Posts filed under 'जीवनी'

मेरी आमा भागीरथा प्रसाई- नरेन्द्रराज प्रसाई

नरेन्द्रराज प्रसाई -
१९७५ सालको कुरा हो, ताप्लेजुङको हाङपाङका नरध्वज प्रसाई र तेह्रथुम इवाका प्रेमलाल उप्रेतीको तारिक खेप्ने सिलसिलामा धनकुटाको अमिनीमा परिचय भयो। एउटै प्रकृतिको काम भएकाले उनीहरुवीच घनिष्ठता पनि बढ्दै गयो। उनीहरुले एकअर्काको परिवारको चासो राख्दा दुबैका पत्नीहरु गर्भिणी भएको बेहोरा पनि चाल पाए। त्यसैबेला उनीहरुले आआफ्ना सन्तानहरु छोरा र छोरी जन्मे भने एकअर्कामा कुटुम्बेली सम्बन्ध गाँस्ने निधो गरे।

यथासमय उप्रेतीका घरमा छोरी र प्रसाईका घरमा छोरा जन्मे। मेरी आमा भागीरथाको जन्म १९७६ साल जेठ ८ गते आठर्राई इवामा भएको थियो। पूर्ववचन पालना गर्दै सात वर्षको जयप्रसाद प्रसाईसँग भागीरथा उप्रेतीको लगनगाँठो कसियो।

मेरा बाजे नरध्वज प्रसाई त्यस भेककै कहलिएका धनी थिए। त्यस युगमा कागजी पैसा थिएन, धातुमुद्राको चलन थियो। अनि हाम्रो घरमा पैसा हातले गन्ने चलन थिएन। धातुका पैसा पाथीले भरेर हिसाब राख्दै ठूलाठूला घ्याम्पामा थन्कान्थ्यो।

नरध्वजका पाँच भाइ छोरामध्ये जेठा खडानन्दलाई युधिष्ठिर, माइला मानबहादुरलाई भीम र मेरा बुबा जयप्रसादलाई अर्जुन भनिन्थ्यो। त्यसबखत यी तीन भाइमध्ये एउटाले बोलेपछि अर्काले बूढीऔठा थिच्थे । अनि सानै उमेरमा ज्ञानको प्रखरता भएकाले मेरा बुबालाई जिजू पनि भनिन्थ्यो।

मेरा बुवाले १९९० सालअघि नै त्यस दुर्गम ठाउँमा आफ्नो घरको छाना च्यादरले छाएका थिए। त्यसबेला जस्ताको छानोलाई च्यादर भनिन्थ्यो। त्यतिबेला त्यतातिर च्यादरघरे भनेपछि हामीलाई नै चिनिन्थ्यो।

हाम्रा बुवाआमा सामाजिक काममा नै धनखर्च गर्थे। उदाहरणका लागि भन्ने हो भने- काठमाडौंबाट घर फर्केपछि मेरा बुवाले मेरी आमालाई पशुपतिनाथको महिमा, गरिमा र महत्ताको बेलिबिस्तार लाए। अनि त्यसैवर्ष अर्थात् १९९५ साल कृष्णअष्टमीमा हाम्रा बुवाआमाको जेठो छोरा विष्णुभक्त प्रसाईको जन्म भयो । अति खुसी भएर मेरा बुवाले मेरी आमालाई सोधे, ‘तिमीले छोरो पाएको उपलक्ष्यमा म तिमीलाइ के उपहार दिउँ?’ मेरी आमाले पनि आफ्ना पतिसँग पशुपतिनाथ झैं सानो मन्दिर आफ्नै घरपरिसरमा थापिमागिन्। मेरी आमाको इच्छालाई साकार पार्न युधिष्ठर, भीम र अर्जुन लागिपरे। जसअनुरुप उनीहरुले हाङपाङमा चार ढोका भएको शिवालय बनाए। यतिमात्र होइन यी तीनै भाइ मिलेर हाङपाङको मेलेमा च्यादरपाटी र तीनधारेहिटी पनि बनाए। अनि ठाउँठाउँमा मूलबाटो बनाउन पनि यी तीन भाइ नै अग्रसर हुन्थे।

धनीमानी, समाजसेवी र दानीका कारण गाँउमा मेरी आमाको निकै ठूलो इज्जत थियो। तर उनीमा धनको कहिल्यै अभिमान आएन। उनीभित्र केवल सेवाभाव नै ओतप्रोत थियो।

मेरी आमा निरक्षर थिइन् । तर उनी आफ्ना छोराछोरी लगायत गाँउका बालबच्चाको समेत शिक्षाका लागि मरिमेट्थिन्। त्यस ठाँउमा शिक्षाको ज्योति फैलाउने काम पनि मेरी आमाबाटै भयो। उनैले आफ्नै गोदाममा स्कूलको स्थापना गरिन्। त्यसबेला स्कुल पढ्ने परिपाटि नभएकाले स्कुल खोले पनि बालबालिका पढ्न आउन मान्दैनथे। त्यसैले मेरी आमाले धनीका छोरालाई मीठाई खुवाएर र गरीबका छोरालाई खानापिनाको समेत प्रबन्ध गरेर स्कुल आउन पल्काएकी थिइन्। हाइस्कुल पढ्नेहरुका लागि पनि पछि उनले त्यहाँ निशुल्क छात्रावास बनाएकी थिइन्। जिजुहाउस नाउँको उक्त छात्रावास मेरी आमा कै घर थियो। त्यसैले उनका बारे तेजबहादुर प्रसाईले लेखे- ‘हाम्री आमा भागीरथा प्रसाई निरक्षर भएर पनि चेतनाकी प्रखर नारी थिइन् । सर्घषपूर्ण जीवन यापनका साथै उनमा भएको सामाजिक भावनाको प्रचुरता स्तुत्य छ।’

शिवालय वनेपछि हाम्रा घरमा प्रायः जोगीहरूकै बास हुन्थ्यो । अनि मेरो जन्मपूर्व मेरा बुवा पनि जोगी भएरै हिंडे। बुवाको मन फर्काउन मेरी आमालाई १२ वर्ष लागेको थियो । तर त्यसपछि मेरा बुवा क्रमशः सिथिल हुँदै गए। त्यतिन्जेलसम्ममा मेरी आमापटि्टबाट हामी पाँच छोरा र एउटी छोरी जन्मिसकेका थियौं। अन्ततः मेरा बुबा २०२० साल असार ४ गते स्वर्गीय भए। अनि चौवालीस वर्षको उमेरमै मेरी आमा विधवा भइन् र उनले आर्थिककष्ट पनि खेप्न थालिन्।

यसै प्रसङ्मा नन्दकुमार प्रसाईले लेखे ‘त्यसपछि उहाँकै आफन्तले उहाँको सम्पत्तिमा गिद्देदृष्टि लगाई आर्थिक धक्का पुर्‍याएका थिए। त्यस्तो अवस्थामा पनि साइँली आमाबाट सौता र सौतापटि्टका छोराछोरीहरूका साथै आफ्ना लालाबाला स्याहार्ने काम भयो।’

तत्कालीन सामाजिक कुरितिको प्रताढनाका कारण मेरी आमाले सौता पनि बेहोर्नु परेको चाहिं थियो। तर उनले सौता दीव्यरुपालाई आजीवन आफ्नी बहिनीतूल्य स्नेह दिइन्। त्यसबेलाको सामाजिक मान्यता अनुरुप मेरी आमालाई माइतबाट मैतालु पठाँउदा ‘कि घर गरेर खानू, नसके तमोरमा हाम फालेर मर्नु’ भनिएको थियो । त्यसैले आफ्ना पतिको निधनपछि उनी आर्थिक दृष्टिले तलतल र तल झर्दै जाँदा पनि सङ्घर्ष नै गरिरहिन् तर उनले माइती कहिल्यै गुहारिनन्। खनूप्रुदे रामबाबू प्रसाईले लेखे अनुसार उनले ‘सुनसरीको सुख्ख र पितलसरिको दुक्ख पाइन्।’ वास्तवमा उनी जीवनसँगको सम्झौताको पूर्ण निष्ठामा बाँधिएकी थिइन्।

युवा अवस्थामा मेरी आमाको स्वास्थ्य राम्रो थियो। आफ्ना शिशुलाई चुसाईसकेर बाँचेको दूध आमाको दूध नपुगेका गाँउका शिशुहरुलाई चुसाउन पनि उनी पुग्थिन्। साथै उनी धनीगरीव सबैलाई एउटै आँखाले हेर्थिन्। कसैलाई अन्याय परेको देखेपछि उनी न्याय दिलाउन पनि तम्सिन्थिन्। उनको हकी स्वभावका अघि अत्याचारीको सातो जान्थ्यो। उनको उपकारी व्यक्तित्वको परिचय पाएका मानिसले उनका अघि शिर निहुर्‍याउँथे।

मेरी आमा एकैछिन पनि फुर्सतमा बस्तिन थिइन् र हात बाँधेर बस्नेलाई पनि मन पराउँदिन थिइन्। उनी हरेक प्रकारका सीपले सजिएकी थिइन्। उनले समयसन्दर्भ अनुसार नजानेको र नगरेको कुनै काम पनि थिएन। साथै उनी आशुकवयित्री पनि थिइन्। मेरा बुवाले वाचन गरेका पुस्तकहरुका सैयौं श्लोक उनलाई कण्ठाग्र थिए। सुरिलो भाकामा उनी गीत पनि गाँउथिन्। उनी चाडपर्वमा साथीसँगीसँग नाचगान गर्न पनि औधी मन पराउँथिन्। साथै उनीमा बरबगैंचाको निर्माण गर्ने सीप पनि थियो। चाहे ताप्लेजुडमा होस् र चाहे झापामा होस् उनले आफ्नो घरमा लोभलाग्दो बरबगैंचा बनाएकी थिइन्। उनको जिन्दगानीका सम्पूर्ण पाटो एकएक केलाएर इन्दिरा प्रसाईले ‘मेरी सासू’ नाउँको ग्रन्थमा समेटिन्।

छप्पन्न वर्षघिको कुरा हो; घर लिप्ने रातोमाटो खन्न गएकी मेरी आमालाई पहिरोले पुरेको थियो। कपाल बाटेको धागोको रातो फुर्कोका आधारमा विस्तारै खनेर उनलाई पहिरोबाट निकालिएको थियो। त्यसबेला उनका पेटमा सात महिनाको नानी थियो। त्यसपछि उनी दुइ महिना जिउँदो लासझैं घरैमा लडिरहिन्। महिना पुगेपछि उनले स्वभाविक प्रसवपिडामा एउटा बालक जन्माइन्। ज्योतिषीहरुले ती बालकको नाउँ नरेन्द्रराज प्रसाई राखे।

नइ प्रकाशनका संरक्षक मेरी आमा भागीरथा प्रसाई २०५६ सालदेखि काठमाडौंमा नै बसिन्। २०६२ सालमा ब्लडक्लटका कारण टाउकाको शल्यक्रिया गरिएकी उनलाई मधुमेय, उच्चरक्तचाप, दम र अल्जाइमरले सताएको थियो।

मेरी आमाले आजीवन भौतिक, शारीरिक र मानसिक संर्घष खेपिन्। अनि उनी त्रियानब्बे वर्षको उमेरमा २०६८ साल माघ १४ गते श्रीपञ्चमीका दिन काठमाडौंको आफ्नै घरमा ब्रम्हलिन भइन्।
naiprasai@gmail.com

Recent Videos:

Popularity: 5%

Add comment February 18th, 2012

त्रैलोक्यनाथ उप्रेतीको जीवनी

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
डा.त्रैलोक्यनाथ उप्रेती नरमका नमूना थिए । उनी भद्र पनि त्यस्तै थिए । उनको सरल गुण पनि अनुकरणीय थियो । उनी मान्छेसँग बोल्दा सानो ठूलो भनेर भेद गर्दैन थिए। समयलाई पालन गर्ने उनको सबैभन्दा ठूलो खुबी थियो । उनी वचनका पनि त्यस्तै पक्का थिए । अनि योभन्दा ठूलो गुण उनी इमान्दार थिए । त्यसैबाट उनले आफ्नो व्यक्तित्वको चमक बढाएका थिए।

उप्रेतीको पुख्र्यौली घर डडेल्धुरा थियो । तर उनी काठमाडौंमा जन्मे। उनी १९८० साल असार ११ गते जन्मे । उनका बुबाआमाको नाउँ नन्दराम उप्रेती र हरिप्रिया उप्रेती थियो।

उप्रेतीका पुर्खा डोटी राजाका पालादेखि गुरुपुरोहति थिए। काठमाडौंमा आएपछि उनका बुबाले राणाका सन्तानलाई ट्युसन पढाउने पनि काम गरे। यिनका बुवा चन्द्रशमशेरका नातिहरु र मोहनशमशेरका छोरीहरुका गुरुबा थिए। त्यसैले मृगेन्द्रशमशेर डाइरेक्टर जनरल भएपछि उप्रेतीका बुवा परीक्षा नियन्त्रक भए। अनि त्यस पदमा बस्ने नन्दराम उप्रेती पहिलो व्यक्ति थिए।

त्रैलोक्य सानामा फटाहा थिए । उनी हुलिया र छुलिया पनि थिए । त्यतिमात्र होइन अर्काका बारी बगैंचाभित्र पसेर फलफूल चोर्नेमा पनि उनी पारङ्गत थिए। उनी स्कूलमा गयो त्यतै बदमासी गर्थे, टोलमा पनि त्यसै गर्थे र घरमा पनि उपद्रो मच्चाई बस्थे। बदमासी गर्दा यिनले बराबर कुटाई पनि खाए। तर घरको बोझले थिच्न थालेपछि उनको उग्र जीवन पनि विस्तारै थान्को लाग्न थालेको थियो। अनि उनी एकातिर घर व्यवहारमा लागे र अर्कातिर जनहीतमा पनि बाटिन थाले। हुँदाहुँदे उनी राष्ट्रका लागि नै एउटा आवश्यकीय व्यक्तिमा रुपान्तर हुन थाले। बाल्यकालको एउटा आवारा र अराजक पनि भविष्यमा कुशल हुन्छ भन्नेको प्रमाण उनी पनि एक थिए।

उप्रेती सानेदेखि खेलकुदमा विशेष चाख राख्थे । टोलका केटाकेटी भेलापारेर उनी नरकटको घोडा बनाएर खेल्थे । उनी कहिले झुम्रोको गोल र कहिले भोगटेको गोल खेल्थे । त्यति बेला उनी एक्कैछिन चुपलागी बस्तैन थिए।

एकदिन उप्रेतीलाई उनका बुबाले एकराज शमशेरका घरमा पुर्‍याए। त्यसैबेला राणाले उनलाई मिहेनत गरेर पढ्ने र्सत राखेर तीनपाङ्ग्रे साइकल उपहार दिए। त्यसपछि टोलमा उनको झन नेतृत्वदायी भूमिक गाँसिन थाल्यो। टोलका प्रायः सबै केटाकेटी उनका अघिपछि हिंड्न थाले । अनि त्यही साइकलले निश्चित समयमा पढ्ने उनको वातावरण बनिदियो। भनौं साइकल पाएपछि उनी पढ्न पनि मन दिन थाले । एउटा उदण्ड र छाडा बालक पनि माल पाए पछि थान्को लाग्छ भन्ने प्रमाण उप्रेती नै भए।

१९९० सालको भूकम्पपछि उप्रेती दरबार स्कूलमा भर्ना भए । तर स्कूलमा उनी पढ्न मन दिंदैन थिए । प्रायः उनी मास्टरको कुर्टाई खाएरै घर र्फकन्थे। उनको त्यो नरमाइलो रीत उनका बुवाका कानमा पनि पुग्यो । उनी दरबार स्कूलमा जतिमा भर्ना भए त्यहँदेखि एक कक्षा पनि चढेनन्। स्कूल गएका उनी दिनभरी स्कूलबाट भाग्थे र बेलुका घर र्फकन्थे। त्यसैले उनलाई बनारस पुर्‍याइयो । त्यहाँ पनि उनको नानीदेखि लागेको बानी उस्तै भयो। तर त्यहींबाट उनले म्याटि्रक पास गरे।

बनारसमा पढ्दापढ्दै उप्रेतीका बुवाको निधन भयो । त्यसपछि उनलाई पहिले झैं मोहनशमशेरका छोरीहरुले पढ्ने खर्च पठाइरहे। त्यतिमात्र होइन उनले जयपृथ्वीबहादुर सिंहका पत्नी र चन्दशमशेरकी रानीबाट पनि पढ्ने खर्च पाइरहन्थे।

उप्रेतीले त्रिचन्द्र कलेजमा आइए पढे । त्यही बेलामा उनको बिहे बैतडीका मोहनदेव भट्ट र द्रोपदीदेवी भट्टकी छोरी सत्यवतीसँग भयो। बिहे ताक उनी १८ वर्ष र उनी पत्नी ११ वर्षकी थिइन् । अनि उनकी पत्नी भने निरक्षर थिइन्। यी दम्पतिबाट छोरा दीपक, छोरीहरु ज्ञानू र सरीता जन्मे । बिहेकै कारण उनको आइएको परीक्षा पनि छुट्यो । तर उनले अर्को वर्षजाँच दिए र पास गरे । साथै उनले त्यहींबाट बीए पनि पास गरे। त्यसपछि उनले भारतको पटनाबाट बीएड र संयुक्त राज्य अमेरिकाको अरिगन विश्वविद्यालयबाट एम्एड र पीएचडी पनि गरे।

उप्रेती २००२-०३ सालदेखिनै आधारभूत शिक्षक तालिम केन्द्रको शिक्षकमा भर्ना भैसकेका थिए । २००७ साल फागुन ७ गते श्री ३ मोहनशमशेरको प्राइममिष्टिरसिपमा गठित मन्त्रीमण्डलमा शिक्षमन्त्री नृपजङ्ग राणा थिए। अनि उनी तिनै राणाका निजीसचिवमा तानिए। त्यो पद पाउनु उनको भाग्यको अर्को फट्का थियो। त्यसपछि उनी शिक्षाको डिपुटी सेक्रेटरी भए। क्रमशः उनी राष्ट्रिय शिक्षा समितिमा सचिव भए। रुद्रराज पाण्डेको अध्यक्षतामा गठित राष्ट्रिय शिक्षा आयोगमा उनी सदस्यसचिव भए । तिनै पाण्डे त्रिभुवन विश्वविद्यालयको उपकुलपति भएपछि उप्रेती रजिष्ट्रार भए। अनि पछि उनी साडेचार वर्षसम्म उपकुलपति पनि भए।

उप्रेतीले उपकुलपतिमा नाउँ चलाएपछि उनको खुबै चर्चा भयो । त्यसपछि उनी फ्रान्सका लागि राजदूतमा नियुक्त भए। उप्रेतीले बनारसको पढाईकै सिलसिलामा स्काउटमा लागेका थिए । त्यसैले नेपाल आएपछि उनैले स्काउटको सिद्धान्त चलाए। उनी नै स्काउटका नायक थिए । तर स्काउटको कार्यालय उनैको खल्तीमा थियो । उनले एकपटकको भेटमा राजा महेन्द्रलाई बेलीविस्तार लगाएपछि राजाले आफ्नो लैनचौरको निजी जग्गा स्काउटलाई दान दिएका थिए।

उप्रेती शिक्षाक्षेत्रका एक कुशल हस्ती थिए । नेपालको शिक्षा नीतिको जराजुरी उनैले केलाएका थिए । उनैले शिक्षाबारेका अनेक नीति पानी पारेका थिए।
उप्रेतीले नेपालका विभिन्न भूभाग डुले र विश्वका प्रायः सबै प्रमुख राष्ट्रहरु पुगे। उनी जहाँजहाँ गए नेपालको शिक्षाबारेके अवधारणा लिएर जान्थे।

उप्रेती अनेक सामाजिक, शैक्षिक र खेलकुदका संस्थाहरुमा रहे । उनी क्रिकेटका खेलाडी थिए। उनैको समेत भूमिका जोडिएर नेपाल क्रिकेट एसाशिएसनको स्थापना भएको थियो। नेपालमा फूटबलको संस्थागत विकासमा पनि उनकै भूमिका थियो। उनैको समेत लगनका कारण नेपाल फूटबल सङ्घको स्थापना भएको थियो।

उप्रेतीले नेपाली धरामा धेरे मिहेनत गरे। त्यही परिणामले उनी गोर्खा दक्षिणबाहु दोश्रोदेखि महेन्द्र विद्याभूषण प्रथमसम्मले विभूषित भए। साथै विदेशबाट पनि यिनले विभिन्न विभूषण प्राप्त गरे।

उप्रेती लेखनमा पनि अग्रसर थिए । उनका फूटकर लेख खास गरेर शिक्षाविषयमा नै केन्द्रित हुन्थ्यो। अनि सिङ्गो कृतिका रुपमा उनको आत्मकथा ‘विगतका पाना’ (२०६१) छापियो । तर उनले सो कृति देख्नै पाएनन्। किनभने उनी २०६० सालमै स्वर्गीय भइसकेका थिए।
naiprasai@gmail.com

Recent Videos:

Popularity: 4%

Add comment January 26th, 2012

सगरमाथाभन्दा पाँच फुटमाथि पासाङल्हामू शेर्पा

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
नेपाली समाजमा पासाङल्हामू शेर्पाले अन्तिम पटक सार्वजनिक भाषण गरेकी थिइन्, ‘मैले तीन पल्ट सगरमाथाको चुचुरोमा पुग्ने दृढ अठोट गरेँ, तर सफल हुन सकिन। यस पल्ट फेरि अन्तिम अठोटका साथ असफलतालाई सफलताको चुनौती ठान्दै दृढ सङ्कल्प लिएकी छु।’ अनि त्यसपछि उनी सरासर सगरमाथा चढ्न हिँडिन्। उनले सगरमाथा पनि चढिन् । इतिहासमा त्यो दिन अर्थात् २०५० साल वैशाख १० गते उनले सगरमाथाको टुप्पोमा नेपालको राष्ट्रिय झण्डा फहराइन्। त्यसको पन्ध्र मिनेटपछि उनको भौतिक चोला पनि सगरमाथामा नै विलय भयो। उनको देह आधामिटर हिउँले छोपेको अवस्थामा १९ दिनपछि फेला पर्‍यो।

पासाङल्हामू शेर्पाको जन्म २०१७ साल मङ्सिर १० गते सोलुखुम्बुको सुर्केमा भएको थियो। उनको मात्रृभूमि हिमाली प्रदेशको अनकन्टार ठाउँ मानिन्छ।

पासाङका बुबा फुर्बा कितार शेर्पा लाहुरे थिए र आमा आदि शेर्पा गृहिणी थिइँन् । शुक्रबार जन्मेकीले उनको नाउँ पासाङ राखिएको थियो। शेर्पाभाषामा शुक्रलाई पासाङ भनिन्छ। अनि घरपरिवारमा बाँधिएपछि उनका बुबाले पल्टन छाडेका थिए।

सानैदेखि पासाङ घरव्यवहारमा लिप्त थिइँन्। उनी घाँसपात गर्थिन्, मेलापात गर्थिन् र सोत्तर काट्न जान्थिन् । उनी सानैदेखि सफासुघर थिइन्। उनी जाँडरक्सी र चुरोट बिंडी पनि खान्न थिइन्। उनी गाउन र नाच्ने कलामा पनि लहसिएकी थिइन्। मेलापात गएका बेला उनी जुहारी पनि खेल्थिन् तर हार्दिन थिइन्। अल्लारेमै उनले आफ्नो गाउँमा धेरै काम सिकिन्। कुटो, कुदाली, हँसिया, डोको, थुन्चे र डालीहरू बोकेर उनको बाल्यकाल र उकालीओराली र भीरपहरा हिंडेर किशोरावस्था बितेको थियो। उनले त्यतिन्जेलसम्म स्कुल देखेकी पनि थिइनन्।

पासाङ हिउँद लागेपछि आफ्ना आँगनमा हिउँको थुम्को बनाएर चढ्ने गर्थिन् र गर्मीयाममा हिउँचुलीजस्ता पहाडका थुम्काथुम्की खोजीखोजी उक्लने गर्थिन्। अनि त्यसै बेला उनले आफ्नी सखी कान्छी शेर्पालाई भनेकी थिइन्, ‘हेर् ! कान्छी, एक दिन म हिमालचुली पुग्छु।’

पासाङका बुबा फुर्वा कितार शेर्पाले बृटिस सैनिकको जागीर छाडेर ट्रेकिङको काम गरे । बुबाको पेशा उनलाई खुवै मन पथ्र्यो। त्यसैले बुबासँगै उनी विभिन्न हिमाललगायत सगरमाथाको पनि ट्रेकिङ गएकी थिइन् । उनी पन्ध्र वर्षको हाराहारीमा पुगेपछि उनले आफ्ना बुबालाई भनेकी थिइन्, ‘बुबा ! एक दिन म सगरमाथाको चुचुरोमा पुग्छु।’

पासाङले ट्रेकिङलाई सौख बनाइन्। हिमाली पर्यटकलाई डुलाउँदा घुमाउँदै उनी एउटा होटलमा काम गर्न पनि थालिन्। अथवा भनौं लुक्लाको कोअपरेटिभ होटलमा उनी वैटर भइन्। अनि त्यही होटलमा बसेका बेला उनले पर्वतारोहीहरूसँग मज्जाले गफिन पाइन्। उनले त्यहाँ दुइ वर्ष जागीर खाइन् र त्यस अवधिमा उनले हिमाल चढ्ने मात्र ज्ञान ग्रहण गरिन्। त्यसै छेक उनी प्रणयसूत्रको पनि खोजिमा थिइन्।

आफ्नो मामाका साला लाक्पा सोनामसँग पासाङको अठार वर्षको उमेरमा प्रीति बस्यो । किशोरावस्थाको चुलीमा पुगेपछि अर्थात् २०३६ सालमा उनैसँग पासाङको बिहे भयो। अनि उनी आफ्ना पतिसँग काठमाडौं लागिन्। त्यसैवीच पासाङ र लाक्पाका दुइ छोरी दावा, दिक्की र एक छोरा नामगेल जन्मे।

लाक्पा सोनाम ट्रेकिङमा नाउँ चलेका पेसेदार थिए । पासाङको इच्छा पनि त्यही व्यवसाय नै थियो। त्यसैले उनी पनि यसै पेसामा आवद्ध भइन्। परिणामस्वरूप उनीहरूको थामसेर्कु ट्रेकिङ चलाए । उनीहरूको त्यो पेसा दिन दुइ गुना रात चार गुनाले फस्टायो । त्यही अवधिमा पासाङले पर्यटकहरूसँग अङ्ग्रेजी र फ्रेन्च भाषा पनि सिकिन् । त्यसै बीच उनीहरू विदेशी मित्रहरूको निमन्त्रणामा त्यता गइरहे। त्यसै बेला पासाङले युरोपको सबैभन्दा अग्लो हिमाल ४८४८ मिटरको माउन्ट ब्ल्क पनि चढिन्। हुन त त्योभन्दा अघि नै उनले मनाङको ६०९१ मिटरको पिसाङ चुली चढिसकेकी थिइन्।

सन् १९९० मा पासाङ सगरमाथा आरोहणका लागि उक्लेकी थिइन् । त्यस बेला उनी माथि जान सकिनन् । त्यसपछि अर्को वर्षफेरि उनैको नेतृत्वमा प्रथम नेपाली नारी दल सगरमाथातिर लाग्यो । त्यति खेर मौसम सारै खराब भएकाले उनीहरु बीचैबाट फर्केका थिए । साथै १९९१ सालमा पनि उनी त्यतै हिँडेकी थिइन् तर मौसमकै कारण फेरि उनले त्यो धुरी छुन पाइएन।

पासाङले सगरमाथा चढ्ने भीष्म प्रतिज्ञा गरेकी थिइन् । २०४७ साउन २१ गते पेरिसमा पुगेताक प्रथम सगरमाथा आरोही हिलारीसँगको भेटमा उनले भनेकी थिइन्, ‘तपाईंका पैताला पछयाएर म एक दिन विश्वको अग्लो त्यही टाकुरामा उभिने छु।’

पासाङको बोलि साक्षत थियो । उनले आफ्नो जीवनको लक्ष्य पूरा गरिन् । तर उनले जितेको खुसीयाली कसैसँग बाँढ्न पाइनन् । यतिहुँदाहुँदै पनि सगरमाथामा उनको दुखद निधनलाई पनि यशस्वी मानियो । किनभने त्यति माथि स्वर्गीय हुनु पनि भाग्य चाहिन्छ र पासाङजस्तीले मात्रै त्यस्तो भाग्य पाउँछन् । तीनै भाग्यमानी पासाङको पार्थिव शरीरलाई राजधानी ल्याएर राष्ट्रिय सम्मानका साथ यात्रा गराइएको थियो।

पासाङको निधनपछि उनलाई विभिन्न मानसम्मानबाट विभूषित गराइयो । उनी प्रदीप्त नेपाल तारा प्रथमबाट विभूषित भइन् । साथै सरकारले उनलाई राष्ट्रिय विभूतिमा समावेश गर्‍यो। उनका नाउँमा हुलाक टिकट पनि प्रकाशनमा आयो। त्यसपछि पासाङल्हामू शेर्पा पर्वतारोहण प्रतिष्ठानको स्थापना भयो। साथै उनका स्मृतिमा शिक्षण, सामाजिक र पर्वतारोहणबारेका संस्थाहरूको पनि स्थापना भइरहृयो।

अन्तिम पटकको कुरा हो, जुन बेला पासाङ र उनका पति लाक्पा सगरमाथा माथिमाथि उक्लिरहेका थिए। चौथो सिविरसम्म दुबैजना विजय हुँदै थिए। तर सगरमाथाको चुचुरामा पुग्ने समय त्यस ठाँउमा अत्यासै लाग्ने गरि मौसमले कहाली लाग्दो रुप लिएको थियो। अनि पासाङले आफ्ना पतिलाई विनम्रता दर्शाएर भनिन्, ‘स्थिति ठीक छैन, तपाईं यहीँबाट तुरुन्तै फर्कनुहोस् । हामी दुवै जना बित्यौं भने घरपरिवार कसले हेर्छ?’ त्यति बेला पासाङको कुरा लाक्पाले हार्नै सकेनन्। वास्तवमा पासाङको हिम्मत चाहिं फलाम जस्तै बलियो थियो। त्यसैले उनी सगरमाथा आरोहणका लागि विश्वमा सत्रौं स्थानकी नारी पात्रमा अभिलिखित भइन्। अनि उनी सगरमाथा टेक्ने प्रथम नेपाली नारी भइन्।

Popularity: 4%

Add comment January 15th, 2012

राणा शासनपछि पहिलो जनता प्रधानमन्त्री मातृकाप्रसाद

राणा शासनपछि पहिलो जनता प्रधानमन्त्री मातृकाप्रसाद
जनरल मातृकाप्रसाद कोइराला

नरेन्द्रराज प्रसाई/ एचकेनेपाल डट कम -
ज्यूँदो शहीदका रुपमा मातृकाप्रसाद कोइराला सुपरिचित थिए। उनी बाँचुञ्जेल राजनीतिमा नै समर्पित भैरहे । अनि उनी साहित्य लेखनमा पनि आबद्ध थिए र समाजसेवामा पनि मन, वचन र कर्मले जोडिएका थिए।

राणाशासन उखेल्नेमध्ये कोइरालाको पनि दरो भूमिका थियो । त्यसैले उनले आफ्नो जीवनको उत्तर्रार्धमा डायरीमा लेखे, ‘जहानिया शासन अन्त गराउने प्रयासमा मेरो पनि प्रमुख भूमिका रहेको इतिहास साक्षी छ । जुन ध्येय र उद्देश्यले सो क्रान्ति भयो ती पूर्ति हुन अझै बाँकी छन् । जनताको जीवनस्तर उकास्ने, सबैले काम र माम पाउने प्रयासमा मेरो बरगत र बुद्धि लगाउन पाए जीवनको अन्तिम वर्षरु केही र्सार्थक हुने थियो । साथै विकसित, शान्त र सुन्दर नेपाललाई हेरी मर्ने इच्छा छ।’

कोइरालाको भावनाको त के कुरा र ! अन्तिम समयमा उनको जीवनकै कुनै अर्थ पनि देखिएन । सिंहदरबारले पनि उनको वास्ता गरेन र राजदरवार पनि उनीसँग नजिक देखिएन । अनि जनता पनि अर्कै परिवेशको मूर्दावाद र जिन्दावादमा सरिक भैसकका थिए । त्यत्रो इतिहास बोकेका मातृका बाबुको निधनमा आर्यघाटमा सय जना पनि मलामी थिएनन् । उनी २०५४ साल भदौ २६ गते स्वर्गीय भए।

कोइरालाको जन्म १९६८ साल पुस १७ गते विराटनगरमा भएको थियो । उनी शहीद कृष्णप्रसाद कोइरालाका जेठा छोरा थिए । कृष्णप्रसादका छ जना छोरा मात्रृका, विश्वेश्वर, हरिहर, केशव, तारिणी र गिरिजा थिए र मातृकाप्रसादकी आमा मोहनकुमारी पटि्टका उनी एउटै छोरा थिए।

छ वर्षको भएपछि कोइरालालाई उनकी बजै राज्यलक्ष्मीदेवीले कासी लगिन् । अनि उनी युवाकालको आरम्भसम्म भारतमै बसे ।
कासीमा कोइरालाले अमरकोश कण्ठ गरे, चण्डी घोके र धर्मकर्मका अन्य ठेली रटे । त्यसपछि उनी स्कूल भर्ना भए । उनी खाँडीको लुगा लगाएर स्कूल जान्थे । उनका परिवारमा खाँडी लगाउने उनी नै पहिलो थिए । उनी पढेको स्कूलमा पं.जवहारलाल नेहरु आएका बखत उनले नेहरुसँग संवाद गरेका थिए । विविध कारणले विभिन्न स्कूल चहार्दाचहार्दै उनले दरभङ्गास्थित राष्ट्रि्रय विद्यालयबाट म्याटि्र्रक पास गरे । त्यसपछि उनी बिहार विद्यापिठमा भर्ना भए।

