Archive for November 8th, 2005

तीनकरोडको तीनमहिने भाखामा चन्द रिहा

तीनकरोडको तीनमहिने भाखामा चन्द रिहा

काठमाडौ, (महानगर) ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका माहिला छोरा अरुणलाई माओवादीले आज रिहा गरेका छन् । कैलालीको चुहा गाविसमा रहेको वासुलिङ सुगर मिलका मालिक अरुण चन्दलाई माओवादीले यही कात्तिक १० गते मिलबाटै अपहरण गरेका थिए। चन्द उखु कृषकलाई करिब तीनकरोड रुपियां नतिरेको आरोपमा माओवादीले चन्दलाई अपहरण गरी सोही जिल्लाको उत्तरी भेगमा लगेर राखेका हुन्।

मानवअधिकारवादी र पत्रकारले गए रातभर माओवादीसंग वार्ता गरी रिहाइको सहमति बनाएका हुन्। वार्तामा चन्द तीन महिनाभित्र उखु कृषकलाई तीनकरोड रुपियां तिर्न मन्जुर भएपछि माओवादीले रिहा गरेका हुन्।

माओवादीको बर्दिया-कैलाली जिल्ला इन्चार्ज एटमले उखु कृषकलाई भुक्तानी गर्न चन्द मन्जुर भएकाले आज उनको रिहा गरिएको बताए।

माओवादीले चन्दलाई राष्ट्रिय मानवअधिकार आयोग बांकेका अधिकृत वीरवहादुर बुढामगर, सिभिक्टका क्षेत्रीय संयोजक सुरेश गौतम, हिमराइट्सका अधिकृत प्रकाश उपाध्याय, गैसस महासङ्घका केन्द्रीय सदस्य गोपालनाथ योगी, पत्रकार जे पाण्डे, सम थापा, रामेश्वर बोहरा, सुरेन्द्र कारुलेको रोहवरमा आज दिउंसो ११ बजे कैलालीको एउटा गाउंबाट चन्दको रिहाइ गरेका छन्। चन्दको रिहाइलगत्तै माओवादीले घोषणासभा गर्नेसमेत तयारी गरेका छन्।रिहाइस्थलबाट महानगर संवाददाता सम थापाले हिरासतबाट मुक्त चन्द अहिले आफूहरूसंगै रहेको बताए।

चन्दको मुक्तिका लागि तीन करोडको सर्त

कान्तिपुर/ जे पाण्डे
चुहा -कैलाली, कार्तिक २१ - माओवादीले बाह्र दिनदेखि आफ्नो नियन्त्रणमा राखेका बासुलिङ सुगर मिलका कार्यकारी निर्देशक अरुण चन्दको रिहाइका लागि किसानलाई तिर्न बाँकी करिब तीन करोड रकम भुक्तानीको सर्त राखेका छन् ।

सुदूरपश्चिमकै ठूलो उद्योगका सञ्चालक चन्दको रिहाइका लागि पुगेका पत्रकार र मानव अधिकारवादीसँग आइतबार भएको वार्तामा उनीहरूले त्यस्तो सर्त राखेका हुन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा अरुणको मुक्तिका लागि मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जका अधिकृत वीरबहादुर बुढामगर, हिमराइट्स लाइफ लाइनका प्रकाश उपाध्याय र सिभिक्ट क्षेत्रीय संयोजक सुरेश गौतमले वार्ता गरेका थिए ।

Popularity: 8%

Add comment November 8th, 2005

राजा पनि माअ‍ोवादीसित वार्ताको तयारीमा

राजा पनि माअ‍ोवादीसित वार्ताको तयारीमा
वार्ता गर्नसक्नेलाई मन्त्री बनाइने

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ८ -
दलहरु र माअ‍ोवादी मिली राजालाई एक्लै बनाउने रणनीतिमा लागेपछि अमेरिकाले त्यसविरुध्द गरेको खबरदारीबाट उत्साहित भई राजाले पनि माअ‍ोवादीसित वार्ताको तयारी थालेको सूत्रहरुले बताएका छन्।

