Posts filed under 'Sports'

सहारा क्लव सिमरा गोल्ड कपको फाइनलमा

सुदर्शन रन्जित / एचकेनेपाल डट कम-
पोखरा, १० फागुन । पोखराको क्लब सिमरामा जारी तेश्रो सिमरा गोल्ड कप फुटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाईनल खेलमा सहाराले सशक्त टोली हिमालयन शेर्पा क्लबलाई १-० को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

सहाराको जितमा बुद्ध लामाले खेलको नवौं मिनेटमा निर्णायक गोल गरेका हुन्। करीब ३५ यार्ड नजिकैबाट पाएको वललाई लामाले ३ जना डिफेन्सलाई छल्दै उत्कृष्ट गोल गरेका हुन। खेलमा सहाराका विशन गौचन म्यान अफ दी म्याच घोषित भए।

बिहीबार हुने आरसिटी र मनाङ मर्स्याङ्दी बीचको विजेता टोलीसँग सहाराले शनिबार उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ। बिजेता टोलीले मोफसलकै सर्वाधिक राशि ३ लाख ३ हजार पाउने छ।

सहारा क्लबले १७ बर्ष मुनिका खेलाडीहरु सहभागी एन्फा (यु-१७) को टोलीलाई १-० ले पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको थियो भने दशौं आहा गोल्ड कप फुटवल प्रतियोगिताको उपविजेता सामसुङ जाउला खेललाई २-० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा यात्रा बनाएको थियो।

Recent Videos:

Popularity: 91%

Add comment February 22nd, 2012

पोखरामा खुल्ला प्याराग्लाईडिङ प्रतियोगिता शुरु

डि.आर पोखरेल/ एचकेनेपाल डट कम-
पोखरा, ७ फागुन । नागरिक तथा पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले पर्यटन ब्यवसायमा सुरक्षा, सुविधा र सफासुघ्घर महत्वपूर्ण रहेको बताएका छन्।

मन्त्री विष्टले नेपाल हवाई खेलकुद सस्थाद्वारा आयोजित तेह्रौ खुल्ला प्याराग्लाईडिङ प्रतियोगिताको आइतबार उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्। मन्त्री विष्टले नेपाल भूमि पर्यटनको क्षेत्रमा महत्वपूर्ण स्थान रहेको बताउँदै यसलाई सवै मिलेर जोगाउनु पर्नेमा जोड दिएका थिए। उनले सिस्टम र सिष्टतालाई उच्च स्थानमा राख्नुपर्ने उल्लेख गरे।

संस्थाका अध्यक्ष राजेश बमजमको अध्यक्षतामा जारी उक्त प्रतियोगितामा मन्त्री विष्टले नेपालको संस्कृतिमा विविधता भएको जनाउँदै संस्कृति झल्कने कुनै पनि कुरामा सम्झौता नगर्न आग्रह समेत गरे।

२५ राष्ट्रसहित १ सय ८० प्रतियोगी सहभागिता रहेको उक्त प्रतियोगिता फागुन ११ गते सम्म चल्ने छ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष टिकाराम सापकोटा, हवाइ खेलकुद संस्थाका सदस्य वसन्त दुवाडीलगायतले पर्यटन क्षेत्रको विकास गर्न सरकारी नीतिमा सुधार गर्न आग्रह गरेका थिए। प्रतियोगितामा नेपाली ७० प्रतियोगी रहेको जनाउँदै २ जना नेपाली महिला सहभागि भएको प्रतियोगिताका संयोजक एवं नेपाल हवाई खेलकुद संस्थाका महासचिव सोवित बाँनियाले जानकारी दिए।

नेपाल पर्यटन वोर्डको प्रवर्द्धनमा एनएएको आयोजनामा सम्पन्न हुने उक्त प्रतियोगितामा विभिन्न शीर्षकहरुमा प्रतिस्पर्धा हुने र पुरस्कारहरु वितरण गर्ने जनाएका छन्। प्रतियोगितामा ओभर अल खुल्लामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रहेको जनाएका छन्।

यसैगरी स्पोर्टस क्लासमा क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद रहेको संयोजक बानियाँले जानकारी दिए। प्रतियोगितामा ओभर अल नेपालीतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद रहेको उल्लेख गरेका छन्।

प्रतियोगिता सञ्चालन गर्न २१ लाख २० हजार अनुमानित खर्च लाग्ने जनाएको उक्त प्रतियोगितामा वेष्ट एक्रोव्याटीक, वेष्ट स्पोर्टस ल्याण्डिङ, वेष्ट टेण्डम पाइलट, वेष्ट महिला प्रतिस्पर्धी, वेष्ट र्‍याफ्ट ल्याण्डिङ्गमा सहभागी प्रतियोगिलाई नगद रु ५ हजार सहितले सम्मान गर्ने समेत जनाइएको छ।

पोखरामा एक दर्जनको हराहारीमा रहेको प्याराग्लाईडिङ्ग ब्यवसायीको सक्रिय सहभागिता रहने उक्त प्रतियोगिता पोखरा साराङकोटबाट उडान सुरूभई पोखरा खपौदीमा आई यात्रा समापन हुने मूल आयोजक समितिका संयोजक बानियाले जानकारी दिए।

Recent Videos:

Popularity: 91%

Add comment February 20th, 2012

आइएनटीए युकेको प्रथम परिचयात्मक प्रदर्शन

नवराज घले / एचकेनेपाल डट कम-
बेलायत, इन्टर्नेशनल नेपालीज टेक्वान्दो एसोसियशन (आइएनटीए) युकेको पहिलो परिचयात्मक प्रदर्शन नोर्थोल्ट लेइजर सेन्टरमा सम्पन्न भएको छ।

आएनटीएबारे जानकारी दिने प्रमुख उद्धेश्यले आयोजित प्रदर्शनमा आइएनटीए युके, ब्रिटिश टिम र योङ इन युनिभर्सिटी अफ कोरियन टिम सहभागी थिए।

फेब्रुवरी १२ तारिखका दिन सम्पन्न परिचयात्मक प्रदर्शन कार्यक्रममा नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने एनआरएन युकेका अध्यक्ष कुल आचार्य तथा पूर्वअध्यक्ष डमर घले, तमु धीं युकेका अध्यक्ष मुछेन्द्र गुरूङलगायत अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा फ्रेबुवरी ५ तारिख सम्पन्न लण्डन नेशनल च्याम्पियनशिपमा विजयी भएका आइएनटीए युकेका खेलाडीहरूलाई प्रेसिडेन्ट नमरजंग गुरूङले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए।

हालैमात्र स्थापना भएको आइएनटीएमा नमरजंग गुरूङको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन भएको हो। आइएनटीएले तेक्वान्दो खेलको माध्यमबाट आर्ट, स्किल र फिजिकल साइन्सलाई युके, अमेरिका नेपाललगायत विभिन्न देशमा विस्तार गर्ने लक्ष्य राखेको छ।


Popularity: 5%

Add comment February 16th, 2012

सहारालाई स्वदेश विदेशबाट सहयोगको ओइरो

सुदर्शन रन्जित / एचकेनेपाल डट कम-
पोखरा, २९ माघ । पोखरा १७ दोविलामा निर्माणधिन अबस्थामा रहेको सहारा एकेडेमी भवन निमार्णको लागि स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ।

पोखरा समाज सिड्नी अष्ट्रेलियाबाट १ लाख ११ हजार १ सय १५, एन्फा कास्की अध्यक्ष खेमबहादुर गुरुङबाट २५ हजार, संगम क्लबका अध्यक्ष मनिप्रसाद गुरुङबाट १५ हजार प्राप्त भएको छ।

त्यसै गरी, सहयोग गर्नु हुनेमा नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष एवम फिस्टेल पब्लिकेसन प्रालिका अध्यक्ष डी.आर. पोखरेलले १० हजार १, भ्याली स्पोर्टस क्लब रामबजारबाट १० हजार १०, तमु प्रतिष्ठान झमगुरुङ बाट १० हजार, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मिनकाजी गुरुङबाट १० हजार ५०, राखेपका सदस्य खड्गबहादुर रानाभाटबाट १० हजार, पोखरा रानीपौवा निवासी महेन्द्रं गुरुङबाट १० हजार, वेलायतमा रहनु भएका आश गुरुङबाट १२ हजार, हङकङबाट संकलित १ लाख रुपैया दिपक गुरुङमार्फत क्लबलाई प्राप्त भएको छ।

दशौं आहा गोल्ड कप फुटवल प्रतियोगिता समापनको अवसरमा उक्त रकम प्राप्त भएको सहारा क्लबले जनाएको छ। साथै क्लबले दशौं आहा गोल्ड कप फुटवल प्रतियोगिता भब्य तथा सभ्य रुपमा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण खेलकुदप्रेमी तथा बिभिन्न संस्थाहरुप्रति आभाव ब्यक्त गर्दै धन्यवाद ज्ञापन समेत गरेको छ।

तस्वीरहरूः सुदर्शन रन्जित / एचकेनेपाल डट कम

Popularity: 4%

Add comment February 12th, 2012

मनाङ्ग मर्स्याङ्दीलाई आहा गोल्ड कपको उपाधि

मनाङ्ग मर्स्याङ्दीलाई आहा गोल्ड कपको उपाधि
जाउलाखेलका विशाल राईलाई यामाहा मोटरसाईकल

दीननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, २८ माघ । लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दीले नेपालकै प्रतिष्ठित आहा गोल्डकप फुटवल प्रतियोगिता २०६८ को उपाधि जितेको छ। दशौं संस्करणको उपाधिको लागि शनिबार पोखरा रंगशालामा खचाखच दर्शकहरुमाझ भएको फाईनल खेलमा लक्ष्मी हुण्र्डाई मनाङ्ग मर्स्याङदीले सामसुङ्ग जाउलाखेल यूथ क्लवलाई २-० को नतिजा किनाल्दै जित हासिल गरेको हो।


तस्वीरः सुदर्शन रन्जित / एचकेनेपाल डट कम

आहामा दुइ पटक विजेता भएको मनाङले गत बर्ष थ्री स्टारसंग फाईनल खेलमा ब्यहोरेको हारलाई शनिबार जाउलाखेलसंगको जितसंगै विर्साएको छ। आहा गोल्ड कपको उपाधि जितेको मनाङले नगद २ लाख पुरस्कार प्राप्त गरेको छ। उपबिजेता टोली जाउलाखेलले एक लाख नगदसहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्यो।


