Archive for September, 2005

भारतीय विमानमा बम रहेको हल्लाले काठमाडौं हल्लियो

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर ३० -
काठमाडौं, भारतको नयाँ दिल्लीबाट काठमाडौंतर्फ आइरहेको जेट एयरको एउटा बोइङ विमानमा बम राखिएको हल्ला चलेपछि बिहीबार दिउँसो केही घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक र बाह्य सबै उडान अवरुद्ध भयो ।

1

नयाँ दिल्लीस्थित एयर ट्राफिक कन्ट्रोलरले काठमाडौंतर्फ आइरहेको जेट एयरको बोइङ ७३७ मा बम राखिएको भन्ने सूचना प्राप्त भएको जानकारी पहिले बनारसस्थित विमानस्थलका कन्ट्रोलरलाई दिएको र बनारस विमानस्थलले त्रिभुवन विमानस्थललाई यसबारे जानकारी दिएपछि विमानलाई आकस्मिक अवतण गराइएको सम्बद्ध अधिकारीहरुले जनाएका छन् ।

बम राखेको सूचना प्राप्त हुनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयबाट संकटकालीन योजना अनुसार सबै सुरक्षा निकायलाई क्रियाशील तुल्याइएको र १ बजेर ४० मिनेट जाँदा विमानलाई सुरक्षित अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

अवतरण पश्चात् विमानलाई अलग्गै पार्क गराई विशेषज्ञसहितको जाँच टोलीबाट यात्रु , सामान र विमानको जाँच गरिँदा कुनै पनि शंकास्पद वस्तु नभेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार, सो विमान बिहीबार साँझ नै यात्रु लिएर नयाँ दिल्लीका लागी उडेको छ।

Popularity: 8%

1 comment September 30th, 2005

भारतीय नेताहरु आज फर्कने

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर ३० -
नेपाल भ्रमणमा रहेका भारतीय नेताहरु विभिन्न राजनैतिक दलका नेताहरुसँगको भेटघाट पछि आज शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरिसकेपछि स्वदेश फर्कँदैछन्। यसअघि उनीहरुले सार्वजनिक सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको भनिए पनि विदेशी हस्तक्षेपको कुरा चर्को रुपमा उठ्न थालेपछि त्यसलाई स्थगित गरिएको बताइएको छ।

यसैबीच बिहीबार भारतीय नेताहरुले आन्दोलनरत राजनीतिक दलका नेताहरुलाइ संयुक्त रुपमा रुपमा भेटेका छन् । त्यसैगरी उनीहरुले बिहीबार साँझ २०४६ सालको जनआन्दोलनका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको निवास चाक्सीबारीमा गई नागरिक समाजका प्रतिनिधिहरुसँग छलफल गरेका छन ।

चाक्सीबारीमा नै २०४६ सालको आन्दोलनको घोषणा गरिएको थियो र त्यहाँ भारतीय नेता चन्द्रशेखरले पनि बोलेका थिए।

नेपाली नेताहरुसितको भेटका क्रममा नेपाल - भारत सम्बन्ध र राजनैतिक दलहरुले गरिरहेको आन्दोलनका बारेमा छलफल भएको बताइएको छ । छलफलका क्रममा , भारतीय नेताहरुले नेपालमा विद्यमान समस्याको समाधान नेपाली जनताले नै खोज्न सक्नेमा आफूहरु बिश्वस्त रहेको बताएको हाम्रा काठमाडौं प्रतिनिधिले जनाएका छन्।

संयुक्त भेटघाटमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट भने कसैको पनि उपस्थिति थिएन । संयुक्त भेटअघि भारतीय नेताहरुले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई उहाँकै निवास महाराजगञ्जमा पुगेर भेटेका थिए । भारतीय नेताहरुले बिहीबार नै बल्खुमा एमाले महासचिब माधव नेपाल लगायतका नेताहरुलाइ पनि भेटेका थिए ।

उता, राजपरिषद् स्थायी समितिका सदस्य तथा राजाका निकट सल्लाहकार सच्चितशम्शेर जङ्गबहादुर राणाले जनताको विश्वास र समर्थन नभएका राजनीतिक दलहरूले आफ्नो आन्दोलनमा विदेशी राष्ट्रका राजनीतिज्ञहरूलाई आमन्त्रण गरी देशलाई झन् द्वन्द्वग्रस्त अवस्थामा पुर्‍याउन लागेको बताउनुभएको छ ।

नेपाल देशभक्त सङ्घ, भक्तपुरद्वारा आयोजित ‘राजसंस्था, शान्ति र प्रजातन्त्र’ विषयक विचारगोष्ठी तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै उहाँले राजसंस्थाको छत्रछायाँले मात्र मुलुकमा शान्ति भइरहेको छ भन्नुभयो ।

Popularity: 8%

Add comment September 30th, 2005

शाही आयोग निष्क्रिय, अख्तियार सक्रिय

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर ३० -
शाही आयोगका रुपमा सौता लागेपछि केही समय निष्क्रिय झैं बनेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग अहिले पुनः सक्रिय बन्न थालेको छ। बिहीबार उसले कृषि विकास बैङ्कका तत्कालीन कायममुकायम महाप्रबन्धक जलनकुमार शर्मा, उपमहाप्रबन्धक रामचन्द्र महर्जन, विभागीय प्रमुख भरतकुमार पोखरेल र शाखा प्रमुख गोपालप्रसाद घिमिरेविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

बैङ्कका उल्लिखित पदाधिकारीहरूले बैङ्कको हायर पर्चेज कर्जा कार्यविधि र बैङ्कको सञ्चालक समितिले तय गरेको नीतिभन्दा बाहिर गई ‘सप्लायर’ले पेस गरेको कोटेसनलाई सवारीसाधनको मूल्य मान्नुपर्ने र खरिद गर्ने सप्लायरको गाडीमा मात्र लगानी गर्नेसमेतका व्यवस्था गरी सप्लायरले पुनः खरिद गर्नुपर्ने भन्ने र्सत उल्लङ्घन भएमा के-कसरी बैङ्क हित संरक्षण गर्ने भन्ने विषयमा मौन रही एकै परिवारको स्वामित्वमा रहेका कम्पनीहरूबाट मात्र अत्यधिक मात्रामा गाडी ‘सप्लाइ’ गराएको अनुसन्धानबाट देखिएको आयोगद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सप्लायरलाई कालो सूचीमा राख्न शाखा कार्यालय रत्नपार्कले गरेको पत्राचारसम्बन्धमा कुनै कारबाही नगरी सप्लायरसँग मिलेमतो गरी बैङ्कलाई हानि-नोक्सानी पुग्ने कार्य गरेको देखिएको विज्ञप्तिमा उल्लेख छ ।

सो मुद्दामा निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगोअनुसार जरिवाना र दुई वर्षको कैद सजायको माग दाबी लिइएको छ ।

