एचकेनेपाल डट कम संवाददाता -
याण्डम रिडर्स सोसइटी अफ नेपालको पुस्तक परिचर्चा एवम् स्रष्टा परिचय कार्यक्रमको सोह्रौ शृङखला शनिबार पोखरामा सम्पन्न भएको छ।
हरेक महिनाको अन्तिम शनिबार कुनै विषय वा पुस्तक परिचर्चा गर्दै आएको सोसाइटीले यस पटक डा. रवीन्द्र समीरको लघुकथासङ्ग्रह अर्जुनदृष्टि र स्रष्टा परिचयअन्तरगत स्याङ्जाका साहित्यकार देवीप्रसाद वनबासीको चर्चा गरेको हो। साथै उक्त समारोहमा लघुकथा क्षेत्रमा बिशिष्ट योगदान पुर्याए बापत चर्चित लघुकथाकार डा. रवीन्द्र समीरलाई सम्मान पत्र अर्पण गरियो।
अर्जुनदृष्टिको परिचर्चा गर्दै साहित्यकार ईश्वरमणि अधिकारीले अर्जुनदृष्टिलाई नेपाली लघुकथाको मानक कृतिका रुपमा चिनाउनुभयो। लघुकथाका क्षेत्रमा नेपाली साहित्यमा कम काम भएको र त्यसमा रवीन्द्र समीर अमूल्य साधक भएको उल्लेखगर्दै अधिकारीले अर्जुनदृष्टिका लघुकथाहरुले पाठकहरुमा झङ्कार उत्पन्न गराउने बताउनुभयो।
लेखक समीरले लेखकीय अनुभव सुनाउँदै अर्जुनदृष्टिमा समेटिएका अधिकांश लघुकथाहरु हाम्रो जीबन र जगतका यथार्थ घटनासँग सम्बन्धित भएको बताउनुभयो। नेपालमा प्रकाशन हुनुअघि सम्पादन गराउने प्रचलन व्यक्तिगत र संस्थागत हिसाबले पनि नभएको भन्दै कम्तिमा पनि प्रकाशन संस्थाले विज्ञ सम्पादक नियुक्त गर्नुपर्नेमा जोड दिदैं समीरले साहित्य ऐतिहासिक दस्तावेज पनि भएको बताउनुभयो। उहाँले आजको ब्यस्त समयमा लघुकथा बिधा सामयिक एबम लोकप्रिय बिधा भएको मन्तब्य राख्नुभयो।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व पृथ्वीनारायण क्यापसका प्रमुख गेहेन्द्रेश्वर कोइरालाले साहित्यले संस्कार निर्माण गर्ने भएकोले सन्देशअनुसारको आचरण गर्नुपर्नेमा जोड दिनुभयो। प्राज्ञ सरुभक्तले नेपाली लघुकथा क्षेत्रमा डा. रवीन्द्र समीर अत्यन्त सशक्त र समर्पित धरोहर भएको तथा अर्जुन्दृष्टि लघुकथा संग्रह उत्कृष्ट नमूना भएको बताउनुभयो।
सोसाइटीका अध्यक्ष राजेन्द्र चापागाईं आहतको अध्यक्षता र उपाध्यक्ष दुर्गाबहादुर शाह बाबाको स्वागतमा भएको कार्यक्रममा पुस्तक छनौट समितिका संयोजक कृष्ण के. सी.ले आगामी फागुन २७ गते पं मुक्तिनाथ शर्मा २०११ सालमा प्रतिबन्धित उपन्यास ‘को अछूत’ परिचर्चा गरिने जानकारी गराउनुभयो।
कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ, डा. लक्ष्मीशरण अधिकारी, फडिन्द्र अकिञ्चन, सरस्वती प्रतीक्षा, दीपक पराजुली, महेन्द्रमान व्यथित, युवराज त्रिपाठी, उपेन्द्र पौडेललगायतले टिप्पणी गर्नुभएको थियो भने सञ्चालन सचिव गनेस पौडेलले गुर्नभएको थियो।
दुर्घटना घट्नै पर्ने थियो, सायद।
घटयो पनि त्यसैले।
तरुनी भएकी छोरी यस बेलासम्म घर आएकी छैन । छटपट भइरहेछ । पिरोलिइरहेको छ मन । आफै आफूसित रन्थनाउनुसिवाय अरू सोच केही छैन।
दिनदिनै अखबारमा आउने कुसमाचारहरू सम्झेर एकपल्ट मन अमिलो भएर आयो । उसको बुबा भने दिनभरिको थकान बिसाएर मस्त निद्रामा पुगिसकेका थिए । उनलाई हेर्छु क्या निश्चिन्तताको निद्रा ! म पनि यसरी नै निदाउन सके कस्तो हुन्थ्यो ! फगत कल्पन्छु । कसै गरे पनि आफूचाहि निश्चिन्त हुन नसक्ने रहेछु।
अनायास कसैले ढोका ढकढक्याएझैं लाग्छ । भ्रान्ति पनि हुन खोज्थ्यो कतिकतिखेर। हतपताएर ढोका खोल्न पुग्छु। निस्तब्ध चकमन्नता मात्र थियो बाहिर । छोरीहरूको कोठातिर फर्कन्छु । ठूली छोरीको बिछयौना रित्तो थियो। ऊभन्दा पन्ध्र वर्षसानी छोरी सपनामै मुसुक्क हाम्सिरहेकी थिई । चिन्तित मेरो मानसपटलमा उसको अबोध चेतनापरिदृश्यले एकैछिनका लागि भए पनि मलाई धपक्क तुल्याउन खोजेको थियो।
अबचाहिं ढोका निकै जोडले ढकढक्याएको आवाजमा कुनै भ्रान्ति थिएन। म हतारिंदै ढोका खोल्न पुग्छु। आफ्नो शरीरको सम्पूर्ण भारी मेरा अँगालोमा खन्याएर सुमिता फुसफुसाइरहेकी थिई, “मम्मी!”
त्यसपछि ऊ अविरल आँसुको वर्षामा भक्कानिन थाल्छे । छटपटाहटबाट प्रतीक्षारत छोरीको आगमनले अलिकति ढुक्क हुन पुगेकी मचाहिँ उसको यो भक्कानोले किनकिन आशङ्कित हुन थाल्छु।
मभन्दा दुइ इन्च अग्ली र झन्डै दोहोरो शरीर भएकी उसलाई मुस्किलले कोठासम्म पुर्याएपछि पनि ऊ एकनास रोइरहेकी हुन्छे । उसको आँसु पुछेर सशङ्कित हुंदै उसलाई राम्ररी नियाल्न थाल्छु। उसको कुर्थाका केही टाँकहरू चुँडिएका र चिउंडोमा दाँतले टोकेका केही दागहरू पनि प्रस्टसंग देख्छु। मनभरि शङ्काको पर्खाल उभ्याएर उसको कुर्थाको तल्लो फेर र सुरुवालतिर पनि आँखा गाड्छु।
इस्तिरी गरेर लगाएको लुगाको आभाससम्म त्यहाँ पाइनँ मैले। त्यो कुर्थासुरुवाल पनि मैला लुगाहरूको थुप्राबाट भर्खरै झकिेर लगाएजस्तो लाग्थ्यो।
सुमिता अझै रोइरहेकी थिई । एकनास उसको रुवाइ र आवरणको अस्तव्यस्तताले मेरो मनभित्र भर्खरै आशङ्कित एउटा भयङ्कर दुर्घटनाग्रस्त नियतिलाई सकारिरहेको थियो। म मुख फोरेर उसलाई केही सोध्न सकिरहेकी हुन्न । रुंदारुंदै ऊ निदाई । बिहान राम्ररी कुरा गरौंला भन्ने सोचेर म पनि आफ्नो कोठामा गएर चिन्ता-दुश्चिन्ता कल्पदाकल्पंदै झपक्क निदाएको पत्तै भएन।
“ए अन्तरा ! लौन के भयो यो !” सुमिताको बुबाको कङ्कलाले बिउँझनि पुगेछु म।
सुमिताको बुबाले त्यसरी आत्तिएर कराएपछि म पनि अर्धनिद्रामै सुमिताको कोठातिर आइपुगेकी हुन्छु। सारीको पासो लागेर सिलिङ पङ्खामा झुन्डिरहेकी सुमितालाई देखेर आफूलाई चिमोट्छु। एकैचोटि सारा तन्द्रा भङ्ग भएपछि अगिल्तिर आइपरेको कटु सत्यसित आत्मसात् गर्न थाल्छु। सुमिताको बुबाले कुर्सीनेर ल्याएपछि दुवै पतिपत्नीले बडो मुस्किलसंग छोरीलाई पासोबाट निकाल्न सफल भएका थियौं।
त्यसपछि डाक्टरलाई हामीले कसरी बोलायौं, सुमिता कसरी मृत घोषित भई, दाहसंस्कार कसरी सकियो, ती सबै मेरा मानसपटलमा अस्पष्ट रहेका छन्।
सुमिताको मृत्युको दोस्रो दिन सानी छोरी सञ्चिताले एउटा कागज फेला पारेर दिएकी थिई।
‘मेरो प्यारो मम्मी, डयाडी!
आज मलाई साथीको घरमा उसका दुइ जना दाजुहरूले हातखुट्टा बाँधेर बलात्कार गरे। मम्मी ! हजुरले सधैं भनिसिन्थ्यो एक पटक आइमाईको इज्जत गएपछि फकंदैन । अब मैले बाँचेर पनि के गर्ने ! कुन मुखले हजुरलाई मुख देखाउने! त्यसैले म जाँदै छु। मलाई माफ गरिदिसेला।
-हजुरहरूकी छोरी सुमिता।’
त्यो चिठी यथावत् छ मसित। चिठीका एकएक अक्षरले मलाई यदाकदा कोर्रा हिर्काउने गर्छन्। यसरी मेरी छोरी सुमिताले आत्महत्या गरी वा मैले नै उसको हत्या गरें, यो प्रश्नले मलाई पिरोलिरहन्छ। सारा समाजले सुमिताले आत्महत्या गरेको ठहर्याएका छन्। तर म आफू भने सुमिताको हत्या मैले नै गरेकी हुं कि भन्ने महसुस गर्छु आफैले आफैलाई धिक्कारें पनि मैले । किन मैले उसलाई आइमाईका फोस्रा आदर्शको पाठ मात्र पढाएं। शिक्षित आमा हुनुको अर्थ मैले किन आइमाईको समयानुकूल परिभाषा बनाउन सकिनं! आफूले हासिल गरेका पुरातन संस्कारहरूका हतियारले मैले आफैंले सुमिताको हत्या गरेकी त होइन ? निकै लामो मानसिक सङ्र्घर्षपछि मात्र सञ्चितापट्टि मेरो ध्यान गएको थियो। सुमिताको वार्षिक पुण्यतिथिमा उसको बुबाले के चढाए मलाई थाहा भएन। मैले चाहिं आफ्ना पुराना आदर्श र थोत्रा संस्कार सबैसबै उसलाई चढाएं र त्यसपछि ती सबैबाट मुक्त हुने प्रयास गरेकी थिएं।
अब सुमिताप्रति खन्याइने गरेका सम्पूर्ण ममताका उच्छ्वासहरू सञ्चितामै पोखिने गरेको थियो। समयसंगसंगै यो घाउमा खाटा बस्दै गयो। तर एक दशकपछि मेरो जीवनमा फेरि एउटा यस्तै प्रसङ्गले पुनरावृत्ति लियो।
अर्थात् घटना यसरी घटयो।
त्यस रात सञ्चिता सदाभन्दा अबेरसम्म घर आइन। हुन त ऊ आफ्नो प्रोजेक्टको काममा कैयौं पटक बाहिर नै ‘नाइट हल्टेज’ गर्ने गर्थी । तर पनि मेरो मन मान्दैनथ्यो। जतिसुकै आधुनिकतातिर लम्किन खोज्दा पनि मभित्रको खण्डहरमा लुकेको पुरातन मानसिकताले बेलाबखत मलाई जिस्क्याउन आउने गथ्र्यो। त्यसैले त्यस रात पनि म ढुक्क नभई चिन्तित हुन पुगें । तर आधारातसम्म ऊ आइन। म झपक्कै निदाएछु।
बिहान अलि अबेरसम्मै मेरा आँखा खुलेनन् । बिउँझनिासाथ भारी मन बोकेर सञ्चिताको कोठामा पुगें। ऊ मस्त निदाएकी देखेर केही आश्वस्त भएं । ढोकासम्म पुगेपछि किनकिन मन ढक्क भएर फुल्यो र फेरि फर्केर उसकै बिछयौनाको किनारमा बसेर उसलाई नियालिरहें। टाइट स्ट्रेच जिन्स र लुनेक र्सटमा कस्सिएको उसको शरीर र मसरुम कट कपाललाई पनि हाइड्रोजनले रङ्गाएको कान्तिवान् अनुहार देखेर मभित्रका चिन्ताका बादलहरू बिस्तारै हटेर गए। ‘कति अल्छी केटी, नाइट गाउन पनि नफेरी सुतिछ।’
मनमनमा भुतभुताउंदै उसलाई नै मायालु आँखाले हेरिरहें।
कसोकसो मेरो उपस्थितिको आभास भयो कि सञ्चितालाई ! ऊ बिउँझी । मलाई देखेर मुसुक्क हाँसी। मेरो हात समातेर म्वाइँ खाई। मनमनै आनन्दित भए पनि बाहिरबाहिर रिसाएझैं देखाएर मैले उसको हातबाट आफ्नो हात झट्कारें।
“राति त्यति अबेर गर्न हुन्छ ? फोन पनि गर्न सक्थ्यौ नि ! तिमीलाई बाहिर निस्केपछि घरमा तिम्रो निम्ति चिन्ता गर्ने पनि छन् भन्ने होस हुन्न होइन ? अहिलेचाहिँ चेपारो पाछ्र्र्यौ।”
म नक्कली रिस देखाउंछु । ऊ बोल्दिन, मुसुमुसु हाँस्छे मात्र। “किन सन्चो नभएजस्तो छ नि!” म आफ्नो यथास्थितिमा तुरुन्तै फर्कन्छु।
“मम्मी, हिजो राति मलाई तीन जना केटाहरूले बलात्कार गरे।” उसले यी शब्दहरू सहजतापूर्वक भनेपछि ममाथि एकैचोटि आकाश खसेजस्तो भयो। मेरो घाउमा कसैले हिंस्रकतापूर्वक नुनखुर्सानी दलेजस्तो मलाई अनुभव भयो। म अत्तालिएर निसासिएं । मेरो मस्तिष्क शून्य भयो। धेरै टाढा हुत्तियो मेरो मानसको हंस। र, यहाँका सम्पूर्ण वस्तुहरू सूक्ष्मातिसूक्ष्म भएर बिलाएझैं भइरह्यो। निमेषभरमै म यथास्थितिमै फर्किएं र सञ्चितालाई अँगालो हाल्न पुगें । त्यसपछि भक्कानो फुटाएर रुन थालेछु म।
“टेक इट इजी मम। आइ रियल्ली इन्ज्वाइड इट, आइ एम ओ.के., बट टु टायर्ड।”
उसले मेरो टाउको मुसार्दै भनी र मेरो आँसु पुछ्न थाली। मैले अचम्म मानेर उसको अनुहारमा हेरिरहें, उसले टाउको हल्लाई। त्यहाँ कुनै अपराधबोध, पश्चात्ताप वा भवितव्यका रेखाहरू थिएनन्।
“मम्मु ! आज म क्लिनिक जान्नँ। बरु तिमी तामाबोडीको झोल पकाऊ ल, खूब भोक लागिरहेको छ।”
मसंग कुनै शब्द थिएन। म त्यस बेला निःशब्द भइरहें । चेतनविहीनताको मूर्तिजस्तो एकनास उसको अनुहारमा टोलाइरहें।
“मम्मु ! मलाई एक चोटि त्यो कर्डलेस देऊ न। बेलुकी डा. शोभासंग कन्सल्ट गर्नुपर्यो।”
अनायास उसले मेरो ध्यानाकर्षण गरेपछि यन्त्रवत् मैले उसलाई कर्डलेस फोन ल्याएर दिएं। त्यसपछि ऊ डा. शोभासंग फोनमा कुरा गर्न थाली।
सञ्चिताले यस प्रसङ्गलाई सहजतापूर्वक लिएकी थिई। उसले यसलाई कुनै दुःस्वप्नजस्तो नियति वा प्रपञ्चमा लिएको अनुभव भएन मलाई। समयले फड्का मात्र हानेको थिएन, एउटा दुर्बोध सिलसिलालाई पनि परिष्कारका रूपमा निर्धारण गरिसकेको थियो। विगत र वर्तमानको दोसाँधमा उभिएकी मचाहिं दुवै झयालसित परिचित थिएं, र आफैं आफूसित अस्वीकृत पनि।
भोलिपल्टदेखि निश्चित समयमा सञ्चिता क्लिनिक जान थाली। म भने दस वर्षअघिको दुर्घटना र भर्खरै घटित यस घटनाको तारतम्यलाई केलाएर सहज-असहज खोज्ने क्रममा डुब्दै गइरहेकी थिएं। nai.com.np@gmail.com
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २९ पुष । वरिष्ठ साहित्यकार पं.श्यामदास वैष्णवले शुक्रवार एक समारोहमाझ आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने नौजना बालबालिकालाई २०६८ सालको ‘नइ देरूनीखपू पुरस्कार’ प्रदान गरेका छन्।
पुरस्कार पाउने साहित्यतर्फ सुशान्तमानसिंह मास्के, चित्रकलातर्फ छेतेन डोका शेर्पा, गायनतर्फ सरगम वस्नेत, नृत्यतर्फ यज्जु श्रेष्ठ, खेलकुदतर्फ संसारविक्रम थापा र विज्ञानतर्फता लाङ्क बराल रहेका छन्। पुरस्कार राशि जनही दस हजार रूपियाँ रहेको छ।
यसैगरी, नइ देरूनीखपू कोपिला पुरस्कार गायनमा कुनाल श्रेष्ठ मलेकु र नृत्यमा उर्मिला गुरूङलाई प्रदान गरिएको छ। यो पुरस्कार राशि जनही सात हजार रूपियाँ रहेको छ।
