Archive for November 17th, 2005

श्री ५ सशर्त संविधानसभामा जान मञ्जुर र भारतमा आज त्रिपक्षीय वार्ता

काठमाडौं, (महानगर) ।
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र मुलुकको राजनीतिक संकट समाधान गर्न ससर्त संविधानसभामा जान राजी होइबक्सेको संकेत मिलेपछि भारतले नेपालका राजनीतिक दल, माओवादी र राजाका प्रतिनिधि राखेर गम्भीर वार्ता गर्न लागेको महत्वपूर्ण जानकारी प्राप्त भएको छ ।

सार्क सम्मेलनका क्रममा ढाकामा श्री ५ र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भएको महत्वपूर्ण वार्तामा श्री ५ बाट त्यस्तो आशय प्रकट गरिबक्सेपछि भारतले त्रिपक्षीय वार्ताको प्रयास शुरु गरेको स्रोतको दाबी छ।

स्रोत भन्छ- ‘भारतीय प्रधानमन्त्री सिंहले राजनीतिक दलहरुलाई ‘बाइपास’ गरेर अगाडि बढे स्थिति विस्फोटक बन्ने र राजसंस्थाको भविष्य नै खतरामा पर्ने संकेत गर्नुभएको थियो।’

सिंहले नेपालमा शान्ति ल्याउन र माओवादीलाई राजनीतिक मूलधारमा ल्याई दलसंग समन्वय र सहकार्य गर्नका लागि उनीहरुले उठाउदै आएको संविधानसभासम्मको मागमाथि विचार गर्नुपर्ने धारणा राख्नुभएपछि श्री ५ बाट राजसंस्थामाथि आंच नपुग्ने गरी समाधान खोज्दा आपत्ति नहुने हुकुम भएको स्रोत बताउंछ।

श्री ५ बाट बक्सेको शुभ संकेतपछि भारतीय प्रधानमन्त्रीले आफ्ना मातहतका कार्यालयहरुलाई त्यसबारे जानकारी गराएको र विदेश मन्त्रालयले नेपालका त्रिपक्षीय शक्तिसंग वार्ताको चांजोपांचो मिलाएको हो।

यसैबीच, भारतीय विदेश सचिव श्याम शरणले नेपालको राजनीतिक संकट समाधान गर्न भारतले सावधानीपूर्वक अनुगमन गरिरहेको बताउनुभएको छ। साथै, उहांले आफ्नो मुलुक नेपालका सबै पक्षसंग सर्म्पर्कमा रहेको जानकारी पनि दिनुभएको छ।

भारतको बोलाहटपछि नेकपा (एमाले) महासचिव माधवकुमार नेपाल, केपी ओली, अमेरिकी राजदूत जेम्स मोरियार्टी, युरोपेली युनियनका प्रतिनिधि, भारतीय राजदूत हिजै दिल्ली पुग्नुभएको छ। त्यस्तै, दरबारले पनि आफ्ना प्रतिनिधिलाई हिजै दिल्ली पठाएको बताइन्छ।

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, कृष्ण सिटौला, डा. शेखर कोइराला, प्रदीप गिरी, वाममोर्चाका सिपी मैनाली, एकता केन्द्र- मसालका सहमहामन्त्री प्रकाशलगायतका नेताहरु माओवादीसंगको वार्ताका क्रममा हाल दिल्लीमै हुनुहुन्छ।

भारतले आजैदेखि नेपालका राजनीतिक दलका नेता, दरबारका प्रतिनिधि, माओवादी उच्च नेतृत्व र अन्तर्राष्ट्रिय प्रतिनिधिहरुलाई समेत राखेर वार्ता गर्ने र राजनीतिक संकटको समाधान खोज्ने गम्भीर पहल शुरु गरेको स्रोत बताउंछ।