बिहार विद्यापिठमा पढेताका कोइराला आफ्नो काँधमा खाँडी कपडा हालेर गाउँ र हाटबजार बेच्न जान्थे । साथसाथै प्रौढ र बाल रात्रि पाठशालामा पनि उनी पढाँउथे । अनि बाढी, आगोलागी र दड्गा भएका ठाँउमा पनि उनी सहयोग गर्न पुग्थे । त्यसै बखत उनलेे महात्मा गान्धीसँग परिचय गर्ने मौका पाए । अनेक कार्यमा जुट्ताजुट्तै उनले सत्र वर्षो उमेरमा स्नातक उत्तीर्ण गरे । त्यति बेलासम्ममा उनले राजनीतिमा निक्कै प्रभाव देखाइसकेका थिए । तर त्यस घडीसम्ममा मोरारजी देर्साई राजनीतिमा प्रवेशै गरेका थिएनन्।

कोइराला १५ वर्षको उमेरमा राजनीतिको किशोर नेतृत्व पड्तिमा पुगिसकेका थिए । त्यसै उमेरमा उनी प्रथम अखिल भारतीय राष्ट्रिय काड्ग्रेस बिहार प्रान्तको महासचिव र पछि सभापतिमा छानिए । त्यसै परिवेशमा गुहाटीमा सम्पन्न अधिवेशनको नेतृत्व उनैले गरेका थिए । यसैबेला उनको लालबहादुर शास्त्रीसँग भेट भएको थियो।

त्यतिबेला कोइरालाले हिन्दी र अड्ग्रेजीका बुलेटिन आफ्नै सम्पादनमा प्रकाशन गरे । राजनीतिमा सक्रिय भएका बखत कोइराला र उनका भाइ वीपी कोइरालालाई हातकडी लगाएर जेल पुर्याइएको थियो । त्यसबेला यिनीहरुलाई डकैति गरेको झुटो आरोप लगाइएको थियो । त्यसबेला जेल पुर्याएर पाँचपाँच केजी ओजनको साड्लोले खुट्टामा बाँधी उनीहरूलाई कालो कोठरीमा थुनिएको थियो । त्यसबेला खुट्टामा ठोकिएको नेलले घाउ पारेको खत उनीहरुको जीवनपर्यन्त रहृयो । त्यसबेला जेल सार्दा पनि हातकडी, खुट्टामा साँङ्लो र कम्मरमा डोरी बाँधी उनीहरुलाई हिंडाएर प्रदर्शनका साथ लगिन्थ्यो । अनेक कष्ट खेपेर उनीहरू छ महिनासम्म जेलमा बसे।

कोइरालाको विहे २१ वर्षको उमेरमा सप्तरीकी मञ्जु पोख्रेलसँग भयो । यी दम्पतीबाट विमल, कमल, अजय, विजय र सञ्जय अनि सविता र वविता जन्मे । दाम्पत्य जीवनमा बाँधिएपछि उनले नेपाल आएर जागीर खाए । अनि सुब्बा हुने वित्तिक्कै जागीर खोसेर राणाले उनलाई काठमाडौंबाट चारभन्ज्याङ कटाए । त्यसपछि उनी सरासर विराटनगरमा पुगेर काठको ठेक्कामा लागे ।
कोइराला २००४ सालदेखि राणा उखेल्ने राजनीतिमा लागे । त्यसपछि उनी क्रमशः नेपाली राष्ट्रिय काड्ग्रेस, नेपाली काड्ग्रेस र राष्ट्रिय प्रजापार्टीको निर्वाचित सभापति भए । उनको योगदानस्वरुप उनी २००८ मङ्सिर १ गते प्रधानमन्त्री भए । राणाकालीन युग समाप्तपछि जनताको छोरो पहिलो पल्ट प्रधानमन्त्री हुने उनै भए । त्यसबेलासम्ममा संसारभरिमा सबैभन्दा कान्छो उमेरको प्रधानमन्त्री पनि उनै थिए । वीचमा झन्नै एक वर्षजनरल केशरशमशेर मन्त्रीपरिषद्का प्रमुख भए र त्यसपछि फेरि २०१० असार ४ गते राजा त्रिभुवनबाट कोइराला प्रधानमन्त्रीमा पुनः नियुक्त भए।

राजा त्रिभुवनले कोइरालालाई मन पराएका थिए । त्यसैले उनी नेपाल तारा प्रथमबाट पनि विभूषित थिए । त्यतिमात्र होइन उनलाई मानको खातिर महारथी पनि प्रदान गरियो । अनि राजा महेन्द्रबाट उनले त्रिभुवन प्रजातन्त्र श्रीपद प्रथम पनि प्राप्त गरे ।
कोइरालाको समाजसेवामा पनि निक्कै देन थियो । उनी गान्धी तुलसी चर्खा प्रचारक स्मारक महागुठीका अध्यक्ष र नेपाल क्षयरोग निवारण संस्थाको सभापति थिए । उनी नेपाल रेडक्रस सोसाइटीको अध्यक्ष पनि थिए भने लाइन्स क्लवको चर्टर सभापति रहेर सेवामा बाँधिएका थिए । उनैको गुरुत्तर भूमिकाले विराटनगरमा वीरेन्द्र सभागृह निर्माण भयो र सो सभागृहको उनै अध्यक्ष थिए । महेन्द्र मोरड कलेजका संस्थापक सभापति उनै थिए । उनैको कारण विराटनगरमा प्रसुतिगृहको निर्माण र आदर्श विद्यालयको स्थापना भयो । उनैको पहलमा विराटनगरमा स्मशानघाट निर्माण भयो । विराटनगरको शिक्षणसंस्था, पुस्तकालय निर्माणमा कोइरालाको अतुलनीय भूमिका थियो।

कोइराला शारदाकालीन साहित्यकार थिए । उनी कथा, कविता, निबन्ध, प्रबन्ध लेखनका सिद्धहस्त सष्टा थिए । उनका कृतिहरु ‘कोशीको कथा’, ‘मातृकाप्रसाद कोइरालाको कथा’ र ‘मातृकाप्रसाद कोइरालाका कविता’ प्रकाशित भए । साथै उनको शेषपछि अंग्रेजी भाषामा उनको आत्मकथा पनि प्रकाशनमा आयो।

२०१५ सालको आम निर्वाचनमा कोइरालालाई टिकट दिइएन । अनि २०१६ सालमा राजा महेन्द्रले उनलाई महासभाको सदस्यमा मनोनीत गरे । उनी २०१८ सालमा अमेरिकाको राजदूत पनि भए । त्यसपछि उनी झारेझुरे राजनैतिक पदहरूमा मनोनीत हुँदै आए । यसैक्रममा उनी राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत भए । अनि राजाको मनोनीत छाडेर उनी जनताको निर्वाचित माननीय भए । तर २०३६ सालमा निर्वाचित कोइरालालाई हराएर राजाबाट मनोनीत सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाइयो । यतिहुँदाहुँदै पनि उनले हरेस खाएनन् र बरु राजालाई सघाएर नै हिंडे । उनी राजसंस्थाको कामकार्यवाहीबाट त्यति सन्तुष्ट थिएनन् तर नेपालमा यो संस्था चाहिन्छ भनेर घाँटी सुकाउँथे।

नेपाली परिवेशमा कोइरालाको अनुपातमा काम गर्ने अर्को मान्छे विरलै भेटिन्थ्यो । तर तिनै कोइरालालाई राजनीतिले पनि क्रमशः टिक्न दिएन । साथै ८६ वर्षभएपछि उनलाई स्वास्थ्यले पनि साथ दिन छोड्यो र अस्पताल पुर्याइयो । जीवनको अन्त्यमा उनलाई राजवादीको धरहरा छुने वात लाग्यो । त्यसैले उनी मरेपछि उनका नाउँमा सिंहदरबारले पनि सिन्का भाँचेन र राजदरवार पनि चुँ बोलेन । अन्ततः एउटा इतिहास कठाङ्ग्रीएर ठिङ्ग उभिरहृयो।
naiprasai@gmail.com

Popularity: 4%

Add comment January 1st, 2012

गोर्खे खबर कागजका सम्पादक पादरी गङ्गाप्रसाद प्रधान

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
कमल दीक्षितले लेखेका थिए- ‘पादरी गङ्गाप्रसाद प्रधान खि्रस्तान धर्मका एक निष्ट भक्त हुन्;, त्यसभन्दा रत्तिभर कम नभएको एक कट्टर भाषाभक्त पनि हुन् । यो कुरा बिर्सिए हामीलाई पाप लाग्छ ।’ हो सत्य हो; उनी नेपाली भाषा भनेपछि प्राणको पनि बाजी मार्थे । नेपाली बोलीमा उनको मोह जोडिएको थियो।

रूपनारायण प्रधान तथा राजमती प्रधानका छोरा गङ्गाप्रसाद प्रधानको जन्म १९०८ असार २२ गते ठंहिटी, काठमाडौंमा भएको थियो । गङ्गाप्रसाद सानो हुँदा उनकी आमा स्वर्गीय भइन्।

रूपनारायण काठमाडौंको हनुमान ढोका दरबारमा द्वारे थिए। श्रीमती खसेपछि उनी काठमाडौंमा टिक्नै सकेनन् र गङ्गाप्रसादले दस वर्ष टेकेपछि रूपनारायण दार्जीलिङतिर बसाइँ सरे। त्यस बेला काठमाडौंबाट दार्जीलिङ हिँडेर पुग्न उनीहरूलाई तीन हप्ता लागेको थियो।

रूपनारायणले दार्जीलिङ पुगेपछि अर्की ल्याए। अनि गङ्गाप्रसादकी सौतेनी आमाले उनलाई कठोर शारीरिक कामका कज्याउने गर्थिन । त्यसबेला उनलाई स्कुलतिर जान नदिई बगानतिर पठाइन्थ्यो । त्यसैले सुरुका दिनमा नै उनले चियाको पात टिप्न थाले । त्यसबेला उनका हातमा कितावकापी देखियो भने उनकी सौतेनी आमाले च्याति दिन्थिन् । यति हुँदाहुँदै पनि प्रधानको जीवनमा परमेश्वर दाहिना भए । त्यसैले उनी पादरी म्याक फार्लनका छेउ पुगे । अनि पादरीको सहयोग, सद्भावना र प्रेम उनीप्रति रहन थाल्यो । त्यसपछि उनका हातले कितावकापी पनि समात्न थाल्यो।

त्यतिन्जेलमा प्रधान भित्रभित्रै मिसनमा लहसिइसकेका थिए। उनी किशोरावस्थाको टुप्पोमा पुगेपछि मिसन स्कुलमा भर्ना भइसकेका थिए। त्यसपछि उनी घरमा पनि काम गर्थे र स्कुलमा पनि पढ्थे । तर त्यतिबेला पनि उनकी सौतेनी आमाले उनलाई कज्याएर कोइला बोक्ने काममा लगाइरहिन् । कहिले चिया पत्ती टिप्ने, कहिले दाउरा बोक्ने र कहिले घर धन्दा गर्ने काममा उनी लाग्थे । तर शरीरले थाम्न नसकेपछि उनले घरै छाडेर पूर्ण रूपमा मिसनमा आफूलाई प्रविष्ट गराए । त्यो कुरा उनकी सौतेनी आमालाई सहृय भएन र त्यस कचकचले एक दिन उनका बाबुले पनि मुख फोरे, ‘छोरा तँ पढ्न थालेपछि तेरी आमाका कारण मलाई सारै औडाहा भयो । अबदेखि तँ स्कुल नजा ।’ त्यसपछि उनी स्कुल जान छाडे । तर उनले सकुल छाडेको तीन महिनामै पादरी मेकफार्लेन आएर उनलाई फकाएर स्कुल लिएर गए।

प्रधान फेरि मिसन स्कुल जान थाले । स्कुलमा उनी सारै मिहेनत गर्थे । उनी पढिरहेका बेला मिसन स्कुलका एक जना शिक्षक गयल भए । उनले पढाउन छाढेपछि तुरुन्तै अर्को शिक्षक पनि भेटिएन । अनि उनी पढ्दापढ्दै खाली सिटको शिक्षकमा नियुक्त भए । त्यसपछि उनी आर्थिक रुपमा सबल हुन थाले।

तीस वर्षमा अक्षर चिनेर पनि नेपालमा जसरी स्वामी प्रपन्नाचार्यले वेदमा के छ - लेखे त्यसरी नै ढिलै अक्षर चिनेर भारतमा गङ्गाप्रसाद प्रधानले पनि नेपाली भाषामा वाइबल अनुवाद गरे। त्यसपछि नेपालीमा बाइबल पढ्ने पाठकले उनलाई खुवै माने । वास्तवमा त्यो वाइबल नेपाली भाषा पढ्ने क्रिश्चियनहरूका लागि मार्गदर्शन नै भयो । त्यसैले यिनीहरुले यसलाई सिरानीमा राखे । उनले अनुवाद गरेको वाइबल नेपाली भाषासाहित्यको जसरी एउटा सम्पत्ति बन्यो त्यसै गरेर त्यस ग्रन्थले क्रिश्चियनधर्मको आड पनि लियो।

भारतको दार्जीलिङबाट गङ्गाप्रसाद प्रधानले १९५७ साल पुसदेखि ‘गोर्खे खबर कागज’ प्रकाशित गर्न थाले । त्यस प्रकाशनको चार महिनापछि अर्थात् १९५८ साल वैशाख २४ गतेदेखि श्री ३ महाराज देवशमशेरले पं.नरदेव पाण्डेलाई तालुकवाला तोकी समाचारपत्रका रूपमा गोर्खापत्र प्रकाशनमा ल्याए । त्यसैले २००९ सालमा दार्जीलिङ पुगेका बेला नाट्यसम्राट् बालकृष्ण समले भनेका थिए, ‘दार्जीलिङले आज जे गर्छ नेपालले भोलि त्यही गर्छ।’

गोर्खे खबर कागजमा विज्ञापन हाल्ने त्यतिसारो चलन थिएन । त्यतिबेला बिक्रीका आधारमा पत्रिका चल्नु पनि त्यति सजिलो थिएन । तर क्रिश्चियन मिशनको सहयोगबाट त्यस पत्रिकालाई निरन्तर सञ्चालनमा ल्याएको थियो । यति हुँदाहुँदै यस पत्रिकामा हिन्दू जातिको विवाहको विज्ञापन पनि छापिन्थ्यो । नेपाली भाषामा विवाहको विज्ञापन गर्ने प्रचलनमा पनि यही पत्रिका पहिलो थियो।

प्रधान लेखेर थाक्तैन थिए । गोर्खे खबर कागजमा प्रायः आफै लेखेर उनी पत्रिका निकाल्थे । तर उनको भाषामा व्याकरण हुँदैनथ्यो । वास्तवमा त्यस बेला व्याकरणको नियम पनि थिएन । त्यस घडी नेपाली भाषा जस्तो बोलिन्थ्यो लिपिमा पनि सिधै त्यस्तै भाषा छाप्ने चलन थियो । लेख्ने क्रममा उनले नेपाली उखानको पनि सङ्ग्रह गरे । त्यस सङ्ग्रहलाई तयार गर्न उनलाई बीस वर्षलागेको थियो । त्यो पुस्तक सन् १९०८मा दार्जिलिङको उनकै प्रेसबाट प्रकाशनमा ल्याइएको थियो । त्यस कृतिमा १४०८ वटा उखान आवद्ध थियो । प्रधानले कथा पनि लेखे । उनले वाइबलमा आधारित थुपै्र कथाहरु पनि नेपाली भाषामा अनुवाद गरे।

लेख्नेक्रमा प्रधानले गीतिकविता पनि लेखे, आत्मकथा पनि लेखे र निबन्ध, प्रबन्ध र बालसाहित्य पनि लेखे । लेख्तालेख्तै उनका २८ वटा कृति प्रकाशनमा आए । उनी ठेट नेपाली भाकाको भाषा लेख्थे।

नेपाली भाषामा प्रधानको बहुआयामिक व्यक्तित्व थियो । त्यतिखेर बालबच्चालाई नेपाली साउँ अक्षर सिकाउने नै प्रधान थिए । त्यस बेला मिसनबाट सञ्चालित शिक्षण संस्थाहरूमा प्रधानकृत ‘नेपाली पहिलो पोस्तक’को पढाइ हुन्थ्यो । त्यसैले पारसमणि प्रधानदेखि हरिप्रसाद गोर्खा राईसम्मले उनैलाई नेपाली पुस्तकका गुरु भनेर अर्चना गरे।

प्रधान दार्जिलिङको शिक्षाका ज्योति थिए । उनले त्यसबेला नेपाली मूलका बालबच्चाका लागि आफ्नो सारा समय अर्पित गरे । त्यसैले पारसमणि प्रधान बोलेका थिए, ‘पादरी गङ्गाप्रसाद प्रधानका कारण दार्जिलिङको कुनाकुनामा प्राइमरी स्कुल स्थापित भई विद्याको प्रचार भएको हो । प्रधानले प्राइमरी स्कुलका लागि किताब पनि लेखे।’

प्रधानले २४ वर्षको उमेरमा एलिजावेथ राईसँग प्रेम विवाह गरे । अनि यी दम्पतिबाट दुई छोरा र छ जना छोरीहरू जन्मे। उनका परिवार पनि द गोर्खा प्रेसमा काम गर्थे।

प्रेस प्रधानको पेशा हुन गयो । त्यहीँको आम्दानीले उनले घर चलाए। उनको प्रेस पनि मिसन हाउसकै छेउमा थियो । द गोर्खा प्रेस त्यहाँ नामी पनि थियो । उनले निरन्तर बत्तीस वर्षसम्म गोर्खे खबर कागज र द गोर्खा प्रेस चलाए। आफ्नो काममा जुट्ताजुट्तै बयासी वर्षमा उनी स्वर्गीय भए । त्यसपछि गोर्खे खबर कागज पनि बन्दै भयो। तर उनले गोर्खे खबर कागजमार्फत दिएको भाषिक तथा साहित्यिक योगदान नेपाली वाङ्मयका निम्ति चिरस्मरणीय भयो।
naiprasai@gmail.com

Popularity: 4%

Add comment December 24th, 2011

अग्लो कदको नरम मान्छे एसएल शर्मा

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
एसएल शर्मा बोलिका नरम, विचारका स्वच्छ अनि सिद्धान्तका लखपति थिए। उनको सिद्धान्त राष्ट्रवादमा आबद्ध थियो तर उनी वसुधैव कुटुम्बकमका हिमायती थिए । इमानजवान उनको जीवनको मुख्य विशेषता थियो। तर उनी कसैसँग झुक्तैन थिए र अरुलाई आफूसँग पनि झुकाउने इच्छा राख्तैन थिए।

शर्मा छ फूट दुई इन्च उचाईका थिए। उनी आफ्नो शारीरिक उचाईको विचार राख्थे, मान्छेको आदर पनि त्यस्तै गर्थे र सकेको सेवा पनि त्यतिकै गर्थे । उनको व्यक्तित्वलाई एकमुष्ट भन्नु पर्दा उनी सादा जीवन र उच्च विचारका कुवेर थिए । उनी उखान नहाली कुरा गर्दैन थिए । उनी बोल्दा विभिन्न तुक हालेर तर्कका साथ बोल्थे । त्यसैले खासगरेर पूर्वाञ्चलीय भगौलिक श्रृङ्खलामा उनी निक्कै प्रचलित थिए।

शर्मा चिया र चुरोटमा नै बाँचे । उनी दिनको पचास कपसम्म चिया खान्थे र एक बट्टा चुरो खाएपछि उनको दिन फ्याँकिन्थ्यो । पाहुनापासालाई पनि उनी चिया र विडीबाट सत्कार गर्थे।

शर्मा गतिलो साहित्यकार थिए । उनी संस्कृतिको लेखाजोखा पनि राख्थे । त्यतिमात्र होइन संस्कृति विषयक उनी एउटा राम्रो ज्ञाता थिए । उनी राजनीतिज्ञ पनि थिए । उनी टङ्कप्रसाद आचार्यलाई आदर गर्थे र आचार्यले पनि उनलाई मान्थे । तर राजनीतिमा शर्मा असफल भए । किनभने उनी कुप्रेर धुपौरेलाई धुप हाल्दैन थिए तर सत्य बोल्थे । एकपटक उनले राजाका सचिवलाई भनेका थिए, ‘ओठेभक्तहरुका कारण राजसंस्थामा अनास्था वढ्ने काम भैरहेको छ ।’ त्यसपछि शर्मा राजदरबारको दृष्टिबाट भूइँमा खसे । त्यसबेला उनी नेपाल मजदूर सङ्गठनका केन्द्रीय उपसभापति थिए । त्यसबेला वर्गीय सङ्गठन भनेको पञ्चायतको मेरुदण्ड मानिन्थ्यो।

शर्माको जन्म १९८३ सालको अक्षय तृतीयमा वीरगञ्जमा भएको थियो । उनका बुवा मेजर रामचन्द्र शर्मा पुरोहति र आमा रुक्मिणी उनी शिशु अवस्थामा हुँदै स्वर्गीय भए । त्यसैले शर्माको बाल्यजीवन कठाङ्ग्रिएर नै वितेको थियो।

शर्माको बिहे १६ वर्षको उमेरमा १३ वर्षीया पार्वतीदेवीसँग भयो । यी दम्पतिबाट तीन छोरा र पाँच छोरी जन्मे । उनका जेठा छोरा राजेन्द्र शलभ पनि साहित्यकार र सञ्चारकर्मी भए । यसबारे शलभ समकालीन पुस्ताको नेतृत्वपङ्तीमा नै उभिए ।
२००७ सालपछि शर्माले झापाको भद्रपुरमा एउटा किराना पसल खोले । त्यस पसलको नाउँ शर्मा मोहिनी स्टोर थियो । त्यस पसलबाट परिवार धान्न नसकेपछि उनले ‘साथी बिंडी फ्याक्ट्री पनि खोले । केही वर्षचलेर त्यो पनि बन्द भयो । अनि उनले आफ्नै घरमा शर्मा प्रिन्टिङ प्रेसको सञ्चालन गरे।

मेची नदीको किनारमा नै टाँस्सिएको भद्रपुर बजारमा शर्माले घर बनाए । शर्मा निवास भनेपछि त्यो घर प्रख्यात थियो। त्यही घरमा साहित्यकार, पत्रकार र राजनीतिज्ञको भीड लाग्थ्यो । वास्तवमा त्यही भद्रपुर बजार बसाउन पनि शर्माको समेत भूमिका गाँसिएको थियो।

शर्माको राजनीतिका जीवन २००३ सालमा कोलकाता, भवानीपुरको कलेजको सम्मेलनबाट शुरु भयो । त्यसपछि अर्थात् २००६ सालमा आफ्नो घर गएताका राणा सरकारले उनलाई सर्वस्व हरणसहित ज्यूँदै समाउने आदेश दिएपछि उनी आफ्नो नाउँ बदलेर झापा पसे।

राणाको विरोधमा लाग्नेक्रममा शर्माको झापा आन्दोलनका कमाण्डर भैरवप्रसाद आचार्यसँग भेट भयो । त्यही परिवेशमा झापा कब्जा गर्ने काममा उनको पनि अतुलनीय भूमिका जोडियो । अनि २००७ साल माघ १४ गते स्थापित नेपाल प्रजातान्त्रिक सामयिक सरकारका प्रमुख तथा फौजी गभर्नर भैरवप्रसाद आचार्यको सरकारमा शर्मा व्यवस्थापक थिए । त्यसबेला उनका अर्का सहयोगी दान खालिङ पनि थिए।

शर्माको पहुँच पञ्चायत व्यवस्थाको जरामा थियो र उनको त्यो जरा झापामा नै केन्द्रित थियो । उनी झापाका कुनै स्कुलका सचिव, कुनै स्कुलका अध्यक्ष र क्याम्पस, अस्पताल र पुस्तकालयमा सक्रिय भैरहे । वडा सदस्यदेखि प्रधानपञ्चहुँदै जिल्ला पञ्चायत सदस्यसम्म कार्यरत शर्मा काम गरेर थाक्तैन थिए । उनी राजनैतिक सङ्गठनमा सक्रिय भैरहेका बखत २०२५ सालमा मेची अञ्चलाधीशको सिफारिसमा प्रधानमन्त्री सूर्यबहादुर थापाद्वारा उनको नागरिकता हरण गरियो । त्यसपछि उनलाई एक वर्ष काठमाडौंमा नजरबन्द गरियो । यो कुरा राजा महेन्द्रका कानमा जस्ताकोतस्तै पुग्यो । अनि कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुनेवित्तिकै उनलाई काठमाडौंबाट ससम्मान भद्रपुर पठाउने व्यवस्था गरियो र उनको गुमेको नागरिकताको प्रमाणपत्र पनि इज्जवतका साथ फिर्ता गरियो।

शर्माको राजनीतिक जीवनमा धेरै उतार चढाउ आए। तर उनी विचलित नभई देशभक्ति अभियानमा लागिरहे । २०४६ साले बहुदलीय प्रणली भित्रिएपछि उनी कम्युनिष्टको सिद्धान्तमा एकोहोरिए। जस अनुसार उनी नेपाल कम्युनिष्ट पार्टी (वर्मा) समूहमा आबद्ध भए । त्यहाँ बसेर फेरि उनले दुईतीन वर्ष मुलुकको राजनैतिक अवस्था हेरे । त्यस घडी उनले चारैतिर अराजकता नै अराजकता देखे । नेताहरुले आफ्नो डम्फू बजाएको उनलाई ठ्याम्मै मन परेन । त्यसैले झापामा उनले एउटा घोषणा गरे ‘अब म कुनै पनि राजनीतिक दलमा सामेल रहने छैन। म स्वतन्त्र जीवन विताउने छु ।’ त्योभन्दाअघिदेखि नै उनी ‘राजनीति भनेको गनाउने नाली हो’ भन्थे।

शर्माको लेखन बनारसीयात्रादेखि नै आरम्भ भएको थियो । तर उनको पहिलो पुस्तक २०१० सालमा प्रकाशित भएको थियो । उनले हिन्दी र नेपाली गरेर सातवटा पुस्तक प्रकाशित गरे भने यिनका विविध विषयमा आधारित पाँचसय जति फुटकर लेख रचना प्रकाशनमा आए । उनले तीनदर्जन जति पत्रपत्रिकामा आफ्ना लेखरचना प्रकाशित गरे । खास गरेर झापाको जनजाति सतार, बातर, धिमाल, मेचे र राजवंशीहरुको परिचय गराउने गुरुत्तर भूमिका शर्माको नै थियो । उनैले ती जातिको जीवनस्तर उकास्न पनि आफ्नो बुता लगाएका थिए । साथै नेपालका पचहत्तरै जिल्लाको सांस्कृतिक कुरा शर्मा प्रायः फररर भन्न सक्थे।
शर्माले २००४ सालमै पत्रकारिता शुरु गरेका थिए । बनारसको विद्यार्थी जीवनकालमा उनलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले काखी चेपे। त्यसैले शर्मा युगवाणीमा घुसे। त्यही सीप ल्याएर उनले झापामा पत्रकारिताको बिउ रोपे । उनैले डिल्लीराम निर्भीकदेखि नकुलकाजीसम्मलाई पत्रकारितामा प्रवेश गराउने बाटो बनाए । अन्ततः झापामा वैज्ञानिक पत्रकारिताको जग उनैबाट सुरु भयो । त्यति बेला शर्माकै चिठी बोकेर स्थानीय पत्रकारहरु भारतमा पुगेर त्यसबारे थप ज्ञान लिन्थे। त्यतिबेला भारतको पटनाबाट प्रकाशित हुने ‘नेपाल सन्देश’ शर्माकै भावनात्मक छानो थियो । शर्माकै कारण पटनाको नेपाल सन्देश र बनारसबाट प्रकाशित हुने ‘दैनिक आज’ले नेपालका पूर्वाञ्चलीय पत्रकारहरुलाई तालीम पनि दिने गर्थ्यो।

शर्मा आयुर्वेदका चिकित्सक पनि थिए। त्यसबेला पूर्वाञ्चलमा उनको उपचार प्रणालीले मान्छेहरुलाई शुभलाभ हुन्थ्यो। उनले घरमै जडीबूटी रोप्थे र जनतालाई निश्शुल्कै औषधि गरिदिन्थे।

शर्माले राजदरबारदेखि सिंहदरबारसम्मका एउटै सम्मान र पदक पाएनन् । तर जनस्तरबाट उनले नेपाल प्रजातन्त्र सेनानी लगायतका साहित्य, सांस्कृतिक, विकास र राजनीति गरेर डेर्ड दर्जन पुरस्कार, सम्मान र अभिनन्दन पाए। शर्मा नेपाली परिवेशको चिन्तनमा समर्पित भैरहेका बेला २०६० साल साउन ६ गते झापामा स्वर्गीय भए।
naiprasai@gmail.com

Popularity: 4%

Add comment December 18th, 2011

महागुरु फाल्गुनन्द (जीवनी)

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
फाल्गुनन्दले आफ्नो जीवनसङ्घर्षको निष्कर्षमा जातीय सुधार गरे। अनि उनले आफ्नो चोलामा अध्ययन गरेको सम्पूर्ण शास्त्रीय परम्परालाई पनि चालेर, केलाएर र खारेर लिम्बु संस्कृतिको मर्यादाका लागि अघि सारे। उनले लिम्बुहरुको कल्याणका लागि क्रान्तिकारी कदमहरू चालेका थिए।

फाल्गुनन्द मानवतावादी थिए । तर उनी मानवपूजारी मात्र पनि थिएनन् । किनभने उनी सृष्टिका जीवजन्तुलाई पनि त्यति नै मान्थे । त्यसैले उनले बल्रि्रथाको विरोध गरे । प्राणी हिन्साका कुरा छन् भने उनी पुरातन सांस्कृतिक धारणालाई पनि तिलाञ्जलि दिन्थे । उनी प्रथाको होइन आवश्यकीय कुराका समर्थक थिए । उनी अन्धविश्वासलाई मान्दैन थिए । उनी सक्कली कुरालाई मात्र प्राथमिकता दिन्थे । उनी आडम्वरको पनि विरोधी थिए।

फाल्गुनन्दले लिम्बुहरूको जन्ममृत्युका संस्कृतिमा पनि सुधार गरे । लिम्बुहरूको वैवाहिक परम्परालाई पनि उनैले परिवर्तन गरे । साथै लिम्बुहरूले गर्ने पूजाआजाका लागि पनि उनले नयाँ क्षीतिज अघारिदिए । त्यसैले उनी लिम्बुहरूका पूजनीय बने । साथै किराँत जातीले उनलाई गुरुहरूका पनि गुरु अर्थात् महागुरु माने।

फाल्गुनन्दको न्वारनको नाउँ नरध्वज लिम्बु थियो । उनी इलाम चारखोलाको चुक्चिनाम्वामा १९४२ साल कात्तिक २५ गते जन्मेका थिए । उनी जगनबाज लिङ्डेन र हङ्समती बेघाका साइँला छोरा थिए।

फाल्गुनन्द सानैदेखि नैतिक, इमानदार र प्रष्ट थिए । उनी मान्छेहरूमा करुणा, दया र माया राख्थे । उनी कुनै पनि जातलाई मानेर मान्छेको प्रसंशा गर्नु हुँदैन भन्थे । मान्छेको कर्म माथी उनको अपार विश्वास थियो । उनी भ्रष्टाचार, अन्याय र अत्याचारका विरोधी थिए । त्यसैले उनले बाँचुन्जेल एकोहोरो न्यायको काम नै गरिरहे।

फाल्गुनन्दले नै विशेष गरी लिम्बुहरुका लागि दस बुँदे मुचुल्का जारी गरे । त्यसभन्दा अघिका सम्पूर्ण अन्धविश्वासी रीतिरीवाज खारेजीमा पार्ने उनी कलियुगका भीम थिए । अनि यिनैको नीतिअनुसार नै गाउँगाउँमा जातीय मन्दिर र पाठशालाहरू पनि खोलिन थाले । उनैले खाँडी बनाउने चर्खा चलाउन लिम्बुहरूलाई थप प्रोत्साहन दिए । उनैले लिम्बुजातीले स्वदेशी खाँडी कपडा मात्र लगाउने चलन चलाए । साथै कपास खेती गर्ने र धागो कात्ने र बुन्ने चलनको पनि उनैले विस्तार गरेका थिए।

सानो हुँदा एक पटक फाल्गुनन्द निक्कै बिरामी परे । बिरामी भएकै बखत उनी आफ्नै घरबाट मध्यरातमा हराएका थिए । त्यस बेला उनी जङ्गल पसेछन् र अदृश्य भएछन् । धेरै पछि उनी इलामको देवमाई र माइखोलाको दोभानमा देखा परे । त्यतिन्जेलसम्ममा उनले ज्ञानबोध प्राप्त गरिसकेका रहेछन् । त्यसैले उनी सिद्ध र परमज्ञानी भएको प्रमाण पनि फेला पर्यो । अनि त्यसैताक रक्षाबन्धन स्वरूप उनलाई फलामको चुरो लगाइयो । त्यसैले उनलाई सुरुमा फलामे साइँला भनियो। विस्तारै उनी फलामसिंह लिम्बु भए । साथै दस लिम्बु सत्र थुमको महासम्मलेनले महापुराण लगाएपछि उनलाई फाल्गुनन्द महागुरु भन्न थालियो।

१९८८ साल वैशाख २४ गतेको कुरा हो । त्यस दिन फाल्गुनन्दले पाँचथरको लोब्रेकुटीमा वृहत् १० लिम्बु १७ थुमको चुम्लुङसभा गरेका थिए । त्यो सभा लिम्बुहरूको ठूलो यज्ञ थियो । त्यसै यज्ञमा उनले १० बुँदे सत्य धर्मको लिखित मुचुल्का पारित गराए । वास्तवमा त्यसपछि लिम्बुहरू त्यसै रीतिरिवाजमा नै बाँधिन थाले । अनि त्यस मुचुल्कालाई नै उनीहरूले आफ्नो जातीय धर्म माने।

