Archive for July, 2006

अब राजाको जेठो सन्तान गद्दीमा बस्ने

एचकेनेपाल डट कम प्रतिनिधि-
मन्त्रिपरिषद्को आज बसेको बैठकले राजगद्दी उत्तराधिकारी सम्बन्धी विधेयक पास गरेको छ। अब राजाको जेठो सन्तान छोरा वा छोरी जे भए पनि गद्दीमा बस्नेछ।

त्यसैगरी दरबारका सबैलाई खर्च नदिई गद्दीमा बस्ने राजा वा रानी, उनका बाबुआमा, गद्दीमा बस्ने पालो भएका युवराज वा युवरानीलाई मात्र खर्च दिइनेछ।

राजगद्दीमा को बस्ने भनी संसदको उत्तराधिकार व्यवस्थापन समितिले निर्णय गर्नेछ। समितिमा प्रधानमन्त्री अध्यक्ष हुनेछन् भने सभामुख, प्रधानन्यायाधीश, रक्षामन्त्री, गृहमन्त्री लगायत विपक्षी दलका सबै नेता सदस्यहरु रहनेछन्।

Popularity: 11%

6 comments July 31st, 2006

कटुवाल र राणा पनि आयोगमा अनुपस्थित

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
प्रधानसेनापति पछि आज बिहान ११ बजे बयानका लागि बोलाइएका सेनाका दोस्रो दर्जाका रथि रुक्मांगत कटुवाल एवं तत्कालीन उपत्यका पृतनापति दीपकविक्रम राणा पनि आयोगमा उपस्थित भएनन्।

उनीहरुले प्रधानसेनापतिले बयान नदिई आफूहरु नआउने जानकारी पठाएका थिए।

आयोगका अध्यक्ष कृष्णजंग रायमाझीले भने साधन र हिम्मत भएमा उनीहरुलाई गिरफ्तार गर्न सकिने बताउनुभएको छ।

Popularity: 11%

3 comments July 31st, 2006

माओवादीको अन्तरिम संविधानमा राजतन्त्रको अन्त्य

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले अन्तरिम संविधान मस्यौदा समिति समक्ष बुझाएको अन्तरिम संविधानको सुझावमा राजतन्त्रको अन्त्य भएको र निर्वाचित संविधानसभाले अर्को व्यवस्था नगरेको अन्तरिम अवधिमा अन्तरिम व्यवस्थापिकाका अध्यक्षले देशको राष्ट्राध्यक्षको समेत भूमिका निर्वाह गर्नेछन् भनिएको छ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको अन्तरिम संविधान, २०६३ नाम दिइएको प्रस्तावित उक्त संविधानको प्रस्तावनामा पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्थालाई संस्थागत गर्नुपर्ने उल्लेख छ।

साथै, नेपालमा एक र्सवशक्ति सम्पन्न अन्तरिम व्यवस्थापिका रहने, देशको व्यवस्थापकीय अधिकार संविधान र यस संविधान मुताबिक बनेको कानुन बमोजिम प्रयोग हुने गरी यसै अन्तरिम व्यवस्थापिकामा निहित हुने, यसको गठन एक बृहद् राष्ट्रिय राजनीतिक सम्मेलनले गर्ने तथा सो सम्मेलनको सहभागिता र त्यसको आधार नेकपा (माओवादी) र सात राजनीतिक दलबीचको वार्ताद्वारा टुङ्गो लगाइने भनिएको छ।

बृहद् राष्ट्रिय राजनीतिक सम्मेलनले सात राजनीतिक दलबाट १०१ जना, नेकपा -माओवादी)को तर्फबाट १०१ जना र लोकतान्त्रिक आन्दोलनमा सहभागी नागरिक समाज, जनवर्गका सङ्गठनहरू र देशका विशिष्ट व्यक्तित्वहरूमध्येबाट १०१ जना गरी ३०३ जनाको अन्तरिम व्यवस्थापिका रहने छन्।