Popularity: 9%

5 comments November 17th, 2005

टाइमद्वारा पहिलो पटक नेपाली सम्मानित

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १७ –
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको सञ्चालनमा प्रारम्भदेखि नै प्राविधिक सहयोग पुर्‍याउँदै आउनुभएका नेपाली प्राविधिक सहयोग समूहका अध्यक्ष रामकुमार श्रेष्ठलाई संयुक्त राज्य अमेरिकाबाट प्रकाशित विश्व प्रसिद्ध पत्रिका ‘टाइम’ले सम्मान गरेको छ ।

टाइमले नेपालीलाई सम्मानित गरेको यो पहिलो अवसर हो।

नेपालमा समुदायस्तरमा प्रभावकारीरूपले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनका साथै विश्वका विभिन्न देशमा खासगरी गरिब समुदायको स्वास्थ्य स्थितिमा सुधार ल्याउन पुर्‍याउँदै आउनुभएको योगदानको प्रशंसा गर्दै सो पत्रिकाले उहाँलाई ‘विश्व स्वास्थ्यका नायक’ नामक सम्मान प्रदान गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमले जनाएको छ ।

अमेरिकाको न्यूयोर्कमा हालै आयोजित ‘टाइम विश्व स्वास्थ्य सम्मेलन’मा विश्वमा स्वास्थ्य क्षेत्रमा देखापरेका समस्या एवं चुनौतीहरूको समाधान र सामनाका लागि व्यवसाय, चिकित्सा र नीतिगतलगायतका विभिन्न क्षेत्रमा नयाँ नयाँ कला प्रदर्शन गरी महत्वपूर्ण योगदान पुर्‍याएवापत टाइम पत्रिकाले नेपालका तर्फाट अध्यक्ष श्रेष्ठका साथै अमेरिका, बेलायत, बङ्गलादेश, कङ्गो, केन्या, नाइजेरिया र थाइल्याण्डका गरी १२ महानुभावलाई सो सम्मेलनमा सम्मानित गरेको बताइएको छ ।

Popularity: 8%

6 comments November 17th, 2005

एक हप्ता नबित्दै माधव नेपाल फेरि दिल्लीमा

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १७ –
नेकपा एमालेका महासचिव माधवकुमार नेपाल भारत भ्रमणबाट फर्किएको एक साता पनि नबित्दै पुनः दिल्ली पुग्नुभएको छ। भारतीय राजदूत शिवशङ्कर मुखर्जीले बुधबार पार्टी केन्द्रीय कार्यालय मदननगर, बल्खुमा भेटेर कानेखुसी गर्नुभयो कुन्नि। केही क्षणमा नै कस्मिक एअरको उडानबाट उहाँ दिल्ली उड्नुभयो।

दिल्लीमा एमालेका अर्का नेता केपी अ‍ोली पनि हुनुहुन्छ। त्यतिमात्र हैन, स्वयं भारतीय राजदूत मुखर्जी पनि कोलकाता हुँदै दिल्ली पुग्दै हुनुहुन्छ। अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टी पनि दिल्लीमा हुनुहुन्छ।

काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला लगायत सात दलका अरु नेताहरु पनि नयाँ दिल्लीमा नै हुनुहुन्छ। माअ‍ोवादीसित सात दलका नेताहरुको वार्ता भइरहेको बताइएको छ।

___________________________________________

नेपाल अपर्झट दिल्ली
मोरियार्टी पनि भारततर्फ

सुरेन्द्र फुयाल, नयाँदिल्ली, मंसिर १ -
कान्तिपुर, नेपालका राजनीतिक दलका प्रमुख नेताहरू तथा पश्चिमा कूटनीतिज्ञहरूको आकस्मिक परामर्श भारतको राजधानीमा बुधबार सुरु भएको छ । त्यसमा भाग लिन एमाले महासचिव माधवकुमार नेपाल अपर्झट बुधबार आइपुग्नुभयो भने अमेरिकी राजदूत जेम्स मोरियार्टीसमेत काठमाडौंबाट यहाँ आइपुग्नुभएको छ ।
एमाले महासचिव नेपाल तीन साता लामो भारत भ्रमणबाट फर्किएको चौथो दिन नेता केपी शर्मा ओलीलाई लिएर पुनः यसतर्फ आउनुभएको हो ।

