Archive for January, 2006
मेयरका उम्मेदवारमाथि गोली प्रहार ‘ सामान्य घटना ‘
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी ३१-
ललितपुरका मेयर पदका उम्मेदवार दलबहादुर राईमाथि भएको गोली प्रहारको घटनालाई स्थानीय विकास मन्त्री टंक ढकालले ‘सामान्य घटना ‘ भन्दै यो घटनालाई नउचाल्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन्।
पाटन अस्पतालमा उपचार गराइरहेका राईको अवस्था चिन्तामुक्त भएको अस्पतालले जनाएको छ। उम्मेदवारमाथि गोली प्रहारको घटना सार्वजनिक भएपछि अस्पताल परिसरमा मन्त्री र सुरक्षा अधिकारीहरुको ताँती लागेको थियो।
स्थानीय विकास सहायक मन्त्री रोशन कार्कीले भने उम्मेदवारलाई गोली हान्ने छुट सात दलले दिएको भन्दै सात दलको आलोचना गर्नुभयो। सरकार उम्मेदवारको सुरक्षा गर्न नसक्ने अनि दोष अरुलाई दिने ? भनेर पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा कार्कीले भन्नुभयो, हामीले सुरक्षा नदिएका हैनौं , उहाँ आफैले सुरक्षा लिन अस्वीकार गर्नुभएको हो।
राईले आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मीको आवश्यकता नहुने भन्दै फर्काइदिनुभएको बताइएको छ।
यसैबीच सेनाले सोमबार एक पत्रकार सम्मेलन गर्दै निर्वाचन अधिकारी, उम्मेदवार र मतदाताको सुरक्षा सेनाले गर्ने बताएको छ।
सेनाले निर्वाचन बिथोल्ने, अवरोध खडा गर्ने र हुलदंगा गर्न खोज्ने जोसुकैलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ। यस हिसाबले माघ २६ गते चुनाव बिथोल्न खोज्ने दल र सेनाबीच सोझो टक्कर हुने देखिएको छ।
_________________________________________________
एचकेनेपाल डट कम, जनवरी ३०
माघको २६ मा हुन गैरहेको नगरपालिका निर्वाचन अन्तर्गत ललितपुर उपनगरपालिकाको मेयर पदका उम्मेदवार दलबहादुर राईलाई मोटरसाइकलमा आएका दुईजना अज्ञात बन्दुकधारीले आज अपरान्ह २:३० बजे ललितपुरको मानभवनमा गोली प्रहार गरेकोछ।
समाचार स्रोतले जनाए अनुसार राष्ट्रिय जन मुक्ति मोर्चाको तर्फबाट आगामी निर्वाचनमा उम्मेदवार बनेका राईलाई मानभवनस्थित आफ्नै घरबाहिर बसिरहंदा गोली प्रहार गरिएको थियो। गोली लागि घाइते भएका राईलाई पाटन अस्पतालमा उपचारार्थ भर्ना गरिएकोछ।
Popularity: 16%
January 31st, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी ३१-
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले नगर निर्वाचनलाई गाइजात्राको संज्ञा दिएका छन्।
उनले निर्वाचनबाट समस्या समाधान हुने नभई समस्या चर्काउने काम मात्र गर्ने बताउँदै नगर निर्वाचनमा निर्विरोध हुनु दलिय र प्रजातान्त्रिक संस्कारको अभ्यास नभई असुरक्षा र निर्वाचनको वैधतामाथिको जनविश्वासको कमी भएको बताए।
नगर निर्वाचन तत्काल स्थगित गरी संसदवादीदलसंग सवांदको थालनी नगरे राष्ट्र गम्भीर दुर्घटनामा पर्ने चेतावनी पनि उनले दिए ।
सोमबार रिपोर्टस क्लब नेपालद्धारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राणाले भने- ‘प्रजातान्त्रिक गतिरोधको लागि माघ १९ कारक रहेकोले सोही दिन राजाले संवादको ढोका खोल्नुपर्छ । ‘
हिरासतमा राखिएका दलका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गर्दै उनले भनेका छन- ‘तर राज्य सवांदप्रति भन्दा मुठभेडतिरै सक्रिय देखिन्छ । वार्ताबिना सहमति हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि सरकारले पहल गरेको छैन । ‘
Popularity: 16%
January 31st, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी ३१-
बिहेको जन्ती जान आएकाहरु मलामी जानु पर्यो भने कस्तो होला ? यस्तै अनौठो नियति भोग्नुपर्यो संखुवासभा जिल्लाको एक परिवारले।
मादी राम्बेनी गाविस निवासी २४ वर्षका बेहुला हरि रिजाल हट्टाकट्टा नै थिए , तर बिहे कै दिन उनको अकस्मात् मृत्यु भएपछि जन्ती जान तयार भएर बेहुलाको घर आएकाहरु मलामी जानु परेको थियो।
उनको मृत्युको कारण खुलाइएको छैन तर ह्रदयाघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
आइतबार बिहान ४ बजे उठेर नुहाएर खानपिन गरिसकेपछि अन्मिने बेलामा उनको अकस्मात् मृत्यु भएको स्वतन्त्र समाचार सेवाले जनाएको छ।
Popularity: 16%
January 31st, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी ३१-
त्रिभुवन विश्वविद्यालय प्रशासनले अकस्मात निर्णय गरी जाडो विदा बढाउने सूचनाको विरोध गर्दै सोमबार काठमाडौंका अधिकांश क्याम्पसमा प्राध्यापक र विद्यार्थी पठनपाठनमा व्यस्त रहे।
राजदरबारनजिकै रहेको त्रिचन्द्र क्याम्पसको गेटमा रहेका सुरक्षाकर्मीहरुले भने प्राध्यापक र विद्यार्थीहरुलाई क्याम्पसभित्र जान नदिएपछि त्यसको विरोधमा उनीहरुले सडकमा नै पठनपाठन गरेका थिए।
शाही निर्वाचनविरुध्दको आन्दोलनमा विद्यार्थीहरु उत्रने भयले सरकारको दबाबमा त्रिवि प्रशासनले विदा माघ २७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। विद्यार्थीहरुले यो निर्णय फिर्ता लिन दिएको २४ घण्टे अल्टिमेटम समाप्त भइसकेको छ।