लिम्बु जातीलाई साँस्कृतिक रीतिथितिमा बाँध्ने फाल्गुनन्द प्रथम सुधारवादी चिन्तक थिए । जाँड, रक्सी, मासु सेवनमा लठ्ठ परेका लिम्बुहरूलाई ज्ञानी, चेतनशील र मर्यादित बनाउन उनले अभियान चालेर उनीहरूको साँस्कृतिक नियम नै बसाली दिए । उनैले सत्य नै धर्माचरणको मूल नाभी हो भनेर जनशिक्षा दिए । त्यसैले उनलाई सत्यहाङमा भन्न थालियो । लिम्बु भाषामा हाङमा भनेको रानी हो।

फाल्गुनन्दले सात तत्वलाई प्रमुख माने । सुन, चाँदी, तील, जौ, दुबो, कुस, ढुङ्गोलाई सात्विक मानेर चलेमा मानवमुक्ति हुने कुराको रीत बसाउने उनी एउटा साँस्कृतिक धरोहर थिए । उनले ४६ प्रकारका धर्मशास्त्रका संहिताको आविस्कार पनि गरे । साथै उनैको प्रयासबाट लिम्बुहरूको धर्म, संस्कार, लिपी, भाषा र इतिहासको आधार पनि निर्माणको सुरुवात भएको थियो।

फाल्गुनन्द शिवको किरातेश्वर रुपलाई मान्थे । शिवको त्रिशुललाई उनी मानव एकताको प्रतीक ठान्थे । उनी विशुद्ध विश्वकल्याणकारी मानव थिए । त्यसैले चेलाभुला र चिन्नेहरूले उनलाई महामानव माने र्रर् इश्वरका अवतारको पनि मर्यादा दिए । उनी लिम्बु संस्कृति उद्खोदनका जरा थिए । त्यसैले उनैले वेद पनि मुन्धुमबाट आएको दावी गरे । उनी लिम्बुहरूका सत्यधर्मका अगुवा थिए । त्यसैले अहङ्कारले कोही ईश्वर बन्दैन, राक्षस बन्छ भन्ने सिद्धान्तको पाठ उनले सारा लिम्बलाई सिकाए।

फाल्गुनन्दले सामाजिक र धार्मिक क्रान्तिमा आफूलाई समाहित गरे । त्यस कार्यमा समर्पित भएबापत राणा सरकारबाट उनले राजद्रोहको मुद्दा पनि खेपे । तर पनि उनले सधैँ विजय प्राप्त गरे । आफ्नो बुताले भ्याएसम्म लिम्बुहरू जातिको आचरण र संस्कार तथा मर्यादा अक्षुण्ण राख्नमा उनी सदैव लागिरहे।

फाल्गुनन्दले जन्मभूमि चुक्चिनाम्बा, ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि लोब्रेसिलौटी र तीर्थभूमि कुम्भकर्णमा चार अमर धामको स्थापना गराए । त्यसैले उनी लिम्बुहरुका शिरमाथिका शिखरका रूपमा सदैव पूजिए।

फाल्गुनन्दलाई आफ्नो चोला कहाँ टुङ्गिन्छ भन्ने थाहा थियो । त्यसैले उनले बद्री, केदार, हरिद्वार र परशुरामको तीर्थयात्रा गरे । त्यसपछि उनले वाचा गरे “म पुनः चाँडै सांसारिक जीवनमा अवतरण गर्छु” अनि उनी २००५ साल चैत २२ गते पाँचथरको हाङयकमा स्वर्गीय भए।

फाल्गुनन्दले ब्रहृमचार्यमै जीवन विताए । उनी आफ्नो पूर्वजन्म पनि राजकाजमा नै थियो भन्थे । उनका बुबाआमा पूर्व जन्ममा नलराजा र दमयन्ती थिए भनेर उनैले भने।

फाल्गुनन्दलाई ज्ञानदेव पनि भनिन्थ्यो । उनको विचार प्रायः दैविकज्ञानले भरिएको हुन्थ्यो । उनी भन्थे मनुष्य मुक्ति ज्ञानले मात्र हुन्छ । साथै संसार संयोग र वियोगको साँध हो भन्ने उनको मूल मन्त्र थियो । उनी घरिघरि भन्थे ‘सबै मानव देवता र राजाका सन्तान हुन् । मानव जातीलाई देवकर्मले देवता, राजकर्मले राजा बनाउँछ भन्ने उनको धारणा थियो । उनी सानो विचारले मान्छे नोकर बन्छ र पाप कर्मले मान्छेको नास हुन्छ भन्ने उक्ति अरुलाई पनि सिकाउँथे।

फाल्गुनन्द पराक्रमी थिए । त्यसैले उनले बाँचुन्जेल लोकरक्षाका लागि मात्रै कदम चाले । त्यसैले उनलाई लिम्बु जातीले मात्र मानेनन्, प्रायः धेरै नेपालीले नै उनलाई महान् माने । सरकारले समेत उनलाई राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्यो । उनका नाउँमा हुलाक टिकट प्रकाशनमा आयो । पाठयपुस्तकमा उनको जीवनी प्रकाशित गरियो । कामले नै मान्छे राम हुन्छ, कामले नै मान्छे मानव हुन्छ अनि कामले नै मान्छे र ईश्वरीय स्वरूप प्राप्त गर्छ भन्ने प्रमाणका रूपमा यस धरामा फाल्गुनन्द पनि उभिए।
naiprasai@gmail.com

Popularity: 4%

Add comment December 11th, 2011

चमत्कारी पुराण वाचक नारायणप्रसाद पोखरेल

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
कृष्णप्रसाद पोखरेल र लक्ष्मी पोखरेलका दुई जना छोरामध्ये कान्छा छोरा थिए नारायणप्रसाद पोखरेल। उनको जन्म २०११ साल जेठ ३२ गते गोरखाको लामाचौरमा भएको थियो। उनको चिना हेर्ने पण्डितले भन्थे ‘कृष्णलक्ष्मीका नारायण कुलदीप हुन्छन्।

नारायणप्रसाद पोखरेल सानैदेखि प्रतिभाशाली थिए। बाल्यकालदेखि नै उनीमा नेतृत्व दिने भूमिका गाँसिएको थियो। उनी सानैदेखि तीक्ष्ण थिए र खासगरेर धार्मिक आस्थाले ओतप्रोत थिए । अनि उनी सानैदेखि समाजसेवी मनोवृत्तिमा नै पनि बाँधिएका थिए।

पोखरेलले सात वर्षका स्कुल देखे । बाल्यकालमा नै उनी संस्कृतका पनि राम्रो पाठक भइसकेका थिए । १६ वर्षको उमेरमा उनले माध्यामिक विद्यालय छिचोले । स्कुलकै पर्ढाईका क्रममा उनले घरमा परिआएको काम पनि गरे । त्यति बेला उनी बिहान घाँस काटेर दिउँसो स्कुल पढ्थे । स्कुलको छुट्टिको दिन उनी मेलापात गर्थे । त्यसैक्रममा उनले बारी र खेतमा आली लाउने, कान्ला खन्ने, गाईबस्तु चराउने, खेतमा पानी लगाउने काम गरे । उनी त्यसै बेलादेखि स्वावलम्बिका नमुना थिए । साथै उनी जतिजति लाठे हुँदै गए त्यतित्यति रसिक पनि हुन थाले । त्यसैले यी दोहोरी गीत गाउने अनि गीत र भजन लेख्ने पनि गर्थे । पुराणवाचन गर्न सुरु गर्दाचाहिं उनी १९ वर्षका थिए।

एसएलसी पास गरेपछि पोखरेल भागेर भारतको वृन्दावन पुगे । त्यहाँ पुगेर श्रीनिवास भागवत् विद्यालयमा भर्ना भएको समाचार उनले आफ्ना बुबाआमालाई पठाए । त्यहीँबाट उनले शास्त्रीसम्म पढे । त्यतिखेर उनी चौबीस वर्षका थिए । त्यसपछि उनी नेपाल आएर यहीं आफ्नो सीप पोख्न लागे ।
नेपाल आएपछि पोखरेलले धर्मका आडमा समाजसेवा गर्ने भावना राखे । सोहीअनुरूप २०३८ सालको अन्त्यमा यिनैको सोचले आफ्नै जिल्लाको धर्मावती अर्थात् दरौंदी नदीको तटमा शिवमन्दिर निर्माण हेतु शिवपुराण लगाए । त्यस पुराणका उनी आफैं वाचक थिए । एघार दिनसम्म सम्पन्न सो पुराणबाट उठेको पैसा उनले शिवमन्दिर निर्माण समितिमा नै र्समर्पण गरे । वास्तवमा त्यसपछि नै नेपालमा यस्तो संस्कृतिको राम्ररी पालुवा पलाउन थालेको थियो । यसै गरेर उनले त्यहाँ बसिन्जेल सामाजिक जागरणका लागि पुराण वाचन गरिरहे र त्यहाँबाट प्राप्त धन समाजसेवामा सुम्पिरहे । उनको त्यही भावनाले नेपालका विभिन्न भूभाग रङ्गिएको थियो।

पोखरेलले सामाजसेवाका विविध कार्यक्रमहरू सञ्चालनका लागि पुराण संस्कृतिको विकास गरिरहे । उनले वाचन गरेका ठाउँमा अर्कै रमिता हुन्थ्यो । उनको बोली सुन्ने मान्छे पुराणस्थलबाट उठ्तैन थिए । वास्तवमा उनी बोलाइका जादु थिए । उनको स्वरमा मान्छे पगाल्ने मन्त्र हुन्थ्यो । उनी बोलेर पनि थाक्तैन थिए र स्रोताहरू सुनेर पनि अघाउँदैन थिए । उनले पुराणवाचन गर्न थालेको सूचना पाएपछि मान्छेहरू त्यतैतिर धुइरो कस्थे । यसको मुख्य कारण के थियो भने उनी पुराणलाई पनि लोकभाकामा गाउँथे । त्यसबेला किशोर, युवा, प्रौढ र वृद्ध कम्मर मर्काईमर्काई नाच्थे । उनको जीवनको लक्ष्य नै धर्मका ठूलाठूला ठेली पनि सहज रूपमा जनस्तरमा पुर्याउने हुन्थ्यो । विश्वमा छरिएर रहेका हिन्दूहरूलाई एक बनाउन उनको एक मात्र ध्येय थियो।

पोखरेल नरम ढाँचामा महान विचार कुँद्ने गर्थे । उनकै कारण उनले वाचन गर्ने पुराणस्थल प्रायः खचाखच हुन्थ्यो । कति ठाउँमा त बस्ने ठाउँ नभएर बाहिर माइक लगेर पनि उनको वोली सुन्ने गरिन्थ्यो । उनको वाचनमा भाषणको गन्ध हुँदैनथ्यो, उपदेशको छनक पनि पाइँदैनथ्यो र गुनासाका टिप्पणी पनि रहँदैनथ्यो । उनको स्वरमा न गीत हुन्थ्यो न त प्रवचन हुन्थ्यो । तर उनको प्रस्तुतिमा नेपाली भाका हुन्थ्यो, नेपाली संस्कृति हुन्थ्यो र नेपाली जनशैली हुन्थ्यो।

पोखरेल नेपाली धर्मसंस्कृतिविषयक आस्थाका एउटा अर्को बलियो प्रतीक थिए । उनी अरू धर्मलाई हिर्काउने, नास्ने र होच्याउने पनि गर्दैन थिए तर हिन्दू धर्मसंस्कृतिको व्याख्या गर्दागर्दै पृथ्वीमा यही नै मुक्तिको बाटो हो भन्ने सरल नेपाली पाठ पढाउन पनि उनी चुक्तैन थिए । त्यसैले यिनले आफ्ना भक्तहरूको भावना टिपेर धार्मिक सहिष्णुताका लागि सङ्खघोष गरिरहे । त्यसैले उनलाई नेपाली पुराणको वाचन शिरोमणि भनियो, वाचन शिखर भनियो र कहीं कतै त वाचन महेश्वर नै पनि भनियो । जनताले यिनलाई जतिजति माने यी त्यतित्यति सानो हुन्थे । जनप्रेम पाएर यी कहिले डुक्रेनन् बरु निहुरिएर एकोहोरो जनसेवामा हिँडिरहे।

पोखरेल समाजसेवाका नम्बरी सुन थिए । नेपाली समाजमा व्याप्त अँध्यारोलाई उज्यालोमा परिवर्तन गर्ने उनको जीवनको लक्ष्य थियो । त्यही क्रममा उनले क्यान्सर रोगको उन्मुलन, वृद्धाश्रमको स्थापना र संरक्षण, असहायलाई छानो मुनी राख्ने उपक्रम, बाटो निर्माण, स्कुल, स्वास्थ्य भवन, खानेपानी लगायत अन्य तमाम काम फत्ते होस् भनेर पुराण वाचन गरिरहे । जहाँजहाँ उनी बोल्थे त्यहाँत्यहाँ लाखौं लाख रुपियाँ उठ्थ्यो । अनि त्यो पैसा उनी ती संस्थामा ठाडै हस्तान्तरण गर्थे । करोडौं रुपियाँ उनीमार्फत समाजसेवामा लागिसकेको थियो । उनको जीवनकालमा ११३६ महायज्ञहरू सम्पन्न भएको बेहोरा लिपीवद्ध छ।

पोखरेल भन्नु नेपाली परिवेशमा त्यस्ता वाचक थिए जसको जोडा पनि भेटिएन । उनलाई हिन्दूहरूका लागि मात्र होइन समस्त धर्म मान्नेले पनि अतुलनीय प्रतिभा माने।

पोखरेलले तीन जनासँग विहे गरे । एघार वर्षको उमेरमा उनको पहिलो विहे उमा खनालसँग भएको थियो । घरयसी दबावमा परेर बाईस वर्षको उमेरमा उनको दोस्रो विहे जयलक्ष्मी न्यौपानेसँग भयो र छत्तीस वर्षपुगेपछि कथावाचनकै फेरोमा मालती पोखरेलसँग तेस्रो विवाह भयो । यी तीन पत्नीबाट उनका चार छोरा र दुई छोरी जन्मे । जेठी श्रीमतीबाट जन्मेका वाचन प्रवीण पं.दीनबन्धु पोखरेलले आफ्नो बाबुको सग्लो बिँडो समाएर हिंडे । उनले पनि पुराणवाचन गरेर करोडौं रूपियाँ नेपाली समाजमा सुम्पिसकेका छन्।

नारायणप्रसाद पोखरेल जस्ता विभूति पनि कसैका आँखाका कसिङ्गर भएछन् । वास्तवमा २०६२ साल वैशाख २३ गते हिन्दू धर्मसंस्कृतिका लागि एउटा अर्को ग्रहण लगेको दिन थियो । त्यसै दिन उनलाई गोलि हानेर ठहरै पारियो । त्यस समाचारले चारैतिर रुवाबासी भयो । नेपालमा हिन्दू धर्मका शिर्षथ पुराणवाचकको हत्या भएकाले जनता उठेर नै उनलाई धार्मिक सहिद भने र सरकारमा बस्नेहरूले पनि उनको नाउँका अघि त्यही भाकामा सम्बोधन गरे । यस क्रमले हिन्दू धर्म मान्ने देशदेशान्तरका व्यक्तिहरूले पनि उनलाई धार्मिक सहिद भन्दै गए।
naiprasai@gmail.com

Popularity: 4%

Add comment December 4th, 2011

एउटा स्वाभिमानी शिर रमेश विकल

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
रमेश विकल वाङ्मयका तपस्वी थिए। उनी साहित्यलाई आफ्नो प्राण ठान्थे। त्यसैले उनी यस फाँटमा श्रद्धेय भए। वास्तवमा उनी साहित्यकार मात्र थिएनन्। उनी चित्रकार र मूर्तिकार थिए, त्यस विधामा उनले आफ्नो नाउँ रवि चालिसे लेखे।

उनले कविता पनि लेखे र काव्यमा आफ्नो नाउँ इन्दुशेखर लेखे । उनका गाउँठाउँकाले उनलाई रामबाबू भनेर बोलाउँथे। उनका शैक्षिक प्रमाणपत्रहरुमा रामेश्वर शर्मा चालिसे लेखिएको थियो। तर उनले रमेश विकलबाट ख्याति कमाए। यसका अतिरिक्त उनी हार्मोनियम, तबला, भ्वाइलिन र बाँसुरी बजाउन सिपालु थिए। अनि उनी गायकमा पनि दरिएका थिए।

लप्टन चन्द्रशेखर उपाध्याय र छायादेवीका जेठा छोराका रुपमा विकलको जन्म १९८५ साल कात्तिक २९ गते काठमाडौंमा भएको थियो । लप्टन परिवार भन्नु काठमाडौंका जमिन्दारका रूपमा पनि चिनिन्थ्यो।

विकल सङ्गतका कारण सानैमा व्रि्रन थाले । त्यस बेला उनी एकोहोरो, हठी, लहडी र रिसाहा थिए । उनी किशोरावस्थाको चुलीमा पुग्दा मैहुँ सर्वथोक भन्ने घमण्डमा थिए । त्यति बेला यिनलाई सम्झाउनु भनेको बाघसँग कुस्ती खेल्नु सरह मानिन्थ्यो । उरन्ठेउलो स्वभावका कारण त्यस घडी यिनले आफ्ना लागि धेरैजना बैरीहरुको पनि सङ्कलन गरे । त्यहीताक उनी भागेर कोलकाता गए । अनि त्यहाँ खान नपाएपछि उनी घर फर्के । वास्तवमा त्यस समय उनी सारै फटाहा थिए । कति सम्मभने उनी मध्यरातमा गुम्लुङ्ग कम्बल ओडेर छिमेकीका घरघरमा तर्साउन पनि पुग्थे । अनि त्यसैताका उनी श्यामप्रसाद शर्माको कब्जामा पुगे । शर्माका कारण उनले आफ्नो जीवन चढ्ने सही लिस्नो टेके।

विकल साहित्य तथा राजनीतिमा पनि लागे । उनले आफू २१ वर्षको भएपछि एउटा कथा लेखे ‘गरीव’ । त्यही नै उनको साहित्यिक यात्राको आरम्भ थियो। त्यो कथा त्यसैबखतको ‘शारदा’मा छापिएको थियो।

पद्मशमशेरले राजिनामा दिएपछि मोहनशमशेर प्रधानमन्त्री भए र त्यस अवसरको सिन्दुरजात्रा हेर्न विकल पनि टुडिखेल जाँदै थिए । तर बाटामा उनले राणाराणाको भिडन्त देखेपछि त्यही रमीतामा उनी भुल्लिए। अनि उनलाई इन्द्रचोकबाटै राणाका सेनाले पक्रेर दस दिन जेलमा राखे । प्रजातन्त्र प्राप्तिपछि न्यून वैतनिक कर्मचारीको जुलुसमा प्रवेश हुँदा पनि उनलाई मरणासन्न हुनेगरी कुटियो र दुई दिन जेलमै कोचियो । त्यसपछि उनले श्यामप्रसाद शर्माको साथमा हस्तलिखित मासिक ‘सन्देश’को सम्पादन गरे। त्यसैबेला शर्माको नेतृत्वमा राणा विरोधका लागि स्थापित ‘पाँचभाइ’ संस्थामा विकल पनि सदस्य थिए । अनि फेरि यी पक्राउ परे । यिनलाई २०११ सालमा आनन्ददेव भट्टले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता दिएका थिए । त्यसैसाल पनि यी पक्राउ परे र यिनलाई नक्खुमा पुर्याइएको थियो।

१३ वर्ष टेकेपछि विकलको उनका बुवाले काभ्रे मण्डनकी सात वर्षी सुशीला नेपालसँग जोडी बाँधिदिए । उनी सुन्दरी पत्नीको चाहनामा भएकाले उनले सुशीलालाई मन पराएनन् । त्यसैले धेरै वर्षम्म उनले पत्नीसँग झगडा गरिरहे । पत्नीसँगको झगडाका कारण यी पटकपटक एक्लै पनि बसे र सम्बन्ध विच्छेदका प्रकृयाहरु पनि अघि सरे । पतिपत्नीको सङ्घर्षौका माझ पनि सन्तान जन्माउन सकिंदो रहेछ भन्ने प्रमाण प्रस्तुत गर्न यो जोडी सफल रहृयो । यी दम्पतीबाट तीन छोरा र सात छोरी जन्मे । अन्ततः उनी पत्नीसँगै जीवन भूक्तान गर्ने कसरतमा लागे । वास्तवमा बाबुबाजेको झैं सामन्ती प्रथाको जरा उनको मनको अन्तरकुन्तरमा भएका कारण उनी पत्नीप्रति हैकमी शैलीमा प्रस्तुत हुन्थे । उनको त्यो रीत छोराछोरीप्रति पनि लागु भैरहृयो । त्यसैले पनि यिनका सन्तान फस्टाए । उनका जेठा छोरा विजय चालिसे नेपाली साहित्य र पत्रकारिताका क्षेत्रमा प्रसिद्ध नाउँ बन्यो। विजय चिलसे गोरखापत्र दैनिकका प्रधानसम्पादक र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष पनि भए।

विकल रसिक पनि थिए । उनले कतिजनासँग प्रीति गाँसे त्यसको लेखाजोखा छैन, तर उनले एउटी होटल गर्ने केटीसँग प्रीति गाँसेर बिहे पनि गरे । चन्द्रमाया श्रेष्ठसँगको उनको दाम्पत्य जीवन धेरै टिकेन । साथै उनकी जेठी पत्नी सुशीला चालिसेको निधन भएपछि उनी झस्के र रोए । २०५७ सालमा पत्नीको निधन भएपछि यिनले प्रायश्चित्तका धेरै आँसु झारे र त्यो बेहोरा लेख्तै पनि गए।

नेपाली साहित्यमा विकलले अग्रस्थान सुरक्षित गरे । उनी कथा र उपन्यास जगतका महारथी भए । गोविन्द भट्टको भाकामा भन्नुपर्दा ‘रमेश विकल एक अद्वितीय आख्यानकार थिए ।’ उनले कथा, उपन्यास, नाटकएकाङकी, निबन्ध बालसाहित्य लेखे । साथै उनले सात वटा कृतिको अनुवाद पनि गरे । यी सबै जोड्दा यिनका एकाउन्न वटा कृति प्रकाशित भए । उनका कृति स्कूलदेखि विश्वविद्यालयस्तरसम्मका पाठ्यपुस्तकमा पनि लागु भए।

विकल प्रगतीवादी थिए, तर राम्रो सृजनाकार जुन वादको भए पनि त्योसँग उनी अँगालो हाल्थे । उनी साहित्यमा भ्रष्टाचारको विरोधी थिए । उनी आफ्नी श्रीमती र छोराछोरीलाई कज्याउने बाहेक समाजका लागि न्याय निसाफ दिलाउनमा आफ्नो दिनचर्या धान्थे।

विकलले २० वर्षको उमेरमा जागीर खाए । त्यसबेला उनी ११ रुपियाँ तलब खाने नौसिन्दा थिए । पाँचभाइ काण्डमा यी श्यामप्रसाद शर्मासँगै गिरफ्तार भएपछि यिनको जागीर पनि उड्यो । त्यस काण्डबाट उम्केपछि यिनले घरैमा विद्यार्थी जम्मा गरी निश्शुल्क पढाए । विस्तारै स्कूलमै पढाउने उनमा इच्छा जागृत भयो ।त्यसैले उनले आरुबारी क्षेत्रमा आफ्नै अगुवाइमा स्कुलहरूको स्थापना गरे । अनि यिनले पनि विभिन्न स्कुलमा पढाउन थाले । त्यसैवीच अर्थात २०१६ सालमा उनले वीएड पास गरे र उनी सूचना विभागको सहायक सम्पादकमा झुण्डिए । त्यसपछि उनी नेपाल लेखक सङ्घको सचिवमा तानिए । साथै उनी जनक शिक्षा सामग्री केन्द्रको अधिकृतमा प्रवेश भए र १३ वर्षम्म त्यहीं बसे । त्यसपछि उनी परीक्षा नियन्त्रण कार्यालयमा सरुवा भए । जागीर कै सिलसिलामा उनी अमेरिका पनि पुगेका थिए । त्यतिञ्जेल उनको शाखा अधिकृतको पद बढेन र २०३६ सालमा उनले सरकारी स्थायी जागीरबाट हात धोए । पाँच वर्षम्म घाम तापेपछि उनी त्रिभुवन विश्वविद्यालयको प्राध्यापनमा लागे । त्यसै बेला उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यमा मनोनीत भए।

विकलले सदैव जनसम्मान पाइरहे । उनले चार दर्जन जति अभिनन्दन तथा सम्मान प्राप्त गरे । पुरस्कारका हकमा उनले महेन्द्र प्रज्ञापुरस्कार, मदन पुरस्कार, साझा पुरस्कार लगायत अन्य आधा दर्जन पुरस्कार पाए।

विकल बाँचुन्जेल साहित्यिक, सामाजिक र शैक्षिक संस्थाहरुमा आबद्ध भैरहे । उनैले भैरव पुरस्कार गुठीको स्थापना गरेका थिए । उनले स्थापना गरेका संस्था र काम गरेका ठाँउ दर्जनौं थिए । उनी काम गरेर थाक्तैन थिए र लेखनमा चाहिं एडिक्टेड नै थिए । उनी भन्थे ‘म लेख्तालेख्तै मर्छु र मैले लेख्न छाडेको दिन मेरो मृत्यु हुन्छ ।’ वास्तवमा अस्पतालको बेडमा जानुअघि पनि उनका हातमा कलमकापी नै थियो।

विकल नेपाली भाषासाहित्यको सृजना र सङ्गठनमा जुट्ने विशिष्ट स्रष्टा र महान् योद्धा थिए । उनी आफ्ना काममा खट्ताखट्तै थला परे । सुरुमा उनका नाकबाट प्रायः रगत बग्ने गथ्र्यो । मधुमेह, उच्च रक्तचाप, वाथ, क्रोनिक ब्रोङ्क्राइटिस र निमोनियाले थला पारेपछि एउटा निर्भीक र स्वाभिमानले भरिएको घडा पनि क्रमशः चुहिन थालेको थियो। अन्ततः २०६५ साल पुस २ गते विकलको जनप्रेमले भरिएको त्यो भौतिक चोला उठ्यो।
naiprasai@gmail.com

Popularity: 4%

Add comment November 19th, 2011

कम्पोजिटरबाट विभूतिसम्म पारसमणि प्रधान

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम -
पारसमणि प्रधानका बाजे चिन्तामणि शाक्य ओखलढुङ्गाबाट कामको खोजीमा ललितपुर आएका थिए। तर यहाँ पनि उनको दिनचर्या राम्रो भएन । त्यसैले उनका छोरा भाग्यमणि भिक्षाचार्यले चौध वर्षको उमेरमै नेपालबाट भारतको काशीतिर फड्का हाने। त्यहाँ उनको सम्पर्क पुस्तक प्रकाशक पं.हरिहर शर्मासँग भयो। त्यहाँको प्रेसमा केही समय काम गरेर उनी दार्जीलिङको कालेबुङ पुगे । उनी त्यतै बसे र त्यस ठाउँमा उनी जुल्फे नेवारका नाउँबाट चिनिए।

भाग्यमणि भिक्षाचार्य अर्थात् जुल्फे नेवार र लक्ष्मीमाया नेवार्नीले त्यही ठाउँमा घरजम गरे र आफ्नो पसिना रोपे । अनि त्यहीँ उनीहरूले पारसमणि जन्माए। पारसमणिको जन्म १९५५ साल पुस १८ गते भएको थियो । पारसमणिले चाहिं आफ्नो थर प्रधान लेखे । प्रधानले पनि त्यहीँ ठाउँमा आफ्नो जरा गाढे।

प्रधान सानैदेखि तीक्ष्ण थिए । उनी पढ्न लेख्न भनेपछि मरिमेट्थे । उनलाई १६ वर्षम्म प्रशमान नाउँमा बोलाइन्थ्यो । सुरुमा उनले प्रशमानका नाउँमा पनि लेखे। प्रधानले सानैदेखि आफ्नो घरको काम र शिक्षालाई बराबरि मान्यता दिए । उनी आफ्नो संस्कृतिलाई गोडमेल गर्थे । त्यसैले उनी कालेबुङमा छिटै चर्चित भए । त्यति बेला उनी जती कुरा गर्थे नेपाली भाषा कै कुरामा पूर्ण विराम हाल्थे।

प्रधान बिहे गर्ने बित्तिकै म्याटि्रकको तयारी गर्नुछ भनेर कालेबुङबाट दार्जीलिङ लागे । सञ्जय विष्टका अनुसार वर्ष दिनसम्म पनि आफ्ना पति घर नआएपछि उनकी पत्नी अन्तै हिँडिन् । त्यसपछि प्रधानले फेरि गोपालसिंह मल्ल र इन्द्रलक्ष्मीकी छोरी जसमायाँ नेवार्नीसँग बाजा बजाए । अनि यिनीहरूका सात जना छोरा र तीन वटी छोरी जन्मे।

प्रधान स्कुल पढेदेखि नै सङ्गठनमा जागरुक थिए । उनी सानैदेखि साहित्य संस्कृतिको मर्यादा गर्थे । उनी शिष्ट रूपमा साहित्य लेख्थे । यौन साहित्यलाई उनी अशिष्ट मान्थे । त्यसैले उनले रूपनारायण सिंहलाई टाढैबाट नमस्कार गरे । सिंह बाहेक उनले नेपाली स्रष्टाहरू भेला गराउने पनि काम गरे । त्यसै परिवेशमा उनी ‘हिन्दी साहित्य समाजको सचिवमा चुनिए । अनि त्यस संस्थामा उनले नेपाली भाषासाहित्यका किताब पुर्याउन थाले । तर त्यस पुस्तकालयबाट नेपाली भाषाका किताब झिकेर मिल्काउन थालेपछि उनले त्यस ठाउँबाट आफ्ना हातमा सावुनपानी लागाए । अनि उनले ‘गोर्खा साहित्य समाज’को स्थापना गरे । त्यहीँ उनले नेपाली भाषाको एउटा राम्रो पुस्तकालय पनि खोले।

स्कुले शिक्षा सकिएपछि प्रधानले प्रेसमा काम गर्दै पढे । त्यति बेला उनी कम्पोजिटर थिए । त्यही क्रममा उनले स्नातक गरे । अनि उनले प्रेस पनि खोले र त्यसैलाई उनले आफ्नो व्यवसाय बनाए । त्यसै कामबाट उनले घरव्यवहार पनि धाने । त्यस बेला हातले एउटाएउटा अक्षर जोडेर कम्पोज गर्नुपथ्र्यो । उनी आफ्नो प्रेसमा आफैं कम्पोजिटर थिए । त्यस प्रेसमा छापिएका सबै किताबको उनी आफैं बाइन्डिङ गर्थे । त्यस काममा उनी आफ्ना छोराहरूलाई पनि जोत्थे र भन्थे ‘कम्पोजिङ गर्दागर्दै थाकेउ भने तिमीहरूले वैण्डिङ गर्नु ।’ उनको प्रेसको नाउँ मणि प्रिन्टिङ प्रेस थियो । त्यस प्रेसको विशेषता के थियो भने प्रेस मालिकहरूले नै प्रेसको सम्पूर्ण काम गर्थे।

प्रधान बाहिरबाहिर भूइँमा सुत र भित्रभित्रै नैनासुत थिए । साहित्यका उनी तपस्वी थिए । सूधपा अर्थात र्सर्ूयविक्रम ज्ञवाली, धरणीधर शर्मा र पासमणि प्रधान भन्नु नेपाली भाषासाहित्यको एउटा विशाल बटवृक्ष नै थिए । कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटालाई २००९ सालमा त्रिमूर्तिको दर्जा पनि यिनै सूधपाले दिएका थिए।

प्रधान नेपाली जाति, नेपाली भाषा र नेपाली भेष भनेपछि हुरुक्कै हुन्थे । उनी भारतमै पनि दौरा, सुरुवाल, कोट र टोपी लगाएर हिँड्थे । त्यतिमात्र होइन कलकत्ता विश्वविद्यालयमा नेपाली भाषाको पाठयपुस्तक भित्र्याउन पनि उनी मरिमेटेका थिए । उनकै नेतृत्वमा त्यस विश्वविद्यालयले नेपाली भाषालाई मान्यता प्रदान गर्यो । त्यही लहरो तानिएर पछि भारतमा नेपाली भाषालाई संवैधानिक मान्यता प्राप्त भएको थियो।

प्रधानकै पहलमा त्यस भेकका स्कुल तथा कलेजमा नेपाली भाषाका किताब लागु भए । अनि उनी नै पनि पाठयपुस्तक लेख्थे । पाठयपुस्तकसमेत गरेर उनका दुई दर्जन पुस्तक प्रकाशित भए । कुनै बेला उनी स्कुलका शिक्षक पनि भए । उनी आफूले लेखेका किताव आफै पढाउथे।

प्रधानले चन्द्रिका र भारतीको पनि सम्पादन गरे । त्यति बेला उनी आफैं प्रुफ हेर्थे, आफैं लेख्थे । लेखेरै उनी चर्चित भए । उनले नेपाली भाषामा प्रसिद्धि कमाउँदा कमाउँदै सुप्रसिद्ध भए । त्यही परिवेशले उनलाई मदन पुरस्कार पनि प्रदान गरियो । साथै उनले त्रिभुवन प्रज्ञापुरस्कार पनि पाए । त्यसपछि उनलाई त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि पनि प्रदान गर्यो । अनि उनले आफ्नो नाउँका अघि डाक्टर लेख्न थाले।

प्रधानका लागि चौबीस घन्टा थोरै हुन्थ्यो । उनी १८ घन्टा काममा नै जोतिने गर्थे । उनैका विद्यार्थी राजनारायण प्रधानका अनुसार ‘उनी मौरीजस्तै खट्थे ।’ उनको खर्टाईले उनी स्वयम् नै एउटा संस्था बने।

प्रधानको सोख भोजन थियो । कसैले खाना बोलाए भने उनी तीन घन्टाको बाटो हिँडेर पनि पुग्थे । साथै मनले खाएको मान्छे घरमा पाहुना लागे भने उनी दालभात खुवाउँथे र आफ्नो प्रशंसामा समय खर्च गर्थे । कुरा गरेर उनी थाक्तैन थिए र उनका कुरा सुनेर सुन्ने मान्छे पनि मक्ख पर्थे । किनभने उनी ज्रि्रो महमा जोडेर गुलीयो कुरा गर्थे।

प्रधान बोल्दाबोल्दै बिज्ने कुरा पनि बोल्थे । कहिलेकाहीं छेउकै मान्छेलाई गाली गर्थे अर्थात् आफ्नो मनका कुरा सबै निचोरेर निकाल्थे । अनि गाली खाने मान्छेलाई भन्थे ‘मेरो मुख मात्रै छुचो हो; तर मेरो पेटमा हरि छन् । म कसैको कुभलो चिताउँदिन । म मुखमा रामराम भनेर खल्तीमा छुरी पनि राख्तिन । नरिसाउनु होस् है!’

