Archive for December, 2005
निर्वाचन बहिस्कारको पोस्टर एक करोड छापिने
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर ३०-
आन्दोलनरत दलले आसन्न नगर निर्वाचनमा उम्मेदवार बन्ने र समर्थन गर्ने कार्यकर्तालाई पाँच वर्ष निलम्बन गर्ने भएका छन्। निर्वाचन बहिष्कारका लागि उपत्यका तथा बाग्मती अञ्चलका प्रस्तुत कार्ययोजना आज शुक्रबार सातै दलका शीर्षनेताहरुको हस्ताक्षरित निर्वाचन बहिष्कार जनआन्दोलनको लक्ष्य सहितको अपिल र संयुक्त पोष्टर प्रकाशित गरेर प्रारम्भ हुँदैछ।
यस्तो पोस्टर एक करोड प्रति छाप्ने योजना रहेको छ। काँग्रेसको केन्द्रीय कार्यालयमा बसेको सात दलको बैठकले यसबाहेक पुस १५ गतेदेखि ३० गतेसम्म घरदैलोमा गई भोट नहाल्न अनुरोध गर्ने, राजमार्गमा भित्ते लेखन गर्ने, स्वदेशी विदेशी सञ्चारकर्मीहरुसँग संवाद गर्ने, सूचना केन्द्र निर्माण गर्ने निर्णय गरेको छ।
त्यसैगरी सात दलले आन्दोलनको सुरक्षाका लागि दुई हजारको संख्यामा स्वयंसेवक व्यवस्थापन गर्न संयुक्त स्वयमसेवक परिचालन समूह बनाउने, आपतकालीन एम्बुलेन्स, प्राथमिक उपचारको समेत व्यवस्था गर्ने भएका छन्।
आन्दोलनको खर्च जुटाउनका लागि ठूला दल काग्रेस, एमाले र प्रजातान्त्रिक काँग्रेसलाई छुट्टाछुट्टै र अन्य चार साना दललाई छुट्टै जिम्मेवारी दिइएको छ।
बहिस्कारका लागि एमालेले यसअघि आफ्नो छुट्टै कार्यक्रम पनि तयार पारिसकेको छ। आफूहरुको त्यो कार्यक्रम सफल पार्नका लागि एमालेले उपत्यकाका १२ वटा निर्वाचन क्षेत्रमा १२ जना संयोजक तोकेको छ।
Popularity: 15%
December 30th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर ३०-
चुनावमा भाग लिने कि नलिने भन्ने विषयलाई लिएर फूटको संघारमा पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले संभवतः आज शुक्रबार यस सम्बन्धमा आधिकारिक निर्णय गर्नेछ।
बैठक बिहीबार सुरु भएको थियो। बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीको प्रजातान्त्रिक छवि जोगाउनका लागि नगर निर्वाचन बहिष्कार गर्नुपर्ने र शाही सरकारमा मन्त्री बन्न जानेहरुलाई तत्काल कारवाही गर्नुपर्ने माग गरेका थिए।
गृहमन्त्री कमल थापाले सरकार शान्ति सुरक्षाको प्रवन्ध गर्न सक्षम रहेकोले नगर निर्वाचनमा सहभागी हुनुपर्ने भन्दा अरु सदस्यहरुले सुरक्षा घेरा छोडेर निर्वाचन प्रचारप्रसारमा जान चुनौती दिइएको बताइएको छ।
Popularity: 15%
December 30th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर ३०-
बेपत्ता पारिएकाहरुको परिवारले राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा बिहीबार साढे चार घण्टा तालाबन्दी गरी धर्ना दिएका छन्।
राज्यद्वारा बेपत्ता पारिएकाहरुको खोजीका लागि उचित कदम चाल्न नसकेको भन्दै परिवारले बिहानदेखि तालाबन्दी गरी कर्मचारीहरुलाई भित्र पस्न दिएका थिएनन्।
पछि बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक गर्न राज्यलाई दबाब दिन उचित कदम तत्काल चाल्ने सहमति भएपछि बल्ल बेपत्ता पारिएका एक परिवारकी वृध्दाले लगाइएको ताला खोलिदिएकी थिइन्।
Popularity: 15%
December 30th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर ३०-
नेपाल विद्यार्थी संघको टीके नयाँ तदर्थ समितिको बिहीबारको पहिलो बैठक तीन उपाध्यक्ष, एक महामन्त्रीसहित बहुमत सदस्यले बहिस्कार गरेका छन्।
संघको अध्यक्षमा महेन्द्र शर्मालाई नेपाली काग्रेसको पार्टी नेतृत्वले हचुवा तवरले आफूखुसी मनोनयन गरेपछि विद्यार्थी नेताहरुमा व्यापक असन्तुष्टि देखिएको थियो ।
