Posts filed under 'विचार/विविध'
व्यंग
प्रेम ओली-
बानेश्वरमा प्रदर्शन भइराखेको यसपालीको गाइजात्रे नाटकको भाग पाँच पनि सकियो। जोक्कर, नोक्कर, मालिक,बालिक, अझाउ, बझाउ, खलनायक पात्रहरु आए पनि नायक आएनन्।
सायद देशले अझै मान्छे पाएन। बिना निर्देशकका पात्रहरुको जात्रा हेर्दा परिपक्वता नै देखियो। अब यो गाई जात्रा कार्यक्रमलाई राम्रो निर्देशक खटाएर बिदेशसम्म पठाउन सकियो भने डलर ठटाएर उठाउन सकिने कुरोमा कसैको तीन सय एक मत छैन।
हाम्रो संस्कृति र प्रबृतिको पनि राम्रो प्रचार हुने। अझ बिना नायक नै गाइजात्रा हिट भएको देख्दा नेपालका सिने निर्माताले सिके भने, त्यसै त कम बजेट बन्ने फिलिम, झन कममा बन्न सक्छ। फेरी, नायकले काम र दाम नपाउंदा मलाई नालायक भन्न सक्छ। यो गाई जात्राको अलिकति आलुचना के छ भने भैंसीको दुध खाएका पात्र भए पनि मञ्चमा पहलमानी देखाइएको छैन। द्वन्द्ध पक्ष कमजोर देखियो। फिल्मको जस्तो कुर्सी, सिसा भाँचेको र तरुनी पात्रहरु भएर पनि कम्मर भाँचेर नाँचेको देखिएन। यो नाटकको अन्तमा दुईचार जनालाई मन्त्री बनाउने र यसैको उपलक्ष्यमा नेपाली साम्बा नृत्य प्रसुत गरेमा यो गाई जात्रे नाटक भाग पाँच मात्र हैन, सयौं भाग चल्नेछ।
नेपाली सेनेमाको रेकर्ड मात्र हैन, अहिले सम्मको सबै गाई जात्रे ईतिहास तोडनेछ भन्ने कुरो झानेको सेकुवा खाँदै ठोकुवा नै गर्छु। यसो गर्दा नाटकको पूर्णता पनि देखिने। बिदेशतिर लैजादा पनि अन्तर्राष्ट्रिय क्वालिटीको हुने। यति गरियो, यो नाटक हिट मात्र होइन, सुपर हिट भएर ओस्कार पुरुस्कार समेत नहुत्याउला भन्न सकिन्न। जय काउकुती।
Popularity: 9%
August 25th, 2010
हुमबहादुर तमु/ एचकेनेपाल डट कम-
सन् १९९३ जुन महिनाको १४ देखि २५ सम्म अष्ट्रियाको भियनामा सम्पन्न संयुक्त राष्ट्रसंघीय मानवअधिकार सम्बन्धी विश्व सम्मेलनले अगष्ट ९ लाई विश्व आदिवासी दिवस, सन् १९९३ लाई विश्व आदिवासी वर्ष र सन् १९९५-२००४ लाई विश्व आदिवासी दशकको घोषणा गर्यो।
आदिवासी जनजातिका समस्या समाधान, हक हितको संरक्षणका लागि न्युनतम मापदण्ड तयार पार्ने र राष्ट्रिय विकासको समिक्षा गर्ने उद्धेश्य सन १९८४ मा संयुक्त राष्ट्रसंघ अर्न्तगत गठित आदिवासी जनजाति कार्यदलको सिफारिसमा विश्व आदिवासी दिवास, वर्ष र दशक घोषणा गर्न बाध्य भएको हो।
अस्तित्व र पहिचानबाट शुरु भएको आदिवासी आन्दोलनले आदिवासी जनजातिका अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघलाई काम गर्न बाध्य बनाए अनुसार आदिवासी अधिकार सम्बन्धी मामिलामा संयुक्त राष्ट्रसंघद्धारा गठित कार्यदलले कार्य प्रारम्भ गरेको सन १९९३ को ९ अगष्टका दिनलाई विश्वमा रहेको करीब तीस करोड आदिवासी जनजातिले सोह्र वर्षअगाडि देखि ९ अगष्टलाई विश्व आदिवासी दिवसको रुपमा मनाउदै आएको छ।
संयुक्त राष्ट्रसंघले विश्व आदिवासी वर्षसन १९९३ लाई “आदिवासी जनजातिः नयाँ साझेदारी” भन्ने मूल नारा तय गरे पनि विश्वका धेरै मुलुकका नत आदिवासीले नै चाल पाए नत राज्यले नै कुनै पहल गर्यो । आदिवासीहरुको राज्यमा पहुँच नभएको र राज्यले खासै चासो नदिनुलाई आदिवासीका लागि भने राम्रो संकेत थिएन । आदिवासी वर्षको लागि भने नेपालमा समिति सम्म बन्यो। सन् १९९४ मा आदिवासी जनजाति कार्यदलले विश्वका आदिवासी जनजातिका भाषा, संस्कार, सँस्कृति, मुल्य मान्यता, स्वतन्त्र पहिचान र भूमिमाथि अधिकार सम्वन्धी पैचालिस धारा सहितको आदिवासी जनजातिको अधिकार सम्बन्धी मस्यौदालाई घोषणापत्रको रुप दिई कार्यन्वयनको लागि राष्ट्रसंघीय मानव अधिकार आयोगलाई बुझाए पनि त्यो दस्तावेजको रुपमा मात्रै सिमित हो कि झै भएको छ । नत संयुक्त राष्ट्रसंघका सदस्य मुलुकहरुले अनुमोदन नै गर्यो नत कार्यान्वयन नै।
यसरी नै सन् १९९५ देखि २००४ लाई आदिवासी दशकलाई आदिवासी जनजातिः विकास कार्यमा साझेदारी भन्ने लोभ लाग्दो नारा तय गरियो । यस दशकको उद्धेश्य विश्वभरका आदिवासीहरुले मानव अधिकार, वातावरण, विकाश, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भोग्नु परेको समस्याको समाधानका लागि अर्न्तराष्ट्रिय सहयोग आदान प्रदान गर्नु थियो। यसरी नै आदिवासी जनजातिको अवस्था, उनीहरुको अधिकार, भाषा, सँस्कृतिको संरक्षण, स्वपहिचान, सशक्तिकरण, पर्यावातावरण, विकास तथा प्रतिनिधीत्वको सुनिश्चितता, आदिवासी जनजातिका हक हित सम्बन्धी राष्ट्रिय कानुन निर्माणमा पहल गर्ने, अर्न्तराष्ट्रिय श्रम संगठन अभिसन्धि नं. १६९ अनुमोदन गराउने, आदिवासी जनजातिको जीवनस्तरमा आएको सुधारको समिक्षा गर्नु नै दशकको मुल उद्धेश्य थियो।
आदिवासी दशकको उद्धेश्य प्राप्तिका लागि संयुक्त राष्ट्रसंघ, राष्ट्रसंघका सदस्य राष्ट्रहरु, आदिवासी संघ संस्थाहरुले आदिवासीको सूचीकृत गर्ने, सरकार, राष्ट्रसंघीय इकाईहरु, विभिन्न संघ संस्थाहरुसँग संयोजन गर्ने, कोष स्थापना गर्ने, पत्रपत्रिका प्रकाशन गर्ने, अर्न्तक्रिया र गोष्ठीहरु गर्ने योजना तर्जुमा गरिएको थियो । यसरी नै आदिवासी जनजातिका संघ संगठनको संयन्त्र बनाई मानवअधिकारका वारेमा तालिमहरु प्रदान गर्ने र तालिममा संभव रहेसम्म मातृभाषाको सामग्री प्रयोग गर्ने भनिएको थियो । संयुक्त राष्ट्रसंघको सबै अंगहरुमा आदिवासी जनजातिका मामिला हेर्ने इकाई स्थापना गर्ने, आदिवासी जनजातिहरुको सामाजिक आर्थिक अवस्थाबारे अनुसन्धान गर्ने, सहभागिताको सुनिश्चितता गरी राष्ट्रिय कार्यक्रम तय गर्ने, आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी अर्न्तराष्ट्रिय श्रम संगठन महासन्धि नं.१६९ अनुमोदन गर्न दवाव दिने, नयाँ कानुन निर्माण र संविधानमा सुधार गरी आदिवासी जनजातिहरुको अस्तित्व, पहिचान र अधिकारलाई कानुनी हैसियत दिई सुनिश्चितता, आदिवासी जनजातिको भाषा लिपीको विकास, पाठ्यक्रममा जनजातिका विषयबस्तु समावेश, साँस्कृतिक अध्ययन केन्द्र र सग्रहालयको स्थापना गर्ने लगायतको योजना प्रस्तुत भएको पाइन्छ।
आदिवासीको उत्थानको पक्षमा जति गर्ने भनेता पनि नारामा मात्र सिमित हुन पुग्यो, कार्यन्वयन हुन भने सकेन । यसको प्रमुख संस्था स्वयं संयुक्त राष्ट्रसंघले तीनवटा काम मात्र गरेर टार्ने काम गरेको पाईन्छ । पहिलो काम, आदिवासी जनजातिका अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघको मस्यौदा घोषणापत्र १९९४ तयार गर्यो । जसमा सामाजिक, सँस्कृति, आर्थिक, धार्मिक, भाषिक, राजनितिक लगायतका अधिकार सहित आत्मनिर्णयको अधिकार समेत आदिवासी जनजातिलाई हुनेछ भन्ने उल्लेख गरिएको छ, तापनि राष्ट्रसंघमा मानवअधिकार सम्बन्धी मस्यौदामा अल्पमत बहुमतबाट नभई सर्वसम्मतिबाट पारित हुनुपर्ने भएकाले दुर्भाग्यको कुरा यस घोषणापत्र पारित हुन सकेको छैन, घोषणापत्र मै सिमित रहेको छ । मस्यौदामा उल्लेख भएको आत्मनिर्णयको अधिकार, आदिवासी जनजातिका नियन्त्रणको अधिकारमा अमेरिका, बेलायत, क्यानडा, जापान, अष्ट्रेलिया, भारत जस्ता शक्तिशाली मुलुकहरुले असहमति मात्रै होइन आपत्ति जनाए।
दोश्रो काम, संयुक्त राष्ट्रसंघले आदिवासी जनजातिका मामिला हेर्ने उद्धेश्यले २००२ मा आदिवासी जनजाति स्थायी मञ्च स्थापना गर्यो । मञ्च प्रभावकारी ढंगले सञ्चालन हुन नसके पनि स्वेच्छिक कोषको शुरुवातसम्म गर्न सफल रहेको पाइन्छ।
तेश्रो काम, विश्व आदिवासी दशकको अन्त्यमा मानव विकास प्रतिवेदन २००४ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले प्रकाशन गर्यो । यस प्रतिवेदनले साँस्कृतिक स्वतन्त्रतालाई पहिलो प्राथमिकता दिदै मानवअधिकारसँग जोड्ने काम गरेको छ । समावेशीकरण, जाति, भाषा, धर्म, सँस्कृतिको संरक्षण सर्म्बर्द्धन तथा विकास गर्दै भेदभावको अन्त्य गर्न बहुसाँस्कृतिक निति बनाउन जोड दिएको छ । यस प्रतिवेदनलाई हाम्रो जस्तो बहुसाँस्कृतिक मुलुकका लागि आदिवासी जनजातिका अधिकार सुरक्षित गर्ने प्रतिवेदनको रुपमा लिन सकिन्छ।
नेपाल सामाजिक साँस्कृतिक विविधता अथवा बहुभाषिक, बहुजाति, बहुसाँस्कृतिक मुलुक भए पनि शासकहरुले एक जाति, एक भाषा, एक सँस्कृतिको मुलुक बनाइयो । २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनस्थापना भएपछि नेपाल अधिराज्यको संविधान २०४७ मा नै नेपाल बुहजातिय, बहुभाषिक, बहुसाँस्कृतिक देशको रुपमा स्थापित गर्ने काम भएदेखि केही न केही आदिवासी प्रति मुलुकको ध्यान आकृष्ट भएको देखिन्छ । जस अनुसार आदिवासी वर्ष १९९३ मा नेपालमा अरु केही नभए पनि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको अध्यक्षतामा राष्ट्रिय मुल समिति सम्म बनेको थियो। यसै गरी २०५२ सालमा आदिवासी जनजाति उत्थान प्रतिष्ठान कार्यदल गठन गरी उक्त कार्यदलको सिफारिसमा नेपालमा ५९ जनजातिको पहिचान गराउने काम भयो। त्यसपछि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ पारित भई त्यही ऐन अनुसार २०६० मा आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान गठन गर्यो । यसले जनजातिलाई आफ्नो अधिकार प्रति संवेदनशील, संगठित गर्न अभिप्ररित गरेको छ । प्रतिष्ठान स्थापना भएपछि स्वपहिचान, आफ्नो आवाश्यकता, समावेशीता, धर्म निरपेक्षता, भाषिक, भेषभूषाको आन्दोलनकै रुपमा विकास भयो । सञ्चार माध्यमहरुमा जनजातिका मातृभाषामा प्रकाशन, प्रसारण हुन थाल्यो । यसैक्रममा प्राथमिक तहको शिक्षामा तामाङ, मगर, नेवारी, लिम्बुमा कक्षाहरु सञ्चालन भए । आदिवासी जनजातिले स्वअधिकार पहिचानपछि राजनितिक दलमा समेत दवाव पर्न थाल्यो।
आदिवासी जनजातिको दवावका कारण शंखधर साख्वालाई राष्ट्रिय विभुति र लखन थापामगरलाई प्रथम शहिद घोषणा, जातिय संग्रहालयको स्थापना, अर्न्तराष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ अनुमोदन गर्न नेपाल सरकार बाध्य भयो । २०६४ माद्र ५ गते नेपाल सरकारले महासन्धि नं. १६९ अनुमोदन गरेको हो । महासन्धी अनुमोदनको एक वर्षमा कानुनी मान्यता पाउदछ तर नेपालमा यस्तो भएको छैन । नत सरकारले आइएलओ १६९ कार्यान्वयनको पहल गरेको छ नत आदिवासी जनजातिहरुले कार्यान्वयन गराउन उचित दवाव दिएका सकेका छन । प्राप्त अधिकार उपभोग गर्न नपाउने कस्तो मुलुक, प्राप्त अधिकार बुझ्न समेत नसक्ने कस्ता आदिवासी जनजातिहरु, सोच्नैपर्ने भएको छ।
विगतमा विश्व आदिवासी दिवस अगष्ट ९ लाई केही कार्यक्रम गरी मनाएको भएपनि गत वर्षदेखि नेपालमा अधिकार प्राप्तिको आन्दोलनसँगै मनाउने गरेको छ । नेपालमा यसवर्ष विश्व आदिवासी दिवस “आदिवासी जनजातिमाथिका सबै विभेद र उत्पीडनको अन्त्य गर्ने अभियान, जाति भाषा ऐतिहासिक पहिचानको आधारमा राज्य पुनःसंरचना सुनिश्चित भएको संविधान निर्माण” नाराका साथ मनाउदै छौं। संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान आफैले तोकेको दुइ वर्षमा राजनितिक दलहरुले लेख्न सकेनन फेरि पनि २०६८ जेठ १४ गतेभित्र लेख्ने गरी दलिय सहमतिको आधारमा एक वर्ष थप गरिएको छ । राजनितिक सत्ता खेलले अन्तरिम संविधानमा रहेको सहमतिय प्रणालीमा पाँचौ संशोधनमा बहुमतिय बनायो । संविधान संशोधन नहुदा व्यवस्थापिका संसदको पहिलो बैठक एक्काइस दिनपछि मात्रै बसेको थियो । थपिएको समयावधिको साढे दुइमहिना बितिसक्दा पनि शान्ति प्रक्रिया र संविधान निर्माणमा राजनितिक दलहरुको कुनै चासो देखिदैन । चारचार पटक व्यवस्थापिका संसदबाट अस्वीकृतहरु पाँचौ पटक पनि प्रधानमन्त्री बन्नकै लागि मरिहत्ते गरिरहेकाले राजनीतिक दलका नेताहरुले मुलुकलाई निकास देला भन्ने विश्वास लाग्दैन । बरु जित्नका लागि सांसदको लिलाम बढावढ भइरेहेको छ । मुलुकले अन्तरिम संविधानको पाँचौ संशोधनमा गरेको गल्तीको प्रायश्चित गर्दै सहमतिय बाटो खोजेको नेताहरुले किन बुझदैनन ? सहमतिबाटै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनु पर्दछ, थपिएको एक वर्षमा आम नेपालीले मेरो भन्ने संविधान पाउनुपर्दछ।
अहिले नेपालमा सहमतिय मार्ग अवरुद्ध भएका कारण शान्ति प्रक्रिया बेवारिसे जस्तै बनेको छ, नयाँ संविधान एकादेशको कथा हो कि झै बनेकाले नेपालका आदिवासी जनजातिहरु विश्व आदिवासी दिवस आन्दोलनका रुपमा मनाइरहेका छन्। नेपाल आदिवासी जनजाति महासंघले त विश्व आदिवासी दिवसको सन्दर्भमा शान्ति र संविधान निर्माणका लागि दवाव दिन एक महिने आन्दोलनको कार्यक्रम अगाडि बढाएको छ । ज्ञापनपत्र बुझाउनेदेखि लिएर काठमाण्डौं उपत्यका नाकाबन्दीसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आन्दोलन र दवावका कारण विश्व आदिवासी दिवस स्थापित भएको हो भने विश्व आदिवासी दिवस पनि वर्षेनी आन्दोलनसँगै मनाउनु परेको छ।
यस वर्ष आदिवासी जनजातिले विश्व आदिवासी दिवस सन्दर्भमा आन्दोलनको मुल मुद्धा शान्ति र संविधान निर्माणलाई बनाएको छ । २०६७ असार २३ गतेदेखि २५ गतेसम्म चितवनमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदहरुको राष्ट्रिय भेलाले बीस बुँदे सौराहा घोषणापत्र समेत जारी गरेर आन्दोलनसँगै विश्व आदिवासी दिवस मनाउने घोषणा गरेको हो । यस अवसरमा आदिवासी जनजाति महासंघले संविधानसभाको कार्य तालिका तत्काल सार्वजानिक गरियोस् र आदिवासी जनजातिहरुका अधिकारहरु सुनिश्चित गरिएको संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझाव संकलन गर्न नेपालीको घर दैलोमा तत्काल वितरण गरिनुपर्ने, दल त्याग ऐन तत्काल खारेज गर्नुपर्ने, जननिर्वाचित सभासदहरुलाई दलहरुले व्हीप जारी गर्न नहुने, आदिवासी जनजातिहरुको जातीय, भाषिक र ऐतिहासिक पहिचानको आधारमा राज्यको पुनर्संरचना गरि जातीय स्वशासन सहितको अग्राधिकार सुनिश्चित हुनुपर्ने र भूगोलको आधारमा प्रस्तावित नारायणी, सुनकोशी र जडान प्रदेश खारेजी, राज्य पुनर्सरचना आयोगमा आदिवासी जनजाति विशेषज्ञहरुको समावेश गर्नुपर्ने कुरालाई जोड दिएको छ।
यसैगरी, धर्म निरपेक्ष, गणतन्त्र र जातीय संघीयतालाई अपरिवर्तनीय धाराको रुपमा संविधनमा सुनिश्चित गर्नुपर्ने, महासंघ र नेपाल सरकारबीच भएको २० बुँदे सम्झौता कार्यान्वयन, राज्यका निकायहरुमा आदिवासी जनजातिहरुको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, अन्तर्राष्ट्रिय श्रम संगठन अभिसन्धी १६९ र संयुक्त राष्ट्र संघको आदिवासी जनजातिको मानव अधिकार घोषणा पत्र तत्काल कार्यान्वयन, आदिवासी जनजातिहरूको भूमि र प्राकृतिक श्रोतमाथिको अधिकार नयाँ संविधानमा ग्यारेण्टी, निशुल्क बहुभाषिक शिक्षाको ब्यवस्था, आदिवासी जनजातिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने लगायताका माग गरेको छ।
माग पुरा गराउन तथा शान्ति र संविधान निर्माणका लागि दवाव दिन आदिवासी जनजाति महासंघले जिल्ला जिल्लाबाट ज्ञापन पत्र बुझाउनेदेखि काठमाण्डौं नाकाबन्दी सम्मको कार्यक्रम घोषणा गरेको छ। तर पनि, जबसम्म अधिकार खोसिएको वा विभेदमा पारिएको चेत आम आदिवासीलगायत उत्पीडित जनतामा आउदैन आन्दोलनले पनि उचाइ पाउन सक्दैन। राष्ट्रिय मुद्धालाई पूरा गराउन थालिएको आन्दोलनलाई परिणाममुखी बनाउनु पर्दछ । शान्ति र संविधान निर्माणको आन्दोलन गाल टार्ने मात्रै होइन परिणाममुखी बनाउनु पर्दछ। समूहगत, राजनितिक र जुंगाको स्वार्थ भन्दामाथि आदिवासी जनजातिलगायत आम नेपालीको स्वार्थका लागि उठ्नुपर्दछ।
Popularity: 6%
August 8th, 2010
पेम्बा गेलु शेर्पा/ एचकेनेपाल डट कम-
“शेर्पाहरुको महत्वपूर्ण संस्कार विवाह हो। यस जातिमा मागी, प्रेम, जारी, चोरी जस्ता सबै प्रकारका विवाह परम्परा पाइन्छ। मागी विवाह मामा चेला र फुपू चेलीबीच गर्ने चलन छ” यो वाक्यांश कुनै साधारण पत्रिकामा प्रकाशित कसैको नितान्त व्यक्तिगत विचारको सन्दर्भ सामाग्री होइन, यो त लाखौ लाख विद्यार्थीहरुले बर्षेनी अध्ययन गर्ने उच्च माध्यमिक शिक्षा (१०+२) को कक्षा १२ समाजशास्त्र/मानवशास्त्र बिषयको नयाँ पाठ्यक्रममा छापिएको सन्दर्भ सामाग्री हो। जसलाई बिद्यार्थीहरुले अध्ययन गरेर आफ्नो भविष्यको गन्तव्य बनाउछन।
शेर्पा जाति नेपालको उच्च हिमाली भेगमा बसोबास गर्ने नेपाली हो, जसको आफ्नै छुट्टै भाषा, संस्कृति तथा परम्परागत मूल्य र मान्यताहरु रहेका छन तर शेर्पा जातिको बिषयमा लेखिएको यो सामाग्रीले भने वास्ताविक शेर्पाहरुको ती सबै संस्कार संस्कृति मूल्य र मान्यताहरुको खिल्ली उडाएको छ।
सात पुस्तासम्म पनि मामा र आमा समान मान्ने शेर्पा जातिको यो संस्कारको गलत व्याख्या गर्ने रत्ननगर ९ चितवनका हरिहर घिमिरे हुन् जो समाजशास्त्र/मानवशास्त्र विभागमा आवद्ध जनाउछन्। हुन त आखिर बाहुन न परे “बाहुन ले च्याउ खाओस न च्याउको नाम थाहा होस ” भने जस्तै कसरी शेर्पा बारेमा जानुन लेखुन पनि। तर के यसरी नजानेको बिषयमा हचुवा तालले सिङ्गो शेर्पा जातिको संस्कार संस्कृतिको धज्जी उडाउदै शेर्पाहरुको स्वाभिमानमा ठेस पुर्याउने अधिकार नेपालका यी बाहुनहरुलाई छ ?
अझै अर्को वाक्यांश पढौ न “खुम्बु क्षेत्रका कुनै शेर्पा समुदायमा थुप्रै दाजुभाईको एउटै पत्नी राख्ने बहु प्रथा चलन पाइन्छ। यस्तो बिबाहमा जेठा दाजुले नै बिबाहको बिधि पूरा गर्छन। त्यसैले त्यस महिलाबाट जन्मिएका सन्तानहरु जेठो दाजुका हुन्छन तर वर्तमान समयमा केही परिवारमा दुई दाजुभाई दुई साझा पत्नी पनि भएको पाइन्छ। यस्तो दुबै पत्नीको विवाह पनि जेठो दाजुसँग नै हुन्छ। किनभने दाजुले भाइको पत्नीसँग सहवास गर्न नहुने र भाइले भाउजुसँग सहवास गर्न हुने भएका कारणबाट यस्तो परम्परा भएको विश्वास गरिन्छ। दाजुभाइमा सम्पत्ति बाँड्नुपर्ने र स्त्रीको संख्या थोरै जस्ता कारणबाट बहुपति बिबाहको प्रचलन भएको देखिन्छ।
जारी बिबाह गर्दा समाजले तोकेको जरिमाना तिर्नुपर्दछ भने चोरी बिबाह र प्रेम बिबाहमा पनि सामाजिक मान्यता दिलाउनका लागि बिबाहमा गरिने सबै विधि गर्ने चलन पाइन्छ। मागी बिबाह गर्दा मामाचेला र फुपूचेलीसँग गर्ने चलन शेर्पा जातिमा विशेष रुपले प्रचलित छ।” यो पुस्तक अहिलेको उच्च माध्यमिक शिक्षा (१०+२)को कक्षा १२ समाजशास्त्र/मानवशास्त्र बिषयको नयाँ पाठ्यक्रममा समावेश छ। अब सबै शेर्पा दाजुभाई तथा दिदिबहिनीहरुले भन्नुहोस यो वास्तविक रुपले शेर्पा जातिको विवाह संस्कारको सही शास्त्र बनेको छ? गम्भीर छलफलको बिषयबस्तु हो यो, तसर्थ सबै शेर्पा समुदायका लागि भन्ने शेर्पा संघसंस्था तथा सरोकारवालाहरुले यसप्रति ध्यान दिनु पर्ला कि ? नेपालमा समाजशास्त्र र मानवअशास्त्रको परिचय नामक पुस्तकको पृष्ठ ११७ मा तपाईं यो सामाग्री पढ्न सक्नुहुन्छ।
Popularity: 7%
July 29th, 2010
डा. रवीन्द्र समीर-
सफा एवम् नीलो आकाशले बादलका झुम्काहरू लगाएको छ । ती झुम्काहरूलाई चुम्न आतुर छन् रङ्कीविरङ्की चङ्गाहरू । कुनै बाज आकारका चङ्गाहरू, कुनै हवाईजहाजजस्ता चङ्गाहरू, कुनै एउटै धागोमा उनिएका बहुरङ्की कलात्मक दर्जनौँ चङ्गाहरूले आकाशलाई मनमोहक बनाइरहेका थिए । घामको झुल्का भर्खर धर्तीमा पोखिएकाले सुनौलो वातावरण थियो । न गाडीको आवाज, न प्रदूषण, न कुनै कोलाहल सुरम्य बनेको थियो विश्वको सबैभन्दा ठूलो स्क्वायर (चोक) तियानमेन स्क्वायर।
बिहानको सात बजेको थियो, म उभिएको थिएँ, बेइजिङको मुटु तियानमेन स्क्वायरको मध्यभागमा । चार लाख चालीस हजार वर्गमिटर क्षेत्रफल भएको यो चोक चाङ्क एन रोडमा अवस्थित छ । दस लाख मानिसहरू उभिन सक्ने क्षमता भएको यो चोकमा म आकाशमा हल्लिइरहेको चङ्गाजस्तै भौँतारिरहेको थिएँ । ‘चाउ शाङ्क हाउ’ अर्थात् शुभप्रभात भन्दै एउटी चिनियाँ युवती विभिन्न जात र वर्णका चङ्गा बेच्न आउँछे । जानीनजानी चङ्गा उडाउन खोज्छु, एउटै धागोमा एक दर्जन चङ्का उडाउनुपर्दा सन्तुलन मिलाउन गाह्रो भइरहेको छ, अन्य चिनियाँहरू अचम्म मानेर मतिर हेर्छन् र हाँस्दछन् अनि बूढी औँला ठाडो गराएर उत्साहित गर्दछन्।
चोकको किनारावरिपरि व्यवस्थित फुटपाथ पसलहरू छन् । माओका टोपहरू, माओका लकेटहरू, माओका घडीहरू, माओका कपडाहरू, माओका पोस्टरहरू, माओका सामग्रीहरू… माओमय वातावरण छ, सामान बेच्नका लागि तँछाडमछाड गरिरहेका छन् । विदेशी अनुहार ठानेकाले होला, चर्को भाउ सुनाउँछन्, बार्गेनिङ गर्दै जाँदा निकै सस्तोमा किन्दा पनि खल्तीको वजन स्वात्तै घटेछ र म लागेँ तियानमेन स्क्वायरको समीपमा।
सुन्दर ठूलो स्तम्भ । बेलारुसका प्रोफेसर सिभाकोभ, थाइल्यान्डकी प्रानी, थाङ्क चाओ, मिली, ली, ओल्गा, नतासा थुप्रै साथीहरू तियानमेन स्क्वायरको सुन्दरतालाई क्यामेरामा कैद गर्दै छन् । उनीहरू चुम्बक बन्छन्, म फलाम । उनीहरूसँगै तानिएर, टाँसिएर रमाइरहेको हुन्छु । साना एवम् मायालाग्दा फुच्चाफुच्चीहरू पुतलीजस्ता साइकलमा चढेर रमाइरहेका छन्, प्रौढहरू चङ्गा उडाइरहेका छन्– ‘आहा ¤ कति रमाइलो । बीचमा स्तम्भ, पश्चिममा ग्रेट हल (जहाँ दस हजार सिटको क्षमता छ), बैङ्गेटिङ हल (पाँच हजार सिटको क्षमता छ), पूर्वमा चाइना नेसनल म्युजियम, दक्षिणमा माओ मेमोरियल हल, उत्तरमा प्यालेस म्युजियम (Forbidden City) को गेट रहेको छ । जता हेर्र्यो, झनै रमाइलो । हजारौँ मान्छेहरू छाता ओढेर पङ्क्तिबद्ध छन्, हातमा पूmलको गुच्छा बोकेका छन् । पङक्ति माओ मेमोरियल हलबाट सुरु भएको छ, अन्त्यहीन छ, प्रत्येक सेकेन्ड पङ्क्तिको लम्बाइ बढिरहेको छ । माओलाई फूल चढाउने पङ्क्ति रहेछ त्यो।
रेन चाओ याङ्क, स्याडी मिली र लीले सुरक्षाकर्मीहरूसँग छाङछाङ र छुङछुङ गर्छन्, हामीहरू ट्वाल्ल परेर हेर्छौं । विदेशी अतिथि भएकाले हामीहरू पङ्क्तिमा कुर्नुनपर्ने भयो, स्वाट्ट छिर्यौँ हामीहरू माओ मेमोरियल हलभित्र । घिउ रङको, सिङ्कमर्मरजस्तो रङ्कको माओको ठूलो सालिक, सोफामा प्रसन्नमुद्रामा बसेका माओलाई नजिकै गएर हेर्र्यौँ । कति सौम्य, शिष्ट, दृढ एवम् सुन्दर सालिक ¤ त्यहाँबाट भित्र पस्यौँ, सिसाभित्र हँसियाहथौडा अङ्गित कम्युनिस्ट पार्टीको झन्डा ओढाएर माओको शवलाई राखिएको रहेछ । माओको देहावसन भएको यतिका वर्षसम्म पनि उनको शरीर भर्खर बोल्लाजस्तो, उठेर हिँड्लाजस्तो। मैले पनि एक गुच्छा फूल चढाएँ र माओलाई मनमनै अभिवादन गरेँ । मेरो नाक घिरौँलाजत्रो भयो माओको शरीर प्रत्यक्ष देख्न पाएकोमा । तस्बिर लिन मनाही भएकाले नेत्रपटलमा त्यो तस्बिरलाई खिचेर राखेँ र बाहिरियौँ हामीहरू।
राष्ट्रपति भवन, पार्लियामेन्ट भवन हेर्दै हामीहरू अगाडि बढयौँ । पर्खालजस्तोमा सिङ्कमर्मरले बनाएका आठओटा मूर्तिहरू, हातमा झन्डा बोकेका, सैनिक पोसाक लगाएका, हात ठाडो बनाएका महिला तथा पुरुषहरूको मूर्ति सजीव लाग्यो । माओकै हस्तलिखितमा People Heros are Immortol अर्थात् ‘जनताका नायकहरू अमर छन्’ भन्ने पङ्क्ति हेर्दा भर्खर हेरेका माओले बाहिर आएर लेखेजस्तो लाग्यो । पूर्वदेखि पश्चिमसम्म पाँच सय मिटर तथा उत्तरदेखि दक्षिणसम्म आठ सय असी मिटर फैलिएको तथा ढुङ्का छापिएको मैदानमा हामीहरू घुमिरहृयौँ । तीन लाख मान्छे उभिन सक्दारहेछन् ती विभिन्न हलहरूभित्र । सन् १९४९ देखि अक्टुबर १ गते यही चोकमा विशाल समारोह हुन्छ, चीनको राष्ट्रिय दिवसमा।
सन् १९८९ को जुन ३ र ४ गते प्रजातन्त्र एवम् स्वतन्त्रताको पक्षमा उठेको विद्यार्थीहरूको प्रदर्शनमा सयौँ प्रदर्शनकारीहरूको रगतले भिजेको यो चोक अहिले शान्त, स्वतन्त्र एवम् अटल छ । ‘त्यो पश्चिमाहरूले चीनविरुद्ध गरेको उक्साहट हो, हामीले त्यसलाई दुर्घटनाको रूपमा लिएका छौँ, त्यो नहुनुपर्ने प्रदर्शन हो ।’ सबै जनाको मुखबाट एउटै प्रतिक्रिया पाइन्छ । हामी सरकारको नीति एवम् नियम पालना गर्छौं,राजनीति हामीलाई थाहा हुँदैन, रुचि पनि छैन ।’ आफ्नो देशप्रतिको गौरव एवम् कामप्रतिको समर्पण छ चिनियाँहरूमा।
त्यसपछि हामीहरू तियानमेन टावरको पश्चिममा अवस्थित प्यालेस म्युजियम जसलाई Forbidden City पनि भनिन्छ, त्यता लाग्यौँ । प्रतिव्यक्ति साठी युआन (करिब रु. पाँच सय) को टिकट हाम्रो अन्तर्राष्ट्रिय तालिमका आयोजकहरूले लिएपछि हामीहरू प्यालेस म्युजियमभित्र पस्यौँ । सन् १९११ सम्म राजपरिवारहरू मात्र जान पाउने Forbidden City मिङ्क डाइनेस्टी र सिङ्क डाइनेस्टीहरूले बनाएका थिए । सात लाख पचहत्तर हजार वर्ग फिट क्षेत्रफलमा पैmलिएको नौ हजार नौ सय उनान्सय कोठाहरू भएको तथा तेत्तीस फिट अग्लो पर्खालले वरिपरि घेरिएको Forbidden City अहिले सङ्ग्रहालयको रूपमा राखिएको छ । राता टायलका छानाहरू, इँटाको गाह्रो, कलात्मक भ्mयालढोकाहरू, प्रत्येक दरबारभित्र तत्कालीन राजा एवम् राजपरिवारका गद्दी, बैठककोठा, सालिकहरू अत्यन्तै दर्शनीय छन् । रुग्ण हुन थालेका दरबारहरू भत्काएर जस्ताको तस्तै मर्मत गर्ने कार्य भइरहेको छ । बीचबीचमा बगैँचा, रूखहरू, भित्तामा मन्दिरहरू, आराम गर्ने बेन्चहरू एवम् वास्तुकलाको उत्कृष्ट नमुनाले Forbidden City को लामो यात्रा पनि अत्यन्तै रमाइलो लाग्यो।
‘रवीन ! आज राति तियानमेन स्क्वायर जाने ?’ पुलुले हेइ जिङ्क फु होटलमा बियरले रङ्कीचङ्की भएको मलाई ट्याक्सीमा बसाई । रेल वेको सव स्टेसनमा पुगेपछि हामीले ट्याक्सीलाई छाड्यौँ र लाग्यौँ–जमिनभन्दा चार तला तलको पातालप्रदेशमा । त्यहाँबाट विद्युतीय रेलमा चढी हामीहरू तियानमेन स्क्वायर पुग्यौँ । आहा …! पुलुले मलाई अँगालो हाली । रातको समयमा तियानमेन स्क्वायर स्वप्निल संसारजस्तो देखिँदो रहेछ । चारैतिर रङ्कीचङ्की बत्तीहरू बलेका, केटाकेटीहरू साइकल एवम् चङ्गामा रमाएका, प्रौढहरू व्यायाम, गीत, नाचमा झुमिरहेका । ‘वान शाङ्क हाउ’ ‘बेलुकीको नमस्ते’ चङ्गा बेच्ने दुइटी षोडशीहरूले हाम्रो पिछा गरे । दसदस युआनमा चङ्गाहरू किनेर हामीहरू चङ्गा उडाउन थाल्यौँ । चिसो हावाले शरीरलाई स्पर्श गरिरहेको थियो, हातमा चङ्गाको डोरी थियो, वरिपरि चित्ताकर्षक दृश्यहरूलाई रात्रिको विद्युतीय प्रकाशले निखारेको थियो, शरीरभित्र नशाको अवशेष बाँकी थियो, साथमा प्रिय मित्र पुलु थिई– जीवन भनेको यही हैन र ? तियानमेन स्क्वायरको एक छेउमा पुलु भावनाको महल बनाउँदै बसिरहेकी थिई, म भने उसको काखमा टाउको राखेर सुतेर आकाशको पूर्णचन्द्र हेरिरहेको थिएँ । ‘रवीन ! एक महिनापछि हाम्रो अध्ययन समाप्त हुँदै छ, त्यसपछि तिमी कहाँ, म कहाँ !’ पुलुले आँखाभरी प्रेमाश्रु भरी । ‘पुलु ! माथि आकाशमा हेर त ! तिमी र म जहाँ भए पनि चन्द्रमा एउटै हो । जुनेली रातमा तिमीले चन्द्रमा हेर्नू, म पनि चन्द्रमा हेर्छु, हामीहरू अब जूनमा भेट्नेछौँ, चन्द्रलोकमा भ्रमण गर्नेछौँ ।’ मभित्रको विवशता तियानमेन स्क्वायरमा छताछुल्ल पोखियो । ‘पुलु ! यो जिन्दगी दुई दिनको घामछाया हो, हामीहरू मर्नका लागि जन्मिन्छौँ, छुट्टिनका लागि भेट हुन्छौँ । घडी हेर त ! रातको एक बजिसकेछ, उज्यालो हुनका लागि रात परेको हो, रात पर्नको लागि उज्यालो हुने हो।’
पुलुलाई सम्हाल्दै आपँैm नसम्हालिएको मैले फेरि जूनतिर हेरेँ । जूनभित्र मैले मेरो घर देखेँ, परिवार देखेँ, समाज देखेँ, सगरमाथा देखँे, लुम्बिनी देखेँ, पशुपतिनाथ र स्वयम्भू देखेँ र मनमनै कल्पना गरेँ– म पनि मेरो प्यारो देशबाट जूनमा देखिएको छु होला !
