-१ मीना घले (२०), तनहुं चिसापानी-५ का भरतराज उप्रेती (४७), लमजुङ वन्सार-४ का राज विक (२०), लमजुङ राइबस-७ का वर्षप्रकाश थापा (४५), चितवन शारदानगर-१ की कुमाया गुरुङ (२४), लमजुङ वन्सार-५ का लक्ष्मण गुरुङ (५४), लमजुङ बाहुनडांडा-५, इन्दु घिमिरे (३५), निजकै चार महिनाकी बच्ची, सुन्दरबजार-७ पशुपति ढकाल (४३), भनपा-९ चितवनकी मनकुमारी दर्राई -३०), सुरज दर्राई (७), लमजुङ बाग्लुङपानी-९ का हारकाजी गुरुङ (४२), एकबहादुर गुरुङ (४३), प्याराजुङ-१ लमजुङका वीरबहादुर गुरुङ (५५), गैंडाकोट-३, रामचन्द्र सुवेदी (२८), लमजुङ वन्सार-४, तुलसीराम विक (१८), गोरखा केराबारी-७ रवीन्द्र ढकाल -ु०), लमजुङ भुल्भुले-९ की सुन्तली गुरुङ (३२), उनकै छोरी १५ महिनाकी सोमामाया गुरुङ, बाहुनडांडा-५ शारदा घिमिरे (३५), प्याराजुङ लमजुङ- नर्मदा गुरुङ (२०), चितवन गुन्जनगर-४की स्रि्रासिङ विक (२०), सोही ठाउंका १ वर्षा -नाम नखुलेका), लमजुङ भुल्भुले-९ का शेरबहादुर गुरुङ (२४), लमजुङ पुमा-२की विना गुरुङ (३५) र नाम थर नखुलेको बोल्न नसक्ने एक महिला।

Popularity: 9%

Add comment November 24th, 2005

परिवारकै चारद्वारा आत्महत्या

ऋषिराम पौड्याल/ कान्तिपुर
बाह्रबिसे -सिन्धुपाल्चोक, मंसिर ६ - एकै परिवारका चार जनाले बाह्रबिसेस्थित भोटेकोसीमा हामफालेर सोमबार सामूहिक आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा आमा, दुई छोरी र एक छोरा छन् । आइतबार उनीहरू बास बसेको लजमा आमाको नाम विमला खडका लेखाइएको थियो भने छोराछोरीको नाम खुलेको छैन ।

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका डा. उत्तम घिमिरेका अनुसार आमाको उमेर करिब ३८ वर्ष र दुई छोरीको उमेर अन्दाजी १४ र १७ छ । छोरा करिब ११ वर्षको अनुमान गरिएको छ । उनीहरू बाह्रबिसे बजारको पश्चिम भाग राम्चे गाविसबाट पालैपालो नदीमा हामफालेका थिए । लजबाट प्राप्त विवरणअनुसार उनीहरू भक्तपुर सूर्यविनायकका हुन् ।

‘पहिले आमाले छोरालाई खोलामा घचेटिन् अनि आफू हाम फालिन्, पछिपछि आउँदै गरेको छोरीहरू पालैपालो हामफाले,’ प्रत्यक्षदर्शी एकलक्ष्मी श्रेष्ठले भनिन् ।

उनीहरू हाम फालेको करिब १५ मिनेटपछि साढे ११ बजे स्थानीय बासिन्दाले शव नदीबाट झिकेका थिए । प्रहरी निरीक्षक विष्णुगोविन्द थापाका अनुसार नदीबाट झिक्दा सबैको मृत्यु भइसकेको थियो । उनीहरू को हुन् र किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन ।

