Archive for March, 2006

राजा फेरि पोखरामा

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च ३१-
घोडेजात्रामा सहभागी हुन काठमाडौं आएका राजा बिहीबार पुनः पोखरा फर्किएका छन्। फागुनदेखि राजा-रानी पोखरा कै रत्न मन्दिर नाम गरेको दरबारमा बसिरहेका छन्।

चैत महिनामा दलहरुले काठमाडौंमा आन्दोलन चर्काउँदा समेत राजारानी पोखरामा नै हुनेछन्। राजारानी वैशाखमा मात्र पोखराबाट नारायणहिटी दरबारमा फर्कने कार्यक्रम रहेको छ।

Popularity: 9%

4 comments March 31st, 2006

सात दलले संयुक्त अपील जारी गरे

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च ३१-
सात दलले चैत २४ देखि २७ सम्म आम हडताल गरी देशलाई ठप्प बनाउन सबै वर्ग र पेशाका मानिसहरुलाई आह्वान गरेको छ।

दलहरुको केन्द्रीय जनआन्दोलन परिचालन समितिको नाममा जारी अपीलमा कर्मचारीहरुलाई आन्दोलनमा लागे वापत् कारबाही गरिएमा लोकतन्त्र आइसकेपछि ससम्मान पुनर्बहाली गरिने उल्लेख छ।

देशमा विद्यमान द्वन्द्वको समाधान गर्दै सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा स्थापित गर्न देशलाई शान्ति , स्थायित्व र संवैधानिक प्रक्रियामा लैजान आ-आफनो ठाउँबाट उत्रन र आन्दोलनमा सहभागी बन्न अपीलमा आग्रह गरिएको छ।
सात दलका अनुसार यही चैत २४ देखि २७ गतेसम्म विरोध प्रदर्शनका साथ देशब्यापी आमहड्तालको आह्वान गरिएको छ र यस क्रममा चैत २६ गतेको हकमा काठमाडौं लगायत देशका सम्पूर्ण भागमा बृहद जनप्रदर्शन हुनेछ। उक्त जनआन्दोलनमा देशका विभिन्न भागमा लाखौं जनता सडकमा उत्रने छन्।

Popularity: 9%

1 comment March 31st, 2006

अमेरिकी पूर्व राष्ट्रपति कार्टर नेपाल आउने

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च ३०-
नेपालमा विद्यमान द्वन्द्वको निकास खोज्ने उद्देश्यले अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर यहाँको भ्रमणमा आउनु हुने भएको छ।

भन्नलाई ट्रेकिङ गर्न निजी भ्रमण भनिए पनि द्वन्द्वसित सम्वध्द सबै पक्षसँग कुराकानी गर्न उनी यहाँ आउन लागेको सूत्रहरुले बताएका छन्।

कार्टरले अर्को महिनाको २१ गते यहाँ आइसकेपछि विभिन्न राजनीतिक दल , मानवअधिकारवादी नेता र नागरिक समाजका व्यक्तिहरुसित भेट गर्ने कार्यक्रम रहेको बताइएको छ। राजाले समेत उनीसित भेट्न समय दिइसकेको थाहा भएको छ।

Popularity: 9%

2 comments March 30th, 2006

शाही सरकारको दमनका लागि सबै तयार

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च ३०-
सात दलले माअ‍ोवादीको समर्थनमा यही चैतदेखि गर्न लागेको आन्दोलनलाई सरकारले कुनै पनि हालतमा गर्न नदिने र दलहरुले जुनसुकै हालतमा गर्ने भनेपछि राजधानीवासी अन्यौलमा परेका छन्।

एचकेनेपाल डट कम प्रतिनिधिले केही राजधानीवासी सित कुराकानी गर्दा अधिकांशले के हुने हो कस्तो हुने हो भन्ने अन्यौल रहेको बताए।

“सरकारले र सेनाले समेत काठमाडौंमा हतियार सहितको माअ‍ोवादी प्रवेश गरिसकेको बताएको छ र काठमाडौं नआउन समेत सरकारले अनुरोध गरिसकेको छ , के हुन लागेको हो कुन्नि ” डिल्लीबजारमा पसल थापेर बस्ने कुमुद भट्टराईले बताए।

अधिकांश सरकारले मोबाइल र टेलिफोन सम्पर्क विच्छेद गर्ने संभावना रहेकोले मानसिक रुपमा त्यसका लागि तयार भइसकेका देखिन्छन्।

कम्तीमा एक दिन त कर्फ्यु लाग्छ होला- विद्यार्थी रविन लामाको अनुमान छ।

यस पटक सरकारले सबै सञ्चार सम्पर्कलाई एकैचोटी विच्छेद नगरी आलोपालो गरी विच्छेद गर्ने तयारी गरेको सुनिएको छ।

सुरक्षाकै कारण देखाइ रातिको लोडसेडिङलाई पूर्ण रुपमा हटाई बिहान , दिउँसो र साँझको लोडसेडिङलाई सरकारले बिना सूचना बढाएको छ।

नेताहरु पनि गिरफ्तारीका लागि तयार भइसकेका छन्। कतिपय त भूमिगत भइसकेका छन्। कतिपय तयारीमा छन्। आम हडताल सफल पार्न नेताहरु भूमिगत हुने र २४ देखि २७ को बीचमा पालैपालो निस्केर गिरफ्तारी दिने योजना छ।

नेताहरु पनि कर्फ्यु लगाउने आशंका गर्छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा पनि नेताहरुले त्यस्तै आशंका व्यक्त गरे। तर उनीहरुले कर्फ्यु लगाए पनि त्यसको प्रतिकार गरिने कुरा भन्न छुटाएनन्। यद्यपि माघ ७ गतेको कर्फ्युको बेला पनि उनीहरुले त्यस्तै भनेका थिए। तर त्यतिबेलाको दमनपछि सेलाएको सडक अहिले यतिबेलासम्म उठ्न सकेको छैन।

Popularity: 9%

3 comments March 30th, 2006

माअ‍ोवादीद्वारा युध्दविरामको संभावना ?

