Archive for February, 2006
एचकेनेपाल डट कम, फेब्रुअरी २८-
हंगकंग, अफ्गानिस्तानमा २ साता पहिले अपहरणमा परेका एक जना नेपालीको मृत्यु भएको छ भने अर्को नेपाली सकुशल मुक्त भएका छन्।
अफ्गानिस्तानको गृह मन्त्रालयलाई उदृत गर्दै एएफपीले जनाए अनुसार एक अपराधिक गिरोहले २ साता अघि उनीहरुको अपहरण गरेका थिए।
सोमबार राति अध्यांरो समयमा बन्धकहरुलाई फ्यांकेर भागेको सहायक गृहमन्त्री अब्दुल मालेक सिदिकीले जनाएकाछन् ।
उनका अनुसार मृत्यु हुनेमा जीतनारायण नाम गरेको नेपालीको झाडाबान्ताका कारण मृत्यु भएको छ भने अर्का मुक्त भएका नेपालीको नाम तमनसिंह राना रहेको जनाइएको छ।
दुबैजना लन्डण मुख्य कार्यालय रहेको सेकुरिटी ग्रुप अन्तर्गत ब्रिटीश एड एजेन्सीमा सुरक्षाकर्मीका रुपमा कार्यरत रहेको जनाइएकोछ।
मुक्त भएका तमनसिंह रानालाई पाकिस्तानस्थित राजदूतमा पठाइने जनाइएको छ।
Popularity: 16%
February 28th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २८-
पाइला-पाइलामा खतरा रहेको मानिने इराकमा नेपालीहरुलाई काम गर्न जाने अनुमति दिने तयारी सरकारले गरिरहेको छ। नेपालीहरु भ्रमणको नाममा इराकमा काम गर्न जाने क्रम नरोकिएपछि श्रम तथा यातायात ब्यबस्था मन्त्रालय प्रतिबन्ध फुकुवाको पक्षमा देखिएको हो।
भ्रमणका नाममा नेपालीहरु इराकमा काम गर्न जानेक्रम नरोकिएका कारण निश्चित र्सतसहित प्रतिबन्ध फुकुवा गर्नुपर्ने स्थिति देखिएको श्रम सचिव दिपेन्द्रविक्रम थापालाई उद्धृत गर्दै स्वतन्त्र समाचार सेवाले जनाएको छ।
अवैधरुपमा भारत लगायतका मुलुकबाट इराकमा नेपाली काम गर्न जाने क्रम बढेकाले प्रतिबन्ध फुकुवा गर्नुपर्ने स्थिति देखिएको उहाँको भनाई छ।
प्रतिबन्ध लगाउँदा बढी रकम तिरेर भएपनि नेपालीहरु इराकमा गैरहेका कारण सरकार फुकुवाको पक्षमा देखिएको सचिव थापाले बताउनुभयो।
इराकमा नेपालीहरुले मासिक एक लाख रुपैयाँसम्म पाउने गरेका छन्।
इराकमा केही वर्षअघि १२ नेपालीको सामूहिक हत्या भएपछि त्यता जानेको संख्यामा केही कमी आएको थियो । तर अहिले इराकमा काम गर्न जाने नेपालीको संख्या दैनिक रुपमा छ।
सरकारले इराक-अमेरिका युद्ध शुरु भएपछि त्यहाँ औपचारिक रुपमा काम गर्न जान प्रतिबन्ध लगाएको थियो। तर निरन्तररुपमा नेपालीलाई भारतको दिल्लीबाट पठाउने क्रम जारी छ।
Popularity: 16%
February 28th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २८-
मिनि संसदको चुनाव मानिने नेपालका ठूला विश्वविद्यालयहरु त्रिभुवन विश्वविद्यालय र महेन्द्र संस्कृत विश्वविद्यालयमा आज स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुँदैछ। बिहान आठ बजेदेखि नै मतदान सुरु हुनेछ र आजै मतगणना पनि हुनेछ।
यसपालि पहिलो पटक पुल्चोकको इञ्जिनियरिङ क्याम्पसमा इलेक्ट्रोनिक मतदान हुँदैछ।
त्रिवि अर्न्तर्गत ६१ वटा र मसंवि अर्न्तर्गत १२ वटा क्याम्पसमा निर्वाचन हुने भए पनि २० वटा आंगिक र मसंवि दाङमा निर्विरोध भइसकेको छ । अनेरास्ववियू १२ र नेपाल विद्यार्थी संघ ८ स्थानमा निर्विरोध भैसकेका छन्।
उपत्यकामा त्रिचन्द्र बहुमुखी क्याम्पसबाहेक २५ वटा क्याम्पसमा विद्यार्थीहरुले निर्वाचनमा स्वतन्त्र प्रतिस्पर्धा गर्दैछन् । त्रिचन्द्रमा विद्यार्थी संगठनको उम्मेदवारी दर्ताको विषयलाई लिएर विद्यार्थी संगठन र निर्वाचन आयोगको समितिबीच विवादपछि समितिले राजीनामा दिएपछि निर्वाचन स्थगित भएको हो । सोमबार साँझ मात्र पुनः अर्को निर्वाचन समिति बनेको र सो समितिले विद्यार्थी संगठनसँग परामर्श गरी निर्वाचनको अर्को मिति तोक्ने बताइएको छ।
