Archive for October, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर ३१ -
माओवादीहरुले वासुलिङ सुगर एण्ड जनरल इन्डष्ट्रिज लिमिटेडका कार्यकारी निर्देशक तथा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा अरुण चन्दलाई अपहरण गरेका छन् ।
माओवादीहरुले गत बिहीवार राती कैलालीको चुहा स्थित वासुलिङ सुगर एण्ड जनरल इन्डष्ट्रिजको कारखानाबाट कार्यकारी निर्देशक चन्दलाइ अपहरण गरेको वासुलिङ सुगर एण्ड जनरल इन्डष्ट्रिज लिमीटेडले जनाएको छ । निर्देशक चन्दको अवस्था अहिले सम्म अज्ञात नै रहेको छ ।
वासुलिङ सुगर एण्ड जनरल इन्डष्ट्रिज लिमीटेडले कार्यकारी निर्देशक चन्दको सकुशल रिहाइका लागि पहल गरिदिन राष्ट्रिय तथा अर्न्तराष्ट्रिय मानब अधिकारबादी संघसंस्था, सन्चारकर्मी र नागरिक समाजसँग अपिल गरेको छ ।
Popularity: 15%
October 31st, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर ३१ -
राजाले भारतका राष्ट्रपति डा.ए.पी.जे.अब्दुल कलामलाई एक समवेदना सन्देश पठाई नयाँ दिल्लीका केही भागमा आतङ्ककारीहरूद्वारा शनिबार गरिएको बम विस्फोटबाट निर्दोष व्यक्तिहरूको ज्यान जानुका साथै सम्पत्तिको नोक्सान भएकोमा दुःख व्यक्त गरेका छन्।
उक्त बम विस्फो६मा ६१ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए। विस्फोटमा कुनै नेपाली हताहत भएको समाचार प्राप्त भएको छैन।
बहुपक्षीय सम्बन्ध भएको एक निकट र मैत्रीपूर्ण छिमेकीका हैसियतले नेपाल अधिराज्य भारत सरकार तथा जनताले भोग्नुपरेको दुःखलाई आफ्नै ठान्दछ भन्दै राजाले आतङ्कवादलाई यस क्षेत्र तथा बाहिरबाट समेत निर्मूल गर्ने भारत सरकारको प्रयासप्रति ऐक्यबद्धता जनाएका छन्।
Popularity: 15%
October 31st, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर ३१ -
मण्डलेहरुको नेपाल समता पार्टी (समाजवादी) केन्द्रीय कार्यकारिणी समितिको बैठकले छिट्टै हुन लागेको नगरपालिकाहरूको निर्वाचनमा सक्रियताका साथ भाग लिने निर्णय गरेको छ।
यस्तो निर्णय गर्ने यो पहिलो पार्टी हो। प्रमुख पार्टीहरुले निर्वाचनमा भाग नलिनेमात्र हैन, सक्रिय बहिस्कार गर्ने अर्थात् बिथोल्ने बताउँदै आएका छन्। माअोवादीहरुले पनि संभवतः तिहारपछि नै युध्दविराम भंग गरी चुनावको नाटकलाई “ध्वस्त” पार्ने बताएका छन्।
समता पार्टीका दयानन्द थापाको अध्यक्षतामा बसेको बैठकले केही राजदूतहरूले कूटनीतिक मर्यादाविपरीत विभिन्न अभिव्यक्ति व्यक्त गरेको सम्बन्धमा छलफल गरी त्यसबारे उपयुक्त पहल गर्न पररष्ट्र मन्त्रालयमा ज्ञापनपत्र दिने निर्णय गरेको पनि पार्टद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
Popularity: 15%
October 31st, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर ३१ -
नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सिङ्गो राष्ट्र बन्धकीमा राखेर राजाले नेपाललाई असफल राष्ट्र बनाउँदै गरेको आरोप लगाउनु भएको छ।
यसको सम्पूर्ण जिम्मेवारी राजाले लिनुपर्छ, उहाँले आइतबार तिहारको उपलक्ष्यमा आयोजित पत्रकारहरुलाई आमन्त्रित चियापान भेलामा बताउनु भयो।
निरंकुश शासन धेरै नटिक्ने बताउँदै उहाँले यसलाई ढाल्न सबै एकजुट भई पार्टीहरुको आन्दोलनलाई जनआन्दोलनका रुपमा परिणत गर्नुपर्नेमा जोड दिनुभयो।
चियापानमा सबै सञ्चारमाध्यमका पत्रकार, प्रकाशकहरुको ठूलो उपस्थिति रहेको थियो।
Popularity: 15%
October 31st, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर ३१ -
नेपालले चीनबाट सैन्य सहयोग लिन लागेकोमा भारतले टाउको दुखाउनु पर्ने कारण नभएको मन्त्रिपरिषदका उपाध्यक्ष कीर्तिनिधि विष्टले बताउनुभएको छ।
उहाँले अप्ठ्यारो परेको बेला सहयोग गर्ने चीन सरकार नेपालको वास्तविक मित्र भएको भन्दै प्रशंसा गर्नुभयो।
अर्का उपाध्यक्ष तुलसी गिरीले भने एनजीअो आईएनजीअो र नागरिक समाजले विदेशीहरुबाट पैसा लिएको आरोप लगाउनु भएको छ। कसैले बाधा व्यवधान नपुर्याए तीन महिनामा माअोवादी सखाप पार्ने दावी गिरीले गरेका थिए।
Popularity: 15%
October 31st, 2005
एमाले-माओवादी सहमति
० सहमतिका पांच बुंदा राजनीतिक र छ बुंदा आचारसंहिता
० संवादमार्फत संविधानसभामा दुवैको जोड
टंक पन्त, नेपाल समाचारपत्र, काठमाडौं