पाँच हजार रूपियाँ राशिको नइ देरूनीखपू चिचिला पुरस्कार उत्प्रेम जोजिजुलाई प्रदान गरिएको छ। साडे दुइ वर्षका जोजिजुलाई सङ्गीततर्फ यो पुरस्कार प्रदान गरिएको हो।
नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा सञ्चालित सो समारोहमा पुरस्कार संस्थापक तथा दाताका तर्फबाट टोरुप प्रसाई र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईलगायतले मन्तव्य राखेका थिए।
नइ प्रकाशनका संरक्षक भागीरथा प्रसाई र पुरस्कार संस्थापक तथा दाता खनूप्रुदे रामबाबु प्रसाई अस्वस्थ्य भएका कारण सधैंका वर्षहरू झैं यस वर्ष प्रतिभाहरूले समारोहमा आआफ्ना कौसल प्रदर्शन गरेनन्।
एक करोड पन्ध्र लाख रुपियाँ बैंकको अक्षयकोषमा राखि नइ प्रकाशनले त्यसको व्याजबाट हरेक वर्ष देशदेशान्तरका प्रतिभालाई दस लाख पचास हजार रुपियाँ नगदसहित पच्चीसवटा पुरस्कार प्रदान गर्दै आएको छ।
नइ प्रकाशनलाई समाजसेवी तथा राजनीतिज्ञ खनूप्रुदे ‘रामबाबू’ले छयानब्बे लाख रुपियाँ र पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले सात लाख रुपियाँ प्रदान गरिसकेका छन्।
बिष्णु गुरुङ / एचकेनेपाल डट कम-
क्यालिफोर्निया, समय आफ्नै गतिमा चल्दै थियो । उत्तरतिर सेत़ा हिमालहरु चाँदी झै टल्किरहेको थियो । सेती गण्डकी आफ्नै सुसाईमा सुसईरहेकी थिईन साँच्चै प्रकृतिले आफ्नो सौन्दर्यलाई निस्वार्थरुपमा फिजाएर सुन्दर नगरी पोखरालाई अझ मनमोहक बनाईकी थिइन् । अनि ती प्रकृतिकी सौन्दर्यको काखमा गहन सस्कृतिको धनी तमुहरुको महान चाड - तमु ल्होछारको दिन थियो पौष १५ गते।
तमुहरु आफ्नो मौलिक भेषभूषामा सजिएको दृश्यले पोखरा शहर नै ढकमक्क फूल फुलेको फूलबारी जस्तो हो कि भन्ने भान हुन्थ्यो। त्यसरी ल्होछार पर्वले हाम्रो राष्ट्रलाई संस्कृतिको पनि धनी देश भनेर पहिचान गराउन भने पछि परेको थिएन। तमुहरु सामुहिक रुपमा ल्होछार मनाउन तमु समाज घर, नयाँ बजारमा जम्मा भएका थिए। सामुहिक रुपमा भोजन गरेर सांस्कृतिक कार्यक्रमहरुसँग मनोरंजन लिदै ल्होछार मनाउन पनि पाईने र कयौ बर्ष भेट नभएको ईष्ट मित्र साथीभाईहरु पनि त्यहा भेट्न पाईने भएकोले प्राय जसो सबै तमुहरु बर्षेनी ल्होछार मनाउन यसरी नै सामुहिक रुपमा भेला हुने गर्छन् त्यो सामुहिक भवनमा। म पनि सामेल भए सधै झै ल्होछार मनाउन मनमा खुशी र उमंग लिएर, खेलकुद देखि सांस्कृतिक कार्यक्रमहरु हुदै थियो।
म दङ्ग पर्दै तालि बजाउदै थिए। कुनै परिचित स्वरले बिष्णु सोल्टिनी भनेर बोलाए झै लाग्यो त्यो भिडमा, मैले आवाज आएतिर फर्केर हेरेको त माया सोल्टिनी पो रहेछिन। आफ्नो मौलिक भेषभूषा, गरगहनाले सजिएकी उनी, बिछट्टै राम्री पो देखीएकी थिईन ईष्र्या लाग्दो नै…! एकछिन त उनैलाई हेरेकी हेरे भए म ! साँच्चै गुरुङकी छोरीहरु त आँखा चिम्सा अनि स्याउ जस्ता गाला हुनेपर्ने होईन र तर खैर…! माया रुपकी मात्रा धनी नभएर असल गुणकी र व्यक्तित्वकी पनि धनी थिईन। पढाई साथै अरु धेरै कुरामा उनि जेहेन्दार थिईन। मानिलिउ भगवानले बत्तीसै लक्षणले सजाईकी परी जस्तै थिईन उनी, उनलाई पाउन ब्रिटिशको लाहुरेदेखि जो कोही पनि चाहन्थे।
निकै समयको अन्तराल पछिको भेट भएकोले हामी एक अर्कालाई देखेर खुब खुशी भयौं। म सधै झै उहिँ फरासिलो पाराले बोलचाल गर्न थाले केही अरु क़ुराको प्रसङ्ग चलाउदै गफ गरे तर उनी सधैको ल्होछारहरुमा झै हसिली, रसिली र सक्रिय नभए जस्तो उनको ब्यबहारले देखायो भने उनको अनुहारले एक किसिमको निरासापन झल्काईराहेको थियो।
मलाई केहि अप्ठ्यारो महसूस भयो, मनमा चिसो पस्यो । उनि र म दौतारी भएकोले होला भावनाहरु धेरै मिल्दथ्यो र मनका क़ुरा पनि एक आर्कामा साट्थ्यौं। त्यति बेला नै मलाई एउटा सोच आयो ल्होछारको बेला मनका क़ुरा नगरी कहिले गर्ने उनलाई मसंग एकान्त तिर जान आग्रह गरे ! हामी भिडलाई छाडेर एकान्तमा गयौ ! मैले उनको निरासापनको रहश्य बुझ्न खोजे। शुरुमा उनी निकै अतालिईन् तर मैले सम्झाएपछि उनले आफ्नो कथा यसरी सुनाईंन -
प्रेम आन्धो हुन्छ भन्ने सुनेकी र पढेकी थिएं … यथार्थ आज आफैले भोगिरहेकी छू सोल्टिनी ! हो र ?….बधाई छ ! यस्तो राम्रो कुरामा किन निरासापन त मैले भने …केटा अर्कै जातको हो …अनि के भो त ? अहिलेको जमानामा पनि ….मैले निर्धक्क भएर सहमत जनाए । उनले गह भरी आँसु गरिन् ….म दंग परे …होईन.. के भो फेरी सोल्टिनी…किन रोएको तपाई ? ….साँच्चै के जात पर्यो त केटा ? …..उनले टोलाउदै भनिन ….सानो जात …..मेरो शब्द बन्द भयो ….कान गुन्जियो ….टाउको रिगाउँन थाल्यो …..आफै छाँगाबाट खसे जस्तो भयो ……तर आफैलाई समाल्दै भने यो कदापि हुन नसक्ने क़ुरा अनि चलनमा नचलेको क़ुरा कसरी हुन पुग्यो सोल्टिनी ? …… हामी एक अर्काको लागि नै जन्मिएको जस्तो लाग्छ यस धर्तीमा….म एक पल पनि ऊ बिना बाँच्न सक्दिन…..भनेर उनि रोईंन् …. ….!
मैले हाम्री आमाले हामीलाई बारम्बार दिनु भएको एउटा अर्ति याद आयो …….मोटो छ भन्दैमा कुकुरको मासु कहिल्यै नखानु… सोल्टिनी …मैले सम्झाए ……! उनी झन् रोईन……..!!
त्यस दिनको भेट नै अहिले सम्मको अन्तिम भेट भएको छ माया सोल्टिनीसँग, हाम्रो भेट कलेज पढ्दा भएको थियो। ल्हो केलाउदा हामी एउटै ल्होमा पर्दो रहेछ दौतारी रहेछौ र साईनो चाहिँ सोल्टिनीको साईनोले बाधिएको थियौं। प्रत्येक बर्षको ल्होछारको दिनले मलाई त्यो घट्नको स्मरण गराउछ र प्रश्न गर्न बाध्य गराउछ आफू हुर्किएको यही समाजसँग….मान्छे मान्छे एउटै हो नि फरक किन भो…….? अनि याद आउछ मेरी सोल्टिनी मायाको र हृदयदेखि नै दिल खोलेर चिच्याउन मन लाग्छ ” मानिस ठूलो दिलले हुन्छ जातले हुदैन ” !!!
कथा- इन्दिरा प्रसाई / एचकेनेपाल डट कम-
“अहिले कस्तो छ तपाईंलाई? ” उनले फेरि पनि सोधेकी थिइन्।
“म अहिले ठीक छु, धन्यवाद !” कामदेवले उत्तर दिएका थिए। पाँच घण्टाको उडानका क्रममा झन्डै पन्ध्र पटकभन्दा पनि बढी उनले कामदेवको चासो राखेकी थिइन् । प्रत्येक पन्ध्रबीस मिनेटमा उनी आइपुग्थिन्, कामदेवलाई निदाएको जस्तो देख्ता फर्केर पनि जान्थिन् । अधिकांश समय अन्तर्राष्ट्रिय उडानमा बिताउने कामदेवलाई यस पटक भने हङकङको आकाश पार नगर्दै रि“गटा लागेको थियो । रिंगटा लागेको केहीबेरमै उनी बान्तासमेत गर्न लागेका थिए । त्यसै बेला उनका सहयात्रीले घण्टी बजाएर परिचारिकालाई बोलाइदिएका थिए।
त्यसो त हवाईपरिचारिकाहरू कामदेवका लागि नयाँ पक्कै थिएनन् । हवाईजहाजको ढोकामा स्वागत गर्नेदेखि हवाईजहाजभित्रको आवाभगतमा हरेक पटकको यात्रामा हवाईपरिचारिकासंगको सामीप्यता थियो उनको । तर यस पटककी परिचारिकाको आफूप्रतिको विशेष हेरचाहले गर्दा परिचारिकाहरूको सेवाप्रति कामदेव आह्लादित हुन पुगेका थिए।
त्रिभुवन विमानस्थलमा हवाईजहाजबाट ओर्लेपछि पनि उनले कामदेवलाई विशेष सहयोग पुर्याएकी थिइन्।
“तपाईंको डाक्टरलाई आजै परीक्षण गराउनुहोस् है !” विनयपूर्ण शिष्टताका साथ उनले भनेकी थिइन्।
“त्यस्तो खास केही नहोला ! तर पनि म जंचाउनेछु । तपाईंले यात्रामा मलाई धेरै हेरविचार गर्नुभयो । त्यसका लागि धन्यवाद ¬ ।” कामदेवले परिचारिकाको नाउँ जान्न खोजेका थिए।
“मेरो नाउँ रति हो ।” उनले भनेकी थिइन्।
त्यसपछि दुवैले आआफ्ना भिजिटिङ कार्ड एकअर्काबीच साटेका थिए।
यसरी भेटघाट हुनु र भिजिटिङ कार्ड नै साटिनु पनि दुवैका लागि कुनै अनौठो कुरा थिएन । कामदेव र रति दुवैको जनसर्म्पर्क अत्यधिक थियो र दैनिकजसो नयाँ व्यक्तिसँगको परिचय उनीहरूका लागि कौतूहलको विषय पनि थिएन । जस्तो कि त्यस्ता सबैजसो परिचयहरू तुहिएर जाने गर्थे । तर कामदेव र रतिबीच त्यसो भएन, अर्थात् उनीहरूको पहिलो भेट नै अन्तिम भेट हुन सकेन।
उनीहरूबीच पुनः संवाद चलेको थियो । पहिलो खोजी कामदेवले नै गरेका थिए । अचानक एक साँझ रतिको घरको टेलिफोनको घण्टी घन्केको थियो । त्यस बखत फोनमा दुवैबीच सामान्य शिष्टताका संवादहरू आदानप्रदान भएका थिए । कामदेवले रतिको कामका सर्न्दर्भमा कुन उडानमा कहिले कता जाने भन्ने जानकारी लिएका थिए । रतिले भने उनको स्वास्थ्यकै बारे चासो राखेकी थिइन्।
कामदेवले आफूलाई फोन गरेर आफ्नाबारे चासो राखेका सर्न्दर्भले रतिलाई निकै आनन्द लागेको थियो । रतिले आठबर्षे आफ्नो हवाईपरिचारिकाको जागिरे जीवनमा धेरै यात्रुहरूलाई सेवा पुर्याएकी थिइन्। तर यात्रुहरू घर पुगेपछि आफ्नै संसारमा हराउंछन्, रतिको सेवाका बारे फुर्सतमा पनि सम्झन्छन् कि सम्झन्नन् जस्तो लाग्थ्यो उनलाई । त्यसैले धेरै यात्रुहरूमध्येका एक यात्रुले आफूलाई घरमा पुगेपछि पनि सम्झेको प्रसङ्ग उनका लागि रमाइलो कुरा भएको थियो।
कामदेवको व्यक्तित्व सामान्य थियो, लुगाकपडामा उनको व्यक्तित्व केही गरिमाशाली अवश्यै देखिन्थ्यो । अझ उनको आवाज प्रभावकारी थियो । वास्तवमा उनको आवाज मात्र सुन्ने जोकोहीले उनको व्यक्तित्वको विराटताको अनुमान लगाउनेछन् जस्तो रतिलाई लागेको थियो । त्यसैले हवाईजहाजमा भेटेका कामदेवभन्दा पनि टेलिफोनमा गुञ्जेको कामदेवको व्यक्तित्वस“ग रति बढी प्रभावित भएकी थिइन्।
त्यसपछिको अर्को टेलिफोनको घण्टी कामदेवको घरमा गुञ्जेको थियो । बैङ्ककबाट फर्केको साँझ रतिले पनि कामदेवलाई सम्झेकी थिइन् । दुवैबीच केहीबेर औपचारिक कुराकानी मात्र भएको थियो । भोलिपल्ट कामदेवले रतिलाई सा“झको चियाका लागि तारे होटेलमा निम्तो गरेका थिए।
रति वास्तवमै सुन्दरी थिइन् । हवाईपरिचारिकाका लागि आवश्यक पर्नेभन्दा बढी नै सुन्दरताले रति भरिएकी थिइन् । पाल्पाको सामान्य मध्यमवर्गीय परिवारकी रति जीवनका सम्पूर्ण सुखहरू भोग्न चाहन्थिन् । अन्तर्राष्ट्रिय उडानमा काम गर्नुका कारण आफ्नै आर्जनले जोरिएको काठमाडौ“, भीमसेनगोलाको आफ्नै घरमा रतिको जीवन अघि बढ्दै थियो । आफूले चाहेजस्तो वर पाए उसैको अंगालोमा बाँकी जीवन समर्पित गर्ने रहरले पनि उनलाई हिजोआज पिरोल्न थालेको थियो।
हवाईपरिचारिकाको जागिरमा बिताएका यी आठ वर्ष उनले पनि पुरुषको विविध रूपलाई नजिकैबाट देखेकी थिइन् । ऐनाका सामु आफू उभिंदा आफ्नो समकक्षीमा कुनै सुन्दर पुरुषकै उनी कल्पना गर्थिन् । त्यसैले सुन्दर पुरुषहरूका नजिक पुगेर आफ्नो कल्पना साकार पार्न पनि उनले खोजेकी थिइन् । तर बाहिरी आवरणको सुन्दरताभित्रको कलुषितताले रतिलाई पटकपटक आहत पारेको थियो । त्यसैले हिजोआज रति एउटा सामर्थ्यवान् असल पुरुषको साहचर्यको खोजी गर्दै थिइन्।
त्यसो त रतिलाई कामदेव आफूले खोजेजस्तै पुरुष लागेका थिएनन् । तर पनि जतिजति उनको कामदेवस“गको सामीप्यता बढ्दै गएको थियो रति कामदेवप्रति नै आकषिर्त हुन थालेकी थिइन् । कामदेवको सबैभन्दा ठूलो विशेषता उनमा भएको शिष्टता थियो । त्यसै गरी अहिलेको भौतिक युगमा चाहिनेजति भौतिकताले पनि कामदेव पुष्ट थिए । कामदेव ज्यादै व्यस्त व्यवसायी थिए । उनीसंग फुर्सतको समय निकै थोरै मात्र हुन्थ्यो । तर पनि फुर्सतमा रतिसंग समय बिताउन उनी मन पराउंथे । दुवैको फुर्सतका समयमा प्रायजसो कामदेवले नै रतिलाई कुनै भव्य होटेलमा निम्ता गर्थे । साँझको चियाको त्यो समय बेलुकीको डिनरमा पुगेर टुङ्गिन्थ्यो । कामदेवको मदिरा वा धूमपानको पनि कुनै नशा थिएन । त्यसैले रातको प्रथम प्रहरमै कामदेव आफैले हाँकेको मोटरमा रतिलाई उनको घरसम्म पुर्याएर फर्किन्थे।
उनीहरूको पहिलो भेटपछिको झन्डै एक वर्षो समय पनि नाघिसकेको थियो । उनीहरूबीचको भेटघाट अथवा टेलिफोनका कुराकानीको समय पनि बाक्लिंदै गएको थियो । कामदेवको शिष्टता र सौम्यताले अबका दिनमा भने रति आक्रान्त नै हुन थालेकी थिइन् । यसबीच रतिले भने आफ्ना हावभाव र कटाक्षद्वारा कामदेवका अघि आफ्नो प्रेमको प्रस्ताव धेरै पटक राखिसकेकी थिइन् । त्यस्ता बेलामा कामदेव भने रतिको सौर्न्दर्यको आराधना गर्दै आफ्नो चस्माभित्रका आ“खाले उनको सौर्न्दर्यको रसपान गर्थे । यसरी नै उनीहरू छुट्टिने गर्थे । रतिको उर्लिंदो यौवनको ज्वालामा घिउ थपिदिनुसिवाय कामदेव अघि बढेका थिएनन् । कामदेवको यस्तो व्यवहारले रति त्यसैत्यसै मुरमुरिने पनि गर्थिन् । तर आफू स्त्री जात हुनु र कामदेवका शिष्ट र गरिमाशाली व्यक्तित्वका अघि आफूलाई पनि शिष्ट स्वरूपमै प्रस्तुत गर्नु उनको बाध्यता थियो।