Popularity: 6%
July 26th, 2010
डी. बी. आङ्बुङ लिम्बू/ एचकेनेपाल डट कम-
संस्कार/संस्कृतिः [”सायद, धेरैजसोले आजसम्म बुझ्ने साउने सङ्क्रान्तिप्रतिको बुझाई ‘काण्डरक’ नामक राक्षसको पूजा गरी असारे हिलामैलोको समयमा छालामा लाग्ने रोग लुतो फाल्ने चाड हो । तर, नेपालमा आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजातिहरु पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही ‘लुतो’ फाल्ने चाडको रुपमा मात्र मान्दैनन्।”]
साउन १ गते साउने सङ्क्रान्ति पर्व । यो पर्व प्रायजसो सबै नेपालीको चाड हो । स्वदेश तथा विदेशमा रहने नेपालीहरुले साउने सङ्क्रान्ति पर्व आ-आफ्नै साँस्कृतिक मान्यता र परिस्थितिअनुसार मनाउने गर्दछन् । यसको मौलिक विशेषता के हो भने विभिन्न धार्मिक-साँस्कृतिक समुदाय अनुसार साउने सङ्क्रान्ति पर्वलाई बुझ्ने र मनाउने तौर तरिकाहरु पनि केही भिन्न छन् । ती भिन्नताले भिन्दाभिन्दै किसिमका साँस्कृतिक सन्देशहरु दिन्छन् । यस्ता भिन्नता र समानताहरुलाई सही तवरले बुझ्न नसक्दा चाडपर्वहरु र यसप्रतिका सकारात्मक सन्देश वा प्रभावहरु पनि एकापसमा बाझिएर खप्टिन गई विरोधाभासपूर्ण तरिकाले अलमल्लमा परेजस्तो लाग्न सक्छन् । यसर्थ, अबदेखि यस्ता धार्मिक-साँस्कृतिक महत्व राख्ने चाडपर्वहरुप्रतिको हेराइ बुझाइ विश्लेषण वा सम्प्रेषण गराईमा पनि पुनर्संरचना हुन आवश्यक छ।
आजसम्म, राष्ट्रव्यापीरुपमा आएका साउने सङ्क्रान्तिपर्वप्रतिका अभिलेख तथा सम्प्रेषणहरु केवल एउटै जाति वर्ग र धार्मिक-साँस्कृतिक समुदायको मान्यता एवम् चिन्तन विशेषमामात्र केन्द्रित् छन् । अब यी र यस्ता चाडपर्वहरुलाई सबै नेपालीको साझा चाडको रुपमा विकसित गरी धार्मिक-साँस्कृतिक सहिष्णुता कायम गराउने हो भने राष्ट्रिय तहका विभिन्न सञ्चारमाध्यमहरुले विशेष अभियानको रुपमा विभिन्न जाति, वर्ग र समुदायमा गई कुन मुल्य-मान्यताको आधारमा कसरी मानी-बुझिल्याएका रहेछन् भनेर खोजी गरी प्रकाशमा ल्याउनु अपरिहार्य छ।
सायद धेरैजसोले आजसम्म बुझ्ने साउने सङ्क्रान्तिप्रतिको बुझाई ‘काण्डरक’ नामक राक्षसको पूजा गरी असारे हिलामैलोको समयमा छालामा लाग्ने रोग लुतो फाल्ने चाड हो । तर, नेपालमा आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजातिहरु पूर्वका किरात लिम्बू, खम्बू तराइका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई केवल त्यही ‘लुतो’ फाल्ने चाडको रुपमा मात्र मान्दैनन् । किरात समुदायमा ‘काण्डरक’ राक्षसभन्दा फरक प्रसङ्गमा ‘माङहाङ’ नामक एक आदिम पूर्खा वा राजनेता र उनको जनतामा आइपरेको दैवीप्रकोप तथा सामना गर्नुपरेको अनिकालको कारुणिक कहानीसँग यो साउने सङ्क्रान्ति पर्वले तादात्म्यता राख्दछ । यसर्थ, यो चाडलाई प्रकृतिको पूजा पूर्खाको सम्झना-सम्मान तथा विगत र वर्तमानको समीक्षा गर्ने र भविष्यको योजना बनाउने पर्वको रुपमा पनि मान्ने गरिन्छ।
नेपालको पूर्वमा लिम्बुवान, खम्बुवानतिर साउने सङ्क्रान्तिको दिन बिहानै खेतबारी वा नजिकको वन-जङ्गलतिर गई साउने सङ्क्रान्तिका लागि आवश्यक अन्न, फल, फूल र पात(च्योङ्हरु) सङ्कलन गरी ल्याउने गरिन्छ । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूलढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने चलन रहिआएको छ । सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा जे भएको अन्न, फलफूल र अन्य परिकारको खानपिन खाएर रमाइलो गर्दछन् । साउने सङ्क्रान्तिको दिन साँझपख गाउँघरमा मिठो-मसिनो खानपिन खाइपिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुकहरु पड्कन्छन् । थाल, झयाम्टा, नाङ्लो र ढोलहरु बज्छन् । प्रत्येक घरका हिँडडुल गर्नसक्ने बच्चादेखि युवा-युवतीहरुले घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घरवरिपरिसमेत घुमेर यी सामग्रीहरु बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकालेका हुन्छन् । यसरी खराब कुरालाई खेदाइरहेको बेला कुनै भूभप्रेत वा भौतिक शत्रू चोर, डाका आदिलाई खेदाइएका हुँदैनन् । विचरा किसानका छोराछोरीहरुले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ मङ्ग्रान्ति आऊ; अनिकाल जाऊ सहकाल आऊ’ भन्ने आदि भावमा ‘अनिकाल वा दुःख-पीडा’ लाई त्यसरी पर्वको रुपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् । यसैगरी, उनीहरुले घरपरिवारमा रहेको बाझोजुझो गाउँघरमा रहेको सामाजिक-साँस्कृतिक विकृति-विसंगति र सिङ्गो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भावहरु पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमुलीहरुले आग्रह गरेकाहुन्छन् । अर्थात् अब त नयाँ अन्नबाली र फलफूलहरु पाके । यसकारण, अब हामी कम्तीमा ६ महिना माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौं भनेर रमाएका हुन् रे उनीहरु । त्यस्तै संयोगवस नेपालमा पुरानो आर्थिक वर्षको समाप्ती र नयाँ आर्थिक वर्षको शुभाराम्भ पनि यही साउने १ गतेबाट हुने हुनाले अब सामाजिक-साँस्कृतिक रुपमै कहाँ के कति राजनीतिक रुपमा राम्रा काम र नरम्रा भ्रष्टाचार भए भनेर समीक्षा गर्ने पर्वको रुपमा पनि यो चाडलाई विकसित गरेर लान सकिन्छ।
वैज्ञानिक मतमा साउने संक्रान्तिको दिनलाई ‘कर्कट सङ्क्रान्ति’ पनि भनिन्छ । यो दिन सूर्य दक्षिणायनतिर सङ्क्रमण भई कर्कट रेखामाथि पुग्ने हुनाले साउने सङ्क्रान्तिको दिनलाई कर्कट क्रान्ति/सङ्क्रान्ति पनि भन्ने गरिन्छ । यही कारण यो दिनमा वर्षको सबैभन्दा लामो दिन र छोटो रात पनि हुने विश्वास गरिन्छ । परम्परागत रुपमा एक हिसाबले यो साउने सङ्क्रान्तिको दिनबाट वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ।
विशेषगरी हिन्दू सम्प्रदायमा साउने सङ्क्रान्तिको दिन नासपाति कागती, निबुवा, अम्बा, अनार फलफूल आदि चढाई काण्डरक राक्षसको पूजा गरेमा दाद लुतो खटिराजस्ता विभिन्न रोगहरुबाट मुक्त भइन्छ भन्ने विश्वास छ । साथै कुकुरडाइनो, कागभलायो, कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधिका रुपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आ-आफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ । यही साउन महिनालाई हिन्दू महिलाहरुले विशेष पर्वको रुपमा मनाउने गर्दछन् । महिलाहरुले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको बर्त बस्ने र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाए पतिको सुरक्षा हुने विश्वास पनि गरिन्छ । तर, यो मान्यता आदिवासी समुदायमा त्यति पाइँदैन।
कृषिप्रधान राष्ट्र नेपालमा कृषकहरु दिनरात माना खाएर मुरी उब्जाउने काममा लागिरहेको बेला सरकारले कुनै सहयोग वा राहतहरु त दिएको पाइँदैन । तर, यही बीचमा पनि हिमाल पहाड र तराई सबैतिरका किसानहरुले यो साउने सङ्क्रान्तिलाई एकदिन भए पनि पर्वको रुपमा मनाई अलिक सुविस्तामा सबै परिवार एकसाथ भई मिठा खानेपिन खाएर रमाइलो गर्ने गर्दछन् । त्यसैले यो साउने सङ्क्रान्ति नेपाली किसानहरुको महान चाड हो पनि भन्न सकिन्छ।
यो साउने सङ्क्रान्ति पर्वलाई आजकल स्वदेशमा मात्र नभएर विदेश हङकङ, युके, यु एस ए, अष्टेलिया र खाडीमुलुक आदि ठाउँमा पनि आफ्नो सुविधा र परिस्थिति अनुसार नेपालीहरु एक भई पार्टी वा वनभोजको आयोजना गरी हर्षल्लासका साथ आफ्नो संस्कृति र मातृभूमि नेपालको सम्झना गर्दै मनाउने गर्दछन्।
नेपालभित्र मगरहरुले साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई महान पर्वको रुपमा मनाउने गर्दछन् । साउने सङ्क्रान्तिलाई ‘हिउँद लाग्यो अब बाँचिन्छ र राम्रो हुन्छ’ भनी मनाउँछन् भने माघे सङ्क्रान्तिलाई ‘वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ’ भनी मनाउने गर्दछन् । अर्थात् माघे सङ्क्रान्ति ‘मरिन्छ कि’ भनेर मनाउने हो भने साउने सङ्क्रान्ति ‘लौ बाँचियो’ भनेर मनाउने हो।
थकाली आदिवासी जनजातिको परम्परागत धर्म-सङ्गठन मुखियाप्रणाली हो । यो सामाजिकि संस्थाले पनि साउने सङ्क्रान्तिको दिनमा एक दिन त्यो समुदायलाई चाड मान्ने र जूवातास खेल्नसमेत छुट दिने गरेको छ । तर अरु दिनमा पनि जूवातास खेलिएमा त्यही संस्थाले नै दण्ड वा जरिवाना गर्ने चलनसमेत रहेको छ । त्यसैगरी तमु-गुरुङ बरामु माझी जिरेल छन्त्याल याक्खा सुनुवार आदि जातिले पनि आफ्नै तरिकाले साउने संक्रान्ति मनाउने गर्दछन्।
पूर्वी तराईका आदिवासी धिमालहरुले असारको अन्तिम मसान्तको दिनलाई जेठदेखि मानिल्याएको सिर्जात वा असारे पूजा र धङधङगे मेलाको समापन गर्न विशेष चाडको रुपमा मनाउने गर्दछन् । पश्चिम कर्णालीको हुम्ला जुम्लातिर देउडा गीत र नाचलाई आफ्नो विशेष साँस्कृतिक नीधिको रुपमा मान्ने आइडी जातिहरुले पनि यो साउने सङ्क्रान्ति पर्वलाई आफ्नै तरिकाले बलिरहेको अगुल्टोलाई दक्षिणतिर हानी पठाएर आफ्नै भाषामा देवतालाई सम्बोधन गरी ‘’वरिपरिका नराम्रा रोगव्याधहरु सबै हटिजाऊ दुर्भाग्यको प्रतीक रातो गोरु निस्किजा, शुभलक्षण वा सौभाग्यको प्रतीक सेतो गोरु भित्र आऊ, अनिकाल जा सहकाल आइज” भन्ने भावमा कराउँदै नराम्रो कुराहरु खेदाइ पठाएर साउने सङ्क्रान्ति मान्ने गर्दछन् ।
पृथ्बीको निश्चित भूभागमा प्राकृतिक तथा मौसमी परिवर्तनका विशेष समय वा दिनलाई त्यहाँका सबै मानव समुदायले आ-आफ्नै तरिकाले बुझेर ग्रहण गरिल्याएका हुन्छन् । त्यही मौलिक बुझाइ र ग्रहण गराइअनुसार नै त्यस घटना वा विशेष समयप्रतिको मान्यताहरु विकसित गरी ल्याएका हुन्छन् । कतिपय तिनै मान्यताहरुले नै सामुहिक मान्यताको रुपधारण गर्दै विशेष चाड वा पर्वको मान्यता पाउँदछन् । यसमा सापेक्ष वैज्ञानिकता र सत्यताको खोजीसँगै एकापसमा राम्रो वा नराम्रो जे जस्तो लागे पनि सबैलाई समान मान्यता र अवसर दिएर संरक्षण गर्दै लैजाने कर्तव्य र जिम्मेवारी सम्वद्धजाति धार्मिक वा साँस्कृतिक समुदाय र सरकारकोसमेत हुन्छ । साउने सङ्क्रान्तिको हकमा यो सबै जाति वर्ग समुदाय र क्षेत्रको साझा चाड भएकोले यसलाई सबै नेपालीको साझा पर्वको रुपमा स्वीकार गरी नेपाल सरकारले सार्वजनिक विदा घोषणा गरेर यसको सम्मान र सम्बोधन गर्नुपर्दछ।
Popularity: 7%
July 17th, 2010
बाध्यतावाद - विक्रम सुब्बा
(व्यंग्य लेख)
मैले पनि एउटा साहित्यिक आन्दोलन प्रतिपादन गर्नु पर्यो भन्ने सोचेँ । सोचेपछि निस्किँदो रहेछ । सिद्धान्त निकालेर नाम राखेँ “बाध्यतावाद” । अब त्यसलाई सैद्धान्तिकीकरण गर्न थालेँ । जसरी पिएचडी गर्नेले पहिले दिमागमा पिएचडी गर्छ र त्यसपछि प्रोफेसरले दिएको निश्चित फरम्याट अनुसार चाहिने अनुसन्धानको मुख्य ‘समस्या’ लेख्छ र तथ्याङ्क खोज्दछ।
यो दुनिया तथ्याङ्कहरूको भण्डारै हो । यहाँ जे पुष्टी गर्न पनि चाहिएको तथ्याङ्क भेटिन्छ । त्यसैले गर्दा जसले जे विषयमा पनि पिएचडी पाइरहेकाछन् । त्यस्तै मैले पनि “बाध्यतावाद” भन्ने सिद्धान्त मनमा सोचेँ र अब त्यसको पुष्टिका निम्ती कुराहरु खोज्नु पर्ने भयो । खोज्दै जाँदा भेट्न थालिँदो रहेछ । मैले पनि थुप्रै पुष्टिका कुराहरू भेटेँ जो निम्न रहेकाछन् । अर्थात, मैले आजसम्म जे जति कविता वा गीत रचना गरेँ, फर्केर हेर्दा बाध्य भएर मात्र रचेको रहेछु । दुनियामा अरु सबैले पनि मैलेजस्तै बध्य भएर मात्र केही गरेको रहेछ । जस्तै:
मैले सबैभन्दा पहिले मायालुको नाममा कविता लेखेँ । किन? किनभने मायालु प्रतिको माया यति शक्तीसाली भएर म भित्र पस्यो कि म दिन रात रन्थनिएँ । जतिबेला पनि मायालुलाई भेट्न मन लाग्ने । सपनामा पनि मायालु नै देख्ने । कतै हिँडिरहेको बेला पनि मायालुकै यादले दिमाग गाँज्ने । तर मायालु भने कहिले काहीँ झल्याकझुलुक मात्र भेट हुने । बडो धर्मसंकट । त्यसपछि बौलाहाजस्तो हुन थालेँ । के गर्ने र कसो गर्ने हुन थाल्यो । तब मैले उपाय निकालेँ – ‘मायालुको नाममा कविता लेख्ने…’ र बहुलाउँनबाट बच्ने । त्यसपछि कापि कलम लिएर मैले फटाफट मयालुका नाममा कविता लेख्न थालेँ । तब मेरो मन अलि हलुँगो भयो । म भित्रको उकुसमुकुस केही शान्त भयो । राती म अलि राम्रोसँग निदाउँन सक्ने भएँ । मायालुको याद आए - झिक्यो त्यही कविता र पढ्यो अनि केही शान्त भयो । सब ठीकठाक । अहिले सम्झन्छु मैले मायालुको कविता त बाध्य भएर पो लेखेको रहेछु । त्यसैले ती कवितहरू बध्यतावादले जन्माएका कविता भए । यो “बध्यतावाद” पुष्टि गर्ने पहिलो तथ्य(अंक) हो ।
जवानीमा जव मेरो शरिर भरी कम्युनिष्ट विचार पस्यो त्यसपछि मैले मजदुर, किसान, ज्यामी, गरिब, महिला, दलित, जनजाती, बालबालिका जस्ता अधिकारबाट बञ्चितीमा पारिएकाहरूको बिचल्ली देखेँ । अर्थात, काम गर्ने ज्यामी तर उ भोकै पर्ने र काम नगर्ने मालिक चाहीँ धनी हुने । हलो जोत्ने किसान तर किसान भोकै तर सामन्त सम्पतीवाल हुने । घरमा दिन रात काम गर्ने महिला तर महिला नै अपहेलित र पुरुष घर मालिक हुने, आदिजस्ता अमिल्दा सामजिक रीति रिवाज र चालचलन देखेँ । यो त सरासर सतप्रतिशत अन्याय हो भन्ने कुरा बुझेँ र म भित्र रगत उम्लिन थाल्यो । त्यसैले म बध्य भएर जागरण गीत लेख्न र गाउँन थालेँ । मेरो के विश्वास रह्यो भने अन्याय अत्याचार र शोषणको विरुद्ध अन्याय, अत्याचार र शोषणमा पिस्सिएकाहरू नै जाग्नु पर्छ र मुक्तीका निम्ती जुझ्नु पर्दछ र मात्र मुक्ती हासिल हुन सक्छ । यसरी कुनै पनि गीतकारले गीत लेख्दा पनि कुनै न कुनै किसिमले बाध्य भएर मात्र लेख्न सक्छ भन्ने कुरा पुष्टि हुन्छ जसले “बध्यतावाद”लाई पनि पुष्टि नै गर्दछ।
मैले मुन्धुम पढेँ । मानिसबिना त सृष्टी सुहाएकै देखिएन । किसिम किसिमका धातुबाट बनाउँदा नबोलेपछि विचारमन्थन गर्दा गर्दा गरेर खरानी र कुखुराको सुली मुछेर निङ्वाफुमाङले मानिस बनाए । त्यो बोल्यो । निङ्वाफुमाङलाई झ्वाँक चल्यो । सुन, चाँदीको मानिस नबोल्ने । खरानी र कुखुराको सुळिको बोल्ने? इक्क मरिजा ! भनेर थुकेछन् । मानिस खुत्रुक्कै मरि गएछ । बल्लबल्ल बनाएको मानिसलाई निङवाफुमाङले आफै मारे । फसाद पर्यो । त्यसपछि निङवाफुमाङले फेरि झार-फुक, तन्त्र-मन्त्र, जडि-बुटी, ओखती-मुलो गरेर मानिसलाई ब्यँताउँन बाध्य भए । यसरी यहाँ पनि सर्वब्यापी “बाध्यतावाद” छर्लङ्गै देखा परेकोछ।
मैले रामायण पनि सुने-पढेकोछु । यो कथा पनि कुनै कथाकारले बध्य भएर लेखे । तर यसमा रहेको धर्मान्धता र राजाको गुणगान यति शसक्त भइदियो कि हरेक कमजोर नागरिक यसलाई दैवको लीला नै ठान्न बध्य भए । कथामा राम्ररी हेर्ने हो भने ‘पिताको वचन नकाट्ने साँस्कृतिक मुल्य-मान्यता’को बाध्यताले गर्दा राम बनतिर लागेको देखिन्छ । त्यसैले राम पनि बध्यतावादी हुन् । जोगीको वचन उलंघन गर्न नहुने सिष्टताको बध्यताले लक्ष्मण रेखा नाँघेपछि सीताको हरण भयो । यसरी सीता पनि बाध्यताको सिकार भएकी देखिन्छिन् । त्यसो त हेर्दै लाने हो भने रामायण सिङ्गै बाध्यतावादको पोथो जस्तो लाग्छ । तपाइँ आफैँ राम्ररी हेर्नुस् त ! दशरथ, कौसल्या, भरत, हनुमान, सुग्रिव, लछुमन, रावण आदिले रामायणको नौटंकीमा जेजे गरेका छन् ती सबै बध्यभएर गरेका छन्।
मैले महाभारत पनि सुने-पढे-हेरेकोछु । कृष्णले बनाएका युद्धको नियमले बाँधिएकोले नै अर्जुनले आफ्नै मानिसहरुलाई भकाभक वाण ठोकेर ढाल्न बध्य भएका छन् । आमाको वचनले बाध्य भएर सबै दाजु-भाइ मिलेर एउटै श्रीमतीले गुजारा गर्न बाध्य भएको कुरा पनि यही महाभारतमा देख्न-पढ्न पाइन्छ । जुवाको खालमा आफ्नो श्रीमती नै हार्ने र नांगिनु पर्ने बध्यतावाद पनि यहीँ पढ्न पाइन्छ।
मैले वुद्धलाई पढेँ । वुद्धको जीवनीमा पनि जतासुकै बध्यतावादहरू भेटिन्छन् । वुद्धले किन राजदरवार त्यागे? किन आफ्नो जवान श्रीमती र नावालक बच्चा त्यागेर हिँडे? किनभने वुद्धले दुनियामा दु:ख देखे र त्यसको कारण खोज्ने, शान्तिको मार्ग खोज्ने निधो गरेपछि सो कुरा राजदरवारमा नपाइने वा श्रीमतीको अँगालोमा नपाइने भएकोले वुद्धले कि त आफ्नो उद्देश्य त्याग्नु पर्यो कि त राजदरवार र श्रीमती त्याग्नु पर्ने भयो । उनले आफ्नो उद्देश्य त्याग्न सकेनन् जसले गर्दा बाध्य भएर उनले राजदरवार र श्रीमाती त्यागे । यहाँ झन बडो ठूलो बध्यातावाद को उदाहरण पाइन्छ।
मैले जिजसख्राइष्टवाला बाइबल पनि पढेकोछु । उनकी आमाले कुमारी छँदै गर्भ धारण गरेको घटनामा एक युवतीको जवानीले सृजना गरेको बध्यता छैन भनेर कस्ले भन्छ? जन्मे बढे हुर्केपछि जिजसले समाजिक काम गर्न थाले । रोगी, कोढी, दु:खी, अपहेलित महिलाहरुको सेवा गर्न थाले । मैले देख्दा उनी तात्कालिन एक सामान्य समाज सेवी हुन् तर उनको रोगी, कोढी, दु:खी, अपहेलित महिला समाजको सेवा यति अमुल्य हुन पुग्यो कि रोगी, कोढी, दु:खी, अपहेलित महिलाहरु उनलाई परमेश्वर नै ठान्न बाध्य भए।
मैले कुरानमा मोहम्मदलाई पनि पढेँ । उनि पनि तात्कालिन समाजका एक उदाहरणीय सामाजिक अगुवा वा कल्याणकारी नेता हुन् । तर सबैले उनलाई अल्लाह ठानिदिएपछि त्यस्तो विचारको विरुद्ध कोही पनि नबोल्न मुस्लिम समुदाय बाध्य भयो । यही बाध्यताले गर्दा मोहम्मद पैगम्बर हुन बाध्य भए।
मैले कन्फ्यूसियस पढेँ । कुनै पनि घटनाको असर दीर्घकालिन हुन्छ । तसर्थ कुनै पनि घटनाले पारेको असरबारे तात्कालै निचोड निकाल्नु हुन्न भन्ने कन्फ्यूसियस किन बाध्य भए ? किनभने मानिसलाई संझाएरै अपराधीबिहीन समाज सृजना गरेपनि तात्कालिन चिनीया सम्राटहरुले षडयन्त्र गरेर कन्फयूसियसलाई कुर्सी छोड्न बाध्य पारेपछि उनले यस्तो दार्शनिक निचोड निकाल्न बाध्य भएको देखिन्छ । यहाँ झन गज्जबको बाध्यतावाद व्याप्त छ।
सोफोक्जीजको भयानक नाटकमा आफ्नै बहादुरीले गर्दा ‘ईडीपस’ आफ्नै आमा जोकाष्टासँग विवाह गरी सन्तान जन्माउँन बाध्य देखाइएकोछ । त्यसपछि आफ्नै आमा आफ्नो श्रीमती भएको कुरा ईडीपसले र आफ्नै छोराको श्रीमती भएको कुरा जोकाष्टाले चाल पाएपछि जोकाष्टा झुण्डिएर मर्न बाध्य छिन् भने यो मैले के देख्नु पर्यो? भनेर ईडिपस आफ्नै नङ्ग्राले आफ्ना आँखा चिथोरेर निकाल्न बाध्यछन् । यहाँ झन डरलाग्दो बाध्यात्मक घटनाहरू नाटकमा शसक्त किसिमले बुनिएका छन्।
दार्शनिक सोक्रेटस आफ्नो सिद्धान्तमा दृढ थिए । उनैले राजाहरूको अन्याय-अत्याचार देखेपछि उनले कम्युनिज्मको परिकल्पना गर्न बाध्य भए । जहाँ हरेक शोषित पिडीत जनतालेको लागि समानता हुनेछ भनि उनले कल्पना गरेका थिए । उनको यो विचारले गर्दा तात्कालिन शासकहरुको मुटु हल्लियो । जसले गर्दा राजाहरूले उनलाई क्षमा माग्न वा मर्न तैयार हुन भने । तर सोक्रेटस आफ्नो सिद्धान्तमा अडिग भएकोले बरू हाँसीहाँसी मृत्यूदण्ड स्वीकार्न बाध्य भए । यो पनि बाध्यतावादको एक शसक्त नमुना हो।
दार्शनिक सोक्रेटसका चेला एरिष्टोटल यति विलासमा हुर्केका बढेका थिए कि नोकर चाकरबिना केही गर्न नसक्ने भएपछि ‘दाश प्रथा’ को समर्थन गर्न र प्रजातान्त्रिक व्यवस्थाको सिद्धान्त निकाल्न बाध्य भए । साथै उनले राजाले वा शासकले आफ्नो शासनलाई के के गरेर बचाउँनु पर्छ? भन्ने कुराको उपाय समेत सुझाउँन बाध्य भए । जस्तै:
आफ्नो सरकार विरुद्धमा लागेकालाई सबैभन्दा पहिले जागिर वा पुरस्कार दिएर फसाउँनु पर्छ,
त्यसपछि पनि आफ्नो हुन नसके त्यसलाई थुन्नु पर्छ
थुनेपछि पनि जेलबाटै विद्रोहको नेतृत्व गरे उसलाई मार्नु पर्छ, आदि
अब्राहम लिंकन लज्जालु स्वाभावका थिए । थोरै बोल्थे । प्रजातन्त्र भनेको के हो ? भन्ने कुराको जवाफ पनि उनले लजाउँदै दिए ‘जनताले, जनताद्वारा, जनताको निम्ती’ । त्यतिखेर यो भनाई बडो आधुनिक कविताहरू ‘आमाको सपना’, ‘फर्सिको जरा’, मातेको मान्छेको भाषण..’ जस्तै “न्यु टेष्ट ईन टाउन” भइदियो । अहिले दुनियाँ संसार लिंकन के हो? प्रजातन्त्र के हो भनि सोधे - ‘जनताले, जनताद्वारा, जनताको निम्ती’ भन्न बाध्य भएकोछ।
कार्ल मार्क्सले समाजको रुपान्तरण प्रकृयामा द्वन्दात्मक भौतिकवाद र पुँजीको भूमिकालाई यति गहिरोसँग बुझेछन् कि “पुँजी” लेख्न बाध्य भए । त्यसपछि, रणनैतिक रुपमा कसरी समाज परिवर्तन गर्ने प्रकृयालाई दुनियामा सँस्थागत गर्ने त? भन्ने ठूलो सवाल सामुन्ने आयो । जसले गर्दा कार्लमार्क्सले ऐँगेल्सँग मिलेर कम्युनिष्ट मेनुफेष्टो लेख्न बाध्य भए । त्यसैको आधारमा स्थापित कम्युनिष्ट पार्टीहरु मार्फत दुनियामा मजदुर र किसानको हक अधिकारको झण्डा युग युग उठाई रहन निम्न बर्ग बाध्य छ।
अहिले दुनियामा ख्रिस्चियन, हिन्दु, बुद्धिष्ट धर्मावलम्बी नभएका थुप्रै मुलुक भेटिन्छन् तर कम्युनिष्ट नभएको देश र समाज भेटिन्न । यो गती झन झन बढदो छ । कम्युनिष्टहरूको यही प्रभावको गतीलाई रोक्न वार्षिक अरबौँ डलर खर्च गरेर जिम्मी कार्टरको पालादेखि कम्युनिष्ट बिरोधी बुद्धिजिवीहरू किनेर ‘मानव अधिकार’, ‘विश्वव्यापीकरण’, ‘वातावरण’, ‘लैङ्गिक विभेद’, ‘समावेशिकरण’, र हाल आएर ‘जलवायु परिवर्तन’ जस्ता नयाँ सिद्धान्तहरु निकालेर कम्युनिष्टहरूलाई वा कम्निष्टमा लाग्ने संभावित मानिसलाई अलमल्याउँन पुँजवादी मुलुकहरू वाध्य छन् । यो ब्रह्माण्ड स्तरकै बाध्यता हो।
गान्धी त्यतिबेला दक्षिण अफ्रिकामा वकालत गर्थे । एक दिन अदालतमा गोरो न्यायधीशकासामु दरो तर्क दिन नसकेर रुन बाध्य भए । उनी रुँदै भारत पसे र त्यही ‘रोदन’को रुपलाई भारतमा ‘सत्याग्रह’मा विकसित गेरर बृटिसहरु बिरुद्ध जीवनभर लाग्न उनी बाध्य भए । गांधी त मुस्लिमहरूको आकांक्षलाई संबोधन गर्न नसक्दा ‘भारत’बाट ‘पाकिस्तान’लाई जिन्हाले चुँडाएर लगेको टुलुटुलु हेरेर बस्न पनि बाध्य भए । आफ्नै मुलुकको एक चोक्टा कसैले चुँडालेर लगेको बसेर चुपचाप हेर्नु पर्ने यहाँ कस्तो पीडादायी बाध्यतवाद लुकेको छ।
रसियाको परिस्थिती बेग्लै थियो । तसर्थ मार्क्सवादी सिद्धान्तलाई रसियाको परिस्थिती अनुसार सृजनात्मक रुपले ढालेर लागु गर्न लेनिन बाध्य भए । लेनिनले बाध्यतावादको सहारा नलिएको भए असफलता मात्र हात लाग्ने थियो । लेनिनको मुलुकमा ‘पेरेस्त्रोइका’ र ‘ग्लास्नोस्त’ भन्दै आफ्नै किसिमको पुँजीवाद हुल्न पनि गोर्वाचोभ बध्य भए।
अब्राहम लिंकन लज्जालु स्वाभावका थिए । थोरै बोल्थे । प्रजातन्त्र भनेको के हो ? भन्ने कुराको जवाफ पनि उनले लजाउँदै दिए ‘जनताले, जनताद्वारा, जनताको निम्ती’ । त्यतिखेर यो भनाई बडो आधुनिक कविताहरू ‘आमाको सपना’, ‘फर्सिको जरा’, मातेको मान्छेको भाषण..’ जस्तै “न्यु टेष्ट ईन टाउन” भइदियो । अहिले दुनियाँ संसार लिंकन के हो? प्रजातन्त्र के हो भनि सोधे - ‘जनताले, जनताद्वारा, जनताको निम्ती’ भन्न बाध्य भएकोछ।
माओत्सेतुङले चीनको वर्ग सँघर्षलाई कसरी तह लगाउँने? भनि मार्क्सवाद-लेनिनवाद अध्ययन गरेपछि चीनको जस्तो तात्कालिन सामन्ती समाजबाट सिधै पुँजीवाद र समाजवादतिर समाज रुपान्तरित हुन सक्दैन भन्ने थेशिस निकाले जसलाई ‘नौलोजनवाद’ भन्न उनी बाध्य भए । अब नौलो जनवाद ल्याउँन कोमिन्ताङको बिरुद्ध मिल्न सक्ने राष्ट्रवादी शक्तीहरुसँग मिलेर जान पनि बध्य भए । जितेपछि ‘सबैले मिलेर जानु पर्छ भन्न पनि बाध्य भए । तर भित्र भित्र चाहीँ कम्युनिष्ट पार्टीलाई नै नेतृत्वमा राख्ने ट्याक्टिस गर्न पनि बाध्य भए ।’ चीनको ठूलो जनसंख्यालाई पाल्न बेस्सरी काम गर्न बाध्य भयो । यसरी बाध्य भएर नै चीनले कत्रो उन्नती गरिदियो।
४० सुत्रिय माँग सरकारले नमानिदिएकोले जनयुद्ध थाल्न माओवादी बध्य भयो । नेपाली कांग्रेस र एमाले पनि बाध्य भएर मात्र “गणतन्त्र” र “संबिधानसभा” जस्ता माओवादी एजेण्डा आफ्नो घोषणा पत्रमा मन नपरी नपरी भएपनि लेख्न पुगे । बाध्य भएर नै पुस्तौँ पुस्ताको शानसौकत त्याग गरेर ज्ञानेन्द्रले नारायणहिटी छोडे।
श्रीमान् श्रीमतीहरू आजिवन संगै बाँच्ने-मर्ने भनेर कसम खाँदै सिन्दुर टीका गर्छन् । तर कैयौँको मन नमिले पछि, सँगै गुजारा नै नहुने वातावरण भएपछि पारपाचुके गर्न बाध्य भएका देखिन्छन्।
विदेशीहरुसँग माँगेर वार्षिक बजेट बनाउँन बाध्यता भएको मुलुकको प्रधानमन्त्री विदेशीहरुको ईसारामा नाच्न बाध्य हुने नै भयो । खाने मुख ठूलो भएकाहरू सरकारी कार्यालयमा पसेका छन् र उनीहरु खान बाध्य छन् । अमेरिकाले इराक र अफगानिस्तानमा तेल र ग्यास भएको सो कब्जमा लिन आक्रमण गरेर आफ्नो कठपुतली सरकार बनाउँने नाटक गर्न बाध्य भएको देखिएकै छ।
यसरी सुक्ष्म ढंगले हेर्ने हो भने बाध्य नभइ मानिसले केही गर्दैन । उसले सबथोक बाध्य भएर मात्र गर्छ । उपन्यासकारले कुनै घटना नलेखिनसक्ने भएपछि बाध्य भएर मात्र उपन्यास लेख्छ । कविले छातीभित्रको उकुसमुकुस खपिनसक्नु भएर बाध्यताले कविता लेख्छ।
सम्झेर ल्याउँदा मैले पनि बाध्य भएर मात्र कविता लेखेँ । त्यसैले मेरा सबै कविताहरू “बाध्यतावादी कविता आन्दोलन”का फुल-काँडा हुन् । हिजोआज पनि जबरजस्ती म लेख्न सक्दिन । तर जब नलेखिनसक्ने गरी बाध्य हुन्छु अनि लेख्छु । म एक बाध्यतावादी कवि । तपाइँ पनि कुनै न कुनै फाँटको वा क्षेत्रको बाध्यतावादी नै हो । हो कि होइन? सोचि हेर्नोस् – ‘हो’ भन्न तपाइँ पनि बाध्य हुनुहुन्छ।
म तपाइँलाई सम्झना दिलाउँ? ज्ञानेन्द्रको निरंकुशताका विरुद्ध तपाइँ हामी सबै जुट्न बाध्य नभएकोभए नेपालमा गणतन्त्र सुरु हुन्थ्यो? माओवादी पार्टीलाई ६० सिट दिएर एमालेले चुनावमा मिलाएर लगेको भए माओवादी पार्टी कस्सिएर चुनावमा लाग्न बाध्य हुन्थ्यो? ईक्खिएर र कस्सिएर लागेको भएर न माओवादी ‘सबैभन्दा ठूलो पार्टी’ हुन बाध्य भयो।
परिवर्तन जहिले पनि राजनीतिबाट सुरुहुन्छ र आर्थिक क्षेत्रलाई बदल्दै साँस्कृतिक परिवर्तन गर्दै अघि बढ्न बाध्य हुन्छ । नेपालमा अहिले राजनैतिक परिवर्तन पनि सुनिश्चित भइसकेको छैन । आर्थिक परिवर्तनको खाका कुनै पार्टीसँग पनि छैन । साँस्कृतिक परिवर्तनको त कुरै चलेको छैन।
अहिले हरेक पार्टीका मानिसहरु आफुलाई सिरिपेच पहिरिन लायक युवराज ठान्छन् भने कसरी गणतन्त्र आइसक्यो भन्ने? आर्थिक सम्बन्धहरूको परिवर्तन र मनमस्तिष्कभित्रको सोचाइका तहमा साँस्कृतिक परिवर्तन नभइ पुरानो जमाना निथर नाथर भएर मैझारु हुँदैन । त्यसैले म र मजस्ता साथीहरू अहिले पनि गणतन्त्रको पक्षमा धेरै काम बाँकी नै छ भन्न बाध्य भएका छौँ । र हामीजस्ता साहित्य तथा साँस्कृतिक कर्मीहरू गणतन्त्र कविता आन्दोलन मार्फत अझै धेरै काम गरिरहन बाध्य छौँ । म त्यही बाध्यतावदी मानिसहरुको झुण्डमा एक बाध्यतावादी कविता आन्दोलन मार्फत सर्वव्यापी बाध्यतावाद - जिन्दावाद ! भन्न बाध्य छु।
(जेष्ठ ११, २०६७। मे २५, ०१०, काठमाण्डौँ)
Popularity: 11%
May 27th, 2010
श्रमिकहरूको निक्षेप जोखिममा नपरोस -धरम के.सी.