सेनाको हकमा अन्तरिम कालमा नेपाली सेना र जनमुक्ति सेना दुबै आ-आफ्ना ब्यारेक र क्याम्पमा सीमित गरिने, तिनको अनुगमन भरपर्दो राष्ट्रिय र अन्तर्राष्ट्रिय टोलीद्वारा गरिने, दुबै सेना अन्तरिम व्यवस्थापिका र अन्तरिम सरकारको मातहतमा हुने र ती दुबैको परमाधिपति प्रधानमन्त्री हुने गरी प्रस्ताव गरिएको छ।

प्रस्तावमा नयाँ सङ्घात्मक ढाँचा अनुसार देशलाई किरात गणतन्त्र, मधेश गणतन्त्र, तामाङ गणतन्त्र, नेवाः गणतन्त्र, तमुवान गणतन्त्र, मगरात गणतन्त्र, थारुवान गणतन्त्र, भेरी-कर्णाली गणतन्त्र र सेती-महाकाली गणतन्त्र गरी नौ वटा स्वायत्त गणतन्त्र प्रदेशहरूमा विभाजित गरिने र ती प्रत्येकमा अन्तरिम स्वायत्त गणतन्त्र सरकारहरू गठन गरिने उल्लेख छ।

Popularity: 11%

Add comment July 31st, 2006

७४ वटा कविता राष्ट्रिय गान बन्ने होडमा

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
प्रतिनिधिसभा घोषणा कार्यान्वयन सुझाव समितिद्वारा राष्ट्रिय गान सम्बन्धमा रचना सहितको सुझाव उपलब्ध गराइ दिनका लागि आहृवान गरिएकोमा हालसम्म प्राप्त भएका ७४ वटा रचना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आवश्यक कारबाहीका लागि पठाइएको छ।

समितिले यसअघि नै राष्ट्रिय गान चयन गर्नका लागि वरिष्ठ इतिहासकार, राजनीतिक वैज्ञानिक, नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरू, साहित्यकार, सङ्गीतज्ञ र गायकहरू समेतको समिति गठन गर्नका लागि नेपाल सरकार समक्ष सुझाव पेस गरेको समितिले जनाएको छ।

राष्ट्रकवि माधव घिमिरे, धर्मराज थापालगायत धेरै युवा कविबाट राष्ट्रिय गानका रचनाहरू प्राप्त हुन आएको र समितिलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको राष्ट्रिय गानसम्बन्धी रचनासमेत प्राप्त भएको जनाइएको छ।

समितिले अझ बढीभन्दा बढी राष्ट्रिय गानका रचनाहरू प्राप्त हुने आशा गरेको छ।

Popularity: 11%

Add comment July 31st, 2006

उपसभापति कोइराला मुम्बई हैन अमेरिका जाने

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेपाली काङ्ग्रेसका उपसभापति सुशील कोइराला स्वास्थ्योपचारका लागि भोलि अमेरिका जाने हुनुभएको छ।

उपसभापति कोइरालालाई यही साउन ५ गते काठमाडौँको गैरीधारा चोकमा नेपाली सेनाको गाडीले ठक्कर दिएपछि उहाँ घाइते हुनुभएको थियो। महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उहाँको गालाको भित्री भागको शल्यक्रिया गरिएको थियो।

यसअघि उहाँ स्वास्थ्योपचारका लागि भारतको मुर्म्बई जाने कार्यक्रम थियो।

Popularity: 11%

2 comments July 31st, 2006

तातोपानी काण्डको छानबिन गर्न समिति गठन

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेपाल सरकारले सिन्धुपाल्चोक जिल्लाको तातोपानी बजारमा भएको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद नेपाल रहेको एक सदस्यीय छानबिन समिति गठन गरेको छ।

