Archive for November 9th, 2005

“मरेको” संविधानको दिवस मनाइँदै

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ९ -
असोज १८ को कदमपछि अर्धमृत अवस्थामा रहेको र माघ १९ को कदमपछि पूरै मरिसकेको २०४७ सालको संविधान जारी भएको स्मृतिमा आज विभिन्न कार्यक्रम आयोजना गर्दै संविधान दिवस मनाइँदैछ।

राजा र राजनीतिक दलका नेताहरुले आ-आफ्नै पारामा संविधान दिवसका उपलक्ष्यमा सन्देश जारी गरेका छन्।

आज बिहान साढे ६ बजेदेखि नेपाल मानवअधिकार संगठनको पहलमा मानवअधिकारवादी, नागरिक समाज र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले राजधानीको नयाँ बानेश्वरमा १२ घण्टे सत्याग्रह थाल्दैछन्।

बिहान र दिउँसो गरी दुई चरणमा गरिने यो सत्याग्रहमा कविता, चुट्‍किला आदि वाचन गरी निरंकुशतामाथि प्रहार गरिँदैछ। सत्याग्रहमा भाग लिन न्युनतम १ रुपैया चन्दा लोकतान्त्रिक आन्दोलनका लागि दिनुपर्ने व्यवस्था गरिएको छ।

Popularity: 8%

Add comment November 9th, 2005

सेनाको हातबाट फेरि एक माअ‍ोवादीको मृत्यु

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ९ -
माअ‍ोवादीको एकपक्षीय युध्दविराम जारी रहेको अवस्थामा फेरि सेनाको हातबाट एक माअ‍ोवादीको ज्यान गएको छ।

रक्षा मन्त्रालयले यो घटनाको पुष्टि गरेको छ। मन्त्रालयका अनुसार सोमबार जाजरकोट जिल्लाको पुम्मा इलाकाका बलजफ्ती रकम असुल्दै गरेका माअ‍ोवादीहरुलाई सुरक्षाफौजले नियन्त्रणमा लिन खोज्दा सुरक्षाफौजमाथि नै एक्कासी सकेट बम प्रहार गरेपछि सुरक्षाफौजले प्रतिकारात्मक कारबाही गर्दा टेकबहादुर शाही चटया’ नाम गरेका माअ‍ोवादीको घटनास्थलमै मृत्यु भएको हो।

मृतकका साथबाट सुरक्षाफौजले सकेट बमहरू, डेटोनेटर, नगद रू. चार हजार, रकम असुल गर्ने रसिद तथा दस्तावेजहरू बरामद गरेको सेनाले जनाएको छ। माअ‍ोवादीले यस घटनाका बारेमा केही भनेका छैनन्।

झापा जिल्लाको कुमरखोद बजार इलाकामा धम्कीपूर्ण रूपले सर्वसाधारण व्यक्तिहरूबाट रकम असुल्दै गरेका माअ‍ोवादीहरूलाई सोही इलाका निवासी चूडामणि मैनालीले सर्वसाधारणहरूसँग यसरी बलजफ्ती रकम असुल नगर्न अनुरोध गर्दा उनीहरूले मैनालीलाई गोली प्रहार गरी हत्या गरेको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

Popularity: 8%

Add comment November 9th, 2005

बैं‍कबाट पैसा निकाल्दै, क्यासिनोमा जुवामा उडाउँदै

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ९ -
हिमालयन बैङ्क लिमिटेड शाखा कार्यालय पाटनमा क्यासियर पदमा काम गर्ने सिलसिलामा पटकपटक गरी रू. चार करोड ५० लाख हिनामिना गरी ठगी गरेको सम्बन्धमा काठमाडौँ जिल्ला रामकोट गाविस-३ बस्ने ३९ वर्षीय पुरुषोत्तम दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्त पुरुषोत्तम दाहालले उक्त बैङ्कमा विगत दुई वर्ष अगाडिदेखि काम गर्दा हिमालय बैङ्क लिमिटेका विभिन्न शाखाबाट पटकपटक गरी उक्त रकम झिकेको र सो रकम निज दाहालले विभिन्न क्यासिनोमा गई जुवा खेल्दा सकेको कुरा प्रारम्भिक सोधपुछबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

साथै उक्त ठगी कार्यमा संलग्न रहेको अभियोगमा निजका दाजु सोही ठाउँ बस्ने ४५ वर्षीय उद्धव दाहाल, काठमाडौँ जिल्ला भीमढुङ्गा गाविस-१ बस्ने ३० वर्षीय अच्युतप्रसाद भट्टर्राई र उदयपुर जिल्ला त्रियुगा नगरपालिका-९ घर भई हाल काठमाडौँ महानगरपालिका-१६ बालाजु बस्ने २२ वर्षीया लक्ष्मीकुमारी राय क्षेत्रीसमेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Popularity: 8%

1 comment November 9th, 2005

एसीसी यु-१९ मा नेपालको गतिलो सुरुवात

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ९ -
‘एसीसी अन्डर नाइन्टिन’ क्रिकेट प्रतियोगिताअर्न्तर्गत कीर्तिपुरस्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गरेको छ ।

उक्त खेलमा टस जिती पहिले ब्याटिङ गर्न उत्रेको बहराइनको पूरा टोली २९ औँ ओभरमा ६७ रन बनाई आउट भएपछि नेपाली टोलीले ११.१ ओभरमा दुई विकेटको क्षतिमा जित हासिल गर्‍यो ।

नेपाली बलरहरूका सामु कुनै पनि बहराइनका ब्याट्सम्यानले जमेर खेल्न सकेनन् । अतिरिक्तका रूपमा नेपालीहरूले दिएको १८ रन नै बहराइनको पालीमा र्सवाधिक रनसङ्ख्या थियो । त्यसबाहेक करण कुमारले १७ र अतिफ अस्फारले १६ रनको योगदान दिए ।

नेपालका तर्फबाट अमृत भण्डारी र पारस खड्काले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै क्रमशः चार र तीन विकेट झारे ।

झीनो विजयलक्ष्यलाई पछ्याएको नेपाली टोलीको सुरुवात भने त्यति राम्रो भएन । बोर्डमा आठ रन हुँदा नेपालले आफ्नो दुई विकेट गुमाइसकेको थियो ।

तर त्यसपछिका ब्याट्सम्यानहरूले नेपाली दर्शकहरूलाई निराश पारेनन् । ज्ञानेन्द्र मल्लले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै २८ बलमा अविजित ३२ र शरद् भेषवाकरले २६ बलमा अविजित १९ रन बनाई नेपाली टोलीलाई विजयतर्फडोर्‍याए ।

बहराइनका गायन डिसिल्भाले नेपाली टोलीका दुइ खेलाडीलाई आउट पारे ।

उत्कृष्ट बलिङ गर्दै नेपाली टोलीका लागि विजयको आधारशिला राख्ने अमृत भण्डारी उक्त खेलका ‘म्यान अफ द म्याच’ घोषित भए ।

Popularity: 8%

Add comment November 9th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2005
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....