अन्ततः यस्तो दिन पनि आएको थियो अर्थात् रतिको धैर्यको बाँध भत्केको थियो । त्यस साँझ अन्नपूर्ण होटेलको मैनबत्तीको उज्यालोमा चिया पिउंदै गरेका ती दुवैबीचको मौनता भङ्ग रतिले नै गरेकी थिइन्।
“म तपाईंसंग विवाह गर्न चाहन्छु” रतिको संवाद सुनेपछि कामदेवले पहिलोपल्ट निकै गहिरिएर रतिलाई हेरेका थिए। “के तपाईं पनि मसंग ? ” रतिले पुनः बोल्नुपरेको थियो । तब पनि कामदेव केही बोलिरहेका थिएनन् । पहिलोपल्ट कामदेवको अनुहारमा रतिले चिन्ताका लहरहरू देखेकी थिइन्। उनले यतिका समयको उनीहरूको सान्निध्यमा कामदेवको यतिबिघ्न अँध्यारो अनुहार देखेकै थिइनन्। आफूले सोध्न नहुने प्रश्न सोधेको अनुभूतिले पनि रतिलाई केही अपराधबोध गरायो । त्यसपछि केही बोल्नुको साटो रतिले पनि चुपचाप हुनुमै भलो ठानेकी थिइन्।
“रति ! तिमी साँच्चै मसंग बिहा गर्न चाहन्छयौ -” धेरैबेरको मौनतापछि कामदेवको प्रश्न रतिका कानमा परेको थियो । रतिले टाउको हल्लाएर सहमति जनाएकी थिइन्।
“ठीकै छ, मलाई तिम्रो प्रस्ताव मन्जुर छ तर विवाह गर्नुअघि मेरो पनि एउटा प्रस्ताव छ।”
रतिले कामदेवका कुरा सुनेर उनको अनुहारमा एकोहोरो हेरेकी थिइन्।
“मसंग वैवाहिक बन्धनमा बाँधिनुअघि नै तिमीले मसंग एक रात बिताउनुपर्छ । अर्थात् तिमीले मसंग एक रात बिताएपछि मात्रै हाम्रो बिहेको टुङ्गो हुनेछ” कामदेवले अर्थ्याएर भनेका थिए। कामदेवको प्रस्ताव सुनेपछि एकैछिन रतिको होस हराएझैं भएको थियो । के भन्ने - के नभन्ने - को दोसाँधमा उनी पुगेकी थिइन् । उनले कुनै जबाफ दिन सकेकी थिइनन्।
“के तिमी मेरो प्रस्ताव स्वीकार गर्न सक्छयौ ?” कामदेवले पुनः प्रश्न तेर्स्याएका थिए।
“हुन्छ, तर नेपालमा भने होइन, पर्सि मेरो उडान सिङ्गापुरका लागि छ, तपाईं पनि सिङ्गापुर जाने भए ?” रतिले केही कामेको स्वरमा भनेकी थिइन्।
“हुन्छ, म पनि तिम्रै फ्लाइटबाट सिङ्गापुर जानेछु । मेरो व्यापारको पनि काम छ त्यहाँ । म भोलि नै फोन गरेर होटेल पनि बुक गराउंछु ।” कामदेवको आवाज भने सधैं झैं शान्त र मधुर थियो । त्यस दिन पनि उनीहरू खानपिन सकेर नै छुट्टिएका थिए।
मङ्गलबारको दिन थियो । रति आफ्नो परिचारिकाको दायित्व निर्वाह गर्ने क्रममा थिइन् । तर उनको आजको सम्पूर्ण क्रियाकलाप यन्त्रचालित झैं थियो । उनको आँखा हरेक क्षण कामदेवकै प्रतीक्षामा थिए। त्यसपछि कामदेव पनि आइपुगेका थिए उस्तै शान्त, सौम्य र सुमधुर गतिमा । आज किन हो किन रतिलाई कामदेव विशिष्ट व्यक्ति लाग्यो हवाईजहाजभरि भरिएका सम्पूर्ण पुरुषहरूमध्येका विशिष्टतम पुरुष । रतिको मनभित्र एक किसिमको कुतकुती पनि लागेर आयो । उनले कल्पिन्, आजको रात ¬ कामदेवसंग बिताउने पहिलो रात । आँखामा मीठामीठा चित्रहरू सजाएर अनुभूतिका काउकुती संगाल्दासंगाल्दै उनीहरूको जहाजले सिङ्गापुरको धरती छोएको थियो । जहाजमा सामान्य शिष्टता व्यक्त गर्नुबाहेक कामदेव र रतिका बीच कुनै अरू संवाद भएको थिएन।
“तिमी मसंगै हिंड, म तिमीलाई होटेलमा पुर्याएर आफ्नो काममा जान्छु।” जहाज रोकिएपछि आफूनजिक आइपुगेकी रतिलाई कामदेवले भनेका थिए। आफ्नो कार्यसम्पादनपछि रति कामदेवका पछि लागेकी थिइन्।
त्यसो त सिङ्गापुर रतिका लागि नौलो ठाउँ थिएन । यसअघि पनि केही पटक रतिले सिङ्गापुरका होटेलहरूमा रात बिताइसकेकी थिइन्। तर आज रति कामदेवका साथ रात बिताउन होटेलतिर जानुको औचित्यले यो अनौठो र मिठासपूर्ण भएको थियो।
‘एक रात बिताइसकेपछि कामदेवले मसंग बिहे गर्न आनेकाने पो गर्ने हुन् कि? अरू पुरुष र कामदेवबीच के फरक होला?’ कामदेवका साथ मोटरमा होटेलतर्फ गुडिरहंदा रतिको मनमा प्रश्नप्रतिप्रश्न उब्जिरहेका थिए।
कामदेवमा भने कुनै खास परिवर्तन थिएन । उनको व्यक्तित्वमा अलिकति पनि फरक थिएन र उनको अनुहारको शान्त भावमुन्तिर कुनै भावको सङ्केत रतिले पहिल्याउन सकेकी थिइनन्।
“तिमी फ्रेस भएर आराम गर्दै गर, म सांझसम्ममा आइपुग्छु” होटेलको कोठामा दुवैको सामान थन्क्याउंदै कामदेवले भनेका थिए। त्यसपछि बेयरालाई चिया मगाएर दुवैले पिएपछि कामदेव बिदा भएका थिए।
कामदेव गएपछि रतिले आफूलाई ऐनाको अगाडि निकैबेर कोणप्रतिकोणबाट नियालेकी थिइन्। आफ्नो अङ्गअङ्गको सुन्दरताले उनी आफै मोहित भएकी थिइन् । कामदेवको सामान्य शारीरिक बनोटका सामु आफ्नो सुन्दरताको तुलना गर्दा आफैलाई कताकता अपराधबोध पनि हुन खोज्यो उनलाई । तर झट्टै कामदेवको सौम्यता, शिष्टता र भव्यताका प्रतिरूपले उनको रूपमाथि पर्दा हालिदिएको थियो । त्यसैले यस बेला छटपटिंदै कामदेवको प्रतीक्षा गर्नु नै रतिलाई सही लागेको थियो। त्यसपछि कामदेवसंग आजको रात बिताउंदा प्राप्त हुने सम्भाव्य आनन्दको पूर्वाभासले रतिको यौवन अझै उर्लेको थियो।
साँच्चै साँझ पर्नुअघि नै कामदेव आइपुगेका थिए । बेलुकीको आठ बजे उनीहरू डिनर टेबुलमा पुगेका थिए । साढे नौ बज्दा उनीहरूको खानपिन सकिएको थियो।
रतिको मनभित्र सम्भाव्य रमाइलोको कल्पनाले पौडी खेलिरहेको थियो । कामदेव सधैंभन्दा केही बढी नै शान्त देखिन्थे । दस बज्नुअघि नै उनीहरू शयनकक्षमा प्रवेश गरेका थिए।
उनीहरू कोठाभित्र पसेपछि कामदेवले नै ढोका बन्द गरेका थिए। कोठामा भएको सोफामा राम्ररी अडेस लागेर कामदेव बसेका थिए । अर्को सोफामा केहीबेर बसेपछि रति भने उठेर बाथरुमतिर लागेकी थिइन् । बाथरुमबाट केहीबेरमै निस्किएकी रतिको शरीरलाई सुन्दर तर पारदर्शी नाइट गाउनले झनै सुन्दर पारेको थियो । कामदेवको अघिल्तिरको सोफामा बसेपछि रतिले केही लजाएर कामदेवतिर हेरेकी थिइन्।
“तपाईं बाथरुम जाने होइन ?”
टेलिभिजन हेर्दै गरेको कामदेवले एक पटक रतिलाई राम्ररी हेरेका थिए। “अँ !” त्यसपछि कामदेव पनि बाथरुम प्रवेश गरेका थिए। निकैबेरपछि बाथरुमबाट बाहिर निस्केका कामदेवले आफ्ना कपडा फेरेका थिएनन्। नाइट सुटमा बाहिर आउने कल्पनामा बसेकी रतिलाई पूर्वकपडामै कामदेवलाई देख्ता अचम्मै लागेको थियो।
त्यसपछि कामदेव बिछयौनामा गएर बसेका थिए । “रति, यहाँ आऊ त !” कामदेवको आवाज सुनेर पुलकित हुंदै रति कामदेवको नजिकै पुगेकी थिइन्। “मलाई केही सहयोग गर न है !” कामदेवले रतिको अनुहारमा हेर्दै केही हाँसेर भनेका थिए । “यी दाँत त्यो मगको पानीमा चोपलेर राखिदेऊ न।” आफ्ना मुखबाट दाँत झिकेर रतिलाई दिंदै आफैले केहीबेरअघि बाथरुमबाट ल्याएको मगतर्फ कामदेवले देखाएका थिए। केही अचम्मित हुंदै रतिले कामदेवको निर्देशन पूरा गरेकी थिइन्।
“रति, यो आँखा पनि त्यो ब्रिफकेसमा यसको बट्टा छ त्यसैमा हालेर त्यो टेबुलमा राखिदेऊ।” कामदेवले चस्मा खोलेर आफ्नो एउटा आँखा झिकेर रतिका हातमा हालिदिएका थिए । आफ्ना हातमा आँखा थापेर रतिले पुनः कामदेवको निर्देशनको पालना गरिन्। आफ्ना हातमा दाँत समात्दाभन्दा पनि आँखा समात्दा उनलाई आफ्नो शरीरभरि काँडा उम्रेको अनुभूति भएको थियो।
“रति, मेरो यो खुट्टा पनि त्यहाँ भित्तामा राम्ररी राखिदेऊ न है !” कामदेवले आफ्नो दाहिने खुट्टा पनि झिकेर रतिका हातमा राखिदिएका थिए। यन्त्रवत् रति कामदेवको निर्देशन पालन गर्दै थिइन्।
“अब यो हात पनि टेबुलमा राखिदेऊ” कामदेवले आफ्नो देब्रे हात पनि रतिका हातमा राखिदिएका थिए। त्यसपछि भर्खरै मात्रै बाहिरी पोसाक खोलेका कामदेवलाई भित्री गन्जी र कट्टुमा मात्रै रतिले देखेकी थिइन्।
रतिलाई आफ्नो शरीरभरि पसिनाको खोलो बगेझैं भएको थियो । उनको सम्पूर्ण शरीर चिसिएको थियो। एउटा नराम्रो सपना देखिरहेको अनुभूतिले उनी डराएकी पनि थिइन्।
“माफ गर्नोस्, म यो कोठामा सुत्न सक्तिंन” रतिले भनिन्। त्यसै बेला कामदेवले होटेलको रिसेप्सनमा फोन गरेर उनले नेपालबाटै बुक गरेको अर्को कोठाको साँचो मगाइदिएका थिए। naiprasai@gmail.com
नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
कमल दीक्षितले लेखेका थिए- ‘पादरी गङ्गाप्रसाद प्रधान खि्रस्तान धर्मका एक निष्ट भक्त हुन्;, त्यसभन्दा रत्तिभर कम नभएको एक कट्टर भाषाभक्त पनि हुन् । यो कुरा बिर्सिए हामीलाई पाप लाग्छ ।’ हो सत्य हो; उनी नेपाली भाषा भनेपछि प्राणको पनि बाजी मार्थे । नेपाली बोलीमा उनको मोह जोडिएको थियो।
रूपनारायण प्रधान तथा राजमती प्रधानका छोरा गङ्गाप्रसाद प्रधानको जन्म १९०८ असार २२ गते ठंहिटी, काठमाडौंमा भएको थियो । गङ्गाप्रसाद सानो हुँदा उनकी आमा स्वर्गीय भइन्।
रूपनारायण काठमाडौंको हनुमान ढोका दरबारमा द्वारे थिए। श्रीमती खसेपछि उनी काठमाडौंमा टिक्नै सकेनन् र गङ्गाप्रसादले दस वर्ष टेकेपछि रूपनारायण दार्जीलिङतिर बसाइँ सरे। त्यस बेला काठमाडौंबाट दार्जीलिङ हिँडेर पुग्न उनीहरूलाई तीन हप्ता लागेको थियो।
रूपनारायणले दार्जीलिङ पुगेपछि अर्की ल्याए। अनि गङ्गाप्रसादकी सौतेनी आमाले उनलाई कठोर शारीरिक कामका कज्याउने गर्थिन । त्यसबेला उनलाई स्कुलतिर जान नदिई बगानतिर पठाइन्थ्यो । त्यसैले सुरुका दिनमा नै उनले चियाको पात टिप्न थाले । त्यसबेला उनका हातमा कितावकापी देखियो भने उनकी सौतेनी आमाले च्याति दिन्थिन् । यति हुँदाहुँदै पनि प्रधानको जीवनमा परमेश्वर दाहिना भए । त्यसैले उनी पादरी म्याक फार्लनका छेउ पुगे । अनि पादरीको सहयोग, सद्भावना र प्रेम उनीप्रति रहन थाल्यो । त्यसपछि उनका हातले कितावकापी पनि समात्न थाल्यो।
त्यतिन्जेलमा प्रधान भित्रभित्रै मिसनमा लहसिइसकेका थिए। उनी किशोरावस्थाको टुप्पोमा पुगेपछि मिसन स्कुलमा भर्ना भइसकेका थिए। त्यसपछि उनी घरमा पनि काम गर्थे र स्कुलमा पनि पढ्थे । तर त्यतिबेला पनि उनकी सौतेनी आमाले उनलाई कज्याएर कोइला बोक्ने काममा लगाइरहिन् । कहिले चिया पत्ती टिप्ने, कहिले दाउरा बोक्ने र कहिले घर धन्दा गर्ने काममा उनी लाग्थे । तर शरीरले थाम्न नसकेपछि उनले घरै छाडेर पूर्ण रूपमा मिसनमा आफूलाई प्रविष्ट गराए । त्यो कुरा उनकी सौतेनी आमालाई सहृय भएन र त्यस कचकचले एक दिन उनका बाबुले पनि मुख फोरे, ‘छोरा तँ पढ्न थालेपछि तेरी आमाका कारण मलाई सारै औडाहा भयो । अबदेखि तँ स्कुल नजा ।’ त्यसपछि उनी स्कुल जान छाडे । तर उनले सकुल छाडेको तीन महिनामै पादरी मेकफार्लेन आएर उनलाई फकाएर स्कुल लिएर गए।
प्रधान फेरि मिसन स्कुल जान थाले । स्कुलमा उनी सारै मिहेनत गर्थे । उनी पढिरहेका बेला मिसन स्कुलका एक जना शिक्षक गयल भए । उनले पढाउन छाढेपछि तुरुन्तै अर्को शिक्षक पनि भेटिएन । अनि उनी पढ्दापढ्दै खाली सिटको शिक्षकमा नियुक्त भए । त्यसपछि उनी आर्थिक रुपमा सबल हुन थाले।
तीस वर्षमा अक्षर चिनेर पनि नेपालमा जसरी स्वामी प्रपन्नाचार्यले वेदमा के छ - लेखे त्यसरी नै ढिलै अक्षर चिनेर भारतमा गङ्गाप्रसाद प्रधानले पनि नेपाली भाषामा वाइबल अनुवाद गरे। त्यसपछि नेपालीमा बाइबल पढ्ने पाठकले उनलाई खुवै माने । वास्तवमा त्यो वाइबल नेपाली भाषा पढ्ने क्रिश्चियनहरूका लागि मार्गदर्शन नै भयो । त्यसैले यिनीहरुले यसलाई सिरानीमा राखे । उनले अनुवाद गरेको वाइबल नेपाली भाषासाहित्यको जसरी एउटा सम्पत्ति बन्यो त्यसै गरेर त्यस ग्रन्थले क्रिश्चियनधर्मको आड पनि लियो।
भारतको दार्जीलिङबाट गङ्गाप्रसाद प्रधानले १९५७ साल पुसदेखि ‘गोर्खे खबर कागज’ प्रकाशित गर्न थाले । त्यस प्रकाशनको चार महिनापछि अर्थात् १९५८ साल वैशाख २४ गतेदेखि श्री ३ महाराज देवशमशेरले पं.नरदेव पाण्डेलाई तालुकवाला तोकी समाचारपत्रका रूपमा गोर्खापत्र प्रकाशनमा ल्याए । त्यसैले २००९ सालमा दार्जीलिङ पुगेका बेला नाट्यसम्राट् बालकृष्ण समले भनेका थिए, ‘दार्जीलिङले आज जे गर्छ नेपालले भोलि त्यही गर्छ।’