राजाको निरंकुश शासन विरुद्ध आन्दोलनरत सात राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनले स्ववियू निर्वाचनमा मित्रवत राजनीति प्रतिस्पर्धा गरी निर्वाचनलाई आन्दोलनकै एक अंग मानेका छन्।
निर्वाचनमा कुनै किमिसको विवाद सिर्जना भएमा आठ विद्यार्थी संगठन सम्मिलित समितिले सुल्झाउने छ । उपत्यकामा एमाले सम्बद्ध अनेरास्ववियू र नेपाली काग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ।
Popularity: 16%
February 28th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २८-
सर्वोच्च अदालतको सोमबारको आदेशले काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालासहित काँग्रेसका १६ नेता रिहा भएका छन्।
परमानन्द झा र गौरी ढकालको संयुक्त इजलासले नेपाली काँग्रेसका १६ र संयुक्त जनमोर्चाका दुई नेतालाई रिहा गर्न सरकारलाई आदेश दिएको हो। ती नेताहरुलाई काठमाडौंका विभिन्न स्थानबाट नगर निर्वाचन अगाडि गिरफ्तार गरिएको थियो।
रिहा हुने काँग्रेसका नेताहरुमा महन्थ ठाकुर, रामवरण यादव, लक्ष्मण घिमिरे, शेखर कोइराला, तीर्थराम डंगोल, भिमसेन दास प्रधानसहितका छन्। संयुक्त जनमोर्चाका घनश्याम शर्मा पौडेल र हरि आचार्य पनि रिहा भएका छन्।
अब काँग्रेसका नरहरि आचार्य र रामचन्द्र पौडेलमात्रै हिरासतमा रहेका छन्। उहाँहरुले आफूहरुको राजनीतिक लडाईँ भएकोले अदालतमा मुद्दा हालेर नछुट्ने बताएका छन्। एमाले महासचिव पनि स्थानहदमा हुनुहुन्छ। यसैगरी नागरिक आन्दोलनका अगुवाहरु डा देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी र श्याम श्रेष्ठले पनि अदालतबाट नछुट्ने अडान लिएको बुझिएको छ।
Popularity: 16%
February 28th, 2006
एचकेनेपाल डट कम, फेब्रुअरी २७-
पोखरा, माओवादीले पोखराको व्यस्त बजार चिप्लेढुङ्गामा आज अपरान्ह करिव पौने २ बजे ग१च ९७३५ नम्बरको सेनाको गाडीलाई लक्षित गरि गराइएको बम बिस्फोटनमा कम्तीमा १२ सर्वसाधारण घाइते भएकाछन् भने ३ जना गम्भिर घाइते भएकाछन्।
समाचार स्रोतले जनाए अनुसार घाइते भएका मध्ये अधिकांश फुटपाथमा ब्यापार गरि बस्नेहरु भएको बताइएको छ। बिस्फोटमा परि सेनाको गाडीको झ्यालका सिसाहरु फुटेकाछन्। सेनाको गाडीभित्र एक कर्णेलसहित केही सेना रहेको जनाइएकोछ।
घाइतेहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पद्मा नर्सिङ्ग होममा उपचार भैरहेको जनाइएकोछ।
Popularity: 16%
February 27th, 2006
एचकेनेपाल डट कम, फेब्रुअरी २७-
काठमाडौं, पश्चिम पाल्पाको बल्ढेङगढी र सत्यवती क्षेत्रमा हिजो दिउंसो सुरक्षाफौज र माओवादीबीच भएको दोहोरो भिडन्तमा कम्तिमा १६ माओवादीको मृत्यु भएकोछ भने ५ सैनिक घाइते भएकाछन्।
सैनिक जनसम्पर्क निर्देशनालयले जनाए अनुसार पाल्पा र अर्घाखांचीको सीमा क्षेत्रमा दिउंसो २ बजेदेखि करीव २ घण्टा भएको भिडन्तपछि खोजतलास गर्दा १६ माओवादीको शव भेटिएको थियो।
घटनास्थल सदरमुकाम तानसेनदेखि ४५ किलोमिटर पश्चिम पर्ने उक्त क्षेत्रमा थप सुरक्षा बल परिचालन गरिएको पनि जनाइएकोछ।
Popularity: 16%
February 27th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २६-
हिन्दूहरुका आराध्यदेव शिवको पूजा अर्चना गर्दै आज विश्वभरका हिन्दूहरुले शिवरात्री मनाउँदैछन्। शिवरात्रीका अवसरमा काठमाडौंको पशुपतिमा शनिबार रातिदेखि नै भक्तजनहरुको ठूलो घुँइचो लागेको छ।
आज एकाबिहानै तीन बजेदेखि नै पशुपतिका ढोका दर्शनका लागि खोलिएका छन्। पशुपति क्षेत्रलाई झकिझकाउ पारी सजाइएको छ भने अशान्तिको आशंकामा सुरक्षा व्यवस्था पनि एकदमै कडा पारिएको छ।
आयोजकहरुले यस पटक शिवरात्रीका लागि पोहोरभन्दा बढी दर्शनार्थी आएको हुनसक्ने बताएका छन् तर पूर्ण तथ्याङ्क भने प्राप्त भइसकेको छैन।
Popularity: 16%