उता, पोखरामा पृथ्वीनारायण क्याम्पसमा दिनभर विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान भएको खबर छ। विद्यार्थीको आक्रमणबाट बच्न प्रहरी निजी घरमा लुक्न बाध्य हुनुपरेको बताइएको छ।
Popularity: 16%
January 31st, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी ३०-
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेका तीन वटा गाडीमा आइतबार साँझ पेट्रोल बम विस्फोट गरी ध्वस्त बनाइएको छ।
सेडा हल अगाडि पार्किङ गरेर राखेको अवस्थामा ती गाडीमा बम प्रहार गरिएको हो। ध्वस्त गाडीहरुमा २ वटा सेडाको र एउटा केन्द्रीय क्याम्पसको रहेको बताइएको छ।
बम विस्फोट कसले गराएको भन्ने यकिन नभए पनि सबैले माअोवादीले गराएको हुनसक्ने आशंका गरेका छन्।
त्रिभुवन विश्वविद्यालयले शनिबार सूचना जारी गर्दै क्याम्पसहरुमा जाडो विदा २७ गतेसम्म बढाउने निर्णय गरेको थियो , जसको सर्वत्र आलोचना भइरहेको छ। विद्यार्थीहरुले क्याम्पस तुरुन्त खोल्नुपर्ने माग गरिरहेका छन्।
Popularity: 16%
January 30th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी ३०-
राजाको घोषणा अनुसार माघ २६ गते हुन लागेको नगर निर्वाचनको प्रचार प्रसार आजदेखि हुने भएको छ। यसका लागि आवश्यक सुरक्षा मिलाउन निर्वाचन आयोगले सरकारलाई भनेको छ। तर प्रचार प्रसारमा नलाग्न माअोवादीले चेतावनी दिइसकेका छन्। निर्वाचन हुने भनिए पनि कयौं पदमा एक्लो उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा जिल्ला निर्वाचन कार्यालयले गरिसकेको छ।
देशभरका ४ हजार १ सय १६ पदका लागि चुनाव हुनुपर्नेमा आधा अर्थात् २ हजार १ सय ४ स्थान रिक्त छन्। अर्थात् त्यहाँ कसैको उम्मेदवारी परेको छैन।
कास्कीको पोखरा उपमहानगरपालिकामा ५७ पद र लेखनाथ नगरपालिकामा ६७ पद खाली छ। खाली रहेका पदबाहेका अन्यमा एक्लो उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्।
पोखरा उमहानगर तथा लेखनाथ नगरपालिकामा एकमात्र प्रमुख पदका लागि मात्र निर्वाचन हुनेछ।
पोखरा उपमहानगरपालिकाको कूल ९२ पदमध्ये ३५ पदमामात्र उम्मेदवारी परेको थियो । जसमध्ये प्रमुखबाहेक अरु सबै निर्विरोध निर्वाचित भएका छन्।
यसअघि ४० पदका लागि ४५ जनाको उम्मेदवार परेकोमा दुई नगरप्रमुखका प्रत्यासीसहित १० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। उनीहरुले पारिवारिक दवावमा उम्मेदवारी फिर्ता लिएका हुन । प्रमुखका लागि भने चार जनाबीच प्रतिस्पर्धा हुनेछ।
Popularity: 16%
January 30th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी ३०-
वीपीका छोराले बाउको इज्जतलाई माटोमा मिलाउँदै शाही सरकारमा सामेल भए पनि उनैकी छोरीले भने बाउको साथ दिएर लोकतन्त्रप्रेमी नेपाली जनताको नजरबाट गिरेकी छिन्।
चुनाव प्रचारका लागि भन्दै बलिउडमा फिल्म खेल्न छाडेर नेपाल आएकी मनीषा आफ्ना मन्त्री पिताका साथ धनकुटामा आउँदा उनीविरुध्द युवा विद्यार्थीहरुले चर्का नाराबाजी मात्र गरेनन् , पुत्ला समेत जलाए।
शाही मन्त्री प्रकाश कोइराला र मनीषालाई धनकुटा बजारमा विद्यार्थीहरुले कालो झण्डा देखाउँदै नाराबाजी गरेपछि स्थिति तनावपूर्ण भएकोले प्रहरीले सुरक्षा दिएर जिल्ला प्रहरी कार्यालय लानु परेको थियो।
आन्दोलनरत आठ विद्यार्थी संगठनले मनीषा अभिनित फिल्मलाई नेपालभर प्रतिबन्ध लगाउने घोषणा गर्दै उनको फिल्म प्रदर्शन गरिएमा कारबाही गर्ने बताएका छन्।
Popularity: 16%
January 30th, 2006
भेषराज गुरुंग, जापान प्रतिनिधि एचकेनेपाल डट कम, जनवरी २९-
टोयोटा सिटी, जापान, जापानको टोयोटा शहरको सोकाकान हलमा नेपाली आदिवासी समाज जापानको सातौं साधारण सभा २९ जनवरी २००६ आइतबारका दिन सम्पन्न भएको छ।
स्थापनाकाल सन् १९९९ देखि अस्तित्वमा रहेको सो समाजले जापानको तोकाई क्षेत्रमा अवस्थित एकल जातिय संघसंस्थाहरुलाई समेट्दै र संगठित गर्दै आफ्नो जातीय हक, हित र अधिकारको लागि र जापानमा रहेका जनजातिहरुलाई आफ्नो जातीय चेतना अभिबृद्धि गर्ने अभिप्रायले छाता संगठन रुपमा अघि बढिरहेको छ।
यस साधारण सभामा सभाका सभापतित्व अध्यक्ष भीम प्रसाद पुन मगरले गर्नु भएको थियो । साथै अतिथिहरुमा समाजका भू.पू. अध्यक्ष डमर बहादुर गुरुंग र टंक थापा मगरको पनि उपस्थिति रहेको थियो । यसका अतिरिक्त जातीय संघ संस्थाहरु मगर सेवा समिति तोकाई क्षेत्र नागोयाका अध्यक्ष खिम पूजा मगर, शेर्पा संघका अध्यक्ष लामा पासांग शेर्पा, नेपाल छन्त्याल संघका अध्यक्ष गजेन्द्र छन्त्याल, थकाली सेवा समिति तोकाई क्षेत्रका अध्यक्ष बसन्त गौचन र तमु धीं नागोयाका महासचिव भेषराज गुरुंगको पनि सहभागिता रहेको थियो । प्रथम चरणको कार्यक्रमको विर्सजन सभापति भीम प्रसाद पुनले गर्नु भएको थियो।