तदर्थ समितिमा अध्यक्ष, पाँच उपाध्यक्ष, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्षसहित ४१ सदस्य छन्।
Popularity: 15%
December 30th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर ३०-
सर्वोच्च अदालतले अदालतको अवहेलना भएको विषयमा तत्कालीन सञ्चारमन्त्री टंक ढकालविरुध्द परेको मुद्दाको सुनुवाई गर्दै उहाँलाई १५ दिनभित्र अदालतमा हाजिर हुन आदेश दिएको छ।
रेडियो सगरमाथाको बीबीसी प्रसारण गर्ने उपकरण जफत गरी प्रसारणसमेत बन्द गर्नु भनी सञ्चार मन्त्रालयबाट दिइएको आदेश कार्यान्वयन नगर्नु , नगराउनु भनी सर्वोच्चले अन्तरिम आदेश दिएकै साँझ मन्त्रालयले फेरि पत्र काटेर बीबीसीको प्रसारण चाहिँ रोक्नु भनी आदेश दिएर अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरिएको थियो।
Popularity: 15%
December 30th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २९-
सरकारले माघ २६ गते गर्ने भनी घोषणा गरेको नगरपालिकाको निर्वाचन बहिस्कार गर्ने क्रममा एमालेले चुनाव हुने स्थान नै घेरेर चुनाव सामाग्री समेत कब्जामा लिने कडा कार्यक्रम घोषणा गरेको छ। मतदानस्थल घेरेर मतपेटिका , मतपत्र , मतदाता नामावली कब्जामा लिएर चुनाव हुन नदिनका लागि एमालेले पुस १५ देखि तयारी गर्ने भएको छ।
एमालेको कार्यक्रम अनुसार पुस १५ देखि पुस मसान्तसम्म पार्टीको सबै तह र जनवर्गीय संगठनको बैठक बस्ने , केन्द्रले तयार गरेको चुनाव बहिस्कार कार्यक्रमलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्नलाई योजना बनाउने , बहिस्कार अभियानलाई चाहिने मानसिक , संगठनात्मक र भौतिक तयारी गर्ने रहेको छ।
त्यसैगरी माघ १ देखि १२ सम्म चुनाव बहिस्कारको वालिङ , पोस्टरिङ , माइकिङ, घर-घर गएर अपिल गर्ने , टोल र वडामा सभा गर्ने , उम्मेदवार र प्रचारकलाई चुनावमा नजान आग्रह गर्ने , १३ गते केन्द्र नगर र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभा गर्ने , माघ १४ देखि २२ सम्म युवा , महिला , सन्ध्याकालीन जुलुस , मोटरसाइकल जुलुस , साइकल जुलुस , दौड जुलुस, पदयात्रा गर्ने , माघ २३ र २४ गते सीडीअो र जिल्ला निर्वाचन आयोग घेर्ने , अनि सञ्चारमाध्यम र मानवअधिकारवादीहरुको पर्यवेक्षणमा निरंकुश राजतन्त्र कि संविधानसभा मार्फत् पूर्ण प्रजातन्त्र भन्ने विषयमा जनमत संग्रह गर्ने भएका छन्।
माघ २६ गते चुनावको दिन बिहान ८ बजेदेखि १२ बजेसम्म मतदानका लागि तोकिएको स्थान घेरेर मतदान केन्द्रभित्र गएर मतपत्र , मतपेटिका , मतदाता नामावली र चुनावका सम्पूर्ण सामाग्री कब्जा गर्ने कार्यक्रम एमालेले बनाएको छ।
Popularity: 15%
December 29th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २९-
राष्ट्रिय प्रजातन्त्र पार्टी संस्थापन पक्षले जस्तोसुकै परिस्थिति आए पनि केन्द्रीय समितिबाट निर्वाचन वहिष्कारको निर्णय गराउने निष्कर्शमा बुधबार संस्थापन पक्ष पुगेको छ भने सरकार पक्षधरले भने पार्टी विभाजनको तयारी गर्ने निष्कर्षमा पुगेको छ । पार्टीको निर्णय सरकारको पक्षमा पार्न अध्यक्षलाई पार्टी विभाजन गर्ने धम्की दिने , महाधिवेशनमार्फत् अध्यक्ष फाल्ने तयारीमा जुटने सहमति उनीहरुबीच भएको छ।
केन्द्रीय समितिको बैठक आज बिहीबार बस्दैछ। राप्रपाका लागि आजको दिन ऐतिहासिक हुनेछ। जन्मँदै राप्रपा चन्द र थापा गरी दुई भागमा चिरी जन्मिएको थियो २०४६ सालको आन्दोलनपछि। पछि पार्टी एकीकृत भयो। तर फेरि विभाजित भयो। पछिल्लो पटक संस्थापक नेता सूर्यबहादुर थापा अलग्गिए। त्यो पनि पार्टी फुटेको नै थियो। यस पटक पनि पार्टी फूटको संघारमा छ अर्थात् माघ १९ पछि पार्टी दोस्रो पटक फुट्दैछ।