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च ३०-
माअ‍ोवादीलाई चैत २४ देखि २७ गतेसम्मको आम हडताल अगाडि नै एकपक्षीय युध्दविराम गराउनका लागि दलहरुले प्रयास गरिरहेको थाहा भएको छ।

यसअघि माघ ७ गते दलहरुले गर्न लागेको प्रदर्शनअगाडि माअ‍ोवादीले थानकोटमा आक्रमण गरेपछि त्यसै बहानामा सरकारले दिउँसै कर्फ्यु लगाएर प्रदर्शनलाई विफल पारेको थियो।

यसपटक पनि कर्फ्यु लगाउने संभावना बढेको छ। तर शान्तिपूर्ण प्रदर्शनका लागि त्यसअघि नै माअ‍ोवादीहरुले युध्दविराम घोषणा गरिदिए सरकारलाई नैतिक रुपमा हतास पार्न सकिने भएकोले माअ‍ोवादीलाई त्यसका लागि दलहरुले अनुरोध गरिरहेका छन्।

उता, वर्दियामा बुधबार आयोजित पत्रकार सम्मेलनमा पनि माअ‍ोवादीका केन्द्रीय सदस्य प्रकाण्डले दलहरुले निर्णायक आन्दोलन गर्ने भए माअ‍ोवादी युध्दविराम गर्न तयार रहेको बताएका छन्।

निर्णायक आन्दोलन नहुने भए तुरुन्तै युध्दविराम गर्न माअ‍ोवादी तयार नहुने पनि उनले बताएका छन्।

Popularity: 9%

3 comments March 30th, 2006

काठमाडौं आउने कार्यक्रम पर सार्नूः सरकार

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २९-
सरकारले काठमाडौं उपत्यकामा आतंककारी पसिसकेको भन्दै अति आवश्यक कार्य पर्दा बाहेक उपत्यकाबाहिरबाट आउने व्यक्तिले भरसक काठमाडौँ आउने कार्यक्रम पर सार्न अनुरोध गरेको छ।

सात दलले चैत २४ गतेदेखि घोषणा गरेको आम हड्तालको नजिकिँदै गर्दा गृह मन्त्रालयले यस्तो अनुरोध गरेको हो।

गृह मन्त्रालयको सूचनामा श्री ५ को सरकारले आतङ्ककारीका गतिविधिहरूलाई नियन्त्रण गर्न सुरक्षाकर्मीले आवश्यक कारवाही गर्ने हुँदा आतङ्ककारीले आयोजना गरेको वा आतङ्ककारी संलग्न हुने संभावना रहेका कुनै पनि गतिविधिबाट अलग रहन सर्वसाधारण जनतामा अनुरोध गरेको छ।

मन्त्रालयले काठमाडौंको सुरक्षा व्यवस्था अति कडा पारिएको हुँदा परिचय पत्र बोकेर मात्र हिँड्न पनि अनुरोध गरेको छ। उपत्यकामा प्रशासनले यसअघि नै मोटरसाइकलमा दुई जना सवार हुन रोक लगाएको छ।

Popularity: 9%

2 comments March 29th, 2006

माधव नेपाललाई वकिलले समेत भेट्न पाएनन्

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २९-
दुई महिनाको निवासमै नजरबन्दीपछि एकाएक सशस्त्र प्रहरी तालिम केन्द्र ककनीमा लगी थुनामा राखिएका एमाले महासचिव माधवकुमार नेपाललाई वकिलहरुले समेत भेट्न पाएका छैनन्।

मंगलबार नेपालका लागि कानुन व्यवसायी नियुक्त बार एसोसिएसनका अध्यक्ष शम्भु थापा र अधिवक्ता सुभाष नेम्वाङ नेपालसित भेट गर्न जानु भएको थियो।

तर सुरक्षाकर्मीहरुले माथिको आदेश भन्दै उहाँहरुलाई भेट गर्न दिएको थिएन।

दुवैले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा भेट गर्न नदिएकोमा विरोध गर्नुभएको छ। यसैबीच गृहमन्त्री कमल थापाले भने त्यस्तो आदेश गृह मन्त्रालयले नदिएको भन्दै के भएको हो छानबिन गरी भेट गर्न दिइने बताउनु भएको छ।