गृह मन्त्रालयका अनुसार तातोपानी बजारमा गाडीले २ स्थानीय व्यक्तिलाई ठक्कर दिई घाइते बनाएको घटना र स्थानीय व्यापारीलाई सुरक्षाकर्मीहरूले अनावश्यक दुःख, झण्झट दिएको भन्ने सर्न्दर्भलाई लिएर हिजो तातोपानीमा असन्तुष्ट व्यक्तिहरूले त्यहाँस्थित सरकारी कार्यालय तोडफोड गर्ने, तालाबन्दी गर्ने, ढुङ्गामुढा गर्ने, सुरक्षाकर्मीहरूमाथि आक्रमण गर्नेजस्ता कार्यहरू भएपछि भन्सारको सशस्त्र प्रहरी गस्ती टोलीले केही राउन्ड हवाइ फायर गर्दा तातोपानी-४ का ३५ वर्षीया तारा तामाङको मृत्यु भएको थियो।

Popularity: 11%

Add comment July 31st, 2006

अन्तरिम संविधान मस्यौदा समितिको म्याद थप

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेपाल सरकार तथा नेकपा (माओवादी) बीच अन्तरिम संविधान मस्यौदा समितिमा एक सदस्य थप गरी १० दिनका लागि समितिको कार्य अवधि थप गर्ने सहमति भएको छ।

हिजो सिंहदरबारस्थित शान्ति सचिवालयमा नेपाल सरकार तथा नेकपा -माओवादी)बीच भएको वार्तामा उक्त सहमति भएको हो।

समितिका थप सदस्यमा धरान, सुनसरीका मीनबहादुर विश्वकर्मा हुनुहुन्छ। समितिको कार्य अवधि साउन २४ गतेसम्मका लागि थप गरिएको वार्तापछि जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रेस विज्ञप्तिमा नेपाल सरकारका वार्ताटोलीका तर्फाट गृहमन्त्री कृष्णप्रसाद सिटौला र नेकपा -माओवादी) का वार्ताटोलीका तर्फबाट संयोजक कृष्णबहादुर महराले हस्ताक्षर गर्नुभएको छ।

वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री तथा सरकारी वार्ता टोलीका सदस्य प्रदीपकुमार ज्ञवालीले अन्तरिम संविधान मस्यौदा समितिमा केही दलका तर्फाट सुझाव आउन बाँकी रहेको र प्रतिवेदन पूर्ण गर्न बाँकी रहेकाले कार्य अवधि थप गरिएको स्पष्ट गर्नुभयो।

Popularity: 11%

Add comment July 31st, 2006

एमालेद्वारा अन्तरिम संविधान सुझाव प्रस्तुत

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेकपा एमालेले हालैको जनक्रान्तिमा नेपाली जनताका भावना र जनादेशबमोजिम लोकतान्त्रिक गणतन्त्रात्मक राज्य निर्माण गरी राज्यको पुनःसंरचना एवं समावेशी मान्यताअनुरूप राज्य व्यवस्था सञ्चालन, सङ्क्रमणकाललाई समग्रतामा मार्गदर्शन र नयाँ संविधानको आधारभूमि तयार गर्ने उद्देश्यले विभिन्न बाह्रवटा सिद्धान्तलाई आधार मानी अन्तरिम संविधान निर्माण गर्नुपर्ने सुझाव दिएकोछ।

नेकपा एमालेले आफ्नो संवैधानिक संरचनासम्बन्धी सुझाव कार्यदलमार्फत् अन्तरिम संविधान मस्यौदा समितिलाई हिजो समितिको कार्यालयमा सो सुझाव दिएको हो।

सो सुझावमा नेपालको र्सार्वभौमसत्ता नेपाली जनतामा निहित रहने र त्यसको प्रयोग विधायिकामार्फ हुनुपर्ने, जनक्रान्तिको भावनाबमोजिमको नयाँ राष्ट्रियगान हुनुपर्ने, नेपालीलगायत विभिन्न भाषालाई सरकारी कामकाजको भाषा बनाउने व्यवस्था हुनुपर्ने, वि.सं.२०३७ को जनमत सङ्ग्रहको मतदाता नामावलीलाई आधार मानी सरल र सहज प्रक्रियाबाट एकपटक नागरिकता प्रदान गरी समस्याको टुङ्गो लगाउने व्यवस्था गर्ने, आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्था गर्ने र नेपाल धर्मनिरपेक्ष राज्य हुनुपर्ने मतदाताको उमेर १६ वर्ष गर्ने उल्लेख छ।