त्यसैगरी सवारीसाधन सप्लाइ गर्ने काठमाडौँ टुकटुक प्रा.लि., सो कम्पनीका सञ्चालकहरू जगरनाथप्रसाद सोनार, सुश्री सरोज सर्राफ र रवीन्द्रकुमार सर्राफ, अनिता इलेक्टि्रकल एन्ड मेकानिकल कम्पनी प्रा.लि., सो कम्पनीका सञ्चालकहरू श्रीमती अनिता सर्राफ र श्रीमती कोसिला सोनारिन र रवि इन्टरनेसनल र त्यसका प्रोप्राइटर रवीन्द्रकुमार सर्राफसमेतविरुद्ध ऐनअनुसार सजाय गरी बैङ्कलाई हानि-नोक्सानी पुगेको रकम असुलउपर गर्ने माग दाबी लिइएको छ ।

Popularity: 8%

Add comment September 30th, 2005

भारतीय नेतालाई कालो झन्डा र ढुंगामुढा

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २९ -
नेपालको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवध्दता जनाउन भनी नेपाल आएका भारतीय नेताहरु लाई विमानस्थलबाट अ‍ोर्लेदेखि कालो झन्डा प्रदर्शन गर्नुका साथै ढुंगामुढासमेत गरेका छन्। भारतीय नेताहरू गौशालाको बाटोतिरबाट निस्कन लाग्दा प्रदर्शनकारीहरूले ब्यानर बोकेका डन्डी र ढुंगा गाडीमा प्रहार गरेका थिए। गाडीमा ढुंगा लागे पनि उनीहरू घाइते भने भएनन्।

भारतीय नेताहरुलाई वैदेशिक हस्तक्षेपविरुध्द युवा विद्यार्थी समूहको नाममा दिउँसो १ बजे विमानस्थलबाट निस्कने बित्तिकै कालो झण्डा र ब्यानर देखाइएको थियो। उनीहरुले विदेशी हस्तक्षेप मुर्दावाद, भारतीय दलाल देश छोड, भुटानी शरणार्थी फिर्ता गर, कालापानी हाम्रो हो, जस्ता नारा पनि लगाएका थिए।

1
गम्भीर मौनताः नेपालको प्रजातान्त्रिक आन्दोलनलाई र्समर्थन गर्न बुधबार काठमाडौं आइपुगेका भारतीय नेताहरूलाई सांझ राजधानीको मनास्लु होटलमा आयोजित चियापान कार्यक्रममा स्वागत गर्नुहुंदै कांग्रेस सभापति कोइराला । तस्वीरः रवि मानन्धर/नेपाल समाचारपत्र

भारतबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटव्युरो सदस्य सीताराम यचुरीको नेतृत्वमा पाँच सदस्यीय टोली राजधानी आएको छ। अन्य नेताहरुमा सत्तारुढ काँग्रेस आईका सांसद रविशंकर साहु , भारतीय कम्युनिष्ट पार्टी केन्द्रीय कार्यकारी सचिव डी राजा, समाजवादी आन्दोलनका वरिष्ठ नेता तथा पूर्व सांसद सुरेन्द्र मोहन र भारतीय राष्ट्रिय काँग्रेसका महासचिव डी पी त्रिपाठी हुनुहुन्छ।

उनीहरुले हिजै बुधबार नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासित भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा भारतीय नेताहरुले आफू र भारतीय जनताका तर्फबाट नेपालको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवध्दता जनाएका थिए।

त्यसैगरी काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिनुभएको थियो।

यसैबीच सरकारी सञ्चारमाध्यमहरुमा भारतीय नेताको आगमनपछि विदेशी हस्तक्षेपका समाचार र विचारलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण थालिएको छ। बुधबार सरकारी सञ्चार एजेन्सी राससले पाँच वटा समाचार सामाग्री वैदेशिक हस्तक्षेपसम्बन्धी पठाएको थियो। त्यसैगरी नेपाल टेलिभिजन र रेडियो नेपालमा पनि यससम्बन्धी समाचार पहिलो प्राथमिकताका साथ प्रसारण गरिएको छ।

उता राजावादीहरुले भारतीय नेताहरु जहाँ जहाँ जान्छन्, त्यहाँ त्यहाँ विरोध गर्न र आवश्यक परे मुठभेडमा समेत उत्रन आफ्ना विश्वासपात्रहरुलाई निर्देशन दिएको थाहा भएको छ। हिजो कालो झण्डा देखाउने समूहले त त्यसो गर्ने घोषणा पनि गरिसकेको छ।

भारतीय नेताहरुले आन्दोलनरत सात दलका नेतासित भेटवार्ता गरी उनीहरुद्वारा आयोजित सभामा समेत सहभागी भइ सम्बोधन गर्ने कार्यक्रम छ।

Popularity: 8%

3 comments September 29th, 2005

शाही आयोगविरुध्दको मुद्दाको फैसला दशैंपछि

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २९ -
सर्वोच्च अदालतमा भ्रष्टाचार नियन्त्रण शाही आयोगकाविरुद्ध दायर भएको रिट निवेदनको फैसला अझै तन्केर अब दशैंपछि मात्रै फैसला हुने भएको छ।

पक्ष वा विपक्ष जुनसुकै नतिजा आए पनि नेपालको राजनीतिमा दूरगामी प्रभाव पार्ने यो मुद्दामाथिको विशेष इजलासमा सुनुवाई बुधबार पनि टुंगिएन।

सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, रामनगिना सिंह, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठको इजलासमा त्यससम्बन्धी सुनुवाईमा बहस नसकिएकाले पुनः आगामी कार्तिक १० गते सुनुवाई हुने भएको छ ।

निवेदकका तर्फबाट बुधबार पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्की र अधिवक्ता माधव बस्नेतले बहस गर्नुभएको थियो ।

Popularity: 8%

Add comment September 29th, 2005

टीका लगाउने साइत १ बजेर २५ मिनेटमा

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २९ -
देशविदेशमा उल्लासपूर्वक मनाइने नेपालीको महान चाड दशैंको विजयादशमीका दिन लगाइने टीकाका लागि यही असोज २६ गते दिउँसो एक बजे र पच्चीस मिनेटको समय उत्तम रहेको बताइएको छ ।

यस वर्षमहानवमी र विजया दशमी एकै दिन परेकाले असोज २५ गते बिहानै महाअष्टमीको पूजा गर्ने, बेलुका कालरात्रिको पूजा गर्ने, २६ गते बिहान महानवमीको पूजा गर्ने र त्यसपछि ११:२५ बजेको साइतमा विजयादशमीको पूजा विर्सजन गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष तथा नायब बडागुरुज्यू डा. माधवप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

घटस्थापनाका दिन बिहान चित्रा शान्ति पूजा गर्नुपर्ने र ९:५१ बजे घटस्थापना गर्नु राम्रो हुने उहाँको धारणा छ।