Popularity: 9%

2 comments November 22nd, 2005

फेवातालमा युवायुवती बेपत्ता

कान्तिपुर समाचारदाता
लेखनाथ, -कास्की, मंसिर २ - राजधानीबाट घुम्न आएका एक जोडी युवायुवती बिहीबार फेवातालमा डुबेर बेपत्ता भएका छन् ।
दिउँसो साढे दुई बजे फेवातालको गौरीघाटबाट डुंगा लिएर घुम्न गएका ती जोडी तालको पश्चिमपट्टिको अनदुको टुँडामा डुबेका थिए । डुबेर बेपत्ता हुने युवा काठमाडौं- १३ टेबबहालका का २८ वर्षीय विकास महर्जन र युवती भक्तपुर दधिकोट- ७ की कमला कपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरू डुंगा छाडेर तालमा खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले उनीहरू दुर्घटनावश डुबेको वा आत्महत्या गरेको भन्ने प्रष्ट हुन नसकेको जनाएको छ । उनीहरूका अफन्तलाई खबर गरिनुका साथै खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

एक विद्यार्थीको मृत्यु

यसैबीच, सोही दिन बिहान पोखराबाट बेगनासतर्फ आइरहेको बस दुर्घटना हुँदा विद्यालय गइरहेका एक विद्यार्थीको मृत्यु भएको छ भने न्ौ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गको पोखरा सहर प्रवेश हुने विजयपुर खोलाको पुल नजिकै साढे नौ बजे मिनि बस नालिमा पल्टिएर निर्मल तामाङको मृत्यु भएको हो । पोखरा- १४ चाउथेका १७ वषर्ीय तामाङ लेखनाथको अर्घौंस्थित जुनियर सिटिजनस् एकेडेमी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

विद्यालय जान बस चढेको दुई मिनेट नहुँदै उनी दुर्घटनामा परेका थिए । बस छेउपट्टी गएर पल्टिएपछि यात्रुहरू किचिएका थिए । तामाङको बसले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकालाई सेना र प्रहरीले बस उठाएर उद्धार गरी अस्पताल लगेका थिए । उक्त घटनामा घाइतेमध्ये लेखनाथ- १५ का ४४ वर्षीय कुलबहादुर सुनुवारको अवस्था गम्भीर भएको र अरू आठ घाइते खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाग्रस्त ग. १ ख २२४६ नम्बरको बसका चालक राजकुमार थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Popularity: 9%

1 comment November 18th, 2005

श्री ५ सशर्त संविधानसभामा जान मञ्जुर र भारतमा आज त्रिपक्षीय वार्ता

काठमाडौं, (महानगर) ।
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र मुलुकको राजनीतिक संकट समाधान गर्न ससर्त संविधानसभामा जान राजी होइबक्सेको संकेत मिलेपछि भारतले नेपालका राजनीतिक दल, माओवादी र राजाका प्रतिनिधि राखेर गम्भीर वार्ता गर्न लागेको महत्वपूर्ण जानकारी प्राप्त भएको छ ।

सार्क सम्मेलनका क्रममा ढाकामा श्री ५ र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भएको महत्वपूर्ण वार्तामा श्री ५ बाट त्यस्तो आशय प्रकट गरिबक्सेपछि भारतले त्रिपक्षीय वार्ताको प्रयास शुरु गरेको स्रोतको दाबी छ।

स्रोत भन्छ- ‘भारतीय प्रधानमन्त्री सिंहले राजनीतिक दलहरुलाई ‘बाइपास’ गरेर अगाडि बढे स्थिति विस्फोटक बन्ने र राजसंस्थाको भविष्य नै खतरामा पर्ने संकेत गर्नुभएको थियो।’

सिंहले नेपालमा शान्ति ल्याउन र माओवादीलाई राजनीतिक मूलधारमा ल्याई दलसंग समन्वय र सहकार्य गर्नका लागि उनीहरुले उठाउदै आएको संविधानसभासम्मको मागमाथि विचार गर्नुपर्ने धारणा राख्नुभएपछि श्री ५ बाट राजसंस्थामाथि आंच नपुग्ने गरी समाधान खोज्दा आपत्ति नहुने हुकुम भएको स्रोत बताउंछ।

श्री ५ बाट बक्सेको शुभ संकेतपछि भारतीय प्रधानमन्त्रीले आफ्ना मातहतका कार्यालयहरुलाई त्यसबारे जानकारी गराएको र विदेश मन्त्रालयले नेपालका त्रिपक्षीय शक्तिसंग वार्ताको चांजोपांचो मिलाएको हो।