खेलको ६१ औं मिनेटमा राम थापाको क्रसमा शिव श्रेष्ठले हेड गोल गरेका थिए। यस्तै अर्को गोल अन्तिम इन्जुरी समयमा शिव श्रेष्ठको पासमा सुलभ मास्केले उत्कृष्ट गोल गरे।

आहा गोल्डकपमा नयाँ इतिहास कोर्ने दाउमा रहेको जाउलाखेल खेलको सुरुवातमा केहि राम्रो प्रदर्शन गरेपनि पाएका थोरै अवसरलाई सदुपयोग गर्न नसक्दा अन्ततः मनाङसंग एकै सिजनमा एकै मैदानमा लगातार दुइ पटक पराजित हुनु पर्यो।

जाउलाखेलले मनाङसंग एकै सिजनमा भएको राष्ट्रिय शहिद स्मारक लिगमा १-० र रेडवुल राष्ट्रिय लिगमा २-० को हार ब्यहोर्दै आएकोमा शनिबारको हारसंगै मनाङसंग लगातार तीन खेलमा हार ब्याहोर्दा मनाङले जाउलाखेलमाथि हृयाटि्रक गरेको छ।


प्रतियोगितामा जाउलाखेलका विशाल राई ए उत्कृष्ट खेलाडी घोषित हुदै यामाहा मोटरसाईकल पुरस्कार पाएका छन्। प्रतियोगितामा भारतको पुनें फुटवल क्लब अनुशासित टोली घोषित हुदै नगद ५ हजार पायो। फाईनल खेलमा म्यान अफ दी म्यान मनाङका शिव श्रेष्ठ घोषित भए। प्रतियोगिता अवधिभर ६ गोल गरेका जाउलाखेलका कर्ण लिम्बु सर्वाधिक गोलकर्ताको उपाधि सहित १५ हजार नगद पाए।

त्यसै गरी, बिभिन्न विधामा उष्कृष्ट हुने खेलाडीहरुलाई नगद १० हजारसहित ट्रफी वितरण गरीएको थियो । प्रतियोगितामा उत्कृष्ट डिफेन्समा मनाङका जम्बो एन्टोलो, उत्कृष्ट गोलरक्षकमा मनाङका विशाल श्रेष्ठ, उत्कृष्ट मिडफिल्डमा मनाङका शिव श्रेष्ठ, उत्कृष्ट फरवार्डमा जाउलाखेलका कर्ण लिम्वु र प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकमा जाउलाखेलका किशोर केसी घोषित भए।

जाउलाखेलका प्रशिक्षक किशोर केसीले शुक्रबारलगतै शनिबार फाईनल खेल खेल्नुपरेका कारण आफूहरुलाई दवाव परेको बताउदै आफ्नो टीमको फिनिसिङ नहुंदा पराजित हुनु परेको बताए।

यता मनाङ र जाउलाखेलको भेट करीब ६ पटक भए पनि सवै खेलमा मनाङले जित हासिल गरेकोले पनि मनाङको मनोवल उच्च रहेको कारण फाईनल खेलमा विपक्षीको डिफेन्समा कमजोरीको फाईदा उठाउँदै जित हासिल गरेको प्रशिक्षक हरिओम श्रेष्ठको भनाई छ।

आजको जितसँगै गत संस्करणमा व्यहोरेको पराजयलाई बिर्सेको स्मरण गर्दै श्रेष्ठले पोखरामा आफ्ना फ्यानहरु धेरै भएकोले पनि आफ्ना खेलाडीहरुलाई उर्जा मिलेको बताए।

यसैबीच, अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष गणेश थापा, हिमश्री फुड्स प्रालिका अध्यक्ष एवम सभासद सूर्यबहादुर केसी, सभासद रविन्द्र अधिकारीलगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे। कार्यक्रममा आहा गोल्डकपको स्वागत गीतका गायक विनोद वानियालाई प्रशंसा पत्र प्रदान गरि सम्मान गरियो। क्लबका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

माघ १७ देखि पोखरामा सञ्चालन भएको आहा गोल्ड कपमा दुइ विदेशीसहित १२ टोलीको सहभागिता रहेको थियो।

Popularity: 9%

Add comment February 11th, 2012

सहारा युकेद्वारा ट्रफी एवं आर्थिक सहयोग

धन बस्नेत / एचकेनेपाल डट कम-
पोखरा, १८ माघ । सहारा क्लब युकेले दशौं आहा गोल्डकपको म्यान अफ दि म्याच र बेष्ट फाइभको ट्रफी हस्तान्तरण गरेको छ।

बुधबार सहारा क्लबको भवनमा आयोजित कार्यक्रममा सहारा युकेका पदाधिकारीहरुले प्रत्येक खेलको म्यान अफ दि म्याच ११ वटा र बेष्ट फाइभको प्रायोजित ट्रफी क्लबका अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गरेका थिए।

तस्वीरः सुदर्शन रन्जित / एचकेनेपाल डट कम

स्वागत कार्यक्रममा युकेका पदाधिकारीहरुले सहारा एकेडेमी भवन निर्माणको लागि ५० हजार र स्वयं सेवकहरुलाई दशथान विफ समेत हस्तान्तरण गरिएको थियो।

सहारा युकेका अध्यक्ष नविन गुरुङले सधै सहारा युकेले मात्रै सहयोग गर्न नसक्ने भन्दै आफैं सक्षम हुनुपर्नेमा जोडदिनुभयो।

सहारा युकेकै सहयोगमा सहारा क्लबले पोखरा १७ दोविल्लामा २६ रोपनी क्षेत्रफलमा एकेडेमी भवन निर्माण पुरा गरेको छ। झण्डै डेढ करोडको लागतमा एकेडेमी भवनसँगै क्लबले फुटबल मैदान निर्माणको तयारीमा जुटेको छ। युकेका अध्यक्ष गुरुङले सहारा युकेबाट विगतमा खेल्दै आएका खेलाडीहरु ए डिभिजनमा खेल्न सक्ने पुष्टि कुन्जन गुरुङले दिएको बताउनुभयो।

Popularity: 4%

Add comment February 1st, 2012

नेपाली अण्डर १९ महिला क्रिकेट टिम कुवेत आउँदै

सुजन अभागि / एचकेनेपाल डट कम-
एसियन क्रीकेट काउन्सिल अण्डर १९ महिला प्रतियोगिता २०१२ मा भागलिन नेपाली महिला राष्ट्रिय क्रिकेट टिम कुवेत आउँदै छ।

कुवेतमा फेबुवरी ३ देखि १० सम्म संचालन हुने उक्त प्रतियोगितामा नेपालसहित ९ देशले प्रतिस्पर्धा गर्ने छन।

आयोजक कुवेत लगायत भुटान, चाइना, हङकोङ, ईरान, मलेशिया, नेपाल, कतार थाइल्यान्ड र दुबईले बल र बल्लाको लडाईं लडने छन्।

ग्रुप ए र बी गरी दुई समूहमा बिभाजन गरिएको प्रतियोगितामा नेपाल, मलेशिया, थाइल्यान्ड, चाईना र दुबइ ग्रुप ए मा परेका छन भने ग्रुप बी मा भुटान, कुवेत, ईरान र हङकङ परेका छन्।

रुबिना क्षेत्रीको नेतृत्वमा नेपाली टिम ३१ जनवरीका दिन कुवेत आउदै छ। रुबिना क्षेत्री २०११ मा कुवेतमा सम्पन्न भएको महिला २०/२० प्रतियोगिता पनि कुवेत आएकी थिइन्। रुबिना एसियाकी बेस्ट बलर मानिन्छिन्। प्रतियोगिताका लागि नेपाली खेलाडीहरुमा रुबिन क्षेत्री, सोनु खड्का, इन्दु वर्मा, आरती बिदारी, श्रद्धा अर्याल, द्रोपती कुँवर, सामना पुन, अक्षा कुमारी, ममता कुमारी, सन्तोषी कुमारी, कबिता गौतम, सरस्वती कुमारी, संगीता गौचन, अनुराधा चौधरी, सरस्वती मगर, शिलु रिजाल, मनिषा चौलगाइ र प्रतिक्षा बस्याल रहेका छन्।

त्यस्तै टिम म्यानेजरको जिम्मेवारि केशव घिमिरेले पाएका छन्। कोच नविन कुमार सिंह र फिसिओ जयन्ती देबी भट्ट रहेका छन्।

नेपालले २००८ मा थाइल्यान्डमा र २०१० सिङापुरमा अण्डर १० महिला भ्याम्पियनशीपमा बिजेता बनेको थियो।

कप्तान रुबिना क्षेत्री, सोनु खड्का र श्रद्धा अर्याल २०१० मा सिङापुरमा बिजेता बनेको नेपली टिमका सदस्य थिए।

२०१० मा आफनो उत्कृट प्रदर्शनले नेपाललाई बिजेता बनाउने सिम बलरको जोडी रुबिना र सोनुको थियो। यो जोडीले फेरि आफनो प्रदर्शन दोहोराउने तयारी गरेको छ। २०१० मा नेपालले एउटा क्याचपनि नहारी उपाघि चुमेको थियो। टिम कप्तान नेरी थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेकी थिईन्। नेरी थापाले सेमिफाईनलमा दुबई बिरुद्ध ५९ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै एतिहासिक ६६ रनको पारी खेलेकी थिईन्। नेरीको त्यो छक्कानै नेपाली महिला टिमको पहिलो छक्का थियो।

Popularity: 4%

Add comment January 18th, 2012

नेपाली किकबक्सर जापानमा भिड्दै

सोनाम शेर्पा / एचकेनेपाल डट कम-
टोकियो, ३ माघ । जापानमा चिरपरिचित नेपाली किकबक्सर मोहन महर्जन आफ्नो उपाधि जोगाउन आगामी २२ तारिख आइतबारको दिन टोकियोको टोकियोडोमस्थित कोराकुयन हलमा भिड्दै छन।

मोहन ड्रागन भनेर चिनिने उनी एमए किक बक्सिङ जापानका सुपर लाईट वेट च्याम्पियन हुन्।

फाईट फर पिस ३ नाम दिइएको उक्त टाईटल म्याचमा बिभिन्न तौल समूहका बक्सरहरुले आफ्नो कला प्रदर्शन गर्ने छन्। दिउँसो ५ बजेदेखि शुरु हुने खेलमा मोहनको खेल ७ बजे तिर हुने अनुमान गरिएको छ।

यस पटक मोहनले आफ्नो सुपर लाईट वेट च्याम्पियन उपाधिको प्रतिरक्षा गर्न प्रतिद्वन्दी हासिमोतो जिमका बक्सर हिदेकाजु तानाकासँग भिड्ने छन्।

