Posts filed under 'Gurkha News'

बेलायती गोर्खा सैनिक गजबहादुर गुरूङको अन्तिम संस्कार

एचकेनेपाल डट कम संवाददाता-
बेलायत, ११ फाल्गुन । अफ्गानिस्तानमा मारिएका बेलायती गोर्खा सैनिक पोखराका गजबहादुर गुरूङको बेलायतको अल्डरसोटमा बुधवार अन्तिम संस्कार गरिएको छ।

लान्स कोरपरल गुरूङको अन्तिम संस्कारमा गोर्खालीहरूसहित हजारभन्दा बढी सहभागी थिए। फस्ट बटालियन योर्कशिर रेजिमेन्टमा कार्यरत २६ वर्षीय गुरूङको गत जनवरीमा मृत्यु भएको थियो।

हेर्नुहोस् भिडियोः

अफ्गानिस्तानको हेल्मण्ड क्षेत्रको खार निकामा पैदल गस्तीमा रहेको बेला बिद्रोही हतियारधारी समूहको गोली प्रहारबाट उनको मृत्यु भएको हो।

तस्वीर सौजन्यः बेलायती रक्षा मन्त्रालय

१९८५ अक्टोबर १६ मझठाना कास्की नेपालमा जन्मेका गुरूङ पोखराबाट २००४ मा बेलायती गोर्खा सैनिकमा भर्ती भएका थिए।

आफ्नो सैनिक करियारमा उनी तीन पटक अफगानिस्तान पुगेका थिए।

उनको मृत्युसंगै ‘अफगानिस्तान अप्रेशन’ मा मृत्यु भएका बेलायती सैनिकको संख्या ३९७ पुगेको छ।

अब सम्झना मात्रै।

यो पनि पढ्नुहोस्
अफगानिस्तानमा मारिएका विजयको अन्तिम संस्कार

Recent Videos:

Popularity: 92%

4 comments February 23rd, 2012

कार्यगत एकताको हल्ला र गोरखा आन्दोलन- राजेश राई

राजेश राई / एचकेनेपाल डट कम-
मार्क्सले भनेका थिए,’जब-जब शोषितहरु जुर्मुराउंछन्, शासकहरुले जुरमुराएका शोषितबिरुद्ध शोषितहरुलाई नै क्रुर रुपले प्रयोग गर्छन्, यस्तो बेला क्रान्तिकारीहरुको लागि साँच्चै नै पीडादायक अवस्था हो।’ जुनसुकै आन्दोलन वा क्रान्तिहरुमा मुलत दुइवटा पक्ष हुन्छन्। एउटा शासक अर्का शोषित।

शोसकले शोषितहरुको आन्दोलनलाई दबाउँन प्रयोग गर्ने तिकड्महरु नौला होईनन्। त्यो जति क्रुर भए पनि त्यति अप्रिय लाग्दैंनन्। किन कि, शोसकहरुको कामै यो वा त्यो रुपमा पीडितहरुको आवज दबाईराख्नु नै हो। तर, अप्रिय यतिबेला लाग्छ, जतिबेला शोसितहरु नै शासकहरुको गोटी बनेर शोसित बिरुद्ध प्रयोग हुन्छ। दुनियाँका आन्दोलन र क्रान्तिका इतिहास पल्टाउने हो भने यस्ता अप्रिय दिनहरु कैयन आएका छन्। शासकहरुले शोसितहरुको आन्दोलनलाई दबाउँन शोसितहरु नै यति क्रुर तरिकाले प्रयोग गरेका छन्, ती इतिहास पढ्दा नै असाध्यै पीडा हुन्छ।

यस्तो पीडादायक इतिहास गौरवमय २१ बर्षको गोरखा आन्दोलनमा पनि दोहोरिदै आएको छ। बेलायती शासकले ‘हामीलाई दयाको भिख होईन, रगत र पसिनाका मुल्य देउ’ भनेर न्यायिक आन्दोलनमा उत्रिएका गोरखाहरुबिरुद्ध गोरखा नै प्रयोग गरेको इतिहास कसैलाई पनि प्रिय लाग्दैन।

दुइ सय बर्षसम्म बेलायती माटो र मुकुटलाई बचाउन रगत र पसिना बगाउंदै आएको गोरखा सैनिकहरुलाई न्याय दिलाउन भूतपूर्व गोरखा सैनिक (गेसो)ले जब आन्दोलनको उद्घोष गर्यो त्यहीबेलादेखि बेलायती शासकले गोरखाबिरुद्ध गोरखा प्रयोगको नीति ल्याएको इतिहास हाम्रोसामु छ।

नेपालमा प्रजातन्त्र पुनः स्थापना भए लगत्तै सुरु भएको गोरखा आन्दोलनको इतिहास फर्केर हेर्दा बेलायती शासकहरुले गोरखाबिरुद्ध गोरखा प्रयोग गरेको घटना असाध्यै पीडादायी छ। इतिहासलाई पल्टाउंदा यस्तो लाग्छ,’बेलायती शासकहरुको गोटी भएर गोरखा आन्दोलनलाई निस्तेज पार्न खोज्ने गोरखाहरुलाई पूर्खाहरुले कहिल्यै माफी दिने छैनन्।’ जतिबेला गेसो गोरखाहरुलाई न्याय देउ भन्दै नेपालको सडक, सदन हुदै बेलायती सडक, सदन र अदालतमा थिए । त्यतिबेला बेलायती रक्षामन्त्रालय (एमओडी)मा अफिसर पदमा बसेर गोरखा अफिसहरु गोरखाबिरुद्ध कम्मर कसेर लागेका थिए।

बेलायती जनताका प्रिय अभिनेत्री जोअना लुम्ली र बेलायती जनताहरु पनि गोर्खालीहरुलाई न्याय दिनुपर्छ भन्दै सडकमा उत्रिएका बेला, गोरखाहरुलाई न्याय दिनु हुदैन भनेर मरीहत्ते गर्नेहरु गोरखाहरु नै थिए। नेपालदेखि बेलायतसम्मको शासकहरुको योजनामा गेसो आन्दोलनलाई शिथिल पार्न गोरखाहरुकै संगठन खोल्न लगाईयो। ती गोर्खा आन्दोलनबिरुद्ध लाग्ने गोर्खाहरुको तिकडम्को तथ्य केलाउंदा यस्तो लाग्छ, ‘दुनियाँमा उनीहरुभन्दा खराब कोही पनि छैनन्।’ तर, यस्ता कैयन षड्यन्त्र र अबरोधका बिच पनि गेसो आन्दोलनले गोरखाहरुलाई न्याय दिलाई छाड्यो।

बेलायती संसदमा भोटिङ हुदाँ गोर्खाहरुको पक्षमा मतदान भयो। वास्तवमा गेसो आन्दोलन एक्काईसौ शदाब्दीको यस्तो आन्दोलन थियो, जुन आन्दोलनले बेलायती शासकको शिर झुकेको थियो। यही आन्दोलनका कारण गेसो आन्दोलनकै कारणले एकजना सिपाहीको पेन्सन २६ हजार देखि अफिसरको ८० हजारसम्म भयो। रिडडेन्सीमा खाली खुट्टा पठाएकाहरुले गोर्खा मेजरको भन्दा बढी सुबिधा पाउने भए। आज गोरखा सैनिक र तिनका परिवार बेलायत पुगेका छन्।

गेसोले फेरी दोस्रो चरणको आन्दोलन घोषणा गरीसकेको छ। आन्दोलन अर्न्तगत बिभिन्न युद्धमा मारिएका ६० हजारभन्दा बढी गोर्खा सैनिकहरुको सम्झना र सम्मानमा स्याङजाको फेदीखोला-८ स्थित साल्मेडाँडामा गोरखा स्मारक बनाउँन लागेको छ। यस्तै गेसोले केही नयाँ रहस्यहरु पत्ता लगाएको छ। यसकै आधारमा बेलायी शासकसँग न्यायिक आन्दोलन गर्ने उद्घोष गरेको छ। गोर्खालीहरुको दुइ सय बर्षसम्मको सैनिक सेवालाई बेलायत सरकारले बेलायती सैनिक सेवाको मान्यता नदिएको र गोर्खालीलाई प्रदान गरिने ८ फिगरको आर्मी नम्बर बेलायती सैनिकको आर्मी नभई चौकीदारी नम्बर भएको गेसोको दाबी छ।

यस्तै गोर्खालीहरुलाई बेलायती सेनामा भर्ती गर्दा बेलायती संसदले पास गरेको आर्मी नियम कानुन अनु्सार भर्ती नगरी बिग्रेड अफ गोर्खाजका अफिसरहरुको तजबीजले बनाएको नियम अनुसार भर्ती गर्दै आएको पनि गेसोको दाबी छ । यिनै तथ्यहरुको आधारमा गेसोले प्रश्न उठाएको छ, ‘हाकिमको तजबिजले बनाएको नियम अन्तर्गत भर्ती गरेर युद्धमा लानमा पाईन्छ कि पाईन्दैन?’ वास्तवमा हाकिमको तजबिजले बनाएको नियम अनुसार सेनामा भर्ती गरेर युद्धमा लगिन्छ भने त्यो घोर अपराध र गैरकानुनी हुन्छ। यदि, यो अपराध र गैरकानुनी ठहरियो भने, यसको जहाफदेही सम्बन्धित सरकार हुनुपर्छ । ‘हाम्रा पूर्खाहरुलाई युद्धमा किन मानव ढाल बनाईयो ? सम्बन्धीत पक्ष अन्तर्राष्ट्रिय अदालतको कठघरा र फाँसीको तखतामा उभिनुपर्छ कि पदैन?’ गेसोको प्रश्न छ, ‘आफूलाई मानवअधिकार र प्रजातन्त्रको ठेकेदार दाबी गर्ने बेलायती शासकले दुइ सय बर्षदेखि आफ्नै माटो र राजमुकुटका लागि रगत र पसिना बगाउंदै आएका आफ्ना राष्ट्र सेवकलाई यस्तो व्यबहार गर्नु बेलायती शासकको कस्तो नैतिकता र नीति हो?’ यिनै प्रश्नहरुसहित गेसो फेरी नयाँ चरणको आन्दोलनमा उत्रिएको छ।

२१ बर्षदेखि निरन्तर आन्दोलन गदै आएको गेसोले फेरी एकैचोटी यी आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन्। अर्कातिर गेसोको २१ बर्षलाई फर्केर हेर्दा त्यति प्रिय छैन। तत्कालीन बेलायती शासक र नेपाली शासक मिलेर गेसो र उनका नेतृत्वलाई समाप्त पार्न भगीरथ प्रयत्नहरु भए। सभापति पदमबहादुर गुरुङलाई त मार्नेसम्मका षड्यन्त्र गरियो (हेर्नुहोस्ः विवेक शाहको ‘मैले देखेको दरबार’)।

गेसोले बेलायती शासकलाई अप्ठ्यारो पार्ने गरी आन्दोलनको घोषणा गरे लगत्तै फेरी केही गोर्खा नाम गरेका संगठनहरुले कार्यगत एकता गरेको प्रचारबाजी सुरु भएको छ। यहाँनिर अन्य गोरखा संगठनहरुको बारेमा बढी उल्लेख गर्ने आबश्यक छैन, किनभने हिजोको इतिहास र तथ्यहरु घाम जस्तै छरलङ छ। तर, मुल प्रश्न गेसोले आन्दोलन घोषणा गरे लगत्तै फेरी किन कार्यगत एकताको प्रचारबाजी सुरु भएको ?

अब सबै गोर्खालीहरुले चनाखो हुनुपर्ने चहि यहाँनिर हो। यहाँ फेरी पनि मार्क्सको भनाई यहाँ सन्दर्भिक हुन्छ,’जब-जब शोषितहरु जुरमुराउंछन्, शासकहरुले जुरमुराएका शोषित बिरुद्ध शोषितहरुलाई नै क्रुर रुपले प्रयोग गर्छन्, यस्तो बेला क्रान्तिकारीहरुको लागि साँच्चै नै पीडादायक अवस्था हो।’ कतै हिजो गोर्खालीहरुले इतिहासमा भोगेको पीडा त फेरी दोहोरिने होईन? यस्तो पीडादायक इतिहासलाई फेरी दोहोरिन नदिन स्वंयम् गोर्खालीहरुनै सचेत हुन जरुरी छ। नभए, फेरीर इतिहासमा जस्तै निर्मम र क्रुर प्रहार सहनुपर्ने हुन्छ।

Recent Videos:

Popularity: 4%

2 comments January 13th, 2012

अफगानिस्तानमा मारिएका विजयको अन्तिम संस्कार

अफगानिस्तानमा मारिएका विजयको अन्तिम संस्कार धरानमा
विजयलाई बेलायतले एलिजावेद क्रसले सम्मान गर्यो

सन्तोष काफले / एचकेनेपाल डट कम-
धरान सुनसरी, २३ कार्तिक । गत असोज २८ गते शनिवारका दिन अफगानिस्तानमा तालिवानद्वारा मारिएका बेलायती सेना सुनसरीका २२ बर्षीय विजय राईको शव गृह जिल्ला सुनसरी ल्याएर बुधवार अन्तिम संस्कार गरिएको छ।

आज करीव पौने १२ बजे बेलायतवाट त्रिभुवन अर्न्तराष्ट्रिय विमान स्थलमा ल्याइपुर्याएको विजयको शव दिउसो ३ बजे सुनसरीको हासपोसा २ तरहरामा रहेको खेलमैदानमा ल्याइएको थियो। उक्त खेलमैदानमा विजयका आफन्त, स्थानीयवासी र शुभ चिन्तकहरुका लागि श्रद्धाञ्जलि अर्पण गर्न करीव २ घण्टा समय उपलब्ध गराइएको थियो।

भिडियोः

टुंडिखेलमा आयोजित श्रद्धाञ्जलि सभापश्चात विजयको सब तरहरामै रहेको उनको घरमा लगिएको थियो। धार्मिक विधिअनुसार विजयलाई परिवारका सदस्यले घरवाट शव उठाए पश्चात अन्तिम संस्कारका लागि विजयको शव धरानको व्रिटिस क्याम धरानमा लगिएको थियो। धरानमा भूतपूर्व शैनिक संघ लगायत धरानवासीले श्रद्धाञ्जलि दिएपछि विजयको अन्तिम संस्कार धरानको ब्रिटिस क्याप्प परिसरमा गरिएको छ। उक्त क्याम्पमा बेलायतमा वीर गति प्राप्त गर्ने गोर्खा सैनिकहरुको समाधि स्थलमा विजयको अन्तिम संस्कार गरिएको हो।

विजयको पार्थिव शरिरमा श्रञ्द्धाञ्जली दिन तरहरा, धरानमा स्थानीय वासिन्दाहरुको भिड लागेको थियो। विजयकी आमा लक्ष्मी राई विजयको निधनले शोकाकुल वनेकी छन्। उनका आसु अझै थामिएका छैनन्। विजयको मृत्युको खवर सुनेलगत्तै खोटाङको रतन्छामा रहेकी उनकी आमालाई आफन्तजनले तरहरामा ल्याएका थिए।

२०४७ साल भदौ २१ गते खोटाङको रतन्छा गाविसस्थित बुतेमा भन्ने ठाउमा जन्मिएका विजय तीन बर्षअगाडी सन् २००८ मा बेलायती सेनामा भर्ति भएका थिए। उनी रोयल गोर्खा राइफल्सको दोस्रो बटालियनमा बेलायती सेनाका सिपाही थिए। बेलायत सरकारको तर्फबाट शान्ति सेनाको रुपमा खटिएका विजय अफगानिस्तानको हेलमण्ड प्रान्तस्थित नहर ए सरजमा अफ्गानी प्रहरीसंगै डिएटीमा खटिएका अबस्थामा विद्रोही तालिवानले प्रहार गरेको गोली प्रहारवाट उनको मृत्यु भएको थियो।

विजय अफगानिस्तानमा मारिने मध्ये पाँचौ गोर्खा सैनिक हुन्। उनको सव लिन बाबु नागधन राई जेठीआमा धनकुमारी र जेठा दाजु नगेन राई बेलायत गएका थिए। बेलायत सरकारले आफनो देशको परम्परा अनुसार वीर गति प्राप्त गरेका विजयलाई बेलायत र ब्रुनाइमा श्रद्धाञ्जलिसंगै उच्च सम्मान गरेपछि परिवारलाई बुझाएको विजयका दाजु नगेन राईले बताए।