पार्टी अध्यक्ष पशुपतिशमशेर राणाको निवास महाराजगञ्जमा बसेको संस्थापन पक्षको गोप्य बैठकले ब्यक्तिगत रुपमा सरकारमा सहभागी नेताहरुले आफ्नो स्वार्थको लागि पार्टीकै विभाजन गर्ने षडयन्त्र गरेकाले पार्टीको छवि जोगाउन यस्तो निर्णय लिनुको विकल्प नरहेको निष्कर्ष निकालेको बताइएको छ।
Popularity: 15%
December 29th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २९-
दुई ज्यानका लागि एक छाकका लागि अधिकतम कति खर्च होला ? ५-६ हजार ? अहँ , तपाईँले कल्पना गरेको भन्दा निकै बढी खर्च गरी छाक टारेका छन् दुई मन्त्रीले।
हुन त उनीहरु सहायक मन्त्री हुन , तर ज्यादै महङ्गा । हो , दुई जना सहायक मन्त्रीले एक साँझको भोजनमा राज्यको ढुकुटीबाट १६ हजार रुपैया खर्च गरेका छन्।
स्वतन्त्र समाचार सेवाका अनुसार महङ्गो भोजन गरी मंगलबार साँझ १६ हजार रुपैयाँ तिर्ने शाही मन्त्रिपरिषद्का सहायक मन्त्रीद्धय हुन-जलस्रोत सहायक मन्त्री बिनोदकुमार शाह र भौतिक योजना तथा निर्माण सहायक मन्त्री छक्कबहादुर लामा।
शाह बाँके र बर्दियाको निर्वाचन चाँजोपाँजो मिलाउने सरकारी प्रतिनिधि बनेर यहाँ आएका हुन भने लामा दैलख र सुर्खेतको चाँजोपाँजो मिलाउन।
Popularity: 15%
December 29th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २९-
माअोवादीको घोषित युध्दविराम सकिन एक हप्ताभन्दा कम बाँकी रहेको बेला नेपाली काँग्रेस प्रजातान्त्रिकलाई भने आफ्नो महाधिवेशनको बारेमा चिन्ता बढ्न थालेको छ। युध्दविराम भंग भयो भने जिल्ला जिल्लाबाट आउनु पर्ने प्रतिनिधिहरु पर्याप्त मात्रामा आइनपुग्ने संभावना बढेकोले उसले माअोवादीलाई आफ्नो महाधिवेशनसम्मका लागि युध्दविराम लम्ब्याउन अनुरोध गरेको छ।
प्रजातान्त्रिकको पहिलो महाधिवेशन यही पुस २१ देखि २३ गतेसम्म काठमाडौंमा हुने कार्यक्रम छ।
सम्बन्धित सूत्रहरुले जनाएअनुसार पार्टीका तर्फबाट आगामी १५ दिनका लागि युध्दविराम अवधि लम्ब्याउन माअोवादीलाई आग्रह गरिएको छ। पार्टीका कार्यवाहक सभापति गोपालमान श्रेष्ठ र नेता विमलेन्द्र निधि भर्खरै भारत जानुको कारण पनि त्यहाँ रहेका माअोवादी नेताहरुलाई भेटेर युध्दविराम लम्ब्याउन आग्रह गर्नु रहेको बताइएको छ।
युध्दविराम भंग भएपछि महाधिवेशन स्थगित हुने भन्ने हल्ला पनि कार्यकर्ताहरु माझ फैलिएको छ। तर पार्टी नेतृत्व भने युध्दविराम भंग भए पनि महाधिवेशन गर्ने विचारमा छ।
महाधिवेशन काठमाडौंको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन स्थलमा हुने तयारी भइरहे पनि सरकारले त्यहाँ गर्न नदिने संभावना रहेको छ। यसअघि नेपाली काँग्रेसको महाधिवेशन पनि त्यहाँ गर्न नदिइएपछि उसले आफ्नै कार्यालय सानेपामा महाधिवेशनको बन्द सत्र गरेको थियो।
Popularity: 15%
December 29th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २९-
अर्को हेलिकोप्टर निर्माण गर्न प्राविधिक टोली लिएर सोलुखुम्बुको नाम्चे गएको शाही नेपाली सेनाको एमआई -१७ हेलिकोप्टर बुधबार दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा परी नौ घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि राजधानी ल्याइसकिएको छ। हेलिकप्टरमा १४ जना रहेका थिए।
दुर्घटना हुनुको कारण बताइएको छैन।
Popularity: 15%
December 29th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २८-