५ हजारदेखि १५ हजार जापानीज यानसम्म टिकट दर तोकिएको उक्त म्याचमा मोहनले नेपालीहरुको लागि २ हजार यानमा टिकट उपलब्ध गराउने भएका छन्। सस्तो टिकटको लागि शनिवार साँझसम्म 090-6513-4894 मा मोहनलाई सम्पर्क गर्न सकिने छ।

यसपटकको खेल आफ्नो किकबक्सिङ क्यारियरमा सबैभन्दा महत्वपूर्ण र संबेदनशील भएको उनी बताउंछन्। म्याचमा सबै नेपाली उपस्थित भई हौसला एवं नैतिक बल प्रदान गर्न महर्जनले हार्दिक अनुरोध गरेका छन्।

यसअघि, सुपरलाईट वेट उपाधि हात पारेको बेला पनि जापानस्थित नेपाली मिडियाले बिशेष भूमिका खेलेका थिए। प्रतियोगितामा किकबक्सर महर्जनलाई हौसला बढाउन तत्काल नेपाली राजदूत डा. गणेश योञ्जन तामङलगायत टोकियोबासी नेपालीहरुको ठूलो समूह राष्ट्रिय झण्डा लिएर कार्यक्रम स्थल पुगेका थिए। यस पटक पनि उनीहरु कोराकुयन जाने तयारी गरिरहेको जानकारी प्राप्त हुन आएको छ।

Popularity: 4%

Add comment January 17th, 2012

बुढासुव्वा गोल्ड कपमा पारदर्शिताको खाँचो

सन्तोष काफ्ले/ एचकेनेपाल डट कम-
धरान- बुढासुव्वा टुवोर्ग गोल्ड कप फुटवल प्रतियोगिता नियमित संचालनको लागि आयेजकललाई आर्थिक पारदर्शिता अपनाउन फुटवल प्रेमीहरुले सुझाव दिएका छन्।

गोल्ढकप आयोजक धरान फुटवल क्लवद्वारा आयोजित सुझाव संकलन तथा छलफलमा आर्थिक पारदर्शितामा जोड दिइएको हो।

प्रतियोगिता संचालन गरेर सधैं घाटा मात्र हुने गरेकोले क्लवले पारदर्शिता अपनाए फुटवल प्रेमीहरुले व्याबसायिक फुटवल खेलको विकासका लागि खुलेर सहयोग गर्ने क्लवका संरक्षक समेत रहेका पुर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोले बताए। उनले प्रतियोगिता सम्पन्न गर्न क्लबलाई कन्चनजंघा होटलको तर्फबाट नगद २५ हजार सहयोग गर्ने घोषणा गरे।

छलफलमा नागरिक समाज तथा अनुगमन सरोकार मंचका अध्यक्ष तिलक राईले प्रतियोगिता संचालन गर्न र क्लबलाई जोगाउन आफूहरु पनि लागि पर्ने उल्लेख गर्दै आर्थिक पारदर्शिता पहिलो शर्त भएको बताए। विद्यालय संचालक एजि सुव्वाले बुढासुव्वा मुलुककै प्रतिष्ठित प्रतियोगिता भएरपनि संचालन गर्ने क्लब आर्थिकरुपमा आत्मनिर्भर हुन नसकेको भन्दै उनले पनि पारदर्शिता अपनाउन आग्रह गरे। उनले प्रतियोगिता सम्पन्न गर्न व्यक्तिगतरुपमा २५ हजार नगद सहयोग गरेका थिए। छलफल पछि अन्य फुटवल प्रेमीहरुले पनि आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए।

व्याबसायिक फुटवलको विकास र प्रतियोगिता सम्पन्न गर्नका क्लबले आर्थिक पारदर्शिता अपनाउने क्लबका अध्यक्ष किशोर राईले प्रतिवद्धता जनाए। उनले महंगीको कारण खेलाडीलाई दिने रकम र क्लब तथा प्रतियोगिता संचालनमा अधिक खर्च हुने भएकाले चुनौती सामना गर्न धौधौ परेको बताए।

गोल्डकपको १४ औ संसकरण अगामी चैत्र २० देखि २९ सम्म धरान १७ स्थित एन्फा खेलमैदानमा हुने भएको छ।

Popularity: 4%

Add comment January 12th, 2012

सूर्य नेपाल इष्टर्न ओपन उपाधि शिवरामलाई

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १५ पुष । लगातार दोस्रो पटक सूर्य नेपाल इष्टर्न ओपन जित्दै नम्बर १ गल्फर शिवराम श्रेष्ठ करियरको १६औं उपाधि जित्न सफल भएका छन्।

अन्तिम दिन ५ ओभर ७५ को खराब प्रदर्शनका बाबजुत कुल ५ ओभर २१५ अंकका साथ रमेश अधिकारी र रवि खड्कालाई २ स्ट्रोकले पछि पार्दै श्रेष्ठले उपाधि उचाल्न सफल भए।

पहिलो दिन ७२ र दोस्रो दिन ६८ अंक बनाई अन्तिम दिन ४ स्टोकले अघि रहेका शिवरामले १ डवल वोगी र २ वोगीका बिरुद्ध ३ वडी प्रहार गरी फ्रण्ट नाईन १ ओभर ३६ मा सकाए। ब्याक नाईनमा उनले लय गुमाउदा रमेशले १६औं होलमा वर्डी प्रहार गरी शिवरामको अग्रतालाई १ स्ट्रोकमा झारे । तर त्यसपछि दुवैले खेल राम्रो प्रदर्शन गर्न नसकेपनि ब्याक नाईनमा २ वर्डी बिरुद्ध ६ वोगी प्रहार गरे पनि शिवराम २ स्टोकले नतिजा आफ्नो पक्षमा पार्न सफल भए।

दोस्रो दिन संयुक्त दोस्रो स्थानमा रहेका रमेशले मात्र ३ वर्डी प्रहार गर्दा ६ वोगीको सामना गरे र ३ ओभर ७३ अंक सहित कुल २ सय १७ अंक बनाई रवि खड्कासंग दोस्रो स्थानमा संयुक्त उपाधि लिन बाध्य भए। पूर्व नम्बर १ गल्फर रविले ३ वोगी र २ वर्डीको मद्दतले १ ओभर ७१ मा खेल सकाउंदा आठौ स्थानबाट दोस्रो स्थान प्राप्त गरे।

८ ओभर २१८ अंकका साथ लोकल गल्फर थाम बहादुर राई र सविन सापकोटाले संयुक्त रुपमा चौंथो स्थान प्राप्त गरे । थाम बहादुरले ४ ओभर ७४ र सविनले ३ ओभर ७३ स्कोर गरेका थिए । ४ ओभर ७४ अंक जोडी कुल २१९ का साथ सूर्य प्रसाद शर्मा छैटौं हुदा सञ्जय लामा, दिपक थापा मगर र राम थापा १० ओभर २२० का साथ संयुक्त सातौं स्थानमा रहे।

एमेच्योरतर्फ दिनेश प्रजापतिले अन्तिम दिन ११ ओभर ८१ स्कोर गरेतापनि कुल २२८ अंकका साथ उपाधि हात पारे। २० ओभर २ सय ३० अंकका साथ विकास वोगटी दोस्रो तथा २ सय ३१ अंकका साथ शुक्रराज राई तेस्रो भए।

कुल ४ लाख २५ हजार पुरस्कार राशी रहेको सूर्य नेपाल गल्फ टुर २०११-१२ अर्न्तर्गतको आठौ प्रतियोगिताको विजेता शिवरामले ८० हजार प्राप्त गरे। जारी सिजनमा उनको यो पाचौं उपाधि हो । भारतीय गल्फ टुर पिजिटिआईमा छनौट भएका शिवरामले जनवरी १७ देखि हुने बंगलादेश ओपनमा उत्कृष्ट १० भित्र पर्ने लक्ष्य राखेको बताए। संयुक्त रुपमा दोस्रो भएका रमेश र रविले जनही ४३ हजार ५०० प्राप्त गरे।

सूर्य नेपाल प्रा.लि.को प्रायोजनमा नेपाल प्रोफेशनल गल्र्फस एसोसिएशनद्धारा सञ्चालित तीन दिने प्रतियोगितामा कुल २९ प्रोफेशनल तथा २४ एमेच्योरले सहभागिता जनाएका थिए। विजयी खेलाडीहरुलाई नेपाल प्रोफेशनल गल्र्फस एसोसिएशनका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, निवार्णा कण्ट्री क्लबका अध्यक्ष शशिराम भण्डारी र निवार्णा कण्ट्री क्लबकी निर्देशक कल्पना भण्डारीले पुरस्कार वितरण गरे।

Popularity: 5%

Add comment December 30th, 2011

भलिबल खेलाडी सिपोरा घाइते

दीननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, ८ पुष । आमा…भन्दै सिपोरा भलिबल कोर्टमा एक्कासि लडन् पुगेपछि पोखरामा अन्तर्राष्ट्रिय भलिबल खेल हेरिरहेका दर्शक र आयोजक समेत स्तब्ध बने।

ज्ञानुबाबा विरुद्धको खेलमा स्पाइक गर्ने बेलामा फिष्टेल उच्च माविबाट मैदान उत्रिएकी अन्तर्राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ एक्कासी लडन् पुगिन्।

सिपोरा घाईते भएपछि मेट्रोसिटि अस्पतालमा उपचार गर्दै डाक्टर भरत खत्री। तस्वीरः दिननाथ बराल

उनी मैदानमै घाईते भएर कराउंदा समेत मेडिकलको टोली केही समयपछि मात्र मैदानमा पुगेका थिए। करीब पाँच मिनेट खेल स्थगित गरि उनको सामान्य उपचार गरिएपनि सामान्य अवस्थामा आउन नसेकपछि उनलाई एम्वुलेन्समा अस्पताल पुर्र्याइयो।

पोखराको मेट्रोसिटि अस्पतालमा उनको उपचारमा सिपोराको देव्रे खुट्टाको घुडा भन्दा पछाडि र बाहिरी भागको मासु (मेनिस्कस र लिगामेन्ट) च्यातिएको उपचारमा संलग्न हाडजोर्नी बिषेशज्ञ डाक्टर भरत खत्रीले बताउनु भयो। सिपोराले आगामी तीन महिनासम्म नखेल्न सुझाव दिदै डा. खत्रीले सिपोराको जस्तो केश खेलाडीहरुमा सामान्य प्रकृतिको भएको बताउनु भयो। उहाँले भन्नु भयो यो सामान्य केश हो यदी तीन महिनासम्म पनि रेष्ट गर्दा सञ्चो नभएमा अप्रेसन समेत गर्नु गर्दछ।