यता बेलायत सरकारले विजयलाई एलिजाबेद क्रसले सम्मान गरेको व्रिटिस गोर्खा नेपालका मेजर हितमान गुरुङले जानकारी दिएका छन्। उनका अनुसार बेलायत सरकारले वीर गति प्रप्त गर्ने गोराहरु भन्दा पनि उच्च प्रकारले विजयलाई सम्मान गरेको बताए। बेलायत सरकारले विजयलाई गरेको यो सम्मानले हामी अत्यन्तै खुसि भएका छौं यसले गोर्खालीहरुलाई थप हौसला थपिएको छ उनले भने। मेजर गुरुङले विजयको पद अनुसार बेलायत सरकारले छिट्टै क्षतिपूर्ति रकम परिवारलाई बुझाउने पनि जानकारी दिए। क्षतिपूर्ति रकमवारे भने उनले खुलाएनन्।

त्रिभुवन अन्तर्राष्टिय विमानस्थलवाट विजयको सब नेपाली सेनाको हेलिकोप्टरवाट विराटनगर विमानस्थलमा अवतरण गराएर शव बाहनमा तरहरा ल्याएको थियो।

____________________________

अफ्गानिस्तानमा मारिएका गोर्खा सैनिक विजय राई
एचकेनेपाल डट कम संवाददाता-
२८ अक्टोबर, अफ्गानिस्तानमा तालिवानहरूको आक्रमणबाट मृत्यु भएका गोर्खा सैनिक भोजपुर देउरालीका विजय राई रहेको बेलायती रक्षा मन्त्रालयले जनाएको छ।

तस्वीरः बीबीसी,
चेकपोष्ट सुरक्षामा रहंदा हतियारधारी समूहको आक्रमणबाट शनिवार २१ वर्षीय राइफलमेन विजय राई गम्भीर घाइते भएका थिए। उपचारको लागि हेलिकप्टरमा क्याम्पको अस्पतालमा लैजादँ गर्दा उनको मृत्यु भएको जनाएको छ।

राईको मृत्युपछि उनका कमाण्डिङ अफिसर लेफ्टिनेन्ट कर्नल फ्रेजरले भनेका छन् सैन्य पृष्ठभूमिबाट आएका राई आफ्नो काम र कर्तव्यप्रति अडिक, इमान्दार, खेल र संगीतप्रति अभिरूची राख्ने एक प्रतिभाशाली सैनिक थिए।

रोयल गोरखा रायफल सेकेण्ड बटालियनमा कार्यरत राईको मृत्युको खबरले उनको परिवार शोकमा डुबेको छ। उनी परिवारको कान्छा छोरा थिए। उनका बाबु र ठूलो दाजु भूतपूर्व भारतिय सैनिक हुन् भने अर्का दाजु भारतीय सैनिक सेवामा सार्जेन्टका रूपमा कार्यरत छन्। राईका आमा बाबु, दुई दाजु र दुई दिदीहरू छन्। उनी २००८ मा बेलायती सेनामा भर्ती भएका थिए।

Popularity: 6%

2 comments November 9th, 2011

गेसो सभापति गुरुङ सम्मानित

राजेश राई / एचकेनेपाल डट कम-
काठमाडौं, गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति पदमबहादुर गुरुङ सम्मानित भएका छन्।

अन्याय र बिभेदमा पारिएका बिट्रिस गोरखा सैनिकहरुलाई बेलायत सरकारबिरुद्ध कानुनी लडाई लडेर न्याय दिलाए बापत सभापति गुरुङलाई वीर झागल गुरुङ स्मृति रमा-कृष्ण जनजाति उन्नयन पुरस्कारबाट सम्मान गरिएको हो।

रमा-कृष्ण सृजना प्रतिष्ठानले राजधानीको प्रज्ञाभवनस्थित सभाहलमा गरेको बिशेष सम्मान कार्यक्रममा सभापति गुरुङलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

स्याङ्जा फेदीखोलाको तल्लो कुडुलेमा लसबहादुर गुरुङ्ग माता शुभा गुरुङको कोखाबाट बि.सं. २०११ मा जन्मिएका गुरुङले चालिसको दशकदेखि अन्यायमा परेका गोरखा सैनिकहरुको हक हितका लागि अहोरात्र गरेको बिशिष्ट योगदान कदर गदै सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ।

‘आपफ्नो व्यक्तिगत जिन्दगीलाई तिलाञ्जली दिएर सारा गोर्खालीहरुको निम्ति अहोरात्र खटिरहेको व्यत्तिलाई सम्मान गर्न पाउदा खुसी लागेको छ’ आयोजकको तर्फबाट महेन्द्र गुरुङले भने। ‘प्रजातन्त्रको पुन स्थापना लगत्तै २०४७ असार २७ गते सभापति गुरुङको नेतृत्वमा स्थापना भएको गेसोले यस गोरखा भूतपूर्व सैनिक सघंहरुको हकहितको लागि निरन्तर काम गदै आएको छ।

सम्मान कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरले सभापति गुरुङ्गलाई सम्मान गर्न पाउंदा खुसी लागेको बताए। ‘अन्यायमा परेका गोरखाहरुको अहोरात्र लड्ने नायकलाई सम्मान गर्न पाएकोमा मलाई खुसी लागेको छ’ उनले भने, ‘उहाँलाई सम्मान गर्न पाउनु मेरो पनि अहोभाग्य हो।’

सम्मान कार्यक्रममा बोल्दै सभापति गुरुङले गोरखा सैनिकहरुको पक्षमा निरन्तर लडि रहने बताए। ‘यो लडाईमा कैयन अप्ठ्यारो दिनहरु बिताएको छु, जति अप्ठ्यारो आएपनि निरन्तर लडिरहेने छु’ उनले भने। सभापति गुरुङले आफूले पाएको सम्मान गोरखा आन्दोलनका आफ्ना सहकर्मीहरुप्रति समर्पण गरिएको घोषणा समेत गरे । ‘यो लडाई म एकजनाले मात्रै लडेका होईन, मलाई साथ दिने गेसो परिवारका सबै सहकर्मीहरुप्रति समर्पण गर्न चहान्छु, यो मेरो मात्रै होईन सारा गेसो परिवारको खुसी हो’ उनले भने, ‘मेरो वा गेसको विजय सबै नेपालीहरुको विजय हो।’

कार्यक्रममा सभापति गुरुङले गेसोले अब वास्ताविक अर्थमा राष्ट्रिय स्वाधीनतको लडाई लड्ने पनि बताए । ‘बेलायतले अन्तर्राष्ट्रिय कानुनको खिल्ली उडाउदै गोर्खालीहरुलाई युद्धमा पठाएको छ। अब हामी बेलायतसंग हाम्रा पुर्खाहरुको एक एक रगत, पसिना र आशुको मुल्य माग्नेछौं,’ उनको भनाई थियो।

कार्यक्रममा वरिष्ठ साहित्यकार डा. अभि सुबेदी, प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेती लगायतले गुरुङलाई बधाई दिएका थिए। कार्यक्रममा गेसोका उपसभापति कृष्णकुमार राई, कोषाध्याक्ष जितबहादुर राई, केन्द्रीय सदस्य देबीमाया पुनलगायतको उपस्थिति रहेको थियो। गेसोका उपसभापति कृष्णकुमार राईले जिन्दगीका सभापति गुरुङ सम्मानित भएकोमा खुसी व्याक्त गरे।

Popularity: 7%

1 comment April 27th, 2011

Breaking News: भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको निधन

एचकेनेपाल डट कम संवाददाता, अप्रिल २१-
म्याग्दी, भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको ८९ वर्षको उमेरमा निधन भएको छ।

पुनको आफ्नै जन्मथलो म्याग्दीको बेगखोला गाविस-९ तिप्ल्याङस्थित घरमा बुधवार राति करीव ११ बजे निधन भएको हो।

अब सम्झना मात्र। भिसी पुन हलिउडकी अभिनेत्री जोना लुम्लेको साथ। तस्वीर सौजन्यः मिरर युके

बेलायतको चिज्विक वार मेमोरियल होममा बस्दै आएका पुन गत महिना कुल पूजाका लागि जन्मथलो म्याग्दी फर्केका थिए।

कुल पूजा लगाउने धोकोले उनलाई जन्मथलोसम्म तानेको थियो। गाउंले, इष्ट मित्रसंग राम्ररी कुरा गरेका पुनको राति एक्कासि श्वासप्रश्वासमा समस्या देखा परेपछि निधन भएको उनका जेठा छोरा अर्जुन पुनले जानकारी दिएका छन्।

सन् १९४० मा बेलायती सेनामा भर्ती भएका पुन विश्वविख्यात भिक्टोरिया क्रस विजेता हुन्।

दोस्रो विश्वयुद्ध (२३ जुन १९४४) मा बर्माको लडाइँमा देखाएको अद्वितीय युद्धकला प्रदर्शन गरेवापत उनलाई बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस प्रदान गरिएको थियो। त्यस बेला उनी बेलायत अधिनस्थ भारतिय सेनाको १०११९ नम्बर सिक्स गोर्खाराईफल्स, पल्टनमा कार्यरत थिए।

बेलायतका लागि लडेका पुनलाई स्वास्थ्य उपचारको लागि बेलायतमै प्रवेश अनुमति नदिएपछि बेलायत सरकारको चौतर्फी आलोचना भएको थियो। गोरखा भूपू सैनिक संघ (गेसो), हलिउडकी अभिनेत्री जोना लुम्ले र बेलायती जनताको अथक दवाबपछि मात्र पुनले बेलायतमा जान पाएका थिए।

सन् १९५३ मा भिसी पुन। यो तस्वीर भिसी पाएको ९ वर्षपछि खिचिएको हो। तस्वीर सौजन्यः डेली मेल युके

बेलायतीसरह गोर्खाली सेनाले पनि समान पेन्सनलगायतका सुविधा प्राप्तिका लागि न्यायिक आन्दोलनमा सक्रिय रहेका उनी अग्रपङ्तिमा रहने गर्थे।

पुनका श्रीमती ३ छोरा र ८ छोरी छन्।

पारिवरिक स्रोतका अनुसार बेलायतमा रहेका छोरा, छोरीहरु तथा आफन्त आएपछि कालिगण्डकी नदी किनारामा हिन्दू धार्मिक विधी अनुसार सद्गत गरिने छ।

भिसी पाउने जीवित दुई गोरखामध्ये उनी एक थिए। गत डिसेम्बर भिसी लक्षिमन गुरूङको निधन भैसकेको छ भने अब बोनियोको लडाइँमा भिसी पाएका रामबहादुर लिम्बु मात्र जीवित छन्।

Popularity: 7%

6 comments April 21st, 2011

बेलायतबिरुद्ध निर्णायक लडाई सुरु

राजेश राई / एचकेनेपाल डट कम-
काठमाडौं, गोरखा भूतपूर्व सैनिक सघं (गेसो)का सभापति पदमबहादुर गुरुङले बेलायतले गोर्खाली युवाहरुमाथि गरेको अन्याय र बिभेदको बिरुद्ध गोर्खाहरुले निर्णायक कानुनी लडाई सुरु गरेको बताएका छन्।

लाखौ गोर्खालीहरुलाई रगत र पसिनाको मुल्य लिनका लागि नयाँ चरणको आन्दोलन लडाई सुरु गरिएको उनले बताए।

१०१ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गोरखा भूतपूर्व सैनिक सघं उपत्यका महिला समितिले विहीबार गरेको कार्यक्रममा सभापति गुरुङले विश्वलाई मानवअधिकारको पाठ सिकाउने बेलायत सरकार आफैले लाखौ गोर्खालीहरुको मानवअधिकारको हनन गरेको दाबी गरे।

‘हामीले बेलायतसंग भिख मागेको होईनौ, हाम्रो रगत र पसिनाका मुल्य मागेका हौ’ उनले भने,’हाम्रो माग सम्बोधन गरिएन भने बेलायतको कर्तुत संसार सामु उदाङ्गो पारिदिन्छौ।’ बेलायतको बिभेदबिरुद्ध गरिने कानुनी लडाईमा नेपाल सरकारले सहयोग नगरे विश्वले सहयोग गर्ने उनको विश्वास छ।

‘नेपाल सरकार बेलायत रिसाउने डरले आफ्नै नागरिकमाथि भएको अन्याय हेरेर बसेको छ। नेपाल सरकारले सहयोग नगरे हामीलाई विश्वले सहयोग गर्नेछ’ उनले भने।

एक अर्को प्रशङ्गमा सभापति गुरुङ गोर्खालीहरुको सम्झनामा स्याङजामा गोर्खा स्मारक बनाउन लागिएको बताए। ५२ रोपनी जग्गामा बनाईने स्मारकमा विश्वभरबाट गोर्खालीका अस्तु ल्याएर राखिने उनले बताए।

महिला सभासद्हरुको समूह महिला ककसका संयोजक उषाकला राईले गोर्खा सैनिकहरुको समस्या गोर्खा समुदायको मात्रै नभएर राष्ट्रको भएकोले सरकार गम्भीर हुनुपर्ने बताईन्। यस्तै सभासद् प्रमिला राई, पर्यटन बिकास बोर्डकी उपाध्यक्ष बमकुमारी बुडा, अधिवक्त्ता शान्ति राईलगायतले गोर्खालीहरुको समस्यामा सरकार गम्भीर हुनुपर्ने बताए।

कार्यक्रममा गोसो महिला उपत्यका संयोजन समितिका सुनीता गुरुङले गोर्खाली महिलाको बिषयमा कार्यपत्र प्रस्तुत गरेकी थिईन्।

Popularity: 7%

Add comment March 10th, 2011

बेलायती अदालतमा पूर्वगोर्खा पराजित, सरकार कै पेन्सन निर्णय सदर

एचकेनेपाल डट कम संवाददाता-
बेलायत सरकारले त्यहाँको उच्च अदालतबाट भूपू गोरखा सैनिकसम्बन्धमा भएको निणर्यको स्वागत गरेको छ।

बेलायती राजदूत डा. एन्ड्रयू हलले एक विज्ञप्ति प्रकाशित गरी उक्त अदालतको आदेशले बेलायत सरकारको गोरखा पेन्सन योजना नै सही र न्यायोचित भएको पुष्टि गरेको बताउनुभएको छ।

उहाँले गोरखा सैनिकहरूले संयुक्त अधिराज्यका लागि साहस र बलिदानीका साथ सेवा गरेको स्मरण गर्दै हाल भइरहेको व्यवस्था बमोजिम उनीहरूको सम्मान र सुविधा प्रदान गर्दै जाने बताउनुभयो।

अब सन् १९९७ जुलाई १ र त्योभन्दा पछाडि अवकास हुने भूपू गोरखाका सैनिकले सशस्त्र बल पेन्सन योजनाअन्तर्गत सुविधा पाउने छन् भने त्यो भन्दाअघि निवृत्त हुनेले गोरखा पेन्सन योजना अनुसार नै पाउने निर्णयलाई अदालतले उचित ठहर्‍याएको छ।

Popularity: 8%

Add comment January 12th, 2010

जोआनालाई माइतीघरमा निम्तो

डा.चन्द्रबहादुर गुरुङ
जोआना लुम्लीको माइती नेपाल हो। उनी नेपालकी छोरी हुन्। यहि जुलाई २५ देखि १ अगस्ट २००९ सम्म उनले नेपालको भ्रमण गर्ने भएकी छन्। अहिले नेपालमा हरेक गोर्खाहरु पूर्वका कांकडभित्ता र धरानमा, पश्चिमको लुम्बिनी र पोखरामा र अरु देशबासीको तर्फबाट, नेपाल सरकार, नेपाली जनता र नेपाली संघ संस्था सबैले उनलाई नागरिक अभिनन्दन गर्ने भएका छन्। अहिले बिशेष गरी गोर्खा भूपू, उनका बिधवा र अन्य परिवारहरु जोआनालाई हेर्न आत्तुर भएका छन्।

नेपाल र बेलायतका छापा र सञ्चार माध्यमहरुका पाना र टेलिभिजनका स्क्रीनहरुमा उनको बिशेष चर्चा हुने गरेको छ। सबै गोर्खा सैनिकहरुका संघ संस्थाहरु जोआनाको स्वागत अभिनन्दनमा जुटेका छन्। माइतीको कुकुर पनि प्यारो भने झै उनी पनि नेपाल पुग्न आत्तुर भएकी छिन्।