नेकपा (एमाले) र विद्रोही माओवादीबीच यसै हप्ता नयां दिल्लीमा भएको उच्चस्तरीय वार्तामा पांचबुंदे राजनीतिक र छबुंदे आचारसंहितामा सहमति भएको खुलासा भएको छ। पांचबुंदे राजनीतिक सहमतिको प्रमुख विषयमा वर्तमान संकटको प्रमुख कारक निरंकुश राजतन्त्र भएकाले त्यसविरुद्धको संघर्ष नै अहिलेको मुख्य कार्यभार रहेको एवम् विद्यमान संकटको प्रमुख राजनीतिक निकास संविधानसभाको निर्वाचन र लोकतान्त्रिक गणतन्त्र हो भन्ने ठहर रहेका छन्।
दिल्लीमा रहनुभएका नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र माओवादीका शीर्ष नेताबीच भएको उच्चस्तरीय वार्तामा दुवै पार्टीका अन्य वरिष्ठ नेताहरू पनि रहेको बताइएको छ। माओवादी पक्षबाट प्रचण्डले भाग लिएको बताइए पनि सोको पुष्टि भइसकेको छैन। मुलुकको विद्यमान संकट समाधानका लागि सात राजनीतिक दल र माओवादीबीच संवाद गरी सबै पेसा, वर्ग र तहका जनसंगठनहरू, नागरिक समाजलाई लोकतान्त्रिक गणतन्त्रका निम्ति सहमतिमा पुर्याउन अधिकतम प्रयत्न गर्ने भन्ने अर्को सहमतिको बुदा रहेको छ।
सो उच्चस्तरीय वार्ताका क्रममा सकेसम्म दीपावलीअघि वा लगत्तै सात दलसंग वार्ता गर्ने कुरा भएको पनि एमालेस्रोतले बताएको छ। अर्को राजनीतिक सहमतिमा वर्तमान सरकारद्वारा घोषित नगर निर्वाचनलाई भण्डाफोरसहित सशक्त बहिष्कार गरिने रहेको छ। दुइ पार्टीवीच उच्चस्तरीय वार्ता भई महत्त्वपूर्रण बुंदामा सहमति भएको एमालेका कार्यवाहक महासचिव वामदेव गौतमले पनि पुष्टि गर्नुभएको छ। दुइ पार्टीवीच आचारसंहिता निर्माण गर्ने कार्य पनि सम्पन्न भएको छ। वार्ताका क्रममा भएको सहमतिमा एकअर्काप्रतिको आरोप-प्रत्यारोप र कारबाही बन्द गर्न ठोस कदम चाल्ने र सोसम्बन्धमा सबै पार्टीनिकायमा निर्देशन दिने रहेको छ।
कुनै समस्या पर्ने भएमा केन्द्रदेखि तलसम्म संयन्त्र बनाउने र स्थानीय स्तरबाट हल हुन नसकेका समस्यालाई केन्द्रीय स्तरबाट समाधान गर्ने भन्ने आचारसंहिताको अर्को बुंदा रहेको छ। देशका कुनै पनि ठाउ“मा एकअर्काका कार्यक्रमलाई कुनै पनि अवरोध नगर्ने तर कार्यक्रम गर्नुअघि एकअर्काबीच जानकारी आदान-प्रदान गर्ने निर्णय भएको एमालेस्रोतले बताएको छ। एकअर्कालाई उत्तेजित पार्ने खालका बाहेक वैचारिक आलोचना गर्न, छलफल गर्न कुनै अवरोध नपुर्याउनेजस्ता विषयसहित छबुंदे आचारसंहिता निर्माण गरिएको बताइएको छ। नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकले लोकतान्त्रिक गणतन्त्रको पक्षमा निर्णय गरेपछि हालै सम्पन्न माओवादी केन्द्रीय कमिटीको बैठकले एमालेलाई मित्रशक्तिको रूपमा लिएको जानकारी वार्ताकै क्रममा गराइएको थियो। त्यसअघि माओवादीले एमालेलाई पनि शत्रुकै रूपमा घोषणा गरेको थियो।
वार्ताका क्रममा माओवादी नेताले दीपावलीपछि युद्धविराम भंग गर्ने सम्भावना रहेको जानकारी गराएका थिए। सात राजनीतिक दल, नागरिक समाजको आग्रहमा एकतर्फी युद्धविराम गरियो तर वर्तमान सरकारले त्यही मौकामा निशस्त्र कार्यकर्तालाई हत्या गरी क्षति तुल्याएको भन्दै युद्धविराम भंग गर्नुपर्ने अवस्थामा आफूहरू पुगेको तर निर्णय भने हुन बांकी रहेको पनि माओवादी नेताले वार्ताका क्रममा बताएको थाहा भएको छ। माओवादी नेताले युद्धविराम भंग भए पनि सात दल र नागरिक समाजस“ग भएका र आगामी दिनमा हुन सक्ने सहमतिमा कुनै असर नपर्ने आश्वासन दिएको बताइएको छ। माओवादीको ९५ सदस्यीय केन्द्रीय कमिटी घर्टाई महाधिवेशन आयोजक कमिटी बनाएको र माओवादी छिट्टै महाधिवेशन गर्ने तयारीमा रहेको बताइएको छ। एमालेस“ग भएको सहमति र सात दलसंग हुने सहमतिलाई महाधिवशेनमा राखी अनुमोदन गराउने जानकारी पनि माओवादी पक्षले एमालेको वार्ताटोलीलाई गराएको बताइएको छ।
Popularity: 15%
October 30th, 2005
काठमाडौं, (नेस)
पांच वर्षबितिसक्दा पनि निर्माणकर्ताले अस्पतालभवन रेखदेख र मर्मतप्रति बेवास्ता गरेका कारण मणिपाल मेडिकल कलेज भवन भत्किएको निष्कर्षप्राविधिकहरूले निकालेका छन्। ‘नेपालमा जुनसुकै आधुनिक घर बनाए पनि भौतिक अवस्थाबारे जानकारी लिनुपर्छ तर निर्माणकर्ताले कुनै जानकारी नलिई कानुनविपरीत भवन बनाएकाले ठूलो दुर्घटना भएको हो’, नेपाल इन्जिनियरिङ एसोसिएसनका सदस्य सुरेश पोखरेलले घटनाको स्थलगत अध्ययनपछि भन्नुभयो- ‘ठेकेदारको लापरबाहीले भवन भत्किएको हो।’