Popularity: 9%

1 comment March 29th, 2006

आन्दोलन कुनै पनि हालतमा असफल पारिने

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २९-
गृहमन्त्री कमल थापाले चैत २४ गतेदेखि घोषणा गरिएको आन्दोलनका कार्यक्रम आतंककारीहरुको पनि कार्यक्रम भएकोले कुनै पनि हालतमा त्यसलाई असफल पारिने बताउनु भएको छ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले नेताहरुलाई गिरफ्ता गर्नेदेखि लिएर सञ्चार सेवा अवरुध्द हुन सक्ने समेत संकेत गर्नुभयो। उहाँले आतंककारीका कार्यक्रम असफल पार्न संभव हरेक उपाय सरकारले अपनाउने बताउनु भएको थियो।

जस्तोसुकै आवरण अ‍ोढेर आए पनि आतंककारी भनेका आतंककारी नै हुन्, उनीहरुलाई कार्यक्रम गर्न प्रचलित कानुनले दिँदैन- मन्त्री थापाको भनाई थियो।

Popularity: 9%

4 comments March 29th, 2006

एकै नजरमा माया बस्यो, एकै भेटमा बिहे

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २९-
एकै नजरमा माया बसेको कुरा त तपाईँले सुन्नुभएको होला तर एकै भेटमा विवाह भएको नि ?

जोडी भनेको माथिबाटै बनेको हुन्छ भन्ने मान्यतालाई प्रमाणित गरेका छन् लमजुङका एक जोडीले। सामान्यतया विवाह हुन लामो परम्परागत कुराहरु मिलाउनु पर्ने हुन्छ। तर ज्योतिष हेराउन आएका ती युवा र युवतीले भने पहिलो भेटमै ज्योतिष केन्द्रमै विवाह गरेका छन्।

स्वतन्त्र समाचार सेवाका अनुसार दुबै जनाको चीना हेराउने साइत एउटै परेको र ज्योतिषले तपाईहरुको टिपन सार्‍है मिल्छ भनेपछि एक आपसमा चिनाजान गरी यथास्थानमा विवाह गरेका हुन्।

‘ मैले चिनाको कुरा गरें, उनीहरु आपसमा कुरा गर्न थाले, एकैछिनमा हामी विवाह गर्ने भयौं, तपाईलेनै टीका लगाएर आशिर्वाद दिनु पर्‍ यो भने’ ज्योतीष निदीराज शास्त्रीले भन्नुभयो- मैले स्वस्तीवाचन गरी टीका लगाई दिए।’

यसरी विवाह गर्ने वीरेन्द्र वाडवाग र मञ्जु पालुङवा हुन्।

नवदम्पत्तीले फलफूल लगायतका सामग्री प्रसादको रुपमा बाँडेका थिए । ‘ हामी दुबै अविवाहित भएको प्रष्ट भयो, मन मिल्यो विवाह गर्‍यौं’ नवजोडीले भने।

Popularity: 9%

8 comments March 29th, 2006

आजको उपत्यका बन्द र भोलिको नेपाल बन्द फिर्ता

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २९-
नेवाः राष्ट्रिय मुक्ति मोर्चाले आज घोषणा गरेको उपत्यका बन्द र दलित मुक्ति मोर्चाले भोलि घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ।

सात दल र माअ‍ोवादीबीच भएको दोस्रो समझदारीपछि चैत २४ देखि २७ सम्म आम हड्तालका कार्यक्रम रहेकोले सोही आन्दोलनलाई सहयोग र समर्थन गर्न बन्दको कार्यक्रम फिर्ता लिएको ती संगठनहरुले जारी गरेको छुट्टाछुट्टै वक्तव्यमा उल्लेख छ।

Popularity: 9%

Add comment March 29th, 2006

एनआरएनद्वारा सरकारको आलोचना

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २८-
गैर आवासीय नेपाली संघले राजाको सक्रिय शासनको एक वर्ष हुँदा पनि देशको स्थितिमा सुधार नभएको भन्दै सबै राजनीतिक शक्तिलाई सवांदका लागि अपिल गरेको छ।

गैर आवासीय नेपालीहरूको अन्तर्राष्ट्रिय समन्वय परिषदले पहिलोपटक राजनीतिक मामिलामा वक्तव्य निकाल्दै सरकार , माओवादी समस्या सम्वोधन गर्न तथा संसदीय दललाई साथ लिन असफल भएको बताएको छ।

राजनीतिक गतिरोध कायम रहे नेपाल असफल राष्ट्र हुने चेतावनी पनि परिषदले दिएको छ। परिषद्ले देशमा भईरहेका मानवअधिकार हननका घटनाले नेपाल अन्तर्राष्ट्रिय जगतबाट बहिष्कृत हुँदै गएको तर्फसमेत ध्यानाकर्षण गराएको छ।

राजाले प्रजातन्त्र प्रतिको आफ्नो प्रतिबद्धतालाई व्यवहारमा प्रमाणित गर्नु पर्छ भन्ने आफुहरूको मान्यता रहेको पनि एनआरएन अन्तर्राष्ट्रिय परिषदले उल्लेख गरेको छ। जनताको वाक् स्वतन्त्रता , स्वतन्त्र रूपमा आवत जावत गर्ने र भेला हुने अधिकारमाथि कुनै नियन्त्रण नगर्न पनि गैर आवासिय नेपालीहरूले आहृवान गरेका छन् । परिषद्ले माओवादी र राजनीतिक दलहरूलाई पनि जनतालाई सिधै मार पर्नबाट जोगाई प्रजातन्त्रको बिश्वव्यापी मान्यताको सम्मान गर्न आग्रह गरेको छ। सोमबार जारी गरेको वक्तव्यमा , परिषदका अन्तर्राष्ट्रिय संयोजक भीम उदासले नेपालमा झन झन गहिरिदैं गएको संकटले आफुहरू हतोत्साही भएको समेत उल्लेख गर्नुभएको छ।