फाइल तस्वीरः मिलन तमु, युके / एचकेनेपाल डट कम

जोआना लुम्ली को हुन् र गोर्खा आन्दोलनमा किन यति सकृय रुपमा लागिन? यसको आफ्नै ऐतिहासिक पृष्ठभूमि छ। आन्दोलनको हरेक पिरामिड चढ्ने क्रममा कति पटक ब्रिटिस रक्षा मन्त्रालयले उनको घांटी दबाउने प्रयास गरे, गोर्खा ब्रिगेड एशोसियशनका टपब्रासहरुले उनलाई घमण्डी र मुर्खको संज्ञा दिए, तर पनि यो आन्दोलनको पछाडि सिंगो बेलायती जनता भएकोले सफलताको शिखरमा पुगेको हो। उनले आन्दोलनको क्रममा यतिसम्म भनिन् कि ‘यदि यो सरकारले गोर्खाहरुको आवासिय माग पूरा गरेन भने, मैले बेलायती नागरिक परित्याग गरी इन्डियाको नागरिक बन्ने छु’ भन्ने सम्मको घोषणा गरिन्। उनी सन् १९४६ मा भारतको काश्मिर राज्यको राजधानी श्रीनगरमा जन्मेकी हुन्। यो उनको कुनै राजनैतिक चालबाजी वा राजनितिज्ञहरुको जस्तो झुटको खेति गर्ने नीति पनि थिएन। यो उनको अन्तरात्माको क्रन्दन थियो। आवासिय अधिकारको अन्तिम लडाई उनले २१ मे को दिन प्रधानमन्त्री गोर्डन ब्राउनको टेन डाउनिङ स्ट्रिट सरकारी आवासको बगैचा पार्टीमा गएर बिसाईन्। उनको महान बलिदान, उच्च आदर्श र अत्यन्त कुटनैतिक चातुर्यको कारणले गोर्खा आन्दोलन निश्कर्षको बिन्दूमा पुग्न सकेको हो। यो लडाईमा गोर्खाहरुको अधिकार सुरक्षित हुन सक्ने कमै संभावना थियो। उनी निश्चित लक्ष्य र दिशा तय गरी अगाडि बढिन्। सबै गोर्खाहरु उनको पछि लागे र उनले न्यायपालिका, ब्यवस्थापिका र कार्यपालिकालाई गोर्खाहरुको पक्षमा उभ्याउन बाध्य गराईन्। सञ्चार माधयमहरुलाई गतिलोसंग परिचालन गरिन्। यस महान कामको लागि जोआना, गोर्खा र उनीहरुको बिधवा परिवारहरुको मन मस्तिष्कमा सधै ताजा रहने छ।


२४ अप्रिलको बिहानको ९ बजेको थियो। जोआना, पिटर क्यारोल, गोर्खा वकिलहरु मार्टिन हृवो, डेभिर्डर् इन्राईट, किरण ओरुक, डेभिड हृवो, फोक्सटन टाउन काउन्सिलर धन गुरुङ, गोर्खा आन्दोलनका नेता पदमबहादुर गुरुङ, भीक्टोरीया क्रस बिजेताद्वय तुलबहादुर पुन र लछिमान गुरुङ र अन्य गोर्खा भूपूहरु बेलायती संसद परिसरभित्र थिए। हामी सबै गोर्खा नीतिको पर्खाईमा थियौं। ठीक १० बजे बडो दुःखको साथ गोर्खा वकिल मार्टिन हृवो सेन्ट्रल हलको लबिबाट आई गोर्खा नीतिका प्रतिहरु बांडे। एकप्रति जोआना लुम्लीलाई पनि दिईयो। सबै चुपचाप स्तब्ध भएर डेढ् पाने गोर्खा नीति पढ्न थाले। जोआनाका आँखाबाट आँसुका धाराहरु बग्न थाले। उनले संसद भवन बाहिरको पत्रकारहरुको भिडमा बघिनी झै गर्जेर उद्घोष गरिन् जबसम्म गोर्खाहरुले चलाएको न्यायिक आन्दोलन सफल हुदैन, तबसम्म आफूले बिश्राम नलिने कुरा बताईन्। त्यसपछि जोआनाले संक्षिप्त रुपमा गोर्खा नीतिको वाचन र ब्याख्या गरिन्। त्यसबेला पटक पटक वाक्य फुटेन र रुदै संक्षिप्त जानकारी दिईन्। त्यसैबेला गोर्खा वकिल डेभिड इन्र्राईटले पनि आँखाभरी आँसु गरी सरकारको कडा बिरोध गरे।

वास्तवमै अदालतको फैसला पछिको सरकारको गोर्खा नीति ज्यादै अपमानित फैसला थियो। अदालतको फैसलालाई अपब्याख्या गरिएको थियो। यसैले जोआना, पिटर क्यारोल र गोर्खा वकिलहरुसंग बसेर यस अवस्थामा अब के गर्ने भन्ने संकटकालिन बैठक बस्यो र सामुहिक निर्णय पनि भयो। यो आन्दोलनमा सिङगो लिबडेम पार्टी संलग्न भएकोले २९ अप्रिलमा संसदमा सरकारले गरेको नीतिको बिरुद्धमा छलफल र मतदान गराउन संसदमा मोशन जारी गर्ने कुरा भयो। जोआनाले लिबडेम पार्टी संसदीय दलका यूवा नेता नीक क्लेगसंग भेट गरिन्। पत्रकार सम्मेलनहरु भए। गोर्खाहरुको आवाज सार्वजनिक भयो। २९ अप्रिलमा गोर्खाहरु र बेलायती जनताहरुलाई संसद भवन अगाडि भेला हुन अनुरोध भयो। त्यसदिन बिभिन्न प्लेकार्डहरु लिएर वेस्टमिनिस्टरमा जम्मा भए। त्यसै माहोलमा तमूधीं युके पाँचौ कार्यसमितिको निर्णय अनुसार सात इकाईहरुको तर्फबाट एक्यबद्धता जनाउन ठुलो ब्यानर प्रदर्शन गरिएको थियो। सुरुमा संसद भवन जानुभन्दा अघि, केही सांसदहरुले आफ्नो अभिमत ब्यक्त गरे र संसदभित्र प्रवेश गरे। त्यसबेला संसद भवनको अगाडि गोर्खाहरुले कार्यक्रम सञ्चालन गरिरहेका थिए। पहिलो चरणको कार्यक्रम १२ बजे सिद्धियो र संसद भित्रको पर्खाईमा हामीहरु बस्यौं।

ठिक १.४४ बजे लिबडेम पार्टीका सांसद क्राईस हुन्ले पार्टीको तर्फबाट गोर्खा आवासिय अधिकार सम्बन्धी सरकारको आत्मघाती फैसलाको बिरुद्धमा संसदमा मोशन टेबुल गरे। यो बहस ४ बजेसम्म चल्यो। २ घण्टा १६ मिनेटसम्म संसदमा बिशेष छलफल भयो र त्यसपछि मतदान भयो। सरकारको पक्षमा २४६ र बिपक्षमा २६७ मत पर्यो र सरकार २१ मतले हार्यो। यसरी इतिहासमा पहिलो पटक गोर्खाहरुको बिषयमा छलफल भै संसदबाट सरकारको हार भयो। गत बर्ष३० सेप्टेम्बरमा सर्वोच्च अदालतले र २९ अप्रिलमा संसदले सरकारलाई नराम्रोसंग हर्राई दियो। यो गोर्खाहरुको पक्षमा ऐतिहासिक बिजय थियो।
त्यसबेलाको संसद भवन अगाडिको माहोल अत्यन्त शालिनता र गौरवमय थियो। ठिक ४.३० बजे लिबडेम पार्टी संसदीय दलका नेता माननीय नीक क्लेग, कन्जरभेटिक पार्टीका संसदीय दलका नेता माननीय डेभिड् क्याम्रुन, अल पार्टीका होम ओफियर्श कमिटीका प्रमुख माननीय किथ भाज र जोआना लुम्ली अरु संसद सदस्यहरुको साथ संयुक्त रुपमा संसद भवनबाट निस्की गोर्खाहरु भएको ठाउमा आए। यो अत्यन्तै एतिहासिक क्षण थियो। सबै नेताहरुले आआफ्नो अभिमत जाहेर गरे र अझै आन्दोलन सरकारले कार्यान्वयन नगरुन्जेलसम्म नसिद्धिएको उद्घोष भयो। त्यसैबेला जोआनाले दाबबाट खुकुरी निकालेर ‘आयो गोर्खाली’ भनेर उद्घोष गरिन्। युद्ध मैदानमा दाबबाट निस्केको खुकुरी कसैलाई नगेंडी दाबभित्र पस्दैन भन्ने गोर्खा परम्परा छ। त्यसपछि तुरुन्तै सरकारले २१ मे मा गोर्खा नीति फेरी सार्वजनिक गर्ने कुरा जानकारी दिए। मे को ५, ६ र ७ तारिखमा अध्यागमन मन्त्री फिल् उलास् र जोआनाको बीचमा घम्सा घम्सी चल्यो। त्यसै हप्ता जोआनाले प्रधानमन्त्रीसंग भेटिन्। तर यसो हुदाहुदै पनि ६ मे मा लिड्केशमा परेका ज्ञानेन्द्र राईलगायत अरु ५ जनाको आवासिय भिसा रद्द भएको जानकारी गोर्खा वकिलहरुलाई भयो। त्यसपछि प्रधानमन्त्री र अध्यागमन मन्त्रीहरुले आफूहरुले भूल गरेको नभै राजदुतावासहरुमा कर्मचारीहरुबाट भूल भएको कुरा स्वीकार गरे। सरकारले २१ मे मा परिमार्जित गोर्खा अध्यागमन नीति सार्वजनिक गर्ने कुरा जानकारी दिए। गोर्खाहरु गोर्खा नीति कस्तो आउला भन्ने कुरामा उत्सुक भए। गोर्खाहरु, नेपाली संघ सस्थाहरु र गोर्खाहरुप्रति शुभेच्छा राख्ने बेलायती जनताहरुको फेरी पार्लियामेन्ट स्क्वायर अगाडि जम्मा भयो। दिउसो ठिक १२.१३ बजे गृहमन्त्री ज्याकी स्मिथले नयां गोर्खा नीति संसदमा पेश गरिन्। लगभग पौने एक घण्टासम्म छलफल भयो र नयां गोर्खा नीति संसदबाट पारित भयो।

संसद भवनभित्र गृहमन्त्री ज्याकी स्मिथले गोर्खा नीति टेबुल गर्ने क्रममा बाहिर जोआनाले रेडियो हातमा लिई घोषणाको अक्षरस शब्दहरु सबैको जानकारीको लागि सुनाई रहेकी थिईन्। जब गृहमन्त्रीले सबै गोर्खाहरुलाई आवासिय भिसा दिने घोषणा भयो, फेरी एक पटक जोआनाले हर्षको आँसु बगाईन्। गोर्खाहरुलाई अत्यन्त आत्मियताको अभिवादन गरिन्। त्यसको सांझ ५ बजे प्रधानमन्त्रीको टेन डाउनिङ स्ट्रीटमा भएको जलपानमा सबै सरिक भए। प्रधानमन्त्रीलाई बिशेष गरी गेसोका सभापति पदमबहादुर गुरुङले अत्यन्त हार्दिकताको साथ धन्यबाद दिए। प्रतिउत्तरमा प्रधानमन्त्रीले सबै गोर्खाहरुलाई बधाई दिए। त्यस जलपान माहोलमा आन्दोलनका महान योद्धा मात्र नभै दोस्रो बिश्व युद्धका लडाकुहरु तुलबहादुर पुन भी.सी. र लक्षिमान गुरुङ भी.सी.को पनि उपस्थिती थियो। सांचो अर्थमा २९ अप्रिलमा दाबबाट निस्केको खुकुरी २१ मे को बेलुकी टेन डाउनिङ स्ट्रिटमा आएर मात्र दाबभित्र छिरेको छ। यो कुरा उनले बिजयपछि सार्वजनिक रुपमा बताएकी थिईन्।

यो न्यायिक गोर्खा आन्दोलनमा सबैको भूमिका त्यत्तिकै महत्वपूर्ण रहेको छ। एक अर्काको उपस्थितीमा बिजय भएको छ। एउटाको मात्र अभावमा आन्दोलन सफल हुन सक्ने थिएन। अदालतले बिजयको फैसला नगरेको भए, संसदले सरकारको नीतिलाई असफल नबनाई दिएको भए, सरकारले गोर्खा नीति कार्यान्वयन नगरेको भए, तुलबहादर पुन भी.सी. आन्दोलनमा सरिक नभएको भए, लिबडेम सिङगो पार्टीले नेतृत्व नगरेको भए, १८ बर्षदेखि गेसोका सभापति पदमबहादुर गुरुङले आन्दोलन नहाँकेको भए, हृवो एण्ड को जस्तो वकिलहरुको संलग्नता नभएको भए र जोआना लुम्ली जस्तो महान अभियानकारीले बेलायती जनता र सञ्चार माध्यमहरुलाई नतताएको भए आन्दोलन सफल हने थिएन। हिमाल र डांडाकांडाको जंगलहरुबाट निख्रेर तल झर्दै रसाएको पानीबाट खोलानाला र त्यसपछि नदी हदै त्यसपछि महासागरमा समाहित भए जस्तै यो आन्दोलनमा सबैको सकृय र सहयोगमा बिजय भएको छ।

जोआना नेपालका हजारौ भूपूहरुका छोरी हुन्। उनी द्धितीय बिश्व युद्धपछि मात्र जन्मेकी हुन्। उनका पिता मेजर जेम्स् लुम्ली राईफलम्यान् तुलबहादुर पुनको कम्पनी कमान्डर थिए। बर्मा फ्रन्टमा २३ मे १९४४ मा जापानीजसंग भएको घमासान युद्धमा घायल भएको मेजर लुम्लीलाई राईफलम्यान तुलबहादुर पुनले आफ्नो ज्यानको प्रवाह नगरी दुश्मनको फायरिङ रेञ्जबाट सुरक्षित ठाउमा कांधमा बोकी नल्याएको भए, मेजर लुम्ली त्यस युद्धमा मारिने थिए। युद्ध भूमीमा भएको यस गुणलाई मेजर लुम्लीले कहिल्यै पनि बिर्सेको थिएन। जोआना भन्छिन् ‘यदी मेरो बाबा लडाईमा नबाँचेको भए म जन्मने थिएन । सन् १९४४ को युद्धमा मेरो बाबालाई तुल बहादुर पुनले बचाई दिएको भएको हो। लडाईको दुई बर्षपछि म जन्मेकी हुँ’। यसैले अर्को अर्थमा भन्नु पर्दा तुलबहादुर पुन भी.सी. उनका पिता हुन्। यसैले पनि जोआना नेपालकी छोरी हुन्।
(लेखक गेसोका संस्थापक महासचिब तथा सल्लाहकार हुन्। सं.)