एसोसिएसन र स्ट्रक्चरल इन्जिनियर समाजले संयुक्त रूपमा भत्किएको भवन निरीक्षणपछि शनिबार प्रतिवेदन र्सार्वजनिक गर्दै अस्पताल प्रशासनले भनेबमोजिम अस्पताल निर्माण नगरेको आरोप पनि लगाएका छन्।
इन्जिनियर्स एसोसिएसनका सदस्य पोखरेल, स्ट्रक्चरल इन्जिनियर समाज नेपालका उपाध्यक्ष सुहृदकुमार शर्मा र महासचिव भरत मण्डल रहेको तीन सदस्यीय टोलीले अनुसन्धान गरी प्रतिवेदन र्सार्वजनिक गरेको थियो। यही कात्तिक ३ गते मणिपाल कलेजको माथिल्लो तला भत्कंदा दश जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए।
Popularity: 15%
October 30th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर २९ -
संविधानले ग्यारेण्टी गरेको सूचनाको हक निरंकुश सरकारले खोस्ने दुष्चेष्टा गरेको विरोधमा सात दलको आह्वानमा भएको शुक्रबारको उपत्यका बन्दले सार्वजनिक जनजीवनमा ठूलो प्रभाव पार्यो।

बन्द आयोजकहरुले स्वस्फूर्त रुपमा बन्द भएको र बन्द गराउन कुनै दबाब नदिइएको दावी गर्दै बन्द शान्तिपूर्ण रुपमा सफल भएको दावी गरेका छन्।
बन्दका क्रममा ८४ जनालाई गिरफ्तार गरिएको गृह मन्त्रालयले जनाएको छ। गिरफ्तार व्यक्तिहरुलाई राति अबेरसम्म रिहा गरिएको समाचार प्राप्त भएको छैन। मन्त्रालयले सात सवारी साधनमा तोडफोड गरिएको बताएको छ।

बन्द सफल पार्न काठमाडौंको बसन्तपुरबाट दलका नेता, कार्यकर्ता, नागरिक समाज, सञ्चारकर्मीहरु समेतको जुलुसले काठमाडौंका भित्री इलाकाहरु परिक्रमा गरेको थियो। जुलुसले सञ्चार अध्यादेश खारेजी र लोकतन्त्र र गणतन्त्रको पक्षमा नारा लगाउनुका साथै निरंकुश राजतन्त्रविरुध्द चर्का नारा लगाएका थिए।
जुलुस काष्ठमण्डप अगाडि सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै काँग्रेसका सुप्रभा घिमिरे, एमालेका राजेन्द्र श्रेष्ठ र नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले निरंकुश राजतन्त्रलाई प्रहार गरेका थिए।
यसैबीच आज शनिबार अपराह्न ३ बजे रत्नपार्कमा कालो सञ्चार अध्यादेश जलाउने कार्यक्रम रहेको छ।
Popularity: 15%
October 29th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर २९ -
भाइटीकाका लागि यही कात्तिक १७ गते बिहीबार सवा १२ देखि एक बजेसम्मको साइत उत्तम रहेको छ । नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. माधवप्रसाद भट्टराईले रासससँग कुरा गर्दै त्यस दिन सर्वसाधारणलाई आफ्नो अनुकूल समयमा भाइटीका लगाउन कुनै बाधा नरहेको बताउनुभयो ।
उक्त दिन द्वितीय तिथि टुटेको र सूर्योदय कालमा प्रतिपदा तिथि लाग्ने भएकाले सोही दिन भाइटीका लगाउनुपर्ने र प्रतिपदाका दिनमा गरिनुपर्ने गोवर्द्धन पूजा र द्वितीया तिथिमा गरिने भाइटीका एकै दिन पर्न आएको अध्यक्ष डा. भट्टराईले बताउनुभयो ।
विगत केही वर्षदेखि नेपाली चाडपर्वहरुमा तिथिमितिको झण्झट हुनुलाई केहीले शंकाको दृष्टिले हेर्ने गरेका छन्। पहिले यस्तो समस्या नआउने भए पनि विगत केही वर्षदेखि यस्तो हुँदै आएको छ। यसपालि दसैंमा पनि नवमी र दसमीलाई एकै दिन मनाउन उक्त समितिले आह्वान गरेका भए पनि केहीले लगातार रुपमा नवमीको भोलिपल्टमात्रै दसमी मनाएका थिए।
Popularity: 15%
October 29th, 2005
काठमाडौं, (महानगर)।
सञ्चार अध्यादेशविरुद्ध सात दलले आहवान गरेको उपत्यका बन्दको दिन आज बिहान सवारी तोडफोड र गिरफ्तारीका घटना प्रशस्तै भए। राजधानीका तीनै शहरका मूलसडक र बजार क्षेत्रमा सात दलका नेता कार्यकर्ता बन्दको प्रभाव व्यापक पार्न नारा, जुलुस र तोडफोडमा उत्रिएका हुन्। बन्दले मूलसडक र चोकको यातायात र बजार निकै पातलो पारे पनि प्रायः भित्री चोक, सहायक बाटा र गल्लीको अवस्था सामान्य देखिन्थ्यो।
बन्दकारीले ग्वार्कोमा निजी भ्यान, कुमारीपाटीका भाडाको ट्याक्सी, पाटनको च्यासलमा बा.१झ ५३६५ नं.को प्रहरी भ्यान एवम् शान्तिनगर, चावहिल, बानेश्वर र चक्रपथ क्षेत्रमा नगरबस तोडफोड गरेका छन्।
चावहिल, बानेश्वर र चक्रपथ क्षेत्रमा भएको तोडफोडमा नेपाल यातायातका मात्रै चारवटा गाडी परेको थाहा भएको छ। बन्दकारीले बजारलाई भन्दा सवारीसाधनलाई बढी निशाना बनाउन खोजेको पाइयो। मूलचोकमा जम्मा भएर बन्दकारीले सवारीको सांचो लुट्ने र हुलहुज्जत गरेको प्रशस्तै देखियो। बिहान छिप्पिंदै जांदा बन्दकारीले चहलपहल बढाउंदा ड्ढाट्टड्ढुट्ट चलेका हलुका सवारी पनि रोकिएका थिए। तर, भित्री भागमा भने हलुका सवारी आवतजावतमा खासै समस्या देखिएन।