साधारण सभाको दोश्रो चरणमा नयां कार्यसमितिको पदाधिकारीहरुको चयन गरिएको थियो । उम्मेद्वारी चयनको निम्ति निर्वाचन मण्डलमा खिम बुढामगर , डमर बहादुर गुरुंग र टंक थापा मगरलाई राखिएको थियो। जसअर्न्तर्गत निश्चित समायावधि भित्र उम्मेद्वारी दिने , दावी गर्ने र फिर्ता लिने प्रक्रिया अपनाइएको थियो । अध्यक्ष पदको निम्ति बोम पुन मगर र गजेन्द्र छन्त्यालको उम्मेद्वारी परेको थियो भने त्यस्तै गरि कोषाध्यक्ष पदको निम्ति छिरिंग तेन्जिंग शेर्पा र सुनील शेरचनको उम्मेद्वारी परेको थियो । अन्य रिक्त पदहरुमा कसैको दावी परेको थिएन । उम्मेद्वारीहरु आफैंले आपसी छलफल र समझदारी किसिमबाट पद लिने र दिने गरेका थिए।

फोटोः एचकेनेपाल डट कम को लागि भेषराज गुरुंग।
समयमा नै अनुशासित र समझदारी किसिमले गर्दा साधारण सभा राम्रो किसिमले संचालन भयो । सो सभामा महासचिव हिरा प्रकाश गौचनले कार्यक्रम संचालन गर्नुका साथै वाषिर्क प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष ओम गुरुंगले कोषको आय व्यय विवरण पेश गर्नु भएको थियो ।
सन् २००६ सालको नयां पदाधिकारीहरुमा निर्वाचित हुनेहरुमा अध्यक्ष बोम पुन मगर, उपाध्यक्ष द्धय हिरा प्रकाश गौचन र श्री छन्त्याल, महासचिव भेषराज गुरुंग, सचिव खिम बुढा मगर, कोषाध्यक्ष छिरिंग तेन्जिंग शेर्पा, सहकोषाध्यक्ष सुनील शेरचन सर्वसम्मतिबाट निर्वाचित भएका छन् । त्यस्तै गरि सदस्यहरुमा ओमकार शेरचन, शंकर भट्टचन, राजु राना मगर, पम्बा छिरिंग, बल बहादुर पुन मगर, दुर्गा छन्त्याल, छिरिंग शेर्पा, ज्ञान पुन मगर, रिन्जी शेर्पा र श्रीमति छोटिन शेर्पा पनि निर्वाचिन हुनु भएको छ ।
समाजका लागि अन्य सल्लाहकारहरुको चयन समाजको अर्को बैठकमा गरिने भएको छ । सो साधारण सभामा उपस्थित जातिय संघ संस्थाका सबै प्रतिनिधिहरुका साथै सल्लाहकार बोम पुन मगर र सचिव खिम बुढा मगरले आजको वर्तमान परिप्रेक्ष्यमा हामी जनजातिहरुले खेल्नु पर्ने भूमिका , हाम्रो हक हित अधिकार, जापान र नेपाल लगायत अन्य देशको जनजाति संघ बीच हुनु पर्ने आपसी सुमधुर अन्तरसम्बन्ध र जापानमा जनजातिहरुको जातीय चेतना जागृत गर्ने बारेमा प्रकाश पार्नु भएको थियो।
अन्तमा निर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई पुरानो पदाधिकारीहरुका साथै उपस्थित सबैले हार्दिक बधाई दिएका थिए।
Popularity: 16%
January 30th, 2006
- महेश्वर श्रेष्ठ
‘कहिं नभएको जात्रा हांडीगाउंमा’ भन्ने लोकप्रिय उखानलाई सुरक्षाको नाउंमा देशका शासकहरुले ‘कहिं नभएको जात्रा नेपालमा’ भन्ने उखानमा परिणत गरेका छन् । देशमा संकटकाल लागु भए लगत्तै सुरक्षा निकायहरुले गाउंवस्ती र शहरबजारका मुख्य मुख्य चौबाटाहरु र राजमार्गका ‘संवेदनशील’ ठाउंहरुमा स्थायी प्रकारको चेकपोष्ट खडा गरी त्यहांबाट आवत-जावत गर्ने सवारी साधन तथा तिनमा सवार यात्रुहरुको सुरक्षा जांच गर्दै आएका छन्। उनीहरुको सुरक्षा जांच गर्ने यो तरिका र अवधारणा देखेर अचम्म लाग्छ, हांसो पनि उठ्छ । यस्तो पनि कतै सुरक्षा जाच हुन्छ - विद्रोहीहरु त्यही बाटो र नाका भएर आउंछन् अनि सुरक्षाकर्मीहरुले थापेको स्थायी दोबाटे चेकपोष्टमा आफ्ना झोला तुम्बा जांचपास गराएर जान्छन् भन्ने ठानिएको छ भने यो भन्दा हास्याष्पद सुरक्षा जांच अरु के हुन सक्छ ? त्यसैले त यस्ता सुरक्षा जांचमा अहिलेसम्म एउटा माखो पनि परेको छैन । तर यसबाट र्सवसाधारण यात्रुहरुले जुन असुविधा र तनाव भोग्न परिरहेको छ, सुरक्षाकर्मीहरुको जुन अस्लील दुर्वाच्य सुन्न र अभद्र एवं अपमानजनक व्यवहार खप्न परिरहेको छ, त्यो भुक्तभोगी नेपालीहरुले भोगिरहेकै व्यथाकथा हो, यहां दोहर्याइरहनै पर्दैन।
हाम्रा सुरक्षा विशेषज्ञ तथा अधिकारीहरु उरन्ठेउला र सन्की छन् भने उनीहरु कहिले मोटरसाइलमा चढ्नेको हेलमेटमा भाइजर लाउन नपाइने उर्दी जारी गर्छन् । कहिले फूल हेलमेट लाउन पाईंदैन, हाफ हेलमेट मात्र लगाउन पाइने आदेश दिन्छन् । कहिले यस्तो उस्तो हेलमेट होइन, पूरा कान छोप्ने हेलमेट लगाउन पर्ने निर्देशन दिन्छन् । कहिले मोटरसाइकलमा दर्ुइजना मान्छे चढ्न नपाइने फरमान जारी गर्छन् र जनताको आमअवज्ञा र ट्राफिक प्रहरीको समेत असहयोग भएपछि लुसुक्क फरमान फिर्ता लिन्छन् । हुंदा हुंदा उनीहरुले अहिले पनि शहरबजार बाहिरका सुरक्षा जांच क्षेत्रभित्र आवत जावत गर्ने मोटरसाइकल सवारहरुले हेलमेट लाउन नपाउने, मोटरसाइकल पनि चढ्न नपाउने, हेलमेट फुकालेर मोटरसाइकल घिच्याउंदै लानु पर्ने नियम कडाइका साथ लागु गर्दै आइरहेका छन् । होइन, विद्रोहीहरुले बम र गोली गठ्ठा पनि टाउका माथि राखी हेल्मेटले छोपेर ल्याउँछन् भनी ठान्या छन् कि क्या हो शासक र तिनका सुरक्षाकर्मीहरुले ? अन्यथा पैतालादेखि टाउकोसम्म छामेर ‘सुरक्षा जाँच’ गरिसकेपछि पनि मोटरसाइकल सवारहरुले हेलमेट लाउन नहुनुको कारण के ? त्यस माथि सुरक्षा जाँच क्षेत्रभित्र मोटरसाइकल चढ्न नपाइने ‘नियम’ले उकालो लाग्नु पर्ने मोटरसाइकल सवारले आफ्नो मोटरसाइकल घिच्याउँदा आफू झुन्डिनका लागि आफै क्रस बोक्न वाध्य पारिएका जिसस क्राइष्टको पीडा महसुस गर्नु पर्छ।
