Archive for November 20th, 2005

गिरिजा फर्किए, दिल्ली बैठकका कुरा गोप्य नै

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २० –
एक साता लामो भारत भ्रमण सकाएर नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला शनिबार साँझ काठमाडौं फर्कनु भएको छ। सञ्चारकर्मीहरुसितको कुराकानीमा उहाँले माअ‍ोवादीसित वार्ता भएको तर प्रत्यक्ष नभई टेलिफोनबाट मात्र भएको बताउनु भयो। उहाँले माअ‍ोवादीहरु राष्ट्रिय राजनीतिको मूलधारमा आउन तयार रहेको बताउनु भयो।

दिल्ली बैठकपछि संयुक्त घोषणापत्र सार्वजनिक हुने व्यापक हल्ला चले पनि त्यस्तो केही भएन। विभिन्न सूत्रहरुबाट प्राप्त समाचार अनुसार दिल्ली बैठकमा दलहरु संविधान सभामा आउन तयार भए माअ‍ोवादी हतियार राष्ट्रसंघलाई बुझाई मूलधारमा आउन तयार रहेको बताएका थिए।

बीबीसीका अनुसार दिल्लीमा सर्वपक्षीय बैठक त्यहाँको एक सरकारी भवनमा भएको थियो। त्यहाँ माअ‍ोवादीका उच्च तहका नेतृत्व वर्ग वार्तामा शामेल भएको बताइएको छ।

यता, राजा शुक्रबार नै फर्कने व्यापक हल्ला चले पनि त्यस्तो केही भएको छैन। यद्यपि राजा कहाँ-कहाँ जाने भन्ने कुनै टुङ्गो हालसम्म नलागेको बताइएको छ। प्राप्त पछिल्लो जानकारी अनुसार राजाले साउदी अरबको भ्रमण नगर्ने भएका छन् भने पाकिस्तानको इस्लामाबाद हुँदै फर्कने योजना बनाएका छन्। यसअघि पाकिस्तान जाने सम्बन्धमा केही बताइएको थिएन।

Popularity: 8%

1 comment November 20th, 2005

नेपाल एसीसी यु-१९ च्याम्पियन

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २० –
मलेसियालाई घरेलु समर्थकहरुले खचाखच भरिएको कीर्तिपुरको मैदानमा सात विकेटले पराजित गर्दै नेपाल ‘एसीसी अन्डर नाइन्टिन क्रिकेट प्रतियोगिता’को उपाधि जित्न सफल भएको छ ।

नेपालले लगातार तेस्रो पटक यो उपाधिमा कब्जा जमाएको यो ऐतिहासिक क्षण हेर्न कीर्तिपुरको मैदानमा हालसम्म कै सबैभन्दा बढी दर्शकहरु उपस्थित थिए।

टस जितेर नेपालका क्याप्टेन कनिष्क चौगाईंले मलेसियालाई ब्याटिङ्को निम्तो दिएको थियो र मलेसियालाई पच्चीस ओभरमा सबै विकेट गुमाएर ८३ रनको झीनो स्कोरमा समेटेको थियो। विजयका लागि आवश्यक ८४ रनको लक्ष्यलाई नेपालले तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।

उत्कृष्ट फिल्डिङ्, बलिङ् र ब्याटिङ्का कारण नेपाल विजयी भएको नेपाली टिमका क्याप्टेन चौँगाईले बताउनुभयो ।

नेपालका तीव्र गतिका बलर बन्टु बाटाजुले आजको खेलमा २९ रन दिएर पाँच विकेट लिएकाले उनले ‘म्यान अफ द म्याच’ उपाधि हासिल गरे । उनले सुरु कै अ‍ोभरमा मलेसियाका क्याप्टेनलाई शून्यमा आउट गरेर दबाब सिर्जना गर्न सफल भएका थिए।

यसअघि नेपालले सन् २००१ मा काठमाडौँ र सन् २००३ मा पाकिस्तानको कराँचीमा भएका प्रतियोगितामा मलेसियालाई पराजित गरेको थियो ।

यो विजयले अब नेपाल आगामी वर्ष श्रीलङ्कामा हुने अन्डर नाइन्टिन विश्वकप क्रिकेट प्रतियोगितामा भाग लिन पाउने भएको छ।

Popularity: 8%

Add comment November 20th, 2005

म्याद सकिए पनि राष्ट्रिय दलहरुले चुनावमा भाग लिन पाउने

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २० –
स्थानीय निकाय निर्वाचनअन्तर्गत आगामी माघ २६ गते हुने नगरपालिकाहरूको निर्वाचनका लागि अस्तिको म्यादसम्म दल दर्ता नगरेका तर अघिल्ला निर्वाचनमा तीन प्रतिशत मत प्राप्त गरेका राजनीतिक दलहरूले निर्वाचनको कार्यक्रम प्रकाशन हुनु १५ दिन अगावै उम्मेदवारी दिन चाहेमा पुरानै निर्वाचन चिह्नमा सहभागी हुनसक्ने प्रमुख निर्वाचनआयुक्त केशवराज राजभण्डारीले स्पष्ट गर्नुभएको छ ।

