Archive for November, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ३० –
अफ्रिकाको भ्रमण सकाएर राजा काठमाडौं फर्कने दिनमा नै पारेर एमालेले राजधानीमा माघ १७ गते शुक्रबार विशाल प्रदर्शन गर्दै जनसभा गर्ने भएको छ।
यसका लागि एमालेले व्यापक तयारी गरिरहेको छ। दल र माअोवादीबीच सहमति भएयता राजधानीबाहिर काँग्रेस र एमालेले गरेका सभामा ठूलो संख्यामा जनउपस्थिति देखिएको छ। ती सभाहरुलाई बिथोल्न प्रशासनले प्रयास पनि गरेको थियो।
काठमाडौंमा हुने प्रदर्शनमा पनि प्रशासनले व्यापक धरपकड र दमन गर्नसक्ने भएकोले त्यसलाई रोक्न एमालेले सोमबार राष्ट्रिय मानवाधिकार आयोग र मंगलबार संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको नेपालस्थित कार्यालयका प्रमुख इयान मार्टिनसित भेटेको थियो।
दुवै संस्थाले उक्त दिन मानवअधिकारको अनुगमन गर्ने भएका छन्।
Popularity: 15%
November 30th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ३० –
रेडियो सगरमाथाको कार्यालयमा गत आइतबार धावा बोलेपछि बन्द भएको १०२. ४ मेगाहर्जमा मंगलबार रातिदेखि आवाज बज्न थालेको छ।
सरकारी कारबाहीका विरुध्द सर्वोच्चको शरणमा पुगेको सगरमाथालाई उसकै पक्षमा निर्णय गरी अन्तरिम आदेश जारी गरिदिएपछि सगरमाथाले प्रसारण गर्न पाएको हो। नत्र सरकारले त आतंककारीलाई प्रोत्साहन दिने काम गरेको अभियोगमा उसलाई अर्को आदेश नभएसम्म प्रसारण रोक्का गर्नू भनी आदेशसहितको पत्र दिएको थियो।
रेडियो सगरमाथा फेरि बज्न थालेपनि बीबीसी प्रसारण गर्ने उपकरण लुटी लगेकाले बीबीसी भने प्रसारण हुन पाएको छैन। मंगलबार सर्वोच्चमा भएको बहसमा सात वर्षअगाडि सरकारले नै बीबीसीलाई लिंक गरी प्रसारण गर्न अनुमति दिएको तर्क गरिएको थियो।
सर्वोच्चको अन्तरिम आदेशमा सरकारलाई उसको निर्णय कार्यान्वयन नगर्नू नगराउनू भन्दै थप छलफलका लागि माघ २२ गते पेश हुन भनिएको छ।
Popularity: 15%
November 30th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ३० –
नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले देशमा शान्ति ल्याउनका लागि विदेशमा त के, नर्कमा गएर भए पनि वार्ता गर्न आफूहरु तयार रहेको बताउनुभएको छ।
राजावादीहरुले दलहरुलाई विदेशी भूमिमा वार्ता गर्यो भनी लगाइरहेको आरोपको प्रतिवाद गर्दै उहाँले मंगलबार भरतपुरमा आयोजित सभामा उक्त कुरा बताउनुभएको हो।
उहाँले नगर निर्वाचनलाई सात दलले सक्रिय बहिस्कार गर्ने पनि बताउनु भयो। राजासँग कुनै हालतमा पनि वार्ता नहुने उहाँले बताउनु भयो।
पूर्ण प्रजातन्त्र भनेको गणतन्त्रको सीमारेखा हो भन्दै उहाँले काँग्रेस गणतन्त्रवादी भने नभएको बताउनु भयो।
Popularity: 15%
November 30th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २८ –
राजधानीमा प्रसारण हुने दक्षिण एसिया कै पहिलो सामुदायिक रेडियोको रुपमा रहेको रेडियो सगरमाथा एफएम १०२.४ को प्रसारण आइतबार रातिबाट बन्द भएको छ। सरकारले आतंककारी र आतंकवादलाई प्रोत्साहन दिने कार्य गरेको भन्दै प्रसारण रोक्का गर्न आदेश दिँदै सुरक्षाकर्मीहरुद्वारा प्रसारण उपकरणहरु जफत गरी लगिएको छ।
दुई वटा गाडीमा आएका हतियारधारी सुरक्षाकर्मीहरुले एफएमको बखुण्डोलस्थित कार्यालयमा घेरा हालेर त्यहाँका कर्मचारी कसैलाई पनि टेलिफोन नगर्न धम्की दिँदै उपकरण जफत गरी पाँच कर्मचारीलाई समेत पक्राउ गरी लगेको थियो।
गिरफ्तार पाँच कर्मचारीमध्ये एक महिला पत्रकारलाई एक घण्टापछि रिहा गरिएको थियो।