“फिष्टेलको खम्बाको रुपमा प्रस्तुत भएकी सिपोरा घाइते भएपछि प्रतिस्पर्धात्मक खेलमा ज्ञानुबाबा हाबी भएपछि दर्शक निरास हुदै दुइ सेट बाँकी हुदै बाहिरिएका थिए। पल्सर बर्षखेलाडी सिपोराले अस्पतालको शैयाबाट आफू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाएकोमा गुनासो गरेकी छन्।

सिपोरा घाईते भएपछि अब उनले ढोरपाटन कपलगायत आगामी तीन महिनाभित्र हुने कुनै पनि प्रतियोगितमा सहभागी नजनाउने भएकी छन्। उनको अस्पतालमा सामान्य उपचार भएपछि डिस्चार्ज गरिएको छ।

Popularity: 4%

Add comment December 23rd, 2011

वेल्ट टेस्ट तथा डोजो स्वीकृति प्रदान

राजेन्द्र अधिकारी / एचकेनेपाल डट कम-
पोखरा, २४ मंसिर । नेपाल सिदो कराँते महासंघ कास्की जिल्लाको आयोजनामा वेल्ट टेस्ट तथा डोजो स्वीकृति प्रदान कार्यक्रम शनिवार सम्पन्न भएको छ।

पोखरा रंगशालामा आयोजना गरिएको कार्यक्रममा पोखरा, स्याङ्जा र म्याग्दीका खेलाडीहरुको सहभागिता रहेको थियो।

नेपाल सिडो कराँते महासंघका केन्द्रीय अध्यक्ष तथा संस्थापक के.वि.रानाले खेलाडीहरुलाई वेल्ट तथा पोखरा, स्याङ्जा र म्याग्दीमा सञ्चालित सातवटा डोजोहरुलाई आधिकारिता प्रदान गर्नुभएको थियो। जसमा नविन थापा रंगशाला कास्की डोजो, बलराम सुवेदी मालेपाटन डोजो, अमित भुजेल पृथ्वीनारायण क्याम्पस डोजो, सुभाष विक्रम मल्ल छोरेपाटन डोजो, सुरज अधिकारी निर्मल पोखरी डोजो, रमेश बुढाथोकी म्याग्दी डोजो र डोलबहादुर थापा स्याङ्जा डोजो रहेका छन्।

त्यसैगरी, हृवाईट बेल्टबाट ब्ल्यू बेल्टमा ३३ जना, ब्ल्यू बेल्टबाट एलो बेल्टमा ३० जना, एलोबाट ग्रिन बेल्टमा २३ जना, ग्रिनबाट ब्राउन बेल्टमा चारजना र ब्राउनबाट फस्ट क्यूमा दुइजना खेलाडीलाई वेल्ट प्रमोशन गरिएको पश्चिमाञ्चल प्रमुख तथा केन्द्रीय उपाध्यक्ष नाराज खड्का (हरि)ले जानकारी दिनुभयो।

वेल्ट वितरण गर्दै प्रमुख अतिथि महासंघका अध्यक्ष तथा संस्थापक के.वि.रानाले मार्सल आर्ट कलाले मानिसलाई सही बाटोमा डोर्‍याउनुका साथै जीवनसँग संर्घष गर्न अभिप्रेरित गर्ने विचार व्यक्त गर्नुभयो। मानिसलाई असल बनाई स्वच्छ समाज निर्माणमा खेलकुदको ज्यादै नै महत्वपूर्ण भूमिका हुने हुँदा सम्पूर्ण खेलाडीहरुलाई अनुशासनमा बाँधिएर एउटा असल नागरिकको परिचय स्थापना उहाँले आग्रह समेत गर्नुभयो।

कार्यक्रममा नेपाल सिदो कराँते महासंघका केन्द्रीय उपाध्यक्ष तथा पश्चिमाञ्चल प्रशिक्षक नाराज खड्का (हरि), सिडो कराँते संघका अध्यक्ष किरण बराल, नेपाल स्ट्रोङगेष्ट कराँतेका पश्चिमाञ्चल प्रशिक्षक शिव गुरुङ, नेपाल स्ट्रोङगेष्ट कराँतेका कास्की अध्यक्ष कृष्ण नेपाली, सिदो कराँतेका सल्लाहकार डि.बी.गुरुङ, संघका उपाध्यक्ष राजेन्द्र अधिकारी, दिपक बाँनिया र संघका कोषाध्यक्ष पवित्रा थापा लगायतले खेलाडीहरुले अनुशासनमा बाँधिएर राष्ट्रको गौरव बढाउनु पर्नेमा जोड दिएका थिए।

Popularity: 4%

Add comment December 10th, 2011

पोखरामा चौथो राष्ट्रपति रनिङ शिल्ड जारी

दिननाथ बराल/ एचकेनेपाल डट कम-
पोखरा, २२ मंसिर । पोखरामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड अन्तरबिद्यालय स्तरीय खेलकुद प्रतियोगिता अर्न्तगत छात्रा ३ हजार मीटर दौडमा पोखरा पार्दीस्थित फिस्टेल उच्च माबिकी प्रतिमा सुवेदीले स्वर्ण पदक जितेकी छन्।

उनले १३ मिनेट २ सेकेण्डमा उक्त दूरी पार गरी स्वर्ण पदक जितेकी हुन्। पोखरा बगर मिरुवामा रहेको ज्ञानुबाबा आवासिय उच्च माबिकी मीना पुनले १३ मीनेट १ सेकेण्डमा उक्त दूरी पार गरी रजत पदक जितेकी हुन्। १३ मिनेट २५ सेकेण्डमा उक्त दूरी पार गरेकी छिनेडाँडामा रहेको शुक्रराज बलभद्र उच्च माबिकी प्रतिक्षा सुवेदीले काँस्य पदक जितेकी छन्।

एक सय मिटर छात्रातर्फको दौडमा टप्स उच्च माबिकी कृष्ण चौधरीले स्वर्ण पदक जितेकी छन्। उनले १३ः८३ सेकेण्ड (१३ प्वाईन्ट ८३ सेकेण्ड) उक्त दूरी पार गरेकी हुन्। १४ः१ सेकेण्डमा उक्त दूरी पार गरेकी न्यु मिलिनियम बोर्डिङ स्कुलकी सुस्मीता श्रेष्ठले रजत पदक जितेकी छन्। १५ः२२ सेकेण्डमा उक्त दूरी पार गरेकी मेरी गोल्ड बोर्डिङ स्कुलकी राखी शर्माले कास्य पदक जितेकी छन्।

छात्र एक सय मिटर दौडमा नेश्नल इन्भेन्टीभ बोर्डिङ स्कुलका श्रीकृष्ण भुजेलले स्वर्ण पदक जितेका छन्। उनले १०ः११ः८३ सेकेण्डमा उक्त दूरी पार गरी स्वर्ण पदक जितेका हुन्। टप्सका सागर गुरुङले १०ः११ः९० सेकेण्डमा उक्त दूरी पार गरी रजत पदक जिते भने फिस्टेलका तेज तामाङले १०ः१२ः४१ सेकेण्डमा उक्त दूरी पार गर्दा कास्य पदक हात पार्न सफल भए।

त्यसै गरी छात्रतर्फको हाईजम्प तर्फ हेमजाको गौरी शंकर उच्च माबिका अमृत नेपालीले स्वर्ण पदक जितेका छन्। उनले १ मिटर ६१ सेण्टीमिटर जम्प गरेका थिए। १ मिटर ५९ सेण्टीमिटर जम्प गर्न सफल नेपाल आर्दशका कुमार गुरुङले रजत पदक र १ मिटर ५७ सेण्टीमिटर जम्प गरेका कास्की मोडनाईजका आसबहादुर गुरुङले कास्य पदक जितेका छन्।

छात्रातर्फो हाईजम्पमा टप्स उच्च माबिकी प्रभा चौधरीले स्वर्ण पदक जितेकी छन । उनले १ मिटर ३० सेण्टीमिटर जम्प गर्दै स्वर्ण पदक हात पार्न सफल भएकी हुन्। एक मिटर २८ सेण्टीमिटर जम्प गरेकी फिस्टेलकी सरस्वती चौधरीले रजत पदक र १ मिटर २८ सेन्टीमीटर जम्प गरेकी कास्की मोडनाईजकी प्रतिक्षा गुरुङले कास्य पदक जितेकी छन्। फिस्टेलकी चौधरीले दोश्रो चरणमा र कास्की मोडनाईजकी गुरुङले तेश्रो चरणमा बराबर जम्प गर्दा चौधरी दोश्रो हुन सफल भएका हुन । बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य दिलिप विक्रम साही, बरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा तथा कार्यालय प्रमुख प्रकाश बराल लगायतले मेडल तथा प्रमाण-पत्र वितरण गर्नु भएको थियो।

एथ्लेटिक्स तर्फ १० वटा स्वर्ण पदकको लागि भएको बिभिन्न इभेण्टमा गरी डिफेण्डीङ च्याम्पियन टप्स उच्च माबिले ३ वटा स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रहेको छ।

Popularity: 4%

Add comment December 8th, 2011

पोखरेली झ्याल कप डिसेम्बर २५ मा

एस / एचकेनेपाल डट कम-
हङकङ, ८ डिसेम्बर । पोखरेली झ्याल कप २०११ डिसेम्बर २५ तारिख कोलुन पार्कस्थित फुटबल ग्राउण्डमा हुने भएको छ। (more…)

Popularity: 4%

Add comment December 8th, 2011

आहा गोल्ड कपको दशौँ संस्करण माघको पहिलो साताबाट

एचकेनेपाल डट कम संवाददाता-
पोखरा, १४ मंसिर । नेपालकै चर्चित आहा गोल्ड कपको दशौँ संस्करण आउदो माघको पहिलो साताबाट पोखरामा हुने भएको छ।

खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं नाराका साथ आयोजना हुने लागेको अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित दशौँ आहा गोल्ड कप २०६८ फूटबल प्रतियोगिता माघ महिनाको पहिलो साताबाट हुने भएको आयोजक सहारा क्लका अध्यक्ष विक्रम थकालीले बताउनु भयो।