Popularity: 9%

Add comment March 28th, 2006

भारतले सीमा क्षेत्रमा गस्ती बढाउने

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २८-
नेपाल-भारत र भारत-भुटान सीमामा बढदो माओवादी गतिविधिको कारण देखाउँदै भारतले सीमा क्षेत्रमा ससस्त्र सीमा सुरक्षा वलको संख्यामा उल्लेख्य वृद्धि गर्ने घोषणा गरेको छ।

अहिले २३ बटालियन ससस्त्र सीमा वल तैनाथ गरिएकोमा बढाएर ५५ पु-याउने घोषणा गरिएको छ।

सोमबार भारतीय अर्धसैनिक बलको ४३ औ वाषिर्क कार्यक्रममा बोल्दै भारतीय गृहमन्त्री शिवराज पाटिलले खुला सीमाका कारण वंगलादेश र पाकिस्तान भन्दा नेपाल र भुटानसंगको सीमा सुरक्षा गर्न भारतलाई कठिन परेको बताउनुभयो । नेपाल र भारतबीच १८ सय ८० किलोमिटर सीमा जोडिएको छ।

Popularity: 9%

Add comment March 28th, 2006

भद्रबहादुर विश्वकर्मा: लगातार ३१ अ‍ौं पटक एसएलसी

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २८-
नेपाल अधिराज्यमै सबैभन्दा धेरै लगातार ३१ औँ पटक एसएलसी परीक्षा दिने भद्रबहादुर विश्वकर्मा सोमबारदेखि सुरु भएको एसएलसीमा स्थानीय चुप्रा परीक्षा केन्द्रबाट एक्जेम्पटेड समूहको परीक्षामा सामेल भएका छन्।

राससका अनुसार, भद्रबहादुर जयजनता मावि जोरेबाँझका विद्यार्थीका रूपमा उनी सो परीक्षामा सामेल भएका छन्।

उनले यसअघि २ पटक मौका परीक्षा दिएका थिए।

वि.सं. २०५० सालमा शिक्षा विषयमा ३४ अङ्क आएर पनि अनुत्तीर्ण भएको लब्धाङ्कपत्र आएको उनको तीतो अनुभव छ।

सुर्खेत जिल्ला साटाखानी गाविस-४ मसेरी गाउँ निवासी ५० वर्षका विश्वकर्माले आफू एसएलसी परीक्षा उत्तीर्ण भएको लब्धाङ्कपत्र हेर्ने धोको राखेर यसपटक पुनः एसएलसी परीक्षामा सामेल भएको बताए।

उनका १९ वर्षीय जेठा छोरा विष्णुकुमार विश्वकर्मा जनमाध्यमिक विद्यालय सुर्खेत बजारबाट यस वर्ष नियमित एसएलसी परीक्षामा सामेल भएका छन्।

उनकी जेठी बुहारी सीताले भने २०६० को मौका परीक्षामा सामेल भई एसएलसी परीक्षा उत्तीर्ण गरेकी छिन्।

Popularity: 9%

3 comments March 28th, 2006

सिन्धुपाल्चोकमा हवाई आक्रमणः ५ को मृत्यु

एचकेनेपाल डट कम, मार्च २७-
काठमाडौं, सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाविसस्थित बाघ भैरव उच्च मा.बि.मा शाही नेपाली सेनाले सोमबार अपरान्ह करिव १ बजे गरेको हवाई आक्रमणमा परी कम्तीमा ४ माओवादी र १ सर्वसाधारण गरी ५ जनाको मृत्यु भएको छ।

समाचार सुत्रका अनुसार माओवादीले उक्त बिद्यालयमा जम्मा भै कार्यक्रम गरिरहेको जानकारी पाएपछि शाही नेपाली सेनाले हवाई आक्रमण गरेको थियो।

आक्रमणमा परी ६ भन्दा बढी घरहरु क्षतिग्रष्त भएको समाचार सुत्रले बताएका छन्।

रक्षा मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा नियमित उडानमा रहेको हेलिकप्टरमाथि माओवादीले आक्रमण गरेपछि आत्मसुरक्षाको लागि जवाफी आक्रमण गरेको जनाइएको छ।

माओवादीको तर्फबाट भने यो समाचार तयार पार्दासम्म घटनाबारे कुनै जानकारी सार्वजनिक गरेको छैन।

अर्को समाचार अनुसार बाग्लुङ जिल्लाको पाण्डवखानी क्षेत्रमा सुरक्षाकर्मी र माओवादी बीच सोमबार भएको दोहोरो भिडन्तमा परी कम्तीमा २ माओवादीको मृत्यु भएको छ।

Popularity: 9%

Add comment March 27th, 2006

न्युज अपडेटः पेरिसमा पारसलाई कालो झण्डा

अनुराधा पौडेल, एचकेनेपाल डट कम, मार्च २७-
देशको सम्पती धुवामा उडाएर युवराज पारसले यूरोप भ्रमण गरेको भन्दै पेरिसबासी नेपालीहरुले हिजो कालो झन्डा देखाउने काम गरे।