उक्त एफएमले बीबीसी नेपाली सेवाबाट प्रसारण हुने कार्यक्रमलाई रिले गर्दै आएको छ। माघ १९ पछि सरकारले त्यसरी रिले गर्न रोक लगाएको भए पनि नेपाल एफएमको मुद्दामा अन्तरिम आदेश जारी भएपछि बीबीसीको प्रसारण पुनः थालिएको थियो।
बीबीसीबाट आइतबार नेकपा माअोवादी अध्यक्ष प्रचण्डको अन्तर्वार्ता प्रसारण भएको थियो। एफएमले भने अन्तर्वार्ता प्रसारण गरेको थिएन।
Popularity: 15%
November 28th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २७ –
बारा जिल्लामा ६ महिना अघिदेखि तपस्या गरिरहेका १५ वर्षका किशोर राम बोम्जनको स्वास्थ्य स्थिति र त्यसको वैज्ञानिकताका बारेमा परीक्षण गर्न विज्ञान तथा प्रविधि मन्त्रालयले रोनास्टलाई आग्रह गरेको छ।
स्थानीय भाषाको एक पत्रिकालाई अन्तर्वार्ता दिँदै रोनास्टका उपकुलपति डा दयानन्द बज्राचार्यले तपस्या गरिरहेका किशोरको काम असामान्य भएको स्वीकार गर्नुभयो। ६ महिनासम्म पानीसमेत नखाई तपस्या गरिरहेको भन्ने जुन प्रचार भएको छ, यदि त्यो साँचो हो भने यसले आधुनिक विश्व चिकित्सामा नै नयाँ विषयका रुपमा चर्चा पाउने विज्ञहरुको कथन छ।
नेपाल तामाङ घेदुङ महासंघले भने तामाङ जातिमा तपस्या बस्नु भनेको नौलो कुरा नभएकोले परीक्षणका नाममा तपस्वीलाई दुःख नदिन आग्रह गरेको छ।
Popularity: 15%
November 27th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २७ –
अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टी अकस्मात् अमेरिकातिर लाग्नुभएको छ। हालै सात दल र माअोवादीबीच भएको सहमतिका बारेमा जानकारी दिन उहाँ त्यता लाग्नुभएको अनुमान गरिएको छ।
उक्त सहमति अमेरिका र भारतको मध्यस्थतामा भएको बताइएको छ। नयाँदिल्लीमा सात दल र माअोवादीको वार्ता हुँदा अमेरिकी राजदूत पनि नयाँ दिल्लीतर्फ लाग्नुभएको थियो।
सहमतिमा राजालाई मनाउने जिम्मा पनि भारत र अमेरिकाले नै लिएको बताइएको छ।
यसअघि मोरिआर्टीले विदेश भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई भेटेर उक्त सहमतिको बारेमा गत साता ब्रिफ्रिङ गर्नुभएको थियो। राजा भने हाल अफ्रिकाकै भ्रमणमा छन्। राजा फर्किएपछि मात्र देशको चलायमान राजनीतिले एक हदसम्म निकास पाउने देखिन्छ।
Popularity: 15%
November 27th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २६ –
नेकपा एमालेको गण्डकी अञ्चल समन्वय समितिले शुक्रबार बृहत् विरोध सभाको आयोजना गरेको छ। एमालेले राजा नेपाल फर्कने दिन काठमाडौंमा पनि शक्ति प्रदर्शनको तयारी गरिरहेको छ।
प्रशासनले पोखरामा आयोजना भएको विरोध प्रदर्शनमा अवरोध खडा गर्ने प्रयास गरेको थियो। तनहुँमा सुरक्षाकर्मीहरुले पोखरा जान लागेका कार्यकर्ताहरुलाई रोकेका थिए। तर उत्तेजित कार्यकर्ताहरुले तोडफोड गर्ने चेतावनी दिएपछि उनीहरुलाई जान दिइएको थियो।
विरोध प्रदर्शनमा हजारौंको सहभागिता थियो। विरोध सभालाई सम्बोधन गर्दै एमाले महासचिव माधव नेपालले असोज १८ र माघ १९ को गल्ती सच्याउने हो भने आफूहरुले सेरेमोनियल मोनार्कीलाई स्वीकार्ने बताउनु भएको थियो।
Popularity: 15%
November 26th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २६ –
राजपरिषद्का पूर्व सभापति केशरजंग रायमाझीले माअोवादीलाई अब आतंककारी भन्न नहुने बताउनुभएको छ। शान्तिको लागि प्रयास गर्ने जोसुकैको जस्तोसुकै प्रयासलाई पनि सराहना गर्नुपर्ने उहाँले बताउनु भयो।
राजधानीमा आयोजित एक कार्यक्रममा रायमाझीले शान्तिपूर्ण ढंगबाट राजनीतिक मूलधारमा आउन चाहने भए माअोवादीलाई आतंककारीको उपमा दिन नहुने विचार राख्नुभएको हो।