हिमश्री फूड्स प्रा.लि.को मुख्य प्रायोजन, सानमिगेल वियरको सह-प्रायोजन, कोकाकोलाको उप-प्रायोजन, यामाहा मोटर साईकलको सह-उप-प्रायोजन, नेपाल पर्यटन बोर्डको प्रवर्द्धक, राष्ट्रिय खेलकुद परिषद एवं अखिल नेपाल फूटबल संघको विशेष सहयोग र पोखरा उप महानगरपालिकाको संयोजनमा उक्त प्रतियोगिता हुन लागेको हो।

उक्त प्रतियोगितामा नेपालको उत्कृष्ट ए डिभिजन क्लबहरु, केही विदेशी टिमहरु सहित मोफसलका क्लब एवं आयोजक सहारा क्बल पोखरा गरि १२ टिमको सहभागिता रहने क्लबले जनाएको छ।

प्रतियोगितालाई विगत बर्षहरुमा जस्तै यस वर्षपनि सम्पूर्ण व्यापारी, विद्यार्थी, राजनैतिक दल एवं भातृ संगठन, यातायात व्यवसायी, भूतपूर्व खेलाडी, सञ्चारकर्मी, सरकारी निकाय लगायत फूटबल प्रेमी दर्शकवृन्दहरुको सहयोग र सद्भाव रहने पूर्ण विश्वास आयोजक सहारा क्लब पोखरा परिवारले लिएको छ।

खेल अवधिभर कुनै पनि बन्द हड्ताल जस्ता कार्यक्रमहरु नराखि विगतका बर्षहरुमा झै सहयोग पाउने क्लबले विश्वास लिएको क्लबका महासचिव केशवबहादुर थापाले बताउनु भयो। क्लबले प्रतियोगितालाई जनजनको मनमनमा पुराउन मोवाईलको रिङ टोनमा समेत प्रतियोगिताको बारेमा संगीतमय सन्देश प्रवाह गरेको छ। नेपाल टेलिकमको मोवाईलमा ०१६००१०७७१ नम्वर डाउन लोड गरेर पछि यो सन्देश लिन सकिने छ।

Popularity: 4%

Add comment November 30th, 2011

पेनाङ्ग पुलको म्याराथनमा नेपालीको सहभागिता

सबिन राई / एचकेनेपाल डट कम-
पेनाङ्ग, मलेशियाको पेनाङ्ग राज्यमा प्रत्येक वर्ष आयोजना हुदै आएको पेनाङ्ग पुल अन्तर्राष्ट्रिय म्याराथन नोभेम्बर २० तारिख सम्पन्न भएको छ।

विश्वका विभिन्न देशका २७ हजार भन्दा बढी धावकहरु सहभागी उक्त प्रतियोगितामा नेपालीहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो।

बिभिन्न चरणमा बिभाजन गरिएको प्रतियोगिता अन्तर्गत २१ कि.मि. (हाफ म्याराथन) तर्फ सहभागी भएर सबै नेपालीहरुले निर्धारित समयमा निश्चित दूरी पार गरेका थिए।

सहभागी नेपाली धावकहरुमा ताप्लेजुङका धनकुमार लिम्बु, उदयपुरका इन्द्रबहादुर राई, दाङका केशवराज ओली, निखिल ओली, काठमाडौंका अनिल तामाङ, दोलखाका निमगेल्ली शेर्पा र सप्तरीका अरबिन्दकुमार चौधरी थिए।

विश्व कै तेस्रो लामो पुलको रुपमा रहेको पेनाङ्ग पुलमा बिगत सन् १९८८ देखि नियमित रुपमा प्रतियोगिता आयोजना गरिदै आएको आयोजक डेन्नी ल ले बताए। १४ कि.मि. लामो उक्त पुलले मलेसिया कै पुलाउ पिनाङ्ग आईल्याण्ड र पेराई पेनाङ्गलाई जोडेको छ।


Popularity: 4%

Add comment November 24th, 2011

बुढासुब्बा गोल्डकप चैत्रमा, पुरस्कार राशि वढाइयो

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ८ मंसिर । पूर्वाञ्चलकै सवै भन्दा ठूलो पुरस्कार रासि भएको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुवोर्ग गोल्डकप फुटबल प्रतियोगितको १४ औ संस्करण आगामी चैत्रको तेस्रो सातामा हुने भएको छ।

आयोजक धरान फुटबल कल्वले विहीवार धरनामा पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी चैत्र १८ देखि २५ गतेसम्म हुने जानकारी दिएको हो।

प्रतियोगितामा यो पटक अष्ट्रेलियन टीम, हङकङ टीमसमेत सहभागिता रहने भएको छ। प्रतियोगितामा अष्ट्रेलिया र हङकङसहित ४ विदेशी तथा काठमाडौबाट ४ र पोखरा र पूर्वाञ्चलबाट एक गरी १० वटा टीमहरुको सहभागिता रहने आयोजक समितिका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष किशोर राईले जानकारी दिनुभयो। उहाँले गोल्डकप धरानको मात्र नभइ पूर्वाञ्चलकै प्रतिष्ठा भएकोले यसलाई सफल वनाउन सबैको भूमिका महत्वपूर्ण रहने वताउनु भयो। फुटवलको उर्भरभूमि भएको धरानलाई खेल पर्यटनको विकासमा समेत अगाडि वढाउनु पर्नेमा उहाँको जोड थियो।

१३ वर्षदेखि धरानमा निरन्तर अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुदै आएको भए पनि व्यवसायिक हुन नसकेको भन्दै १४ संस्करणवाट धराने फुटवलको व्यवसायिकता हुनका साथै व्यवस्थित समेत हुने राईले वताउनु भयो।

प्रतियोगितामा मनाङ मर्स्याग्दी, हिमालयन शेर्पा क्लब, महेन्द्र पुलिस क्लब, र थ्रि स्टार तथा अष्ट्रेलियन टीम, हङकङ टीम, बंगलादेश र भुटान र सहारा क्लब पोखरा र पूर्वाञ्चल ११ आयोजकले सहभागिता जनाउने उहाँले बताउनु भयो।

अघिका तेह्रौ संस्करण धरान रंगशालामा आयोजना गरिएको भएपनि हाल धरान रंगशाला निर्माणाधिन अवस्थामा रहेकाले बुढासुब्बा गोल्डकपको चौधौं संस्करण धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सञ्चालन हुने क्लबका अध्यक्ष किशोर राईले जनाकारी दिनुभयो। सो मैदानमा पहिलो औपचारिक प्रतियोगिता हुन लागेको हो।

गोल्डकप सम्पन्न गर्नको लागि आयोजक धरान फुटबल क्लबले अध्यक्ष किशोर राईको अध्यक्षतामा ५१ सदस्य मूल आयोजक समिति गठन गरेको छ। प्रतियोगिता सम्पन्न गर्न व्यापक रुपमा प्रचारप्रसारलाई तिव्र पार्ने र यसअघि सञ्चालन भएका प्रतियोगिताभन्दा पृथक तरिकाले चौधौं संस्करण सम्पन्न गरिने भएको छ ।

चौधौ संस्करणमा प्रत्येक पुरस्कारहरुको राशि वृद्धि गरिएको छ। बुढासुब्बा गोल्डकप विजेतालाई प्रतियोगितामा २ लाख नगद र गोल्डकप दिएको भएपनि चौधौं संस्करणमा पुरस्कार राशि २ लाख ५० हजार कायम गरिएको छ। त्यस्तै, उपविजेता टिमलाई पनि ५० हजार बढाएर १ लाख ५० हजार कायम गरिएको छ। उत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार बराबरको मोटरसाइकल प्रदान गरिने आयोजले जनाएको छ। उनका अनुसार प्रतियोगिताको म्यान अफ दि म्याच एक थान मोवाइलसहित नगद ४५ हजार, सर्वाधिक गोलकर्तालाई २० हजार नगद, उत्कृष्ट खेलाडीलाइ ५ हजार प्रदान गरिने छ।

प्रतियोगिता एन्फा खेल मैदानमा सञ्चालन हुने भएपछि खेल मैदान अन्तरार्ष्ट्रिय मापदण्ड बमोजिम निर्माण गर्न प्राविधिक टोलि खटाइसकेको सम्मेलनमा जानकारी दिइयो। खेल मैदानमा १० हजार दर्शक अट्ने प्याराफिट निर्माण गर्ने पनि उनले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्न आयोजकले ३५ लाख ५७ हजार रकम विनियोजन गरेको छ। प्रतियोगिता चैत २५ गतेसम्म सञ्चालन हुने बताइएको छ।

२०५५ सालदेखि सुरु गरिएको आमन्त्रण टुवोर्ग बुढासुब्बा गोल्ड कपको अपाधि गत वर्ष मनाङ मर्स्याग्दीले हात पारेको थियो।

Popularity: 4%

Add comment November 24th, 2011

आठौं एन-प्याब्सन स्पोर्टस् मिट-२०६८ जारी

प्रेमनारायण न्यौपाने / एचकेनेपाल डट कम-
पोखरा, ८ मङ्सिर । नेशनल प्याब्सन (एन-प्याब्सन) कास्कीको आयोजनामा पोखरा रंशालामा सञ्चालित आठौं एन-प्याब्सन स्पोर्टस् मिट-२०६८ अन्तर्गत बिहीबार ट्रयाक एण्ड फिल्डतर्फ विभिन्न खेल सम्पन्न भएका छन्।

बिहीबार सम्पन्न सिनियरतर्फ छात्र लङजम्पमा कास्की मोडनाइज एकेडेमीका आशबहादुर गुरुङ प्रथम, आदर्श बोर्डिङ स्कुलका मनोज सुवेदी द्वितीय तथा गोर्खा बोर्डिङ स्कुलका अमित थापा तृतीय भएका छन्।

सोही इभेन्टमा छात्रातर्फ कास्की मोडनाइज एकेडेमीकी लीजा गुरुङ प्रथम, मर्निङ ग्लोरी एकेडेमीकी अनु आचार्य द्वितीय तथा एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलकी प्रशंसा रानामगर तृतीय भएका छन्।

सिनियरतर्फ छात्र सटपुटमा कास्की मोडनाइजका आनन्द क्षेत्री प्रथम, सिद्धिविनायक बोर्डिङ स्कुलका दीपक सुनार द्वितीय तथा सोसियल पब्लिक स्कुलका भोजबहादुर राना तृतीय भएका छन्।

सोही इभेन्टमा छात्रातर्फ सिद्धिविनायक बोर्डिङ स्कुलकी शान्ति रानाभाट प्रथम, मर्निङग्लोरीकी बिन्दुश्री आले द्वितीय तथा कास्की मोडनाइजकी अमृता पुन तृतीय भएका छन्।

