Archive for March 20th, 2006
एचकेनेपाल डट कम, मार्च २०
काठमाडौं, माओवादी र सुरक्षाकर्मी बीच आज बिहान काभ्रेको दाप्चामा भएको दोहोरो भिडन्तमा परी कम्तीमा १३ सुरक्षाकर्मी र १ माओवादीको मृत्यु भएकोछ।
शाही नेपाली सेनाको ९ नम्बर वाहिनी भकुण्डेको भनाईलाई उदृत गर्दै भिडन्तमा परी ३ सुरक्षाकर्मी र १ सर्वसाधारण घाइते भएको समाचार स्रोतले जनाइएकोछ।
माओवादीले बन्द गरेको पानीको मुहान खोल्न गएका सुरक्षाकर्मीहरुमाथि माओवादीले एक्कासी आक्रमण गरेपछि दोहोरो भिडन्त भएको थियो। भिडन्तस्थलमा १ माओवादीको शव फेला परेको छ।
घटनाको पूर्ण विवरण भने आधिकारिक रुपमा प्राप्त भैसकेको छैन।
(Last updated:10:35 PM HKST 20 March)
Popularity: 17%
March 20th, 2006
तपस्वी भेटिएको दावी
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २०-
बाराको रतनपुरीस्थित जंगलमा नौ महिनादेखि तपस्यामा लीन हुँदाहुँदै गएको साता एक्कासी हराएका तपस्वी रामबहादुर बम्जन आइतबार फेला परेको दावी प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै प्राप्त समाचारमा जनाइएको छ।
अोम नमो बुध्द तपस्वी सेवा समितिले बम्जनलाई भेट्टाएको दावी गरेको हो।
रतनपुरीबाट तीन किलोमिटर दक्षिणपश्चिममा अवस्थित गोपेनीको जंगलमा बम्जनलाई आइतबार भेटिएको दावी समितिका अध्यक्ष वेदबहादुर लामालाई उद्धृत गर्दै संयुक्त सुरक्षा बेस क्याम्प निजगढका प्रहरी निरीक्षक रामकमल आचार्यले बताएका छन्।
समितिका अध्यक्षसहित सात जनाको टोलीले बम्जनलाई भेट्टाएको र उनीसित वार्तालाप गरी भिडियोसमेत खिचेको भनिएको छ। वार्तालापमा बम्जनले उक्त स्थलमा अत्यधिक हल्ला भएकोले छाडेर गएको र पाँच दिन पाँच रात हिँडेर पुगिने ठाउँमा बसी पुनः ध्यानमा लीन हुने जानकारी दिएको बताइएको छ।
अब ६ वर्षसम्म मलाई नखोज्नू , म यतै छेउछाउमा हुनेछु , भनी बम्जनले बताएको भनिएको छ।
………………………………………………………………………………….
तपस्वी फर्किएनन्
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च १५-
शनिबार एक्कासी बेपत्ता भएका बाराका तपस्वी किशोर रामबहादुर बम्जनको अझै कुनै अत्तोपत्तो लागेको छैन।
उनको कुशलताका लागि हिन्दू तथा बौद परम्परा अनुसार मंगलबारसम्म भूमिसिध्दी र नागपूजा गरिएको थियो। आइतबारदेखि त्यस्तो पूजा तीन दिनका लागि गरिएको थियो।
तपस्वी नफर्किए पनि पूजास्थलमा तपस्वीको आत्मा प्रवेश गरेको दावी गर्ने दुई जना भेटिएका छन्। काभ्रेका लामु होल्मोले तपस्वी आफ्नो शरीरमा प्रवेश गरेको दावी गर्दै मंगलबार साँझसम्ममा तपस्वी आफ्नो स्थलमा फर्कने भविष्यवाणी गरेका थिए। त्यसैगरी अर्का एक जनाले पनि आफ्नो तपस्वीसँग कुरा भएको भन्दै तपस्यास्थलमा होहल्ला भएकोले आफूले त्यस स्थल परित्याग गरेको भनी बताएको दावी गरेका छन्।
…………………………………………………………………………..