माअोवादी र सात दलबीच भएको १२ बूँदे सहमतिको सत्तो सराप गर्दै राजपरिषद्को पूर्वाञ्चल क्षेत्रीय तथा मेची , कोशी , सगरमाथा अञ्चलस्तरीय तीन दिने सम्मेलन बुधबार साँझ झापामा सम्पन्न भएको छ।
संविधानमा व्यवस्था नभए पनि बसेको राजपरिषद्को क्षेत्रीय भेलाले ६ बूँदे विशेष प्रस्ताव पारित गरेको छ। ती ६ बूँदा मध्ये पाँच बूँदामा राजाको प्रशंसाका लागि शब्द खर्चिएको छ भने एउटा बूँदामा अप्राकृतिक र अपवित्र गठबन्धन गरेको भन्दै दल र माअोवादीहरुका लागि गालीका शब्द खर्चिएको छ।
Popularity: 15%
December 28th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २८-
मुलुकका प्रमुख राजनीतिक दलका प्रवक्ताहरूले आफ्ना दल नागरिकका मानवअधिकारका लागि सचेत रहेको उल्लेख गर्दै यी कुरामा माओवादी पनि सचेत रहनुपर्नेमा जोड दिएका छन्।
उनीहरूले मंगलबार ललितपुरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा आयोजित ‘’सात दल-माओवादीबीच भएको १२ बुँदे समझदारी र मानवअधिकारको सवाल ‘’ विषयक अन्तक्रिर्यामा उक्त कुरामा जोड दिएका हुन्।
कार्यक्रममा नेपालस्थित मानवअधिकारका लागि राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयका प्रमुख इयान मार्टिनले मानवअधिकारका कुरामा सबै पक्षको स्पष्ट वचनबद्धता , प्रभावकारी कार्यान्वयन , स्वतन्त्र अनुगमन तथा जवाफदेहीपना प्रमुख विषयवस्तु रहेको बताउनुभयो।
उहाँले निर्वाचनमा संलग्न रहने र भाग लिने व्यक्तिमाथि हुने मानवअधिकार उल्लङ्घनका घटनाप्रति कार्यालयको चिन्ता रहने उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता कृष्ण सिटौला , नेकपाएमालेका सुभाष नेम्वाङ , नेपाली काङ्ग्रेस -प्रजातान्त्रिकका प्रवक्ता मिनेन्द रिजाल , जनमोर्चा नेपालका उपाध्यक्ष लीलामणि पोखरेललगायतले आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा महिला तथा दलित एवं जनजातिका प्रतिनिधिहरूले कुनै पनि शान्ति प्रक्रियामा महिलाको प्रतिनिधित्व हुनुपर्ने र राज्य सञ्चालन प्रक्रियामा जनजातिको सहभागितालाई ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
Popularity: 15%
December 28th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २८-
आगामी नगर निर्वाचनमा माअोवादीहरुले उम्मेदवार वा निर्वाचन अधिकारीहरुलाई अपहरण र हत्या गरेमा त्यसको दोष दलहरुले बोक्नुपर्ने गृहमन्त्री कमल थापाले चेतावनी दिनुभएको छ।
माअोवादीहरु त हान्छन्, भाग्छन्, जनताले देख्ने भनेको दलहरु हुन्, उनीहरुले ती आतंकवादीसित सम्झौता गरेका छन्। यस्तो अवस्थामा उनीहरुको घर घेर्नुबाहेक अरु केही विकल्प हुँदैन , राजधानीमा आज आयोजित एक कार्यक्रममा थापाले बताउनु भयो।
थापाले युध्दविराम कायम राख्न पनि माअोवादीलाई सार्वजनिक आह्वान गर्नुभयो। चार महिने एकतर्फी युद्धविराममा राज्यले त्यसलाई पटक्कै सम्बोधन गरेको थिएन । एक साताअघिमात्र मन्त्रिपरिषद्मा राजापछिको मर्यादामा रहेका उपाध्यक्ष डा. तुलसी गिरीले ‘आतंककारीको ढाँड भाँचिएको ‘ दलील गरेका थिए । उनले माओवादी युद्धविरामलाई सरकारले सम्बोधन नगर्ने र वार्ता पनि नगर्ने उद्घोष गरेका थिए।
Popularity: 16%
December 28th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २८-
पोखरा उपमहानगरपालिका-१५ नयाँगाउँकी १५ वर्षीया गुरुङ थरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेर पनि अदालती आदेशबाट धरौटीमा रिहा भएका ६ युवाहरु पुनरावेदन अदालतले सो आदेश बदर गरेपछि फरार भएका छन् । बलात्कारीलाई धरौटीमा रिहा गरिएको भनी देशभर त्यसको आलोचना भएको थियो।