सुरक्षाको कारण दर्शाई गत वर्षमाघ १९ गतेदेखि र्सवसाधारण जनताले उपभोग गर्ने संचार सेवाहरु पटक पटक अवरुद्ध गर्ने गरिएको छ । दूरसंचार कम्पनीहरुले अग्रिम रकम लिएर वितरण गरेको प्रिपेड मोबाइल फोनधनीहरुलाई केही महिना अघि जिल्ला प्रहरी कार्यालय हनुमानढोकाको केरकार शाखामा पटकेचोर तथा डा“काहरुलाई बयान दिन लगाए भन्दा चर्को लिखित बयान दिन र त्यसलाई सरकारका उच्च अधिकारीहरुबाट प्रमाणित समेत गराउन वाध्य पारिएको थियो । हैन, मोबाइल फोनले नेपालको सुरक्षा व्यवस्थामा के असर गर्छ हं ? टाढाको के कुरा गर्ने π छिमेकी भारतमा पनि सशस्त्र विद्रोह गरिरहेका माओवादीहरु सशक्त रुपमा क्रियाशील छन् । सशस्त्र विद्रोह गरिरहेका अनेक पृथकतावादी समुहहरु छन् । हातहतियारबाट लैस थरिथरिका डांका समूहहरु छन् । हतियारधारी गुण्डाहरु पालेर बसेका अनेक तस्कर समूहहरु छन् । अन्तराष्ट्रिय संजाल भएका थरिथरिका आतंकवादी संगठनहरु छन् । तर पनि त्यहा“का रिक्सा चालकदेखि सुदूर गाउंका किसानहरुले समेत मोबाइल फोन निर्धक्क प्रयोग गर्न पाइरहेका छन् । तर मोबाइल फोनले भारतको सुरक्षा व्यवस्थामा असर नगर्ने रहेछ त । यसबाट मोबाइल फोनले नेपालको सुरक्षा व्यवस्थालाई कमजोर पार्छ भन्नु बकवास मात्र हो, यसको मूल उद्देश्य जनतालाई अनावश्यक दुःख दिएर उनीहरुलाई जे गरे पनि हुने नीरिह भेडाबाख्रा ठान्नु मात्र हो भन्ने प्रमाणित हुन्न र ?
सुरक्षाकर्मीहरुबाट हुने बेला न कुबेलाको घर खानतलासीबाट पीडित काठमाडौं उपत्यका शहरी क्षेत्रका घरधनीहरु ‘सुरक्षा व्यवस्था चूस्त पार्ने’ नाममा केही महिना अघि फोटो र पा“च रुपियाको टिकट सहित आफ्नो र बहालमा बस्नेको विस्तृत विवरण सहितको ‘निवेदन’ प्रहरीलाई बुझाउनु पर्ने गृह मन्त्रालयको फरमानले आतंकित बनेका थिए । यति मात्र होइन छोटो समयका लागि घरधनी वा बहालमा बस्नेको नातेदार तथा इष्टमित्रहरु आएको भए त्यसको विवरण समेत समयमै पेश गर्नु पर्ने, नगरेको खण्डमा कडा कार्वाही भोग्नु पर्ने धम्की समेत दिइएको थियो । आफ्नै नागरिकहरुलाई तर्साएर, धम्क्याएर, आतंकित पारेर गरिने यो कस्तो सुरक्षा व्यवस्था हो ? कस्को नातेदार वा इष्टमित्र कतिबेला आउंछ जान्छ, त्यसको विवरण राख्न र भनेको समय भित्र प्रहरीलाई बुझाउन अब घरघरमा चौबीसै घण्टा डिउटी गर्ने रिसेप्सनिष्टको व्यवस्था गर्नु पर्ने भयो । के यो सम्भव छ ? कसले व्यहोर्छ त्यसको लागि खर्च ? विवरणमा टा“स्नका लागि फोटो खिचाउन लाग्ने खर्च कसले व्यहोर्छ । विवरण सरकारलाई चाहिएको हो, घरधनी र घरमा बस्नेहरुलाई होइन, त्यस विवरणलाई पनि निवेदनको संज्ञा दिएर रु. ५।- को टिकट टांस्न लगाउनुको अर्थ के हो?
माथिका सबै व्यथाकथाहरु जनताको मानमर्दन गर्ने, उनीहरुको मनोबल गिराउने, उनीहरुलाई निरीह भेडाबाख्रा ठान्ने, उनीहरुलाई जे गरे पनि हुन्छ भन्ने सत्ताधारीहरुको अपराधिक दृष्टिकोण र व्यवहार हो, राज्य आतंक हो । के सत्ताधारीहरुको शत्रु भनेको जनता नै हुन् त ? सत्ताधारीहरुको यस्तो अपराधिक दृष्टिकोण र व्यवहारको सबै स्वाभिमान जनताबाट सशक्त विरोध हुनु पर्छ, अन्यथा भेडाबाख्रा हुन तयार हुनु पर्छ ।
Popularity: 16%
January 30th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी २९-
त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरु जाडो विदापछि सोमबारदेखि खुल्नुपर्ने भए पनि अकस्मात् माघ २७ गतेसम्म विदा लम्ब्याइएको सूचना जारी गरिएको छ।
माघ २६ गते राजाले घोषणा गरेको विवादास्पद नगर निर्वाचनको मिति हो। त्यो दिनको ३ दिन अगाडि र ३ दिन पछाडिसम्म माअोवादीले साताव्यापी नेपाल बन्दको आह्वान गरेका छन्।
यसबीच, सात दल समर्थक आठ विद्यार्थी संगठनहरु पनि चर्को रुपमा निर्वाचनविरोधी आन्दोलनमा लागिरहेका छन्। क्याम्पस खुल्दा विद्यार्थी आन्दोलन अझ चर्कनसक्ने भएकोले अकस्मात् सूचना जारी गरी सरकारले विदा लम्ब्याउन लगाएको हुनसक्ने अनुमान गरिएको छ।
Popularity: 16%
January 29th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी २९-
सरकारले सुरक्षाको कारण देखाउँदै पछिल्लो पटक जनकपुरमा मोबाइल बन्द गरेको छ। यसअघि काठमाडौंमा माघ ७ गतेको सात दलको प्रदर्शनलाई असफल पार्न माघ ५ गते मोबाइल सम्पर्क विच्छेद गराइएको थियो।
पछि प्रिपेड मोबाइल खुला गरिए पनि हालसम्म पोस्टपेड मोबाइल भने बन्द नै गरिएको छ। त्यसैगरी विराटनगर, धरान, पोखरामा पनि प्रिपेड मोबाइल बन्द गरिएको छ।
एक वर्ष अगाडि माघ १९ मा राजाले सत्ता आफ्नो हातमा लिएपछि ६ महिनासम्म मोबाइल बन्द गरिएको थियो। पछि पुनः दर्ता फाराम भराएर मोबाइल खुला गरिएको भए पनि अकस्मात् फेरि सरकारले मोबाइल बन्द गराएको हो।
Popularity: 15%
January 29th, 2006
नाम फिर्ता लिने म्याद समाप्त
