Posts filed under 'Breaking News'

बस दुर्घटनामा ४१ जनाको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
सिन्धुली, २६ असोज । बनेपा-सिन्धुली-बर्दिवास राजमार्गको खुर्कोट-नेपालथोकको रिट्ठेभीरस्थित निर्माणाधिन सडक खण्डमा विहीवार विहान एक यात्रुवाहक बस दुर्घटना हुंदा कम्तीमा ४१ जनाको मृत्यु गएको छ।

बस दुर्घटनामा मृत्यु हुनेहरूमा संजिब कार्की, इश्वर पोखरेल कनपा वर्ष ५, विष्णु कार्की, ३५ रानीवास ६, विवेक बराल,२७ वाशेश्वर ७, मदन श्रेष्ठ,३८ रानीचुरी, २ , यूवराज श्रेष्ठ,२८ वाशेश्वर ७, वीरबहादुर मुदेल,३८, रानीचुरी, ७, पुर्णबहादुर आले ३३ भद्रकाली ३, राजेश ढकाल,६, कनपा ४,खुशबहादुर श्रेष्ठ,१९ भिमेश्वर ८, श्याम विक,१३ कनपा ४, सिंहबहादुर खड्का, ३० उदयपुर ४, यसु जर्घामगर १० तीनकन्या ८, सिता गौतम, ३० डाडीगुराँसे ६,संगिता घनामगर १८, लाम्पान्टार ४,शुशिला विक,२५ कनपा ४, कृतिका श्रेष्ठ,१० धुलीखेल,५, सरोज घनामगर,११, लाम्पान्टार,४, प्रमिला श्रेष्ठ,१२ भिमस्थान,५ राकेश ढकाल, १०,कनपा ४, चन्द्रगोपाल श्रेष्ठ, ३६, धुलीखेल ५, विकास परियार,२५, कनपा ३, प्रेम थापामगर, ३५ भद्रकाली ३, लालबहादुर लुङ्गेलीमगर,३०, रतनचुरा ९, भवानी अधिकारी, ३६ भक्तपुर, अन्जु ढकाल, २७ कनपा वर्ष ५ रहेका छन्।

सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना.३.ख ९४१२ नम्बरको यात्रुवाहक बस रिट्ठे भीरबाट सुनकोसी नदीमा विहान साढे १० बजे खसेको हो। बस रिठ्ठेभीरको सडकदेखि करिब २ सय मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटनाग्रष्त भएको प्रहरीले जनाएको छ।

बसमा करीव ८० जना सवार थिए। बसको छतमाथि रहेका ११ जना यात्रुहरू भने हाम फालेर बाँचेको स्थानीयबासीले बताएका छन्। घटनामा घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ७ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

Recent Videos:

Popularity: 4%

Add comment October 13th, 2011

शेर्पा कलाकारहरूको देशब्यापी साँस्कृतिक कार्यक्रम शुरु

शेर्पा वर्ल्ड / एचकेनेपाल डट कम-
काठमाण्डौ, शेर्पा कलाकार समाज नेपालको आयोजनामा शेर्पा कलाकारहरूको देशब्यापी साँस्कृतिक कार्यक्रम शुरु भएको छ।

“सम्पूर्ण शेर्पाहरुको चाहना शेर्पा स्वायत्त प्रदेशको स्थापना/ सम्पूर्ण शेर्पाहरु एक हौं। हाम्रो कला सँस्कृतिको संरक्षण र सम्बर्द्धनको अभियानलाई सफल पारौ”
भन्ने मूल नाराका साथ शेर्पा कलाकार समाज नेपालले देशब्यापी साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्य शुरु गरेको हो।

शेर्पा कलाकारहरुको क्षमता अभिबृद्धि र बिकास, शेर्पा कलाकारहरुलाई देशब्यापी पहिचान गर्ने र प्रस्तावित शेर्पा स्वायत्त प्रदेश नेपाल निर्माणको लागि साँकेतिक प्रचारको महान उद्धेश्यका साथ समाजले देशब्यापी कार्यक्रम थालिएको आयोजकले जनाएको छ।

नेपाल शेर्पा संघ दोलखा र शेर्पा कलाकार समाजको संयुक्त पहलमा हालै दोलखा जिल्लाको प्रमुख ब्यापरीक केन्द्र जीरी बजारमा बिशाल साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। सभासद तथा समाजसेवी माननीय जीप छिरिङ लामाले प्रमुख अतिथिको भूमिका निर्वाह गर्दै उद्घाटन भएको यस कार्यक्रममा अतिथिहरुमा सभासद आङ दावा शेर्पा, नेपाल शेर्पा संघको अध्यक्ष पेमा छिरी शेर्पा,नेपाल आदीबासी जनजाति महासंघका महासचिव आङ काजी शेर्पा ‘किसान’, नेपाल शेर्पा संघको सल्लाहकार डि. एन. लामा, नेपाल शेर्पा संघको केन्द्रिय सद्स्यहरु लगायत बिभिन्न संघ संस्थाको प्रतिनीधिहरुको उपास्तिती रहेको थियो।

त्यसैगरी, दोलखा जिल्लाको सबै राजनैतिक दलका प्रतिनीधिहरु, दोलखा जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत जिल्लाको प्रमुख ब्यक्ति ब्यक्तित्वहरुले पनि अतिथिको आशान ग्रहण गरेका थिए।

राजधानीबाट जिरी पुगेका शेर्पा कलाकारहरुसहित सयौ शेर्पाहरु जिरी पुगे लगात्तै शुरु भएको यस कार्यक्रममा दोलखा, रामेछाप र सिन्धुपाल्चोकका हजारौ शेर्पाहरुले भरपूर साँस्कृतिक मनोरन्जन लिएका थिए। शेर्पाहरुको मौलिक कला श्याप्रु नृत्यसंगै सुरू भएको उक्त कार्यक्रममा नेपालका राष्ट्रिय स्तरका कलाकारहरु मिङमा शेर्पा,धिरज राई, ए. पी. शेर्पा र शेर्पा कलाकार समाजका कलाकारहरु क्रमश: शेर्पा सोनाम शेर्पा ए’ , सोनाम शेर्पा बि, मिस शेर्पा दावा याङजी शेर्पा,प्रितम शेर्पा, आङ ङिमा शेर्पाका साथै स्थानीय जिरेल कलाकारहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

शेर्पा कलाकार समाजका अध्यक्ष तथा नेपालको पहिलो र चर्चित डि. जे. तन्जिङ शेर्पाको साथ प्रस्तावित शेर्पा स्वायत्त प्रदेशको प्रमुख केन्द्रहरुमा निरन्तर रुपमा एक पछि अर्को गरि साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै जाने उद्धेश्यका साथ शुरुमा दोलाखाको जिरी र त्यसपछि सिन्धुपालचोकको तातोपानी, रामेछाप जिल्लाको भण्डार, सोलुखुम्बु जिल्लाको नाम्चे बजार, भोजपुर जिल्लाको भोजपुर बजार, संखुवा सभा जिल्लाको खाँदबारी बजार हुँदै ईलाम जिल्लामा समेत कार्यक्रम प्रस्तुत गर्ने र अन्त्यमा राजधानी काठमान्डौमा एक भब्य समारोहाको साथ समापन गरिने कुरा शेर्पा कलाकार समाजका अध्यक्ष डि. जे. तेन्जिङ शेर्पाले शेर्पा बताए।

Recent Videos:

Popularity: 5%

Add comment October 9th, 2011

Breaking News: बुद्ध एयरको विमान दुर्घटनाः १९ को मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ८ असोज । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको विमान आइतवार बिहान ललितपुरको पहाडी क्षेत्रमा दुर्घटनाग्रष्त भएको छ।


दुर्घटनास्थल। तस्बिरः एएफपी

ललितपुरको बिशंखुनारायण र लामाटार गाविसको सीमानामा पर्ने कोटडाँडामा विमान दुर्घटना हुंदा १९ जनाको मृत्यु भएको छ।

माउन्टेन फ्लाइटको लागि उडेको बुद्ध एयर बिहान करीव सवा ७ बजे दुर्घटनाग्रस्त भएको हो।

बिमानमा १० जना भारतीय, ३ युरोपेली, ३ जना नेपाली र चालक दलका ३ सदस्यसहित १९ यात्रु सवार थिए। नाइन एन- एइके बीचक्राफ्टलाई क्याप्टेन जीवी ताम्राकार र पद्मा अधिकारीले उडाएका थिए भने एयर होस्टेस अस्मिता श्रेष्ठ थिइन्।

दुर्घटनामा मृत्यु हुनेहरूमा भारत तमिलनाडुका पंकज मेहता, छाया मेहता, एच डी नागराज, एल नागराज, आई नागराज, एस नागराज, डी. तालोसुब्रिसम, डीपी तालोसुब्रिसम, नागराजा तालोसुब्रिसम र पी तालोसुब्रिसम रहेका छन्। नेपाली यात्रुहरूमा शारदा कर्माचार्य, जगजन कर्माचार्य र निराजन कर्माचार्य रहेका छन्। त्यसैगरी, विदेशी यात्रुमा एन्ड्रे वेड (अमेरिका) , मिस जेजिना तोशिनोरु (जापान) र मिस नाताली नेइलन (अमेरिका) रहेका छन्।

दुर्घटनापछि स्थानीय र प्रहरीको उद्धार टोली दुर्घटनास्थल पुगेको छ। दुर्घटनास्थलमा १८ जनाको शव भेट्टिएको छ भने एक जना गम्भीर घाइते अवस्थामा भेट्टिएका थिए। घाइते ३६ वर्षीय निराजन कर्माचार्यको पनि उपचारको लागि अस्पतालमा लैजादै गर्दा बाटोमा मृत्यु भएको छ।

स्थानीय प्रत्यदर्शीका अनुसार ठूलो आवाजका साथ विमान जमिनमा झरेको थियो। विमान टुक्राटुक्रा भएपनि कम उचाइबाट विमान दुर्घटना भएको हुंदा शवहरू सग्लै रहेका छन्। विमान स्थानीय हरि अधिकारीको घर छेउ जोतिएको थियो।

बाक्लो हुस्सु, खराब मौसम तथा कम उचाईमा उडेका कारण विमान दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। बुद्ध एयरको १४ वर्षको उड्डयन इतिहासमा मानविय क्षतिसहित विमान दुर्घटनाग्रष्त भएको यो पहिलो पटक हो।

विमान दुर्घटनाको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Popularity: 5%

Add comment September 25th, 2011

प्रधानमन्त्रीले राजीनामा दिए

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति रामवरण यादवसमक्ष आज राति राजीनामा पत्र बुझाएका छन्। प्रधानमन्त्री भएको छ महिना नौ दिनपछि उनले राजीनामा दिएका हुन्।

शान्ति प्रक्रियामा महत्त्वपूर्ण प्रगति नभए साउन २८ गते राजीनामा दिने घोषणा उनले १५ दिनअघि नै गरेका थिए। त्यही अनुसार हिजो उनले राजीनामा नदिए पनि एक दिन ढिला आज राजीनामा दिएका हुन्।

राजीनामापछि पनि कामचलाउ सरकारको रुपमा उनको मन्त्रिमण्डलले अर्को सरकार नबनेसम्म काम गरी रहनेछ।

नेपालको अन्तरिम संविधान २०६३ अनुसार राष्ट्रपतिले अब पहिले सहमतीय सरकारका लागि मिति तोकेर प्रस्ताव ल्याउन आग्रह गर्नेछन्। त्यो मितिसम्म कुनै प्रस्ताव नआए बहुमतीय सरकारका लागि उनले व्यवस्थापिका संसदमा पठाउने छन्। संसदमा बहुमत ल्याउने नेता देशका ३५ औँ प्रधानमन्त्री हुनेछन्।

Popularity: 5%

Add comment August 14th, 2011

आफ्नो रेकर्ड आफै तोडेर आपा २१ औँ पटक सगरमाथा पुगे

एचकेनेपाल डट कम संवाददाता-
प्रख्यात सगरमाथा आरोही आपा शेर्पाले आज बिहान अर्को विश्व कीर्तिमान राखेका छन्। २१ औँ पटक सगरमाथा आरोहण गरी उनले आफैले राखेको विश्व कीर्तिमान तोडेका हुन्।

यो क्रम उनले ११ औँ पटक सगरमाथा चढ्दादेखि जारी राखेका हुन्।

हिजो राति १० बजेदेखि सगरमाथाको अन्तिम आधार शिविरबाट उनले यात्रा थालेका थिए। यसअघि शनिबार मौसमको खराबी कारण उनले आफ्नो यात्रा स्थगित गरी क्याम्प २ फर्केका थिए।

Popularity: 9%

Add comment May 11th, 2011

सुशील कोइराला काँग्रेस सभापतिमा निर्वाचित

सुशील कोइराला काँग्रेस सभापतिमा निर्वाचित
एचकेनेपाल डट कम-
नेपाली काँग्रेसको सभापति पदमा कार्यवाहक सभापति सुशील कोइराला निर्वाचित भएका छन्। कोइरालाले खसेको ३०३७ मतमध्ये १६५२ मत, उनका निकट प्रतिस्पर्धी वरिष्ठ नेता शेरवहादुर देउवाले १३१७ मत र भीमबहादुर तामाङले मात्र ७८ मत प्राप्त गरेका छन्।

नेपाली काँग्रेसको १२ औं महाधिवेशनबाट कोइराला आगामी चार वर्षका लागि सभापति पदमा निर्वाचित भएका हुन्। त्यागी नेताका रूपमा चिनिएका कोइरालाले स्व. गिरिजाप्रसाद कोइराला अस्वस्थ भएपछि कार्यवाहक सभापति भएर पार्टी नेतृत्व गरेका थिए। ४० वर्षदेखि काँग्रेसी राजनीतिमा प्रवेश गरेका ७१ वर्षीय अविवाहित कोइराला ३८ सालदेखि केन्द्रीय समितिमा थिए।

मतगणना जारी ….
एचकेनेपाल डट कम-
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् केन्द्रीय सदस्य चयनका लागि भएको मतदानपछि सभापति पदको मत गणना सुरू भएको छ। मतगणना कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ। सभापति पदको लागि पहिलो चरणमा ५० प्रतिशत मत ल्याउने उम्मेदवार विजयी बन्नेछन्। कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरे पुनः अर्को निर्वाचन हुनेछ। सभापतिको उम्मेदवारमा सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ रहेका छन्।

मतदान सम्पन्न, मतगणना केही बेरमा
एचकेनेपाल डट कम-
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् केन्द्रीय सदस्यहरूको मतदान कार्य सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार ६४ जना केन्द्रीय समितिको पदाधिकारी चयनका लागि भएको मतदानमा ३ हजार ३७ मत खसेको छ। मतगणना साढे ९ बजे सुरू हुने छ। चरणमा सभापति पदको मतगणना हुने निर्वाचन समितिले जनाएको छ।

काँग्रेस नेतृत्व चुन्न मतदान हुँदै
एचकेनेपाल डट कम-
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् केन्द्रीय सदस्यहरूको लागि मङ्गलबार बिहानदेखि निर्वाचन प्रक्रिया जारी छ। बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा मतदान भैरहेको छ।

कुल ८५ सदस्यीय नयाँ कार्यसमितिमा एक सभापति, एक महामन्त्री, एक कोषाध्यक्ष र सदस्यका लागि निर्वाचन हुँदैछ।

खुलातर्फको २५ सदस्य, अञ्चलतर्फ १४ र महिला, दलित, आदिवासी जनजाति, मधेसी र मुस्लिमतर्फका गरी ६१ सदस्य र पदाधिकारी तीन गरी कुल ६४ पदको लागि निर्वाचन हुँदैछ।

मतदानमा करीव डेढसय स्वयंसेवक परिचालन गरिएका छन्। एउटा मतदाताले तीनवटा बुथमा पुगेर नौ वटा बेग्लाबेग्लै मतपत्रमार्फत मतदान भैरहेको निर्वाचन समितिका अधिवक्ता वासुदेव आचार्यले बताउनुभयो। समावेशी कोटा अन्तर्गतका मतपत्रका रङ्ग फरकफरक छन्।

सभापति, महामन्त्री र कोषाध्यक्ष, खुला, अञ्चल र समावेशी कोटाअन्तर्गत दलित, महिला, मधेसी, जनजाति र मुस्लिमतर्फ बेग्लाबेग्लै गरी नौ मतपत्र रहेको पनि अधिवक्ता आचार्यले जानकारी दिनुभयो।

असोज १ गतेदेखि काठमाडौँमा सुरु भएको काँग्रेसको १२ औँ महाधिवेशनमा २४० निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशीस्थित जनसम्पर्क समितिका गरी ३ हजार ८८ महाधिवेशन प्रतिनिधिले भाग लिएका छन्।

मतदान सम्पन्न हुनासाथ मतगणना गरिने कार्यक्रम छ। सभापतिको मतगणना प्रज्ञा प्रतिष्ठानमै हुनेछ।

Popularity: 7%

Add comment September 21st, 2010

जीप दुर्घटनामा ९ को मृत्यु/ ७ घाइते

एचकेनेपाल डट कम संवाददाता-
नवलपरासीको बुलिङ्टारबाट दलदले जाँदै गरेको जीप शनिवार विहान दुर्घटना हुंदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा ७ जना घाइते भएका छन्।

मृत्यु हुनेहरूमा बुलिङटार गाविसका लीलप्रसाद रानाभाट, उनका १० वर्षीय नाती सौरभ रानाभाट र बुलिङटार ७ का जानीटार मगर रहेका छन्। अरू ६ जनाको सनाखत हुन सकेको छैन।

लु.१.ज १८३८ नम्बरको जीप चिप्लो कच्ची सडकबाट एक सय फिट तल खसेको बताइन्छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दलदलेबाट २० किमि टाढा ग्रामीण भेग अर्खलाको सुक्खा खोलामा दुर्घटना भएको हो। ग्रामीण भेग भएकाले स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधिको अभावले उपचारमा कठिनाई परेको छ। घाइतेहरूको उपचारको लागि स्थानीयबासीले बजारतर्फ ल्याएका छन्।

