Archive for July, 2005

म र राजद्रोह: हिरासतमा रहेका विद्यार्थी नेता गगन थापाको अपिल

(जिल्ला प्रहरी कार्यालय हनुमान ढोकामा हिरासतमा रहेका विद्यार्थी नेता थापाले शुक्रबार जारी गरेको अपिललाई कान्तिपुरबाट साभार गरेका हौं । -सम्पादक )

-गगन थापा
नागरिक समाजले साउन १० गते आयोजना गरेको विरोध प्रदर्शनमा राजसंस्थाविरोधी नारा लगाएको र निषेधाज्ञा तोडेको हास्यास्पद आरोपसहित शाही सरकारले मलाई साउन १२ गते कायरतापूर्वक हिरासतमा लिएर राज्यविरुद्ध अभियोगको मुद्दा लगाउने तयारी गरेको छ । यो मुद्दा राजाका निरंकुश कदमको सबैभन्दा मुुखर प्रतिरोध गर्दै आएको युवा र विद्यार्थी पंक्तिलाई आतंकित पार्ने साह्रै तल्लो दर्जाको चालबाजी हो । शाही सरकार अब आन्दोलनकारीलाई सके किन्ने, नसके थुन्ने र बदनाम गर्ने निचतापूर्ण काममा लागेको छ । यही दमन उसको पतनको कारण बन्नेछ ।

संवैधानिक, नैतिक, राजनीतिक र वैचारिक रूपमा कुनै हैसियत नभएको यो सरकारले कुनै पनि स्वाभिमानी नागरिकलाई मुद्दा लगाउने नाटक गर्नु आफैंमा ठट्टा मात्रै हो । त्यसमाथि पूर्ण लोकतन्त्रप्रतिको मेरो सक्रिय निष्ठा राजद्रोह हो भने त्यस्तो ‘राजद्रोह’ मबाट जीवनपर्यन्त भइरहनेछ । जनताको सम्प्रभुता र सार्वभौमसत्ताका पक्षमा हामी तरुण विद्यार्थीहरूको निरन्तर संघर्ष शाही सरकारलाई राजद्रोहजस्तो लाग्छ भने त्यस्तो ‘राजद्रोह’ का लागि म मन, वचन र कर्मले समर्पित छु । हरेक दिन ‘प्रजातन्त्रप्रति प्रतिबद्धता’ को नाटक गर्ने तर प्रजातन्त्रकै गला रेट्ने शासकहरूको जस्तो दोहोरो मापदण्ड हामी युवापुस्ताको छैन । हामी जे हौं र जे गर्छौं, हिम्मतपूर्वक स्वीकार पनि गर्छौं । म चुनौती दिन्छु, आज बन्दुकका बलमा हामीलाई अभियुक्त बनाएर कठघरामा उभ्याउन खोज्नेहरूले निकै छिटो आफैं अभियुक्त बनेर इतिहासको कठघरामा उभिनुपर्नेछ ।

यतिखेर म राजद्रोहको अभियोग खेपिरहेको छु र दासतावादी शिक्षाको विरोध गरेको ‘अपराध’ मा सहयोद्धा विद्यार्थी साथीहरू प्रदीप पौडेल, ठाकुर गैरे, सरोज थापा, बीपी रेग्मी, नारायण भारती र पुष्प शाही सार्वजनिक सुरक्षा ऐन अन्तर्गत हिरासतमा छन् । जसले मुलुकलाई अन्तर्राष्ट्रिय जगतबाट अलग्याए र संसारकै अछूत देशसरह बनाए, जसले प्रजातान्त्रिक विधि र प्रक्रियालाई कुल्चेर मुलुकलाई थप संकटतिर डोर्‍याए, जसले नागरिकका अधिकार खोसे र मुलुकप्रति तिनको आस्था र समर्पण कमजोर बनाए, तिनले हामीलाई ‘राजद्रोही’ र ‘समाजद्रोही’ सावित गर्न खोज्नुको कुनै तुक छैन । यो सरकारसँग थोरै पनि नैतिकता बाँकी छ भने सबैभन्दा पहिले लोकतन्त्रका संवाहक र जनताका वास्तविक प्रतिनिधि राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाउनुपर्छ र अराष्ट्रिय तत्त्व घोषणा गर्नुपर्छ भन्दै हिंड्ने भाट भारदारहरूलाई राजद्रोहको मुद्दा लगाओस् । यदि हामी तरुण राजद्रोही हौं भने अब सिंगो देश राजद्रोही भइसकेको छ ।

नेपाली तरुण र विद्यार्थी साथीहरूलाई मेरो अपिल छ- अब तानाशाहीको दाहसंस्कार गर्ने समय आएको छ । यो शुभकर्म हाम्रै हातबाट हुनु छ किनकि इतिहासले हामीलाई यो जिम्मेवारी दिएको छ । हामीले पुस्तौंदेखिका बेथितिको हिसाब माग्नु छ । अत्याचार र उत्पीडनको इतिहासलाई सच्याउनु छ । निरंकुशतालाई सदाका लागि समाप्त पार्नु छ। प्रतिगमनविरुद्ध आन्दोलनरत दलहरूलाई तरुणहरूका तर्फबाट मेरो अनुरोध छ- अब संवाद आवश्यक भए राजालाई छ, दलहरूलाई होइन । राजासँग संवादको औचित्य अब समाप्त भएको छ । दलहरूले अब सबै मोर्चा आन्दोलनका लागि खोलुन् । अब फैसला कुनै दरबारमा होइन, सडकबाट होस् ।

नेपाल विद्यार्थी संघको महाधिवेशनको मुखैमा र निर्णायक संघर्षको आरम्भमा मलाई जसरी गिरफ्तार गरियो र जे मुद्दा लगाइँदै छ, त्यसले मलाई हतोत्साही होइन, बरु अरू साहसी बनाएको छ । जेल जानुपर्छ, झुट्टा मुद्दा खेप्नुपर्छ भन्ने थाहा नपाएर म पूर्ण लोकतन्त्रका पक्षमा उभिएको होइन, बरु ज्यानकै बाजी थापेर भए पनि सदाका लागि तानाशाही समाप्त पार्ने सपथ खाएर राजनीतिमा आएको हुँ । सचेत नागरिक समाज, देशभरिका विद्यार्थी साथीहरू, राजनीतिक दल, राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी र प्रबुद्ध सञ्चारजगतले ममाथि राज्यको अत्याचारविरुद्ध देखाएको चासोप्रति म हृदयदेखि नै कृतज्ञ छु । निकै छिटो तानाशाही ढल्नेछ र पूर्ण लोकतन्त्रको अरुणोदय हुनेछ ।

(जिल्ला प्रहरी कार्यालय हनुमान ढोकामा हिरासतमा रहेका विद्यार्थी नेता थापाले शुक्रबार जारी गरेको अपिल )

Popularity: 8%

2 comments July 31st, 2005

अपहरित सात कर्मचारी मुक्त

एचकेनेपाल डट कम सम्वाददाता ।
माओवादीद्वारा हिजो शनिवार अपहरित इलामका स्थानीय विकास अधिकारीसहित सात कर्मचारीलाई आज मुक्त गरेको छ ।
इलामबाट माइक्रोबसमा विराटनगर जाँदै गर्दा उनीहरूलाई बन्दका बेला गाडी चढेको भन्दै मेची राजमार्गस्थित लसुनेबाट बिहान आठ बजे अपहरण गरिएको थियो । अपहरणपछि मुक्त हुनेहरुमा एलडीओ पशुपतिनाथ आचार्य, जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत नारायणप्रसाद कोइराला, जिल्ला प्राविधिक कार्यालयका निमित्त इन्जिनियर पदम पोखरेल र ओभरसियर श्रवणकुमार चौधरी, विद्युत् प्राधिकरणका ओभरसियर योगेन्द्र ठाकुर, इलाम नगरपालिकाका ओभरसियर दीपक गुरागाईं र बरबोटे गाविस सचिव डिकप्रसाद दाहाल छन् ।

Popularity: 8%

Add comment July 31st, 2005

एलडीओसहित सात अपहरित

कान्तिपुर, बेनुपराज भट्टराई
इलाम, साउन १५ - स्थानीय विकास अधिकारीसहित सात कर्मचारीलाई माओवादीले शनिबार अपहरण गरेका छन् ।

अपहरित भएकामा एलडीओ पशुपतिनाथ आचार्य, जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत नारायणप्रसाद कोइराला, जिल्ला प्राविधिक कार्यालयका निमित्त इन्जिनियर पदम पोखरेल र ओभरसियर श्रवणकुमार चौधरी, विद्युत् प्राधिकरणका ओभरसियर योगेन्द्र ठाकुर, इलाम नगरपालिकाका ओभरसियर दीपक गुरागाईं र बरबोटे गाविस सचिव डिकप्रसाद दाहाल छन् ।

इलामबाट माइक्रोबसमा विराटनगर जाँदै गरेका उनीहरूलाई बन्दका बेला गाडी चढेको भन्दै मेची राजमार्गस्थित लसुनेबाट बिहान आठ बजे अपहरण गरिएको प्रत्यक्षदर्शीले बताए ।

सँगै यात्रारत नगरपालिकाका कार्यकारी अधिकृत धु्रुव पोखरेल, महिला विकास अधिकृत सहित तीन कर्मचारी र अन्यलाई भने छाडेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार करिब १५ माओवादीले गाडी रोक्दै यात्रुहरूसँग परिचयपत्र मागेका

थिए । ‘सरकारी कर्मचारी भए अलग्गै बस्न र अन्य भए गाडीमै रहन उनीहरूले भने,’ एक यात्रुले भने । एलडीओ आचार्यले आफू बिरामी भएको बताउँदै चिकित्सकको प्रेस्त्रिmप्सन देखाएपछि माओवादीले ‘खोजेकै मान्छे भेटिएछ’ भन्दै ओर्लन भनेका थिए । घटनाको पुष्टि गर्दै सहायक प्रमुख जिल्ला अधिकारी विजय राज पौडेलले खोजीका लागि सुरक्षाफौज परिचालन गरिएको बताउनुभयो ।

कर्मचारी अपहरणपछि मेची राजमार्गमा शनिबार पनि यातायात ठप्प रह्यो । माओवादीले साउन १ देखि गरेको बन्द अवज्ञा गर्दै चलेका १५ भन्दा बढी सवारी साधन बीचबाटै फर्किएपछि यात्रु अलपत्र छन् । राजमार्गमा बसेका माओवादीले गाडीको चाबी खोसेर ड्राइभरहरूलाई ‘जताबाट आएको त्यतै नफर्के गाडी जलाइदिने’ धम्की दिने गरेका छन् ।

यसैबीच, अपहरितलाई सकुशल रिहा गर्न परिवारजन, मानव अधिकारवादी संघसंस्था तथा कर्मचारीले माओवादीलाई आग्रह गरेका छन् । विराटनगरमा एलडीओ आचार्यकी पत्नी खेमकुमारी तथा छोरीहरू सुधा र सुशीला तथा छोरा नवीनले पनि रिहा माग गर्दै विज्ञप्ति जारी गरेका छन् । आचार्य मूत्ररोगबाट पीडित भएको र नियमित उपचार गरिरहनुपर्ने अवस्थामा रहेको उनीहरूले बताएका छन् ।

Popularity: 8%

Add comment July 31st, 2005

गगन आस्थाका बन्दी

कान्तिपुर, काठमाडौं, साउन १५।
विद्यार्थी नेता गगन थापालाई एमनेस्टी इन्टरनेसनलले आस्थाको बन्दी घोषणा गरेको छ ।
एमनेस्टीले शनिबार विज्ञप्ति जारी गरी थापा, नेविसंघ उपाध्यक्ष प्रदीप पौडेल, अखिलका महासचिव ठाकुर गैरेलगायतका सबै बन्दी विद्यार्थी नेतालाई तत्काल बिनासर्त रिहा गर्न आग्रह पनि गरेको छ ।