गोर्खे खबर कागजमा विज्ञापन हाल्ने त्यतिसारो चलन थिएन । त्यतिबेला बिक्रीका आधारमा पत्रिका चल्नु पनि त्यति सजिलो थिएन । तर क्रिश्चियन मिशनको सहयोगबाट त्यस पत्रिकालाई निरन्तर सञ्चालनमा ल्याएको थियो । यति हुँदाहुँदै यस पत्रिकामा हिन्दू जातिको विवाहको विज्ञापन पनि छापिन्थ्यो । नेपाली भाषामा विवाहको विज्ञापन गर्ने प्रचलनमा पनि यही पत्रिका पहिलो थियो।
प्रधान लेखेर थाक्तैन थिए । गोर्खे खबर कागजमा प्रायः आफै लेखेर उनी पत्रिका निकाल्थे । तर उनको भाषामा व्याकरण हुँदैनथ्यो । वास्तवमा त्यस बेला व्याकरणको नियम पनि थिएन । त्यस घडी नेपाली भाषा जस्तो बोलिन्थ्यो लिपिमा पनि सिधै त्यस्तै भाषा छाप्ने चलन थियो । लेख्ने क्रममा उनले नेपाली उखानको पनि सङ्ग्रह गरे । त्यस सङ्ग्रहलाई तयार गर्न उनलाई बीस वर्षलागेको थियो । त्यो पुस्तक सन् १९०८मा दार्जिलिङको उनकै प्रेसबाट प्रकाशनमा ल्याइएको थियो । त्यस कृतिमा १४०८ वटा उखान आवद्ध थियो । प्रधानले कथा पनि लेखे । उनले वाइबलमा आधारित थुपै्र कथाहरु पनि नेपाली भाषामा अनुवाद गरे।
लेख्नेक्रमा प्रधानले गीतिकविता पनि लेखे, आत्मकथा पनि लेखे र निबन्ध, प्रबन्ध र बालसाहित्य पनि लेखे । लेख्तालेख्तै उनका २८ वटा कृति प्रकाशनमा आए । उनी ठेट नेपाली भाकाको भाषा लेख्थे।
नेपाली भाषामा प्रधानको बहुआयामिक व्यक्तित्व थियो । त्यतिखेर बालबच्चालाई नेपाली साउँ अक्षर सिकाउने नै प्रधान थिए । त्यस बेला मिसनबाट सञ्चालित शिक्षण संस्थाहरूमा प्रधानकृत ‘नेपाली पहिलो पोस्तक’को पढाइ हुन्थ्यो । त्यसैले पारसमणि प्रधानदेखि हरिप्रसाद गोर्खा राईसम्मले उनैलाई नेपाली पुस्तकका गुरु भनेर अर्चना गरे।
प्रधान दार्जिलिङको शिक्षाका ज्योति थिए । उनले त्यसबेला नेपाली मूलका बालबच्चाका लागि आफ्नो सारा समय अर्पित गरे । त्यसैले पारसमणि प्रधान बोलेका थिए, ‘पादरी गङ्गाप्रसाद प्रधानका कारण दार्जिलिङको कुनाकुनामा प्राइमरी स्कुल स्थापित भई विद्याको प्रचार भएको हो । प्रधानले प्राइमरी स्कुलका लागि किताब पनि लेखे।’
प्रधानले २४ वर्षको उमेरमा एलिजावेथ राईसँग प्रेम विवाह गरे । अनि यी दम्पतिबाट दुई छोरा र छ जना छोरीहरू जन्मे। उनका परिवार पनि द गोर्खा प्रेसमा काम गर्थे।
प्रेस प्रधानको पेशा हुन गयो । त्यहीँको आम्दानीले उनले घर चलाए। उनको प्रेस पनि मिसन हाउसकै छेउमा थियो । द गोर्खा प्रेस त्यहाँ नामी पनि थियो । उनले निरन्तर बत्तीस वर्षसम्म गोर्खे खबर कागज र द गोर्खा प्रेस चलाए। आफ्नो काममा जुट्ताजुट्तै बयासी वर्षमा उनी स्वर्गीय भए । त्यसपछि गोर्खे खबर कागज पनि बन्दै भयो। तर उनले गोर्खे खबर कागजमार्फत दिएको भाषिक तथा साहित्यिक योगदान नेपाली वाङ्मयका निम्ति चिरस्मरणीय भयो। naiprasai@gmail.com
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ४ पुष । त्रिमूर्ति निकेतनले नेपाली भाषासाहित्य र सङ्गीतको क्षेत्रमा विशेष योगदान दिएवापत प्रेमप्रकाश मल्ल ‘मधुकर’लाई पच्चीस हजार रुपियाँ राशि र ताम्रपत्रसहित ‘त्रिमूर्ति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
यसैगरी, नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि प्रत्यक्ष तथा परोक्ष रुपमा क्रियाशील स्रष्टा भारत मेघालयका गोपीनारायण प्रधानलाई औषधी उपचारका लागि १६ हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ। पक्षघातबाट अचेत अवस्थामा रहेका प्रधानको सिलाङको नाजरेथ अस्पतालमा उपचार भैरहेको छ।
त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईका अनुसार त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो।
इन्दिरा प्रसाई -
आर.बी., म एक महिनाको छुट्टी जाँदै छु, साहेबले बल्लतल्ल मान्यो । पाँच वर्षपछि जाँदै छु । तिम्रो चिठीपत्र भए पठाऊ, लगिदिन्छु तर मालसामानचै लादिन है ! अहिले भन्दिया छु। (more…)
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १३ कार्तिक । नेपाली लेखक कुमार श्रेष्ठको अंग्रेजी भाषामा लिखित कथाहरुको सग्रह लोन्ली हर्टसको आइतवार एक कार्यक्रमको विच राजधानीमा विमोचन भएको छ।
साहित्यकार एवम् समालोचक डीपी भण्डारीले आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा विमोचन गर्नु भएको हो।
अमेरिकामा रहेको माउण्ट रोजर बुक्स एलएलसीले प्रकाशित गरेको सो पुस्तकमा नेपालको कला संस्कृति, अन्धविश्वास, जिन्दगी, परम्परा, यहाँको बेरोजगारका कारण उत्पन्न द्वन्द र त्यसपछि देख्ने अमेरिकी जीवनको सपना बारे मनोरन्जक र मर्मस्पर्शी रुपमा मुद्दा उठान गरिएको छ।
प्रकाशकको तर्फबाट हरि शर्माले नेपालमा अन्तर्राष्ट्रिय स्तरका प्रतिभाहरु भए पनि आर्थिक अभावका कारण उनीहरुको प्रतिभा कृतिहरु प्रकाशन हुन नसकेको यथार्थ सुनाउँदै आफूहरुले नेपालका कृतिहरु अंग्रेजी र नेपाली जुन भाषामा रहेपनि प्रकाशन गरेर क्षमता उजागर हुन दिने मौकाको सुरुवात गरेको बताए। उनले कुमार श्रेष्ठको पुस्तक अर्न्तराष्ट्रिय स्तरको भएको भन्दै यसले छिट्टै बजार लिने दावी गरे।
कार्यक्रमका प्रमुख अथिति डीपी भण्डारीले संसारमा धेरै एक्लो रहेको अझै विकसित मुलुकहरुको जीवन नै एकाकी हुँदै गएको अवस्थामा कुमार श्रेष्ठको लोनली हर्टसले सबैको मन छुने र उनीहरुले नेपाली जीवन, परम्परा, संस्कृति र संस्कारबारे जानकारी पाउने विश्वास ब्यक्त गरे।
लेखक श्रेष्ठले पनि आफ्नो अप्रकाशित कृतिहरुलाई प्रकाशित गरेर अर्न्तराष्ट्रियकरण गरिएकोमा धन्यवाद दिदै यसले आफूलाई भविष्यमा लेखन कार्यमा समर्पित हुन अझै ठूलो प्रेरणा दिएको बताए।
तोयानाथ उपेक्षित, राजन रिमाल / एचकेनेपाल डट कम-
अन्तर्राष्ट्रिय नेपाली साहित्यीक समाज कुवैतले शुक्रवार कुवैत सिटीको मुर्गाबस्थित नेपाली रेष्टुरेण्ट सोल्टीमा एक साहित्यिक भेला डाकी लक्ष्मी जयन्ती मनायो।
उक्त अवसरमा अनेसास कुवैत च्याप्टरका सचिब मनोज काफ्ले मनसुनको हालै प्रकाशित प्रथम कृति आज एक्लैको समेत विमोचन गर्यो।
महाकवि लक्ष्मीप्रसाद देबकोटाको १०३ औ जन्मोत्सब मनाउने आयोजित उक्त कार्यक्रम गत बर्ष नेपाली दूतावास कुवैतले आफ्नै प्राङ्गणमा आयोजना गरेको थियो भने अनेसासले सुकुल कवीर पार्कमा आयोजना गरी मनाएको थियो। नेपाली दूतावास कुवैतका राजदूत मधुवन पौडेल आफै एक साहित्यिक सर्जक रहेका कारण गत बर्ष दूतावासले सार्वजनिक रुपमा सवैलाई आव्हान गरेको थियो भने यस वर्ष दूतावासका तर्फबाट लक्ष्मी जयन्तीको कुनै कार्यक्रम आयोजना गरेको पाईएन।
अनेसास कुवेत च्याप्टरका अध्यक्ष राजन रिमालको सभापतित्वमा र तोयानाथ उपेक्षितको सञ्चालनमा सम्पन्न लक्ष्मी जयन्तीमा एक दर्जन कवि तथा कवयित्रीले आ आफ्ना कविता बाचेका थिए। आपसमा परिचय पश्चात लक्ष्मीको फोटोमा माल्यार्पय पालैपालो गरिएको थियो।
कार्यक्रमको अर्को चरणमा गजलकार मनोज काफ्ले मनसुनको गजल संग्रह आज एक्लैलाई कार्यक्रमका सभापतिले विमोचन गर्दै कृतिको समिक्षा गरेका थिए। नेपाली समाज कुवैतमा कार्यरत मनसुनको गजल विधाका अलाब गीत संगीतमा समेत गहिरो रुची पाईन्छ। उनले केही महिना मात्रै चन्द्र दोहनी नामक गीति एलबम बजारमा ल्याएका छन। उनी नेपाल कुवेत डट कम तथा मरुभूमिको कोसेलीको सम्पादक हुन्। खास गरेर साहित्य फाँट हेर्न मनसुनको पहिलो कृतिलाई अभिजमान स्मृति ट्रष्टले प्रस्तुत गरेको हो। आफ्नै मातापिताका नाममा समर्पित उक्त पुस्तकमा ६५ वटा गजल समेटिएका छन्।
एलादी ४ स्याङ्गजा गण्डकी जन्म स्थान भएका मनसुनको हालको ठेगाना भने भलबारी रुपन्देही हो। केही बर्ष पहिले रोजगारीका क्रममा कुवैत आएका मनसुनले बनारस भारतबाट शास्त्री गरेका हुन्। मनसुनका केही थप केही गजल र कविता संग्रह प्रकाशोन्मुख अवस्थामा रहेको कुरा उक्त विमोचनका अवसरमा उनले बताए।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २७ असोज । त्रिमूर्ति निकेतन तथा नइ प्रकाशनले एक प्रेस विज्ञप्ति जारी गरी स्वर्गीय गोविन्द भट्टको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
त्रिमूर्ति निकेतन तथा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्तिमा नेपाली भाषासाहित्यका महारथी गोविन्द भट्टको स्वर्गारोहण नेपाली पटभूमिका लागि गहिरो शोकको विषय बन्न गएको जनाएको छ।
त्रिमूर्ति निकेतनका मानार्थ सदस्य गोविन्द भट्ट प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनका कार्यकारी सदस्य तथा महाकवि देवकोटा शताव्दी बाल चित्रकला महोत्सवका संयोजक हुनुहुन्थ्यो।
भट्टको २०६८ साल असोज २५ गते काठमाडौंको गङ्गालाल अस्पतालमा निधन भएको थियो। उहाँको जन्म १९९४ साल साउन २ गते रौतहटमा भएको थियो। उहाँकी पत्नी इन्दिरा भट्ट तथा दुई छोरी लुना र शिरीष हुनुहुन्छ।
भट्टका विविध विषयमा आठ वटा पुस्तक प्रकाशित छन्-
(१) शान्तिसन्देश, (२) अन्तर्विरोध (अनुवाद), (३) नेपाललाई बुझने समस्याः एक लामो र कठिन प्रक्रिया, (४) आधुनिक युग, आधुनिक साहित्य र नयाँ साहित्य (नेपाल भाषा), (५) चीनका चार आधुनिकीकरणहरू (अङ्ग्रेजी), गोविन्द भट्टका समालोचना (सम्पादक, रविलाल अधिकारी) (६) गोविन्द भट्टको मार्क्सवादी चिन्तन (७) गुण्डादर्प दलन, (८) माइ मदर (अनुवाद) ।
नरेन्द्रराज प्रसाई/ एचकेनेपाल डट कम-
लोकप्रियादेवी व्यक्तिगत रूपमा जति असल थिइन् त्यति नै प्रतिभाकी धनी पनि थिइन् । पण्डित तिलमाधव देवकोटाकी छोरी भएका नाताले मात्र नभई र महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी भएका नाताले मात्र पनि नभई लोकप्रियादेवी स्वयं नै एउटी प्रतिभासम्पन्न कवयित्री थिइन् । आफूले एकपटक सुनेको जुनसुकै श्लोक पनि उनलाई कण्ठ हुन्थ्यो । कसैले कथा भन्यो भने त्यो पनि उनी पानी पार्थिन्।
लोकप्रियादेवी सानैदेखि काव्य लेख्थिन् । कुनै विषय वा प्रसङ्ग लेख्नुपर्यो भने उनी कवितामा नै लेख्ने गर्थिन् । त्यसैले उनी कसैलाई चिठी लेख्ता पनि कवितामा नै आफ्नो मन खोल्ने गर्थिन् । आफ्ना पति भारत जाँदा पनि उनले कवितामा चिठी लेख्ने गर्थिन् । आफूलाई चाहिने चिजबिज पनि उनले कवितामार्फ नै पतिसँग माग्ने गर्थिन्।
पण्डित तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीदेवीका छ छोरा र सात छोरीमध्ये लोकप्रियादेवी काइँली छोरी थिइन् । यिनी संवत् १९५५ जेठ महिनामा काठमाडौंमा जन्मेकी थिइन् । यिनको चिनाको नाउँचाहिँ हुतलक्ष्मी थियो । तर यिनलाई घरमा कसैले पनि हुतलक्ष्मी भन्दैनथे; घरमा यिनलाई काइँलीमैयाँ भनेर बोलाउने गरिन्थ्यो।
लोकप्रियादेवीको बाल्यकाल बाबुआमाको अपार मायामा बित्यो । उनी सोझी, सरल र इमानदार थिइन् । उनको बानीबेहोराले घरका सबैले उनीप्रति विशेष स्नेह राख्थे । त्यतिमात्र होइन आफ्ना घरमा आउनेजाने र छरछिमेकीले पनि उनलाई बिछट्टै माया गर्थे । उनको बालकलाको धेरैले तारिफ गर्थे किनभने उनका बोलीवचन पनि काव्यात्मक ढाँचाका हुन्थे । यीबाहेक उनी मिलनसार र मायालु स्वभावले भरिएकी नारी थिइन् । सानै उमेरदेखि नै अरूको अड्को पड्को पनि उनी बुझने गर्थिन् ।
त्यस बेलाको नेपाली समाजमा नारीशिक्षाको जागरण प्रारम्भ भएको थिएन । गतिला अभिभावक संरक्षक भएका खण्डमा छोरीलाई घरैमा ठूलो वर्णमालासम्म पढाउने चलन थियो । त्यसैअनुरूप लोकप्रियादेवीलाई पनि घरैमा अक्षरारम्भ गराइएको थियो । यिनले आफ्ना पिताबाटै साधारण लेखपढ गर्न जानेकी थिइन् । साथै त्यस बेला यिनलाई यिनका बुबाले संस्कृतका श्लोक, संस्कृतका सूक्ति र संस्कृतका कथासमेत सुनाउने गर्थे । लोकप्रियादेवीलाई पढ्नमा सारै रुचि थियो । त्यसैले यिनले सानै उमेरदेखि नै आनुपातिक रूपमा धेरै जान्न थालिन् । उमेर बढ्दै जाँदा यिनी साधारण रूपमा पढ्नलेख्न निपुण भइसकेकी थिइन् ।
