Archive for November 13th, 2005

‘अमेरिकाले राजालाई वैधानिकता दिन खोज्यो’

कान्तिपुर संवाददाता
काठमाडौं, कार्तिक २६ - एमाले महासचिव माधव कुमार नेपालले अमेरिकाद्वारा हालै व्यक्त धारणाले अवैध सत्तालाई वैधानिकता दिन खोजेको बताउनुभएको छ। तीन साता लामो भारत भ्रमणबाट शनिबार फर्केका नेपालले दलहरू र माओवादीको सहकार्यलाई अमेरिकाले ‘सन्त्रासपूर्वक’ गठबन्धन भनेकामा टिप्पणी गर्दै भन्नुभयो- ‘राजदूतका अभिव्यक्तिले राजालाई वैधानिकता दिन खोजेजस्तो देखिएको छ । उहाँको भनाइ के हो म थप बुझ्छु।’

नेपालले ‘प्रजातन्त्र र शान्ति स्थापना गर्ने शक्ति दलहरू नै हुन्, राजाबाट सम्भव छैन भन्ने

विदेशी मित्रहरूले बुझ्नुपर्ने’ बताउनुभयो । ‘प्रजातन्त्रको पक्षमा माओवादीलाई लिन चाहन्छौं भने अमेरिकालाई के आपत्ति ?’ उहाँको भनाइ थियो ।

भारतमा रहेका बेला माओवादीसँग वार्ता भएको भन्ने भनाइको खण्डन गर्दै उहाँले कुनै भेटघाट नभएको स्पष्ट पार्नुभयो । ‘माओवादीसँग भारतमा भेटघाट भएन । उनीहरूसँग नेपालमै भेट भइहाल्छ नि । सदरमुकाम पार गर्नुभयो भने त्यहीं पाउनुहुन्छ,’ नेपालले भन्नुभयो- ‘माओवादीसँग पार्टीका उच्च तहका नेताहरूबीच वार्ता भएको छ ।’

उहाँले माओवादीको पछिल्लो बैठकले बहुदलीय प्रतिस्पर्धालाई स्वीकार्न संस्थागत गर्ने गरेको निर्णय सकारात्मक भएको बताउनुभयो ।

चीनले नेपाललाई दिएको आर्थिक सहयोगबारे टिप्पणी गर्दै उहाँले यो सरकारलाई सहयोग गर्नु भनेको प्रजातन्त्रको हितमा नहुने बताउनुभयो । ‘गौरवशाली स्वतन्त्रताका लागि लडेको चीन अथवा कुनै पनि देशले निरंकुशतालाई सहयोग गर्छ भने त्यो प्रजातन्त्रको अहितमा हुन्छ,’ चीन सहयोगबारे नेपालको टिप्पणी थियो ।

भ्रमणमा भारतका प्रधानमन्त्री मनमोहन सिंहलगायत अन्य राजनीतिक दलका नेताहरूसँग उहाँले भेट गर्नुभएको थियो । उहाँसँगै भ्रमणमा रहेका स्थायी कमिटी सदस्य केपी ओलीसहितको टोली मधेसी भेला आयोजक कमिटी एमाले काठमाडौंले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरेको चियापान कार्यक्रममा विमानस्थलबाट सीधै आएको थियो ।

लोकतन्त्रको विकल्प निरंकुशतन्त्र हुन नसक्ने भन्ने ठहरमा भारत रहेको उहाँले बताउनुभयो । ‘निरंकुशतन्त्रविरुद्ध भारतीय जनताको पूर्ण समर्थन छ । सात पार्टीको एकता र आन्दोलनप्रति भारत खुसी छ,’ उहाँले भन्नुभयो- ‘आन्दोलनको विकल्प छैन भन्ने सन्देश लिएर फर्केको छु ।’

उपचारका लागि बिहीबार भारत पुगेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग पनि भेट भएको उहाँले बताउनुभयो । उहाँले अब देशव्यापी आन्दोलनलाई अघि बढाउन जोड दिनुभयो ।

दलका नेताहरूले विदेशी गुहारेको भन्ने आरोपको खण्डन गर्दै नेपालले भन्नुभयो- ‘त्यो कसले भन्यो भन्नेमा भर पर्छ । २५/२६ दिन भ्रमणमा ट्युनिसियासम्म जानेहरूलाई के भन्ने नि ?’

Popularity: 9%

Add comment November 13th, 2005

आज सर्वोच्चमा कालोपट्टी

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १३ -
संविधानले ग्यारेण्टी गरेको सूचनाको हक र वैयक्तिक स्वतन्त्रता हनन् हुने गरी सञ्चार अध्यादेश कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्ने गरी सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाको विरोधमा आज आइतबार सर्वोच्च अदालतमा कानुन व्यवसायीहरुले कालो पट्टी बाँध्ने भएका छन्। बार एसोसिएसनले मंसिर १ गते अधिराज्यभर बेञ्च बहिस्कार गर्ने निर्णय पनि गरेको छ।

सर्वोच्चको फैसलालाई सरकारले ठूलो विजयका रुपमा लिएका छन् भने लोकतन्त्रका पक्षधरहरु निराश भएका छन्। उनीहरुले अदालत पनि प्रतिगमनको शिकार भएको प्रतिक्रिया दिन थालेका छन्।

यसैबीच सूचना समाजसम्बन्धी सम्मेलनमा भाग लिन सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता टंक ढकाल ट्युनिसिया प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै समाचार प्रसारण नगर्न एफएम रेडियोहरुलाई पुनः चेतावनी दिएका छन्।

सर्वोच्चको फैसलापछि कान्तिपुर एफएमले समाचार प्रसारण स्थगित गरिसकेको छ। तर नेपाल एफएमले भने आफ्नो समाचार प्रसारण जारी राखेको छ।

Popularity: 8%

Add comment November 13th, 2005

सञ्चार अध्यादेशको विरोधमा आज नागरिक सभा

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १३ -
सञ्चार अध्यादेशका विरोधमा आज नागरिक समाजले विशाल जुलुससहित नागरिक सभाको आयोजना गर्ने भएको छ।

काठमाडौंको त्रिपुरेश्वरबाट दिउँसो २ बजे निस्कने जुलुस थापाथली, बबरमहल हुँदै नयाँ बानेश्वरमा सभामा परिणत हुनेछ। थापाथलीको मण्डलापारी निषेधित क्षेत्र घोषणा गरिएको हुनाले त्रिपुरेश्वरमा हुन लागेको जुलुसमा प्रहरी हस्तक्षेपको पनि सं‍भावना छ।

काठमाडौंमा भएका नागरिक सभामा हालसम्म प्रहरी हस्तक्षेप भएको छैन। बसन्तपुरमा भएको सभामा प्रहरीले आपत्तिजनक नारा लेखिएका ब्यानर खोस्न खोज्दा ठूलो तनाव उत्पन्न भएको भए पनि स्थिति तुरुन्तै नियन्त्रणमा लिइएको थियो।

Popularity: 8%

Add comment November 13th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2005
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....