राजाले मन्त्रिपरिषद् पुनर्गठनमा पनि माअ‍ोवादीसित वार्ता गर्नसक्ने क्षमता भएकाहरुलाई ल्याउने तयारी गरिरहेका छन्। तिहार अगाडि नै पुनर्गठन हुने भनिए पनि संभावित मन्त्रीहरुसित कुराकानी भइरहेकाले तिहारपछि मात्र पुनर्गठन गर्न लागिएको हो। संभवतः राजा तीन साता लामो विदेश भ्रमणमा जानुअगाडि नै मन्त्रिपरिषद पुनर्गठन हुनेछ।

हालको पुनर्गठनमा राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीका नेताहरुलाई समावेश गरिने सूत्रले बताएको छ। यसमा पहिलेको थापा सरकारको पालामा माअ‍ोवादीसित वार्ता गरेका मन्त्रीहरु प्रकाशचन्द्र लोहनी र कमल थापा पनि समावेश गर्ने प्रयास भइरहेको छ।

पुनर्गठनका क्रममा वर्तमान मन्त्रीहरुको कार्यभार पनि हेरफेर गरिनेछ। सञ्चार अध्यादेशका कारण आलोचित भइरहेका सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री टंक ढकाललाई स्थानीय विकास मन्त्रीको जिम्मा दिएर सञ्चारमन्त्रीमा नयाँलाई ल्याउने तयारी भइरहेको छ। यसबाहेक हाल बदनाम भएका केही मन्त्रीहरु हट्ने छन्।

सूत्रहरुका अनुसार विशेष गरी गृहमन्त्री दानबहादुर शाही, स्थानीय विकास मन्त्री खड्गबहादुर जीसी, परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे, महिला मन्त्री दुर्गा श्रेष्ठ र सहायक मन्त्रीहरु सिनेट श्रेष्ठ, जगत गौचन र निक्ष शमशेर राणा हटाइने प्रवल संभावना रहेको छ।

Popularity: 8%

1 comment November 8th, 2005

कतारमा घाइतेलाई उनासी लाख क्षतिपूर्ति

नेपाल समाचारपत्र /एजेन्सी
गत वर्षसडक दुर्घटनामा परेर शारीरिक रूपमा अपांग बनेका एक नेपालीलाई कतारको न्यायालयले ४ लाख रियाल (७९ लाख रुपियां) बिमाबापत दिन आदेश दिएको छ। सन् २००५ को जनवरी ५ मा कतारको सल्वा रोडमा एउटा गाडीले ठक्कर दिएपछि २ु वर्षीय कृष्ण मल्ल हालसम्म पनि त्यहीको अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्।

उनको बांकी जीवनका लागि सो रकम प्रदान गर्न अदालतले उक्त निर्देशन दिएकोमा सो रकम त्यहांस्थित शाही नेपाली राजदूतावासलाई शनिबार हस्तान्तरण गरिएको थियो।

विगत १० महिनादेखि मल्ल बेहोस अवस्थामा छन्। क्षतिपूर्ति र बिमाबापतको सो रकम उनकी श्रीमतीलाई प्रदान गरिने जनाइएको छ। सडक दुर्घटनामा परेका नेपालीलाई बिमाबापत यति ठूलो रकम प्राप्त भएको यो पहिलो घटना हो।

Popularity: 8%

Add comment November 8th, 2005

नौ महिनापछि मोबाइल खुल्यो

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ८ -
माघ १९ को शाही घोषणापछि नौ महिनादेखि बन्द रहेको दमौलीको मोबाइल टेलिफोन सेवा सोमबारदेखि बल्ल सञ्चालनमा आएको छ।

जिल्लास्थित सुरक्षा समितिले दमौलीको टावर खोल्न अनुमति दिएपछि मोबाइल फोन सेवा खुलाइएको नेपाल टेलिकम तनहुँका प्रमुख बमबहादुर श्रीसलाई उद्‍धृत गर्दै राससले जनाएको छ।

