Archive for July 19th, 2006

मुक्त कमैयाहरु गिरफ्तार

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता-
सिंहदरवारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेका करिव १ सय मुक्त कमैयाहरुलाई आज बुधबार प्रहरीले गिरफ्तार गरेको छ।


माइतीघर मण्डलाबाट सिंहदरवार घेर्न बिहान त्यहाँ पुगेका मुक्त कमैयाहरुले केही समय सडकमा सुतेर सडक अवरुद्धसमेत गरेका थिए। उनीहरुले पूर्व कमैयाहरुको जग्गा र रोजगारीको माग गर्दै माइतीघर मण्डलामा धर्ना बसेका थिए।

सरकारले मुक्त कमैया घोषणा गरेको ६ बर्ष बिति सक्दा पनि सरकारले दिने भनेको प्रति परिवार ५ कठ्ठा जग्गा, घर बनाउन रू.१० हजार तथा अन्य सुविधा नदिएको भन्दै मुक्त कमैयाहरू आन्दोलनमा उत्रिएका हुन्।

Popularity: 19%

Add comment July 19th, 2006

नागरिक समाज फेरि आन्दोलनमा उत्रने

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
सात दल र माओवादीबीच सम्पन्न १२ बुँदे र आठ बुँदे सहमति कार्यान्वयनमा भएको ढिलाई विरुद्ध नागरिक समाजले पुनःआन्दोलन गर्ने भएको छ ।

‘शान्तिवार्ताको चुनौतीहरू’ विषयक छलफल कार्यक्रममा नागरिक समाजका प्रबुद्ध वर्गले मुलुक फेरि आन्दोलनमा जाने बताएका हुन् ।

संविधान मस्यौदा समितिका सदस्य सिन्धुनाथ प्याकुरेलले आन्दोलनलाई संस्थागत विकासतर्फउन्मुख गराउन नागरिक समाजले सधैं खबरदारीको भूमिका निर्वाह गराउन लागिपर्नुपर्ने बताउनुभयो ।

वि.सं. २०४६ सालको आन्दोलन र २०६२ सालको आन्दोलनमा तात्विक भिन्नता नदेखिएको बताउँदै विद्यार्थी नेता गगन थापाले आगामी शुक्रबारसम्ममा सरकारले गति लिन नसके सोमबारदेखि मुलुक पुनः आन्दोलनमा जाने उद्घोष गर्नुभयो ।

नेपालमा वर्षौदेखि एउटै वर्गको हालिमुहाली रहेको साथै सीमित व्यक्तिहरूको हातबाट स्रोत र साधनहरू सञ्चालनभएका कारण परिवर्तनका नाममा जनताले उल्लेखनीय राहत पाउन सकेका छैनन् । त्यसैले २०६२ को ऐतिहासिक आन्दोलन सफल हुन गएको कथन प्रा.डा.वीरेन्द्रकुमार मिश्रको थियो ।

संसद र संसदीय समितिको क्रियाशीलताले मुलुकको समस्या यथास्थानमा रहिरहन्छ जनजाति महासङ्घका प्रतिनिधि परशुराम तामाङले भन्नुभयो- केही सांसद र राजावादीहरू मुलुकलाई यथास्थानमा घचेट्न क्रियाशील रहेको आरोप लगाउनुभयो।

Popularity: 19%

Add comment July 19th, 2006

वैदेशिक रोजगार करविरुध्द आन्दोलनको चेतावनी

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
वैदेशिक रोजगार व्यवसायका सम्बन्धमा चालु आर्थिक वर्षको बजेटमा गरिएको अव्यवहारिक कर व्यवस्था खारेज नगरे आन्दोलनमा उत्रने चेतावनी व्यवसायीहरूले दिएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले पत्रकार सम्मेलन गरी कामका सिलसिलामा विदेश जान चाहनेहरूबाट जनही २ प्रतिशतका दरले सेवा शुल्क लिने व्यवस्था हुनु व्यवसाय विपरीत हुने जनाएको छ ।

‘शाही सरकारले ल्याएको आर्थिक अध्यादेशलाई निरन्तरता दिदै लोकतान्त्रिक सरकारका तर्फबाट प्रस्तुत बजेटमा सेवा शुल्कलाई यथावत राख्नु गंभीर चिन्ताको विषय हो’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ।

Popularity: 19%

Add comment July 19th, 2006

संक्रान्तिमा नुहाउन जाँदा खोलाले बगायो

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
तनहुँको क्यामिन गाविसको वर्लाची निवासी ७९ वर्षीया पद्मकुमारी ओझाको रिस्ती खोलाले बताउँदा मृत्यु भएको छ ।

साउने सङ्क्रान्तिका अवसरमा उक्त खोलामा नुहाउन गएकी ओझालाई चिप्लेर लडेपछि बगाएको थियो।

कलेस्ती खोलाको दोभानमा उनको लाश भेटिएको पारिवारिक स्रोतले जनाएको छ।

Popularity: 19%

Add comment July 19th, 2006

महिलाहरुको आपत्ति

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेपाल सरकारले मन्त्रिपरिषद्को बैठकबाट विभिन्न सार्वजनिक संस्थान प्रमुखहरूको नियुक्ति गर्दा एउटा पनि महिला नपरेकामा नेपाली महिला संघर्ष समितिले आपत्ति जनाएको छ ।