February 26th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २६-
पोखराको छोरेपाटनमा शनिबार साँझ भएको बम विस्फोटमा पाँच निर्दोष सर्वसाधारण घाइते भएका छन्। घाइते हुनेहरुमा दुई जना नाबालक, दुई महिला र एक बटुवा रहेका छन्।
छोरेपाटनमा रहेको सशस्त्र प्रहरीको चौकीलाई लक्षित गरी विस्फोट गराइएको थियो। विस्फोटका लागि टाइम डिभाइसको प्रयोग गरिएको हुनसक्ने अनुमान सुरक्षाकर्मीले गरेका छन्।
घाइते मध्ये गम्भीर भएका एक जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बाँकीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
विस्फोटबाट घाइते हुने दुई बालक त्यहीँ खेलिरहेका र दुई महिला तरकारी बेचिरहेको बुझिएको छ। अर्का एकजना भने बाटोमा हिँड्दै गर्दा विस्फोटमा परेका थिए।
पोखरा ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने माअोवादीको नयाँ रणनीतिअन्तर्गत ढाडमा पर्ने गर्छ र यहाँ माअोवादीहरुले आफूहरुको चार महिने युध्दविराम भंग भएदेखि नै लगातार आक्रमण गर्दै आएको छ। शुक्रबार मात्रै उनीहरुले आफूहरुका कार्यकर्ता सुरक्षाकर्मीहरुको हातबाट मारिएको विरोधमा कास्की बन्द गरेका थिए।
Popularity: 16%
February 26th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २६-
नेपालगञ्जको राँझा विमानस्थलमा माअोवादीहरुले शनिबार बिहान गरेको आक्रमणमा एक जना सुरक्षाकर्मीको ज्यान गएको छ। त्यसैगरी तीन जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। माअोवादीतर्फको क्षतिका बारेमा जानकारी प्राप्त भइसकेको छैन।
बिहान ११ बजेतिर नेपालगञ्जको व्यस्त रहने उक्त विमानस्थलमा माअोवादीहरुले फायरिङ गरेका थिए। यसअघि पनि पटक-पटक माअोवादीहरुले त्यहाँ आक्रमण गरिसकेका छन्।
त्यसैगरी माअोवादीहरुले महेन्द्र राजमार्गबाट ९ ट्याङ्कर पेट्रोलियम पदार्थ बोकेको गाडी आफ्नो नियन्त्रणमा लिएका छन्।
Popularity: 16%
February 26th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २५-
नेपाली काँग्रेसका प्रवक्ता कृष्णप्रसाद सिटौला शुक्रबार पुनः सर्वोच्च अदालतको आदेशबाट मुक्त भएका छन्। यसअघि सर्वोच्चकै आदेशबाट रिहा भएका सिटौलालाई दुई दिन नहुँदै पुनः गिरफ्तार गरिएको थियो।
छाड्न भनिसक्दा पनि किन फेरि पक्रिएको भनी सर्वोच्चले सोधेको प्रश्नको जवाफमा सरकारले सिटौला हतियारसहित प्रदर्शनमा निस्कन लागेकाले पक्राउ गर्नु परेको दावी गरेको थियो।
शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी सुशिल घिमिरेले सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा सिटौलाले ‘ हामी जुलुस निकाली नारा लगाउँदै शहरको विभिन्न भागमा जाने र ठाउँठाउँमा हिंसात्मक कारबाहीको लागि हातहतियार तथा विष्फोटक पदार्थ लिएर हाम्रै जुलुस अगाडी कसैको केही चल्दैन , लोकतन्त्रको स्थापनाको लागि हिंसात्मक बाटो अबलम्बन गर्न पछि पर्नु हुँदैन भनी फागुन १० गते बिहानको समयमा घट्टेकुलो चोकमा भ्रामक कुरा गरी र्सवसाधारणलाई उत्तेजित पारी शान्ति सुव्यवस्थामा खलल पुर्याएको र त्यस्तो योजना गरिरहेको अवस्थामा पक्राउ परेको ‘ जिकिर गरिएको छ ।
सर्वोच्च अदालतमा सिटौलालाई थुनामा राख्नुको लिखित कारण पेश गर्दै सरकारले हतियारसहित विष्फोटक पदार्थ लिएर नारा-जुलुस गर्ने योजना बनाएकाले गिरफ्तार गरी थुनामा राखिएको आरोप लगाएको छ।
Popularity: 16%
February 25th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २५-
लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनले शुक्रबार नयाँ बानेश्वरमा गरेको नागरिक धर्नामा अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टीकै सबैभन्दा बढी चर्चा भयो।