Popularity: 8%

Add comment July 31st, 2005

नेपाली ब्लग हेडलाइन, अल इन वान

http://www.hknepal.com/Blogall.htm

- पशन तमू
हंगकंग अवतरण पछि एक किसिमको रहर जाग्यो । वेवसाइट निर्माण गर्ने - अहं कस्तो मोहले सम्मोहित पार्‍यो ? छोड्नै सक्तिंन । तसर्थ आज एचकेनेपाल डट कम मेरो साथी बनेको छ । मेरा सहकर्मी साथीहरुको साथी बनेको छ र तपाईहरुको साथी बनेको छ ।

यहांबाट नेपालका सबै न्युजहरु कबरेज गर्न सम्भव छैन । यदाकदा त्यहांबाट साथीहरुले पठाउंदा खुशी लाग्छ । पेशाले पत्रकारीता नभएको ले के कस्ता समाचारले पाठकलाई आकर्षित गर्छ भन्ने ज्ञानको अभाव रहंदा रहंदै पनि हामीले केही समाचारहरु प्रकाशित गर्दै आएका छौं । र नेपालको समाचारहरु बुझ्न नेपालबाट अपडेट हुने वेवसाइटहरु चहार्नु पर्ने हुन्छ । त्यतिमात्र होइन नढांटि भन्नु पर्दा समयको अभावमा कति पटक त साभार गर्दै आएका छौं । हालै मात्र निकै प्रचलित बन्दै गएको ब्लग साइटहरु ले ताजा ताजा समाचार घरबाटै अपडेट गरिदै आएका छन् । त्यस्ता ब्लग साइटहरु क्रमशः बढ्दै छन् । त्यसमा पनि कुन कुन ब्लग साइट चहार्ने समस्या ? सबै चहार्न समय पुग्दैन । दिनै वित्छ ।

त्यसैले केही समय पहिले मैले सोंच्दै थिएं । सबै नेपाली ब्लग साइटका हेडलाइनहरु एक मुष्ठ एउटै पृष्ठमा राख्नु पर्ला । आज अलिक फुर्सद मिल्यो र बनाएं । तपाईहरु पनि नेपाली ब्लग साइटहरुमा प्रकाशित ताजा नेपाली समाचार प्रति अभिरुचि राख्नु हुन्छ भने यहां क्लिक गर्नुहोस् । र तपाईहरुका आफ्नै वेवसाइट छ भने यो http://www.hknepal.com/Blogall.htm लिन्कलाई पनि राख्न नभुल्न होला । यदि तपाईसंग समयको अभाव छ भने यसले केही मात्रामा तपाईको समयलाई बचत गर्छ । अर्को कुरा यहां समावेश नभएका तर स्तरीय ब्लग साइट तपाईको जानकारीमा भए तल
Leave a Comment मा समावेश गर्नु होला ।
b यो लेखनीबारे यहां क्लिक गरेर आफ्नो विचार व्यक्त गर्नुहोस् ।

Popularity: 8%

12 comments July 30th, 2005

छिट्टै संकटकाल लाग्न सक्ने !, दरबारलाई ‘दल’ बन्न सुझाव

नेपालखबर, काठमाडौं ।
राजा र दलहरूबीच बढ्दै गएको द्वन्द्व तथा विद्रोहीसँग दलहरूको सहकार्यको संकेतले मुलुक गम्भीर दिशातर्फउन्मुख भएको छ ।
पछिल्लोपटक विकसित नेपालको नयाँ राजनीतिक परिस्थितिलाई लिएर भइरहेको अन्तर्राष्ट्रिय दबाबले पनि सो कुराको संकेत दिइरहेको छ । नेपालस्थित विदेशी कूटनीतिज्ञहरू सल्बलाइरहेको हुँदा विदेशी हस्तक्षेप हुन सक्ने खतरा पनि देखिएको छ ।
राजाले प्रजातन्त्र पुनर्वहाली गर्नुपर्ने अडानका साथ सडक आन्दोलन गरिरहेका राजनीतिक दलहरू राजासँग मेलमिलापको नीति ल्याउनुभन्दा विद्रोही माओवादीसँगको सहकार्यलाई बढी जोड दिइरहेका हुँदा सरकारले अब नयाँ रणनीति अख्तियार गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

सरकारी स्रोतका अनुसार माओवादीले हतियार नबिर्साई दलहरूको सहकार्य माओवादीसँग हुन जाने हो भने पुनः मुलुकमा संकटकाल लगाउनुको विकल्प देखिँदैन । राजासँग दलहरूको दूरी बढिरहेका बेला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वमन्त्री प्रकाशमान सिंहलाई भ्रष्टाचारको आरोपमा शाही आयोगले जेल सजाय तोक्नु र गगन थापा, प्रदीप पौडेल, ठाकुर गैरेलगायतका विद्यार्थी नेताहरूलाई राजद्रोही घोषित गर्न भइरहेको प्रयासले आगोमा घ्यू थप्ने काम गरिरहेको छ । दल र माओवादी न्यूनतम एजेन्डामा सहमत भइसकेको अवस्थामा र आन्दोलनले चर्को रुप धारण गर्न सक्ने संकेत देखिएपछि सरकार आफ्नो अस्तित्व जोगाउनका लागि भए पनि संकटकाल लागू गरी पुनः दमन गर्ने पक्षमा रहेको उसका पछिल्ला गतिविधिहरूले देखाइसकेको छ । सरकारले सम्बन्ध सुधार गर्नुको सट्टा सम्बन्धलाई अझ चिस्याउने कार्यमा बढी अग्रसर भएका कारण सडकमा गणतन्त्र र संविधान सभाका नाराहरू थन्किएका हुन् । सरकार दलहरूमाथि दमन गर्न र निरंकुशता लाद्नका लागि पनि मुलुकमा अर्कोपटक संकटकाल लागू गर्न चाहन्छ र संकटकाल लागू गर्न परिस्थितिको सिर्जना दलहरूले गरिसकेका छन् । तर्सथ भदौसम्ममा मुलुकमा संकटकाल लाग्यो भने अनौठो मान्न नहुने सरकार निकट स्रोतले दाबी गर्दछ ।

यसैबीच, अमेरिकाले दरबारलाई एउटा दलको रुपमा प्रस्तुत गर्दै सात दलद्वारा घोषित न्यूनतम साझा एजेन्डामा सहमत हुन दरबारलाई सल्लाह दिएको छ । नेपालका लागि अमेरिकी राजदूत जेम्स एफ. मोरियार्टीले विराटनगरमा एक कार्यक्रमबीच सात दलले असल सुरुवात गरेका छन्, त्यसमा आठौं दलका रुपमा दरबार सहभागी हुन आवश्यक रहेको बताएका छन् । राजदूत मोरियार्टीले अमेरिका क्षेत्रीय स्थायित्व कायम गर्ने लक्ष्य र विद्रोही मार्फ् राज्यसत्ता कब्जा गर्न खोज्ने माओवादी चाहना अन्य शान्तिपूर्ण छिमेकी मुलुकमा आपूर्ति गर्न खोज्नु चिन्ताको विषय भएको बताएका छन् ।

कलिलो प्रजातन्त्र कहिल्यै सहज नहुने बताउँदै राजाको माघ १९ को कदमबाट नेपालको प्रजातन्त्रलाई प्रस्टरूपमा धक्का पुगेको अमेरिकी राजदूतले बताए । नेपालमा सक्रिय प्रजातन्त्रको अवधिमा उल्लेख्य सुधार भएको उदाहरण पेस गर्दै नेपालमा माओवादी व्रि्रोह मात्र नभएको, नेपाल नयाँ प्रजातान्त्रिक क्षितिजमा पुग्ने विश्वास उनले गरेका छन् । भने शाही आयोगद्वारा देउवालाई कैदसजायको फैसला सुनाएको प्रति अमेरिकाले कडा आपत्ति जनाएको भोलिपल्टै भारतले पनि शाही आयोगको कार्यप्रति विरोध जनाएको छ । आयोगको कदमले प्रजातान्त्रिक एवम् संवैधानिक मेलमिलाप बाधा सिर्जना गराएको भारतको टिप्पणी छ ।

भारतको विदेश मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा प्रमुख दातृसंस्थाले भ्रष्टाचार नभएको उल्लेख गर्दागर्दै गरिएको कडा कारबाही वातावरण बिथोलेको बताउँदै भारत नेपालमा संकट समाधानका लागि प्रजातान्त्रिक एवम् संवैधानिक शक्तिबीच मेलमिलाप हुनुपर्छ भन्ने मान्यतामा अडिग रहेको उल्लेख गरिएको छ ।
यो लेखनीबारे यहां क्लिक गरेर आफ्नो विचार व्यक्त गर्नुहोस् ।

Popularity: 8%

1 comment July 30th, 2005

हंगकंगमा ब्रुस लीको प्रतिमा स्थापना गरिने

Bruce Leeसम्वाददाता, एचकेनेपाल डट कम, हंगकंग।
कुंग फु फिल्म स्टार ब्रुस लीको ६५ औं जन्मोत्सवको उपलक्ष्यमा हंगकंगमा उनको प्रतिमा स्थापना गरिने भएको छ । ब्रुस लीको कास्य प्रतिमालाई आगामी नोभेम्बर महिनामा अनावरण गरिने छ । ब्रुस लीका प्रशंसकहरुसंग उनको अभिरुचीहरुबारे इन्टरनेटमा सोधिएका छन् । जन्म अमेरिकामा भए पनि ब्रुस लीको वाल्यकाल हंगकंगमा व्यतित भएको थियो ।

सन् १९७३ मा केवल ३२ बर्षको उमेरमा दिमागको नशा फाटिएर उनको मृत्यु भएको थियो ।

हंगकंगका प्रशंसक क्लवले आफ्ना प्रिय नायक ब्रुस लीको नाममा एक संग्रहालय निर्माण गर्न चाहेका थिए । तर आवश्यक रकम जुटाउंन र उपयुक्त स्थान अभावका कारण उनीहरुले उक्त निर्णय त्यागी प्रतिमा स्थापना गर्न तर्फ लागेका हुन् ।

क्लवका सदस्यहरु ब्रुस लीको प्रतिमा स्थापनाले उत्साहित भएका छन् । उनीहरुको भनाईमा दुई मिटर अग्लो ब्रुस लीको प्रतिमा सार्वजनिक स्थलमा स्थापना गरिने छ । यसै गरी सोही महिनामा बोस्नियाको मोष्टार शहरमा ब्रुस लीको एउटा प्रतिमा स्थापना गरिने सम्बन्धमा कुराकानी भैरहेको जनाएको छ ।

समारोहमा ब्रुस लीकी श्रीमति लिन्डा ली पनि सरीक हुने कार्यक्रम रहेको छ ।

मार्शाल आर्टमा आधारित ब्रुस लीका चार चलचित्रहरु फिस्ट्स अफ फ्युरी, एन्टर द ड्रेगन, चाइनिज कनेक्शन र रिटर्न अफ द ड्रेगन ले ब्रुस लीको नामलाई सिने जगतमा स्थापित गराइ दिएका थिए ।
स्रोतः बिबिसी
ब्रुस ली सम्बन्धि लिन्कहरुः-
www.brucelee.com
www.allbrucelee.com
www.brucelee.org.uk
www.bruceleefoundation.com

b यो लेखनीबारे यहां क्लिक गरेर आफ्नो विचार व्यक्त गर्नुहोस् ।

Popularity: 8%

Add comment July 30th, 2005

रेडियोमा फेरि पञ्चायतकालीन धुन

कान्तिपुर
काठमाडौं, साउन १४ - सरकारी स्वामित्वको रेडियो नेपालले आफ्नो मुख्य समाचारमा बजाइने धुन परिवर्तन गरी शुक्रबारदेखि ‘पञ्चायतकालीन धुन’ बजाउन थालेको छ ।
श्री ५ नवयुवराज हृदयेन्द्र चौथो वर्षमा प्रवेश गरिवक्सेको अवसर पारेर प्रजातन्त्रकालीन धुन परिवर्तन गरिएको हो । ‘गोरखापत्र’लाई ‘गोर्खापत्र’ बनाएको करिब एक महिनापछि रेडियोमा समाचार धुन फेरिएको हो । यसअघि असोज १८ लगत्तै धुन फेर्ने प्रस्ताव आउँदा रेडियोका कर्मचारीको विरोधले रोकिएको थियो । ‘आजबाट एक्कासि धुन फेरियो, हामीलाई पनि जानकारी भएन,’ एक कर्मचारीले कान्तिपुरलाई भने- ‘पञ्चायतकालीन धुन ल्याएर त्यसबेलाको झझल्को दिने प्रयास गरिएको छ, हामी सन्तुष्ट छैनौं ।’