सुरक्षा निकायले पनि बन्दकारीमाथि हस्तक्षेप र गिरफ्तारीलाई बिहानैदेखि तीव्र पारेको छ। चोक-चोकमा नेतृत्व दिएर बसेका नेतासहित सयौं कार्यकर्तालाई सुरक्षाकर्मीले पक्राउ गरेको छ। कांग्रेस नेता दिलेन्द्रप्रसाद वडु, भीमसेनदास प्रधान, एमाले नेता योगेश भट्टर्राई, सिद्धिलाल सिंलगायत पक्राउ परेको जानकारी थाहा भएको छ।
सुरक्षाकर्मीले बिहान ठूलै जुलुस निस्केको मङ्गलबजार, चावहिल, बानेश्वर, न्युरोड, कलङ्की, कालीमाटी, क्षेत्रपाटीमा दिउ“सो व्यापक उपस्थिति बढाउनेभएको छ। यो समाचार तयार पार्दाको समय ११ बजे कालीमाटीमा पर््रदर्शनकारीले टायर दहन समेत गरे।
प्राप्त अर्को जानकारीअनुसार, क्षेत्रपाटीबाट असनतर्ड्ढ आउंदैगरेको जुलुसमा समाचार सङ्कलनका लागि गएका टाइम्स एड्ढएमका पत्रकारद्वय चन्द्र पन्त र राजेन्द्र बानिया“ पनि पक्राउ परेका छन्।
सुरक्षा निकायले बिहान बन्दकारीलाई नियन्त्रणमा लिन नसकेकाले तोडफोड भएको र सवारी पातलो भएको स्वीकार्दै दिउ“सो सशस्त्र सुरक्षाकर्मी नै उपस्थित गराएर सवारी चलाउने योजना भएको जनाएको छ।
यता, सात दलले प्रहरी हस्तक्षेप भए भिडन्तका लागि तयार भएको प्रतिक्रिया दिएका छन्।
बन्दको प्रचारका लागि हिजो बेलुकी सात दलले सिठ्ठी जुलुस निकालेका थिए। क्षेत्रपाटीमा हिजो बेलुकी नै निस्केको विद्यार्थी जुलुसबाट समातिएका आठ जिल्लास्तरीय नेता रातभर चिसो छि“डीमा सुत्नुपरेको अमिलो अनुभव बिहान महानगरलाई सुनाउ“दै थिए।
Popularity: 15%
October 28th, 2005
नेपाल समाचारपत्र, काठमाडौं,अक्टोबर २८ -
सञ्चार अध्यादेशविरुद्ध देशका प्रमुख सात राजनीतिक दलको आहृवानमा आज हुने उपत्यका बन्दलाई प्रभावकारी बनाउन बिहीबार राजधानीका अधिकांश चोकमा जुलुस प्रदर्शन भए। निषेधित क्षेत्रभन्दा बाहिर भएका प्रदर्शनमा पनि प्रहरीले हस्तक्षेप गरी दर्जनौं गिरफ्तार गरेको छ।
अपराहृन ४ बजे असनबाट गोकर्ण विष्टको नेतृत्वमा निस्किएको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरी एमाले काठमाडौंका सचिव रामेश्वर फुयाल, सदस्यहरू सुमन केसी, परितोष पौडेल, निर्मल देउला, गुन्जमानसिं बस्नेतलगायतका प्रदर्शनकारीलाई गिरफ्तार गरेको थियो भने मैतीदेवीबाट निस्किएको विद्यार्थीहरूको जुलुसबाट नेविसंघका कल्याण गुरुङ, भरत शाही, भीम बडुवाल, सीताराम कार्कीलगायत विभिन्न संगठनका थुप्रै विद्यार्थीलाई गिर फ्तार गरेको छ।
माघ १९ को शाही कदमपछि पहिलो पटक आहृवान भएको उपत्यका बन्दको आहृवानलाई असफल गराउन हरसम्भव उपाय अपनाउने तयारीमा छ। सुरक्षा निकायले शुक्रबार बिहान चोकचोकमा हुने भनी घोषणा गरिएका जुलुस रोक्ने तयारी गरेको बताइएको छ।
Popularity: 15%
October 28th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर २८ -
शाही सरकारले कान्तिपुर एफएमलाई बन्द गराउने पूरा तयारी गरिसकेको भए पनि कानुनी लडाइँमा एक कदम पछाडि हट्न बाध्य भएको छ। सर्वोच्च अदालतले कान्तिपुर एफएममाथि यही कात्तिक १३ गतेसम्म कुनै कारबाही नगर्न, नगराउन बिहीबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
सरकारले २४ घण्टाभित्र सफाइ पेश गर्न भनेपछि कान्तिपुर एफएमले सफाइका साथ सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिटसमेत दायर गरेको थियो।
यसअघि नेपाल एफएमलाई सरकारले सात दिनभित्र सफाइ पेश गर्न भनेको थियो र त्यसका विरुध्द नेपाल एफएम अदालत गएपछि समाचार प्रसारण यथावत राख्न अन्तरिम आदेश जारी भएको थियो। त्यसबेलादेखि नै माघ १९ पछि रोकिएको समाचार पुनः एफएमहरुले प्रसारण गर्न थालेको थियो। त्यति बेलादेखि नै टंक ढकालजस्ता मन्त्रीहरु असन्तुष्ट भएका थिए। उनीहरुले एफएममा समाचार प्रसारण नरोकिए मन्त्री बन्न नसक्ने भनी राजालाई भनेका थिए।
अन्ततः दसैंको मौका छोपेर जारी अध्यादेशले समाचार प्रसारणमा रोक लगाएको हो।
Popularity: 15%
October 28th, 2005
News update: (03:35 PM HKST)
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर २७ -