सिनियर छात्रछात्रातर्फएक सय मिटर, दुइ सय मिटरका हिट्स चरणका खेल सम्पन्न भएको प्रचार-प्रसार उपसमितिका संयोजक यूवक लामिछानेले जानकारी दिए।

सिनियरतर्फ छात्रा बास्केटबलमा आदर्श बोर्डिङ स्कुल र त्रिवेणी एकेडेमी क्वाटरफाइनलमा प्रवेश गरेका छन् भने अन्य खेलमा अक्सफोर्डले हावर्ड एकेडेमीलाई, गोर्खाले द वीज्डमलाई, कास्की मोडनाइजले रत्नज्योतिलाई, ज्ञानज्योति विद्याकुञ्जले सोसियल पब्लिकलाई, सिद्धार्थ लवडेलले फेवा बोर्डिङलाई, न्यू ग्यालेक्सीले कान्तिपुर एकेडेमीलाई तथा आदर्श हेमजा बोर्डिङलाई पराजित गरेका छन्।

बास्केटबलमा छात्रातर्फ १७ तथा छात्रातर्फ २४ टीमको सहभागिता रहेको छ।

सिनियर छात्र फुटबलतर्फ सोसियल पब्लिक स्कुलले ओम एकेडेमीलाई ३-०, कास्की मोडनाइजले लिटिल फ्लावरलाई २-०, कान्तिपुर एकेडेमीले फेवा बोर्डिङ स्कुललाई, ज्ञानज्योति बोर्डिङ स्कुलले न्यू ग्यालेक्सीलाई ६-५, मर्निङ ग्लोरी एकेडेमीले युनिभर्स बोर्डिङ स्कुललाई टाइब्रेकरम ७-५, हावर्ड एकेडेमीले अक्सफोर्डलाई टाइब्रेकरमा ३-२, बर्ड एकेडेमीले रत्नज्योति बोर्डिङ स्कुललाई १-० ले पराजित गरेका छन्।

छात्र फुटबलमा ३६ टीमको सहभागिता रहेको फुटबल खेल संयोजक दीपक थापाले जानकारी दिए। यस्तै, सिनियरतर्फ छात्रा ब्याडमिन्टनतर्फ सोसियल पब्लिक स्कुल र ओम एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्।

मङ्सिर १० गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा एन-प्याब्सन कास्कीसँग आवद्ध विभिन्न ४२ वटा विद्यालयको सहभागिता रहेको छ। प्रतियोगितामा ४२ विद्यालयका दुइ हजार पाँच सय ६० जना विद्यार्थीको सहभागिता रहेको छ।

Popularity: 4%

Add comment November 24th, 2011

सफल पोखरा कपको पहिलो संस्करण विदेशियो

धन बस्नेत, माधव बराल / एचकेनेपाल डट कम-
पोखरा, ३ मंसिर । सफल पोखरा कपको पहिलो संस्करण बिदेशिएको छ। एघारदिने प्रतियोगिताले विट मार्ने क्रममा नेपाल आर्मीको त्रिभुवन क्लबको चुनौतीलाई पाहुना टोली शेख जमल धनमुण्डी क्लबले अतिरिक्त समयको इन्जुरी समयमा १-० ले पन्छाएको थियो।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

सफल पोखरा कपको उपाधि बंगलादेश लैजान थपिएको ३० मिनेटको पहिलो हाफको इन्जुरी समयसम्म कुर्नुपर्‍यो। योकोले उत्कृष्ठ प्रहार गर्दै उपाधि दिलाउँदै इतिहास कोर्दा नेपाली सेना पोखराको मैदानमा दोस्रो पटक उपविजेतामा सीमित हुन पुग्यो। निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएको थियो। ०५७ सालमा बुढासुब्बा गोल्डकप आफनो नाममा लेखाएको बंगलादेशी टोलीले एघार वर्षपछि नेपाली भूमिबाट उपाधि लिएर ५४ सदस्यीय टोली फर्किएको छ।

सन्तोष नेपालीको हेड राम्ररी क्लियर गर्न नसकेको बललाई योकोले ‘कलेक्ट’ गर्दै एक्लो प्रयासमा ३० यार्ड टाढाबाट प्रहार गरेको बललाई आर्मीका गोलकिपर गंगाराम देउजाले बचाउ गर्न असमर्थ बने। पावर गेम खेलेर पाहुना टोलीलाई थक्याएको आर्मीले अतिरिक्त समयमा आइपुग्दा उत्कृष्ठ लयलाई दोहोर्‍याउन भने सकेन।

पहिलो हाफमा आर्मीका टंक बस्नेतले ४४ औं मिनेटमा पोष्टका दिशा नसक्दा अग्रता लिने अवसरबाट टाढिएको थियो। टेकबहादुर बुढाथोकीको लामो प्रहारलाई बस्नेतले ढिलो गर्दा बल क्लियर हुन पुगेको थियो। त्यसैगरी, ५६ औं मिनेटमा हरि महतोले उपलब्ध गराएको बललाई अनमार्क बसेका डिफेन्स चुनबहादुर थापाले गरेको हेड आकासिनु पनि आर्मीलाई अर्को अवसर गुग्यो। ६७ औं मिनेटमा हुलमुलबाट प्रहार भएको बल धनमुण्डी क्लबका गोलकिपरले फष्टबारबाट रिवाउण्ड बललाई गोललाइनमा ‘क्याच’ गरेपछि आर्मीको दुर्भाग्य निम्तिएको थियो। २४ औं मिनेटमा सन्तोष नेपालीको गोललाई रेफ्री लव खत्रीले अफसाइडको संकेत देखाउँदा शनिबार पोखरा रंगशालामा उपस्थित १२ हजार दर्शकको उत्साह निराशमा परिणत भएको थियो। ८१ औं मिनेटमा हिरण्य मगरको लामो फ्रिकिक ‘पोष्टको फ्रेम’ भित्र परेपनि पाहुना टोलीका गोलकिपरले पन्च गरी क्लियर गरेका थिए।

पाहुना टोलीले ७ औं मिनेटमा मुस्तफाको प्रहारलाई देउजाले पन्च गरी बचाएका थिए। एक दर्जन कर्नरलाई पनि धनमुण्डी क्लबले उपयोग गर्न सकेन। अतिरिक्त समयको दोस्रो मिनेटमा सोहेलले वान भर्सस वानको अवस्थामा गोल गर्न चुकेपछि पाहुना टोलीले इन्जुरी समयमा गोलको खडेरी तोडेको थियो। विदेशी भूमिमा जितेको उपाधिमा बंगलादेशी टोलीका प्रशिक्षक टिटुले खुशी व्यक्त गरे। उनी थप्छन-’आर्मीसितको गेम निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो। तर जित्यौ खुशी छौं।’ उता आर्मीका प्रशिक्षक योगम्बर सुवालले खेलाडीको प्रदर्शनमा सन्तुष्ट व्यक्त गरे।

प्रतियोगितामा विजेता तथा उपविजेता क्लबका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा, मुख्य प्रायोजक लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, प्रथम पुरस्कार प्रायोजक सुनिल गुरुङ, उपविजेता प्रायोजक बीएण्ड बी कोलोनीका निर्देशक विमल बस्याल, उत्कृष्ठ खेलाडी प्रायोजक टिका कार्की लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। उत्कृष्ठ खेलाडीलाई मोटरसाइकल, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर, र सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकलाई नगद १५ हजार रुपियाँसहित ट्रफी प्रदान गरिएको थियो। उक्त पुरस्कार प्रायोजन भट्टराई समूहले गरेको थियो।

उत्कृष्ठ खेलाडी-चुनबहादुर थापा (नेपाल आर्मी क्लब) यमहा मोटरसाइकल
स्ट्राइकर-एभरटन (धनमुण्डी क्लब बंगलादेश)-१५ हजार नगद
मिडफिल्ड-योको (धनमुण्डी क्लब बंगलादेश)-१५ हजार नगद
डिफेन्स-चुनबहादुर थापा (नेपाल आर्मी क्लब)-१५ हजार नगद
गोलकिपर-गंगाराम देउजा (नेपाल आर्मी क्लब)-१५ हजार नगद
सर्वाधिक गोलकर्ता-उत्तम गुरुङ, केष्टर र हरि महतो-पोखरा-११, धनमुण्डी क्लब र नेपाल आर्मी क्लब-१५ हजार नगद
प्रशिक्षक-कृष्ण थापा (पोखरा -११)-१५ हजार नगद
म्यान अफ दि म्याच (फाइनल)-योको धनमुण्डी क्लब (नगद १० हजारसहित ट्रफी)

Popularity: 5%

Add comment November 19th, 2011

सडन डेथमा गोर्खालाई उपाधि

लोक गुरुङ / एचकेनेपाल डट कम-
बुटवल, ३ मंसीर दैपस । सडन डेथको साहारा लिदै गोर्खा वोइज क्लव बुटवले पहिलो मदन भण्डारी स्मृति गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेको छ।

उदयमान बुटवल युनाइटेड क्लव बुटवललाई सडन डेथमा १ - ० जिरोको गोल अन्तरले पाखा लगाउदै गार्खाले जारी बर्षको पहिलो उपाधि जित्यो।

निर्धारित र थप गरिएको समयमा कुनै गोल नभएपछि खेललाई पेनाल्टी सुटआउटमा पुर्‍याइएको थियो। पहिलो पाँच पेनाल्टीमा पनि समान ३ गोल भएपछि खेललाई सडन डेथमा पुर्‍याइएको थियो। गोर्खाका सुशील केसीले प्रहार गरेको पेनाल्टीले गोलमा परिणत हुदा युनाइटेडका जोकोवले प्रहार गरेको पेनाल्टी बाहिरिएपछि गोर्खाले गोल्डकपसहित एक लाख ६५ हजार नगद हात पार्‍यो। यो पुरुस्कार राशी जिल्लाकै अहिलेसम्मको महंगो पुरुस्कार राशी हो।