Popularity: 8%

Add comment July 31st, 2010

Breaking News: विश्वकपमा स्पेनको ऐतिहासिक जित

एचकेनेपाल डट कम-
जुलाई ११ आइतवार-
Netherlands 0 : 1 Spain
स्पेनले पहिलो पटक विश्वकप जितेर इतिहास रचेको छ। स्पेनले अतिरिक्त समयमा नेदरल्याण्डलाई शून्यको विरूद्ध एक गोलले पराजित गर्दै ‘२०१० फिफा विश्व कप’को च्याम्पियन बनेको हो। स्पेनका आन्द्रेज इनिएस्‍टाले ११६ औं मिनेटमा गरेको गोल नै निर्णायक तथा ऐतिहासिक गोल सावित भयो। विश्व कपको इतिहासमा नेदरल्याण्डले उपविजेतामा चित्त बुझाउनु परेको यो तेस्रो पटक हो। उसले सन् १९७४ र १९७८ मा पनि उपविजेतामा चित्त बुझाउनु परेको थियो।

***विचार तथा प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्***

जुलाई १० शनिवार-
Uruguay 2 : 3 Germany
फिफा विश्व कप २०१० प्रतियोगितामा जर्मनीले तेस्रो भएर कास्य पदक जितेको छ। जर्मनीले उरेग्वेलाई ३-२ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो। सन् १९५४, १९७४ र १९९० गरी तीन पटक विश्व कप जितेको जर्मनीले यस पटक तेस्रो स्थानमा चित्त बुझाएको छ। यसअघि, पनि सन् १९३४, १९७० र २००६ मा जर्मनीले तेस्रो स्थानमा चित्त बझाएको थियो।

विश्व कपको भबिष्यबाणी गरेर चर्चित बनेका अक्टोपस पाउलले यो खेल जर्मनीले जित्ने गरेको अनुमान सही सावित भएको छ। अक्टोपसले फाइनल खेलमा स्पेनको जित हुने अनुमान लगाएको छ।

जुलाई ७ बुधवार-
Germany 0 : 1 Spain
स्पेनद्वारा जर्मनी १-० ले पराजित भएको छ। स्पेनका कार्लेस पुयोलले ७३ औं मिनेटमा गरेको एक गोलले नै स्पेनलाई फाइनल चरणमा पुर्र्याएको हो। स्पेनले जुलाई ११ तारिख नेदरल्याण्डसंग विश्व कपको लागि अन्तिम पटक प्रतिस्पर्धा गर्ने छ। तीन पटक विश्व कप विजेता जर्मनीलाई पराजित गर्दै स्पेन पहिलो पटक विश्व कपको फाइनलमा प्रवेश गरेको हो।

जुलाई ६ मंगलवार-
Uruguay 2 : 3 Netherlands
उरूग्वेलाई २-३ ले पराजित गर्दै नेदरल्याण्ड फाइनलमा प्रवेश गरेको छ। नेदरल्याण्डले बुधवार हुने खेलका विजेता टिमसंग विश्व कप जित्नको लागि प्रतिस्पर्धा गर्ने छ। त्यसै गरी, उरूग्वेले बुधवार हुने खेलका पराजित टिमसंग तेस्रो स्थानको लागि भिड्ने छ।

जुलाई ३ शनिवार-
विश्व कपको सेमिफाइनलमा उरूग्वे, नेदरल्याण्ड, जर्मनी र स्पेन पुगेका छन्। विश्व कपका दावेदार मानिने चर्चित तथा मजबुत टिमहरूका सपना चक्नाचुर पार्दै यि टिमहरू सेमी फाइनलमा प्रवेश गरेका हुन्। उरूग्वे र नेदरल्याण्डबीच मंगलवार र जर्मनी र स्पेनबीच बुधवार राति आमने सामने हुंदैछ।

Paraguay 0 : 1 Spain
स्पेनद्वारा पाराग्वे पराजित। स्पेनका डेविड बिलाले खेलको ८३ औं मिनेटमा गरेको एक गोल नै निर्णायक गोल बन्यो। स्पेनले सेमीफाइनलमा प्रवेश पाएको छ भने पाराग्वे विश्व कप प्रतियोगिताबाट बाहिरिएको छ।

Argentina 0 : 4 Germany
अर्जेन्टिना ०:४ ले जर्मनीसंग पराजित भएको छ। यो पराजयसंगै अर्जेन्टिना विश्व कपबाट बाहिरिएको छ। जर्मनीका कान्छा खेलाडीहरूले गरेको चमात्कारी गोलहरूका कारण जर्मनीले सेमीफाइनलमा शानदार प्रवेश पाएको छ। क्वाटर फाइनलमा जर्मनीसंग भएको खेलमा अर्जेन्टिनाले एक गोल पनि गर्न नसकी लज्जास्पद पराजय भोगेको छ। अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक विश्व कप र जर्मनीले १९५४, १९७४ र १९९० मा गरी तीन पटक विश्व कप जितेका थिए।

जुलाई २ शुक्रवार-
Uruguay 4:2 Ghana (PSO)
उरूग्वेद्वारा घाना ४-२ ले पराजित। यो जितसंगै उरूग्वे सेमी फाइनलमा प्रवेश गरेको छ भने घाना विश्व कपबाट बाहरिएको छ। दुबैतर्फबाट एक/एक गोलको बराबरीमा खेल टुङ्गिएपछि थप गरिएको अतिरिक्त समयमा निर्णायक गोल हुन सकेन। पेनाल्टी सूट आउटमा घानाले तीन गोल गुमाउंदा उरेग्वेसंग पराजित भोग्नु परेको थियो।

Netherlands 2:1 Brazil
नेदरल्याण्डद्वारा ब्राजिल २-१ ले पराजित भएको छ। यो जितसंगै नेदरल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ भने पाँच पटक विश्व कपको उपाधि जितेको ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ। ब्राजिलका फिलिप मेलोले ५३औं मिनेटमा गरेको आत्मघाती गोल नै ब्राजिल पराजितको कारण बन्यो। ब्राजिलका रोबिनोले १० औं मिनेटमा नेदरल्याण्डविरूद्ध पहिलो गोल गरेका थिए। नेदरल्याण्डका स्नेजदरले ६८ औं मिनेटमा गोल गरी नेदरल्याण्डलाई जित दिलाएका थिए।

जुन २९ मंगलवार-
Spain 1:0 Portugal
स्पेनद्वारा पोर्चुगल १-० ले पराजित भएको छ। स्पेन अन्तिम ८ मा प्रवेश गरेको छ भने पोर्चुगल विश्व कप प्रतियोगिताबाट बाहिरिएको छ। स्पेनका डेबिड बिलाले ६३ औं मिनेटमा पहिलो गोल गरी स्पेनलाई क्वाटर फाइनलमा पुराएका हुन्।

Paraguay 5:3 Japan (PSO)
पाराग्वेद्वारा जापान ५-३ ले पराजित भएको छ। पेनाल्‍टी शूट आउटमा पाराग्वेले जापानमाथि विजय हासिल गरेको हो। पेनाल्टी हान्ने जापानका एक खेलाडीले गोल गर्न नसकेपछि जापान ५-३ ले पराजित भएको हो। यो खेलसंगै पाराग्वे विश्व कपको क्वाटर फाइनल तथा अन्तिम ८ मा प्रवेश गरेको छ भने जापान विश्व कप प्रतियोगिताबाट बाहिरिएको छ। पाराग्वेले विश्व कपको क्वाटर फाइनलमा प्रवेश पाएको यो पहिलो पटक हो। जापानको हारसंगै एसियाली मुलुकबाट विश्व कपको क्वाटर फाइनलमा पुग्ने सपना सकिएको छ।

जुन २८ सोमवार-
Brazil 3:0 Chile
फिफा रेङ्किङको शीर्ष स्थानमा रहेका ब्राजिलले १८ औं स्थानमा रहेका चिलीलाई ३-० ले पराजित गरेको छ। यो विजयसंगै ब्राजिल क्वाटर फाइलनमा प्रवेश गरेको छ भने चिली विश्व कप प्रतियोगिताबाट बाहिरिएको छ। क्वाटर फाइनलमा प्रवेशका लागि अहिलेसम्म ६ वटा खेलहरू भइसकेका छन्। क्वाटर फाइलनमा प्रवेश गर्ने टिमहरूमा उरूग्वे, घाना, अर्जेन्टिना, जर्मनी, नेदरल्याण्ड र ब्राजिल रहेका छन्।

Netherlands 2:1 Slovakia
नेदरल्याण्डद्वारा स्लोभाकिया २-१ ले पराजित। नेदरल्याण्ड क्वाटर फाइनलमा प्रवेश, स्लोभाकिया विश्व कपबाट बाहिर। नेदरल्याण्डका रोबिनले १८ औं र स्नीजदरले ८४ औं मिनेटमा गोल गरी नेदरल्याण्डलाई जित दिलाए। खेलको समय सकिएर बाँकी इन्जुरी समयको खेलमा स्लोभाकियाका भिटेकले एक पेनाल्टी गोल लगाएका थिए।

जुन २७ आइतवार-
Argentina 3:1 Mexico
अर्जेन्टिनाद्वारा मेक्सिको ३-१ ले पराजित। अर्जेन्टिना क्वाटर फाइनलमा प्रवेश, मेक्सिको विश्व कप प्रतियोगिताबाट बाहिर।

Germany 4 : 1 England
जर्मनीद्वारा इन्ग्ल्याण्ड ४-१ ले पराजित। जर्मनी क्वाटर फाइनलमा प्रवेश, इन्ग्ल्याण्ड विश्व कपबाट बाहिर। जर्मनीका क्लोसले २० औं मिनेटमा पहिलो गोल गरेर खाता खोलेका थिए। जर्मनीका पोडोलस्‍कीले ३२ औं मिनेटमा दोस्रो गोल र मुलरले ६७ र ७० औं मिनेटमा दुई गोल गरी चार पुर्र्याए। इन्ग्ल्याण्डको तर्फबाट अप्‍सोनले ३७ औं मिनेटमा गोल गरेपनि गोल संख्या बढ्न सकेन।

तपाई कसको पक्षमा हुनुहुन्छ प्रतिक्रिया दिन नभुल्नु होला। प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्

जुन २६ शनिवार-
United States 1 : 2 Ghana
घानाद्वारा अमेरिका २-१ ले पराजित भएको छ। घाना क्वाटर फाइनलमा प्रवेश गरेको छ भने अमेरिका विश्व कपबाट बाहिरिएको छ।
Uruguay 2 : 1 South Korea
उरूग्वेद्वारा दक्षिण कोरिया २ - १ ले पराजित भएको छ। यस खेलको जितसंगै उरूग्वे विश्व कप २०१० को क्वार्टर फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। उरूग्वेका लुइस सुरेजले दक्षिण कोरियाविरूद्ध ८ र ८० औं मिनेटमा दुई गोल गरे। दक्षिण कोरियाका चुङयोङले ६८ औं मिनेटमा एक गोल गरेका थिए। उरूग्वेद्वारा पराजित दक्षिण कोरिया विश्व कपबाट बाहिरिएको छ।

जुन २५ शुक्रवार-
Chile 1 : 2 Spain
Switzerland 0 : 0 Honduras
स्पेन र चिली ग्रुप ‘एच’ बाट ६ को बराबरी अंकसहित अन्तिम १६ मा प्रवेश गरेका छन्। स्वीट्जरल्याण्ड र होण्डुरस विश्व कपबाट बाहिरिए। अन्तिम १६ मा प्रवेशका लागि भएको खेलमा स्पेनले चिलीलाई २-१ पराजित गरेका छन् भने स्वीट्जरल्याण्ड र होण्डुरसबीचको खेल विना गोल बराबरीमा टुङ्गिएको छ।

Portugal 0 : 0 Brazil
North Korea 0 : 3 Côte d’Ivoire
पोर्चुगल र ब्राजिलबीच भएको खेल विना गोल टुङ्गिए पनि दुबै टिम ग्रुप ‘जी’ बाट अन्तिम १६ मा प्रवेश गरेका छन्। उता, आइभरी कोस्टले उत्तर कोरियालाई 0-3 ले पराजित गरेका छन्। ग्रुप ‘जी’ मा क्रमशः तेस्रो र चौंथो स्थानमा रहेका आइभरी कोस्ट र उत्तर कोरिया दुबै टिम विश्व कपबाट बाहिरिएका छन्।

विश्व कपबारे आफ्नो विचार तथा प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्

जुन २४ विहीवार-
Cameroon 1 : 2 Netherlands
Denmark 1 : 3 Japan
जापानले डेन्मार्कलाई र नेदरल्याण्डले क्यामरूनलाई पराजित गर्दै ग्रुप ‘ई’ बाट अन्तिम १६ मा प्रवेश पाएका छन्। पराजित दुबै डेनमार्क र क्यामरून विश्व कपबाट बाहिरिएका छन्।

Slovakia 3 : 2 Italy
Paraguay 0 : 0 New Zealand
स्लोभाकियाद्वारा ३-२ ले पराजित भएको इटाली विश्व कपबाट बाहिरिएको छ। चार पटक विश्व कप उपाधि जितेको इटालीले पछिल्लो पटक २००६ मा समेत विश्व कपको उपाधि जितेको थियो। शक्तिशाली टिम फ्रान्स विश्व कपबाट बाहिरिएपछि आश्चर्यमा परेका फुटबल प्रेमीहरू इटाली बाहिरिएपछि झन आश्चर्यमा परेका छन्। स्लोभाकिया इटालीलाई पराजित गर्दै ग्रुप ‘एफ’ बाट अन्तिम १६ मा पुगेको छ। त्यसै गरी, पारागुवे र न्यूजिल्याण्डबीच भएको खेल बराबरीमा टुङ्गिएपनि पारागुवे शीर्ष अंकसहित अन्तिम १६ मा प्रवेश गरेको छ।

जुन २३ बुधवार-
Ghana 0 : 1 Germany
Australia 2 : 1 Serbia
जर्मनी घानालाई पराजित गर्दै दोस्रो चरण (अन्तिम १६) मा प्रवेश गरेको छ। यद्दपि, घाना हारेर पनि अंकको आधारमा दोस्रो चरणमा प्रवेश।

United States 1 : 0 Algeria
Slovenia 0 : 1 England
इन्ग्ल्याण्डले स्लोभानिया र अमेरिकाले अल्जेरियालाई एक एक गोलले पराजित गरी अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित पारेका छन्।

विश्व कपबारे आफ्नो विचार तथा प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्

जुन २२ मंगलवार-
Nigeria 2 : 2 South Korea
Greece 0 : 2 Argentina
दक्षिण कोरिया र अर्जेन्टिना दोस्रो चरणमा प्रवेश।

France 1 - 2 South Africa
Mexico 0 - 1 Uruguay
सन् १९९८ मा विश्व कप विजेता बनेको फ्रान्सको २०१० फिफा विश्व कपबाट मंगलवार लज्जास्पद विदाई भएको छ। फ्रान्सलाई पराजित गरेपनि आयोजक राष्ट्र दक्षिण अफ्रिकाले दोस्रो चरणमा प्रवेश पाउन सकेन। विश्व कपबाट पहिलो चरणबाटै बाहिरिएको आयोजक राष्ट्र दक्षिण अफ्रिका बनेको छ। यस खेलमा मेक्सिको उरूग्वेसंग पराजित भए पनि समूह ‘ए’मा प्रथम भएर उरुग्वे र दोस्रो भएर मेक्सिकोले दोस्रो चरणमा प्रवेश पाएका छन्।

विश्व कपबारे आफ्नो विचार तथा प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्

जुन २१ सोमवार-
Spain 2 : 0 Honduras (FT)
स्पेनद्वारा होण्डुरस पराजित। स्पेनका डेभिड भिलाद्वारा १७ र ५१ औं मिनेटमा गोल।

Chile 1 : 0 Switzerland (FT)
चिलीद्वारा स्वीट्जरल्या्णड १-० ले पराजित। चिलीका गोंजालेजद्वारा ७५औं मिनेटमा गोल।

Portugal 7 :0 North Korea (FT)
पोर्चुगलद्वारा उत्तर कोरिया ७-० ले पराजित। फिफा विश्व कप २०१० मा हालसम्मकै सर्वाधिक गोल पोर्चुगलद्वारा।

जुन २० आइतवार-
Brazil 3 : 1 Côte d’Ivoire - (FT)
ब्राजिलद्वारा आइभरी कोस्ट ३ - १ ले पराजित। ब्राजिल दोस्रो चरणमा प्रवेश।
Italy 1 : 1 New Zealand (FT)
Slovakia 0 : 2 Paraguay (FT)

तपाईंलाई कुन देशले विश्व कप जित्ला जस्तो लागेको छ? प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्

जुन १९ शनिवार-
Cameroon 1 : 2 Denmark (FT)
डेनमार्कद्वारा केमरून २ - १ ले पराजित। केमरूनको अथक प्रयाश डेनमार्कको अगाडि विफल सावित। केमरूनका कप्तान समुएल इटूद्वारा १०औं मिनेटमा पहिलो तथा अन्तिम गोल। केमरूनविरूद्ध डेनमार्कका निकलस बेंडनर ३३ र डेनिस रोमिदलद्वारा ६१औं मिनेटमा गोल।

Ghana 1 : 1 Australia (FT)
अष्ट्रेलियाका ब्रेट होलमनद्वारा ११औं मिनेटमा गोल। २५औं मिनेटमा घानाका अस्मोह ग्यानद्वारा पेनाल्टी गोल। बराबरीमा खेलको अन्त्य।
Netherlands 1 : 0 Japan (FT)
नेदरल्याण्डद्वारा जापान पराजित। नेदरल्याण्डका वेस्ली स्नेजदारद्वारा ५३औं मिनेटमा गोल।