कान्तिपुर एफएमलाई दिइएको सरकारी अल्टिमेट पूरा हुन अब मात्र ३ घण्टा बाँकी छ। सूत्रहरुले अल्टिमेटम पूरा भएपछि इजाजत पत्र रद्द भएको खबर आउनसक्ने प्रवल संभावना रहेको बताएका छन्।
सरकारले यो विषयलाई आफ्नो इज्जतसँग दाँजेर हेरेको र अहिले कान्तिपुरलाई “तह” लगाउन नसके कसैले पनि आफ्नो कुरा नटेर्ने हुँदा परिणाम जस्तोसुकै भए पनि कान्तिपुर एफएमलाई चाहिँ बन्द गराएरै छाड्ने बताएका छन्।
यसैबीच कान्तिपुरले सरकारलाई हिजोको पत्रको जवाफ पठाइसकेको समाचार कान्तिपुर टेलिभिजनले दिएको छ। कान्तिपुर एफएमको कार्यालयमा हजारौंको भीड जम्मा भइसकेको छ। उनीहरुले रातभर पनि धर्ना बस्ने बताएका छन्।
यही विषयलाई लिएर सात दलले भोलि उपत्यका बन्द गर्दैछन्।
News update: (12:50 PM HKST)
एचकेनेपाल डट कम, अक्टोबर २७ -
सरकारले कान्तिपुर एफएमलाई बन्द गराउने लगभग निश्चित देखिएको छ। काठमाडौंस्थित हाम्रा प्रतिनिधिले भर्खर पठाएको विशेष रिपोर्ट अनुसार आज बिहानबाट सुरक्षाकर्मीहरुले कान्तिपुर एफएमलाई बाहिरबाट घेर्न थालिसकेका छन्।
एफएम परिसरमा दुई हजार जति स्रोता, नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु भेला भएर मानव साङ्लो बनाएर सुरक्षाकर्मीलाई भवनभित्र पस्न नदिने रणनीतिमा लागेका छन्।
सरकारले कान्तिपुर एफएमलाई समाचार प्रसारण गरेकोमा इजाजतपत्र किन रद्द नगर्ने भनेर सोधेको २४ घण्टे स्पष्टिकरण पूरा हुन अब ४ घण्टामात्रै बाँकी छ। यसैबीच अन्तर्राष्ट्रिय पत्रकारहरुको छाता संगठन आईएफजेले हिजो दिइएको सरकारी धम्कीको कडा शब्दमा निन्दा गरेको छ।
——————————————————————————————–
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर २७ -
सरकारले कान्तिपुर एफएमलाई बन्द गर्ने संकेत देखापरेको छ। समाचारमूलक कार्यक्रम प्रसारण नगर्नू भन्दाभन्दै प्रसारण गरिरहेकाले इजाजतपत्र रद्द किन नगर्ने भनी २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न बुधबार अपराह्न ४ बजेर ३८ मिनेट जाँदा कान्तिपुर एफएमलाई सञ्चार मन्त्रालयको अत्यन्त जरुरी र गोप्य पत्र बुझाइएको छ।
सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रत्नराज पाण्डेले स्पष्टिकरण चित्तबुझ्दो नभएमा एफएमको इजाजतपत्र रद्द गरिने बताउनुभएको छ।
मन्त्रालयले समाचारमूलक कार्यक्रम प्रस्तुत नगर्नु भनी भनेपछि कान्तिपुर एफएम लगायतका केही एफएमहरुले कार्यक्रमका नामअगाडि सूचनामूलक भन्ने शब्द थपी समाचार प्रसारण गर्दै आएको छ।
मन्त्रालयबाट पत्र आउनु साढे एक घण्टाअगाडि पनि कान्तिपुर एफएमले “सूचनामूलक कान्तिपुर डायरी” नामको कार्यक्रम प्रसारण गरेको थियो।
Popularity: 15%
October 27th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर २७ -
निर्वाचन आयोगले नगरपालिका निर्वाचनका लागि दलहरुलाई दर्ता गर्न आउन एक महिनाको म्याद दिएको बुधबार नौ दिन बितिसक्दा पनि हालसम्म दुई वटा पार्टीमात्र दर्ता भएका छन्। दर्ता भएका पार्टीहरु पनि गजबका छन्।
एउटा पार्टी पञ्चायतलाई प्रजातन्त्र मान्ने पञ्चायत प्रजातन्त्र पार्टी नामको रहेको छ भने अर्को चाहिँ अमेरिका प्रोफेसनल रेस्लिङ खेलेर आइसकेका र नेपालमा रेस्लिङ खेलको विकासमा लागिपरेका भरतबहादुर बिसुराल अध्यक्ष रहेको नेपाल कन्जरभेटिभ पार्टी रहेको छ।
आन्दोलनरत सात दलले भने दल दर्ता नगराउने बताइसकेका छन्। वीपी कोइराला पुत्र तथा बलिउड अभिनेत्री मनीषा कोइरालाका पिता वर्तमान शाही सरकारका मन्त्री प्रकाश कोइरालाले भने नेपाली काँग्रेस नाममा पार्टी दर्ता गराउने तयारी गरिरहेका छन्।
आयोगबाट निवेदन दर्ताका लागि ५१ फाराम वितरण भएको बताइएको छ।
आयोगले आगामी मङ्सिर ३ गतेसम्म प्राप्त निवेदनहरूको अध्ययन एवं छानबिन गरेपछिमात्र संविधान एवं ऐनबमोजिम उपयुक्त रहेका दललाई दर्ता गरिने आयोगका प्रवक्ता तेजमुनि बज्राचार्यले बताउनुभयो।
Popularity: 15%
October 27th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर २७ -
नेकपा एमालेका कार्यवाहक महासचिव वामदेव गौतमले आफ्नो पार्टी र माअोवादी नेतृत्वसित उच्चस्तरीय वार्ता भएको बताउनुभएको छ। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गौतमले लोकतन्त्र र शान्ति स्थापनाका सम्बन्धमा वार्ता भएको र यस विषयमा उच्चस्तरीय सहमति भएको बताउनु भयो।