तनहुँमा रहेका पाँचवटा मोबाइलका टावरमध्ये यसपटक दमौलीको मात्र खोलिएको जानकारी उहाँले दिनुभयो।

मोबाइल टेलिफोन सेवा खुलेपछि दमौली बजारक्षेत्रमा पोस्टपेड र प्रिपेडका गरी करिब आठ सय प्रयोगकर्ताहरू हर्षित भएका छन्।

Popularity: 8%

Add comment November 8th, 2005

आजदेखि एसीसी यु-१९ क्रिकेट सुरु

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ८ -
श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहदेवबाट पाँचौँ एसियाली क्रिकेट परिषद् (एसीसी) अन्डर-१९ कप क्रिकेट प्रतियोगिताको सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा समुद्‍घाटन गरिबक्स्यो।प्रतियोगिता आजदेखि सुरु हुनेछ।

उन्नाइस वर्षमुनिका खेलाडी सहभागी हुने उक्त प्रतियोगितामा नेपालसहित १५ एसियाली राष्ट्रको सहभागिता छ ।

चार समूहमा बाँडिएको उक्त प्रतियोगिताअर्न्तर्गत नेपाल, ब्रुनाई र बहराइन ‘क’ समूहमा, कुवेत, अफगानिस्तान, युनाइटेड अरब इमिरेट्स (युएइ) र इरान ‘ख’ समूहमा, कतार, सिङ्गापुर, ओमान र थाइल्यान्ड ‘ग’ समूहमा तथा माल्दिभ्स, हङकङ, मलेसिया र साउदी अरेबिया ‘घ’ समूहमा रहेका छन् ।

उक्त प्रतियोगिताका खेलहरु त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदान, टुँडिखेल, पुल्चोक इन्जिनियरिङ क्याम्पस र भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयको खेल मैदानमा खेलाइनेछ । नेपालले उक्त प्रतियोगिता आयोजना गर्न लागेको यो दोस्रोपटक हो । यसअघि सम्पन्न दुई प्रतियोगितामा नेपाल विजयी भएको थियो ।

नेपालले पहिलो खेल बहराइनसँग कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेल मैदानमा आज खेल्नेछ भने नेपालको दोस्रो खेल बुनाईसँग बुधवार भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयको खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा विजयी हुने राष्ट्रले सन् २००६ मा श्रीलङ्कामा हुने आइसीसी अन्डर-१९ युवा विश्व कपमा सहभागी हुन पाउनेछ ।

Popularity: 8%

1 comment November 8th, 2005

अध्यादेश संविधानसम्मत रहेको सरकारी तर्क

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ८ -
महान्यायाधिवक्ता पवनकुमार ओझाले श्री ५ को सरकारद्वारा हालै जारी सञ्चारसम्बन्धी केही नेपाल कानुन संशोधन गर्ने अध्यादेश संविधानसम्मत रहेको र संविधानअनुसार नै सरकारले यस्तो अध्यादेश जारी गर्नेसक्ने बताउनुभएको छ ।

श्री ५ को सरकारद्वारा हालै जारी सञ्चारसम्बन्धी केही नेपाल कानुन संशोधन गर्ने अध्यादेश तथा कान्तिपुर एफएममाथि भएको कारबाहीका सम्बन्धमा सर्वोच्च अदातलमा प्रस्तुत रिट निवेदनका सम्बन्धमा भइरहेको बहसमा उहाँले उक्त कुरा बताउनुभएको हो ।

प्रधानन्यायाधीश दिलीपकुमार पौडेल तथा न्यायाधीशद्वय केदारप्रसाद गिरी र शारदाप्रसाद पण्डितको विशेष इजलासमा सोमबार भएको बहसमा रिट निवेदकका तर्फबाट अन्तिम अधिवक्ता सुभाष नेम्वाङ्गले बहस सकेपछि सरकारी बहस सुरु भएको हो।
बहस आज पनि जारी रहनेछ। यससम्बन्धी बहस तिहार अगाडिदेखि जारी छ।

Popularity: 8%

Add comment November 8th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2005
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....