हिन्दूहरूको महान् चाड बडादसैँ यही असोज १८ गते घटस्थापनादेखि ३१ पूणिर्मासम्म धुमधामका साथ मनाइँदै छ ।

भगवान् रामले रावणमाथि विजय हासिल गर्न शक्ति प्राप्तिका लागि शक्तिरूपा महामाया भगवतीलाई आहृवान गर्न घडाको स्थापना गरी बालुवाको चौकीमा जौ छरेर पूजा -आराधना गरेको विश्वासमा घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमासम्म हिन्दूहरूले यो पर्व मनाउँछन् ।

Popularity: 8%

Add comment September 29th, 2005

राजदरबार हत्याकाण्डको भण्डाफोर गर्ने

राजदरबार हत्याकाण्डको भण्डाफोर गर्ने
राजामाथि कोइरालाको धम्की

खोजतलास विशेष संवाददाता, सेप्टेम्बर २८ -
काठमाडौं, गणतन्त्रउन्मुख जनआन्दोलनको नेतृत्व गरिरहेका साझा कमान्डर एवम् कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले राजदरबार हत्याकाण्डको भण्डाफोर गर्ने संकेत गर्नुभएको छ।

राजदरबार हत्याकाण्ड, २०५८ जेठ १९ घटनाताका मुलुकको प्रधानमन्त्री रहनुभएका कोइरालाले राजाले आफ्नो हैसियत बिर्से राजतन्त्र समाप्त हुने चेतावनीसमेत दिनुभएको छ । अस्वस्थताका कारण आराम गर्न गृहनगर विराटनगर पुग्नुभएका कोइरालाले तीन दिनको मौनता तोड्दै हिजो सञ्चारकर्मीबीच राजामाथि कडा चेतावनी दिनुभएको हो ।

राजदरबार हत्याकाण्डमा गम्भीर रहस्य रहेको बताउँदै समय आएपछि उक्त ‘ग्रेट ग्रान्ड डिजाइन’ खोलिदिने धम्की दिँदै आएका कोइरालाले राजदरबार हत्याकाण्डको रहस्य खोलिदिनेतर्फसंकेत गर्दै भन्नुभयो, ‘राजाले आफ्नो हैसियत बिर्से, राजतन्त्र दुर्घटनामा पर्छ । राजाले आफू पहिले कहाँ थिएँ, कुन पृष्ठभूमिबाट यहाँ आएँ, त्यो बिर्से मुलुकमा ठूलो दुर्घटना हुन्छ ।’

स्मरणीय छ, श्री ५ ज्ञानेन्द्र दरबार हत्याकाण्डमा परी तत्कालीन श्री ५ वीरेन्द्रको सपरिवार हत्या भएपछि राजगद्दीनसीन रहिबक्सेको हो । त्यतिबेला प्रधानमन्त्रीको हैसियतले नेता कोइरालाले नै कफ्र्यूको अवस्थामा राजालाई गद्दीनसीन गराउनुभएको थियो ।

‘दरबार हत्याकाण्डको पृष्ठभूमि स्मरण गराउँदै तत्कालीन कोइरालाले राजालाई आफ्नो पृष्ठभूमि नबिर्सन चेतावनी दिनु र त्यतिबेला समय आएपछि हत्याकाण्डको ‘ग्रेट ग्रान्ड डिजाइन खोलिदिन्छु’ भन्दै आउनुभएका कोइरालाको संकेत अर्थपूर्ण छ । समय नजिकै आएजस्तो छ,’ राजनीतिक विश्लेषकको तर्क छ । अझ महत्वपूर्ण कुरा के छ भने सात दलको नेतृत्वमा जारी नागरिक आन्दोलनले राजाको निरंकुशताको तीब्र आलोचना गर्दै आए पनि राजदरबार हत्याकाण्डको सम्बन्धमा आन्दोलन मौन छ । कोइरालाको चेतावनीले अब त्यो मौनतासमेत भंग हुनेतर्फसंकेत गर्दछ ।

सभापति कोइरालाले आफू बिरामी भएकोमा राजा र आफूविरोधीहरू खुसी भएको महसुस भएको बताउँदै ८४ वर्षे वृद्ध बिरामी हुँदैमा खुसी हुनुपर्दैन, विचार कहिल्यै पुरानो हुँदैन, भन्नुभयो । उहाँले पार्टीमा नयाँ-नयाँ विचार आएकाले अबको आन्दोलन र संगठन नयाँ विचार र युवापुस्ताबाट निर्देशित हुने बताउनुभयो । सभापति कोइराला सम्भवतः आज काठमाडौं आउनुहुनेछ ।

उहाँले आन्दोलनलाई सघाउन भारतबाट आज नेपाल आइपुग्नुहुने नेताहरूसँग वार्ता गर्ने कार्यक्रम छ । माओवादीसँग औपचारिक वार्ताको पनि अन्तिम तयारी भइरहेको छ । आन्दोलनका घोषित कार्यक्रम १५ गते सकिने भए पनि यसपटक दसैंभरि पनि आन्दोलनका विभिन्न श्रृंखला जारी रहने बताइएको छ ।

Popularity: 8%

11 comments September 28th, 2005

आज भारतीय नेताहरु काठमाडौं आउने

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २८ -
काठमाडौं, राजा र उनका मन्त्रीहरुले देशमा विदेशीहरुले नचाहिने काम गरिरहेको आरोप लगाइरहेकै बेला भारतका केही वरिष्ठ नेताहरु आज बुधबार काठमाडौं आइपुग्दैछन्। उनीहरु राजधानी काठमाडौमा सात राजनीतिक दलहरु द्वारा आयोजना हुने विरोध पदर्शनमा प्रत्यक्ष सहभागी भई सभालाई सम्बोधन पनि गर्नेछन ।

तथाकथित राष्ट्रवादीहरुले भारतीय नेताहरुको विरोध गर्न उनीहरुलाई ज्ञापन पत्र बुझाउने तयारी गरिरहेको समेत बुझिएको छ। स्मरण रहोस् ०४६ सालको आन्दोलनमा पनि भारतीय नेताहरुले नेपाल आई आन्दोलनको समर्थनमा बोलेका थिए।

आज नेपाल आउन लागेका नेताहरुमा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटव्युरो सदस्य सीताराम यचुरी ,काँग्रेस आईका सांसद रविशंकर साहु , भारतीय कम्युनिष्ट पार्टी केन्द्रीय कार्यकारी सचिव डी राजा, समाजवादी आन्दोलनका वरिष्ठ नेता तथा पूर्व सांसद सुरेन्द्र मोहन र भारतीय राष्ट्रिय काँग्रेसका महासचिव डी पी त्रिपाठी हुनुहुन्छ। भारतीय सरकार र राजनीतिलाई प्रभावमा पार्न सक्ने यी नेताहरु सत्तासीन दल र विपक्षी दलसँग सम्बद्ध छन्।