साउदी अरबमा महीनाको ५ सय रियाल तलब बुझी मुस्किलले २ सय जोगाउने नेपाली श्रमिकहरू पनि ठूलै संख्यामा युनिटी लाइफलाई ७५० रियाल बुझाई यसको सदस्य बनेको अनुमान छ। यो अनुमानकै बिषय यसकारण रहेको छ कि कही कतैबाट पनि साउदी अरबबाट बनेका सदस्यहरूको तथ्यांक उपलब्ध हुन सकेको छैन। यद्यपि यसका लिडरहरूबाट हालसम्म साउदी अरबबाट ६५०० भन्दा बढी नै सदस्य बनाई रू. ९ करोड ७५ लाख उठाइसकेको अनौपचारिक जानकारी छ।
नेपाली राजदूतावास रियादको चांसो
युनिटी लाइफको हालको प्रकरण पूर्ब गत फागुन ७ गते रियाद दूतावासको प्रांगनमा आयोजित प्रजातन्त्र दिवसको समारोहमै महामहिम राजदूत हमिद अन्सारीज्युबाट युनिटी लाइफको नाममा साउदी अरबमा भैरहेको आर्थिक कारोबारबारे बिशेष चांसो राख्दै यसका सञ्चालक, प्रबर्ध्दक तथा सदस्यहरूको बिवरणसहित आवश्यक कागजातहरू पेश गर्न सार्बजनिक आह्वान भएको थियो। एनआरएनएका उच्च पदस्थ तथा साउदी अरबको नेपाली समाजका जिम्मेवार ब्यक्तित्वको हैसियत राख्ने आइसिसी सदस्य राम बेलबासे तथा आइसिसीकै मध्यपूर्ब सह संयोजक राजु सैयद जसले गत डिसेम्बरमा आयोजित युनिटी लाइफको एक कार्यक्रममा क्रमशः प्रमुख अतिथि र बिशिष्ट अतिथि बन्दै युनिटीका प्रेसिडेन्टस (लिडरहरू)लाई बिशेष सम्मान तथा प्रोत्साहित गर्नुभएको थियो, लाई दुतावासले यो जिम्मेवारी सार्बजनिक रूपमै प्रदान गरेको थियो । तर उहांहरूबाट पनि कुनै जानकारी प्राप्त हुन नसके पछि दूतावासले युनिटी लाइफका साउदी अरब प्रतिनिधि कृष्णप्रसाद शर्मा सुवेदीबाट नै गत १४ मईमा एक बैठक गरी आधिकारिक जानकारी प्राप्त गर्ने कोशिस गरेको र सोही बैठकमा युनिटीका प्रतिनिधिले एक हप्ताभित्र बांकी सबै कागजात तथा बिवरणहरू बुझाउने कबोल गरेता पनि तोकिएको मितिभित्र ती जानकारीहरू उपलब्ध गराउन नसकेको कुरा दूतावासबाट हालै प्रकाशित सार्बजनिक अपिलमा पनि उल्लेख छ । युनिटी लाइफबाट दूतावासले मागेका सबै बिवरण तथा कागजातहरू पाउन नसकेपछि बैठकमा उठेका युनिटीको बैधानिकता, पारदर्शिता, निक्षेपको सुरक्षा तथा बिश्वसनियताका सवालहरू अनुत्तरित नै रहेका छन्।
प्रवासमा सिंगो सरकारको एक मात्र प्रतिनिधि निकाय दुतावासले आफ्नो मुलुकका नागरिकहरूका हक, हित र सुरक्षासंग गांसिएका हर कृयाकलापहरूप्रति चांसो राख्नु जायज मात्रै होइन दूतावासको दायित्व पनि हो । दूतावासको आह्वानलाई अस्वीकार या अवज्ञा गर्नु भनेको सिंगो नेपाल सरकारलाई नै असहयोग गर्नु हो । युनिटी लाइफ प्रकरणमा सरकारले चालेको हालको कदमको उद्धेश्य पनि नेपालीहरू कुनै पनि बहानामा नठगिउन भन्ने नै हो भन्ने लाग्दछ । बरू यस्तो कदम चाल्न ढिलो गरियो भन्नेहरू धेरै छन । तर ४ बर्ष ढिलो गरेकैले अब यस्तो कदम चाल्न पाइदैन भन्नु चै एउटा कुतर्क मात्र हुनेछ । साउदी अरबमा युनिटीले ब्यापकता पाएको एक डेढ बर्ष मात्र भएको छ । यसर्थ नेपाली दूतावासले ढिलै भए पनि देखाएको यो चांसो, सजगता र जिम्मेवारीपन स्वागतयोग्य र सराहनीय नै छ । युनिटी लाइफका कुनै पनि सदस्यहरूले आफ्नो सदस्यता बारे नेपाली दूतावासलाई जानकारी गराएर गुमाउन सक्ने नै के होला र ? बरू बेलैमा जानकारी नगराउंदा अहिलेको अपारदर्शी र धमिलो अवस्थामा आफ्नो हक दाबी गर्न गाह्रो हुन सक्दछ। अझै पनि युनिटीका लिडरहरूका कुरा मात्र सुन्नु र उनीहरूकै मात्र पूर्ण बिश्वास र भरोसामा बस्नु भनेको आफ्नो निक्षेपलाई थप जोखिममा पार्नु हुन सक्नेछ किनकि यतिखेर युनिटीका प्रमुख सञ्चालकहरू नै फरार छन र कतिपय लिडरहरू पनि आंफूलाई आवश्यक पर्दा सम्पर्कमा आउने तर अरूले खोज्दा सम्पर्कबिहिन हुने गरेका छन । उनीहरूले सही र सत्य बोल्न पनि सकिरहेका छैनन । उदाहरणका लागि २३ मईमा मेरो युनिटीका एक जना लिडरसंग फोन वार्ता हुंदा उनले यस्तो भने “हाम्रा अध्यक्ष काशीरामज्यु युनिटी टावरमै हुनुहुन्छ, तपाईहरू थर्ड पर्शन, थर्ड पार्टीलाई यो प्रकरणमा किन यस्तो चांसो?” जबकि सबैलाई अवगत भएकै छ कि युनिटीको टावरमा यतिखेर राजश्वको ताल्चा लागेको छ र पक्राउ गर्न वारेण्ट जारी गरिएका अध्यक्ष काशीरामज्यू फरार रहनुभएको छ । अनि युनिटीको कार्यक्रम हुंदा चैं स्थानीय सामाजिक कार्यकर्तालगायत पाएसम्म प्रधानमन्त्री, राष्ट्रपति सम्म पनि चाहिने तर समस्या पर्दा र जन साधारणको निक्षेप जोखिममा पर्दा भने अरू कसैले कुनै प्रश्न नै उठाउन नपाउने ? कस्तो बिचलित मानसिकता ? नेपाली दूतावासलगायत नेपाल सरकार र सम्बन्धित सबैले यो बिचलित मानसिकता र सत्य तथ्य बुझ्न जरूरी छ।
युनिटी कति सत्य कति असत्य?
प्रधानमन्त्री माधवकुमार नेपालले युनिटीका प्रबन्ध निर्देशक बिष्णु क्षेत्रीलाई सम्मान गरेको, परराष्ट्र मन्त्री सुजाता कोइरालाको मन्त्रालयबाटै युनिटीलाई सहयोग गर्नु भनी बिदेशी कुटनैतिक नियोगमा समेत पत्र पठाएको, गृह मन्त्रालयले सिडियो कार्यालयहरूलाई युनिटीलाई सहयोग गर्न पत्र पठाएको तथा क. प्रचण्डले युनिटीको स्मारिकामा शुभकामना दिएको कुरा जति सत्य देखिन्छन त्यत्तिकै सत्य हाल प्र.म. माधवकुमार नेपालले युनिटीलाई कानुनी कार्बाही गर्नू भनी निर्देशन दिएको, गृहले युनिटीका सञ्चालकहरूलाई पक्राउ पूर्जी जारी गरेको, सुजाताकै परराष्ट्र मन्त्रालयले पुनः युनिटी लाइफ अबैध देखिएकाले प्रबासमा पनि नेपालीहरूलाई सजग रहन आह्वान गर्नु (जसको आधारमा अहिले दूतावासहरूले बिज्ञप्ति नै जारी गरी सार्बजनिक अपिल गरेका छन) अनि क. प्रचण्डको पार्टीको भातृ संस्था नेपाली जन प्रगतिशिल मञ्च साउदी अरबले युनिटी लाइफमा लागेकै कसूरमा आफ्ना तत्कालीन का.बा. अध्यक्ष र प्रमुख सल्लाहकारलाई साधारण सदस्य समेत नरहने गरी संगठनबाटै निस्काशन गर्नु पनि त्यत्तिकै सत्य बनी सार्बजनिक भएका तथ्यहरू हुन। आखिर बर्थडे पार्टीमा जाने सबैले ह्याप्पी बर्थडे नै भन्छन, नयां बर्ष मनाउन भेला हुनेहरू कसैले पनी “नयां बर्ष अशुभ होस” भन्दैनन । त्यस्तै युनिटीको आतिथि बनी कार्यक्रममा जानेहरू सबैले युनिटीलाई राम्रो भन्नु स्वाभाविक नै हो । तर तिनै अतिथीहरूलाई युनिटीले आफ्नो ब्यापारिक प्रबर्ध्दनका लागि बिज्ञापनका रूपमा ब्यापक प्रयोग गर्नु कति सही या गलत हो, माथिको उदाहरण र प्रसंगबाट पनि बुझ्न सकिन्छ।
नेता र सरकारी कर्मचारीहरूको दोष
यतिखेर सरकारी कर्मचारी र बिभिन्न राजनैतिक दलका नेताहरू पनी कम दोषी देखिएका छैनन । दलहरूका शीर्षस्थ नेताहरू नै युनिटीको प्रबर्ध्दनमा ब्यापक उपयोग मात्र भएनन, अहिले पनि ती मध्ये कतिले युनिटीलाई संरक्षण दिन चाहेको र छानबिनमै पनि प्रभाव पार्न प्रयत्न गर्दै गरेका तथ्यहरू सार्बजनिक हुंदैछन। कतिपय बिधायक (सभासद) हरू समेत स्वयम युनिटी लाइफका सदस्य बनेको तथ्य युनिटी टावरबाट बरामद गरिएका कम्प्युटरहरूबाट खुल्दै छ । लहरो तान्दा पहरो खस्किने स्थितीले बिद्यमान परिस्थिती थप गम्भीर र पेचिलो बन्दैछ । त्यसैगरी सरकारी कर्मचारीहरूसमेत युनिटीका सदस्यहरू मात्र होइन कतिपय त यसको ब्यापारिक प्रबर्ध्दनमा समेत लागि लिडर नै बनेका दृष्टान्त पनि भेटिदै छन । यसर्थ, कमसेकम ती कर्मचारीहरू र युनिटीका सदस्य बनिसकेका नेता तथा सभासदहरूले युनिटी लाइफलाई कानुनी कार्बाही गर्ने नैतिकता गुमाएको अवस्था हो यो । बरू यस्ता गैर जिम्मेवार नेता, सभासद तथा सरकारी कर्मचारीहरूलाई नै कानुनी कारवाही गर्न अर्को एउटा छुट्टै स्वतन्त्र र अधिकार सम्पन्न छानबिन आयोग बन्नुपर्ने देखिन्छ जसले दोषी देखिएमा प्रधानमन्त्री र राष्ट्रपतिलाई समेत कार्बाही गर्न सकोस्।
साउदी अरबमा युनिटीले के गर्दैछ ?
साउदी अरबमा युनिटी लाइफले शुरूवाती बर्षमै प्रबेश गरेको भएता पनि करीब एक बर्ष पहिला कृष्णप्रसाद शर्मा सुवेदीको कन्ट्री प्रतिनिधिका रूपमा साउदी अरब पुनर्प्रवेश पश्चात अत्यन्त आक्रमक र युद्धस्तरमा यसको प्रबर्ध्दन भयो । आक्रमक यस अर्थमा कि निज शर्माले युनिटीका प्रबर्ध्दनका लागि एनआरएनए एनसिसीका सदस्य तथा पदाधिकारीका अतिरिक्त यहांका बिभिन्न सामाजिक संघ संस्थाका अगुवाहरूलाई नै आफ्ना सहयोगी प्रबर्ध्दकका रूपमा निशाना साधे र छोटो अवधिमै ती ब्यक्तित्वहरूलाई युनिटीको बिजनेस प्रोमोशनमा लगाउन सफल भए । समय यस्तो पनि आयो कि एनआरएनए एनसिसीका महासचिव र केन्द्रीय सदस्यहरू नै एनआरएनएले नै सहआयोजना गरेको सांस्कृतिक कार्यक्रममा नगई सोही रात युनिटीले प्रायोजन गरेको भलिवल कार्यक्रम हेरेर बसे।
गएको एक बर्षमै ठूलो ब्यापारिक छलांग मार्न सफल युनिटी लाइफ अहिले भने नेपाल सरकारको हस्तक्षेप पश्चात साउदी अरबमा पनि अन्यौलमा रहेको छ । नेपाली दूतावास रियादले आवश्यक बांकी कागजातसहित बिवरण बुझाउन सात दिने अल्टिमेटम दिएको छ भने यसै बिच नेपाल सरकारले नेटवर्क मार्केटिंगलाई ब्यवस्थित गर्न बनेको निर्देशिकालाई नै खारेज गरी सबै नेटवर्किंग कम्पनीहरूलाई नै प्रतिबन्धित अवस्थामा ल्याइ पुर्याएको छ । साउदी अरबमा त झन युनिटी लाइफ र यसको आर्थिक कारोबार शुरूदेखि नै पुर्ण रूपमा अबैध नै थियो । किनकि साउदी अरबको कानुन बमोजिम न त यो कतै दर्ता भएको छ न त यसले आफ्नो आर्थिक कारोबारका लागि कुनै स्वीकृति नै लिएको अवस्था छ । आजका मितिसम्म झण्डै रू. १० करोडको निक्षेप संकलन गरिसकेको यस कम्पनीको साउदी अरब शाखा त के कुनै सम्पर्क कार्यालय समेत छैन। बिडम्बना त यो छ कि साउदी अरबका Country Representative बनी साउदीमा रहेका ब्यक्तिको नै न त कुनै कम्पनी छ न त कुनै स्थायी आवास नै। यसरी एउटा सामान्य लेबरलाई बरू यहां सहजै निश्चित ठाउंमा भेटन सकिन्छ या कम्पनीले जिम्मेवारी लिन्छ तर युनिटीका कन्ट्री प्रतिनिधिलाई उनी आंफैले नचाहेसम्म अरू कसैले पनि सहजै भेटन सक्ने अवस्था पनि छैन।
यस्तो परिस्थितीमा यहांका श्रमिकहरूको निक्षेपको सुरक्षाप्रति चांसो राख्दै दूतावासले मागेको युनिटी लाइफका सदस्यहरूको तथ्यांक (जानकारी) बिशेष अर्थपूर्ण र सबैका लागि उपयोगी हुनसक्ने देखिन्छ । प्रबासका सबै सामाजिक संघ संस्थाहरूले पनि प्रबासी नेपालीहरूका हक हितप्रति चांसो राख्दै सो को रक्षा गर्न आ आफ्नो तर्फबाट सर्व साधारण नेपाली श्रमिकहरूलाई सुसूचित पार्न आवश्यक देखिन्छ।
तर मुल रूपमा साउदी अरबका युनिटीका लिडरहरू नै आफूलाई यतिखेर कति जिम्मेवार ठान्दछन र समाजमा (आफूले बनाएका सदस्यहरूप्रति) र दुतावासमा कसरी प्रस्तुत हुन्छन भन्ने कुरामै धेरै कुरा निर्भर गर्ने देखिन्छ। राजु सैयद र राम बेलबासेलाई दिइएको २ हप्ते म्याद र कृष्ण शर्मालाई दिइएको १ हप्ते म्याद त गुज्रिसक्यो अब पुनः दूतावासले सार्वजनिक अपिलमार्फत दिएको अर्को १ हप्तम म्यादभित्र के कस्तो तस्बिर देखिन्छ, त्यो हेर्न भने अझै केही दिन कुर्नै पर्ला।
सवाल निक्षेपको जोखिमको
युनिटीका कार्यक्रमहरूबारे युनिटीका लिडर(प्रबर्द्धक)हरूबाट जानकारी पाएपछि र कतिले युनिटीको भिडियोमा बिभिन्न राजनैतिक दलहरूका नेताहरूलाई नै युनिटीको समर्थनमा बोलेको देखेर पनि प्रभावित भई बिमा, औषधोपचार सुविधा, सुपरमार्केटमा डिस्काउन्ट तथा १०% ब्याजको समेत लोभमा सदस्य बन्न पुगेको पाइन्छ । तर अहिलेको सरकारी हस्तक्षेपसंगै मिडियामा आएका कतिपय समाचारहरूले भने सदस्यहरूमा आफ्नो निक्षेप नै गुम्ने पो हो कि भन्ने चिन्ता छाएको पाइन्छ । खासगरी निक्षेप संकलन गर्दा राष्ट्र बैंकको अनुमति नलिएको, बिमा समितिको स्वीकृति बिना नै बिमा पोलिसी बेचेको अनि निक्षेपित रकमको हक तथा पारदर्शिता सदस्यहरूलाई प्रदान नगरिएका कुराहरू नै अहिलेका प्रमुख सवाल बनेका छन। अनि ८-१० अरब नै संकलन भैसक्नुपर्ने यस कम्पनीको नाममा मौज्दात भने केही करोड मात्र देखिनु, अझ पछिल्लो समयमा खरिद गरिएका भनिएका कतिपय घर जग्गाहरू नै मात्र भाडामा लिएको देखिनु या कम्पनीको नाममा नभई अन्य कुनै ब्यक्ति बिशेषका नाममा देखिनुले यस कम्पनीमाथि थप शंका पैदा भएको छ। यी तथ्यहरू अब मिडियाका प्रचारबाजी (सकारात्मक, नकारात्मक) मात्रै रहेका छैनन, स्वयम नेपाल सरकारका प्रवक्ता तथा बिज्ञप्तिहरूले समेत प्रारम्भिक अनुसन्धानपछि बोलेका हुंदा “दालमे कुछ तो काला है” भनी मान्नै पर्ने अवस्था श्रृजना भएको छ। यस घडीमा हाम्रो चांसो र चिन्ता भनेको स्वदेश तथा बिदेशमा रहेका युनिटी लाइफका कुनै पनि सदस्यहरूको निक्षेपित रकम कुनै पनि अवस्थामा कुनै पनि जोखिममा नपरोस भन्ने नै हो।
(यो लेखमा प्रस्तुत बिचार र बिश्लेषण लेखकका निजी दृष्टिकोण हुन, कसैलाई पनि चोट पुर्याउने लेखको उद्धेश्य नभएता पनि पाठक बर्गका कुनै प्रतिकृया भए कृपया dharamkc@yahoo.com मा लेखी पठाउनु अनुरोध छ। सं.)
Popularity: 12%
May 26th, 2010
म, कतार र युनिटी आफ्नै परिवेश
रवि भट्ट -
बेरोजगारको चपेटामा अल्झिरहेको म जतिबेला प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरे तव रोजगारको आशामा राजधानी हुत्तिए। राजधानी चिच्याइरहेथ्यो एक अर्काको चिनजान र नातावादभन्दा अरुलाई चिन्दैनथ्यो काठमाडौं। भौतारिदैं म २ वर्षको शिक्षक जागिर हुँदै ६ वर्ष सेनाको जागीर हुँदै चितवनको भरतपुरस्थित कोकाकोलामा ठोक्किन पुगें।
आफन्तहरुले मलाई औधी माया गर्थे । उनीहरु सक्षम रोजगार दिलाउन र म सक्षम काम गर्ने भए तापनि रोजगार दिनेको दया कसैलाई पलाएन फलतः म शून्यबाट चितवनमा काम गर्न सुरु गरें । कतारको दोहा शहरमा सेक्युरिटी गार्डमा २ वर्षको लागि छनौट भएर दोहा प्रवेश गर्दा नेपालको स्वच्छ हावा दोहा एयरपोर्ट सकियो फुस्स । ४५ डिग्रीको तापक्रममा चीरचीर पसिना २ मिनेटको हिडाइँमा आयो । लाग्यो ऐलेनै नेपाल फर्कु । विरामीको भान पारेर तर एउटा शिक्षक, सिपाही र म गरिब देशमा बेरोजगारले गाँजेको हुँ के गर्छस् अब गर जे भए पनि मनमा छुट्टै तरंग खेल्यो। सोही दिन कार्यालयमा छुट्टै अन्तर्वार्ता भयो । २ वर्षको लागि सिटी सेन्टर नामक ठूलो सपिङ कम्प्लेक्समा १२ घण्टा रात्रि ड्यूटीमा फिट भएँ म । सुरु भयो दिन चर्या । रातको सन्नाटामा घर परिवार सम्झेर ५ मिनेट रुन्थे । अरु समय कापी कलम लिएर कथा, कविता, लेख लेख्थें । सुपरभाइजरले कापी कलम लिएको देख्दा कराउँथे । मैले अनुरोध गर्थें म पत्रकार हुँ नेपालमा अलिअलि न्यूज पठाउन लागेको । उसले स्वीकार्यो र लेख्न छुट दियो । करिब ३ महिना पछि मरुभूमि नामक मासिक पत्रिका ऐतराज, सुरेन्द्र, जीतबहादुरलगायतका साथीहरुसँग सहकार्य गरेर प्रकाशन गरियो।
अन्य पत्रपत्रिका नभएकोले अत्याधिक चल्न थाल्यो । र २ वर्ष त्यसमा नै काम गरें । दिनको १२ घण्टामा ४ घण्टा पत्रिकालाई समय दिएर बसियो । पत्रकारको परिचय पश्चात सफल व्यवसायी बद्रीप्रसाद पाण्डेले भिसा निकाली दिन्छु आएर पत्रपत्रिका मात्र हेर्नुस् भन्ने शब्दले म पुनः उहाँको स्पोन्सरमा कतार प्रवेश गरें । लगत्तै ज्योति रानाभाट, विजयबाबु र म सहकार्य गरेर नेपाली मासिक पत्रिका सुरु गरियो।
लण्डनबाट प्रसारण हुने नेपाली टिभीमा काम गर्ने मौका मिल्यो । लगत्तै नेपालको उर्त्र्सग प्रकाशन प्रा.लि. र कतारको दार अलर्सार्क पब्लिकेशनको साझेदारीमा राजधानी साप्ताहिक सुरु भयो। संवाददाता खोजियो म छनौट भए लगत्तै उच्च पारिश्रमिकका साथ काम गरें। करिब ३ लाख नेपालीहरु बीच १० हजार राजधानी सुरुबाट नै वितरण भयो । मलाई भ्याई नभ्याई हुन्थ्यो ७५ जिल्लाका करिब ८० संघ संस्थाले शुक्रबार बोलाउँथे । एक्लै रिपोर्टिङ गर्थें । १ वर्षपछि मित्र दीपक पौडेल राजधानी पत्रिकामा आए र निकै होलो भयो। यस बीचमा मैले म भनेर लेखि रहँदा मलाई म बनाउने बद्रिप्रसाद पाण्डे, आशिष सेरचन, सागर नेपाल, डा. डी.के. डंगोल, रामहरि गैरे, कमलमणि गुरागाइँ, नरेन्द्र सेन, नरेन्द्र भाट, ज्योति रानाभाट, माला डंगोल, सुनिता पाण्डे, कमला बस्नेत, रमी तामाङ, दिनेश तामाङ, नारायण खनाल, बाजे, भूमी कार्की, बालकृष्ण पौडेल, प्रकाश गुरुङ, तेजेन्द्र महत, रामेश्वर श्रेष्ठ, विजय माझी, दीपक पौडेल, हफिज खान र राजदूतावास सक्रिय रह्यो । (दर्जनौं नाम भएकोले सबै उल्लेखत गर्न सकिन)
सबैको सहयोगबाट नाम र दाम सहित म चर्चामा छाएँ । म दोहाबाट विश्वको कुनै पनि राष्ट्रमा रिपोर्टिङमा जान सक्ने भएँ तर २/४ राष्ट्र बाहेक जान सकिन । यसरी म भएर काम गरिरहँदा मैले राजधानीको सम्झौता परिवर्तन हुनलाग्दा मेरो तलब भत्ताबाट ५० प्रतिशत कम दिने भएकोले मैले करिब नेपाली ६ लाख कम्पनीको लोन लिएर नेपाल फर्के छुट्टीमा । जाने समय आयो र मेनेजरले फोन गरेर आउ भन्यो मैले मेरो तलब त्यति नै भए आउँछु नत्र आउन्न भने उसले जी.एम. नमानेको बताए । पछि म गइन । यसरी कतार रहँदा लगभग एकदर्जन नेर्टवर्क विजिनेश आए र मलाई सदस्यमा बस्न भने तर मैले पत्रकारले सदस्य नलिनु भन्ने र आचारसंहितामा भन्दै फर्काउँदै गरें । पुग्यो युनिटी त्यहाँ विष्णु क्षेत्रीले रात्रि भोजको आयोजनासहित पत्रकार सम्मेलन गरे र त्यहाँ जाने मौका मिल्यो । रेडलेवलको चुस्किसँगै मलाई सदस्यता दिलाउने निःशुल्क भनियो तर मैले अस्वीकार गरें । भोलिपल्ट विष्णुजी कार्यालयमा आएर सदस्य बन्नुस् भनेर १ घण्टा लेक्चर दिए पश्चात म पूर्ण के.सी. जी मार्फत सदस्य बने। यता नेपालीमा श्रीषा पौडेलजीले मलाई सदस्य खोजिदिनु भन्दा मैले २/४ जना भाइहरु दिए पनि । पछि विष्णुजी र श्रीषाजीको लगनगाँठो कसिएछ। युनिटीको यो मन पराईसँगै मैले १० हजार चढाएँ।
अब गुमाएका प्रसंगमा जान चाहन्छु । मैले कतारमा रहेका र बहराइनामा रहेका हजारौं पाठक र मित्रहरुलाई मात्रै गुमाए तर जब म नेपाल आएँ । तब विदेशीहरुको मनमा बसेर संर्घष गर्दै आएको एउटा ठिटो केपी किरण शर्मा एक्लै गामवेसीको खबर पत्रिका लिएर दौडिरहन्थ्यो । पत्रिकाको गुदि हेर्दा पूरै गैरराजनीति र विकासे पत्रकारिता र चुरो बुझेर म पनि होमिए र योजना बनाए विदेशीहरु मात्र मिलेर यसलाई सामुदायिक हिसाबले साप्ताहिक निकाल्ने योजना अनुसार हाल ३४ औं अंक साप्ताहिकमा नै चलिरहेका छौं। गैरआवासीय नेपालीहरु माझ लोकप्रिय संर्घषशील, निडर, हक्की र गरीब, निमुखाप्रति बुझ्ने भावनाका एक व्यक्तित्वको खाँचो अनुसार सागर नेपालजीलाई हामीले प्रबन्ध निर्देशक छनौट गर्यौं । निश्चित हो पत्रिका प्रकाशनार्थ रकमको आवश्यकता अनुसार उहांलाई मालिक बनाइयो । कतारमा मासिक करीब ५० देखि १ लाख र नेपालमा लाखौं रुपैया समाज सेवामा सहयोग गर्नु भएका सागरजीसँग सहकार्य गर्न पाउँदा हामी हर्ष विभोर भएका थियौं । २३ औं अंक सम्म सम्पर्क गर्दा उहां सम्पर्क विहिन हुनु भयो । मोबाइल उठाउनु भएन, एसएमएसको जवाफ आएन, इमेलको प्रत्यूत्तर आएन, थुप्रै कतारका साथीहरु मार्फत कुरा गर्न असमर्थ भएपछि हामीले उहांको ठाउँमा कतारमै सफल व्यवसाय गर्नु भएका नरेन्द्र सेनलाई प्रवन्ध निर्देशकमा छनौट गरियो।
पत्रकारीता राजनिति, संघ संस्थासँग सामिप्य रहने बुद्विजीवी रामहरि गैरे, नरेन्द्र सेन, रमी तामाङ, क्रान्तिसिंह यस पत्रिकाका सेयर धनीहरु हुनुहुन्छ । त्यस्तै दुवई र मलेसियाबाट साथीहरु गरि १५ जना रहेका अवगत गराउन चाहन्छु । ५ जिल्लामा जाने २५ सय प्रति गामवेसीको खबर पत्रिकाले तुरुन्तै आफ्नो वेबसाईट पनि राख्ने जानकारी गराउँछु। …… म सिनर्जी एफ.एम. ऐक्यवद्धता माउन्टेन टेलिभिजन र गामवेसीमा काम गरि रहँदा र सहयोगी हिजोका हातहरुलाई सलाम र चुम्बन दिन चाहन्छु।
तर कतारमा रहेर ६ बर्षको अनभुव बटुलेको यो गाउँले ठिटो गामवेसीसम्म आइपुग्दा पत्रकारीता अझ सशक्त बनाउने छ। स्वार्थ लिप्त भएर काम नगरौं। जुटे सबै हुन्छ फुटे केहि हुदैन। हिजो नेपालमा बाँच्न सकिन मलाई तलबसंग सरोकार छैन रवि जी भन्ने दीपक भेटवालले ७ लाख ऐले तलव खाए पनि मलाई यहाँसम्म ल्याउने रवि भट्ट हो भन्न लजाउनु हुदैन। हिजो भिसा लगाउनदेखि मोबाइलमा रिचार्ज कार्ड र कोठा खोजि दिने भट्टलाई आशिष शेरचन जस्तो बुद्धिजीवीले के छ भन्न लाज मान्नु पर्दैन। हिजो १ हप्ता राजधानीले सस्पेन्स राख्दा म लड्छु म पनि काम गर्दिन भनेर आफ्नो कारमा रात दिन राखेर अभिभावकको काम गरेको रवि भट्टलाई दीपक पौडेलले जस्तो पत्रकारले इमेलको जवाफ दिन लाज मान्नु पर्दैन।
अन्तमा, राजदूतावास हाल अत्यधिक काम गर्ने सफल भएकोले राजदुत डा. सूर्यनाथ मीश्र ज्यूलाई हृदयदेखि नै हिजो जस्तै संझन चाहन्छु र तपाई सम्पूर्ण मेरा शुभचिन्तकहरुलाई अझै मेनेजरसंग कुरा नै रहेको छ तलवको कुरा मिलेमा पूनः दोहा प्रवेश गरेर नयाँ पत्रिकासँगै भेट गर्ने आशा लिएर बस्नुहोस्।
धन्यबाद् ।
Popularity: 11%
May 25th, 2010
मैले मदन पुरस्कार किन पाइन? -नरेन्द्रराज प्रसाई
मेरो अनुरोधमा यो लेख मदन पुरस्कार गुठीको मुखपत्र ‘नेपाली’ त्रैमासिकको अङ्क २०१ (२०६६ कात्तिक, मङ्सिर र पुस) मा ‘नेपाली’का सम्पादक कमल दीक्षितले छापिदिनु भएकोमा म उहाँप्रति कृतार्थ छु।
श्री कमलमणि दीक्षितज्यू
अध्यक्ष
मदन पुरस्कार गुठी
आदरणीय कमल बाबू !