२०४६ को जनआन्दोलनपछिको अन्तरिम सरकारले पञ्चायती धुन फेरेको थियो । सूचना तथा सञ्चारमन्त्री टंक ढकाल मुलुक बाहिर भए पनि उहाँलगायत सचिव लोकमानसिंह कार्की र नवगठित राष्ट्रिय पत्रकार महासंघको निर्णयमा पुरानै धुन बजाउन थालिएको स्रोतले जनायो । प्रजातन्त्र पुनर्बहालीपछि रेडियोमा सक्रिय भूमिका निर्वाह गर्ने पत्रकारद्वय पुरुषोत्तम दाहाल र कुन्दन अर्यालले धुन परिवर्तन गरी पुरानै पद्धतिमा र्फकन खोजेको संकेत दिए पनि त्यसको औचित्य नरहेको बताए । ‘आफ्नैपन, पद्धति र पुरानै प्रक्रियामा र्फकंदैछौं भन्ने संकेत दिएको हुनसक्छ,’ दाहालले भन्नुभयो- ‘तर त्यसको अर्थ छैन, बरु मुलुकका दुर्गतितिर ध्यान दिनुपर्छ ।’

‘हामीले धुन फेर्नु पनि गल्ती थियो, आज १५ वर्ष चलेको धुन फेर्नु पनि आडम्बर हो । संगीतसँग हाम्रो दुश्मनी होइन । बरु यसको सट्टामा समाचारको गुणस्तर बढाउन लागेको भए राम्रो हुन्थ्यो,’ उहाँको भनाइ थियो । अर्यालले राष्ट्रका समस्या एकातिर पन्छाएर समाचारको धुन फेर्न लाग्नु ‘बहुलट्टीपन’ भएको बताउनुभयो ।

रेडियोका कार्यकारी निर्देशक तपनाथ शुक्लले भने ‘परिवर्तनका लागि परिवर्तन गरिएको’ उल्लेख गर्दै ‘त्यसमा केही अर्थ नभएको’ बताउनुभयो । सरकारले रेडियोमा नयाँ कर्मचारी नियुक्ति सुरु गरेको छ । आर्थिक समस्या देखाएर यसअघि जिल्ला समाचारदाता, समाचारदाता र अन्य कर्मचारी गरी करिब ८० जना निकालेकामा अहिले नयाँ नियुक्ति दिन थालिएको छ । स्रोत अनुसार शुक्रबारमात्र १० जनालाई नियुक्ति दिइएको छ ।

Popularity: 8%

Add comment July 30th, 2005

फैसलाप्रति भारतद्धारा खेद ‘सहमतिको वातावरण बिगार्ने काम’

काठमाडौं, नेपाल समाचारपत्र ।
छिमेकी भारतले शाही आयोगद्धारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री प्रकाशमान सिंहविरुद्ध हालै सुनाएको फैसलाप्रति खेद व्यक्त गर्दै फैसलाले आमसहमतिको वातावरण बिगार्ने काम गरेको जनाएको छ।

भारतीय विदेश मन्त्रालयका तर्फाट शुक्रबार जारी वक्तव्यमा मेलम्ची खानेपानी आयोजनाको प्रमुख दाता एसियाली विकास बैंकले आयोजनाको ठेक्का प्रकरणमा भ्रष्टाचार नभएको भन्दाभन्दै उक्त फैसला सुनाइएको प्रसंगसमेत उल्लेख गरिएको छ। उक्त प्रसंगमा अमेरिकाले आलोचना गर्दै यसअघि नै प्रतिक्रिया दिइसकेको छ।

Popularity: 8%

Add comment July 30th, 2005

प्रधानन्यायाधीशमा पौडेल नियुक्त

रासस
काठमाडौँ, साउन १५ गते । श्री ५ महाराजाधिराजबाट नेपाल अधिराज्यको संविधान-२०४७ बमोजिम संवैधानिक परिषद्को सिफारिस अनुसार नेपालको प्रधानन्यायाधीशमा न्यायाधीश दिलीपकुमार पौडेललाई नियुक्त गरिबक्सेको छ । उक्त कुरा श्री ५ महाराजाधिराजका संवाद सचिवालय, राजदरबारबाट आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

Popularity: 8%

Add comment July 30th, 2005

भारतमा उदाइन् नेपाली चेली

Jyotiसाभारः साप्ताहिक । भारतको संसद् भवन नयाँ दिल्लीमा ठेट नेपाली दौरा-सुरुवाल, ढाकाटोपी र कम्मरमा पटुका मात्र होइन, त्यसमा सिरुपाते खुकुरीसमेत भिरेर प्रवेश गरी नेपाली भाषामा शपथग्रहण गर्ने पहिलो जनप्रतिनिधि हुन् रतनलाल ब्राह्मण अर्थात् माहिला बाजे । माहिला बाजे बितेको दशकौं भयो । अहिले उनको सालिक भारतको सिलिगुडीमा प्रतिस्थापन भैसकेको छ । उनकी नातिनी ज्योति ब्राह्मण आज भारतीय नेपालीमाझ आफ्ना हजुरबाजस्तै चर्चामा छिन्, तर गुन्यू-चोली र नाकमा बुलाकी लगाई छमछम मारुनी नाच नाचेर होइन अर्कै शैली र सफलताले ।

नेपालको राजनीतिमा प्रजातान्त्रिक आन्दोलनका पर्याय स्व. विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी मनीषा कोइरालाको चर्चा पनि त्यस्तै छ तर फरक शैलीमा । यस्तै शैलीको आगमन भएको छ- माहिला बाजेकी नातिनी सुश्री ज्योति ब्राह्मणको हकमा पनि । गत वर्ष सन् २००४ को फेमिना मिस इन्डिया कन्टेस्टमा मिस इन्डिया अर्थको ताज जित्न सफल भइन्- भारतीय नेपाली चेली सुश्री ज्योति ब्राह्मण । सुभाष ब्राह्मण र हेमलता ब्राह्मणकी साहिँली सुपुत्री ज्योतिले म्याटि्रकसम्मको शिक्षा दार्जीलिङको लोरेटो कन्भेन्ट स्कुल, कलेज स्तर लिङ्कन कलेज सिलिगुडी र सेन्ट जोसेफ कलेज दार्जीलिङबाट बी.कम. गरेकी हुन् । आइ.एफ.एम.आई.का लागि कोलकातामा एम.बी.ए अध्यनरत रहँदै उनले सिलिगुडीमा सम्पन्न सुन्दरी प्रतियोगितामा मिस लिङ्कनको उपाधि हात पारिसकेकी थिइन् । सन् २००३ मा पश्चिम बंगालस्तरीय तिलोत्तमा मिस बंगाल प्रतियोगितामा उनले सर्वोच्च ताज प्राप्त गरिन् ।

Jyotiएकपछि अर्को गर्दै ज्योतिले सन् २००४ को २७ मार्चमा मुम्बईमा सम्पन्न फेमिना मिस इन्डियामा सर्वोत्कृष्ट पाँचमध्ये चौथो स्थान प्राप्त गरिन् । तर मिस इन्डिया घोषित लक्ष्मी पण्डित विवाहित भएको रहस्य खुलेपछि उनको ताज खोसियो । यसले गर्दा नेपाली चेली सुश्री ज्योतिलाई सर्वोत्कृष्ट तेस्रो सुन्दरी हुने मौका मिल्यो । साथै मिस व्युटिफुल आईको सम्मान पनि ।

मृगनयनी, सुशील र स्लिम ज्योति आफ्नो सफलताको श्रेय कडा परिश्रम र नेपाली जातिको स्नेह र सद्भावनालाई दिन चाहन्छिन् । बलिउडबाट चलचित्रका लागि अफरहरू आए पनि गत अक्टोबरमा फिलिपिन्समा सम्पन्न मिस एसिया प्यासिफिक ब्युटी कन्टेस्टका कारण उनले चलचित्रमा हात हालिसकेकी थिइनन् । अब त उक्त प्रतियोगिताको अध्याय पनि सकियो, अब उनले के निर्णय गर्लिन्, हेर्न बाँकी नै छ । भारतका विभिन्न प्रान्तका ७२ जना सुन्दरीले भाग लिएको फेमिना मिस इन्डियामा तेस्रो स्थान ओगट्ने सुश्री ज्योतिले पारिजात जन्माउने दार्जीलिङलाई अलग शैलीले चिनाएकी छिन् । फिलिपिन्समा खासै सफलता नपाए पनि नेपाली मूलकी एउटी चेली भारत वर्षको प्रतिनिधित्व गर्दै प्रशान्त क्षेत्रीय प्रतियोगितामा सहभागी भइन्, यो आफैंमा गौरवको विषय हो ।

Jyotiपारसमणि प्रधान, इन्द्रबहादुर राई, लैनसिंह वाङ्देल, अम्बर गुरुङ तथा पारिजातलगायत अन्य धेरै प्रतिभा जन्माउने दार्जीलिङले सबैलाई हेरचाह गर्न नसकेर होला, एकपछि अर्को प्रतिभाले दार्जीलिङ छाड्ने गरेका छन् । अम्बर गुरुङ, गोपाल योञ्जन, लैनसिंह वाङ्देल, पारिजात, रञ्जित गजमेर, तुलसी घिमिरे, विनोद प्रधान तथा निरुता सिंहहरू आफ्नो क्षेत्र फराकिलो पार्न कोही नेपाल पसे कोही मुम्बई छिरे । हामी नेपालका नेपालीहरूलाई ती प्रतिभाहरूको आगमनले हर्ष र गर्वको अनुभूति भयो । शरीरमा नेपाली रगत बगे पनि राष्ट्रियताको साँध- सीमाले भारतीय ज्योति ब्राह्मणको सफलताले त्यसरी नै हामीलाई हर्ष र गर्व दिएको छ ।

- कमल सुवेदी

Popularity: 8%

1 comment July 30th, 2005

‘राजाले भनेको नमान्दा देउवा भ्रष्टाचारी बन्यो’

जितेन्द्र साह, कान्तिपुर दैनिक ।
विराटनगर, साउन १३ - तीनपटक प्रधानमन्त्री भएको छोरालाई भ्रष्टाचारी ठहर्‍याइएको समाचार उनले रेडियो सुनेर थाहा पाए । नरमाइलो लागे पनि उनलाई न दुःख लाग्यो न त आश्चर्य । ‘राणाकालमा झैं बत्ती बालेर न्याय खोज्ने बेला भएको छ,’ ९१ बर्षीय प्रसादसिंह देउवाले बिहीबार भने- ‘अहिले राजाले भनेको नमान्ने हरेक व्यक्ति भ्रष्टाचारी र राजद्रोही ठहरिन सक्छ ।’
जेठो छोरो शेरबहादुरलाई शाही आयोगले दुई वर्ष कैद र नौ करोड जरिवाना तोके पनि उनी निराश बनेका छैनन् । ‘जीवनमा कसैको एक पैसा नखाएको छोराले भ्रष्टाचार गर्ला भनेर कसरी पत्याऊँ ?’ आयोगको फैसला कुनै अवस्थामा पनि स्वीकार्न नसकिने उनले बताए ।