भारतीय नेताहरु नेपालका सात राजनीतिक दलको निमन्त्रणामा नेपाली आन्दोलनलाई समर्थन जनाउदैछन्। राजा ज्ञानेन्द्रको माघ १९ को कदमपछि भारतका यी राजनीतिक दलहरुले नेपाललाई सैनिक सहयता लगायतका सहायता नगर्न आफनो सरकारलाई दबाब दिँदै आएका छन्।

Popularity: 8%

2 comments September 28th, 2005

अब हामी धोका दिने छैनौं

देशका ७३ जिल्लामा प्रदर्शन
नेताहरुले भने-” अब हामी धोका दिने छैनौं “

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २८ -
काठमाडौं, आन्दोलनरत सात दल र नागरिक समाजले मंगलबार देशका ७३ जिल्लामा प्रदर्शन गरे। यस क्रममा ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भएको खबर छ।

पाल्पामा भएको प्रदर्शनमा युध्दविराम गर्ने मा‍अ‍ोवादीहरुलाई हत्या गरेर राज्यले नहुने काम गरेको भन्दै आलोचना गरे। पाल्पाको बहादुरपुरमा हालै सेनाले ६ माअ‍ोवादीको ज्यान लिएको थियो। सेनाले भिडन्तमा मारिएको भने पनि माअ‍ोवादीले निहत्थालाई कब्जामा लिइसकेपछि मारेको दावी गरेको छ।

यसैगरी काकडभिट्टाबाट बिर्तामोड, दमकसम्म पनि जुलुस प्रदर्शन भयो। जुलुसपछि आयोजित सभामा काँग्रेसका वयोवृध्द नेता बलबहादुर राई कुर्लिए , हे उपाध्यक्ष तुलसी गिरी , दम छ भने पद खुस्केपछि देशबाट नभाग। आँट छ भने यहीँ बसेर चुनाव लडेर प्रधानमन्त्री भएर देखाउ।

बर्दियाको गुलरियामा निषेधित क्षेत्र तोड्दै भएको नागरिक सभामा प्रहरीले हस्तक्षेप गरी ३० जनालाई घाइते बनाए।

नेपालगञ्जमा पनि भेरी अञ्चल अस्पतालबाट निस्केको जुलुसले महेन्द्रचोकमा निषेध क्षेत्र तोड्दै अघि बढेको थियो।

काठमाडौं नजिकैको बनेपामा पनि निषेध क्षेत्र तोड्ने ३ दर्जनलाई प्रहरीले पटक-पटक गरी हिरासतमा लियो। यस क्रममा भएका भिडन्तमा केही नेता तथा कार्यकर्ता घाइते भए।

राजधानीमा भने क्षेत्रपाटीबाट निस्केको जुलुस इन्द्रचोकमा पुगी सभामा परिणत भयो। सभालाई सम्बोधन गर्ने नेताहरुले अबको आन्दोलन सम्झौतामा नटुंगिने विश्वास दिलाउँदै राजाको कुनै खाले प्रलोभनमा पनि नफँस्ने बताए। उनीहरुले भने , विगतमा जस्तो धोका अब हुनेछैन।

यसअघि असोज १८ को प्रतिगमनविरोधी आन्दोलन चरम शिखरमा पुग्दा सडक छाडेर एमाले सरकारमा सहभागी हुन पुगेको थियो। त्यतिबेलादेखि अहिलेसम्म पनि त्यो समयको जस्तो उपस्थिति सडकमा देखिएको छैन।

Popularity: 8%

2 comments September 28th, 2005

युध्दविरामका २३ दिनः २६ माअ‍ोवादीको हत्या, २ सय बेपत्ता

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २८ -
काठमाडौं, नेकपा माअ‍ोवादीले आफूले एकपक्षीय युध्दविराम घोषणा गरेको २३ दिनको अवधिभित्र २६ जना कार्यकर्ता र समर्थकहरुको हत्या भएको आरोप लगाएको छ।

माअ‍ोवादीको मुखपत्र जनादेशको अनलाइन संस्करणमा मंगलबार प्रकाशित समाचारमा युद्धविराम यता मात्रै पाल्पामा ६ जना , गोरखामा ४ जना , दैलेखमा ४ जना र तेर्‍हथुम , जाजरकोट, वर्दिया, पाँचथर, दोलखा, बारा, कास्कीलगायतका जिल्लाहरुमा १२ जना गरी २६ जना माओवादी कार्यकर्ता र समर्थकहरुको हत्या र दुई सयभन्दा बढीलाई पक्राउ गरी बेपत्ता पारिएको दाबी गरिएको छ। माअ‍ोवादीको उक्त दावीको स्वतन्त्र पुष्टि हुनसकेको छैन।

समाचारमा असोज ८ गते पाल्पाको बहादुरपुरमा जनसेवा र जनपरिचालनमा परिचालित ६ जना निशस्त्र माओवादी कार्यकर्ताहरुलाई खाना पकाउन लागिरहेकै अवस्थामा कब्जा शाही सेनाको डफ्फाले पक्राउपश्चात् विभत्सरुपमा हत्या गरेको आरोप लगाउँदै उक्त घटनाको यथार्थ छानबिन गर्न सबै राजनैतिक दल , नागरिक समाज, मानवअधिकारकर्मी, संयुक्त राष्ट्र संघ, बौद्धिक गण र आम जनसमुदायसँग अपील गरेको छ ।

Popularity: 8%

1 comment September 28th, 2005

बेल्जियमको राजधानीमा राजाविरोधी प्रदर्शन हुने

बेल्जियम प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २८ -
बेल्जियम, यहांस्थित नेपालीहरुले सम्पूर्ण सत्ता जनतामा हस्तान्तरणको माग गर्दै राजालाई यही अक्टोबर ४ तारिखमा बेल्जियमको राजधानी ब्रसेल्सस्थित राजदूतावासमा विरोध प्रदर्शनसहित ज्ञापन पत्र दिने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रमको सफलताको लागि व्यापक प्रचार-प्रसार भइरहेको छ ।

यहाँ विभिन्न पेसा गरेर बसिरहेका नेपालीहरुको बारेमा शाही सत्तालाई गलत रिपोर्टहरु पठाएको विरोधमा आगामी अक्टोबर ४ मा यहाँस्थित नेपाली राजदूतावास अगाडि विरोध प्रदर्शन हुने भएको छ । नेपालीहरुका समस्यालाई लिएर बेल्जियमस्थित यूयनएचसीआरमा केही समय अगाडि गएको नेपाली जनप्रगतिशील मञ्चका प्रतिनिधिहरुको बारेको रिपोर्ट नेपाली राजदुतावासबाट लिएर नेपाल पठाइएको मंचले बताएको छ ।