जुन १८ शुक्रवार-
England 0 : 0 Algeria (FT)
बिना गोल खेलको अन्त्य, दुबै तर्फबाट गोल हुन सकेन। इंगल्याण्डलाई ठूलो झड्का। प्रि क्वाटर फाईनलमा प्रवेश पाउन सोल्भेनियालाई पराजित गर्नै पर्ने।
Slovenia 2 : 2 United States (FT)
अमेरिका र स्लोभानियाबीच खेल बराबरी। दुबैको गोल संख्या २/२। स्लोभानियाका भल्टार विर्सा र लुविआनिकद्वारा अमेरिकाविरूद्ध क्रमशः १३ र ४२औं मिनेटमा गोल। अमेरिकाका लेण्डन डोनोभान र माइकल ब्राड्लीद्वारा स्लोभानियाविरूद्ध मध्यान्तरपछि ४८ र ८२औं मिनेटमा गोल।
Germany 0 : 1 Serbia (FT)
सर्बियाका मिला जोभानोभिकद्वारा ३८औं मिनेटमा पहिलो गोल। जर्मनीका मिर्स्लभ क्लोसलाई रातो कार्ड। तीन पटकसम्म विश्व कप विजेता बनेको जर्मनी सर्वियासंग ०-१ ले पराजित। जर्मनी यो चरणमा पराजित भएको सन् १९८६ पछि पहिलो पटक हो। त्यस बेला जर्मनी डेनमार्कसंग पराजित भएको थियो।

जुन १७ विहीवार-
France 0 : 2 Mexico (FT):
रेफ्रीको गलत निर्णयका कारण मेक्सीकोद्वारा फ्रान्स २-० ले पराजित। अन्तर्राष्ट्रिय खेलमा फ्रान्समाथि मेक्सीकोको पहिलो विजय। मेक्सीकोसंग पराजित फ्रान्स सन् १९९८ विश्व कप विजेता हुन्।
Greece 2 : 1 Nigeria (FT)
Argentina 4 : 1 South Korea (FT):
अर्जिन्टिनाका खेलाडी गोन्जालो हाइगुनद्वारा ह्याट्रिक। पार्क चू योंगको आत्मघाती गोल। कोरियाको तर्फबाट लि चूंग योंगद्वारा एक गोल मात्र।

जुन १६ बुधवार-
South Africa 0 : 3 Uruguay (FT) : दुई पटक विश्व कप जितेको उरूग्वेद्वारा आयोजक राष्ट्र दक्षिण अफ्रिका ३-० ले पराजित।
Spain 0 : 1 Switzerland- (FT)
Honduras 0 : 1 Chile - ( FT)

जुन १५ मंगलवार-
Brazil 2 - 1 North Korea - FT:
पाँचौं पटक विश्व कप जितेको ब्राजिलको उत्तर कोरियासंग कडा सामना। ब्राजिलले मध्यान्तरअघि उत्तर कोरियामाथि दबाव दिएपनि कुनै गोल गर्न असमर्थ। ब्राजिलका माइकोनले मध्यान्तरपछि ५५औं मिनेटमा गोल गरेर अग्रता लिएपछि फ्लानोले ७२औं मिनेटमा थप एक गोल। खेल सकिनै लाग्दा उत्तर कोरियाका जे. युन नामद्वारा ८९औं मिनेटमा ब्राजिलविरूद्ध एक गोल। ब्राजिलका माइकन म्यान अफ दि म्याच।
Côte d’Ivoire 0 : 0 Portugal- FT:
New Zealand 1 : 1 Slovakia- FT:

जुन १४-
Italy 1 : 1 Paraguay-FT
Japan 1 : 0 Cameroon-FT
Netherlands 2 : 0 Denmark -FT

जुन १३-
England 1 - 1 USA -FT
Algeria 0 - 1 Slovenia - FT
Serbia 0 - 1 Ghana - FT

जुन १२-
Uruguay 0 - 0 France -FT
South Korea 2 - 0 Greece - FT
South Korea 2 - 0 Greece -FT
Argentina 1 - 0 Nigeria - FT
जुन ११-
South Africa 1 - 1 Mexico - FT
दक्षिण अफ्रिकामा जुन ११ तारिख शुक्रवार सुरू भएको ‘२०१० फिफा विश्व कप’ मा दक्षिण अफ्रिका र मेक्सिको बीचको उद्घाटन खेल बराबरीमा अन्त्य।

फिफा विश्व कप सम्बन्धी संक्षिप्त जानकारीः
सन् १९३० मा पहिलो पटक सुरू भएको ‘फिफा विश्व कप’को १९औं संस्करण दक्षिण अफ्रिकामा सञ्चालन भैरहेको छ। यो खेल जुन ११ तारिखदेखि जुलाई ११ तारिखसम्म सञ्चालन हुने छ।

प्रत्येक चार/चार वर्षको अन्तरालमा हुने विश्व कप फुटबल प्रतियोगिता सन् १९४२ र १९४६ मा भने विश्व युद्धका कारण सञ्चालन हुन सकेन।

विश्व कपको उपाधि ब्राजिलले ५, ईटली ४, जर्मनी ३, अर्जिन्टिना २, उरूग्वे २, फ्रान्स १ र बेलायतले १ पटक जितिसकेका छन्।

तपाईंको ड्रिम टिम र खेलाडी कुन हुन्? प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्। फिफा विश्व कप अफिसियल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

Popularity: 19%

116 comments July 11th, 2010

Breaking News: प्रधानमन्त्री माधवकुमार नेपालद्वारा राजीनामा…

एचकेनेपाल डट कम संवाददाता-
दलहरूबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री माधवकुमार नेपालले बुधवार साँझ राजीनामा दिएका छन्। नेपालले राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन्।

सम्बोधनपछि नेपालले शितल निवास पुगेर राष्ट्रपति रामवरण यादवसमक्ष राजीनामा पत्र बुझाएका छन्।

राष्ट्रपतिले राजीनामा स्वीकृत गरेपछि माधव नेपाल प्रधानमन्त्रीको पदबाट मुक्त हुने छन्। अर्को प्रधानमन्त्री नबनेसम्म नेपाल काम चलाउ सरकारको प्रधानमन्त्री रहने छन्।

गत जेठ १४ गते संविधानसभाको म्याद थप्नुअघि तीन दलबीच राजनीति गतिरोध अन्त्यको लागि प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिने सहमति बमोजिम नेपालले राजीनामा दिएका हुन्।

माधवकुमार नेपालको राजीनामापछि अब को प्रधानमन्त्री बन्लान्? आफ्नो प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्

सम्बोधनको पूर्ण पाठ

आदरणीय दिदी–बहिनी तथा दाजुभाइहरु!

तेह्र महिनाअघि मैले प्रधान मन्त्रीको पद सम्हालेदेखि आजसम्म आइपुग्दा अनेकौं घुम्तीहरु पार भएका छन्। तत्कालीन प्रधान मन्त्रीले राजीनामा गरेपछि उत्पन्न अप्ठ्यारो राजनीतिक परिस्थितिमा २२ राजनीतिक दलको समर्थनमा २०६६ जेठ ९ गते व्यवस्थापिका–संसदबाट म विधिवत् प्रधान मन्त्रीमा निर्वाचित भएको थिएँ। ऐतिहासिक जनआन्दोलनको उपलब्धि लोकतान्त्रिक गणतन्त्रमा सरकार प्रमुखको महत्वपूर्ण जिम्मेवारीलाई मैले देश, जनता र लोकतन्त्रका पक्षमा दृढताका साथ बहन गर्ने इमानदार प्रयास गरेको छु। राजनीतिक आन्दोलनको महाअभियानमा अमूल्य जीवनको आहुति दिने ज्ञात–अज्ञात शहीदहरुप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, आन्दोलनका घाइते र अपाङ्गहरुप्रति ऐक्यबद्धता प्रकट गर्दछु।

शान्ति प्रक्रिया आरम्भ भएपछि राष्ट्रको सर्वोपरी हित तथा नया“ संविधान निर्माण र शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने साझा मूल कार्यलाई सम्पन्न गर्ने न्यूनतम सहमतिका आधारमा सबै सरकार गठन भएका हुन्। तर पनि, ती सबै साझा कार्यहरु सम्पन्न भएका छैनन्। स्वाधीन, सबल, समृद्ध, स्वाभिमानयुक्त र शान्त लोकतान्त्रिक गणतन्त्र नेपाल हाम्रो साझा आकांक्षा र लक्ष्य हो। यसैका लागि हामीले लोकतान्त्रिक सङ्घर्षको लामो र कष्टसाध्य यात्रा गरेका हौं र यस यात्राको क्रममा हामीले गत चार वर्षमा महत्वपूर्ण उपलब्धिहरु पनि हासिल गरेका छौं।

तिनै उपलब्धिको जगमा हाम्रो अग्रगामी यात्रा जारी छ। यद्यपि, यस यात्राका क्रममा देशलाई दिगो शान्तिको मार्गमा अग्रसर गराउन मैले पटक–पटक सहयात्राका लागि संवाद गरेको तथा बाह्रबुँदे सहमति गर्दै ऐतिहासिक जनआन्दोलनमा सहकार्यमा जुटेको एउटा पक्ष हाल असहमति र निषेधको मानसिकतामा रहेको अप्रिय स्थितिको हामीले सामना गरिरहेका छौं। यस्तो अवस्थाबाट देशलाई अविलम्ब मुक्त गर्दै विस्तृत शान्ति सम्झौता र त्यसका आधारमा भएका विभिन्न सहमतिहरुको कार्यान्वयनका लागि सहमति र समझदारीको राजनीतिक यात्रालाई अघि बढाउन हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्दछ। यही कुरालाई आत्मसात् गर्दै मैले सरकारको नेतृत्व गरेदेखि नै संविधानसभामा रहेका सबै राजनीतिक दलहरु, विशेषगरी प्रमुख विपक्षी दलस“ग राष्ट्रिय सवालहरुमा सहमतिका साथ अघि बढ्न निरन्तर प्रयत्न गरेको छु। यद्यपि, यो प्रयास प्रमुख विपक्षी दल एनेकपा (माओवादी) को निरन्तर असहयोग र विरोधका कारण सफल हुन सकेन।

आदरणीय दिदी–बहिनी र दाजुभाइहरु!
देशको असाधारण राजनीतिक अवस्थामा सरकारको नेतृत्व सम्हालेदेखि नै हामीले संसद्देखि सडकसम्म निरन्तर अवरोध, घेराउ, आन्दोलन र आमहडतालको सामना गर्नुपर्‍यो। हाम्रो अनेक प्रयत्न हु“दाहु“दै पनि देशले अवलम्बन गरेको लोकतान्त्रिक प्रणाली र संवैधानिक व्यवस्था अनुरुप सरकार सञ्चालन र प्रतिपक्षको भूमिकाको संयोजन कायम हुन सकेन। राजनीतिक सहमति वा विमतिहरुको समीक्षा र संश्लेषण गर्दै व्यवस्थापिका–संसद्भित्रै सरकार सञ्चालनका सन्दर्भमा विधिवत निर्णय वा निष्कर्ष निकालौं भन्ने हाम्रो मान्यता रह्यो। तर, लोकतान्त्रिक संस्कृति र मान्यताप्रतिका प्रतिबद्धताहरु पालनाको उल्टो हामीले अमर्यादित प्रहार झेल्नुपर्‍यो।

यस्ता प्रहारहरु प्रतिपक्षको कक्षबाट मात्र भएनन्, अनपेक्षित दिशा र स्थानबाट समेत भए। आरम्भदेखि नै सरकारलाई असफल पार्ने अभियान नै चलाइयो। तर पनि, देश र जनताप्रतिको जिम्मेवारीवोध गरी हामीले अविचलित रुपमा आफ्नो कर्तब्य निर्वाह गर्‍यौं। २२ दलको समर्थनमा हामीले सरकार गठनका समयमा तय गरेको साझा सहमतिको न्यूनतम कार्यक्रमका आधारमा नै काम गर्‍यौं। अत्यन्त प्रतिकूल परिस्थितिमा पनि भिन्न राजनीतिक विचार भएका राजनीतिक दलहरुको एकता र सुझबुझको परिणामस्वरुप मेरो नेतृत्वको सरकार १३ महिनासम्म बहुमतका साथ अगाडि बढ्यो र अहिले पनि त्यो बहुमत कायमै छ।

संवेदनशील संक्रमणकालमा देशले रोजेको र खोजेको लोकतन्त्र, दिगो शान्ति तथा मानवअधिकारका पक्षमा हामी दृढतापूर्वक उभिएका छौं। सबै प्रकारका अधिनायकवादी सोच र कार्यहरुका विरुद्ध अविचलित रुपमा क्रियाशील रहँदै दवाव र धम्कीलाई अस्वीकार गरेका छौं। विगत द्वन्द्वकालका पीडाको पुनरावृत्ति हुननदिन संविधान र कानुन अनुरुपका जनअधिकार तथा कानुनी राज्यको रक्षाका लागि पाइला चालेका छौं। शान्ति प्रक्रियालाई प्रमुखता दिँदै माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनःस्थापनाका लागि विशेष समितिलाई क्रियाशील तुल्याउँदै अयोग्य लडाकुहरुलाई शिविरबाट विदा गरिएको तथ्य जगजाहेर छ। शिविरमा रहेका लडाकुहरुको समायोजन र पुनःस्थापना सम्बन्धमा विस्तृत खाकासहितको कार्यतालिका र निर्देशिका तयार गरेर पनि एनेकपा (माओवादी) को असहयोगका कारण यसमा थप प्रगति हासिल हुन नसकेको यथार्थ मैले यहा“ उल्लेख गर्नैपर्दछ।

द्वन्द्वपीडितहरुलाई राहत उपलब्ध गराइएको छ र द्वन्द्वकालमा मारिएकाहरुलाई शहीदको सम्मान प्रदान गरिएको छ। संविधान निर्माणको कामलाई सरकार गठनको विषयसँग जोडेर प्रतिपक्षले संविधानसभाको कार्यप्रक्रियालाई समेत गतिहीन तुल्याएको कुरा यहाँ उल्लेख गर्नुपर्दा मलाई अत्यन्त दुःख लागेको छ। शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन र संविधान निर्माण कार्यलाई सम्पन्न गर्न राजनीतिक दलहरुको सहमति र सहकार्य अत्यावश्यक छ। यसका लागि राजनीतिक दलका नेताहरुको सुझबुझ र समझदारी आवश्यक हुन्छ। यस्तो समझदारी लोकतान्त्रिक र संवैधानिक मान्यतामा आधारित भएर मात्र टिकाउ हुन सक्छ।

तर, यस्तो सहमति र समझदारी एनेकपा (माओवादी) को निषेधको राजनीतिका कारण कायम हुन सकेन। सरकारका तर्फबाट संविधान निर्माणका लागि वातावरण सिर्जना गर्ने कार्यमा हामीले सदैव तत्परताका साथ भूमिका खेलेका हौं। संविधानसभाबाट संविधान निर्माण गर्ने जनताको चाहना र राजनीतिक शून्यता, अस्थिरता र द्वन्द्वको सिर्जनाको खतरालाई ध्यानमा राखी हामीले संविधानसभाको कार्यकाल एक वर्षका लागि बढाउने प्रस्ताव व्यवस्थापिका–संसदमा पेस गरी पारित गराएका छौं।
अनेकौं व्यवधान र चुनौतीहरुको सामना गर्नुपरे पनि हाम्रो कार्यकालमा तुलनात्मक रुपमा शान्ति–सुरक्षाको स्थितिमा उल्लेखनीय सुधार भएको छ।

विशेष सुरक्षा कार्यक्रम अन्तर्गत विभिन्न प्रकारका सङ्गठित अपराध, हिंसात्मक कार्य र राजमार्ग बन्द जस्ता क्रियाकलाप नियन्त्रण गर्नुका साथै सुरक्षा निकायको सुधार, सुदृढीकरण र परिचालनतर्फ विभिन्न कामहरु भएका छन्। राष्ट्रिय सुरक्षा नीतिको तर्जुमा गर्नुका साथै औद्योगिक सुरक्षा बल गठनको सैद्धान्तिक आधार तय भइसकेको छ। राष्ट्रिय परिचयपत्र निर्माणको कामलाई अघि बढाइएको छ। जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, युवा नीति, औद्योगिक नीति, सूचना तथा प्रविधि नीति, शहरी खानेपानी तथा सरसफाई नीति लागू गर्नुका साथै पर्यावरणको रक्षाका लागि विश्वकै ध्यानाकर्षित गर्न सगरमाथाको आधारशिविर कालापत्थरमा मन्त्रिपरिषद्को बैठक आयोजना गरेको कुरा सर्वविदित छ।

राजस्व परिचालनलाई उच्च स्तरमा कायम राख्दै काठमाण्डौं–हेटौंडा द्रूत मार्ग, बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र पोखरामा ठूला हवाई मैदान, मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्ग जस्ता ठूला विकास आयोजनाहरुलाई विशेष जोडका साथ अघि बढाइएको छ। सन् २०११ लाई पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरी पर्यटनको माध्यमद्वारा देशको अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य स्पष्ट गरिएको छ। कृषि, बन, जलस्रोत आदि जस्ता अन्य महत्वपूर्ण क्षेत्रमा स्पष्ट सोच र योजनाका साथ कार्यक्रम अगाडि बढाइएका छन्। जनता आवास, कर्णाली रोजगार, दलित, मुस्लिम महिला तथा कमलरीका लागि शिक्षा र तालिम जस्ता सामाजिक उत्थानका कार्यक्रमलाई महत्वका साथ कार्यान्वयन गरिएको छ।