सर्वोच्च अदालतले पनि राजाको डरले न्याय दिन नसक्ने अवस्था रहेकाले अन्तर्राष्ट्रिय न्यायिक निकाय गुहार्ने तयारी भएको उल्लेख गर्दै उनले भने- ‘छोरालाई निर्दोर्ष सावित गराएर मात्र मर्छु ।’ सधैं बिहान तीन घन्टा पूजापाठमा बिताएपछि सबै त्रपत्रिका पढने उनले भने- ‘दाइले प्रजातन्त्र दिए, भाइले खोसे, राजा ज्ञानेन्द्रलाई गल्तीको आभास गराइएन भने अरू निर्दोषले पनि दुःख पाउँछन् ।’

स्वेच्छाचारी शासनमा कानुनी राज्य र प्रजातन्त्रको वकालत गरेर केही नहुने उनको धारणा छ । भन्छन्- ‘अहिले प्रजातन्त्रको छाया मात्र छ ।’ ‘प्रजातन्त्र पुनर्बहालीको संघर्षमा शेरबहादुरले नौ वर्षर् जेल बितायो,’ उनी भन्छन्- ‘प्रजातान्त्रिक योद्धाका लागि दुई वर्ष कैद सजाय केही होइन ।’ ढिलै भए पनि प्रजातन्त्र पुनर्बहाली हुने र छोरा निर्दोष सावित भएर ससम्मान घर र्फकने उनको विश्वास छ । पाँच दशकअघि सरकारी जागिरका क्रममा डडेल्धुरा अस्सीग्राम-५, मट्टेलाबाट राजधानी आएका प्रसादसिंहले भने- ‘चार दशकअघि आईए पढ्दा शेरबहादुरलाई प्रजातन्त्रको पक्षमा लागेकाले शासकले करेन्ट लगाएर उसको जिब्रो डढाएका थिए ।’
राजाले भनेको नमान्दा छोराले कथित भ्रष्टाचारीको अभियोग खेप्नुपरेपछि यो उमेरमा पनि उनको मन आन्दोलित बनेको छ । पाँच छोरा र तीन छोरीका पिता प्रसाद भन्छन्-

‘छोरालाई न्याय दिलाउन झन्डा बोकेर आन्दोलनमा जान तयार छु ।’

सम्बन्धित लिन्कः
+ देउवा र सिंहलाई दुइ बर्ष जेल सजाय
+ देउवालाई सजायले अमेरिका ‘बेचैन’

Popularity: 8%

1 comment July 29th, 2005

देउवालाई सजायले अमेरिका ‘बेचैन’

कान्तिपुर संवाददाता
काठमाडौं, साउन १३ - अमेरिकाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अन्य विपक्षी नेताहरूविरुद्ध शाही आयोगले गरेको फैसलाबाट आफू ‘बेचैन’ भएको जनाएको छ ।
‘राजाले संकटकाल लागू गरेपछि स्थापित गैरन्यायिक भ्रष्टाचार नियन्त्रण शाही आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अन्य विपक्षी राजनीतिक नेताहरूलाई दोषी ठहराइएको निर्णयले संयुक्त राज्य अमेरिकालाई बेचैन तुल्याएको छ,’ अमेरिकी विदेश विभागका प्रवक्ता सन म्याकुकोरम्याकुले बिहीबार विज्ञप्ति जारी गर्दै भन्नुभएको छ ।

नेपाली न्यायिक प्रणालीभन्दा बाहिर गएर आयोगले आफैं अभियोग लगाउने, अनुसन्धान र निर्णय गर्ने काम गरी पूर्वप्रधानमन्त्रीलाई मेलम्ची परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा कडा सजाय तोकेको भन्दै अमेरिकाले आपत्ति जनाएको छ ।
विज्ञप्तिमा उक्त आयोगको अभियोगलाई पुष्टि गर्ने प्रमाण फेला नपारेको र एसियाली विकास बैंकको प्रतिवेदनलाई समेत उपेक्षा गरिएको स्मरण गराइएको छ ।

‘प्रमुख दातृ संस्था एडीबीले गरेको अनुसन्धानमा उक्त अभियोगलाई पुष्टि गर्ने प्रमाण फेला पारेन र यस कारबाहीमा आयोगले एडीबीको प्रतिवेदनलाई उपेक्षा गर्‍यो,’ विज्ञप्तिमा भनिएको छ । अमेरिकाले नेपाली जनताको नागरिक स्वतन्त्रता बहाल गर्न राजालाई पुनः अपिल गरेको छ । ‘दुर्भाग्यवश गैरन्यायिक प्रक्रियाबाट पूर्वप्रधानमन्त्रीलाई दोषी ठहराउने कार्यले प्रजातन्त्रको पुनर्बहालीमा अर्को गतिरोध उत्पन्न भएको देखाउँछ,’ प्रवक्ताले भनेका छन् ।

सम्बन्धित लिन्कः
+ देउवा र सिंहलाई दुइ बर्ष जेल सजाय

Popularity: 8%

Add comment July 29th, 2005

गेसोद्धारा बेलायती अदालतमा पुनः मुद्दा हाल्ने चेतावनी

काठमाडौं, (नेपाल समाचारपत्र)
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले १ जुलाई, १९९७ भन्दाअघि सेवा निवृत्त भएका बृटिस गोर्खा सेनामाथि भइरहेको भेदभावसमेत पुनरावलोकन नगरिएमा ब्रिटिस अदालतमा मुद्दा दर्ता गर्ने चेतावनी दिएको छ। बिहीबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी गेसोले बेलायत सरकारलाई उक्त चेतावनी दिएको हो।

यसअघि ब्रिटिस सरकारले १ जुलाई १९९७ भन्दापछि सेवा निवृत्त भएकाहरुको हकमा हालसम्म विद्यमान भेदभाव पुनरावलोकन गर्ने, उनीहरुका परिवारलाई बेलायतमा आवासीय भिसाको व्यवस्था गर्नेलगायतका निर्णय गरेको थियो। तर सो समयभन्दा अघिकालाई किन ती सुविधा नदिने भनेर ब्रिटिस गोर्खाहरुले आवाज उठाउंदै आइरहेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा गेसोका अध्यक्ष पदमबहादुर गुरुगंले गेसोले यसबीचमा बेलायती सरकारसंग थुप्रै मुद्दा जितेको र अब पनि हराइछाड्ने धारणा राख्नुभयो।

सो अवसरमा जानकारी गराइएअनुसार गेसोको पहलमा अहिलेसम्म जापानी युद्धबन्दी वा तिनका विधवा र परिवारहरुलाई जनही १० हजार पाउन्ड क्षतिपूर्ति दिने, गोर्खा भर्तीसम्बन्धी १९४७ को त्रिपक्षीय सम्झौताका आधारमा भेदभाव गर्न नपाइनेलगायतका विषयमा विजय हासिल गरेको बताइएको थियो।

कार्यक्रममा गेसोका कानुनी सल्लाहकार गोपाल शिवाकोटी चिन्तनले ब्रिटिस गोर्खा मुद्दाको कानुनी पक्षबारे जानकारी गराउनुभएको थियो। सो अवसरमा ब्रिटिस रक्षा मन्त्रालयका सरकारी वकिल पिटर बेनेटले थप मुद्दा नहाल्न आग्रह गर्दै यही जुलाई २२ मा पठाइएको पत्र पनि बांडिएको थियो। ‘सम्पूर्ण रुपमा भेदभाव नगरिए मुद्दा हाल्दैनौं, नत्र मुद्दा हाल्छौं भनेर हामीले अर्को पत्र पठाउन लागेका छौं ‘-पत्रकार सम्मेलनमा गेसोका कानुनी सल्लाहकार चिन्तनले भन्नुभयो।

Popularity: 8%

4 comments July 29th, 2005

एउटा फोटोले सिकाएको पाठ

सागर श्रेष्ठ, साउदी अरब ।
संसार पनि विचित्रको छ । कसैलाई खातै खात कसैको दोवाटोमा वास । कोहि महलमा वसेका छन् त कोहि छाप्रोमा पनि वस्न पाएका छैनन् । कसैको घरमा चौरासी व्यञ्जन खेर गएको छ त कसैले खानै नपाई जीवनलाई त्यागि रहेकाछन । खै जीवनको वास्तविक अर्थ के हो ? जसको धन, शक्ति उस्कै संसार रहेछ क्यारे । सवैको मनमा हामी मानव हौं भन्ने भावना सृजना भई दिएको भए सायद आज विश्वमा आतंकवादको सृजना हुदैनथ्योहोला की ?

PULITZER  PRIZE  winning  photo  taken  in  1994  during  the  Sudan  famine.
“PULITZER PRIZE ” winning photo taken in 1994 during the Sudan famine. The picture depicts a famine stricken child crawling towards an United Nations food camp, located a kilometer away. The vulture is waiting for the child to die so that it can eat it. This picture shocked the whole world. No one knows what happened to the child, including the photographer Kevin Carter who left the place as soon as the photograph was taken. Three months later he committed suicide due to depression.

हुन त यो फोटो मैले मेरो जीवनमा इमेल मार्फत धेरै पटक पार्इ सकेको थिएं तर पनि त्यति ध्यान दिएको थिइन । वास्तममा मैले त्यो फोटोको गहिर्राई सम्म पुग्ने कोशिस गरिंन । सन २००५, जुलाई १८ गते पुनः त्यहि फोटो सहितको इमेल मेरो इनवक्समा आयो तर पनि मेरो व्यस्तताको कारणले गर्दा मैले ध्यान दिईन । त्यो फोटोलाई मैले नयाँ फोल्डर वनाएर सुरक्षित राखेको थिएं । कारण त्यो फोटो काठमाण्डौवाट अन्जना दिदीले पठाउनु भएको थियो । जुलाई १९, २००५ को दिन हाम्रो च्याटमा भेट भयो । वहाँले त्यहि फोटोको वारेमा केही कुरा भन्नु भयो । जुन शव्दहरुले मेरो मुटु सम्म छुन पुग्यो । तुरुन्त त्यसलाई प्रिन्ट गरी कोठामा ल्याएर हेरे पढें । आफ्सेआफ आँखावाट आँसु वग्न सुरु गर्‍यो । त्यो दिन मलाई खाना खान मन पनि लागेन । पुनः यो फोटोलाई गहिरिएर नियालें र सोंच्न थालें हामीले फाल्ने खानेकुराहरुलाई केहि मात्रामा कम गर्न पाए कतै ती व्यक्तिहरुलाई राहत पुग्थ्यो कि ? यो फोटोले १९९४ मा Pulitzer Prize पाएको रहेछ । Kevin Carter ले लिएको यो फोटो ३ महिनापछि डिप्रेशन भएर आत्महत्या गरी यस संसारवाट विदा हुनु भएछ । वहाँको डायरीमा लेखेका शव्दहरुले मुटुका धड्कन धड्कनमा विजाउने छन् । यो फोटोलाई गहिरिएर हेरौं र हामीले पनि एउटा पाठ सिकौं अनि प्रतिवद्धता जाहेर गरौं खानेकुरालाई जथावावी नफालौं ।
b यो लेखनीबारे यहां क्लिक गरेर आफ्नो विचार व्यक्त गर्नुहोस् ।

Popularity: 8%

3 comments July 28th, 2005

गगन गिरफ्तारीको विरोध क्याम्पसहरू तनावग्रस्त

चावहिलमा तीन प्रहरी घाइते
काठमाडौं, (महानगर)। नेपाल विद्यार्थी सङ्घका चर्चित नेता गगन थापाको गिरफ्तारीविरुद्ध आज बिहानैदेखि राजधानीका क्याम्पसमा भएको प्रदर्शनले तनावको रूप लिएको छ। आज बिहान ८:३० बजे चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसका विद्यार्थीले चोकमा प्रदर्शन गर्दा प्रहरीसंग झडप भयो। प्रहरी र विद्यार्थीबीचको झडपमा गौशालाको एउटा प्रहरी भ्यान क्षतिग्रस्त भयो। विद्यार्थीले ढुंगामुढा गर्दा प्रहरीको भ्यानमा क्षति पुगेको बताइन्छ। झडपमा तीन प्रहरी घाइते भए।