पार्टीको राष्ट्रिय कार्यकर्ता भेला समापन नगरी नेपाल र ओली कस्मिक एयरको उडानबाट अपराह्न काठमाडौं छाड्नुभएको थियो । त्यसअघि दिउँसो नेपालसँग भारतीय राजदूत शिवशंकर मुखर्जीर्ले भेट्नुभएको थियो । मुखर्जी पनि बुधबारै भारततर्फ आउनुभएको छ ।

यसैबीच अमेरिकी राजदूत मोरियार्टी भारतीय विदेश सचिव श्यामशरणलगायत अधिकारीहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ । ‘नेपालमा शीघ्र प्रजातन्त्र पुनःस्थापनाका लागि हामी नयाँदिल्लीसँग परामर्श गरिरहेका छौं,’ दिल्लीस्थित अमेरिकी दूतावासका प्रवक्ता डेभिड केनेडीले कान्तिपुरसँग भन्नुभयो- ‘मोरियार्टीको भ्रमण यहाँ त्यही सन्दर्भमा हो ।’ उहाँ बिहीबारै काठमाडौं फर्किनुहुनेछ । काठमाडौंबाट अन्य एकाध कूटनीतिज्ञ पनि यहाँ आइपुगेको स्रोतले जनाएको छ ।

कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, प्रवक्ता कृष्ण सिटौला र केन्द्रीय सदस्य डा. शेखर कोइराला दिल्लीमैैै छन् । शेखर सभापतिसँगै र सिटौला गृह जिल्ला झापाबाट यसतर्फ आएका हुन् ।

एमाले महासचिव नेपालले एपोलो अस्पतालमा उपचारका लागि आफू आएको बताउनुभयो । ‘पछिल्लोपल्ट म यहाँ हुँदा डाक्टरहरूसँग टाइम मिलाउन सकिएको थिएन,’ उहाँले कान्तिपुरसँग भन्नुभयो । सभापति कोइरालाले पनि सोही अस्पतालमै उपचार गराइरहनुभएको छ ।

सात दलको दसैअघि बसेको बैठकले माओवादीसँग वार्ता गर्ने मुख्य जिम्मा कोइराला र नेपाललाईर् दिएको थियो । स्रोतका अनुसार माओवादी निकट मानिने एकताकेन्द्र-मसालका सहमहामन्त्री प्रकाश पनि दिल्लीमै हुनुहुन्छ । कोइराला र नेपालको माओवादीका शीर्ष नेताहरूसित दिल्लीमा वार्ता गराउने कार्यको संयोजन प्रकाशले गरिरहेको स्रोतले जनाएका छन् ।

तीन वर्षअघि सिलिगुडीमा माओवादी अध्यक्ष् प्रचण्ड र अन्य दलका नेताहरूसँग वार्ताको संयोजनसमेत उहाँले नै गर्नुभएको थियो । पार्टी महामन्त्री मोहनविक्रम सिंहले मंगलबार विज्ञप्ति जारी गरी प्रकाश दिल्ली पुगेको पुष्टि गरे पनि आफ्नो पार्टीका तर्फबाट नभएको बताउनुभएको थियो ।

महासचिव नेपालले चार दिनअघि स्वदेश फिर्ता हुनासाथ बसेको स्थायी कमिटीको बैठकले माओवादीसँग वार्ता अघि बढाउने निर्णय गरेको थियो । पार्टीको अगुवा कार्यकर्ता भेलाले पनि त्यही नीतिलाई बुधबार पारित गरेको छ ।

नेपालले माओवादीले बहुदलीय प्रतिस्पर्धामा आउने निर्णय गरेको उल्लेख गर्दै त्यसलाई आफ्नो पार्टीले सकारात्मक रूपमा लिएको धारणा सार्वजनिक गर्नुभएको थियो । बेलायती राजदूत ब्लुमफिल्डले सोमबार र अमेरिकी राजदूत मोरियार्टीले मंगलबार नेपालसित भेटवार्ता गरेका थिए ।