सम्पूर्ण सत्ता नेपाली जनताको हातमा भन्ने नाराका साथ बेल्जियममा रहेका नेपालीहरु तथा स्थानीय न्यायप्रेमी जनसमुदायहरुबाट यहाँस्थित नेपाली राजदुतावास अगाडि विरोध कार्यक्रम आयोजना हुन गइरहेको कुरा जानकारी गराउँदै मञ्चले अन्य नेपालीहरुलाई सो कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।

Popularity: 8%

Add comment September 28th, 2005

अमेरिकामा धान नाच

राजेश मेन्याङ्गबो, एचकनेपाल डट कम, सेप्टेम्बर २५ -
न्युयोर्क, लिम्बूहरुको नवोदित संगठन किरात याक्थुङ चुम्लुङ अमेरिकाले न्युयोर्क सहर क्षेत्रमा रहेका लिम्बू समुदायका सम्पूर्ण परिवारहरु एकापसमा परिचित होउन् भन्ने उदेश्यले बनभोज तथा परिचायत्मक कार्यक्रमको आयोजना गर्‍यो ।

संगठनका महासचिव दिपेस लिम्बूले सञ्चालन गर्नु भएको कार्यक्रममा नगेन्द्र इङ्गनामले सबै उपस्थित समुहलाई स्वागत मन्तव्य प्रकट गर्नु भएको थियो भने अध्यक्ष श्याम कुमार मेन्याङ्खबोले किरात याक्थुङ चुम्लुङ अमेरिकाको चिनारी दिंदै यसको अपरिहार्यता, महत्व र उद्धेश्यका बारे प्रष्ट पार्नु भएको थियो ।

भुतपूर्व केन्द्रिय सदस्य तथा किरात याक्थुङ चुम्लुङ अमेरिकाको सल्लाहाकार बिनोद पोमुले लिम्बू जातीको पहिचानलाई संरक्षण गर्नमा चम्लुङले दिंदै आएको योगदानको बारेमा बिशेष चर्चा गर्नु भयो । वहाँले भाषा, लिपि र लिम्बू संस्कृतिहरुको जगेर्ना गर्न सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्दै यसलाई हाम्रा आगामी सन्ततिहरुसम्म डोर्‍याउनु पर्ने आवश्यकता माथि जोड दिनु भयो ।

अथिति वक्ता नायीका अञ्जना लिम्बू (श्रेष्ठ) ले प्रवास मै बसेर पनि आफ्नो भाषा, लिपि र संस्कृतिलाई जिवित राख्न जमर्को गर्नु हुने याक्थुङ चुम्लुङका सबै पदाधिकारीहरुमा आभार व्यक्त गर्दै चुम्लुङ आफ्नो उदेश्यमा पुग्न सफल होस भनी शुभकामना दिनु भएको थियो । अन्त्यमा जोबिन लिम्बुको मीठो पालामको लयमा आफ्नो परम्परागत संस्कृति झल्काउन उपस्थित सबैजना गोलबद्ध भई धान नाच्दै निकट भविष्यमै आयोजना हुने रमाईलो धान नाच सांझसम्ममा भेट्ने अपेक्षा राख्दै कार्यक्रमको मैझारो गरेका थिए ।

Popularity: 8%

4 comments September 27th, 2005

राजा अब पोखराको सडकमा हिँड्ने

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २७ -
सदूर पश्चिमाञ्चल , मध्यपश्चिमाञ्चल र भर्खरै उपत्यकाको ललितपुरको सडकमा पैदल हिँडेका राजा अब पोखराको सडकमा पैदल हिँड्ने तयारी गरिरहेका छन्।

एचकेनेपाल डट कम प्रतिनिधिलाई विश्वस्त सूत्रबाट प्राप्त जानकारी अनुसार यही शुक्रबार वा शनिबार राजा र रानी पोखरा जाने कार्यक्रम छ। तर यसको अ‍ौपचारिक पुष्टि भएको छैन। आधिकारिक निर्णय पनि आजभोलिभित्रै हुने प्रवल संभावना रहेको बताइएको छ।

राजाको भ्रमण अनौपचारिक हुने भएकाले भ्रमणको एक दिन अघिमात्र भ्रमणको कार्यक्रम सार्वजनिक गर्ने प्रचलन रहेको छ।

सडकमा पैदल हिँडेर जनतासँग भलाकुसारी गर्ने कामलाई राजाले निकै महत्त्वका साथ लिएका भए पनि नागरिक समाज र राजनीतिक दलका नेताहरुले भने त्यसको आलोचना गर्ने गरेका छन्।

सोमबार कीर्तिपुरमा आयोजित नागरिक सभामा चर्चित मानवअधिकारवादी नेता कृष्ण पहाडीले राजाको यस्तो कार्यलाई बगरेले खसी काट्नुअगाडि सुम्सुम्याउने कार्यसित तुलना गर्नुभएको थियो।

Popularity: 8%

1 comment September 27th, 2005

कीर्तिपुरमा विशाल नागरिक सभा

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २७ -
काठमाडौंको कीर्तिपुरस्थित नयाँ बजारमा सोमबार विशाल नागरिक भेला सम्पन्न भयो। कार्यक्रममा वक्ताहरुले शान्ति र लोकतन्त्रको पक्षमा आवाज उठाएका थिए। त्यसैगरी कविता र गीत अनि सर्वनाम समूहले नाटक पनि प्रदर्शन गरेको थियो।

1
नागरिक सभामा उपस्थित विशाल जनसमुदाय । फोटोः काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम

सभालाई सम्बोधन गर्दै मानवाधिकारकर्मी कृष्ण पहाडीले नागरिक आन्दोलनमा विदेशीको पैसा रहेको भए छानबिन गरी प्रमाणित गरेर जनतासामु नङ्ग्याउन चुनौति दिनुभयो। उहाँले नेपाली जनताको पैसालाई विदेशी बैंकमा राख्नेहरुलाई पनि हामी सार्वजनिक गर्छौं भन्नुभयो। उहाँले सेना र प्रहरीलाई पनि जनताको लोकतान्त्रिक आन्दोलनमा साथ दिन आह्वान गरे।

सभाका सभापति तथा नागरिक आन्दोलनका अगुवा डा. देवन्द्रराज पाण्डेले नागरिक आन्दोलन कहिले पनि लक्ष्यप्राप्त नभएसम्म विचलित नहुने प्रतिवध्दता व्यक्त गर्नुभयो।

कार्यक्रममा लोकतान्त्रिक आन्दोलनको अभिलेख राख्ने कार्यको शुभमुर्हूत पनि गरिएको थियो। सभामा स्नेह सायमी, विमल निभा, अर्जुन पराजुली, दामोदर रेग्मी र इन्दिरा दाहालले लोकतान्त्रिक कविता प्रस्तुत गरेका थिए भने नन्दकृष्ण जोशीले लोकतान्त्रिक डेउडा प्रस्तुत गर्दा उपस्थित सबैले झ्याम्मझ्याम्म गरेका थिए।