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च १३-
९ महिनादेखि निराहार तपस्या बसिरहेको दावी गरिएका बाराका किशोर रामबहादुर बम्जनको खोजी तीव्र पारिए पनि सोमबार बिहानसम्म उनको कुनै अत्तोपत्तो लागेको छैन।
शनिबार एकाबिहानै उनी एक्कासी कसैलाई थाहा नदिई काँडेबार समेत काटेर बेपत्ता भएका थिए।
आइतबार दिनभर कसैले कहाँ कसैले कहाँ देखेको भनी दावी गरेका कुरा आए पनि कुनै पनि कुराको पुष्टि हुन सकेको छैन।
ठूलो संख्यामा सुरक्षाकर्मी र स्वयंसेवकहरुले जंगलै घेराबन्दी गरी खोजी कार्य अघि बढाउँदा पनि फेला नपरेपछि उनी हराएको घटनालाई शंकास्पद दृष्टिले हेर्न थालिएको छ।
…………………………………………………………………
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च १२-
बारा जिल्लाको निजगढभन्दा पश्चिमपटि रहेको रतनपुर स्थित चारकोसे झाडीको जङ्गलमा रहेको एउटा पीपलको रूखमुनि विगत नौ महिनादेखि केही नखाई ध्यानमग्न रहेका भनिएका १६ वर्षीय रामबहादुर बोम्जन शुक्रबार रातिदेखि बेपत्ता भएका छन्। उनको खोजी भइरहे पनि आइतबार बिहानसम्म कुनै अत्तोपत्तो लाग्न सकेको छैन।
वीरबहादुर बोम्जन र मायादेवीका तेस्रा छोराका रुपमा जन्मिएका रामबहादुर गत जेठ ३ गतेदेखि तपस्यामा लीन भएका थिए ।
तपस्वी बोम्जनको रेखदेख र सुरक्षाका लागि खटिएका १२ जना स्वयंसेवक र एकजना पुजारीले शुक्रबार बेलुकी १२ बजेसम्म बोम्जनलाई तपस्यामा लीन भएको देखेको र उनीहरू निदाएपछि बिहान तीन बजे हेदा तपस्वी बोम्जन र उनका पुजारी कान्छा भनिने साइला तामाङलाई तपस्यास्थलमा देख्न सकेका थिएनन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चाका विषय बनेका लिटिल बुध्द हराएको समाचारलाई पनि अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरुले ठूलो महत्त्वका साथ सम्प्रेषण गरेका छन्।
राम बोम्जनसंग सम्बिन्धत भिडीयो क्लिप
राम बोम्जनबारे न्युज अपडेट पढ्न यहां क्लिक गरौं।
Popularity: 17%
March 20th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २०-
माअोवादीसित दोस्रो पटक समझदारी गरी सात दलले चैत २६ गते काठमाडौं लाखौं जनता उतार्ने भएपछि त्यसलाई दबाउन सरकारले तयारी थालेको सम्वध्द सूत्रले जनाएका छन्।
सात दलले लगातार चैत २४ , २५ , २६ र २७ गते चार दिन आम हड्तालको कार्यक्रम राखेको र त्यसलाई माअोवादीले सहयोग र समर्थन गर्ने सार्वजनिक विज्ञप्ति जारी गरेकोले माअोवादीको आडमा ती कार्यक्रमलाई रोक्न कर्फ्यु समेत लगाउन सक्ने संभावना देखिएको छ।
सात दलले गर्ने भनेको आन्दोलनबाट शान्तिसुरक्षा खल्बलाउने स्थिति उत्पन्न हुने संकेत देखिए फेरि कर्फ्यु आदेश जारी गर्न सरकार पछि नपर्ने सरकारका प्रवक्ता एवं सूचना तथा संचार राज्यमन्त्री श्रीष राणाले बताएका छन्।
राज्यद्धारा आतंककारी घोषित माओवादीसँग समझदारी गर्ने सात दलका नेतालाई कारबाही गरिने पनि उनले बताएका छन्।
Popularity: 17%
March 20th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २०-
नेपालमा बर्ड फ्लु छैन भन्दै ठाउँठाउँमा चिकेन एन्ड एग फेस्टिभल मनाउँदै गरेको अवस्थामा पूर्वी जिल्ला मोरङको रंगेली क्षेत्रमा केही जंगली र घरपालुवा पंक्षीहरु मृत अवस्थामा फेला परेपछि त्रास फैलिएको छ।
रंगेली क्षेत्रमा आइतबार बिहान काग , सुगा , मैना तथा कुखुरा गरी २८ वटा पंक्षी मृत अवस्थामा फेला परेका थिए।
ती पक्षीहरुको मृत्यु हुनुको कारण थाहा हुन सकेको छैन। यस बारेमा थप अनुसन्धानका लागि मृत पक्षीको नमूना काठमाडौं पठाइएको छ।
यसअघि नवलपरासीमा पनि केही सय कुखुरा मरेका थिए तर अनुसन्धानकर्ताहरुले ती कुखुरा बर्ड फ्लुका कारण नभई न्यु क्यासल भाइरसका कारण मारिएको बताएका थिए।
Popularity: 17%
March 20th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, मार्च २०-
बेलायती सेनामा कार्यरत बेलायती गोर्खाली सैनिकका परिवारका सदस्यले आफूहरू आफ्नो परिवारसँगै बेलायतमा बस्न पाउने कानुनी आधारको माग गरेका छन्।
द ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीले आइतबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरूले आफूहरूलाई बेलायती नागरिकसरह सेवा र सुविधा उपलब्ध गर्राई बेलायतमा रहन दिनुपर्ने बताए।
बेलायत सरकारले बेलायती गोर्खा सैनिकका हकहित , सुखसुविधाबारे गरेका नीतिनियम र पाउनुपर्ने अधिकारबारे परिवारसँग छलफल गर्न द ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष रिटायर्ड मेजर टिकेन्द्रदल देवानको संयोजकत्वमा पाँच सदस्यीय टोली नेपाल आएको छ ।
पत्रकार सम्मेलनमा द ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष अवकाशप्राप्त मेजर देवानले सन् १९९७ अघिदेखि अवकाशप्राप्त बेलायती गोर्खा सैनिकहरू र तिनका परिवारले पाउनुपर्ने तलब तथा निवृत्तिभरणजस्ता हकअधिकारका लागि बेलायती सरकारले भेदभावपूर्ण नीतिमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
द ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका जनसर्म्पर्क विभाग अधिकृत डा . चन्द्र लोक्सम्पले बेलायती सैनिकसरह अधिकार पाउनका लागि आफूहरू मागहरूसहित अगाडि बढिरहने बताउँदै संस्थाले बेलायतमा ब्रिटिस गोर्खा सामुदायिक रेडियो स्थापना गर्नाका साथै आगामी दिनमा काठमाडौँमा अस्पताल खोल्ने प्रयास गरिरहेको जानकारी दिनुभयो।
Popularity: 17%
March 20th, 2006