स्वतन्त्र समाचार सेवाका अनुसार १९ कात्तिकमा अभियुक्तहरु पक्राउ गरेका थिए । पक्राउ अभियुक्तहरु जिल्ला अदालत कास्कीका न्यायाधीश चण्डीराज ढकालको २० मंसिरको आदेशबाट धरौटीमा रिहा भएका थिए । तर , पुस १ गते पुनरावेदन अदालत पोखराले सो आदेश बदर गरेको थियो।
यो आदेशपछि पोखरा उपमहानगरपालिका-१५ बस्ने डोगेन गुरुङ , सुनिल गुरुङ ‘ क’ र निरु गुरुङ तथा काजीपोखरी बस्ने सुनिल गुरुङ ‘ख ‘ र किरण गुरुङ फरार छन्।
बलात्कारमा संलग्न भएका भनिएका अन्य तीन पहिलेनै फरार थिए । जिल्ला न्यायाधीश ढकालको इजलासले तीन जनालाई एकलाख २५ हजार र बाँकी तीन जनालाई एकलाख रुपैयाँ धरौटी लिई रिहा गर्ने आदेश दिएको थियो।
आदेश लगत्तै रिहा भएका ती अभियुक्तहरु सोही दिनदेखि फरार भएको बताइएको छ।
उनीहरु कसैलाई पनि पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रविराज श्रेष्ठले बताए । सीमा भएर बाहिर जाने नाकाहरुमा अभियुक्तहरुको फोटो पठाउने काम बाहेक अरु केही गर्न नसकिएको उनले बताए।
यसअघि सरकारी वकिलले मुलुकी ऐन अदालती बन्दोबस्तीको १७ नम्बर अनुसार पुनरावेदन अदालत पोखरामा ढकालको आदेश बदर गर्न माग गर्दै उजुरी दर्ता गराएका थिए।
Popularity: 15%
December 28th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २७-
एकपक्षीय युध्दविराम भंग हुन ७ दिन बाँकी रहेको दिन सोमबार रोल्पामा शाही सेना र माअोवादीबीच दोहोरो भिडन्त भएको छ। भिडन्तमा हताहत हुनेहरुको यकिन संख्या स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी छ।
शाही सेनाको वक्तव्यमा एक सेनाको मृत्यु भएको जनाइएको छ भने माअोवादीको तर्फबाट जारी विज्ञप्तिमा आफूतर्फ दुई र शाही सेनातर्फ ६ जनाको मृत्यु भएको उल्लेख गरिएको छ।
शाही सेनाका अनुसार गस्तीमा गइरहेको बेला माअोवादीहरुले एक्कासी आक्रमण गरेका थिए। माअोवादीले भने अपरेसनका लागि आएको समूहमाथि प्रतिरोधात्मक कारबाही गरेको दावी गरेको छ।
उनीहरुले आफूहरुको कारबाहीमा २० सेना घाइते भएको पनि दावी गरेका छन्।
Popularity: 15%
December 27th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २७-
नेकपा एमालेका महासचिव माधवकुमार नेपालले शान्तिपूर्ण आन्दोलनबाटै मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना हुने बताउँदै त्यसको अन्तिम लडाईका लागि जनताले नारायणहिटी घेर्ने अठोट गरिसकेको बताएका छन्।
नेपालगन्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपालले राजासँग कुनै पनि हालतमा संवाद र सम्झौता नहुने दृढता व्यक्त गरे। मुलुक दुई ध्रुवमा विभाजित भैसकेको टिप्पणी गर्दै राजालाई एक्ल्याउनकै निम्ति माओवादीसित सात दलको सहमति भएको बताए।
माआवादीलाई आफ्नो शान्तिपूर्ण आन्दोलनमा आफ्ना कार्यकर्ता घुसाउने र कार्यक्रमलाई भड्काउन सहयोग पुग्ने कार्य नगर्न पनि उनले आग्रह गरे।
‘हाम्रो आन्दोलन अहिंसात्मक र निशस्त्र हुन्छ ‘ उनले भने-माओवादीलाई बन्दुक नपडकाउन पनि हामीले आग्रह गरिरहेका छौ । तर माओवादीले किन भनेर सोध्ने गरेका प्रश्नको उत्तर हामीसँग छैन। ‘
Popularity: 15%
December 27th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २७-
सर्वोच्च अदालतले गैरसरकारी संस्था सम्बन्धी आचारसंहिता कार्यान्वयन नगर्नू भनी सोमबार अन्तरिम आदेश जारी गरेको छ।
गैरसरकारी संस्थाहरुलाई नियन्त्रण गर्नका लागि सरकारले उक्त अध्यादेश ल्याएको भन्दै त्यसको कडा आलोचना राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भएको थियो।