त्यस्तै जनआन्दोलनको मुख्य जनादेश लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सोसम्बन्धमा जनताको मत सङ्कलन गरी संविधानसभाले सोहीअनुरूपको संविधान निर्माण गर्न जनमत सङ्ग्रह र संविधानसभाको निर्वाचन एकैपटक गर्ने व्यवस्था पनि सुझावमा दिइएकोछ।

अन्तरिम संविधान जारी भएपछि नेपाल अधिराज्यको संविधान, २०४७ खारेज गर्नुपर्ने सुझाव दिंदै सो संविधान कार्यान्वयन गर्न कुनै बाधा-अड्काऊ परेमा मन्त्रिपरिषद्को प्रस्तावका आधारमा प्रतिनिधिसभा वा व्यवस्थापिकाले त्यस्तो बाधाअड्काऊ फुकाउनसक्ने व्यवस्था गर्ने कुरा सुझाइएको छ।

Popularity: 11%

Add comment July 31st, 2006

लोकतन्त्र आएपछि प्रहरीको गोलीबाट पहिलो मृत्यु

दुई दिनअघि चिनियाँ सरकारी गाडीले ठक्कर दिई दुई नेपालीलाई घाइते बनाउने दोषीलाई प्रहरीले मुक्त गरेको विरोधमा स्थानीय बासिन्दाले सिन्धुपाल्चोकको तातोपानीस्थित भन्सार कार्यालयमा गरेको प्रदर्शनलाई नियन्त्रणमा लिन आइतबार प्रहरीले गोली चलाउँदा एक जना महिलाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्।

वैशाख ११ को राजनीतिक परिवर्तनपछि ठाउँठाउँमा उत्तेजक र अराजक प्रदर्शनहरु भएको भए पनि प्रहरीको गोलीबाट प्रदर्शनकारीको ज्यानै गएको यो पहिलो घटना हो।

बिहानैदेखि तनावपूर्ण रहेको स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुले हवाई फायर गरेका थिए । सुरक्षाकर्मीको गोली लागेर दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

Popularity: 11%

Add comment July 31st, 2006

प्रचण्ड र माधवबीच वार्ता

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता-
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका महासचिव माधवकुमार नेपालबीच आज आइतबार नेपालको कोटेश्वरस्थित निवासमा वार्ता भएकोछ।


समाचार सुत्रका अनुसार माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि भैरहेको आक्रमण र अपहरणको घटनाप्रति महासचिव नेपालले ध्यान आर्कषण गराएको बुझिएकोछ। दुवै नेताबीच घटनाको आवश्यक अनुसन्धान गर्ने सहमति भएको बताएकोछ।

वार्तामा एमाले स्थायी समितिका सदस्य झलनाथ खनाल र माओवादी नेता डा. बाबुराम भट्टराई पनि उपस्थित थिए।

Popularity: 11%

1 comment July 30th, 2006

प्रधानसेनापति बयान दिन आएनन्

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
प्रधानसेनापति प्यारजङ्ग थापा आयोगको अपहेलना गर्दै बयानका लागि अनुपस्थित हुनुभएको छ।
पोखरा जाने कार्यक्रम पहिले नै निर्धारण भइसकेको भन्दै थापा बयान दिन आयोगमा नगएका हुन्। अब बयान कहिले भन्ने चाहिँ बताइएको छैन।

जनआन्दोलनमा भएको दमनका बारेमा छानबिन गरी कारबाहीका लागि सिफारिश गर्न गठित उच्चस्तरीय आयोगमा आज प्रधानसेनापति प्यारजङ्ग थापाले बयान दिने भनिएको थियो

उहाँलाई आज बिहान ११ बजे बयान दिन आउन आयोगले शुक्रबार पत्र काटेको हो।

आयोगले तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष राजासित पनि बयान लिने बताउँदै आएको छ।

Popularity: 11%

2 comments July 30th, 2006

मालसहितको भारतीय गाडी वेपत्ता

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
काठमाडौँबाट नारायणगढका लागि ढुवानीसहित हिडेको मालवाहक भारतीय गाडी अपहरणमा परेको छ।