पाठक विचार- यहाँ क्लिक गर्नुहोस्

Popularity: 9%

27 comments July 25th, 2009

सिंगापुरे पूर्व गोर्खा प्रहरीहरू पनि आन्दोलित

एचकेनेपाल डट कम संवाददाता-
सिंगापुर प्रहरीबाट सेवानिवृत्त गोर्खा प्रहरीहरूले आफूहरूमाथि भेदभाव भएको भन्दै त्यसविरूद्ध आन्दोलन गर्ने घोषणा गरेका छन्। राजधानीस्थित शान्ति बनबाटिकामा शनिवार आयोजित भेलाले पूर्व सिंगापुर प्रहरीहरूले न्याय प्राप्तिका लागि आन्दोलन गर्ने घोषणा गरेको हो।

भेलाले चरणबद्ध आन्दोलन गर्न र संगठित भएर अगाडि बढ्न बलराम थापामगरको अध्यक्षतामा गोर्खा एक्स सिंगापुर पुलिस एसोसिएसन गेस्पासमेत गठन गरेको छ।

आफूहरुमाथि विभेद गरिएको, विभेदविरुद्ध आवाज उठाउनेमाथि षड्यन्त्रमूलक ढंगले कारबाही गरिएको, नेपाल सरकारले आफ्ना नागरिकको हकहितका लागि आवश्यक कदम नचालेको भन्दै उनीहरूले आन्दोलनको घोषणा गरेका हुन्। उनीहरूले पहिलो चरणको आन्दोलनको रूपमा नेपाल र सिंगापुर सरकारलाई आफूहरूमाथि भएको विभेदबारे ज्ञापन पत्र बुझाउने भएका छन्।

सिंगापुरमा विभेदविरुद्धको आन्दोलन गरिरहेका १७ गोर्खाहरूलाई कारवाही गरिएको दिनको मिति पारेर आन्दोलन थाल्ने बताएका छन्। उनीहरूले समान तलब सुविधा, सिंगापुरमा जन्मे हुर्केका प्रहरीका बालबच्चालाई नागरिकताको व्यवस्था, प्रहरी सेवामा रहंदा पुगेका परिवारलाई काम गर्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्ने माग राख्ने बताएका छन्।

Popularity: 10%

44 comments June 13th, 2009

बेलायतको बिभिन्न क्षेत्रहरुमा गेसो समिति गठन

चक्रबहादुर राई, फोक्स्टन, बेलायत / एचकेनेपाल डट कम-
गोर्खा भूतपूर्व सैनिक संघ(गेसो) केन्द्रीय कार्य समितिको आयोजनामा आइतवार फोक्स्टनमा सम्पन्न भेलाले संघका महासचिब महेन्द्रलाल राईको सभापतित्वमा गेसो नयाँ कार्य समिति फोक्स्टन गठन गरेको छ।

गेसोको हालै काठमाडौंमा सम्पन्न राष्ट्रिय महाअधिबेशनबाट बिधिबतरुपमा बेलायतको गेसो समिति बिघटन भएपछि बेलायतको बिभिन्न क्षेत्रहरुमा गेसो समिति गठन गर्ने निर्णय गरिएको हो। गेसोले आफ्नो संगठनलाई अझ सशक्त पार्दै बेलायतका सबै ठाउंहरुमा संगठन बिस्तार गर्ने र गोर्खाहरुको शान्तिपूर्ण आन्दोलनलाई अगाडि बढाई समानताको लडाईंलाई चरम बिन्दुमा पुर्याउने र गोर्खाको पक्षमा अधिकार सुनिश्चित गर्न थप अभियान सुरु गरिएको हो।

हालसम्म गेसो रिडिङ, ग्रेज, प्लमस्ट्रिट, बेइजिङ स्टोर्क, फानबोरो, साउथ लनडन मोडेन, नर्थहल्ट, आसफोर्ड र फोक्स्टन समितिलगायत जम्मा ९ स्थानहरुमा गठन गरिसकिएको छ भने बाँकी ठाउँहरुमा चाडै गठन हुने तयारीमा रहेको छ। प्रेमबहादुर शिरिशको सभापतित्वमा फोक्स्टनमा २१ सदस्यीय नयाँ समितिको गठन गरेकोछ। अन्य पदाधिकारी र सदस्यहरुमा उप-सभापति नरबहादुर तामाङ, उप-सभापति कल्पना तामाङ, सचिब बसुन्धरा राई, सह-सचिब जीवनप्रकाश राई, कोशाध्यक्ष मिनाकुमारी राई, सदस्यहरु ओमकुमारी पुर्जा पुन, टिकाराम राना, घमानसिंह घर्ति मगर, निर्मला राई, भोजबहादुर गुरुङ, दुर्गाप्रसाद राई, डम्बरबहादुर पुन, सूर्यप्रसाद राई, रिपुधन राई, सशि पुन, झपिन्द्र थापा, टिकासिंह ठकुरी, प्रेम तामाङ, रामकुमारी पुन र ठाकुरसिंह आले रहेका छन्।

त्यसैगरी, सल्लाहकार समितिमा धनबहादुर लिम्बू, जसबहादुर राई, देवेन्द्र गुरुङ, फिस्टबहादुर राई, नरबहादुर पुन, लछिमबहादुर राई, ध्यानबहादुर राई, द्रिपालाल राई, बिरध्वज लिम्बू र लालबहादुर राई रहनु भएकोछ। कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव कमला गुरुङले गर्नुभएको थियो भने अन्य उपस्थितिमा केन्द्रीय सदस्यहरु निलम राई, प्रेम गुरुङ, चक्रबहादुर राई तथा मध्य पश्चिमाञ्चल क्षेत्रीय सदस्य श्री प्रसाद गुरुङको उपस्थिति थियो।

४७ जनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा नवगठित समितिलाई संघका महासचिब महेन्द्रलाल राईले खादा ओढाई बधाई तथा शुभकामना दिएका थिए। फोक्सटन समिति गेसोको बाँकी लडाईंमा जुनसुकै हालतमा भएपनि आफ्नो पक्षमा फैसला नभएसम्म त्यसबिरुद्ध आगामी दिनमा समानताको लडाईं लडिरहने जनाएको छ।

Popularity: 11%

7 comments June 1st, 2009

Gurkha News: गोर्खाको ऐतिहासिक जीतः सबै गोर्खालाई आवासीय भिसा (+Video)

गोर्खाको ऐतिहासिक जीतः सबै गोर्खालाई आवासीय भिसा
एचकेनेपाल डट कम संवाददाता-
बेलायती सेनाबाट अवकाश पाएका सबै पूर्वगोर्खाले आवासीय भिसा पाउने भएका छन्। बेलायतको संसदमा विहीबार गृहमन्त्री ज्याक स्मिथले सम्बोधन गर्दै सबै पूर्वगोर्खाले आवासीय भिसा पाउने घोषणा गरेकी हुन्। ब्रिटीस सेनामा कम्तीमा ४ वर्ष सेवा गरी सन् १९९७ अघि अवकाश पाएका पूर्वगोर्खाहरूले समेत आवासीय भिसा पाउने भएका छन्।

बीबीसी रिपोर्ट हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।

जीतको खुसियाली


गोर्खाहरूसंग जीतको खुसियाली साट्दै अभिनेत्री जोअना लुम्ले। तस्वीरः एचकेनेपाल डट कमको लागि मिलन तमु, बेलायत। थप तस्वीरहरू हेर्न यहाँ यहाँ क्लिक गर्नुहोस्।

पाठक प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्।

Popularity: 11%

70 comments May 21st, 2009

सबै गोर्खालाई आवासीय भिसा

साभारः खिम घले / कान्तिपुर
काठमाडौं, जेठ ७ - बेलायती सेनाबाट अवकाश पाएका सबै पूर्वगोर्खाले आवासीय भिसा पाउने भएका छन्। बेलायतको संसदमा बुधबार सवालको जवाफ दिँदै त्यहाँका प्रधानमन्त्री गोर्डेन ब्राउनले भने, ‘पूर्वगोर्खाले आवासीय भिसा पाउने विषयमा गृहमन्त्री ज्याक स्मिथले बिहीबार सम्बोधन गर्नेछन्।’ ‘जो पूर्वगोर्खा यो मुलुकमा आउन चाहिरहेका छन्, उनीहरूप्रति हाम्रो गहिरो सद्भाव छ,’ ब्राउनलाई उद्धृत गर्दै बेलायती समाचार पोर्टलहरूले उल्लेख गरेका छन् । उनले गृहमन्त्रीले बिहीबार गर्ने सम्बोधनले गोर्खाहरूप्रति बेलायतको प्रतिबद्धता पूरा हुने विश्वाससमेत व्यक्त गरेका छन्।


फाईल तस्वीरः मिलन तमु, बेलायत / एचकेनेपाल डट कम

गोर्खाली अभियानलाई सघाउँदै आएको बेलायती पत्रिका मिररको अनलाइन संस्करणले एक कदम अगाडि बढेर भनेको छ, ‘मिररको अभियानले सबै गोर्खालाई बेलायत बस्ने अधिकार दिलाएको छ।’ उसले मिरर, सांसदहरू र अभिनेत्री जोहन लुम्लेलगायत धेरै शुभेच्छुकको अभियानका कारण गोर्खाहरूले अधिकार पाएको उल्लेख गरेको छ। ‘गोर्खाहरूले कमनवेल्थ मुलुकका बेलायती सेनामा काम गरेका नागरिकले जत्तिकै अधिकार पाउने छन्,’ बेलायतमै रहेका भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) का अध्यक्ष पदमबहादुर गुरुङले कान्तिपुरसँग टेलिफोनमा भने, ‘हामीले बेलायती प्रधानमन्त्रीलाई धन्यवाद दिन जाने कार्यक्रम बनाएका छौं।’

उनले नेपाली बुद्धिजीवी, मिडिया र जनताले आन्दोलनमा दिएको सहयोगप्रति धन्यवादसमेत दिए। ‘म यो खुसी सबैसँग बाँड्न चाहन्छु,’ उनले भने। यसअघि बेलायतले सन् १९९७ पछि अवकाश पाएकालाई मात्र आवासीय भिसा दिएको थियो। यसविरुद्ध गेसोले बेलायती उच्च अदालतमा मुद्दा दायर गरेको थियो। उच्च अदालतले गत असोजमा गोर्खालाई जिताए पनि बेलायती गृह मन्त्रालयले सबैलाई आवासीय अधिकार दिन इन्कार गरेको थियो।

बेलायती सेनामा भर्ती हुन थालेको झन्डै दुई सय वर्षमा गोर्खाहरूले यो अधिकार प्राप्त गरेका हुन्। पूर्वगोर्खाले बेलायतीसरह अधिकार माग्दै आन्दोलन गरेको १५ वर्षभन्दा बढी भएको छ। समान पेन्सन र सुविधा माग गर्दै सुरु गरेको संघर्ष झन्डै चार वर्षअघि मात्र मुलुकको सीमा काटेर बेलायती अदालत पुगेको थियो।

यो निर्णयले युद्धपछि बिनापेन्सन बाटो खर्च दिएर पठाइएका पूर्वगोर्खालाई प्रत्यक्ष फाइदा पुग्नेछ। जुनसुकै मुलुकमा रहेर पनि बेलायती सेनामा चार वर्ष काम गरेकाका लागि बेलायत जाने बाटो खुल्ला हुनेछ। कल्याणकारी पेन्सन लिएर गुजारा चलाइरहेका वृद्ध र विधवा गरी करिब १५ हजारलाई बेलायतमा प्रवेश गराउनेछ।

Popularity: 11%

7 comments May 21st, 2009

नयाँ फैसलाप्रति गोर्खालीहरुमा व्यापक असन्तुष्टी

भूमिराज राई / एचकेनेपाल डट कम -
बेलायती सरकारले सबै गोर्खालीहरुलाई युकेमा बस्ने सुबिधा प्रदान गर्ने विषयमा सिमा-बन्धन तोकेपछि समानताको लडाईं लडिरहेका गोर्खाली र उनीहरूका समर्थकहरुमा व्यापक असन्तुष्टी बढेकोछ।

अदालतले सबै गोर्खालीहरुलाई आवासीय सुबिधा प्रदान गर्न दिएको आदेशको बेवास्ता गर्दै सिमित गोर्खालीहरु जो गम्भीर घाइते वा विमार, युद्धमा बहादुरीता कमाएका बहादुरहरुलाई मात्र आवासीय अधिकार दिने कुरा गृह प्रशासनले प्रकाशमा ल्याएको छ। गोर्खा समानता अभियानमा संलग्नहरुले यो सिमा परिधिभित्र छिर्न सक्नेहरुको संख्या एक सयको हाराहारी मात्रै रहेको बताएका छन्।

४० हजार जतिले आवासीय सुविधाको फाईदा लिने आशा गरिए पनि करीव ४ हजार ३ सय जतिले यो अधिकार पाउन सक्ने गृह प्रशासनले जनाएको छ।

गोर्खा मुद्दा अभियानकी एक सशक्त सदस्य नायिका जोअना लुम्ले (जसको पिता गोर्खालीहरुसंगको युद्ध मोर्चामा सहभागी भएर लडेका थिए) उनले यो घोषणालाई सरकारको ‘लज्जास्पद’ निर्णय भनेकी छन्। नायिका लुम्लेले यसलाई “गोर्खाहरुप्रतिको प्रत्यक्ष असमानताको प्रमाण” भनेकी छिन्।

गोर्खालीहरु बिगत दुईसय बर्षदेखि ब्रिटिश सेनाका अभिन्न भागका रुपमा रहदै आएका छन्। पहिलो र दोश्रो विश्वयुद्धमा झण्डै २ लाख गोर्खालीहरुले ब्रिटिश साम्राज्यका निम्ति लडेका थिए। युद्धका क्रममा ४५ हजारदेखि ६० हजार बढीले ज्यान गुमाएका थिए। १३ जनाले ब्रिटिश सेनाको सर्बोच्च सैनिक पदक भिक्टोरिया क्रस प्राप्त गरेका थिए।

सन् १९९७ अघि अवकास पाएका गोर्खालीहरुलाई आवासीय सुविधा नदिने निर्णयपछि एकै खाले गोर्खालीहरुलाई छुट्टा छुट्टै सुविधा दिएर भेदभाव गरेको भन्दै कानुनी उपाचारको निम्ति अदालतको ढोका ढक्ढकाउदै गोर्खालीहरु न्यायको निम्ति समान अधिकारको अर्को चरणको संघर्षमा उत्रिएका थिए।

हाइ कोर्टले मुद्दाको फैसला गर्दै १९९७ अघि सेवा निवृत्त गोर्खालीहरुमाथि अन्याय भएको ठहर गर्दै सो निर्णयलाई तुरुन्त बदल्न र समान अधिकार प्रदान गर्न आदेश दिएपछि गोर्खालीहरु माझ खुशीको लहर छाएको थियो। सरकारले कस्तो निर्णय गर्ने हो भन्ने कुराको ब्यग्र प्रतिक्षा गरिरहेका गोर्खाली र उनीहरुका परिवारहरुमा बेलायती सरकारको यो निर्णयले निराशा बनाईदिएको छ।

काइ कोर्टको फैसलापछि समान अधिकारका लागि लडिरहेका गोर्खा अभियानका योद्धाहरुले समानताका लागि अझै लडिरहने प्रतिबद्धता जाहेर गरेका छन्।

Popularity: 10%

4 comments April 25th, 2009

बी.एफ.बी.बी.एस.को वार्षिक बैठक सम्पन्न

योगराज राई, बेलायत / एचकेनेपाल डट कम -
प्रत्येक वर्ष हुने बी.एफ.बी.एस. गोर्खा रेडियो युकेको बैठक यो वर्ष पनि अप्रिल १७ तारिखका दिन सोर्नल्किप केन्टस्थित टु आरजीआर, सेकेण्ड बटालियनको बैठक कक्षमा सम्पन्न भयो।

बैठकको प्रमुख उद्धेश्य सबै गोर्खाली पल्टनका प्रतिनिधिहरुलाई आमन्त्रण गरी उहाँहरुले आआफ्नो पल्टनबाट ल्याउनु भएको कार्यक्रम सम्बन्धी एजेण्डाहरुमाथि छलफल गर्नु रहेको थियो।

सहभागी सबै प्रतिनिधिहरुलाई बी.एफ.बी.एस. गोर्खा रेडियो युकेका महाप्रबन्धक श्री खेम गुरुङले स्वागत गर्नुहुँदै बी.एफ.बी.एस.प्रति सबै पल्टनले देखाएको माया, सद्भाव र प्रेरणाको प्रसंशा गर्नु भएको थियो।

बैठकमा बी.एफ.बी.एस. गोर्खा रेडियो युकेको नेर्टवर्क प्रोग्राम डाइरेक्टर विनोदध्वज खड्का, योगराज राई, सिरीश सुनुवार र आशा पुनको पनि सहभागिता रहेको थियो। त्यस्तै, क्युओजीएलआरबाट मेजर ज्ञानबहादुर लिम्बू एम्भीओ, गोर्खा कम्पनी सिताङबाट एक्टिङ मेजर टेकबहादुर घर्ति, टु आरजीआरबाट क्याप्टेन जोगेन्द्रसिङ्ग लिम्बू, हलाभिङटन क्युओजीएलआरबाट क्याप्टेन टीकाप्रसाद राई र ब्रिगेड ब्याण्डबाट भगीमान लिंदेनको उपस्थिति रहेको थियो।

सहभागी सबै प्रतिनिधिहरुले गोर्खा रेडियो युकेले पुर्याउदै आएको अतुलनिय योगदानको प्रसंशा गर्नुहुँदै सबै उमेर समूहका श्रोताहरुको चाहनालाई समेटेर कार्यक्रम सञ्चालन गर्दै गएमा अझ गोर्खा रेडियोको लोकप्रियता बढ्ने कुरामा आफूहरु विश्वस्त रहेका कुरा ब्यक्त गर्नुभएको थियो।

कार्यक्रमको अन्तमा बी.एफ.बी.एस. गोर्खा रेडियो युकेका महाप्रबन्धक श्री खेम गुरुङले सबै पल्टनका एजेण्डाहरुलाई हृदयंगम गरी कार्यक्रमलाई आउँदा दिनहरुमा अझ परिमार्जन र श्रोतामूखि बनाउँदै लैजाने धारणा ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।

Popularity: 10%

Add comment April 23rd, 2009

गेसोको महाधिवेशन सुरु

एचकेनेपाल डट कम संवाददाता-
गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) को दोस्रो राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु भएको छ। नेकपा (एमाले) का अध्यक्ष झलनाल खनाललेमहाधिवेशनको उदघाटन गर्दै सन् १९४७ मा नेपाल-भारत र बेलायतबीच सम्पन्न त्रिपक्षीय सन्धि खारेज गर्नुपर्ने बताउनुभयो।

उहाँले गोरखा भर्तीको वैधानिकता अपूर्ण रहेको बताउँदै यसलाई समायानुसार बदल्न जरुरी रहेको धारणा राख्नुभयो।