सात दल र माअोवादीबीच भएको १२ बूँदे समझदारीलाई दुराग्रही भन्ने राजदूतको टिप्पणीलाई दुर्भाग्यपूर्ण भन्दै सात दलले त्यस्तो आरोपको खण्डन गर्न एउटा संयुक्त वक्तव्यसम्म निकाल्न नसकेको भन्दै कडा आलोचना पनि गरियो।
आन्दोलनरत दलबीच फुट पैदा गरी आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र प्रति सचेत रहन पनि आग्रह गरिएको थियो। दलहरुलाई संविधानमा टेकेर हैन संविधान सभामा सिधै जान पनि केहि वक्ताहरुले आग्रह गरेका थिए।
कार्यक्रममा केही कवि तथा कवियित्रीहरुले लोकतान्त्रिक कविताहरु समेत पाठ गरेका थिए।
Popularity: 16%
February 25th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २५-
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा तथा कैलालीको चुहास्थित वासुलिङ्ग सुगर एण्ड जनरल इण्डष्ट्रिज लिमिटेडका कार्यकारी निर्देशक अरुण चन्दले पश्चिम तराईका किसानहरुबाट उखु खरिद गरेको तीन करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी गर्न माओवादीसँग गरेको प्रतिवद्धता अझै पूरा गरेका छैनन्। माओवादीसँग गरेको समझदारीको म्याद सकिन लागेको बेला उनीहरुले तत्काल भुक्तानीको पहल गर्न पुनः सम्झाएको हो।
काठमाडौंबाट कैलाली आउँदा गत कात्तिकमा १२ दिनसम्म माओवादीको नियन्त्रणमा परेका बेला चन्दले कञ्चनपुर, कैलाली, बाँके र बर्दियाका हजारौं किसानहरुको उखु खरिदको भुक्तानी गर्न बाँकी तीन करोड ११ लाख चार हजार रुपैयाँ फागुन मसान्तसम्ममा भुक्तानी गर्ने कागज गरेका थिए । अनि उनलाई माओवादीले मुक्त गरेका थिए।
स्वतन्त्र समाचार सेवाले जनाए अनुसार, माओवादीको सेती-महाकाली स्वायत्त प्रादेशिक जनसरकारका प्रमुख तथा केन्द्रीय जनपरिषद् नेपालका सदस्य लेखराज भट्ट राकेशले रकम भुक्तानी गर्नु पर्ने अवधि पार हुन लाग्दा पनि इमान्दारीपूवक जनताको रकम भुक्तान नगरेकोमा चन्दप्रति शंका व्यक्ति गर्दै किसानको रकम भुक्तानी गर्न फेरि एक पटक आग्रह गरेका छन्।
राकेशले बिहीबार कैलालीको विकट क्षेत्रको अज्ञात गाउँमा सीमित सञ्चारकर्मीहरुसँग कुरा गर्दै रकम भुक्तानी नगरे कैलालीको चुहामा रहेको चन्दको सुगर मिल कब्जामा लिई किसानलाई हस्तान्तरण गरिने र चन्दलाई कालोसूचीमा राख्ने चेतावनी दिए।
Popularity: 16%
February 25th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २४-
माअोवादीहरुले राजालाई चिठी लेख्दै विभिन्न माग गर्दै आन्दोलन गर्न लागेको जानकारी गराएका छन्।
यी माअोवादीहरु जंगलमा बसेका माअोवादी नभएर राजधानीको जेलमा बसेका माअोवादीहरु हुन्। राजधानीको केन्द्रीय कारागरमा रहेका माअोवादीहरुले मन्त्रिपरिषद्का अध्यक्ष श्री ५ महाराजाधिराजसँग लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न माग गर्दै बन्दी गृहभित्रै आन्दोलन थालेका रहेछन्।
कारागारमा रहेका १५ जना बन्दीले केन्द्रीय कारागारमार्फत् अस्ति फागुन ९ गते मंगलबार ज्ञापन पत्र पेश गरी आन्दोलन थालेको स्वतन्त्र समाचार सेवाले जनाएको छ।
३४ बुँदे सो ज्ञापन पत्रमा शाही नेपाली सेना विघटन गरी राष्ट्रिय सेनाको गठन गर्न, माओवादी नेताहरुको नाममा जारी रेर्डकर्नर नोटिस खारेज गर्न, माघ १९ पछि जारी सम्पूर्ण अध्यादेश खारेज गर्न माग गरिएको छ।
विरोध कार्यक्रममा मैन बत्ती जुलुस, कालोपट्टी बाँध्ने, विरोध सभादेखि रिले अनसनसम्म रहेको छ । यही फागुन २५ गतेसम्ममा आफ्ना मागहरु पूरा नगरे अझ कडा आन्दोलन गरिने चेतावनी बन्दीहरुले दिएका छन ।
बन्दी बालकृष्ण ढुंगेल, आश्विनिकुमार दाहाल, तारा भण्डारी, पर्शुराम रिमाल, भानुभक्त आचार्य, राजन पौडेल, बिमलराज गिरी, जयराम न्यौपानेलगायतले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।