यहाँले मलाई हिजो पठाउनुभएको यहाँको नयाँ कृति ‘गुरुभेटी’ (महाकविमा) मैले राति नै पढिसकेँ । त्यस कृतिमा आबद्ध यहाँको भाषा, शैली र प्रस्तुतिको बखान आज म नगरूँ; किनभने यसबारे मैले लेखिसकेकै पनि हुँ । यत्ति हो, कमल बाबू लेखेर नथाक्ने अर्को महाकवि देवकोटा हो भने पनि पापै नलाग्ला जस्तोचाहिँ मलाई लाग्छ । तर कमल बाबू ! यस कृतिको कुनैकुनै पृष्ठमा पुगेपछि म रनभुल्लमा परेँ र फेरि दोहोर्याएर मैले पारायण गरेँ । अनि फेरि पनि मलाई ती सन्दर्भका बेहोराले दोधारमै पारिरह्यो । किनभने कमल बाबू जस्ता सिद्धहस्त स्रष्टाले लेखेको किताबमा कसरी त्रुटि हुन सक्ला र भन्ने मेरो यहाँप्रतिको समर्पित धाराबाट तपतपी पानी चुहिन पनि छाडेन । अनि मेरो केही सीप नलागेपछि मेरी पुरोधिका इन्दिरालाई मैले अन्डरलाइन गरेका पङ्क्तिहरू पढेर मलाई तिनको अर्थ बुझाउन आग्रह गरें । उनले पनि मैले झैँ एकपल्ट ती पाठ पढिन् र फेरि दोहोर्याएर पनि त्यही पढिन् । उनको निष्कर्ष पनि मेरो जस्तै निस्क्यो । अर्थात् यी सन्दर्भ उहाँजस्तो साहित्यिक महारथीबाट कसरी प्रस्तुत भए ? भन्ने हिसाबमा उनी पनि पुगिछिन् । कतै हाम्रो जोडीको बौद्धिक चेतको अल्पतामा यसको सही अर्थ पो हामीले लगाउन नसकेका हौँ कि भन्ने पनि मलाई लाग्यो । त्यसैले यहाँसमक्ष मैले केही जिज्ञासा राख्नैपर्ने भयो । मलाई आशा छ, यहाँको ‘गुरुभेटी’मा आबद्ध अभिलेखमध्ये मैले बुझन नसकेका निम्नलिखित प्रसङ्गका उत्तर पाउन सकूँला।
१. कमल बाबूले बनारसमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई एक रुपियाँ चन्दा दिनुभएको बेहोरा साठी वर्षसम्म पनि सम्झिरहनुभएको रहेछ र त्यही हिसाबलाई शीर्षक बनाएर ‘गुरुभेटी’ (२०६६) पनि लेख्नुभयो । त्यसपछि देवकोटालाई आर्थिक हाहाकार हुँदा यहाँले कहिले सम्झनुभो ? जबकि दानवीरमा नाउँ कमाएकी रानी जगदम्बाका यहाँ सेक्रेटरी र हर्ताकर्ता पनि हुनुहुन्थ्यो । त्यसै बेला कुनै एक दिन रानी जगदम्बासँग चन्दा माग्न जाँदा महाकवि देवकोटाले ‘’रानी साहेब दानी हुनुहुन्छ, दयालु हुनुहुन्छ'’ भनेर कमल बाबूसमक्ष आधा घन्टाजति प्रशंसा गरेर घाँटी सुकाउँदा पनि जगदम्बा रानीसँग देवकोटाको भेट गराइदिनका निम्ति यहाँको कविहृदय किन पग्लेन ? देवकोटाले तिनको त्यत्रो स्तुति गर्दा तिनी देवकोटालाई फुटेको कौडी दान दिनबाट कसरी वञ्चित भइन् ? पछिपछि देवकोटा गरिबीले गर्दा औषधी गर्न नसक्ने असहाय अवस्थामा पनि पुगेका थिए । अनि त्यति बेला जगदम्बाले चारैतिर नगद र जिन्सी र्छर्दै गरेका प्रसङ्ग देवकोटालाई पनि थाहा थियो । तर पनि महाकविले उनीबाट सुकोपैसो सुँघ्न पाएनन् । शताब्दीकै महान् प्रतिभा देवकोटाबारे दानी जगदम्बा रानीका कानमा जानकारी नै पुगेको थिएन कि ! अथवा देवकोटाबारे उनलाई विपरीत पारिएको पो थियो कि ! यहाँलाई यस विषयमा थप जानकारी छ कि ?
२. मदन पुरस्कार गुठीले कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मदन पुरस्कार दिन चाहन्थ्यो भन्ने कुरा कमल बाबूले ‘गुरुभेटी’मा लेख्नुभएको रहेछ । त्यति मात्रै होइन, यहाँले त्यसबारे फेरि प्रस्ट रूपमा खिप हाल्नुभएको छ- ‘’मदन पुरस्कारका लागि उहाँहरूका पुस्तक गुठीमा आउनैपर्थ्यो । आउने पनि थिए, तर त्यसमा तगारो लाग्यो नेपाल एकेडेमीको । नेपाल एकेडेमी भनेर पुग्दैन, मान्छेको नामै किट्नु पर्छ । तत्कालीन भाइस चान्सलर बालचन्द्र शर्माले रोकिदिनुभएछ । आफ्ना मातहतका एकेडेमिसियनहरूलाई भन्नुभएछ ‘तपाईहरूले गुठीमा पुस्तक पेस गर्नु एकेडेमीको इज्जतको विपरीत हुन्छ, नपठाउनुहोला ।'’ कमल बाबूले मदन पुरस्कार प्राप्त गर्नका लागि पुस्तक चाहिन्थ्यो भन्ने आशय उल्लेख गर्नुभएको छ । के त्यति बेला गुठीले पाण्डुलिपिलाई नै पुरस्कार दिने चलन थिएन र ? देवकोटालाई मदन पुरस्कार जुर्ने भए उनका घरमा पाण्डुलिपि खाँदेका बोराहरूको मुख पनि त खोल्न सकिन्थ्यो ! यहाँको ‘गुरुभेटी’ पढ्दा ‘’यदि दाताको मन नै औंसी छ भने भोक्ताले पूर्णिमा हुनुको के अर्थ रहँदो रहेछ र !'’ भन्ने सोचाइमा फेरि म अड्किन पुगेँ।
३. नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्माले भाँजो हालेका कारण ती तीन भाइका किताब मदन पुरस्कार गुठीमा आएनन् र पुरस्कार दिन पाइएन भन्ने दुखेसो कमल बाबूले प्रस्तुत गर्नुभएको छ । शर्माले भाँजो हालेको बारे यहाँसँग झिनोमसिनो कुनै प्रमाण पनि छ होला?
४. बालचन्द्र शर्मा कहिलेसम्म नेपाल एकेडेमीका भाइस चान्सलर थिए ? उनले एकेडेमी छाडेपछि कविशिरोमणि र नाट्यसम्राट्लाई मदन पुरस्कार दिन कुन बाधाले छेकेको थियो ? यसबारे पनि म प्रष्ट हुन सकिनँ । अर्को कुरा, गुठीलाई नेपाली भाषासाहित्यका यी तीन जना विभूतिलाई पुरस्कार दिन मन लागेको नै थियो भने गुठीको नियम मिलाएर मरणोपरान्त उनीहरूका नवकृतिलाई पुरस्कार दिन सकिँदैनथ्यो र ? जब कि मदन पुरस्कार व्यक्तिलाई नभएर कृतिलाई नै मात्र दिइन्छ । यसबारे पनि यहाँले ‘’गुठी उहाँहरूको सम्मान गर्न चाहन्थ्यो, मदन पुरस्कार अर्पण गरेर । “जगदम्बाश्री त्यस बेला जन्मेको थिएन, व्यक्तिलाई मदन पुरस्कार दिन नमिल्ने'’ भनेर ‘गुरुभेटी’मा दोहोर्याएर लेख्नुभएको नै छ । देवकोटा स्वर्गीय भएपछि नै उनका चालीसवटाभन्दा बढी कृति प्रकाशित भएका छन् र यो लहरो अझै तानिदै पनि छ । साझा प्रकाशनले पनि उनको ‘पृथ्वीराज चौहान’ नामक महाकाव्यका लागि २०४९ सालको ‘साझा पुरस्कार’ समर्पण गरेको थियो त!
५. २०२२ सालमा कविशिरोमणि पौड्याल र २०३८ सालमा नाट्यसम्राट् समले इहलीला त्यागेका थिए । मदन पुरस्कार गुठीको स्थापना भएको २५ वर्षको अवधिमा समले त्यतिबिधि ओजस्वी कृतिहरू लेखे । उनले चाहिँ मदन पुरस्कार किन नपाएका हुन् ? त्यस समयमा उनका कुनै गतिला कृति पो प्रकाशित थिएनन् कि ! ‘पुरस्कार पाऊँ हजुर !’ भनेर उनले गुठीमा आफ्ना किताब बुझाएर होचिन पो चाहेनन् कि ! तर यहाँले चाहिँ पौड्याल, सम र देवकोटालाई ‘मदन पुरस्कार दिन पाइएन’, ‘मदन पुरस्कार दिन पाइएन’ भनेर गुनासो मात्रै गर्नुभएको छ । यहाँजस्ता मूर्धन्य व्यक्तिले यत्तिका वर्षपछि आएर यस्ता कुरा लेख्ता त्यसको उचित अर्थ रहन्छ होला र ! यहाँले भन्न खोजेको खास कुरा कविशिरोमणि, नाट्यसम्राट् र महाकविप्रति यहाँहरूले गरेको अन्यायको पछुतो हो या भक्तिभावना हो ? यो विषय पनि स्पष्ट भएन नि ! कमल बाबूको जीवनकालमा नै यस्ता कुरालाई स्पष्ट नपार्ने हो भने अमृतवृक्ष भएर झाँगिनुपर्ने मदन पुरस्कार विषवृक्षका रूपमा स्थापित हुन पनि बेर लाग्दैन।
कमल बाबू ! म नेपाली भाषासाहित्यमा यहाँकै अनुयायी भएर अनाटकीय ढङ्गबाट उपस्थित भइरहेको छु । मलाई मञ्चमा बस्न, माला लगाउन र पुरस्कार थाप्न सङ्कोच लाग्छ भनेर मैले एक दशकको छेउछाउदेखि लेख्तै आएको बेहोरा पनि हो । तर पनि विशेषगरी जगदीशशमशेर राणालाई मैले मदन पुरस्कार पाएको हेर्ने इच्छा थियो । अनि त्यही परिवेशमा मैले राणालाई मदन पुरस्कारको चटकबारे पनि एउटा लामो चिठी लेखेर भारतको सिमला पठाएको थिएँ । वास्तवमा ईश्वरवल्लभदेखि जगदीशशमशेर राणासम्मले जति नै जोड गरे तापनि मैले मेरा कुनै कृति मदन पुरस्कारको चिट्ठामा सामेल गराइनँ । बिन्तीपत्र हालेर आफ्नो योग्यता एकल तजबीजको तुलोमा जोखीपाउँ भन्नु र आत्महत्या गर्नु मेरा लागि बराबर हो।
कमल बाबू ! हाल, म खासगरेर महाकवि लक्ष्मीप्रसाद देवकोटाकै अध्ययन, खोज र अनुसन्धानमा पनि लागेको हुनाले प्रदत्त प्रश्नहरू मेरा लागि निक्कै महत्त्वपूर्ण हुन गएका हुन् । त्यसैले मेरो अन्वेषणकार्यमा यहाँबाट सहयोग पुग्नेछ भन्ने मैले आशा राखेको छु।
यहाँको स्नेही भाइ
(नरेन्द्रराज प्रसाई)
मिति : २०६६ असोज ३१ गते
(महाकवि देवकोटा जन्मेको आज १०० वर्षपुगेको दिन)
Popularity: 8%
May 23rd, 2010
संयुक्त प्रेस बक्तब्य-
नेपाल कम्युनिष्ट पार्टी संयुक्त मार्क्सवादीको केन्द्रिय कार्यालय कोटेश्वमा आज बसेको नेकपा (संयुक्त मार्क्सवादी), नेकपा-एकीकृत क्रान्तिकारी), नेकपा (मार्क्सवादी), नेकपा (मालेमाकेन्द), जनमोर्चा नेपाल र राष्ट्रिय जनबादी मोर्चा, नेपालका नेताहरुको आकस्मिक संयुक्त बैठकले अत्यन्तै विग्रदो देशको बर्तमान राजनीतिक स्थितिका बारेमा छलफल गरी निम्न निष्कर्श निकालेर प्रकाशन तथा प्रसारणका लागि सार्वजनिक गरेका छः-
१. संविधान सभाको निर्वाचनपछि सम्पूर्ण ध्यान संविधान निर्माणमा केन्द्रित गरेर जानुपर्नेमा सबै ठूला राजनीतिक दलहरु ऐतिहासिक संयुक्त जन आन्दोलनको महान शहीदहरुका सपना तथा जन आन्दोलनको जनादेश एवं नेपाली जनताको स्वाभाविक अपेक्षा र चाहना बिपरीत सत्ता-कुर्सीको खेलमा निर्लिप्त हुँदा यो आजको अत्यन्तै संकटपूर्ण राजनीतिक स्थिति उत्पन्न भएको हो । त्यसले गर्दा देशमा पुनः सामन्ती प्रतिगामी शक्ति र बाहृय बैदेशिक हस्तक्षेपकारी प्रतिकृयावादी शक्तिको चलखेल तीब्ररुपमा बढेर गएको र देश हिंसात्मक द्वन्दमा धकेलिने स्थिति सिर्जना भएको छ । अतः यस स्थितिमा राज्यलाई दमन नर्गन र प्रमुख प्रतिपक्षलाई स्थितिलाई मुठभेडतिर नधकेल्न आहृवान गर्दै देशलाई अनिर्णयको बन्दी बनाइएको आजको स्थितिबाट तत्काल मुक्त गर्न जनता र राष्ट्रको हितमा केन्द्रित नयाँ राष्ट्रिय सहमति कायम गरी तोकिएको समयमा संविधान निर्माण गर्न पुनः माग गर्दछौं।
२. संबिधान सभाको निर्वाचनबाट सबैभन्दा ठूलो राजनीतिक दल भएको नाताले एकीकृत नेकपा (माओवादी) ले जुन किसिमको राजनीतिक परिपक्कता र राजनीतिक इमानदारितकासाथ प्रस्तुत हुनुपर्ने हो त्यसरी प्रस्तुत नहुंदा बर्तमान गठबन्धनको सरकार बन्न पुगेको हो। आज यो सरकार पनि अससफल भएको स्थितिमा नेपालको राष्ट्रियता र सार्वभौमिकताको रक्षा, अग्रगामी जन पक्षीय संविधानको निर्माण र जनतालाई तत्कालीन र दीर्घकालीन आर्थिक, सामाजिक राहत दिन इमानदार प्रयत्न गर्ने गणतन्त्रका पक्षधर संविधान सभा भित्र र बाहिरका आन्दोलनकारी बाम तथा लोकतान्त्रिक शक्तिको सरकार निर्माण आजको आवश्यकता हो । त्यसको लागि अधिकतम लचकताकासाथ प्रयत्न गर्न हामी आहृवान गर्दछौ।
(लोकनारायण सुवेदी)
महासचिव
Popularity: 16%
May 5th, 2010
ईश्वर चाम्लिङ -
नेपालको चर्चित पर्यटकिय स्थल जोमसोम, त्यस्तै चर्चित आस्थाको केन्द्रविन्दु मुक्तिनाथ । सर्न्दर्भ जोमसोम-मुक्तिनाथको साथ नेपाली चलचित्र जगतको एक धरोहर नायक धिरेन शाक्य र निर्देशक मिलन चाम्स्सँगको।
धिरेनदाइ आफैमा एउटा नेपाली कला-नक्षेत्र, चलचित्रको पर्दाहरूमा धेरै पटक देखेको, तर मैले मनदेखि मानेको नायक उहाँलाई करिब ३ बर्षअगाडि मात्र बेलायतमा साक्षात्कार पाएको थिए । हिरो मान्छे जताततै फ्यानहरू, त्यहाँ पनि उहाँको धेरै क्रेजि फ्यानहरू छन। चलचित्र, म्युजिक भिडियो, भेटघाट आदिको सर्न्दर्भ लिएर उहाँ बेलायत आइरहनुहुन्थ्यो। बेलायतमा हाम्रो रमाइलो भेट भइरहन्थ्यो । मलाई लाग्छ, सायद यस्तै क्रममा उहाँसँग कलाकरिताको सम्बन्ध गासिएको हुनसक्छ प्रवासका चर्चित निर्देशक मिलन चाम्स्को। मिलन चाम्स् प्रवास, विशेष गरेर बेलायतको जल्दाबल्दा म्युजिक भिडियो निर्देशक, दुइ चलचित्र “वास्तविकता” (सह-निर्देशक) र “पश्चाताप” सहित तीन दर्जन भन्दा बढि स्तरिय म्युजिक भिडियोहरूका निर्देशक हुन। ति म्युजिक भिडियोहरू मध्ये ५ उत्कृष्ट म्युजिक भिडियोहरू खास त केहि छैन, तिमी बाटो तिमी यात्रा, जिन्दगीको सहारालाई, माया लजालु मेरी माया, साउने झरीले रुझायो मा धिरेनदाइको अभिनय रहेकोछ। जुन म्युजिक भिडियोहरू मैले धेरै पटक दोहोर्याएर हेरेको छु र लाग्छ म जस्तै अरु धेरैहरूले पनि त्यसो गरेका होलान।

हाम्रो अहिलेको सह-यात्रा काठमाण्डौदेखि जोमसोम र मुक्तिनाथ सम्मको, यो बसाइमा म पनि थोरै साथ दिन खोज्दैछु कलाकारिताका यी दुइ चम्किला ताराहरूलाई। मनमा एक किसिमको उत्साह जागेको छ। यो सुन्दर ठाँउ, यी सिर्जनसिल मनहरू, दुइ-चार शब्द किन नजोडौं म - यसै भन्दै छ मेरो मनले। उत्साहित मनले धकेल्दै छ मलाई र म बसेको छु, यो सानो टिपोट तयार पार्न। जोमसोमै बजारमा १२ बजे हावा सरर…..कसैले गाएको गीतमा सुनेको थिए। गाउनलाई मिलाएको होला भन्ठानेको थिए, गाउनलाई मात्र मिलाएको होइन रहेछ। यो त यथार्त रहेछ । हावा सर.र.र. मात्र हैन हुइर्.इ., हुइ.इ…हुरु.रु.रु.रु.रु चलिराख्दो रहेछ । हिमाली सौर्न्दर्यताको राजकाज भएको जोमसोममा एक किसिमले एकै दिनमा तिन खाल्के मौसम बदलि हुदोरहेछ । विहानी केवल विहानी मात्र हैन सुन्दर विहानी भएर उदाँउदो रहेछ दिन । पारिलो न्यानो घाम चौतर्पिm मनमोहक दृष्य, त्यसै-त्यसै फुरुक्क खुशि छाउदो रहेछ मनमा । मध्यदिन देखि मौसम बतासे दिन भएर बदलि हुदोरहेछ । प्राय सबै घर भित्रै बस्दा रहेछन दिउसो । अनि दिन ढल्दै गए पछि चिसो हावा सँगै तापक्रम घटेर हिउँदको साँझ भएर सकिदो रहेछ दिन । हावाले गर्दा आखा चिम-चिम, चिम-चिम चिम्लन्दै हिड्नु पर्ने त्यसकारण दिउसो कतै गइएन।

नुनथलाको चिया बिर्सेर जोमसोमे चियाको चुस्कि सँगै होटल मै गफियौ । गफिने क्रम तथा उपक्रमहरू चलिरहयो । अनौपचारिक कुराकानीका केहि कुराहरू म सुटुक्कै डायरिमा टिप्दै रहे । मिलनका कुराहरू धिरेनदाइका कुराहरू । संस्थागत हैसियतमा धिरेनदाई उपाध्यक्ष हुनुहुदोरहेछ, नेपाल चलचित्र कलाकार संघको अनि व्याबसायिकतामा कलाकारिताको अपरिहार्यता पर्ुर्ति गर्ने जस्मिन फिल्मस् प्रा.लि.रेन्टिङ्ग एण्ड सेलिङ्ग कम्पनिमा ब्यस्त हुनुहुदोरहेछ । अरुहरूले भै+m मैले पनि “आज सम्म कतिवटा फिल्मस् खेलिसक्नु भयो हौ दाजु -” भनेर सोधेको थिए…. सिमाना, कर्जा, भिष्मप्रतिज्ञा, रणभूमि, राजकुमार, देशपरदेश, दाग, सौभाग्य लगाएतका करिव नब्बे-पन्चानब्बे फिल्मस् खेलिसक्नु भएको रहेछ उहाँले । चिनो, कन्यादान, कलंक, अचानक को सुटिङ्ग सिद्धिसकेको रहेछ । भुल्नै सकिन शिर्षको अर्को चलचित्रको भने सुटिङ्ग चलिराखेको रहेछ । चलचित्र चिनो को निकै चर्चा चलेको थियो । चिनोमा हामीले नायक धिरेन शाक्यलाई जोमसोमकै परिवेशमा देख्न पाइने रहेछ । उहाँले त्यस फिल्मस्माथि निकै आशा पनि राख्नु भएको रहेछ । फिल्मस्को ल्याबको काम सकिने साथ चिनो लाई बेलायत लैजाने मनोभावना पनि मैले बुझे । भाग्यमानी बेलायतबासी नेपालीहरू, यहाँहरू नै चिनोको पहिलो दर्शक हुनुहुने रहेछ । म्युजिक भिडियोको प्रसँग चल्दा चाम्स् फिल्मस् प्रोडक्सन प्रा.लि.को ब्यानरमा मिलन कै निर्देशनमा निर्माणधिन म्युजिक भिडियो रातै रगतको खोला बगायौ तिमीले जहाँ, रातै फूल पप्पि फूलेको रहेछ त्यहाँ …. विरताको गीत को पनि चर्चा चल्छ । यो गीत म आफैले लेखेको कारण मिलनको यस प्रोजेक्टको बारेमा मलाई पनि धेरै अवगत छ । अथवा यसो भन्दा धेरै सान्दर्भिक होला, यो हाम्रै प्रोजेक्ट हो । एउटा सिपाही साथीले वीरगति प्राप्त अरु सिपाही साथीहरूका खातिर के नै गर्न सकिन्छ र - सर्न्दर्भ मिल्दा सम्झनु र उहाँहरूले दिनुभएको बलिदानलाई सम्मान गर्नु बाहेक। लेख्दालेख्दै मेरो साथी (गुरुजी) र्सार्जन्ट सुरेन्द्र लिम्बुलाई सम्झन्छु । उहाँको आर्थिक, नैतिक र धेरै भावनात्मक सकृयता नभएको भए यो गीत रेकर्डिङ्ग गराउने मेरो त्यति चासो नै थिएन। लेखि्एका गीतहरूलाइ रेकर्डिङ्ग गराउने रहर त कुन गीतकारलाई नहोला र - तर सन् २००४ मा जब मैले मेरो गीतहरूको संकलन गीति एलबम “स्पन्दन” निकाले, त्यस पछाडि त्यो मन एककिसिमले भाचिएको छ मेरो। अहिले यहि गीतको ऐतिहासिक भिडियो निर्माणको मध्यक्रममा छ मिलन, अर्का सकृय साथी (गुरुजी) तरुनकुमार सुनुवारलगायत इनटेक ९३ को आह्वानमा, सौजन्यतामा। म मेरो भावनाले पाएको यी सम्मानित साथहरूलाई कहाँ बिर्सनु सक्छु र - निलगिरी पल्लो डाडाँ भएर हाम्रो गफको अटल साक्षि बसेको भान हुन्छ मलाई । निलगिरीका हिँउ टल्किराखेको छ । उनको उपस्थिती घरि-घरी घामको किरण आँखामा टक हानेर गराँउछ मलाई। गीतको चर्चाचल्दै जाँदा, मोबालमा बजाइएको गीत सुनेर होटलबाला दाइको छोरी करिस्मा नजिकै आएर हाम्रो कुरा सुन्छिन । “भिडियो गीतमा अभिनय गर्ने इच्छा छ -” मिलन एउटा अप्रत्यासित प्रश्न फ्याक्छ उनलाई। मिलनको निर्देशनमा निर्माणधिन अर्को म्युजिक भिडियोको पनि हल्का चर्चा चल्छ। जोमसोम बजारलाई हामीले तीन-चार फन्को लगाइ सकेका छौ । केही ठुलाघरहरू धेरै साना एकतले घरहरू, हरेक घरका छानामा दाउराका चाङ्ग, बजारलाइ चिर्दै बग्ने कालीगण्डकी, पारी बजार र वारी बजारलाइ जोड्ने एउटा काठे पुल अनि एउटा झोलङ्गे पुल यति देखे मैले । निलगिरी हिमाल र धौलागिरी हिमालको काखबाट छिरेको एउटा सानो हिमाली उपत्यका पल्लो छेउमा हवाइ मैदान, बजारलाइनको दाया-बाया अग्ला-अग्ला हिमाली पहाड यस्तै आकृती देखे नेपालीहरूले भन्दा बिदेशी पर्यटकहरू मायाले मनमा सजाएको जोमसोम बजार । कालीगण्डकी पुल पारी बजारबाट मुक्तिनाथ जाने जिप चढ्नु पर्ने रहेछ। हिमाली डाडै-डाँडा, भिरालोबाटो, साँगुरोबाटो मुक्तिनाथ बजार पुगेपछि मिलनलाई लेक लागेर निक्कै सारो पारेको थियो। मलाई पनि सास फेर्न अलि असजिलो भएको थियो । धिरेनदाइले हामीलाई खुब लसुन खुवाउनु भयो । फोटो खिच्नुको उल्लास, मनमोहक दृष्य देख्नुको हतार लेकलागेको त्यति ख्यालै भएन। एक सय आठ धारामा नुहाउनु पर्ने, डुबेर पोखरीको पैसा निकाल्नु पर्ने जस्ता र्सवमान्य पृथक संस्कार रहेछ यो मन्दिरको । धेरै लेक लाग्ला भन्ने डरले मुक्तिनाथ बजारमा धेरै रहेनौ। जिपबाट जोमसोम आरालो लाग्दै गर्दा मिलन र धिरेनदाइको यी मनमोहक दृष्यहरूलाई पर्दामा कसरि उतार्न सकिन्छ - यस्तै भावी योजनाको चर्चा भएको सुन्छु। जिपको झ्याल बाहिर कुनै हलिउड चलचित्रका पर्दा जस्तै भएर आउने ति दृष्यहरूमाथि मेरो पनि यस्तै कुराहरू मनमा खेलिराखेको थियो । जोमसोमको गफमा यो प्रसँग पनि निस्कन्छ । मिलनको हल्का प्रस्ताब म्युजिक भिडियो कै आउछ, कुरालाइ साथ दिनुहुन्छ धिरेनदाइ र म पनि र्समर्थन जनाउछु। निकट भविष्यमा नै फेरि गहन प्रोजेक्ट लिएर र्फकने कुरामा हामी सबै सहमत हुन्छौ। कता-कता चन्द्रमाको भव्य यात्रामा छु जस्तो भान हुन्छ मलाइ र फेरि कुनै प्रोजेक्ट नै लिएर र्फकने प्रतिवद्वता प्रति केहि खुशि हुन्छ मेरो मन। यस्तै अनमोल अनुभुत हो रहेछ हामीले लिने जोमसोममा, जुन अनुभुत न मैले बेलायतको स्कटल्याण्डमा लिएको थिए - न त न्युजिल्याण्डको माउन्ट कुक चढ्दा नै लिएको थिए । यस्तै अनुभुत दिलाउन सक्नु नै मुख्य प्रभाव रह्यो जोमसोमको मेरो लागि । आफ्नो भन्नु आफ्नै हुदो रहेछ । कहाँको न्युजिल्ण्ड - कहाँको स्कटल्याण्ड - र कहाँ मेरो नेपाली जोमसोम । मार्फाली स्याउको रक्सि, च्याङ्ग्राको सुकुटि र यी सबै मनमोहक दृष्यहरुलाई बाइ-बाइ भन्दै भोलि त पोखरा झर्नुछ । फ्लाइट पो आउला कि नआउला।
२९ मार्च ०१०, जोमसोम
Popularity: 8%
April 21st, 2010
प्रेस विज्ञप्ति-
नेपाली जनसम्पर्क समिति,अमेरिका एकताको दोश्रो महाधिवेशन तयारी समितिले स्थानीय च्याप्टरहरुको अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय प्रतिनिधि तथा स्थानीय संयोजकहरुको चयन गरेको छ।
यसैगरी, समितिको केन्द्रीय महाधिवेशनलाई अझ बढी प्रभावकारी बनाउनका लागि समिति मातहतका उपसमितिको समेत गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ । समितिको गत आईतवार सम्पन्न बैठकले यस अघि नै पारित गरिएको अधिवेशन तयारी समितिको अन्तरिम विधानलाई आधार मानी अधिवेशन प्रक्रिया अघि बढाएको छ। यसैगरी तयारी समितिका सबै ३५ जना पदाधिकारी सदस्यहरुका लागि आन्तरिक आचार संहिता तयार गरी त्यसको अनुगमनका लागि केन्द्रीय सदस्य सुशील अधिकारीको संयोजकत्वमा सुन्दर कर्माचार्य र राजेश अर्याल सदस्य रहेको आचार संहिता अनुगमन उपसमितिको गठन गरिएको छ।
यस समितिलाई मातृपार्टी नेपाली काँग्रेसले सुम्पिएको जिम्मेवारी अनुरुप अमेरिकामा छरिएर रहेका सबै काँग्रेस शुभेच्छुकहरुलाई अधिकतम सहभागी गर्राई अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया पुरा गर्नका लागि समिति सक्रियतापूर्वक लागि परेको छ। जस अनुसार अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका काँग्रेस समर्थित शुभेच्छुकहरुबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरी अधिवेशन सम्पन्न गर्नका लागि स्थानीय तहमा आगामी जुन १५ तारिखभित्र अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ।