टेलिफोन सेवाको व्यापक रुपमा विस्तार गरिएको छ। जेष्ठ नागरिक, जेष्ठ र द्वन्द्वपीडित पत्रकारहरुका लागि विशेष कोषको स्थापना र कार्यक्रम लागू गरिएको छ। महिला हिंसाविरुद्ध विशेष कार्यक्रम लागू गर्नुका साथै त्यस प्रयोजनका लागि प्रधानमन्त्री कार्यालयमा छुट्टै एकाईको स्थापना गरिएको छ। विगत एक दशकदेखि निष्क्रिय रहेका कतिपय सरकारी संयन्त्रहरुलाई पुनः सक्रिय तुल्याइएको छ। गणतन्त्र स्तम्भ निर्माण जस्ता केही कार्यहरु भने विभिन्न कारणले तत्काल अघि बढ्न नसकेको र सुशासनको दिशामा हामीले सोचे अनुरुप काम गर्ने स्थिति नरहेको कुरा भन्नुपर्दा मलाई दुःख छ।

विदेश सम्बन्धका क्षेत्रमा नेपालमा जारी शान्ति प्रक्रिया र विकास कार्यको पक्षमा सहयोग जुटाउन तथा राष्ट्रिय हित र गरिमाको अभिबृद्धि गर्न छिमेकी भारत र चीनलगायत विभिन्न मित्र राष्ट्रहरु तथा संयुक्त राष्ट्रसङ्घ समेतका अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरुस“गको सम्बन्धलाई अझ प्रगाढ तुल्याइएको छ। वैदेशिक सहयोगमा दोब्बर बृद्धि भएको छ। यसप्रकार जनताको अपेक्षा र देशको आवश्यकता अनुरुप सरकारले आफ्ना काम–कार्वाही अघि बढाएको कुरा यस अवसरमा स्पष्ट गर्न चाहन्छु।

आदरणीय दिदी–बहिनी तथा दाजु–भाइहरु!
वर्तमान जटिल र संवेदनशील अवस्थामा देश र जनताका हितप्रति पूर्ण प्रतिबद्ध भई विवेकसम्मत पाइला चाल्नुपर्ने हुन्छ। यस्ता पाइलाहरु निश्चय पनि स्थापित र स्वीकृत राजनीतिक प्रणाली र संवैधानिक व्यवस्थाबाट निर्देशित हुनैपर्दछ। सङ्कीर्ण स्वार्थलाई परित्याग गरी वस्तुवादी किसिमले विगत र वर्तमानको समीक्षा गर्दै भविष्यको रेखाङ्कन गर्नुपर्दछ। यस सन्दर्भमा विगतलाई फर्केर हेर्दा जनताको व्यापक सहभागिताबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी माओवादीलाई हिंसाको बाटोबाट शान्तिको मार्गमा ल्याएर विस्तृत शान्ति सम्झौता सम्पन्न गर्ने तथा संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न गर्दै गणतन्त्र नेपालको आधार निर्माण गर्ने जस्ता उपलब्धिको स्मरण हुन्छ।

तर, सँगसँगै उक्त प्रक्रियामा भएका विभिन्न सम्झौता र सहमतिको कार्यान्वयन नहुँदा उत्पन्न जटिल मोडहरुको पनि यतिखेर सम्झना गर्नैपर्दछ। यस सन्दर्भमा एनेकपा (माओवादी) ले स्वयम् सरकारको नेतृत्व परित्याग गर्ने तर अरुमाथि आफूले प्रधानमन्त्रीको पदत्याग गर्नुपरेको दोषारोपण गर्ने, व्यवस्थापिका–संसद्को बैठक झण्डै पा“च महिनासम्म अवरुद्ध गर्ने, आफ्ना बाचाविपरीत बन्द र हड्तालको सिलसिला अगाडि बढाउँदै देशलाई अन्योलग्रस्त तुल्याउने, शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिक मर्यादालाई उल्लङ्घन गर्दै अरुमाथि अमर्यादित र अलोकतान्त्रिक रुपमा प्रहार गर्ने, सधैङ्का लागि परित्याग गर्ने भनिएको जबर्जस्ती चन्दा असुली र धम्की दिने गैरकानुनी काम बन्द नगर्ने, शिविरमा रहेका लडाकुहरुलाई विशेष समितिको मातहतमा ल्याई छ महिनाभित्र समायोजन र पुनःस्थापना गर्ने, कब्जा सम्पत्ति फिर्ता गर्ने र वाईसीएलको अर्ध–सैन्य संरचना भङ्ग गर्ने प्रतिबद्धता पूरा नगर्ने, सत्ता कब्जाको मनस्थिति राखी भ्रम, भय र आतङ्कको माध्यमबाट देश र जनतालाई अनिश्चयको दिशातर्फ धकेल्ने चेष्टा गर्ने, बहुदलीय राजनीति स्वीकार गरेको कुरा गर्ने तर अरु राजनीतिक दलहरुको अस्तित्व स्वीकार नगर्ने जस्ता प्रतिपक्षका बिडम्बनायुक्त व्यवहारबारे यहाँ चर्चा गर्नुपर्दा मलाई तीतो अनुभूति हुन्छ। यस्ता क्रियाकलापहरुको समीक्षा गर्दै एनेकपा (माओवादी) हिंसा, उग्रवामपन्थी उन्माद र सर्वसत्तावादी चिन्तन र क्रियाकलापबाट मुक्त भई लोकतान्त्रिक नागरिक पार्टीमा रुपान्तरित हुने अपेक्षा गरेको छु।

उपर्युक्त पृष्ठभूमिमा, हामीले भरखरै थपेको संविधानसभाको एक बर्षको कार्यकालको अत्यधिक सदुपयोग गरी शान्ति प्रक्रियालाई कसरी सार्थक निष्कर्षमा पुर्‍याउन सक्छौं र नया“ संविधान निर्माणको अभिभारा कसरी कार्यान्वयन गर्न सक्छौ“, कार्यान्वयन हुन बाँकी रहेका सम्झौता र सहमतिलाई कसरी पूरा गर्न सक्छौं, हिंसा र द्वन्द्वका सबै रुपहरुको अन्त्य गर्दै दिगो शान्तिको दिशामा कसरी अगाडि बढ्न सक्छौं, पटक–पटक सहमति गर्ने तर तिनको पालना र कार्यान्वयन नगर्ने प्रवृत्तिलाई हटाउ“दै पारस्परिक विश्वासको सिर्जना कसरी गर्न सक्छौं र जनताबीच राजनीतिक दलहरुप्रतिको विश्वासलाई स्थापित गरी देशमा समृद्धि र स्थिरता कसरी कायम गर्न सक्छौं भन्नेबारेमा गम्भीर हुनैपर्दछ।

यसमा गम्भीर हुँदै देश र जनताप्रतिको जिम्मेवारी बोध गरेर मात्र हामी शान्ति प्रक्रिया र संविधान निर्माणमा रहेका विमति र अन्तरविरोधहरुको समाधान गर्न सक्छौं। सहमतिको वातावरण नहुँदा देश र जनताले हानी मात्र ब्यहोर्नुपर्ने कुरामा दुई मत हुन सक्दैन। यस्तो यथार्थलाई मनन गरी द्वन्द्व, निषेध, बन्द र हडतालबाट देशलाई कुनै फाइदा नहुने तथा मुलुक अशान्ति, अन्योल र द्वन्द्वतर्फ धकेलिएर यसको स्वाधीनता, सार्वभौमसत्ता, अखण्डता र आर्थिक स्थिति कमजोर हुने यथार्थप्रति जिम्मेवार भएर सोच्न म सबैलाई आग्रह गर्दछु।

आज देश परिवर्तन र रुपान्तरणको संक्रमणकालीन पीडा खेपिरहेको छ। हामीले अब आगामी तीन महिनाभित्र शिविरमा रहेका माओवादी सेनाका लडाकुहरुको समायोजना र पुनःस्थापनाको काम पूरा गरी देशलाई दिगो शान्तिको मार्गमा अघि बढाउनुपर्नेछ। हाम्रा सामु विगतको द्वन्द्वबाट उत्तरदानका रुपमा प्राप्त कतिपय असजिला विषयहरु मात्र छैनन्, संक्रमणकालबाट नाजायज फाइदा उठाउने चेष्टामा लागेका देशका विभिन्न भागहरुमा हत्या–हिंसामा संलग्न अनेकौं समूहका अवैध क्रियाकलापहरु नियन्त्रण गर्नुपर्ने जिम्मेवारी पनि छ। साम्प्रदायिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै लोकतान्त्रिक अग्रगतिका साथ अघि बढ्नुपर्ने छ।

लोकतन्त्रबाट प्राप्त नयाँ परिवेश एवं बदलि“दो स्थितिमा सिर्जित जनताका आकांक्षाहरुलाई सम्बोधन गर्नुपर्ने छं। त्यस्तै ११ महिनाभित्र नयाँ संविधान निर्माण गरी राज्यको पुनःसंरचनाको माध्यमबाट देशमा सङ्घीय प्रणाली लागू गर्दै सबै समुदाय र क्षेत्रका जनतालाई अधिकारसम्पन्न तुल्याउनुपर्नेछ। यस्तो परिस्थिति विद्यमान रहेको अवस्थामा हाम्रा छिमेकी देशहरुका नीति र प्रगति, क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमा भइरहेका घटना र परिघटनाको प्रभाव हाम्रो जस्तो भू–राजनीति भएको देशमा कस्तो पर्छ भन्नेतर्फ पनि हामीले सोच्नै पर्दछ। वर्तमान राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेश र हाम्रा सामु रहेका चुनौतीहरुलाई ध्यानमा राखेर सोच्दा नेपाल र नेपालीको हित र उन्नतिका लागि राष्ट्रिय सहमतिका साथ अघि बढ्नु अपरिहार्य देखिन्छ। यही भएर नै मैले पटक–पटक सहमति र सहकार्यका लागि सबैसँग आग्रह गर्दै आएको हु“। सहमतिको नया“ यात्रा आरम्भ गर्न मैले प्रमुख तीन राजनीतिक दलका नेताहरुस“ग अनेक पटक आग्रह गरेको छु।

साथै, सरकारमा सहभागी राजनीतिक दललगायत अन्य राजनीतिक दलहरुस“ग सरकारको विकल्पबारे ठोस निष्कर्ष निकाल्नका लागि बारम्बार आग्रह गरेको छु। राजनीतिक दलका नेताहरुको आग्रह अनुरुप मैले राष्ट्रिय सहमतिको खोजीका लागि जेठ १४ गतेपछि दिएको एक महिनाको समय पर्याप्त नै हो भन्ने लाग्दछ। प्रतिपक्षी एनेकपा (माओवादी) का नेताहरुलाई समेत मैले उपयुक्त राजनीतिक निकास र सहमतिका लागि अनेकौं पटक आग्रह गरें।

तर पनि, कुनै सहमति हुन सकेन। सरकारले व्यवस्थापिका–संसद्मा नीति र कार्यक्रम तथा बजेट पेश गर्न ढिलो भइसकेको छ। यस्तो परिस्थितिमा देशलाई अनिर्णय र अनिश्चयमा राखिरहनु उचित नहुने हु“दा व्यवस्थापिका–संसद्मा सरकारको पक्षमा स्पष्ट बहुमत हुँदाहुँदै पनि शान्ति प्रक्रिया र संविधान निर्माण कार्यले पूर्णता पाओस् र त्यसका लागि राजनीतिक निकास र सहमतिको मार्ग प्रशस्त होस् भन्ने आशयका साथ आजैका मितिदेखि मैले प्रधानमन्त्रीको पदबाट राजीनामा दिने निर्णय गरेको छु।

आदरणीय दिदी–बहिनी तथा दाजु–भाइहरु!
राजनीतिक यात्रा सरल रेखाबाट अघि बढ्दैन भन्ने कुरा मलाई राम्रोस“ग थाहा छ। यस यात्रामा सहयोगी र अवरोधक दुवै हुन्छन् भन्नेमा पनि मलाई कुनै शङ्का छैन। काम गर्दा कमी–कमजोरी रहन सक्छन् भन्ने पनि यथार्थ नै हो। सरकार सञ्चालन गर्दा कुनै कमी–कमजोरी रहेका भए म त्यसका लागि आत्माआलोचित छु। मेरो १३ महिने कार्यकालमा संयुक्त सरकारका सहभागी र सहयोगी राजनीतिक दलबाट प्राप्त निरन्तर सहयोगका लागि म ती सबै दल, दलका नेता, सांसद र कार्यकर्ताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अत्यन्त प्रतिकूल परिस्थितिमा पनि शान्ति र लोकतन्त्रका पक्षमा जनसमुदायबाट प्राप्त न्यानो माया र सहयोगका लागि म सिङ्गो मन्त्रिपरिषद् र स्वयम् आफ्नो तर्फबाट आभार प्रकट गर्दछु। अनैकौं अप्ठ्याराहरुको सामना गर्दै सरकारको पक्षमा उभिने मेरो पार्टीका सम्पूर्ण नेता र कार्यकर्ताहरुप्रति कृतज्ञता प्रकट गर्दछु। नेपालको लोकतन्त्र, शान्ति प्रक्रिया र आर्थिक–सामाजिक विकासका लागि निरन्तर योगदान गर्दै हामीलाई सहयोग गर्ने सबै मित्र राष्ट्र एवं अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।

मेरो राजीनामापछि शान्ति प्रक्रियाका बा“की कामहरु अविलम्ब पूरा गरिनेछन् भनी सार्वजनिक उद्घोष गर्ने एनेकपा (माओवादी) ले आगामी दिनहरुमा अवश्य पनि आफ्नो बचन पूरा गर्ने छ भन्ने मैले आशा गरेको छु। साथै, राष्ट्रिय सहमतिको यात्रा आरम्भ गर्दै यथाशीघ्र नयाँ सरकार गठन गरी शान्ति प्रक्रिया र संविधान निर्माणको अभिभारा पूरा गर्ने कार्यमा राजनीतिक दलहरुको पूर्ण सफलताको कामना गर्दछु। प्रधान मन्त्रीको पदबाट राजीनामा दिए पनि मैले गर्दै आएको देश र जनताको सेवा अविचलित रुपमा निरन्तर जारी रहनेछ भन्ने अठोट पुनः प्रकट गर्न चाहन्छु।

धन्यवाद
२०६६ असार १६
माधवकुमार नेपालले राजीनामा दिएको कदमलाई कसरी हेर्नुभएको छ? के नेपालको राजीनमापछि देशमा राजनीतिक गतिरोधको अन्त्य होला? आफ्नो प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्

HKNepal.com- LIVE update:
प्रधानमन्त्रीको सम्बोधनः
——————————————————————————–
राजीनामा पत्र बुझाउन नेपाल ७ बजे शितल निवासतर्फ प्रस्थान गर्ने
——————————————————————————–
सम्बोधन सकिएको छ
——————————————————————————–
सबैलाई धन्यवाद दिंदै नयाँ सरकारको गठन अविलम्ब होस् भन्ने ईच्छा व्यक्त
——————————————————————————–
काम गर्दा गल्ति हुन्छन्, त्यसको लागि आत्मलोचित रहेको भनाई
——————————————————————————–
राजनीति गतिरोध अन्त्यको लागि राजीनामा दिएको घोषणा
——————————————————————————–
मुलुक अशान्ति अन्योल र द्वन्द्वतर्फ धकेलिने अबस्था भएकोले सबै गम्भीर भएर सोच्न आग्रह
——————————————————————————–
सरकारले बैदेशिक सहायता दोव्वर पारिएको
——————————————————————————–
छिमेकी र अन्तर्राष्ट्रिय संघसंस्थाहरुसंग सम्बन्ध प्रगाढ बनाइएको
——————————————————————————–
सामाजिक उत्थानका कार्यक्रम महत्वका साथ कार्यान्वयन गरेको, जेष्ठ नागरिक र जेष्ठ पत्रकारहरुको लागि कोषको व्यवस्था गरिएको।
——————————————————————————–
सन् २०११ लाई पर्यटन बर्षको रुपमा मनाउने तयारी भएको
——————————————————————————–
माओवादीले बन्द र हड्ताल गरेर, सत्ता कब्जाको आतंक मच्चाएर, चन्दा असुली, हत्या, हिंसा बढाएर अघि बढेको। नागरिक पार्टी बन्न माओवादीलाई आग्रह
——————————————————————————–
जनताको चाहना अनुसार राजतन्त्रको अन्त्य गरेर माओवादीलाई राजनीतिको मूलधारमा ल्याएको
——————————————————————————–
देश र जनताको आवश्यकता अनुसार सरकार चलेको
——————————————————————————–
सरकार अझै बहुमतमा रहेको छ
——————————————————————————–
संविधानसभामा रहेका सबै दलहरूसंग सहकार्यको प्रयाश गरेको
——————————————————————————–
सरकारको पाला सुरक्षा व्यवस्थामा सुधार र सुदृढ भएको दाबी
——————————————————————————–
सरकारको तर्फ संविधान निर्माणको लागि हमेशा तत्पर रहेको खुलासा
——————————————————————————–
शान्ति प्रक्रियालाई महत्व दिंदै लडाकु समायोजना गर्ने प्रयाश गरेको
——————————————————————————–
माओवादीबाट असहयोग, सरकार गिराउने षडयन्त्र भइरहेको
——————————————————————————–
देश, जनता र लोकतन्त्रको पक्षमा इमान्दार हुने प्रयत्न गरेको
——————————————————————————–
१५ महिनाअघि प्रधानमन्त्रीको पद सम्हालेदेखि अनेकौं घुम्तिहरू व्यहोरें
——————————————————————————–
ज्ञात अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सम्बोधन सुरू
——————————————————————————–
सम्बोधन सुरू भएको छ
——————————————————————————–
सञ्चारकर्मीहरु सम्बोधन गर्ने हलमा भेला। मन्त्रीहरुको पनि हलमा प्रवेश।
——————————————————————————–
प्रधानमन्त्री माधवकुमार नेपालले केही बेरमा राजीनामा दिने भएका छन्
नेपालले राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरिरहेका छन्
——————————————————————————–

माधवकुमार नेपालले राजीनामा दिएको कदमलाई कसरी हेर्नुभएको छ? के नेपालको राजीनमापछि देशमा राजनीतिक गतिरोधको अन्त्य होला? आफ्नो प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्