माअोवादीको कडा चेतावनी
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी २९-
नगर निर्वाचनका लागि अस्ति नाम दर्ता गराएकाहरुले नाम फिर्ता लिने म्याद शनिबार समाप्त भएको छ भने अन्तिम नामावली आज सार्वजनिक गरिँदैछ।
शनिबार काठमाडौंमा नाम फिर्ता लिन आएका उम्मेदवारहरुमध्ये कतिले आफूलाई थाहै नदिइकन उम्मेदवारी मनोनयन दर्ता गराइएको गुनासो गर्दै थिए त कसैले पारिवारिक दबाबका कारण, कसैले धम्कीका कारण नाम फिर्ता लिएको बताउँदै थिए।
यसैबीच, निर्वाचनमा उम्मेदवार नबन्न र प्रचार-प्रसार नगर्न माअोवादीको उपत्यका ब्युरोले शनिबार विज्ञप्तिमार्फत् कडा चेतावनी दिएका छन्। यो अनुरोधलाई बेवास्ता गरेमा गम्भीरभन्दा गम्भीर परिणाम भोग्न तयार रहन गम्भीर चेतावनी दिइन्छ, माअोवादीको वक्तव्यमा भनिएको छ।
उता, नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले पनि निर्वाचनमा सहयोग नगर्न सबै राष्ट्रसेवक कर्मचारीलाई आह्वान गर्नुभएको छ।
Popularity: 16%
January 29th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी २७-
पोखरामा नेपाल बन्दको आह्वान गरिरहेका सात दलका कार्यकर्ताहरुमाथि प्रहरीले गोली चलाउँदा एक सर्वसाधारण घाइते भएका छन्। खुट्टामा गोली लागी घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ।
प्रहरीले स्थानीय शिवचोकमा रहेको प्रदर्शनकारीमाथि गोली प्रहार गरेको थियो । त्यसैगरी पोखरा कै नयाँ बजारचोकमा भएको दोहोरो भिडन्तमा प्रहरीले आन्दोलनकारीलाई तितरवितर गर्नका लागि ५० सेल भन्दा बढी अश्रुग्याँस प्रहार गरेको थियो। प्रहरीको साथमा भएको अश्रुग्याँस समाप्त भएपछि प्रहरी भागेका थिए।
घटनामा दुई दर्जन भन्दा बढी प्रदशनकारी र प्रदर्शनकारीको ढुङ्गा लागेर एक प्रहरी निरीक्षक घाइते भएका छन्।
पोखरामा बन्दका कारण जनजीवन ठप्प हुन पुगेको थियो।
Popularity: 15%
January 27th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी २७-
दोलखामा पनि बन्द आह्वान गर्दै निस्किएको जुलुसमा प्रहरीले हवा ई फायर गरेको छ ।
दोलखाको सदरमुकाम चरिकोटको वि भिन्न भागबाट बन्दको आह्वान गर्दै निक्लिएको जुलस सातदोबाटो पुगेपछि प्रहरीले हस्तक्षेप गर्दै हवाइ फायर गरेको थियो।
त्यस क्रममा प्रहरी र आन्दोलनकारीबी च ढुङ्गा हानाहान भएको थियो । भिडन्तका क्रममा दुई प्रदर्शनकारी र एक प्रहरी निरीक्षक घाइते भएका छन्।
प्रदर्शनबा ट प्रहरीले पूर्व सांसद पशुपति चौंलागाइ, प्ररायुसंघका केन्द्रीय सदस्य बाबुकाजी कार्की र नेविसंघका केन्द्रीय सदस्य किरण लामा लगायत एक दर्जन भन्दा बढीलाई पक्राउ गरेको छ।
Popularity: 15%
January 27th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी २७-
नेपाल अधिराज्यभरका ५८ महानगरपालिका , उपमहानगरपालिका र नगरपालिकाहरुका ४१४६ पदका लागि माघ २६ गते हुन लागेको निर्वाचनका लागि बिहीबार १ हजार जति मात्रै उम्मेदवारी मनोनयन दर्ता भएको छ।
ती मध्ये पनि एक तिहाई निर्विरोध भएका छन्।
काठमाडौं महानगरपालिकामा १० जना मेयर र ८ जना उपमेयरका लागि मनोनयन दर्ता भएको छ। नाम चलेका एउटै पार्टीले पनि उम्मेदवारी दिएका थिएनन्। काठमाडौंका सबै वडामा वडाअध्यक्षका उम्मेदवार पनि भेटिएनन् , सदस्यको त कुरै छाडौँ।
उम्मेदवार नभएका स्थानमा पुनः सूचना जारी गरी अलग्गै कार्यक्रम ल्याइने निर्वाचन आयोगले जनाएको छ।
Popularity: 16%
January 27th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी २७-
माओवादीको भातृ संगठन अखिल क्रान्तकारीले भोजपुरको जिल्ला शिक्षा कार्यालयमा बम विस्फोट गरी क्षति पुर्याएका छन।
१० जनाको सशस्त्र समुहले रातको ७.३० ब जे कार्यालयको मुख्य ढोकामा कुकर बम विष्फोट गराएका थिए। विष्फोटबाट लेखा शाखा लगायत दुई कोठा ध्वस्त भएको छ।
अखिल क्रान्तिकारीले समुदायका विद्यालयहरु फिर्ता लिनु पर्ने, स्रोत केन्द्रहरु खारेज गर्नु पर्ने लगायतका विभिन्न आठ सूत्रीय मागहरु शिक्षा कार्यालयसँग राखेकोमा पूरा नगरेको भन्दै बम विष्फोटन गरेको जनाएको छ।
Popularity: 15%
January 27th, 2006
- शिव शर्मा चञ्चल
चुनाव भएरै छाड्छ, रोकतोक गर्नेलाई कडा कारवाही गरिने छ , गृहमन्त्री कमल थापा यसरी नै चुनाव प्रचारमा कुर्लिदै हिडेका छन् । यता राजनितिक दलहरु कुनै पनि हालतमा चुनाव सफल हुन नदिने आक्रमक अभियानमा छन् । अहिले राज्य पक्ष वाहेक कुनै पनि पक्ष चुनावको पक्षमा देखिएका छैनन् । सत्ताधारीहरुलाई नै विश्वास छैन चुनाव हुन्छ भन्नेमा।
गृहमन्त्री कमल थापा कहिले चुनाव स्थगीत गर्नु पर्नै अवस्था आयो भन्छन् कहिले चुनाव भएर छाड्छ भन्छन् । पछिल्लो राजनैतिक घटनाक्रमले मुलुकको प्रतिकुल परिस्थितिमा चुनाव हुनेमा एकरति पनि विश्वास आम जनतामा छैन।