न्यायाधीश तपबहादुर मगर, हरिजंग सिजापती र शारदा श्रेष्ठको विशेष इजलासले यस्तो आदेश जारी गरेको हो।
गैरसरकारी संस्था महासंघ र अधिवक्ता गोपालकृष्ण सिवाकोटीले आचारसंहिता खारेजीको माग गर्दै अलग-अलग रिट हालेका थिए । यसअघि चिन्तनको रिटमा अन्तरिम आदेश दिइएको थिएन।
Popularity: 15%
December 27th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २७-
लोक जागरण अभियान अन्तर्गत माअोवादी प्रभावित गाउँहरुमा पुगिरहेका सात दलले अब सहरमा आफ्नो कार्यक्रम केन्द्रित बनाउने भएका छन्।
सात दलको जन आन्दोलन केन्द्रीय संयोजन समितिले सोमबार ‘गाउँबाट नगर जाउँ’ भन्ने शान्तिपूर्ण अभियान शुरु गर्ने निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्ति अनुसार, सातै दलका नेताकार्यकर्ता गाउँ छोडी नगरपालिकामा उपस्थित भएर सक्रिय अवज्ञा र असहयोगका कार्यक्रममार्फत् बहिष्कार गर्नेछन।
यसका लागि माघ १३ गतेदेखि विशेष अभियान सञ्चालन हुनेछ।
सात दलका आगामी कार्यक्रममा पुस २८ मा जनकपुर र माघ ७ मा काठमाडौंमा प्रदर्शन हुनेछ । नगरपालिका निर्वाचन बहिष्कार , नगरकोट हत्याकाण्डकाविरुद्ध पुष १८ गते देशब्यापी विरोध प्रदर्शन र उपत्यकाको बसन्तपुरमा प्रदर्शन गरिने छ।
Popularity: 15%
December 27th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २६-
सरकारका महान्यायाधिवक्ता अकस्मात् परिवर्तन गरिएको छ। सरकारी समाचार समिति राससले आइतबार रातिको बुलेटिनमा बहालवाला महान्यायाधिवक्ता पवनकुमार अोझाले चढाउनुभएको राजीनामा स्वीकृत गरिएको उल्लेख छ।
श्री ५ महाराजाधिराजका संवाद सचिवालय राजदरबारलाई उद्धृत गर्दै दिइएको उक्त समाचारमा राजीनामाको कारण खुलाइएको छैन। त्यसको सट्टा अर्को समाचारका रुपमा भोलि पुस ११ गते प्रचार प्रसार गर्नु भनी नयाँ न्यायाधिवक्ता राजाबाट नियुक्त भएको उल्लेख गरिएको छ।
समाचारमा भनिएको छ- श्री ५ महाराजाधिराजबाट नेपाल अधिराज्यको संविधान , २०४७ बमोजिम नेपाल अधिराज्यको महान्यायाधिवक्ताको पदमा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निरालालाई नियुक्त गरिबक्सेको छ।
Popularity: 15%
December 26th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २६-
नगरकोट हत्याकान्डको विरोधमा आठ विद्यार्थी संगठनहरुले आइतबार काठमाडौंमा जुलुस प्रदर्शन गरे। मिनभवनबाट निस्केको जुलुसपछि सभामा परिणत भएको थियो।
सभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले मुलुकले गणतन्त्रको दिशा समातिसकेको हुनाले अब यसलाई कसैले रोकेर रोक्न नसक्ने दावी गरे।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष खिमलाल भट्टराईले अब विद्यार्थीले गणतन्त्रबाहेक कुनै तन्त्र स्वीकार नगर्ने भन्दै नेताहरुलाई पनि प्रधानमन्त्री बन्ने लोभ त्यागी राष्ट्रपति बन्नेतर्फ अग्रसर हुन आग्रह गर्नुभएको थियो।
त्यसैगरी नेपाल विद्यार्थी संघका अध्यक्ष महेन्द्र शर्माले राजा र राजनीतिक दलको मिलनबिन्दु नै नरहेको भन्दै शाही नेपाली सेनालाई विघटन गरी राष्ट्रिय सेनामा बदल्नु पर्ने माग गर्नुभयो।
यसअघि, बिहान राजदरबारनजिकै रहेको त्रिचन्द्र क्याम्पसबाहिर आज पनि विद्यार्थीहरुले टायर बाली केही क्षण सडकमा अवरोध खडा गरेका थिए।
Popularity: 16%
December 26th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २६-
बाटोमा खेल्दै गरेकी घोघनपुर-८ की एक अबोध आठ वर्षीया बालिकालाई ६० वर्षका वृध्द छिमेकीले बलात्कार गरे तर गाउँलेहरुले भने उल्टै बालिकाका पितालाई छोरी छाडा छाडेको भन्दै १ सय ५० रुपैयाँ दण्ड र दुई-चार थप्पड हिर्काएछन्।