अध्यक्ष खनालले ठोस योजना बनाएर थप उपलब्धिका लागि लाग्न भूपू गोरखा सैनिकलाई सुझाव दिनुभयो।

महाधिवेशनमा भाग लिन ५२ जिल्लाबाट तीनसय प्रतिनिधि आएको गेसोका अध्यक्ष पदमबहादुर गुरुङले जानकारी दिनुभयो।

उहाँले बेलायती सेनासरह गोरखा सेनाले पेन्सन, तलबलगायतका सुविधा नपाउँदासम्म गेसोको आन्दोलन जारी रहने बताउनुभयो।

यही चैत २५ गतेसम्म चल्ने महाधिवेशनले पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

महाधिवेशनको कार्यतालिका अनुसार चैत २४ र २५ गते सङ्घको बन्दसत्र चल्ने छ।

गेसोले आफ्नो आन्दोलनलाई सहयोग पुर्याएको भन्दै डा. सुरेन्द्र केसी, विष्णु गुरुङ, नवराज राई र कानसिंह थापालाई सम्मान पनि गरेको छ।

Popularity: 9%

1 comment April 6th, 2009

गेसोमा मेरो आबद्धता र वास्तविकता - गोपाल चिन्तन

गेसोमा मेरो आबद्धता र वास्तविकता
गोपाल चिन्तन, लण्डन / एचकेनेपाल डट कम, जनवरी १७ -
विगत केही समय यता हाम्रो प्यारो आन्दोलनकारी संस्था गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापतिका हैसियतले पदमबहादुर गुरुङले विगत आठ वर्षदेखि निरन्तररूपमा यस संस्थाको पूर्णकालीन कानुनी सल्लाहकार तथा अभियानकर्ता रही काम गर्दैआएको व्यक्ति ममाथि सार्वजनिकरूपमा लगाएका आरोपहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

सभापति गुरुङका यी आरोपहरू विभिन्न बदनियतबाट प्रेरित भएको स्पष्ट छ। यी सबै कुराहरूको सबिस्तार खण्डन उपयुक्त समयमा हुने नै छ। यदि सभापति गुरुङले यी आरोपहरू आगामी जनवरी २५ तारिखभित्र पनि फिर्ता लिनुभएन वा सार्वजनिकरूपमा तिनलाई प्रमाणित गर्नुभएन भने वहाँका विरुद्ध प्रचलित कानुनबमोजिम नेपालदेखि बेलायतसम्म गाली बेइज्जति र क्षतिपूर्तिका अनेकौँ मुद्दाहरू हाल्न पनि बाध्य हुनुपर्ने चेतावनी दिन चाहन्छु।


गोपाल चिन्तन फाइल तस्वीरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम

मैले डिसेम्बर ७, २००७ तथा त्यसपछिका दिनहरूमा समेत विभिन्न पत्रहरू लेखी सभापति गुरुङ तथा गेसोको केन्द्रीय समितिसमक्ष संगठन, मुद्दामामिला र आन्दोलनसम्बन्धी विभिन्न सवालहरू उठाएको कुरा युरोपको नेपालीपत्र (२०६५ पौष १६-२२) मा प्रकाशित हाम्रो प्रिय गेसो अब के हुने हो ! शीर्षकको मेरो अन्तिम लेखमार्फत पनि सबैलाई अवगत भएकै होला। त्यसपछि नै सभापति गुरुङ यी सवालहरूलाई उचित ढंगले सम्बोधन गर्नुको सट्टा गेसोको केन्द्रीय समिति, शाखा समिति र बुद्धिजीवी सल्लाहकारहरूलाई समेत भ्रममा पार्दै मेराविरुद्ध निर्लज्जरुपमा साम, दाम, दण्ड र भेदका सबै हतियारहरू प्रयोग गर्न मैदानमा उत्रनुभएको हो। यसबीचमा आन्तरिकरूपमै यी समस्याहरू समाधान गर्नका लागि र गेसोबाट मलाई आधिकारिकरुपमा बिदा दिन वा ससम्मान काममा लगाउनका लागि भएका सबै प्रयासहरू पनि असफल भएका थिए।

सभापति गुरुङ तथा गेसो केन्द्रीय समितिसमक्ष उठाइएका सवाल तथा असहमतिहरू निम्नबमोजिम थिएः
-१) विगतमा बचन दिएअनुसार संस्थाको सम्पूर्ण हिसाबकिताब पारदर्शी हुनुपर्ने,
-२) मैले लिएको सबै रकमको बीलभरपाई दिनुपर्ने,
-३) हृवो एन्ड को. ले सर्रतबमोजिम गोर्खा अफर् टु ट्रान्सफर (न्इत्त्) का विरूद्ध पेन्सनको मुद्दा नहालेकोबारे सार्वजनिक जवाफ दिनुपर्ने,
-४) मेरो काम, कर्तव्य, अधिकार र सुविधाको किटान हुनुपर्ने,
-५) व्यापकरूमा गेसो युकेको संगठन विस्तार हुनुपर्ने,
-६) सतप्रतिशत कानुनी सहायता पाएको अवस्थामा आवासीय भिसाको फारम भर्न ५०० पाउण्ड उठाउने कार्य अनुचित भएकाले रोक्नुपर्ने तथा उठाएको रकम फिर्ता गर्नुपर्ने, र
-७) आन्दोलनको वर्तमान अवस्थामा गेसोलाई एमालेको भ्रातृसंगठनका रूपमा अघि बढाउने सोच बदल्नुपर्ने।
यी समस्याहरू छँदाछँदै पनि म लण्डनमै रहेर गेसोको हितमा आफ्ना काम र अभियानहरू जारी राखेपछि सभापति गुरुङ मेराविरूद्ध आक्रोषले झनै विक्षिप्त भएर सबै मानमर्यादा तोड्दै ममाथि जथाभावी आक्रमक हुन थाल्नुभयो। गेसोजस्तो हामी सबैको रगत र पसिनाले स्थापित लडाकु संस्थाको इज्जत र प्रतिष्ठा तथा गेसोको सभापतिजस्तो मर्यादित पद र हैसियतलाई समेत कुल्चेर मेरो निजी जीवनमाथि पनि अतिक्रमण गर्न थाल्नुभयो। केही सीप नलागेपछि गत सालको सेप्टेम्बर महिनामा हामी भीसी हाउसमा एकैसाथ रहेका बेला वहाँ मेरो आदरणीय अभिभावक बन्दै रोहवरमा मेरी प्रेमिका उर्मिला मगरसँग विवाहको कुरा छिनिदिने तथा भीसी दम्पत्तिका हातबाट हामी दुबै जनालाई आशिर्वाद दिँदै दशैँ टिकाको चाँजोसमेत मिलाउने सभापति गुरुङजस्तो परम मित्र नै अहिले उर्मिलालाई मबाट छुटाउनका लागि मरिमेटेर लाग्नुभएको छ। उर्मिला र मेरो निजी जीवन तथा हाम्रो उज्ज्वल भविष्यका विरुद्ध फतवा घोषणा गर्नुभएको छ। उर्मिलालाई कहिले मजस्तो व्यक्तिसँग कहिल्यै प्रेम नगर्ने शालिन महिला त कहिले मेरी यौनदासी भन्दै गेसोका तर्फबाट वक्तव्यको बाढी चलाउनुभएको छ। सकेसम्म हामी दुबैको चरित्रहत्यामा लाग्नुभएको छ। मलाई जसरी भए पनि बेलायतबाट उठिबास लगाउने घोषणा गर्दै मेरो भिसासमेत रद्द गर्ने योजनामा दौडिनुभएको छ। उर्मिलासँग मेरो विवाह भएको खण्डमा म पनि बेलायतमा स्थायी बासिन्दा हुनसक्ने सोचेर वहाँ असाध्यै आँत्तिनुभएको छ जबकि बेलालत बसेर गोर्खा अभियानमा सक्रिय रहिरहनका निमित्त मलाई उर्मिला वा अरू कसैको पनि आवश्यकता पर्दैन। तर पनि उर्मिला र मेराबीचको जीवनमरणको मित्रता र विवाहबन्धनको तयारीलाई भत्काउन अनेकौँ षडयन्त्र र कीर्तेजालसाँजीमा लाग्नुभएको छ। सबैभन्दा दुःखको कुरा त, मेरो निजी जीवन भताभुङ्ग पार्न र उर्मिलालाई चरित्रहीन नारी साबित गर्नका लागि गेसोजस्तो मर्यादित संस्थालाई समेत नाङ्गोरुपमा मुछ्नुभएको छ। उर्मिला र मेरो प्रेमसम्बन्धका बारेमा विभिन्न नक्कली वा असली नामबाट फैलाइएका भ्रमहरूका बारेमा निकट भविष्यमा नै सबै वास्तविकताहरू सार्वजनिक गर्ने नै छु तथा अन्तिम घडीसम्म पनि उनीसँगको प्रेमसम्बन्ध र सहयात्रा कायम गर्ने आफ्नो प्रयास जारी नै राख्नेछु।

तसर्थ आन्दोलनको यस कठीन घडी र संगठनभित्रको दुःखद परिस्थितिमा म सम्पूर्ण गेसो परिवार तथा गोर्खा समुदायलाई आवश्यक धैर्य धारण गर्न एवम् वास्तविकता बुझेरमात्र मेरा बारेमा कुनै पनि टिप्पणीहरू गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। खासगरी, गेसोको केन्द्रीय समिति तथा यसका सल्लाहकारहरूलाई अत्यन्तै गम्भीर र जिम्मेवार भएर सभापति गुरुङले ममाथि लगाएका सम्पूर्ण झुठा आरोपहरूको तत्कालै स्वतन्त्र छानबीन गर्न विशेष माग गर्दछु। अन्यथा सभापति गुरुङले आफ्ना गल्तीहरू छोप्नका लागि ममाथि लगाएका यी सम्पूर्ण निराधार आरोपहरूको खण्डन गर्ने तथा आवश्यक परेमा मुद्दामामिलासमेत गर्ने सिलसिलामा सार्वजनिक हुनसक्ने कुनै पनि अप्रिय कुरा र तिनका दुष्परिणामहरूप्रति स्वयम् गेसो केन्द्रीय समिति नै मुख्यरूपमा जिम्मेवार हुनुपर्ने बेहोरा पनि अवगत गराउन चाहन्छु। साथै यसबीचमा मेरा विषयमा वा विरूद्धमा गेसो केन्द्रीय समितिबाट कुनै निर्णयहरू भएका छन् भने पनि आधिकारिकरूपमा मलाई तत्कालै तिनको जानकारी दिनुहुनसमेत विनम्र अनुरोध गर्दछु।

अन्त्यमा, सभापति गुरुङ र मैले गेसोको नेतृत्वमा गोर्खा आन्दोलनको थालनी गरेर सफलताको यस चुचुरोसम्म पुर्‍याएको कुरा कहिल्यै पनि मेटिने छैन। वहाँको बदनियतले गर्दा विगत एक वर्ष हाम्रा लागि विषाक्त भए तापनि विगतका सुन्दर सात वर्षको अभियानयात्राबारे गेसो परिवार अवगतै छ। तसर्थ जस्तोसुकै परिस्थितिमा पनि गेसोप्रतिको मेरो माया, ममता र आस्था तथा गोर्खा आन्दोलन सम्पूर्णरूपमा नटुङ्गिएसम्म यसप्रति मेरो सक्रिय सहयोग र समर्थन सदा जारी नै रहने कुरा पनि सम्बन्धित सबैमा सहर्ष जानकारी गराउन चाहन्छु।

भवदीय
गोपाल चिन्तन
१७ जनवरी २००९
लण्डन

यो पनि पढ्नुहोस्: चिन्तनका विरुद्ध गेसो सभापति गुरुङको हुंकार

Popularity: 9%

67 comments January 17th, 2009

बल्ल हटाइए गेसो कानुनी सल्लाहकार चिन्तन

एस, काठमाडौं / एचकेनेपाल डट कम -
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले मंगलवार राजधानीमा एक पत्रकार सम्मेलन गरी गेसोका कानुनी सल्लाहकार गोपाल शिवाकोटी चिन्तनलाई हटाएको जानकारी दिएको छ।

केही समययता आफ्ना लेख, अभिव्यक्ति र व्यवहारबाट विवादित देखिदै आएका चिन्तन गेसोका कानुनी सल्लाहकारका रूपमा रहिरहन उपयुक्त नहुने बताउंदै उनलालाई सो पदबाट हटाइएको जनाएको छ।

थप जानकारीको लागि गेसोद्वारा जारी गरिरएको प्रेस विज्ञप्ति जस्ताका तस्तै-

प्रेस विज्ञप्ति, २०६५ पुष २२ गते
आदरणीय पत्रकार मित्रहरु,
१. गोरखा भूतपूर्व सैनिकहरुमाथि बेलायतले वषौँदेखि गर्दै आएको भेदभावविरुद्ध कानुनी लडाइ लड्नका लागि सन् २००१ मा अन्तर्राष्ट्रिय कानुन जानेको वकिलका रुपमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले अधिवक्ता गोपाल शिवाकोटी चिन्तनलाई कानुनी सल्लाहकार नियुक्त गरेको थियो। चिन्तनको अगुवाईमा गेसोले हालेको विभिन्न मुद्दामध्ये युद्धबन्दी पूर्व गोरखा सैनिकलाई बेलायती युद्धबन्दीसरह क्षतिपूर्ति दिने मुद्दामा उल्लेखनीय सफलता हात पनि परेको थियो। तर समान पेन्सनको मुद्दामा अदालतले गेसोलाई जिताएन। त्यसपछि चिन्तनले नयाँप्रमाणका आधारमा मुद्दा हाल्ने भनेर सर्वत्र भाषण दिए पनि चार वर्षसम्म मुद्दा हाल्ने कुनै प्रयास गरेनन्। मुद्दा किन छोड्नुपरेको भन्ने बारेमा चिन्तनले आफ्नो क्लाइन्ट गेसोलाई कुनै जानकारी गराएनन्। यस विषयमा चिन्तनलाई के गर्ने भन्ने बारेमा गेसोमा छलफल चलिरहेको थियो।

२. सन् २००५ सम्म चिन्तनले नयाँ मुद्दा दर्ताका लागि कुनै पहल नगरेपछि गेसोले आफ्नै पहलमा बेलायतको होवे एण्ड को‌‌ कम्पनीलाई आफ्नो नयाँ वकिलका रुपमा नियुक्त गर्यो। होवे एण्ड को कम्पनीले तयार गरेको मुद्दामा गत सेप्टेम्बर ३०, २००८ मा बेलायती उच्च अदालतले गेसोको पक्षमा ऐतिहासिक फैसला गरेको थियो। सो फैसलापछि सिवाकोटीले होवे एण्ड को कम्पनीलाई पेन्सनको मुद्दा काम नलाग्ने बनाएको लगायतको तथानाम आरोप लेखमार्फत सार्वजानिकरुपमा लगाएपछि चिन्तनका बारेमा के गर्ने भन्ने विषय गेसोमा विचाराधीन थियो।

३. भिसी तुलबहादुर पुनको बैँक खाताबाट चिन्तनले भिसी पुनकी श्रीमती पुनीसराको कीर्ते हस्ताक्षर गरी २२०० पाउण्ड निकालेको विषयमा भिसी पुनले गेसोमा उजुरी गरेपछि उनलाई कस्तो कारबाही गर्ने भन्ने बारेमा गेसोमा गम्भीर बहस र छलफल चलिरहेको थियो।