पूर्वनिर्धारित कार्यक्रम अनुसार हिजो पेरिसको थोक्रादेरो भन्ने ठाउमा झन्डा देखाइएपनि थ्रोकादेरोपछि उनीहरु बेलुका युवराज पारस भोजमा संलग्न भइरहेको स्थान यूनेस्को अगाडी समेत विरोध प्रदर्शन गर्न पुगेका थिए । तर नेपाली दुतावासले अत्यन्त कडा सुरक्षा व्यवस्था मागेका कारण नेपालीहरुलाई त्यहां झन्डा देखाउन दिइएन । दुइ दर्जनको दलबल सहित युवराज पारस अस्ती पेरिस आइपुगका छन्।


आजको प्रदर्शनमा भाग लिन फ्रेन्च नागरिक तथा जर्मनी र बेल्जीयमबाट समेत नेपालीहरु आइपुगेका थिए । प्रदर्शनमा बाडिएको पर्चाहरु पढेर खुसीसाथ टावर आइफल हेर्न आएका पर्यटकहरु खुसीले ताली लगाइरहेका थिए।

उत्साहपूर्वक कार्यक्रममा भेला भएका नेपालीहरुबिच लोकतान्त्रीक मन्च पेरिसका तर्फबाट बोल्दै अशोक न्यौपानेले देश रगतमा डुबेको बेला दरवारीयाहरु देशको सम्पती धुवामा उडाएर मोज मस्ती गरिरहेका कारण हामीले यो बिरोध गर्नुपरेको बताउनुभयो।


देशमा बग्रल्ती समस्याहरु बांकी रहेको र ति समस्याहरुलाई हल गर्न शान्ति र समझदारीको बाटो अंगाल्नुको सट्टा फजुल र अनावश्यक भ्रमणहरु गरेर मुलुकलाई झन् झन् कंगाल बनाएको उहांले बताउनुभयो।

यसैगरी मन्चका अर्का सदस्य हरिहर अर्यालले काठमान्डौमा हप्तामा एक घन्टापनि पानी दिन नसक्ने सरकार यहां भने मुलुकको छ करोड सम्पती उडाएर मोज मस्तीमा भुल्न आएको भन्दै यस्ता अनावश्यक भ्रमणहरु तुरुन्त रोकिनु पर्नै बताउनुभयो । बिगत दुइ सय पचास बर्षयता नेपालको दरवार जनताको सम्पतीमा हाली मुहाली गर्न पल्केको उल्लेख गर्दै उहाले राजनीतक पार्टीले दरवारको हातबाट सम्पूर्ण अधिकार खोसेर नागरिकहरुलाई सर्बाधिकार सम्पन्न बनाउन कुनै कसुर बांकी नराख्न आग्रह गर्नुभयो।


मुलुकमा चलिरहेको रक्तपातपूर्ण हिंसाको शान्तिपूर्ण तरिकाले निकाश दिन पार्टिले खुट्टा नकमाउन् भन्ने आग्रह गर्दै नेपालमा अझै खुट्टा कमाएर बस्न समय बांकी नरहेको बताउनुभयो।

यसैगरी बेल्जियमबाट भाग लिन आउनुभएका नेपालीहरुका तर्फबाट नवीन सापकोटाले नेपालको राजनीतिक आन्दोलनले क्रमश गणतन्त्रको गति समातिरहेको उल्लेख गर्दै नेपालीहरुले यूरोपमा सशक्त रुपमा नेपाली क्रान्तिका पक्षमा जनमत सूजना गर्नुपर्ने बताउनुभयो । प्रदर्शनीमा नेपाली आन्दोलनका सर्बाधिक चर्चित गाउं गाउंबाट उठ र कोहीको लुगा १२ ठाउं टालेको भन्ने गीत तथा माइला लामाले लेखेको व्यगं गीत गाइएको थियो भने मालिकका सेवामा नोकरहरु भन्ने एक कविता बाचन पनि गरिएको थियो।


प्रदर्शनमा नेपालीहरुले गैडा पाएपनि यूरोपियनहरु नेपाली सरकारलाई हतियार नदेउ, राजाको चुनाव हतियारका साथ तथा पर्यटकहरुकालागि नेपाल स्वर्ग तर हामी नेपलीहरु दुइतर्फ हतियार बिच बाचेका छौं भन्ने सन्देश बोकेका ठूला कार्टुनहरु बोकेका थिए । यसैगरी हामी नेपाली बास्तबिक प्रजातन्त्र चाहन्छौं, फजुल भ्रमण बन्द गर प्रेस स्वतन्त्रता र मानबअधिकारको सुनिश्चितता गर , बिबादास्पद आतंककारी कानुन बन्द गर , नेपालको तानाशाही सरकारलाई कुनैपनि सहयोग नगर , आजको आवस्यकता लोकतन्त्र जस्ता फ्रान्सेली भाषा र नेपाली भाषामा लेखिएका नाराहरु र व्यानरहरु कार्यक्रममा प्रदर्शन गरिएको थियो।

फोटोः बिनोद खकुरेल र अनुराधा पौडेल (सौजन्यः ददी सापकोटा) -पेरिस, फ्रान्स (इमेल मार्फत प्राप्त)। थप फोटोहरु हेर्न यहां क्लिक गरौं।

………………………………………………………………………………….