स्वतन्त्र समाचार सेवाका अनुसार, ६० वर्षका रामस्वरुप महत्तोले बिस्कुट दिन्छु भनेर उनलाई खेलिरहेको ठाउँबाट फकाएर आफ्नो घरमा लगी बलत्कार गरेका थिए।
गरीब परिवारकी ती बालिकाका अभिभावक खेतमा धान काट्न गएको मौकामा उनले यस्तो कुकर्म गरेका रहेछन्।
बलत्कारीले जबरजस्ती गर्न थालेपछि ती बालिका चिच्याएर रोएकी थिइन । उनी रोएको सुनेर छिमेकी मनोज महत्तो घट्ना भएको घर पुग्दा बलत्कारको रहस्य खुलेको थियो । मनोजले नै बालिकाको उद्धार गरेका थिए ।
भगवती राष्ट्रिय प्राथमिक विद्यालय कञ्चनपुर- ९ मा कक्षा २ मा पढ्ने ती बालिकाको बालत्कार भएको २४ कात्तिकमा खुलासा भएको हो।
कार्तिक २६ मा बालिकाको बाबु हरी महतोले गाउँमा छलफल बोलाएका थिए । छलफलमा सहभागी गाउँलेहरुले बलत्कारीलाई किन यस्तो गरेको भनेर प्रश्न गरेका थिए । जवाफमा अभियुक्तले ‘३ वर्षअगाडि श्रीमती मरेपछि मैले छोराहरुलाई अर्कै बिहे गरिदेउ भनेको थिए तर उनीहरुले मानेनन , त्यसैले यस्तो गरेको हुँ , अब त बिहे गरिदेलान कि भन्ने आशा छ’ भनेका थिए।
उनलाई बलात्कारको अभियोगमा गाउँलेले पाँच हजार एक रुपैया दण्ड गरेका छन् । उता पीडितका बाबु समेत गाउँलेको अभियोग खेप्न बाध्य छन् । उनलाई समाजले छोरी छाडा छोडेको अभियोग लगाउनुका साथै एक सय ५० रुपैयाँ दण्ड र दुई-चार थप्पड हिर्काइयो ।
छोरी बलत्कार गर्ने अभियुक्तलाई कारवाहीमा सहयोग गर्नुको साटो आफैलाई समेत समाजले दोषी देखेकोमा हरि खिन्न छन्।
Popularity: 16%
December 26th, 2005
लोक सिंङ्गक, एचकेनेपाल डट कम
काठमाडौं,लीलालेखनः शिद्धान्त र प्रयोग विषयक विचार गोष्ठी कार्यक्रम वुधवार साहित्यकार, पत्रकार तथा प्राज्ञहरुको सम-उपस्थितीमा राजधानीमा सम्पन्न भयो।
कार्यक्रममा डा. सञ्जीव उप्रेतीले लीलालेखन-सिद्धान्त र प्रयोग प्रस्तावनालाई लेखन तथा आधुनिकतावाद, लीलालेखन तथा पूर्वेली आध्यात्मवाद, लीलालेखन, इतिहास र राजनीति र उपसंहार शीर्षकहरुमा प्रस्तुत गर्नु भएको थियो।
उक्त प्रस्तावना माथि टिप्पणी गर्दै नारायण ढकालले, उतर-आधुनिक र लीलालेखन अहिलेको परिप्रेच्छामा सकारात्मक मान्न सकिने जुन राजनैतिक र नैतिक पक्षबाट सवल रहेको र नेपालको कोर्षमा त्यसलाई पुन-निर्माण गर्नु पर्ने बताउनुभयो।
त्यसैगरि सो प्रस्तावना उपर आफ्नो बिचार राख्ने क्रममा डा. दिनबन्धु अर्यालले लीलालेखनको अध्ययन तथा खोजी गर्दा पश्चिमेली साहित्य र इन्द्र ब. राईलाई मात्र नपछ्याई आ-आफ्नो लेखनमा लीलालेखनको खोज आउनु पर्ने टिप्पणी गर्नुभयो । सो कार्यक्रममा आफ्नो जिज्ञासा राख्ने पालो माग्दैं लीलालेखनको स्वअस्तित्व हुनुपर्ने त्यस्तै यो वादको रुपमा प्रयोग गर्न मानव व्यवहारमानै प्रतिनिधित्व गर्ने खालको हुनु आवश्यक भएको अर्का वक्ताले बताउनुभयो।
कार्यक्रममा कृष्ण धारावासीले पनि आफ्नो बिचार व्यक्त गर्नु भएको थियो। उपकुलपति डा. बासुदेव त्रिपाठी सो कार्यक्रमको सभापति रहनु भएको थियो भने उक्त कार्यक्रम नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान भाषा साहित्य (गद्य) विभागद्वारा आयोजना गरिएको थियो।
Popularity: 16%
December 26th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २५-
माअोवादीहरुले निर्वाचनमा संलग्न हुने पदाधिकारी र उम्मेदवारहरुलाई कारबाही गर्ने धम्की दिए पनि आसन्न नगर निर्वाचन जुनसुकै अवस्थामा पनि गरी छाड्ने प्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले बताउनुभएको छ।