उहाँले राज्य असहिष्णु ढंगले हिंसामा उत्रिरहेकोले युध्दविराम घोषित अवधिभन्दा छिट्टै भङ्ग हुनसक्ने माअोवादी नेतृत्वले चेतावनी दिएको बताउनु भयो।
गौतम केही दिनअघि माअोवादी नेतृत्वसित वार्ता गर्न रोल्पा पुग्नुभएको थियो। माअोवादी नेतृत्वले निर्वाचन कुनै हालतमा पनि हुन नदिने कुरामा आश्वस्त पारेको पनि बताउनु भयो।
Popularity: 15%
October 27th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर २७ -
विश्वको सर्वोच्च शिखर सगरमाथाको महिलाद्वारा प्रथम आरोहण भएको तीसौँ वर्षको अवसरमा सफल आरोहण गर्नुहुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका महिला आरोहीहरूको जमघटमा राजधानीमा अन्तर्राष्ट्रिय महोत्सवको आयोजना गर्न लागिएको छ।
यही कात्तिक १३ गतेदेखि प्रारम्भ हुने तीनदिने महोत्सवका अवसरमा सगरमाथाका प्रथम महिला आरोही जापानकी जुन्को तावेइ, द्वितीय आरोही चीनकी फान्गडोलगायत न्युजिल्यान्ड, भारत, डेनमार्क, बेलायत, स्लोभेनिया, इरान, आयरल्यान्ड र नेपालका १६ महिला आरोहीलाई सम्मान गरिने नेपाल पर्वतारोहण सङ्घ, श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरूपमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कात्तिक १४ गते एक विशेष समारोहबीच प्रथम आरोही जुन्को तावेइलगायत अन्य महिला आरोहीलाई रानीले विशेष सम्मान गर्ने कार्यक्रम रहेको जानकारी नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख टेकबहादुर डाँगीले सो अवसरमा दिनुभयो ।
यसैगरी कात्तिक १४ गते महिला आरोहीहरूलाई बग्गीमा राखी सहर परिक्रमा गर्राई काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य नगरपालिकाका तर्फबाट हनुमानढोकामा नागरिक सम्मान गरिने कार्यक्रम छ ।
Popularity: 15%
October 27th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर २६ -
राजाको सरकारले माघ १९ पछि शान्तिसुरक्षा सुदृढ भएको भनी जति नै फलाके पनि त्यस्तो दावी निरर्थक रहेको प्रमाण मंगलबार देखियो। सिंहदरबार अगाडि रहेको राष्ट्रिय वीमा संस्थानको काउन्टरबाट मंगलबार दिउँसो रु.छ लाखभन्दा बढी रकम लुटेर भाग्दा पनि प्रहरी र सेनाको त्यहाँ अत्तोपत्तो थिएन। त्यहीँका कर्मचारीहरुले ज्यान जोखिममा राखेर लुटेरालाई पक्री प्रहरीलाई बुझाएका थिए।
घटना विवरण अनुसार दिउँसो १ बजेको समयमा सो संस्थानका कर्मचारीहरू खाजा खान बाहिर निस्केको बेला एक लुटेरा कार्यालयमा प्रवेश गरी उनले दुई नम्बरको काउन्टरमा जम्मा भएको रकम सेफमा राख्न लागेका सुरक्षागार्ड दलबहादुर गुरूङको कन्चटमा पेस्तोल तेर्स्याएर आफ्नो झोलामा रकम राख्न बाध्य गराएका थिए।
गार्डसँगै रहेका खजान्ची ठाकुरप्रसाद पाण्डेले “मलाई मार अनिमात्र रकम लैजा” भनेर लुटेरासँग अडान लिएपछि पनि सुरक्षा गार्ड लुटेराको झोलामा रकम राख्न बाध्य भएका थिए । त्यसैबखत खजान्ची पाण्डेले रकम लुट्यो भनी कराउँदा खाजा खान बाहिर निस्केका कर्मचारीहरूले थाहा पाई निजलाई समाउन सहयोग पुर्याएका थिए।
लुटेराले भाग्नेक्रममा दुईराउन्ड गोली फायर गरेको र एक गोली पियन बयानबहादुर कार्कीको खुट्टामा लागेको संस्थानका कर्मचारीहरूले बताए।
संस्थानका का.मु. मुख्य व्यवस्थापक शालिकराम पराजुलीका अनुसार उक्त काउन्टरमा जम्मा भएको रू. छ लाख १९ हजार ६१०।- मध्ये लुटेराको झोलाबाट खसेर फेला परेको रू.तीन लाख ६९ हजार ५००।-, काउन्टरको घर्रामा रु.नौ हजार ६५।- रहेको र रू. दुइ लाख ४१ हजार ४५।- प्राप्त हुन बाँकी रहेको छ।
उक्त संस्थानबाट रकम लुटने भक्तपुर नगरपालिका वडा नं.११ भुलुखेल बस्ने बस्ने वर्ष३१ का राजेश देउला भएको र उनको साथबाट रू.एक लाख ९० हजार, पेस्तोल एकथान, पेनगन दुइ थान, पेस्तोलका गोली चार थान र एक थान खोका फेला परेको वडा प्रहरी कार्यालय, सिंहदरबारले जनाएको छ।
लुटेराको साथबाट काठमाडौँ महानगरपालिका कर्मचारी कल्याण कोषको छाप, लेटरप्याड, रसिद र टेलिफोन डायरीका साथै निजको नाममा महानगरपालिकाको फोहरमैलासम्बन्धी कामको परिचयपत्र पनि फेला परेको बताइएको छ।
निजलाई आवश्यक कारबाहीका लागि काठमाडौँ जिल्ला प्रहरी कार्यालय पठाइएको छ।
Popularity: 15%
October 26th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर २६ -