४. खासगरी, सेप्टेम्बर ३०, २००८ को ऐतिहासिक फैसलापछि चिन्तनले नेपाल तथा बेलायतका विभिन्न पत्रपत्रिकामार्फत लेख प्रकाशित गरी तथा विभिन्न व्यक्तिहरुलाई पटपटक इमेल गरी गेसो र गेसोको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिंदै आएकोमा सोको स्पष्टीकरण दिन गेसोको बुद्धिजीवी कमिटीले चिन्तनलाई ३५ दिनभित्र नेपाल आई गेसो केन्द्रीय कार्यालयमा उपस्थिति हुन २०६५ पुस ४ गते पत्राचार समेत गरेको थियो। ती लेख र इमेलको अध्ययन गरी चिन्तनविरुद्ध मुद्दा दायर गर्न गेसोले अधिवक्ता सुरेन्द्र थापामगरलाई जिम्मा समेत दिइसकेको थियो। यसरी घटनाक्रम अगाडि बढिरहेको अवस्थामा गोपाल सिवाकोटी चिन्तनले बेलायतबाट प्रकाशन हुने युरोपको नेपालीपत्र साप्ताहिकको २०६५ पुस (१६-२२) गतेको अंकमा अब गेसो के हुने शीर्षकमा एक भूतपूर्व गोरखा सैनिककी अविवाहित छोरीसित (नामसमेत किटान गरी) आफ्नो चार वर्षदेखि सहबास रहेको भनी सगौरव लेख प्रकाशित गरेकोमा गेसो स्तब्ध, दुखी र आक्रोशीत भएको छ। गोरखा भूतपू्र्व सैनिक र तिनका परिवारलाई न्याय दिलाउने अभियानमा लाग्ने व्यक्ति स्वयम्ले त्यस्तो नैतिकताहीन कार्य गरेको खुलासा आफैँले गरिसकेपछि चिन्तनलाई गेसोमा राख्ने कि नराख्ने विषयमा गेसो केन्द्रीय समितिको २०६५ पुस २१ गते बसेको बैठकमा गम्भीर छलफल हुँदा बैठकले चिन्तनले कानुनी सल्लाहकारमा बहाल रहँदा गरेका कार्यहरुमाथि कानुनी पुनरावलोकन र कारबाही गर्ने अधिकार गेसोसित सुरक्षित राख्दै चिन्तनलाई कानुनी सल्लाहकारबाट निस्कासन गर्ने निर्णय गरेको छ। अब उप्रान्त गेसोको कानुनी सल्लाहकारको हैसियतले चिन्तनसित कुनै कामकारबारही नगर्न गेसो सम्बन्धित सबै पक्षमा सूचित गराउँछ। यति कतै कसैले त्यस्तो कार्य गरेमा त्यसको जिम्मेवार गेसो नहुने पनि स्पष्ट गराउँछ। अन्त्यमा समग्र गोरखा भूतपूर्व सैनिकहरुको कानुनी सल्लाहकार रहेका चिन्तनले झूठो दाबीका आधारमा एक भूपू गोरखा सैनिककै अविवाहित छोरीको चरित्र हत्या र जीवनमाथि खेलवाड गर्ने जुन कार्य गरे त्यस निकृष्ट कार्यको गेसो घोर भर्त्सना गर्दछ। ती पीडित भूपू सैनिक आमा, बाबु र ती अविवाहित छोरीलाई न्याय दिलाउन र चिन्तनलाई आवश्यक कारबाही गराउन पूर्ण सहयोग गर्ने प्रतिवद्धता गेसो व्यक्त गर्दछ।
धन्यवाद

पदमबहादुर गुरुङ
सभापति

Popularity: 9%

6 comments January 7th, 2009

चिन्तनका विरुद्ध गेसो सभापति गुरुङको हुंकार

एस, काठमाडौं / एचकेनेपाल डट कम, जनवरी ३ -
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति पदमबहादुर गुरुङले कुनै बेला आफ्ना निकटम सहयोगी रहेका गेसोका कानुनी सल्लाहकार गोपाल चिन्तनको कडा शव्दमा आलोचना गरेका छन्।

सभापति गुरुङले हालै सलिना थापामगरको नाममा गोपाल चिन्तनले फैलाएको इमेल आतंकले भूपू गोर्खा सैनिककी छोरीको जीवन बर्बाद गर्न लागेको आरोपसमेत लगाएका छन्। ‘एउटी महिलालाई आफ्नो पञ्जामा फसाउन र उनको जवानीलाई ब्लाकमेल गर्न त्यो इमेल आतंक फैलाइएको स्पष्ट छ।’


सभापति पदमबहादुर गुरूङ । फाइल तस्वीरः एचकेनेपाल डट कम।

- गोपाललाई मेरो चुनौती छ लण्डनमा सधैँ बसिरहन आवासीय अधिकार हात पार्न लाहुरेकी कुमारी छोरीको जीन्दगी बर्बाद मात्र गर त तिम्रो के हालत हुँदोरहेछ ? यसको हिसाबकिताब भविष्यले नै गर्ने छ।

- अरुसित विवाह हुन लागेकी गोरखा भूतपूर्व सैनिककी कुमारी छोरीलाई बदनाम गरी आफ्नो राक्षसी पञ्जामा फसाउन गोपाल यतिसम्म गिर्दा रहेछन्, यति निकृष्ट रुप देखाउन सक्दारहेछन् भन्ने मैले कल्पना पनि गरेको थिइनँ।

- गोपाल चिन्तनजी नेपालका आदिवासी जनजाति समुदायका लाहुरेहरु केही नजानेका बुद्दु र वेवकुफ छन् उनीहरुलाई जे गरे पनि कसैले थाहा पाउँदैन भन्ने सोच राखेको भए त्यो दिवास्वप्न मात्र हुने छ। तपाईले गेसोलाई ठगेको, ब्लाकमेल गरेको म मेरो एक मुठ्ठी प्राण छउञ्जेल छोड्ने छैन।

थप विवरणको लागि सभापति गुरूङले पुष १९ गते जारी गरेको प्रेस विज्ञप्ति

विभिन्न बाह्य तथा आन्तरिक कारणले मेरो आत्मसम्मानमा समेत आघात पुगेको महसुस भई मैले नैतिक तथा बाध्यताका आधारमा केही कारणहरु देखाइ मिति २०६५ मंसिर ३० गते सभापति पदबाट राजीनामा दिएको थिएँ।

राजीनामा दिएर म मेरो जन्मस्थान स्याङ्जा, फेदीखोलाको कुडुलेमा गएर बसिरहेको थिएँ। मेरो राजीनामाको समाचार विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार भएपछि देश विदेशबाट हजारौँ भूपू सैनिक दाजुभाइ तथा दिदीबहिनीहरुले भावविभोर हुँदै तपाईले राजीनामा दिन पाउनुहुन्न, तपाई नै नेतृत्वमा रहनुपर्छ भन्ने रायसुझाव र दबाब मेरो मोवाइलमा फोन गरी दिनुभयो। मेरो राजीनामाका कारण केही ठाउँमा त रुवाबासी नै भएको खबर पनि प्राप्त भइरहेको थियो।

आज मिति २०६५ पुस १९ गते काठमाडौँ आई गेसो कार्यालयमा जाँदा केन्द्रीय पदाधिकारीहरुले तपाईको राजीनामा स्वीकृत भएन भन्ने कुरा औपचारिकरुपमा जानकारी गराउनु भयो। गेसोका सम्पूर्ण पदाधिकारीहरु, शुभचिन्तक तथा भूपू सैनिक दाजुभाइ दिदीबहिनीको यी सबै भावनाको अति सम्मान र कदर गर्दै अब उप्रान्त ममाथि जेजस्ता बाधा अड्चन र समस्याहरु आइपरे पनि, घरबार त्याग्नु परे पनि, हिजोभन्दा अझ सशक्त ढंगले म यो राष्ट्रियता र समानताको आन्दोलनमा, हजारौँ गोरखा भूतपूव सैनिक दाजुभाइ, दिदीबहिनी र तिनका परिवारका सवालमा एक मुठी प्राण छउञ्जेल रचनात्मक कार्यक्रमका साथ अघि बढ्ने दृढ संकल्प यसै वक्तब्यमार्फत गर्दछु।

यसका साथै, म केन्द्रमा आइसकेपछि गेसोका आदरणीय उपसभापति कृष्णकुमार राईले कुनै एउटा सलिना थापामगरको नामबाट गेसोका कानुनी सल्लाहकार गोपाल सिवाकोटी चिन्तन र उर्मिला भाञ्जीका सम्बन्धमा इमेलमा आएको सामग्री मलाई देखाउनुभयो। त्यसलगत्तै गोपाल सिवाकोटी चिन्तनले बेलायतबाट प्रकाशित हुने युरोपको नेपालीपत्र पत्रिकामा मिति २०६५ पुस १६-२२ गतेको अंकमा प्रकाशित गेसो अब के हुने हो शीर्षकको लेख देखाउनुभयो। लेख र इमेलमा पठाइएको पत्रमा व्यक्त विचार र आशयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

यस सम्बन्धमा सम्पूर्ण भूतपूर्व सैनिक दाजुभाइ, दिदीबहिनी तथा गैर भूपू विद्धान र बुद्धिजीवीहरुमा म विनम्रतापूर्वक के भन्न चाहन्छु भने जुन सलिना थापामगरको नामबाट इमेलमा गोपाल सिवाकोटी चिन्तन र उर्मिला भाञ्जी बीचको सम्बन्धका बारेमा चर्चा चलाइयो त्यो चलाउने सलिना अरु कोही नभएर आफूलाई मानवअधिकारवादी वकिल बताउने गोपाल सिवाकोटी चिन्तन नै हुन्। एउटी महिलालाई आफ्नो पञ्जामा फसाउन र उनको जवानीलाई ब्लाकमेल गर्न त्यो इमेल आतंक फैलाइएको स्पष्ट छ। म तपाईहरुलाई ठोकुवाका साथ भन्छु यो इमेल गोपाल चिन्तनले सलिनाको नामबाट आफैले डाफ्ट गरेर नेपालस्थित आफ्नो कार्यालयका कर्मचारीहरुलाई इण्टरनेट मार्फत प्रचारप्रसार गर्न अह्राए अनुसार भएको हो।

अर्को शब्दमा भन्ने हो भने गोपाल चिन्तन आफैँ बोक्सी आफैँ धामी भएको हो। हामीले उनलाई कानुनी सल्लाहकार राखेको हो उनको व्यक्तिगत सम्बन्धका बारेमा गेसो र मलाई कुनै चासो थिएन। उनले त मलाई र चन्द्रबहादुर गुरुंगलाई पो आफ्नो प्रेमसम्बन्धको विरुद्ध पर्चावाजी गरेको आरोप लगाएछन्। म गोपाललाई चुनौतीका साथ भन्छु उनमा अलिकति पनि हिम्मत छ भने जनसमुदायको अगाडि मेरो आम्नेसाम्ने भएर यस विषयमा खुला बहस गरुन्।

जहाँसम्म उनले लेखमा चार वर्षदेखि आफूहरुबीच सहबास भएको भन्ने लेखेका छन् आफूलाई मानवअधिकारवादी वकिल हुँ भन्ने गोपाल चिन्तनलाई यस बारेमा मेरो प्रश्न छ तपाईमा अलिकति नैतिकता र विवेक छ कि छैन? यदि नैतिकता र विवेक छ भने अर्काको कुमारी छोरीसित तपाईजस्तो मानवअधिकारकर्मी हुँ भन्ने, झण्डै साठी वर्ष उमेर पुग्न लागेको मान्छेले कथित सलिना थापामगरकै शब्दमा आफ्नो छोरोभन्दा सानो उमेरको महिलासित त्यस्तो कुरा गर्न सुहाउँछ ? म धेरै भूपू सैनिकका छोराछोरीलाई चिन्छु त्यसमध्ये पनि उर्मिलालाई धेरै नजिकबाट चिन्छु।

मैले जाने बुझेसम्म उर्मिला धेरै सुशील र नैतिकवान छोरी हुन्। गोपालले उनीमाथि लगाएको आरोपको म विश्वास गर्दिनँ। यो बिल्कूल गोपालको ब्यालमेल हो, उर्मिलाले त्यस्तो काम गर्न सक्दिनन्। चार वर्षअघि मात्र होइन आठ वर्षदेखि गोपाल के गर्थ्यो, कहाँ कहाँ बस्थ्यो ? मलाई राम्रोसित थाहा छ। गोपालले उर्मिलासित चार वर्षदेखि सहबास थियो भन्नु एउटी भूतपूर्व गोरखा सैनिककी छोरीको चरित्र हत्या गर्नु हो। एउटी कुमारी केटीको जीवन बर्बाद गर्ने र उनको केही समयपछि नै हुन लागेको विवाह तहसनहस गर्ने चिन्तनको निकृष्ट कार्य हो यो।

अरुसित विवाह हुन लागेकी गोरखा भूतपूर्व सैनिककी कुमारी छोरीलाई बदनाम गरी आफ्नो राक्षसी पञ्जामा फसाउन गोपाल यतिसम्म गिर्दा रहेछन्, यति निकृष्ट रुप देखाउन सक्दारहेछन् भन्ने मैले कल्पना पनि गरेको थिइनँ। गोरखा भूपू सैनिककी कुमारी छोरीमाथि धावा बोल्ने चिन्तनलाई मेरो प्रश्न छ तिमीले अहिलेसम्म कत्तिको जीन्दगी यसरी बर्बाद गरिसक्यौँ मानवअधिकारवादी वकिल गोपालजी।

आफ्नै श्रीमतीसित न सम्बन्ध न सम्बन्ध विच्छेद गरेर के बेहाल बनायौ ? आफ्नै कार्यालयमा काम गर्ने सहकर्मीको जीवन कसरी तहसनहस बनायौ ? गोपाललाई मेरो चुनौती छ लण्डनमा सधैँ बसिरहन आवासीय अधिकार हात पार्न लाहुरेकी कुमारी छोरीको जीन्दगी बर्बाद मात्र गर त तिम्रो के हालत हुँदोरहेछ ? यसको हिसाबकिताब भविष्यले नै गर्ने छ।

अहिलेसम्म गोपाल सिवाकोटी चिन्तनले गेसोको कानुनी सल्लाहकार रहँदारहँदै बेलायतबाट प्रकाशित हुने नेपाली पत्र पत्रिकामा तथा विभिन्न इमेलमार्फत मेरो र गेसोको बारेमा जेजस्ता दिग्भ्रम फैलाउने कुचेष्टा गरे यी सम्प‍ूर्ण कुराहरुका बारेमा वास्तविकता के हो त ? गोपालले आठ वर्षसम्म गेसोमा बसेर काम गरेँ भन्ने दाबी गरे पनि यी आठ वर्ष उनले कति दिन र कति घण्टा गेसोमा काम गरे भन्ने सम्बन्धमा प्रमाणसहित जानकारी गराउन, भूपू सैनिकहरुलाई के कस्ता ब्लाकमेल गराए भन्ने पर्दाफास गर्न, गेसोलाई मात्र होइन नेपालका राजनीतिक पार्टी बुद्धिजीवी, पत्रकारलाई उनले फैलाएका भ्रमको भण्डाफोर गर्न, गोपाल चिन्तनले पटक-पटक आफ्नो नाममा मात्र नभई अधिवक्ता निरु श्रेष्ठ, रविन्द्र सुवेदी र रतन भण्डारीका नाममा गेसो र मबाट के कति पैसा असुल गरे, हजारौँ भूपू सैनिकको पेन्सनको मुद्दालाई गोपाल र फिल साइनर मिलेर कसरी कामै नलाग्ने बनाइदिए, गोपाल चिन्तनले कहिलेबाट कसरी गेसोमा काम गर्न छोडेका हुन्, पेन्सन सम्बन्धी मुद्दा छाडेका बारेमा गेसो र नेपालका बुद्धिवीजीलाई उनले किन जानकारी गराएनन्, फिल साइनरसित अहिले नाटकीय बोलचाल बन्द गर्नुको कारण के हो, बेलायतको एमओडीबाट उनले कति पैसा लिएका छन् र त्यो पैसा भारतको केरलाको कुन बैँकमा राखेका छन् ? यी लगायतका विषयहरुमा सम्पूर्ण भूतपूर्व सैनिक दाजुभाइ र स्वाभिमानी नेपाली दाजुभाइहरुलाई जानकारी गराउन युरोपको नेपालीपत्र पत्रिकाका प्रकाशक तथा सम्बन्धित आधिकारिक व्यक्तिसित म विनम्र अनुरोध पनि गर्दछु। त्यसका लागि अबका छ महिना मेरो लेखलाई नियमित स्तम्भ दिनका लागि पनि म औपचारिक रुपमा अनुरोध गर्दछु।

गोपाल चिन्तनजी नेपालका आदिवासी जनजाति समुदायका लाहुरेहरु केही नजानेका बुद्दु र वेवकुफ छन् उनीहरुलाई जे गरे पनि कसैले थाहा पाउँदैन भन्ने सोच राखेको भए त्यो दिवास्वप्न मात्र हुने छ। तपाईले गेसोलाई ठगेको, ब्लाकमेल गरेको म मेरो एक मुठ्ठी प्राण छउञ्जेल छोड्ने छैन।

जहाँसम्म भीसी तुलबहादुर पुनको २२ सय पाउण्ड गोपालले हिनामिना गरेको सवाल छ यो मैले र चन्द्रबहादुर गुरुंगले लगाएको आरोप होइन। भिसीकी श्रीमती पुनीसराको नक्कली हस्ताक्षर गरेर चिन्तनले पैसा निकालेको भन्ने कुरा र सही (हस्ताक्षर) मेरो होइन भन्ने कुरा भीसीकी श्रीमती पुनीसराले भनिसकेकी छिन्। यो कुरा म र चन्द्रबहादुरले भन्दा पनि भिसीको छोरा विकाससित सोध्दा स्पष्ट हुने छ।