Popularity: 16%
February 24th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २४-
माओवादीले माघ २५ गते धनकुटा सदरमुकाम आक्रमण गरी अपहरण गरेका प्रहरीमध्ये एक जना माअोवादी मै लागेका छन्। अपहरित बाँकी सुरक्षाकर्मीलाई भने धनकुटाको राजारानीबाट पत्रकार र मानवअधिकारवादीको जिम्मामा मुक्त गरिएको छ।
माओवादीका जिल्ला इन्चाज सूर्यले राजारानीमा कार्यक्रम आयोजना गरी प्रहरीहरु उपेन्द्र तामाङ्ग, भोजराज दनुवारलाई मुक्त गरेका हुन्।
प्रहरी हरिनारायण ढकाल भने मुक्त हुन नचाहेकाले माओवादीसँगै गएका छन् ।
माओवादीको व्यवहार मन परेकाले माओवादीसँगै जाने निर्णय आफूले गरेको ढकालले सञ्चारकर्मीलाई बताए।
माअोवादीहरुले उक्त आक्रमणपछि १५ कर्मचारी र सुरक्षाकर्मी अपहरण गरेका थिए। ती मध्ये एक क्षेत्रीय सहप्रशासक प्रेमप्रसाद सापकोटाको बन्दी अवस्थामा नै मृत्यु हुँदा माअोवादीहरुले चर्को आलोचनाका शिकार भएका थिए।
Popularity: 16%
February 24th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २४-
माअोवादीहरुले बिहीबार पर्यटकीय नगरी पोखरा र पश्चिमको प्रमुख शहर नेपालगञ्जमा बम विस्फोट गराएका छन्। दुवै ठाउँमा मानवीय क्षति नभएको प्रारम्भिक रिपोर्ट छ।
माअोवादीहरुले पोखरामा केआई सिंह पुलस्थित सुरक्षा चेकपोस्टसँगै जोडिएको घरमा बिहीबार साँझ सवा छ बजे बम विस्फोट गराएका थिए।
विस्फोटबाट निर्माणाधीन घरमा सामान्य क्षति पुगेको छ ।
सुरक्षा सूत्रले बम लुकाई राखेको अवस्थामा पड्किएको अनुमान गरेको छ। माओवादीले सुरक्षाकर्मीलाई लक्षित गरी उक्त विष्फोट गराउन खोजेका हुन्।
त्यसैगरी माअोवादीहरुले नेपालगञ्जको राँझा विमानस्थल र त्यस वरपर बम विस्फोट र फायरिङ गरेका थिए। विस्फोटबाट केही भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको बताइएको छ।
Popularity: 16%
February 24th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २४-
नेपाल कम्युनिस्ट पार्टी एमालेले लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन वृहद् लोकतान्त्रिक मोर्चा बनाउनु पर्ने विचार अगाडि ल्याएको छ।
बिहीबार सकिएको एमालेको केन्द्रीय कमिटीको बैठकले यो प्रस्तावलाई पास गर्दै सात दलको बैठकमा छलफलका लागि लैजाने निर्णय गरेको छ।
केन्द्रीय कमिटीको बैठकले शाही आयोगको खारेजीको फैसलामा राजाका हरेक कदम अवैध रहेको स्पष्ट पारिएको भन्दै आदेशको स्वागत गरेको छ।
माओवादीसित भएको १२ बुँदे समझदारी द्वन्दको शान्तिपूर्ण र अग्रागामी समाधान गराउने महत्वपूर्ण कदम भएको ठहर पनि बैठकले गरेको छ।
प्रस्तावको नवौं बूँदामा समझदारीप्रति इमान्दारिता देखाउँदै हिंसा त्याग्न आग्रह पनि गरिएको छ।
Popularity: 16%
February 24th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २३-
राजा र दललाई जसरी भए पनि मिलाएर माअोवादीलाई एक्ल्याउनु पर्ने रोडम्यापमा लागेका अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टीले आफ्नो रणनीति अनुरुप दुई काँग्रेसलाई एक बनाउने अभियान चलाएका छन्।
र, त्यसैको फलस्वरुप बुधबार नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाबीच डेढ घण्टा लामो वार्ता भयो। वार्तापछि दुवैले पार्टी एकीकरणको सुरुवात भएको घोषणासमेत गरे।
हेर्दा काँग्रेसकै आन्तरिक राजनीतिजस्तो मात्र देखिए पनि वास्तवमा त्यतिमा मात्र यो सीमित नभएको दावी सूत्रले एचकेनेपाल डट कमलाई दिएको छ। अमेरिकी राजदूतले दलसित मिल्नु पर्यो, संसद पुनर्स्थापना गर्नुपर्यो भनी राजालाई भन्दा राजा विघटित संसदमा कम्युनिस्टहरुको बहुमत हुनेबाट चिन्तित रहेको बुझेपछि काँग्रेसलाई एक बनाउने अभियान सुरु गरिएको दावी सूत्रले गर्छ।