त्यस्तै, सो झडपमा छ विद्यार्थी घाइते बन्न पुगे भने प्रहरीले तीन विद्यार्थीलाई पक्राउ गर्‍यो। पक्राउ पर्नेमा विनोद मैनाली, नारायण खतिवडा र सुभाष कार्की छन्।

नेविसङ्घका नेता गगन थापा र प्रदीप पौडेल पक्राउको विरोध गर्दै क्याम्पसका स्ववियु सभापति कुन्दनराज काफ्लेको नेतृत्वमा निस्केको जुलुसले चावहिल चोकमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले जुलुसमाथि हस्तक्षेप गर्‍यो। विद्यार्थी ढुंगामुढा गर्दै प्रहरीमाथि जाइलागेपछि त्यहा ठूलै झडप हुनपुगेको थियो। प्रहरीले आफूलाई पक्राउ गर्ने निकै प्रयास गरे पनि विद्यार्थीको हुलले जोगाउन सफल भएको सभापति काफ्लेले बिहान महानगरलाई बताए।

त्यस्तै, आज बिहानैदेखि शङ्करदेव, पद्मकन्या र त्रिभुवन विश्वविद्यालय क्षेत्रमा विद्यार्थीले प्रदर्शन गर्दै ढुंगामुढा गरेका छन्। शङ्करदेवका विद्यार्थीले सडकजाम गर्दै प्रदर्शन गरेपछि प्रहरीले उनीहरूमाथि हस्तक्षेप गरेको थियो। प्रहरी र विद्यार्थीबीच यो समाचार तयार पार्दासम्म ढुंगामुढा चलिरहेको थियो। प्रहरी क्याम्पसबाहिर सडकमा धर्ना दिएर बसेका थिए भने विद्यार्थी क्याम्पसभित्रैबाट प्रहरीमाथि ढुंगा बर्षाइरहेका थिए। ढुंगामुढाका कारण सो क्षेत्र निकै तनावग्रस्त देखिन्थ्यो।

त्यस्तै, आज पद्मकन्याका छात्राले पनि प्रदर्शन गर्दै प्रहरीमाथि ढुंगामुढा गरेका छन्। यता, त्रिभुवन विश्वविद्यालय हातामा पनि विद्यार्थीले १० बजेदेखि प्रदर्शन गर्दै सडक अवरुद्ध पारिरहेका छन्। तर, त्यहां प्रहरीले विद्यार्थीमाथि हस्तक्षेप चाहि गरेको थिएन।

Popularity: 8%

Add comment July 28th, 2005

गगनलाई राज्यविरुद्ध अभियोग

कान्तिपुर संवाददाता
काठमाडौं, साउन १२ - सरकारले विद्यार्थी नेता गगन थापालाई बुधबार पक्राउ गरी राज्यविरुद्ध अपराध मुद्दा लगाउन विशेष अदालतबाट सात दिनको म्याद लिई थुनामा राखेको छ ।
नागरिक समाजको सोमबारको विरोध कार्यक्रममा निषेधाज्ञा तोडेर राजसंस्थाविरुद्ध आपत्तिजनक नारा लगाएको भन्दै सरकारले थापामाथि राज्यविरुद्ध अपराधको अभियोग लगाउन लागेको हो ।

थुनामा रहेका नेविसंघ उपाध्यक्ष प्रदीप पौडेल र अखिल महासचिव ठाकुर गैरेसहित छ विद्यार्थीलाई वडा प्रहरी कार्यालय सिंहदरबारमा बिहान भेट्न गएका बेला प्रहरीले उनलाई पक्रिएर अपराह्न विशेष अदालतमा प्रस्तुत गरेको थियो । अदालतले थुनामा राखी अनुसन्धान गर्न सात दिनको म्याद दिएको छ ।

माघ १९ पछि राज्यविरुद्ध अपराधको पुर्जी दिएर थुनामा राखिएको यो पहिलो घटना हो । थापा र नेविसंघ पूर्वअध्यक्ष गुरु घिमिरेलाई तत्कालीन सूर्यबहादुर थापा सरकारका पालामा यस्तै अपराधमा मुद्दा लगाइएको थियो ।

विशेष अदालत इजलासमा न्यायाधीशहरूले थापालाई ‘तपाईंले निषेधाज्ञा तोडी राजसंस्थाविरुद्ध आपत्तिजनक नारा लगाएर राज्यविरुद्ध अपराध गरेको आरोप छ नि ?’ भनी सोधेका थिए ।

जवाफमा नेविसंघ नेता थापाले ‘आपत्तिजनक नारा भनेको के हो, आफूलाई थाहा नभएको र संविधानले शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार प्रत्याभूत गरेकाले निषेधित क्षेत्रको घोषणा नै असंवैधानिक रहेको’ बताउनुभएको थियो । पक्राउ गर्नासाथ वडा प्रहरी कार्यालय नयाँ बानेश्वरमा राखिएका थापालाई अदालतबाट थुना म्याद लिएपछि जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा राखिएको छ ।

थापाले आफ्नो गिरफ्तारीलाई निरंकुश सत्ता हार्दै गएको संकेतका रूपमा टिप्पणी गर्दै लोकतन्त्र र स्वतन्त्रतालाई प्रेम गर्ने सम्पूर्ण नेपालीलाई निरंकुशताविरुद्ध निर्णायक लडाइँमा उत्रन अपिल गर्नुभयो ।

‘यो निरंकुश सत्ता हार्दै गएको संकेत हो । लोकतन्त्र र स्वतन्त्रता माग गर्दा राज्यविरुद्धको अपराध लाग्छ भने राज्यसत्ताविरुद्ध निर्णायक संघर्ष गर्नुको विकल्प छैन,’ विशेष अदालत परिसरमा संवाददाताहरू सित उहाँले भन्नुभयो- ‘म सम्पूर्ण नेपालीलाई लोकतन्त्र र नवनेपाल निर्माणका लागि आन्दोलनमा उत्रन आह्वान गर्छु ।’ थापालाई पक्राउ गरेको विरोधमा नेविसंघका विद्यार्थीले पद्मकन्या, पशुपति बहुमुखी र बानेश्वर क्याम्पसअगाडि सडकमा विरोध प्रदर्शन गरे । विद्यार्थीहरूले सडकमा टायर बालेर नाराबाजी गरेका थिए ।

पद्मकन्याअगाडि छात्राहरूले दुई घन्टाभन्दा बढी सडकमा टायर बालेर यातायात अवरुद्ध गरे । त्यहाँ विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान भएको थियो ।

नागरिक आन्दोलनका संयोजकद्वय देवेन्द्रराज पाण्डे र कृष्ण पहाडी, पत्रकार महासंघका सभापति विष्णु निष्ठुरी अदालत परिसरमा थापालाई भेट्न गएका थिए । ‘थापाको गिरफ्तारी स्वतन्त्रताका लागि लड्नेहरूलाई चेतावनी हो’ भन्दै पहाडीले त्यसबाट सरकारले राजाको विरोध गर्ने कसैलाई बाँकी नराख्ने सन्देश दिन खोजेको टिप्पणी गर्नुभयो ।

पहाडीले आस्थाका आधारमा गिरफ्तार हुनु मानव अधिकारको विश्वव्यापी मान्यताविपरीत रहेको उल्लेख गर्दै यसलाई न्यायालयले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । यसैबीच नेविसंघले आफ्नो आसन्न महाधिवेशन बिथोल्न थापालाई गिरफ्तार गरिएको उल्लेख गर्दै त्यसको भत्र्सना गरेको छ ।

थापासहित सबै विद्यार्थीलाई अविलम्ब रिहा गर्न नेविसंघले माग गरेको छ । राष्ट्रवादी शिक्षाको विरोधमा प्रदर्शन गर्नेक्रममा करिब एक महिनाअघि गिरफ्तार १२ विद्यार्थी नेता अझै मुक्त भएका छैनन् ।

Popularity: 7%

Add comment July 28th, 2005

सातदलसंग सहकार्यको लागि माओवादी तयार

काठमाडौंबाट-केपी ढुंगाना /ब्लगर नेपाल।
जन निर्वाचित प्रधानमन्त्रीलाई भ्रष्टाचारको कथित मुद्धामा जेल हालेको भोलिपल्ट अर्थात आज नेपाल कम्युनिष्ट पार्टी माओवादीले सात राजनीतिक दलद्धारा साउन ९ गते जारी प्रेस विज्ञप्तिलाई राजनीतिक मोर्चा निर्माणको दिशामा एक कदम अगाडि बढेको सकारात्मक प्रतिक्रिया जनाउंदै सहकार्य गर्नको लागि आफ्ना मातहतका सम्पूर्ण निकायलाई निर्देशन दिएको छ।

माओवादीका अध्यक्ष प्रचण्डद्धारा बुधवार बेलुका जारी विज्ञप्तिमा सात राजनीतिक दलका नेता तथा कार्यकर्तासंग सहकार्य गर्न तथा कुनै पनि प्रकारको दवाव नदिन, निहत्था ब्यक्तिमाथिको आक्रमण रोक्न तथा चन्दा संकलन कार्यलाई स्वेच्छिक रुपमा मात्र अगाडि बढाउन निर्देशन दिंदै सात दललाई आफ्ना स्थानीय तहलाई सहकार्यको लागि निर्देशन दिन आग्रह गरिएको छ।

विज्ञप्तिमा निरंकुशताको अन्त्य, संविधान सभाको निर्वाचन,बहुदलिय प्रतिष्पर्धा सहितको लोकतान्त्रिक गणतन्त्र, मानव अधिकारको सम्मान,जन निर्वाचिन प्रतिनिधि संस्थाको मातहतमा सैन्य शक्ति आदि जस्ता, विषयमा माओवादी आफ्ना धारणा सार्वजनिक गरिसकेको र सो प्रति अनावश्यक आशंका गरी सामन्ति शक्तिलाई खेल्ने अवसर प्रदान नगर्न विज्ञप्तिमा अनुरोध गरिएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ-आज देशको प्रमुख समस्या भनेको निरंकुशतन्त्र रहेको र त्यसवाट मुक्ति अनिवार्य भएको कुरामा एकमत भइसकेपछि अन्य प्राविधिक र ब्यबहारीक समस्याको समाधान सहकार्य र संयुक्त आन्दोलनका क्रममा नै प्रभावकारीरुपले समाधान हुंदै जाने कुरामा हामी विश्वस्त रहनै पर्दछ।’

जनताको सार्वभौम अधिकारको बहालि नै अहिलेको मुख्य मुद्धा रहेकोले यसको लागि आफ्नो पार्टी जस्तो सुकै निर्णय लिन पनि तयार रहेको उल्लेख गर्दै प्रचण्डको विज्ञप्तिमा नयां आन्दोलनको निर्माणका लागि यथासिघ्र साहसिक निर्णय र पहलका लागि अनुरोध गरिएको छ।

१२ साउनमा सम्पन्न ७ राजनीतिक दलको संयुक्त बैठकले माओवादीलाई आफ्नो आतंककारी शैलिका कार्य तत्काल बन्द गरी सहकार्यको लागि विश्वासको वातावरण निर्माण गर्न आग्रह गरेको थियो भने ११ असारमा सम्पन्न राष्ट्रिय सभा र विघठित प्रतिनिधि सभाको संयुक्त बैठकले माओवादीसित सहकार्यको लागि सात दललाइ म्याण्डेड दिएको थियो।
b यो लेखनीबारे यहां क्लिक गरेर आफ्नो विचार व्यक्त गर्नुहोस् ।