लोकप्रियादेवी सानामा पनि कविता लेख्ने गर्थिन् । उनलाई कविता लेख्ने प्रेरणा दिने नै स्वयम् उनका बुबा तिलमाधव देवकोटा थिए । घरमा आएका पाहुनापासाका अगाडि लोकप्रियादेवीलाई उभ्याएर कविता वाचन गर्न लगाई तिलमाधवले आफ्नी छोरीलाई थप प्रेरणा दिन्थे । उनी पनि आफ्ना बुबालाई खुसी पार्न कविता लेख्ने गर्थिन् । उनी कहिले प्रकृतिका कविता लेख्थिन्, कहिले जीवनजगत्का कविता लेख्थिन् र कहिलेचाहिँ राष्ट्रप्रेमले ओतप्रोत कविता लेख्थिन्।
लोकप्रियादेवीको बिहे आठ वर्षको उमेरमा भएको थियो । उनी संवत् १९६३ मा काठमाडौं डिल्लीबजारका लोकनाथ जोशीकी अर्धाङ्गिनीका रूपमा प्रवेश भएकी थिइन् । लोकनाथले नै आफ्नो नाउँको अघिल्लो शब्द ‘लोक’मा ‘प्रिया’ थपेर आफ्नी पत्नीको नाउँ लोकप्रिया राखिदिएका थिए।
लोकनाथ जोशी त्यस समयका प्रख्यात महाजन थिए । ख्यात्रि्राप्त व्यापारी भएका कारण श्री ३ महाराज जुद्धशमशेरसँग पनि उनको चिनजान थियो । त्यसैले उनी राणाकालीन राज्यसभाका पनि सदस्य थिए । त्यति बेला त्यस पदमा पुग्नु भनेको सारै ठूलो कुरो थियो । साथै उनी चेम्बर अफ कमर्सका पनि संस्थापक तथा अध्यक्ष भए । त्यसैले लोकप्रियादेवीले किशोरावस्थामा नै आफ्ना पतिमार्फ राष्ट्रको वाणिज्य नीतिको जानकारी पनि प्राप्त गरेकी थिइन्।
लोकप्रियादेवी किशोरावस्थामा पुग्दा नपुग्दैदेखि प्रायः आफ्ना पतिसँग देशविदेशको भ्रमणमा गइन् । त्यति बेला विदेश भन्नु पनि भारत नै प्रमुख थियो । यिनी प्रायः भारत गइरहन्थिन् । भारत बसेताका यिनले हिन्दी भाषा बोल्न, पढ्न र लेख्न जानिन् । त्यति बेला यिनले हिन्दी भाषामा केही कविता पनि लेखिन् । त्यस बेला यिनका हिन्दी कविता पढेर महाकवि देवकोटा गदगद हुन्थे किनभने यिनले स्तरीय कविता लेखेर आफ्ना भाइलाई देखाउँथिन्।
कवितालेखनको सन्दर्भमा कुरा गर्दा लोकप्रियादेवीको बिहेपछि उनलाई उनका भाइ लक्ष्मीप्रसाद देवकोटाले कविता लेख्न अभिप्रेरित गरिरहे । त्यतिमात्र होइन लोकप्रियादेवीका कविता पढेर खुसी हुने अर्का व्यक्ति कविशिरोमणि लेखनाथ पौडयाल थिए । त्यस समय पौडयाल लोकप्रियादेवीका घरछेउमा डेरा गरी बस्थे । लोकप्रियादेवीका पतिको आग्रहमा पौड्यालले उनलाई कविताको सिद्धान्त पनि पढाएका थिए । उनले लोकप्रियादेवीलाई कविता लेख्ने कार्यमा घच्घच्याइरहन्थे । साथै चक्रपाणि चालिसेले पनि उनलाई कवितालेखनको मूल्य बताइरहन्थे।
लोकप्रियादेवी त्यस बेलाकी एउटी चर्चित कवयित्री थिइन् । त्यसताका यिनका सहयोगी नारीस्रष्टाहरू गोमा र प्रेमराजेश्वरी थिए । उनीहरू प्रायः लोकप्रियादेवीका घरमा आउँथे र उनका कविता सुन्ने गर्थे । साथै त्यहाँ उनीहरू पनि आफ्ना कविता सुनाउने गर्थे । लोकप्रियादेवीले कविता सुनाउने काम मात्र गरिनन्; उनले पत्रपत्रिकामा आफ्ना रचना छाप्न पनि इच्छा जाहेर गरिन् । सोहीबमोजिम उनका रचनाहरू पनि पत्रपत्रिकामा छापिने क्रम चलिरहृयो।
लोकप्रियादेवीको ‘शान्तालाई जवाफ’ शीर्षकको कविता ‘शारदा’ (१९९२ फागुन)मा छापियो । त्यति बेला उनका भान्जा देवर प्रेमराज पौडयालले लोकप्रियादेवीका कविता जबर्जस्ती ‘शारदा’मा पुर्याएका थिए । त्यतिखेर उनका भान्जा कमल दीक्षितले चाहिँ पत्रिकामा छाप्ने लेखरचनाहरू पहिला साफी गरिदिने काम गर्थे । त्यसैताका उनका तीनवटा कविताहरू ‘शारदा’मा छापिएका थिए । लोकप्रियादेवीका रचना प्रकाशनको सर्न्दर्भलाई हर्ेदा चक्रपाणि चालिसेले पनि यिनका कविता पत्रपत्रिकामा पुर्याइनु पर्छ भन्ने कुरामा जोड दिन्थे । संवत् २००४ मा ‘उद्योग’ पत्रिकामा यिनको ‘दोस्ती’ शीर्षकको एउटा कथा छापिएको थियो । त्यस पत्रिकाका सम्पादकमा चक्रपाणि चालिसे र निजका छोरा लक्ष्मीनन्दन चालिसे थिए।
संवत् १९९२ देखि २००० सालसम्म लोकप्रियादेवीका बाह्रवटा कविता छापिएका थिए । साथै ‘साहित्यस्रोत’ नामक पत्रिकामा पनि उनको ‘समदम’ शीर्षकको एउटा कविता छापिएको छ । उनका केही कविता ‘गोरखापत्र’मा पनि छापिए । उनको पुस्तकका हकमा उनी दिवङ्गत भएपछि मात्र उनकी सुपुत्री शशि रिमालको सम्पादनमा ‘कवयित्री लोकप्रियादेवी’ (कविताकथा सङ्ग्रह : २०४०) प्रकाशनमा आयो।
नेपाली भाषासाहित्यको श्रीवृद्धिमा लोकप्रियादेवीको निक्कै महत्त्व छ । त्यतिखेर साहित्यमा नारीहरूको उपस्थिति प्रायः शून्य रहेको अवस्थामा नारीस्रष्टाको नेतृत्वपङ्क्तिमा उनी उभिएकी थिइन् । वास्तवमा उनी आफ्ना पतिलाई तन, मनले माया गर्थिन् । त्यही परिवेशमा उनले मन, वचन र कर्म समर्पित गरेर आफ्ना पतिलाई कवितामा पनि चिठी लेखिन् । त्यति बेला उनका पतिले जतिसुकै स्वास्नी सोहोरे पनि लोकप्रियाचाहिँ आफ्नो प्रेममय जीवन र त्यही परिवेशको रचनामा नै केन्द्रित थिइन्:
तिमी छौ आँशुकै रूपमा,
हार भनू“ कि मोती यहाँ !
जीवनभरको साथी भनूँ या
प्रेममिलनको प्रेमी भनूँ !
लोकप्रियादेवी विवाहिता पत्नी भए तापनि यिनका पतिले त्यस बेला ठाउँठाउँमा भित्रिनीहरू राख्ने गर्थे । यिनका पतिको जतिसुकै भित्रिनीप्रेम भए तापनि यी श्रीमान् श्रीमतीको समझदारीमा त्यति बादल लाग्न पाएको थिएन किनभने आफ्ना पतिको चालचलन र भित्रिनीप्रेमको सम्पूर्ण कथा लोकप्रियादेवीले बुझेकी थिइन् । त्यसैले उनी घरपरिवारमा सम्झौतावादी नारीका रूपमा परिचित थिइन्।
लोकप्रियादेवीका पतिले बाहिर जति नै उपपत्नीहरू राखे तापनि उनका पतिबाट उनलाई शारीरिक र मानसिक यातना थिएन । तर घरमा सासूको कचकच, गनगन र कुदृष्टिबाट भने उनी वाक्क हुन्थिन् र एकान्तमा गएर रुन्थिन् । त्यतिमात्र होइन आफ्नी सासूको क्रूरताले उनी धेरैपल्ट विक्षिप्त नै भएकी थिइन् । त्यसैले उनले सधैँ सासूको भयको कालकोठरीमा आफ्नो जीवनलाई कैद गरेकी थिइन् । त्यति बेला उनी जतिसुकै पीडा पनि खप्न सक्ने अवस्थामा थिइन्।
लोकप्रियादेवीले पाँच भाइ छोरा महेन्द्र, सुशील, केशव, कमल र विमल जन्माइन् र तीन छोरी रूपवती पाण्डे, प्रभा रिमाल र शशि रिमाल जन्माइन् । यिनका सबै छोराछोरीले एस.एल.सी.सम्मको शिक्षा आर्जन गरे । पछि यिनीहरू आआफ्नै काममा संलग्न भए।
लोकप्रियादेवीको वैवाहिक जीवनको पूर्वार्ध निक्कै रमाइलो ढङ्गबाट बिते पनि उत्तरार्ध केही कठिन अवस्थामा रूपान्तर भएको थियो । एकातिर यिनका पति भोगविलासमा समर्पित थिए भने अर्कातिर सासू कचकचे थिइन् । यसरी पारिवारिक रूपमा जतिसुकै व्यवधान उत्पन्न भए तापनि यिनले आफूलाई आफ्नो कर्तव्यमा समेट्तै लगिन् । यिनले आफ्नो सम्पूर्ण समय घरपरिवारप्रति अर्पण गरेकी थिइन् । त्यसैले यिनका घरमा परिवारमाझ कहिल्यै आँधीहुरी आएको देखिएन।
साहित्यकी प्रेरक व्यक्तित्व लोकप्रियादेवी त्यस बेलाकी चल्तापूर्जा व्यक्तित्व मानिन्थिन् । सोहीअनुरूप २०१० सालमा मनाइएको भानु जयन्ती समारोह समितिमा यी पनि कार्यकारी सदस्य भएकी थिइन् । वास्तवमा यिनले नेपाली भाषासाहित्यमा जति योगदान दिइन्, धेरै दिइन् । यिनको रुचि र प्रस्तुति नै त्यस युगको एउटा ओजपूर्ण प्राप्ति थियो । त्यस बेला यिनले नेपाली भाषामा रोपेको बिरुवा आज ढकमक्क भई फुलेको छ । लोकप्रियाको इहलीला २०१७ साल जेठ १८ गते मङ्गलबार समाप्त भए तापनि यिनी नेपाली भाषासाहित्यमा सदैव जीवित भइरहिन् र भइरहनेछिन्।
लोकप्रियादेवी आफ्ना भाइ महाकवि लक्ष्मीप्रसाद देवकोटालाई बिछट्टै माया गर्थिन् । त्यसैले उनले आफ्नो भाइको निधनपछि आफ्नो काव्ययात्रा पनि आफ्ना भाइप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरेर बन्द गरिन् । २०१६ सालमा उनले आफ्ना भाइको शोकमा डुबेर ‘शोक विन्दु’ र ‘भाइको अपसोचको आँसु’ शीर्षकमा दुइटा कविता लेखिन् । त्यसपछि उनले पुनः कविता लेखिनन् । यिनै कविता नै लोकप्रियादेवीका अन्तिम कविता थिए:
कसरी किन आज के भयो
जगतै यो नरमाइलो भयो
कसरी मन यो बुझाउनु
कसरी आँसु सबै सुकाउनु ? naiprasai@gmail.com
एचकेनेपाल डट कम संवाददाता -
खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले २०६७ मा प्रकाशित नेपाली साहित्यको सर्वोत्कृष्ट कृतिलाई दिने पद्मश्री साहित्य पुरस्कार यसपटक अर्जुनदृष्टि लघुकथा संग्रहको लागि डा. रवीन्द्र समीर र जीबन काँडा कि फूलको लागि झमक घिमिरेलाई प्रदान गरेको छ।
त्यसै गरी, प्रतिष्ठानले यस पटकदेखि बाङमयको क्षेत्रमा दीर्घ साधना गर्ने श्रष्टालाई दिने पद्मश्री साधना सम्मान राष्ट्र कवि माधब घिमिरेलाई प्रदान गरेको छ।
पुरस्कारको राशि एक/एक लाख नगद र सम्मान पत्र रहेको छ। प्रतिष्ठानका प्रमुख संरक्षक जीबा लामिछानेको सभापतित्व्मा भएको कार्यक्रममा कवि गोबिंदराज बिनोदीले राष्ट्र कबिकोबारे प्रकाश पार्नु भएको थियो भने समालोचक डा.लक्ष्मण गौतमले अर्जुनदृष्टि र जीबन काँडा कि फूलबारे समीक्षात्मक मन्तब्य ब्यक्त गर्नु भएको थियो।
जगदीश घिमिरेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा साहित्यकार धनराज गिरीको उपन्यास अनंत पाइलाहरुको बिमोचन पनि गरिएको छ। नेपाली साहित्यको इतिहासमा लघुकथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पुरस्कृत भएको अर्जुनदृष्टि नै पहिलो कृति हो।
त्यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रदान गर्ने सर्बोत्कृष्ट पुस्तक पुरस्कार डा.लक्ष्मण गौतम, डा.रवीन्द्र समीर, झमक घिमिरे, गोबर्धन पूजा, नेत्र एटमलगायतका श्रष्टाहरुलाई प्रदान गरिएको छ।
- कथा - इन्दिरा प्रसाई “अब तिमी यसरी नहिँड । निर ! तिमी नहुँदा मलाई निराश लाग्छ । अब उनीहरूलाई डुलिहिँड्ने काम गर्न सक्तिनँ भनिदेऊ न ।” आकृतिले आज पनि निराकारका छातीको रौँ उखाल्न खोज्दै भनेकी थिई । निराकारलाई आकृतिले उसका छातीको रौँ दुख्ने गरी तान्दिएको साह्रै मन पर्छ । त्यो रौँ तानिँदा उसलाई अति आनन्द आउँछ । त्यसैले यस्ता एकान्त समयमा आकृति निराकारका छातीका रौँहरू तानेर निराकारलाई तृप्ति दिने गर्छे।
निराकार हिजो बेलुकी मात्रै आइपुगेको हो । निराकारले महिनामा मुस्किलले एक हप्ता मात्रै आकृतिसँग बिताउँछ । बाँकी दिनहरू भने ऊ संसारका विभिन्न देशहरूमा बिताउँछ । विगत पैँतीस वर्षदेखि निराकार एउटा अन्तरार्ष्ट्रिय गैरसरकारी सङ्गठनसँग सम्बद्ध छ।
आकृतिले स्थानीय क्याम्पसबाट उमेर नाघेर अवकाश पाएको पनि चार वर्ष भइसक्यो । घरमा एक्लै बस्नुको पीरले उसले पुनः आफूलाई करारसेवाको शिक्षण कार्यमै संलग्न गराएकी छ । त्यसो त ऊ चित्रकार हो । अधिकांश समय रङहरूसँग खेल्दै बिताउँछे ऊ।
“ए आति ! तिमी म हुँदा पनि आफ्ना प्रेमीसँगै डुब्ने गर्र्यौ । म नहुँदाको पीडा तिमीले भोग्छ्यौ र ? ” निराकारले आज पनि आकृतिलाई रङसँग गाँसेर जिस्क्याउन खोज्यो।
“तिमी मलाई छोडेर अनाथ र अपाङ्गसँग प्रेम गर्न जान्छौ, निर ! म तिमीबिना कति छटपटिन्छु तिमीले कसरी बुझ्न सकौला र ? मैले त तिम्रो उपस्थितिमा आफ्ना अधुरा पेन्टिङ मात्रै छोएकी छु । नयाँ त बनाउने गरेकी छैन नि !” आकृतिको आवाजमा भारीपन आउन खोजेको थियो।
“ए त्यसो होइन आति, तिमीलाई दुखाउने मेरो आशय हुँदैहोइन प्रिय, म पनि तिमीबिना तड्पिएको छु ।” निराकारले आकृतिलाई अँगालोमा कसेर भन्यो।
“भो, यस्तो पीपलपाते कुरा नसुनाऊ निर । तिमी लोग्नेमान्छे मात्रै हौ । तिमीलाई आइमाई भए पुग्छ । प्रेमको मूल्य तिमीले बुझ्न सक्तैनौ । हरेक रात नयाँनयाँ आइमाईसँग बिताउने आदत लागेका तिमीलाई मेरो प्रेमको खाँचो देख्तिनँ म ।” आकृतिभित्र दबेर बसेका कुटिलताहरू हुतुतु पोखिए।