स्रोतका अनुसार माओवादी अध्यक्ष्ा प्रचण्ड र डा. बाबुराम भट्टराईलगायत माओवादी नेतासँग दलहरूको संवाद हुने तथा संयुक्त धारणा सार्वजनिक हुने सम्भावना छ ।

‘सबै पक्षको सम्पर्कमा छौं’, कान्तिपुर संवाददाता

नयाँदिल्ली, १ मंसिर- नेपालको राजनीतिक संकटको भारतले सावधानीपूर्वक अनुगमन गरिरहेको विदेश सचिव श्याम शरणले बताउनुभएको छ । त्यसका लागि आफ्नो मुलुक सबै पक्षसंँगको सम्पर्कमा रहेको पनि उहाँले जनाउनुभएको छ ।

‘नेपालको संकटबाट भारतलाई उच्च चुनौती छ’ नेपालका लागि पूर्वराजदूत शरणले भन्नुभयो- ‘हामी संकटका सबै पक्षहरू राजा र राजनीतिक दलहरूसँग समाधानबारे काम गरिरहेका छौं ।’

पूर्वभारतीय गोर्खा अधिकृत मेजर जनरल अशोक मेहताको ‘द रोयल नेपाल आर्मीः मिटिङ द माओइस्ट च्यालेञ्ज’ पुस्तकको सार्वजनिक कार्यक्रमा उहाँले यो जानकारी दिनुभएको हो । सचिव शरणले माओवादीसँग आफ्नो सरकार सम्पर्कमा रहे/नरहेको भने बताउनुभएन । भर्खरै सम्पन्न सार्क १३औं शिखर सम्मेलन अवसरमा राजा ज्ञानेन्द्र र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच भेटवार्ता भएको थियो । ‘त्यसपछि हामी परिस्थितिको अनुगमन गरिरहेका छौं’ उहाँले भन्नुभयो । प्रधानमन्त्री सिंहले वार्तामा राजालाई दलहरूसँग वार्ता गर्न सुझाव दिएको पनि उहाँले जनाउनुभयो । ‘त्यहाँ आशाजनक र निराशाजनक दुवै स्थिति छ’ सचिव शरणले भन्नुभयो । साथै उहाँले नेपालमा अझै राजतन्त्रको भूमिका रहन सक्ने धारणा पनि राख्नुभयो ।

‘राजतन्त्र अझै रचनात्मक हुने हो र राष्ट्रिय एकताको प्रतीक बनेर बस्ने हो भने’ उहाँले भन्नुभयो- ‘समस्यामा बढोत्तरी नहोस् भन्ने हाम्रो कामना छ ।’

द्वन्द्वको समाधान र रूपान्तरण क्रममा शाही नेपाली सेनाको भूमिकाबारे उहाँले आफू राजदूत रहँदाको स्थितिको स्मरण गर्नुभयो ।

‘शाही सेनामा परिवर्तन आइरहेको छ, यसले समस्या समाधानका लागि आवश्यक पर्ने अवस्था सिर्जना गर्न सक्छ’ शरणले भन्नुभयो- ‘यो सैन्य उपायबाट मात्रै जितिने युद्ध होइन ।’ यसअघि शरणले बुधबारै नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग भेटवार्ता गर्नुभएको थियो ।

Popularity: 8%

Add comment November 17th, 2005

नयाँ पार्टी घोषित

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १७ –
पूर्वमन्त्री केशरबहादुर बिष्टको संयोजकत्वमा ‘प्रजातान्त्रिक नेपाल’ नामक पार्टीकोे घोषणा गरिएको छ । पार्टीमा राप्रपा, काँग्रेस र एमाले छाडेका नेता तथा कार्यकर्ताहरु रहेका छन्।

अधिराज्यका ६९ जिल्लाका छ सयभन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागितामा बुधबार ललितपुरमा आयोजित राष्ट्रिय सम्मेलनका अवसरमा संयोजक विष्टले पार्टीको नाम घोषणा गर्नुभयो । सो पार्टीको झण्डा भने निलो पृष्ठभूमिमा दायाँतर्फ पाँच कुना भएको तारा रहनेछ ।