प्रधान साहित्यकार भनेपछि हुरुक्कै हुन्थे । एकपल्ट नेपालबाट उनलाई भेट्न गएको एक जना कविले गफ गरेर नै बिहानको तीन बजाए छन् । त्यतिन्जेलसम्ममा प्रधानले ती कवि समक्ष म यो खान्छु, म यहाँ सुत्छु र मेरो सम्पत्ति यहाँ राख्छु भनेर आफ्नो सबै विवरण पेश गरिसकेका थिए । किनभने यति कुरा भन्नु उनको बानी नै थियो । कविलाई आफ्नो वृतान्त सुनाएर उनी सुत्न गए र एकै छिनमा घुर्न थाले । त्यसै बेला पाहुना कविले आफूले ओछयाएको तन्नामा प्रधानका झिटीगुठी सबै बाँधे र राति नै चम्पट कसे । तर पनि उनले आफ्नो आनीबानी सपारेनन्।

प्रधानले नेपाली भाषाका लागि जति गरे धेरै गरे । नेपाली भाषासाहित्यमा एउटा कम्पोजिटर पनि एक दिन विभूति भए भने पारसमणि प्रधान नै भए । तर उनी कहिले हौसिएनन् । अनि बूढो भइन्जेल उनी आफ्नो काममा नै जोत्तिइरहे।

प्रधान २०४२ साल माघ २० गते दार्जीलिङको कालेबुङमा स्वर्गीय भए । त्यस दिन विश्वभरीका नेपाली साहित्यकारले आआफ्नो शिरबाट टोपी झिकेका थिए।
naiprasai@gmail.com

Popularity: 5%

Add comment November 12th, 2011

स्रष्टा र समाजसेवी वासु शशी

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
वासु शशी नेपाली भाषासाहित्यका अमर प्राज्ञको नाउँ हो । उनको जन्म १९९३ साल चैत १३ गते काठमाडौँको पशुपतिमा भएको थियो । उनी भूमिमानन्द वैद्य र हितकुमारीका कान्छा छोरा थिए। वासुदेव वैद्यले आफ्ना माइला दाजु गोविन्ददेव वैद्यले गोविन्द वियोगी लेख्न थालेपछि आफूलाई पनि वासु शशी लेख्न थालेका थिए।

वासु शशीका पूर्खा वैद्य पेशामा आवद्ध थिए । उनका पिताले पनि त्यही पेसा समाएर आफ्नो जिविका चलाए । उनका पिताको शेषपछि उनीहरूको आर्थिक अवस्था त्यति गतिलो भएन । त्यसैले वासु शशीले शिक्षक हुने विचार गरे । त्यही अनुरूप उनी २१ वर्षको उमेरमा कलेज अफ एजुकेशनमा वीएड पढ्न थाले । त्यति बेला उनका कलेजका साथीहरूमा दौलतविक्रम विष्ट, रमेशविकल र नीरविक्रम प्यासी थिए । साथै जुलुम श्रेष्ठ पनि उनकै सहपाठी थिइन् । त्यति बेला यी नरनारी खुवै मिल्थे।

वासु शशीका बुबा बाचुन्जेल त्यो परिवार आर्थिक रूपमा त्यति विकट थिएन । तर उनका बुबाको निधनपछि त्यस परिवारलाई औँसीले छोपेको झैँ भयो । उनकी आमाको निधनपछि उनका घरमा गरिबीले नै छोपेको थियो । त्यति बेला यिनीहरू बिहान के खाउँ र बेलुका के खाउँका अवस्थामा थिए। त्यतिखेरको समय उनीहरूको घर फुङ्ग उडेको गोठ जस्तै थियो । त्यस घडी यिनीहरू कहिले भोकै सुत्थे र कहिले केही खाएर पनि सुत्थे। वासु शशीले विद्यार्थी जीवनमा नै गोरेटो र लोकदूतको सम्पादन गरे । उनले नव निर्माण त्रैमासिकको पनि सम्पादन गरे । त्यसै बीच उनी एउटी सुन्दरीको प्रेमबन्धनमा बाँधिए । अनि ती युवती थिइन् आफ्नै साथी जुलुम श्रेष्ठ । जुलुमकै मायामा डुबेर उनले अनगिन्ति कविताको रचना पनि गरे । २१ वर्षको उमेरमा उनले कविता पाठ गरेर लेखनाथ पौडयालबाट स्वर्ण पदक पनि पाएका थिए।

वासु शशी नेशनल कलेजमा पढेताका चल्तापूर्जा थिए। त्यति बेला उनको साहित्यिक सक्रियताको पारखी थिइन् जुलुम श्रेष्ठ। जुलुम उनीप्रति खुबै आकषिर्त हुन थालिन्। त्यसपछि उनीहरू डुल्नघुम्न पनि थाले र उनीहरूले पढ्नमा पनि मन घटाएका थिएनन् । त्यसै बखत उनीहरू एकअर्कामा चिठी लेखालेख गर्थे, फोटो साटासाट गर्थे र बाटो कुराकुर गर्थे। त्यसैताक वासु शशी एकान्तमा आफ्नी प्रेयसीलाई गीत गाएर सुनाउने गर्थे । अनि जुलुम पनि गीत र नृत्यले वासु शशीलाई मोहित बनाउने गर्थिन्। वासु शशीचाहिं गायक पनि थिए। आमा सीतारवादनमा सौख राख्ने भएकाले उनले सानैदेखि गीत गाउने गरेका थिए। पछि जुलुमसँगको प्रेममा डुबेर उनी प्रायः जुलुममा नै समर्पित गीत लेख्थे र आफैं भाका हालेर ती गीत गाउँथे। अनि तिनै जुलुमसँग उनले २०२० सालमा विहे गरे। यी दम्पतीबाट दुई छोरी लुना राजभण्डारी, नीना जोशी र छोरा निरज बैद्य जन्मे।

२००७ सालको परिवर्तनले वासु शशीमा पनि समाजमा केही गरौँ भन्ने भावना पलाएको थियो। त्यसै बेला उनले पशुपति क्षेत्रमा पुस्तकालय स्थापना गरे। त्यसै कालमा उनी शारदा हाइस्कुलका पनि मास्टर भए। त्यस स्कुलमा पढाउन घरघरमा गएर उनले विद्यार्थी ओसार्न थाले। त्यस समय आफ्ना नानी पढाउनु पर्छ भन्ने अविभाकहरूमा त्यतिसारो ज्ञान पलाइसकेको थिएन। त्यसैले उनी त्यस कामका लागि घुँडो र मुन्टो दोबारेर नै लागे। त्यस समय उनको तलव मासिक सात रुपियाँ हुन्थ्यो। तर त्यस सात रुपियाँ पनि उनी दस जना विद्यार्थीलाई जनही पच्चीस पैसा बाँड्थे। उनी पछि त्यसै स्कुलको हेड मास्टर पनि भए।

वासु शशी फर्पिङ बोर्डिङ स्कुलको शिक्षकमा भर्ना भए। सिद्धिचरण श्रेष्ठको करबल र सहयोगमा उनले त्यस स्कुलमा भर्ना पाएका थिए। त्यस स्कुलमा पढाउन थालेपछि उनको घरको आर्थिक स्थिति पनि क्रमशः सवल हुन थाल्यो।

फर्पिङ स्कुलमा वासु शशी चाँडै विद्यार्थी प्रेमी भए। उनी त्यस स्कुलका प्रायः विद्यार्थीका प्रेरक बने। त्यहाँका विद्यार्थीहरू उनको काव्यात्मक व्यक्तित्वबाट प्रफुल्लित थिए। त्यसैले यिनकै संरक्षकत्वमा त्यस स्कुलमा विद्यार्थीको समूह तयार भइसकेको थियो। अनि त्यतिबेला उनी आफ्ना विद्यार्थीलाई भेला पारेर कविता सुनाइरहन्थे।

नेपाल प्रज्ञाप्रतिष्ठानको स्थापनापछि उनी त्यतै लागे। त्यहाँ जागिरे भएर बसिन्जेल बालचन्द्र शर्मा र भवानी भिक्षुले उनलाई प्रोत्साहन गरिरहे। वास्तवमा उनका लागि ती दुबै प्राज्ञको धेरै नै सहयोग, सद्भावना र प्रेरणा प्राप्त भैरहृयो। त्यसैले पछिसम्म पनि उनले भनेका थिए “भवानी भिक्षु र बालचन्द्र शर्माको सङ्गत नपाएको भए शायद म वासु शशी बन्ने थिइँन होला।”

वासु शशीका माइला दाजु गोविन्द वियोगी पनि साहित्य, समाजसेवा र राजनीतिमा धेरै नै चाख राख्थे । त्यसैले दाजुकै दौराका फेर समाएर वासु शशीले पनि यी तीनै थोकमा आफूलाई डुबाएका थिए। उनीहरू सारै मिल्थे अनि कति मिल्थे भने, उनीहरुमध्ये एक जना माटोको भर ढुङ्गा हुन्थे र अर्को जना ढुङ्गोको भर माटो हुन्थे। उनका दाजु मातृभूमि साप्ताहिकको सम्पादक पनि थिए। त्यस बेला मङ्गलवारको मातृभूमि नपढ्ने बौद्धिक जगत् प्रायः हुँदैनथ्यो।
वासु शशीको सङ्गठनात्मक कौसलका नमुना थिए। त्यस बेला उनले रोदी नामक साहित्यिक संस्था पनि स्थापना गरेका थिए। रोदीमा उनीलगायत भूपी शेरचन, कृष्णभक्त श्रेष्ठ, हिमांशु थापा, कुमार नेपालको पनि सक्रिय संलग्नता थियो । अनि त्यसको नेतृत्वको जिम्मा वासु शशीलाई नै सर्वसम्मत गरिएको थियो। त्यति बेला रोदीमार्फत काठमाडौँमा साहित्यिक सभाहरू भइरहन्थे। उनी जीवन पर्यान्तै साहित्यिक सङ्गठनमा आवद्ध भैरहे र जीवनको अन्त्यमा सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष थिए।

लेखेर र काम गरेर नै साहित्यमा वासु शशी अजर स्रष्टाको नाउँ बन्यो। उनको नाउँ खास गरेर कविका रूपमा नै सुप्रसिद्ध भयो। साथै उनले नाटककारका रूपमा पनि आफ्नो नाउँ सुन जस्तै चम्काए। उपन्यास र गीत लेखनका पनि उनी अब्बल दर्जाका स्रष्टा थिए। अनुवादमा पनि उनले त्यस्तै नाउँ कमाए। अनुवादसहित उनका नेपाली र नेवारी भाषा गरेर दुई दर्जन कृति प्रकाशनमा आए।

वासु शशीले सामाजिक र साहित्यिक गरेर भारत, पाकिस्तान, श्रीलङ्का, जापान, रुमानिया, बेल्जियम, बेलायत, अमेरिकाको भ्रमण गरे।

नेपाली समाजमा थोरै लोकप्रिय साधकहरूमा वासु शशीको पनि नाउँ आउँछ। लेखेर मात्रै उनी धुरी चढेका थिएनन्। उनी मिलनसार, सहयोगी र हक्की पनि थिए। तर उनी आफ्नो काममा समर्पित हुँदाहुँदै क्यान्सरबाट थला परे। उनको उपचारका लागि उनकी पत्नी जलुमले धेरै कसरत गरिन्। अन्ततः उनी भारतको टाटा मेमोरियल अस्पतालमा २०४९ चैत ४ गते स्वर्गीय भए। अनि भोलिपल्ट उनको पार्थिव शरीर काठमाडौं ल्याएर दाहसंस्कार गरिएको थियो। त्यसपछि जनस्तरबाट उनका नाउँमा वासु शशी स्मृति परिषद्को स्थापना भयो भने सरकारी तहबाट उनको घर जाने बाटोको नाउँ वासु शशी गल्ली राखियो।
naiprasai@gmail.com

Popularity: 5%

Add comment November 5th, 2011

नेपाली भाषासाहित्यका आधुनिक गजुर महाकवि देवकोटा

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए। लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए।

लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो। उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो। तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो।

देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि टयुसन गरेर पैसा कमाउँछु ।’ तर उनीचाहिं जन्मेदखि नै रोगी थिए।

देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए । तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरिएको थियो।

देवकोटा दरबार स्कुल पढ्दा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्विकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए।

देवकोटाले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौडयालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुलेका थिए । उनी छिप्पिँदै गएपछि वर्डर्स्वर्थ र सेलीजस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि पौडन थाले।

देवकोटाले दस वर्षनपुगी कविता लेखे । त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर ‘म त अभागी पो भएँ’ शिर्षमा उनले कविता लेखेका थिए।

देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौँ कक्षाबाट एक्कैचोटि दसौँ कक्षा पढे । उनले १७ वर्षो हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए।

देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढे । उनले आइएस्सी पढ्दा लेखेको वसन्तषोडसी शीर्षकको कविता ‘लक्ष्मी, टीसी कलेज, नेपाल’का नाऊँबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो । त्यसै ताक उनले आफ्ना घरमा टयुसन पनि पढाउन थालेका थिए । उनले प्राइवेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बीए पढे र त्यहीबाटै बीएल पनि पास गरे।

पटनामा बीएल पढेताका देवकोटामा रोमान्सको हरियाली पल्हाएको थियो । त्यसपछि उनले प्रेमविषयक कविताहरू बढी लेख्न थाले । लेखन नै देवकोटाको क्रमशः प्रिय साथी हुन थाल्यो र लेखनमा नै उनको दिनचर्या पनि बित्न थाल्यो। देवकोटा चौध भाषा बुझथे। उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए।

देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो । उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए । बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे । उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो । लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए।

सोह्र वर्षको उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो। विवाहपश्चात् देवकोटाको जीवनमा मनदेवी नै संसारभरिका सम्पूर्ण पात्रहरूभन्दा महत्त्वपूर्ण पात्र भइन् । त्यस बेलाको उनको दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै पनि उनले ‘मुनामदन’ लेखे । देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए।

देवकोटाले गरिबीका कारण दैनिक अठार घन्टा पनि टयुसन पढाए । झन्नै तीन दर्जनलाई खान पुग्ने धन कमाउँदा पनि उनका घरका पुगनपुग एक दर्जन मान्छे भोकभोकै हिँड्थे । जति पैसा कमाउँदा पनि उनी कङ्गालसरि थिए । ८० बिघा खेत हुँदा पनि उनी भोकभोकै सुत्थे । देवकोटाकी पत्नी मनदेवी धर्ममा समर्पित हुनु र देवकोटा आफु चाहीं अति अव्यवहारिक हुनुका कारण नै देवकोटाको घर सारै दयनीय थियो।

देवकोटा लाउनका भन्दा खानाका सौखिन थिए । उनले एउटा खसीको टाउको खान पाए भने एउटा खण्डकाव्य नै लेखिदिन्थे । मिठाई पनि उनलाई खुबै मन पर्थ्यो।

देवकोटाको उधारो खाने ठाउँ डिल्लीबजारको लप्टनको होटल थियो। त्यस होटलमा देवकोटाका नाउँमा अरूहरूले पनि उधारो खान्थे। बगरेसँग पनि उनी उधारो नै मासु लिन्थे। बगरेले पनि महिना मरेपछि उनीसँग तेबारेर नै पैसा लिन्थ्यो।

देवकोटा जुवातास र पासामा पनि पारङ्गत थिए। साथै उनी गीत पनि गाउँथे, हार्मोनियम र तबला पनि बजाउँथे। उनको सौखको अर्को साधन साइकल पनि थियो।

राणाकालीन युगमा देवकोटा नेपालमा पुस्तकालय खोल्न लाग्दा झन्नै कैदी पनि भए। तर एक सय रुपियाँ जरिमाना गरेर उनीलाई छोडिएको थियो।

देवकोटा दूरदर्शी थिए। कुनै बेला उनले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ कविता लेख्ता धेरैले उनलाई तरङ्गी भने। तर उनी दिवङ्गत हुनुभन्दा सोह्र घन्टाअघि रूसको रकेट चन्द्रलोक पुगेको थियो।

देवकोटा मानसिक आघातका सिकार भएकाले उनलाई राँची लगियो। उपचारका क्रममा डा.बर्कले हिलले भनेका थिए, ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन। उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो।’

लहडी भएकाले देवकोटा बीए, बीएल पढेको दस वर्षसम्म जागिरमा छिर्न सकेनन्। अन्ततः उनी नेपाली भाषानुवाद परिषद्मा जागिरे भए। उनी जागिरे हुँदा बालकृष्ण सम र उनको प्रायः बौद्धिक जुहारी चल्थ्यो। त्यसै बेला उनले त्रिचन्द्र कलेजमा पनि प्रोफेसरको जागिर पाए। बीए पास भएर प्रोफेसरको पद पाउने पनि उनी प्रथम नेपाली थिए।

देवकोटाले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाए। तर त्यहाँ उनी चार महिना मात्र टिके। त्यसपछि उनले कमर्स कलेजमा पनि प्रोफेसर पद पाए। त्यहाँ पनि उनी तीन महिना मात्र टिके। उनी आफ्नो कार्यालय र कलेजमा कहिले समयभन्दा निक्कै पहिले पुग्थे र कहिले समयभन्दा धेरै ढिलो पुग्थे।

देवकोटा लहैलहैमा बनारसतिर पनि हान्निए। त्यस बेला उनले त्यहाँ जानेबारे घरपरिवारलाई पनि जानकारी दिएका थिएनन् र त्रिचन्द्र कलेजबाट पनि बिदा लिएका थिएनन्। अनि बनारसकालीन समयमा देवकोटाको जीवनपद्धति बौद्धिक कुल्ली, भरिया र हलीभन्दा माथिको देखिँदैनथ्यो। त्यस बेला उनको प्रमुख काम राणा विरोधमा युगवाणीको सम्पादन गर्ने थियो। उनी वनारसमा आर्थिक रूपमा आक्रान्त भएपछि बबरशमशेरले देवकोटालाई लिन खर्चसहित उनका भाइलाई पठाए। त्यसपछि देवकोटा आफूलाई बनारस लैजानेलाई धिक्कार्दै काठमाडौं फर्किए।

देवकोटालाई प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरे। राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिए।

देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा मनोनीत भए। त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार भयो। महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य भए। डा.के.आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषद्मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बने। ११० दिनसम्म मन्त्री भएका बेला पनि उनले नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए।

नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए। साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्याउने काम पनि देवकोटाबाट नै भएको थियो।

भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए।

नेपाली परिवेशमा जन्मिएर युगान्तरकारी स्रष्टाको रूपमा विश्व परिक्रमा गरिरहेका अजर अमर स्रष्टाको नाउँ नै महाकवि लक्ष्मीप्रसाद देवकोटा हो। उनले ३६ वटा खण्डकाब्य ६ वटा महाकाव्यलगायत विविध विधाका ८४ वटा कृति लेखे। उनका अप्रकाशित ४५ वटा कृति भेटिएका छन्।
देवकोटा अफ्रोएसियाली लेखकसम्मेलनमा भाग लिन सोभियतसङ्घको तासकन्द गए। चिकित्सकको सल्लाहले त्यस समारोहमा भाषण गर्नुअघि देवकोटालाई दुई बोतल रगत पनि चढाइएको थियो।

देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द गएका थिए। त्यसका निम्ति उनलाई मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्मासम्मले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए। तर पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो। तर पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उनको पारिश्रमिक निकासा गरिदिए।

देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए।
naiprasai@gmail.com

Popularity: 8%

Add comment October 26th, 2011

राष्ट्रवादी चिन्तक गोविन्द भट्ट

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
औँलामा गन्न सकिने नेपालका शिखर बुद्धिजीवीहरूमा गोविन्द भट्टको नाउँ आउँछ। उनी नेपालको राजनैतिक मैदानमा जसरी अग्रपङ्क्तिमा आउँथे त्यसरी नै साहित्यको क्षेत्रमा पनि उनको नाउँ विशिष्टताको सूचीमा अङ्किकत हुन्छ । साहित्यमा विशेष गरी उनी समालोचकीय विधामा कस्सेर लागेका थिए । अनि उनी प्रगतिवादी चिन्तनमा चाहिं गहिरिएर नै डुबेका थिए। भट्टको जन्म १९९४ साल साउन २ गते घामको झुल्कासँगै रौतहटको पुरेनियामा भएको थियो । उनी एउटा कट्टर ब्राहृमण परिवारमा जन्मे । त्यसैले सानैदेखि उनी कठोर धार्मिक अनुशासनमा बाँधिए । उनलाई सानैदेखि संस्कृत मात्र घोकाइन्थ्यो र गाई खाने भाषा हो भनेर त्यति बेला अङ्ग्रेजी पढ्नबाट उनलाई वञ्चित गराइएको थियो।

परिवारमा बढ्दो आर्थिक सङ्कट, आमा र भाइको असामयिक निधन तथा घरमा यदाकदा उत्पन्न हुने पारिवारिक अन्तर्विरोध र द्वन्द्वले भट्टको. मनमा गहिरो चोट पुगेको थियो । त्यति मात्र होइन जहानिया राणाशासनबाट जनताले भोग्नुपरेका कष्टकर दिनहरूबाट पनि उनीभित्र विद्रोह पलाएको थियो । यी सारा कुराहरू उनी प्रायः आफ्ना कापीमा टिप्ने गर्थे । तिनै कथनलाई उनी कहिले कविता बनाएर लेख्थे र कहिले निबन्धका रुपमा पनि लेख्थे ।
सरल, मिलनसार र उत्कृष्ट बौद्धिकताका धनी भट्टको पहिलो. रचना बनारसबाट निस्कने ‘युगवाणी’मा प्रकाशित भएको थियो । निबन्धमा आधारित सो लेखको शीर्षक थियो ( ‘आमा नेपाल ।’ सो निबन्ध पुरस्कृत पनि भएको थियो।

भट्टको प्रथम पुस्तकाकार कृति ‘शान्तिसन्देश’ खण्डकाव्य हो र यो २०२४ सालमा प्रकाशित भयो । यो खण्डकाव्य नेपाल विद्यापीठमा एसएल्सी सरहको परीक्षाको पाठयक्रममा पनि समावेश भयो।

भट्टका अहिलेसम्म विविध विषयमा गरी दसवटा पुस्तक प्रकाशित भइसकेका छन्( शान्तिसन्देश, नेपाललाई बुझने समस्या:एक लामो र कठिन प्रक्रिया, अन्तरविरोधबारे मार्क्सवादी चिन्तन, आधुनिक युग, आधुनिक साहित्य र नयाँ साहित्य, (नेपालभाषा), चीनका चार आधुनिकीकरणहरू, गोविन्द भट्टका समालोचना (सम्पादक, रविलाल अधिकारी), गोविन्द भट्टको मार्क्सवादी चिन्तन, गुण्डादर्प दलन र माइ मदर (अनुवाद)।

नेपाली भाषासाहित्यमा समर्पित भएवापत भट्टले महाकवि देवकोटा सम्मानका साथै र्सवश्रेष्ठ पाण्डुलिपि पुरस्कार, कृष्णमणि साहित्य पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, गोकुल स्मृति पुरस्कार, र्सवदा वाङ्मय पुरस्कार, प्रज्ञाप्रतिष्ठान कविता महोत्सव पुरस्कारका अतिरिक्त धेरै सम्मानहरू ग्रहण गरेका थिए।
भट्ट विद्यार्थी जीवनदेखि नै बौद्धिक क्रियाकलापमा निरन्तर संलग्न थिए् । जीवन पर्यान्त उनी नेपालीको सुक्खसमृद्धिको चाहनामा नै केन्द्रित थिए। नयाँ नेपाल बनाउने उनको ठूलो धोको थियो । त्यसैले उनी जीवनका हरेक मोडमा राष्ट्रियता र देशप्रति खुल्ला वकालत गरिरहन्थे।

भट्टले प्रवासमा पुगेर उच्च शिक्षा लिए । उनले बनारस हिन्दू विश्वविद्यालयबाट स्नातक र लखनउ विश्वविद्यालयबाट दर्शनशास्त्रमा एमए गरे । साथै उनले कोलम्बो प्लानअर्न्तर्गत पाश्चात्य दर्शनमा पीएच्डीको शोधग्रन्थ तयार पारेका थिए । तर विविध कारणले त्यो ग्रन्थ बुझाउन उनी अर्समर्थ भए।

भट्टले खास गरेर समालोचनासम्बन्धी लेखरचनाहरूको निर्माण गरे । सुरुका दिनमा उनले विश्वेश्वरप्रसाद कोइराला, पारिजात, विजय मल्ल, गोविन्द मल्ल गोठाले आदिका उपन्यासहरू र गोकुल जोशीका कृतिका बारेमा यथेष्ट मूल्याङ्कन गरी लेखहरू लेखे । उनले आदिकवि भानुभक्त, महाकवि देवकोटा, भीमनिधि तिवारी, गोपालप्रसाद रिमाल र युद्धप्रसाद मिश्रहरूका बारेमा पनि समग्र रूपमा समीक्षात्मक लेखहरू लेखेका थिए । उनी पुराना लेखक वा कृतिहरूभन्दा विशेषतः नयाँनयाँ लेखक र कृतिहरूको समीक्षा गर्नेतर्फबढी केन्द्रित हुन्थे।

बीपी कोइरालाको ‘तीन घुम्ती’, र पारिजातको ‘शिरीषको फूल’को समालोचनापछि उनी नेपाली समीक्षात्मक फाँटमा चर्चित, प्रसिद्ध र स्थापित भए । वास्तवमा यिनका यी समालोचनात्मक लेखहरूमा उत्कृष्ट साहित्यिक अभिव्यक्ति त छँदै थिए तर त्यसभन्दा पनि वैचारिक रूपले गर्दा यिनका ती समालोचना ख्यातिका चुचुरोमा पुगे।

नेपाली भाषासाहित्यको समकालीन समालोचकीय धाराका विषयमा उनी खुबै चिन्तित देखिन्थे । उनकै शब्दमा भन्ने हो भने ‘’हामीकहाँको प्रगतिवादी समालोचनालाई पनि पूर्णतः दोषमुक्त भन्न सकिन्न । नेपाली साहित्यको समालोचनाको फाँट सन्तोषजनक रूपबाट अझै विकसित भइसकेको छैन र त्यस क्षेत्रमा जेजति विकास भएको छ त्यो. एकपक्षीय, असन्तुलित र अपूर्ण नै रहेको छ।'’

भट्टले कथा र उपन्यासलाई नै आफ्नो समीक्षाको खास विषयवस्तु बनाउन रुचाएका थिए । उनको पहिलो समालोचनात्मक अभिव्यक्ति पनि ‘सौता’ भन्ने एउटा उपन्यासका विषयमा आधारित थियो । त्यो लेख २०२० सालको ‘रूपरेखा’मा प्रकाशित भएको थियो।

भट्ट नेपालका ख्यातिप्राप्त समालोचकहरूमध्ये एक मानिन्छन् । उनले समीक्षा गरेका कृतिहरूमा नवोदित लेखकहरूलाई प्रोत्साहन दिएको पाइन्छ । साथै स्थापित लेखकहरूका रचनाका आन्द्रा, भुँडीमा जमेका लादी निचोर्दै तिनमा भएका नकारात्मक पक्षलाई उजागार गरिदिने साहसिक समालोचकीय प्रवृत्तिको नाउँ नै पनि गोविन्द भट्ट हो।

सानैदेखि भट्टले राजनीतिमा पनि गहिरो चाख राखे । उनले सानैमा प्रगतिशील धारणाबाट आफूलाई राष्ट्रनिर्माणको महायज्ञमा जुटाएका थिए । त्यसैले उनले सन् १९६६ मा माओ त्सेतुङसँग भेटेको समय र नजिकै बसेर जवाहरलाल नेहरू तथा चाउ एनलाइका भाषणहरू सुनेको मौका अनि केटाकेटी छँदै राणा शासनको अन्त्य भएको खबर सुनेका संस्मरणहरू आफ्ना डायरीमा लेखे।

विभिन्न सामाजिक, राजनैतिक र साहित्यिक एकाइमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न रहेका भट्टले त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अनुसन्धान केन्द्रका अधिकृत, चिनियाँ रेडियो अन्तरार्ष्ट्रिय पेइचिङमा भाषा विशेषज्ञ तथा चिनियाँ सामाजिक विज्ञान एकेडेमीको अतिथि प्राध्यापक, गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको कार्यकारी सदस्य, प्रथम अन्तरार्ष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनको कार्यकारी सदस्य, महाकवि देवकोटा शताव्दी बालचित्रकला महोत्सवको संयोजक र श्रीसगरमाथाको प्रधान सम्पादकको पद निर्वाह गरेका थिए । भट्टले नेपाली समाजलाई जागृत गराउने कार्यमा बौद्धिक रूपमा अन्य थुप्रै ठाउँबाट योगदान पुर्याएका थिए।

पिता पं.रुद्रनाथ उपाध्याय तथा माता शैलपुत्रीदेवीका जेठा छोरा गोविन्द भट्टले त्यसबेलाको रुढिवादी परम्परालाई आफ्नै बुताले चिर्दै आफ्नो राजनैतिक, सामाजिक र साहित्यिक व्यक्तित्वलाई क्रमशः शिखर चढाउँदै ल्याएका थिए।

भट्ट सांसारिक जीवनमा रहँदाबस्ता एकपटक झन्डै साधु. पनि भएका थिए । त्यसैले उनले सदैव दारी पालिरहे । उनको मुहारको दारीलाई एकातिर मार्क्सको प्रेरणा मानिन्छ भने अर्कातिर ऋषिमुनिहरूको प्रभावका आधारमा उनले दारीलाई महत्त्व दिएका दिए।

जीवनमा थुप्रै भोकतीर्खा र दुक्खसुक्ख भोगिसकेका भट्टकी गृहलक्ष्मी इन्दिरा भट्ट पनि शिक्षणपेशामा संलग्न थिइन् । सहधर्मिर्णीको सहनेतृत्वमा भट्टका दुवै छोरी लुना र शिरीष २०३८ र २०३९ सालको एसएलसी परीक्षामा बोर्डमा प्रथम र द्वितीय भएका थिए।

भट्ट परिवारका यी चारै जना सदस्य धेरै वर्षचीनमा पनि कार्यरत, सेवारत र अध्ययनरत रहे । अहिले लुना अमेरिकाको साइराक्युस विश्वविद्यालयको अस्पतालमा मुटु विशेषज्ञ छिन् भने शिरीषले इन्जिनियर भएर पनि पुरातात्विक संरक्षणमा स्नातकोत्तर गरिन् । उनी ख्वपः इन्जिनियरिङ कलेजमा पनि कार्यरत छिन्।

राजनैतिक हिसावमा भट्टको फिटिक्कै पनि नापोजोखा देखिएन । यति हुँदाहुँदै पनि उनलाई प्रगतिशील सिद्धान्तको नैतिक गिदीका रूपमा मानिन्थ्यो । अनि अर्को थप कुरा उनी प्रगतिशील साहित्यिक क्षेत्रका जगतगुरु नै मानिन्थे।

राष्ट्रिय चिन्तनमा समर्पित भइरहेका बेला भट्ट अचानक काठमाडौंको गङ्गालाल मुटु अस्पतालमा भर्ना भए । अनि अर्को दिन अर्थात् २०६८ साल असोज २५ गते साँझ उनी त्यहीं स्वर्गीय भए।
naiprasai@gmai.com

Popularity: 4%

Add comment October 22nd, 2011

महाकवि देवकोटाकी दिदी थिइन्: स्रष्टा लोकप्रियादेवी

नरेन्द्रराज प्रसाई/ एचकेनेपाल डट कम-
लोकप्रियादेवी व्यक्तिगत रूपमा जति असल थिइन् त्यति नै प्रतिभाकी धनी पनि थिइन् । पण्डित तिलमाधव देवकोटाकी छोरी भएका नाताले मात्र नभई र महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी भएका नाताले मात्र पनि नभई लोकप्रियादेवी स्वयं नै एउटी प्रतिभासम्पन्न कवयित्री थिइन् । आफूले एकपटक सुनेको जुनसुकै श्लोक पनि उनलाई कण्ठ हुन्थ्यो । कसैले कथा भन्यो भने त्यो पनि उनी पानी पार्थिन्।