काँग्रेस एक भएमा संसदमा काँग्रेस कै बहुमत रहन्छ र शायद अमेरिकालाई मनपर्ने शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाइन सक्छ। कम्युनिस्टहरु जुन ढंगले गणतन्त्रमा नै जाने भनेर आइरहेका छन्, दुवै काँग्रेस त्यसरी आएका छैनन्। उनीहरुले मात्र संवैधानिक राजतन्त्रलाई आफ्नो विधानबाट हटाएका छन्।
अमेरिकी राजदूतले कोइरालासमक्ष संसद पुनर्स्थापना गर्ने जिम्मा आफ्नो भयो भनी समेत भनिसकेको बुझिएको छ। त्यसपछि मात्रै कोइरालाले अकस्मात् पार्टी एकताका बारेमा बोलेका थिए।
Popularity: 16%
February 23rd, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २३-
शाही निर्वाचनपछि खाली रहेका दलहरुले आन्दोलनका नयाँ कार्यक्रम बनाउने भएका छन्। यसका लागि सात दलको आज बैठक बस्दैछ।
सात दलको केन्द्रीय जनआन्दोलन समितिको बैठकले आन्दोलनको नयाँ कार्यक्रम तय गर्नेछ।
सात दलले अलग-अलग बैठक बसी तयार पारेका संघर्षको कार्यक्रमलाई आज अन्तिम रुप दिएर सार्वजनिक गर्न लागिएको हो।
नयाँ कार्यक्रमले आन्दोलनलाई थप उचाइमा लाने दावी गरिएको छ।
Popularity: 16%
February 23rd, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २३-
सर्वोच्चको आदेशले रिहा गरेको दुई दिनपछि नेपाली काँग्रेसका प्रवक्ता कृष्ण सिटौला बुधबार पुनः गिरफ्तार भएका छन्।
सिटौलालाई पुनः गिरफ्तार गर्नुको कारण सहित २४ घण्टाभित्र उहाँलाई अदालतमा उपस्थित गराउन माग गर्दै बुधबार नै रिट दायर गरिएको छ।
नेपाल बार एशोसियसनकातर्फबाट अधिवक्ता राजु कट्वालले रिट दायर गर्नुभएको हो । रिटमाथि आज सुनुवाई हुँदैछ।
रिटमा अदालतले छोड्न आदेश दिइसकेको ब्यक्तिलाई पुनः पक्राउ गरी आदेशको अपहेलना गरिएको उल्लेख छ।
Popularity: 16%
February 23rd, 2006
एचकेनेपाल डट कम, फेब्रुअरी २२-
काठमाडौं, आगामी मार्च २५ देखि अप्रिल ७ सम्म बंगलादेशमा सञ्चालन हुन गैरहेको एएफसी च्यालेन्च कप संयुक्तरुपमा आयोजना गर्ने नेपालको अवसर खोसिएकोछ।
क्वालालम्पुरस्थित एसियाली फुटबल महासंघ (एएफसी) को कार्यालयमा हिजो बसेको आयोजक कमिटीको बैठकले वर्तमान द्वन्द्वबाट प्रतियोगिता सञ्चालन गर्न असुरक्षित ठानिएकोले नेपाललाई संयुक्त आयोजना अधिकारबाट हटाइएको निर्णय गरिएकोछ।
नेपाललाई छ महिनाअघि भएको एएफसी बैठकले पहिलो पटक प्रतियोगिता सञ्चालन गर्न संयुक्त आयोजना अधिकार दिएको थियो।
प्रतियोगिता आगामी मार्च २५ देखि अप्रिल ७ सम्म बंगलादेशको राजधानी ढाका र चित्तागोङमा सञ्चालन हुदैछ।
Popularity: 16%
February 22nd, 2006
‘प्रजातन्त्र भन्ने अनि नेतालाई थुन्ने ?’
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २१-
मुखमा प्रजातन्त्र भन्ने अनि व्यवहारमा नेतालाई थुन्ने ? यो त भएन नि…
एमाले नेता माधवकुमार नेपाललाई भेट्न जानुभएका प्रजातान्त्रिक काँग्रेस सभापति शेरबहादुर देउवाले यसो भन्नुभएको हो।
एक महिने पूर्जी पाएका नेपाललाई सोमबार नै अर्को दुई महिनाका लागि पूर्जी दिइएको छ। अब दुई महिनासम्म उहाँ नजरबन्दमा नै बस्नुपर्नेछ। उहाँसँगै नजरबन्दमा राखिएका सात दलका अरु नेताहरुलाई छाडिसकिए पनि नेपाललाई भने छाड्ने कुनै संकेत देखिएको छैन।
नेपाललाई भेट्न जानुभएका देउवालाई उहाँ उपचार गराउन बाहिर जानुभएको छ भन्दै भेट्न दिइएन। अनि सुरक्षाकर्मीलाई शेरबहादुर आएको थियो भनिदिनू है माधव जीलाई भन्दै उहाँ फर्कनु भयो।
फर्कनुअघि सञ्चारकर्मीहरुसितको कुराकानीमा देउवाले आफूले १२ बूँदे सहमतिका बारेमा अलिकति कुरा गर्दा गलत अर्थमा बुझिएको आरोप लगाउनु भयो।
………………………………………………………………………………………………….