पेरिसमा पारसलाई कालो झण्डा

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २७-
अस्ट्रियाको अ‍ौपचारिक भनिए पनि निजी भ्रमणका रुपमा सीमित हुन पुगेको भ्रमण सकाएर फ्रान्सको पेरिसको अर्को निजी भ्रमणका लागि त्यहाँ पुगेका युवराज दम्पतीले पनि सरकारी स्तरबाट कुनै स्वागत पाएनन्।



बरु त्यहाँका नेपालीहरुको विरोध प्रदर्शनको सामना गर्नुपर्‍यो। नेपालीहरुले विभिन्न नारासहित कालो झण्डा देखाएर युवराजको विरोध गरेका थिए।

युवराज दम्पतीलाई फ्रान्सका लागि नेपाली राजदूत पूर्व प्रधानसेनापति प्रज्वल्लशमशेर जबरा र श्रीमती सिन्धु राणाले स्वागत गरेका थिए।

फोटोः बिनोद खकुरेल र अनुराधा पौडेल (सौजन्यः ददी सापकोटा) -पेरिस, फ्रान्स (इमेल मार्फत प्राप्त)। थप फोटोहरु हेर्न यहां क्लिक गरौं।


…………………………………………………………………………………….

अस्ट्रियामा युवराजको अपमान ?
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २६-
युवराज दम्पतीको अस्ट्रिया भ्रमण त्यहाँका चान्सलरको मैत्रिपूर्ण निमन्त्रणमा भएको दावी सरकारले गर्दै आए पनि अस्तिको गैंडा हस्तान्तरण समारोहमा उनको उपस्थिति थिएन।

युवराज दम्पतिलाई विमानस्थलमा स्वागत गर्न पनि चान्सलरका कुनै प्रतिनिधि उपस्थित भएनन्।

निम्तोमा आएका अतिथिलाई डिनर होस्ट गर्ने परम्परा रहँदै आएको भए पनि चान्सलरले आजसम्म पनि डिनर होस्ट गर्नुभएको छैन। कूटनीतिक रुपमा यसलाई युवराजको अपमान भएको महसूस गरिएको बताइन्छ।

अस्ट्रियाका विपक्षी पार्टीहरुले युवराजको भ्रमणको निरन्तर विरोध गर्दै आएका छन्। अस्ट्रिया सरकारले भने यो भ्रमणलाई निजी बताउँदै आएका छन्।

Popularity: 9%

26 comments March 27th, 2006

एसएलसी परीक्षा केन्द्रमा हावई फायर: १ घाइते

एचकेनेपाल डट कम, मार्च २७-
काठमाडौं, सुनसरीको हरिनगर गाविस स्थित हरिनगर उच्च माध्यमिक बिद्यालयमा सोमबार बिहान प्रहरीले गोली प्रहार गर्दा एक जना बिद्यार्थी घाइते भएका छन्।

समाचार सुत्रका अनुसार बिद्यार्थीको हुल प्रवेश पत्र देखाई जबरजस्ती परीक्षा केन्द्रभित्र प्रवेश गर्ने कोशिस गर्दा त्यहां सुरक्षार्थ खटिएका प्रहरीले विद्यार्थीको भीड नियन्त्रणमा लिन गोली चलाउंदा एक जना बिद्यार्थीको घाइते भएको थियो।

प्रत्यक्षदर्शीले बताइए अनुसार परीक्षा दिन आएका बिद्यार्थी माथि गोली चलाउंनै पर्ने स्थिति नरहेको बताएका छन्।

राजधानीस्थित परीक्षा नियन्त्रण कार्यालयले भने एसएलसी परीक्षाको पहिलो दिन शान्तिपूर्ण ढंगले सम्पन्न भएको बातएका छन्।

सोमबारदेखि सुरु भएको एसएलसी परीक्षामा ३ लाख भन्दा बढी बिद्यार्थीले परीक्षा दिइरहेका छन्।

Popularity: 9%

3 comments March 27th, 2006

आजदेखि एसएलसी सुरु

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २७-
विद्यार्थीहरुको लागि फलामे ढोका मानिने एसएलसी परीक्षा आजदेखि सुरु भएको छ।

एसएलसीमा सबैभन्दा बढी परिक्षार्थी काठमाडौंमा रहेका छन् भने कम मनाङमा रहेका छन्।

एसएलसीलाई बिना राजनीतिक दबाब स्वतन्त्र रुपले सञ्चालन गर्न दिन सरकार र विद्रोही दुवै पक्षले माग गरेका छन्।

सरकारले एसएलसी परीक्षाको प्रवेश पत्र बोकेर परीक्षा दिन जान लागेका कसैलाई पनि परीक्षा अवधिभर गिरफ्तार नगरिने बताएको छ भने विद्रोही माअ‍ोवादीको विद्यार्थी संगठनले यस अवधिमा हुनसक्ने बलात्कार , गिरफ्तारी र मनोवैज्ञानिक दबाबको स्वतन्त्र रुपमा पर्यवेक्षण गर्न सबैलाई अनुरोध गरेका छन्।

Popularity: 9%

Add comment March 27th, 2006

पाँच लाख जनता सडकमा उतार्ने

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २७-
नेपाली काँग्रेसले चैतको आन्दोलनमा पाँच लाख जनतालाई सडकमा उतार्ने बताएको छ।

आन्दोलनको लागि सुझाव लिने क्रममा हिजो पत्रकारहरुसित भएको छलफलका क्रममा काँग्रेसले त्यस्तो योजनाको खुलासा गरेको हो।