Popularity: 8%

14 comments June 30th, 2010

जमिम शाहको हत्या अन्डरवल्डबाटै- जाँचबुझ आयोग

न्युज अपडेटः जमिम शाहको हत्या अन्डरवल्डबाटै- जाँचबुझ आयोग
एचकेनेपाल डट कम संवाददाता, मे १३-
सञ्चार उद्यमी जमिम शाहको हत्या अन्डरवल्डको निर्देशनमा भारतीय आपराधिक गिरोहले गरेको निश्कर्ष जाँचबुझ आयोगले निकालेको छ।

पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित आयोगले तयार पारेको झण्डै दुई सय पृष्ठको प्रतिवेदन बुधबार गृहमन्त्री भीम रावललाई बुझाएको छ।

शाहको हत्या व्यक्तिगत रिसइबी, आवेस र लेनदेनका कारणले नभएको प्रतिवेदनमा उल्लेख छ। नेपालमा विदेशीको चलखेल र स्वार्थ बढेकाले ऋंखलाबद्ध रूपमा अज्ञात समूहबाट मानिस मर्ने क्रम बढेको प्रतिवेदनमा जनाइएको छ। नेपाल प्रहरीको अपराध अनुसन्धानको संयन्त्र र शैली दुवै एकदमै परम्परागत रहेकाले अनुसन्धानको नयाँ र बैज्ञानिक शैली अपनाउनु पर्ने सुझावसमेत आयोगले दिएको छ।

सीमित साधन र स्रोतका बावजुद पनि प्रहरीले गरेको अनुसन्धान र अभियुक्त पक्राउ गरेको कार्यको आयोगले प्रशंसा गरेको छ। नेपाल प्रहरीको अनुसन्धानले औंल्याएका अभियुक्त र कारणहरूलाई थप पुष्टि गर्दै प्रतिवेदन तयार पारिएको छ। आयोगले बुझाएको प्रतिवेदनलाई मन्त्री रावलले आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने जनाएका छन्।

पाठक विचार- यहाँ क्लिक गर्नुहोस्
————————————————————————

जमिम शाहलाई गोली हान्ने पेस्तोल विष्णुमति खोलामा
एचकेनेपाल डट कम संवाददाता, मार्च ६-
सञ्चार उद्यमी जमिम शाहको हत्या गर्न प्रयोग भएको पेस्तोल अपराधीले विष्णुमति खोलामा फालेको खुलेको छ।

हत्याकान्डमा संलग्न अर्का एक जना पक्राउ परेपछि यो खुलेको हो। उनी किशोर खड्का हुन्। उनलाई शुक्रबार काठमाडौंको गल्कोपाखाबाट प्रहरीले समातेको हो।

खड्काले जमिम हत्याका लागि आएका भारतीय अपराधी दिपकलाई सहयोग गरी हत्यामा प्रयोग भएको हतियारसमेत व्यवस्थापन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

घटनाको दोस्रो दिन विष्णुमती खोलामा उनले पेस्तोल फालेको बयान दिएका छन्। बयान लिन ढिला भएका कारण शुक्रबार प्रहरीले हतियार फेला पार्न सकेको छैन।

पाठक विचार- यहाँ क्लिक गर्नुहोस्
————————————————————————

जमिम शाहको हत्या गर्नेको फोटो सार्वजनिक
एचकेनेपाल डट कम संवाददाता, फेब्रुअरी १५-
प्रहरीले आज पत्रकार सम्मेलन गरी सञ्चार उद्यमी जमिम शाहको हत्यामा संलग्न आरोपीहरूको नाम र स्केचसहित प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेकोछ। शाहको हत्यामा प्रहरीको समेत उपयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको जनाइएको छ।

प्रहरीले जमिम हत्यामा अन्तर्राष्ट्रिय अपराधी गिरोहको संलग्नता रहेको बताउंदै बब्लु श्रीवास्तव तथा भरत नेपालीको निर्देशनमा जमिमको हत्या भएको जनाएको छ। घटनामा ६ नेपालीसहित तीन भारतीयको संलग्नता रहेको बताएको छ। बब्लु श्रीवास्तव र भरत नेपाली ‘अन्डरवर्ल्ड’ डन छोटा राजनका सहयोगीहरू हुन्। बब्लु श्रीवास्तव भारतको लखनउ जेलमा आजीवन कारवासको सजाय भोगिरहेका छन् भने भरत नेपाली सिंगापुर-बैंककमा बसेर अपराधिक गतिविधि सञ्चालन गर्दै आएका छन्।

बब्लु श्रीवास्तव र भरत नेपालीको निर्देशनमा बब्बु भनिने दीपक शाहीले हत्या योजना बनाएको प्रहरी अतिरिक्त महानिरीक्षक मदन खड्काले बताए। जमिम हत्यामा मोहम्मद बकार सैयद र अर्का नाम नखुलेका एकले गोली चलाएको जनाएको छ। अनुसन्धानको क्रममा विभिन्न विधि तथा टेलिफोन संवादहरुको विश्लेषणका आधारमा आरोपीहरूको पहिचान गरेको प्रहरीले जनाएको छ।

प्रहरीले हत्यामा संलग्न देखिएका ६ नेपालीको नाम र स्केच सार्वजनिक गरेको छ। उनीहरूमा दीपक शाही, नेपाल प्रहरीका सई प्रकाश क्षेत्री, नुवाकोट काउले घर भएका श्रीकृष्ण पौडेल, राजु लामा, किशोर खड्का र रोशनकुमार पाण्डे रहेका छन्। उनीहरूमध्ये नेपाल प्रहरीमा कार्यरत प्रकाश क्षेत्रीलाई मात्र प्रहरीले पक्राउ गरेको छ।

पाठक विचार- यहाँ क्लिक गर्नुहोस्
————————————————————————

जमिम शाहको अत्येष्टि
एचकेनेपाल डट कम संवाददाता, फेब्रुअरी ११-
अज्ञात समूहद्वारा चार दिनअघि हत्या गरिएका सञ्चार उद्यमी जमिम शाहको आज विहीवार अन्त्येष्टि गरिएको छ।

स्पेशटाइम नेटवर्क प्रालि तथा च्यानल नेपालका अध्यक्ष स्व. शाहको अन्त्येष्टि मुस्लिम परम्परा अनुसार गरिएको हो। शाहको शवयात्रा उनका निवास पानीपोखरीबाट लैनचौर, सोह्रखुट्टे हुँदै स्वयम्भूमा पुगेको थियो। शवयात्रामा संचारकर्मी, उद्योगी-व्यवसायी तथा मुस्लिम समूदायका व्यक्तिहरुको ठूलो सहभागिता रहेको थियो।

शाहका हत्यारा पत्ता लगाउन नसकेपनि अपराधीहरूले प्रयोग गरेका मोटरसाइकल प्रहरीले मंगलबार फुटुङबाट वेवारिसे अवस्थामा बरामद गरेको थियो। शाहको हत्यामा अन्तर्राष्ट्रिय आपराधिक समूहको हात हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

पाठक विचार- यहाँ क्लिक गर्नुहोस्
————————————————————————

Breaking News: स्पेशटाइमका अध्यक्ष जमिम शाहको गोली हानी हत्या
एचकेनेपाल डट कम संवाददाता, फेब्रुअरी ७-
अज्ञात समूहले आइतवार अपरान्ह राजधानीको लाजिम्पाटस्थित फ्रान्सेली दूतावासनजिकै स्पेशटाइम नेटवर्क प्रालि तथा च्यानल नेपालका अध्यक्ष जमिम शाहलाई गोली हानी हत्या गरेको छ।

मोटरसाइकलमा आएका दुई जनाको अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका शाहको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो। शाहसंगै गोली लागेर घाइते भएका कार चालक सामाखुशीका मथुरामान मालाकारको सोही अस्पतालमा उपचार भैरहेको छ।

शाहको टाउको र छातीमा र मालाकारको तिघ्रामा गोली लागेको थियो। राजधानीको लाजिम्पाटमा बा १५ प ८७३३ नम्वरको मोटरसाइकलमा आएका कालो नकापधारी अपरिचित व्यक्तिले बा १ च २१५१ नं. को शाहको निजी कारमा अन्धाधुन्द गोली प्रहार गरेका थिए। गोली प्रहार गरी फरार भएका ती समूहको खोजि भैरहेको प्रहरीले जनाएको छ।

Popularity: 12%

7 comments May 13th, 2010

Breaking News: प्रधानमन्त्री नेपालद्वारा राष्ट्रको नाममा सम्बोधन

एचकेनेपाल डट कम संवाददाता-
राजधानीको खुलामञ्चमा शनिवार माओवादीको विशाल जनसभा सकिएलगत्तै प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रको नाममा सम्बोधन गरेका छन्।

माओवादीले सडकबाट प्रधानमन्त्रीको राजिनामा मागि रहेका बेला प्रधानमन्त्री नेपालले सम्बोधन गरेका हुन्।


तस्वीर सौजन्यः दीपा श्रेष्ठ/ रोयटर्स
प्रधानमन्त्री माधवकुमार नेपालले आफूले २२ दलको समर्थनमा प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताए। नेपालले शान्ति र संविधान निर्माणप्रति सरकार क्रियाशिल रहेको बताउंदै समयमै संविधान निर्माण हुन नसकेकोमा सरकारको केही कमजोरी रहेको स्वीकारसमेत गरे।

आफूले सरकारको नेतृत्व सम्हालेदेखि माओवादीले सरकारप्रति शत्रुतापूर्ण व्यवहार गरेको आरोप लगाए। प्रतिपक्षीबाट पाउनु पर्ने सहयोग प्राप्त हुन नसकेको भन्दै गुनासो व्यक्त गरे। प्रधानमन्त्री नेपालले सम्बोधनको क्रममा सरकारबाट शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा टुङ्ग्याउने कामको थालनी भएको बताए। उनले अयोग्य लडाकुको विदाइ गरिएको र बाँकी लडाकुलाई कुन कुन सुरक्षा निकायमा लैजाने भन्ने विषयमा दलहरूसंग छलफल भैरहेको जानकारी दिए।

संबिधान निर्माणमा गम्भीर अवरोध देखा परेको बताउंदै संविधानसभाको सबैभन्दा ठूलो दलबाट संविधान बन्न नदिन सडकबाट सत्ता कब्जा गर्ने धम्की दिने, संबिधान बन्न नदिनेजस्ता क्रियाकलापहरू भैरहेकोमा असन्तुष्टी व्यक्त गरे। प्रधानमन्त्री नेपालले तत्काल आम हड्ताल फिर्ता लिएर सहमतिको बाटो खुला गर्न माओवादीलाई आह्वान गरे। उनले मुलुकलाई अस्तव्यस्ततामा छाड्न नमिल्ने बताउंदै जनतामा शान्ति, सुरक्षा र अमनचयन पूरा गराउन सबै सुरक्षा निकायलाई अघि बढाउनु पर्ने बताए।

जनतामा भय, त्रास उत्पन्न गरेर लोकतन्त्र बलियो नहुने र नयाँ संविधान बनाउन नसकिने बताउदै प्रधानमन्त्री नेपालले धम्की र घुर्कीको भाषा छोडेर सहमतिको बाटोमा आउन आग्रह गरेका छन्।

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू

१. विभिन्न बाधा, विरोध र चुनौतीहरु पार गर्दै मैले संयुक्त सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको छ। संविधानसभाको निर्वाचनपछि राष्ट्रिय हित, शान्ति र संविधान निर्माणको मुख्य अभिभारालाई केन्द्रविन्दूमा राखेर नेकपा (एमाले) ले जोखिम मोलेरै भए पनि नेकपा (माओवादी) लाई प्रधानमन्त्री प्रस्तावित गरी सरकारमा सम्मिलित भएको थियो। तर, एकीकृत नेकपा (माओवादी) को आफ्नै गलत चिन्तन र व्यवहारका कारण सहयोगी दलहरुले समर्थन फिर्ता लिएपछि तत्कालीन प्रधानमन्त्रीको राजीनामाबाट उत्पन्न रिक्तता, अन्यौल र अनिश्चयको अवस्थामा संविधानसभाका २२ राजनीतिक दल र बहुमत सभासद्हरूको समर्थनमा मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको हुँ। संविधान र विधिअनुरूप गठित मेरो नेतृत्वको सरकारले अत्यन्त प्रतिकूल परिस्थितिमा पनि लोकतन्त्र, राष्ट्रिय हित एवम् दिगो शान्तिको पक्षमा दृढतापूर्वक काम गर्दै आएको छ।

२. शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने, संविधान निर्माण प्रक्रियालाई पूर्णता दिने, जनतालाई राहत प्रदान गर्ने र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्ने उद्देश्यका साथ मैले सरकारको नेतृत्व सम्हालेको थिए“। अनेकौं जटिलता र अवरोधको सामना गर्दै उक्त उद्देश्य अनुरूप सरकार अहिले पनि क्रियाशील छ।

३. असहमति र बहस लोकतन्त्रका सौन्दर्य हुन्। राष्ट्रिय सहमति बन्न नसकेको अवस्थामा सरकारले प्रतिपक्षको आलोचना र विरोधको सामना गर्नु पनि लोकतन्त्रको सामान्य विशेषता नै हो। तर, हामीले सरकारका गुण–दोषका आधारमा समर्थन र विरोधको स्थिति देख्नै पाएनौ। आरम्भदेखि नै लोकतान्त्रिक मर्यादा र आफैले हस्ताक्षर गरेको संवैधानिक व्यवस्थालाई बेवास्ता गर्दै सरकारको वैधतामाथि समेत औला ठड्याउने काम भइरह्यो। संविधान र व्यवस्थापिका संसदको निर्णय र निर्देशलाई स्वयं अस्वीकार गर्ने तर अरुले नागरिक सर्वोच्चताको नमानेको भ्रमपूर्ण प्रचार गरियो।

विभिन्न राजनीतिक दलहरु सम्मिलित सरकारमा आफ्नो सहभागितालाई ‘पवित्र’ र त्यस्तै प्रकारले अर्को सरकार बन्दा ‘अपवित्र’ देख्ने गलत दृष्टिकोण राखियो। हामी २०६२/०६३ को जनआन्दोलनमा व्यक्त भावनालाई आत्मसात गर्दै अगाडि बढि नै रह्यौं। यसरी नै शान्ति सम्झौताअनुसार शान्ति प्रक्रियालाई अगाडि बढाउने प्रयत्न निरन्तर गरिरह्यौं। तर, साझा आन्दोलनको विगत इतिहास, जिम्मेवारीको साझा वर्तमान र सुन्दर नेपाल निर्माणको साझा भविष्यलाई उपेक्षा गरेर मैले नेतृत्व गरेको सरकारप्रति शत्रूतापूर्ण व्यवहार गरियो।

४. राष्ट्रिय सहमतिको यात्रा कहाँनिरबाट अवरुद्ध भयो भन्ने अतितको यथार्थ नेपाली जनताको मनमा ताजै छ। सरकार बनाउने क्रममै एकीकृत नेकपा (माओवादी)ले निषेधको राजनीति सुरु गर्‍यो। राजतन्त्रको अन्त्यपछि विस्तृत शान्ति सम्झौतालगायतका सहमति अनुरूप सबै पक्ष अघि बढेका भए आज हाम्रो शान्ति प्रक्रिया र संविधान निर्माण संसारकै दृष्टान्त बनेर सफलताको बिन्दुमा पुगिसक्ने थियो।

५. अनेकौ“ बाधा, विरोध र प्रतिकूलताका बीचमा पनि सरकारले शान्ति प्रक्रियाको सफलता, संविधान निर्माण, अग्रगति र समग्र राष्ट्रिय विकासको सन्दर्भमा महत्वपूर्ण थालनी गरेको छ। मैले यथाशक्य छिटो शान्ति प्रक्रियालाई सकारात्मक टुङ्गोमा पुर्‍याउन गरेको अथक प्रयत्नको फलस्वरूप लामो समयदेखि था“ती रहेको माओवादी अयोग्य लडाकुहरूको शिविरबाट बिदाइ सम्भव भएको छ। विशेष समितिमा लडाकु समायोजन र पुनःस्थापनाको सय दिने कार्ययोजनामा सैद्धान्तिक सहमति समेत भएको हो। कुन सुरक्षा निकायमा माओवादी सेनाका कति लडाकुहरूको समायोजन गर्ने भन्ने विषय मुख्य राजनीतिक दलहरूको सहमतिबाट टुङ्गो लाग्ने विषय हो।

मैले प्रधानमन्त्रीको जिम्मेवारी लिने बेलासम्म शान्ति प्रक्रिया झन्डै एक वर्ष पछाडि परिसकेको थियो भने शान्ति प्रक्रियामा कुनै प्रगति नभइरहेको अवस्थामा विशेष समिति पुनःगठन हंदा १५ महिना बितिसकेको थियो। यसका लागि तदारुकताका साथ रचनात्मक सहयोग गर्नुको बदला प्रमुख प्रतिपक्षबाट ‘नयाँ संविधानको अन्तर्वस्तु र त्यसको सुनिश्चितताको टुङ्गो भएपछि मात्रै समायोजन प्रक्रियालाई अगाडि बढाउन सकिने’ र ‘त्यसभन्दा अगाडि हामीलाई निशस्त्र बनाएर संविधान निर्माण गर्ने षड्यन्त्र’ भन्नेजस्ता मनगढन्ते आरोप लगाइयो। संविधान र लोकतन्त्रका मान्यतालाई स्वयं उल्लंघन गरेर उल्टै सरकारलाई ‘अवैध’ भन्ने धृष्टता गरियो। शान्ति प्रक्रियामा प्रमुख प्रतिपक्षको यो हदसम्मको असहयोगको मैले अपेक्षा गरेको थिइन“।