लोकप्रियादेवी सानैदेखि काव्य लेख्थिन् । कुनै विषय वा प्रसङ्ग लेख्नुपर्यो भने उनी कवितामा नै लेख्ने गर्थिन् । त्यसैले उनी कसैलाई चिठी लेख्ता पनि कवितामा नै आफ्नो मन खोल्ने गर्थिन् । आफ्ना पति भारत जाँदा पनि उनले कवितामा चिठी लेख्ने गर्थिन् । आफूलाई चाहिने चिजबिज पनि उनले कवितामार्फ नै पतिसँग माग्ने गर्थिन्।

पण्डित तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीदेवीका छ छोरा र सात छोरीमध्ये लोकप्रियादेवी काइँली छोरी थिइन् । यिनी संवत् १९५५ जेठ महिनामा काठमाडौंमा जन्मेकी थिइन् । यिनको चिनाको नाउँचाहिँ हुतलक्ष्मी थियो । तर यिनलाई घरमा कसैले पनि हुतलक्ष्मी भन्दैनथे; घरमा यिनलाई काइँलीमैयाँ भनेर बोलाउने गरिन्थ्यो।

लोकप्रियादेवीको बाल्यकाल बाबुआमाको अपार मायामा बित्यो । उनी सोझी, सरल र इमानदार थिइन् । उनको बानीबेहोराले घरका सबैले उनीप्रति विशेष स्नेह राख्थे । त्यतिमात्र होइन आफ्ना घरमा आउनेजाने र छरछिमेकीले पनि उनलाई बिछट्टै माया गर्थे । उनको बालकलाको धेरैले तारिफ गर्थे किनभने उनका बोलीवचन पनि काव्यात्मक ढाँचाका हुन्थे । यीबाहेक उनी मिलनसार र मायालु स्वभावले भरिएकी नारी थिइन् । सानै उमेरदेखि नै अरूको अड्को पड्को पनि उनी बुझने गर्थिन् ।
त्यस बेलाको नेपाली समाजमा नारीशिक्षाको जागरण प्रारम्भ भएको थिएन । गतिला अभिभावक संरक्षक भएका खण्डमा छोरीलाई घरैमा ठूलो वर्णमालासम्म पढाउने चलन थियो । त्यसैअनुरूप लोकप्रियादेवीलाई पनि घरैमा अक्षरारम्भ गराइएको थियो । यिनले आफ्ना पिताबाटै साधारण लेखपढ गर्न जानेकी थिइन् । साथै त्यस बेला यिनलाई यिनका बुबाले संस्कृतका श्लोक, संस्कृतका सूक्ति र संस्कृतका कथासमेत सुनाउने गर्थे । लोकप्रियादेवीलाई पढ्नमा सारै रुचि थियो । त्यसैले यिनले सानै उमेरदेखि नै आनुपातिक रूपमा धेरै जान्न थालिन् । उमेर बढ्दै जाँदा यिनी साधारण रूपमा पढ्नलेख्न निपुण भइसकेकी थिइन् ।
लोकप्रियादेवी सानामा पनि कविता लेख्ने गर्थिन् । उनलाई कविता लेख्ने प्रेरणा दिने नै स्वयम् उनका बुबा तिलमाधव देवकोटा थिए । घरमा आएका पाहुनापासाका अगाडि लोकप्रियादेवीलाई उभ्याएर कविता वाचन गर्न लगाई तिलमाधवले आफ्नी छोरीलाई थप प्रेरणा दिन्थे । उनी पनि आफ्ना बुबालाई खुसी पार्न कविता लेख्ने गर्थिन् । उनी कहिले प्रकृतिका कविता लेख्थिन्, कहिले जीवनजगत्का कविता लेख्थिन् र कहिलेचाहिँ राष्ट्रप्रेमले ओतप्रोत कविता लेख्थिन्।

लोकप्रियादेवीको बिहे आठ वर्षको उमेरमा भएको थियो । उनी संवत् १९६३ मा काठमाडौं डिल्लीबजारका लोकनाथ जोशीकी अर्धाङ्गिनीका रूपमा प्रवेश भएकी थिइन् । लोकनाथले नै आफ्नो नाउँको अघिल्लो शब्द ‘लोक’मा ‘प्रिया’ थपेर आफ्नी पत्नीको नाउँ लोकप्रिया राखिदिएका थिए।

लोकनाथ जोशी त्यस समयका प्रख्यात महाजन थिए । ख्यात्रि्राप्त व्यापारी भएका कारण श्री ३ महाराज जुद्धशमशेरसँग पनि उनको चिनजान थियो । त्यसैले उनी राणाकालीन राज्यसभाका पनि सदस्य थिए । त्यति बेला त्यस पदमा पुग्नु भनेको सारै ठूलो कुरो थियो । साथै उनी चेम्बर अफ कमर्सका पनि संस्थापक तथा अध्यक्ष भए । त्यसैले लोकप्रियादेवीले किशोरावस्थामा नै आफ्ना पतिमार्फ राष्ट्रको वाणिज्य नीतिको जानकारी पनि प्राप्त गरेकी थिइन्।

लोकप्रियादेवी किशोरावस्थामा पुग्दा नपुग्दैदेखि प्रायः आफ्ना पतिसँग देशविदेशको भ्रमणमा गइन् । त्यति बेला विदेश भन्नु पनि भारत नै प्रमुख थियो । यिनी प्रायः भारत गइरहन्थिन् । भारत बसेताका यिनले हिन्दी भाषा बोल्न, पढ्न र लेख्न जानिन् । त्यति बेला यिनले हिन्दी भाषामा केही कविता पनि लेखिन् । त्यस बेला यिनका हिन्दी कविता पढेर महाकवि देवकोटा गदगद हुन्थे किनभने यिनले स्तरीय कविता लेखेर आफ्ना भाइलाई देखाउँथिन्।

कवितालेखनको सन्दर्भमा कुरा गर्दा लोकप्रियादेवीको बिहेपछि उनलाई उनका भाइ लक्ष्मीप्रसाद देवकोटाले कविता लेख्न अभिप्रेरित गरिरहे । त्यतिमात्र होइन लोकप्रियादेवीका कविता पढेर खुसी हुने अर्का व्यक्ति कविशिरोमणि लेखनाथ पौडयाल थिए । त्यस समय पौडयाल लोकप्रियादेवीका घरछेउमा डेरा गरी बस्थे । लोकप्रियादेवीका पतिको आग्रहमा पौड्यालले उनलाई कविताको सिद्धान्त पनि पढाएका थिए । उनले लोकप्रियादेवीलाई कविता लेख्ने कार्यमा घच्घच्याइरहन्थे । साथै चक्रपाणि चालिसेले पनि उनलाई कवितालेखनको मूल्य बताइरहन्थे।

लोकप्रियादेवी त्यस बेलाकी एउटी चर्चित कवयित्री थिइन् । त्यसताका यिनका सहयोगी नारीस्रष्टाहरू गोमा र प्रेमराजेश्वरी थिए । उनीहरू प्रायः लोकप्रियादेवीका घरमा आउँथे र उनका कविता सुन्ने गर्थे । साथै त्यहाँ उनीहरू पनि आफ्ना कविता सुनाउने गर्थे । लोकप्रियादेवीले कविता सुनाउने काम मात्र गरिनन्; उनले पत्रपत्रिकामा आफ्ना रचना छाप्न पनि इच्छा जाहेर गरिन् । सोहीबमोजिम उनका रचनाहरू पनि पत्रपत्रिकामा छापिने क्रम चलिरहृयो।

लोकप्रियादेवीको ‘शान्तालाई जवाफ’ शीर्षकको कविता ‘शारदा’ (१९९२ फागुन)मा छापियो । त्यति बेला उनका भान्जा देवर प्रेमराज पौडयालले लोकप्रियादेवीका कविता जबर्जस्ती ‘शारदा’मा पुर्याएका थिए । त्यतिखेर उनका भान्जा कमल दीक्षितले चाहिँ पत्रिकामा छाप्ने लेखरचनाहरू पहिला साफी गरिदिने काम गर्थे । त्यसैताका उनका तीनवटा कविताहरू ‘शारदा’मा छापिएका थिए । लोकप्रियादेवीका रचना प्रकाशनको सर्न्दर्भलाई हर्ेदा चक्रपाणि चालिसेले पनि यिनका कविता पत्रपत्रिकामा पुर्याइनु पर्छ भन्ने कुरामा जोड दिन्थे । संवत् २००४ मा ‘उद्योग’ पत्रिकामा यिनको ‘दोस्ती’ शीर्षकको एउटा कथा छापिएको थियो । त्यस पत्रिकाका सम्पादकमा चक्रपाणि चालिसे र निजका छोरा लक्ष्मीनन्दन चालिसे थिए।

संवत् १९९२ देखि २००० सालसम्म लोकप्रियादेवीका बाह्रवटा कविता छापिएका थिए । साथै ‘साहित्यस्रोत’ नामक पत्रिकामा पनि उनको ‘समदम’ शीर्षकको एउटा कविता छापिएको छ । उनका केही कविता ‘गोरखापत्र’मा पनि छापिए । उनको पुस्तकका हकमा उनी दिवङ्गत भएपछि मात्र उनकी सुपुत्री शशि रिमालको सम्पादनमा ‘कवयित्री लोकप्रियादेवी’ (कविताकथा सङ्ग्रह : २०४०) प्रकाशनमा आयो।

नेपाली भाषासाहित्यको श्रीवृद्धिमा लोकप्रियादेवीको निक्कै महत्त्व छ । त्यतिखेर साहित्यमा नारीहरूको उपस्थिति प्रायः शून्य रहेको अवस्थामा नारीस्रष्टाको नेतृत्वपङ्क्तिमा उनी उभिएकी थिइन् । वास्तवमा उनी आफ्ना पतिलाई तन, मनले माया गर्थिन् । त्यही परिवेशमा उनले मन, वचन र कर्म समर्पित गरेर आफ्ना पतिलाई कवितामा पनि चिठी लेखिन् । त्यति बेला उनका पतिले जतिसुकै स्वास्नी सोहोरे पनि लोकप्रियाचाहिँ आफ्नो प्रेममय जीवन र त्यही परिवेशको रचनामा नै केन्द्रित थिइन्:
तिमी छौ आँशुकै रूपमा,
हार भनू“ कि मोती यहाँ !
जीवनभरको साथी भनूँ या
प्रेममिलनको प्रेमी भनूँ !
लोकप्रियादेवी विवाहिता पत्नी भए तापनि यिनका पतिले त्यस बेला ठाउँठाउँमा भित्रिनीहरू राख्ने गर्थे । यिनका पतिको जतिसुकै भित्रिनीप्रेम भए तापनि यी श्रीमान् श्रीमतीको समझदारीमा त्यति बादल लाग्न पाएको थिएन किनभने आफ्ना पतिको चालचलन र भित्रिनीप्रेमको सम्पूर्ण कथा लोकप्रियादेवीले बुझेकी थिइन् । त्यसैले उनी घरपरिवारमा सम्झौतावादी नारीका रूपमा परिचित थिइन्।

लोकप्रियादेवीका पतिले बाहिर जति नै उपपत्नीहरू राखे तापनि उनका पतिबाट उनलाई शारीरिक र मानसिक यातना थिएन । तर घरमा सासूको कचकच, गनगन र कुदृष्टिबाट भने उनी वाक्क हुन्थिन् र एकान्तमा गएर रुन्थिन् । त्यतिमात्र होइन आफ्नी सासूको क्रूरताले उनी धेरैपल्ट विक्षिप्त नै भएकी थिइन् । त्यसैले उनले सधैँ सासूको भयको कालकोठरीमा आफ्नो जीवनलाई कैद गरेकी थिइन् । त्यति बेला उनी जतिसुकै पीडा पनि खप्न सक्ने अवस्थामा थिइन्।

लोकप्रियादेवीले पाँच भाइ छोरा महेन्द्र, सुशील, केशव, कमल र विमल जन्माइन् र तीन छोरी रूपवती पाण्डे, प्रभा रिमाल र शशि रिमाल जन्माइन् । यिनका सबै छोराछोरीले एस.एल.सी.सम्मको शिक्षा आर्जन गरे । पछि यिनीहरू आआफ्नै काममा संलग्न भए।

लोकप्रियादेवीको वैवाहिक जीवनको पूर्वार्ध निक्कै रमाइलो ढङ्गबाट बिते पनि उत्तरार्ध केही कठिन अवस्थामा रूपान्तर भएको थियो । एकातिर यिनका पति भोगविलासमा समर्पित थिए भने अर्कातिर सासू कचकचे थिइन् । यसरी पारिवारिक रूपमा जतिसुकै व्यवधान उत्पन्न भए तापनि यिनले आफूलाई आफ्नो कर्तव्यमा समेट्तै लगिन् । यिनले आफ्नो सम्पूर्ण समय घरपरिवारप्रति अर्पण गरेकी थिइन् । त्यसैले यिनका घरमा परिवारमाझ कहिल्यै आँधीहुरी आएको देखिएन।

साहित्यकी प्रेरक व्यक्तित्व लोकप्रियादेवी त्यस बेलाकी चल्तापूर्जा व्यक्तित्व मानिन्थिन् । सोहीअनुरूप २०१० सालमा मनाइएको भानु जयन्ती समारोह समितिमा यी पनि कार्यकारी सदस्य भएकी थिइन् । वास्तवमा यिनले नेपाली भाषासाहित्यमा जति योगदान दिइन्, धेरै दिइन् । यिनको रुचि र प्रस्तुति नै त्यस युगको एउटा ओजपूर्ण प्राप्ति थियो । त्यस बेला यिनले नेपाली भाषामा रोपेको बिरुवा आज ढकमक्क भई फुलेको छ । लोकप्रियाको इहलीला २०१७ साल जेठ १८ गते मङ्गलबार समाप्त भए तापनि यिनी नेपाली भाषासाहित्यमा सदैव जीवित भइरहिन् र भइरहनेछिन्।

लोकप्रियादेवी आफ्ना भाइ महाकवि लक्ष्मीप्रसाद देवकोटालाई बिछट्टै माया गर्थिन् । त्यसैले उनले आफ्नो भाइको निधनपछि आफ्नो काव्ययात्रा पनि आफ्ना भाइप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरेर बन्द गरिन् । २०१६ सालमा उनले आफ्ना भाइको शोकमा डुबेर ‘शोक विन्दु’ र ‘भाइको अपसोचको आँसु’ शीर्षकमा दुइटा कविता लेखिन् । त्यसपछि उनले पुनः कविता लेखिनन् । यिनै कविता नै लोकप्रियादेवीका अन्तिम कविता थिए:
कसरी किन आज के भयो
जगतै यो नरमाइलो भयो
कसरी मन यो बुझाउनु
कसरी आँसु सबै सुकाउनु ?
naiprasai@gmail.com

Popularity: 4%

Add comment October 12th, 2011

शिक्षासेवी पं.घनश्याम पौडेलको जीवनी

नरेन्द्रराज प्रसाई/ एचकेनेपाल डट कम-
प्रा.यदुनाथ खनालले भनेका थिए, ‘पं.घनश्याम पौडेल जनउत्थानमा सधैं लागि परे। त्यस बखत दधिराम मरासिनी, हरिहर गौतम र घनश्याम पौडेलले नेपालको पश्चिम भेगको शिक्षाक्षेत्रमा ज्यादै महत्वपूर्ण काम गरेका थिए।

ती तीन व्यक्तिमध्ये घनश्याम पौडेलचाहिँ बहुआयामिक पनि थिए ।’ यसैबारे प्रा.डा.टीकाराम पन्थीले पनि लेखे ‘दधिराम, हरिहर र घनश्याम यी तीन मुनीको कृपाले पश्चिम नेपालमा विद्याको ज्योति प्रकाशित भयो । साथै घनश्याम पौडेलको आजीवनसेवा अत्यन्तै फलदायी रहृयो।’

पण्डित शोभाकर पौडेल र सत्यकलाका कान्छा छोराका रूपमा घनश्याम पौडेलको जन्म १९६१ साल जेठ ६ गते भएको थियो । अनि यिनको जन्म अर्घाखाँचीको खिदिमस्थित हर्राबोटमा भएको थियो।

पौडेल न्यायिक थिए । गाउँमा उनी जनन्यायाधीश नै थिए । उनी कचिङ्गल मिलाउनेदेखि बालबच्चा खोजीखोजी स्कुल पुर्याउनेसम्मको काम गर्थे ।
पौडेलले दस वर्षपूरा गर्दानगर्दै यजुर्वेद कण्ठ गरेका थिए । उनले रिडीमा प्राथमिक शिक्षा ग्रहण गरे । त्यसपछि उनी अठार वर्षो उमेरमा काठमाडौँ आए र रानीपोखरी संस्कृत पाठशालामा भर्ना भए । त्यस बेला अर्घाखाँचीबाट हिँडेर काठमाडौं आउन उनलाई सात दिन लागेको थियो।

त्यसै बेला पौडेल कोखो दुखेर थला परे । वीर अस्पतालमा उनको अपर्झट शल्यक्रिया गरियो । त्यसै बेला उनको एउटा करङ काटेर निकालिएको थियो ।
पौडेल काठमाडौंबाट काशीतिर लागे । काशीबाट सम्पूर्ण मध्यमा पास गरेर उनी आफ्नै गाउँ फर्के । पछि उनी पाल्पाको तानसेनमा पुगे । त्यहाँ उनले सुधानिधि औषधालयमा काम गरे । साथै उनले आफ्ना जेठा दाजु शालिकरामसँग आयुर्वेद पढे । उनका दाइले जाँचेअनुसार उनी पनि बिरामी जाँच्थे र औषधी बनाउने काम पनि गर्थे । जरीबुटी खोज्न उनी आजङ्गल पस्थे । क्रमशः उनी यस मामलामा खुकरीभन्दा कर्द लाग्ने भएर निस्के।

पौडेल मन, वचन र कर्मले चाँडै प्रसिद्धिको धुरीमा पुगे । परिणामस्वरूप उनलाई सुधानिधि औषधालयमा सहायक वैद्य बनाइयो । त्यसैको प्रेरणाले उनी आयुर्वेदमा उच्च शिक्षा लिने मनसायमा गाँसिएका थिए । तर आफ्ना जेठा दाइलाई क्षयरोग लागेपछि उनीहरूको व्यवहारमा भूइँचालो आयो र सबै योजना झरामझुरुम भयो।

पौडेल क्रान्तिकारी पनि थिए । समाजको अँध्यारो जालोलाई भत्काउनु पर्ने उनको सोच हुन्थ्यो । भूतप्रेत, बोक्सी र धामीझाँक्रीमा उनको फिटिक्कै विश्वास थिएन । तर हिन्दूधर्म संस्कृतिका उनी कट्टर अनुयायी थिए।

पौडेलले युवाकालदेखि नै शिक्षासेवामा आफूलाई समाहित गरे । त्यतिखेरै उनले एउटा कटेरो बारेर स्कुलको सुरुआत गरेका थिए । तर बालबच्चाले त्यो कटेरो दुई महिनामा नै भरिदिए । त्यसैले छेउको चौरमा त्यस कटेराको अनुवाद भयो।

बर्दियाका हरिहर गौतमलाई अनुनयविनय गरेर घनश्याम पाठशालालाई औपचारिक मोड दिन पौडेल सफल भए । अनि त्यस स्कुलको नाउँ हरिहर प्राथमिक पाठशाला भयो । त्यस बेला त्यहींका तीन गाउँमा तीन वटा हरिहर पाठशाला थिए।

हरिहर गौतमको ३६औँ जन्मोत्सवको मौका पारेर दधिराम र घनश्यामका जोडमा खिदिमका तीनवटै पाठशाला एकै ठाउँमा गाभिए । ती दुई भाइको सल्लाहमा त्यहाँका सबै विद्यार्थीको बस्ने, खाने र लगाउने व्यवस्था गौतमबाटै हुन थाल्यो । त्यस बेला गुरुहरूले मासिक तलव जनही बीस रुपियाँ लगायत लुगाकपडा पनि गौतमबाटै पाउन थाले । एक दशकपछि त्यो विद्यालय महाविद्यालयमा रूपान्तर पनि भयो । अनि त्यसलाई बनारसको सरकारी संस्कृत कलेजसँग सम्बन्ध जोडियो । बनारसमा त्यहाँबाट गएका विद्यार्थीको खानबस्नको सम्पूर्ण खर्च पनि गौतमबाटै बेहोरिने चाँजोपाँजो पनि भयो।

पौडेल गणित फलित ज्योतिष र वेदान्तमा पारङ्गत थिए । उनले शिक्षण गर्दा औषधी उपचार र ज्योतिषमा पनि झसिमिसैदेखि साँझसम्म आफूलाई व्यस्थ राख्थे । उनका चेला प्रा.यदुनाथ खनालका अनुसार ‘पौडेलले आफ्नो जीवनकालमा हज्जारौंलाई पढाए र स्नातकमा मात्रै पुगनपुग तीन हजार उनका विद्यार्थीले अध्ययन गरेका थिए।’

पौडेलले बिहे नगरी समाजसेवा गरेर नै आफ्नो जुनी तुर्ने मनसाय राखेका थिए । तर परिवाको दवावमा २७ वर्षो उमेरमा पं.खगेश्वर मरासिनी र गौरादेवीकी काइँली छोरी १० वर्षीय बालिकादेवीसँग उनको विहे भयो।

बिहे गरेको दस वर्षसम्म पनि पौडेल दम्पतीका सन्तान भएनन् । अनेक पूजाआजा गरेर गौरीदेवीको प्रसादस्वरूप छोरा जन्म्यो र उनको नाउँ गौरी राखियो । १९९९ साल असार ६ गते जन्मेका त्यही छोराको नाउँ अन्ततः डा.मोदनाथ प्रश्रित भयो । त्यसपछि क्रमशः हरिप्रसाद, वेदमाया, लोकमाया र फणीन्द्र जन्मे।

पौडेल समाजसेवाका पनि पथप्रदर्शक थिए । कोही विरामी परेको सूचना पाउनासाथ उनी औषधीमुलो बोकेर घरघर पुग्थे । साथै पढ्छु भन्ने गरिवलाई उनी अनेक प्रयत्न गरेर पढाई दिन्थे । अनि आयुर्वेदको शिक्षा लिन आउनेलाई पनि उनी मन फुकाएर सिकाइदिन्थे । त्यही प्रभावमा उनका छोरा मोदनाथ प्रश्रितले पनि वाल्यकालदेखि नै औषधिमुलोको ज्ञान लिंदै आए । पछि प्रश्रितले पनि आयुर्वेदमा आचार्य गरेर नाउँ चलाए।

पौडेलको आर्थिक अवस्था कमजोर थियो । त्यसैले यिनले कथा वाचनद्वारा पनि घरको नूनतेल जडौरीको व्यवस्था गरे । पुराण वाचनका क्रममा उनी आफै भजन रचेर गाउथे । यसैक्रममा उनले शास्त्रीयछन्दका कविता पनि लेखे।

आर्थिक अवस्थाले रन्थन्यायपछि पौडेलले आफ्ना परिवारलाई डाँडाकटेरीमा लगेर पनि राखे । त्यसको पनि एउटा प्रसङ्ग छ । कुरा के भने- हरिहर गौतमले समाजसेवा गरेको नेपाली काङ्ग्रेसका लागि सहृय थिएन । परिणामस्वरुप नेपाली काङ्ग्रेसले गौतमको सम्पती लुटपाट गर्यो । त्यसपछि पौडेल र गौतमको सहमतिबाट ज्यान जोगाउन गौतम भारत पसे । अनि पौडेल त्यसै बेला गौतमको जायजेथाको सुरक्षा गर्न उनको बर्दियाको घरमा बसे । पछि शान्ति सुव्यवस्था कायम भएपछि गौतम आफ्ना घरमा आए र पुरस्कार स्वरुप उनले पौडेललाई डाँडाकटेरीको जग्गा उपहार दिए।

पौडेल राजनीतिमा पनि सक्रिय थिए । उनी नेपाली काङ्ग्रेसमा आबद्ध थिए । उनले नेपालमा प्रजातन्त्र ल्याउन आफ्ना ठाँउबाट यथेष्ट काम पनि गरे । त्यति बेला उनी विर्ताप्रथाको विरोधमा थिए । उनले जनहीतका लागि राजनीति गरे तर पद र प्रतिष्ठाका लागि गरेनन्।

घनश्याम पौडेलका माल्दाइ रुकमाङ्गतको स्वभाव चाहिं अलि उग्र थियो । आफ्ना भाइ घनश्यामकै सिद्धान्तका आडमा उनले गाउँलेलाई उठाएर हरिहर गौतमको खेतको पाकेको धान लुट्न थाले । त्यो बेहोरा घनश्यामका दाता हरिहरले थाहा पाए । अनि उनले अति दुक्ख मान्दै घनश्यामलाई चिठी लेखे ‘मेरो डाँडाकटेरीको जग्गा खाली गरिदिनु ।’ त्यो पत्र पढेर घनश्याम अति दुखित भए । त्यस घटनाको पीरमा उनका जहान परिवार रोए । अनि आफैले आवाद गरेको घरबारी छोडेर उनीहरु हर्राबोटमा नै झरे।

जहाँसुकै बसाइँ सरे तापनि पौडेलका घरमा कहिल्यै लक्ष्मीको भरपर्दो वास भएन । जीवनको उत्तरार्धसम्म पनि यिनको परिवारलाई भयङ्कर सङ्कट र अभावले ढाकिरह्यो । अनि त्यही रीत खेप्ताखेप्तै उनी थला परे।

अन्ततः लालाबाला छोराछोरी र पैंतीस वर्षकी श्रीमती छाडेर पौडेल २०११ साल चैत २२ गते खिदिममा स्वर्गीय भए।
naiprasai@gmail.com

Popularity: 4%

Add comment September 25th, 2011

स्वरसम्राज्ञी अरुणा लामा

नरेन्द्रराज प्रसाईं / एचकेनेपाल डट कम-
हाँसीहाँसी जलिरहेँ, खुसीसँगै बलिरहेछु
आगो सल्काई छातीभरि रुखो हाँसो देखाइरहेछु ।
(स्वर : अरुणा लामा, सङ्गीत:कुन्दनराज सुब्बा, शब्द: नरेन्द्रराज प्रसाई )

अरुणा लामाले प्रायः वेदना, व्यथा र पीडाका गीतहरू मात्र गाइन् । एकातिर अरुणाको स्वरमा जन्मजात कारुणिकता भरिएको थियो भने अर्कातिर उनको जीवन सङ्घर्षैसङ्घर्षले बेरिएको थियो, व्यथै व्यथाले भरिएको थियो र दुक्खै दुक्खले चुलिएको थियो । मानौँ अरुणाको जीवन नै एउटा दुखात्मक कथा थियो अनि यही कथा नै नेपाली साङ्गीतिक फाँटमा एउटा ज्वलन्त करुणाको उदाहरण बनेर अरुणाको उदय भयो । अनि त्यही कथाले नै उनी स्वरकिन्नरी भइन्, मेलोडी क्विन भइन् र नाइटिङ्गेल अफ हिमालय भइन् । त्यतिमात्र होइन गीतका पारखीले उनलाई ट्राजेडी क्विन पनि भन्थे । यी सबै बेहोरालाई जोडेर छोटकरीमा अरुणा लामाको परिचय दिँदा उनी स्वरसम्राज्ञी थिइन्।

अरुणाको रिकर्डिङ भएको पहिलो गीत थियो ‘हे कान्छा मलाई सुनको तारा खसाइदेऊ न !’ यो गीत उनले रेडियो नेपालमा २०१६ सालमा रिकर्डिङ गराएकी थिइन् । पहिलो गीत रिकर्डिङ गरेको अर्को वर्षअर्थात् २०१७ सालमा यिनले दार्जीलिङको गभर्नमेन्ट कलेजबाट स्तातक उत्तीर्ण गरिन्।

नेपाली गीतिफाँटमा अरुणाको एउटा बेग्लै स्वणिर्म अभिलेख, विशिष्ट स्थान र अभूतपूर्व देन रहृयो । नेपाली गायनको इतिहासमा हाँसीहाँसी पनि वेदनाको गीत गाउने कलाकारमा अरुणा सर्वोत्कृष्ट मानिन्छिन् । उनको यही कारुणिक स्वरलाई हृदन्तरदेखि स्वीकार्दै नेपाली गायनकी शिखर तारादेवीले भनेकी थिइन् “दुक्ख र वेदनाको स्वरबाट अरुणाले नेपाली परिवेश ढाकेकी थिइन्।”

उदास मेरो जीवनकथा कसैलाई भनिनँ
यो जन्मभरि सहेको व्यथा त्यो पनि भनिनँ ।
(स्वर : अरुणा लामा, सङ्गीत: नारायणगोपाल, शब्द:भैरवनाथ रिमाल कदम)

अरुणाको जन्म दार्जीलिङको घुमपहाडमा २००२ साल भदौ २४ गते आइतबार भएको थियो । अनि यिनको चिनाको नाउँचाहिँ दाँतेमा तामाङ थियो । उनी सानैदेखि नाच्न, गाउन भनेपछि हुरुक्कै हुन्थिन् । सानामा गीत गाउँदा यी अग्लो माइकमा पुग्न सक्तिनथिन्; तर त्यस्तो स्थितिमा यिनलाई यिनका बाबुले काँधमा बोकेर माइकसम्म पुर्याइदिन्थे । सातआठ वर्षी हुँदा उनले गीत गाएर दार्जीलिङ हल्लाएकी थिइन्।

पन्ध्रसोह्र वर्षको झलझलाउँदो उमेर टेकेपछि अरुणाको गीत गाउने रहर, गीतको सुरताल र गीतका शब्दहरूले कञ्चनजङ्घाको टुप्पो छोइसकेका थिए । त्यसपछि यी निरन्तर गीतगायनमा नै चुलिँदै गइन्।

अरुणा १३ वर्षको हुँदा यिनको भेट शरण प्रधानसँग भएको थियो । अम्बर गुरुङसँग सङ्गीत सिक्न जाँदा शरण र अरुणा एकअर्का प्रतिको आकर्षणमा झुन्डिएका थिए । परिणामस्वरूप अरुणा लामाले १९ वर्ष टेक्नासाथ शरणको इच्छालाई स्वीकार गर्दै उनीसँग बिहे गरेकी थिइन् । २०२० साल असार २५ गतेदेखि अरुणा वैवाहिक जीवनमा प्रवेश गरिन् । बिहेअघि र पछि यी दम्पति स्कुलको शिक्षण पेसामा आबद्ध थिए।

अरुणा र शरणको मिलनबाट एउटी छोरी सपना र एउटा छोरा सुप्रित जन्मे । छोरी सपना पनि गीतगायनमा अग्रसर भइन् । अरुणा र शरणको दाम्पत्य जीवनको १० वर्षपुग्दानपुग्दै अरुणाका जीवनमा एउटा विनाशको हुन्डरी आयो, एउटा कालो आँधी आयो र उनका टाउकामा पृथ्वी नै आएर थेचारियो । अर्थात् भनौँ शरण प्रधान मुर्छा पर्दापर्दै संसारबाटै बिदा भए । अनि फेरि अरुणा रुन थालिन् :

पोहोर साल खुसी फाट्ता जतन गरी मनले टालेँ
त्यही साल माया फाट्ता त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाटयो केले सिउने केले टाल्ने हो ?
(स्वर :अरुणा लामा, सङ्गीत: अम्बर गुरुङ, शब्द: राजेन्द्र थापा)

अरुणा आफ्ना पतिको निधनपछि झोक्राएर घरैमा बसिन्; तर छ महिनापछि यिनलाई कर्म योञ्जनले जबर्जस्ती रङ्गमञ्चमा पुर्याए । त्यसपछि उनी त्यहीँ रत्तिन थालिन् । पुनः उनी गीत गाएर आफ्नो निष्ठामा समर्पित हुन थालिन्।

आफ्ना पतिको देहान्त भएपछि अरुणालाई आर्थिक अवस्थाले सारै रन्थन्याउन थाल्यो । तर पनि यी आफ्ना यात्रामा संघर्षरत रहिन् । एकातिर जागिर र अर्कातिर आफ्नो गायनलाई पनि उचाल्दै यी निरन्तर अगि बढिन् । यिनको सङ्गीतप्रतिको झुकावले नेपाली समाज यिनीप्रति नतमस्तक रहृयो । उनको गायनको सीप र गलाको भाकाले नेपालीहरूलाई एकछत्र प्रेममा डुबाउन थाल्यो।

अरुणाको गायनले नेपाली धर्तीमा राम्ररी जरा गाडिसकेको थियो । गायनमा लामो सेवा र निपुणतापूर्ण काम गरेबापत उनी प्रबल गोरखा दक्षिणबाहुबाट विभूषित भइन् । साथै उनले छिन्नलता पुरस्कार, भानु अकादमी पुरस्कार, मित्रसेन पुरस्कारलगायत नेपाल तथा भारतबाट थुप्रै पुरस्कार, सम्मान र अभिनन्दनहरू पनि ग्रहण गरेकी थिइन्।

त्यति मात्र होइन २०५० सालमा सीताराम प्रज्ञाप्रतिष्ठानद्वारा ‘अरुणा लामाः स्वणिर्म साँझ’ कार्यक्रमको आयोजना गरिएको थियो । त्यो अत्यन्तै ठूलो साङ्गीतिक आयोजना थियो । सो आयोजनाको मञ्चमा अरुणाका हातमा दुई लाख पैँसट्ठी हजार रुपियाँ राशिका साथै ‘स्वरकिन्नरी’को उपाधि पनि अर्पित गरिएको थियो । साथै सो समारोहमा नरेन्द्रराज प्रसाईद्वारा सम्पादित ‘अरुणा लामाः कथा र व्यथा’ नामक पुस्तक पनि लोकार्पण गरिएको थियो । त्यस दिन अरुणाले नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमा उत्साह, उमङ्ग र साहसका साथ आफ्ना मीठा स्वरहरू श्रोतासमक्ष अर्पण गरेकी थिइन् । त्यो भव्य समारोहमा उनले अठारवटा नेपाली गीत गाएकी थिइन् र प्रत्येक गीतमा दर्शकको ताली पाएकी थिइन्:
चौतारीमा बसेर रुन पाऊँ
मनको पीर आँसुले धुन पाऊँ
(स्वर :अरुणा लामा, सङ्गीत र शब्द: गोपाल योञ्जन)