निराकार केही बोलेन । धेरैबेर केही पनि बोलेन । “आति ! तिम्रा केही कुरा सत्य हुन् । सत्य पनि मैले भोगेकै सत्य हुन् । मैले संसारका धेरै आइमाईसँग आफ्नो शरीरको उष्णता साटिसकेको छु र साट्ने पनि गर्छ । कुनै पनि देशमा रात बिताउँदा एक्लोपन हटाउने क्रममा मैले कुनै पनि साथ स्वीकारेको छु । तर मेरी प्रेयसी ! के तिमी मेरो कुरामा विश्वास गछर्र्यौ ? ती मैले भोगिसकेका कुनै पनि स्त्रीको सूक्ष्म आभास पनि मसँग अहिले छैन र कहिल्यै रहेन पनि । अनि ती स्त्रीभोगका समयमा पनि मेरा स्मृतिपटलमा भने तिम्रो मात्र उपस्थिति हुने गर्छ । साँचो कुरा भनौँ आति ! मैले ती स्त्रीभोग एक्लै गरेकै छैन । त्यस बेला मैले तिनलाई तिमीसँगै मात्र भोगेको छु ।” निराकारको स्वरको कम्पनले आकृति पग्लेर तरल तरल भइसकेकी थिई।
“मेरो निर !” आकृतिले आफूलाई समर्पण गरी।
***
भोलिपल्ट आकृति अन्तरार्ष्ट्रिय विमानस्थलबाट सधैँझैँ पुनः एक्लै घर फर्केकी थिई । यो क्रम लगभग बीस वर्षदेखि चल्दै आएको छ । तर हिजोआज भने निराकारलाई बिदा गरेर आएपछि आकृतिलाई अत्यास लाग्ने गर्छ । त्यस दिन पनि घरमा पुगेपछि आफ्ना कोठाको ढोका लगाएर आकृति बिछयौनामा पल्टेकी थिई । निराकारलाई बिदा गरेर फर्केपछि जहिले पनि ऊ यसरी नै ढोका थुनेर घण्टौँ बिछयौनामा पल्टिरहन्छे । यो बिछयौनामा टाँसिएको निराकारको गन्धसँगको सामीप्यले उसलाई निराकार यस बेला पनि आफैँसँग भएझैँ लाग्छ । यसै गतिमा सधैँजसो निराकारको फोन आउने गर्छ । ऊ फोनमा कुराकानी गर्ने गर्छे । त्यसपछि मात्र ऊ आफ्ना अन्य कार्यमा लाग्ने गर्छे । त्यस बेला पनि निराकारको गन्धसँग एकाकार हुँदै ऊ निराकारको फोनको प्रतीक्षामै पल्टिरहेकी थिई । एकाएक डोर बेल बज्यो । ‘को आयो ?’ यस्तो बेलामा भगवानको उपस्थिति पनि अप्रिय लाग्ने गर्छ आकृतिलाई । तर कोही आएपछि अर्थात् घण्टी बजेपछि ढोका खोल्नु शिष्टता हो । ऊ गह्रौँ मन बोकेर शिष्टता पालन गर्न अघि सरी।
“नमस्कार” बाहिर निराकारकी बहिनी निशा उभिएकी थिई । “ए निशा ! आऊ न भित्र” आकृतिले ओइलाएको हर्षले स्वागत गरी । निराकारको अनुपस्थितिमा आकृतिको कुँडिएको मनलाई निशाको उपस्थितिले त्यस क्षण केही राहत नै पुर्याएको थियो । निशा निराकारकी फुपूकी छोरी हो । कोही आफन्त पनि बाँकी नभएको निराकार निशालाई धूमधाम माया गर्छ । निराकारले त्यसरी माया गर्ने भएकैले होला आकृतिलाई पनि निशाको माया लाग्छ।
यस बेला अरू कोही अर्थात् निराकारसँग असम्बन्धित मानिस आएको भए आकृतिलाई पटक्कै मन पर्ने थिएन तर निशालाई देख्ता भने निराकारको कुनै अंश नै उसका सामु आएजस्तो लाग्यो आकृतिलाई।
केही अघि उदासिएको आकृतिको अनुहारमा निशाको उपस्थितिले उज्यालो र्छन खोजेको थियो।
“निर त आजै गइहाले नि, म भर्खरै पुर्याएर आउँदै छु । उनले हिजो बेलुकी तिमीलाई कत्ति फोन गरे तर तिम्रो फोन उठेन ।” आकृतिले भनेकी थिई।
“दाइसँग भेट्नै पर्ने थियो, धेरै भयो भेट नभएको पनि, म अस्ति नै पनि आएको कुरा दाइलाई भनिदिनुभएन ? दाजुलाई हाम्रो केही मतलबै छैन । पहिले कस्तो माया गरिसिन्थ्यो मलाई ।” निशाले पछिल्लो वाक्य मुख अमिलो पार्दै भनेकी थिई । निशाको मुखको अमिलोको लक्ष्य ‘पहिले’ भन्ने शब्दले आकृतिको केही अघि मात्रै रमेको मनसम्म पुगेर उसको मनको स्वाद टर्रो पारिदिएको थियो । ‘निशा आएकी थिई । निराकार दाइलाई भेट्नै पर्ने काम छ भन्दै थिई ।’ आकृतिले निराकारलाई सबै कुरा भन्दिएकी हो । तर अस्तिको बेलुकी आएको निराकार आज फर्कियो । उसले हिजो एक दिन मात्रै आकृतिसँग राम्ररी बितायो । निशाका भरखरका कुरा सुनेर आकृतिको अनुहारमा केहीबेरअघि आएको रौनक पन्छिँदै गएको थियो । “मैले तिमी आएको कुरा भनेरै त उनले हिजो तिमीलाई फोन गरेका थिए । ‘यसपालि भेट्न भ्याइनँ । अर्को पालि आउँदा भेट्छु । मैले गर्ने काम तिमीले नै गर्दिए पनि भइहाल्छ। निशालाई भन्नू’ भनेर निर गएका हुन् । तिम्रो कुरा मलाई नै भन न निशा । मैले सक्ने म गरिहाल्छु नि।”
निशाको मुखबाट केही अघि मात्र आफूप्रति लक्षित शब्दलाई बिर्सन खोज्दै आफूलाई सकेसम्म कोमल तुल्याएर आकृति निशासमक्ष खुल्न खोजेकी थिई।
“कस्तो कुरा गर्नुहुन्छ आकृति दिदी, निराकार दाइसँग भन्ने कुरा मैले तपाईंसँग कसरी भन्न सक्छु ? भैगयो । निराकार दाइलाई सबैले बदलिएको छ, उसलाई हिजोआज कोही चाहिँदैन भन्थे । मचाहिँ त्यस्तो होइन भन्थेँ । अब म आउँदिनँ भन्दिनू निराकार दाइलाई । उहाँलाई हामी नचाहिए हामीले मात्रै उहाँलाई हुरुक्क गरेर के हुन्छ र ?” निशा च्याँट्ठिनसम्म च्याँट्ठिई । निशाका कुरा सुनेर आकृतिलाई हुनसम्म झोँक चलेको थियो । यो निराकारकी प्यारी बहिनी निशा नभएर अरू कोही भैदिएको भए आकृतिले ठ्यामठ्याम चड्काएर पठाइदिन्थी । तर आकृतिले निशाप्रति अभद्र व्यवहार गर्दा निराकारको चित्त दुख्ने कल्पनाले आकृति चुप लागिरही।
“म जानुपर्यो आकृति दि” एक्लै बोलिसकेपछि निशाले उभिँदै भनेकी थिई।
“चिया बनाउँछु, चिया खाएर जाऊ न निशा” निशाका शब्दबाणले रक्ताम्मे भएको मुटु लुकाएर पनि आकृति शिष्टता प्रदर्शन गर्न चुकेकी थिइनन् । “भैगो, खाएकै हो नि, आज अबेर पनि भइसक्यो ।” घडी हेर्दै निशा मुस्काउने व्यर्थ प्रयत्नमा थिई । केही अघि मात्रै बाहिरिएका निशाका मनभित्रका कलुषितताका छापले गर्दा निशाले अनुहारमा भर्खरै जबर्जस्ती पोखेको मुस्कान पनि विकृत भएको थियो । आकृतिलाई आज निशा ज्यादै नराम्री लागी।
त्यसपछि निशा बाहिरिएकी थिई र आकृति पुनः निराकारको गन्धसँग नजिकिएकी थिई । अचानक घडीमा आँखा परेपछि आकृतिलाई समाचार सुन्न मन लागेको थियो । निराकार गएको दिन आकृतिलाई समाचारसँग सरोकार हुने गर्छ । त्यस क्षण कुनै अप्रिय समाचारको दुष्कल्पनाले आकृतिलाई सताउने गर्छ । आज पनि त्यस्तै भएर उसले रेडियो खोली । ‘ दुर्घटना-सम्पूर्ण यात्रुहरूको मृत्यु भएको अनुमान ।’ रेडियोको समाचारको यो अंश मात्र उसको कानमा परेको थियो।
त्यसपछि निराकारको क्षतविक्षत शरीर मात्रै आकृतिका कल्पनामा नाचिरहे । ‘निराकार उडेको पनि चार घण्टा भइसक्यो । यस बेलासम्म निराकारको फोन पनि आइसक्नुपर्ने, ¬ के साँच्चै नै’ आकृति निसासिएकी थिई।
‘यदि निराकारको मृत्युको समाचार आयो भने म के गरुँला ?’ झन् अत्तालिई आकृति । उसका हातखुट्टाहरू चिसिएर गए । उसको शरीर गलेर लत्याकलुतुक भयो । उसका पातला र अधिकांश फुलेका कपालभित्र पसिनाका धाराहरू उम्रिन लागे । त्यसै बेला फोनको घण्टी बज्यो । तर आकृतिले फोन उठाउन सकिन । तर फोनको घण्टी बजि नै रह्यो । धेरैबेरपछि झन्डै छसातपल्ट घण्टी बजिसकेपछि आकृतिले फोन उठाई । “आति ! के भयो ! किन यति बेरमा फोन उठाएकी ? म त डराइरहेको थिएँ तिमीलाई के भयो भनेर ।” निराकारको आत्तिएको स्वर सुनिएको थियो।
“होइन निर, केही भएको छैन । तिमी राम्ररी पुग्यौ ?” आकृतिले निराकारको स्वर सुनिरही र धेरैबेरपछि बिस्तारै लामोलामो सास फेरेर बोलेकी थिई।
“किन आति ! तिमीलाई के भयो ? किन यसरी बोलेकी ?” निराकारको चिन्तामिश्रति स्वर आएको थियो।
“निर, तिमी छिट्टै आऊ है !” आकृति रोएकी थिई।
“म काम सकिनासाथ आइहाल्छु मेरी प्यारी । तिमीले किन यस्तो गरेकी, मलाई नरमाइलो लाग्दैन ? तिमी छिटो हाँस । छिटो हाँस आति । म फोन राख्छु ।” निराकारले फकाएर भन्यो।
“निर ! तिमी चाँडै आऊ, हामी बिहे गर्ने” आकृतिले भनी । आकृतिका कुरा सुनेर निराकार जोरले हाँस्यो । निराकार हाँसेको सुनेपछि आकृति पनि हाँसी।
***
त्यसैको झन्डै एक महिनापछि निराकार आएको थियो । आकृतिलाई देखेपछि निराकार पुनः हाँस्न लागेको थियो।
त्यसै दिन आकृति र निराकारले बिहे गरेका थिए । ‘कोर्ट म्यारेज’ र मन्दिरमा पनि उनीहरूले बिहे गरे।
***
पैँसठ्ठी वर्षीय कुमारी बूढी र सत्तरी वर्षीय कुमार बूढोले बिहे गर्दा सहरमा एउटा अनौठो र रमाइलो समाचार फैलिएको थियो । बीस वर्षभन्दा बढी समयदेखि सँगसँगै बस्तै आएका आकृति र निराकारले बिहे गर्दा स्वयं निराकारलाई नै पनि अनौठो लागेको थियो।
***
“ए आति ! मैले तिमीसँग बिहे गरौँ भनेर पन्ध्र वर्षअघि नै प्रस्ताव राखेको थिएँ । तर तिमीले कहिल्यै मानिनौ । तिमी त बिहेको परम्पराकै विरोधी होइन ? फेरि तिमीले नै किन बिहेको प्रस्ताव राख्यौ ? मैले त केही बुझन सकिनँ ! कि तिमीले मलाई एकलौटी बनाउने विचार गरेकी हौ ?” त्यस रात निराकारले आकृतिलाई अँगालोमा राखेर सोधेको थियो । तर आकृति केही बोलेकी थिइन । उसका आँखा बन्द थिए । ओठमा गम्भीर मुस्कान थियो। अनुहारमा अनौठो रौनक थियो । निराकारलाई आज आफ्नी पत्नी आकृति प्रेमिका आकृतिभन्दा सुन्दरी लाग्यो । सिन्दूरले रङ्गिएको आकृतिको सिउँदो चुम्यो निराकारले र रातो टीका टाँसेको निधार पनि चुम्यो उसले । सधैँ उसले चुम्ने गरेको आकृतिको ओठबाट भन्दा आज तृप्ति पाएको अनुभूतिले सन्तुष्ट भयो ऊ । “आति, मलाई बाँधेर राख्ने हो ?” निराकारले पुनः जिस्क्यायो आकृतिलाई।
“तिम्रो मन मैले मसँगै बाँधेकी थिएँ निर, र तिमीले पनि । तर निर, यो शरीर अब चाँडै नै हामीले त्याग्नु पर्छ । तिमीले पहिले वा मैले पहिले, त्यो थाहा छैन । हामी सँगसँगै त बिदा हुँदैनौँ । त्यस्तो भाग्य त हामीले के पाउँला ? तर अब यो बिहेपछि म तिमीलाई बिदा गर्दा निर्धक्क रुन सक्छु । सायद तिमी पनि ! तिमीले के सोच्यौ के ? तर निर, मैले हाँस्न होइन रुनका लागि नै तिमीसँग बिहे गरेकी हुँ।”
अब निराकारसँग केही जबाफ थिएन।
दुवैले उनीहरूको मधुरात एकअर्काका अँगालोमा रोएर बिताएका थिए । बिहानीपख मात्रै दुवै निदाएका थिए।
सन्तोष काफ्ले/ एचकेनेपाल डट कम-
धरान, १३ असोज । कलाकार संजीव राईले सुनसरीको इटहरीमा एकल कविता वाचन कार्यक्रम गरेका छन्।
लामो समयदेखि सुनसरीको धरानमा रहेर कविता सिर्जना गर्दै आएका राईले सुनसरीको इटहरीमा एकल कविता वाचन गरेका हुन्।
कार्यक्रममा कवि मनु मञ्जिल, कृष्णभुषण बल, जीवी लुगुनलगायतको उपस्थिती थियो। कार्यक्रममा राईले करीब दुइ दर्जन कविता वाचन गरेका थिए।
कार्यक्रममा करीब पाँच महिनाअघि आयोजित गन्तव्य डाँडाबजारका क्रममा विभिन्न कलाकारले बनाएका चित्र समेत प्रदर्शनमा राखिएका थिए। कार्यक्रममा अन्य कविहरुले समेत कविता वाचन गरेका थिए।
एचकेनेपाल डट कम संवाददाता-
चितवन, ११ असोज। विगत २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट व्यतिलाई प्रत्येक वर्ष ‘पद्मश्री साहित्य सम्मान’ प्रदान गर्दै आएको ‘खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान’ चितवनले यस वर्षदेखि १ लाख रूपैयाँको एउटा अर्को पुरस्कार- ‘पद्मश्री साधना सम्मान’को पनि स्थापना गरेको छ।
आफ्नो साधनाका क्षेत्रमा लामो समयसम्म संलग्न रहेर उल्लेखनीय योगदान पुर्याएका विशिष्ट व्यक्तित्वलाई प्रत्येक वर्ष समर्पण गरिने ‘पद्मश्री साधना सम्मान’ पहिलो पटक नेपाली वाङ्मयका क्षेत्रमा उहाँले पुर्याउनु भएको अमूल्य योगदानका लागि राष्ट्रकवि माधव घिमिरेलाई समर्पण गर्ने निर्णय गरिएको छ।
२०६७ सालको ‘पद्मश्री साधना सम्मान’ राष्ट्रकवि माधव घिमिरेलाई तथा ‘पद्मश्री साहित्य सम्मान’ झमक घिमिरे र डा. श्री रवीन्द्र समीरलाई संयुक्तरूपमा आगामी कोजाग्रत पूर्णिमा दिन काठमाडौंमा समर्पण गरिने छ।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, त्रिमूर्ति निकेतनले विहीवार एक समारोहका माझ सातौं त्रिमूर्ति दिवस मनाएको छ।
त्यस अवसरमा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँलाले नेपाल तथा भारतका ६ जना महानुभावलाई पुरस्कार र सम्मान प्रदान गर्नुभयो।
‘त्रिमूर्ति पुरस्कार’बाट पुरस्कृत हुनेहरुमा भारत दार्जीलिङका कृष्णसिंह मोक्तान र मोहन ठकुरी हुनुहुन्छ। यी पुरस्कारका राशि जनही पच्चीस हजार रुपियाँ रहेका छन्।
नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि विशिष्ट योगदान गरेवापत मोक्तान र ठकुरीलाई ‘त्रिमूर्ति पुरस्कार’ प्रदान गरिएको हो।
समारोहमा त्रिमूर्ति निकेतनको अन्तर्राष्ट्रिय सम्पर्क समितिका संयोजक डा.सत्यमोहन जोशीलाई काठमाडौं विश्वविद्यालयबाट महाविद्यावारिधिको उपाधि प्रदान गरिएकोमा प्रमुख अतिथि बैरागी काइँलाद्वारा दोसल्ला ओढाएर सम्मान गरियो।