नेपालको प्रजातान्त्रिक आन्दोलनलाई धक्का पुग्ने खालका दुई समाचार मंगलबार सार्वजनिक भएको छ। रुसले नेपालमा हुने स्थानीय र संसदीय निर्वाचनलाई समर्थन गर्ने भएको छ भने डेनमार्कले यो वर्ष २० मिलियन डलर सहयोग गर्ने भएको छ।
रुस भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले आफ्ना समकक्षीसितको भेटवार्ताका क्रममा रुसले निर्वाचनलाई समर्थन गर्ने आश्वासन प्राप्त गरेका हुन्।
यता राजधानीमा अर्थमन्त्री मधुकरशम्शेर जबरासँग उहाँको कार्यकक्षमा नेपालका लागि डेनमार्कका राजदूत फिन स्टिलथेडले भेट गर्ने क्रममा नेपाललाई सन् २००५ मा बीस मिलियन अमेरिकी डलर बराबरको सहयोग उपलव्ध हुने र वाषिर्क सहयोगको सो क्रमलाई सन् २००६ मा समेत निरन्तरता दिइने जानकारी दिनुभएको हो।
दुवै समाचारलाई सरकारी सञ्चारमाध्यमहरुले उच्च प्राथमिकताका साथ प्रचारप्रसार गरिरहेका छन्।
Popularity: 15%
October 26th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर २६ -
चीनले शाही नेपाली सेनाका लागि करिब सात करोड बीस लाख रुपियाँ (आठ मिलियन युआन) सहयोग दिने भएको छ।
प्रधानसेनापति प्यारजङ्ग थापाले चीनको नौदिने औपचारिक भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरूसँग कुराकानी गर्दै सो कुरा बताउनुभएको हो ।
प्रधानसेनापति थापा चिनियाँ जनमुक्ति सेनाको मैत्रीपूर्ण निमन्त्रणामा गत कात्तिक १ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। उहाँले नेपालले आफूलाई चाहिएको सैनिक सामाग्री चीनबाटै खरिद गर्ने पनि बताउनु भयो।
माघ १९ को कदमपछि भारत, बेलायत र अमेरिकाले नेपाललाई सैनिक सहयोग रोक्का गरेको छ।
Popularity: 15%
October 26th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर २५ –
सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न दसैंको मौका छोपेर ल्याइएको अध्यादेशलाई सोमबार काठमाडौंमा जलाइयो।

अध्यादेश जलाउने क्रममा प्रहरीले रोक्न खोज्दा दुई पक्षबीच निकै बेरसम्म घम्साघम्सी भएको थियो।
यसअघि प्ररायु संघको आयोजनामा भोटाहिटीबाट सञ्चार क्षेत्रमा भएको आक्रमण र अध्यादेशको विरोधमा नारा लगाउँदै निस्केको जुलुस इन्द्रचोकमा पुगी कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै प्ररायुसंघका अध्यक्ष गोकर्ण विष्टले राजतन्त्र रहेसम्म यस्ता काला कानुन आई नै रहने भएकोले राजतन्त्र मास्न सबै आन्दोलित हुने बताउनुभएको थियो।
Popularity: 15%
October 25th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर २५ –
सर्वोच्च अदालतले सञ्चार नियन्त्रण अध्यादेश जारी गर्नुको लिखित कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । त्यसैगरि कान्तिपुर एफएममाथि आक्रमण गर्नाको कारण पेश गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।
दशैं विदाको मौका छोपी जारी सञ्चार नियन्त्रण अध्यादेश र कान्तिपुर एफएममाथि सरकारले मध्यरातमा डकैती शैलीमा गरेको आक्रमणका विरुद्धमा परेका रिटमाथि सनुवाइ गर्दै प्रधानन्यायाधीश दीलिपकुमार पौडेलको एकल इजलासले उक्त आदेश दिएको हो ।
अध्यादेश कार्यान्वयन हुन नदिन र सञ्चार संस्थाहरु माथि आक्रमण रोक्न अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा आउँदो कात्तिक १३ गते एकै पटक सुनुवाई गरिने पनि प्रधानन्यायाधीशले बताउनुभयो । प्रधान्यायाधीशले अब उप्रान्त सरकारले एफएम रेडियो र अन्य सञ्चार माध्यममाथि कुनै हस्तक्षेप तथा कारबाही नगर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
पत्रकार महासंघ, बार एशोसियसन लगायत नौ वटा व्यवसायिक संगठन र कान्तिपुरले दायर गरेको रिटमा प्रधानन्यायाधीशको एकल इजलासमा बहस भएको थियो । दर्जनौं कानुन व्यवसायीहरुले सरकारले असंवैधानिक अध्यादेश कार्यान्वयन गराउन डकैती शैलीमा सञ्चार संस्थामाथि आक्रमण गरेको भन्दै त्यस्तो असभ्य काम रोकाउन सर्वोच्चसमक्ष जिकिर गरेका थिए ।
Popularity: 15%
October 25th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर २५ –
सरकारका प्रवक्ता, सूचना तथा सञ्चार मन्त्री टंक ढकालले पत्रकारिता संचार अध्यादेश पुनरावलोकन गर्ने सरकारको कुनै सोचाई नभएको बताउनुभएको छ।
उहाँले सरकारले जुनसुकै बेला कानुन लगाउन सक्ने भएकाले कान्तिपुर एफएमलाई राति कारबाही गरिएको बताउनुभयो।