पार्टीको राष्ट्रिय सम्मेलनले आज नयाँ कार्यसमिति चयन र विधान पारित गरी निर्वाचन आयोगमा पार्टी दीर्ता गर्न आवेदन दिने कार्यक्रम रहेको बताइएको छ । पार्टी सम्मेलन समापनपछि आज नै जावलाखेलमा घोषणासभाको आयोजना गरिने थाहा भएको छ ।

Popularity: 9%

1 comment November 17th, 2005

नेपाल सेमिफाइनलमा

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १७ –
एसियाली क्रिकेट परिषद् (एसीसी) अन्डर-१९ क्रिकेट प्रतियोगिताअर्न्तर्गत कीर्तिपुरस्थित अन्तर्राष्ट्रय क्रिकेट मैदानमा भएको बुधबारको खेलमा नेपाल सिङ्गापुरलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

उत्कृष्ट ब्याटिङ, बलिङ र क्षेत्ररक्षण गरेको नेपालले सिङ्गापुरलाई १०० रनले पराजित गरेको थियो ।

एसीसीको दुई पटकको च्याम्पियन रहिसकेको नेपालको सेमिफाइनलमा भिडन्त कुवेतसँग हुनेछ । उक्त खेल भोलि कीर्तिपुरमा हुनेछ ।

नेपालले नौ विकेट गुमाएर बनाएको २२३ रनको लक्ष्य पछ्याउन उत्रेको सिङ्गापुरको पुरै टोली ४५ ओभरमा अल आउट भएर १२३ रनमात्र बनाएको थियो ।

उक्त खेलमा ६८ रनको व्यक्तिगत योगदान गर्दै दुई विकेट लिएका नेपालका शरद् भेसवाकरलाई “म्यान अफ द म्याच”को पुरस्कार दिइएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ५० ओभरमा नौ विकेट गुमाई २२३ रन बनाएको थियो ।

Popularity: 9%

Add comment November 17th, 2005

आचारसं‍हिता पालन नगर्नेलाई कारबाही गर्ने चेतावनी

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर १७ –
समाज कल्याण परिषद्ले हालै जारी सामाजिक सङ्घसंस्थाको आचारसंहिता-२०६२ पालना नगर्ने सामाजिक सङ्घसंस्थामाथि कारबाही सुरु गर्ने चेतावनी दिएको छ। गैरसरकारी सामाजिक संघसंस्थाहरुले भने आफूहरुलाई नियन्त्रण गर्न ल्याइएको आचार संहिता पालन नगर्ने घोषणा गरिसकेका छन् र यसविरुध्द चरणवध्द आन्दोलन पनि गरिरहेका छन्।

परिषद्ले कारबाहीका लागि सामाजिक सङ्घसंस्थाका गतिविधिमाथि अनुगमन र निरीक्षणलाई तीव्रता दिइसकेको र परिषद्मा पर्ने उजुरीमाथिको छानविनलाई अझ गति दिइसकेको छ ।

समाजकल्याण ऐन, २०४९ बमोजिम निर्मित सो आचारसंहिता उल्लङ्घन गर्ने सामाजिक सङ्घसंस्थाको दर्ता खारेजी एवं सम्पत्ति जफतसमेत हुनसक्ने व्यवस्था छ ।

श्री ५ को सरकारले गत कात्तिक २४ गते सो आचारसंहिता जारी गरेको थियो ।

परिषद्द्वारा आयोजित पत्रकार सम्मेलनमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री तथा परिषद्का अध्यक्ष श्रीमती दुर्गा श्रेष्ठले परिषद्ले आचारसंहिता पालना नगर्ने सामाजिक सङ्घसंस्थामाथि कारबाही सुरु गरिहाल्ने र यसका लागि अनुगमन एवं निरीक्षण भइराखेको जानकारी दिनुभयो ।

उहाँले अनुगमन र निरीक्षणका क्रममा आचारसंहिताविपरीत सञ्चालन भएको पाइएमा त्यस्तामाथि कारबाही गरिने बताउनुभयो ।

Popularity: 8%

Add comment November 17th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2005
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....