यसअघि, निधारित समयमा दुइ दुइ गोलको बराबरीमा खेल टुंगियो र थप गरिएको दश मिनेटमा पनि कुनै गोल हुन सकेन। पहिले नै दुइ गोलको अग्रता लिएर पनि युनाइटेडले खेललाई आफ्नो पक्षमा पार्न सकेनन। पहिला हाफको ११ औ मिनेटमा विदेशी खेलाडी आफिज ओलेले पहिले गोल गरेर खेलमा अग्रता लिए। दोस्रो हाफको सातौ मिनेटमा जर्सी नं १६ का यी आइभोरी कोस्टका खेलाडीले टिमका लागि दोस्रो गोल गरेपछि खेलमा युनाइटेड हावी देखियो। यी दुवै गोल गोर्खाका गोलरक्षक राज नगरकोटी अगाडि बढ्दा भएको थियो। तर, युनाइटेडका डिसेन्स निरज मगरले गरेको गल्तीको फाइदा उठाउदै गणेश खड्काले टिमका लागि पहिलो गोल गरेपछि गोर्खा खेलमा फर्कियो र नुरराज काफ्ले प्रहारको कर्नर किकको फाइदा सुरज थिङले अर्को गोल गरेपछि खेल बराबरी बन्यो।

दर्शकले भरिभराउ रामनगर मैदानमा दुवै टोलीले बुनेका केही राम्रा मौका भने सदुपयोग भएनन्। युनाइटेडका गोलरक्षक रन्जित गुरुङ गोर्खाका केही गतिला प्रहार विफल पारे। रेफ्री बम बहादुर सारुबाट गोर्खाका नुरराज काफ्ल, कोभित कार्की र बुटवल युनाइटेडका कमल श्रेष्ठले पहेलो कार्ड पाए।

उपविजेता समिति बुटवल युनाइटेडले एक लाख पुरस्कारमा चित्त बुझायो। प्रतियोगिताको विजयी खेलाडीहरुलाई मदन भण्डारी फाउडेसनको सरंक्षक खड्का प्रसाद ओलीले पुरुस्कार बाँडे।

गएको कार्तिक १७ गतेदेखि सुरु प्रतियोगितामा विभिन्न १६ टिमले भाग लिएका थिए। मदन भण्डारी स्पोर्टर्स एकेडेडमीको आयोजनामा प्रतियोगिता भएको थियो।

उत्कृष्ट गोल रक्षक - राज नगरकोटी (गोर्खा वोइज)
उत्कृष्ट खेलाडी - असिमजंग कार्की (गोर्खा वोइज)
सर्वाधिक गोलकर्ता - आफिज ओले (बुटवल युनाइटेड- ५ गोल)

Popularity: 10%

Add comment November 19th, 2011

सुब्रतो कपको उपाधि नेपाललाई

लोक गुरुङ / एचकेनेपाल डट कम-
बुटवल, ३० कार्तिक । सुरज हमालले गरेको गोल नै निर्णायक बनेपछि नेपाली अन्डर - १४ फुटवल टोलीले भारतको नयाँ दिल्लीमा सुब्रतो मुखर्जी कप अण्डर-१४ फुटवल प्रतियोगिताको उपाधि जितेको छ।

सुब्रतो मुखर्जी कपको ५२ औ संस्करणलाई पोल्टामा पार्ने क्रममा नेपाली टोलीले नागाल्यान्ड टिमलाई पाखा लगायो। नेपालले लिग चरणको पहिलो खेलमा भारतको सिक्किमलाई २-१ गोल अन्तरले हराएको थियो।

त्यस्तै, झारखण्डलाई ८-० र गुजरातलाई ४- १ गोल अन्तरले हराएको थियो। लिग खेलमा विजयी हुदै लिग चरण पार गरेको नेपालले मिजोराम समूहलाई ५ -४ को गोल अन्तरले हराउदै क्वाटरफाइनल पार गरेको गरेको नेपालले सेमिफाइनलमा भारतको मेघालाई ट्राइब्रेकरमा हराउदै फाइनलमा पुगेको थियो।

उपाधिसंगै नेपाललाई दुइ लाख भारतीय रुपैया नगद पनि हात पारेको छ। योसंगै नेपालले जितेको सुव्रतो कपको संस्करण तीन पुगेको छ। प्रतियोगितामा भारतका विभिन्न प्रान्त, माल्दिप्स, भुटान लगायतका देशका गरी ३२ टिमले प्रतिस्पर्धा गरेका थिए।

भारत प्रस्थान गनुअघि नेपालको बुटवलमा सामूहिक तस्वीरमा नेपाली फुटवल टोली

Popularity: 6%

Add comment November 16th, 2011

सेभेन-ए-साइड फुटबलको टोली भारत प्रस्थान

प्रेमनारायण न्यौपाने /एचकेनेपाल डट कम -
पोखरा, १३ कात्तिक । एसियन सेभेन-ए-साइड फुटबल महासङ्घको आयोजनामा भारतको पर्यटकीय शहर गोवामा यही कात्तिक १७ देखि १९ गतेसम्म सञ्चालन हुन गइरहेको यु-१९ छात्र सेभेन-ए-साइड फुटबल प्रतियोगितामा भाग लिन नेपाली टीमको प्रतिनिधित्व गर्दै पोखराको सोसियल पब्लिक स्कुल त्यसतर्फ प्रस्थान गरेको छ।

नेपाल सेभेन-ए-साइड फुटबल महासङ्घद्वारा गत असोज १-७ गतेसम्म पोखरामा आयोजित तेस्रो अन्तरविद्यालयस्तरीय छात्र सेभेन-ए-साइड फुटबल प्रतियोगिताको सोसियल पब्लिक स्कुल विजेता बनेको थियो। प्रतियोगितामा भारतका २४ प्रदेशका विजेता टीम र नेपाल गरी २५ टीमको सहभागिता रहने छ।

प्रतियोगितामा सहभागी खेलाडीमा मनबहादुर तामाङ, सुशान्त गुरुङ, अजित भण्डारी, राजकुमार श्रेष्ठ, अजय श्रेष्ठ, भीमसेन दुरा, इनेश तामाङ, विश्वास नेपाली, किरण ठाडामगर र दीपेन्द्र कुँवर गरी १० जना, प्रशिक्षक ज्ञानेन्द्र भण्डारी र व्यवस्थापक दीपक थापासहितको टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ।

टोलीमा दुइ जना पत्रकार प्रेम नेपाली र धन बस्नेत तथा महासङ्घका प्रशिक्षक पुष्प केसी रहेका छन्। यस्तै दुइ दिने रेफ्री कोर्षमा भाग लिन रेफ्री सुशील केसी पनि टोलीमा सँगै रहेका छन्।

महासङ्घले आइतबार पोखरा रंगशालामा एक कार्यक्रमको आयोजना गरी टीमलाई बिदाइ गर्‍यो। सो अवसरमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइराला, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, महासङ्घका अध्यक्ष नवीन पुनलगायतले खादा र अबिर लगाएर बिदाइ गरेका थिए।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइरालाले युद्ध र खेल उस्तै उस्तै भएकोले टीमले उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपालको नाम राखेर आउने विश्वास व्यक्त गरे।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले विदेशमा खेल्न गइसकेपछि आफू समग्र देशको लागि खेल्दैछु भन्ने भाव खेलाडीहरुमा हुनुपर्ने बताए।

एसियन सेभेन-ए-साइड फुटबल महासङ्घका भाइस प्रेसिडेन्ट समेत रहेका नेपाल सेभेन-ए-साइड फुटबल महासङ्घका अध्यक्ष नवीन पुनको अध्यक्षतामा भएको कार्यक्रम महासङ्घका महासचिव डीबी नेपालीले सञ्चालन गरेका थिए।

Popularity: 4%

Add comment October 31st, 2011

पोखरा क्रिकेट क्लबलाई उपाधि

प्रेमनारायण न्यौपाने / एचकेनेपाल डट कम-
पोखरा, १० कार्तिक । पोखरा क्रिकेट क्लब पिसीसीले पोखराको नगर प्रशिक्षण केन्द्रको खेलमैदानमा सञ्चालन गरेको सर्वाधिक राशिको प्रथम क्लबस्तरीय खुल्ला क्लाउड-९ टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

उज्यालो संसार नेपालको आयोजनामा क्लाउड-९ इनर्जी ड्रिङ्सको मुख्य प्रायोजन, मनकामना केबुलकार प्रालिको प्रायोजन तथा वर्ल्ड टच प्रालि र पोखरा-काठमाडौं माइक्रो बसपार्कको सहप्रायोजनमा भएको प्रतियोगिताअर्न्तर्गत बिहीबार भएको फाइनल खेलमा लायन्स अफ क्लब एलओसीलाई ३० रनले पराजित गर्दै पिसीसीले नगद २५ हजार राशिको उपाधि जित्न सफल भएको हो।

टस हारेर व्याटिङ रोजेको पिसीसी २० ओभरको खेलमा सबै विकेट गुमाउँदै १०४ रन जोडेको थियो । पिसीसीका व्याट्सम्यान इन्द्र गुरुङले एक छक्का र दुइ चौका हान्दै १८ बलमा सर्वाधिक २२ रन, विकास श्रेष्ठले एक छक्का हान्दै ३० बलमा १८ रन, गोविन्द्र प्रधानले एक छक्का हान्दै २१ बलमा १५ रन तथा अनन्त उदासले दुइ चौका हान्दै नौ बलमा १० रन जोडेका थिए।

एलओसीका बलरमा दिवाकरले चार ओभरमा १६ रन दिंदै चार विकेट, भिसनले चार ओभरमा १२ रन दिंदै दुइ तथा निरजले चार ओभरमै २५ रन दिंदै दुइ विकेट लिएका थिए।

१०५ रनको चुनौती पाएको एलओसी १८.२ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा सीमित भएको थियो । एलओसीका व्याट्सम्यान भिसनले एक छक्का, दुइ चौका हान्दै २७ बलमा २८ रन, सुरजले २६ बलमा १५ रन तथा निरज १३ बलम १२ रन जोडेका थिए । पिसीसीका बलरमा इश्वरले चार ओभरमा तीन विकेट लिंदै ११ रन तथा म्यान अफ दी म्याच प्रदीप राउतले चार ओभरमै तीन विकेट लिंदै २३ रन दिएका थिए।

प्रतियोगितामा विजेता टीम पिसीसीले नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता एलओसीले नगद १७ हजारमा चित्त बुझायो। प्रतियोगितामा एलओसीका योगेश सुवेदी बेस्ट बलर, पिसीसीका विकास श्रेष्ठ बेस्ट व्याट्सम्यान तथा पिसीसीकै अनुज सिग्देल म्यान अफ दी सिरिज घोषित हुँदै ट्रफी प्राप्त गरे।

विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य राजेशकुमार गुरुङ, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजू, उपाध्यक्ष देवीजंग गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष मोहन घले, प्रशिक्षक जगत टमटालगायतले पुरस्कार प्रदान गरेका थिए। विजेता टीमलाई मनकामना दर्शन प्रालि पोखराको तर्फबाट १३ वटा केबुलकार टिकट प्रदान गरिएको थियो। सो अवसरमा खेलकुद पत्रकारितामार्फत खेलकुदको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै खेलकुद पत्रकार मञ्च कास्कीका सचिव प्रेमनारायण न्यौपाने तथा नेपाललाई सन् २०१२ मा अष्ट्रेलियामा हुन गइरहेको यु- १९ विश्वकप क्रिकेट प्रतियोगितामा प्रवेश गराउन प्रशिक्षकको भूमिका निर्वाह गरेका प्रशिक्षक जगत टमटालाई सम्मान गरिएको थियो।

प्रमुख अतिथि गुरुङले न्यौपाने र टमटालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए। प्रमुख अतिथि गुरुङले अहिले जिल्ला र क्षेत्रमा राम्रो टीम आएकोले पोखराको क्रिकेट मैदान तथा रंगशाला बन्ने विश्वास व्यक्त गरे। कार्यक्रममा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजू, उपाध्यक्ष देवीजंग गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष मोहन घले, सम्मानति व्यक्तित्व प्रेमनारायण न्यौपाने र प्रशिक्षक जगत टमटाले पनि बोलेका थिए। कात्तिक ६ गतेदेखि सञ्चालित सो प्रतियेगितामा स्याङ्जासहित कास्कीका गरी १२ टीमको सहभागिता रहेको थियो। उज्यालो संसार नेपालका अध्यक्ष अमरजंग गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा खेल संयोजक जयप्रकाश थापा र सचिव दिलकुमार तामाङले पनि बोलेका थिए।

Popularity: 4%

Add comment October 30th, 2011

ब्याडमिन्टन प्रतियोगिताको उपाधि खड्का र विष्टको जोडीलाई

प्रेम न्यौपाने / एचकेनेपाल डट कम-
पोखरा, ८ कात्तिक। हातेमालो अभियान नेपालको आयोजनामा पोखरामा सञ्चालित खुल्ला मैत्रीपूर्ण डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि विशाल खड्का र डोरबहादुर विष्टको जोडीले हात पारेको छ।

मंलबार भएको फाइनल खेलमा राम ध्वजू र सञ्जीव कोइरालाको जोडीलाई २-१ को सेटमा पराजित गर्दै खड्का र विष्टको जोडीले उपाधि हात पारेको हो। पहिलो सेट १५-११ ले हात पारेका विष्ट र खड्का लगातारको खेलाइले दोस्रो सेटमा ७-१५ ले चुके। तर तेस्रो सेटमा संयमतापूर्वक खेलेपछि १५-८ ले कब्जामा पार्दै उपाधि सुरक्षित गरे।

विजेता खड्का र विष्टले नगद पाँच हजार एककको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने उपविजेतामा सीमित ध्वजू र कोइरालाले नगद तीन हजार एकमा चित्त बुझायो।

तेस्रो स्थान प्राप्त गरेका बालकृष्ण केसी र रमेश श्रेष्ठको जोडी तथा तेजेन्द्र गुरुङ र मनि गुरुङको जोडीले नगद एक हजार प्राप्त गरे। प्रतियोगितामा सञ्जीव कोइराला बेस्ट प्लयेर घोषित भएका थिए।

यसअघि, भएको पहिलो सेमिफाइनल खेलमा राम ध्वजू र सञ्जीव कोइरालाको जोडीले तेजेन्द्र गुरुङ र मनि गुरुङको जोडीलाई १५-१०, ५-१५ तथा १५-१२ ले पराजित गरेको थियो।

दोस्रो खेलमा विशाल खड्का र डोरबहादुर विष्टको जोडीले बालकृष्ण केसी र रमेश श्रेष्ठको जोडीलाई १५-१०, ११-१५ तथा १५-७ ले पराजित गरेको थियो।

समापन कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्ण रानामगर, इन्फोम्याक्स कलेज पोखराका संस्थापक समीर थापा, एलआईसी नेपाल पोखरा शाखा प्रमुख सोनबहादुर आले, पश्चिमाञ्चल क्षेत्रीय वृडर सङ्घका अध्यक्ष रामबहादुर थापा, पूर्व वरिष्ठ ब्याडमिन्टन प्रशिक्षक धर्मलाल प्रधान, अधिवक्ता सरिता थापामगर, कुमाल समाज कास्कीका अध्यक्ष जीवन कुमाल, मीनबहादुर घले,नेकपा एकीकृत कास्कीका अध्यक्ष भीमबहादुर श्रीस, हातेमालो अभियान नेपालका अध्यक्ष तारामाया थापालगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

सो अवसरमा प्रमुख अतिथि नेपाल मगर सङ्घका अध्यक्ष पूर्ण रानामगरले खेललाई शारीरिक फिट्नेशलाई मात्र ध्यान नदिइ देश र जनताको हितमा पनि लगाउनुपर्ने बेला आएको बताए। उनले राज्यले बेवास्ता गरेको खेलकुदलाई निजी क्षेत्रले टिकाइराखेको दाबी गरे।

दीपावली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा इन्फोम्याक्स कलेज पोखराका संस्थापक समीर थापा, खेलकुद पत्रकार मञ्च कास्कीका सचिव प्रेमनारायण न्यौपाने, पूर्व वरिष्ठ ब्याडमिन्टन प्रशिक्षक धर्मलाल प्रधान, खेलाडीको तर्फबाट सञ्जीव कोइरालालगायतले मन्तव्य राखेका थिए।

हातेमालो अभियान नेपालका अध्यक्ष तारामाया थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संयोजक हर्क आलेमगरले गरेका थिए।

३२ टीमको सहभागिता रहेको सो प्रतियोगितामा धर्मलाल प्रधान,नीरबहादुर थापा, वीरबहादुर आले, फणिन्द्रप्रसाद तिमिल्सेना र आर के अर्यालले रेफ्रीको भूमिका निर्वाह गरेका थिए।

Popularity: 5%

Add comment October 26th, 2011

पोखरामा क्रिकेटमा पिसीसी, एलओसी र बी बोइङ विजयी

प्रेम न्यौपाने / एचकेनेपाल डट कम-
पोखरा, ७ कार्तिक । उज्यालो संसार नेपालको आयोजनामा पोखराको नगर प्रशिक्षण केन्द्रको खेलमैदानमा सञ्चालित सर्वाधिक राशिको प्रथम क्लबस्तरीय खुल्ला क्लाउड-९ टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार पिसीसी, एलओसी र बी बोइङ विजयी भएका छन्।

क्लाउड-९ इनर्जी ड्रिङ्सको मुख्य प्रायोजन, मनकामना केबुलकार प्रालिको प्रायोजन तथा वर्ल्ड टच प्रालि र पोखरा-काठमाडौं माइक्रो बसपार्कको सहप्रायोजनमा भएको प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेलमा पिसीसी क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबलाई ३८ रनले पराजित गर्‍यो। टस जितेर व्याटिङ रोजेको पिसीसीले २० ओभरमा नौ विकेटको क्षतिमा ११२ रन बनाएको थियो।

प्रतिउत्तरमा बलिङ गरेको सांग्रिलाले १७ ओभरमा १० विकेटको क्षतिमा ७४ रन मात्र बनाएको थियो। पिसीसीका विकास श्रेष्ठले १२ बलमा २८, रिजन प्रजूले १६ बलमा २२ तथा अनुज सिग्देलले १८ बलमा २० रन जोडेका थिए। बलरतर्फसांग्रीलाका सञ्जय नेपाललले चार ओभरमा ३ विकेट लिंदै १६ रन दिए भने सुदीपले चार ओभरमै दुइ विकेट लिए। व्याटिङतर्फ सञ्जय अधिकारीले ३६ बलमा ३३ रन तथा विवेकले २९ बलमा १७ रन जोडेका थिए।

बलरमा पिसीसीका अनुज सिग्देलले चार ओभरमा तीन विकेट लिंदै १६, प्रदीप राउतले चार ओभरमै तीन विकेट लिंदै १३ रन दिएका थिए। पिसीसीका अनुज सिग्देल म्यान अफ दी म्याच घोषित भए।

दोस्रो खेलमा एलओसीले एनआरसीलाई ४७ रनले पराजित गर्‍यो। टस जितेर व्याटिङ राजेको एलओसी १८.५ ओभरमा ७४ रन जोड्दै अलआउट भएको थियो। एलओसीका श्यामले ३५ बलमा २७ रन जोडे भने सुरजले २२ बलमा १९ रन जोडे। विकेटतर्फ राजुले तीन ओभरमा विकेट लिंदै ११ रन तथा चन्दनले चार ओभरमा तीन विकेट लिंदै १५ रन दि।प्रतिउत्तरमा बलिङ गरेको एनआरसी १२.२ ओभरमा २७ रनमै सम्पूर्ण विकेट गुमाउँदै अलआउट भएको थियो। एलओसीका योगेशले चार ओभरमा तीनविकेट लिंदै नौ तथा विशनले तीन ओभरमा तीन विकेट लिंदै छ रन दिए। एनआरसीका लागि २३ बलमा १३ रन जोडेका सुरज म्यान अफ दी म्याच घोषित भए।

तेस्रो खेलमा बी बोइङ संगमटोलले देव-११ लाई ५१ रनले पराजित गर्‍यो। टस जितेर व्याटिङ गरेको बी बोइङले २० ओभरको खेलमा आठ विकेट गुमाउँदै १३२ रन जोड्न सफल भयो। प्रतिउत्तरमा देव-११ १५ ओभरमा ८० रनमा अलआउट भएको थियो। बी बोइङका व्याट्सम्यान सागरले १२ बलमा १९, तेजले १२ तथा मोहनले नकआउट २६ रन जोडे। बलिङतर्फ देव-११ का विकास गुरुङले चार ओभरमा दुइ विकेट गुमाउँदै २२ रन जोडेका थिए। देवका व्याट्सम्यान विकास गुरुङ २३ बलमा २९ रन तथा जयप्रकाश थापाले २० बलमा १७ रन मात्र जोडेका थिए। यस्तै बी बोइङका अमृतले तीन, प्रदीप र श्रीले समान दुइ-दुइ विकेट लिएका थिए। सर्वाधिक तीन विकेट लिएका बी बोइङका अमृत म्यान अफ दी म्याच घोषित भए। मंगलबार तीन खेल हुने खेल संयोजक जयप्रकाश पप्पु थापाले जानकारी दिए।

Popularity: 5%

Add comment October 24th, 2011

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2018
M T W T F S S
« Feb    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....