अन्त्यमा करिब १८ महिनादेखि बेलायतमा बसेर गोपालले युरोपको नेपालीपत्रमार्फत म, गेसो र गेसोको वर्तमान वकिलको विरुद्धमा किन यसरी ज्यान फालेर लागेका छन् भन्दा गोपाल र फिल साइनरले अब गेसोको मुद्दा हामी दुई जनाले सबै समाप्त पारिसक्यौँ, गेसोको पेन्सनको मुद्दा पनि लाग्दैन, इमीग्रेसन सम्बन्धी मुद्दा पनि लाग्दैन र अब गेसो लण्डनदेखि नेपालसम्म सबै खत्तम हुन्छ भनेर गोपाल सन् २००५ को जुलाई महिनादेखि नै गेसोको कामबाट बिलकूल अलग भएका थिए।

तर गेसोका केन्द्रीय पदाधिकारी र चन्द्रबहादुर गुरुगको पाँच/छ महिनादेखिको अथक प्रयासले गेसोको वर्तमान वकिलको टीम फेला परिसकेपछि फिल साइनर र गोपालले कामै नलाग्ने बनाएको मुद्दाको पोल खुल्ने भएकोले उनले बेलायतमा बसेर बेलायतका भूपू सैनिक र तिनका परिवारहरुलाई आफूले गरेको गल्ती, ब्रिगेड अफ् गोरखाजबाट लिएको पैसा र सम्पूर्ण कुरा लुकाउन तथा भूपू सैनिकबीचमा भ्रम फैलाउनका निमित्त बेलायतबाट प्रकाशित हुने युरोपको नेपालीपत्र पत्रिकामा स्तम्भ मागी लेख लेख्दै आएका छन्। शायद नेपाली पत्रपत्रिकालाई यो कुरा थाहा छैन ।

गोपालले गरेका सबै कुकृत्यहरु सबै भूपू सैनिक दाजुभाइ, दिदीबहिनीहरुमाझमा आधिकारिकरुपमा ल्याउन नेपालीपत्रसित मैले नियमित स्तम्भको माग गरेको हुँ। मलाई पूर्ण विश्वास छ नेपालीपत्रले मेरो अनुरोध शायद अस्वीकार गर्दैन होला।

पदमबहादुर गुरुङ
सभापति

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)
केन्द्रीय समिति, पुल्चोक, ललितपुर
मिति २०६५/ ९/१९ शनिबार

News update:
बल्ल हटाइए गेसो कानुनी सल्लाहकार चिन्तन

एस, काठमाडौं / एचकेनेपाल डट कम, जनवरी ६-
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले मंगलवार राजधानीमा एक पत्रकार सम्मेलन गरी गेसोका कानुनी सल्लाहकार गोपाल शिवाकोटी चिन्तनलाई हटाएको जानकारी दिएको छ। केही समययता आफ्ना लेख, अभिव्यक्ति र व्यवहारबाट विवादित देखिदै आएका चिन्तन गेसोका कानुनी सल्लाहकारका रूपमा रहिरहन उपयुक्त नहुने बताउंदै उनलालाई सो पदबाट हटाइएको जनाएको छ।

थप जानकारीको लागि गेसोद्वारा जारी गरिरएको प्रेस विज्ञप्ति जस्ताका तस्तै-
यो पनि पढ्नुहोस्: गेसोमा मेरो आबद्धता र वास्तविकता - गोपाल चिन्तन

Popularity: 10%

81 comments January 3rd, 2009

बेलायतमा एनआरएनको नियतमाथि शंका

बेलायतमा एनआरएनको नियतमाथि शंका
१७ डिसेम्बर २००८, लण्डन ।
गत डिसेम्बर ७ का दिन रेडिमा आयोजित नन् रेसिडेन्ट नेपालीज् (एनआरएन), युके शाखाले बृटिश गोर्खा वेल्फेयर सोसाइटी (बीजीडब्लुएस) लाई बेलायतस्थित नेपाली संघसंस्थाहरुमध्येको एक विशेष संस्थाका रुपमा सम्मान गरेको भन्ने समाचारले हामीलाई लज्जित तुल्याएको छ। एनआरएनका अध्यक्ष तथा भूतपूर्व गोर्खा मेजर (क्युजिओ) (रि.) डम्बर घलेको विशेष सक्रियतामा अर्का विवादास्पद मेजर (क्युजिओ) -रि.) टिकेन्द्र देवानलाई गरिएको यस्तो असामयिक र झुठो सम्मानको नाटकप्रति गोर्खा भूतपूर्रव सैनिक संघ, गेसो युके गम्भीर आपत्ति प्रकट गर्दछ।

कुनै पनि संस्थाले कसलाई कहाँ सम्मान गर्छ वा गर्दैन भन्ने कुरा गेसो युकेको चासोको विषय होइन। तर यस हास्यास्पद घटनाले विगत आठ वर्षदेखि निरन्तररुपमा बेलायतमा सम्पूर्ण गोर्खाहरुको पक्षमा मुद्दामामिला र अभियानहरु गरिरहेको गोर्खालीहरुको एकमात्र सशक्त र लडाकु संस्था गेसोमाथि घोर अपमान हुनपुगेको छ।

गेसो युकेका विचारमा यो सम्मानको नाटक सन् १९९७ भन्दा पहिले सेवानिवृत्त भएका गोर्खाहरुलाई बेलायतमा आउनदिनु उपयुक्त हुँदैन भन्ने र आएमा यसबाट बेलायतमाथि अनेकौँ समस्याहरु आइपर्छन् भन्दै बेलायती संसद्को गृह मामिलासम्बन्धी समितिका अध्यक्ष माननीय सांसद् केथ भाज् तथा हाम्रो आन्दोलनकी एक अभिनेत्री जोआना लुम्लेलाई लेखेका आपत्तिजनक पत्रहरुका कारण विवादमा परेको बीजीडब्लुएस र यसका विवादास्पद अध्यक्ष मेजर (क्युजिओ) -रि.) टिकेन्द्र देवानलाई चोख्याउने चालबाजीभन्दा अरु केही नभएको कुरा स्पष्ट छ। यसबाट हामी विदेशमा बस्ने सबै नेपालीहरुको साझा संस्था एनआरएन पनि यसका विवादास्पद अध्यक्ष मेजर (रि.) डम्बर घलेका कारण नराम्रो विवादमा फँसेकोप्रति गेसो युके गम्भीर चिन्ता व्यक्त गर्दछ।

गेसो युके एनआरएन तथा यसका अध्यक्ष मेजर (क्युजिओ) -रि.) घलेलाई आगामी दिनहरुमा यस्ता विवादास्पद एवम् नाटकीय ढंगका कुनै पनि गतिविधिहरु नगर्न अनुरोध गर्दछ। साथै यदि एनआरएन संस्था एउटा स्वतन्त्र र स्वच्छ छबि भएको संस्था हो भने यसलाई विना हिच्किचावट गेसो र यसका संस्थापक सभापति पदमबहादुर गुरुङ तथा गेसोका वकिलहरुलाई सार्वजनिक सम्मान गर्नका लागि खुला चुनौती दिन चाहन्छ।

यस्तो अर्थ न बर्थको चाप्लुसीमा आधारित बेमौसमी सम्मानभन्दा त केही हप्ता यता विभिन्न तमुधिं संस्थाहरुले मात्रै भए पनि गेसोका सभापति पदमबहादुर गुरुङलाई गरेको सम्मानमै बरु इज्जत छ नि!

भवदीय
पदमसुन्दर लिम्बु
अभियान संयोजक
गोर्खा भूतपूर्व सैनिक संघ, गेसो युके

लण्डन
०७८८१८११९३२

बीजीडब्लुएसको पत्रप्रति आपत्ति
सर्वप्रथम गोर्खा भूतपूर्व सैनिक संघ (गेसो युके) बृटिश गोर्खा वेल्फेयर सोसाइटीका तर्फबाट अध्यक्ष मेजर (रि.) टिकेन्द्रदल देवानले गत नोभेम्बर ३ का दिन गृह मामिलासम्बन्धी संसदीय समितिका माननीय अध्यक्ष सांसद् केथ भाजलाई लेखेको भन्दै हाल सर्वत्र वितरण भइरहेको आवासीय भिसासम्बन्धी विवादास्पद पत्रप्रति गम्भीर आपत्ति प्रकट गर्दछ। यस पत्रले सन् १९९७ भन्दा पहिले सेवानिवृत्त भएका तथा खासगरी ५० वर्षनाघेका भूतपूर्व गोर्खाहरुलाई अंग्रेजी पनि नजान्ने र सीप पनि कम भएकाहरुलाई आवासीय भिसा दिएमा बेलायतलाई ठूलो समस्या हुने भन्दै यस्तो नीति नबनाउन बेलायती संसद्, सरकार तथा गृह र रक्षा मन्त्रालयलाई उक्साउने काम गरेको स्पष्ट देखिन्छ।

यस पत्रले गोर्खाहरुमाथि २०० वर्षदेखि हुँदैआएको जातीय भेदभाव, शोषण र अत्याचारलाई मान्यता दिने कार्य गरेको छ। यसबाट गेसोको नेतृत्वमा विगत आठ वर्षदेखि बेलायतमा पहिलोपटक सुरु भएको गोर्खा आन्दोलन र यसका उपलब्धिहरुलाई निमिट्यान्न पार्ने र गोर्खाहरुको भावी आन्दोलनलाई निश्क्रिय बनाउने षडयन्त्र भएको प्रष्ट छ। बीजीडब्लुएसको यस पत्रका कारण गोर्खाहरुमाथि भएको यस्तो आत्मघाती कार्यलाई अक्षम्य गल्तीको संज्ञा दिँदै गेसो युके उक्त पत्र तत्काल फिर्ता लिन अनुरोध गर्दछ।

साथै गृह मन्त्रालयले गोर्खाहरुलाई आवासीय भिसा दिनेसम्बन्धमा हाल गरिरहेको पुनरावलोकनको कार्य तलमाथि भयो र सन् १९९७ भन्दा पहिलेका सम्पूर्ण गोर्खाहरु, जुनसुकै उमेर भएका भए पनि उनीहरुका छोराछोरीहरु तथा बीएनओहरुलाई समेत अझै पनि भेदभाव गर्ने र आवासीय भिसा दिन कार्य नभएमा यसको सम्पूर्ण जिम्मेवारी बीजीडब्लुएस तथा गृह मन्त्रालय र रक्षा मन्त्रालयले संयुक्तरुपमा लिनुपर्दछ भन्नु चेतावनी दिन चाहन्छ।

गेसो युके कुनै पनि गोर्खाली संस्था तथा तिनका नेताहरुलाई हाम्रो महान आन्दोलनमाथि घाटा पुग्ने कुनै पनि किसिमका गलत कार्यहरु नगर्न नगराउन कडा खबरदारी गर्न चाहन्छ। बीजीडब्लुएस तथा त्यसका अध्यक्षले विगतमा पनि गोर्खा अफर् टु ट्र्रान्सफर (गट) का विरुद्ध सम्पूर्ण गोर्खाहरुका तर्फबाट पेन्सनको मुद्दा हाल्ने भनेर यसरी नै धोखा दिइसकेको कुरा पनि यहाँ स्मरण गराउन चाहन्छ।

भवदीय
पदमसुन्दर लिम्बु
अभियान संयोजक
गोर्खा भूतपूर्व सैनिक संघ, गेसो युके

०७८८१८११९३२
E-mail: gaesouk@btinternet.com

Popularity: 10%

8 comments December 19th, 2008

गोर्खाली विवाद र व्यवहारप्रति गम्भीर आपत्ति

गोर्खाली विवाद र व्यवहारप्रति गम्भीर आपत्ति
१७ डिसेम्बर २००८, लण्डन ।
केही समय अगाडि गठन भएको यो भूतपूर्व बृटिश गोर्खा सैनिक संगठन अहिले विभिन्न गोर्खाली संस्था र हाम्रा दाजुभाईहरुबीच चलिरहेका अस्वस्थ विवाद र खिचातानीप्रति गम्भीर चिन्ता व्यक्त गर्दछ। यस्तो अस्वस्थ विवादले हामीलाई कतै पनि नपुर्‍याउने कुरा निश्चित छ।

जहाँसम्म बीजीडब्लुएसले आफ्नै अध्यक्षको हस्ताक्षर गरी बेलायतको संसद्लाई लेखेका पत्रहरुको कुरा छ, यो आफैमा एकदमै आपत्तिजनक छ। यसबाट एकातिर बीजीडब्लुएस वा यसका अध्यक्षको सक्कली अनुहार बाहिर आएको छ भने अर्कोतिर बीजीडब्लुएसभित्र रहेका इमान्दार गोर्खाहरुले बीजीडब्लुएस छोडेर अन्य उपयुक्त संगठनमा लाग्नु पर्ने बेला आएको छ। यस संगठनले हामीले पहिले भने झैं अहिले महत्वपूर्ण घडीमा आएर बेलायतको सेवा गर्ने र आफ्नै गोर्खा दाजुभाईहरुलाई धोखा दिनेजस्तो आत्मघाती काम गरेको छ। अब यो गल्ती सच्याएर पनि नसच्चिने भएको छ। तर अझै पनि बीजीडब्लुएस र यसका अध्यक्षले ती चिठीहरु तुरुन्त फिर्ता लिएर वा गोर्खाहरुको समान अधिकारको पक्षमा अरु चिठी लेखेर सार्वजनिक रुपमा तत्काल माफी माग्नु पर्दछ भन्ने हाम्रो धारणा छ।

साथै हामी सबैको साझा संस्था एनआरएन, युकेले पनि गत डिसेम्बर ७ तारिखका दिन त्यही बीजीडब्लुएस र त्यसका अध्यक्षलाई बेलायतस्थित एउटा उच्च कोटीको संस्था भनेर सम्पूर्ण गोर्खा समुदाय तथा अन्य नेपाली र गोर्खाली संस्थाहरुको अपमान गरेको छ। हाम्रो संस्था एनआरएन, युके र यसका अध्यक्ष मेजर (रिटायर्ड) डम्बर घलेलाई सार्वजनिक रुपमा आफ्नो गल्ती स्वीकार गर्न अनुरोध गर्दछ। यो बीजीडब्लुएस र यसका अध्यक्षले अहिलेको संकटको घडीमा जबरजस्ती चोख्याउने खेल बाहेक अरु केही होइन भन्ने कुरा पनि प्रष्ट छ।

हाम्रो संस्था अहिलेको अवस्थामा सबै संस्थाहरुलाई सकेसम्म मिलेर र विभिन्न स्वार्थले गर्दा अहिले मिल्न नसके पनि सम्पूर्ण गोर्खाहरुको समान अधिकारको पक्षमा एक आवाज भएर अघि बढ्न अनुरोध गर्दछ। हाम्रो संस्थाको भावी नीति र कार्यक्रम गृह मन्त्रालयले अब कस्तो नीति बाहिर ल्याउंछ भन्ने कुरामा भर पर्नेछ।

भवदीय
जेएन राई
सचिव
भूतपूर्व बृटिश गोर्खा सैनिक संगठन

१७ डिसेम्बर २००८, लण्डन ।

Popularity: 9%

6 comments December 19th, 2008

गोर्खालाई बेलायत बस्ने अधिकार

साभारः कान्तिपुर / खिम घले, काठमाडौं असोज १४ -
बेलायती सेनाबाट अवकाश पाएका सबै पूर्वगोर्खाले बेलायतमा आवासीय भिसा पाउने भएका छन्। लन्डनस्थित उच्च अदालतले सन् १९९७ अघिका गोर्खालाई पनि आवासीय भिसा दिन मंगलबार गृह मन्त्रालयलाई आदेश दिएको हो।

यसअघि सन् १९९७ भन्दा पछि अवकाश पाएका गोर्खाहरूले मात्र उक्त सुविधा पाएका थिए। त्यसअघि अवकाश पाएका पूर्वगोर्खाले बेलायतसंग ‘गहिरो सम्बन्ध’ रहेको प्रमाणित गर्नुपर्ने हुन्थ्यो। त्यसका लागि बेलायतमै चार वर्षसेवा गरेको, छोराछोरी त्यहाँ रहेकोलगायतका चार प्रमाण आवश्यक पर्थे।

‘पूर्वगोर्खालाई बेलायतमा बस्न बनाइएको अध्यागमन नीति असान्दर्भिक र गैरकानुनी छ,’ बेलायती उच्च अदालतको फैसला उद्धृत गर्दै दी गार्जियनले लेखेको छ, ‘उनीहरूले जुनसुकै मितिमा अवकाश पाएका भए पनि बेलायतमा बस्न पाउंछन्।’