तर, राजपरिषद्का वर्तमान सदस्य पूर्व प्रधानसेनापति तथा राजाका निकट सल्लाहकार सच्चित शमशेरले भने आतंककारीसँग सहकार्य गर्नेलाई आतंककारीकै मतियार सरह व्यवहार गरिने चेतावनी दिनुभएको थियो।
Popularity: 15%
November 26th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २६ –
लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनद्वारा शुक्रबार भक्तपुरमा आयोजित नागरिक सभामा सहभागी वक्ताहरूले शान्तिविना देश र जनताको कसैको पनि हित नहुने विचार व्यक्त गरे।
कार्यक्रममा नागरिक आन्दोलनका सयोजक डा. देवेन्द्रराज पाण्डेले दिगो शान्ति आजको प्रमुख आवश्यकता हो, आम नेपाली जनता सदाका लागि बन्दुक त्याग गरेको हेर्न चाहन्छन् भन्नुभयो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घका केन्द्रीय अध्यक्ष प्रा. शिवप्रसाद मुनकर्मीले जनताको मौलिक अधिकार गाँस, बास, कपासका लागि जनता स्वयं सृजनशील हुनुपर्ने बताउनुभयो।
लेखक एवं साहित्यकार खगेन्द्र सङ्ग्रौलाले नेपाल ठूलो झगडामा फसेको छ, अहिलेको अवस्था झगडाको बहस पैरवी अदालतमा गर्न नहुने बताउनुभयो।
मानवअधिकारवादी हरेराम लवजुको सभापतित्वमा सम्पन्न समारोहमा शिक्षाविद् नरेन्द्रभक्त हाडा, साहित्यकार तिलकप्रकाश कायस्थ, कवि अर्जुन पराजुली, गायक रामेश, रायन, त्रिरत्न शाक्य, श्रीकृष्ण अणु, सरल गौतमलगायतले मन्तव्य व्यक्त गर्नुभयो।
Popularity: 15%
November 26th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २५ –
सात दल र माअोवादीबीच भएको सहमति सार्वजनिक हुनेबित्तिकै सरकारका मन्त्रीहरु र राजाका सल्लाहकारहरु र सरकारी सञ्चारमाध्यमहरुबाट पार्टीहरुलाई बेस्कन गाली गर्ने क्रम सुरु भएको छ।
यसलाई हेर्दा अब राजा यो सहमतिलाई पूर्ण रुपले अस्वीकार गरेर अझै कठोर कदम चालेर मुठभेडमा जाने संकेत देखिएको छ। देखिएको संकेत अनुसार अब राजा अफ्रिका भ्रमणबाट फर्किएपछि केही कठोर कदम चालिन सक्छ। विशेष गरी राजाका निकट सल्लाहकार पूर्व प्रधानसेनापति सच्चितशमशेरको प्रतिक्रियाबाट पनि राजाले यो सहमतिलाई स्वीकार गर्न पटक्कै तयार नभएको स्पष्ट भएको छ।
विदेश भ्रमणमा रहेका सरकारका प्रवक्ता टंक ढकाल र विदेशमन्त्री रमेशनाथ पाण्डे सहमतिको खबर सुनेपछि हतारमा स्वदेश फर्केका छन्। ढकालले सहमतिलाई अप्राकृतिक गठबन्धन भनेका छन्।
अमेरिका र भारतको सक्रियतामा भएको यो सहमतिमा राजालाई मनाउने जिम्मा तिनै देशहरुले लिएको सूत्रहरुले बताएका छन्। तर, राजाले भने यसलाई कस्तो रुपमा लिने हुन्, त्यो राजा आएपछि मात्र थाहा हुनेछ।
Popularity: 15%
November 25th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २५ –
लोकतन्त्रको पक्षमा भइरहेको सात दलको आन्दोलनलाई सहयोग गर्ने उद्देश्यका साथ आज शुक्रबार भक्तपुरको टौमढी टोलमा नागरिक सभाको आयोजना हुँदैछ।
शान्ति र लोकतन्त्रका लागि नागरिक आन्दोलन नाममा नागरिक समाजले हालसम्म २० जिल्लामा यस्तो सभा गरिसकेको छ। भक्तपुरमा भने पहिलो पटक नागरिक सभा हुन लागेको हो।
नेपाल मजदुर किसान पार्टीको वर्चश्व रहेको भक्तपुरमा उक्त पार्टीले सभाका लागि विशेष सहयोग गर्ने वचन दिएको बताइएको छ। काठमाडौंमा यसअघि भएका सभाहरुमा पर्चा, माइकिङ नभएको भए पनि भक्तपुरको सभाका लागि भने व्यापक प्रचार गरिएको छ।
Popularity: 15%
November 25th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २५ –