कार्यक्रममा प्रा डा कृष्ण खनालले हिजोको जस्तै प्रजातन्त्र नभई अब लोकतान्त्रिक गणतन्त्र चाहिने दिशामा नागरिक अघि बढिसकेको बताउनु भयो।

Popularity: 8%

1 comment September 27th, 2005

अख्तियार प्रमुखविरुध्दको रिट खारेज

अख्तियार प्रमुखविरुध्दको रिट खारेज
शाही आयोगले निहुँ खोज्यो

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २७ -
महाकाली र बागमती सिंचाई परियोजनामा अनियमितता गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायविरुद्ध दायर गरिएको एउटा रिट सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको छ ।

महाकाली र बागमती सिंचाईं परियोजनाका बारेमा छानबिन गर्न गठित डा. भोलानाथ चालिसेको समितिको प्रतिवेदनलाई समेत आधार मानी प्रमुख आयुक्त उपाध्यायले अनियमितता गरेको दाबी गर्दै करिब दुई वर्षअघि अधिवक्ता सरोजकुमार शर्माले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । डा. भोलानाथ चालीसेको प्रतिवेदन भने अहिलेसम्म सरकारले सार्वजनिक गरेको छैन ।

सर्वोच्च अदालतका न्यायाधीशहरु केदारप्रसाद गिरी र शारदाप्रसाद पण्डितको संयुक्त इजलासले सबै प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई बाध्य पार्न नसकिने र सार्वजनिक नभएको प्रतिवेदनलाई आधार मानी कारबाही अगाडि बढाउन बाध्य नहुने ठहर गर्दै सो रिट खारेज गरेको हो।

यसैबीच, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री प्रकाशमान सिंहलाई थुनामा राख्नुको कारण पेश गर्न दिइएको सात दिनको म्यादभित्र आज शाही आयोगले सर्वोच्च अदालतलाई जवाफ पठाएको छ।

जवाफमा राजाको कामकारबाही बारे अदालतमा प्रश्न उठाउन नपाइने भनी संविधानले व्यवस्था गरेको भन्दै निहुँ खोज्ने काम गरिएको छ। शाही आयोगले आफू राजाद्वारा गठित संवैधानिक निकाय भएको दावी गरेको छ।

Popularity: 8%

Add comment September 27th, 2005

संविधान मासे अनिष्ट हुन्छः थापा

संविधान मासे अनिष्ट हुन्छः थापा
राप्रपा पनि सडक आन्दोलनमा आउने

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २७ -
पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष सूर्यबहादुर थापाले वर्तमान संविधान मासेमा चाँडै अनिष्ठ शुरु हुने बताउनु भएको छ ।

सोमबार धनगढीमा आयोजित राष्ट्रिय जनशक्ति पार्टीको सुदूर पश्चिम क्षेत्रस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष थापाले उहाँले भन्नुभएको छ - “राजा सही बाटोमा हिँड्दा पनि गलत बाटो देखाउनेहरु हावी हुन थालेका छन् ।”

माओवादीद्वारा गरिएको युद्धविराम शव्दमा मात्र सीमित भएको भन्दै उहाँले भन्नुभयो ” माओवादीहरुबाट चन्दा, अपहरण, बन्द जस्ता कुराहरु रोकिएका छैनन”
थापाले प्रेस स्वतन्त्रता लगायतका विषयमा वर्तमान संविधान निकै उदार रहेको भन्दै यसलाई कुण्ठित पार्ने प्रयासलाइ सबैले असफल पार्नु पर्ने पनि बताउनु भएको छ।

यसैबीच राप्रपाले पनि वर्तमान संविधानलाई मासी नयाँ संविधान ल्याउने प्रयास गरिए आफूहरु पनि सडक आन्दोलनमा दशैंपछि आउने बताएको छ। हिजो आयोजित एक कार्यक्रममा राप्रपाका एक वरिष्ठ नेताले यस्तो धारणा राखेका हुन्।

Popularity: 8%

Add comment September 27th, 2005

समलिङ्गी र प्रहरीबीच कुटाकुट

नेपाल समाचारपत्र,
काठमाडौं, समलिड्डी र प्रहरीबीच आइतबार बिहान संचयकोष भवनअगाडि कुटाकुट भएको छ। केटीको भेषमा बसिरहेका केटाहरूलाई डिउटीमा खटिएका प्रहरीले यौनशोषण गर्न र पैसा लुट्न खोजेपछि दुवै पक्ष हिंसात्मक रूपमा प्रस्तुत भएका थिए।

वडा प्रहरी कार्यालय सिंहदरबारबाट गएको प्रहरी टोलीले समलिङ्गी माथि यौनदुर्व्यवहार गर्न खोजेपछि समलिङ्गीको समूहले प्रतिकार गर्दा केही प्रहरी र समलिङ्गी घाइते भएको ब्लु डाइमण्ड सोसाइटीका अध्यक्ष सुनीलबाबु पन्तले जानकारी दिनुभयो। प्रहरीले सोही ठाउंबाट समलिङ्गी कला राईलाई पक्राउ गरी वडा प्रहरी कार्यालय दरबारमार्गमा राखी चरम यातना दिएको सो सोसाइटीले जनाएको छ।

यता वडा प्रहरी कार्यालय दरबारमार्गले शान्ति सुरक्षामा खलल पुर्‍याउने गरी होहल्ला गर्दै हिंडेको र त्यस्तो अश्लील व्यवहार नगर्न पटक-पटक आग्रह गर्दा पनि समलिङ्गी समूह प्रहरीमाथि आइलागेकाले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको दाबी गरेको छ।

Popularity: 8%

Add comment September 26th, 2005

‘संविधान उल्टाए छुट्टै रणनीति’

श्यामसुन्दर शशि, कान्तिपुर, असोज ९ -
जनकपुर, एमाले महासचिव माधवकुमार नेपालले राजाले संविधान उल्टाएमा दलहरूले अपनाउने रणनीतिबारे सात दलबीच छलफल भएको बताउनुभएको छ ।

‘राजा संविधान उल्टाउने तयारीमा छन्, त्यसो गरे आन्दोलनरत दलहरूले के गर्ने भन्ने विषयमा छलफल भएको छ,’ सद्भावना पार्टी (आनन्दीदेवी) को केन्द्रीय बैठक समापनमा आइतबार उहाँले भन्नुभयो- ‘जनकपुर बैठकको समझदारीलाई आगामी बैठकमा औपचारिक रूप दिनेछौं ।’