बिहान १० वजे नारायणगढका लागि हिडेको यूपी ३२ एएन ५८०२ नम्बरको सो गाडीका चालक ब्रिजकिशोर वाजपेयीलाई कुटपिट गरी मालसहित वेपत्ता पारिएको थियो।

गाडीलाई ती अपहरणकारीले त्रिसुलीको बाटोहुँदै वेपत्ता पारिएको र वेपत्ता गाडीबारे प्रहरीद्वारा खोजतलास भइरहेको जनाएको छ।

Popularity: 11%

Add comment July 30th, 2006

‘माओवादीको हतियार दक्षिण एसिया कै लागि खतरा’

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले माओवादीसँग भएको हतियार नेपालको मात्र चिन्ताको विषय होइन, त्यो हतियार दक्षिण एसियाकै शान्तिका लागि खतरा बन सक्छ, त्यसैले त्यसलाई उचित व्यवस्था गर्नु अति आवश्यक भएको बताउनु भएको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा शाही सरकारको पालामा रुसका लागि राजदूत नियुक्त भएर लोकतान्त्रिक सरकारको पालामा बर्खास्त गरिएका श्रेष्ठले उक्त कुरा बताउनु भएको हो।

Popularity: 11%

2 comments July 30th, 2006

कुटपिटमा संलग्न सबै सैनिक निलम्बित

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
प्रहरीलाई अपहरण गरी ब्यारेकमा लगी रामधुलाइ गर्ने कार्यमा संलग्न सबै सैनिकलाई निलम्बन गरी थुनामा राख्ने निर्णय सरकारले गरेको छ।

घटनाको बारेमा छानबिन गर्नका लागि रक्षा मन्त्रालयका सचिव काशिनाथ शर्माको संयोजकत्वमा एउटा छानबिन समिति गठन गरिएको छ।
समितिले सात दिन छानबिनको प्रतिवेदन पेश गर्नेछ।

सेनाले पनि एउटा छुट्टै छानबिन टोली बनाएको छ।

Popularity: 11%

10 comments July 30th, 2006

ऋण तिर्न नसक्दा साहुजीलाई श्रीमती

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता-
घर खर्चको लागि लिएको ऋण तिर्न नसक्दा धादिङ जोगीमाराका एक गरीव चेपाङले आफ्नी श्रीमती साहुलाई बुझाए।


गरीव लालबहादुर चेपाङले साउन संक्रान्तिमा फिर्ता दिने सर्तमा ३५ सय रुपैयां लिएका थिए। तर उनले तोकिएको समयमा ऋण तिर्न नसकेपछि ऋणधनी धनबहादुरलाई श्रीमती हस्तमाया चेपाङ बुझाएको गाउंलेहरु बताउंछन्।

लालबहादुरले आफ्नी श्रीमती साहुलाई मात्र बुझाएनन् , त्यही रात ऋणधनी धनबहादुर र आफ्नै प्राण प्यारी श्रीमती हस्तमायाको हातबाट मारिनु पर्‍यो।

एक सातासम्म लालबहादुरको दुखद अन्त्यबारे कसैलाई थाहा भएन। लालबहादुर बेखबर हराएपछि गाउंलेले उनको खोजी गरे। उनी आफ्नै घरमा मृत अवस्थामा भेटियो।

प्रहरीले लालबहादुरको हत्याको अभियोगमा धनबहादुर र हस्तमायालाई पक्राउ गरी कारवाही सुरु गरेकोछ।


Popularity: 11%

2 comments July 30th, 2006

पुलिस पिट्ने सेनाका क्याप्टेन निलम्बित

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
व्यक्तिगत रिसइबीमा चौकी घेरेर इन्सपेक्टरसहित तीन प्रहरीलाई अपहरण गरी महाराजगञ्ज ब्यारेकमा लगी रामधुलाई गर्ने भैरवनाथ गणका क्याप्टेन रोबिनविक्रम राणा निलम्बन गरिएका छन्।