दल र माअोवादीबीच भएको सहमतिलाई संयुक्त राष्ट्र संघका महासचिव कोफी अन्नानले स्वागत गर्नुभएको छ। उहाँले नेपालको द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि जस्तोसुकै सहयोग गर्न पनि आफू तत्पर रहेको बताउनु भएको छ।
त्यसैगरी नेपालस्थित अमेरिकी राजदूतावासका प्रवक्ता रबर्ट ह्युगिन्सले पनि यो सहमतिलाई अमेरिकाले सतर्कतापूर्वक स्वागत गरेको बताउनुभएको छ। सहमतिको दस्तावेजलाई अमेरिकाले गम्भीरतापूर्वक अध्ययन गरिरहेको पनि उहाँले बताउनु भयो।
यसैगरी भारतको विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै सहमतिको स्वागत गर्दै माअोवादीले हतियार छाड्नु पर्ने र राजाले माअोवादी र दलहरुसँग संवाद गर्नुपर्ने भारतको विचार रहेको बताएको छ।
Popularity: 15%
November 25th, 2005
केशव भट्टराई, चितवन/ सीताराम अधिकारी, धादिङ
लमजुङबाट नारायणगढतर्फ गइरहेको एक यात्रुवाहक बस बुधबार मुग्लिङ-नारायणगढ खण्डको कालीखोलामा दुर्घटना हुंदा १५ यात्रुको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। दुइ बच्चालाई नदीले बगाएको छ।
बेंसीशहरबाट हिंडेको ग१ख ७५५ नम्बरको बस चन्डीभन्ज्याङ-५ मा दुर्घटना हुंदा १४ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। दुइ जनाको शव बसले किचेको अवस्थामा फेला परेको थियो। दुर्घटनामा बसका चालक दीपु गुरुङ र खलासी टीकाराम भट्टको समेत मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। जम्मा ५५ जना यात्रु रहेको उक्त बस दुर्घटनाबाट ३१ जनालाई सशस्त्र प्रहरी बल र स्थानीय व्यक्तिले तत्काल उद्धार गरेका थिए। तीन जना घाइतेको शिक्षण अस्पताल, भरतपुर र २७ जनाको महेन्द्र आदर्श चिकित्सालयमा उपचार भइरहेको छ। सात यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। तीव्र गतिमा रहेको सो बस ट्रकलाई उछिन्ने क्रममा सडकबाट २ सय मिटर तल नदीकिनारमा खस्न पुगेको स्थानीय रोहिणी त्रिपाठीले बताएका छन्। ‘बस निकै गति लिएर आएको थियो, ओभरटेक गर्न खोज्दा किनारमा पुगेर एकैचोटि खस्न पुग्यो’, प्रत्यक्षदर्शी त्रिपाठीले नेपाल समाचारपत्रसंग भने- ‘त्यसपछि हामी तत्काल उद्धारमा लागेका थियौ“।’
मरेकाहरूको शरीर क्षतविक्षत अवस्थामा रहेको जानकारी दिदै उनले भने- ‘हामीले शुरूमा घाइतेहरूलाई उद्धार गरेर अस्पताल पठायौं अनि मरेकाहरूको शव झिक्न थाल्यौं।’ मृतकहरूको शव पनि भरतपुर अस्पतालमा राखिएको ज्रि्रका चितवनले जनाएको छ। गोर्खा हर्मी-५ का वसुन्धरा खत्री (२०), लमजुङ वन्सार-४ की चन्द्रकुमारी विक (१९), तीरमाया विक (१३), तनहुं सिसिमरानी पोखरी-२ रत्न श्रेष्ठ (२५), लमजुङ प्याराजुङ-२ शान्तमाया गुरुङ (५०), लमजुङ बेंसीशहर-१ मीना घले (२०), तनहुं चिसापानी-५ का भरतराज उप्रेती (४७), लमजुङ वन्सार-४ का राज विक (२०), लमजुङ राइबस-७ का वर्षप्रकाश थापा (४५), चितवन शारदानगर-१ की कुमाया गुरुङ (२४), लमजुङ वन्सार-५ का लक्ष्मण गुरुङ (५४), लमजुङ बाहुनडांडा-५, इन्दु घिमिरे (३५), निजकै चार महिनाकी बच्ची, सुन्दरबजार-७ पशुपति ढकाल (४३), भनपा-९ चितवनकी मनकुमारी दर्राई -३०), सुरज दर्राई (७), लमजुङ बाग्लुङपानी-९ का हारकाजी गुरुङ (४२), एकबहादुर गुरुङ (४३), प्याराजुङ-१ लमजुङका वीरबहादुर गुरुङ (५५), गैंडाकोट-३, रामचन्द्र सुवेदी (२८), लमजुङ वन्सार-४, तुलसीराम विक (१८), गोरखा केराबारी-७ रवीन्द्र ढकाल -ु०), लमजुङ भुल्भुले-९ की सुन्तली गुरुङ (३२), उनकै छोरी १५ महिनाकी सोमामाया गुरुङ, बाहुनडांडा-५ शारदा घिमिरे (३५), प्याराजुङ लमजुङ- नर्मदा गुरुङ (२०), चितवन गुन्जनगर-४की स्रि्रासिङ विक (२०), सोही ठाउंका १ वर्षा -नाम नखुलेका), लमजुङ भुल्भुले-९ का शेरबहादुर गुरुङ (२४), लमजुङ पुमा-२की विना गुरुङ (३५) र नाम थर नखुलेको बोल्न नसक्ने एक महिला।