नेपालको नजरबन्द म्याद थप २ महिना बढ्यो
एचकेनेपाल डट कम, फेब्रुअरी २०-
काठमाडौं, नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई सरकारले थप २ महिनाको स्थानहद म्याद बढाएकोछ।
नेपाललाई गत २० जनवरीदेखि घरैमा नजरबन्द गरेको थियो। सरकारले सात राजनैतिक दलका १७ जना नेताहरुलाई आज रिहा गरिए पनि उहांलाई भने सार्वजनिक सुरक्षा ऐन २०४६ बमोजिम थप २ महिनाको लागि घरैमा नजरबन्द गरेर राखेकोछ।
आज रिहा हुने आन्दोलनरत सात दलका नेताहरुमा नेकाका नेताहरु कृष्णप्रसाद सिटौला, शशांक कोइराला, मीना पाण्डे, बिनयध्वज चन्द, बलदेब शर्मा मजगैंया, नेकपा एमालेका नेताहर्रुर् इश्वर पोखरेल, राजेन्द्र श्रेष्ठ, भीम रावल, केशव बडाल र युवराज ज्ञवाली, नेका प्रजातान्त्रिकका नेताहरुमा एनपी साउद, मञ्जु खांड, उमा अधिकारी र बिद्यार्थी नेता कुन्दनराज काफ्ले छन्।
Popularity: 16%
February 21st, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २१-
राजा कै निकट एक सहयोगीले राजालाई प्रधानमन्त्रीको पद अोगटेर नबस्न सुझाव दिएका छन्।
राजपरिषद् स्थायी समितिका पूर्व सभापति डा. केशरजंग रायमाझीले राजाबाट मन्त्रिपरिषद्को अध्यक्षता त्याग्नु पर्ने बताउनुभएको हो।
राजाले प्रजातन्त्र दिवसमा दिएको सन्देशमा संवादका लागि आग्रह गरेपनि संवाद प्रक्रिया थालनी अगावै मन्त्रिपरिषद्को अध्यक्षता त्याग्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
सोमबार राजधानीमा आयोजित साक्षात्कारमा उहाँले समस्याको समाधानका लागि आन्दोलनपछि पनि वार्ता नै आवश्यक हुने उल्लेख गर्दै राष्ट्रको क्षति कम गर्न पनि तत्काल वार्ताको पहल गरिनु पर्नेमा जोड दिनुभयो ।
Popularity: 16%
February 21st, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २१-
सर्वोच्च अदालतले हालै पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको कारण पेश गर्न सरकारलाई सोमबार आदेश दिएको छ।
सरकारले बिना आधार र कारण पेट्रोलियम पदार्थमा एक्कासी मूल्यबृद्धि गरेको भन्दै अधिवक्ता अनुतम उप्रेतीले सोमबार नै रिट दायर गर्नुभएको थियो।
सरकारले मट्टीतेल र डिजेलमा ११ प्रतिशतसम्म मूल्य वृद्धि गरेको छ भने मट्टीतेल, डिजेल, पेट्रोल, हवाई इन्धनको खुद्रा मूल्य तोक्न स्थानीय डिलरलाई नै जिम्मा दिएको छ।
मूल्यवृध्दिका कारण यातायातको भाडामा पनि वृध्दि भएको छ भने यसको प्रत्यक्ष असर अब खाद्यान्नमा पनि पर्नेछ।
Popularity: 16%
February 21st, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, फेब्रुवरी २१-
छिमेकी देश भारतमा एक कुखुरा पालकको बर्ड फ्लुबाट मृत्यु भएको समाचार सार्वजनिक भएपछि र विश्व स्वास्थ्य संगठनले नेपाललाई बर्ड फ्लुको संक्रमण हुनसक्ने खतराको सूचिमा राखेपछि नेपालीहरु आतंकित हुन थालेका छन्।
यसबाट करोडौंको लगानी रहेको पोल्ट्री व्यवसाय डुब्ने भएको छ। केही दिनदेखि नै कुखुराको अण्डा र मासुको बिक्री ठप्प भएको छ।
सरकारले भारतबाट काँचो मासु र अण्डा आयात गर्न रोक लगाएको छ। तर आतंक बढ्दो छ।
एच५एन१ एभियन इन्फ्लुएन्जा पक्षीबाट मानिसमा सर्ने रोग हो। मानिसबाट मानिसमा भने सर्दैन भनिएको छ। यदि मानिसबाट मानिसमा पनि सरेमा यसले ठूलो महामारीको रुप लिनसक्ने भएकोले विश्व स्वास्थ्य संगठनले विशेष सतर्कता अपनाउन भनेको हो।
पूर्वी एसियाबाट सुरु भएको बर्ड फ्लु युरोपसम्म पुगिसकेको छ तर दक्षिण एसियाको छिमेकी देश भारतमा भने पहिलोपटक देखिएको हो।
सरकारले अकस्मात् धेरै कुखुरा एकैचोटी बिरामी भएमा वा मरेमा सूचना दिन सर्वसाधारणलाई अनुरोध गरेको छ।
Popularity: 16%
February 21st, 2006
भेषराज गुरुंग प्रितिनिधि एचकेनेपाल डट कम, फेब्रुवरी २०-
टोयोटा सिटी, जापान। तमु धीं नागोया जापानको आयोजनामा गत १२ फेब्रुअरी २००६ आइतबारका दिन चिर्यु सिटीस्थित इगल बलिंग सेन्टरमा विन्टर बलिंग खेल सम्पन्न भएको छ।