Popularity: 7%

Add comment July 27th, 2005

दश नेपाली अफगानिस्तानमा अलपत्र

काठमाडौं, (नेस)
काठमाडौंस्थित सुपरस्टार म्यानपावर ओभरसिजका तर्फबाट नयां दिल्ली हुदै अफगानिस्तान पुगेका १० जना नेपालीले आफूहरू अलपत्र परेको मंगलबार जनाएका छन्। उनीहरूले यसरी अलपत्र परेपछि उक्त म्यानपावरका प्रबन्धकद्वय प्रेम गुरुङ र पञ्च गुरुङलाई आफूहरूलाई स्वदेश फर्काउन अनुरोध गर्दा पनि कुनै वास्ता नगरेको बताएका छन्।

अफगानिस्तानमा अलपत्र परेका नेपालीहरूले कुल २ लाख १० हजार रुपियां बुझाएर त्यस तर्फ गएका थिए। २०६१ साल फागुन छ गते दिल्ली र दिल्लीबाट फागुन १५ गते अफगानिस्तान पुगेका उनीहरू हालसम्म थुनामा रहेकोमा छोडिए पनि आफूसंग खर्च नभएकाले सडकमा भौंतारिनु बाहेक अर्को विकल्प नभएको जनाएका छन्। श्री ५ को सरकारसमक्षसमेत उद्धारका लागि उनीहरूले अनुरोध गरेका छन्। स्थानीय सुपरस्टार म्यानपावरका पदाधिकारीहरूसंग यसबारेमा नेपाल समाचारपत्रले जिज्ञासा राख्दा जवाफ दिने उपयुक्त मान्छे कोही पनि फेला परेनन्।

मंगलबार अफगानिस्तानबाट प्रेषित पत्रमा जनाइएअनुसार अलपत्र पर्नेमा विजयकुमार बानियां, टीकाराम निउरे, हरिकृष्ण सुवेदी, सन्तोषकुमार गुरुङ, अभिनाश अधिकारी, बालकुमार कटुवाल, डम्बरबहादुर बोहोरा, विश्वराज राई, प्रताप पाठक र बलबहादुर पुन रहेका छन्। उनीहरूले स्थानीय प्रहरी हेडक्वार्टरमा उजुरी हालेर म्यानपावरका स्थानीय एजेन्ट अहित खान र निर्मलाकुमारी न्यौपानेसंग आफूले दिएको रकम झिकाइपाउन र आफूहरूलाई स्वदेश फिर्ता गराइदिन निवेदन दिएको जनाएका छन्।

Popularity: 7%

Add comment July 27th, 2005

साथर्क वार्ताका लागि सात दललाई संसदको म्याण्डेट, ‘गणतन्त्रको नजिक पुगेका छौं ‘-कोइराला

काठमाडौंबाट-केपी ढुंगाना /ब्लगर नेपाल।
असोज १८ लाई प्रतिगमनको सज्ञां दिने तथा माघ १९ लाई प्रजातन्त्रमाथिको प्रहार बताउने सात दललाई अन्ततः राष्ट्रिय सभा र विघठित प्रतिनिधि सभाका माननीय सदस्यहरुले माओवादीसित सार्थक वार्ताको ढोको खुल्ला गरिदिएका छन् । कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालको सार्वजनिक अभिब्यक्तिको तुरुन्त सकारात्मक प्रतिकृया जनाएर माओवादीका अध्यक्ष प्रचण्डले वार्ताको लागि मार्ग प्रसस्त गरेपछि तातेको वार्ताको चर्चा सात दलले पाँच बुँदे अवधारणाको सार्वजनिकीकरणसंगै राष्ट्रिय बहसको विषय बन्न पुगेको थियो ।

संसदको बैठकमा सहभागी सात दलका नेता । फोटो : चन्द्रमान महर्जन<br />
संसदको बैठकमा सहभागी सात दलका नेता । फोटो : चन्द्रमान महर्जन

त्यही सर्न्दभमा मंगलवार आयोजीत दुबै सदनको संयुक्त बैठकले ‘कुरा मात्र हैन वार्ता गर’ भन्ने निर्णय गरेपछि अब संसदवादी दल र २०४६ सालको परिर्वतनवाट असन्तुष्ट भएर हतियार बोक्न पुगेका माओवादीविचको वार्ताको सम्भावना बढेको छ ।
मंगलवार काठमाडौंको विरेन्द्र अर्न्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजीत दुबै सदनको विशेष सम्मेलनले निरंकुशतालाइ परास्त गर्न माओवादीलाई शान्तिपूर्ण राजनीतिक अवतरण गराएमा सजिलो हुने निष्कर्ष निकाल्दै सात दलले ९ साउनमा गरेको निर्णयलाई अक्षरस अनुमोदन गदैं सार्थक वार्ताको पहलका लागि अनुरोध गरे । नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले दुबै सदनमा सो प्रस्ताव राख्नुभएपछि माननीयहरुल तालि पिटेर त्यसको समर्थन गरेका थिए ।
सो प्रस्तावमा भनिएको छ-’निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण प्रजातन्त्रको स्थपना गर्ने दृढताका साथ शान्तिपूर्ण संयुक्त जनआन्दोलन जारी रहेको छ । यसै सिलसिलामा वार्ताको लागि भरपर्दो वातावरण निर्माण गर्न नेकपा माओवदीलाइ आव्हान गर्दै जनआन्देलन संचालन गरिरहेका सात राजनीतिक दलका शिर्षथ नेताहरुको बैठकवाट २०६२ साउन ९ गते भएको निर्णयलाई यो बैठक समर्थन गर्दछ र सो अनुरुप क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्दछ । साथै वार्ताको लागि उपयुक्त वातावरण निर्माण गर्ने सर्न्दभमा विशेष पहल गर्न राजनीतिक दलका शिर्षनेताहरुसंग यो बैठक आग्रह गर्दछ । वार्ता मार्फ नै माओवादी समास्या समाधान गर्न सकिन्छ र जनताका प्रतिनिधिले मात्र यस्तो हैसियत र क्षमता राख्दछ भनी यो बैठक विश्वास प्रकट गर्दछ ।’

२
सहभागी सांसदहरु । फोटो : चन्द्रमान महर्जन

संयुक्त सभालाइ राष्ट्रिय सभाका उपाध्यक्ष रामप्रित पासवानले सञ्चालन गर्नुभएको थियो । यसका साथै सो विशेष बैठकले सरकारद्धारा पारित २०६२/०६३ को बजेट प्रतिगमनलाई संस्थागत गर्ने प्रयास मात्र रहेको र अबैधानीक सरकारका अबैधानीक मन्त्रिले अध्यादेश मार्फ जारी गरेको बजेटलाई पनि बैधानीक सदनको जस्तै रुप दिएर भ्रम फैलाएको निष्कर्ष निकाल्दै सो बजेट अस्विकृत गर्ने निर्णय गरेको छ । बैठकले यसका साथै अन्य विभिन्न १० प्रस्तावहरु पारित गरेको छ ।
जस्मा सरकारद्धारा जारी सम्पूर्ण अध्यादेश तथा ऐन नियमा गरेको संशोधनको अवज्ञा गर्ने, संयुक्त जनआन्दोलनको विकल्प नै नरहेकोले एकतावद्ध भएर अगाडि बढ्न जनसमुदाय समक्ष आव्हान गर्ने, साउन ४ गते गर्ने तयारी गरिएको तेस्रो प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको बैठकमा हस्तक्षेप गर्ने सरकरको कार्यको घोर भत्र्सना गर्ने , लोकतन्त्रको माग सहित सडक आन्दोलनमा होमिएका सञ्चारकर्मी, कानुन व्यवसायि, निजामति कर्मचारी, मानव अधिकारकर्मी तथा नागरिक समाजको आन्दोलनप्रति समर्थन ब्यक्त गर्ने, निरंकुश शाही सरकरको गैर जिम्मेवार कार्यको भत्र्सना गर्ने, १० साउनमा नागरिक समाजद्धारा आयोजित विरोध कार्यक्रममा हस्तक्षेप गर्ने शाही सरकारको कार्यको भत्र्सना गर्ने, कथित भ्रष्टाचार नियन्त्रण शाही आयोग अबैधानीक र निरंकुशतालाई संस्थागत गर्न गठन भएको प्रष्ट पार्दै सोको खारेजिको पुन माग गर्ने नौ वटा प्रस्ताव पारित गरेको छ ।
दुबै सदनलाई सम्बोधन गर्ने नेताहरुले यस पटक खुलेर गणतन्त्रका कुरा गरेका थिए । कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला हुन् या एमालेका महासचिव माधवकुमार नेपाल या प्रजातान्त्रिकका कार्यबाहक सभापति गोपालमान श्रेष्ठ सबैले गणतन्त्रको चर्चा गर्दा शब्दैपिच्छे हल तालिले गुञ्जायमान हुन्थ्यो ।

जनमोर्चा नेपालका उपाध्यक्ष लिलामणि पोखरेलले त खुलेर घोषणा नै गरे -म हिजो पनि गणतन्त्रवादी थिए, आज पनि छु र भोलि पनि रहने छु । पोखरेलले नेपाली जनतालाई गणतन्त्र भारी भएकोले विसाउन चाहिरकेको पनि बताए । अन्तमा भने उनले निक्कै होसियारीपूर्वक उनले आफ्नो भनाइ टुंग्याए-यो मैले भनेको हैन है जनताले भनेको ।
सात दलले चार साउनमा राजकीय प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्ने प्रयास गरेको दुबै सदनको बैठक प्रहरीले हस्तक्षेप गरी विफल तुल्याएको थियो ।

बैठकमा रमाईला दृष्य
- बैठक प्रारम्भ भएको आधा घण्टामा नै मञ्च छोडेर हिडेका कांग्रेस सभापति कोइराला एकैचोटि चार घण्टा पछि मञ्चमा फर्किनुभएको थियो । कहाँ गएर बसेछन् भनेर खोज्दै जाँदा उहाँ मञ्च पछाडिको एक कोठामा चिया र चुरोट आएर पो बसेका रहेछन् ।

- कार्यक्रम आयोजना हुँदा हुँदै टाँगिएको तुल झर्दा असुभ को संकेत भो भनेर चर्चा गरिएको आधा घण्टामा नै प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा र केन्द्रिय सदस्य प्रकाशमानलाई दुइ वर्ष कैद र नौ करोड जरिवाना गर्ने शाही आगोगले फैसला गरेको समाचार आईपुग्यो ।

- पूर्व अर्थमन्त्री तथा कांग्रेसका नेता रामशरण महतले बजेटको विषयमा चर्चा गर्दै भगवान भरोसे बजेट भन्दा सभापति कोइराला पनि मुसुक्क हाँस्नु भएको थियो ।

-सभाको अध्यक्षता गरिरहनु भएको राष्ट्रिय सभाका उपाध्यक्ष रामप्रित पासवानले संयुक्त बाममोर्चाका संयोजक सिपि मैनालिलाई महासचिव भनेर सम्बोधन गर्नुभएको थियो ।

- एमालेका महासचिव माधवकुमार नेपालले सम्बोधन गर्दा विच विचमा हुटिङ्ग हुँदा सांसदहरुले कुन मण्डले आए भनेर प्रतिकृया जनाएका थिए । दर्शकदिर्धावाट प्रतिगमन आधा सच्चिएको भन्ने कि नभन्ने, राजाले बोलाए भने सत्तामा जान हाम फाल्ने कि नफाल्ने भन्ने प्रश्न गरिएको थियो ।
b यो लेखनीबारे यहां क्लिक गरेर आफ्नो विचार व्यक्त गर्नुहोस् ।

Popularity: 7%

Add comment July 27th, 2005

देउवा र सिंहलाई दुइ बर्ष जेल सजाय

एचकेनेपाल डट कम सम्वाददाता ।
भ्रष्टाचार नियन्त्रण शाही आयोगले पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा र तत्कालीन आवास तथा भौतिक योजना मन्त्री प्रकाशमान सिंहलाई दोषी ठहर गरेको छ ।