Popularity: 15%
November 24th, 2005
ऋषिराम पौड्याल/ कान्तिपुर
बाह्रबिसे -सिन्धुपाल्चोक, मंसिर ६ - एकै परिवारका चार जनाले बाह्रबिसेस्थित भोटेकोसीमा हामफालेर सोमबार सामूहिक आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा आमा, दुई छोरी र एक छोरा छन् । आइतबार उनीहरू बास बसेको लजमा आमाको नाम विमला खडका लेखाइएको थियो भने छोराछोरीको नाम खुलेको छैन ।
बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रका डा. उत्तम घिमिरेका अनुसार आमाको उमेर करिब ३८ वर्ष र दुई छोरीको उमेर अन्दाजी १४ र १७ छ । छोरा करिब ११ वर्षको अनुमान गरिएको छ । उनीहरू बाह्रबिसे बजारको पश्चिम भाग राम्चे गाविसबाट पालैपालो नदीमा हामफालेका थिए । लजबाट प्राप्त विवरणअनुसार उनीहरू भक्तपुर सूर्यविनायकका हुन् ।
‘पहिले आमाले छोरालाई खोलामा घचेटिन् अनि आफू हाम फालिन्, पछिपछि आउँदै गरेको छोरीहरू पालैपालो हामफाले,’ प्रत्यक्षदर्शी एकलक्ष्मी श्रेष्ठले भनिन् ।
उनीहरू हाम फालेको करिब १५ मिनेटपछि साढे ११ बजे स्थानीय बासिन्दाले शव नदीबाट झिकेका थिए । प्रहरी निरीक्षक विष्णुगोविन्द थापाका अनुसार नदीबाट झिक्दा सबैको मृत्यु भइसकेको थियो । उनीहरू को हुन् र किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन ।
Popularity: 15%
November 22nd, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २२ –
संसारमा आमालाई नै भगवानको अर्को रुप भनिन्छ। तर कलियुगमा त्यस्ती आमालाई पनि मार्ने कपुत छोरा हुनेरहेछन्।
नौ महिना पेटमा राखेर हुर्काएको बदलामा बुढेसकालमा पालनपोषण गर्नुपर्नेमा चिर्पट दाउराले हिर्काएर आफ्नै आमाको ज्यान लिएको कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीले ४५ वर्षीय सीताराम थापालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार धादिङ, मूलपानी घर भएर हाल पोखराको भैरवटोल बस्दै आएका सीतारामले गत बिहीबार ७० वर्षीय आमा चिनीमायालाई चिर्पट दाउराले हिर्काएपछि गण्डकी अस्पताल लगिएको थियो ।
गम्भीर रूपमा घाइते चिनीमायाको उपचारका क्रममा शनिबार अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आमालाई किन मार्नु परेको हो भन्ने कुरा चाहिँ समाचारमा खुलाइएको छैन।
Popularity: 15%
November 22nd, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २२ –
वीपीका छोरा र बलिउड अभिनेत्री मनीषाका पिताको रुपमा मात्र आफ्नो पहिचान बनाउन सकेका छु्ट्टै पहिचान बनाउन असमर्थ प्रकाश कोइरालाले आफू मन्त्री भएको मौकामा पार्टी खोल्ने तयारी गरेका छन्।
यसका लागि उनले आगामी पुस १५ देखि १७ गतेसम्म काठमाडौंमा बृहत् भेला गर्दैछन्।
वातावरण, विज्ञान तथा प्रविधिमन्त्री प्रकाश कोइरालाले सोमबार एक वक्तव्यमा सो जानकारी दिंदैं मेलमिलापवादी विचारलाई आत्मसात गरी सो विचारप्रति समर्पित हुनेहरूको राष्ट्रिय भेला गर्नुपर्ने अवस्था सिर्जना भइरहेको सर्न्दर्भमा भेलाको आयोजना हुनलागेको बताएका छन्।
भेलाले वी.पी.कोइरालाको विचार बोकेका राष्ट्रिय मेलमिलापवादीहरूले राजनीतिक दलको आवश्यकता महसुस गरेमा सोही भेलाबाट गठन र अनुमोदन गरी पारित गर्ने कार्यक्रम रहेको छ ।
Popularity: 15%