यसैबीच, भारतीय विदेश सचिव श्याम शरणले नेपालको राजनीतिक संकट समाधान गर्न भारतले सावधानीपूर्वक अनुगमन गरिरहेको बताउनुभएको छ। साथै, उहांले आफ्नो मुलुक नेपालका सबै पक्षसंग सर्म्पर्कमा रहेको जानकारी पनि दिनुभएको छ।

भारतको बोलाहटपछि नेकपा (एमाले) महासचिव माधवकुमार नेपाल, केपी ओली, अमेरिकी राजदूत जेम्स मोरियार्टी, युरोपेली युनियनका प्रतिनिधि, भारतीय राजदूत हिजै दिल्ली पुग्नुभएको छ। त्यस्तै, दरबारले पनि आफ्ना प्रतिनिधिलाई हिजै दिल्ली पठाएको बताइन्छ।

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, कृष्ण सिटौला, डा. शेखर कोइराला, प्रदीप गिरी, वाममोर्चाका सिपी मैनाली, एकता केन्द्र- मसालका सहमहामन्त्री प्रकाशलगायतका नेताहरु माओवादीसंगको वार्ताका क्रममा हाल दिल्लीमै हुनुहुन्छ।

भारतले आजैदेखि नेपालका राजनीतिक दलका नेता, दरबारका प्रतिनिधि, माओवादी उच्च नेतृत्व र अन्तर्राष्ट्रिय प्रतिनिधिहरुलाई समेत राखेर वार्ता गर्ने र राजनीतिक संकटको समाधान खोज्ने गम्भीर पहल शुरु गरेको स्रोत बताउंछ।

Popularity: 9%

5 comments November 17th, 2005

दिल्लीमा दल र माओवादीबीच एघार सहमति

काठमाडौं, (महानगर)। भारतीय राजधानी नयांदिल्लीमा सात दलको म्यान्डेट लिएर गएका नेताद्वय माधवकुमार नेपाल र गिरिजाप्रसाद कोइरालाले माओवादी अध्यक्ष प्रचण्डसंग वार्तामार्फत् विभिन्न ११ बुंदाको दल-माओवादी सहमति निर्माण गरेको खुलासा भएको छ।

कांग्रेस सभापति कोइराला हिजोसम्म पनि दिल्लीमा माओवादीसंग वार्ता भएको भारतबाट उच्च माओवादी स्रोतहरुले जानकारी गराएका छन्।

यता, कोइरालालाई प्रचण्डसंग वार्ता गराएर फर्केका एमाले महासचिव नेपाल राजधानीमा देशभरका अगुवा कार्यकर्तालाई परोक्षरुपमा दल-माओवादी सहमतिका कुराहरु ब्रिफिङ गर्दै हुनुहुन्छ। दुवै पक्षले सहमतिलाई एकदमै गोप्य राखेर आन्दोलनमा कार्यगत एकता गर्ने निर्णय गरेको थाहा भएको छ। यसैअनुरुप तिहार लगत्तै स्वदेश फर्केका महासचिव नेपालले माओवादीसंग वार्ता हुंदै नभएको बताएको स्रोतहरुको भनाई छ।

भारतीय नेताहरुको निमन्त्रणा मान्न भनेर भारत हानिएका नेपालले प्रचण्डसंगको सुरुआती वार्तामा सात बुंदामा सहमति बनाउनु भएकामा तिहारपछि कोइराला पनि वार्तामा जोडिंदा अन्य चार बुंदामा सहमति थप भएको विश्वस्त स्रोत बताउंछ।

कोइराला र नेपाललाई दशैंपछिको सात दलको शीर्ष बैठकले माओवादीसंग वार्ता गर्ने र सहकार्य खोज्ने उच्चस्तरीय म्यान्डेट दिएको थियो। कोइराला फर्केपछि सात दलको बैठकमा सहमतिका बुदाहरु राखिने र त्यहांबाट अनुमोदित भएमा सम्भवतः मंसिर दोस्रो सातादेखि दल-माओवादी समन्वित आन्दोलन सुरु हुने सूत्रहरुको दाबी छ।