उहाँले सञ्चार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन नयाँ सञ्चार अध्यादेश ल्याइएको बताउनु भएको छ।
पत्रकारहरुसँगै सर सल्लाह गरेर सो अध्यादेश जारी गरिएको बताउँदै सरकारले यसमाथि पुनर्विचार गर्ने सम्भावना नरहेको बताउनु भयो। अध्यादेश जारी भएपछि त्यसको सकारात्मक प्रतिक्रिया आएको बताउँदै उहाँले केही पत्रकारले मात्र त्यसको विरोध गरेको ठोकुवा गर्नु भयो।
राजनीतिक दलहरुलाई निर्वाचनमा भाग लिन आग्रह गर्दै मन्त्री ढकालले सात दलले भाग नलिदैमा निर्वाचन नरोकिने विचार व्यक्त गर्नु भयो। विगतमा धाँधली गरेर चुनाव लड्नेहरु मात्रै चुनावबाट डराएको उल्लेख गर्दै उहाँले यस पटक धाँधलिरहित चुनाव हुने दाबी गर्नुभएको थियो।
Popularity: 15%
October 25th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर २४ –
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव माधवकुमार नेपालले भारतको नयाँ दिल्ली भ्रमण सुरु गर्नुभएको छ। आइतबार उहाँ राजधानीबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो।
उहाँका साथ पार्टी स्थायी समिति सदस्य अमृतकुमार बोहरा पनि हुनुहुन्छ।
भारतका प्रमुख संसदीय पार्टीहरुद्वारा गठित नेपालको लोकतान्त्रिक आन्दोलन ऐक्यवध्दता अभियानको निम्तोमा उहाँ त्यहाँ जानुभएको हो। भारत भ्रमणका क्रममा उहाँले आन्दोलनप्रति नैतिक समर्थन खोज्ने बताउनु भएको छ।
यस क्रममा माअोवादीसित पनि वार्ता हुनसक्ने अनुमान गरिएको छ। तर, नेपालले भने माअोवादीसित भेट्न भारतै जानुपर्छ भन्ने छैन, नेपालमा नै वार्ता हुनसक्छ भनेर भन्नुभएको छ।
एमालेका अर्का नेता केपी अोली पनि यतिखेर भारत मै हुनुहन्छ।
Popularity: 15%
October 24th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर २४ –
काङ्गुरु हिमाल आरोहण गर्न गएको काङ्गुरु पर्वतारोहण टोलीका सात फ्रान्सेली सदस्य र एकजना सरदार आरोहणको क्रममा उच्च शिविरतर्फ जाँदै गर्दा कात्तिक ३ गतेदेखि हराइरहेको संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
हराउनेहरूमा टोली नेता डानियल आर. स्टुल्जेनबर्ग तथा सदस्यहरू मारिक ओडिल स्टुल्जेनबर्ग, ब्रुनो एम.आई. चार्डिन, पियरे पी. मिनेट, बर्नार्ड एम.एम. कन्स्टान्टिन र जिन एफ. जुबेका साथै सरदार इमानसिंह गुरूङ छन् ।
घटनाबारे यथार्थ पत्ता लगाउन हिमालयन उद्धार एसोसिएसनले कार्य गरिरहेको पनि बताइएको छ ।
सो टोलीलाई छ हजार ९८१ मिटर अग्लो काङ्गुरु हिमाल उत्तरी मोहडाबाट आरोहण गर्न अनुमति दिइएको थियो।
Popularity: 15%
October 24th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, अक्टोबर २४ –
नेपाली काँग्रेसका युवानेता एवं पूर्वमन्त्री मार्शलजुलुम शाक्यले हालै गरिएको केन्द्रीय कार्यसमितिको मनोनयनप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै मनोनयनमा परिवारवाद र बाहुनवाद हावी भएको आरोप लगाउनु भएको छ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मनोनयनमा धार्मिक, जातीय एवं क्षेत्रीय सन्तुलन नमिलेको आरोप लगाउँदै नेतृत्वले यो निर्णयमाथि पुनर्विचार नगरे असन्तुष्ट व्यक्तिहरूले आन्दोलन गरी दबाब दिने चेतावनी पनि दिनुभयो ।
उहाँले नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अधिकांश केन्द्रीय सदस्यहरू महाधिवेशनमा पराजित भएका, भ्रष्टाचारको अभियोग लागेका र सो पदका लागि हैसियत नभएका व्यक्तिहरूलाई मनोनीत गर्नुभएको भन्दै त्यसप्रति असन्तुष्टि जनाउनुभयो।
उहाँले मनोनीत १८ केन्द्रीय सदस्यमध्ये एक/दुईजनाबाहेक प्रजातन्त्रका लागि जेलनेल भोगका, इमानदार र काँग्रेसका सच्चा कार्यकर्ता नरहेका भन्दै आफूलगायत अन्य केही नेताहरू असन्तुष्ट भएकाले एकीकृत रूपमा पार्टी नेतृत्वलाई दबाब दिइने बताउनुभयो ।
नेपाली काँग्रेसका ५८ जना जिल्ला सभापतिले हालै केन्द्रीय कार्यालयमा भेला भई महाधिवेशनमा पराजित व्यक्तिलाई केन्द्रीय समितिमा मनोनीत गर्न नपाइने ज्ञापनपत्र सभापतिलाई दिएको तर त्यसको बेवास्ता गरी उहाँले झन् धेरै त्यस्तै व्यक्तिलाई मनोनीत गरेकाले पार्टी इमानदार कार्यकर्ता मर्माहत भएको नेता शाक्यले बताउनुभयो ।
Popularity: 15%
October 24th, 2005
Previous Posts