समारोहमा बैरागी काइँलाले सिन्धुराज्यलक्ष्मी राणाको सौजन्यमा प्रकाशित तथा माधव वियोगीद्वारा रचित बालकृष्ण समको गाथामा आधारित महाकाव्य ‘नाट्यसम्राट्’को लोकार्पण गर्नुभयो।
साथै डा. शैलेन्दुप्रकाश नेपाल लेखनाथ पौड्याल पुरस्कार, मनबहादुर मुखिया बालकृष्ण सम पुरस्कार र तोया गुरुङ देवकोटा काव्य पुरस्कारबाट पुरस्कृत हुनुभएको छ। यी पुरस्कारका राशि जनही दस हजार रुपियाँ रहेका छन्।
नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि चार दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली आधुनिक कविताको विकासमा विशिष्ट योगदान पुर्याएवापत श्रीमती तोया गुरुङलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको हो।
त्यसै गरी नाट्यक्षेत्रमा समर्पित भई नाटकको महिमा र गरिमालाई उत्कृष्ठताको शिखरमा पुर्याउन उद्धत मनबहादुर मुखियालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिएको हो। साथै नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पुर्याएबापत डा.शैलेन्दुप्रकाश नेपाललाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिएको छ।
त्यस अवसरमा त्रिमूर्ति निकेतन उद्यानको संरक्षणमा पुर्याएको योगदानका लागि भूमिगत जलस्रोत विकास समितिका कार्यकारी निर्देशक प्रमोदराज शर्मालाई ‘त्रिमूर्ति सम्मान’ प्रदान गरियो।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँला, उपकुलपति गङ्गाप्रसाद उप्रेती, लेखनाथ पौड्याल काव्यसभाका संयोजक खनूपरुदे रामबाबू, बालकृष्ण सम फाउन्डेशनका संयोजक प्रा.डा.गार्गी शर्मा, अन्तर्राष्ट्रिय सम्पर्क समितिका संयोजक डा.सत्यमोहन जोशी, त्रिनारी रत्न स्मारकका संयोजक डा.मोदनाथ प्रश्रित र सदस्यसचिव नरेन्द्रराज प्रसाईले पनि बोल्नु भएको थियो।
गुरूङ, मुखिया र नेपाललाई त्रिमूर्तिका तीन पुरस्कार
हरेक वर्ष कविशिरोमणि, नाट्यसम्राट् र महाकवि जयन्ती मनाइने
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, त्रिमूर्ति निकेतनले २०६७ सालको लेखनाथ पौडयाल काव्य पुरस्कार डा.शैलेन्दुप्रकाश नेपाललाई, बालकृष्ण सम पुरस्कार मनबहादुर मुखियालाई र देवकोटा काव्य पुरस्कार तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो।
ताम्रपत्रका साथै जनही दस हजार रूपियाँ राशिका यी पुरस्कार आगामी त्रिमूर्ति दिवसका अवसरमा भदौ ११ गते काठमाडौंमा प्रदान गरिने छ।
नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि चार दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको विकासमा विशिष्ट योगदान पुर्याएवापत तोया गुरुङलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ।
त्यसै गरी, नाट्यक्षेत्रमा समर्पित भई नेपालमा नाटकको महिमा र गरिमालाई उत्कृष्ठताको शिखरमा पुर्याउन उद्धत मनबहादुर मुखियालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्न लागिएको हो।
साथै नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पुर्याएबापत डा.शैलेन्दुप्रकाश नेपाललाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिने भएको छ।
त्यस अवसरमा त्रिमूर्ति निकेतन उद्यानको संरक्षणमा पुर्याएको योगदानका लागि भूमिगत जलस्रोत विकास समितिका कार्यकारी निर्देशक प्रमोदराज शर्मालाई ‘त्रिमूर्ति सम्मान’ प्रदान गरिने भएको छ।
निकेतनको बैठकले यस वर्षदेखि कविशिरोमणि लेखनाथ पौडयाल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका जयन्तीका अवसरहरुमा कवि गोष्ठीको आयोजना गर्ने निर्णय त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभएको छ।
यस कार्यको सम्पादनका लागि निकेतनले बाबा वस्नेत, यादव भट्टराई र ठाकुर बेलवासेलाई कार्यक्रम संयोजकका रूपमा मनोनयन गरेको छ।
एचकेनेपाल डट कम संवाददाता-
खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट प्रत्येक वर्ष समर्पण गरिने ‘पद्मश्री साहित्य सम्मान’ यस वर्ष (२०६७) ‘जीवन काँढा कि फूल’ (आत्मजीवनीपरक निबन्ध)का लागि झमक घिमिरे तथा ‘अर्जुनदृष्टि’ (लघुकथासंङ्ग्रह)का लागि डा. रवीन्द्र समीरलाई संयुक्तरूपमा समर्पण गर्ने निर्णय भएको छ।
रु. एक एक लाख नगद सहितको उक्त सम्मान आगामी असोजको कोजाग्रत पूर्णिमाका दिन समर्पण गरिनेछ।
त्यसै गरी, खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले झमक घिमिरे साहित्य-कला प्रतिष्ठानलाई रु. १५०,००० सहयोग समेत गर्ने निर्णय गरेकोछ।
यस अघि ‘पद्मश्री साहित्य सम्मान’बाट गणेश रसिक (२०६३), भानुभक्त पोख्रेल (२०६४), कृष्ण बराल (२०६५), ध्रुव सापकोटा तथा अमर न्यौपाने (२०६६) मा सम्मानित भइसक्नु भएको छ।
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, कवयित्री विजयाश्रीको कवितासङ्ग्रह ‘वरदानका अनुभूति’को शनिवार नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काईंलाद्वारा लोकार्पण गरिएको छ।
डा.वसन्त पन्तद्वारा सञ्चालित कार्यक्रममा अन्नपूर्ण न्युरो अस्पतालका सम्बन्धमा विजयाश्रीले लेखेको कवितामाथिको श्रव्यदृष्यसमेत प्रस्तुत गरिएको थियो।
त्रिभुवन विश्वविद्यालयको वनस्पति विज्ञानमा प्राध्यापन गर्ने कवयित्री डा.विजया पन्तको आहृवानमा गमलाको फूलमा पानी हालेर ‘प्रकृतिको रक्षा गरौं’ भन्ने भाव अभिव्यक्त गदै समारोहको आरम्भ गरिएको थियो। सो समारोहमा बालकलाकार सुश्री निहारिकाले कथ्थक नृत्यसमेत प्रस्तुत गरेकी थिइन्।
सोही अवसरमा अन्नपूर्ण न्यूरो अस्पतालका अध्यक्ष डा.वसन्त पन्तले अस्पतालमा साहित्य, कला, संस्कृति, खेलकुद् आदि क्षेत्रका प्रतिभालाई स्वास्थ्योपचारका लागि निशुल्क एउटा शैया प्रदान गर्ने घोषणा गरेका छन्।
नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीको सभापतित्वमा सञ्चालित समारोहमा प्रा.डा.उषा ठाकुर, नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, डा. सरोज धिताल, गीताकेशरीलगायतले बोलेका थिए।
एचकेनेपाल डट कम संवाददाता-
अनेसास पुरस्कार चयन समिति २०११ ले प्रत्येक २–२ वर्षमा प्रदान गरिंदै आएको विभिन्न पुरस्कारको घोषणा गरेको छ। पुरस्कार चयन समितिका अध्यक्ष सुमन तिमसिनाद्धारा जारी प्रेश बक्तब्यमा जनाइए अनुसार यसपटकको प्रतियोगितामा विभिन्न विधाका जम्मा ७२ पुस्तकहरूले प्रवेश पाएकोमा अनेसास उत्कृष्ट पुस्तक पुरस्कारमा डायस्पोराबाट ४ जना र नेपालबाट १२ जनाले जितेका छन्।
समकालीन नेपाली कविताका प्रवृत्ति समालोचना संग्रहका लागि डा. लक्ष्मण गौतमलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य सर्वोत्कृष्ट पुस्तक पुरस्कार युएस् डलर १५००.०० नगद, १००।०० बराबरको आजीवन सदस्यता र सम्मान–पत्र प्रदान गरिएको छ।
स्मृतिमा भीमू (सस्मरण) भारती गौतमले सर्वोत्कृष्ट नारी हस्ताक्षरका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार युएस् डलर ४००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।
प्रेमदान उपन्यासका लेखक बुद्धिप्रसाद सुवेदी सर्वोत्कृष्ट नव प्रतिभाका लागि अनेसास डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार (युएस् डलर ३१०.०० नगदसहित सम्मान–पत्र) बाट पुरस्कृत हुनु भएको छ।
रातो घाम गीत संग्रहका नर बहादुर बि.सी. सर्वोत्कृष्ट नेपाली गीती कविताका लागि अनेसास हरिभक्त कटुवाल स्मृति पुस्तक पुुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।
नानीपानी (बालसाहित्यका) देवीप्रसाद वनवासी सर्वोत्कृष्ट बालसाहित्यका पुस्तकका लागि अनेसास शारा उत्कृष्ट बाल पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।
हजार वर्षको निद्रा कविता संग्रहका भूपिन व्याकुल सर्वोत्कृष्ट धवलागिरि अञ्चलका पुस्तकका लागि अनेसास रोहिणी शर्मा सर्वोत्कृष्ट पुस्तक पुरस्कार युएस् डलर २००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हनु भएको छ।
अर्जुन दृष्टि लघुकथा संग्रहका डा. रविन्द्र समीर सर्वोत्कृष्ट लुम्विनी अञ्चलका पुस्तकका लागि अनेसास शेषराज शर्मा लुम्विनी अञ्चल सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।
खोपदेश उपन्यासका भरत जङ्गम सर्वोत्कृष्ट वाग्मती अञ्चलका पुस्तकका लागि अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।
शब्द मृत्यु र सपनाको हत्या कविता संग्रहका ज्ञानु अधिकारी र सिन्धु गौतम सर्वोत्कृष्ट नारायणी अञ्चलका पुस्तकका लागि अनेसास गोविन्द गिरी “प्रेरणा” सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।
एथेन्सको झरी नियात्रा संग्रहका केदार सुनुवार ‘संकेत’ सर्वोत्कृष्ट जनकपुर अञ्चलका पुस्तकका लागि अनेसास ठाकुर प्रसाद रेग्मी सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।
जीवन काँढा की फूल (आत्मकथा) झमक घिमिरे सर्वोत्कृष्ट कोशी अञ्चलका पुस्तकका लागि अनेसास चेतनाथ घिमिरे सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्र बाट पुरस्कृत हुनु भएको छ।
तप्किएर अन्जुलीमा गजल संग्रहकी उमा सुवेदी सर्वोत्कृष्ट मेची अञ्चलका पुस्तकका लागि अनेसास सीता पान्डे सर्वोत्कृष्ट पुस्तक पुरस्कार, युएस् डलर २००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।
झस्किएको सिन्दुर (कविता) रामबाबु सुवेदी सर्वोत्कृष्ट छन्दोवद्ध काव्य साहित्यका लागि अनेसास डिल्लीरमण शर्मा अर्याल सर्वोत्कृष्ट पुस्तक पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।
गोपीचन लोकनाटकका (मगर) कुसुमाकर न्यौपाने सर्वोत्कृष्ट नेपाली जनजातीय भाषा साहित्यका लागि अनेसास रतन झा सर्वोत्कृष्ट पुस्तक पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।
विक्रीमा यो जिन्दगी (गजल संग्रह) गोवद्र्धन पूजा सर्वोत्कृष्ट नेपाली गजलका लागि अनेसास गीता खत्री गजल सर्वोत्कृष्ट पुस्तक पुरस्कार नगद युएस्डलर २००।०० र सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।
त्यसै गरी अनेसासले प्रदान गर्ने डायस्पोरा पुरस्कारहरु मध्येबाट नेपाली डायास्पोराका नेपाली भाषाका साहित्यकार र उनका कृतिमा गरिएको अनुसन्धानात्मक कृति ‘नेपाली डायस्पोरा र अन्य समालोचना’ पुस्तकका लागि नेत्र ‘एटम’ डायस्पोरा खेमलाल हरिकला लामिछाने पुरस्कार, युएस् डलर ५००.०० नगदसहित सम्मान–पत्र बाट पुरस्कृत हुनु भएको छ।
नेपाली डायस्पोरामा गरेको साहित्य सिर्जनाको सर्वोत्तम योगदानको लागि कृष्ण बजगाईं अनेसास डायस्पोरा नृपध्वज कार्की नेपाली साहित्य पुरस्कार, युएस् डलर ५००.०० नगदसहित सम्मान–पत्रबाट पुरस्कृत हुनु भएको छ।
डायास्पोरामा महत्वपूर्ण योगदान गर्ने नेपाली भाषाका साहित्यकार र उनका कृतिबारेमा अनुसन्धान गराउनको लागि नेपाली केन्द्रीय शिक्षण विभाग, त्रिभुवन विश्वविद्यालयलाई अनेसास एन्आर्एन् – डायास्पोरा फूलकुमारी महतो स्मृति पुरस्कार—२०११, युएस् डलर ५००.०० नगदसहित सम्मान–पत्र बाट पुरस्कृत गरिएको छ।
अनेसास -
आगामी जुलाईको १३ मा अमेरिकाको राजधानी वासिंगटन डिसी मेट्रो क्षेत्रमा हुन लागि रहेको एशोशिएशन अफ नेपलिज इन अमेरिकाको बृहत सम्मेलनको अबसरमा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको आयोजनामा हुने अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव २०११ मा कविता पठाउन इच्छुक विश्व भरि रहेका नेपाली कवि साहित्यकारहरुलाई आफ्नो कविता पठाउन हुन हार्दिक अनुरोध गर्दछौं।
पुरस्कार
१. प्रथम - ‘हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् १००० डलर नगद
२. द्धितीय - ‘शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् ३०० डलर नगद
३. तृतीय - ‘बसुन्धरा गणेश रोका देबकोटा पुरस्कार’ प्रमाण पत्र सहित युएस २०० डलर नगद
नियमहरुः
१. कविता नेपालमा प्रचलित कुनै पनि भाषा वा अंगे्रजीमा समेत पठाउन सकिनेछ । तर सो कविताको