रक्षामन्त्री तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रत्यक्ष आदेशमा उनलाई निलम्बन गरिएको हो।

यसअघि नेपाली सेनाले दोषीका बारेमा छानबिन गरिरहेको बताएको थियो। तर, सञ्चारमाध्यममा सेनाको कर्तुतको बारेमा छ्यालब्याल भएपछि चारैतिर आलोचनाका स्वर उठ्न थालेपछि रक्षामन्त्रीले उक्त आदेश दिनुभएको हो।

Popularity: 11%

6 comments July 30th, 2006

मलेसियामा दुई नेपाली बन्धक

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
मलेसियामा काम गर्न त्यहाँ पुगेका दुई नेपालीलाई दलालहरुले बन्धक बनाई राखेको खबर प्राप्त भएको छ।


दुई साता अघि त्यहां पुगेका झापा दमक - ७ का बालकृष्ण गौतम र त्रिभूवनबस्ती गाविस - ५ का यज्ञराज तिमिल्सिना काठमाडौंस्थित साइट वे मेन पावर कम्पनीलाई १ लाख ५० हजार रुपैया बुझाएर गएको बताईन्छ। समाचार स्रोतका अनुसार साइट वे मेनवार कम्पनीले उनीहरुलाई टुरिष्ट भिषामा पठाएको जानकारीमा आएकोछ।

अल्फाफोर्स सेक्यूरिटी बारमा काम गर्ने सर्तमा त्यहाँ पुर्‍याइएका नेपालीलाई अवैध भिषामा काम गर्न नमिल्ने भनी होटलको कोठामा थुनेर राखेको समाचार स्रोतले जनाएकोछ।

यज्ञराजका दाजु अग्नि तिमिल्सिनाले मलेसियामा बन्धक भएका भाईको उद्धारको लागि सहयोगको लागि साइट वेका प्रवन्धक तिला कापरीलाई अनुरोध गर्दा उल्टै धम्की दिएको बताएकाछन्।

पीडकका आफन्तले मलेसियामा बन्धक परेका दुबैजनाको उद्धारको लागि पहल गरिदिन सरकारसंग आग्रह गरेकोछ।


Popularity: 11%

5 comments July 29th, 2006

दिसा पिसाब गर्ने अङ्ग नै नभएका अचम्मका बालक

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
कास्कीमा दिसा र पिसाब गर्ने शरीरको अङ्गविना एक बालक बुधबार जन्मिएका छन्। आफ्ना नवजात छोराको बचाउका लागि उपचार गर्ने खर्च नहुँदा ती दम्पती बिचल्लीमा परेका छन् ।

बुधबार बिहान जन्मिएका ती बालकको दिसा र पिसाब गर्ने मूल शारीरिक अङ्ग छैन । शरीरको अघिपट्टिको भागमा एक प्रकारको थैली छ तर त्यसबाट पेटभित्र सङ्क्रमण बढ्ने खतरा हुँदा निकास अङ्गका लागि तत्काल उपचार गरिनुपर्ने चिकित्सकहरूले बताएको राससले जनाएको छ। ।

कास्कीको दाङसिङ गाउँ विकास समिति वडा नम्बर ७ सुदामेका दलबहादुर र मनकुमारी मगरका चौथो सन्तान ती बालकलाई उपचारका लागि काठमाडौँको कान्ति बाल अस्पताल लान मणिपाल अस्पतालका डाक्टरले सिफारिस गरेको पिता दलबहादुरले बताए ।

दाङ्सिङमा स्वास्थ्य शिविरका लागि गएका मणिपाल अस्पतालका चिकित्सक डा. सञ्जीव हैँजु र डा. सुरक्षा वज्राचार्यले घरमै ती बालकलाई हेरेपछि उपचारका लागि पोखरा लैजान सल्लाह दिएका थिए ।

डा. हैँजुले खाएको चिज निकास हुने अङ्ग बालकको नभएकोले त्यसका लागि तत्काल शल्यक्रिया गरिनुपर्ने बताए।