November 22nd, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २२ –
सर्वोच्च अदालतमा भ्रष्टाचार नियन्त्रण शाही आयोगविरुद्ध दायर रिटका सम्बन्धमा सर्वोच्चमा पाँच न्यायाधीशहरुको विशेष इजलासमा बहस पुनः सुरु भएको छ।
एफएम मुद्दा र कान्तिपुर एफएमको सामानमा भएको डकैतीका विषयमा सर्वोच्चको अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसलापछि शाही आयोगका विषयमा जारी बहसका सम्बन्धमा जनचासो घटेको महसूस गरिएको छ।
बहसमा सोमबार आयोगका तर्फबाट महान्यायाधिवक्ता प्रा.पवनकुमार ओझाले सङ्कटकालका समयमा गठित उक्त आयोग संविधानसम्मत् रहेको र सङ्कटकाल सकिएपछि उक्त आयोगको निरन्तरताका लागि श्री ५ बाट बक्सेको आदेशको संवैधानिक हैसियत रहेको उल्लेख गर्नुभयो ।
एउटै प्रकृतिका दुइवटा निकायको गठन हुनु संविधानसम्मत् नभएको भन्ने विपक्षीहरूको जिकिरका सम्बन्धमा महान्यायाधिवक्ता ओझाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई र्सार्वजनिक पदमा रहेका व्यक्तिले अनुचित कार्य गरेमा वा भ्रष्टाचार गरेमा कारवाही गर्नसक्ने अधिकार दिइएको छ भने उक्त आयोगलाई निजी क्षेत्रका व्यक्ति समेतलाई कारबाही गर्नसक्ने अधिकार दिइएको उल्लेख गर्नुभयो ।
उहाँले यी दुवै संस्था एकै प्रकृतिको नभएको, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कामकारबाहीमा बाधा पनि नपुगेको र शाही आयोगमा अदालती प्रक्रिया बमोजिमनै कामकारबाही गर्दैआएको उल्लेख गर्नुभयो ।
सर्वोच्च अदालतका न्यायाधीशहरू केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, रामनगिना सिंह, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठ रहनुभएको विशेष इजलासमा भइरहेको बहस आज पनि जारी रहनेछ ।
शाही आयोगको फैसलाबाट कैदमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दायर गर्नुभएको बन्दीप्रत्यक्षीकरणको मुद्दा पनि यही मुद्दामा गाभेर सुनुवाई भइरहेको छ।
Popularity: 15%
November 22nd, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २१ –
अफ्रिकी देशहरुको भ्रमणबाट फर्कने बित्तिकै राजाले मन्त्रिमण्डलको पुनर्गठन गर्ने भएका छन्। विश्वस्त सूत्रहरुले एचकेनेपाल डट कमलाई दिएको जानकारी अनुसार पुनर्गठित मन्त्रिमण्डलमा पञ्चायतकालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंहलाई प्रधानमन्त्री बनाइने संभावना रहेको छ।
यो संभावनालाई अझ दरिलो बनाउने क्रममा मरिचमान सिंहलाई पाकिस्तानी र जर्मन राजदूतले भेटेका छन्। पाकिस्तानी राजदूतले शनिबार मरिचमानलाई धापासीस्थित उनकै निवासमा भेटेका हुन् भने आइतबार बिहान जर्मन राजदूतले।
स्मरण रहोस्, पाकिस्तानले राजाको माघ १९ को कदमको समर्थन गरेको छ भने जर्मनीले अरु देशले जस्तो विरोध गरेको छैन। भारत, अमेरिका र बेलायतका राजदूतहरु राजालाई सात दल र माअोवादीसित वार्ता गराउन लागि परेका छन् भने राजाको पक्षमा रहेकाहरु भने अर्कै समीकरण बनाउन व्यस्त देखिएका छन्।
Popularity: 15%
November 21st, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २१ –
नेकपा एमालेका महासचिव माधवकुमार नेपाल फेरि दिल्ली जानु हुने भएको छ। माअोवादीसित वार्ता कै सिलसिलामा जान लाग्नुभएको भए पनि भन्नलाई भने “स्वास्थ्य उपचारको कागजात बुझ्न” त्यहाँ जान लाग्नुभएको बताइएको छ।
यसअघि पनि उहाँ दिल्लीबाट फर्किएको एक साता पनि नबित्दै फेरि त्यहाँ अकस्मात् जानुहुँदा पहिलेको भ्रमणमा चिकित्सकसँग समय नमिलेर भेट्न नपाएकोले फेरि जानुभएको कारण बताइएको थियो।