यसका लागि कम्तीमा २५ जना साधारण सदस्य रहेको राज्यलाई स्थानीय च्याप्टरको मान्यता दिने गरी विधानमा उल्लेख गरिएको छ। पहिलोचरणमा हाल विभिन्न २२ वटा स्थानीय च्याप्टरको मान्यता प्रदान गरी अधिवेशन प्रक्रिया अघि बढाइएको छ । जसअनुसार क्यालिफोर्नियामा बैकुण्ठ खनाललाई स्थानीय अधिवेशन सम्पन्न गर्नका लागि संयोजक तोकिएको छ। सोही राज्यमा केन्द्रीय प्रतिनिधिका रुपमा यस समितिका केन्द्रीय संयोजक खगेन्द्र जीसी,सह संयोजक वेदप्रसाद खरेल र केन्द्रीय सदस्य पशुपति पाण्डेलाई खटाइएको छ। कोलोराडोमा धर्मराज श्रेष्ठ संयोजक तथा विष्णु सुवेदी केन्द्रीय प्रतिनिधि रहनु भएको छ । त्यस्तै कनेक्टिकमा पिताम्वर अधिकारी संयोजक र केन्द्रीय प्रतिनिधिमा धनञ्जयनरसिंह केसी र सन्तोष पहारी रहनु भएको छ । सन्तोष पहारी संयोजक रहेको जर्जिया राज्यमा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय समितिका सूचना तथा प्रचार प्रसार संयोजक गौतम दाहाल र केन्द्रीय सदस्य अर्जुन देवकोटालाई खटाइएको छ । कृष्णमणि लामिछाने संयोजक रहेको हवाई राज्यमा अनुप श्रीवास्तव र रबिन्द्र र्राई केन्द्रीय प्रतिनिधि,प्रदीप पोखरेल स्थानीय संयोजक रहेको शिकागोमा सानुबावु सिलवाल र हरिहर दाहाल केन्द्रीय प्रतिनिधि,अनिल वाग्ले स्थानीय संयोजक रहेको इण्डियाना राज्यमा भोजराज घिमिरे केन्द्रीय प्रतिनिधि, कान्सास राज्यमा अर्जुन सिग्देल स्थानीय संयोजक र कृष्ण लामिछाने केन्द्रीय प्रतिनिधि,न्यू इंग्ल्याण्डमा पेमा निमा शर्ेपा स्थानीय संयोजक र कृष्ण पोखरेल केन्द्रीय प्रतिनिधि,मेरिल्याण्डमा रामचन्द्र अधिकारी स्थानीय संयोजक तथा रविकिरण कोइराला र हेमराज भट्ट केन्द्रीय प्रतिनिधि,मिनेसोटामा शेखर पोखरेल स्थानीय संयोजक तथा प्रमोद सिटौला र गणेश अर्याल केन्द्रीय प्रतिनिधिर्,नर्थ क्यारोलाइनामा सानुबावु सिलवाल स्थानीय संयोजक तथा विमल मोक्तान केन्द्रीय प्रतिनिधि,नेब्रास्कामा स्थानीय संयोजक अनिल ढुंगेल तथा केन्द्रीय प्रतिनिधिमा भगवान मैनाली,न्यू मेक्सिकोमा देश संजोक स्थानीय संयोजक तथा अर्जुन बञ्जाडे केन्द्रीय प्रतिनिधि,नेभाडामा बेणी डाँगी स्थानीय संयोजक तथा काजी शर्ेपा र कृष्ण विष्ट केन्द्रीय प्रतिनिधि,न्यूयोर्कमा कृष्ण पोखरेल स्थानीय संयोजक तथा रामचन्द्र अधिकारी र प्रभा शर्मा केन्द्रीय प्रतिनिधि,ओहायोमा भोजराज न्यौपाने स्थानीय संयोजक र सुशील अधिकारी केन्द्रीय प्रतिनिधि,पेन्सिलभेनियामा डाक्टर केशव भट्टर्राई स्थानीय संयोजक तथा नारायण थापा केन्द्रीय प्रतिनिधि, डलास फोर्ट वर्थ टेक्सासमा भगवान मैनाली स्थानीय संयोजक तथा विनोद भट्ट र सोमनाथ घिमिरे केन्द्रीय प्रतिनिधि,युटाहामा बीरेन्द्र रिजाल स्थानीय संयोजक तथा धर्मराज श्रेष्ठ केन्द्रीय प्रतिनिधि,वासिङ्टनमा कर्ीता शाही स्थानीय संयोजक तथा चित्रा केसी केन्द्रीय प्रतिनिधि र मिशिगनमा धर्म भट्टर्राई स्थानीय संयोजक र पेमा निमा शर्ेपालाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको छ । केन्द्रीय प्रतिनिधि खटिएका सबै सदस्यहरु यस एकताको दोश्रो महाधिवेशन तयारी समितिका केन्द्रीय सदस्यहरु हुनुहुन्छ।
यसैगरी यस तयारी समिति मातहत रहने गरी गठित विभिन्न उपसमितिका संयोजकहरुले आ आफनो उपसमिति विस्तार गरी जिम्मेवारी बाँठफाँड गर्नुभएको छ । जसअनुसार केन्द्रीय सदस्य गौतम दाहालको संयोजकत्वमा गठित सूचना तथा प्रचार प्रसार उपसमितिमा मुक्ति दवाडी,हरिहर दाहाल,रामहरि सुवेदी,आङछिरिङ शर्ेपा,शेखर ढुंगेल,सुदीप पन्त र र्सवज्ञ वाग्लेलाई सदस्य मनोनयन गरी उपसमितिलाई पूर्णता दिइएको छ। त्यस्तै केन्द्रीय सदस्य भगनान मैनाली संयोजक रहनु भएको स्वागत उपसमितिमा ज्ञानदीप लामा,पंकज खड्का, हरिबोल भण्डारी,ओम भट्टर्राई,भोजराज ऐर, विबेक रेग्मी,अरविन्द्र सिंह, युवराज सिग्देल र पिताम्बर अधिकारी सदस्य रहनु भएको छ। केन्द्रीय सदस्य चित्रा केसी संयोजक रहनुभएको संगठन उपसमितिमा मुकुन्द ढुंगाना, सोम घिमिरे,दीपक बस्याल,रोशन ढुंगाना,लोचन गुरुङ, गजेन्द्र बुढाथोकी र विनय अर्याल सदस्य रहनु भएको छ। यस्तै केन्द्रीय सदस्य प्रभा शर्माको संयोजकत्वमा गठन गरिएको महिला उप समितिमा पुष्पा भण्डारी, शकुन्तला अधिकारी, जेनिश गुरुङ, मीना नेपाल, शारदा क्षेत्री, राधा पौडेल,इन्दिरा विष्ट, केमिका भण्डारी, लक्ष्मी सापकोटा र कमला तिमल्सिना सदस्य रहनु भएको छ। यसैगरी केन्द्रीय सदस्य कृष्ण पोखरेल संयोजक रहनु भएको युवा तथा विद्यार्थी उपसमितिमा पिपलमणी सिग्देल,एच बी भण्डारी, अशोक के सी, पुनम रानामगर, विकास विष्ट र अशोक ज्ञवाली सदस्य रहनु भएको छ।
अधिवेशन तयारी समितिको अर्को बैठक यही आइतवार पुनः बस्नेछ।
धन्यवाद,जय नेपाल ।
(गौतम दाहाल)
संयोजक
सूचना तथा प्रचार प्रसार
Popularity: 7%
April 17th, 2010
लोकनारायण सुवेदी -
आफ्ना साठी बर्षदेखि क्रियाशील शीर्ष नेता गिरीजाप्रसाद कोइरालालाई गुमाएपछि यतिबेला नेपाली काग्रेस नेतृत्वको निकै ठूलो संकटबाट गुज्रिरहेको छ। त्यो संकट राजनीतिदेखि लिएर नेतृत्व निर्माणसम्म फैलिएको छ। आफ्ना परम्पराबादी म्याद नाघिसकेका दृष्टिकोण, मान्यता र मूल्य पद्धतिलाई परित्याग गरेर देशको लोकतान्त्रिक आन्दोलनको राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्दै नेपाली काग्रेस पछिल्लो समयमा आज जहाँसम्म आइपुगेको छ त्यहाँबाट अगाडि बढ्ने स्पष्ट दिशाबोध र मार्गचित्र काँग्रेसले पहिल्याउनु पर्ने आवश्यकता छ। यसो गर्न सकेमा मात्र उसले सही गन्तब्य र अघि बढ्ने सही नेतृत्व निर्माण गर्न सक्तछ। पुराना सर्न्दर्भहीन भइसकेका अवधारणाहरुमा अल्झिएर र पुराना शक्तिहरुको सहारामा अब काँग्रेसले आफ्नो भबिष्य निर्माण गर्न बिल्कुलै सक्तैन। यो कुरा अरु आन्दोनलकारी राजनीतिक दलहरुका लागि पनि उत्तिकै महत्वपूर्ण र ध्यान दिनै पर्ने कुरा हो।
अबश्य पनि लोकतान्त्रिक मूल्यपद्धतिकै आधारमा मुलुकलाई अगाडि बढाउन सबै आन्दोलनकारी दलहरुले यतिबेला अहं र संबेदनशील भूमिका निर्वाह गर्न तत्पर र अग्रसर हुनुपर्ने बेला छ । आज बिबिध कारणले नेतृत्वको संकट उत्पन्न भइरहेको बेलामा तत्कालै त्यो संकटलाई पुर्ने कुनै एउटा चमत्कारिक ब्यक्तित्व एकाएक अगाडि आउन सक्तैन । न हिजो नै त्यस्तो नेतृत्व एकाएक जन्मिएको थियो । नेतृत्व भनेको सही नीति र इमानदार नेताको संयोजन हो । त्यसैले यस्तो रिक्तता भएको बेला चाहेर या नचाहेर पनि सामुहीक नेतृत्वबाट नै स्थितिलाई सम्हाल्दै अघि बढ्नुपर्ने हुन्छ । वास्तवमा सामुहीक नेतृत्व भन्ने कुरा नै लोकतान्त्रिक मूल्यमा आधारित नेतृत्व किन हुने गर्दछ भने यस पद्धतिमा कुनै एक ब्यक्तिले एकल निर्णय गरेर चल्ने कुरा हुँदैन र आउँदैन । निर्णय प्रकृया पारस्परिक छलफल र अन्तर सम्वादको माध्यमबाट हुने र हुनुपर्ने स्वाभाविक मान्यता यसमा अन्तरनिहीत हुन्छ । यसले सम्बद्ध सबैका बिचारलाई अन्तरघुलन गरेर चल्नुपर्ने आवश्यकताको बाटोमा हिडाउँछ । त्यस क्रममा नै नेतृत्व क्षमताको पनि बिकास हुँदै जाने र समान उत्तरदायीहरुकै बीचबाट अगुवा निस्कने या नेता बन्ने स्थितिको निर्माण हुन्छ । त्यसैले नेतृत्व निर्माण चाहे त्यो आन्दोलनको क्रममा होस् या आन्दोलनका उपलब्धीहरुको रक्षा, बिकास र बिस्तार गर्ने क्रममा नै किन नहोस्, कार्य सम्पादनको दौरानमानै त्यो प्रकट हुने गर्दछ।
यतिबेला नेतृत्वको संकट किन पनि देखिएको छ भने सबै कामहरु असरल्ल भएर रहेकाा छन् । संबिधान निर्माण संकटमा छ । शान्ति प्रकृया सही टुंगोमा पुगेको छैन । बाहृय चलखेल तीब्र छ । प्रतिगामी शक्तिहरु बिभिन्न कोणबाट परिवर्तन बिरुद्ध हमला गर्नेाउमा संबिधान सभा, सरकार, संबैधानिक निकाय, दल सबैतिर यत्रतत्र देखा पर्न थालेका छन्। आन्दोलनकारी दलहरुमा सरकार टिकाउने र गिराउने अबाञ्छित खेल निरन्तर चलिरहेको छ । यी सबै कुराले केन्द्रिय र सघन किसिमले जुन कार्यमा जुट्नु पर्ने हो त्यसो हुन सकिरहेको छैन । वास्तवमा यो कसैले बाहिरबाट थोपरिदिएको या आइपरेको संकट नै होइन । यो राजनीतिक दलहरुले आफैले अनावश्यकरुपमा सिर्जना गरेको संकट हो । त्यसलाई सही किसिमले फर्स्याउने र समाधान निकाल्ने इमानदार प्रयत्न भएको छैन । त्यसले गर्दा अहिले राजनीतिक दलहरुका बीचमा परस्परमा अबिश्वास र तिक्तता ब्याप्त छ । यो स्थिति हिजो गिरीजा बाबु हुँदा पनि रहेको थियो । त्यसैले उनले सत्ताधारी प्रतिपक्षी सबै जिम्मेवार राजनीतिक दलहरुलाइ सहमति, सहकार्य र एकताकै दिशामा अघि बढ्न जोड दिदै आएका थिए । अरु सबैले पनि त्यही कुरा दोहोर्याउने गर्दथे र त्यसको बिकल्प छैन भन्ने गर्दथे । अहिले पनि त्यही कुरा नै दिनदिनै दोहोर्याइरहेका छन् तर राजनीतिक अन्यौल र गतिरोधलाई तोडिएको छैन।
यसरी समस्या समाधानको बिश्वसनीय तत्परता र अग्रसरता नदेखिएको हुनाले नै संकट उत्पन्न भएको देखिएको हो । कुरा प्रष्ट छ, यतिबेला गणतन्त्रका पक्षधर आन्दोनलकारी जिम्मेवार सबै दलहरुको सम्पूर्ण ध्यान संबिधान निर्माण, शान्ति प्रकृयाका समस्याहरुको समाधान र देशलाई सही दिशा दिनका लागि नै घनीभूतकिसिमले केन्द्रित हुनु पर्दछ र त्यसैका लागि चौतर्फी पहल गर्नु पर्ने स्थिति छ । यसका कामका लागि नेपाली काग्रेस कसरी अगाडि बढ्छ त्यसले नै त्यो पार्टीभित्रबाट नेतृत्व बिकास भएर आउने हो । अरु कुनै छुट्टै किसिमले नेतृत्व निर्माण हुने कुरा नै हुँदैन । अहिले गिरिजाप्रसाद कोइरालाको देहाबसान हुँदा सबैले रिक्तताको अनुभव किन गरिरहेका छन् भने उनले आफ्नो पछिल्लो कार्यकालमा आफ्नो पार्टीहीत नेपाली बाम तथा लोकतान्त्रिक शक्ति र दलहरुको मियोको रुपमा यसकारणले काम गर्न सकेका हुन् कि राष्ट्रको साझा समस्या समाधान गर्न उनी अग्रसर भए। लामो उतार-चढावयुक्त राजनीतिका हण्डर-ठक्करको चरणबाट गुज्रेपछि उनलाई त्यो राष्ट्रिय आवश्कयताको बोध भयो र त्यस कुरालाई आत्मसात गरेर उनी अगाडि बढ्न थालेपछि सबैले गिरीजा बाबुलाई राजनीतिको मियो ठानेका हुन् र उनको देहावसान हुँदा वास्तवमा ठूलो अभावको अनुभव गरेका हुन् र उनी सबैको साझा राष्ट्रिय ब्यक्तित्व बनेका हुन्।
यस प्रकारले बस्तुतः राष्ट्रिय समस्या समाधान गर्ने क्रममा नै नेतृत्व निर्माण हुने कुरा हो भन्ने यथार्थ एकदमै प्रष्ट छ । कुनै दल र त्यसका नेतृत्वको राजनीतिक जीवनको सफलता या असफलताको आधार नै त्यसले जनता र राष्ट्रका समस्या हल हने दिशा र गति लिएको छ कि छैन भन्ने कुरामा भर पर्दछ । त्यसैले अब नेपाली काग्रेस चालु राजनीतिक गतिरोधलाई अन्त्य गर्न कसरी राष्ट्रिय सहमति, सहकार्य र एकताको बाटोमा अग्रसर हुन्छ त्यसको अबको ब्यवहारले नै तय गर्दछ र त्यसले सही, ब्यवहारिक र अग्रगामी बाटो लिने हो कि होइन त्यसले नै काग्रेसको नेतृत्व निर्माण या बिनिर्माण हुने बाटो पनि खोलिन्छ। नेतृत्वको संकट समाधान हुने प्रकृया यही नै हो । यान्त्रिक किसिमले टालटुल गर्ने कुरा अस्थाई र तदर्थ प्रकृतिको मात्र हुन्छ । त्यो स्वभाविक र समस्या समाधान गर्ने प्रकृयावाट गुज्रेको हुँदैन र त्यो बिचार र ब्यवहारको द्वन्दात्मक सम्बन्धबाट बिकसित भएको र खारिएका नेतृत्व पनि हुँदैन । रहँदै आएका वा नयाँ उत्पन्न भएका समस्या समाधानको क्रममा नै वास्तवमा नेतृत्व निर्माण हुने गर्दछ । समस्या कायम रहिरहने, जनता र राष्ट अप्ठयारोमा परिरहने र कुने बिश्वास गर्ने आधार नपाउने स्थिति कायम रहिरहने हो भने त्यहा कोही नेता होला कुनै दल पनि होला र कसैले आफु नेता भएको दावी पनि गर्ला तर राष्ट्रिय समस्या समाधान गरेर लैजाने सही नीति लिएको नेतृत्व त्यहाँ निर्माण हुन सकेको रहेनछ भन्ने बुझनु पर्ने हुन्छ । यो समस्या अहिलेको हाम्रो राजनीतिक परिवेशमा केवल काग्रेसका लागि मात्रै नभएर आन्दोनलकारी सबै राजनीति दलहरुको अगाडि समेत खडा भएको छ । कुनै दल बिशेषको शिर्षथ नेता हुनु आप\mनो ठाउँमा ठिकै होला । देशलाई नै तत्कलीन र दीर्घकालीन आवश्यकता परिपूर्ति गर्ने दिशाबोध भएको साझा बिश्वसनीय ब्यक्तित्व निर्माण भएको छ कि छैन त्यसबाट नै नेतृत्वको पहिचान हुने हो । अहिले मुलुकका सामुका समस्याहरु के के हुन् र तिनको निरोपण गर्ने उपायहरु के के छन् त्यो प्रष्ट भएको र त्यसका लागि इमानदारीपर्ूवक समर्पित किसिमले लाग्ने कार्यले मात्र एउटा बिश्वसनीय नेतृत्वको स्थापित हुने छ । यो काग्रेस कम्युनिष्ट आन्दोलनकारी सबै राजनीतिक दलहरुको नेतृत्व निर्माण र स्थापित हुने स्वभाविक प्रकृया हो । आन्तरिक या बाहृय शक्ति केन्द्रहरुले आप\mनो स्वार्थका लागि भनिदिएको भरमा नेता हुने कुराले धेरै दिनसम्म भ्रम दिन सक्तैन र त्यस्तो नेतृत्वले देश र जनताको लागि काम गर्न पनि सक्तैन । यो ध्रुब सत्य कुरा नै हो।
Popularity: 8%
April 8th, 2010
- धरम के.सी.
“मेरो तलब त ब्याज तिर्दैमा सकिने भयो, महिनाकै सयकडा १० तिर्नुपर्छ, के लिएर घर जाने होला?”
“हाम्रो एक जना भाइ ब्लु फिल्मको सिडी बेच्दा पक्राउ परे, उनलाई जेलबाट कसरि छुटाउने होला?”
“रातिको बेला बाटो क्रस गर्दा दुर्घटनामा परियो, अस्पतालमा ब्लड चेक गर्दा अल्कोहल भेटियो, रक्सी नेपाली बाटै पाएको थिएँ, अहिले वहाँ पनि जेलमा, म पनि अब अस्पतालबाट घर जाने कि जेल थाहा छैन”
“पाएको तलब ५०० रियाल मध्ये ४०० त खाना, फोन र यता उता घुम्दा नै सकिन्छ, बचेको १०० रियाल महिनाको २ पटक थाई लटरी खेल्ने गरेको छु, लटरी परेपछि मात्रै घर जान सक्ने अवस्थामा छु।”
माथिका ४ ओटै समस्याहरु म आँफैले प्रत्यक्ष देखेको छु। यी सबै साउदी अरबको नेपाली समाजका समस्या या विकृतिका प्रतिक हुन्। जानेर या नजानेर हाम्रा कतिपय नेपाली दाजु भाइहरु बाटो बिराएर कुकर्ममा लाग्नु भएको छ । साउदी अरबका २ बिकराल समस्याहरु – भागी हिंड्ने कामदार र घरेलु महिला कामदारका अतिरिक्त देखा परेका सामाजिक समस्या हुन् यी। माथिका २ बिकृतिहरु साउदी अरबको कानून, रितिरिवाज, धार्मिक र सांस्कृतिक मूल्य मान्यताहरुको जानकारी नहुँदा या बुझेर पनि बुझ पचाउँदा देखिएका हुन् भने पहिलो र चौथो समस्या भने व्यक्ति आँफैले चरम आर्थिक संकट या ऋणबाट मुक्त हुन सिर्जना गरेका समस्या हुन्। अरु पनि कति ज्ञात अज्ञात समस्याहरु छन् जसमा साउदी अरबमा रहेका नेपालीहरु जेलिएका छन्, प्राय: एउटा समस्या अर्को संग जोडिएको हुन्छ अर्थात् एउटा पीडा या संकटबाट मुक्ति पाउन अर्को संकटमा फसिरहेको पनि पाइन्छ। बिस्लेषण गर्दै जांदा हामी फेरी नेपालमै पुग्छौं जहाँबाटै धेरै जसो समस्याहरुको उद्गम भएको हुन्छ। देशको अर्थतन्त्र, रोजगारका अवसरहरु, उद्योग व्यवसायको अवस्था अनि म्यानपावर कम्पनीहरुका विभिन्न थरिका ठगि र धोखाधडीहरुमा पुग्छौं हामी। यस्ता विकृतिहरुलाई न्युनिकरण गर्न हामी सबैको सामुहिक चिन्तन र पहल जरुरी छ।
साउदी अरबमा रहेको नेपालीहरुको बिशाल संख्याभित्र बिशाल सम्भावनाहरु पनि छन्। नेपालीहरु यहाँ आएर बिकृतिमा फसेका मात्र होइनन, नेपालमै बिग्रिएका या बिग्रनै आँटेका कतिपय युवाहरु तिनका अभिभावकले सुध्रिनकै लागि साउदी अरब पठाएको र साँच्चिनै सुध्रिएका पनि प्रसस्त उदाहारणहरु पाउन सकिन्छ। एका बिहानैदेखि बेलुकासम्म काम गर्नै पर्ने, सिनेमा हल, भट्टी पसल नभएको, जुलुस, हड्ताल या राजनैतिक क्रियाकलाप नहुने हुँदा, बरालिने सम्भावना त्यसै पनि अति सिमित रहन्छ। महत्वपुर्ण कुरा त यो छ कि प्राय: अदक्ष या अर्ध दक्ष नेपाली कामदारहरु यहाँ आएर १-२ बर्षको छोटो अवधिमै दक्ष बनेको र धेरैले त्यहि शीप अभिवृद्धिसंगै आफ्नो तलब सुबिधामा पनि धेरथोर वृद्धि गर्न सफल भएका छन्। हालैका दिनहरुमा साउदी अरबमा सिमित संख्यामै भए पनि मध्यमस्तरीय र उच्चस्तरीय जनशक्ति पनि आउन थालेका छन् र केहि बर्ष पहिले औंलामा गन्न सकिने नेपाली परिवारहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ अहिले। खोजि र पहिचान गर्न सके यहाँ संस्कृतिकर्मी कलाकारहरु, साहित्यकारहरु, लेखक र पत्रकारहरुको पनि कमि छैन। फाट्टफुट्ट रूपमा स्वतन्त्र ब्यापार व्यवसाय गर्नेहरु पनि छन् यहाँ। नेपाली सामाजिक संघ संस्थाहरुको त झन यहाँ भीड नै छ भन्दा पनि हुन्छ। यसरि फूलहरुको कुनै कमि छैन, कमि छ त यी तमाम फूलहरुलाई उनेर एउटै माला बनाउने धागोको। गैरआवासीय नेपाली संघ जन्मदैको एउटा उद्देश्य यिनै फूलहरुलाई उनेर एउटै माला बनाउने नै हो। तर शायद यसरि सबै एउटै साझा चौतारीमा उभिने यस अघिको संस्कार, अभ्यास र नजिर नभएर पनि होला, गैर आवासीय नेपाली संघको यो चाहना भने शत प्रतिशत पुरा हुन सकिरहेको छैन। जबकी यस संघमार्फत सबै प्रवासी नेपालीहरु एकत्रित भएर नेपाल र नेपालीहरुका लागि गर्न सकिने प्रशस्त सम्भावनाहरु छन्। यहाका लाखौँ नेपाली कामदारहरुका श्रम, शीप र अनुभवहरु भोलिका दिनमा राष्ट्र निर्माणमा कहाँ कसरि उपयोग गर्ने, थोरै भएपनि आफ्नो आर्जनलाई कहाँ लगानी गर्ने मात्र होइन, साउदी अरबमै पनि लाखौँ श्रमजीवी नेपालीहरुको रोजगारलाई कसरि सुरक्षित राख्ने, यसलाई बढी सुविधायुक्त र मर्यादित कसरी बनाउने अनि आपद विपद पर्दा संस्थागत रूपमा कसरि सघाउने भन्ने कुरातर्फ प्रयाप्त ध्यान दृष्टि दिंदै राष्ट्रिय अन्तराष्ट्रिय सहयोग लिंदै यथासक्य पहल गर्न पनि यो भन्दा उपयुक्त संस्था अर्को देखिएको छैन।
तर कमसेकम यस संघको उपल्लो तहमा रहने जिम्मेवार सदस्य तथा पदाधिकारीहरुमा उच्चस्तरीय सुझ बुझ, अन्तराष्ट्रिय एक्यबद्धता, भाइचारा तथा दूरदर्शिता रहन सकेन भने यो संगठन सहज ढंगले सहि दिशामा अघि बढ्न गाह्रो हुनेछ। जबसम्म दोहोरो नागरिकता जस्ता बिषयहरुमा राष्ट्रिय आवस्यकता र महत्व देख्न सकिदैन र अन्तत्वगत्वा त्यसबाट खाडीकै एनआरएनहरु पनि लाभान्वित हुन सक्दछन भन्ने बुझ्न सकिदैन, एनआरएनए को अन्तराष्ट्रिय महत्व, गरिमा र औचित्यलाई पनि आत्मसाथ गर्न सकिदैन।
एउटा सामान्य कुरा, आज मलेसियाका एन आर एन ब्यबसायीहरुले आफ्ना ग्राहकहरु यदि एनआरएनएका सदस्यहरु भएमा १०% छुट दिने निर्णय गरेका छन्, एनआरएनएको बिशेष पहलमा बिरामी एनआरएनको उपचारको खर्च मिनाहा हुन सक्दछ भने भोलि दोहोरो नागरिकता लिने एनआरएनहरुको लगानीका परियोजना तथा उद्योग व्यवसायहरुमा खाडीबाट फर्कने एन आर एन हरुले आफूले आर्जेको ज्ञान, शिप र श्रम बिशेष सम्मान र प्राथमिकताका साथ उपयोग गर्न किन नपाउलान? थोपा थोपाले सागर बन्छ भने जस्तै, खाडीकै एनआरएनहरुबाट पनि सामुहिक लगानीमा ठूलै परियोजनाहरु चल्न सक्दछन, संख्याको महत्व नै तेही हो।
परन्तु आज बिडम्बना यो छ कि एकातिर नेपाल सरकारले एनआरएनएले ६ महिना भन्दा भन्दै २ बर्ष बाहिर बसेपछि मात्र एनआरएन मानिने भनेको छ भने अर्कोतिर खाडीकै केही जिम्मेवार एनआरएनहरुबाटै हामी त मात्र २ बर्षका लागि भाडामा ल्याइएका हौँ यहाँ, २ बर्षपछि त हामी एनआरएन नै रहँदैनौ नि, किन चाहियो एनआरएन नै भनी एनआरएनए प्रति नै बितृष्णा देखाउने गरिएको छ। जब कि यथार्थमा यहाँ ५-१० बर्षदेखि नै काम गर्दै, बस्दै आएका लाखौँ नेपालीहरु छन्, स्वदेशको बर्तमान अवस्था हेर्दा अझै अरु कति बर्ष यहि (प्रबाशमै) रहनु पर्ने हो, केही भन्न सकिने अवस्था छैन, जो छिटै (२ बर्ष भित्रै) स्वदेश फर्केका छन् उनीहरुमध्ये पनि अधिकांश पुन: घुमी फिरी यतै प्रबाशमै फर्कने गरेका छन्। यसै बिच नेपाली दूतावास रियादका प्रथम सचिव श्री खड्ग दाहालज्यु जो एनआरएनएको ऐन तथ नियमावलीका मश्यौदाकार पनि हुनुहुन्छ, को भनाइमा २ बर्षे रोजगारको करारनामा (सम्झौता) गरि बिदेशिने सबैलाई एनआरएन मान्न सकिने आशय ऐनमै पनि रहेको खुलासा गर्नु भएको छ, मात्र ६ महिनाको सम्झौतामा आउने त को नै होलान र यहाँ? आखिर जतिन्जेल बसेपनि प्रबासमा रहुन्जेल आफ्नो बसाई सुरक्षित, सार्थक र सुविधायुक्त राख्दै राष्ट्रको निर्माण र बिकाशमा प्रबासबाटै पनि प्रत्यक्ष, अप्रत्यक्ष सहभागिता जनाउन एनआरएनए यदि साझा मंच र उपयुक्त माध्यम बन्न सक्दछ भने यस संघप्रति त्यस्तो बितृष्णा देखाउनु भन्दा बरु कसरी यस्लाई प्रबाशी नेपालीहरुको जनजीवनमा अझ उपयोगी, भरपर्दो र प्रभावकारी बनाउन सकिन्छ, त्यतातिर पो सोंच्ने कि?
(लेखक गैर आवासीय नेपाली संघ साउदी अरबका अध्यक्ष हुनुहुन्छ)
इमेल: dharamkc@yahoo.com
Popularity: 8%
March 5th, 2010
रबिन्द्र पाण्डे-
रक्षा मन्त्री बिद्या भण्डारी र उनकी आमा मिथिला पाण्डेका बारेमा हालैका दिनमा आएका भ्रामक समाचार र पाठकहरुले लेखेका प्रतिक्रिया पढेपछि उक्त समाचारका बारेमा केही प्रष्ट पारिनु जरूरी देखिएको यो लेखनी गर्दै छु। म पंक्तिकार रबिन्द्र पाण्डे मिथिला पाण्डेको कान्छो देवर हुँ। मेरा महिला दाजु रामबहादुर पाण्डेको २०२८ सालमा निधन भएपछि बिधवा भाउजुले धर्मकर्मको मार्ग लिनु भएको हो। बैष्णव धर्ममा लाग्नु भएकी भाउजु मिथिला पाण्डेलाई हाम्रा स्व. पिताजी तिलकबहादुर पाण्डेले धर्म कर्ममा लाग्न प्रोत्साहित गर्नु भएको थियो।
छोरा छोरीलाई बढाउनु पढाउनु पर्ने जिम्मेवारी पुरा गरि सकेपछि र बुढेसकालले लामो तिर्थाटन गर्न पनि कठिन हुदै गएपछि हरेक वर्ष विभिन्न तिर्थाटनमा निस्कनु हुने भाउजुले आफ्नो नीजि प्रयाश र सम्पतिबाट स्व. पतिका नाममा “श्री राम शान्ति कुञ्ज अनाथ महिला सेवा आश्रम” को स्थापना गर्न सुरु गर्नु भएको हो (मोरंगको बाहुनीमा उहाँको घर तथा प्रशस्त जग्गा जमिन छ) । भाउजु मिथिला पाण्डे आफ्नो धार्मिक उद्धेश्य प्राप्तिका लागि आफैले उक्त आश्रमको स्थापना गरी अनाथ दीन-दुखि महिलाहरुको सेवा तथा आश्रमको ब्यबस्थापन गर्दै त्यहाँ बस्नु भएको हो। उहाँ आश्रमको आश्रित वा पाहुना हैन, संस्थापक र संचालक हो। उहाँको यस अभियानमा आफ्नो गक्ष र सक अनुसार परिवार, नाता, इस्ट- मित्र र स्थानीय दाताहरुबाट पनि साथ सहयोग हुने गरेको छ।
छोरी सुशिला ५ र ६ वर्षको उमेरदेखि नै छारे रोग (मुर्छा पर्ने) कि बिमारी हुन्। त्यसो हुँदा उनको उचित शिक्षा दीक्षा वा बिबाह दान हुन नसकेको हो। स्वभाबिक रुपमा रोगी अबिबाहित छोरी आमाकै साथमा रहने नै भईन्।
मेरी बिधवा भाउजुले छोरी बिद्याको नाम तथा शक्तिबाट कुनै पनि प्रकारको फाइदा लिनु भएको छैन र चाहना राख्नु भएको पनि छैन। पाउँदा शक्तिको चरम दुरुपयोग गर्ने हाम्रो समाजमा उहाँ अनाथ महिलाहरुको सेवामा आफ्नो नीजि सम्पति खर्च गरेर लाग्नु भएको छ। समस्त पाण्डे परिवार उहाँको निस्वार्थ सेवा तथा धार्मिक कार्यबाट गौरवान्वित भएको छ। एभि न्युजका पत्रकारहरुले यस्तो सेवामुलक र पबित्र कर्मको प्रशंसा गर्दै मिथिला पाण्डे जस्ता कर्मयोगीहरूलाइ प्रोत्साहित गर्दै यस्ता सेवामूलक संस्थाहरुको उत्थानमा सहयोग पुग्ने समाचार सम्प्रेषण गर्नुको साटो बिद्यासंग राजनीतक दुश्मनी साँध्न वा दलाली गर्न बिषय बस्तुलाई १८० डिग्रीमा मोडेर व्यक्तिगत रुपमा उनीहरुको हैसियतमात्र देखाएका छैनन, पत्रकारिताको बेईज्जती पनि गरेका छन्। यो आमाको काधमा बन्दुक राखी छोरी मार्ने षडयन्त्र हो। विद्याले ती गरिब दीन-दुखीका माझमा धुलो उडाउदै “चिल्लो” गाडी र सुरक्षाकर्मी लिएर गएकी भए कस्तो समाचार आउथ्यो होला?