माओवादीले हापुरे वार्तादेखि उठाउंदै आएको संविधान सभाको मागको सर्न्दर्भमा अन्तरिम सरकार गठन गरी संविधानसभा निर्वाचन गर्ने सहमति प्रचण्ड र नेपालबीचको वार्तामा भएको थियो। स्रोत अगाडि भन्छ- ‘तर कोइरालाले पछि त्यसमा सामान्य असहमति राख्नुभयो। उहांले संसद् पुनर्स्थापना हुंदै र्सवदलीय सरकार गठन गरी संविधानसभाको निर्वाचन गराउने कुरा उठाउनुभयो। तर, प्रचण्डले मरिसकेको संसद् पुनर्स्थापनातिर नजाऔं भन्ने अडान राखेपछि कोइराला सहमत हुनुभयो।’

दिल्ली वार्ताका सहमतिहरु सातै दलबाट स्वीकृत भएपछि मंसिर दोस्रो सातादेखि ‘माओवादी शहरमा र दल गाउंमा’ भन्ने रणनीतिका साथ समन्वित आन्दोलन हुने पनि स्रोतको भनाई छ। कोइराला सम्भवतः शुक्रबार राजधानी र्फकदै हुनुहुन्छ।

Popularity: 9%

Add comment November 16th, 2005

बल्खुदरबारमा देशभरका कार्यकर्ता, एमालेले दरबार हत्याकाण्डको रहस्य खोतल्ने !

बल्खुदरबारमा देशभरका कार्यकर्ता, एमालेले दरबार हत्याकाण्डको रहस्य खोतल्ने !
‘श्री ५ वीरेन्द्रको वंशनासपछि राजा कसलाई बनाउने भन्ने छलफल संसद्मा चलाउन नसक्नु गम्भीर कमजोरी’
खोजतलास विशेष संवाददाता, काठमाडौं, २९ कात्तिक ।
श्री ५ वीरेन्द्रको वंश नाश गर्ने विस्मयकारी घटना जेठ १९, २०५९ दरबार हत्याकाण्डको रहस्य एमालेले खोतल्ने भएको छ । उक्त दुर्घटनाबारे छानबिन गरी संसद्बाटै नयाँ कदम चाल्न नसक्नुलाई पार्टीको गम्भीर कमजोरी ठहर गर्दै एमाले त्यसप्रति गम्भीर बनेको छ ।

लामो समयको दिल्ली भ्रमण सकेर गत शनिबार स्वदेश फर्किएका एमाले महासचिव माधवकुमार नेपालको अगुवाइमा एमाले केन्द्रीय कार्यालय बल्खुमा सुरु भएको देशभरका कार्यकर्ता भेलाबीच एमाले नेतृत्वले विगतका कमजोरीहरूको लिखित करार गर्दै यस्तो संकेत दिएको हो ।

पहिलोपटक एमालेले आफ्नो पार्टीका गल्तीहरूलाई पार्टीको प्रतिवेदनमा लिखितरुपमा सूचीकृत गरेको छ । उक्त सूचीमा तत्कालीन समयमा प्रमुख विपक्षी रहेको एमालेले दरबार हत्याकाण्डबारे संसद्मा भूमिका खेल्न नसक्नुलाई महत्वका साथ समावेश गरेको छ । एमाले केन्द्रीय कार्यालय बल्खुदरबार अहिले देशभरका कार्यकर्ताले भरिएको छ । राजाको निरंकुश कदमविरुद्ध देशभर लोकजागरण अभियान सञ्चालन गरिरहेका कार्यकर्तालाई त्यसबारे रिपोर्ट लिन एमालेले राजधानी बोलाएको हो । भेलामा माओवादीसँग भएको वार्ता र सहमतिलाई उच्च महत्वका साथ छलफलमा ल्याएइएको छ ।