६. देशको आर्थिक विकास, सामाजिक रूपान्तरण र शान्ति सुरक्षाको सुदृढीकरणका लागि सरकारले व्यवस्थित रूपमा विभिन्न कार्यक्रम तयार गरी कार्यान्वयन गरेको तथ्य छर्लङ्गै छ। यस सन्दर्भमा लामो समयदेखि बा“की रहेका, ओझेलमा परेका र कार्यान्वयन हुन नसकेका विभिन्न विकास योजना तथा कार्यक्रमलाई वर्तमान सरकारले पुनः अगाडि बढाएको वा कार्यान्वयन गरेको छ। वस्तुगत यथार्थ यही नै हो। त्यस्तै नेपालको राष्ट्रिय हित र स्वाभिमानका लागि हामीले अन्तर्राष्ट्रिय जगत्स“ग सम्पर्क, सम्बन्ध र सहमति विस्तार गरेका छौ“। नेपालको स्वाधीनता, अखण्डता र गौरव बृद्धिका लागि काम गरेका छौ“। हाम्रा यस्ता कार्यहरूलाई ओझेलमा पार्न सरकारविरुद्ध कुप्रचार र लाञ्छित गर्ने दुष्प्रयत्नहरू पनि निरन्तर भइनै रहे।
आदरणीय जनसमुदाय †

७. सरकारका कमी नै छैनन् भन्ने दावी म गर्दिन“। दशक लामो द्वन्द्वले थिलोथिलो पारेको अर्थतन्त्र, राज्य व्यवस्था र अस्तव्यस्ततालाई बिरासतमा लिएर गठन भएको यो सरकारको सञ्चालन निश्चय नै सहज थिएन। यी सबै सीमाका वावजुद सरकारले संविधान निर्माणको सहजीकरण र यस प्रक्रियामा सकारात्मक योगदान गरेको छ। शान्ति सुरक्षाको स्थितिमा उल्लेख्य सुधार आएको छ। अपमानका सारा हलाहललाई पिएर ‘निलकण्ठ’ बन्नु परे पनि मैले सहमति निर्माणका लागि औपचारिक र अनौपचारिक रूपमा गरेका अनेकौं प्रयत्नप्रति तपाईंहरु अनभिज्ञ हुनुहुन्छ भन्ने मलाई लाग्दैन।

८. यति भइकन पनि जनआन्दोलनमार्फत् अभिव्यक्त जनचाहना अर्थात् दिगो शान्ति, संविधान निर्माण र सामाजिक–आर्थिक परिवर्तनको लक्ष्य अझै पूरा हुन सकेको छैन। संविधान निर्माणको समग्र काम हाल अवरुद्ध छ। शान्ति प्रक्रियामा गम्भीर व्यवधान उत्पन्न भएको छ। संविधान जारी गर्न निर्धारित मिति जेठ १४ नजिकिँदै गर्दा जनता अनेकौ“ आशङ्का र चिन्ताले आक्रान्त छन्। तर, संविधानसभाको सबैभन्दा ठूलो दल नै आफ्नै नेतृत्वमा सरकार बन्दैन भने यी कुनै प्रक्रिया सम्पन्न हुन नदिने, बरु सडकबाटै ‘सत्ता कब्जा’ गर्ने र सडकबाटै ‘नया“ संविधान जारी गर्ने’ धम्की दिन्छ भने संविधान निर्माण र शान्ति प्रक्रियामा बाधक को रहेछ भन्ने प्रस्ट हु“दैन र?

९. सरकार परिवर्तनलाई नै मुख्य विषय बनाउने हो भने पनि यसका लागि हामीले नै स्थापित गरेको राजनीतिक र संवैधानिक प्रक्रिया अपनाउनै पर्दछ। राजनीतिक दलहरुका बीचमा हुने सहमतिलाई कार्यान्वयन गर्न म सदैव तयार छु। मेरो पार्टीले संस्थागत रुपमा नै विश्वासको नया“ वातावरण बन्छ, शान्ति प्रक्रिया टुङ्गोमा लाग्ने कुराको प्रत्याभूति हुन्छ र प्रमुख प्रतिपक्षमा रहेको पार्टीको नागरिक पार्टीमा रुपान्तरण हुने कुराको विश्वसनीय आधार तयार हुन्छ भने सबै विषयमा खुला छलफल गरी सहमति गर्न सकिन्छ भन्ने धारणा धेरै अगाडि सार्वजनिक गरिसकेको तथ्य म यहा“ फेरि दोहोर्‍याउन चाहन्छु। मैले पनि लोकतन्त्र, शान्ति र संविधानको सुनिश्चितताका लागि आवश्यक लचकता अपनाउन तयार रहेको कुरा बारम्बार प्रष्ट पार्दै आएको छु।

तसर्थ, मेरो आग्रह छ– राजनीतिक सहमतिमा संवैधानिक व्यवस्थालाई अनुशरण गरौ“। सहमतिबाट होइन धम्कीबाट, संवैधानिक प्रक्रियाबाट होइन सडकबाट नै आफ्ना सबै माग पूरा गराउने तरिका अवलम्बन गर्न थालियो भने लोकतन्त्र, संवैधानिक पद्दति र अभ्यासको के अर्थ रहन्छ? आज सरकारको नेतृत्वका निम्ति प्रयोग गरिने हतियार भोलि आफूअनुकूलको संविधान निर्माणलगायत अनेकौ“ माग पूरा गराउने सन्दर्भमा दोहोरिँदैन भन्ने के कसैले प्रत्याभूति गर्न सक्छ? आवेगमा आएर गलत नजिर स्थापित गरियो भने भोलिको लोकतान्त्रिक राजनीतिक प्रक्रियामा समेत नकारात्मक असर पर्छ भन्ने कुराको हामी सबैले हेक्का राख्नैपर्दछ।

१०. जस्तोसुकै प्रतिकूल स्थिति भए पनि देश सम्हाल्ने जिम्मेवारी राजनीतिक दलहरूकै हो। समस्याको समाधान संवैधानिक र राजनीतिक प्रक्रिया भित्रैबाट खोज्ने हो। शान्तिपूर्ण प्रतिस्पर्धा, बहुलवाद, मानवअधिकार र सामाजिक न्यायको मान्यताका आधारमा अग्रगामी राजनीति अनुरूप नै साझा सहमति कायम गर्ने हो। निर्धारित समयमा संविधान निर्माण गर्ने प्रक्रिया सम्पन्न गर्ने प्रतिबद्धता पूरा गर्न नसक्नु हामी सबैको कमजोरी हो र यसको निम्ति हामीले जनतासमक्ष आत्मालोचित हुनैपर्छ। भएका काम र रहन गएका कमजोरीको खुलस्त रुपमा समीक्षा गर्दै र अब फेरि त्यस्ता कमी–कमजोरी दोहोरिन नदिने विश्वसनीय आधार प्रस्तुत गरेर संविधानसभाबाटै नयाँ संविधान बनाउने संवैधानिक प्रक्रियामा जानुपर्छ भन्ने मेरो स्पष्ट मान्यता छ।

११. आमहड्तालका नाममा जनतालाई दुःख दिएर, समाजमा भय, त्रास र अराजकता उत्पन्न गरेर लोकतन्त्र बलियो हुँदैन, सङ्घीय गणतन्त्रलाई संस्थागत गर्न सकिँदैन र नयाँ संविधान पनि बन्दैन। शान्ति प्रक्रियालाई सार्थक निश्कर्षमा पुर्‍याउने र नयाँ संविधान बनाउने कार्य सहमति र सहकार्यबाट मात्र सम्भव छ। सहमतिका लागि घुर्की र धम्की होइन, सहिष्णुता र सहकार्यको भाषा बोल्न सक्नुपर्दछ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु †

१२. नेपालको शान्ति प्रक्रिया र लोकतन्त्र स्थापनाका लागि मैले आजसम्म निर्वाह गरेको भूमिका सबैका सामु स्पष्टै छ। बन्दुकका आवाज प्रतिध्वनित भइरहेको र हिंसाको बोलवाला चलेको अत्यन्त प्रतिकूल अवस्थामा पनि शान्ति वार्ताको माध्यमबाटै समस्याको समाधान खोज्न मैले गरेको जोखिमपूर्ण पहल राष्ट्रले बिर्सेको छैन भन्ने म ठान्छु। हिजो आफ्नो समेत पहलबाट सुरु भएको शान्ति प्रक्रियाको सफलता र स्थापित भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण मेरो लागि सबैभन्दा महत्वपूर्ण कार्य हो।

यस कार्यलाई पूरा गर्न दलहरुको बीचमा हुने सहमतिबाहेक अर्को बाटो छैन। विधिसम्मत प्रक्रियाबाट बनेको व्यवस्थापिका–संसद्को बहुमत प्राप्त सरकार सहमतिका आधारमा र विधिसम्मत प्रक्रियाबाट मात्र परिवर्तन हुनसक्छ भन्ने तथ्यमा सबैको ध्यान जानु आवश्यक छ। शान्ति प्रक्रिया कार्यान्वयन अगाडि बढाइयोस्, संविधान निर्माणको सुनिश्चितताको भरपर्दो खाका प्रस्तुत गरियोस् र दलहरुको सहमतिको आधारमा अघि बढ्ने मार्गचित्र तयार गरियोस्। त्यस अनुसार सहमतिका साथ सहकार्य गर्दै अघि बढ्न म सहर्ष तयार हुनेछु। तर, सहमतिलाई लत्याउँदै मुठभेडको मार्गतर्फ अग्रसर हुने हो भने त्यसको परिणाम देश, जनता र हामी सबैको लागि दुःखदायी हुनेछ। यसले देशलाई अन्योल, अस्थिरता र सर्वसत्तावादतर्फ लैजानेछ र लोकतन्त्रमाथि गम्भीर आघात पार्नेछ। त्यसैले मुलुकलाई अस्तव्यस्तमा कुनै पनि सरकारले छोड्न मिल्दैन।

लोकतान्त्रिक पद्धति, संवैधानिक र कानुनी व्यवस्थाको परिपालना, शान्ति सुरक्षा र अमनचैन कायम गर्न राज्यका सबै अंग र निकायको दायित्व हो। यस दायित्वलाई सबै सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी र सेवाप्रदायक निकायले अविचलित रहेर पूरा गर्नैपर्छ। जनताको दैनिक जीवनमा आइपर्ने कठिनाइ, शान्ति प्रक्रियामाथि पर्ने प्रतिकूल असर र संविधान निर्माण कार्यमा पर्ने व्यवधानसमेतलाई ध्यानमा राखेर मुठभेडको नीति परित्याग गरी एकीकृत नेकपा (माओवादी) लाई तत्काल आमहड्ताल फिर्ता लिएर राष्ट्रिय सहमति र सहकार्यको दिशामा अघि बढ्न म आग्रह गर्दछु। नेपाल र नेपाली जनताको सुख, शान्ति, समृद्धि, अधिकार, स्वाभिमान र चाहना नै मेरो पनि चाहना र गन्तव्य हो भन्ने कुरा म पुनः स्पष्ट र दृढताका साथ उल्लेख गर्न चाहन्छु।
धन्यवाद!
२०६७ वैशाख १८

Popularity: 10%

2 comments May 1st, 2010

तीन सशस्त्र समूहद्वारा सिंहानिया हत्याको जिम्मा

दुई सशस्त्र समूहद्वारा सिंहानिया हत्याको जिम्मा
एचकेनेपाल डट कम संवाददाता, मार्च २-
तीन सशस्त्र समूहले जनकपुरका सञ्चारर्मीहरूको मोबाइलमा फोन गरी सञ्चार उद्यमी अरूण सिंहानियाको हत्याको जिम्मा लिएका छन्।

सिंहानियाको हत्याको जिम्मा लिने समूहहरूमा तराई जनतान्त्रिक मधेस पार्टीका (अजयसिंह समूह), जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समूह) र तराई आर्मी रहेका छन्। ती समूहले मंगलवार विहान फोन गरेर अरूण सिंहानियाको हत्याको जिम्मा लिएका हुन्।

तराई जनतान्त्रिक मधेस पार्टीका केन्द्रीय अध्यक्ष बताउने अजयसिंहले जनकपुर टुडेका सम्पादक यादवको समेत हत्या गर्ने धम्की दिएका छन्।

सिंहानियाको हत्याको जिम्मा लिनेहरूको संख्या बढ्दै गएपछि वास्तविक हत्यारा उम्कन सक्ने सञ्चारकर्मीहरूले बताएका छन्।

यसैबीच, विहानैदेखि जनकपुरका ६ वटै रेडियोबाट शोक धुन बजिरहेका छन्। सिङगै जनकपुर बजार शोकमा डुबेको छ। सञ्चार उद्यमी सिंहानियाको हत्याको विरोधमा जनकपुर उद्योग वाणिज्य संघले सम्पूर्ण बजार बन्द गराएको छ। जनकपुरमा पूर्णतय बजार र यातायात बन्द रहेको छ।

सञ्चार उद्यमी सिंहानियाको सोमबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको थियो।

____________________________________________

जनकपुर टुडेका प्रकाशकको गोली हानी हत्या
एचकेनेपाल डट कम संवाददाता, मार्च १-
अज्ञात हतियारधारी समूहले जनकपुरस्थित शिव चोकमा सोमबार साँझ जनकपुर टुडेका प्रकाशक अरुण सिंहानियाको गोली हानी हत्या गरिएको छ।

होली खेलेर साथीसंग घर फर्कदै गर्दा दुइवटा मोटरसाइकलमा आएका समूहले साँझ करीव ६ बजे सिंहानियामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

छातीमा तीन गोली लागेका सिंहानियाको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि तत्काल केयर मेडिकल नर्सिङ होम लगिएका सिंहानियालाई चिकित्सकले मृत घोषणा गरिएको थियो। सिंहानिया सोही नर्सिङ होम र जनकपुरको एफएम रेडियो टुडेकासमेत अध्यक्ष थिए।

घटनापछि त्यहाँको सुरक्षास्थिति कडा पारिएको छ भने त्यहाँबाट बाहिरिने सम्पूर्ण नाकाहरू बन्द गरी अपराधीको खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ।

यसअघि पनि, रेडियो टुडेमा कार्यरत महिला पत्रकार उमासिंहको हत्या भएको थियो।

Popularity: 9%

1 comment March 2nd, 2010

न्युज अपडेटः पप सम्राट माइकल ज्याक्सनको अन्तिम संस्कार

न्युज अपडेटः पप सम्राट माइकल ज्याक्सनको अन्तिम संस्कार
एचकेनेपाल डट कम संवाददाता, सेप्टेम्बर ४-
पप सम्राट माइकल ज्याक्सनको अन्तिम संस्कार लास एन्जेलेसस्थित फरेस्ट लान समाधि स्थलमा सम्पन्न भएको छ।

जुन २५ तारिख निधन भएका ज्याक्सनको अन्तिम संस्कार अगष्ट २९ तारिख उनको जन्म दिवसको दिन गरिने भनिएपनि आवश्यक तयारी पूरा नभएपछि पछि सारिएको थियो। ज्याक्सनको अन्तिम संस्कारमा उनका परिवार, साथी भाई, एलिजाबेथ टेलरसहित हलिउडका चर्चित कलाकारहरू सहभागी थिए।

ज्याक्सनको मृत्युबारे जाँच गरिरहेका अधिकारीहरूले ज्याक्सनको मृत्य नभएर हत्या गरिएको विवरण गत हप्तामात्र सार्वजनिक गरेका थिए।

पाठक विचार- यहाँ क्लिक गर्नुहोस्

——————————————————–

न्युज अपडेटः पप सम्राट माइकल ज्याक्सनको श्रद्धाञ्जलि
एचकेनेपाल डट कम संवाददाता, जुलाई ७-
पप सम्राट माइकल ज्याक्सनलाई लस एन्जेलेसको स्टेपल्स सेंटरमा मंगलवार साँगीतिक समारोहको आयोजना गरी श्रद्धाञ्जलि व्यक्त गरेको छ। माइकल ज्याक्सनको अन्तिम इच्छा अनुसार उनको मृत्युमा शोक सभा नमाइ संगीतमय महान उत्सवको रूपमा श्रद्धाञ्जलि समारोह सम्पन्न भएको थियो।

श्रद्धाञ्जलि समारोहमा माइकल ज्याक्सनका परिवार, हितैषी, २० हजारभन्दा बढी समर्थक तथा प्रशंसकहरू सेंटरभित्र र वाहिर भेला भएका थिए। स्टीवी वंडर, मारिया कैरी, उसर, लियोनेल रिची, कोब ब्रायंट, जेनिफर हडसन र मार्टिन लूथर किङ तेश्रो जस्ता महान र चर्चित कलाकारहरूले गीत संगीत तथा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका थिए। ज्याक्सनकी ११ वर्षीया छोरी पेरिस ज्याक्सनले मञ्चमा बोल्दा सबै भावुक बनेका थिए। उनले माइकल ज्याक्सनलाई सर्वश्रेष्ठ पिता भनिन्।



पप गायिका मारिया केरीले माइकल ज्याक्सनको हिट गीत ‘आई विल बी देयर’ गाएर श्रद्धाञ्जलि व्यक्त गरेकी थिइन्। माइकल ज्याक्सनको अन्तिम विदाई समारोह विश्वभरका करोडौं प्रशंसकहरूले टेलिभिजन र इन्टरनेटमार्फत प्रत्यक्ष प्रसारण हेरेका थिए।

पप सम्राट माइकल ज्याक्सनको जुन २५ तारिख रहस्यमय ढंगबाट मृत्यु भएको थियो।

पाठक विचार- यहाँ क्लिक गर्नुहोस्

………………………………………………………………………
BREAKING NEWS: पप सम्राट माइकल ज्याक्सनको निधन
एचकेनेपाल डट कम संवाददाता, जुन २६-
विश्व प्रख्यात अमेरिकी पप गायक माइकल ज्याक्सनको बिहीबार राति लस एन्जेलेसमा निधन भएको छ।

उनको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ। उनको श्वासप्रश्वास प्रक्रियामा अप्ठ्यारो महसुस भएपछि चिकित्सकहरूलाई उपचारको लागि ज्याक्सनको निवासमा बोलाइएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि ला मेडिकल सेन्टरमा लगिएका ज्याक्सनलाई दुई घण्टापछि चिकित्सकले मृत घोषित गरेका थिए।

संगीतका सम्राटका रुपमा चिनिएका ५० वर्षीय ज्याक्सनले आफ्नो संगीतिक यात्रा आफ्नो परिवारको ‘पप ग्रुप अफ द ज्याक्सन फाइफ’बाट सुरू गरेका थिए। यो शताब्दी कै सफल गायक मानिएका ज्याक्सनले विभिन्न १३ विधामा गिनिज बुकमा आफ्नो नाम दर्ज गराएका थिए। १९८२ मा रिलिज भएको उनका संगीत एलबम थ्रिलर आजसम्मकै बढी विक्री हुने एलबम मानिन्छ। अनेकौं स्वास्थ्य समस्याहरूबाट जुझिरहेका ज्याक्सनले जुलाई १३ तारिख लण्डनमा हुन गैरहेको आफ्नो ‘कमब्याक कन्सर्ट’को तयारी गर्दै थिए। आर्थिक समस्याबाट पनि पिरोलिरहेका ज्याक्सनका स्वास्थ्यका कारण हुने भनिएका केही कन्सर्टहरू रद्दसमेत भएका थिए।

पप सम्राट ज्याक्सनको मृत्युपछि अमेरिकालगायत विश्वभरका लाखौं समर्थकहरूले उनका मृतात्मको चिर शान्तिको कामना गर्दै शोक तथा श्रद्धाञ्जलि सभा मनाइरहेका छन्।
पाठक विचार- यहाँ क्लिक गर्नुहोस्

अब सम्झना मात्रै..