यो अवस्था स्वंय सत्ताधारीले नै गरिरहेका छन् । एक पछि अर्को गदै अत्तालिएको सत्तासिनहरु दलहरु माथि धरपक्कड गदै प्रतिवन्ध लगाइरहेको छ । दलहरुको व्यापक जनलहर सृजना हुने देखेर नै थरथर भएको सत्ताले एकाएक दलहरुलाई वन्दी वनाएर दिउसै कर्फ्यु लगायो र तानशाहको छर्लङ्ग नमुना देखाएरै छाड्यो । यो राज्य पक्षको पराजित मानसिकताको उदाहरण हो भन्नेमा कहि कत्तै दुविधा छैन । माओवादी संग सहकार्य गरी मुलुकको अग्रगामी निकासको वाटो खोजीरहेका संसदीय शक्तिहरुलाई आंतकारीका मतियार भनेर आरोप लगाउन समेत सत्ताका केही किराहरु लागिपरे र लागिरहेका छन् । भएन भनेर सञ्चार सम्पर्कका साधानहरु वन्द गरेको छ । जनताको मुख र आंखा थुनेर वेतुकको निर्वाचनको ढंवाङ फसेको छ।
निर्वाचन वहिष्कार गर्न चौतर्फी दवाव आइरहेको अवस्थामा पनि धर्मराउदै नगर निर्वाचनको नौटंकी प्रचारमा सत्तासिनहरु लागिरहेका छन् । एकातिर राज्यले चुनावको घोषणा गरेको छ अर्कोतिर उमेदवारहरुको कुनै औपचारिक घोषणा भएको छैन । जवकी तोकिएको धरापरुपी आसन्न निर्वाचन आउन १५ दिन भन्दा वढी छैन । जनकपुरमा नगर निर्वाचनमा उम्मेदवारी दिए लगत्तै उनको माओवादीले हत्या गरे । उम्मेदवारको सुरक्षा दिन नसक्नेले चुनाव प्रचारप्रसार गर्नुको अर्थ के छ । यसको जवाफ चुनाव दौडाहमा निस्केका गृहमन्त्रीसंग पनि छैन।
यसरी खस्कदै गएको मुलुकको शान्ति सुरक्षा प्रति नाजवाफ सत्तासिनहरु व्यर्थैको व्यय भार खेपेर चुनावको अभियानमा छन् । अहिले देशव्यापी चुनाव को चर्को विरोध भइरहेको छ । चुनावमा उठने उम्मेदवारलाई व्यङ्गय गरेर आन्दोलनकारी दलहरुले कुकुर गधा मुसालाई उम्मेदावरको प्रतिक मानेर अभिनन्दन समेत गरिसकेका छन् । पोखरमा भएको कुकुर अभिनन्दनले त विदेशी पत्रकारलाई पनि प्रभावित पार्यो । न्युयोर्क टाइमस का पत्रकार र फोटो पत्रकार पोखरा नै आए । त्यो वारेमा यर्थाथ जान्नका लागि । हुन त अहिले मुलुकको दुर्घटित अवस्थाका कारण विदेशी पत्रकारहरु नेपाल आउने क्रम सामान्य नै भइसकेको छ । अहिले देशभरी नै निरंकुशताको विभिन्न प्रतिक वनाएर विरोधको यस्तो चरम अभियान शुरु भएको छ । विशेस गरी यो विरोधको शैली अव हुने भनिएको निरंकुश शैलीको निर्वाचनका लागि केन्द्रित गरिएको हो।
दिनदिनै मुलुकमा तनाव आकाशिदै गएको छ । मन्त्रिहरु वेअर्थ देशदौडाहमा छन् । आफनो सत्ता धान्न उनिहरु जनता माझ अर्नगल प्रचार गदै चुनावमा सहभागी हुन घोक हाल्दैछन् । तर आमजनता अहिले चुनावको पक्षमा छैनन् । अर्कोतिर अहिले चुनाव हुने स्थिति पनि छैन । यदि चुनाव भइहाले पनि हिंसात्मक द्धन्द्ध हुने निश्चित प्राय छ । आफनो जीवन नै जोखिममा हालेर कोही पनि चुनावमा भोट हाल्न अघि सदैन । किनकी राज्य पक्षले चुनावमा कुनै सुरक्षा दिन सक्दैन । उसले दिएको सुरक्षाको ऐना अहिले नै हामी माझ घाम झै छर्लङ्ग भइसकेको छ।
यति हुदा हुदै पनि औचित्यहीन निर्वाचनको प्रचार प्रसारमा हिडने मकरतन्त्रहरुको केटौली वानी निख्रिएको छैन । जसरी हुन्छ निरंकुश शैलीको निर्वाचन गरेर अरु तानशाह लाद्ने दाउमा प्रतिगामीका हिमायतिहरु अहोरात्र लागेका छन् । कर्फु के का लागि रहेछ भन्ने कुरा पनि पुष्टि भइसकेकोछ । यो त सत्ताधारीहरुको हार मनस्थितिको उपज रहेछ । यदि नभएको भए अञ्चल प्रशासक नै किन कर्फ्युको समय पारेर राती राती निर्वाचनको प्रचार प्रसार गदै हिडनु पर्थेथ्यो त । आफै माइक वोकेर निर्वाचनमा भाग लिन अपिल गदै द्योलागिरी अञ्चलका प्रशासक रामजी विष्ट किन दौडनु पथ्र्यो र । उनलाई थप राजावादी हुन यो उत्कण्ठा जागेको हुन सक्छ।
हुन त अव राजा आउ देश वचाउ भन्नेहरु पनि थन्किसकेका छन् । उनिहरुले पनि राजाको एक वर्षो यो प्रत्यक्ष शासनमा कति देश वच्यो त भन्ने कुरा स्पष्ट रुपमा देखिसकेका छन् र वुझिसकेका छन् । वरु यो अवधिमा मुलुकमा अस्थिरता अरु जटिल भयो भन्ने कुराको भन्ने उनिहरुले हेक्का राखेका छन् की छैनन राखेका छैनन भने अव राख्नुपर्छ । लामो समय सम्म राजनितिक सक्रियता वाट केही टाढा रहेका पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले समेत राजालाई प्रत्यक्ष शासन त्याग्न आग्रह गर्नु भएको छ । साथै ससदीय शक्तिहरु संग सम्वाद थाल्न पनि आग्रह गर्नु भएको छ । राजालाई यस्तो आग्रह अन्तर्राष्ट्रिय क्षेत्रवाट पनि आएको छ । तर त्यो आग्रहलाई राजावाट सुनवाई अहिले सम्म भएको छैन । मुलुक अरु जटिल अवस्थामा पुगेको छ।
यस्तो गंभिरतालाई अलिकति पनि मन्न नगरी नगर निर्वाचनको तयारीमा जुटकोछ सत्ताका हिमायतिहरु । अशान्ति र अस्थिरताले दिनानुदिन गांज्दै लगेको मुलुकमा सहमतिको वातावरण वनाउनु पर्नैमा उल्टै अस्थिरता वढाउने असंवैधानिक निर्वाचनको तयारीमा जुटेको छ राज्य । यो हठ्ले मुलुकमा अराजकता वाहेक केही निक्लदैन । चुनाव स्थगन गरी समस्याको सही निकास तर्फराज्य लाग्नुपर्छ । अन्यथा यो शाही चुनाव केवल चुनावका लागि मात्र हुनेछ । यसैले वेलैमा चेतेर यसलाई मन्न गर्नु वुद्दिमतापूर्ण निर्णय हुनेछ । यो वास्तविकता वेलैमा चेतना भया