पहिलो पटक सन् १९९८ डिसेम्बर २८ तारिक देखि निरन्तर रुपमा वर्षमा समर र विन्टर गरि दुइ पटक खेलाईदै आएको उक्त बलिंग खेल १६ औं पटक सम्पन्न भएको छ।

सो कार्यक्रममा नेपाली आदिवासी समाज जापान, नेपाली सेवा समिति, नेपाल छन्त्याल संघ, छुसांग सेवा समिति, तामांग मैत्री समाज, मगर सेवा समिति तोकाई क्षेत्र, नेपाल जापान मैत्री तथा सांस्कृतिक संघ, थकाली सेवा समिति नागोया क्षेत्र, हिमालय क्लब आदि विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
तीन जना खेलाडी संख्या बराबर एक टिम गरिएको सो खेल तीन चरणमा खेलाइएको थियो । जसमा आठ टिमहरु हिमाल टिम, नेपाली आदिवासी टिम, तामांग मैत्री समाज टिम, स्ट्राइक टिम, तोयोकावा टिम, जे.आर. ओकाजाकी टिम, नेपाल छन्त्याल टिम र छुसांग टिम सहभागी भएका थिए।

प्रतिस्पर्धात्मक रुपमा सम्पन्न खेल अन्तरर्गत प्रथम टिममा जे.आर. ओकाजाकी आउन सफल भयो, उक्त टिमले गत वर्षको समर बलिंग खेलमा पनि प्रथम स्थानमा आउन सफल भएको थियो भने दोश्रो स्थानमा छुसांग टिम आउन सफल भएको छ । त्यस्तै खेलाडीहरुलाई जोस र हौसला दिन अन्य दुइ वटा पुरस्कारहरु एम.भी.पी. र हाई स्कोरर राखिएका थिए।
प्रथम स्थानमा आउन सफल जे.आर. ओकाजाकी टिमले जम्मा कूल १४४४ अंक प्राप्त गरेका थिए भने द्धितीय टिममा छुसांग टिमले १४२९ अंक ल्याएका थिए । त्यस्तै गरि एम.भी.पी.मा जे.आर ओकाजाकी टिमका खेलाडी होट बहादुर गुरुंगले ५१७ अंक ल्याएका थिए भने स्ट्राइक टिमका खेलाडी रक्षे गुरुंगले २०१ अंक प्राप्त गरि हाइ स्कोरर घोषित गरिएको थियो।
प्रथम टिमका खेलाडीहरु होट बहादुर गुरुंग, गणेश के.सी. सुनील शेरचनलाई धींका अध्यक्ष चित्र बहादुर गुरुंगले नगद एक लाख जापानी येनका साथै रनिंग कप पनि प्रदान गर्नु भयो भने द्धितीय पुरस्कार त्रिसुली, टाक्ला र बक्सरलाई नगद साठी हजार जापानी येन नेपाली आदिवासी समाजका अध्यक्ष बोम पुनले हस्तान्तर गर्नु भयो । त्यस्तै गरि अन्य पुरस्कार एम.भी.पी. होट बहादुर गुरुंगलाई जापानी येन पन्ध्र हजार र हाइ स्कोरर रक्षे गुरुंगलाई जापानी येन दश हजार क्रमशः नेपाली सेवा समितिका अध्यक्ष ज्योतिमान पुन र धींका खेलकूद संयोजक ओम गुरुंगले प्रदान गर्नु भयो।
यसका अतिरिक्त तृतीय स्थानमा आउने तोयोकावा टिम प्राप्तांक १४२४ लाई हिमालय क्लबका भू.पू. अध्यक्ष तथा नेपाली फूड स्टोरका प्रोप्राइटर अर्जुन पुनले हौसला स्वरुप सान्वना पुरस्कार फ्री सपिंग कुपन पनि खेलाडीहरु चित्र बहादुर गुरुंग, बी. पुन र टेक गुरुंगलाई प्रदान गर्नु भयो ।
खेलाडीको उत्कृष्ट युनिर्फम पोसाकको लागि तामांग मैत्री समाज टिमलाई पांच हजार जापानी येन धींका उपाध्यक्ष मेख बहादुर गुरुंगले प्रदान गर्नु भयो । यस भन्दा पहिलेको खेलहरुमा विजयी टिमका खेलाडीहरुलाई नगद पुरस्कारको साथमा ट्र्फी र मेडल प्रदान गरिएको भएतापनि यस पटक देखि खेलाडीहरुको इच्छा अनुसार नगद मात्र प्रदान गरिएको छ।
धींका उपाध्यक्ष मेख बहादुर गुरुंगले स्वागत भाषण गर्नु भएको कार्यक्रममा नेपाली आदिवासी समाजका अध्यक्ष बोम पुन, नेपाली सेवा समितिका अध्यक्ष ज्योतिमान पुन, धींका सल्लाहकार तथा खेलकुद संयोजक ओम गुरुंगले पनि दुइ शव्द बोल्नु भएको थियो।
त्यस्तै गरि धींका अध्यक्ष चित्र बहादुर गुरुंगले बलिंग खेलको महत्वमाथि प्रकाश पार्दै विजयी टिमका खेलाडीहरुलाई बधाइ दिदैं र अन्य सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यबाद दिदैं कार्यक्रम विर्सजन गर्नुभएको थियो।
महासचिव भेषराज गुरुंगले संचालन गर्नुभएको सो बलिंग खेल प्रतियोगितामा नेपालीहरुको बिशेष सहभागिता थियो।
फोटोः श्याम गुरुंग । थप फोटोहरू हेर्न यहां क्लिक गरौं।
Popularity: 16%
February 20th, 2006
Previous Posts