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सात दलको अनौपचारिक बैठक बस्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार समापनको अघिल्लै दिन नेताहरू यहाँ आएका थिए । उहाँले जनता नै शासक बन्ने आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गर्नुभयो । ‘जनताको समर्थन दलहरूसँग छ,’ उहाँले भन्नुभयो- ‘जनता राजतन्त्र चाहन्छ कि गणतन्त्र, त्यो फैसला चाँडै हुनेछ ।'’नेपालमा चाँडै नै लोकतन्त्र सुरु हुनेछ,’ कांग्रेस नेता सुशील कोइरालाले भन्नुभयो- ‘मानव अधिकार, प्रेस स्वतन्त्रता र प्रजातन्त्र समाप्त गर्न प्रयास गर्नेहरू आफंै समाप्त हुने अवस्थामा छन् ।’ कांग्रेस प्रजातान्त्रिक कार्यवाहक सभापति गोपालमान श्रेष्ठले मनोनीतहरूलाई निर्देशन दिँदै हिँड्ने राजाको हैसियत स्थानीय विकासमन्त्रीको तहमा सीमित भएको बताउनुभयो ।

नेमकिपा अध्यक्ष नारायणमान बिजुच्छेले राजतन्त्रले दुई सय ३६ वर्षको इतिहासमा हिमाल र तराईका बासिन्दाबीच फाटो ल्याउने काम गरेको आरोप लगाउनुभयो । पार्टी अध्यक्ष आनन्दीदेवी सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रलाई वाममोर्चाका अध्यक्ष सीपी मैनाली, संयुक्त जनमोर्चाका अध्यक्ष अमिक शेरचन, सद्भावनाका उपाध्यक्ष भरतविमल यादव र महामन्त्री हृदयेश त्रिपाठीले सम्बोधन गरेका थिए । पार्टीको बैठकमा मधेस र मधेसी समस्यासँगै जारी आन्दोलनबारे छलफल भएको महामन्त्री त्रिपाठीले बताउनुभयो । सम्मेलनमा मलकाण्डमा संलग्न मन्त्री बद्रीप्रसाद मण्डललाई बर्खास्त गर्न र अञ्चल तथा क्षेत्रीय सदरमुकाम सार्ने निर्णय रोक्न आन्दोलन अघि बढाउने विषयमा छलफल भएको थियो ।

Popularity: 8%

Add comment September 26th, 2005

ब्लग विविध

एचकेनेपाल डट कमको ब्लग विविधको लागि यहाँ जानुहोस्।

Popularity: 8%

Add comment September 26th, 2005

चलचित्र पनि प्रतिबन्धित

कास,असोज ९ -
काठमाडौं, ऐतिहासिक चलचित्र ‘बलिदान’ प्रदर्शनमा सरकारले प्रतिबन्ध लगाएको छ । निर्माण पक्षलाई जानकारी नदिई प्रतिबन्ध लगाइएकामा चलचित्रकर्मीले ‘वाक स्वतन्त्रतामाथि हस्तक्षेप’ भन्दै विरोध जनाएका छन् ।

पञ्चायती पृष्ठभूमि र ०४६ को जनआन्दोलनको कथामा आधारित चलचित्र निर्माणको एक दशकपछि प्रतिबन्धित भएको हो । गत जेठ ६ मा सूचना तथा सञ्चार मन्त्रालयले ‘बलिदान’ प्रदर्शन नगर्नू भन्दै चलचित्र संघलाई पत्र काटेको थियो । चलचित्र विकास बोर्डलाई पत्रको बोधार्थ पठाइएको छ । निर्माण पक्षलाई भने अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन ।

चलचित्र सेन्सर वा प्रतिबन्ध गर्न सेन्सरबोर्डले निर्मातालाई जानकारी गराउनुपर्ने प्रावधान छ । तर प्रतिबन्ध भएको हालैमात्र निर्माता श्याम सापकोटाले अनौपचारिक जानकारी पाए । इन्जिनियरिङ विद्यार्थीले विशेष प्रदर्शनी तयारी गरिरहेका बेला प्रतिबन्धको खुलासा भएको हो ।

‘प्रजातान्त्रिक आन्दोलनबारेको चलचित्र किन प्रतिबन्ध गरियो ?’ सापकोटाको प्रश्न छ ।

सिनेमा नेपालको ब्यानरमा निर्मित ‘बलिदान’ ले चलचित्रमा पहिलो पटक जनअभिनन्दन पाएको थियो । ‘राजधानीमा लगातार १ सय ३३ दिन प्रदर्शित चलचित्र प्रतिबन्धित हुनु सरकारी दरिद्रता हो,’ निर्देशक समाजका अध्यक्ष नारायण पुरीले भने- ‘निर्माण इजाजतको १० वर्षपछि लगाइएको प्रतिबन्ध विचार कुण्ठित पार्ने षड्यन्त्र मात्रै हो ।’

Popularity: 8%

1 comment September 26th, 2005

युध्दविरामका बीच भिडन्तको खबर

युध्दविरामका बीच भिडन्तको खबर
सेनाले आठ माअ‍ोवादी मारे

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २५ -
माअ‍ोवादीले एक पक्षीय युध्दविराम घोषणा गरेपछि आइतबार पहिलो पटक ठूलो भिडन्तको खबर आएको छ। सुरक्षाफौज र माओवादीबीच शनिबार र आइतबार भएका दुई घटनामा ८ माअ‍ोवादीको मृत्यु भएको सेनाले आज जारी गरेको वक्तव्यमा जनाइएको छ।

वक्तव्यका अनुसार हिजो पाल्पाको बहादुरपुर इलाकामा भएको भिडन्तमा ६ जना माओवादीको मृत्यु भएको छ ।

गस्तीमा रहेको सुरक्षाफौज र माओबादीबीच शनिबार दिउँसो भिडन्त भएको र भिडन्तमा परी ६ जना माओवादीको मृत्यु भएको बताइएको छ। भिडन्तका क्रममा दुइ बालिका पनि घाइते भएका छन । घाइते बालिकाहरुको काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार भैरहेको छ ।

घटनास्थलबाट सुरक्षाफौजले केही माओवादी कार्यकर्ताहरुलाई पक्राउ पनि गरेको छ ।

यसैबीच, आइतबार दिउँसो तेहृथुम जिल्लाको औसिडाडा इलाकामा भएको सुरक्षा कारबाहीमा दुई माओबादीको मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । घटनाका सम्बन्धमा माअ‍ोवादीको प्रतिक्रिया आइसकेको छैन।

Popularity: 8%

Add comment September 25th, 2005

राजालाई आर्थिक नाकाबन्दीको तयारी

राजालाई आर्थिक नाकाबन्दीको तयारी
कर नतिर्न आह्वान गरिने

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २५ -
नेकपा एमालेको भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघले राजालाई आर्थिक नाकाबन्दी लगाउने तयारी गरेको छ। यसका लागि सम्पूर्ण उद्योगपति, व्यापारी र जनतालाई कर नतिर्न आह्वान गरिँदैछ।

संघको शनिबार पोखरामा सम्पन्न राष्ट्रिय भेलाले यस्तो निर्णय गरेको हो। यो निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मातृ पार्टीलाई दबाब दिने निर्णय पनि भेलाले गरेको छ।