Popularity: 11%

Add comment July 29th, 2006

“संविधानसभाको निर्वाचन हुन नदिने षडयन्त्र सुरु भइसक्यो”

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हृदयेश त्रिपाठीले कुनै पनि हालतमा संविधानसभाको निर्वाचन हुन नदिने षड्यन्त्र सुरु भइसकेको बताउनुभएको छ ।

नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) सप्तरीद्वारा राजविराजमा आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री त्रिपाठीले सो कुरा बताउनुभएको हो ।

मुलुकको राजनीतिक समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै उहाँले अहिले मनोवैज्ञानिक युद्ध चलिरहेको धारणा व्यक्त गर्नुभयो ।

पार्टी महासचिव समेत रहनुभएका मन्त्री त्रिपाठीले राष्ट्रसङ्घलाई पठाइएको चिठ्ठी प्रकरणले सरकार-माओवादीबीचको वार्ता नभाँडिने विश्वास व्यक्त गर्नुभयो ।

संविधानसभाको निर्वाचनअगाडि नागरिकता दिन सरकार सकारात्मक देखिएको उहाँले बताउनुभयो ।

Popularity: 11%

1 comment July 29th, 2006

नागरिकता माग्नेहरु घाइते

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नागरिकता प्रमाणपत्रको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा धर्नामा बसेका व्यक्तिहरूमाथि प्रहरीले लाठी प्रहार गर्दा करिब १२ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँचजनालाई शुक्रबार जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ भने सपही गाविस वडा नं. ७ की ठकनीदेवी सहनी बेहोस अवस्थामा रहेकी छन् ।

“नागरिकताविहीनले नागरिकताको माग गर्दा उनीहरूलाई बर्बरतापूर्वक दमन गर्न खोज्नु मानवअधिकारको हननसँगै मधेसी समुदायलाई अपहेलित गर्ने मानसिकता हो”, समाज विकास पथका प्रमुख सत्यनारायण साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Popularity: 11%

Add comment July 29th, 2006

अल कायदाको धम्कीपछि सुनचाँदीको भाउ बढ्यो

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
इजरायलले लेबनानमा गरेको आक्रमणपछि अलकायदाले चेतावनी दिएपछि काठमाडौंको सुनबजार पुनः उकालो लागेको छ।

स्थानीय बजारमा सुनको भाउ प्रतिदश ग्राम १५ हजार ६४५ पुगेको छ।

सुनचाँदी व्यवसायी सङ्घका अनुसार यो साताको पहिलो दिन गत आइतबार सुनको भाउ प्रतिदश ग्राम रू. १५ हजार ४७५ रहेकामा घटेर बुधबार १५ हजार ३५० पुगे पनि बिहीबारदेखि पुनः उकालो लागेको हो।

त्यस्तै चाँदीको भाउ गत आइतबारको तुलनामा प्रतिदश ग्राम रू. ४.५० वृद्धि भई रू. २९१ कायम रहेको छ।

Popularity: 11%

2 comments July 29th, 2006

सेनाद्वारा प्रहरीको रामधुलाई

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
भैरवनाथ गणका नेपाली सेनाका दुई दर्जन जवानहरुले दरवारमार्गस्थित वडा प्रहरी कार्यालयका सुरक्षा अधिकारीहरुलाई ब्यारेकमा लगी राम धुलाई गरेकाछन्।


समाचार स्रोतका अनुसार हिजो करिव २ बजे राति सेनाका क्याप्टेन रोबिन विक्रम राणा र बिकेन्द्रसिंह बिष्ट मादक पदार्थ सेवन गरी ठमेल जाने मूल सडकमा गाडी तेर्साएर अवरुद्ध गरेका थिए। गाडी हटाउन अनुरोध गर्न पुगेका प्रहरी इन्सपेक्टर रामबहादुर के.सी. र प्रहरीहरुमाथि उल्टै हातपात गरेपछि सामान्य झडप भएको बताईन्छ।