राष्ट्रको चौथो अंग मानिने सञ्चार जगतले यस्ता झुठ र भ्रमपूर्ण समाचार प्रसार गर्नु खेद जनक छ। जनताको सूचनाको हक र देश बिकासका लागि ज्यानको बाजी थापेर काम गर्ने सच्चा नागरिक पत्रकारहरुले यस्तो पित पत्रकारिताको बिरुद्ध आन्तरिक शुद्घिकरणको पहल गर्दै पत्रकारिताको गरिमा र विश्वासनियतालाई बचाउनु हुने छ भन्ने आश गरेको छु। पत्रकारितामा संलग्न स्वोदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण पत्रकार मित्रहरुलाई यस समाचारको सत्यता जांच गरि आम मानिसहरुका बिचमा ल्याई दिन हुन अपिल गर्दछु।
Popularity: 9%
March 4th, 2010
साम्राज्य बिक्रम पाँडे-
गत जनवरी १३ का दिन ईपीएस प्रणालीबाट नेपाली कामदार कोरिया ल्याउने सन्दर्भमा आगामी २ बर्षका लागि नेपाल र कोरियाबीच सम्झौता भएको समाचार आएको छ। यहि सम्झौता नवीकरणको बहानामा नेपाली श्रम मन्त्री लगायतका टोलीले कोरिया भ्रमण गरे।
संख्यात्मक हिसाबले धेरै थोरै जे भएतापनि नेपाली श्रमिकहरुको बाहुल्यता रहेको दक्षिण कोरियामा नेपाली श्रम मन्त्रीको उपस्थिती अन्य बिषयगत मन्त्रीहरुभन्दा अवश्य नै महत्वपूर्ण रहन्छ नै। तर यस पटक श्रम मन्त्री मोहम्मद अफ्ताब आलम कोरिया आउने सन्दर्भमा यहाँका नेपालीलाई साह्रै ढिलो गरि जानकारी गराइयो। औपचारिकताको लागि जनवरी १७ तारिखका दिन यहाँका बिद्यमान समस्याका बारे मन्त्रीसंग एउटा अन्तरक्रियाको कार्यक्रमको आयोजना गरिएको थियो। छोटो समयको सूचना तथा पूर्वनिर्धारित नेपाल मगर संघ कोरियाले माघे संक्रान्तिको उपलक्ष्यमा आयोजित कार्यक्रमका कारणले गर्दा अन्तरक्रियामा केही प्रमुख संस्थाका प्रतिनिधीहरु बाहेक उपस्थिती साह्रै न्युन रह्यो । त्यसमा पनि ईपीएसमार्फत आएका श्रमिकहरु त एकजना पनि देखिएनन्। अन्तरक्रियामा NCC र NRN का प्रमुखहरुका साथै मन्त्रीको मन्तब्यपछि सहभागीहरुले कोरियामा देखिएका साथै EPS को छनौट प्रकृया लगायतका कुराहरु उठाए । तर अपेक्षा अनुरुप सन्तोषजनक जवाफ मन्त्रीबाट सुन्न पाइएन । अन्तरक्रियाका नाममा झारो टार्ने काम मात्र भयो।
मन्त्रीको मनस्थिती हेर्दा उनी औपचारिकतामा मात्र सीमित हुन चाहेको देखिए। उनी बास्तवमा श्रमिकहरुको समस्याहरुलाई सम्बोधन गर्न चाहने ब्यक्ति भएको भए कमसेकम केही हप्ता कै पूर्व जानकारीका साथ कोरिया आउने थिए र बढीभन्दा बढीको उपस्थितीमा अन्तरक्रिया गर्दथे होला। उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली जनसम्पर्क समिति कोरियाले पनि पार्टीमार्फत पूर्व जानकारी बिना मन्त्री आएकोमा असन्तुष्टि देखायो।
जनसम्पर्क समितिका पदाधिकारीहरुसंगको छोटो भेटघाटमा पनि समितिका तर्फबाट दिइएको सुझावलाई खासै ध्यान दिएको लागेन । ईपीएस् भित्र नेपालीहरुलाई हेर्ने कोरियन दलालहरु छिर्न खोज्दैछन् सतर्क हुन सुझाव दिइयो। तर त्यस सुझाबलाई मन्त्रीले सुन्न पनि रुचाएनन् बरु यो हल्ला निराधार भएको भनी उल्टो प्रतिवाद गरे। अहिले सुनिंदैछ जुन सुझाव उनले सुन्न चाहेनन् त्यही काम हुंदैछ अर्थात अधिकार प्राप्त कोरियन दलाल आर्थिक चलखेल सहित ईपीएस् मा छिर्दैछन्। आशा गरौं यो समाचार असत्य होस् तर दलाल छनौट प्रकृयामा नेपाली राजदूतावासलाई समेत मन्त्रीले दवाव दिएको बजार हल्ला चलेको छ। सत्य कुरो के हो आगामी दिनमा थाहा हुने नै छ।
अन्तरक्रियामा थाहा भए अनुसार यसपालीको ईपीएस् सम्झौता पनि बिगत कै सम्झौतालाई नवीकरण गर्नु रहेछ। नयाँ नौलो केही छैन रे। नयाँ नौलो केही थपघट नहुने भए राज्यको ढुकुटी खर्चेर सम्झौता नवीकरणका लागि के मन्त्रीसहितको टोली नै आउनु पर्ने हो र के यस्ता सम्झौताहरु नेपाली राजदूतावासले गर्न मिल्दैन र? हाम्रो देशमा अन्य राष्ट्रका मन्त्रीलगायत उच्च पदस्थ अधिकारी आए भने बिमानस्थलबाटै रातो कार्पेटका साथ स्वागत गरी यथासक्य सत्कार गरी बिदाई गरिन्छ तर नेपाली मन्त्री कोरिया आउंदा स्वागत बिदाई त कता हो यहाँका मन्त्रीले एक छाक खानाको लागि पनि आतिथ्यता देखाएन। यो हाम्रो लागि लज्जाजनक होइन र कारण Unwanted Guest. यस पटक श्रम मन्त्रीले कोरियाको भ्रमण गरी फर्केलगतै यहाँस्थित नेपाली समुदायमा अर्को तरङ्ग पैदा गरेको छ। बिभिन्न सञ्चार माध्यमबाट प्रकाशित समाचारहरको अनुसार नेपाल सरकारले कोरियामा लुकेर बसिरहेका नेपाली कामदारहरु स्वदेश फर्काउने पहल शुरु गर्यो रे। यहाँ अवैध बस्ने नेपालीहरु कै कारण थप कामदार पठाउन नेपाल सरकारलाई साह्रो पर्यो रे।
श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएर यहाँ बस्ने अवैध भनिएका नेपालीहरुलाई देश फर्काउन आग्रहसमेत गरि सकेको छ रे। समाचारमा लेखिए अनुसार अवैध रुपमा कामदार बस्दा हाम्रो छवि समेत बिग्रिएको छ। अवैध बसेकाहरुलाई स्वेच्छिक स्वदेश फर्कन अवसर दिइनेछ तर नफर्के हस्तक्षेप गरेर भएपनि फर्काउन प्रकृया शुरु गरिनेछ। अवैध रुपमा बसिरहेका नेपालीहरुले कोरियास्थित दूतावासमा आफू बस्न पाउनु पर्ने मागसहित दवाव दिने गरेका छन्। अवैध बसिरहेका नेपालीहरुको संगठन बलियो भएकोले फर्काउन समस्या परिरहेको छ । श्रम मन्त्रीको भ्रमणको समयमा अवैध बसिरहेका नेपालीले कोरियामा बस्न पाउनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए रे आदि आदि। यी समाचारका अनुसार माथि उल्लेख भएको कुराहरुको स्रोत श्रम मन्त्रालयका सचिव तथा दूतावासका अधिकारी भनी जनाइएका छन्।
अब प्रश्न उठ्छ कोरियामा करीब २ लाख बिस हजार भन्दा बढी भिसाको म्याद सकिएका बिदेशीहरु रहेकोमा त्यसको १ प्रतिशत अर्थात २००० देखि २२०० जति नेपालीहरुको कारणले नै थप नेपाली मजदुरहरु कोरिया भित्राउन हाम्रो सरकारलाई गाह्रो भएको हो त?
बहुसंख्यक बौद्ध धर्मावलम्बीहरु रहेको यस कोरियाका जनतालाई गौतम बुद्ध कहां जन्मेको भनी प्रश्न गर्दा भारत भन्नेहरुको संख्या धेरै भएको अवस्था छ। ९० को दशकको शुरुमा बिभिन्न माध्यमबाट यिनै नेपालीहरु कोरिया आएर आफ्नो श्रम सीप इमान्दारीता प्रदर्शन गरी नेपाल र नेपालीको पहिचान गरेकै कारण नेपाली श्रमिकहरुको माग बढ्न गई ट्रेनीको रुपमा १९९४ देखि बैधानिक रुपमा यहाँ आउने गरेको तथ्य पाईन्छ। ९० को दशकको सुरुमा आएका नेपालीहरुले गरेको दुःखका कारण अहिले आउने नेपालीलाई यहाँ सजिलो भएको छ। यसको हेक्का कसैमा छ कि छैन?
यदि त्यसताका आएकाहरु आर्थिक आर्जन तिर मात्र लागेर सामाजिक चेतना नभएकाहरु हुने भएको भए १९९३ मा NCC को स्थापना नै हुने थिएन। NCC स्थापनापछि पनि जसरी कोरियामा नेपालीहरुको संख्या बढ्दै गयो त्यसै अनुरुप अन्य संघसंस्थाहरु जन्मिंदै गएतापनि NCC लाई नै छाता संस्था मान्दै आएका छन् र बिगतमा राजदूतावास नहुंदा पनि सबैलाई अविभावकत्व दिंदै NCC अगाडी बढेको तथ्य पाईन्छ। र कोरियामा ३ बर्ष यता राजदूतावासको स्थापना भएपछि पनि नेपालीहरुलाई साह्रो गाह्रो पर्दा नेपाली राजदूतावास, छाता संस्था नेपाली सम्पर्क समिति र साझा संस्था NRN र अन्य संस्थाहरुको सहकार्यबाटै समाधान गर्दै आईरहेको अवस्थामा अहिले संघसंस्था, नेपाली समुदाय र दूतावासबीच बैध र अवैधको रेखा कोर्ने प्रयास श्रम मन्त्रालयबाट भएको छ जुन साह्रै नै दुःखदायी छ।
बैध बस्न पाउनु पर्छ भनेर दूतावास र मन्त्रीलाई ज्ञापनपत्र दिए भने सरासर झुठो आरोप लगाइएको छ। कोरियामा बैध बस्न कुन कारणबाट सकिन्छ नबुझ्ने यहाँ कोही छैनन्। बरु बैध बसेका आफ्ना नागरिकलाई संरक्षण गर्न नेपाल सरकारले सकेको छ कि छैन ? अवैध कोही आफ्नो रहरले बस्ने होइन अर्काको देशमा कोही अवैध बस्नु पनि हुंदैन तर अवैध बस्न मानिस किन बाध्य छन्? कुन परिस्थितीमा आएर मानिस अवैध बस्न बाध्य पारिन्छन् ? यसतर्फ लेखा जोखा गर्न कसैले चासो देखाएको पाईन्न। EPS कै कुरा गर्ने हो भने पनि नेपालीले कहिले नदेखेको समून्द्रमा माछा मार्ने काममा ल्याइएका १०० जना भन्दा बढी नेपालीहरु काम गर्न नसकेर अवैध भैसके भन्ने सुनिन्छ त्यसको जिम्मेवारी कसले लिने?
कुरा जे भएपनि श्रम मन्त्रीको कोरिया भ्रमणपछि प्रकाशित तथा प्रसारित समाचारका कारणले दूतावास र नेपाली समुदायबीच देखिएको चिसोपनालाई बढ्न दिइनु हुंदैन बरु समुदाय बीच देखिएका बिभिन्न असमझदारीहरुलाई कसरी हटाउन सकिन्छ त्यसतर्फ सबैपक्षले सोच्नु पर्ने देखिन्छ।
भिसाको म्याद सकिएको छ भन्दैमा नेपाली समाजमा अघिल्लो पङ्तिमा रहि निस्वार्थ तन, मन, धन खर्चेर समूदायको सेवामा लागेकाहरुलाई अवैध भनी मानमर्दन गरिनु पनि हुंदैन यदि यस्तै हो भने प्रवासी समुदायहरुको हक र हितको लडाईंमा होमिएर मुलुक फर्काइएका काजिमान खापुङ हुन् वा तोर्ण लिम्बु हुन्, प्रवासीहरुको हक अधिकारको लागि चेतनामुलक अभियानमा समर्पित Stop Crack Down Band का प्रमुख मिनोद मोक्तान हुन् वा कुनै नेपाली मृतकको क्षतिपूर्तिको लागि कम्पनीसंग कुरा गर्दागर्दै समातिएका नरेन्द्र गुरुङ हुन् अथवा कुनै नेपालीको अड्केको तलबको लागि वकिलसंग कुरा गर्दागर्दै समातिएका बमप्रसाद लावती हुन् यस्तै श्रम मन्त्रालयको स्रोतबाट प्रसारित समाचारपछि पछिल्लो पटक बलिको बोको बनाइएका NKCF मार्फत नेपालको कला संस्कृति कोरियामा प्रचार गर्न कहिल्यै नथाक्ने NKCF का अध्यक्ष प्रेम गुरुङ नै किन नहुन् (धेरै जनाको नाम छुटेकोमा क्षमा प्रार्थी छु) उनीहरुले कोरिया बसाईको क्रममा समुदायमा पुर्याएको योगदानको कदर तथा स्मरण नगरिने हो भने भबिष्यमा समाजमा सकृय रही सेवा गर्नेहरुको खडेरी पनि लाग्न सक्छ।
(लेखक नेपाली जनसम्पर्क समिति, नेपाली सम्पर्क समिति, एनआरएन कोरिया नेपाल पत्रकार महासंघ कोरिया शाखा, सुदूरपश्चिम समाज कोरिया तथा नेपाल खेलकुद तथा संस्कृति समिति कोरियाका सल्लाहकार हुन्। सं.)
Popularity: 8%
February 11th, 2010
छक्कु उदासी टोकियो, जापान
हैन ! आजसम्म नेपालमा स्वच्छ छवि भएका जन्मेको छैनन् क्या हो त्यस्तो रवी ? नेपाली जनताले रोई, धोई र कर्राई बल्ल तल्ल एतिहासिक उपराष्ट्रपति के अंगाले थिए रुप हेर्दा काँक्रो र मगमग बास्ना पनि काँक्रो कै तर खादा त मेरी बास्सै …….. ऐरेलु भन्दा पनि तितो ! त्यो तितो मेटिन एक बर्षनै लाग्यो।
चरेशनान्द झा नामले बहुचर्चित उपराष्ट्रपतिको घैटाँ बल्ल झललललल घाम लागेछ। नाखाँ टिमुर लाएर फेरी नेपाली भाषा र मातृभाषामा शपथ खाएछन । हुन पनि न आमा तिरको, न बाउ तिरको र न त गोरु बेचेको नाता र साईनो च्याँखे परेर अरुको आशिरबादले पाएको पद मौकामा चौका हानेर जात जनाई हालेका थिए । नेपाली जनता चर्को बिरोधमा कुर्ले, उर्ले, पुट्ला जले र भुट्ला उडाए अनि बल्ल हर मुनि पानी पस्न थालेछ । नत्र जे गरें ठीकै गरें भन्ने वाला थिए । यस्ता छन नेपालका अगुवा हैनन् बाटै घाटै हगुवाहरु, नैतिकता नै नभएको पानी मरुवाहरु…।
खास उतिखेरै नैतिकताको आधारमा राजीनामा दिएको भए अति उत्तम हुने थियो । नेपालको अदालतले पनि छिन भरमै हुने फैसला एनकेन प्राकेन यतिका समयसम्म मज्जाले घाम ताप्यो, सितल थाप्यो अनि आखिर नराम्रोसंग हैसियत पनि नाप्यो । परमनान्द झाले खानु त खाएछन नेपाली र मातृभाषामा शपथ तर शंका गर्ने घारी परेको छ । नेपालको इतिहासमा उपराष्ट्रपति जस्तो गरिमय पदमा रहेर हाड नभएको जिब्रो जता पायो उतै लरबराउने मान्छेको बिस्वास गर्ने आधारनै के ??
यस्ता गम्भीर गल्तिहरु पुन: नदोहोरियोस् भन्नाका लागि परमनान्द झा सजायको पहिलो भागीदार भईदिएको भए बरु सबैको चित्तमा पहारीलो घाम लाग्ने थियो की ??? तर नेपालको फितलो कानुनले सकेन । सकोस पनि कसरी ? कस्ता कस्ता फैसलाहरु थकानिएका छन। यो पटक पनि सारा जनता नकुर्लेको भए दुधको दुध, पानीको पानी फैसला हुने आशा कम थियो । त्यसैले धन्य हो नेपालको कानुन..।
जे होस आंशिक रुपमा ढिलै भए पनि आमजनताका सहि बिरोधावाज सार्थक पूर्ण भएको छ । अब पनि आशा गरौं एक पछि अर्को गर्दै जनताको माग पुरा हुँदै जावस, सिंगो राष्ट्रमा दृघकालिन शान्ति छावस । अन्तमा एतिहासिक संबिधान लेख्ने जस्तो गहन बिषयमा सबैको ध्यान जावस जुन संबिधानद्धारा नेपालले नयाँ काँजुली फ़ेर्न पावस !!!
Popularity: 9%
February 8th, 2010
बुधबल गुरुङ / कतार-
आदिवासी जनजातिहरु राज्यका अभिन्न अंग हुन् । नेपालमा कुल जनसंख्याको ४० प्रतिशत आदिवासी जनजातिहरु बसोवास गरेको तथ्यांक पाईन्छ । यति धेरै जनसंख्या भएको जनजातिहरु राजनितिमा आए पनि कुनै पनि राजनितिक पार्टीको नेतृत्व भने सम्हालेका छैनन्। सबै राजनितिक पार्टीहरूमा हाल सम्मका पार्टी अध्यक्षहरुले जति योगदान दिएका छन् त्यो भन्दा धेरै नै त्यस पार्टी रहेका जनजाति नेताहरुले दिएका छन्। तर नेतृत्व किन लिन सकेनन् त ? अब भने प्रश्न चिन्ह खडा भई सकेको छ।
राज्यको विवेदकारी नितिले गर्दा विविध संस्कृति, जात जाति, भाषा भाषी धार्मीक विविधता देश नेपालमा एक जाति, एक भाषी, संस्कृतिवालाले नै राज्य चलाए । नेपाली समाजको विशेषता वहुजातीय, वहुभाषिक, वहु धार्मिक र वहुसांस्कृतिक भएर पनि नेपाल राज्यको स्वरुप र चरित्र केन्द्रीकृत र एकात्मक भएकोले राज्य संरचनाको विभिन्न निकाय र तहहरूमा नेपालका आदिवासी जनजातिहरू समाहित हुन सकेनन् । त्यसैले जनजातिहरु राज्यका विभिन्न अवसरहरुबाट बन्चित भएका छन्।
राणाकालिन अत्याचारको समयमा पनि नेपालमा आदिवासी जनजातिहरुले भुमिगत रुपमा आन्दोलनहरु गर्दै आईरहेकोर् इतिहास साक्षी छ । राणा शासन विरोधी अभियानमा नुवाकोटका तामाङहरुले, भोजपुरका र्राईहरुले भूमि अतिक्रमणको विरुद्ध गरेको आन्दोलन, सुकदेव गुरुङ्गले स्वशासनको लागि गरेको आन्दोलन, राणा शासनको विरुद्ध लखन थापा, सुपति गुरुङले गरेको विद्रोह आदि यसका उदाहरणहरु हुन्।
२०४६ को जनआन्दोलनबाट प्राप्त संवैधानिक राजतन्त्र सहितको बहुदलिय प्रजातन्त्रको शासन व्यवस्थामा शासन गर्ने सत्तालिप्त राजनेताहरु तथा दलहरुले पनि आदिवासी जनजातिहरुको हक अधिकारको बारेमा आवाज उठाएन । जनजातिहरुलाई केवल साधनको रुपमा मात्र प्रयोग गरिए । जसको फलस्वरुप आदिवासी जनजातिहरु संगठित हुन बाध्य भए । यसरी संगठित भए पछि भने अहम्कारी राजनेताहरुको घैटोमा घाम लाग्यो । जसको फलस्वरुप तत्कालिन सरकारले प्रधानमन्त्रि अध्यक्ष रहने गरी राष्ट्रिय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको गठन गर्यो र जनजातिहरुको मुख थुन्ने काम भयो । तत् पश्चात पनि आदिवासी जनजातिहरुको हक अधिकारको बारेमा भन्ने खासै उल्लेखनिय कामहरु भने भएको पाईएन र राष्ट्रिय जनआन्दोलन - २ मा आदिवासी जनजातिहरु होम्मीनु बाध्य भयो । जनआन्दोलन-२ को बेला जनजातिहरूले देशका विभिन्न क्षेत्र तथा जिल्लाहरूमा आफ्नो आन्दोलनलाई सशक्त र ब्यापक बनाएका थिए । यतिसम्म कि राजनैतिक दलहरूको आन्दोलन सुस्ताएको बेला र राजनैतिक दलहरूले आफ्ना कार्यकर्ताहरूलाई सडकमा उतार्न नसकेको अवस्थामा समेत आदिवासी जनजातिहरुको आन्दोलनले सबै आन्दोलनकारी शक्तिहरूलाई उत्साह र प्रेरणा प्रदान गरेको थियो । राष्ट्रिय जनआन्दोलन - २ मा आदिवासी जनजातिहरुको महत्वपर्ूण्ा भूमिका थियो । देशमा लोकतन्त्र स्थापना भयो । तर नेपालका आदिवासी जनजातिहरूको चाहनानुसार लोकतन्त्र समावेशी बन्न सकेन । धेरै आदिवासी जनजातिहरु बिधवा, टुहुरा भए, धेरैका कोख रित्तिए तर यसको फाईदा भने पुनः नेपालका राजनितिक पार्टीले नै लिए । सत्तामा उनीहरु नै रहे जसले सत्ताको स्वाद पहिले नै पाई सकेका थिए।
हालको लोकतान्त्रिक शासनले संयुक्त राष्ट्र संघको आई. एल. ओ. महासन्धी नं. १६९ लाई व्यवस्थापिकाको २०६४ सालको हिउदे अधिवेशनले अनुमोदन गरी २०६५ भर्दौ २९ गते देखि नेपाल सरकारले लागू त गर्यो तर कार्यन्वयन भने शंकाको घेरामा नै रहृयो । यस महासन्धी संग नेपालको प्रचलित कानुनका दफाहरु बाझिएमा सो दफा स्वतः निस्त्रिmय हुने र महासन्धीको १६९ का प्रावधानहरु नेपाल कानुन सरह लागु हुने हु“दा नेपाल सरकार कार्यान्वयनबाट पछि हटे । यस आई. एल. ओ. महासन्धी नं. १६९ लागू गरि सके पछि नेपाल सरकारका कुनै पनि निकायहरुले आदिवासी जनजातिहरुलाई नकरात्मक असर पारेको हुनु हुदैन । त्यसैले नेपाल सरकार यस महासन्धीलाई कार्यन्वयन तर्फअग्रसर देखिदैन । जब कार्यन्वयन नै हुदैन भने कुनै पनि विषयहरु अनुमोदन गर्राई लागू गराउनुको अस्तित्व नै के रहृयो र ? यसलाई जनजातिहरुले गम्भिर भएर सोच्नु पर्दछ।
आन्दोलनको समयमा राजनितिक पार्टी स्याल र जनजातिहरु सिंह हुन्छन् । आन्दोलनमा उक्सिएका जनजाति युवाहरुलाई छट्टु स्यालले रगतको पोखरीमा डुबाईदिएका छन् । आदिवासी जनजातिका युवाहरुको बलिदानबाट प्राप्त सफलताको जस भने राजनितिक पार्टीले लिईरहेका छन् । नेकपा माओवादीको १० बर्षो जनयुद्धमा पनि आदिवासी जनजातिका युवाहरु नै बढि थियो । त्यस जनयुद्धमा पनि धेरै जनजातिका युवाहरुको प्राण गए, अझै धेरै बेखबर छन् । तर ती सबै युवाहरुको घर अझै अध्यारोमा छन् । अझै पनि जनजातिहरुलाई प्रयोग गर्न जनजातिका नारा मागहरुलाई अघि सारेका छन् । अब जनजातिहरुले के बुझन जरुरी छ भने कुनै पनि पाटीहरुले नेपाल सरकारको सत्ता आफ्नो हातमा पाउन साथ जनजातिका हक अधिकारहरु ओझेलमा पर्नेछन् । जुन इतिहासले देखाई सकिएको छ।
उदाहरणको लागि एक पटक विगतका इतिहास तर्फपनि र्फकन आबश्यक छ । नेपालको संविधानसभाको चुनाव पश्चात देशको सरकार गठनका लागि विभिन्न विभिन्न राजनितिक पार्टी विच छलफल भएको थियो । राष्ट्रपति प्रधानमन्त्रि पदको कुर्सीका लागि धेरै कसरतहरु भए, गठबन्धनहरु भए, हस्ताक्षरहरु भए । कसरतहरुमा कुनैपनि राजनितीक पार्टीबाट जनजाति नेताहरुको नाम आएन, आएका पनि स्विकार्य भएन । सरकार बन्ने गिराउने खेलहरु भई नै रहे, जुन विगतमा भई रहेको थियो । एनेकपा माओवादीले जनजातिका नेताहरु देव गुरुङ, राम बहादुर थापा, हिसिला यमी लगायत अन्य नेताहरुलाई पनि प्रधानमन्त्रि वा राष्ट्रपतिको लागि उम्मेदवार बनाउन सक्दथ्यो, संसदीय दलको नेता बनाउन सक्दथ्यो तर गरेन । पार्टी जनता समक्ष जनजातिका मुद्दाहरुमा र्समर्थन छ भन्न सक्नेले किन जनजातिका सक्षम नेताहरुलाई ल्याउन सकेन त ? सक्षम नै नभएका त पक्कै होईन । त्यस्तै नेकपा एमालेमा पनि जनजातिका नेताहरु प्रति गरिएका भदभाव गरिए । एमालेबाट पनि जनजातिका नेताहरुका लागि कुनै प्रस्ताव आएन । त्यसै समयमा नेकपा माओवादी र एमाले संगको सरकार गठनको छलफललाई लिन सकिन्छ । सरकार निर्माणमा गठबन्धनको लागि माओवादीबाट राष्ट्रपति पदको उम्मेदवारको लागि साहना प्रधानलाई प्रस्ताव गरिएको थियो । तर एमालेले दुइ दुइ क्षेत्रबाट पराजित माधब कुमार नेपाललाई नै राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गर्ने अडान लिदा गठबन्धन हुन सकेन । यसको सट्टा एमालेले सुवास नेम्बाङ्ग, डा. मंगलसिद्धि मानान्धरलाई पनि अघि र्सार्न सकिन्थ्यो तर एमालेले त्यसो गरेन । आफ्नै पार्टीका नेतालाई अर्को पार्टीको उम्मेदवार प्रस्ताव गर्दा अमान्य हुने भनेको जनजातिहरुको विपरित हुनु हो । स्व. मदन भण्डारीकी पत्नी बिद्या भण्डारीलाई सम्मान गर्न सक्नेले नेपाल कम्युनिष्ट पार्टीको संस्थापक स्व. पुष्पलाल श्रेष्ठकी पत्नी साहना प्रधानलाई किन सम्मान गर्न सकेन - योग्यता र सक्षमतामा पनि तुलना गर्ने हो भने साहना प्रधान, माधब कुमार नेपाल र बिद्या भण्डारीमा आकाश पातल को फरक छ। तर पनि एमालेले जनजाति नेताहरुलाई अघि आउन दिएको छैन। यर्सथ एमालेमा पनि जनजातिको माग हक अधिकारको बारेमा असहमत छ र जनजातिलाई घेराबन्दीमा नै राखेको स्पष्ट हुन्छ । नेपालको संसदिय ब्यवस्थाको पहिलो महिला उपसभामुख लिला सूव्वा श्रेष्ठ हाल अस्पलाताको वेडमा मृत्यु संग संर्घष गरि रहेकी छिन् तर सरकारको नेतृत्व गरि रहेको पार्टीले त्यस तर्फकुनै चासो देखाएको पाईएको छैन । त्यसैले जनजातिहरुले बुझ्नु पर्ने के छ भने राजनितिक पार्टीले जनजातिहरुलाई Use and Throw को रुपमा हेर्ने गर्दछ । त्यस्तै नेपाली का“ग्रेसले पनि जनजातिका कुनै पनि नेताहरुलाई अगाडि सारेको पाईएन । आ-आफ्नो पार्टीको निति अलग अलग भए पनि ब्यक्ति र जाति हावी भएकोले जनजाति नेताहरुलाई अगाडी आउन दिएका छैनन् । तर्सथ अपवादमा कुनै कारणले गुटबन्दिमा लागि टुटे फुटेका पार्टी बोहक निर्वाचन आयोगको तथ्यांक अनुसार उच्च मतदाता भएको पार्टीको नेतृत्व जनजाति नेताहरुको हातमा आउन सकेको छैन।
संविधानसभामा नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघबाट चार जना नेतृत्व -अध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिव) सहित २१५ जना जनजाति सभासदहरूको प्रतिनिधित्व भएको बखत र राजनीतिक दलहरूबाट समेत समावेशीयताको कृत्रिम नाटककै रुपमा भए पनि गणतन्त्र नेपालको पहिलो राष्ट्रपति वा प्रधानमन्त्रि जनजाति, मधेसी, महिला र दलित मध्येबाट हुनु पर्दछ भनी र्सार्वजनिक रुपमा अभिब्यक्तिहरू आईरहेको बेला थियो तर पनि त्यो हुन सकेन । र्सार्वजनिक मञ्चमा जनजातिको विषयमा दलगत नेताहरुले भाषण दिए पनि ब्यवहारमा र कार्यन्वयनमा त्यो हुदैन भन्ने सावित भई सकेको छ।
माथिको उदाहरणले के स्पष्ट भई सकेको छ भने नेपालका राजनितिक पार्टी आदिवासी जनजाति विरोधी हुन् भन्ने स्पष्ट हुन्छ । सबै राजनितिक पार्टी आदिवासी जनजाति नेताहरु आदिवासी जनजातिहरुप्रति उत्तरदायि नभई पार्टी्प्रति उत्तरदायी हुंदा पनि जनजातिका मुद्दाहरु ओझेलमा परेका थिए । तर हाल संविधान सभाको निर्वाचन पश्चात नेपालका विभिन्न राजनितिक पार्टी जनजाति सभासदहरु मिलेर आदिवासी जनजाति सभासद सभा ककस गठन गरे । यो एउटा सफल सिडी बनाउन सफल भएका छन् । आदिवासी जनजातिहरुको मुहारमा केही आशा पलाएको छ।
२४० बर्षभन्दा लामो समयदेखि जनजातिहरु माथि एकछत्ररुपले शासन र शोषण गर्दै आईरहेका छन् । हाल सम्म जनजातिहरुले केवल थिचोमिचो बाहेक केही पाउन सकेन । नेपाली आदिवासी जनजातिहरुले पटक पटक गरेर धेरै पटक आन्दोलन गरि सकेका छन् । हाल सम्म कति सहिद भए । कुनै सत्य तथ्यांक पाईदैन । तत्कालिन अवस्थामा चलिरहको आन्दोलन स्थगित गर्न नेपाल सरकार संग विभिन्न चरणमा गरेर धेरै वार्ताहरु गरे । जनजाति आन्दोलनकै कारण कथित उच्च जातका शासकहरुले नेपालका आदिवासी जनजातिका प्रतिनिधिहरु संग इतिहासमा पहिलो पटक वार्तागरी संझौता र सहमति गर्न वाध्य भएका थिए । संघीयता र जातीयताको कुरोसम्म उठाउ“दा पनि देश नै टुक्रिन्छ भनी डराउंने राज्य सरकार आदिवासी जनजातिका प्रतिनिधिहरु संग अगष्ट ७ मा भएको २० बुदे सहमतिमा जाति, भाषा र भौगोलिक क्षेत्रको आधारमा संघीय राज्यको नया“ संरचना गर्न सहमत भएको थियो।
आत्मनिर्णयको अधिकार र जातीय स्वाशासनको आधारमा संघीय राज्यको माग अहिले जनजातिहरुको आवाज हो । तर यस जातिय संघीय राज्यको भने सत प्रतिशत राजनितिक पार्टीहरूको विरोध छ । केही राष्ट्रिय पार्टीले जातियताको नामाकरण गरेर जातिय संघिय राज्य घोषणा गरे पनि पार्टीको आन्तरिक रणनितिमा भने शंका गर्नु नै पर्दछ । नेपाली जनताले देश जातिय संघियतामा जा“दा राज्यका सम्पूर्ण्जातिका जनताहरु प्रतिशतका आधारमा समानुपातिक रुपमा सरकारमा सहभागि हुन सकिने कुराको जानकारी हुन पनि जरुरी छ । नेपालका सम्पूर्ण जातिहरुले आफ्नो राज्यको जातियताको आधारमा समानुपातिक प्रतिशतको आधारमा संघिय सरकार गठन हुनुमा आपत्ति किन? यसरी जातिय संघियतामा जादा नेपाली जनता समक्ष राजनितिक पार्टीका राजनेताहरुले सत्ता सम्हाल्न नपाउने र शक्ति दुरुपयोग गर्न नपाउने अवस्था आउने भएकोले राजनितिक दलका नेताहरु संघियताको विरोध गरेको हो । संघिय राज्यको नामाकरणको सवालमा तमूवान, लिम्बुवान जस्ता जातिका नामबाट नै संघिय राज्यको नामाकरणले मात्र केही हुने होईन, नामाकरण अन्य कुनै नामबाट पनि गर्न सकिने छ । जातिय संघिय राज्य संचालन जातिय नामाकरणले नभई निति निर्देशन सिद्धान्त अनुसार संचालित हुन्छ।
त्यसैले संघीय राज्यको नया“ निर्माण आत्मनिर्णयको अधिकार र जातीय स्वाशासनको आधारमा हुनुपर्छ भनी दावी जनजातिहरुको आवाज हो । संविधानमा जनजातिका सामाजिक, साँस्कृतिक, आर्थिक तथा राजनीतिक अधिकारहरू स्थापित गर्नु पर्ने नेपालका आदिवासी जनजातिहरुको मूल लक्ष्य हो । यी उदेश्यहरू प्राप्ति लागि जनजातिको बलिदानी पूर्ण आन्दोलनको ठूलो आन्दोलनको आवश्यकता पर्दछ । तर परिस्थितिले साथ दिदा समेत हामी जनजातिहरू राज्यबाट पाएकोलाई नै सन्तोषम् परम् सुखम् भने जस्तै गरी सन्तोष मानी बसे भने संघीय राज्य अन्तरगत खोजेको आत्मनिर्णयको अधिकार र जातीय स्वायत्तता लागि धेरै टाढाको विषय हुनेछ । अन्ततः आदिवासी जनजातिहरु सबै समय मै सचेत भई कुनै पनि राजनितिक दलको आश्वासनमा नलागी यसको लागि आबश्यक परे आदिवासी जनजातिहरुले राजनितिक रुपमा पार्टी गठन गर्न पनि तयार रहनु पर्दछ।
(लेखक - नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका संघीय परिषद सदस्य हुनुहुन्छ।)
Popularity: 9%
February 8th, 2010
खेमराज रानाभाट “चिन्तन” लिस्बोन,पोर्चुगल-
लाखौ नेपालीहरू हरक्षण मन मष्तिस्कमा नेपाली भावना र जन्मभुमिलाई अगाढ माया गर्दा-गर्दै पनि विभिन्न समस्याहरू र राम्रो अवसरको खोजीमा विभिन्न मुलुकमा आफ्नो सक्रिय जीवन बिताइ रहेका छन।
अवश्य पनि देश विकासका लागि, सामाजिक सु-सम्पन्न र सभ्यता तर्फ अग्रसर हुनका लागि त्यस समाजका पढे-लेखेका, विचारवान, चिन्तनशील जोशिला युवा-युवतीहरू सोही समाजमा क्रियाशील हुने वातावरण रहेमा, बनाइएमा र त्यही समाजमा कुनै पेशा अँगाली आफ्नो सक्रिय जीवन बिताउने हो भने देश र समाजले समय सापेक्षित अनुमान गरेको समय-सीमाभित्रै अग्रगामी फडको मार्न सक्दछ। आज नेपाल स्थिति ती विचारवान केही गरू भन्ने जोशिला उमेरका नागरिकलाई देशमै बसी केही गरौ गरौ नभई दिन प्रतिदिन रोजगारीका लागि आर्थिक सम्पन्नताका लागि या राम्रो अवसरको खोजिमा विदेश पलायन हुने क्रम बढ्दो छ। निश्चल नै देश र समाज परिवर्तनको लागि यो राम्रो संकेत होइन। यो विदेशिने क्रमलाई रोक्नका लागि देशले विभिन्न अवसरहरूको सृजना गरी हरेक गाउँटोल, बस्ती र शहरलाई बसौं बसौं बनाउन पर्दछ र हर-नागरिकको भोलीको भविष्यप्रति आश्वस्त हुने वातावरण सृजना गर्नु पर्ने हुन्छ।
नेपाल अहिले संक्रमणकालमा छ र प्राप्त ऐतिहासिक राजनैतिक उपलब्धीलाई कसरी स्थायी व्यवस्थापन गर्ने भन्ने गहन जिम्मेवारी राजनैतिक दलहरुमा आएको छ । समय-सीमाभित्र जनताले दिएको संविधान लेखनको ऐतिहासिक जिम्मेवारी दलहरुले पुरा गर्नु पर्नेछ । तर हरेक राजनैतिक परिवर्तनको टिकाउका लागि समाजमा आर्थिक परिवर्तन ल्याउनु अत्यावश्यक हुन्छ। त्यसैले हामीले प्राप्त गरिरहेका राजनैतिक परिवर्तनको स्थायित्त्वको लागी आर्थिक क्रान्तिको शुरूवात गर्न अब ढिलो गर्नु हुदैन।
हरेक देशका आ-आफ्नै समस्या र बाध्यताहरू हुन्छन। हो नेपालसंग पनि आज दैनिक प्रशासनिक खर्च, शिक्षा, स्वास्थ्य, सुरक्षा, कुटनैतिक सम्पर्कलाई धान्न पुग्ने आय पनि छैन। त्यही दैनिक प्रशासनिक खर्च चलाउनलाइ पनि विदेशीसँग सहयोग ऋणका लागि हात फैल्याउनु पर्ने अवस्था छ नेपालसँग। कुनै पनि राष्ट्रले उसका नागरिक माथि कर लगाइ उठाएको पैसा विना उद्देश्य निश्वार्थ भावनाले अरू देशको विकासका लागि खर्च गर्दैन किन कि त्यो राष्ट्र पनि आफ्नो देश र जनताप्रति उत्तरदायी र जवाफदेही हुनु पर्दछ। आजको संसार भनेको अरू देशमाथि उपनिवेश कायम गरी त्यहाँको साधन स्रोत माथि कब्जा गरी आफ्नो देशको विकासमा लगाउने समय नभई विकसित राष्ट्रहरूले आफु अनुकूलको नीति नियमहरू बनाइ विकासोन्मुख र अविकसित राष्ट्रहरूलाइ ऋण र सहयोगको विभिन्न बाहना र शर्तमा प्रत्यक्ष वा अप्रत्यक्ष ती नीति नियमहरू अवलम्वन गर्न लगाई ती विकाशील राष्ट्रहरूलाई सधै आफ्नो बजार बनाइ राख्ने नै हो।
नेपालले योजनाहरू प्रस्तुत गरी देश विकाश गर्ने जमर्को गरेको आज पाँच दशक भन्दा बढी भइसक्यो। तर विकास खर्चको लागि सधै दाता राष्ट्र र बहुराष्ट्रिय कम्पनीहरूसँग मात्र भरपर्नु पर्ने हुदा देश विकासको लागि आवश्यक क्षेत्रमा रकम अभाव हुने र योजनामा प्राथमिकता दिइ राखिएको क्षेत्रमा पनि विदेशी राष्ट्रहरूले ऋण, सहयोग पत्याएमा मात्र रकम उपलब्ध हुने अवस्था छ। त्यसैले नेपालले प्रस्तुत गरेको आजसम्मका योजनाहरू कागजमा राम्रो नै प्रस्तुत गरिएता पनि योजनामा उल्लेख गरे अनुसारको सफलता कहिलै प्राप्त भएको छैन। ती दाता राष्ट्र र कम्पनीहरूको शर्त नमान्ने र नेपालले प्रस्तुत गरेको शर्त अनुसार ऋण, सहयोग दिए मात्र लिन्छौ नत्र चाहिदैन भन्न सक्ने अवस्थामा नेपाल नरहेको हुदा उनीहरूले जे-जसरी दिन तयार हुन्छन त्यसरी नै स्वीकार गर्नु पर्ने अवस्था छ नेपालसँग।
नेपालको यस लगानी अभावको जटिल परिस्थितीमा प्राकृतिक साधन, स्रोत र सुन्दरताले सम्पन्न हाम्रो देश नेपाल शान्त, समृद्ध, सभ्य र सु-सस्कृत राष्ट्र पनि बनोस भन्ने चाहना राख्ने संसारका विभिन्न राष्ट्रहरूमा छरिएर बसेका लाखौं गैर आवासीय नेपालीहरू नयाँ नेपालको आर्थिक क्रान्तिका लागि बलियो सहयात्री बन्न सक्छन। विभिन्न राष्ट्रहरूमा जीवन बिताइ रहेका धेरै जस्तो नेपालीहरू उनीहरू नेपालमा रहदाको अवस्थामा भन्दा आर्थिक रूपमा सम्पन्नता प्राप्त गर्दैछन। तर उनीहरूबाट आर्जित रकमको उपयोग अधिकतम घर-घडेरी खरीदमा मात्र सीमित भएको देखिन्छ। यसो हुनुमा एक हद सम्म हाम्रा सामाजिक इज्जत र प्रतिष्ठा हेरिने दृष्टिकोण पनि दोषी छ। किन कि कसले के कति घडेरी जोडयो र कसको कतिको ठुलो घर छ त्यसका आधारमा हाम्रो समाजमा सामाजिक इज्जत र प्रतिष्ठा दिने प्रचलन छ। यसरी लाखौं अर्बौं रूपैया घर घडेरीमा लगानी गरी लामो समयसम्म अनुउत्पादनशील रूपमा रहेको पाइन्छ। तर त्यही रकम विभिन्न कम्पनी र साना-ठुला उधोगधन्दा सञ्चालन लगाउने हो भने त्यसबाट ब्यक्तिगत रुपमा लगानी कर्तालाई घर-घडेरीबाट भन्दा बढी प्रतिफल प्राप्त हुन्छ र नेपाली भएको नाताले संसारको जुन सुकै कुनामा रहे पनि एक समृद्ध राष्ट्रको नागरिकको रुपमा शिर उच्च गरी ज्युउने वातावरण सृजना गर्ने उत्तरदायित्व पुरा गरेको पनि ठहरिन्छ । त्यसैले गैर आवासीय नेपालीहरुको साझा संगठन ,जसको प्रमुख उद्देश्य नेपालीले विदेशमा रहदा बस्दा आर्जन गरेको आम्दानी शीप र अनुभवलाई नेपाल भित्र्याउने छ, गैर आवसिय नेपाली संघ र यस अन्तर्गतका राष्ट्रिय समन्वय समितिले आफु अवस्थित देशमा गैर आवासीय नेपालीहरुबीच कसरी उत्पादनशील क्षेत्रमा लगानी गर्ने भन्ने छलफल गरी बढी भन्दा बढी लगानी भित्र्याउने अभियानको नेतृत्व सशक्त रुपमा अगाडि बढाउनुपर्दछ। गैर आवासिय नेपालीहरुको पर्यटन उधोग , जलबिद्युत, शिक्षा, आवश्यक आदि जस्ता क्षेत्रहरुमा लगानी गर्नु फलदायी देखिन्छ।
पर्यटन प्रवर्द्वनका लागि एन आर एन राष्ट्रिय समन्वय समितिले आफु अवस्थित राष्ट्र मा नेपाल पर्यटन बोर्डसँग समन्वय गरी देशको प्राकृतिक सुन्दरता, पर्यटकीय स्थल र नेपाली कला संस्कृतिको जानकारी गराउन समय समयमा प्रदर्शनी राख्नुपर्दछ । जुन प्रर्दशनीमा नेपाली उत्पादन का साथै र नेपाली परिकारको प्रर्दशनी समेत गरी नेपाली वस्तुहरुलाई विश्व बजारमा विस्तारका लागि सहयोग पुर्याउन सकिन्छ।
यसको साथ-साथै विश्वको ख्याती प्राप्त टि भि च्यानलहरु बी बी सी/ सी एन एन जस्ता च्यानलबाट नेपालको कला,संस्कृति, भौगोलिक विविधता र प्रकृतिक सुन्दरता झल्कने देशको विज्ञापन प्रसारण गर्नलाई नेपाल सरकारसँग मिलि सम्पूर्ण गैर आवासीय नेपालीहरुको सानो सहयोगबाट पनि यो महत्वपूर्ण काम पुरा गर्न सकिने देखिन्छ । जुन विज्ञापनले संसार भरि नेपाल कहाँ र कस्तो देश भन्ने जानकारी सम्पूर्ण विश्ववासीले थाहा पाउनुका साथै नेपालमा ठुलो संख्यामा पर्यटक भित्र्याउन मद्धत पुर्याउछ।
त्यसैगरी गैर आवासीय नेपालीहरुको आज घर घडेरी खरिदमा मात्र लगाईरहेको बचत रकम साना-ठुला जलबिद्युत आयोजना सञ्चालन, स्कुल, कलेज, युनिभर्सिटी खोल्न र सञ्चालनका लागि र विभिन्न स्तरका स्वास्थ्य केन्द्र र अस्पताल स्थापना र सञ्चालनका लागि लगानी गर्ने हो भने देशले विकास खर्चका लागि आज भोगी रहेको रकम अभावबाट ठुलै राहत पाउने थियो र देश विकासका लागि खाली दाताराष्ट्र र बहुराष्ट्रिय कम्पनिहरुमा भर पर्नु पर्ने बाध्यतामा गुणात्मक रुपमा कमि आउने थियो।
देशमा एक मात्र सन्चालित केबुलकार-मनकामना केबुलकार जुन आज अत्यन्त नाफामा चलेको देखिन्छ, जस्तै अन्य विभिन्न धार्मिक र पर्यटकीय स्थलहरुमा केबुलकारको व्यवस्था विभिन्न स्तरका होटल रिसोर्टहरु चलाउन गैर आवासीय नेपालीहरुले पहल गर्ने हो भने आन्तरिक तथा वाहय पर्यटकको संख्या बढाउन ठुलो मद्धत पुग्दछ । तसर्थ हरेक देशको एन आर एन राष्ट्रिय समन्वय समितीले यसको अन्तरराष्ट्रिय समन्वय समितीसँग समन्वय गरी सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई धेरै थोरै लगानीका लागि तयार गराउन सकिएमा देशमा ठुलो मात्रमा देशलाई आवश्यक ठाउँमा लगानी भित्र्याउन सकिन्छ । साथै सम्पूर्ण गैर आवसीय नेपालीहरुले आफ्नो मातृभुमिको समृद्दिको लागि देशभित्रै रही आफ्नो सक्रिय जीवन बिताई नरहेको यस अवस्थामा सानो ठुलो लगानीकर्ताका रुपमा देशलाई आवश्यक क्षेत्रमा लगानी गर्न पक्कै तयार हुने छन । जसबाट नेपाली भएको आफ्नो उत्तरदायित्व पुरा पनि हुन्छ र संसारको जुन सुकै कुनामा रहेर आफ्नो जीवन गुजारी रहेपनि आफ्नो देशको विकासमा हातेमालो गरेमा सम्पूर्ण तपाईं हामी गैर आवासीय नेपालीहरुको जीवन सार्थक हुन्छ र राष्ट्रप्रतिको कर्तब्य पुरा गरेको पनि ठहरिन्छ । त्यसैले अब ढिलो नगरिकन सम्पूर्ण देशको एन आर एन राष्ट्रिय समन्वय समितीले आफुसँग रहेका नेपालीहरुलाई लगानीका लागि तयार गरी देशलाई आवश्यक आर्थिक क्रान्तिमा सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई महत्वपूर्ण सहयात्री बनाउनका लागि नेतृत्वदायी भूमिका निभाउनु पर्दछ।
लेखक एन आर एन पोर्तुगलको महासचिव हुनुहुन्छ।
Popularity: 9%
February 8th, 2010
मित्र लाल पार्दे “हिमाल” -
हेल्लो सर नमस्ते
अनि सर म बर्बाद भए
किन र ?