सूर्यबहादुर लामा र सनमाया तामाङकी कान्छी छोरी अरुणा लामा समस्त नेपाली सङ्गीतका पूजारीकी साझा सन्तान बनिन् । उनी जस्ती स्वरसाधिकाले नेपाली गीत गाएर नेपाली भाषालाई आफ्नै प्रकारले सिँगारिन् । शब्दलाई घाँटीमा गलाएर कोइलीले झैँ स्वर प्रदान गर्ने उनको दैवी कला थियो । तर उनले १५० भन्दा बढी गीत रिकर्ड गर्न भ्याइनन्।

अरुणा औषधी उपचारका लागि दार्जीलिङबाट काठमाडौँ आइन् । उनलाई कुनै औषधीले पनि बचाउन सकेन । कैयौँ नेपालीहरू उनलाई बचाउन उनका छेउ पुगे । तर लाखौँ नेपालीले पनि उनलाई कालका मुखबाट छुटाउन सकेनन् । अन्ततः नेपाली गायनकी स्वरसम्राज्ञीको भौतिकचोला यस पृथ्वीबाट २०५४ साल माघ २२ गते अन्त्य भयो।

सबैले भन्थे मायालु फूल भई आँखामा फुल्छु
कर्मैले हजुर आँसुमा म फुलेँ
म आफैँ भन्थेँ जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गीतमा म भुलेँ ।
(स्वर :अरुणा लामा, सङ्गीत र शब्द:अम्बर गुरुङ)

naiprasai@gmail.com

Popularity: 6%

1 comment September 17th, 2011

राष्ट्रवादी लोककवि अली मियाँ

नरेन्द्रराज प्रसाई /एचकेनेपाल डट कम-
अली मियाँलाई भेटेपिच्छे राजा वीरेन्द्रले सोध्ने गर्थे, “फेरि बिहे गर्नुभयो कि !” अनि त्यसै बेला रानी ऐर्श्वर्य बोल्थिन्, “बच्चाबच्ची हुर्किसके होलान् नि !” अली मियाँका जेठा छोरा हनिफ मियाँका अनुसार अली मियाँले औपचारिक रुपमा पाँच जनासँग मात्र बिहे गरे अनि ५ छोरा र ९ छोरी गरी चौध जना सन्तान पाए।

तर उनको जीवनको उत्तरार्ध पाँच जोईको पोइ कुना पसी रोई भयो । अनि बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधैमाथिको चरितार्थमा उनले आफ्नो जीवनयात्रा समाप्त पारे । मियाका कुनै पत्नीको निधन भयो, कुनै पत्नी अर्कैतिर हिँडे र अन्ततः उनी पच्चीस वर्षम्म पत्नीविहीन भएर नै बाँचे।

मियाँलाई उनका सन्तानले सुक्ख दिन चाहन्थे । उनकी पत्नी चाहे परपुरुषसँग लागेका बेला होस् अनि चाहे दिवङ्गत भएका बखतमा होस् छोराछोरीले “बुबा फेरी अर्को बिहे गर्नुहोस्” भन्थे।

मियाले गायिका मैमुन बेगमलाई चार वर्षी छोरी सहित बागलुङबाट जुहारी गीत गाउँदा जितेर ल्याएका थिए । तिनै उनकी कान्छी पत्नी केही वर्षमात्रै मियाँसँग बसेर मियाको सिरीखुरी बोकेर हिंडिन् । अनि त्यसपछि मियालाई प्यारालाइसीस भयो । त्यसैले उनी क्रमशः ओछ्यानमा नै थन्किरहे ।
मियाको जन्म १९७५ साल फागुन १५ गते पोखरामा भएको थियो । उनी दिनमोहम्मद मियाँ र जहुरनका तेह्रौँ सन्तान अथवा कान्छो छोरा थिए । उनी जन्मेको डेड वर्षमा आमा र तीन वर्षमा बुबाले धर्ति छाडेका थिए।

मियाँ आफ्ना दाजुभाउजूको संरक्षणमा हुर्के । त्यसैले उनको बाल्यकाल विपतैविपतमा बित्यो । त्यस बेला उनले खुट्टा टेक्नु भनेको अर्को आर्श्चर्य मानिन्थ्यो । तर पनि उनी कठ्याङ्ग्रिएर नै बामे सर्दै हिंडे।

मियाँ बाल्यकालदेखि नै परिश्रम गर्थे । बिहान घाँस काट्नेदेखि दिउँसो गाइबाख्रा हेर्नेसम्म उनको दिनचर्या मानिन्थ्यो । उनी प्रायः दाउरा बोक्न वनजङ्गल जान्थे र बिहानबेलुका घरधन्दामा पनि सरिक हुन्थे।

१९९० सालको महाभूकम्पपछि पोखरालाई पनि हैजाले रुवावासी बनायो । उनका तेह्र जना दिदीबहिनी र दाजुभाइमध्ये एघार जनालाई हैजाले टिप्यो । तर उनका दाजु मेहरमान र उनीमात्र बाँचे।

मियाँले स्कुले शिक्षा लिन पाएनन् । त्यस समयको नेपाली समाजले एकातिर मुसलमानको पानी चलाउँदैन थियो भने अर्कातिर दलित र मुसलमानलाई स्कुल पढ्न निषेध थियो । त्यसैले उनले किशोरावस्थाको चुलीमा पुगेपछि मात्रै धुलेपाटीमा कखरा लेखे । अनि उनले २१ वर्षपुगेपछि आफ्नो नाउँ लेख्न जाने । त्यसपछि कनीकुथी गरेर उनले चिठीपत्र र गीतहरू लेख्न थाले।

मियाँ बाल्यकालदेखि नै गीत गाउँथे । उनको स्वर सुनेर मान्छेहरू मोहित हुन्थे । तर कसैले उनको दुक्ख देख्तैनथ्यो । साथै उनको स्वरको वर्णन नगर्ने पनि कोही हुँदैनथ्यो । तर पनि त्यसबेला उनको शिक्षाका लागि कोही बोल्दैन थिए।

राम्रो खान र मीठो लाउने हेतु मियाँ १९९९ सालमा लाहुर गए । त्यस बेला उनले वृटिश गोर्खा सेनामा भर्ना भएर देहरादूनमा तालीम लिए । अनि तालीम लगत्तै उनी दोस्रो विश्वयुद्धमा बर्मा पठाइए । त्यस बेलाको सङ्घर्षमा उनका धेरै दौँतरीलाई बारुदले सक्यो तर उनी लगायत केही बाँचे । अनि सग्लो शरीर लिएर उनी २००२ सालमा घर आए । त्यस बेलासम्म उनकी मायालुले डाँडो काटी सकेकी रहेछिन् । आफ्नी श्रीमती अर्कैसँग लागेको बेहोराले त्यति खेर उनी धुरुधुरु रोए । लाहुर नजाने र्सतमा उनले अर्कीसँग फेरी आफ्नो जोडा मिलाए।

मियाको सृजनात्मक प्रतिभा बाल्यकालमा नै पलाएको थियो । घटराज भट्टराईका अनुसार उनले झन्नै एक दर्जन कृति लेखे । स्कुलै नपढी यति धेरै किताब लेख्ने उनी प्रथम नेपाली मुसलमान थिए।

मियाँले लेखेरै देशदेशान्तरमा नाउँ चलाए र गीत गाएरै विश्वभरीका नेपाली माझ ख्याति कमाए । उनी मौलिकताले सुसज्जित र्सजक थिए । उनी आँसुकवि थिए । उनले गीत गाएपछि मान्छेहरू उनीसँग लट्ठ पर्थे । पहिलो पटक भेट्ता होस् या पुरानो परिचित होस् उनी गीत सुनाएरै कुराको आरम्भ र विर्सजन गर्थे । उनको त्यो विंडो जेठा छोरा हनिफ मियाँले पनि धानीरहे।

राष्ट्रमा सग्लो योगदान दिएर मियाले कविशिरोमणि पुरस्कार, नारायणगोपाल पुरस्कार, इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, जगदम्बाश्री पुरस्कार, कुमुदिनी पुरस्कार पाए । साथै उनले प्रबल गोरखादक्षिण बाहुदेखि अनेक अलङ्कार र थुप्रै सम्मान, अभिनन्दन र कदरपत्रहरू पाइरहे । पोख्रेलीले त उनलाई रथारोहण नै गराए । साथै त्रिभुवन विश्वविद्यालयको एम्एको शोध समेत जोडेर भन्नु पर्दा उनका नाउँमा झन्नै आधा दर्जन कृति लेखिए।

मियाँ रसिला थिए । गीत गाएर नै उनी केटी फकाउँथे । उनलाई सबैले झल्िके कान्छा भन्थे । साथै उनलाई बुद्धि कान्छा पनि भनिन्थ्यो । उनले जसरी रोमान्टिक गीत गाए त्यसरी नै बिरहले ढाकेको गीत पनि गाए । उनी जती गाउँथे आफ्नै रचना मात्रै गाउँथे र नेपाली गीत मात्र गाउँथे । उनी सकेसम्म राष्ट्रवादी धाराकै गीत गाएर हिंड्थे । उनी नेपालका सक्कली लोक कवि र गायक थिए।

मियाँलाई माया गर्नेहरूमा राजा महेन्द्र नै प्रमुख मानिन्थे । मियाँलाई माया गर्ने अर्का व्यक्ति थिए प्रा.शङ्करराज पाठक । उनले आफू गण्डकी अञ्चलाधीश भएताका मियाँलाई खुबै काखी प्यापे । त्यसपछि उनलाई माया गर्ने व्यक्ति थिए भूतका भिनाजु अर्थात् वासुदेव लुइँटेल । लुइँटेलले नै उनको आत्मकथा छपाई दिए । एकपटक काठमाडौँ आएका बेला मियाँले लुइँटेललाई फोन गरेर भने, ‘हजुरलाई भेट्न म आउँदैछु, घरको टुङ्गो पाउँन !” मियाँको प्रश्नमा लुइँटेलले उत्तर दिए, “मियाँजी तपाईं प्रतापी पुरुष हुनुहुन्छ । तपाईंसँग मलाई भेट्न मन लागेन । किनभने भेट भएपछि हाम्रो माया रित्तिन्छ । त्यसैले हामी भेटघाट नगरौँ ।” लुइँटेलका कुरा सुनेर मियाले थुक निले।

मियाँ आफ्नो धर्ममा अटल थिए । तर हिन्दू धर्मप्रति पनि उनको सकारात्मक सोच थियो । त्यसैले उनी प्रायः रामायण र महाभारतका भाकामा पनि गीत गाँउथे । वास्तवमा उनी मानवतावादी थिए र वसुधैव कुटुम्बकमका हिमायती थिए । त्योभन्दा ठूलो कुरा उनी स्रष्टा थिए । उनी आफ्नो सृजना र स्वर जसरी सबैको मन मस्तिष्कमा जोड्न चाहन्थे त्यसरी नै सबैको धर्ममा पनि मान्यता राख्ने गर्थे।

मियाँको बूढेसकाल रोग, शोक र भोकमा नै बित्यो । जीवनको अन्त्यमा उनलाई प्यारालाइसीस लगायत दम र रक्तचापले सारै दुक्ख दियो। मियाँले पोखरामा चुरा र धागो बेचेर नै जीवनभरी गीत गाए । गीतै गाउँदागाउँदै उनी कहिल्यै नउठ्ने गरी सुते । भनौं २०६३ साल साउन १८ गते उनी दिवङ्गत भए।
naiprasai@gmail.com

Popularity: 5%

Add comment September 4th, 2011

शिक्षा र साहित्यका चौतारी महानन्द सापकोटा

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-
महानन्द सापकोटाको जन्म १९५३ साल वैशाख ३० गते इलामको देवानछापमा भएको थियो । रामचन्द्र सापकोटा र सरस्वती सापकोटाका सुपुत्र महानन्दको न्वारनको नाउँ यज्ञनिधि थियो।

सापकोटा नौ वर्षो भएपछि उनका बुबा दिवङ्गत भए । त्यसपछि उनको घरको आर्थिक अवस्था दयनीय हुन थाल्यो । त्यही कारणले उनी बुबाको निधनसँगसँगै गोठालोमा रुपान्तरित भए । तर पनि त्यसै कामबाट उनको पेट भर्न र आङ ढाक्न पर्याप्त भएन । आर्थिक रनाहामा परेकीले जीवन बाँच्ने अभिप्राय बोकेर उनकी आमा एघार वर्षका महानन्दलाई डोर्याएर महानन्दकै गुरु पं.लक्ष्मीनारायण खतिवडासँगै भारतको आसाम लागिन् । त्यहीँ गएर उनले दहीदूध बेचेर जीविका चलाइन् र छोरालाई पनि गोठालो बनाइँन्।

आसाममा आमा सरस्वती सापकोटाले दुध दुहुने र बेच्ने अनि छोरा महानन्दले गाईभैँसी चराउने काम गरे । त्यस बेला महानन्द गोठमा नै सुत्थे । गोठमा नै सुतेको बेला एक पल्ट यिनलाई एउटा साँपले बेर्यो र डस्यो । यस घटनाले यिनकी आमा मुर्छा परिन्।

सापकोटाका शरीरमा पसेको साँपको विष झारफुकले झारेको थियो । त्यसपछि यी यसै विद्या जान्नका लागि अग्रसर भए । अन्ततः उनी पनि झारफुकका नामी वैद्य बने । कतिसम्म भने गाईगोरु, भैँसीराँगा, भेडाबाख्राको आँखाको फूलो यी मन्त्रै पढेर झार्थे । अनि त्यसै कामले यी चर्चित पनि भए ।
सापकोटा सोह्र वर्षो उमेरमा आसामे भाषाको स्कुलमा भर्ना भए । सात कक्षासम्म उनी त्यहीँ पढेर त्यसपछि उनी दार्जिलिङ पुगे । त्यहाँ उनी २५ वर्षो उमेरमा पुगेका थिए । तर आफू १५ वर्षको भएँ भनी ढाँटेर उनी त्यहाँ आठ कक्षामा भर्ना भए । वास्तवमा उनलाई पढ्नको धोको थियो । तर जति नै जोड गरे तापनि उनले म्याटि्रकभन्दा माथी चाहिं पढ्न सकेनन् । यतिहुँदाहुँदै पनि उनी विश्वविद्यालय स्तरीय विद्यार्थीका गुरुमा दरिए।

सापकोटा दार्जीलिङ भएताकै धरणीधर कोइरालासँग नजिक पुगे । कोइरालासँग साहित्यसम्बन्धी ज्ञान लिँदालिँदै यी फेरी आसामै पुगे । त्यतिन्जेलसम्म पनि उनी टेक्ने न समाउने अवस्थामा नै थिए । त्यसैले त्यहाँ उनी भारतीय काङ्ग्रेसका कार्यकर्तामा समाविष्ट भए । त्यहीक्रमले उनलाई खादीका लुगा लगाउने कोटिमा पुर्याइदियो । उनले त्यहाँ बसेर जीवनपद्धतिको सजिलो पाठ पढे । उनी क्रमशः व्यवहारिक ज्ञानमा पनि उन्मुख थिए । हुँदाहुँदै उनी त्यस ठाउँमा कर्मवादीमा परिचित भैसकेका थिए । त्यतिन्जेलसम्ममा उनी सादा जीवन र उच्चविचारतिर नै लम्किसकेका थिए।

उता दार्जीलिङमा घरणीधर कोइरालाका लागि महानन्द सापकोटा होनाहार, प्रतिभाशाली र आवश्यकीय व्यक्ति ठहरिएका थिए । त्यसैले उनी सापेकोटालाई खोज्दै दार्जीलिङबाट आसाम पुगे । त्यस बेलासम्ममा त्यहाँ सापकोटा चर्चित भइसकेको पनि कोइरालाले थाहा पाए । त्यसबेला कोइरालाले अनेक जुक्ति झिकेर सापकोटालाई दार्जिलिङ लिएर आए । त्यसै ताका सापकोटाले झयाउरे छन्दमा ‘मनलहरी’ लेखे । त्यसै कृतिले उनी पनि चर्चित भए ।
सापकोटा स्पष्टवादी हुँदाहुँदै पनि रसिक थिए । उनी केटी भनेपछि मरिमेट्थे । उनी कामुक भएको बेहोरा खुलाएर तेजराज खतिवडाले सापकोटाकै अन्तर्वार्ताका आडमा एउटा लेख पनि लेखे । उनको त्यही काण्डका विषयमा धेरैले धेरै कुरा लेखे ।ईश्वर बरालदेखि वासुदेव लुइँटेलसम्मले उनको स्त्रीप्रेमको चर्चा गर्थे । उनले धेरै ठाउँ धेरै नारीसँग सम्बन्ध राखे । तर तीन जनासँग चाहिँ यिनको दाम्पत्य जीवन गाँसियो । यिनका तीन श्रीमतीमध्ये दुई जनाबाट तीन छोरा जगदीश, लावण्य र हेमराज र तीन छोरी धरणी, पवी र विद्या जन्मे।

सापकोटाले भारतको देहरादूनमा ‘तरुणगोर्खा’को सम्पादन गरे । त्यसपछि उनी ‘गोर्खासंसार’को पनि सम्पादक बने । उनले ‘नेपालपुकार’, ‘हाम्रो नेपाल’ र आसामीय भाषामा ‘चेतना’को पनि सम्पादन गरे।

पारिवारिक जीवन धान्न सापकोटा पुनः आसाम नै पुगे र र्एमई स्कुलको शिक्षक भए । तर चञ्चले र अस्थिर भएका कारण उनी नेपाल आए । त्यसबेला यी चालीस वर्षा थिए।

सापकोटा कविमा नामी थिए, भाषाशास्त्री उनको योग्यताको माप थियो र सम्पादक उनको शाश्वत परिचय थियो । साथै पछिचाहिं उनी नेपाली राष्ट्रियताका पनि खुबै पक्षपाति भए । यस मामलामा यी धेरैका गुरु बने।

सापकोटा नेपालको शिक्षाका ज्योति थिए । वास्तवमा नेपाल पसेर यिनले शिक्षामा नै आफूलाई समाहित गरे । उनैको नेतृत्वमा इलामको करफोकमा नेपालीभाषा प्रचारक सङ्घको स्थापना भयो।

सापकोटा यसैक्रममा धनकुटा पुगे । त्यहाँ उनले गोकुण्डेश्वर स्कुल खोले । राणा शासनको जगजगीमा पनि उनले शिक्षा प्रचारबारे राणालाई रिझाएका थिए । स्कुल चलाउन उनी हरेक कसरत गर्थे । तिहारको देउसी खेलेर नै पनि उनी पैसा बटुल्थे र त्यो पैसा शिक्षामा नै लगाउँथे।

त्यहीक्रममा सापकोटाले धरान पब्लिक स्कुलको स्थापनामा पनि गुरुत्तर भूमिका खेले । त्यसैबेला त्यहाँको बाटोघाटो बनाउने काममा पनि उनी संलग्न भए । काम गर्दागर्दै त्यति बेलै उनलाई क्षयरोगले आक्रान्त नै पार्यो । अनि उनलाई स्वस्थ राख्ने मनसायले चैनपुर पुर्याइयो । तर त्यसबेला पनि त्यहीँ उनले फेरि अर्को स्कुल स्थापना गरिदिए।

सापकोटाले धरानमा फैलिएको हैजासँग पनि सामना गरे । त्यति खेर उनले त्यहाँ ज्यानको वाजी मारेर काम गरे । वास्तवमा त्यो विकट कामका उनी भीम थिए । धरानमा नै बसेका बेला उनले दलितको जीवनस्तर उठाउने काम पनि गरे । त्यसैताका उनले धरानका हीरालाल र टीआर विश्वकर्मालाई स्कुल भर्ना गरिदिए । त्यसभन्दाअघि नेपालमा दलितलाई स्कुले शिक्षामा प्रतिबन्ध थियो । अनेक जुक्ति रचेर उनले मेची र कोशीमा दर्जनौँ हाइस्कुलको स्थापना गरे।

२०१० सालतिर उपमन्त्री नारदमुनी थुलुङले पनि सापकोटालाई आश्रय दिए । त्यसै बेलादेखि उनी जातपातलाई तिजाञ्जली दिदै हिंडे । उनी अन्धविश्वासका विरोधी थिए । उनी नेपाली समाजमा सधैँ सुधारकै नारा दिन्थे । तर उनी डेगले कहीं पनि बस्तैन थिए । त्यसैताका उनी आफ्नी छोरी लिएर घरि काठमाडौँ आउँथे र घरि दार्जिलिङ र आसम पुग्थे । तर उनी जहाँजहाँ जान्थे त्यहाँत्यहाँ क्रान्तिको विउ छर्थे।

प्रजातन्त्रपूर्व सापकोटाले काङ्ग्रेसको धेरै काम गरे । तर प्रजातन्त्रपछि नेपाली काङ्ग्रेसको मन्त्रीमण्डलले भारत गएर प्रधानमन्त्री पं.जवहारलाल नेहरूसँग मन्त्र लिएको घटनाले यिनले राजनीतिलाई घृणा गरे । अनि उनले भने, “राणाहरूले कहिले पनि विदेशीको पाउ मोलेनन् ।” त्यसपछि उनी राजा महेन्द्रकै मात्र पछि लागे । साथै राजा महेन्द्र र वीरेन्द्रबाट उनको भरअभर पनि हेरिने गर्थ्यो।

सापकोटाले नेपाली साहित्य र पत्रकारिताका लागि पनि अनेक काम गरे । पछि उनले पूर्वाञ्चलमा प्रेस स्थापना गरेर पत्रिका पनि चलाए । उनले नेपाली साहित्यमा आफ्नो राम्रो पहुँच राख्तै गए । लेख्तालेख्तै उनले मदन पुरस्कार पनि पाए । त्यतिखेर मदन पुरस्कारको पनि गतिलो ओजन थियो, भनौं फितलो थिएन । उनका झन्नै दुई दर्जन कृति प्रकाशनमा पनि आए।

सापकोटा २००७ सालमा झापाको सामयिक सरकारको शिक्षा मन्त्री पनि भए । त्यस बेला उनले झापामा दार्जिलिङबाटै शिक्षक शिक्षिका ल्याएका थिए । उनी सपनाविपना जहिले पनि शिक्षा र साहित्यकै लागि पसिना बगाउँथे।

सापकोटा जीवनको उत्तरार्धमा विभिन्न रोगसँग लडे। अन्ततः २०३५ साल असार १ गते उनी विराटनगरमा स्वर्गीय भए।
naiprasai@gmail.com

Popularity: 5%

Add comment August 28th, 2011

सुन्दरीका प्रेमी र पत्नीका शत्रु रूपनारायण सिंह

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम-रूपनारायण सिंहको जन्म १९६४ साल माघ २८ गते दार्जीलिङमा भएको थियो । उनी वीरबहादुर सिंह कुँवर खड्का र मायादेवीका माइला छोरा थिए।

सिंहले कोलकाताबाट बीए र एलएलबी उत्तीर्ण गरे। अनी २६ वर्षको उमेरमा उनले दार्जीलिङमा कचहरी सुरु गरे। सिंह कविता लेखेर नेपाली भाषासाहित्यमा प्रवेश भए । उनको लेखन थोरै थियो । तर उनले लेखेपछि त्यो सुन हुन्थ्यो । त्यसैले उनी नेपाली भाषासाहित्यका महारथी भए । उनले आईए पढेदेखि कथा लेखे । तर जीवनभरमा उनले तीनवटा मात्रै किताव लेखे । उनको उपन्यास ‘भ्रमर’ले नेपाली साहित्यमा सुकीर्ति कमायो।

उनले अर्को उपन्यास ‘विजुली’ पनि लेखे । त्यसका केही अंश भारतीमा प्रकाशित भयो तर अपूर्ण रहृयो । उनले लेखेको कथासङ्ग्रह ‘नवरत्न’ले पनि ख्याति नै कमायो।

सिंहको लेखनका बारे धेरैले लेखे । तर सुरुमा नै रामकृष्ण शर्माले उनलाई राम्ररी काखी च्यापे । त्यसपछि ईश्वर बरालले उनको साहित्य र भोगविलास लेखेर उनलाई कैलाशै पुर्याइ दिए । बरालका अनुसार सिंह सामाजिक छेकथुन मान्दैन थिए र भोगसुखलाई मान्थे।’

सिंह सुन्दरी भनेपछि मरिमेट्थे । उनी मान्छे पनि राम्रा थिए र राजषी ठाँटमा हिंड्थे । अनि उनी राम्राराम्रा केटीलाई ढोक्सामा थाप्न जुक्ति झिक्थे । त्यसैले केटीहरूका कारण उनको घरझगडा परिरहन्थ्यो । उनको दाम्पत्य जीवन पनि बराबर भङ्ग भइरहृयो । उनले घरिघरि सुन्दरीहरूसँग मायाप्रीति गाँसे पनि उनको घर खण्डहरझैँ थियो।

सिंहकी प्रथम पत्नी सुन्दरी थिइँन् । केही समयपछि क्रिश्चियन धर्म मान्ने अर्की सुन्दरी घरमा हुलेर उनले जेठीलाई लखेटेका थिए । अनि तेस्री नम्बरकी श्रीमती घरमा ल्याउँदा माइलीले पनि उनीसँग छोडपत्र गरिन् । तर कान्छी श्रीमतीले चाहिँ उनका काखमा एउटी छोरी पनि राखिदिइन् । छोरी पन्ध्र महिना पुगेपछि रूपनारायण सिंहले धर्तिबाटै राजीनामा दिए । उनका आधा दर्जन रखौटीहरू भएको बेहोरा उनी दिवङ्गत भएपछि दार्जीलिङका वासिन्दाले चाल पाएका थिए।

सिंह बाघजस्तै बलिया, तेजिला र आक्रमक थिए । उनी जोरी खोज्नेलाई जोरी नै भिडाउन सक्थे । उनी फलामजस्तै कडा थिए । उनको स्वभाव पनि उग्र थियो । उनी उदण्ड त्यस्तै थिए । युवा अवस्थामा नै उनले जँडयाहामा नाउँ कमाएका थिए । अनि उनको बुद्धिसँग सामना गर्न प्रायः कोही अगि र्सर्दैन थिए । उनी डुक्रिने कलामा पनि नामी थिए । उनी प्रायः अङ्ग्रेजीमै गफ गर्न रुचाउँथे । कसैसँग भनाभन हुँदा पनि उनी अङ्ग्रेजीमा नै प्रस्तुत हुन्थे । घरकी स्वास्नीसँग झगडा गर्दा पनि उनी अङ्ग्रेजीमा नै बाज्थे । केटी फकाउँदा पनि उनी अङ्ग्रेजीभाषा नै प्रयोग गर्थे । उनी अदालतमा पनि अङ्ग्रेजीभाषामा नै वकालत गर्थे । वास्तवमा उनी अङ्ग्रेजी पढ्नलेख्न पारङ्त थिए । तर उनले नेपाली साहित्य लेख्ता त्यहाँ कहिले अङ्ग्रेजी शब्द घुसाएनन्।

सिंह कसैसँग लत्रेर बोल्दैन थिए । तर केटी भेटेपछि उनी बुहारीझार झैँ फतक्कै गलिदिन्थे । उनी आफूलाई भोगविलास गर्न धर्तिमा जन्मेको ठान्थे । त्यसैले उनी केटीहरूसँग हिंडेर थाक्तैन थिए । उनी होचा थिए तर लामालामा केटीहरूलाई अघिपछि लगाएर हिंड्थे । उनले मन नपराएका केटीले उनलाई बाउन्ने, पुड्के र डल्ले भन्थे।

सिंह घुँडाटेखि चार इन्ची तलसम्म फ्रक लगाउनेसँग प्रेम गर्दैन थिए । बिहे गरेपछि उनी आफ्नी पत्नीलाई कुरकुच्चाभन्दा मुनीसम्म सारी तान्न लगाउँथे । त्यसो नगर्दा उनले आफ्नी माइली पत्नीलाई सिस्नोपानी लगाएका थिए।

सिंह वकिल थिए । उनीभन्दा स्पष्ट, निर्भीक र नामी वकिल त्यस भेकमा अरू थिएनन् । उनी साक्षीलाई समेत अनेक प्रश्न गरेर धुरुधुरु रुवाउँथे । उनको बौद्धिक चमत्कार देखेर न्यायाधीशहरू छक्क पर्थे । केटीपक्षको मुद्दा भएमा चाहिँ उनी वकालतको पैसा पनि लिँदैन थिए । साथै केटीपक्षको लिनै नहुने जघन्य अपराधका मुद्दा पनि उनी बोकिदिन्थे र त्यसमा जोडदारको वकालत गरिदिन्थे । अनि उनको तेजस्वी बहसका कारण न्यायाधीशले त्यस्ता मुद्दा पनि जिताइदिन्थे । उनको केटीप्रतिको मोह र वकालत गर्ने शैलीले उनी पचासौं वर्षम्म पनि चर्चाको धुरीमा अडिरहे।

सिंहले दार्जीलिङका सुन्दरीलाई खुवै घुमाए । त्यस बेला दार्जीलिङका डाँडाकाँडा, पाखापखेरु, बनजङ्गल जताततै उनी आफ्ना केटी साथीसँग प्रायः पालैपालो डुल्थे । होटलहरूमा पनि सकेसम्म दोहोर्याएर उनले केटी लगेनन् । चियाकमानहरूमा पनि उनी नौलानौला केटी नै पुर्याउँथे । चियाकमानमा केटीहरू डुलाउन जाँदा चियाकमानकी म्यानेजरकी छोरी तीष्णासँग उनको एकैवार आँखा जुदेको थियो । तर त्यो घटना दाजीलिङमा खुबै चर्चित बन्यो । सिंहका जीवनीकार दार्जीलिङकै राजनारायण प्रधानका अनुसार सिंह तीष्णासँग रूप प्रणयभिक्षा माग्न बाटामा कुरी बस्थे । तीष्णा घोडा चढेर त्यही बाटोबाट हिँड्थिन् । तीष्णालाई देखेपछि मानिसहरू टुना लागेजस्तो ट्वाल्ल पर्थे । तीष्णा त्यहाँसम्मकी राम्री थिइन् र कुरा गर्राईमा चाम्री त्यस्तै थिइन् । तर उनी आफ्नै बाबुको ड्राइभरसँग लस्किएकी थिइन् । पछि उनी त्यही ड्राइभरसँग आफ्नै मोटरमा सिलिगुडीतिर हान्निइन् । त्यस समाचारले रूपनारायण मुर्छा परे । प्रधानका अनुसार कति दिनसम्म सिंहको मुखबाट बोली फुटेन । जब उनी होसमा आउँथे फेरि रुने गर्थे । तीष्णाका कारण धेरै दिनसम्म उनी पागलजस्तै भए । अनि उनले ड्राइभरलाई सराप्तै एउटा कथा लेखे- ‘ड्राइभरको पेसा राम्रो होइन’।

सिंह अङ्ग्रेजका श्रीमती पनि खुवै मन पराउँथे । सेतो छालामा चिप्लिखेल्ने उनको ठूलो रहर थियो । त्यही हिसाव मिलाउन उनले अङ्ग्रेजसँग सङ्गत गरे । मेमसाहेबहरू पनि उनी भनेपछि भुतुक्कै हुन्थे । त्यसैले उनले अङ्ग्रेजहरूसँग बसेर रक्सी खाए र उनीहरूकै श्रीमतीसँग बोल्ड डान्स गरे । सिंह मातेर होस हराउँथे र मेमसाहेबहरूका कम्मरदेखि कुमसम्म आफ्नो टाउको जोड्दै नाच्थे । किनभने उनी होचा थिए।

बेलायतीहरूको आवासगृहकै दाँजोमा सिंहको घर थियो । उनको घर पनि बेलायतीहरूको झैं सफा सुग्घर हुन्थ्यो । उनका घरका बरण्डामा ढकमक्क फूल फुल्थे । उनी घरमा काम गर्ने पनि केटी नै राख्थे । उनका घरका केटी पनि कति सुन्दरी हुन्थे भने तिनका गालामा हातले छुँदा पनि चक्र लाग्थ्यो।

सिंहमा राजनैतिक चेतना ओतप्रोत थियो । उनी स्वतन्त्रताका पक्षपाती थिए । तर उनी आफ्नो घरमा दरो शासन लागु गर्थे । उनी आफ्नी स्वास्नीलाई परपुरुष हर्ेन दिँदैन थिए । उनी आफ्नी श्रीमतीलाई एक्लै बजार जान दिँदैन थिए । अनि उनी आफ्नी गृहिणीलाई नाच्न, गाउन र होटलमा जान दिँदैन थिए । अनि उनी घरमा पुरुष आएका बेला आफ्नी श्रीमतीलाई आवाज निकालेर हाँस्न पनि दिँदैन थिए । घरमा पुरुष आएका बेला एक पटक उनकी जेठी पत्नी खित्का छाडेर हाँसेकी थिइँन । अनि त्यही निहुँमा उनलाई सिंहले सौता हालेका थिए । यस मामलामा उनी भन्थे फलाम काट्न फलामै चाहिन्छ।

सिंहले ४७ वर्षकटाए । त्यसै बीचमा उनले मानाका माना, पाथीका पाथी र मुरीका मुरी जाँड खाए । त्यसै समयका सर्न्दर्भमा उनले एक जना होइन, दुई जना होइन र तीन जना पनि होइन दर्जनौँलाई अँगालोमा बाँधे । अनि सुरा र सुन्दरी धान्न नसकेर उनी जीर्ण हुन थाले । यिनै कारणहरु जोडिनाले पनि उनलाई सुकेनासले छोयो । अन्ततः उनी २०११ साल माघ १३ गते दाजीलिङमा बिते।
naiprasai@gmail.com