झडपपछि क्याप्टेन राणा त्यहाँबाट भागेर भैरवनाथ गण पुगेका थिए भने बिष्टलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखिएको थियो। केही समयपछि क्याप्टेन राणाले हतियारधारी सेनाको एक जत्था लिई दरवारमार्गस्थित वडा प्रहरी कार्यालयमा आक्रमण गर्न पुगेका थिए।

प्रहरीको संयमताका कारण अप्रिय घटना नघटेपनि स्थिति तनावपूर्ण बनेका थिए। नशाले उदण्ड बनेका क्या. राणाले आफूहरुमाथि कुटपिट गर्ने प्रहरी आफूहरुलाई जिम्मा नदिए सबैलाई गोली हान्ने धम्की दिएपछि वाध्य भएर प्रहरी इन्सपेक्टर रामबहादुर के.सी, असइ धर्मेन्द्र राय र घटनाका प्रत्यक्षदर्शी राजन तामाङलाई प्रहरीले सेनाको जिम्मा दिएका थिए।

सेनाले इन्सपेक्टर के.सी.लगायतलाई कुटपिट गर्दै त्यहाँबाट लगेको बताईन्छ। ब्यारेकभित्र लगेर निर्ममतापूर्वक कुटपिट र कठोर यातना दिएपछि बिहान करिव ४ बजेमात्र महाराजगञ्जस्थित वडा प्रहरी कार्यालयमा जिम्मा दिएको बताईन्छ।

सेनाको कुटाईबाट गम्भिर घाइते भएका प्रहरीहरुको अस्पतालमा उपचार भैरहेको बताईन्छ।


Popularity: 11%

4 comments July 29th, 2006

जनजाति र माओवादीको संघीय प्रणाली फरक छ- डा. गुरुङ

एचकेनेपाल डट कम सम्वाददाता -
नेपाल आदिबासी जनजाति महासंघका केन्द्रीय महासचिव डा. ओम गुरुङले जनजाति महा संघ र माओवादीको संघीय प्रणालीमा फरक रहेको बताउंनु भएकोछ।


उहाँले हिजो बुटवलमा आयोजित पत्रकार सम्मलेनमा उक्त कुरा जनाउंदै संघीय शासन प्रणालीका धेरै स्वरुप हुने भएकाले व्यापक छलफल गरी उचित निश्कर्षनिकाल्नु पर्ने बताउंनु भएकोछ।

माओवादीले चाहेको संघीय शासन प्रणाली हाल सम्भव नरहेको जिकिर पनि उहाँले गर्नु भयो।

जनजाति महासंघले आत्मनिर्णयको अधिकारसहितको संघीय शासन प्रणाली चाहेको बताउंनु भएकोछ।


Popularity: 11%

2 comments July 29th, 2006

१३ जिल्लामा अनुगमन टोली

एचकेनेपाल डट कम सम्वाददाता -
युद्धविराम आचारसंहिता राष्ट्रिय अनुगमन समितिले देशका करिव १३ जिल्लाहरुका अनुगमन टोली खटाएको छ।

सातदल र माओवादीद्वारा जारी २५ बुँदे आचारसंहिता, १२ बुँदे समझदारी र ८ बुँदे सहमतिको पालना भए नभएको उक्त टोलीहरुले अनुगमन र अनुसन्धान गर्नेछन्।

Popularity: 11%

Add comment July 29th, 2006

जग्गाको विषयमा छोराद्वारा आमाको हत्या

एचकेनेपाल डट कम सम्वाददाता -
धनगढी फुलबारी - ४ का माओवादी जनमुक्ति सेनाका एक सदस्य राजु भुसालले जग्गाको विषयमा आफ्नी आमाको हत्या गरेका छन्।


सामान्य घरायसी विवादका कारण विहीबार साँझ ४५ बर्षीया आमा शिवमाया भुसालमाथि हँसियाले प्रहार गरी हत्या गरेका थिए।

माओवादीले उनलाई सजायस्वरुप कडा श्रमकैदमा राखेको माओवादी स्रोतले जनाएकोछ।

भुसाल मृतकका एकमात्र छोरा हुन्।

Popularity: 11%

3 comments July 29th, 2006

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2006
M T W T F S S
« Jun   Aug »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....