विवादस्पद मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको ठहर गर्दै दुबैलाई दुइ बर्ष कैद र ९ करोड रुपैया जरीवाना गर्ने फैसला गरेको छ ।

शाही आयोगले उहांहरु दुवै जनालाई आफ्नै निवासबाट अनुसन्धानका लागि देउवालाई गत बैशाख १४ गते मध्यरातमा र सिंहलाई बैशाख ५ गते हिरासतमा लिइएको थियो । उहांहरू दुवैजनाले आफूहरूमाथि लगाइएको अभियोग राजनीतिक रुपले अभिप्रेरित भएको बताउंदै आउनु भएको छ।

देउवा नेपालको इतिहासमा भ्रष्टाचारको अभियोगमा जेल सजाय पाउंने प्रथम सर्वोच्च राजनीतिक नेता हुनु भएको छ ।

मेलम्ची खानेपानी आयोजनाका एक प्रमुख दाता एजेन्सी ‘एशियाली विकास बैंक’ को छुट्टै छानवीन समितिले आयोजनामा भ्रष्टाचार नभएको बिबिसीले उदृत गरेको छ ।

b यो लेखनीबारे यहां क्लिक गरेर आफ्नो विचार व्यक्त गर्नुहोस् ।

Popularity: 7%

9 comments July 26th, 2005

नागरिक समाज सडकमा,२०४६ सालको झझल्को

काठमाडौंबाट-केपी ढुंगाना / ब्लगर नेपाल।
अन्तत पुर्ण प्रजातन्त्रका लागि सात राजनीतिक दल, नागरिक हकको बहालिको माग सहित सडकमा उत्रिएको कानुन ब्यवसायी, पुर्ण प्रेस स्वतन्त्रताको माग सहित आन्दोलित भएको सञ्चारकर्मी तथा सरकारद्धारा गरिएको निजामति ऐन संशोधनको विरोधको विरोधमा सडकमा उत्रिएका निजामति कर्मचारीको समर्थनमा मानव अधिकारकर्मीहरु पनि औपचारिक सडकमा उत्रिएका छन् ।

1
प्रहरीले पक्राउ गर्ने प्रयास गरेपछि सडकमा सुतेका मानव अधिकारवादी कृष्ण पहाडी लगायत अन्य । फोटो- थिर भुषाल

मानवअधिकार एवं प्रेस स्वतन्त्रतासहित पुर्ण लोकतन्त्रको माग गर्दै नागरिक समाजको अगुवाईमा सोमबार उनीहरु २०४८ सालको जनआन्दोलनलाई सम्झन लाएककै समुह लिएर भोटाहिटिमा उपस्थित भएका थिए । आहो साच्चिकै त्यो जमात हेर्न लाएकै थियो । भोटाहिटिवाट सरकारद्धारा रत्नपार्कमा जारी निशेधाज्ञा तोड्न भेला भएका मानवअधिकारकर्मीको समुह १९ माघको विरोधमा सडकमा अत्रिएका सम्पूर्ण संगठनको समुहलाई माथ गर्ने थियो ।
हुनपनि त्यो समुहमा २०४६ सालको आन्दोलनमा नेतृत्व गर्ने डा. मधुरा श्रेष्ठ, डा. देवेन्द्रराज पाण्डेले नै नेतृत्व गर्नुभएको थियो । हुन त ब्यापक मात्रामा परिचालित शुरक्षाकर्मीहरुको अवरोधका कारण उनीहरु रत्नर्पाकमा पुग्न सकेनन् । तर आन्दोलन निक्कै प्रभावकारी थियो । मानव अधिकारकर्मी जव अगाडि बढ्ने प्रयास गर्थे तव प्रहरी पक्राउ गर्न आउँथे अनी उनीहरु लम्पसार परेर सुत्थे । अनी प्रहरी लाचार भएर टुलुटुलु हेर्थे।

2
लोकतन्त्रको समर्थनमा नारा लगाउँदै एक मानव अधिकारकर्मी । फोटो- थिर भुषाल

तै पनि प्रहरीले सो प्रदर्शनवाट २६ जना मानव अधिकारकर्मीलाई पक्राउ गरिछाड्यो । त्यसमा केही पत्रकारहरुको पनि नामावलि रहेको छ । प्राप्त जानकारी अनुसार प्रदर्शनवाट प्रहरीले अन्तरिम कालका मन्त्री डा. देवेन्द्रराज पान्डे, मानवअधिकारकर्मी पद्यरत्न तुलाधर, कृष्ण पहाडी, मल्ल के सुन्दर, सुप्रभा घिमिरे, भरत प्रधान, बद्री खनाल, सुदर्शन ओली, पद्यलाल विश्वकर्मा, चरण प्रर्साई हुनुहुन्छ । प्रदर्शनबाटै नेपाल पत्रकार महासंघका उपसभापति सञ्जयसन्तोषी र्राई, केन्द्रीय सदस्य पूर्ण बस्नेत, पत्रकारहरु कनकमणी दीक्षित, श्याम श्रेष्ठ, केदार खड्का र कृष्ण अविरललाई पक्राउ गरिएको छ । त्यसैगरी, पक्राउ पर्नेमा अशोक कार्की, योगराज लामिछाने, तारानाथ घिमिरे, निनु चापागाईं, आनन्ददेव भट्ट, अरुणा उप्रेती, विकास खनियाँ, सुवास पोखरेल, मनिष सिंजापति र अर्जुन अधिकारीलाई पक्राउ गरेको छ ।

शान्तिपूर्ण प्रदर्शनका सहभागी मानवअधिकारकर्मी पहाडी, पत्रकारहरु श्रेष्ठ, बस्नेत र सचिन घिमिरे लगायतलाई प्रहरीले लछारपछार पारी घाइते बनाएको छ । नागरिक समाजको आव्हानमा सोमबार अपरान्ह भोटाहिटीबाट निकालिएको सो र्‍यालीमा ऐक्यबद्धता जनाउँदै सयौंको संख्यामा पत्रकार, कानुन व्यावसायी, प्राध्यापक, मानवअधिकारकर्मी सहभागी भएका थिए । १९ माघपछि लोकतन्त्रको माग गर्दै नागरिक समाज यति व्यापक रुपमा सडकमा उत्रेको यो पहिलो पटक हो ।

हामीलाई थाहा छ यस अघि नै मजदुर संगठन, प्राध्यापक, डाक्टर, वकिल, बाहेक सम्पूर्ण जगत पुर्ण प्रजातन्त्रको माग सहित सडकमा उत्रिसकेका छन् । अब खाँचो छ त यसलाई एकिकृत गरी संयुक्त आन्दोलनको स्वरुप दिने हो । प्राप्त जानकारी अनुसार पक्राउ गरिएका मानव अधिकारकर्मीहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

नेपाल मानव अधिकार संगठनका कार्यबाहक अध्यक्ष चरण प्रर्साईको मोवईल नम्बर डायरीमा शुरक्षित पो रहेछ । बन्द गरेको छैन की भनेर टेलिफोन सेटमा नम्बर डायल गरेको खुल्ला नै रहेछ ।
उनका अनुसार बेलुका १० बजेसम्ममा उनीहरुलाई छोड्ने कुनै संकेत आएको छैन रे । उनले मसंग कुरा गर्दै भने-प्रहरीले आजको खाना हाम्रो मेसमा नै खानुहोला भनेका छन् । यसको मतलव आज हामीलाई छोड्दैनन् ।’ उनका अनुसार पक्राउ परेकाहरुले सरकाकारी खाना बहिष्कार गर्ने घोषणा गरिसकेका छैनन् ।
यसका साथै आन्दोलनरत सात राजनीतिक दलले स्थगित प्रतिनिधि सभा र राष्ट्रिय सभाको तेस्रे बैठक मंगलवार दिनको एक बजे अर्न्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गर्ने भएका छन् । य अघि साउन ४ गते राजकिय प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्ने तयारी गरिएको सो बैठकमा प्रहरीले हस्तक्षेप गरेपछि स्थगित भएको थियो ।
b यो लेखनीबारे यहां क्लिक गरेर आफ्नो विचार व्यक्त गर्नुहोस् ।

Popularity: 7%

2 comments July 25th, 2005

‘पल्पसा क्याफे’ सोंच्दै आइस क्रिम खांदै..

सम्वाद-१२
- पशन तमू

प्रचण्ड गर्मीले मौसमलाई उत्ताउंलो र छाडा बनाएको छ ।
त्यहि उत्ताउंलो र छाडा मौसमको फाइदा लुटेर चीनियां युवतीहरु अर्ध नग्न कुद्दै छन् ।
मलाई थाहा छैन कहांसम्म पुग्ने हुन् तिनीहरु ….?
हामी भने तिनीहरुको गन्तव्यसंग असम्बन्धित र निरुद्धश्य छौं ..।
र हामीले पल्पसा क्याफे खोज्दैछौं र क्रमशः खोजिरहेका छौं ।

सकु आइसक्रिमसंग कफीको स्वाद लिईरहेकी छिन् र पल्पसा क्याफेबारे कुरा गरिरहेकी छिन्। पल्पसा क्याफेले यतिबेला निकै चर्चा पाएको छ । त्यही चर्चासंगै ओझल परेकी सकु आफ्ना मथिंगलमा हिमालको बरफ खोज्छिन् । कफीको स्वादले उनको धित मरे पनि / नमरे पनि सकु, बच्ची झैं आइसक्रिम चुस्दैछिन् । सोंच्दैछिन् पल्पसा क्याफे भित्रका कफी गफहरु सांच्चि कस्ता होलान् ? कति रोमाञ्चक होलान् ? कति छट्पटि होलान्- कति कथा होलान् ? कति व्यथा होलान् -
कति मिठा, सुखद सपनाहरु होलान् ?
कति भत्किएका, दुखद सपनाहरु होलान् ? कति आशाहरु होलान् अनि कति निराशाहरु… ?

जहिल्यै बन्द देखिने मूल ढोका माथि ठूला ठूला अक्षरमा सजिएको पिसिसिडब्लुको साइनबोर्डलाई निहाल्दै त्यसमा पनि उनी पल्पसा क्याफे खोज्दैछिन् सकु । खोजियो भने जहां पनि भेटिन्छ । खोजिएन कंहि भेटिदैन मनका तरंगहरु । त्यसैले कहिलेकाही मनहरु तंरगित हुनु पर्छ बस् पल्पसा क्याफे यही नेर उभिन आइपुग्छ । उनी आए देखि कराएकै कराई छिन् ।

म, शुरुदेखि नै सरुभक्त, अग्निशिखा र नारायण वाग्लेको जबरदस्त फ्यान र सकु मेरी अघोषित फ्यान ..। के हो फेरि हात बांध्न थाल्या हो - गतांकमा मलाई नदेखे पछि उनी मेरो कमजोरीसंग व्रि्रोह गदैं थिई । यसको अर्थ कहिं न कंहि मेरा अक्षरहरुमा उनी रमाउंन चाहन्छिन् र बांच्न्न चाहन्छिन् । अक्षरहरुमा बांच्न चाहने मोहले नै नारायण वाग्लेलाई पल्पल्सा क्याफेले घच्घच्याएको थियो । उनलाई त्यहि मोहले नै कहिले हुम्ला त कहिले जुम्ला अनि कहिले रसुवा त कहिले कालापानी पुर्‍याएको थियो ।

‘भित्री गाउंबाट पहिलो पटक शहर आएको बटुवा जस्तै परबाट हेर्थें म, वाग्लेको अग्लाइलाई । ती कफि गफ लेख्थे, फिचरका भाषा यति मिठा हुन्थे कि मेरै गाऊं , मेरै जीवन, मेरै आमाका बारे केही कुरा लेखिरहेका हुन् जस्तो लाग्थ्यो । ती दोहोरो सम्वादमा जति संक्षिप्त हुन्थे, लेखाईमा त्यति नै धेरै आयामिक हुन्थे ।’ ‘ओहो यिनले गरे जस्तो गर्न पा’पो हुन्थ्यो जस्तो लागि रहन्थ्यो ।’ देवेन्द्र भट्टराईले युनाइटेड वी ब्लगमा लेखे जस्तै मलाई पनि त्यस्तै लागि रहन्थ्यो ।