Popularity: 5%

Add comment August 13th, 2011

ज्ञानविज्ञानका अध्येता वृगेडियर जनरल यज्ञविक्रम

ज्ञानविज्ञानका अध्येता वृगेडियर जनरल यज्ञविक्रम राणा
नरेन्द्रराज प्रसाई/ एचकेनेपाल डट कम-
सूर्यविक्रम ज्ञवालीले भनेका थिए, “यज्ञविक्रम राणाको नेपाली भाषासाहित्यको प्रचार र प्रसार गर्ने उदाहरणअनुसार काम गर्न हामी अघि सर्नुपर्छ ।” वास्तवमा राणा त्यस्तै उदाहरणीय थिए। उनको सबैभन्दा ठूलो खुवी के थियो भने उनले बोलेपछि त्यो कुरा ढुङ्गाको अक्षर हुन्थ्यो।

किनभने उनी नपुग्ने कुरा नै बोल्दैन थिए। उनी थोरै बोल्थे र धेरै गर्थे । उनी स्पष्ट बोल्थे तर नरम बोल्थे । उनी कडाकडा काम गर्थे तर सरल थिए । उनी ठूलाठूला कुरा आँक्थे तर सोझो थिए । सहृदयताले नै एउटा भद्र पुरुषका रुपमा उनले नेपाली समाजमा आफ्नो सरल नाउँ लेखाएका थिए । त्यसैले उनीसँग एकपटक बोलेको मान्छे उनको पछि लाग्थे।

राणाले आफ्ना बुबा झपटबहादुर राणालाई प्रकाशमा ल्याउन रातोदिन कसरत गरे । उनका बुबा नेपाली साहित्यका महारथी थिए, तर उनका कृति सहज रुपमा प्रकाशनमा आइरहेका थिएनन् । यिनै राणाले आफ्ना बुबाका झन्नै एक दर्जन कृति प्रकाशनमा ल्याइदिए । यसैबारे प्राध्यापक डा.वासुदेव त्रिपाठीले लेखे- “यज्ञविक्रम राणाले आफ्ना स्वर्गीय पिता झपटबहादुर राणाका असङ्ख्य साहित्यिक रचनाहरूलाई बटुलबाटुल गरी पुस्तकाकारमा प्रकाशित गरे।”

यज्ञविक्रम शारदाकालीन साहित्यकार थिए । उनी बुबाको प्रेरणाले नै साहित्यमा लागेका थिए । साहित्यमा मात्र होइन यी क्रमशः ज्ञानविज्ञानकै दोभानमा उभिन पनि थाले । यिनले आफ्नो पेसाका रूपमा विज्ञानलाई समाते र साहित्यमा पनि त्यतिकै रुचि राखे । यिनले इन्जिनीयरिङ पढे तर पनि यी सृजनामा समर्पित भैरहे । विद्याथी जीवनदेखि नै यी आफ्नो गच्छे अनुसारको लेखनका धनी थिए । लेख्तादेख्तै यिनले नेपाली, अङ्ग्रेजी, हिन्दी, चिनीया र संस्कृत भाषामा पनि लेखे । अनि नेपाली र अङ्ग्रेजीभाषा चाहिं यिनको पेवाजस्तै भयो । यिनको अङ्ग्रेजीभाषाको लेखनले नेपाली साहित्यकारहरू चकित खान्थे । त्यसैले राष्ट्रकवि माधव घिमिरेले एकपटक लेखेका थिए- “यज्ञविक्रम राणा अङ्ग्रेजी साहित्यको अध्येता मात्र नभएर अङ्ग्रेजीका प्राचीन छन्दमा पनि कविता रचना गर्थे ।” तर यिनले अङ्ग्रेजीभाषाको सिङ्गो किताव प्रकाशनमा ल्याएनन् । उनले जति लेखे फूटकरै लेखे । ग्रन्थका रूपमा उनको एउटा मात्रै कृति २०४६ सालमा प्रकाशित भयो ‘यज्ञ रचनावली’ । वास्तवमा घटराज भट्टराईकै हुटहुटीले मात्र त्यस कृतिलाई प्रकाशनमा ल्याइएको थियो । साथै त्यस कृतिका सम्पादक पनि भट्टराई नै थिए।

राणाको सबैभन्दा ठूलो परिचय उनी मेहनती थिए । उनी शुद्ध पसिनाको कमाईमा विश्वास राख्थे । समाजमा सधैँ असल कर्म गर्नुपर्छ भन्ने उनको जीवनको नैर्सर्गिक मान्यता थियो । बाँचुन्जेल उनले आफ्नो नैतिकतालाई भूइँमा खस्नै दिएनन् । त्यसैले उनको जीवनमा मानवतावाद फक्रिरहृयो।

जीवनको उत्तर्रार्धमा राणा साहित्य, धर्म र सामाजिक काममा नै बढी लहसिए । उनको त्यस बारेको विजारोपण २०१२ सालमा नै भएको थियो । त्यसै बेला उनले आफ्ना घरमा यज्ञ पुस्तकालयको स्थापना गरेका थिए । उनी बाँचुनजेल त्यस पुस्तकालयबाट पनि धेरै अनुसन्धाताले ज्ञान आर्जन गर्ने मौका पाएका थिए।

पत्रसङ्ग्रह राणाको विशेष सोखको विषय थियो । त्यसैले उनले स्कुले जीवनदेखि नै पत्रहरूको सङ्कलन गर्दै आए । उनले अरूलाई लेखेका पत्र र उनलाई अरूले लेखेका पत्रहरू सदैव उनका सङ्ग्रहमा रहे । उनी पत्र लेख्ता गद्य र पद्य दुवैमा लेख्थे।

राणा नेपाली संस्कृति भनेपछि हुरुक्कै हुन्थे । आफ्नो देश नेपाल र नेपालीको उनी आदर गर्थे । नेपाली भाषा उनको जीवनको प्राण थियो । साहित्यकारलाई घरमा लगेर भोज खुवाउने पनि उनको विशेष सौख थियो । त्यसैले उनले हरेक वर्षसाहित्यिक समारोहहरू आफ्नै घरमा आयोजना गर्थे र त्यति बेला निम्तारुलाई मन खोलेर भोज खुवाउँथे।

राणा जुनसुकै साहित्यिक कार्यक्रममा पनि पुग्थे । उनी भाषण पनि गर्थे तर उनले पाँच मिनेट बोलेको कसैले सुनेनन् । उनी भन्थे, “संविधान नपढ्ने देशका मान्छेलाई भाषण रटाउने काम छैन । भाषणलाई समारोहको औपचारिकताका लागि मात्र प्रयोग गर्नु पर्छ।”

राणाले आफ्ना बुबाका नाउँमा २०३७ सालमा झपट पुरस्कार गुठीको स्थापना गरेका थिए । त्यसै वर्षउनैको पहलमा उनका सासु ससुराका नाउँमा सैनध्वज-नन्दकुमारी गुठीको पनि स्थापना भएको थियो । त्यस बेलादेखि यो गुठीले हरेक वर्षनेपाली भाषामा विद्यावारिधि गर्ने एक जना प्राज्ञलाई पुरस्कृत गर्दै आयो । साथै झपट पुरस्कारबाट पनि झन्नै तीन दर्जन स्रष्टाहरू पुरस्कृत भइसके ।
राणा त्रिमूर्ति निकेतन, बालकृष्ण सम फान्डेशन, मदन पुरस्कार गुठी, दीपस्मृति गुठी आदि साहित्यिक संस्थाहरूमा सदस्य थिए । साथै उनी धार्मिक र शैक्षिक संस्थामा पनि आबद्ध थिए । उनी सर्वसम्मतले काठमाडौं बानेश्वरको रत्नपुस्तकालयको अध्यक्ष भए । साथै उनी त्यहींको श्री ५ रत्नराज्यलक्ष्मी माद्यामिक विद्यालयको पनि अध्यक्ष थिए । अनि त्यस स्कुलमा यिनले अवैतानिक रूपमा अध्यापन पनि गरे।

झपटबहादुर राणा बडाहाकिम भएर काठमाडौँबाट स्याङ्जाजाँदा उनकी पत्नी तोरणकुमारी राणा पनि उनीसँगै गएकी थिइन् । त्यही फेरोमा झपटबहादुरको साइँला छोराका रूपमा यज्ञविक्रमको जन्म १९८० साल चैत १५ गते स्याङ्जामा भएको थियो।

यज्ञविक्रमले दरबार स्कुलमा पढे । उनले त्रिचन्द्र कलेजमा पनि पढे । साथै उनी भारतको पूनाबाट सिभिल इन्जिनीयर भए । अनि उनी २००७ सालमा नेपाली सेनाको सहायक सेनानीमा प्रवेश भए । पढाइको हिसाब गर्ने हो भने यिनले अर्थशास्त्र र राजनीति शास्त्रमा एम्ए र फेरी एमकम गरे । साथै यिनले वीएल पनि पास गरे । अनि यिनले चिनीया भाषामा डिप्लोमा गरे।

सेनाको बृगेडियर जनरल पदबाट राणाले २०४६ सालमा अवकास लिए । सेनामा हुँदा उनी नेपालका पचहत्तर जिल्ला तथा भारत, चीन थाइल्यान्ड, इजरायल र अमेरिका पुगे । इजरायलमा यिनले प्यारा जम्पिङ पनि गरे । त्यसभन्दा अघि कुनै नेपालीले प्यारा जम्पिङ गरेका थिएनन् । अनि त्यसपछि नै नेपाली सेनामा प्यारा जम्पिङ पनि भित्रियो।

राणाले असल काम गरेर राज्यबाट सुप्रबल गोरखादक्षिणबाहु र सुविख्यात त्रिशक्तिपट्ट पाए । साथै उनले थुप्रै अलङ्कार पदकहरू पनि प्राप्त गरेका थिए।

राणाको बिहे सैनध्वज खड्का र नन्दकुमारी खड्काकी छ छोरीमध्ये ठाइँली छोरी केशरकुमारीसँग २००७ साल फागुन ४ गते भएको थियो । यी दम्पतिबाट पाँचजना छोरी गीता, रीता, नीता, अनीता र वनीता र एक जना छोरा अरुण राणा जन्मे । यी सबैले उच्च शिक्षा ग्रहण गरे।

राणाको जीवन निरोगी भएर नै वित्यो । २०६८ साल साउन ५ गते राति बाह्र बजे उनले आफ्नो छोरा अरुणलाई बोलाएर भने, “बाबु अब म सुत्छु; मलाई नउठाउनु है !” अनि त्यसको लगत्तै उनी चीर निद्रामा रुपान्तरित भए।
naiprasai@gmail.com

Popularity: 5%

Add comment August 1st, 2011

विद्यावारिधी गर्ने पहिलो लाहुरे

विद्यावारिधी गर्ने पहिलो लाहुरे
डा.हर्षहादुर बुढा मगर

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम- हर्षहादुर बुढा मगर कट्टर राष्ट्रवादी थिए । उनी आफ्नो हरेक बेहोरामा राष्ट्रियता छाँट्थे । कतिसम्म भने उनी प्रायः जे बोल्दा पनि र जे लेख्ता पनि राष्ट्रियतामा नै लहसिन्थे । उनको हरेक यात्रा राष्ट्रियतामा केन्द्रित हुन्थ्यो । त्यतिमात्र होइन, उनका लागि स्वदेश नै विश्व थियो । उनीसँग आफ्नो गाउँको माटो सधैं हुन्थ्यो । उनी स्वदेशकै माटोको टीका लगाएर मात्र आफ्नो मुलुकको सङ्घार काट्थे । यही रीतले बाँचुञ्जेल उनी राष्ट्रियताको व्याख्या गर्न पनि थाकेनन्।

भक्तबहादुर बुढा मगर र देवीकलाका एक मात्र सुपुत्रका रुपमा १९८४ साल कात्तिक ३ गते वाग्लुङको गलकोटमा हर्षहादुर जन्मेका थिए । यिनका बुवा भारत आसामको डिगबोईमा कार्यरत रहँदा उनी शिशुकालमा नै आफ्नी आमासँग त्यहाँ पुगेका थिए । तर उनी दुई वर्षको भएपछि उनका बुवाको रुखले किचेर त्यतै मृत्यु भएको थियो।

मगरलाई वाल्यकालमा नै भारतबाट नेपाल ल्याइयो । तर त्यस बेलासम्म वाग्लुङमा भएको उनको घरजग्गा अर्कैले आफ्नो बनाइसकेको थियो । त्यसपछि यिनकी आमाले आफ्ना सबै गरगहना बेचेर नयाँ घरजग्गाको निर्माण गरिन् । अनि उनी आफ्नो छोराको उचित शिक्षाका लागि मरिमेट्न थालिन् । उनको छोरो पनि तेजस्वी थिए । त्यसैले उनी पनि राम्ररी पढ्दै गए । तर उनको घरको आर्थिक अवस्था उकास्न पनि त्यस घडी हर्षहादुरले आफ्नो प्रमुख कर्तव्य सम्झे । त्यही परिणतिले पन्ध्र वर्षको उमेरमा उनी सत्र वर्षको भएँ भनेर भारतीय सेनामा भर्ना भएका थिए।

मगरले तेस्रो गोर्खा राइफलको पल्टनमा सिपाहीको पददेखि हवल्दारसम्म पद ग्रहण गरेर दसवर्षविताए । अनि स्पेशल पेन्सन पकाएर उनी आफ्नै गाँउ फिरे । त्यतिन्जेलमा सेनालयमा उनले आफ्नो पुरुषार्थ पनि देखाई सकेका थिए।

मगरको दोस्रो विश्वयुद्धमा सक्रिय सहभागिता थियो । साथै दक्षिण पूर्वी एशियामा शान्ति कायम गर्ने कार्यमा पनि उनी संलग्न थिए । उनले जम्मु काश्मिर युद्धक्षेत्रमा पनि आफ्नो संलग्नता देखाएका थिए । साथै पछि मलायाको इमर्जेन्सीमा पनि उनले भाग लिएका थिए । सेनामा कार्यरत रहँदा उनले जति काम गरे प्रशंसा पनि त्यति नै बटुलेका थिए । बेलायती राजा जर्ज छैटौंदेखि भारतका पिता महात्मा गान्धीसम्मको प्रसंशामा उनले आफुलाई उभ्याएका थिए । त्यही अनुसार उनले तक्माहरु पनि पाएका थिए।

मगरको बिहे वाग्लुङ कै टेकबहादुर आले मगर र देउकी आले मगरकी माइली छोरी पुष्पावतीसँग भएको थियो । त्यतिबेला उनी बाईस वर्ष र उनकी पत्नी सोह्र वर्षकी थिइँन् । यी दम्पतिबाट दुई जना छोरा रत्नबहादुर र देवविक्रम अनि छ जना छोरी उन्नती, प्रभा, लेखा, विनीता, यमुना र धर्म जन्मे । उन्नती बोहरा ‘शीला’ चाहिं लेखन, गायन र समाजसेवामा परिचित नाउँ बन्यो । उनैले आफ्ना बुवा डा.हर्षहादुर बुढा मगरको पनि बिंडो समाएर आफुलाई प्रस्तुत गरिरहेकी छिन्।

मगरले दुक्खसुक्ख गरेर पढे । यिनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए र पटना विश्वविद्यालयबाट सोही विषयमा विद्यावारिधि गरे । मगर जातीमा विद्यावारिधि गर्ने उनी प्रथम व्यक्त थिए । साथै विद्यावारिधि गर्ने प्रथम लाहुरे पनि उनै थिए ।
मगरले आफ्नो जीवनको भोगाइलाई समाजसेवामा गाभ्न चाहे । त्यही क्रममा उनी बाग्लुङको भरत चैतन्य हाईस्कूलमा प्रधानाध्यापक भए । त्यसै वीच मलाया पुगेर उनले गोर्खा इन्जिनिर्य तालिम पनि लिए । पछि उनले वृटिश क्याम्पको जनसर्म्पर्क अधिकारी भएर बीस वर्षकाम गरे । अनि उनैको पहलमा वृटिश गोर्खाको सहयोगमा पक्लिहवा हाइस्कूलको स्थापना भएको थियो । उनले त्यहाँ लाटाबहिराको स्कूल पनि खोले । त्यतिमात्र होइन, उनैको बुताबाट भैरहवा बहुमुखी क्याम्पसको स्थापना पनि भयो र उनी त्यस क्याम्पसको प्रिन्सिपल भए । त्यहाँ काम गर्दागर्दै उनले राजा वीरेन्द्रबाट राजदरबारको जाँचबुझ केन्द्रको विशेष अधिकृतको जिम्मा पाए । अनि झनसारो यी चर्चित भए । त्यसपछि उनी नेपाल स्काउटको राष्ट्रिय सचिव पनि भए । उनको स्वच्छ छवीको चर्चा राजनीति र प्रशासनमाझ क्रमशः हुन थाल्यो । परिणामस्वरुप उनी राज्यबाट बन बसोवास अधिकार सम्पन्न आयोगको अध्यक्षमा मनोनीत भए । त्यसपछि उनी नेपाल भूतपूर्व सैनिक संगठनको केन्द्रीय सचिवमा छानिए।

मगरले सामाजिक सेवामा धेरै काम गरे । उनी जहाँ जान्थे राष्ट्रहीतकै काम गर्थे । त्यही हिसावमा विभिन्न शिक्षण संस्था, धर्म र समाजसेवामा उनको सक्रिय सहभागिता भैरहृयो । उनी तीन दर्जन भन्दा बढी शैक्षिक, धार्मिक र सामाजिक संघसंस्थाहरुमा प्रत्यक्ष संलग्न थिए । उनी नेपाल मगर सङ्घ र मगर सेवा समाजको संस्थापक भएर जातीय उत्थानका लागि पनि मरिमेटे । साथै मास्टर मित्रसेन प्रतिष्ठानको संस्थापक भएर पनि उनले महत्वपूर्ण काम गरेका थिए।

मगरले जति काम गरे त्यति नै यिनको मूल्याङ्कन पनि भैरहृयो । जस अनुसार यिनले स्वदेश तथा विदेशबाट एक दर्जन जति विभूषण र अलङ्कार पाए । साथै उनले त्यति नै पुरस्कार र फेरि त्यति नै सम्मानहरु पनि पाए । उनले तीन दर्जन जति तक्मा, पुरस्कार र सम्मान भिरे तापनि उनी कहिले र्सर्केर समाजमा प्रस्तुत भएनन् । बरु सँधै झुकेर नै उनले आफ्नो यात्रा बढाई रहे।

मगर नीतिमा खरो, सिद्धान्तमा स्पष्ट र व्यवहारमा निर्भीक थिए । तर जनमाझ उनी आफूलाई सालिन, सरल र सौम्य रुपमा प्रस्तुत गर्थे । उनले लेखनमा पनि आफ्नो व्यक्तित्वको प्रतिबिम्ब त्यसरी नै दिइरहे । उनी विविध विधामा कलम चलाउने स्रष्टा थिए । यति हुँदाहुँदै पनि उनले कविता लेखेर आफ्नो साहित्यिक यात्राको आरम्भ गरेका थिए । कविता लेखनकै क्रममा उनले २०१४ सालमा खण्डकाव्यमार्फ् डा. केआई सिंहको जीवनी लेखेका थिए।

मगरले नेपाली भाषासाहित्यमा कविता, अन्वेषण, जीवनी, निबन्ध प्रबन्धसमेत गरेर डेड दर्जन जति कृतिको आविष्कार गरे । उनका कृतिमध्ये ‘मगर-नेपाली-लिम्बु-अंग्रेजीकोश’ निक्कै चर्चित पनि भयो । उनैले मगर व्याकरणको प्रारुप पनि लेखे । कृतिगत रुपले उनको जति उचाई नापिए तापनि उनका लेखनको सेरोफेरो प्रायः डा.केआई सिंह नै रहृयो । उनैले डा.केआई सिहं स्मृति प्रतिष्ठानको पनि स्थापना गरेका थिए । साथै उनले यस विश्वको सेरोफेरोमा राजा महेन्द्रको देनको गाथा मात्रै गाइरहे । उनले आफ्नो जीवनको उत्तर्रार्धमा पनि महेन्द्र विषयक एउटा वृहद् ग्रन्थको निर्माण गरेका थिए । उनी महेन्द्रलाई नेपाली राष्ट्रियताका प्राण मान्थे।

नेपाली राष्ट्रियताको गीत गाउँदागाउँदै मगर शारीरिक रुपमा खच्कँदै गए । जीवनभरी आफूले भोगेका अनेक सुक्ख, दुक्खहरुको नालीबेली लेख्तालेख्तै उनी एक्कासी थला परे । अनि त्यसपछि उनी अनेक रोगसँग जुद्धै हिंड्न पनि सकेनन् । साथै त्यसै बेला उनी प्यारालाइसीसबाट पनि आक्रान्त भए । त्यसपछि उनलाई ब्रेनहृयाम्रेज भयो । त्यो विषय नै उनको जीवनमा कालको रुपमा रुपान्तरित भयो । अनि उनी २०६७ साल माघ १४ गते काठमाडौंमा स्वर्गीय भए।
naiprasai@gmail.com

Popularity: 5%

Add comment July 24th, 2011

पारिजातको जीवनकथा

प्रेमा शाहले ‘ढिला विष’को नाउँ ‘शिरीषको फूल’ राखिन्
नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम- पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन्।

पारिजातको जन्म १९९४ सालमा भएको थियो । यिनको स्कुलको नाउँचाहिँ विष्णुकुमारी वाइबा थियो । साथै यिनको चिनाको नाउँ भने छेकुडोल्मा थियो । विष्णुकुमारी वाइबाले पारिजातको फूल नदेख्तै आफैं आफ्नो नाउँ पारिजात राखेकी थिइन् । पारिजातको फूलको बोट भने यिनले काठमाडौं आएपछि मात्र देखेकी थिइन् । पारिजातको नाउँ राम्रो लागेर र पारिजातको फूल झरेपछि भुइँबाट मात्र टिपिन्छ भन्ने थाहा पाएर यिनले आफूलाई पारिजातमा नै रङ्गाएकी थिइन्।

पारिजातका बुबा केएस लामा भारतीय सैनिक सेवामा आबद्ध थिए र आमा अमृता लामाले चाहिँ घरगृहस्थीलाई आफ्नो थाप्लामा बोकेकी थिइन् । पछि सैनिक सेवा छाडेर के. एस. लामा होमियो चिकित्सामा लागे । सैनिक सेवा छाडेपछि अथवा भनूँ औषधी बेच्ने काममा लाग्दा लामापरिवारको घरको छानो आर्थिक रूपले पातलो भएको थियो।

पारिजातको बाल्यकाल कठ्याङ्ग्रिएर नै बित्यो । सानैदेखि उनी बिरामी भइरहन्थिन् । त्यसै बेलादेखि उनको शरीर कुँजिनेक्रम सुरु भएको थियो । पारिजात तेह्र वर्षी छँदा उनलाई हाडजोर्नी दुख्ने रोगले आक्रमण गरेको थियो । त्यही दुखाइ नै उनको जीवनभरिको साथी बन्न गयो । त्यसले उनलाई हरेक पल दुक्ख मात्र दिइरहृयो।

पारिजात सानैदेखि अन्तर्मुखी स्वभावकी थिइन् । त्यस बेलादेखि नै उनी अटेरी, जिद्दी र एकलकाँटे पनि थिइन् । उनको वैयक्तिक चरित्रले उनलाई काव्ययात्रामा डोर्याएको थियो । सानैदेखि उनलाई आफ्नो घरगाउँका पाखा, पर्वत र जङ्गलमा डुलूँडुलूँ लाग्थ्यो, खोलाका डिलडिलमा सुतूँसुतूँ लाग्थ्यो र बाटाबाटामा गएर नाचूँनाचूँ लाग्थ्यो । पारिजात बाहिर गएको बेला सधैँजसो बनपाखाबाट फूल टिपेर ल्याउँथिन् र घरमा सजाउने गर्थिन् । फूल उनको मन पर्ने विषय मानिन्थ्यो।

बाल्यकालमा नै पारिजातले आफ्नी आमा गुमाएकी थिइन् । त्यसैले घरका कामधन्दाहरू पनि पारिजातमा नै अटाउनुपथ्र्यो । त्यस बेला यिनले यस भूगोलको निर्देशक आफैंलाई ठान्ने गर्थिन् र उनी जे मनमा लाग्यो त्यही गर्ने गर्थिन्।

पारिजातले छ कक्षा पढ्न थालेदेखि नै धीत मर्ने गरी चुरोट तान्ने गर्थिन् । चुरोटमा राम्ररी बानी परेपछि यी गाँजा खान पनि तल्लीन हुन थालिन् । वास्तवमा बिहानबेलुकाको भात खाइसकेपछि धुवाँको हरर तलतल लागेको यी थाहा पाउँथिन्।

पारिजातका बाबुको आफ्नी छोरीलाई डाक्टर पढाउने इच्छा थियो । तर पारिजातको भने नाच्न, गाउन, लेख्न, डुल्न, बरालिन, खेल्नमा नै मन थियो । त्यसैले उनले आफ्ना बाबुका योजनामा आफ्नो एक रत्ती मन दिएकी थिइनन् । उनी आफ्नो जीवनलाई स्वतन्त्र छाड्न प्रकृतिसँग अनुमति माग्थिन् । त्यसैले उनी कहिल्यै पनि अर्काको वशमा परिनन् ।
पारिजात दशौं कक्षासम्म दार्जिलिङमा नै पढेर काठमाडौं प्रवेश गरिन् । काठमाडौंमा यिनी डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा भर्ना भएकी थिइन्।

पारिजातले पद्मकन्या विद्याश्रमबाट एसएलसी पास गरिन् । यिनले आईए र बीए पद्मकन्या कलेजबाट पास गरिन् । पद्मकन्या कलेजमा पढ्दा पनि यिनले धेरै नै चुरोट तानिन् । त्यस बेला पद्मकन्यामा पढ्ने अरू विद्यार्थी पनि चुरोट खाने गर्थे । त्यहीँ पढेताका उनले गोविन्दबहादुर मल्ल गोठालेको ‘युगको शिकार’ नामक नारीप्रधान नाटकमा नायिकाका रूपमा अभिनय गरिन्; त्यस नाटकमा यिनको जोडा चित्तरञ्जन नेपाली थिए । अनि त्यस नाटकका निर्देशकचाहिँ श्यामदास वैष्णव थिए।

पारिजात स्नातक उत्तीर्ण भएपछि वासुदेव लुइँटेलको सहयोगमा मदन मेमोरियल स्कुलमा अध्यापक बनिन् । त्यस बेला पारिजात त्यस स्कुलको नवौँ र दशौँ कक्षामा खास गरेर नेपाली, अङ्ग्रेजी, भूगोल र भारतको इतिहास पढाउँथिन् । त्यस बेला स्कुलमा गाइने प्रार्थनागीत पनि यिनैले लेखेकी थिइन्।स्कुलमा गुरुआमा हुनुभन्दा अघि नै यी साहित्यसृजनामा पनि समर्पित थिइन्।पारिजातलाई साहित्यरचनामा प्रेरित गर्नेमध्ये अग्रपङ्क्तिमा चित्तरञ्जन नेपाली थिए।

मदन मेमोरियल स्कुलमा पढाउँदापढाउँदै पारिजात क्रमशः बिमारी हुन थालिन् । यसले गर्दा उनी स्कुल छाड्न बाध्य भइन् । स्कुल छाडेपछि उनी बाथको बिमारले कुँजिइन् । त्यसैताका उनले खाटमा सुतीसुती साहित्यिक रचना रच्ने गरिन् । त्यही पीडामा रन्थनिएका बेला उनले एउटा उपन्यास पनि लेखिन् । उनको त्यस कृतिको नाउँ ‘शिरीषको फूल’ रहृयो । वास्तवमा त्यस किताबलाई उनले ‘ढिला विष’ लगायत एघारवटा शिर्षक राखी प्रेमा शाहलाई उपन्यासको उपयुक्त नाउँ चुन्न अनुरोध गरेकी थिइन् । त्यसैले त्यस कृतिको पाण्डुलिपि पढेर प्रेमा शाहले त्यसको नाउँ ‘शिरीषको फूल’ राख्न पारिजातलाई सल्लाह दिएकी थिइन्।

‘शिरीषको फूल’ लेखिसकेपछि पारिजातलाई रोगले झन्झन् सताउन थाल्यो । त्यसै बेलादेखि उनी जीवनभरि नउठ्ने भइन् । एउटा बैँसालु जीवनको भोग गरिरहेकै बेला उनी कुँजिने रोगबाट ग्रसित भइन् । त्यसपछि यिनले धूमपानका अतिरिक्त रक्सीको सेवनमा पनि आफूलाई डुबाउन थालिन्।

शारीरिक रूपमा दुर्बल, अशक्त र अक्षम भए तापनि मानसिक रूपमा पारिजात सशक्त थिइन् । उनको व्यक्तित्वको सबैभन्दा राम्रो विशेषता के थियो भने उनलाई देखेपछि जुनसुकै मान्छेलाई पनि उनीप्रतिको अत्यन्तै माया, श्रद्धा र स्नेहले पगाल्थ्यो । बैंसका बेलामा त यी सुगन्धित गुलाफ नै थिइन्।ईश्वर बरालका अनुसार भन्ने हो भने “बैंसमा पारिजातको रूप, शरीर र बोली तीनै थोकले युवाहरू मोहित हुन्थे ।” त्यसैले धेरै युवाहरू उनका छेउ पुग्न धुरिन्थे।

पारिजात प्रेमी स्वभावकी थिइन् । धेरैले पारिजात र शङ्कर लामिछानेका बीचमा पनि प्रेम रहेको शङ्का गरे । यसै प्रसङ्गमा वासुदेव लुइँटेलले भनेका थिए “शङ्कर लामिछाने पारिजातका भान्से मात्र थिए; प्रेम गर्ने अरू नै थिए ।” पारिजात सेक्सका मामलामा पनि त्यति टाढा थिइनन् । सेक्सका बारे उनी निर्धक्क भन्न र लेख्न पनि चुक्तिनथिन् र पछिसम्म उनले भनिरहिन् “मेरो पहिलो प्रेमीसँगको शारीरिक चाहना अझ पनि छ मसँग।”

चौध वर्षपुगेपछि यिनले धनुवर मुखियासँग पहिलो औपचारिक प्रीति गाँसिन् । उनी सुन्दरी भएकै नाताले काठमाडौंमा पनि प्रायः साहित्यकारहरू उनका पछि लागिरहन्थे । त्यति बेला खास गरेर यौनपिपासुहरू माझ जोगिएर हिँड्न पारिजातलाई कठिन पनि थियो । वास्तवमा त्यस घडी आफ्नो नारीत्व जोगाउन उनी असफलै पनि थिइन् । किशोरावस्थामा नै दार्जिलिङबाट स्वच्छ तन लिएर काठमाडौंमा पसेकी पारिजातले भनेकी पनि थिइन् “म दार्जिलिङबाट आउँदा चोखी केटी आएकी थिएँ, म कुनै करप्टेड केटी थिइन।”

पारिजातले साहित्य रचना गर्ने क्रममा प्रेम पनि लेखिन्, प्रकृति पनि लेखिन् र जीवन र जगत् पनि लेखिन् । लेख्तालेख्तै यिनले जम्माजम्मी तेईस पुस्तक लेखिन्। पारिजातका जेजति साहित्यिक सृजना भए तापनि उनी ‘शिरीषको फूल’ ले नै बाँचेकी छिन् । उनका अन्य कृतिहरू आआफ्नै ठाउँमा स्थापित भए तापनि पारिजातलाई ‘शिरीषको फूल’ले मात्रै अघि सारेको छ । तर उनले कुनै बेला भनेकी थिइन् “मेरो शिरीषको फूल च्यातिदिनू ।” वास्तवमा उनका राजनीतिक गुरु गोविन्द भट्टले ‘शिरीषको फूल’लाई ‘कागजको फूल’ लेखिदिएपछि उनले त्यस उपन्यासको तीव्र रूपमा आलोचना गरेकी थिइन् । मदन पुरस्कारसमेत टिपिसकेको त्यस कृतिलाई पारिजातले विकृत उपन्यासका रूपमा स्वीकार्दै जान थालेकी थिइन्।

पारिजातको जीवनको दुर्भाग्य उनको शरीर र घरको दयनीय आर्थिक अवस्था नै थियो । आर्थिक अवस्था ब्रि्रेका कारणले पारिजातले मदन पुरस्कारसँग प्राप्त गरेको चाँदीको फ्रेम पनि बेचेकी थिइन् । पारिजात बिरामी भएर थला पर्दा ठाउँठाउँमा उनका नाउँमा चन्दा उठाइन्थ्यो । जिल्लाजिल्लामा यिनको सहयोगार्थ थैली भेला पारिन्थ्यो । तर यिनका नाउँमा जेजति पैसा उठाइए तापनि यिनले कहीँबाट पनि कुनै पनि प्रकारका चन्दा र आर्थिक सहयोग लिइनन्।

पारिजातलाई प्रगतिशील साहित्यकारहरूले गुरुआमा नै मान्थे । पारिजातको स्रष्टाले पहिलो चरणमा स्वच्छन्दतावाद र छायावादलाई अङ्कमाल गर्यो । त्यसपछिका दिनहरूमा पारिजातको साधनाले अस्तित्ववादी, राल्फावादी हुँदै प्रगतिवादी मोडमा पुगेर विश्रान्ति लियो।

पारिजात साहित्यकार भएका नाताले राल्फाको नेतृत्वमा पसिन् । उनी नेपाल मानवअधिकार सङ्गठनकी उपाध्यक्ष पनि बनिन् । उनी प्रगतिशील लेखक सङ्घकी सदस्य पनि भइन् । उनी बन्दी सहायता नियोगकी संस्थापक तथा अध्यक्ष थिइन् । उनी मार्क्सवादी विचारमा बगेकी स्रष्टा थिइन्।