स्थानीय समयअनुसार दिउंसो २ बजे फैसला सुनाउंदै न्यायाधीश जस्टिस ब्लकले गोर्खाहरूका सम्बन्धमा रहेको अध्यागमन नियम तीन महिनाभित्र पुनरावलोकन गर्नसमेत गृह मन्त्रालयलाई आदेश दिएका छन् । बेलायतले सन् १९९७ मा हङकङबाट ‘गोर्खा रेजिमेन्ट’ बेलायत सरेको दिनलाई आधार बनाएर त्यसपछि अवकाश पाएकालाई मात्र आवासीय भिसा दिने नीति लिएको थियो।

त्यसअघि अवकाश पाएका गोर्खाहरूलाई काठमाडौंस्थित बेलायती दूतावासले अयोग्य ठहर्‍याएपछि गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले गत जुलाईमा बेलायती वकिलहरूको समूह हवे एन्ड कम्पनीको सहयोगमा लन्डनस्थित उच्च अदालतमा मुद्दा दायर गरेको थियो। त्यसमा ज्ञानेन्द्र राई, प्रकाश लिम्बू, चक्र लिम्बू, वीरेन्द्र श्रेष्ठ, भीम गुरुङ र गीता मुखियाका मुद्दा थिए।

गीता पूवगोर्खा सैनिककी विधवा हुन् भने अन्य सन् १९९७ अघि अवकाश पाएका पूर्वगोर्खा हुन्।

‘यो हाम्रो गोर्खा अभियानकै महत्त्वपूर्ण र ऐतिहासिक जित हो,’ लन्डनमा रहेका गेसो अध्यक्ष पदमबहादुर गुरुङले टेलिफोनमा कान्तिपुरसंग भने, ‘यसले वृद्ध गोर्खाहरूलाई बेलायत आउने बाटो खोलेको छ, उनीहरूले उपचारदेखि सबै सुविधा पाउने छन्।’

गेसोले लन्डनबाट जारी गरेको विज्ञप्तिमा त्यहाँ रहेका करिब २ हजार पूर्वगोर्खा फैसला सुन्न उच्च अदालत परिसरमा जम्मा भएको उल्लेख छ। त्यसमा भिक्टोरिया क्रस विजेता ९१ वर्षीय लछिमान गुरुङ र ८७ वर्षीय तुलबहादुर पुन, प्रख्यात अभिनेत्री जोना लुम्लेलगायत थिए। लुम्ले दोस्रो विश्वयुद्धमा गोर्खाहरूसंगै रहेर लडेका बेलायती सैनिक अधिकृतकी छोरी हुन्।


दायाँबाट भिक्टोरिया क्रस विजेता ९१ वर्षीय लछिमान गुरुङ र ८७ वर्षीय तुलबहादुर पुन। तस्विरहरुः मिलन तमु, युके / एचकेनेपाल डट कम।
‘वीर गोर्खाले अति महत्त्वपूर्ण र ऐतिहासिक विजय गरेका छन्,’ अधिकारवादी वकिल मार्टिन हावेलाई उद्धृत गर्दै बीबीसी अनलाइनले भनेको छ, ‘जसले इमानदारीसाथ यो मुलुकको सेवा गर्‍यो उनीहरू यो अधिकारका लागि योग्य छन्।’ फैसलाप्रति गोर्खाहरूका सहयोगी बेलायतीहरूले खुसी व्यक्त गरेका छन्।

‘यो मुलुकका लागि ठूलो गल्ती सच्याउने मौका भएको छ,’ अभिनेत्री लुम्लेले बीबीसीसंग भनेकी छन्। समान सुविधा र बेलायत बस्ने अधिकारका लागि भएको गोर्खा आन्दोलनमा उनले ऐक्यबद्धता जनाउंदै आएकी थिइन्।


तस्विरमा वायाँ अभिनेत्री लुम्ले

यही सेप्टेम्बर १६ र १७ तारिखमा भएको सुनुवाइपछि गोर्खाहरूको पक्षमा यो फैसला आएको हो। फैसलाबाट झन्डै १५ हजार पूर्वगोर्खा र तीनका विधवा तथा छोराछोरी लाभान्वित हुने छन्।

Popularity: 12%

186 comments October 1st, 2008

“गोर्खा न्याय अभियानमा” अभिनेत्री जुआना लुम्ले

एस, बेलायत / एचकेनेपाल डट कम -
गोर्खाहरुको समान पेन्सन, आवासीय भिसाको अधिकार तथा विधवा र कटौतीमा परेकाहरुलाई एकमुष्ट क्षतिपूर्तिको मागसहित बेलायतमा हुन लागेको विरोध प्रदर्शनलाई प्रशिद्ध अभिनेत्री तथा पूर्व मोडल जुआना लुम्लेले नेतृत्व गर्ने भएका छन्।

गोर्खालीहरुसंगै करीव ३० वर्ष सेवा गरेका पूर्व बेलायती सैनिकका छोरी अभिनेत्री लुम्लेले गोर्खाहरुको अधिकारका लागि ऐक्वबद्धता जनाउंदै आईरहेकी छिन्। सेप्टेम्बर १६ तारिख बिहान ९ बजेदेखि ११ बजेसम्म लण्डनस्थित उच्च अदालत सामु हुन लागेको विरोध प्रदर्शनमा अभिनेत्री लुम्लेसहित भिक्टोरिया क्रस विजेता लेप्टिनेन्ट (क्युजिओ) तुलबहादुर पुनको समेत सहभागीता रहने छ।

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतमा रहेका सम्पूर्ण नेपालीहरुलाई उक्त विरोध प्रदर्शनमा सहभागी भई ऐक्यवद्धता जाहेर गरि दिन अपिल गरेको छ।

गोरखाहरुको साझा हक, हित र अधिकारको लागि लामो समयदेखि संघर्ष गर्दै आएको गेसोले सेप्टेम्बर १३ देखि १९ तारिखसम्म विभिन्न कार्यक्रमसहित सप्ताहव्यापी गोर्खा न्याय अभियान सञ्चालन गरिदै छ।

फाइल तस्विरः मिलन तमु, युके / एचकेनेपाल डट कम।

Popularity: 9%

8 comments September 12th, 2008

गोर्खा भर्तीबारे सरकारको धारणा माग

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल भूतपूर्व सैनिक सङ्घले गोरखा भर्तीको सम्बन्धमा सरकारको स्पष्ट धारणा माग गरेको छ। नेकपा (माओवादी) को चुनावी प्रतिबद्धता पत्रमा गोरखा भर्ती जस्तो लज्जास्पद परम्पराको अन्त्य गर्ने बुँदा समेटिएको प्रति सङ्घले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सङ्घले सरकारको स्पष्ट नीति र्सार्वजनिक हुनुपर्ने माग गरेको हो।

विदेशी सेनामा हाल पाइरहेको रोजगारी सरह नेपालमा रोजगारीको अवस्था सिर्जना नहुँदासम्म गोरखा भर्ती केन्द्र बन्द नगर्न सङ्घले सरकारसँग आग्रह गरेको छ।

गोरखा भर्तीको सम्बन्धमा सङ्घले आयोजना गरेको कार्यक्रममा सङ्घका महासचिव नारायणप्रसाद कोइरालाले वैकल्पिक रोजगारीको व्यवस्था नहुँदासम्म गोरखा भर्ती बन्द गर्ने कुरा कल्पना समेत गर्न नसकिने बताउनुभयो।

नेकपा (माओवादी) का नेता वर्षामान पुन (अनन्त) ले बेरोजगार युवाहरुलाई आफ्नै मुलुकमा रोजगारी सिर्जना गरी गोरखा भर्ती बन्द हुनुपर्ने पक्षमा आफू रहेको बताउनुभयो।

सङ्घले आफ्ना मागहरुका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई समेत जानकारी गराइसकेको बताइएको छ।

Popularity: 9%

9 comments September 10th, 2008

बेलायतका नेपाली युवा कुलततिर

नवीन पोखरेल, साभारः कान्तिपुर
लन्डन, साउन ११ - बेलायत सरकारले पूवगोर्खाली र तिनका परिवारलाई आवासीय भिसा प्रदान गरेपछि भएको जनसंख्या वृद्धिसंगै यहाँका नेपाली युवा लागूपदार्थको कुलतमा फस्ने क्रम बढेको छ। बाबुआमाद्वारा उच्चशिक्षा र सुनौलो भविष्य दिन बेलायत झिकाइएका अधिकांश तन्नेरी लहैलहै र साथीभाइको करकापले लागूपदार्थको दुर्व्यसनमा फसेपछि अभिभावक चिन्तामा छन्। नेपालीको बढी बसोबास भएको फानबोरो, अल्डरसट, क्याम्बर्ली, आसफोर्ड, रेडिङ, प्लमस्टिड आदि सहरमा दुर्व्यसनी संख्या अधिक छ। अम्मलीमा किशोरवयका केटाकेटी धेरै छन्।

दुर्व्यसनीका लागि विभिन्न ठाउंमा गएर अनुवाद गरिदिने रमेशसिंह सराङकोटीले उपलब्ध गराएको तथ्यांकअनुसार, फानबोरो, अल्डरसट, क्याम्बर्ली तथा सम्पूर्ण सरे क्षेत्रमा मात्र विभिन्न प्रकारका ड्रग्स लिने नेपाली युवा ८० देखि ८५ र युवतीहरू १८ जना छन्। आसफोर्ड, डोभर र केन्ट क्षेत्रमा मात्र ४० देखि ४५ युवायुवती यो लतमा डुबेका छन् । स्विन्डेन, बेजिङस्टोक र रेडिङमा यो संख्या ४८ को हाराहारीमा छ। वेम्ली, क्याम्डेन, अर्ल्पर्टन, सडवरी, ह्यारो, हेज, बन्टओकमा ४० युवा र १५ युवतीलाई यो नशाले नराम्ररी छोएको छ। पूर्वी लन्डनको उलविच, एविउड तथा प्लमस्टिडमा लागूऔषध सेवन गर्ने युवा ४८ र युवती ११ रहेको बताइएको छ । यसबाहेक अन्य सहरमा पनि अम्मलीको संख्या धेरै छ।

अधिकांश नेपाली युवायुवतीले प्रारम्भमा ‘सी’ वर्गको सबैभन्दा सस्तो र सहज उपलब्ध हुने गाँजा र कालान्तरमा ‘ए’ वर्गका कोकिन, क्रयाक कोकिन र हेरोइनजस्ता खतरनाक र महंगा लागूपदार्थसम्म सेवन गर्ने दुर्व्यसनीहरूको भनाइ छ । केही दुर्व्यसनीले यो आदत नेपाल छंदै रहेकाले तत्काल बानी छोड्न नसकिएको बताएका छन्।

तन्नेरीहरू आफूले पाएको स्वतन्त्रता र बाबुआमा मेसिनझैं काममा खटिएकाले बिग्रिएको भन्नेहरू धेरै छन् । दिनभर काममा नलागे घर व्यवहार चलाउन नसकिने हुंदा अभिभावक सबै त्यागेर अहोरात्र काममा खटिन्छन् । त्यतिखेर केटाकेटी बरालिन थाल्छन् । बेलायतको कानुनमा रंगे हात नपक्रेसम्म कारबाही गर्न नसकिने हुंदा पनि लुकीछिपी यो धन्दामा संलग्न हुने क्रम बढेको अनुमान गरिएको छ।

यहाँस्थित गोर्खालीहरूको प्रमुख संगठन ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी अध्यक्ष तथा अवकाशप्राप्त मेजर टिकेन्द्रदल देवानले विशेषगरी १३ देखि १६ वर्षउमेरका नानीहरूमा यो समस्या निकै देखिएको बताए । ‘यसमा मुख्यगरी भाषा, संस्कृति, साथीभाइको संगत र बाबुआमाको बेफुर्सदी मुख्य कारक छ,’ देवानको ठम्याइ छ- ‘अभिभावकले आफ्ना सन्तानको कमजोरी औंल्याउन आनाकानी गर्नु आफू व्यस्त भएको निहुंमा केटाकेटीको बेवास्ता गर्नु दुर्व्यसनी बढ्नुको प्रमुख कारण हो।’ अर्को गोर्खा संगठन संयुक्त ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संघ (यूके) का प्रवक्ता ज्ञानराज राई भने बढ्दो स्वतन्त्रता र आमाबाबुले आफ्ना केटाकेटीलाई निगरानी राख्न नसक्नुले तन्नेरी कुलततिर होमिएको बताउंछन् । ‘बेलायत सरकारले गोर्खालीलाई बेलायती नागरिकसरह सुविधा नदिएकाले नेपाली विद्यार्थी राम्रो विश्वविद्यालय जान सक्दैनन् । त्यसैले उनीहरू फुर्सदिलो समयमा कुलततिर लाग्न प्रेरित भएका छन्,’ राईले भने- ‘यो अवस्था रहिरहे ‘वीर गोर्खाली’ ले रचेको दुई सय वर्षको इतिहास क्षणभरमै मेटिन बेर लाग्दैन।’

बेलायतमा नेपालीको जनगणना सुरु गरेको सेन्टर फर नेपाल स्टडिजका संयोजक चन्द्र लक्सम्बाको अनुमानमा बेलायत बस्ने नेपालीको संख्या यतिखेर झन्डै एक लाख छ। उनले गोर्खालीसहित अन्य विद्यार्थी पनि कुलतमा लागेको बताए । ‘बेलायत भित्रनेबित्तिकै स्वतन्त्र भएं, जे गरे पनि हुन्छ भन्ने भ्रमले ठूलो भूमिका खेलेको छ,’ उनले भने।

लागूपदार्थ सेवनसंगै बेलायतको नेपाली डायस्पोरामा झैझगडा र आपराधिक क्रियाकलापसमेत बढेका छन्। यसपालिको नेपाली नयाँ वर्ष मनाउन एउटा पार्टी सामेल २३ वर्षीय विशाल गुरुङको झगडाकै कारण हत्या भएको थियो। ‘यहाँ हुने हरेक सांस्कृतिक कार्यक्रममा युवाहरूबीच झगडा भएकै हुन्छ,’ बेलायतका विभिन्न समारोहमा व्यस्त हुने भेगास साउन्ड हाउसका इन्जिनियर भीम लिम्बूले भने।

Popularity: 9%

16 comments July 27th, 2008

पूर्व गोर्खा सैनिकलाई किन भेदभाव गरियो ? कानुनी आधार चाहिइयो

एस, बेलायत/ एचकेनेपाल डट कम, जुलाई १६ -
बेलायतको उच्च अदालत “रोयल कोर्ट अफ जस्टिस” ले पूर्व बेलायती गोर्खा सैनिकहरुलाई सेवा र सुविधामा सरकारबाट हुदै आएको भेदभावको कानुनी आधार पेश गर्न २८ दिनको समयसिमा तोकेको छ।
पूर्व बेलायती गोर्खा सैनिकहरुले आफूहरुलाई पेन्सन र सुविधामा भेदभाव गरिएको भन्दै गरेको रिटमाथि मंगलबार फैसला सुनाउंदै बेलायत सरकारलाई यस्तो आदेश दिएको हो। अदालतले ब्रिगेड अफ कोर्टका कर्णेल हेट, बेलायती गृहमन्त्रालयका अधिकारी र सरकारका वकिलहरुलाई अदालतमा बोलाई लिखित बयान लिएको थियो। उनीहरुबाट स्पट आधारहरु प्राप्त नभएपछि बेलायत सरकारलाई २८ दिनभित्र कानुनी आधार पेश गर्न आदेश दिएको हो। बेलायती सरकारले पूर्व बेलायती गोर्खा सैनिकहरुमाथि के के कारणले भेदभाव गरिएको हो सो बारे २८ दिनभित्र अदालतलाई कानुनी आधार पेश गर्नु पर्नेछ।

पूर्व बेलायती गोर्खा सैनिकहरुले सन् १९९७ अघि र पछि अवकाश प्राप्त सैनिकहरुलाई पेन्सनलगायत अन्य सुविधाहरुमा समान व्यवहार नगरेको भन्दै मुद्दा दायर गरेका थिए। गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को पहलमा जुलाई ११ तारिख शुक्रबारका दिन मुद्दा दायर भएको थियो। मुद्दा दायर गर्नेहरुमा भिसी तुलबहादुर पुन, फोकल्याण्ड टापुको युद्धमा घाइते भएका ज्ञानेन्द्र राईसहित ६ जना पूर्व बेलायती गोर्खा सैनिकहरु रहेका छन्।

Popularity: 11%

5 comments July 16th, 2008

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2018
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Posts by Month

Posts by Category

More news....