Archive for November 1st, 2005

कालो कात्तिकको दान लिन दरबारमा दौडधुप

कालो कात्तिकको दान लिन दरबारमा दौडधुप
तिहारलगत्तै मन्त्रिमण्डल पुनर्गठन

खोजतलास, नोभेम्बर १-
हुनेखानेको दसैं सकिएको छैन । नेपालीको महान् चाड शुभदीपावली अर्थात् तिहार आजदेखि सुरु भएको छ । तिहारको सुरुवातसँगै तिहारलगत्तै हुने मन्त्रिमण्डल पुनर्गठनबाट आफ्नो भाग पल्टाउन पूर्वमण्डले, बिग्रेका नेता र आसेपासेहरूको दौडधुप सुरु भएको समाचार छ ।

उनीहरू आफूलाई दरबारको अनन्य भक्त, राजाका अद्वितीय सेवक र राजतन्त्रका वास्तविक पहेरदार बताउँदै दरबार निकट व्यक्तिहरूको चाकरीमा धाउने क्रम बढेको छ । नेपाली सँस्कृतिअनुसार कालो कात्तिकको दानको रूपमा देउसीभैलो खेलेर रकम र विभिन्न सामान बटुल्ने गरिन्छ । कालो कात्तिकभित्रै मन्त्रिमण्डल पुनर्गठन हुनेभएपछि कालो कात्तिकको दानकै रूपमा मन्त्री पद बुत्याउन अहिले दरबारवरिपरि ठूलै दौडधुप देखिएको छ । कात्तिकको दान दिँदा आफ्नो ग्रहदशा पन्छिने विश्वास गरिन्छ । गम्भीर संकटमा रहेका राजा पनि मन्त्रिमण्डल पुनर्गठन गरी आफ्नो ‘ग्रहदशा’ पन्छाउन चाहन्छन् ।

समाचारअनुसार, दरबारले कात्तिकभित्रै पुनर्गठन गरी मन्त्रिमण्डललाई नयाँ स्वरूप दिनेछ । त्यसको व्यापक गृहकार्यमा दरबार यसअघि नै जुटिसकेको छ । तिहारअघि नै हुने भनिएको यो कार्य अन्तर्राष्ट्रिय समुदायको प्रतिकूलताले विलम्ब भएको बताइन्छ । जतिजति मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ हुदैछ, त्यतित्यति नयाँनयाँ नाम भावी मन्त्रिमण्डलका सदस्यको रूपमा चर्चामा ल्याइँदैछ । सकेसम्म दलका मान्छेलाई प्रधानमन्त्री दिएर नयाँपन दिने, केही सीप नलागे डा. तुल्सी गिरीको ठाउँमा विश्वबन्धु थापा वा मरिचमान सिंहलाई उपाध्यक्ष बनाएर मन्त्रिमण्डल पुनर्गठन गर्ने सोच बनाएको पनि बताइन्छ । प्रधानमन्त्री बनाइने सम्भावित नामको रूपमा तारानाथ रानाभाट, शैलजा आचार्य, डा. प्रकाशचन्द्र लोहनी, सूर्यबहादुर थापाको नाम क्रमशः चर्चाको अग्रपंक्तिमा छन् । मन्त्रीहरू भने अधिकांश नयाँ आउँदैछन् ।

दरबार स्रोतको दाबी छ कि राजालाई विवादको पुरस्कारबाहेक केही दिन नसक्ने भ्रष्ट, कामचोर, बकबके सबै मन्त्री फालिनेछन् । फालिने मन्त्रीको लिस्टमा बकबके मन्त्री भनेर नाम कमाएका टंक ढकाल एक नम्बरमा छन् भने बद्री मण्डल र जगत गौचन दर्ुइ नम्बर र तीन नम्बरमा । यसैगरी काम न काजकी मन्त्री दुर्गा श्रेष्ठ, जाँड खाएर दरबारको नाक बिटुल्याउने मन्त्री प्रकाश कोइराला, भ्रष्टाचारको सुरक्षा गर्ने मन्त्री दानबहादुर शाही, बूढो र अस्वस्थ मन्त्री मधुकरशमशेर जबरा पनि फालिने ‘कन्र्फम’ जस्तै छ । दरबारस्रोतको यो पनि दाबी छ कि अब बन्ने मन्त्रीहरू निकै फूर्तिला, कम बोल्ने, चुनावमा भाग नलिने, दलहरूलाई फकाउन सक्ने, दरबारलाई विवादबाट टाढा राख्ने र दरबारको अनन्य भक्तसेवक हुनेछन् । केही बुद्धिजीवीको बिल्ला भिरेका मूर्खहरू, केही दलबाट स्खलित भई ब्रि्रेका बेकम्माहरू र केही पुराना पञ्चमण्डली नै मन्त्रालयका नयाँ मालिक बनाइनेछन् ।

असोज १८ पछि सघाउने देवी ओझा फेरि मन्त्री बनाइन सक्छन् । केशव स्थापितहरूले राधाकृष्ण मैनालीको ठाउँ लिन सक्छन् भने हरेन्द्रबहादुर श्रेष्ठले कुवेर शर्मा र ढुण्डीराज शास्त्रीले प्रकाश कोइरालाको भूमिका निभाउने चान्स पाउने सम्भावना छ । मन्त्रिमण्डल पुनर्गठनमा शरदचन्द्र शाहहरूकै हालिमुहाली चल्ने बताइन्छ । यद्यपि, यसपटक पहिलेको भन्दा होसियारीसाथ राजा अघिबढ्ने सोचमा छन् । सचिव बढुवाको निर्णयले नै यो छनक दिन्छ । क्याबिनेटमा हस्ताक्षर गराइएको सचिव सरुवाबढुवाको लिस्ट नामसमेत नपढी, कतिपय मन्त्रीहरूलाई जानकारी नै नगर्राई लालमोहर लगाइनुले पनि मन्त्रीमाथि राजाको अविश्वास र राजाको चनाखो शैलीलाई संकेत गर्दछ । न दलहरूको सहयोग, न विदेशीको साथ, न त दरबारका निकट मानिनेकै खुलस्त सहयोग- यो अवस्थालाई राजाले निकै गतिलोसँग अध्ययन गरिरहेका छन् । अब बन्ने मन्त्रिमण्डल निरंकुशतामा जति बलियो हुनेछ, त्यति नै चलाख र फूर्तिलो- दरबारको तयारीबारे विश्वस्त सूत्र भन्छ । तिहार सकिनासाथ बन्ने नयाँ मन्त्रिमण्डल कालो कात्तिकको दानकै रुपमा केही व्यक्तिलाई प्राप्त हुने हुँदा त्यसले मुलुकको समस्या निकासका निम्ति न कुनै दरकार, न क्षमता नै राख्नेछ ।

Popularity: 8%

1 comment November 1st, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2005
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....