पारिजात नेपाली भाषासाहित्यको सेवा गरेबापत उनी २०२२ सालमा मदन पुरस्कारबाट सम्मानित भइन् । साथै यिनले गंकी वसुन्धरा पुरस्कार र र्सवश्रेष्ठ पाण्डुलिपि पुरस्कार पाइन् । त्यतिमात्रै होइन यिनले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट विद्वद्वृत्ति प्राप्त गरेकी थिइन् । उनी त्रिभुवन विश्वविद्यालय सभाको सदस्यमा मनोनीत भइन् । त्यसै गरी उनलाई नेपाल तामाङ घेदुङ सङ्घ र ‘जनमत’ साहित्यिक मासिकबाट अभिनन्दन गरिएको थियो । उनको शेषपछि उनको तस्बिर अङ्कित तीन रुपियाँको हुलाक टिकट प्रकाशनमा ल्यायो । त्यसै गरी ठाउँठाउँमा पारिजातका सालिक बन्न थाले । त्रिमूर्ति निकेतनले प्रेमराजेश्वरी थापा, गोमा र पारिजातलाई एकै ठाउँमा जोडेर पारिजातको पूर्णकदको सालिक निर्माण गर्ने पहल गरेको छ । उनका नाउँमा शिक्षण संस्था खुलेका छन् । उनका नाउँलाई शिर्षक बनाएर अनगिन्ती समालोचना, संस्मरण र जीवनीका कृति प्रकाशनमा आए।
पारिजातको इहलीला २०५० साल वैशाख ५ गते एकाबिहानै समाप्त भएको थियो । पारिजातको स्वर्गारोहणले एकपटक नेपाल नै हल्लियो । नेपाली साहित्यकी सुगन्धको विर्सजनले नेपाली भाषासाहित्यको सम्पूर्ण फाँट नै गहिरो शोकमा डुब्यो । त्यसपछि पारिजात एउटा राजनैतिक खेमाकी सम्पत्ति मात्र नभई समस्त नेपाली भाषासाहित्यकी र्सार्वजनिक सम्पत्ति बनिन् । उनका कृतिले नै उनी पाठकका भावनामा विराजमान भइन्।
naiprasai@gmail.com

Popularity: 9%

Add comment June 1st, 2011

भागीरथा प्रसाईको सौता प्रसङ्ग

भागीरथा प्रसाईको ९३औं शुभजन्मोत्सवको सन्दर्भ
मेरी सासू भागीरथा प्रसाईको सौताप्रसङ्ग
इन्दिरा प्रसाई / एचकेनेपाल डट कम-“आमा ! ससुराबाजेको त्यत्रो बयान गर्नुहुन्छ, अनि हजुर हुँदाहुँदै मेरा ससुराले किन अर्की बिहे गर्नुभएको त ?” उहाँको पति सम्मोहन तोड्न चाहन्छु म । मैले सोचेकी थिएँ, अब मेरी सासूको अनुहारमा खिन्नताका रङहरू छाउनेछन् र उहाँले आफ्ना पतिका विरोधमा केही शब्दहरू ओकल्नुहुनेछ । “काँ उहाँले आफै बिहे गर्नुभएको हो र ? त्यसको पनि कथा छ ।” उहाँले त मुसुमुसु हाँस्दै जवाफ दिएर ममा उहाँको सौताकथा सुन्ने उत्सुकतासमेत जगाउनुभयो।

“बुझयौ मेरी सासू शिवमायाका माइती शिवाकोटीहरू र मेरा माइती उप्रेतीहरूबीच एउटा कुरामा टसल परेछ । कुरा के भने शिवाकोटी परिवारमा विवाह भएकी एउटी उप्रेतीकी छोरी विधवा भइछन् । उप्रेतीकी विधवा भएकी छोरीलाई शिवाकोटीहरूले खान नदिएको झोँकमा उप्रेतीहरूले धावा बोलेछन् । उनीहरूले शिवाकोटीहरूका धन्सारबाटै धान झकिर आफ्नी चेलीको खानपानको व्यवस्था गरेर अबला चेलीलाई न्याय दिलाएछन् । यस घटनाले त्यस बखत शिवाकोटी परिवारमा उप्रेती परिवारप्रति वैमनस्य भएछ । त्यसैले यस घटनाबाट इखिएकी मेरी सासूले पनि म उप्रेतीकी चेली भएकीले मलाई सौता हालिदिएर उप्रेतीहरूको सेखी झार्न खोज्नुभएको रहेछ । तर मेरोचाहिँ सेखी झरेन ।” त्यस्तो कथामा आधारित मेरी सासूको सौताप्रसङ्ग मेरै सासूद्वारा प्रस्तुत भएको थियो।

त्यस बखत मैले सोचे विपरीत मेरी सासूका अनुहारमा सौताप्रसङ्गमा पनि गर्वको भाव देखा पर्दा म अचम्मित भएकी थिएँ । मेरी सासू सौताजस्तो कुरामा पनि नपिरिनुभएको देख्दा ममा हुनसम्मको कौतुहल जागेको थियो।

“मलाई दुःख दिन भनेर मेरी सासूले सौता त ल्याइदिनुभयो, “त्यो केटी मैले बिहे गरेकी होइन, आमाले बिहे गर्नुभएको हो, अब उहाँले नै यसलाई जे गर्नुपर्छ गर्नुहोस् । मलाई मतलब छैन” भनेर सौता भित्र्याएपछि मेरा पतिले भन्नुभयो । मेरी सौताका बारेमा मेरा पतिका यस्ता कुरा सुनेर मलाई पो पीर पर्यो । अब उहाँले बिहे गरेर ल्याइसकेपछि त्यसबाट जायजन्म भएनन् भने मेरो लोग्नेलाई नै पाप लाग्छ भनेर मैले नै उहाँलाई सम्झाएँ, बुझाएँ । मैले निकै सम्झाएपछि उहाँले मेरा लागि मेरी सौतालाई वरण गर्ने हुनुभयो । तर उहाँले मेरी सौतालाई स्वीकार गर्नुअघि त्यसलाई मेरा पाउमा झुकाएर भन्नुभयो, “हेर् ! म यसको लोग्ने हुँ, तेरो लोग्ने चाहिँ यो हो । तैँले लोग्नेप्रति गर्ने सम्पूर्ण आदर सम्मानको व्यवहार यसलाई गर्नू ।” लोग्नेको यस्तो आदेशको पालना पनि मेरी सौताले मेरो लोग्ने र ऊ स्वयम्को जीवनकालभरि पनि गरिरही । जसले गर्दा मैले मेरी सौताप्रति सधैँ आश्रतिलाई जस्तै संरक्षकको व्यवहार गरेँ ।” सौताकथा पनि बढो दम्भ र पुरुषार्थका हिसाबले सुनाएर मेरी सासू चुप लाग्नुभएको थियो।

त्यसो त ताप्लेजुङस्थित आठराई हाङपाङ निवासी दधिराम चुडालकी छोरी दिव्यरूपा अर्थात् मेरी सौतेनी सासू असल पनि हुनुहुन्थ्यो भन्ने कुरा मैले मेरी सासूबाट सुनेकी थिए । अनि मेरी सासूले पनि आफ्नी सौतालाई माया गर्नुहुन्थ्यो भन्ने पनि मैले थाहा पाइसकेकै कुरा थियो।

हुन त त्यस बेला मेरी सासूको सौता सन्दर्भको पूर्णकथा सुनेर भने मलाई बडो सकस भयो । म त त्यसरी पनि आफ्नो लोग्ने बाँड्न सक्तिनँ । कुनै पनि हिसाबले लोग्ने बाँड्ने कुरालाई म सहन सक्तिनँ । लोग्ने बाँड्नुपर्ने परिस्थितिमा बरु त्याग्नु मेरा लागि सुखद हुनसक्छ र मेरो जीवनमा त्यो घटना घटेको पनि छ । मेरो मनोवृत्तिभन्दा ज्यादै फरक मनस्थितिकी मेरी सासूको सौताकथाले मेरो मानस किल्लामा नै आक्रमण गर्न खोजेको थियो । पितृसत्तात्मक उपज मेरी सासूजन्य महिलाहरूका कथाले मलाई निकै पिरोल्ने पनि गर्छ । “अनि सौतेनी आमाबाट पनि जायजन्म भयो हैन आमा ।” मैले यसै प्रसङ्गमा अझै उहाँका भावना उधिन्न खोजेँ । “मैले नै मेरो लोग्नेलाई बिहे गरिसकेकी स्वास्नीबाट जायजन्म नगराइएमा लोग्ने मानिसले भोग्नुपर्ने पाप देखाएर मेरी सौताबाट पनि जायजन्म गराएकी हुँ । उहाँ त त्यस आइमाईको छायाँ पनि मनपराउनुहुन्न थियो ।” यसो भनिरहँदा पनि उहाँको गर्व नचोटिएको देख्दा मलाई थप आर्श्चर्य लागेको थियो । परम्पराप्रति मेरी सासूको के विधि आस्था ! लोग्नेप्रतिको कत्रो निष्ठा र कस्तो प्रेम ! अनि लोग्ने पनि कति कुटनीतिज्ञ ! हिजोआजका लोग्ने मानिसले एउटी स्वास्नीलाई पनि रिझाउन सक्तैनन्, त्यस बखत मेरा ससुराले दुईदुईवटी स्वास्नीलाई पनि आफ्नो भक्त बनाएर राख्न सक्नुभएको घटना पितृसत्ताका रक्षकहरूका लागि उदाहरणीय र अनुकरणीय पनि भएको छ भन्ने मलाई लाग्यो।

मेरी सासूले हाम्री सौतेनी सासूलाई कहिल्यै हेला गर्नुभएन । त्यही कारण मेरा देवर जेठाजुहरूका मनमा पनि कहिल्यै सौतेनी भावनाले जरा समातेन । नरेन्द्रले पनि आफ्नी कान्छी आमापटि्टबाट जन्मेका दिदीबहिनी र दाजुलाई पनि सधैँ आदर गरिरहनुभयो । नरेन्द्रले नै कान्छी आमापटि्टबाट जन्मेका छोरा लक्ष्मी जेठाजुलाई पनि काठमाडौँ ल्याउनुभएको रहेछ । वास्तवमा नरेन्द्रको चाहिँ सबै दाजुभाइ र दिदीबहिनीहरूसँग बराबरी नै हुरुक्कै हुने प्रवृत्ति मैले सधैँ देख्तै आएकी छु । नरेन्द्र आफ्नी कान्छी आमासँग पनि समर्पित हुनुहुन्थ्यो । उहाँ आफ्नी कान्छी आमा हाम्रा घरमा आँउदा काशी (तीर्थ) नै घरमा आए जस्तो ठान्नुहुन्थ्यो । वास्तवमा कान्छी आमाप्रति नरेन्द्रको भावना साह्रै उच्च भएको मैले प्रत्यक्ष देखेकी छु । चन्द्रावती दिदी र गौरी बहिनीप्रति पनि नरेन्द्रको त्यतिकै लगाव छ । त्यति मात्र होइन झन्नै तीन दशकपूर्व स्वर्गीय भएकी रामकुमारी बहिनीको पनि नरेन्द्रले प्रायः कुरा झिकिरहनुहुन्छ । उहाँका लागि कान्छी आमाका छोराछोरी पनि आफ्नै आमाले नै जन्माए जस्ता मानिन्छन्।

मेरी सासूले आफ्ना पतिको देहवसानपछि पनि आफ्नी सौताको कदर गरिरहनु भयो। आफ्नी सौतालाई भौतिक सहयोग गर्न पनि उहाँ कहिल्यै पछि पर्नुभएन । यसै परिवेशमा मेरी सासूले मलाई भन्नुभयो “म झापा झर्दा मेरो सम्पूर्ण घर, जग्गालगायत घरबारका सबै सामग्रीहरू पनि दिव्यरूपालाई नै दिएर आएकी थिएँ । धेरै वर्ष ऊ हाङपाङ मै बसी । पछि ऊ पनि काठमाडौँमै आएर डेढदुई वर्षजति कालेसँग बसेकी थिई । स्वर्गे हुनुभन्दा अघि पनि ऊ मलाई भेट्न हाम्रो घर आइरहन्थी । ऊ मलाई ‘मेरी दिदी’ भन्थी । उसले हरेक भेटमा मेरा खुट्टा ढोग्थी । उसको प्राण जानुअगाडि पनि उसले मलाई भेट्न खोजेकी थिई रे । तर मेरो छोरो दीर्घराजले हामीमाझ अपराध गरिदियो । उसले मेरी कान्छीसँगको भेटघाटमा बार लगाइदियो । दीर्घराजको मुखै कालो, पेटै कालो भएको छ । उसले कालेकी आमाको सास जाने बेलामा उसँग मलाई भेट्नै दिएन । मेरी कान्छीसँगको मेरो अन्तिम भेट्ने इच्छा अधुरो भयो । कठैबरी ! कालेकी आमा स्वर्ग जाओस्।”

Popularity: 9%

1 comment May 22nd, 2011

मेरो ५६ वर्ष - नरेन्द्रराज प्रसाई

नरेन्द्रराज प्रसाई/ एचकेनेपाल डट कम-
म छक्क परेको छु, आजै मैले छपन्न वर्ष पार गरिसके छु। बाह्र वर्षसम्म मेरै जन्म थलो ताप्लेजुङको हाङ्पाङमा मैले मेरो आँसु र हाँसो ओछ्याएर विताएँ । अनि पन्ध्र बर्षसम्म झापाको शनिश्चरेमा साइकल र घोडा कुदाएर मैले केही सुखद् समय पनि कटाएँ । त्यही समयमा म मेरी ठूलीमाका छोरा शिवप्रसाद शिवाकोटीको नेतृत्वमा माओ त्सेतुङ जिन्दावाद भन्दै हिंड्न थालें । तर मैले मेरा दाजु नन्दकुमार प्रसाईका प्रेरणाले बाह्र वर्षको उमेरअघि नै माओ त्सेतुङको बिल्ला लगाएर हाङपाङको सरस्वती हाइस्कुल जाने गरेको थिएँ।

२०२७ सालको मङ्सिर महिनामा झापाको सालबारीमा शिवप्रसाद शिवाकोटीका साला खड्ग दाहाल र म प्रहरीसँगको लाठी मुङ्ग्रीमा परेपछि मलाई त्यहाँ बसेर पढ्न कठीन भयो । अनि मेरी दिदी नीरा सिटौला र भिनाजू नीलकृष्ण सिटौलाको सदविचारले म सोह्र वर्षको उमेरमा काठमाडौं छिरें । त्यति खेरको मेरो आपतविपतले म राजसंस्थामा लागेछु।दुर्योधनसँगको वचनमा बाँधिंएका कारण कर्ण दुर्योधनकै दलमा समर्पित भए जस्तै म पनि त्यस्तै भएको छु भन्दा मलाई फिटिक्कै ग्लानी छैन ।
सोह्रदेखि छपन्न वर्षासम्मको समय मेरो आँसु र हाँसोमा वितेको मैले महसुस गरेको छु । त्यही बेला मलाई गीतकार हुने पनि मौका जुर्यो । अरुणा लामाको स्वरमा “हाँसीहाँसी जलीरहें” पनि मेरो त्यही कष्टकर भाकाको उपज थियो, तापनि मैले सुकमित गुरुङको स्वरमा आबद्ध “मिर्मिरेमा तिमीलाई हेर्न मन लाग्छ” जस्तो सुखद गीत पनि लेखें । यही क्रममा मेरा पौने दुई सय वटाजति दुखान्त भाकाका गीत तयार भए भने करीव दुई दर्जनजति रोमान्टिक गीत पनि लेख्न भ्याएछु । वास्तवमा गीत त्यस बेलाको मेरो जीवनलाई गितशील बनाउँने एउटा बुटी थियो । यथार्तमा कसैलाई भन्न नसक्ने मेरो हृदयको व्यथा नै गीतिभाकामा प्रस्तुत हुन थाल्यो । मलाई लाग्छ शायद त्यसरी गीतमा मैले मेरा भावना पोख्तै नहिंडेको भए म आजको यो अवस्थामा आइपुग्ने थिइँन होला।

मेरो विगत सुक्खमा वितेन । त्यति बेला कहिले म आर्थिक हाहाकारमा चिरिएँ, कहिले म पारिवारिक पहिरोमा बगें र कहिले साहित्यिक यात्रामा पनि अनायसैको चट्याङमा परें । अनि यी प्राय : घटना मेरा जीवनमा टाँस्सिएको राजनीति कै कारणले पनि भएको थियो । औसरवादी हुन नचाएको पुरस्कार अझै पनि मैले परोक्ष र प्रत्यक्ष जताबाट भए पनि भोग्नु परिरहेको छ । तर जेजस्तो स्थितिको धारमा रेटिनु परे तापनि मैले आफूलाई पिपलपाते कलामा बदल्नै सकिन । त्यसो त मैले मेरो साहित्यलाई राजनीतिमुक्त कित्तामा सुरक्षित राखेको हुँदा मलाई अरुका राजनीतिक नारा र जुलुसले कुनै पनि प्रकारको प्रभाव दिन सकेन ।यहीक्रमले म हिंडिरहें, हिडिरहें र फेरि पनि हिंडिरहें।

अब त मैले लेखेका केही किताव पनि कक्षा छदेखि एम्एसम्मका पाठ्यक्रममा लाग्न थाले । नेपालभित्र मात्र होइन भारतका विभिन्न शिक्षणसंस्थाहरुमा पनि मेरा किताव भाइबैनाले पढने गर्छन् । झन्नै पाँच दर्जनजति लेखन र सम्पादनका मेरा कृतिहरु साहित्यको मन्दिरमा चढिसकेका छन्।अझै मेरा एक दर्जन कितावका पाण्डुलिपीहरु मुद्रणमा जाने बाटो खोज्दै मसँग सुरक्षित छँदैछन् । मबाट अरु पनि लेखन जारी छँदै छ । दैनिक अन्नपूर्ण पोष्टको साप्ताहिक स्तम्भकारका रुपमा पनि म आबद्ध छु । साथै त्रिमूर्ति निकेतन र नइ प्रकाशनप्रति पूर्ण बफादार हुनुचाहिं मेरो नैतिक कर्तव्य नै हो।

मेरो मनमा कसैप्रतिको रिस छैन । किनभने म अफ्नो काममा नै रुचि राख्छु।म कसैलाई झुटो आश्वासन पनि दिन्न किनभने मलाई ज्यूदै मर्न डर लाग्छ । म केही बढी परिश्रम पनि गर्छु किनभने मैले गर्नु धेरै छ । त्यसैले म बिहान छ बजे उठिसक्छु र राति बाह्र वजेअघि नै सुतिसक्छु । अनि त मेरो छोरो कञ्चनजङ्घाले बराबर लेख्ने र भाषण गर्ने गर्छ “मलाई मेरा बुबाको परिश्रम र लगन मन पर्छ ।” तर सधैं उ मलाई भन्ने गर्छ “बुबा धेर नघोटिनु नि !” मेरी कान्छी छोरी अनुकृतिकालाई तिम्रो बुबाको नराम्रो बानी के छ भनेर कसैले प्रश्न गर्दा उस्ले भन्दिरैछे “बुबाको जोतिएर काम गर्ने बानी मलाई पटक्कै मन पर्दैन ।” आज बिहानै मेरो छोराले आएर मलाई भन्यो “बुबा आजदेखि काम आधा घटाउनु ल !” मैले ल भनिदिंदा इन्दिरा, प्रिया, अनुकृतिका, सुमित्राराज्यलक्ष्मी चौधरी र अनूप थापाले वेस्सरी ताली बजाएका थिए । अनि सबैको लहलहैमा लागेर मेरी ९३ वर्षीय आमाले पनि ताली बजाउनु भएको थियो।

मेरी आमा भागीरथा प्रसाई मेरै साथमा हुनुहुन्छ ।उहाँ पढ्न सक्नु हुन्न तर मैले लेखेका कुरा कहिलेकाहीं म उहाँलाई सुनाउने गर्ने गर्छु ।केही दिन म त्यस कामबाट चिप्लेर हिंडें भने उहाँ भन्नु हुन्छ “छोरा तैंले लेखेको मलाई पनि सुना न !” त्यसैले उहाँले बुझे पनि र नबुझे पनि म उहाँलाई मेरा लेख सुनाउने गर्छु । मेरी आमा उहाँको हरेक पलमा मेरो अस्तित्व गाँस्न चाहानुहुन्छ । शायद त्यसैले नै मलाई बचाएको हुनुपर्छ । मैले मेरी आमाको अहोरात्र आशिरवाद पाएर नै म यत्तिको भएको छु जस्तो मलाई लाग्छ। भोल्टेयरले भनेको एउटा कुरा मलाई सारै चित्त बुझेको छ र मैले मेरी आमाको फोटो मुनी त्यही कुरा लेखेर मेरा कोठामा राखेको छु “संसारमा सबैभन्दा राम्रो पुस्तक पढें भने मैले मेरी आमालाई पढें ।” किनभने मैले मेरी आमाको सम्पूर्ण दुक्ख देखेको छु र नदेखेको जति सुनेको पनि छु । अनि त म कुनै पनि क्षणमा आमा छाड्न सक्तिन । अनि मैले जति नै सुसेली बजाए तापनि मेरी आमाको सम्पूर्ण कार्यकर्ताका रुपमा चाहिं इन्दिरा नै देखा परेकी छिन्।

मेरी पुरोधिका इन्दिरा मेरो जीवनमा घाम भएर झुल्किन् । क्रमश : हामी माझको प्रेम पनि विशिष्ट भएर प्रस्तुत हुन थाल्यो । यो जुनीमा मैले इन्दिराको गुन तिर्न नसक्ने अवस्थाको उनले मेरो टाउकामा ऋणको भारी बोकाई सकेकी पनि छिन्।

जुनदिनदेखि इन्दिराको पाइलो मेरा घरमा पस्यो, त्यसदिनदेखि उनले मेरी आमाको सम्पूर्ण जीवनरक्षा गर्ने काम गरिन् ।त्यतिमात्र होइन उनले कञ्चनजङ्घाको संरक्षकत्व ग्रहण गरिन् ।त्यसैले अहिले मेरो संसार झलमल्ल छ । आर्थिक रुपमा पनि सम्पूर्ण ब्यबहार मेरा छोरा कञ्चनजङ्घा, बुहारी प्रिया र इन्दिराबाटै धानिन्छ । उनीहरु तीनैजना क्याम्पसमा पढाउँछन् । अमेरिकामा गीताञ्जली छे, बेलायतमा निकेतिका छे । उनीहरुबाट पनि मलाई विविध सहयोग र सद्भावना बराबर भैरहेको छ । मेरी कान्छी छोरी अनुकृतिका त मेरो सेक्रेटरी नै भै हाली।

मेरो जीवन आज सुखद दिनमा रुपान्तर भएको छ । वास्तवमा यस्तो दिन कुनै बेला मेरो कल्पनाको पहुँचभन्दा बाहिरको कुरा थियो । त्यसैले आजको यो मेरो सानो संसार मेरा लागि सपना नै जस्तो पनि भएको छ । सपनाकै कुरा गर्ने हो भने पनि इन्दिरा र मेरो माया, विश्वास र समर्पणको प्रतीकका रुपमा स्थापित नइ प्रकाशन पनि विपनामा नै फक्रने क्रममा छ।

Popularity: 8%

1 comment April 12th, 2011

व्यङ्ग्य लेखनका हस्ती जनकलाल शर्मा

व्यङ्ग्य लेखनका हस्ती, पुरातत्वका ज्ञाता अनि नेपाली भाषासाहित्यका महारथी जनकलाल शर्मा
नरेन्द्रराज प्रसाई/ एचकेनेपाल डट कम-

जनकलाल शर्मालाई नचिन्ने नेपाली साहित्यकार प्रायः छैनन् । यिनलाई चिन्नेमध्ये वासुदेव शर्मा लुइँटेल पनि एक थिए । लुइँटेलले जसको नाउँ पनि त्यस मान्छेको केही न केही प्रवृत्ति जोडेर र उसलाई अलिक होच्याएर नै राख्ने गर्थे । त्यसैले उनले जनकलाल शर्मालाई धोवी भन्थे।

जनकलाल शर्मा पनि व्यङ्ग्यका महारथी थिए । बोलाइमा मात्र होइन लेखाइमा पनि उनी अरूलाई छेड हान्न छाड्दैन थिए। तर उनको छेड सौर्न्दर्यले भरिएको हुन्थ्यो । उनी सारै पेचपरेपछि मात्रै मान्छेलाई घोचेर भन्थे र व्यङ्ग्य गरेर लेख्थे। अनि लेख्तालेख्तै उनी नेपाली भाषासाहित्यका पनि महारथी भए । उनको लेखनको सीपले उनी देशदेशान्तरमा सुपरिचित भए । संसारभरि जहाँजहाँ नेपाली भाषासाहित्य छ त्यहीँत्यहीँ उनको लेखकीय व्यक्तित्व पुगेको छ । लेख्तालेख्तै यिनले दर्ुइ दर्जनजति पुस्तक लेखे । लेखेरै यिनले चार नम्बरको गोरखादक्षिण बाहु पाए । लेखेरै यिनले चार हजार रुपियाँ राशिको मदन पुरस्कार पनि पाए।

‘१९८३ साल वैशाख १७ गते जन्मेको हो मेरो छोरो भनेर दार्जिलिङको स्कुलमा नाउँ लेखाइदिएका थिए मेरा पिताले’ भन्ने जनकलाल शर्मा यथार्थमा इलामको क्याबुङमा १९७८ साल वैशाख १७ गते नै जन्मेका थिए । यिनका बुबा आमाको नाउँ थियो गोविन्दप्रसाद उपाध्याय ढकाल र कौशल्यादेवी । यिनीहरु कृषि पेशामा आबद्ध थिए । तर ताक परेका बेला गोविन्दप्रसाद ढकाल जजमानी पनि गर्थे । आफ्ना आमाबुबाकै नेतृत्व र संरक्षणमा शर्माको वाल्यकाल र किशोरावस्ता टुङ.गिएको थियो।

शर्मा नेपाल र नेपाली प्रति खुवै चासो राख्थे । त्यसैले यी नेपालका धेरै गाउँ डुले र त्यही परिवेशमा डुबेर यिनले ‘हाम्रो समाज : एक अध्ययन’ नामक एउटा वृहत् सामाजिक इतिहास लेखे । साथै यिनले आफू पुगेका ठाउँमा पाठकहरूलाई पुर्याए । अर्थात् भनौं यिनले नियात्रा पनि लेखिरहे । साथै यी एसिया र युरोपका केही देश पुगे र त्यस विषयमा पनि यिनले लेखे।

शर्माले दार्जिलिङदेखि बनारससम्मका स्कुल तथा कलेजहरू पढे । अन्त्यमा यिनले भारतको उत्तर प्रदेशबाट साहित्यरत्नको उपाधी लिए र यी फेरि नेपाल पसे । नेपाल आएर उनले सुरुमै सरकारी जागीर खाए तर त्यस बेला यिनको पद मास्टर थियो । क्रमशः उनी पुरातत्व विभागको महानिर्देशकसम्म पनि भए । उनले अरु हाकिमजस्तै कुर्सीमा बस्ने काम मात्र गरेनन् । त्यहाँ जागीर खाएर उनले त्यसै सर्न्दर्भमा नेपालका विभिन्न ठाउँको भ्रमण गरे र पुरातत्वका ज्ञानहरू बटुले । अनि उनले त्यस विषयका लेखरचनाको पनि आविष्कार गरे । त्यही काममा लाग्दा भारतका महापण्डित राहुल साङ्कृत्यायनसँग पनि यिनको सर्म्पर्क भयो । यिनहिरुको एकअर्कासँग सम्बन्ध पनि कस्तो थियो भने राहुलले उनलाई लेखेका चिठीमात्र १०४ वटा फेला परे । शर्माकै कारण राहुलले तेश्रो पत्नीका रुपमा डा. कमला साङ्कृत्यायनसँग विहे पनि गरे।

शर्माले महाकवि देवकोटालाई मामा भन्थे । शर्माका कारणले राहुलले देवकोटालाई भारतीय तीन कवि पन्त, प्रसाद र निराला बराबर नेपालका एकजना महाकवि देवकोटा लेखे । अनी त्यसै घडी राहुलले देवकोटालाई पागलको सङ्केत गरेर पनि लेखे । त्यो पढेर देवकोटाले जनकलाललाई उति नै खेर लछारपछार गरे । अनि त्यसै राति उनले ‘जरुर साथी म पागल’ भन्दै एउटा कविता पनि लेखे र भोलिपल्टै त्यो जनकलाललाई सुनाए।

शर्मा पुस्तक प्रेमी थिए । हात बाहिर पुस्तक भएका बेला उनीसँग कलमकापी हुन्थ्यो । उनी लेखिरहन्थे । त्यो पनि भएन भने उनको जनसर्म्पर्कमा समय जान्थ्यो यात टेलिफोनमा उनी झुण्डिरहन्थे । तर उनी ध्यान गरेरचाहिं बस्नै सक्तैन थिए । साथै उनी साथीभाइ भेला पारेर रक्सी खुवाउँथे र आफू पनि खान्थे । विजुली खाएर यी टिल्ल मात्थे तर नाक र मुख भूईँमा जोत्तैन थिए । एक दिन बिजुली खाएर उनले भनेका थिए, ‘एक पटक केशवराज पिँडाली बिजुली खाएर पिसाब गर्न गएका थिए । पिसाब गरिसकेपछि उनले प्यान्टको टाँक (त्यस बेला प्यान्टमा फस्नर लाउने चलन थिएन) लगेर कोटको टाँक लगाउने ठाउँमा लगाएछन् । त्यसै कारण उनी शौचालयमै कुप्रो परेकापरेकै भएछन् । केही छिनपछि पनि पिँडाली फर्केर नआउँदा म उनलाई खोज्दै शौचालय छिरेँ । त्यहाँ उनलाई कुप्रो परेर बसेको देखेपछि हत्तपत्त बोकेर वीर अस्पतालको इमर्जेन्सीमा पुर्याएँ । उनी इमर्जेन्सीको खाटमा सुताइए । डाक्टरले कैंचीले च्वाट्टै टाँक काटेर उनलाई बिदा दिए ।’ त्यस दिन शर्माका कुरा सुनेर हाँस्नेहरूमा दार्जिलिङका डा.कुमार प्रधान, ईश्वरवल्लभ र नरेन्द्रराज प्रसाई थिए । उनको विशेष सोख नै हाँस्नु हो भनेझैं गरी उनी प्रायः हाँस्थे । उनको हँसाइमा पीडाको रूपरङ्ग देखिँदैनथ्यो । दिल खोलेर हाँस्नु उनको कला थियो।

आफूलाई भेट्न आउनेलाई शर्मा हँसाइरहन्थे । उनी अरूलाई प्रायः व्यङ्ग्य पनि हानिरहन्थे । अनि उनलाई पनि अरूले अपमान गरिहिन्थे, त्यो पनि उनी सहिरहन्थे । उनी केही कुराको पनि प्रत्युत्तरचाहिँ छिट्टै दिँदैनथे । त्यसैले उनले दिने प्रयुत्तरहरू पनि छुट्तै जान्थे । पछिपछि आफ्ना निबन्धमा उनी आफूलाई अपमान गर्नेलाई हिर्काएर पनि आफ्नो मन शान्त पार्थे।

शर्माले २००२ सालमा (चन्द्रकला) संग बिहे गरे । यी दम्पत्तिबाट तीन छोराछोरी जन्मे । उनलाई २०४३ सालमा पत्नीशोकले छोप्यो । त्यसपछि मात्र उनले आफ्नो सक्कली जुनी बुझे।

शर्मा हरेक प्रकारका खानाका सौखिन थिए । जुवा खेल्नेको विरोधी थिए । कसैले उनका विषयमा कुरा गर्दा उनी थाहा पाइहाल्थे ‘यो के भन्दै छ -’ उनी आफूलाई र्सकाएको रहेछ भने तुरुन्तै बुझथे र भन्थे ‘मसँग तपाईं के पटयाउन लाग्दै हुनुहुन्छ !” उनी खुलस्तका चौबीस क्यारेडका सुन थिए।

शर्मा प्रायः सबै कुराका सोखिन थिए । बजारमा राम्रो कलम निस्केको छ भने त्यो उनका घरमा पनि देखिन्थ्यो । राम्रा किताब, राम्रो लाइट, राम्रो चिम र भान्सामा प्रयोगमा आउने राम्राराम्रा सामानहरू किन्नमा पनि उनको विशेष रुचि थियो । उनी पैसाले माल किन्दैनथे, मालका लागि पैसा तिर्थे । उनका घरमा एउटा असल छोरो सुमन र एउटी असल बुहारी रम्भा पनि थिए । वास्तवमा उनको घर नै मनमोहक थियो । उनी बराबर भन्थे ‘कसैको सभ्यता हेर्नुपर्छ भने त्यस घरको शौचालय, घरमूली स्त्रीको कुर्कुच्चो र काम गर्ने मान्छेको कपडा हेरे पुग्छ।’

शर्माको सुत्ने कोठामा पनि पुस्तकका र्याक नै र्याक हुन्थे । उनको बैठककोठा त पुस्तकालय नै थियो । तर उनी कसैलाई एउटै पुस्तक दिँदैनथे । कसैलाई पुस्तक दिँदा लामो तमसुक नै लेख्नुपथ्र्यो । त्यसरी उनले पुस्तकहरूको आदर गरेका थिए । तर उनको शेषपछि त्यहाँको पुस्तकालय, दराज र पुस्तकहरु खण्डित भएर हरेक कोठाकोठामा शरण पर्न थाले।

नेपाली साहित्याकाशका प्रखर, निष्ठावान् र माथिल्ला कोटीका साधक शर्मा सिर्जनामा नै जोतिदा जोतिंदै थला परे । २०५६ साल माघ १६ गते अथवा शहीद सप्ताहको अन्तिम दिन उनी पनि स्वर्ग गए।
naiprasai@gmail.com

Popularity: 7%

Add comment March 28th, 2011

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2018
M T W T F S S
« Feb    
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....