Popularity: 16%
January 26th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी २६-
शान्तिपूर्ण प्रदर्शनलाई रोक्न कर्फ्यु लगाएर नपुगेर नेताहरुलाई धरपकड गरी थुनामा राखेको विरोधमा सात दलको आह्वानमा आज नेपाल बन्द गरिँदैछ।
नेपाल बन्दको पूर्वसन्ध्यामा हिजो विद्यार्थी तथा सात दलले मसाल जुलुससहित विभिन्न कार्यक्रम गरेका थिए।
यसैबीच , सात दलले आज आयोजना गरेको बन्दलाई लिएर भारतीय दूतावास क्रुध्द भएको खबर छ। आजैका दिन भारतको गणतन्त्र दिवस पर्ने भएकोले भारतीय दूतावासले काँग्रेसलाई गुनासो गरेको र काँग्रेसले एमालेलाई गुनासो गरेको बुझिएको छ।
तर घोषणा भइसकेको कार्यक्रम भएकोले उनीहरुले केही गर्न भने सकेनन्। बरु भारतीय दूतावासले नै उनीहरुको केही अौपचारिक कार्यक्रम शनिबारका लागि सारेका छन्। यसको सूचना सरकारी मुखपत्रमा समेत प्रकाशित भएको छ। जसका कारण सरकारी मुखपत्रमा पनि बन्दको अप्रत्यक्ष रुपमा प्रचार हुन पुगेको छ।
Popularity: 16%
January 26th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी २६-
पाटन संयुक्त क्याम्पसमा कुकुर र गोरुलाई नगर निर्वाचनमा क्रमशः वडाअध्यक्ष र मेयर पदका उम्मेदवारको रुपमा सिंगारेर बुधबार जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा कयौं विद्यार्थी घाइते भएका छन्।
क्याम्पसको गेटबाट निस्कनेबित्तिकै प्रहरीले हस्तक्षेप गरी गोरु र कुकुरलाई लखेटेका थिए। उनीहरुले विद्यार्थीहरुमाथि अन्धाधुन्ध लाठी प्रहार गरेका थिए। विद्यार्थीहरुले पनि जवाफमा ढुंगा प्रहार गरेपछि त्यहाँको वातावरण तनावपूर्ण बन्न गएको थियो।
यसअघि चाबहिलमा पनि विद्यार्थीहरुले कुकुरलाई उम्मेदवार बनाई जुलुस निकाल्दा प्रहरीले हस्तक्षेप गरेको थियो। कुकुरलाई उम्मेदवार बनाउने सुरुवात भने पोखराबाट भएको हो।
पोखराबाहेक विराटनगरमा पनि यस्तो जुलुस निस्किसकेको छ।
Popularity: 15%
January 26th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी २६-
राजाको माघ १९ को कदमको चर्को आलोचना नगर्ने राप्रपा संस्थापन पक्ष र मेयरमा उठ्छु भन्दै कुर्लने प्रजापरिषद्ले पनि चुनावमा भाग नलिने भएपछि माघ २६ गते हुने भनिएको कथित निर्वाचनमा भाग लिने राष्ट्रिय सदभावना पार्टी मण्डल समूह एक्लो राष्ट्रिय पार्टी हुन पुगेको छ।
केही अघि माअोवादीले यही मण्डल समूहका एक उम्मेदवारको हत्या गरेका थिए।
राप्रपा र प्रजा परिषदले बुधबार चुनावमा भाग नलिने निर्णय गरेको हो। राप्रपाले चुनावका लागि वर्तमान अवस्था उपयुक्त नभएको भन्दै चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो।
आन्दोलनरत सात दलले त यसअघि नै चुनाव बहिस्कार मात्र हैन , असफल पनि पार्ने निर्णय गरिसकेको छ।
निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता गराउने दिन आज हो। यसपालि अधिकांश क्षेत्रमा उम्मेदवारसम्म भेटिएको छैन।
यसैबीच निर्वाचन आयोगले उम्मेदवारहरुको दुर्घटना बीमा गर्ने बताएको छ। उता , दरबारमा बुधबार राति बसेको बैठकले जसरी भए पनि निर्वाचन गराएरै छाड्ने निर्णय गरेको बताइएको छ।
Popularity: 16%
January 26th, 2006
एचकेनेपाल डट कम, जनवरी २५-
माओवादीले नेपालगञ्जमा सेना, प्रहरी, प्रशासनिक निकाय लगायतलाई लक्षित गरी मंगलबार राती आक्रमण गर्दा कम्तीमा १ सेना, १ प्रहरीको मृत्यु र पांच सुरक्षाकर्मी घाइते भएको कान्तिपुरले जनाएकोछ।
सोही घटनामा एक माओवादीको शव फेला परेको छ । केही माओवादी घाइते भएको प्रत्यक्षदर्शीले बताए।
माओवादीले राति आठ बजे जिल्ला प्रहरी र भृकुटी नगर वडाप्रहरी कार्यालयबाट आक्रमण थालेका थिए । उनीहरूले वडाप्रहरीमा पनि हमला गरे । कफ्र्यु लाग्नु एक घन्टा अघि आक्रमण भएकाले अधिकांश सर्वसाधारण घर पुग्न भ्याएनन् । माओवादीले कारागार शाखा, नेपाल राष्ट्र बैंक, प्रहरी गुल्म, प्रहरी तालिम केन्द्र, अञ्चल प्रहरी कार्यालयतिरसमेत आक्रमण प्रयास गरेका थिए । बम र गोलीका आवाज निकैबेरसम्म सुनिएको थियो । कतिपय स्थानीयवासीका घरका छतबाट समेत गोली चलाइएको थियो । जिल्ला प्रहरीमा आक्रमण हुँदा मंगलबार पक्राउ परेका सात दलका ६ नेता त्यही राखिएका थिए । उनीहरू सुरक्षति रहेको स्रोतले जनायो ।
माओवादीले भेरी प्राविधि शिक्षालय परिसमा पनि आक्रमण गरे । राझा विमानस्थल र कोहलपुरस्थित सशस्त्र प्रहरी बल गण अगाडि पनि केहीबेर फायरिङ भयो । प्रजिअ विनोद अधिकारीले समयमै प्रहरी कार्यालयमा सेना र सशस्त्र प्रहरी बल पुर्याइएकाले ठूलो क्षति हुनबाट जोगिएको बताउनुभयो । आक्रमणको सूचना पाएपछि जिल्ला प्रहरी सुरक्षार्थ मंगलबार सेना र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो । वडाप्रहरीमा शनिबारै सेना तैनाथ गरिएको थियो । बुधबार यहाँ गृहमन्त्री कमल थापा आउने कार्यक्रम छ ।
Popularity: 16%
January 25th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी २५-