समितिले पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा घोषणाले मुलुकका विभिन्न क्षेत्रमा ३३ प्रतिशत महिलालाई सहभागी गराउने अठोट गरे पनि सो घोषणालाई लत्याइएको भन्दै महिलाबिनाको नियुक्तिप्रति खेद प्रकट गरेको छ ।

त्यसैगरी समाजकल्याण परिषद्को सदस्यसचिव पदमा कार्यरत कुशल महिला प्रशासकलाई महिला मन्त्रीले नै हटाई पुरुषलाई नियुक्त गरी राजनीतिक भर्ती केन्द्र बनाउन खोजिएको आरोप लगाउँदै संघर्ष समितिले विरोध गरेको छ ।

Popularity: 19%

Add comment July 19th, 2006

माअ‍ोवादीको कब्जामा रहेका जग्गा फिर्ता

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेकपा (माओवादी)ले विगतमा आफ्नो कब्जामा लिएको विभिन्न व्यक्तिको जग्गा सम्बन्धितहरूलाई फिर्ता गर्ने कार्य सुरु गरेको छ ।

माओवादीको सेती-महाकाली इन्चार्ज एवं केन्द्रीय सदस्य लेखराज भट्ट ‘राकेश’ले कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनयध्वज चन्दको विगतमा कब्जामा लिइएको कैलालीको थापापुर गाविसस्थित २० बिघा जग्गा फिर्ता गरिएको घोषणा गरेका हुन्।

सरकार-माओवादीबीच जारी शान्तिवार्ता प्रक्रिया अवरुद्ध नहोस् भनेर राजनीतिक दल र माओवादीबीच भएको १२ बुँदे समझदारीबमोजिम जग्गा फिर्ता गर्ने काम सुरु गरिएको उनले बताए।

सांसद् एवं केन्द्रीय सदस्य चन्दको जग्गा वि.सं. २०६१ मा माओवादीले आफ्नो कब्जामा लिएको थियो ।

Popularity: 19%

Add comment July 19th, 2006

भोलि संवैधानिक तथा सुरक्षा निकायका प्रमुखको शपथ ग्रहण

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुखहरुले प्रतिनिधिसभाको घोषणाबमोजिम भोलि संसदमा शपथ ग्रहण गर्दैछन्।

प्रधानमन्त्री, मन्त्रीहरु, राष्ट्रियसभाका सांसदहरु, प्रतिनिधिसभाका सांसदहरु, नेपाल सरकारका मुख्य सचिव लगायत विशिष्ट श्रेणीका कर्मचारीले प्रतिनिधिसभाको घोषणाअनुसार पद तथा गोपनीयताको सपथ लिइसकेका छन् ।

सुरक्षा निकायका प्रमुखहरुले शपथ ग्रहण गर्ने भनिए पनि प्रधानसेनापति शपथ ग्रहणका लागि उपस्थित हुने कि नहुने थाहा भएको छैन।

सर्वोच्चका न्यायाधीशहरुले भने संसदमा गएर शपथ नखाने बताइसकेका छन्।

Popularity: 19%

Add comment July 19th, 2006

आज शाही मेयरको बयान

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
जनआन्दोलन दमनसम्बन्धी छानबिन आयोगले शाही निर्वाचनपछि काठमाडौं महानगरपालिकामा मेयर निर्वाचित राजाराम श्रेष्ठ, पूर्वाञ्चलका तत्कालीन क्षेत्रीय प्रशासक जगदीश खड्का, र जिल्ला विकास समिति काठमाडौंका तत्कालीन सभापति बिक्रमबहादुर थापालाई बयानका लागि आज बोलाएको छ।

आयोगले मंगलवार शाही सरकारका शिक्षा तथा खेलकुद सहायक मन्त्री भुवन पाठक र तत्कालीन बाग्मती अञ्चल प्रशासक डा. शेखर गुरुङसँग बयान लिएको छ ।

यसैगरी आयोगले मंगलवार नै सशस्त्र प्रहरी बलका कायममुकायम महानिरीक्षक बासुदेव ओलीसँग पनि बयान लिएको छ । ओलीको बयान बिहान ११ वजेदेखी दिउँसो पौने ४ वजेसम्म चलेको थियो ।

Popularity: 18%

Add comment July 19th, 2006

यात्रुबसमा आगजनी

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
माअ‍ोवादीबाट छुट्टिएर बनेको तराई जनतान्त्रिक मुक्ति मोर्चाका कार्यकर्ताहरुले एउटा यात्रुबाहक बसमा आगो लगाई क्षतिग्रस्त बनाएका छन् ।

सिरहाको सदरमुकाम लहानदेखि करिब १५ किलोमिटर पश्चिममा पर्ने अयोध्यानगर गाउँ विकास समितिअर्न्तर्गत महेन्द्र राजमार्गको गागनखोला पुलमा काँकडभिट्टाबाट काठमाडौतर्फ गइरहेको ना २ ख ४२३५ नम्बरको पाथिभारा ट्राभल्समा मोर्चाका कार्यकर्ताहरुले आगो लगाएका थिए ।

बसमा रहेका यात्रुहरुलाई बाहिर निकाली आगजनी गरिएको थियो ।

Popularity: 18%

Add comment July 19th, 2006


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2006
M T W T F S S
« Jun   Aug »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....