भेलाले राजासँगको संवाद, सहमतिको संभावना समाप्त भएको ठहर गर्दै मातृपार्टीलाई कुनै किसिमको सहमति र संवादमा नअल्झी आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन दबाब पनि दिने भएको छ। राजतन्त्र नहटाएसम्म आन्दोलन जारी राख्ने निर्णय पनि संघको भेलाले गरेको छ।

निरंकुश राजतन्त्रको समाप्तिका लागि आन्दोलनलाई अघि बढाउन अवलम्बन गर्नुपर्ने उपायसहितका एघार बुँदे प्रस्ताव भेलाले पारित गरेको छ।

Popularity: 8%

3 comments September 25th, 2005

राजा देशमा सैनिक शासन लगाउने तयारीमा

राजा देशमा सैनिक शासन लगाउने तयारीमा
रहेको एमाले महासचिवको आरोप

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २५ -
नेकपा एमालेका महासचिव माधवकुमार नेपालले राजाले सारा देशमा फौजी शासन लगाई पार्टीहरुलाई निमिट्यान्न पार्न “क्र्याकडाउन” गर्न लागेको चेतावनी दिँदै सबै कार्यकर्तालाई आउन लागेको कठिन दिनका लागि संघर्ष गर्न तयार भएर बस्न निर्देशन दिनुभएको छ।

महासचिव नेपालले हालै उपाध्यक्ष तुलसी गिरीले व्यक्त गरेको विचार कस्तो खालको प्रतिक्रिया आउला भनी प्रयोग गरेको दावी गर्नुभयो। राजाको चाहना पूरा गर्न संविधान बाधक भएको कुरा आइसक्यो, अब पार्टीहरु बाधक भएको कुरा मात्र आउन बाँकी छ भन्नुहुँदै नयाँ निरंकुश संविधान लाद्‍ने तयारी भइरहेको जानकारी पनि आफूहरुले पाएको बताउनु भयो।

“तर हामीले खुट्टा कमाउने हैन। संघर्ष व्यापक बनाउनु पर्छ, तत्काल विरोधको आँधीबेरी सृष्टि गर्नुपर्छ। त्यसका लागि अहिलेदेखि नै तयार भएर बस्नुस्,” उहाँले राजधानीमा एमाले काठमाडौं जिल्ला कमिटीद्वारा शनिबार आयोजित कार्यक्रममा कार्यकर्ताहरुलाई निर्देशन दिँदै भन्नुभयो।

विराटनगरमा उपाध्यक्ष तुलसी गिरीले कडा विचार व्यक्त गर्नुको कारण कस्तो प्रतिक्रिया आउला भनी बुझ्ने परीक्षण रहेको उहाँले बताउनु भयो। नयाँ राजनीतिक कदम चाल्न दरबारियाहरुले उपयुक्त मौका हेरिरहेको तर जनविद्रोह हुने डरले पछि हच्कीएको जिकिर पनि नेपालले गर्नुभयो ।

शनिबार नै आयोजित अर्को कार्यक्रममा स्थायी समिति सदस्य वामदेव गौतमले दरबारबाट पटक-पटक धोका पाएकाले अब दलहरु सम्झौतामा नफँस्ने बताउनुभयो।

Popularity: 8%

5 comments September 25th, 2005

राजाका मन्त्रीको मलकाण्डले भारत हल्लायो

राजाका मन्त्रीको मलकाण्डले भारत हल्लायो
भारतद्वारा छानबिन सुरु

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २५ -
शाही सरकारका तीन मन्त्री संलग्न रहेको भनिएको मल काण्डले भारतमा पनि ठूलै प्रभाव पारेको छ। मन्त्रीहरुले जसले पनि मल आयात गर्न सक्ने भन्दै काण्डको खण्डन गरेका भए पनि शनिबार प्रकाशित इन्डियन एक्सप्रेसका अनुसार भारतले यसलाई गम्भीर रुपमा लिएको छ।

पत्रिकाका अनुसार भारतीय विदेश मन्त्रालयले गृह, अर्थ र अरु सम्बन्धित मन्त्रालयहरुसित समन्वय गरी यसबारे अनुसन्धान अगाडि बढाउने भएको छ। अर्को हप्तासम्ममा त्यसको नतिजा आउने र यदि प्रचारमा आएसरह भ्रष्टाचार भएको प्रमाणित भए नयाँदिल्लीले नेपाली अधिकारीहरुसित यसबारेमा जानकारी दिई आवश्यक कारबाहीका लागि अनुरोध गर्नेछ।

२ साताअघि वर्तमान सरकारका तीन वरिष्ठ मन्त्रीहरु गृहमन्त्री दानबहादुर शाही, कृषि मन्त्री बद्रीप्रसाद मण्डल र अर्थमन्त्री मधुकरशम्शेर राणाले मल व्यापारी गजेन्द्र श्रेष्ठसँग मिलेर बिहारसँग सीमा जोडिएको नाकाबाट अबैध रुपमा २० हजार मेट्रिक टन मल नेपाल भित्र्याउन आफ्नो मातहतका कर्मचारीहरुलाई निर्देशन दिएको समाचार प्रकाशमा आएको थियो।

नेपाली बजारमा युरिया मलको मूल्य १६ रुपैयाँ रहेको छ भने भारतीय सरकारले दिने अनुदानका कारण त्यहाँ यसको मूल्य ८ रुपैयाँ मात्र पर्दछ।

तर राजस्व अनुसन्धान विभागले मलको पहिलो खेपलाई नै पक्राउ गरेपछि यो कान्डको पोल खुलेको थियो।

Popularity: 8%

5 comments September 25th, 2005

प्राध्यापकहरु सडकमा

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २५ -
काठमाडौंको निषेधित क्षेत्रमा प्राध्यापकहरुले विरोध प्रदर्शन गरेको तीन दिनपछि शनिबार देशका विभिन्न शहरमा प्राध्यापकहरुले सडकमा आएर विरोध प्रदर्शन गरेका छन्। शनिबार विरोध प्रदर्शन भएका स्थानमा पोखरा, इलामलगायतका शहर रहेका छन्।

पोखरामा आयोजित विरोध प्रदर्शन नेपाल प्राध्यापक संघ, पोखरा उपत्यका समन्वय समितिको आयोजनामा भएको थियो। दमनको विरोध गर्दै प्रजातन्त्रको पक्षमा नारा लगाउँदै जुलुस निस्केको थियो। जुलुस पृथ्वीनारायण क्याम्पसबाट सुरु भई नालामुख, बागबजार हुँदै महेन्द्रपुलमा कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष भुपति ढकालले राजाले सक्रिय राजतन्त्रको महत्वाकांक्षा त्याग्न अनुरोध गर्दै शाही सेनाको घेरामा पैदल हिँड्दैमा राजाको पक्षमा समर्थन नजुटने बताउनु भयो।

Popularity: 8%

Add comment September 25th, 2005

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2005
M T W T F S S
« Aug   Oct »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....