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले संविधान सभाको निर्वाचन नभएसम्म वर्तमान आन्दोलन नटुंगिने बताउनु भएको छ। कोइरालाले मंगलबार देशवासीका नाममा अपील जारी गर्दै उक्त कुरा बताउनुभएको हो।
अपिलमा भनिएको छ-’ संसदको पुनर्स्थापना मार्फत् जनउत्तरदायी सरकारका माध्यमबाट माओवादीसँग वार्ता वा सहमतीबाट अन्तरिम सरकार गठन गरी संविधान सभाको निर्वाचन नभएसम्म आन्दोलन टुंगिने छैन । मुलुक जटिल संकटमा फसेको अवस्थामा संकट मुक्त गर्ने राजनीतिक दल, नागरिक समाज र माओवादीको समेत ध्यान केन्द्रित भएको अवस्थामा राजा कागजी नगर निर्वाचन गराउनमा केन्द्रित रहेको छ।
अपिलमा कोइरालाले संयुक्त राष्ट्रसंघ लगायत अन्तराष्ट्रिय समुदायलाई सरकारी नगर निर्वाचनलाई बैधता नदिन आग्रह गर्नुभएको छ । सेनाको घेराभित्र मतपेटिका राखी गराउन लागेको कागजी निर्वाचनबाट जनताका प्रतिनिधि नभई निरंकुशतन्त्रको आयु लामो पार्ने कागजी उम्मेदवार जिताउने षडयन्त्र भएको दावी गर्दै सेनाको घेरामा निष्पक्ष र स्वतन्त्र निर्वाचन हुन नसक्ने ठहर गर्दै बहिष्कारमा उत्रन देशबासीमा अपिल गरिएको छ।
सभापति कोइरालाले सात राजनीतिक दल र माओवादीले १२ बुँदे समझदारी गरी बर्तमान द्वन्द्वसमाधानतर्फ उन्मुख भइसकेको अवस्थामा पनि राजा देशलाई युद्ध, अशान्ति र द्वन्द्वमा धकेल्न उन्मूख भएको कोइरालाको आरोप छ । अपिलमा कोइरालाले भनेका छन् -’ राजाको सरकार शान्तिपूर्ण संर्घषमा उत्रेका नेपाली जनताका विरुद्ध कुटपिट गरि कर्फ्र्यू र निषेधाज्ञाबाट सबै जनतालाई आंतकीत गर्दै नेपाललाई बन्दी गृहमा परिणत गर्नेतर्फ उन्मुख छ ।’
Popularity: 16%
January 25th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी २५-
चक्रपथभित्र सरकारले लगाउँदै आएको निषेधाज्ञा मंगलबारदेखि हटाए पनि प्रहरी प्रदर्शनकारी भिडन्त रोकिएको छैन। मंगलबार भएको भिडन्तमा तीन जना गम्भीर घाइते भएका छन् भने एक दर्जन जति घाइते भएका छन्।

प्रहरीको लाठी प्रहारले घाइते प्रदर्शनकारी।
प्रहरीले मंगलबार पहिले अश्रुग्यास, त्यसपछि जथाभावी लाठीचार्ज र पछि कयौं पटक पानीको फोहोरा प्रहार गरेको थियो। प्रहरीले प्रहार गरेको पानीको फोहोराबाट च्यानल नेपालका क्यामेराम्यान चन्द्र विष्टले बोकेको क्यामेरामा क्षति पुगेको छ। विष्टले एचकेनेपालसित कुरा गर्दै प्रहरीले जानाजानी आफूतर्फ पानीको फोहोरा तेर्स्याएको आरोप लगाए।

पानीको फोहोराले क्षतिग्रस्त च्यानल नेपालको क्यामेरा।
पानीको फोहोराबाट नेपाल विद्यार्थी संघका कल्याण गुरुङ्ग र लेखनाथ पोखरेल बेहोस भएका थिए। प्रहरीले, अखिल एकिकृतका कोषाध्यक्ष जीवन गौतमलाई सडकमा लडाएर लाठी र बुटले प्रहार गर्दा गम्भीर बेहोस भएपछि उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ । नेपाली कांग्रेस काठमाण्डौं क्षेत्र नं २ का महासमिति सदस्य गोपाल सुबेदी पनि घाइते भएका छन् । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष विश्वप्रकाश शर्मा घाइते अवस्थामा पक्राउ परेका छन् भने जनमोर्चा नेपालका केशव नेपाल पनि घाइते भएका छन् ।
Popularity: 16%
January 25th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी २५-
सरकारले मंगलबार थप ३३ जना नेतालाई शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा ३ महिने पूर्जी दिएको छ। भक्तपुर दुवाकोटमा बन्दि बनाइएका सात दलका ३३ जना नेता तथा कार्यकर्तालाई तीन महिने थुनुवा पुर्जी दिएको हो।
मंगलवार पुर्जी पाउनेहरुमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्य, नुवाकोट जिल्लाका सभापति जगदीश नरसिंह केसी, धादिङ जिल्ला सभापति रामनाथ अधिकारी, नेपाल विद्यार्थी संघका अध्यक्ष महेन्द्र शर्मा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष गुरुराज घिमिरे, पूर्व सांसद् दिपक गिरी लगायतका छन् ।
Popularity: 16%
January 25th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी २३-
आइतबार पशुपति आर्यघाटमा भौतिक शरीरलाई विदा गरिए पनि चर्चित गायिका तारादेवी नेपाली सांगीतिक जगतकी ताराको रुपमा सदाका लागि रहने भएकी छिन्।
उनको शनिबार राति १२ बजे निधन भएको थियो। पार्किन्सनरोगबाट पीडित तारादेवीको थापाथलीस्थित नर्भिक क्लिनिकमा उपचार गर्दागर्दै निधन भएको हो।
२००२ सालमा काठमाडौंको इन्द्रचोकमा जन्मिएकी तारादेवीले चार हजार भन्दा बढी गीतमा स्वर भरेकी छिन्।
आधुनिक, राष्ट्रिय, लोकगीत र भजन बढी मात्रामा गाउने तारादेवी लामो समयदेखि बाथरोगबाट पिडित थिइन । स्थापनाकालदेखि नै रेडियो नेपालसँग आवद्ध रहेकी तारादेवीको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको थियो।
यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि तारादेवीको पार्थिव शरीर उनकै निवास नयाँ बानेश्वरमा राखिएको थियो।
Popularity: 16%
January 23rd, 2006
Previous Posts