मलाई दलालले फसायो, ८ लाख ऋण गरेर आएको तर यहाँ काम पनि छैन उल्टै बाँच्न गाह्रो भएको छ । अब म कसो गरु ?
कम्पनी छैन खाली कागजमा मात्र रहेछ तर यहाँ त कम्पनीको मान्छे नै छैन, कम्पनी नै छैन।
अनि नेपालको एजेन्टले के भनेको?
सेन्जेन भिजा हुन्छ सेन्जेन भिजाले २७ देशमा गएर काम गर्न पाईन्छ कुनै समस्या हुँदैन । छ महिनापछि टिआरसी कार्ड पाईन्छ टिआरसी कार्ड लिएर जहाँ गएपनि हुन्छ । तर सर काम पनि छैन पैसा पनि छैन। के गर्ने हो ? केही सोच्न सकिरहेको छैन। ” यी भनाई हुन् विदेश भनेर कमाउन हिडेका र पोल्यान्डमा ठगिएका नेपालीहरुका।
मलाई फोन आउछ हरेक दिन यस्तै समस्याहरु लिएका नेपालीहरुका । अत नेपालमा बस्ने नेपालीहरु तपाईंहरु पोल्यान्डमा आउँदै हुनुहुन्छ भने कृपया नबुझेर नजानेर नआउनु होस्। धेरै नेपालीहरु ठूलो सपनामा भुल्दै गैह्रकानुनी रुपमा बस्न पनि बिबश छन्। कोही शरणार्थी भएर बस्न बिबश भएका छन् । अत तपाई पोल्याण्ड आउदा तपाईंहरुले पोल्यान्डको जानकारी लिनुहोस्, पोल्याण्डमा बस्ने नेपालीहरुसँग सम्पर्क गर्नुहोस, एजेन्ट्को शत प्रतिशत विश्वाश नगर्नुहोस्।
यहाँको कमाइ घण्टाको ६ ज्लोटी १ ज्लोटी =२६ अनि ८ घण्टा काम र हप्तामा ५ दिनको दरले हिसाब गर्नुहोस। यो देशको भिजाले मात्र अरु युरोपिएन देशमा जान पाइदैन। त्यस्को लागि सेन्जेन भिजा हुनुपर्छ। या त यहाँको टेम्पोररी रेसिडेन्ट कार्ड (टीआरसी ) हुनुपर्छ।
पोल्याण्ड यस्तो देश हो जुन देशले दोस्रो विश्व युद्धमा अत्यधिक पीडा भोगेको छ। जुन देशले युद्धको महाबिनाश भोगेको छ। जुन देशमा ७० लाख जनताहरु केही बर्षमै मारिए। जुन देशलाई रसिया र जर्मनीले टुक्रा टुक्रा पारेको थियो। यो देशले धेरै पीडा भोगेको देश हो। धेरै गरिबी भोगेको देश हो। धेरै भोकमरीबाट गुज्रिएको देश हो । तर जब १९९० मा लेचेक बल्च्वोरोस्कीले शक थेरापीलाइ प्रयोगमा लिए तब पोल्यान्डको आर्थिक अवस्था धेरै सुध्रदै गयो। उनको यस प्रयोगले पोल्यान्डको अर्थतन्त्रलाई धेरै मजबुत बनाउने काम गर्यो र पोल्यान्ड्को अर्थतन्त्र बजार अर्थतन्त्रमा परिणत भयो। पोल्याण्डले आजको समयमा धेरै प्रगति गरेको छ। जब यो देश २००४ मा इयूमा प्रवेश गर्यो तब यसले धेरै प्रगति गर्दै गयो तै पनि धेरै बेरोजगारीको समस्या अहिले पनि भोगेको छ धेरै पोलिश युवाहरु नर्वे, ब्रिटेन, डेन्मार्क, अमेरिका गएर काम गर्दछन्।
ईयूमा यो देश प्रवेश गरेसँगै यो देशमा धेरै नेपालीहरु आउने क्रम पनि बढ्यो। कतिले यसलाई युरोप छिर्ने माध्यम पनि बनाए । केही नेपाली बिद्यार्थीहरु छात्रवृत्तिमा पनि पढ्न आए आजभन्दा ४ दशक झणडै ४७ बर्षअघि आएका नेपालीहरुमा श्री दुर्गा मास्के झण्डै २ दशकअघि डाक्टर बोधराज सुबेदी, डक्टर उदयराज आचार्य बिद्यार्थी बनेर यो देशमा प्रवेश गरी यही देशलाई कर्म थलो बनाउदै बसेका अग्रजहरु हामी सबै नेपालीहरुको आदरणीय व्यक्तित्व हुनुहुन्छ। १९९० को दशकमा राजु केसी, तेजनारायण अर्याल, दीपक सापकोटा, जनार्दन सापकोटा जस्ता नेपालीहरु विभिन्न पेशा गरेर बस्दै आउनु भएको छ। केही समय अगाडि नेपालीहरु आए तर उनीहरु कुनै कामको लागि दक्ष जनशक्तिको रुपमा आइ सम्बन्धित पेशामा काम गरी आफ्नो पहिचान बनाइ सकेको कुरालाई नकार्न सकिदैन।
तर हालैका दिनहरुमा नेपालीहरु अन्धाधुन्द विदेश जाने सोच रहेको छ। परिणाम स्वरुप धेरै नेपालीहरु बिचल्लीमा परेका छन्। पोल्याण्ड आउने नेपालीहरु पनि हालैका दिनहरुमा धेरै ठगिएका छन् । धेरै नेपालीहरुलाई १००० ज्लोटी लाइ १००० डलर भन्दै झुक्काइरहेका छन्। तर यहाँ यूरो चलेको छैन यहाँ ज्लोटी चल्छ। यो देशको भिजा लगाउन भन्दा गाह्रो यहाँको टिआरसी कार्ड (अस्थाई बसोबास कार्ड) बनाउन धेरै झमेला छ। विद्यार्थीको हकमा बैंक ब्यालेन्स कम्तिमा १२००० (बाह्र हजार ज्लोटी) ज्लोटी देखाउनु पर्ने हुन्छ। यहाँको भिजाले मात्र अरु देशमा जान पाइदैन। अरु देशमा जानको लागि या त सेन्जेन भिजा हुनुपर्यो या त यहाँको टिआरसी कार्ड हुनु पर्यो। उक्त कार्डले अरु सेन्जेन देशहरुमा तीन महिनाको लागि जान पाइन्छ तर अरु देशमा गएर काम गर्न कानुनी रुपमा पाउदैन। यदि काम गरेको भेटाएमा उक्त देशको कानुन अनुसार कारबाही गर्दछ।
हामी नेपालीहरु जन्मैदेखि ऋणको माला लगाएर जन्मिएका छौ । हाम्रा सपनाहरु रंगिन हुन्छन सपनामा हराउदै हामी मक्ख पर्छौ। कसैले सपना बाटेमा हामी मक्ख हुन्छौ तर हैटिका घरहरु टुक्रिए झैँ हाम्रा सपनाहरु पनि टुकारिन्छन्। हामी नेपालीहरु आश्वासनमा धेरै विश्वाश गर्यौ। त्यसैले त हाम्रो नेपालमा धेरै अश्वासन बाँट्दै कोही नेता बनेका छन्। कोही मन्त्री बनेका छन्। खाली आश्वासनको पेटारो बोकाउन बानी परेका यी भ्रष्ट्रहरु देश बिदेश घुमेर पनि अलिकति पनि देशलाई अगाडि बढाउन किन खोज्दैनन्। सबै मेरो गोरुको बार्है टक्का छ। देश अन्धकारको सम्राज्यमा फस्दैछ। हाम्रा देश चलाऊने ठेकेदारहरुले देश लिलाम गर्न खोजिरहेका छन्। आज हजारौ युबाहरु बिदेश पलायन भएका छन्। वास्तवमा भन्ने हो भने कुनै पनि जनतालाई देश छोड्ने रहर हुँदैन। उ विवशताले छोड्न वाध्य हुन्छ।
हो अलिकति केही गरु भन्ने चाहना नेपालको अस्थीर राजनीति र वरिपरिका साथीहरु बिदेश गएर केही कमाएको देख्दा अवश्य पनि केही समय दु:ख गर्ने सोच लिएर नेपाली सोझा सिधा युबाहरु एजेण्टकहाँ पुग्दछन् तर कुनै कुनै एजेन्टहरुले सही जानकारी नदिदा धेरै नेपालीहरु बिदेशका गल्ली गल्लिमा अल्पत्र परेका छन्। फटाहा दलालहरुको कुरामा विश्वास गरी धेरै सपना बोकी बिदेश कमाउन हुइकिन्छन हाम्रा नेपाली युवाहरू, त्यसो त राम्रो सूचना दिएर र सही ठाउमा पुर्याउने युवाहरुले राम्रो काम पनि पाएका छन्। हो अवश्य पनि त्यही बिदेशको गल्ली गल्लिमा घोटिएको पैसाले देश चलेको छ। तर त्यही बिदेश काम गर्न हिंडेका हजारौ नेपालीहरुको घरबार बिहिन भएको छ। हजारौं नेपालीहरुको जिन्दगी पनि बर्बाद भएको छ। आज यति समाचार र आज धेरै सूचनाका माध्यम हुँदा पनि बिदेश नबुझेर आउँदा वास्तवमा धेरै नेपालीहरुले दु:ख पाएका छन्।
गाउंघरका सोझा सिधा युवाहरुलाई शब्दजालको एम्बुसमा पारेर दलालहरुले धेरै ठगेका छन्। हामी ठगिनुमा हामीहरुको पनि केही भूमिका हुन्छ। अहिले धेरै युवाहरुलाई यूरोपको सपना देखाएर पोल्यान्डमा अल्पत्र पार्ने काम गरेक छन् नेपाली दलालहरुले। उनीहरुले छ लाखदेखि आठ लाख लिएर मानब तस्कर गरिरहेका छन्। मानब तस्कर गर्नेहरुले रङिन सपना देखाइ दिएर पोल्यन्ड्मा अल्पत्र पारिरहेका छन्। म पोल्यान्डमा बस्दा देखेको अनुभब यो हो कि गत बर्ष नेपालबाट २१ जना नेपालीहरु आए।
उनीहरुको पनि कुनै दीर्घकालीन काम हुन सकेन। ऋणको बाध्यताले केही नेपालीहरु लुकेर अन्य देशमा गै लुकी लुकी जिन्दगीलाई हत्केलामा राख्दै काम गरेका छन् तर धेरै नेपालीहरुको जिन्दगी अल्पत्र भएको छ। कोही त जर्मनिमा नै पक्राउ परेका छन् कोही नेपालीहरु सम्बन्धित देशको कानुन अनुसार जेलमा पनि छन्। कोही नेपालीहरुलाई नेपाल फर्काइएको पनि छ। म डेनमार्कमा बस्दा पनि नेपालीहरुको दुर्दशा देखेको थिए। नेपाली विद्यार्थीहरु लाखौ रुपैया कलेजलाई तिर्न पर्ने बिबशताले छट्पटाइरहेका पनि देखिन्थे। एक जना नेपाली बिद्यार्थीले त डेनमार्कमा आत्महत्या नै गरे। त्यो समाचारहरुमा आयो आएन तर वास्तविकता यो हो की नेपालीहरु जस्तो सुकै सम्पन्न देशमा गएपनि उनिहरुलाई हरेक तनाब छ। हामी नेपालीहरु आफ्नो देशको राजनीतिक अवस्थाले पनि बिदेश जान पाए हुदो भन्ने सोच्छौ। आजको युगमा केही कमाऊ र घर परिवारलाई सुख दिऊ भन्ने चाहना हुनु स्वाभाबिकै हो तर केही नबुझेर बिदेश हिंड्नु ठीक होइन।
हुन त देशका युवाहरु ठगिनुमा नेपालको भ्रष्ट सरकार जिम्मेबार छ। नेपालको सरकारले बिदेश जाने नेपालीहरुको बारेमा कुनै चासो राख्दैन। खाली बिदेशमा गई कमाउने नेपालीहरुलाई मात्र मुल्याङ्कन गर्दछ तर बिदेशका शहरहरु जहाँका सडकहरूमा ठगिएका नेपालीहरुको क्रन्दन सुन्न सकिन्छ। बिदेशका क्वालालम्पुर जस्ता एअरपोर्टहरुमा ठगिएका नेपालीहरुको सुताइ देख्न सकिन्छ खुला आकाशमुनी जिन्दगीलाई तड्पाउदै बाचिरहेका छन्। ती ठगिएका नेपालीहरुको लागि बोलिदिने को त ?
किन कि उनीहरु आँफै ठगिएपछि आँफैलाई असहाय महसुस गर्दछन। न त उजुरी दिन सक्छन न त गुमेको घरबार फिर्ता लिन सक्छन्। बिदेश गएर पैसा तत्काल कमाइन्छ भनेर हचुवा भरमा दलालहरुलाई पैसा कुनै प्रमाणविना दिएका हुन्छन्। अनि जब बिदेश आउछन तब बल्ल ठगिएको महसुस गर्दछन्।
यहाँ पोल्यान्डमा मैले देखेको वास्तविकता के हो भने धेरै नेपालीहरु ठगिएका छन् नेपालमा उनीसँग एउटा कुरा गरिएको हुन्छ तर यहाँ अर्कै हुन्छ। करीब २३ जना नेपालीहरुको कागजमा काम तर यहाँ कुनै काम नभएको कम्पनी नभएको र काम नपाएर तड्पिरहेछन् तर सबै वास्तविकता पनि भन्न डराइरहेका छन्। उनीहरु कामै नभएको अवस्थामा छन्। उनीहरु ठगिएका छन् तर पनि आफूलाई असहाय महसुस गरिरहेका छन्। यहाँ उनीहरुको भनाइअनुसार काम छैन नेपालबाट जुन कम्पनी भनेर आए त्यो कम्पनी नै छैन काम नपाएपछि तड्पिएर बाचिरहेका छन् कोही त नेपाल फर्कदै छन्। कति त नेपाल फर्किसके पनि।
गएको वर्ष केही नेपालीहरु पोल्यान्ड छिरे। धेरै नेपालीहरु पोल्यान्डबाट कता हराए कता मैले आज सुन्ने गरेको छु कोही युरोपका बिभिन्न देशहरुमा शरणार्थी बनिरहेका छन् रे। कोही नेपाल पठाइए रे। कोही गैह्र कानुनी रुपले अरु देशमा प्रवेश गर्दा त्यहाँको प्रशासनले पकडिएर आफ्नो देशको नियमनुसार कारबाही गर्दैछ रे कसैलाई अनुसन्धानको लागि जेलमा राखिएको छ रे। पोल्यान्ड आउन त सजिलो होला तर यहाँ आईसकेपछि यहाँ टिक्न धेरै गाह्रो छ। फेरि पोल्यान्ड सरकार बिदेशीहरुको लागि त्यति उदार पनि नभएको हुँदा पोल्यान्ड आउँदा हामीले एक पटक सोचेर आउने हो कि। केही दिनअघि पोल्यान्डबाट गएका केही नेपालीहरु जर्मनीमा जादा पकडिए अनि उनीहरुको बारेमा जानकारी दिनको लागि एनआरएन पोल्यान्डका अध्यक्ष बोधराज सुबेदीलाई बोलाइयो र उहाँले उनीहरुसँग भेट्घाट गरी जानकारी लिनु भयो र उनीहरुको अवस्थाको बारेमा जानकारी दिनु भयो।
पोल्यान्ड आउने कोही नेपालीहरु इजरायलका दलालहरुबाट पनि ठगिएका छन्। कोही त मानसिक बिरामी भएर अस्पातलमा पनि भर्ना भएका छन्। फटाहा दलालहरुले नक्कली कागजपत्र बनाइ नेपालीहरुलाई बिजोग पार्ने काम गरेका छन्। यूरोप भन्दै फाल हाल्ने नेपाली परम्परा अनि लाख कमाइन्छ भन्दै घरबार बेचेर बेसूरसँग दलाललाई पैसा सुम्पने हामी नेपालीको प्रवृत्ति धेरै नेपालीहरु ठगिएक छौ। केही बर्ष अघिसम्म पोल्यान्डमा नेपालीहरुलाई बिचल्ली पार्ने समस्या थिएन तर अहिले काम्दार भिजाको नाममा धेरै नेपालीहरु ठगिएका छन। सेन्जेन भिजाको नाममा लाखौं पैसा ठगहरुले लुटेका छन् सोझा सिधा नेपालीहरुबाट। यहाँ नेपाली राजदूतावास पनि छैन। सरकारले यो बिषयमा तत्काल सोच्नुपर्छ। यहाँको अधिकारिक निकायसँग छलफल गरेर नेपालीहरुलाई सरकारले अभिभावकत्वको भूमिका निर्वाह गर्न सके कसो हुन्थ्यो होला ? यसरी बिदेशमा नेपालीहरु ठगिनबाट बचाउन विश्वका एनआरएनहरुले पनि पहल गर्नु पर्छ। र यो दायित्वबाट कुनै पनि देशका एनआरएनहरु पन्छिन मिल्दैन।
हरेक देशहरुका एनआरएनए एनसीसीहरुले त्यो देशको बारेमा सम्पूर्ण जानकारी नेपाली गाउंसमाजमा पनि दिन सकेमा धेरै नेपाली जनतहरुले जानकारी पाउन सक्दथे। कुन देशमा नेपालीको अवस्था कस्तो छ ? कुन देशमा नेपालीहरु बढी ठगिएका छन्? ठगिनबाट नेपालीलाई बचाउन एनआरएनहरु सम्बन्धित देशको बारेमा जानकारी दिने। ठगिएका नेपालीहरुको आवाज सम्बन्धित निकायमा पुर्र्याइदिने गर्न सकेमा पनि ठूलो राहत महसुस हुन सक्थ्यो। अत पोल्यान्ड अथवा कुनै पनि देशमा जाने नेपालीहरुले त्यहाँको वास्तविकता बुझेर मात्र कदम चाले कसो होला?
(लेखक मित्रलाल पार्दे “हिमाल” एनआरएन पोल्याण्डका सचिब तथा अन्तर्राष्ट्रिय कलाकार मंच पोल्याण्ड शाखाका अध्यक्ष हुन् सं.)
Popularity: 10%
February 6th, 2010
केशव भट्टराई लिस्वोन, पोर्चुगल-
आफ्ना स्रोतहरुको उत्तम उपयोग नगरेसम्म कुनै राष्ट्रले पनि दिगो आर्थिक उन्नति गर्न सक्दैन। प्राकृतिक स्रोतको कमी र एकदमै विकट भौगोलिकता भएको नेपाल जस्तो राष्ट्रले त गरिबीको चक्रबाट मुक्ति पाउन आफ्ना स्रोतहरुको एकदमै निपुर्णताका साथ उपयोग गर्नु अनिवार्य नै हुन्छ। आर्थिक आधार कमजोर भएका कारण सामान्य अवस्थामा पनि सरकारले ठूलो छाती बनाएर खर्च गर्नु पर्ने हाम्रो बाध्यता हो तर आर्थिक संकटका बेलामा मितव्ययी हुनु आवश्यक छ।
कुशल व्यवस्थापन भनेको सिमित स्रोतहरुको निपुर्ण उपयोगबाट अधिकतम उपलब्धि हासिल गर्नु हो। दुर्भाग्यवास हाम्रो सरकार राजनैतिक र आर्थिक संकटका कारण यसको व्यवस्थापन र समय तालिका बारेमा आफै अन्योलमा रहेको छ। त्यसैकारण आर्थिक व्यवस्थापन एकदमै दिशाहीन बन्न पुगेको छ। सरकारले जुनसुकै कार्य गर्दा पनि खर्चको अनुमान र त्यसलाई पूर्ति गर्ने स्रोतहरुको लेखाजोखा गरेकै हुनुपर्ने हो। आर्थिक संकटका समयमा खर्च र आम्दानीबारे सरकारमा बस्नेहरु त्यति संवेदनशील नबन्नु गैरजिम्मेवारको पराकाष्ट हो। जब लक्ष्य अनुसार राजस्व उठ्न सकिरहेको छैन र खर्चहरु बढिरहेका छन् भने त्यस बखत कुनै पनि सरकारले गर्ने पहिलो काम खर्च कटौती हो। यसका लागि कुनै ठूला अर्थशास्त्रीहरुको राय लिई रहनु पर्दैन, एउटा औसत घर गृहिणीको घर व्यवहार हेरे पुग्छ। घरको आम्दानी काम हुदै गर्दा बालबच्चाहरु पनि बिमारी पर्दै गए भने गृहिणीले सबैभन्दा पहिला परिवारको खाने खर्च कटौती गरि परिवारलाई झन् कमजोर पार्दिनन् बरु उनले त परिवारको स्वास्थ्यलाई कम असर गर्ने कार्यमा कमी ल्याउने खोज्ने छिन। जसको शुरुवात भोजभतेर विवाह र व्रतवन्धमा हुने खर्च बन्द गर्छिन।
बजेटघाटा बढ्न थालेपछि गैरजिम्मेवार सरकारहरुले केन्द्रीय बैंकबाट उधारो उठाई खर्च गर्न थाल्छन। जसको उपयोगले मुल्यबृदिमा प्रत्यक्ष सहयोग पुर्याउछ र यस्तो खर्च अर्थतन्त्रले धान्न सक्ने सीमा नाघेपछि देश अहिलेको अर्जेन्टिना बन्न पुग्छ। मुद्रास्फिती बढेर अर्थतन्त्र धरासायी हुन नदिनका लागि सरकारले खर्च कटौती गर्ने पर्छ। चाहना भए खर्च कटाउने कामको शुरुवात सानो मन्त्रीमण्डल बनाएर प्रधानमन्त्री लगायत सारा मन्त्रीहरुले देशमा आर्थिक सङ्कट नहटेसम्म भत्ता र विशेष सुविधा नलिने आदि कार्य गर्न सकिन्छ। देश सङ्कटमा फसेको बेला त्याग राजनीतिज्ञहरुले नै गर्ने हो। हिसाब किताब नै नराखी गर्ने गरिएको खर्च वन्द गर्नुको साथै राष्ट्रिय योजना आयोगलाई वन्द गरि दिने उपयुक्त समय पनि यहि नै हो किन कि संघियता अनुरुप प्रत्येक संघले आफ्ना योजना, आर्थिक लक्ष्य आफै निर्धारण गर्छ।
अहिलेको आवश्यकता साधरण खर्च घटाउनु नितान्त आवश्यक छ । नेपालको राजस्व झण्डै आधा जस्तो रकम विदेशी ऋणको सावा व्याज तिर्न ठिक छ। सरकारले दाता संस्थासंग वार्ता गरि यस्तो ऋणको साँवा व्याज भुक्तानीलाई पुन:तालिकीकरण गर्न पहल गर्नु पर्छ। ऋण नतिर्ने होइन तर विशेष परिस्थिति देखाएर साँवा व्याज तिर्ने कार्य केही समयसम्म मुल्तवीमा राख्न सकिन्छ। यहि समयमा नेपाललाई ऋण दिने मित्रराष्ट्र वा बहुराष्ट्रिय संथासंग सदाका लागि ऋणमोचन गराउन गम्भीरता साथ लाग्न पनि सकिन्छ। हीरा भनेको दुखको बेलामा नै फोर्ने हो। सरकारी संस्थानहरुलाई उचित मूल्यमा बेचेर खर्च टार्नु पनि बजेटघाटा रकम बढाउनु भन्दा राम्रै बाटो हो।
दुर्भाग्य नेपालमा अहिले खर्च कटौती गर्नेतर्फ कसैको ध्यान गएको छैन। किन कि खर्च कटौती गर्ने सरकार अलोकप्रिय हुन्छ। खर्च कटौतीमा कमिशन पनि आउदैन । जति बढी खर्च गरयो त्यति बढी कमिशन आई नै रहने भयो। त्यस्तो सोचाई र व्यवहारले देशलाई झन् झन् अधोगति तर्फ धकल्ने निश्चित छ। “सबैलाई चेतना भया”।
(लेखक नेपाल पोर्चुगल कला, संस्कृति तथा साहित्य संचार परिषदको महासचिव हुन। सं.)