देशभरका चार सय बत्तीस कार्यकर्ता सहभागी उक्त भेलामा महासचिव नेपालले प्रतिवेदन पेस गर्नुभएको छ । महासचिव नेपालको प्रतिवेदनमा एमालेले आफ्ना कमजोरीका रुपमा मुख्य चार बुँदा समावेश गरेको छ । ती बुँदामा दरबार हत्याकाण्डपछि संसद्लाई जनताको र्सार्वभौमसत्ताको सवालमा छलफल चलाउन नसकेको, दलहरूविरुद्ध रहेका पूर्वमण्डलेहरूलाई पुनर्गठन कार्यको सूचना लिने र विश्लेषण गर्न नसकेको, चुनावको मिति र्सार्न सिफारिस गर्ने र संकटकाल अनुमोदन गर्ने भूल गरेको, देउवा सरकारमा जाने ऐतिहासिक भूल गरेको रहेका छन् । भेलामा राजा झन् निरंकुश बन्ने खतरा रहेको र संसद् पुनर्स्थापना नभए के गर्ने भन्नेबारे पनि व्यापक छलफल गरिएको छ । भेलामा माओवादीसँग पार्टीले गरेको वार्ता र सहमतिबारे कार्यकर्ताले तीव्र चासो राखे पनि प्राविधिक पक्ष गोप्य राख्ने पार्टी नीति र्सार्वजनिक गर्दै नेतृत्वले वार्ताबारे केही कुरा लुकाएको बताइएको छ । वार्तामा भएका सैद्धान्तिक कुराहरूमात्र प्रचारमा ल्याइएको छ । भेलालाई सम्बोधन गर्ने क्रममा महासचिव नेपालले अब दलहरूले राजासँग कुनै हालतमा वार्ता नगर्ने, हिजो सरकारमा गएर एमालेले ठूलो घाटा बेहोरेको दोहोर्‍याएका थिए । माओवादी बहुदलीय प्रतिस्पर्धामा आउने निर्णयमा पुगेको कार्यकर्तालाई सूचना दिँदै नेता नेपालले युद्धविरामलाई पार्टीले महत्वपूर्ण उपलब्धिसाथ उपयोग गरेको बताए । कार्यकर्तामाझ अलि गम्भीर र मलीन भावमा प्रकट भएका नेता नेपालले विगतका कमजोरीबाट पार्टीले पाठ सिक्नुपर्ने बताए । श्री ५ वीरेन्द्रको वंशनास हुनेगरी भएको दरबारहत्याकाण्डको विषयमा संसद्मा छलफल चलाएर अब राजा कसलाई बनाउने भन्ने निर्णय लिन नसक्नु पार्टीको गम्भीर गल्ती भएको उनले बताए । त्यसैको घाटा मुलुकले निरंकुश राजतन्त्र बेहोर्नुपरिरहेको उनले टिप्पणी गरे । एमाले दरबारहत्याकाण्डको रहस्य पर्दाफास गर्न गम्भीर हुनर्ुपर्ने र त्यसका निम्ति अग्रसर हुनुपर्ने कार्यकर्ताको सुझावलाई पार्टीले मनन गरेको पनि नेतृत्वले कार्यकर्तालाई विश्वास दिलाएको भेलामा सहभागी एक कार्यकर्ताले खोजतलासलाई बताए ।

स्मरणीय छ, दरबार हत्याकाण्डको छानविनका नाममा गठीत ‘उच्चस्तरिय आयोग’ नाम दिइएको तीन सदश्यीय आयोग गठन भए पनि एमाले महासचिव नेपालले नियुक्ति भए लगत्तै आफू उक्त आयोगमा नबस्ने भन्दै राजिनामा दिएका थिए । नेता नेपालबाहेक सो आयोगमा तत्कालिन प्रधानन्यायाधिश र सभामुखलाई तोकिएको थियो । भनिन्छ, पूर्वयोजनाअनुसार नै उक्त दुर्घटनाको प्रतिवेदन र्सार्वजनिक गरियो । जुन प्रतिवेदनमा उक्त भिमकाय दुर्घटना कसरी भयो, कसले गरेको हो र किन गरेको हो भन्ने बारेमा यथार्थ बाहिर ल्याइएको छैन्, त्यहाँ केबल विभिन्न व्यक्तित्वहरुका अन्तर्वार्तामात्र समेटीएको छ । प्रतिवेदन र्सार्वजनिकसँगै सभामुख तारानाथ रानाभाट ‘भ्याटा..टाटा’ नामले विवादीत भएका थिए भने तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायले समेत जन आलोचना खेप्न बाध्य हुनु परेको थियो ।

Popularity: 9%

Add comment November 15th, 2005

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2018
M T W T F S S
« Feb    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....