फाईल तस्वीरः विभिन्न सञ्चार माध्यमहरू

पाठक विचार- यहाँ क्लिक गर्नुहोस्

Popularity: 14%

35 comments September 4th, 2009

काँग्रेस कार्यालयमा बम विस्फोट

एचकेनेपाल डट कम संवाददाता-
नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा बम विस्फोट भएको छ। समाचार अनुसार केन्द्रीय कार्यालयको तल्लो कोठामा रहेको सभाहलमा बम विष्फोट भएको हो।

विष्फोट हुँदा हलमा कोही पनि नरहेको हुनाले कुनै मानवीय क्षति भने भएको छैन। सामान्य खालको विष्फोट भएको हुनाले भौतिक क्षति पनि केही भएको छैन।

विष्फोट स्थल वरपर नेपाल डिफेन्स आर्मीको पर्चा भेटिएको छ। यो संगठन कट्टर हिन्दू संगठन हो। यसले तीन महिना अगाडि ललितपुरको एक चर्चमा बम विष्फोट गराउँदा तीन जनाको ज्यान गएको थियो।

धार्मिक अतिवादी संस्थाले कांग्रेसलाई किन निशाना बनायो भन्ने चाहिँ थाहा हुन सकेको छैन।

Popularity: 9%

4 comments August 11th, 2009

Breaking News: पौडेल काँग्रेस संसदीय दलका नेता निर्वाचित

एचकेनेपाल डट कम संवाददाता-
रामचन्द्र पौडेल नेपाली काँग्रेसको संसदीय दलका नेता निर्वाचित भएका छन्। उनले दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धी शेरबहादुर देउवालाई १३ मतले पछाडि पारेका थिए। पौडेलको पक्षमा ६१ मत र देउवाको पक्षमा ४८ मत मात्र परेको थियो।

पहिलो चरणको निर्वाचनमा भने कसैले स्पष्ट बहुमत प्राप्त गर्न सकेको थिएन। यद्यपि पहिलो चरणमा देउवा अगाडि थिए। पहिलो चरणमा १२ भोट पाएर पराजित भएको दुई पक्ष केही अपवादका बाहेक पूरै पौडेलको पक्षमा लागेपछि देउवा नराम्रोसित पराजित भएका थिए।

छोरी सुजाता कोइरालालाई काँग्रेसको नेतृत्व गर्दै सरकारमा पठाउन सहमति गरेपछि देउवा काँग्रेसभित्रै आलोचनाको पात्र बन्नुभएको थियो। सभापति कोइरालाबाट समर्थन पाउने आशा पनि खेर गएपछि देउवा पराजित हुन पुगेका हुन्।

Popularity: 10%

1 comment June 20th, 2009

BREAKING NEWS: माधव नेपाल प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित

माधव नेपाल प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित
एचकेनेपाल डट कम संवाददाता, मे २३ जेठ ९-
नेकपा एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल लोकतान्त्रिक गणतन्त्र नेपालको दोश्रो प्रधानमन्त्रीको रूपमा निर्विरोध निर्वाचित भएका छन्। संबिधानसभामा सहभागी २४ दलहरूमध्ये २२ दलका सभासदहरूको बहुमतको आधारमा माधव नेपाल प्रधानमन्त्रीमा चयन भएका हुन्। सभाध्यक्ष सुबास नेम्वाङले माधव नेपाल प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरेका हुन्। नेका सभापति गिरिजाप्रसाद कोइरालाले माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा चयन गरियोस् भनि राखिएको प्रस्तावमा एमालेमा महासचिव झलनाथ खनाल, मधेशी जनअधिकार फोरमका संसदीय दलका नेता विजयकुमार गच्छदारसहित २२ दलका अन्य सभासदहरूले समर्थन गरेका थिए। यसअघि, नेकपा माओवादीका तर्फबाट माओवादी संसदीय दलका उपनेता नाराणयकाजि श्रेष्ठ, नेकपा एकीकृतका तर्फबाट सभासद परी थापा र नेपाली जनता दलकी सभासद गायत्री साहले प्रधानमन्त्री निर्वाचन प्रक्रियालाई वहिष्कार गरेका थिए।

सभामुख सुवास नेम्वाङद्वारा माधवकुमार नेपाल प्रधानमन्त्रीमा निर्विरोध निर्वाचन भएको घोषणाको सम्बोधन सुन्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।


पाठक विचार- यहाँ क्लिक गर्नुहोस्

नवनिर्वाचित प्रधानमन्त्री नेपालः शव्दचित्र
व्यवस्थापिका संसदको शनिबारको बैठकबाट निर्विरोध निर्वाचित प्रधानमन्त्री माधवकुमार नेपाल २००९ फागुन २३ रौतहटको गौर- ३ मा जन्मिएका हुन्। माता दुर्गादेवी उपाध्याय र पिता मंगलकुमार उपाध्यायको कोखबाट जन्मिएका नेपाल निम्न पूँजीपति वर्गको परिवार हुन्।

रौतहटको गौरमा जन्मिएका नेपालले बिकमसम्मको अध्ययन गरेका छन् । २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका नेपालका भूमिगत बेलाका नामहरु सुवोध सुनिल, रन्जन र वि.के के हुन। २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल) समूहबाट राजनीति सुरु गरेका नेपाल २०३५ सालमा नेकपा मालेको संस्थापक तथा पोलिट्ब्युरो सदस्यमा चयन भए। उनी २०२७-२०३० सम्म तत्कालीन नेपाल क्रान्तिकारी संगठन मालेको जिल्ला सदस्य र २०३२ जेष्ठ २४-२५ मा विराटनगरमा गठित अखिल नेपाल कम्यूनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी(माले) को ब्यूरो सदस्य निर्वाचित भएकोमा २०३३ सालमा राजकाज अपराधमा पक्राउ परी २ वर्ष बन्दी बनाइए। रौतहटबाटै शिक्षा शुरु गरेका नेपालले २०३० सालमा त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन संकायमा स्नातक गरेका हुन्। २०३५ सालमा नेपाल नेकपा मालेको संस्थापक पोलिटब्यूरो सदस्यमा निर्वाचित भई २०४६ को चोथौ महाधिवेशनपछि पनि त्यही पदमा बहाल रहँदै २०४६-४७ को संयुक्त जनआन्दोलनको क्रममा गठित संयुक्त जनआन्दोलन केन्द्रीय कमिटीको सदस्य रहे।

२०४७ मा एमालेको पोलिटब्यूरो सदस्य निर्वाचित नेपाल २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०४९ सालमा पाचौ एमालेको महाधिवेशनले पुन पोलिटब्यूरोमा पुनः निर्वाचित गरेको थियो। उनी २०५० जेष्ठ ३ गते मोटर दुर्घटनामा परी तत्कालीन एमाले महासचिव मदन भण्डारीको निधन पश्चात पार्टी महासचिवमा निर्वाचित भए । २०५१ को महाधिवेशन निर्वाचनमा रौतहट १ र ४ बाट प्रतिनिधिसभामा निवार्चित नेपाल सोही वर्ष बनेको एमालेको अल्पमतको सरकारमा उपप्रधान एवं परराष्ट र रक्षा मन्त्रीसमेत बने।

२०५४ को छैटो र २०५९ को सातौ महाधिवेशनबाट फेरि महासचिवमा निर्वाचित भई लगातार एमालेको सर्वोच्च नेतृत्व सम्हाले।
२०६४ चैत्र २८ गते संविधानसभा निर्वाचनमा काठमाडौं २ र रौतहट ६ गरि २ ठाउबाट पराजित भएपछि २०६५ वैशाखमा नेपालले एमालेको महासचिव पदवाट राजीनामा दिएका थिए। फागुनमा सम्पन्न एमालेको आठौ महाधिवेशनपछि नेता नेपाल एमालेको वरिष्ठ नेता चुनिए।

संविधानसभा निर्वाचनमा भने नेपाल काठमाण्डौ २ र रौतहट ६ मा पराजित भए। २०४७ सालमा संविधान सुझाव आयोगको सदस्य रहेका नेपाल, २०५१ उपप्रधानमन्त्री तथा रक्षा र परराष्ट्रमन्त्रीको कार्यभार समेत सम्हाले।

उनले भारत, चीन, अमेरिका, उत्तर कोरिया, जर्मनी, स्वीट्जरल्यान्ड, फ्रान्स, बेलायत, बेल्जियम, निदरल्यान्ड्सलगायत तीन दर्जन बढि मुलुकको भ्रमण गरिसकेका छन्। प्रधानमन्त्रीमा चयन हुनुअघि संविधानसभाको महत्वपूर्ण संवैधानिक समितिको सभापति रहेका नेपालका एक छोरा र एक छोरी छन्। उनकी श्रीमती गायत्री नेपाल सरकारी सेवा राष्ट्र बैंकमा जागिरे छिन्।

पाठक विचार- यहाँ क्लिक गर्नुहोस्

Popularity: 16%

72 comments May 23rd, 2009

Gurkha News: गोर्खाको ऐतिहासिक जीतः सबै गोर्खालाई आवासीय भिसा (+Video)

गोर्खाको ऐतिहासिक जीतः सबै गोर्खालाई आवासीय भिसा
एचकेनेपाल डट कम संवाददाता-
बेलायती सेनाबाट अवकाश पाएका सबै पूर्वगोर्खाले आवासीय भिसा पाउने भएका छन्। बेलायतको संसदमा विहीबार गृहमन्त्री ज्याक स्मिथले सम्बोधन गर्दै सबै पूर्वगोर्खाले आवासीय भिसा पाउने घोषणा गरेकी हुन्। ब्रिटीस सेनामा कम्तीमा ४ वर्ष सेवा गरी सन् १९९७ अघि अवकाश पाएका पूर्वगोर्खाहरूले समेत आवासीय भिसा पाउने भएका छन्।

बीबीसी रिपोर्ट हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।

जीतको खुसियाली


गोर्खाहरूसंग जीतको खुसियाली साट्दै अभिनेत्री जोअना लुम्ले। तस्वीरः एचकेनेपाल डट कमको लागि मिलन तमु, बेलायत। थप तस्वीरहरू हेर्न यहाँ यहाँ क्लिक गर्नुहोस्।

पाठक प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्।

Popularity: 11%

70 comments May 21st, 2009

प्रधामन्त्रीद्वारा राजिनामा (Breaking News…)

एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रको नाममा सम्बोधन गर्दै सोमवार मन्त्रीमण्डलबाट राजिनामा दिएका छन्। उनले संवैधानिक राष्ट्रपतिबाट असंवैधनिक कदम चालिएकोमा असन्तुष्टी व्यक्त गरे। सत्ता साझेदारी दल एमालेसहित अन्य दलहरूहरूले विश्वासको मत फिर्ता लिएपछि अल्पमत परेको दाहालले आकस्मिक रूपमा राजिनामा दिन वाध्य भएका हुन्।


सम्बोधन गर्दै दाहाल

दाहालले सम्बोधनको क्रममा द्वैध सत्ताको विरुद्ध संघर्ष गर्न सिंगो मुलुकलाई एकतावद्ध हुन उनले आव्हान गरे। उनले राष्ट्रपतिको कदमले शिशु गणतन्त्रमाथि प्रहार भएको बताए। उनले राष्ट्रको लागि सक्दो गर्ने प्रयाश गरेपनि देशी विदेशी शक्तिहरूबाट त्यस्तो हुन नसकेको विचार व्यक्त गरे। जनयुद्ध, जनआन्दोलन, मधेश जनआन्दोलनको जगमा संविधानसभा निर्माण भइ मुलुकले प्राप्त गरेको शिशु गणतन्त्रका विरुद्धमा देशी तथा विदेशी शक्तिरुबाट षडयन्त्र भइरहेको बताएका छन्।

दाहालको सम्बोधनको पूर्ण विवरण सुन्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्

पाठक विचार-
प्रधानमन्त्री पुष्पकमल दाहालको आकस्मिक राजिनामाको घोषणा तपाईलाई कस्तो लाग्यो? यहाँ क्लिक गर्नुहोस्।

प्रधानमन्त्रीको राजिनामा स्वीकृत
राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले सोमवार अपरान्ह दिएको राजिनामा स्वीकृत गरेका छन्। हालका मन्त्रिपरिषद्ले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका कार्य संचालन गरिरहने राष्ट्रपति कार्यालयले जनाएको छ।

Popularity: 12%

56 comments May 4th, 2009

प्रधानमन्त्रीद्वारा कटवालको बर्खास्त, राष्ट्रपतिद्वारा पुनस्थापना (Breaking News)

प्रधानमन्त्रीद्वारा सेनापति कटवालको बर्खास्त, राष्ट्रपतिद्वारा पुनस्थापना
एचकेनेपाल डट कम संवाददाता-
राष्ट्रपति डा. रामवरण यादवद्वारा आइतवार मन्त्रिपरिषद्‍ले अवकाश दिइएका प्रधानसेनापति कटवाललाई पत्र लेखी पदमै बहाल रहन निर्देशन दिएका छन्। १७ दलको बैठकपछि राष्ट्रपति यादवले कटवाललाई आफ्नो काम जारी राख्न पत्र पठाएका हुन्। राष्ट्रपति यादवले पठाएको पत्रको बोधार्थ भने प्रधानमन्त्री पुष्पकमल दाहालले बुझ्न इन्कार गरेका छन्।

राष्ट्रपति यादवले निर्णय लिनुअघि कानुन व्यवसायी र १७ दलका नेताहरूसंग व्यापक छलफल गरेका थिए। अन्ततः मन्त्रीपरिषदको बैठकबाट हटाइएका रुक्माङगद कटवाललाई प्रधानसेनापतिको हैसियतले आफ्नो कामलाई पुनः जारी राख्न पत्र पठाएका थिए।

सरकारद्वारा खडकालाई काम गर्न निर्देशन
न्युज अपडेट, सोमबार
सरकारले सोमबार बिहान कामु सेनापति कुलबहादुर खडकालाई काम गर्न निर्देशन दिएको छ। सोमबार बिहान बसेको मन्त्रीपरिषदको औपचारिक बैठकले सरकारद्वारा नवनियुक्त कामु सेनापति खडकालाई काम गर्न निर्देशन दिएको हो। तर, राष्ट्रपति डा. रामवरण यादवले प्रधानसेनापति कटवालको बर्खास्त प्रक्रिया नपुगेको र असंबैधानिक भन्दै कटवाललाई प्रधानसेनापतिकै हैसियतले पुनः आफ्नो कामलाई जारी राख्न निर्देशन दिएका छन्।

पाठक विचार-
माओवादीबाट हटाइएका कटवालको पुनर्वहाली निर्णय कस्तो लाग्यो? यहाँ क्लिक गर्नुहोस्-

यसअघिका समाचारहरू
प्रधानसेनपति कटवाल बर्खास्त, कामुमा खडका नियुक्त
एचकेनेपाल डट कम संवाददाता-
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान सम्पन्न मन्त्रीपरिषद बैठकले अन्ततः प्रधान सेनापति रुक्माङगद कटवाललाई हटाउने निर्णय गरेको छ। बैठकले सेनामा दोस्रो वरियताका कुलबहादुर खडकालाई कायममुकायम प्रधान सेनापतिमा नियुक्त गरेको छ।
(तस्वीरमा वायाँबाट खड्का र कटवाल) सत्तामा रहेका एमालेले बैठक वहिष्कार गरेको छ भने फोरमले निर्णय प्रक्रियामा असहमति जनाएको छ। सत्तारूढ दलहरूबीच सहमति नभएपछि एकीकृत माओवादीको एकल निर्णयबाट प्रधान सेनापति कटवाललाई हटाइएको हो।