निर्वाचन आयोगद्वारा नगरपालिका निर्वाचनको सम्बन्धमा शनिबार पोखरामा आयोजित निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतहरूको दुई दिने क्षेत्रीय गोष्ठीको उदघाटन गर्दै उहाँले निर्वाचन स्वतन्त्र , निष्पक्ष, धाँधलीरहित, निर्बाध र सुव्यवस्थित ढङ्गले हुने दावी गर्दै निर्वाचनलाई कसैले रोक्ने वा अन्यथा कुरा गरेर भाँड्न खोज्दा भने प्रजातान्त्रिक अभ्यासमा आघात पर्न जान्छ भन्नुभयो।
माअोवादीहरुले आगामी माघ २६ का लागि घोषित नगर निर्वाचनको तीन दिन अगाडिदेखि तीन दिन पछिसम्म सात दिनका लागि नेपाल बन्दको घोषणा गरेका छन्। सरकारी प्रतिबन्धको डरले मूलधारका कुनै पनि सञ्चारमाध्यममा बन्दको मिति प्रकाशन-प्रसारण भएको छैन तर हल्ला भने बिस्तारै फैलँदो छ।
आन्दोलनरत सात दलले पनि निर्वाचन सक्रिय बहिस्कार गर्ने बताएका छन्। उनीहरुले निर्वाचन आयोगमा दल दर्ता समेत गराएका छैनन्। सात दलमा सहभागी नभएको सूर्यबहादुर थापाको राजपा र पूर्वपञ्चहरुको पार्टी राप्रपाको संस्थापन पक्ष पनि निर्वाचनमा भाग नलिने अडानमा छ। राप्रपाको एक खेमा भने निर्वाचनमा भाग लिनुपर्ने पक्षमा छ।
सात दलले निर्वाचनको सशक्त बहिस्कार गर्ने भनी बताए पनि कस्तो किसिमले बहिस्कार गर्ने भनी कार्यक्रम दिएका छैनन्। उनीहरुले माघ ७ गते नयाँ बानेश्वरमा हुने सभामा यसको घोषणा गर्ने बताएका छन्। तर , माअोवादीहरुको घोषित विरोध कार्यक्रम त्यतिबेला सुरु भइसक्ने र युध्दविराम पनि संभवतः भंग भइसक्ने हुनाले माअोवादी घुसपैठ हुनसक्ने बहानामा उक्त सभालाई रोक लगाउन सक्ने प्रवल संभावना देखिएको छ।
Popularity: 15%
December 25th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २५-
राष्ट्रिय मानवअधिकार आयोगले नेकपा माओवादीलाई सार्वजनिक रूपमा मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनप्रति जारी गरेको प्रतिवद्धता तथा आफूले गरेको युद्धविरामसमेतलाई ध्यानमा राखी मानवअधिकार तथा मानवीय कानुनको पूर्ण पालना गर्न आहृवान गरेको छ।
आयोगले शनिबार जारी गरेको विज्ञप्तिमा अपहरित व्यक्तिहरूलाई बिना शर्त तत्काल रिहाई गर्न तथा विस्थापितहरूलाई ससम्मान घर फर्किने वातावरण सिर्जना गर्न पनि आग्रह गरिएको छ।
आयोगले माओवादीहरूले रामेछाप जिल्लाको खिम्ती गाउँ विकास समिति, वडा नं. १ का भोजराज कडरिया, खडानन्द कडरिया र कुमार दाहाललाई गत मङ्सिर २९ गते कारबाही गर्ने धम्की दिएको उजुरी आयोगमा प्राप्त भएको पनि जनाएको छ।
साथै सिन्धुपाल्चोक जिल्लाको जलबिरे गाउँ विकास समिति, वडा नं. ४ का तीर्थमान श्रेष्ठलाई गत साउनमा अपहरण गरेपछि उनको स्थिति अझै अज्ञात रहेको र चितवन जिल्लाको भरतपरर नगरपालिका, वडा नं. २ का शालिकराम शर्मालाई जबरजस्ती विस्थापित गरेका उजुरीहरू पनि प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।
Popularity: 15%
December 25th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २४-
नगरकोटको कालिका भगवती मन्दिर क्षेत्रमा घटेको हत्याकाण्डसम्बन्धी जाँचबुझ आयोग को म्याद १० दिन थप गरिएको छ। गृह मन्त्रालयले शुक्रबार उक्त कुरा जनाएको हो।
आयोगका पदाधिकारीहरूले बिहीबार बल्ल दुर्घटनास्थल मन्दिर क्षेत्रको निरीक्षण गरेको थियो।
आयोगका पदाधिकारीहरूले वीरेन्द्र सैनिक अस्पताल , छाउनी गई सो घटनामा घाइते भई त्यहाँ रहेकाहरुको स्वास्थ्य स्थितिबारे जानकारी लिएको आयोगले जनाएको छ ।
गत मङ्सिर २९ गते नगरकोटमा भएको घटनासम्बन्धमा छानबिन गर्न श्री ५ को सरकारले सो आयोग गठन गरेको हो।
Popularity: 15%
December 24th, 2005
Previous Posts