पत्रकारहरुले भने आम हडताल वा जनप्रदर्शन मध्ये एउटा मात्रै विकल्प रोजेमा त्यो सफल हुने सुझाव दिएका थिए।

सात दलले आगामी चैत २४ गतेदेखि २७ गतेसम्म चार दिन लामो आम हड्ताल गर्दैछन्। सरकारले त्यसलाई दबाउन तयारी गरिरहेको समाचार प्राप्त भएका छन्।

Popularity: 9%

1 comment March 27th, 2006

युध्दविरामका लागि एमालेको आग्रह

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २७-
नेकपा एमालेले हिंसा बन्द गरी तुरुन्त युद्धविरामको घोषणा गर्न नेकपा माओवादीलाई आग्रह गरेको छ ।

आइतवार बसेको केन्द्रीय समितिको बैठकले यस्तो आग्रह गरेको हो ।

बैठक पछि सार्वजनिक विज्ञप्तिमा जारी हिसाले सात राजनितिक दलहरुको दिगो शान्ति र पूर्ण प्रजातन्त्रका लागि संञ्चालित आन्दोलनलाई पनि नराम्रोसंग प्रभावित गरेको उल्लेख छ । पार्टीले सरकारलाई जथाभावि हत्या, गिरफ्तरी गरि मुलुकमा डर र त्रासको वातावरण श्रृजना गर्ने कार्य बन्द गर्न चेतावनी दिएको छ ।

Popularity: 9%

Add comment March 27th, 2006

मन्त्रीको घरमा बम पड‍कियो

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २६-
शान्ति सुरक्षाको स्थिति मजबुत भएको दावी सरकारले गर्दैगर्दा शनिबार राति शाही सरकारका एक सहायक मन्त्रीको घरमा बम पडकिएको छ।

सामान्य प्रशासन सहायक मन्त्री तोरणबहादुर गुरुङको घरमा राति ८ बजेतिर बम पडकिएको थियो। विस्फोटबाट कोही हताहत नभए पनि त्यहाँ राखिएको गाडीमा भने केही क्षति पुगेको छ।

मन्त्री गुरुङ स-परिवार पुल्चोकस्थित मन्त्री निवासमा बस्ने गर्नुहुन्छ।

Popularity: 9%

1 comment March 26th, 2006

नेपाली प्रेस अझै खतरनाक अवस्थामा

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २६-
नेपाली प्रेसको अवस्था माघ १९ पछि खस्केको र हालसम्म कुनै सुधार नआएको निश्कर्ष अध्ययनका लागि स्थलगत भ्रमणमा आएको अन्तर्राष्ट्रिय पत्रकारहरुको टोलीले गरेको छ।

आफ्नो सात दिने भ्रमणको अन्त्यमा अन्तर्राष्ट्रिय पत्रकारहरुको मिसनले आयोजना गरेको पत्रकार सम्मेलनमा पहिले गरेको भ्रमण र अहिलेको भ्रमणमा कुनै पनि सुधार नआएको बताएको छ।

सुरक्षाकर्मीहरुले पत्रकारहरुलाई दुर्व्यवहार गर्ने क्रम जारी रहेको , सरकारले स्वतन्त्र पत्रकारहरुलाई दुरुत्साहन गरेको , अर्कै पत्रकार संगठन खोली पत्रकारहरुबीच फुट ल्याउन खोजेको कुरा त्यसमा उल्लेख छ।

अन्तर्राष्ट्रिय पत्रकारहरुको उक्त टोलीले चार जिल्लाको स्थलगत भ्रमण गरेको थियो। त्यसैगरी उनीहरुले सरकारी अधिकारी , नेता , नागरिक समाज, अनलाइन पत्रकार तथा ब्लगरहरुसित पनि भेटघाट गरेको थियो।

Popularity: 9%

Add comment March 26th, 2006

मोटरसाइकलमा दुई जना चढ्न नपाइने

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २६-
काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा मोटरसाइकलमा पछाडि यात्रु राखेर चलाउन नपाइने भएको छ। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सूचना जारी गर्दै शनिबारदेखि चैत मसान्तसम्म यस्तो व्यवस्था लागू गरेका हुन्।

माअ‍ोवादी आक्रमणको खतरालाई ध्यानमा राख्दै यसो गर्नु परेको बताइएको छ।

यसअघि सर्वोच्चले व्यक्तिको सम्पत्तिमाथिको हकको उल्लंघन हुने भन्दै मोटरसाइकलमा दुई जना चढ्न नपाउने गरी प्रतिबन्ध लगाउन नमिल्ने आदेश जारी गरेको थियो। यसकारण हाल प्रशासनको सूचनामा ‘अनुरोध ‘ भनिए पनि सुरक्षाकर्मीहरुले त्यसलाई बाध्यकारी रुपमा नै लागू गराइरहेको सडकमा देखिएको छ।

Popularity: 9%

Add comment March 26th, 2006

जनकपुरमा माओवादी आक्रमणः २ प्रहरीको मृत्यु

एचकेनेपाल डट कम, मार्च २४-
काठमाडौं, माओवादीले शुक्रबार सांझ जनकपुरको मुजेलियास्थित प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा २ प्रहरीको मृत्यु भएकोछ।