रिपोटर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा उहाँले स्थानीय निकाय निर्वाचन कार्यविधि ऐन, २०४८ को दफा १८ र २७ मा तीन प्रतिशत मत ल्याएका राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूले आयोगमा दर्ता नभए पनि निर्वाचन कार्यक्रम प्रकाशन हुनु १५ दिन अगावै सम्बन्धित उम्मेदवारले दलको सिफारिससाथ आएमा निर्वाचन अधिकृतले उम्मेदवारी स्वीकृत गर्नसक्ने कानुनी व्यवस्था रहेको स्पष्ट पार्नुभयो ।

अस्तिसम्म ७२ दल आयोगमा दर्ता भएकामा १६ वटालाई मान्यता दिइएको र बाँकीलाई पनि क्रमशः दिंदै जाने बताउँदै उहाँले ४३ जिल्लामा हुन गइरहेको नगर निर्वाचनमा एक हजार ३९४ मतदान केन्द्र निर्धारण गरिएको जानकारी पनि दिनुभयो ।

प्रमुख निर्वाचनआयुक्त केशवराज राजभण्डारीले राष्ट्रिय मान्यताप्राप्त दलहरूको चुनाव चिह्न सुरक्षित नै रहने बताउनुभएको छ ।

Popularity: 9%

Add comment November 20th, 2005

उत्कृष्ट प्रवासी स्रष्टा घोषित

एचकेनेपाल डट कम, ब्रुनाइ,
सम्पादन तथा प्रकाशन काउन्सिल वेलायत एवं ब्रुनाइले २ बर्षअघि एक समारोह गरी तय गरेको कार्यक्रम अनुसार उत्कृष्ट प्रवासी स्रष्टाहरुको नाम ४ मंसिर २०६२ सेरिया ब्रुनाइमा एक कार्यक्रम गरि घोषणा गर्‍यो ।

साहित्यका विभिन्न विधामा घोषणा गरिएको स्रष्टाहरुमा उत्कृष्ट प्रवासी कथाकार रक्ष राई धरान, नेपाल, उत्कृष्ट प्रवासी गीतकार श्रीमती नीलम राई आङबुहाँङ, ब्रुनाइ, उत्कृष्ट प्रवासी गीतकार मोहन परदेशी भारत, उत्कृष्ट प्रवासी उपन्यासकार मुलीवीर राई, ब्रुनाइ, उत्कृष्ट प्रवासी गजलकार मिजास तेम्बे, ब्रुनाइ, उत्कृष्ट प्रवासी कवि नवराज राई, ब्रुनाई, उत्कृष्ट प्रवासी गजलकार जगत नवोदित, वेलायत छन् । त्यसैगरी काउन्सिलले उत्कृष्ट प्रवासी पाठक पनि घोषणा गरिएको थियो। यसपटक उत्कृष्ट प्रवासी पाठकका रुपमा इश्वरी घिमिरे, नेपाललाई छनोट गरिएकोछ।

विदेशमा रहेका गोरखा सैनिकहरु बीच लोकप्रिय रहेको पत्रिका प्रवासी वेदनाका आवाजमा प्रकाशित सामाग्री एवं प्रवासमा सिर्जित उत्कृष्ट नेपाली भाषाका सिर्जनाहरुको प्रतियोगितात्मक छनौट गरि प्रवासी स्रष्टा घोषणा गरिएको थियो ।

कार्यक्रम गीतकार श्रीमती दुर्गा घलेको सभापतित्वमा भएको थियो भने क्याप्टेन उमेश पुन, विनोद खडका, विश्वास दीप तिगेला र मुलीवीर राई, नवल राई, आनन्द रानोहाँछाले मन्तब्य एवं बधाइ दिनु भएको थियो ।

Popularity: 8%

Add comment November 20th, 2005

नेपालमा राष्ट्रव्यापी रोबोट प्रतियोगिताको तयारी

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २० –
नेपालमा रोबोट प्रतियोगिता ? सुन्दा अलि अनौठो लागे पनि कुरा भने साँचो हो।
त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पुल्चोक क्याम्पसमा स्थापित रोबोटिक्स क्लबद्वारा मंसिर २६ गते सोही क्याम्पसमा ‘दोस्रो राष्ट्रव्यापी रोबोट प्रतियोगिता’ आयोजना गरिँदैछ ।

प्रतियोगितामा देशभरका विभिन्न १४ इन्जिनियरिङ क्याम्पसले भाग लिनेछन्।
प्रतियोगितामा समाविष्ट रोबोट औद्योगिक क्षेत्रमा समेत प्रयोगमा ल्याउने उद्देश्यले आयोजना हुन लागेको हो। ‘सुनौलो भोलिको सपना’ भन्ने मूल नाराका साथ हुन लागेको सो प्रतियोगिताका उत्कृष्ट रोबोटलाई आकर्षक पुरस्कार पनि दिइने बताइएको छ।

रोबोटिक्स क्लबले आफै विकास गरेको सो प्रतियोगिताको खेलमा दुई प्रतिद्वन्द्वी रोबोटहरूले निर्धारित नियममा बसेर विपरीत क्षेत्रतिर राखिएका पिनहरू खसाउनुपर्ने हुन्छ।

स्मरण रहोस्, नेपालले अन्तराष्ट्रिय रोबोट प्रतियोगितामा पनि भाग लिई उत्कृष्ट नमुना प्रदर्शन गर्दै आएको छ।

Popularity: 8%

Add comment November 20th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2005
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....