दिनलाई यस्ता कारण दिइए पनि आइतबार राजधानीमा आयोजित एउटा कार्यक्रममा एमालेका अर्का प्रभावशाली नेता केपी अोलीको कुराले भने यस्तो कारण दिनुको कारण प्रष्ट हुन्छ। उहाँले भन्नुभयो, भूमिगत पार्टीसित हुने वार्ताको स्थान र तिथि खुल्ने खालको पारदर्शिता पक्कै पनि तपाईँहरुले चाहनुभएको हैन होला।
सात दलको बैठकले माअोवादीसित वार्ता गर्न गिरिजाप्रसाद कोइराला र माधव नेपाललाई जिम्मा दिएको थियो।
Popularity: 15%
November 21st, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २१ –
सरकारले गैरसरकारी संस्थाहरुलाई नियन्त्रण गर्न आचारसंहिता लागू गरेको आरोप लगाउँदै त्यसको कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी हुनुपर्ने माग गर्दै गैरसरकारी संस्थाहरुले आइतबार सर्वोच्चमा रिट दायर गरेका छन्।
आइतबार आठ वटा गैरसरकारी संस्था र दलित गैरसरकारी संस्थाले रिट दायर गरेको हो।
आचार संहिताविरुध्द बिहीबार पनि एउटा रिट दायर भएको थियो।
Popularity: 15%
November 21st, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २१ –
माअोवादीहरु मात्र हैन सेना पनि जबर्जस्ती चन्दा असुल्न पछि नहट्ने कुराको पुष्टि सेनाले नै गरेको छ।
सेनाले आइतबार जारी गरेको विज्ञप्ति अनुसार झापाको ब्यारेकमा कार्यरत शाही नेपाली सेनाका ३ जना जवानले स्थानीय सर्वसाधारणलाई जबर्जस्ती धम्क्याइ रकम असुल्ने कार्यमा संलग्न रहेको पाइएकोले निजहरुलाइ छानविनको लागि सैनिक हिरासतमा राखिएको छ।
उनीहरुको कोर्ट अफ इन्क्वायरी बोर्डबाट बिस्तृत छानविन भइरहेको र दोषी पाइएमा उनीहरुलाई सैनिक ऐन बमोजिम कडा भन्दा कडा कारबाही गरिने जानकारी समेत विज्ञप्तिमा उल्लेख छ।
Popularity: 15%
November 21st, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २१ –
सरकारले असोज महिनामा मात्रै ११ वटा अध्यादेश जारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार जनाएको छ। संविधान निष्क्रिय बनेपछि देश यसरी अध्यादेशबाट चल्न थालेको हो।
सामान्यतया नेपालमा कुनै पनि नयाँ कानुन बनाउनु पर्यो भने वा पुरानो कानुनमा संशोधन गर्नु पर्यो भने प्रतिनिधि सभाले बनाउने गर्छ। प्रतिनिधि सभामा बहुमतबाट पारित भए पछि त्यो राष्ट्रिय सभामा जान्छ र राष्ट्रिय सभाबाट पनि पारित भएपछि राजाले लालमोहर लगाएपछि कानुन बन्छ।
तर प्रतिनिधि सभा र राष्ट्रिय सभाको अभावमा नयाँ कानुन र पुरानो कानुनमा संशोधन अध्यादेशबाट हुने गरेको छ। अध्यादेशलाई छ महिनाभित्र संसदबाट पारित गराउनु पर्ने संवैधानिक प्रावधान भए पनि संसदको अभावमा जस्तो अध्यादेश पनि कानुन बनाई लागू भइरहेको छ।
Popularity: 15%
November 21st, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २० –
एक साता लामो भारत भ्रमण सकाएर नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला शनिबार साँझ काठमाडौं फर्कनु भएको छ। सञ्चारकर्मीहरुसितको कुराकानीमा उहाँले माअोवादीसित वार्ता भएको तर प्रत्यक्ष नभई टेलिफोनबाट मात्र भएको बताउनु भयो। उहाँले माअोवादीहरु राष्ट्रिय राजनीतिको मूलधारमा आउन तयार रहेको बताउनु भयो।
दिल्ली बैठकपछि संयुक्त घोषणापत्र सार्वजनिक हुने व्यापक हल्ला चले पनि त्यस्तो केही भएन। विभिन्न सूत्रहरुबाट प्राप्त समाचार अनुसार दिल्ली बैठकमा दलहरु संविधान सभामा आउन तयार भए माअोवादी हतियार राष्ट्रसंघलाई बुझाई मूलधारमा आउन तयार रहेको बताएका थिए।