समाचार सुत्रका अनुसार सांझ करिव ५ बजे एउटा जिपमा आएका माओवादीले जनकपुरको मुख्य प्रवेशद्वारमा रहेको प्रहरी चौकीमा आक्रमण गरेका थिए। आक्रमणमा परी मृत्यु हुनेमा प्रहरी हवलदार रामनाथ यादब र प्रहरी जवान प्रेम स्याम्बो रहेको जनाएका छन्।

आक्रमणपछि माओवादीले ६ राइफल र १ सञ्चार सेट लुटेर लगेको र केही प्रहरीहरु सम्पर्क बाहिर रहेको जनाएकाछन्। उक्त प्रहरी चौकीमा १ प्रहरी निरीक्षकसहीत ३५ प्रहरी जवान रहंदै आएका थिए।

माओवादी तर्फ भएको क्षतिको विवरण भने प्राप्त भै सकेको छैन।

Popularity: 9%

Add comment March 24th, 2006

माधव नेपाल एक्लै , राजा मन्त्रीहरुसित

माधव नेपाल एक्लै , राजा मन्त्रीहरुसित
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २४-
निवासको नजरबन्दलाई बुधबारको मितिमा खारेज गरेको पत्र बिहीबार दिएर सोही दिन निवासबाट लगिएका नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई अहिले ककनीस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा एक्लै थुनामा राखिएको थाहा भएको छ।

उता , राजाले भने पोखरामा बिहीबार नै सहायक मन्त्रीहरुसित भेट गरेका छन्। राजा फागुनदेखि नै पोखरामा रहेका छन्। यो चैत महिना भरी पनि राजदम्पती पोखरामा नै राज हुने बताइएको छ।

………………………………………………………………………………….

एमाले महासचिव गिरफ्तार

एचकेनेपाल डट कम, मार्च २३-
काठमाडौं, २ महिनादेखि घरैमा नजरबन्द बनाइनु भएका एमाले महासचिव माधवकुमार नेपाललाई आज बिहीबार अपरान्ह करिव ४ बजे सरकारले गिरप्तार गरी सशस्त्र प्रहरी बलको ककनीस्थित ‘बेस क्याम्प’ मा नजरबन्द राखिएको छ।

महासचिव नेपाललाई ३ महिने पक्राउ पुर्जी दिएर सशस्त्र प्रहरी उपरीक्षक माधव थापाको नेतृत्वको टोलीले गिरफ्तार गरिएको थियो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी सुशिल घिमिरेद्वारा हस्ताक्षरित पुर्जीमा महासचिव नेपालले सार्वजनिक स्थलहरुमा वर्तमान सरकार विरुद्ध भ्रामक कुरा फैलाएको त्यो नरोकेमा शान्ति सुरक्षामा खलल पुग्ने देखिएकोले भन्ने उल्लेख गरिएको छ।

गिरप्तार गर्नु अघि नेपाललाई २ वटा पुर्जी दिइएका थिए, एउटा पुर्जीमा चैत ९ गतेको नजरबन्द आदेश खारेजी र अर्को चैत १० देखि ९० दिन (तीन महिना) को लागि ककनीस्थित सशस्त्र प्रहरी बलको क्याम्पमा नजरबन्दमा राखिने उल्लेख गरिएको छ।

हिजै मात्र महासचिव नेपालको निवासबाट सशस्त्र प्रहरीले सञ्चारका विभिन्न सामाग्री जफत गरि लगेका थिए। त्यसै गरी आज बिहान उहांका दुइ सहोदर भाईहरु सरोज र बिनोदको घर खानतलासी गरी सञ्चारका सबै उपकरणहरू जफत गरेको छ।

Popularity: 9%

7 comments March 24th, 2006

नेपालविरुध्दको कारबाही जघन्य अपराध

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २४-
नेकपा एमालेका महासचिव माधवकुमार नेपालको निवासमा बिना पूर्जी खानतलासी गरेर सञ्चार उपकरण जफत गर्नु र बिना आधारको पूर्जी दिएर थुनामा राख्नु मानवअधिकारको दृष्टिले जघन्य अपराध भएको विचार मानवअधिकारकर्मी पद्मरत्न तुलाधरले राख्नुभएको छ।

नेपालविरुध्द सरकारले गरेको ज्यादतिको विरोधमा बिहीबार राजधानीमा आयोजित एक सभामा बोल्दै तुलाधरले सम्पूर्ण आस्थाका बन्दी रिहा गर्न सरकारलाई आग्रह गर्नुभयो।

सभालाई सम्बोधन गर्दै एमाले नेता ईश्वर पोखरेलले राज्यले जनताको अधिकार खोस्ने क्रममा अब व्यक्तिगत सम्पतिसमेत खोस्ने काम थालेको आरोप लगाउनु भयो।

त्यसैगरी सदभावनाका राजेन्द्र महतो , वाममोर्चाका प्रभुनारायण चौधरी, बार अध्यक्ष शम्भु थापा, पत्रकार महासंघका सभापति विष्णु निष्ठुरी लगायतकाले निरंकुश राजाका विरुध्द अन्तिम लडाइँका लागि आन्दोलन चर्काउनुको विकल्प नरहेको बताए।

Popularity: 9%

2 comments March 24th, 2006

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2006
M T W T F S S
« Feb   Apr »
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Posts by Month

Posts by Category

More news....