नागरिक सर्वोच्चतालाई चुनौती दिनेगरी सरकारी आदेशको अबज्ञा गरेको भन्दै सरकारबाट मागिएको स्पष्टीकरणमा चित्ता बुझ्दो जवाफ नपाएपछि कटवाललाई हटाउने निर्णय गरिएको हो। मन्त्रीपरिषद् बैठकपछि सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री कृष्णबहादुर महराले सैनिक ऐन २०६३ को धारा ११ को उपदफा ३ अनुसार प्रधानसेनापति कटवाललाई बर्खास्त गरेको जनाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषदबाट भएको निर्णयको जानकारी राष्ट्रपति र अन्य दलहरूलाई दिइसकेका छन्। राष्ट्रपति डा. रामवरण यादवले प्रधानसेनापति कटवालको वर्खास्तप्रति असन्तुष्टी जनाउंदै प्रक्रिया नपुगेको प्रतिक्रिया व्यक्त गरेका छन्। राष्ट्रपति यादवले पटक पटक प्रधानसेनापति हटाउंने विषयमा स‌‌ंविधान र कानुनको मर्मअनुसार अन्य दलहरूसंग सहमति जुटाउन आग्रह गर्दै आइरहेका थिए। नेपाली कांग्रसले मन्त्रीपरिषद बैठकको निर्णयप्रति असहमति जनाउंदै सर्वदलीय बैठक बोलाएको छ। प्रधान सेनापति कटवालले असंवैधानिक अवकाश पत्र भन्दै नबुझिकन बाहिरिएका छन्।

पाठक विचार-
माओवादीको यस निर्णय कस्तो लाग्यो? यहाँ क्लिक गर्नुहोस्-

न्युज अपडेटः
कांग्रेसद्वारा निर्णयको विरोध, नेबिसंघ नारा जुलुससहित सडकमा
नेपाली कांग्रेसले प्रधानसेनापति कटवालको बर्खास्त गर्ने निर्णय गैरस‌ंवैधानिक बताउंदै यस निर्णयको विरोध गरेको छ। नेकाले सत्ता साझेदार दल र बाहिर रहेका सबै दलले विरोध गर्दागर्दै पनि माओवादीले संविधान र कानुन मिचेको आरोप लगाएको छ। यसैबीच, नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले यस निर्णयको विरोध गर्दै प्रधानमन्त्री र माओवादीविरूद्घ राजधानीमा नारा जुलुस गरेका छन्।

राष्ट्रपति छलफलमा व्यस्तः
मन्त्रीपरिषदको बैठकले प्रधानसेनापति कटवाललाई वर्खास्त गरेपछि राष्ट्रपति यादव छलफलमा व्यस्त रहेका छन्। राष्ट्रपतिको कार्यालयमा पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति सुशिल कोइरालाले प्रधानसेनापतिको अवकाश पत्र स्वीकृत नगर्न दवाब दिइरहेको स्रोतले जनाएको छ। अन्तरिम संबिधान २०६३ अनुसार मन्त्रीपरिषदको निर्णय कार्यान्वयन गर्न राष्ट्रपति वाध्य भएपनि सैनिक ऐन २०६३ अनुसार सेनापति हटाउने या नहटाउने निर्णयको अधिकार राष्ट्रपतिमा रहेको छ। राष्ट्रपतिले यस विषयमा कानुनी सल्लाहकारसंग व्यापक रूपमा छलफल गरिरहेका छन्।

सैनिक कूको खतरा, माओवादी छापामारहरूलाई हाई अलर्ट
कटवाल आफ्नो वर्खास्तको विषयलाई लिएर सैनिक मूख्यालयमा छलफलमा व्यस्त रहेको बेला उता सैनिक कू हुन सक्ने आशंकाले पिरोलिएका माओवादीले आफ्ना छापामारहरूलाई सतर्क रहन निर्देशन पठाइएको स्रोतले जनाएको छ। यसैबीच, कैलालीको तालाबन्दस्थित माओवादी लडाकुको सातौँ डिभिजनका कमाण्डर प्रज्ज्वलले देशमा उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न आफूहरु तयार रहेको बताएका छन्।

एमालेद्वारा सरकारबाट फिर्ता हुने निर्णय, बल्खुमा माओवादीवाहेक सर्वदलीय बैठक बस्दै
एमालेले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ। महासचिव इश्वर पोखरेलले एमालेले सरकारबाट फिर्ता हुने निर्णय गरेको बताउंदै माओवादी नेतृत्वलाई दिएको विश्वासको मत फिर्ता लिएको बताएका छन्। एमालेको आह्वानमा बल्खुमा माओवादी वाहेकका १७ दलहरूबीच सर्वदलीय बैठक बस्दैछ…।

नवनियुक्त प्रधानसेनापतिले कार्यभार सम्हाले, कटवालले अवकाश पत्र बुझे
नवनियुक्त कामु प्रधानसेनापति कुलबहादुर खडकाले प्रधानसेनापतिको हैसियतले आजैबाट कार्यभार सम्हालेका छन्। खडकाले पहिलो चरणमा सेनाको जनरल स्टाफ मिटिङ बोलाएका छन्। बैठकमा बलाधिकृत रथी क्षत्रमान सिंह गुरूङसहित काठमाडौंमा उपलव्ध रथीहरू सहभागी छन्। त्यसैगरी, असंबैधानिक र गैरकानुनी भन्दै अवकाश पत्र स्वीकार गर्न नचाहेका कटवालले अन्ततः अवकाश पत्र बुझेका छन्। उनले सर्वोच्च अदालतको ढोका ढक्ढकाउने भएका छन्।

एमाले मन्त्रीहरुद्वारा सामुहिक राजीनामा
एमाले मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष सामुहिक राजीनामा पत्र बुझाएका छन्। सेनापति कारवाहीप्रति असन्तुष्टी जनाउंदै एमाले सरकारबाट बाहिरिने निर्णय गरेपछि एमाले मन्त्रीहरूले सामुहिक राजीनामा दिएका हुन्। उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले वालुवाटार पुगेर एमाले मन्त्रीहरूको सामुहिक राजीनामा प्रधानमन्त्रीसमक्ष बुझाएका हुन्।

राष्ट्रपतिद्वारा कटवालको पुनर्वहाली
राष्ट्रपति डा. रामवरण यादवद्वारा मन्त्रिपरिषद्‍ले अवकाश दिइएका प्रधानसेनापति कटवाललाई पत्र लेखी पदमै बहाल रहन निर्देशन दिएका छन्। १७ दलको बैठकपछि राष्ट्रपति यादवले कटवाललाई आफ्नो काम जारी राख्न पत्र पठाएका हुन्। राष्ट्रपति यादवले पठाएको पत्रको बोधार्थ भने प्रधानमन्त्री पुष्पकमल दाहाल बुझ्न इन्कार गरेका छन्।

पाठक विचार-
माओवादीको यस निर्णय कस्तो लाग्यो? यहाँ क्लिक गर्नुहोस्-

Popularity: 13%

135 comments May 3rd, 2009

आगो निभाउने क्रममा फेरि पाँचको मृत्यु (Breaking News)

एचकेनेपाल डट कम संवाददाता-
रामेछापमा आगलागी नियन्त्रण गर्ने क्रममा १३ सैनिकको दुखद निधन भएको घटना सेलाउन नपाउंदै गुल्मीको हस्तिचौरमा पाँच जनाको डढेलो निभाउने क्रममा शनिवार अपरान्ह जलेर मृत्यु भएको छ। हस्तिचौर सामुदायिक बनमा लागेको डढेलो निभाउने क्रममा पाँच जना स्थानीयबासीको मृत्यु भएको छ भने अन्य केही घाइते भएको बताइएको छ। मृत्यु हुनेमा दुई पुरुष र तीन महिला छन्।

शव डढेका कारण पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रकुमार पालिखेले बताए। चारैतिरबाट फैलिएको आगोको घेराभित्र परेर उनीहरूको मृत्यु भएको जनाएको छ। विहान करीव ११ बजे सुरू भएको आगलागी नियन्त्रणको प्रयाश गर्दा उनीहरूको मृत्यु भएको हो। आगलागीका कारण तीन गाउंहरूसमेत जोखिममा परेका छन्।

आगलागी नियन्त्रण र उद्धारका लागि सुरक्षाटोली त्यसतर्फ लागेका छन्। स्थानीयबासीका अनुसार आगोले थप उग्र रूप लिदै गएको छ।

Popularity: 10%

2 comments April 25th, 2009

आगलागीमा १३ सुरक्षाकर्मीको मृत्यु (Breaking News)

एचकेनेपाल डट कम संवाददाता-
रामेछाप जिल्ला अस्पताल नजिकको जंगलमा लागेको आगो निभाउन गएका कम्तीमा १३ जना सुरक्षाकर्मीको विहीवार मध्यान्ह जलेर मृत्यु भएको छ। अस्पताल नजिकको जंगलमा आगलागी भएपछि त्यहाँ खटिएका मन्थलीस्थित श्रीजंग गणका १३ जना सैनिकहरू आगो निभाउने क्रममा मृत्यु भएको पुष्टि भएको छ। अहिलेसम्म १३ सैनिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। सोही घटनामा एक जना प्रहरीसमेत हराएको जनाएको छ।

आगलागीबाट मृत्यु हुनेहरूमा सेनाका हवल्दार क्षत्रबहादुर बस्नेत, अमलदार तोपबहादुर न्यौपाने, सिपाही युवराज गिरी, इन्द्रबहादुर, सन्तोष सुनुवार, पुकार बस्नेत, निरबहादुर खडका, सन्तोष महत, रामशरण कार्की, धनबहादुर बिष्ट र प्युठहरु प्रकाश अधिकारी, पूर्णबहादुर तामाङ र जयराज केसी रहेका छन्।

अस्पताल छेउको जंगलमा गएरातिदेखि फैलिएको आगो नियन्त्रण गर्न १ सय ३० जना सैनिकसहित प्रहरी र स्थानीयबासी गरी करीव ३ सयजना परिचालन गरिएको थियो। अस्पतालको नजिकको जंगलबाट फैलिएको आगोले विहान करीव ११ बजे उग्ररूप लिएको थियो। चारैतिरबाट फैलिएको आगोको घेरामा परेर सैनिकहरूको जलेर मृत्यु भएको जनाएको छ। मृतक सैनिकहरूको शव व्यारेकमा राखिएको छ।

सेनाको सक्रियताका कारण अपरान्ह ३ बजे आगो नियन्त्रणमा आएकाले अस्पतालमा कुनै क्षति हुन पाएन। आगो नियन्त्रणपछि केही सैनिकहरू सम्पर्कमा नआएकाले घटनामा १३ सैनिकहरू मृत्यु भएको थाहा भएको हो।

Popularity: 10%

Add comment April 23rd, 2009

नेपालगञ्जको यातायात कार्यालयमा बम बिष्फोट, एकको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
नेपालगञ्जको यातायात व्यवस्था कार्यालयमा सोमबार मध्यान्ह बम विष्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

बम विस्फोटमा मृत्यु भएको व्यक्तिको सनाखत हुन सकेको छैन। बम विस्फोट गराउने क्रममा उनको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। विस्फोटको बेला सेवाग्राहीहरू समेत रहेको प्रहरीले बताएको छ। विस्फोटमा मृत्यु भएको व्यक्ति कार्यालयको कर्मचारी र सेवाग्राही नरहेको सो कार्यालयले जनाएको छ।

हात खुट्टा क्षतविक्षत भएको मृतकले निलो रंगको कमिज र पाइन्ट लगाएको जनाएको छ। विस्फोटबाट कार्यालय पछाडिको कोठा, एउटा मोटरसाइकल र साइकलमा क्षति भएको प्रहरीले जनाएको छ।

Popularity: 9%

Add comment March 23rd, 2009

विद्यार्थी चढेको डुंगा पल्टदा चारको मृत्यु (Breaking News)

एचकेनेपाल डट कम संवाददाता -
विद्यार्थी चढेको डुंगा काभ्रे जिल्लाको फलाटेस्थित सुनकोसी नदीमा पल्टिदा चार जना विद्यार्थीको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेहरूमा फँलाटे- ८ का १६ वर्षीय शिवराज खरेल, १२ वर्षीया रचना तामाङ, १३ वर्षीया एकता खरेल र सुजना तामाङ रहेका छन्। दुर्घटनामा परेका दुई जना मिना तामाङ र मौसमी तामाङको उद्धार गरिएको प्रहरीले बताएको छ।

शारदा उच्चमाविका विद्यार्थीहरू कोसोदेवीस्थित हात्तीछेडा महादेब मन्दिरमा दर्शन गर्न जाँदा डुंगा नदीमा पल्टिएको थियो।

Popularity: 9%

Add comment March 9th, 2009

चितवनमा प्रहरीसहित ३ को मृत्यु, स्थिति तनावग्रष्त (News update..)

एचकेनेपाल डट कम संवाददाता -
चितवनको टाँडीमा थारु समुदायले गरेको बन्दका क्रममा भएको झडपमा दुई प्रदर्शनकारी र एक प्रहरीको मृत्यु भएको छ। प्रहरीले विहीवार राति प्रदर्शनकारीमाथि गोली चलाउँदा दुई प्रदर्शनकारीको मृत्यु भएको थियो। त्यसै गरी, शुक्रवार दिउंसो एक बजे सौरहा जाने चोक रत्‍ननगर नजिक प्रदर्शनकारीले वन्चरोले प्रहार गरी प्रहरीको हत्या गरेको हो।

मृत्यु भएकामा पूर्वी चितवन बछौली गाविसका १९ वर्षीय कमल चौधरी र शक्तिखोर ५ का विपिन खड्का छन्। प्रहरीले चलाएको गोलीबाट एकजनाको घटनास्थलमै र अर्कोको उपचारको लागि शुक्रवार काठमाडौं ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो। मृत्यु हुने प्रहरीमा सशस्त्रका प्रहरी जवान कुमार बुढाथोकी रहेका छन्। बुढाथोकीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। अर्का प्रहरी जवान प्रकाश केसी गम्भीर घाइते भएका छन्।

प्रहरीको गोली लागेर १५ जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। अधिकांश घाइतेहरुको टाउको र छातीमा गोली लागेको छ। अन्य घाइतेहरूको मेडिकल कलेज भरतपुर र भरतपुर अस्पतालमा उपचार भइराखेको छ। प्रहरीले प्रतिरक्षाका लागि गोली चलाएको बताएको छ। प्रदर्शनकारीको ढुंगा र इट्टा प्रहारबाट ५ सशस्त्र र १६ जना जनपथ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। यसअघि भीड तितर वितर पार्न प्रहरीले हवाइ फायर गरेका थिए।

स्थिति अनियन्त्रित र हिंसात्मक बन्दै गएपछि स्थानीय प्रशासनले शुक्रवार बिहान १० बजेबाट पूर्विचितवनमा कर्फ्यू जारी गरेको छ। प्रदर्शनकारीले कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन र झडपलाई जारी राखेका छन्। वरपरका गाउंबाट प्रदर्शनकारी थपिएर उग्र बनेपछि स्थिति तनाव र गम्भीर बनेको छ।

बन्दका कारण लगातार तीन दिनदेखि यात्रुहरुको जनजीवन अस्त व्यस्त बनेको छ। अवरुद्ध बाटो खुलाउने क्रममा गएराति प्रहरीले दर्जनौ अश्रु ग्यासका सेल र हवाइ फायरिङ गरेको थियो।

थरूहट संयूक्त संघर्ष समितिले थारूहरूलाई मधेसीमा सूचिकृत गर्ने अध्यादेश नसच्याएसम्म आन्दोलन जारी राख्ने बताएको छ।

Popularity: 9%

1 comment March 6th, 2009

श्रीलंकाली खेलाडीमाथि आक्रमण, राष्ट्रपति स्वदेश फर्कदैं(Breaking News..)

एचकेनेपाल डट कम संवाददाता-
हिजोमात्र नेपाल भ्रमणमा आएका श्रीलंकाली राष्ट्रपति महिन्दा राजपाक्षे आफ्नो तीन दिने भ्रमण छोट्याएर अचानक आज नै स्वदेश फर्किदैछन्।

नेपालस्थित श्रीलङ्काली दूतावासले दिएको जानकारी अनुसार राजापाक्षे साँझ ७ बजे विशेष विमानबाट स्वदेश फर्कने बताएका छन्। राष्ट्रपति महिन्दा राजपाक्षे आज लुम्विनी जाने कार्यक्रम स्थगित गरी फर्कने तयारी गरिरहेका हुन्।


तस्वीरमा आतंककारीहरू

स्रोतका अनुसार श्रीलंकाली क्रिकेट खेलाडीमाथि आज पाकिस्तानमा आतंककारी आक्रमण भएपछि उनले नेपालको भ्रमण छोट्याएका हुन्। उनी आफ्ना घाइते खेलाडीहरूलाई भेट्न पाकिस्तान जाँदै छन्।

आतंककारी हमलामा ६ श्रीलंकाली क्रिकेट खेलाडीहरू घाइते भएका छन्। घाइतेमध्ये थारंगा पारानाभिताना र थिलान सामराविरा २ जनालाई गोली लागेको बताइन्छ। आतंककारी हमलामा ६ प्रहरी र दुई सर्वसाधारण मारिएका छन्। घाइतेहरूको लाहोर अस्पतालमा उपचार भैरहेको छ।

श्रीलंकाली क्रिकेट टिममाथि लाहोरको गद्दाफी रंगशालानजिकै आतंकवादी हमला भएको हो। पाकिस्तानविरुद्ध दोस्रो तथा अन्तिम टेस्टको तेस्रो दिनका लागि रंगशाला जान लागेको श्रीलंकाली टिम सवार बसमाथि आतंककारीले आक्रमण गरेका हुन्। श्रीलंकाली टिम चढेको बसलाई एम्बुसमा पारेर आक्रमणकारीले अन्धाधुन्द गोली चलाएका थिए। खेलाडी चढेको बसलाई स्कर्टिङ गरिरहेका सुरक्षाकर्मीमाथि पनि उनीहरूले अन्धाधुन्द गोली चलाएका थिए। आक्रमणमा १२ जना हतियारधारी आतंककारीहरू सामेल रहेको पाकिस्तानी प्रहरी अधिकारीहरूले बताएका छन्। घटनास्थलबाट प्रहरीले ग्रेनेड र राकेट लञ्चर बरामद गरेको छ।

आतंकवादी आक्रमणको भिडीयो हेर्नुहोस्


आतंककारी आक्रमणमा मारिएका प्रहरी। तस्वीर सौजन्यः बीबीसी

Popularity: 9%

Add comment March 3rd, 2009

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2018
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Posts by Month

Posts by Category

More news....