बीबीसीका अनुसार दिल्लीमा सर्वपक्षीय बैठक त्यहाँको एक सरकारी भवनमा भएको थियो। त्यहाँ माअोवादीका उच्च तहका नेतृत्व वर्ग वार्तामा शामेल भएको बताइएको छ।
यता, राजा शुक्रबार नै फर्कने व्यापक हल्ला चले पनि त्यस्तो केही भएको छैन। यद्यपि राजा कहाँ-कहाँ जाने भन्ने कुनै टुङ्गो हालसम्म नलागेको बताइएको छ। प्राप्त पछिल्लो जानकारी अनुसार राजाले साउदी अरबको भ्रमण नगर्ने भएका छन् भने पाकिस्तानको इस्लामाबाद हुँदै फर्कने योजना बनाएका छन्। यसअघि पाकिस्तान जाने सम्बन्धमा केही बताइएको थिएन।
Popularity: 15%
November 20th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २० –
मलेसियालाई घरेलु समर्थकहरुले खचाखच भरिएको कीर्तिपुरको मैदानमा सात विकेटले पराजित गर्दै नेपाल ‘एसीसी अन्डर नाइन्टिन क्रिकेट प्रतियोगिता’को उपाधि जित्न सफल भएको छ ।
नेपालले लगातार तेस्रो पटक यो उपाधिमा कब्जा जमाएको यो ऐतिहासिक क्षण हेर्न कीर्तिपुरको मैदानमा हालसम्म कै सबैभन्दा बढी दर्शकहरु उपस्थित थिए।
टस जितेर नेपालका क्याप्टेन कनिष्क चौगाईंले मलेसियालाई ब्याटिङ्को निम्तो दिएको थियो र मलेसियालाई पच्चीस ओभरमा सबै विकेट गुमाएर ८३ रनको झीनो स्कोरमा समेटेको थियो। विजयका लागि आवश्यक ८४ रनको लक्ष्यलाई नेपालले तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।
उत्कृष्ट फिल्डिङ्, बलिङ् र ब्याटिङ्का कारण नेपाल विजयी भएको नेपाली टिमका क्याप्टेन चौँगाईले बताउनुभयो ।
नेपालका तीव्र गतिका बलर बन्टु बाटाजुले आजको खेलमा २९ रन दिएर पाँच विकेट लिएकाले उनले ‘म्यान अफ द म्याच’ उपाधि हासिल गरे । उनले सुरु कै अोभरमा मलेसियाका क्याप्टेनलाई शून्यमा आउट गरेर दबाब सिर्जना गर्न सफल भएका थिए।
यसअघि नेपालले सन् २००१ मा काठमाडौँ र सन् २००३ मा पाकिस्तानको कराँचीमा भएका प्रतियोगितामा मलेसियालाई पराजित गरेको थियो ।
यो विजयले अब नेपाल आगामी वर्ष श्रीलङ्कामा हुने अन्डर नाइन्टिन विश्वकप क्रिकेट प्रतियोगितामा भाग लिन पाउने भएको छ।
Popularity: 15%
November 20th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २० –
स्थानीय निकाय निर्वाचनअन्तर्गत आगामी माघ २६ गते हुने नगरपालिकाहरूको निर्वाचनका लागि अस्तिको म्यादसम्म दल दर्ता नगरेका तर अघिल्ला निर्वाचनमा तीन प्रतिशत मत प्राप्त गरेका राजनीतिक दलहरूले निर्वाचनको कार्यक्रम प्रकाशन हुनु १५ दिन अगावै उम्मेदवारी दिन चाहेमा पुरानै निर्वाचन चिह्नमा सहभागी हुनसक्ने प्रमुख निर्वाचनआयुक्त केशवराज राजभण्डारीले स्पष्ट गर्नुभएको छ ।
रिपोटर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा उहाँले स्थानीय निकाय निर्वाचन कार्यविधि ऐन, २०४८ को दफा १८ र २७ मा तीन प्रतिशत मत ल्याएका राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूले आयोगमा दर्ता नभए पनि निर्वाचन कार्यक्रम प्रकाशन हुनु १५ दिन अगावै सम्बन्धित उम्मेदवारले दलको सिफारिससाथ आएमा निर्वाचन अधिकृतले उम्मेदवारी स्वीकृत गर्नसक्ने कानुनी व्यवस्था रहेको स्पष्ट पार्नुभयो ।
अस्तिसम्म ७२ दल आयोगमा दर्ता भएकामा १६ वटालाई मान्यता दिइएको र बाँकीलाई पनि क्रमशः दिंदै जाने बताउँदै उहाँले ४३ जिल्लामा हुन गइरहेको नगर निर्वाचनमा एक हजार ३९४ मतदान केन्द्र निर्धारण गरिएको जानकारी पनि दिनुभयो ।
प्रमुख निर्वाचनआयुक्त केशवराज राजभण्डारीले राष्ट्रिय मान्यताप्राप्त दलहरूको चुनाव चिह्न सुरक्षित नै रहने बताउनुभएको छ ।
Popularity: 15%
November 20th, 2005
Previous Posts