नेपाली रुपान्तर पनि साथमा हुनु नितान्त जरुरी छ । अनुवाद विनाको कविता स्वीकृत हुने छैन ।
२. कविता मौलिक, कुनै पनि संचार माध्यमबाट अप्रकाशित एवं २०० शब्दमा नवर्ढाई लेखिएको हुनु पर्नेछ ।
३. कविको नाम, ठेगाना, सर्म्पर्क शुत्र स्पष्टसंग लेखिएको हुनु पर्नेछ ।
४. कविता टाईप गरिएको हुनु पर्नेछ र इमेल मार्फ पठाउनु पर्नेछ । हुलाक वा अन्य माध्यमबाट हस्तलिखित
रुपमा आएका कविताहरुलाई प्रतियोगितामा सामेल गरिने छैन ।
५.महोत्सवमा कविले आफूले पेश गरेको मूल भाषामै कविता वाचन गर्न पाउने छन् ।
६. कविता जुन १५, २०११ भित्र देहायकोर् इमेल मार्फ आई पुग्नु पर्नेछ । त्यस पछि
आएका कविताहरुलाई प्रतियोगितामा समाबेश गरिने छैन ।
इमेलमार्फत कविता पठाउने ठेगानाः
kabitapratiyogita2011@gmail.com
gosirawat@gmail.com
bishowbimohan@hotmail.com
संयोजक
गोविन्दसिंह रावत
अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव २०११
नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम- नेपाली भाषासाहित्यका प्रखर प्रतिभा टीकाराम धनञ्जय भौतिक रुपमा २६ वर्षमात्र बाँचे। उनको भौतिक चोला १९६६ सालमा अर्घाखाँचीको खिदिममा झुल्केको थियो भने १९९३ सालमा त्यही अस्ताएको थियो। पं.एकदेव मरासिनी र नारायणी मरासिनीका छजना छोरा र दुईजना छोरीपछि जन्मेका यी कान्छो सन्तान थिए।
टीकाराम धनञ्जयले आफ्नो मरासिनी थरको सट्टा आफ्नो गोत्र अथवा धनञ्जय लेखे। उनको व्यक्तित्व र कृतित्वको व्याख्या विश्लेषण डा.मोदनाथ प्रश्रतिबाट जति भयो अन्यत्रबाट भएको नै छैन। वास्तवमा त्यस भेगका साहित्यका विभूति नै टीकाराम धनञ्जय थिए । उनको त्याग, आराधना र समर्पण त्यस ठाउँमा विर्सिनसक्नु मानिन्थ्यो । यी समाजका चिन्तक थिए र यिनको चिन्तन विशेष गरेर साहित्य र शिक्षासेवामा टड्कारो देखिन्थ्यो । साथै उनी गुणको कदर गर्ने एउटा जागरुक पनि थिए । दुर्गम गाँउमा जन्मे र त्यही निधन भएका कारण एउटा संस्था सरहका व्यक्तित्वको चर्चाले ठाँउ नपाएको मानिन्छ।
टीकाराम नेपाली र संस्कृतमा बराबरी लेख्थे, बराबरी बोल्थे र बराबरी भाषण गर्थे । उनी अन्वेषक थिए र विज्ञानप्रति पनि गहिरो चासो राख्थे । उनले लिपीको पनि आविष्कार गरेका थिए । अनि धार्मिक भैकन उनी अन्धविश्वासका विरोधी थिए।
टीकारामको विवाह चौध वर्षको उमेरमा हिमलाल पौडेल र कुन्ता पौडेलकी छ वर्षीया छोरी चन्द्रकलादेवीसँग भएको थियो। विवाहपछि चन्द्रकलाले आफ्ना पतिसँग लेखपढ गर्न थालेकी थिइन्। टीकारामले निर्माण गरेको लिपी त्यति बेला उनीहरुको एकअर्कामा चिठी लेखालेख गर्ने माध्यम बनेको थियो । चिठी लेख्तालेख्ते चन्द्रकलाले गीत, कविता र नीतिशास्त्र पनि लेख्न थालिन्। उनले आफ्ना पतिसँगै लहसिएर क्रमशः साहित्य लेखनमा नै पनि आफूलाई उभ्याएकी थिइँन्। लेख्तालेख्तै उनले ‘उपदेश चन्द्रकला’ र ‘शिशुबोध तरङ्गिणी’ नामक कृति पनि लेखिन्। तत्कालीन समाजमा पतिको निधन भएपछि नारी जातिले पढ्नु, लेख्नु, गाँउनु, नाच्नु, भाषणगर्नु, समाजसेवा गर्नु भनेको अनर्थ नै ठानिन्थ्यो। त्यतिमात्र होइन त्यस बेला जागरुक नारीलाई समाजद्वारा लान्छना लगाएर समाजबाटै तिरष्कृत, बहिस्कृत र अपमानित गरिन्थ्यो । त्यसैले पतिको निधनसँगै चन्द्रकलाले भनिन्, ‘यी किताब मैले लेखेका थिएनन्। यी किताव मेरा पतिद्वारा लेखिएका थिए।’
चन्द्रकलाको जन्म १९७२ सालमा अर्घाखाँचीको मन्द्रेमा भएको थियो । उनी बीस बर्षीषा भएपछि उनका पति टीकारामले जिब्रो टोकेका थिए । त्यस पछि चन्द्रकलाले नावालक छोराको मायाको आडमा नेपाली समाजमाझ विविध संर्घषको सामना गरिन् । अनि चौरासी वर्षपुगेपछि उनले पनि आफ्नो चोला फ्याँकिन् । त्यतिञ्जेलसम्म पनि आफूले केही रचना नगरेको बेहोरा उनले समाजसामु बक्त्याई रहिन्। यसै परिवेशमा धनञ्जय दम्पतिका चेला ओवनाथ गौतमले (डा.मोदनाथ प्रश्रित र नरेन्द्रराज प्रसाईलाई) भनेका थिए, ‘’मेरी गुरुमा चन्द्रकला नेपाली र संस्कृत भाषामा लेखपढ गर्थिन् । उनी आँसु कवयित्री थिइँन्। पुराना शास्त्र र कथाहरु प्रायः उनलाई मुखाग्र थियो । उनी मान्छेसँग बोल्दा पनि श्लोकमै जवाफ दिन्थिन् । उनले दुई वटा किताबहरु पनि लेखेकी थिइँन्।'’
चन्द्रकलाले लेखेको ‘उपदेश चन्द्रकला’नामक नीतिकथा १९९१ सालमा प्रकाशित भएपछि चाहिं नेपाली समाजमा उनको धेरै महिमा बढेको थियो । तर किताब छापिएको अर्को वर्षपछि नै उनका पतिको निधन भएपछि हठात रुपमा उनले मेरा नाउँमा छापिएका कुनै पनि कृति मैले लेखेका होइनन् भन्ने समाजसमु जानकारी दिइन्। किनभने त्यस बेलाको समाजले यो पोइ टोकर्ुइले बोक्सी विद्या जानेकी रैछे र पो किताब लेखी भन्छन् भन्ने डरका कारण चन्द्रकलादेवीले आफ्नो प्राज्ञिकयात्रालाई लुकाउनु परेको थियो।
आफ्ना काका पं.दधिराम मरासिनीको गुरुकुलमा टीकारामले शिक्षाको आरम्भ गरेका थिए । बिहे गरेको अर्को वर्ष उनी बाँके बर्दियाका प्रख्यात समाजसेवी हरिहर गौतमको छात्रवृत्ति लिएर बनारस गएका थिए । त्यसैताका उनले त्यहाँ ज्योतिष र आयुर्वेदको अध्ययन गरेका थिए । अनि आईए सरहको परीक्षा दिएर उनी नेपाल फर्के । त्यसपछि उनी पात्रो बनाउने काममा पनि लागे । उनको ज्योतिषी र आयुर्वेदको कलाले उनी अर्घाखाँचीको खिदिममा चर्चित बने। त्यहाँ ‘काले ज्योतिषी’ भनेपछि उनलाई नचिन्ने प्रायः कोही थिएनन् ।
टीकारामले हरिहर संस्कृत पाठशालामा शिक्षकको काम गरे । उनी त्यहाँ नियुक्ति भएपछि गणित र ज्योतिषको समेत पढाई हुन थाल्यो । त्यसपछि त्यस स्कूलको नाउँ पनि चल्न थाल्यो । परिणामस्वरुप अन्यत्र ठाँउबाट पनि त्यस स्कूलमा पढ्न विद्यार्थीहरु आउन थाले । त्यो हल्ला त्यहाँबाट बर्दियासम्म फिंजियो । अनि केही समयपछि बर्दियाका समजसेवी र धनाढ्य हरिहर गौतमले आफ्ना छोरा विष्णुहरि गौतम र भाञ्जा कृष्णप्रसाद ज्ञवालीलाई पढाउनका लागि टीकारामलाई बोलाए।
टीकारामको पढाउने शैली राम्रो भएका कारण उनी बर्दिया गएको अर्को वर्ष जाजरकोटका राजा उपेन्द्रविक्रम शाहले समेत आफ्ना छोरा स्वंयप्रकाशको शिक्षाका लागि उनलाई र छोरी राज्यलक्ष्मीको शिक्षाका लागि उनकी पत्नी चन्द्रकलालाई पत्र लेखी बोलाएका थिए। अनि त्यस पत्रको प्रत्यूत्तरमा टीकारामले लेखेका थिए, ‘’म अल्पायु छु । मेरो चाँडै मृत्युको सम्भावना छ, म बाँचें भने आँउला।'’ वास्तवमा टीकारामको उक्त प्रतिउत्तर पत्र जाजरकोटका राजाका हातमा पर्दानपर्दै टीकारामको भौतिक चोलाको विर्सजन भएको थियो । तर आफ्नै घरमा पाइला टेकेपछि मात्र उनी दिवङ्गत भएका थिए।
टीकारामको देहावसान हुँदा त्यस्तो विकट गाउँमा पनि दुई सयभन्दा बढी मलामीले त्यसबेला रिडीको काली गण्डकी ढाकेको थियो। एउटा प्रतिभाको अन्त्य भएको समाचार विस्तारै नेपाल र भारतका तीर्थाटनहरुमा फैलिएको थियो। खास गरेर एउटा प्रखर प्रतिभाको असामयिक निधनप्रति जान्ने बुझ्ने सबै चुक्चुकाएका थिए।
टीकारामले नेपाली भाषासाहित्यमा एक दर्जन कृतिको निर्माण गरे । उनले कविता, निबन्ध, प्रबन्ध र नाटक लेखे । उनले अनुवाद र भाष्यकारमा पनि नाउँ चलाए । साथै टीकाराम र चन्द्रकलाका अप्रकाशित कृतिहरु अझै खोजीको विषय भएको बेहोरा उनीहरुका छोरा माधव मरासिनीले बताएका छन्।
डा.प्रश्रितका अनुसार टीकारामले जीवनमा जम्मा आठ वर्षमात्र शिक्षा, समाजसेवा र नेपाली वाङ्मयको सेवा गर्ने अवसर पाएका थिए।
naiprasai@gmail.com
आर.सि.एन / एचकेनेपाल डट कम-
बीरगञ्ज,गजल साहित्य मञ्च नेपाल पर्साले कन्य उच्च मा.बि.को प्राङ्गनमा शनिवार २० औं गजल साहित्य कार्यक्रम सम्पन्न भएको छ।
साहित्य मञ्च पर्साकी सभापति लक्ष्मी शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको बिशेष अतिथिहरूमा रिपोर्टस क्लब नेपाल पर्सा शाखाका अध्यक्ष कन्हैया गुप्त , समासेवी गगांबहादुर थापा र नेपाल आम सञ्चार मञ्चका केन्द्रिय उपाध्यक्ष शुदर्शन राज पाण्डे रहनु भएको थियो।
कार्यक्रममा नेपाल भोजपुरी प्रतिष्ठान पर्सका अध्यक्ष मास्टर तारा सिहं, प्रभात काब्य यात्रा पर्सा संयोजक अरुण बिक्रम शाह, भूपेन्द्र पौडेल, समिर पाख्रिन, गंगाबहादुर कार्की, बिधा कुमारी, लक्ष्मी कुमारी बि.क., पुष्पा नेपाल, किरण देवी, बिराज साह, कमल चौलागाई, राज कुमार बिश्वकर्मा, बालदेव उपाध्याय, जिवन लाल श्रेष्ठ, प्रणय कुमार, उत्तम खड्गी, रामचन्द्र गुप्ता, राम बिनय साह, बिरेन्द्र साह, र ममता अधिकारीले आ-आफ्नो श्रृजनाहरु बाचन गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन कबि दिलिप कार्कीले गर्नु भयो।
आचार्य प्रभा, डेन्भर कोलोराडो/ एचकेनेपाल डट कम-
अनेसास कोलोराडो च्याप्टरले शनिबार फेब्रुवरी १२ तारिखका दिन सरस्वती पूजा सम्पन्न गर्र्यो। कोलोराडोको ब्राइटनस्थित सनातन मन्दिरमा कोलोराडोबासीहरुले श्रद्धा भक्तिका साथ सरस्वती माताको पूजा अर्चना गरी कार्यक्रम सम्पन्न गरे।
कार्यक्रममा कबिता गोष्ठीलगायत बालक बालिकाहरुलाई शिशा कलम र खाता पनि प्रदान गरिएको थियो। कार्यक्रमको पहिलो चरणमा सभापति तथा अतिथिहरुको आशन ग्रहण गरिएको थियो। आशन ग्रहण गर्नुहुने महानुभावहरुमा सभापति पदम विश्वकर्मा, कथाकार तथा गजलकार मनु ब्राजाकी, अनेसास केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल,समाजसेवी तथा साहित्यानुरागी रमाकान्त अधिकारी हुनुहुन्थ्यो।
आशन ग्रहणपछि सबै भक्तजनहरुबाट सरस्वती माताको पूजा गरियो। त्यसै क्रममा गायिका सीमा पोख्रेलबाट सरस्वती बन्दना प्रस्तुत गरिएको थियो। कार्यक्रमको संचालन तारा अधिकारीले गर्नु भएको थियो। कार्यक्रम संचालिका तारा अधिकारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा रमाकान्त अधिकारी र मनु ब्राजाकीले बाल बालिकाहरुलाई शिशा कलम र खाता प्रदान गर्नु भएको थियो। त्यसै क्रममा मन्दिरका पूजारी जीवन बरालले सरस्वती पूजाको महत्वबारे प्रकाश पार्नु भएको थियो भने पुरानी गायिका निर्मला श्रेष्ठले तानपूराको साथमा मीठो भजन पनि प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा आ -आफ्ना रचना बाचन गर्नेहरुमा हरी उप्रेती,गंगा उप्रेती, डा.बिजय राज शर्मा,केशब आचार्य, निर्मल प्याकुरेल, बिजयदेव शर्मा,आचार्य प्रभा,साबु गदाल,नम्रता अधिकारी (आगन्तुक रचना बिसेश्वर के.सी,) ज्ञानेन्द्र गदाल,तारा अधिकारी, पदम विश्वकर्मा हुनुहुन्थ्यो।
कार्यक्रममा “प्रकाश श्रेष्ठ साँझ” मा सहयोग गर्नु हुनेहरु र आ-आफ्ना नृत्य प्रस्तुत गर्नु हुने सबैलाई केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदालद्वारा प्रशंसापत्र प्रदान गरिएको थियो भने सोही क्रममा कोलोराडो च्याप्टरका महासचिव राजु सिटौलाले सोही च्याप्टरको वेबसाइटबारे जानकारी दिलाउनु भएको थियो भने समाजसेवी रमाकान्त अधिकारीले मन्तब्य दिनु भएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष पदम विश्वकर्माले सबै आगन्तुक महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रशाद ग्रहण गर्न आग्रह गर्नु भएको थियो।
सदा झैं यस कार्यक्रममा पनि बिआरटी नेपालका संस्थापक तथा क्यामरा मेन शैलेस पोख्रेल र शास्वतले आ -आफ्ना अमूल्य समय खर्चेर कार्यक्रमका सारा हिस्सालाई आ आफ्ना क्यामेरामा जतनगरी बिभिन्न मिडियाहरुमा प्रचार प्रसार गर्न सहयोग गर्नु भएको थियो।
पछिल्लो जानकारी अनुसार अनेसास कोलोराडो च्याप्टरले आफ्नो कार्य समिति बिस्तार गर्नको लागि कार्य समितीको उपाध्यक्ष पदमा कबि तथा गजलकार केशब आचार्य र सदस्य पदमा हरी उप्रेतीलाई राख्ने निर्णय गरेकोछ। यस्का अतिरिक्त सल्लाहकारहरुमा अनेसास केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल, बरिष्ठ साहित्यकार तथा गजलकार मनु ब्राजाकी तथा समाजसेवी रमाकान्त अधिकारीलाई राख्ने निर्णय सर्वसम्मतबाट गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।