Popularity: 12%
February 5th, 2010
राजेश रमण कर्ण-
नेपालमा १९ दिने र मधेश आन्दोलन फलस्वरुप अन्तरिम संविधानले मुलुकलाई संघीय गणराज्य घोषणा गरेको अबस्थामा संविधानसभाको राज्य पुनसंरचना तथा राज्यशक्तिको बाडँफाडँ समितिले जातिय पहिचान सहितको १४ प्रदेश बनाउनुपर्ने प्रस्ताब बहुमतले पारित भएपछि राज्य पुनसंरचना तथा राज्यशक्तिको बाडँफाडँ समितिमाथि प्रदेशको सीमासंख्या र नामाकरण बारे बिभिन्न किसिमका विरोधाभाश हुन थालेको छ।
राजनितिक घण्टाक्रम र मधेशीदलहरुको बहुल्यताले तराईलाई मधेश नामाकरण गरेपनि राज्य पुनसंरचना तथा राज्यशक्तिको बाडँफाडँ समितिले मधेश पूर्वमा सिम्रौनगढ जनकपुर मात्र सिमित भएको देख्दा मधेशीदलहरु द्रारा मधेशलाई खण्डित गारेको मस्यौदा खारेज गर्न माग गरेको छ भने विभिन्न जातिय संगठनहरुद्रारा पनि विरोध भएको छ। कतिपयले त आन्दोलनको समेत घोषणा गरिसकेको छ यसैविच नेपाल सद्धावाना पार्टीले ´ापादेखि काचनपुरसम्म मधेशका २२ जिल्ला रहने गरि जनकपुरमा स्वायत्त मधेश प्रदेशको घोषणा गरेको छ। जस्ले गर्दा प्रदेशको सीमासंख्या र नामाकरण बारे मधेशमा फेरी आगो बल्ने संम्भावना देखिन्छ भने प्रस्तावित प्रदेशले वर्तमान राजनितिकमा मधेशीहरुको बहुल्यतालाई ठूला तीन दलहरुले मधेशमै सिमित गर्न खोजेको बुझिन्छ।
यस्तो अवस्थामा राज्य पुन संरचना जस्तो दीर्घकालिन महत्व र प्राविधिक दृष्टिले समेत चुनौतीपूर्ण मुद्दामा सहमति विनाको प्रस्ताब र अबधारणा सभासदहरुले वहुमतको आधारमा आफै टुङ्गो लगाएकोमा नेपाली जनतालाई स्वीर्काय हुन्छ कि हुदैन हेर्न बाँकी नै छ।
प्रस्तावित १४ प्रदेश भारतको संघीय प्रदेशबाट उत्तप्रेरित भएको जस्तो देखिन्छ। भारतमा तामिलनाडु केरला गुजराती वंगाली जस्ता अनेकौ जातिय भाषिक प्रदेशहरु छन। भारतको क्षेत्रफल स्रोतसाधनको हिसाबमा जातिय भाषिक प्रदेशहरु उचित देखिन्छ। तर नेपालको सन्र्दभमा बहुजातिय बहुभाषिय भएको मुलुकमा जातिय गणराज्य १४ प्रदेशको प्रस्ताबलॆ सीमासंख्या र नामाकरण बारे मुलुकमा गृह युद्धलाई निम्त्याउने प्रायः निश्चित भएको छ। यसले संविधान निर्माण प्रक्रियासमेत प्रभावित बन्ने संभावाना छ।
सवाल छ नेपालमा जातिय गणराज्य दिदा १४ प्रदेशले मात्र हुन्छ। हुन्छ भने खोइ त दलित गणराज्य मुशलिम गणराज्य जस्ता अनेकै गणराज्य बनाउनु पर्ने हुन्छ । प्रस्तावित १४ प्रदेश नेपालको क्षेत्रफल र स्रोतसाधनको हिसाबमा पनि बढि भएको देखिन्छ। संघीय संरचना संविधान निर्माण एउटा जठिल र विवादित मुद्दा भएकोले दलहरु बिचको आपसी छलफल र सहातिले क्षेत्रफल स्रोतसाधन भाषा जनसंख्या भुगोल र ऐतिहासिकताको आधारमा सबै समुदायको अधिकार र पहिचान स्थापित हुने गरि वैज्ञानिक आधारमा प्रदेशको सीमा संख्या र नामाकरण निर्धारन गर्नु पर्ने हुन्छ। यदि त्यसो भएन भने जातिय गणराज्य र अंशवण्डाले मुलुकमा गृह युद्ध हुन सक्छ यसतर्फ संम्वन्धित सबैले समयमै सचेत नहुने हो भने भोलि विकराल परिस्थितिको सामाना र जिम्मेवारी सभासदहरुले लिन तयार हुनु पर्दछ।
Popularity: 10%
January 27th, 2010
धरम के.सी. -
निकै चर्चा परिचर्चा र हो हल्लाका साथ एनआरएनएको चौथो बिश्व सम्मेलन सकिएको झण्डै ३ महीना बित्दैछ । नव निर्बाचित आइसिसीले करीब २ महीना पछि थप सदस्यहरु र सल्लाहकारहरु मनोनित गर्दै पूर्णता पनि पाएको छ र महत्वपूर्ण कुरा धेरैले चाहे मुताविक नै डा. उपेन्द्र महतो एनआरएनएको प्रमुख संरक्षकको रुपमा रहनुभएको छ।
यसैबिच दोहोरो नागरिकताका बारेमा कमसेकम एनआरएनए भित्र दुइ मत छैन भन्ने कुरा तमाम एनसिसीहरुद्वारा यस मागलाई सम्बन्धित राजदूतावासमार्फत एकसाथ औपचारिक रुपमै प्रस्तुत गरेबाट प्रष्ट भएकै छ । तर यो भन्दा पनि अझ बढी महत्वपूर्ण यस संघ (एनआरएनए)लाई दर्ता गर्ने लगायतका केही अन्य बिषयहरु भने अहिले पनि शायद ओझेलमा परेका छन या आवश्यक पहलकदमीको अभावमा अहिलेसम्म पेण्डिंग नै रहेका छन्।
एनआरएनए ५३ मुलुकहरुमा बिस्तारित भैसक्दा यसमा निहित बिबिधता पनि झनै फराकिलो भएको छ। जापान, अमेरिका, युरोपका एनआरएन, मध्यपूर्वका एनआरएन, मलेशिया, कोरियाका एनआरएन अनि बर्माका एनआरएनमा ठूलै बिविधता प्रत्यक्ष देख्न सकिन्छ। तर सबै एनआरएनहरुको स्वदेशप्रेम र त्यही प्रेम भावनामा सृजित सहयोगी र रचनात्मक सोंचमा भने सबैमा समानता पाइन्छ । गैर राजनैतिक, गैर नाफामुखी, गैर धार्मिक र गैर साम्प्रदायिक जस्ता चारित्रिक बिशेषताहरुले एनआरएनएलाई सबैको साझा संगठन त बनाएकै छ। यो बिशुद्ध साझापनलाई जोगाई राख्न एनआरएनएकै लागि त्यत्तिकै चुनौतिपूर्ण पनि रहंदै आएको छ।
एनआरएनएलाई आफ्नो नितान्त ब्यक्तिगत स्वार्थ सिद्ध गर्ने माध्यम बनाउन खोज्नेहरु, यसको नाम र छबिलाई आम नेपालीहरु र समग्र नेपालको हित भन्दा पनि आफ्नो ब्यक्तिगत फाइदाको लागि दुरुपयोग गर्न खोज्नेहरु अनि यस संघलाई कुनै दल बिशेष, कुनै जाति या सम्प्रदाय बिशेष या कुनै बिशेष बर्ग या झुण्ड बिशेषको अखडा बनाउन खोज्नेहरु पनि एनआरएनए भित्रै नभएका होइनन। संघको नयां नेतृत्वले यस्ता ब्यक्ति र प्रबृत्तिहरुको बेलैमा पहिचान गर्न जति जरुरी छ, त्यस्ता प्रबृत्तिहरुलाई बेलैमा नियन्त्रण र निरुत्साहित गर्न पनि त्यत्तिकै जरुरी हुन्छ।
अग्रगमन नेपाल र नेपालीहरुकै बर्तमान चाहना र आवश्यक्ता हो । अग्रगमनबाट मात्रै प्रगति र परिवर्तन सम्भव हुन्छ । परम्परा र प्रचलनहरुलाई आवश्यक्तानुसार तोड्दै अघि बढन सक्नुपर्दछ । एनआरएनएभित्र पनि बिभिन्न दस्तावेजहरु तयार पार्दै जाने तर कार्यान्वयनमा भने अपेक्षाकृत तत्परता र लगनशिलताको अभाव देखिने गरेको छ, फलतः थोरै मात्रै सफलतामा चित्त बुझाउनुपर्ने परिणति हाम्रो सामु छ । खहरे खोलाको पानी न त बिद्युत उत्पादनमा प्रयोग हुन्छ न त सिंचाईमा नै, परन्तु त्यसले बाढीको प्रकोप निम्त्याउन सक्दछ । अतः एनआरएनएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भेलाहरुमा देखिने बाढीलाई होइन परन्तु एनआरएनएका ती खोला तथा नदीहरुमा रहने पानीको न्युनतम र नियमित बहाव के कति छ त? त्यो नाप्नैपर्ने स्थिति देखिएको छ।
एनआरएनए सामाजिक संस्था नै भएकाले सामाजिक दायित्वबाट पन्छिन मिल्दैन पनि । आखिर “नेपालीले नेपालीलाई” भनिसकेपछि नेपालीहरुकै समस्याहरुमा कसरी बिमुख हुनसकिन्छ र ? हाल साउदी अरबलगायत खाडी मुलुकहरुमा नेपालीहरुका समस्या यति धेरै छन् कि सरकार या कुनै एक संस्थाको मात्र प्रयास र पहलमा ती समस्याहरु निराकरण हुने कुनै सम्भावना देखिदैन । सबैको साझा सामुहिक प्रयासबाट मात्र केही सफलता हासिल हुनसक्दछ । यसैले सबैका बिचमा आपसी सहयोग र सहकार्य अपरिहार्य देखिन्छ।
एउटा कटु सत्य यो पनि हो कि नेपालीहरुलाई समस्या या बिचल्लीमा पार्नमा पनि मुलतः नेपालीहरु नै जिम्मेवार देखिन्छन, चाहे त्यो नेपाली कामदारहरुलाई भाग्न बाद्य पार्नमा होस या महिला कामदारहरुलाई खाडी मुलुकहरुमा बेचेर बिचल्ली पार्नमा होस, यसरी “नेपालीले नेपालीलाई” भन्ने युक्ति यहांपनि लागु भएको छ तर कुन अर्थमा -१ एनआरएनएले सच्चा दिलले चाहेमा र सम्बन्धित सबैको सहयोग हुन सकेमा सरकारी निकाय र प्रबासका सामाजिक संघ संस्थाहरुका बिचमा समन्वयकारी भूमिका खेल्न सक्दछ जसबाट माथि उल्लेखित समस्याहरुलाई सम्बोधन गर्नुका अतिरिक्त अरुपनि सकारात्मक र रचनात्मक कार्य गर्न सकिन्छ । तर यसो गर्न पनि सम्बन्धित सबै आफ्नो निजी स्वार्थ, दलगत (राजनैतिक) स्वार्थबाट माथि उठन र बर्गिय, क्षेत्रिय, जातिय या साम्प्रदायिक संकिर्णताबाट बाहिर निस्कन जरुरी हुनआउंछ।
२५ मिलियन नेपालीहरुकै काया पलट गर्ने अभियानमा जुटेको यो संस्थाले २५ लाख एनआरएनहरुलाई पनि त्यत्तिकै ख्याल गर्नैपर्ने सामाजिक जिम्मेवारी देखिन्छ । एकथरी एनआरएनहरु महान दाता बनी च्यारिटीमा चम्किरहनु अनि अर्कोथरी एनआरएनहरु प्रबासमा खान बस्न समेत नपाई कोही पुलमुनि त कोही बिभिन्न थरीका बन्द तथा खुल्ला जेलहरुमा आफ्नो उन्मुक्ति र उद्धारको प्रतिक्षामा तडपीरहनु को समायोजन खोज्नैपर्ने देखिएको छ । थरी थरीका ठगी, अन्याय र उत्पीडनबाट निस्कने यी रोदन र चित्कारहरु पनि त आखिर एनआरएनकै हुन।
एनआरएनहरुले “एनआरएन बैंक” चाहेका थिए, मागेका थिए तर ब्यवहारमा “सानिमा बैंक” नै ख’ श्रेणी बाट क’ श्रेणीमा उक्लिएको छ । अब सानिमा बैंकलाई कति एनआरएनहरुले आफ्नो बैंक भन्लान र सामुहिक स्वामित्व महशुस गर्दै सामूहिक लगानी गर्लान - फेरि पनि धेरै एनआरएनहरुले डा. उपेन्द्र महतोज्यूले उद्घोष गर्नुभएको “सामुहिक लगानी” को प्याकेजलाई पर्खिबसेको र त्यसैमा धेरै आसावादी पनि रहेको बस्तुगत स्थिती देखिन्छ । त्यसो त खासगरी खाडी मुलुकहरु, मलेशिया र कोरियामै काम गर्नेहरु पनि कसैले पनि आंफूंले आर्जेको रकम बिदेशमा बिदेशी बैंकमा राखेको स्थिति होइन, सबै रकम आखिर स्वदेशमै गएको र अधिकांश रकम त आफ्नो घर परिवारमै खर्चिने गरेको सर्वेक्षणका प्रतिवेदनमा पढ्न पाइन्छ तर पनि थोरै थोरै नै भएपनि सामुहिक रुपमा लगानी गर्दा राष्ट्र निर्माणमा बिशेष योगदान पुगी बिकासमा फड्को मार्न सकिएला कि भन्ने आम अपेक्षा हो। यसैले सामुहिक लगानीको प्याकेज अब छिटै नै आउनै पर्दछ, यो शुभ कार्यमा ढिलाई नहोस।
अन्तमा एनआरएनएको सांगठनिक संरचना ‘अस्थिपञ्जर’ जस्तो नरहोस, यो मांसपेशी र नशा सहितको सबल र सुदृढ संरचना बन्न सक्नु पर्दछ जसका लागि यस संघका तमाम साधारण सदस्यहरुलाई लक्षित गरी उनीहरुले चाहेका कार्यहरु गर्नुपर्ने हुन्छ । आवश्यक्तानुसार बिकेन्द्रित, बिस्तारित र जनमुखी बन्दै अघि बढ्नुपर्दछ अनि यस संघका कुनैपनि जिम्मेवार पदाधिकारीहरुले संघको प्लेटर्फम र सञ्जालमा रहेर आफ्ना लागि होइन, अरुका लागि काम गरेको देखिओस, ब्यक्तिगत स्वार्थको गन्ध कतैपनि नआओस । ब्यक्तिगत स्वार्थको गन्ध कतैपनि नआओस।
प्रतिक्रियाका लागिः dharamkc@yahoo.com
Popularity: 10%
January 8th, 2010
जे.बि.शेर्पा /एचकेनेपाल डट कम -
एई भोटे…. !…. तं बढता बोल्छ्स्? म को हुँ चिनेको छस् …. स्स्साले यहींबाट तल ख़साली दिउं …?
जीवनमा विर्सनै नसक्ने गरि सुन्नु परेको वाक्यको एक लहर हो यो! करीब १९, २० वर्षे उमेरको हुँदा तत्कालीन बग्गिखानाका (पुतलीसड़क) एक पुलिस हाकिम साबले व्यक्त गरेको अत्यन्तै अमानविय कटु शब्दवाण हो, जसले मलाई नमरुन्जेल घोची रहनेछ!
वास्तवमा म त्यस बखत चिन्जानको एक प्रहरी हवल्दार दाईसंग कुरा गरिरहेको थिएँ। बिना अर्थ, एक निर्दोष मानिसलाई एक्कासी त्यस्तो भन्नुमा पुलिसिया अहमपनले भन्दा पनि उ जातिविभेदको संकीर्ण मानसिकताले पीडित लाग्थ्यो! के गर्ने कहिलेकाँही पिएपछि हाकिम बौलाउँछ भन्दै त्यों हवल्दार दाइले मलाई जोगाएर तल बाहिरसम्म ल्याई दिएका थिए!
शायद हामीमध्ये कमैले मात्र नेपालमा हुँदा जातिविभेद र रंगविभेदको तितो अनुभव भोग्नु नपरेको हुन् सक्छ यस अर्थमा जातिविभेद र रंगविभेद नेपाली समाजबाट हटेको र घटेको भने छैन। कुनै न कुनै रुपमा त्यो बेला बेलामा प्रकट हुन्छ। व्यक्त हुन्छ। नेपालको सन्दर्भमा भन्नु पर्दा प्राय गरी दलित जात जातिहरु जातिविभेदबाट उत्पिडित देखिन्छन्। बेला बखत छापाहरुमा आउने समाचारहरुले यहि खाले नेपाली सामाजिक चित्र प्रस्तुत गर्दछ। शहरी समाजमा भने दलितहरु त्यस्ता समस्याहरुबाट कमै पीडित छन्। तर पनि, शहर बजारमै पनि बिभिन्न खाले तिरस्कारयुक्त वा विद्वेषपूर्ण व्यवहार यस पंक्तिकारले पनि केही पटक भोगि सकेको छ। आफ्नै देशमा यस्ता खाले व्यवहार नभोग्ने सायदै कमै नेपालीहरु होलान। जानी नजानी घट्ने यस्ता खाले दुर्व्यवहार कम हुँदै जान अझै धेरै समय लाग्नेछ।
रंगविभेद र जातिविभेदको समस्या संसारका अति विकसित ठहरिने देशहरुमा समेत अनुभव गर्न सकिन्छ। तर, यसरी पश्चिमा मुलुकहरुमा हामीहरूले अनुभव गर्नु परेको त्यस्ता व्यवहारहरु त्यति गम्भीर प्रकृतिका हुन्नन्। यस पंक्तिकारको १० वर्षे यूरोप बसाई अवधिभर कुनै एकजना गोरेले पनी कहिल्यै एई तं बिदेशी वा फलानो भनेर निम्न स्तरको तुच्छ व्यवहार गरेको सम्झना छैन। बरु के बुझेकोछु भने यिनीहरु स्वभावले नै अतिनै सहनशील र सानो तिनो झमेला वा झैँ झगडामा पर्न नचाहने मानशिक्ता लिएका मानिसहरु हुन्। भेड़ा भेडाको बथानमा, बाख्रा बाख्राकै बथानमा भने जस्तै गोरो छालाले गोरेनै बढी मन पराउनु अनि कालो छालाले कालो छालानै बढी मन पराउनु र प्राथमिकता दिनुमा रंगविभेदी मानशिकता र जातिविभेदी मानशिकताले भन्दा पनि स्वजातिय आकर्षणले नै धेरथोर उर्जा पुर्र्याई रहेको हुन्छ। यो प्रकृतिजन्य व्यवहार हो र यो सर्व व्याप्त छ।
कतिपय तेस्रो विश्वका आप्रवासीहरु जस्तै: पाकिस्तान, बंगलादेश, भारत, श्रीलंका, अफ्रिका मानिसहरु त आएको दुई चार महिना मै के सोच्छन् भने यी गोरा छाला भएकाहरु हामीहरुलाई देखनै चाहन्नन्, यिनीहरु रेसिस्ट हुन् इत्यादि! रोजी रोटीको या पढ़ाई लेखाइको सिलसिलामा अर्काको देशमा आएर लामो समयसम्म बस्ने प्राय विदेशीहरू न त उनीहरुको भाषा संस्कृति कै इज्जत गर्छन न त नीतिनियम नै पालना गर्छन्। उदहारणको लागि: लामो समय बिदेश बस्दा पनि स्थानीय जनजीवनमा भिज्न नसक्नु, भिज्न नचाहानु, आफ्नै देशमा हुंदाको फोहोरी बानीहरु, असभ्य बानीहरु नत्याग्नु ! कुनै खैरेले ए भाई चुरोट्को ठूटा भुइंमा हैन त्यों भाँडोमा फाल्ने भन्दा तेरो किन टाउको दुख्यो भन्दै निहुँ खोज्ने खाल्का बिदेशीहरुको जमातले गर्दा पनि सवै बिदेशीहरु उस्तै हुन्छन् भन्ने मानशिकता बढ़ी रहेको छ। कोठा खोज्दा घरपतिले तिमी कुन देशका हौ भनेर सोध्ने सामान्य भै सकेकोछ। उनीहरु विदेशीहरुको अस्वाभाविक र अव्यावहारिक रहनसहन र जीवनशैलीबाट दिक्क देखिएका मात्र हुन्। त्यसलाई सिधै रंगविभेद र जातिविभेदको रंगले रंग्याई हाल्नु उपयुक्त हुँदैन। यदि खैरेहरु रेसिस्टनै हुन् भने पनि उनीहरु रेसिस्ट बन्ने कारक तत्व भनेको तिनै बिदेशीहरुको व्यबहारले हो। तर, युरोपमा भएका अन्य आप्रवासीहरुको तुलनामा नेपाली डायस्पोराले भने कमै मात्र त्यस्तो व्यवहार भोग्नु परेको सुनिन्छ र नेपालीहरुले पनि आजसम्म नेपालको र नेपालीको परिचय जोगाएर राख्न सकेकोछ।
स्वाभाविक रुपमा आफ्नो देश र गाऊं ठाऊको मायाँ बाहिरकालाइ भन्दा त्यही देशका र स्थानका मानिसहरुमा बढ़ी हुने भएपनि आफूले सहारा लिएको देश र जनताप्रति थोरै मायाँ र आदर गरि दिंदा धमिलिँदै गई रहेको बिदेशीहरुको छवि र सम्बन्ध सुध्रिन्थ्यो होला। तर, अब झन झन त्यों तिक्तताको दूरी बढ्दै गई एक राजनितिक र सामाजिक मुद्दासमेत बनी सकेको छ। युरोपका कतिपय देशहरुमा आप्रवासी विरोधी राजनितिक दलहरु सक्रिय र लोकप्रिय हुँदै गईरहेकोछ, बेल्जियममै पनि भ्लाम्स वेलांग भनिने आप्रवासी बिरोधि दल शक्तिशाली हुँदै गैरहेकोछ। भर्खरैमात्र स्विटजरल्यांड जस्तो देशका जनताहरुले मुस्लिम धर्मावलम्बीहरुको “”मीनार” बनाउन नपाउने पक्षमा मतदान गरे जून आफैमा अनौठो र सोचनीय छ।
वास्तवमा गहिरिएर सोच्ने हो भने यस्तो जातिविभेद र रंगविभेदको समस्या पश्चिमा मुलुकहरुमा नभएर हाम्रो आफ्नै देशमा सर्वव्याप्त छ! नत्र १९७२ को बुरुंडी मानव संहार र १९९४ को रुवान्डाको त्यत्रो ठूलो मानव संहार किन भएको थियो ? त्यस बेला करीब पाँचदेखि दश लाखको संख्यामा हुतू र तुत्सी जाति एक आपसमा मारकाट गरेर मारिएका थिए। कतिपय मुस्लिम राष्ट्रहरुमा सुन्नी र शिया समुदायबीच मारकाट चलिरहेछ। भारतमै पन बेला बेलामा ठूला ठूला सांप्रदायिक दंगाहरु भैरहन्छन्। बंगालीले गोर्खाली नेपाली, मद्रासिले यु.पि.कालाई र कुनैले पंजाबीलाई जात जातिको आधारमा गर्ने दुर्व्यवहार अति चरम अवस्थामा छ। देश , धर्म , भाषा संस्कृति र छालाको रंगसम्म एउटै हुँदा पनि त्यस्तो आपसी विद्वेष किन? के त्यों जातिविभेद र रंगवि भेदको निकृष्ट र चरम रुप हैन?
हामी यूरोप अमेरिकामा बस्ने नेपालीहरु आफ्नो कुनै काम सोचे जसरी भै दिएन भने वा कुनै समस्या आई दियो, ढिला सुस्ती भै दियो भने सोझै त्यसलाइ तुरुन्तै जातिवाद्को रंगमा रंगाई दिन्छौ र प्याच्च चोर खैरेहरू… !! स्साला रेसिस्टहरु… !! भनेर आफ्नो रिस र कमजोरीलाई पखालछौं। यदि, त्यही मान्छेबाट त्यों काम भैदिएको भए वाह ! क्या राम्रो मान्छे परेछ क्या देश छ, क्या सिस्टम बनेको छ, हाम्रो देशमा जस्तो हो र ? भनी हाल्छौं तर यहींका वासिन्दाहरु स्वयं पनि कर्मचारीतंत्रबाट कति पीडीत छन् आजित छन भन्ने कुरो बुझ्न चाहिं चाहन्नौ। हामीहरुले भन्दा पनि बढ़ता दुःख पाउने यहिंका खैरेहरु पनि छन्। जे जस्तो कामकुराहरुलाई पनि हामी पहिलो पटक मै शंकास्पद र नकारात्मक रूपले लिन्छौ यो हामीहरुको नानीदेखि लागेको बानी भने झैं भै सकेको छ। जातिभेद र रंगभेदको हामी आफैं कति पक्षपाती छौं ? हामीले काठमांडूको खाली सिसी र कागज किन्ने र आलू गोभी बेच्ने वा केश काटने भाई भैयाहरुलाई कति आत्मियता दर्शाएका थियौं ? सोझा साझा निमुखा गरीब पहाड़ी होस या प्रष्ट नेपाली बोल्न नसक्ने हिमाली, यिनीहरुलाई कहिल्यै गिज्याएका, होच्याएका थिएनौ?
माओवादीहरु भन्ने बितिक्कै प्राय बाहुन क्षेत्री समुदायका नेपाली दाज्यूभाईहरुले कस्तो खाले अनुहार र मानिसहरुको चित्रण गर्छन्? माओवादी आन्दोलन वर्गीय आन्दोलन भए पनि किन जातीय आन्दोलन जस्तो बन्दै गई रहेछ? किन अन्य मंगोल मुलका नेपालीहरु र दलित जातिहरु बढ़ी मात्रामा भावनात्मक रुपमा माओवादी लाई आफू नजिक सम्झनछन् वा उनीहरुप्रति सहानुभूति राखछन्? साम्प्रदायिकता र जातिभेदको रंग सातसमुन्द्र पारीको दूरी पार गरे पनि त्यों किन पखालिएको सम्म पनि छैन? यहाँ पनि हामीहरूले भन्न छाडेका छैनौ कि त्यों बाहून? त्यों नेवार ? ए त्यों भोटे ? मदिशे ? त्यों झापाली, त्यों स्याँग्जाली? त्यों नाक चुच्चे, त्यों नाक थेप्चे ! त्यो कांग्रेसी त्यो एमाले त्यो मावादी !!! बिडम्बना विदेशमै पनि यसरी विभिन्न राजनितिक आस्था, क्षेत्रीयता र जातजातीयताको आधारमा हामीहरु टुक्रा टुक्राहरुमा बिभाजित छौं! एक नेपालीले अर्को नेपालीलाई सिर्फ भाई बंधुत्वको नजरले मात्र हेर्न नसकेसम्म, अन्धो र कट्टर राजनीति अनि जातियताको रडाको नत्यागेसम्म यो समस्या यथावत रहिरहनेछ वा हुन सक्छ यो झनै चर्कँदै जानेछ, जुन नेपाल, नेपालीपन र नेपाली मनको परिचय भने पक्कै हैन!!!
tongmarmendok @gmail .com
Popularity: 15%
December 29th, 2009
युवराज तमू एन्टवेर्पेन, वेल्जियम / एचकेनेपाल डट कम -
तमू ल्होछार हिजो गुरुङ समुदायमा मात्र सिमित थियो। तमूहरुका नजिकका हितैषिहरु र सिमित शुभेच्छुक गैर तमूहरु मात्र यस पर्वमा सहभागी हुन्थे। यस पर्वको सामाजिक सांस्कृतिक महत्तालाई संरक्षण एवं संवर्द्धन गर्न तमूहरुको मात्र पहिलो कर्तव्य हुन जान्थ्यो। तर अहिले समय बदली सकेको छ।
राज्यले तमू ल्होछारलाई राष्टिय पर्वको मान्यता दिएर यसको संरक्षण एवं संवर्द्धनमा सबै नेपाली र राज्य स्वयंको उत्तरदायित्व रहेको घोषणा गरि सकेको छ। यस अवस्थामा संघारमा आईसकेको यस राष्ट्रिय पर्वलाई अहिलेको परिवेशमा के कसरी मनाउन बढि सान्दर्भिक होला भन्ने विषयमा केही धारणा राख्न चाहन्छु।
प्रावास र मुलकका तमू वस्तीहरु अहिले ल्होछारमय भएको छ । मुलूकका तमू संघ संस्थाहरु र डायस्पोराका तमू संगठनहरु पनि समय परिस्थिति र आ आफना गच्छे अनुसार सकेसम्म भव्य तवरले तमू ल्होछार पर्व मनाउन कार्यक्रमको चांजो पांजो मिलाईरहेका छन्। काठमाण्डौ, पोखरालगायतका तमू वस्तिहरु अनि प्रवासमा कतार, मलेसिया, जापान, हङकङ, यूरोप, अमेरिका लगायतका मुलकहरुमा संगठित तमू संघ संगठनहरु तमू ल्होछार भव्य रुपमा मनाउन तयारी गरिरहेका छन्। निश्चय नै यो उल्लासमय वातावरणमा मनाउन लागिएको ल्होछार पर्व तमू समुदायमा मात्र सिमित नरही आम नेपालीकै एक गौंरवमय साँस्कृतिक पर्वको रुपमा स्थापित हुन सकोस भन्नेमा आयोजक प्रतिनिधिहरु सचेत रही यसलाई सकेसम्म व्यापकता प्रदान गरी बढि भन्दा बढि नेपालीहरुको सहभागितामा सम्पन्न हुन सकोस भन्ने तर्फउन्मुख हुनुपर्दछ।
तमू ल्होछार नेपालीहरुको राष्ट्रिय पर्वको रुपमा व्यवस्था भैसके पनि अन्य समुदायले आत्मसात गरि सकेको अवस्था छैन। यसको सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्वलाई अन्य समुदाय माझ पुरयाउन सकिएको अवस्था छैन । राज्यले पहिचान गरि सकेता पनि अहिल्यै राज्यबाट यस पर्वको लागि कुनै छुट्टै कार्यक्रमहरु तय भएका छैनन् । यस अर्थमा अझै केही समय यस पर्वको उत्थान र व्यापकतामा तमू समुदाय नै थप सक्रिय हुनु पर्ने देखिन्छ । चार्डपर्व जति फराकिलो, मनोरन्जन तथा उल्लासमय हुनुको साथ साथै त्यसको सांस्कृतिक र परम्परागत विशेषताहरुको आधारमा र्सवपक्षीय बन्दै जान्छ, त्यहि रुपमा जनप्रिय पनि बन्दै जाने हुंदा समय सापेक्ष तथा जनमानसको आकांक्षा अनुरुप परिमार्जन र विकाश गर्दै जानु पर्ने हुन्छ । ठेलो हान्ने र डोरी तान्ने खेलको साथमा सांस्कृतिक नाचगान, पोशाक प्रदर्शनी र मीठो खानपीन तमू ल्होछारको छुट्नै नहुने कार्यक्रमहरु भैसकेको अवस्था छ । त्यस्तै वालवालिकाको लागि चम्चा दौड, युवतीहरुको लागि सियो धागो दौड अनि आमाहरुको लागि म्युजिकल चियर दौडले पनि अविछिन्न रुपले कार्यक्रममा स्थान पाई रहेको छ । विद्यार्थी वर्गलाई समेटने गरि तमू संस्कृति परम्परामा आधारित रहेर संचालन गरिने हाजिरी जवाफ कार्यक्रमले सवै मुलूकहरुमा क्रमशः स्थान पाउन थालेको छ। धार्मिक गुरुहरुको शान्ति कर्मकाण्डले पनि स्थान पाईरहेको छ भने समाज भित्र विभिन्न विधाहरुमा सफलता हासिल गर्ने र महत्वपूर्ण योगदान पुरयाउने व्यक्ति व्यक्तित्वहरुलाई सम्मान र प्रोत्साहन गर्ने मुख्य अवसर पनि यहि ल्होछारलाई मानिदै आएको छ । समय सापेक्ष महत्वपूर्ण सवालहरुमा वौद्धिक व्यक्तित्वहरुबाट ज्ञान विज्ञानका कुराहरु सुन्ने सुनाउने अवसरको रुपमा पनि यस पर्वमा स्थान दिंदै जान सान्दर्भिक देखिन्छ । यसका अतिरिक्त ल्होछारलाई थप आकर्षण दिन र स्थानीय जनचाहना मुताविक कार्यक्रमका चरणहरु समावेश गर्दै जाने लचिलो निति तमू संघ संस्थाहरुले लिनु पर्ने हुन्छ।
तमू ल्होछार एक प्राकृतिक नियम परिवर्तनको निश्चित समयमा मनाइने पर्व हो । सूर्य उत्तरायणबाट दक्षिणायन तिर जाने क्रमसंगै यसले धरतीमा रहेका वनस्पति जीव जन्तु र मानिसमा पर्ने पर्यावरणीय प्रभावलाई आधार मानेर प्रकृति पूजक तमू पूर्वजहरुबाट समयको परिवर्तन अथवा ल्हो (वर्ग) परिवर्तनको रुपमा ल्होछार मान्ने मनाउने वैज्ञानिक नियमलाई निरन्तरता दिंदै आएको विकसित रुप हो तमू ल्होछार । पौष १५ को मध्य रात पछि आगमन हुने नयां ल्होलाई सुख समृद्धिको सुखद प्रतीकको रुपमा आत्मसात गर्दै आफन्तजन र नेपाली समुदाय विच शुभकामना आदानप्रदान गर्ने अवसर हो तमू ल्होछार । वर्षदिन भरि आफूले गरेका कमी कमजोरी, मन मुटाव, रीस राग र वैमनुस्यतालाई आत्मसात गरी प्रायस्चित गर्ने, आउने दिनहरुमा अझ पवित्र, कर्मठ र अनुशासित हुन गरिने प्रतिवद्धता र आफनो समाज भित्र थप सुसंस्कृत र सुसभ्य रहने अठोट गर्ने महत्वपर्ूण्ा क्षण हो तमू ल्होछार । यस पर्वको पवित्रतालाई संस्थागत गर्दै अन्य समुदायमा यसको सकारात्मक प्रभाव बढाउन पनि तमू संघ संस्थाहरुले हिजोको सांघुरो दायराबाट भोलीको खुला र फराकिलो दायरा तिर अग्रसर हुनु पर्दछ।
तमूहरुको जनसंख्याको वितरणसंगै भौगोलिक भिन्नताको आधारमा तमू संस्कृति र परम्परामा एकरुपता छैन, त्यसलाई यस्तै महत्वपूर्ण् चार्डपर्वको अवसरमा क्रमिक एकरुपता दिंदै जानु पर्दछ । दर्जनौ तमू संघ संस्थाहरुले समयको मागलाई बुझेर ऐतिहासिक रुपमै तमू एकतालाई तात्विक निश्कर्षा पुरयाएर आम तमूहरुको एउटै मात्र तमू संस्था “तमू हृयूल छोज धिं - गुरुङ्ग राष्ट्रिय परिषद” बनेको छ, निश्चय नै यसले क्रमिक रुपमा मुलूक र मुलूक बाहिरका तमू संघ संस्थाहरुका हरेक गतिविधिहरुमा सरोकार राखी अनुगमन र अभिभावकत्व प्रदान गर्नेछ र गर्नु पर्दछ।
अन्तमा, जसरी आज फागु पूणिर्माले एउटा समुदायमा मात्र सिमितता नपाई आम नेपालीमा व्यापकता पाएको छ, त्यसको गाम्भिर्यतालाई आत्मसात गरौं । गाईजात्रा जस्ता निश्चित जातिको संस्कृतिमा आधारित चाड पर्वले जुन व्यापक सहभागिता पाएको छ त्यसको महत्वलाई मनन गरौं। तमू ल्होछारको उपलक्षमा शभकामना आदानप्रदान, सहभागिता तथा सम्पन्न गर्न गराउन तमू समुदायमात्र हैन यसको संरक्षण र संवर्द्धनमा सिंगो नेपाली समुदाय सरिक बनौं। यस बृहद् अभियानलाई अनुकूल वातावरण बनाउंदै जाने र पर्वको सांस्कृतिक तथा पौंराणिक विशिष्टतामा विचलन आउन नदिन खवरदारी गर्ने पहिलो जिम्मेवारी भने तमूहरुकै हो।
तो (बाघ) ल्होको सुखद अवसरमा संसार भरका तमूहरु र नेपाली समुदायमा सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना।
प्रतिक्रियाको लागिः tamuyubaraj@hotmail.com
Popularity: 11%
December 22nd, 2009
Previous Posts