अस्ति केही समय पहिले झलक सुबेदीको इमेल पाएको थिएं । आकस्मिकता नै भन्नु पर्छ । सोचें, लगभग १०/१२ बर्षछि हाम्रो भेट भएको थियो त्यो पनि इमेलमा । खुशी लाग्यो कविता लेखिरहेका रहेछौ, ‘लक्ष्मीप्रसादहरु अचेल पनि कविता लेख्छन् /लेखिरहन्छन् ..’ अनि त्यो बेला तिमीले लेखेको ‘नदीपुरका सांझहरु..’ अझै सम्झिरहेको छु । उनका छोटा र मिठा हरफहरुले मलाई फेरि त्यहि पोखराको नदीपुर तिर पुर्‍याएको थियो । जहां प्रत्येक सांझ नदीपुरमा साहित्यिक संगोष्ठीहरु आयोजित हुन्थे । अलिखित पल्पसा क्याफे भित्र कफी गफ होइन चिया गफ हुन्थे । त्यहां झलक सुवदी (हालः लेखक/स्तम्भकार नेपाल साप्ताहिकका राजनीतिक विश्लेषक) हुन्थे, शून्यवादका श्रष्टा सरुभक्त हुन्थे, तरलवादका श्रष्टा, कार्टुनिष्ट दुर्गा बराल (वात्सायन), अहिलेका चर्चित नाट्यकर्मी अनुप बराल हुन्थे, म हुन्थें, कवि रमेश श्रेष्ठ हुन्थे र हुन्थे थुप्रै साहित्यानुरागीहरु…।

झलकको सन्दर्भले म निशंकोच बगेको थिए स्मृतिको सिम्फोनी टहल्दै कि सन्दर्भ सायद अर्कै थियो । पल्पसा क्याफेलाई झलकले झल्काइ सकेका छन् र पुनः युनाइटेड वी ब्लगमा - वाग्लेले छानेको विषय आजको नेपालको सबभन्दा मुख्य विषय हो । माओवादीका नाममा, उपन्यासको पात्र सिद्धार्थले उठाएको विषय र जनयुद्धका अभूतपूर्व प्रभावहरु । सिद्धार्थको प्रश्नको जवाफ खोज्न, त्यसको आयाम नाप्न निस्केको सहरिया मध्यमवर्गीय हैसियतको कलाकार ‘दृश्य’ का अनुभूतिहरुको संगालो हो पल्पसा क्याफे । उसका भत्केका सपनाहरुको, ठेस लागेका भावनाहरुको कथा बनेको छ पल्पसा क्याफे ।’

यतिञ्जेल सकु र मैले बांचि रहेको पल्पसा क्याफेको हृयांगओभर झन प्रिय लाग्न थाल्छ । अब के भन्छन् त पल्पसा क्याफेका श्रष्टा नारायण वाग्ले आफ्ना पाठकहरु सामु - ‘पाठकलाई खलबलाउंन म चाहन्न तर मेरो रचनाप्रति तिनको समय माग्न चाहन्छु ।’ उनका लागि लेखन किन महत्वपूर्ण छ - वाग्ले भन्छन् - ‘किन भने लेखन बिना म आनन्दले समय भोग्न सक्दिन ।’

पल्पसा क्याफेको कुरा गर्दै जांदा आयो-आयो भनेर कहिल्यै नआउंने पाहुर आइ पुगेको छ यहां । सुखद आगमन भन्नु पर्छ । सकुले पल्पसा क्याफेलाई महत्व दिई रहंदा नजिकको तीर्थलाई अवहेलना नगर्न भन्छु म । उनी दुविधामा पर्छिन् र आंखा तर्छिन् ‘के हो यो पाहुर ?’

आइसक्रिममा कफीको स्वाद नभएर एकैचोटी पाहुर मिसिदा उनी असमञ्जसमा पर्छिन् । पल्पसा क्याफेको सन्दर्भलाई यही पटाक्षेप गरेर किसन राईको सम्पादनमा भर्खरै बजारमा आएको साहित्यिक त्रैमासिक पाहुर हात पार्न हतारिन्छु । उहिले पहिले बा आमाले केटाकेटीलाई फकाउंन पाहुर बिस्कुट किनिदिन्थे । सायद म सकुलाई फकाउंन त्यस्तै पाहुर उपहार ल्याऊं ? कुनै समय पाहुर खाएकी भए हुनसक्छ, भर्खर बजारमा उपलब्ध पाहुरमा पनि त्यस्तै स्वाद भेटि्लन् , पल्पसा क्याफेलाई केही बेर छोडेर…..।

बुधबार २० जुलाई, २००५
संघहाई स्टि्रट जोर्डन, हंगकंग
b यो लेखनीबारे यहां क्लिक गरेर आफ्नो विचार व्यक्त गर्नुहोस् ।

Popularity: 8%

9 comments July 25th, 2005

बिसे नगर्चीको बयान

- श्रवण मुकारुङ
मालिक !
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक !
म बौलाएँ ।

मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अढाई सय वर्षपछि आज के भयो मलाई ?
यो बिसेलाई दशा लाग्यो मालिक !
म बौलाएँ ।

नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाइएको
यतिमै यो बिसे उफ्रनु पर्ने ? थुइक्क बिसे … ।
म बौलाएँ मालिक !
म बौलाएँ ।

मेरो हात भाँचियो
अब म हजुरका भारदारहरूलाई लवेदा सिउन सक्दिनँ
नर्सिङ्गा फुक्न/सनाई बजाउन
अथवा कुनै मङ्गलगान वा मृत्युगीत गाउन सक्दिनँ
मेरो खुट्टा भाँचियो
अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठिक्कले बोल्न सक्दिनँ
मालिक ! म बौलाएँ ।
मालिक !

यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्ला अग्ला पहाडहरू
आज कसरी यस्तरी होचाहोचा भए ?
हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरूप भए ?
यो दरौँदी किन उल्टो बगेको देख्छु ?
यो दरबारै किन खण्डहरजस्तो देख्छु ?
म बौलाएँ मालिक ! म बौलाएँ ।

मालिक !
हजुरको तरबारले टाउको काट्छ कि फूल ?
भ्रममा परेँ म
हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ?
भ्रममा परेँ म
यस राज्यलाई प्रजाले बनायो कि राजाले ?
भ्रममा परेँ म
अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु मालिक !
म कसरी आतङ्ककारी हुनसक्छु ?
म केवल बौलाएँ मालिक !
बौलाएँ ।

हो, मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला
भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनेँ हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरेँ हुँला

मालिक !
मान्छे बौलाएपछि आफैँसित पनि निहुँ खोज्दोरहेछ
अढाई सय वर्षदेखि मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दरसन्तानहरू कहाँकहाँ पुगे ?
मैले खोज्न चाहेँ हुँला
मेरा औँलामा खोपिएका छ्यान्द्रा र बगेका रगतहरूले मलाई उक्सायो
तरबारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनेको मुलुक विशाल ठानेँ हुँला

मालिक !
यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुन सक्छु ?
म साँच्चै बौलाएँ मालिक !
साँच्चै बौलाएँ ।

मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक ! म बौलाएँ ।

जन्म: २०२५ जेठ २६, दिल्पा, भोजपुर
प्रकाशित कृति: दुई कवितासङ्ग्रह, एक गीतसङ्ग्रह, एक नाटक र एक गीतिएल्बम
सिर्जनाको प्रमुख विधा: कविता

Popularity: 7%

9 comments July 25th, 2005

एकछिन कविता पढेर ३० हजार

-फूलमान वल, कान्तिपुर दैनिक ।
काठमाडौं, - श्रवण मुकारुङलाई चिन्नुपर्दा धेरैको दिमागमा कविता फलाक्दै हिड्ने बेरोजगारको तस्वीर आउँछ । कविता, गीत र नाटक गरी चार-चारवटा कृति निकाली सक्दा पनि उनीसँग जम्माजम्मी १० हजार गोजीमा परेको अनुभूति छ । तर शनिबार तिनै श्रवणको हातमा कविता सुनाएबापत ३० हजार रुपैयाँभन्दा बढी हात पर्‍यो ।
‘नसोचिएको भयो,’ आरोहण गुरुकुल थिएटरबाट बाहिरिँदै गर्दा शुभचिन्तकमाझ घेरिएका श्रवणले भने- ‘म यसलाई जीवनकै अविस्मरणीय घटना मान्छु ।’

अविस्मरणीय नहुनु पनि किन ? आफैंले प्रकाशित गरेको कृति ‘देश खोज्दै जाँदा,’ ‘हिउँको दरबार’ र ‘यलम्बर’ बाट उनले कमाएको जम्मा ७ हजार हो । गत वर्ष साझा प्रकाशनबाट प्रकाशित ‘जीवनको लय’ कविता संग्रहबाट करिब ३ हजार रोयल्टी पाए । कविता कृति भन्नासाथ मुस्किलले बिक्री हुने र सित्तैमा वितरण गर्नुपर्ने साझा समस्याबीच गुरुकुल थिएटरमा आयोजित श्रवणको ‘एकल कविता वाचन’ ले सबैलाई चकित तुल्याइदियो ।

‘हामी यति खुसी छौं कि भुइँमा खुट्टा छैन भने पनि हुन्छ,’ आयोजकमध्ये एक हिमाल एसोसिएसनका केदार शर्माले भने- ‘टिकट किनेर कविता सुन्ने गुणी दर्शक पनि हुँदा रहेछन् ।’ शर्माका अनुसार कविता वाचनका लागि एसोसिएसनसँगै नेपाल कविता डटकम र गुरुकुलले जम्माजम्मी एकहप्ते तयारी गरेको हो । ‘कृति किनेर पढ्ने संस्कार नबसेको हाम्रो समाजमा’ कवि विक्रम सुब्बाले भने- ‘यो नौलो घटना हो ।’

त्यसो त धेरैले साहित्यलाई अन्य आयमूलक काम या रोजगारी भ्याएर गरिने फुर्सदको विषय बनाउँछन् । तर लेखेरै जीवन गुजारा गर्न खोज्ने श्रवणजस्ता स्रष्टाका लागि यो सामान्य होइन । ‘मेरो त कविता सुनाउँदैमा उमेर बित्न लागिसक्यो,’ हौसिँदै उनले कान्तिपुरसँग भने- ‘आउने पीढीका लागि उत्साहको ढोका खुलेको छ ।’

भोजपुरको पहाडबाट दुई दशकअघि काठमाडौं पसेका श्रवण पछिल्लोचोटि ‘बिसे नगर्चीको बयान’ कविताबाट चर्चामा आएका हुन् । नेपाल एकीकरणको इतिहाससँग गाँसिएको पात्र बिसे नगर्चीलाई बहुलाएको मनोदशामा प्रस्तुत गरिएको कविताले कार्यक्रममा ‘वान्स मोर’ पायो । विभिन्न सात खण्डको वाचनमा उनले प्रेम, संवेदना, पहाड र जीवनका कविता मात्रै सुनाएनन् । प्रजातन्त्र र पसिनाका सन्दर्भ उठाउँदै फेरि भने-

यी दरबारका भव्य झ्याल-ढोकाहरूमा
कस-कसका हातका रेखाहरू छन् ?
यी मन्दिरका मूर्ति र गुम्बाका गजुरहरूमा
कस-कसका औंठाका शंख-चक्रहरू छन् ?
एक-एक खुट्याउंनु छ, इतिहासको खुनी अनुहार
चिन्नु छ-
को हो असली निर्माता ?

Popularity: 7%

1 comment July 24th, 2005

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2005
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....