Archive for August 4th, 2006

माओवादीद्वारा पत्रकारलाई धम्की

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
युध्दविराम आचार संहिताको उल्लंघन गर्दै नेकपा (माओवादी)का कार्यकर्ताले पत्रिकामा प्रकाशित समाचारलाई लिएर काभ्रेबाट प्रकाशित हुने ‘चेष्टा’ साप्ताहिकका कार्यकारी सम्पादक रामशरण बजगाईँलाई धम्की दिएका छन्।

बिहीबार प्रकाशित हुने पत्रिकाका लागि काम गरिरहेको अवस्थामा माओवादीका दाप्चा एरिया इन्चार्ज भोला अर्यालले फोन गरेर पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर जनअदालतमा उपस्थित हुन भनेको पत्रकार बजगाईँले बताउनुभयो।

उहाँका अनुसार अर्यालले जनअदालतमा एक साताअगाडि पत्रिकामा प्रकाशित समाचारको विषयमा उजुरी परेको भन्दै मानसिक यातना दिने प्रयास गरेका थिए।

Popularity: 20%

2 comments August 4th, 2006

पहिरोले राजमार्ग अवरुध्द

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
अविरल वर्षापछि गएको पहिरोले पासाङ ल्हामु राजमार्ग अन्तर्गत त्रिशूली-धुञ्चे सडक खण्ड अवरुद्ध भएको छ।

त्रिशुली-धुञ्चे सडक खण्डअर्न्तर्गत रसुवाको रामचे गाविसमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

उक्त सडक अवरुद्ध भएपछि रसुवाका लागि हिँडेका दर्जनौँ सवारी साधन बाटैमा रोकिँदा पहिरोग्रस्त क्षेत्रमा सयौँ यात्रु अलपत्र परेका छन्।

आउँदो जनैपूणिर्मामा लाग्ने गोसाइँकुण्ड मेला भर्न हिँडेका सयौँ धार्मिक यात्रुहरूसमेत बीच बाटोमा अलपत्र परेका छन्। पहिरो बेलैमा नहटाइए चर्चित गोसाइँकुण्ड मेलासमेत प्रभावित हुने निश्चित भएको छ।

Popularity: 20%

Add comment August 4th, 2006

हतियार व्यवस्थापन नभई संसद विघटन हुन्नः प्रम

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लामो समयपछि पहिलो पटक सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनलाई अन्तर्वार्ता दिँदै माओवादीको हतियार व्यवस्थापन नभई प्रतिनिधिसभाको विघटन नहुने स्पष्ट गर्नुभएको छ।

प्रधानमन्त्री कोइरालाले आफू मुलुकमा दिगो शान्ति बहालीका लागि प्रतिबद्ध रहको बताउँदै दिगो शान्ति नै अहिलको राष्ट्रिय प्राथमिकता भएको चर्चा गर्दै यसैका लागि माओवादीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्नेमा जोड दिनुभयो।

प्रधानमन्त्री कोइरालाले प्रजातन्त्रका लागि आफ्नो यो लडाइँ अन्तिम भएको बताउनुभयो।

उहाँले आफूले जस्तो जीवनभर प्रजातन्त्रका लागि भावी पुस्ताले लडिरहन नपरोस् र कसैले कहिल्यै पुनः खोस्न नसक्ने पूर्ण प्रजातन्त्र स्थापित होस् भन्ने चाहना आफ्नो रहेको बताउनुभयो।

प्रधानमन्त्री कोइरालाले अहिले पुनःस्थापित प्रजातन्त्रलाई कसैले पनि खोस्न नसक्ने गरी गरिएको संवैधानिक बन्दोबस्त मिलाउने कार्यका लागि सबैको सहयोग अपरिहार्य छ भन्नुभयो।

“पूर्ण प्रजातन्त्र भनेको गणतन्त्रको सीमारेखा हो”, उहाँले भन्नुभयो।

सात राजनीतिक दल र माओवादीबीच असार २ गते भएको आठबुँदे सहमतिमा हतियार व्यवस्थापनबारे स्पष्ट उल्लेख गरिएको बताउँदै प्रधानमन्त्री कोइरालाले माओवादीको हतियार व्यवस्थापन नभई संसद् विघटन नहुने स्पष्ट गर्नुभयो।

Popularity: 20%

1 comment August 4th, 2006

लोककवि अलि मियाँको निधन

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
लोककवि अलि मियाँको पोखरा उपमहानगरपालिका वडा नं. १३ मियापाटनस्थित आफ्नै निवासमा बिहीबार साँझ ८८ वर्षको उमेरमा निधन भएको छ। उहाँको अन्तिम संस्कार आज गरिँदैछ।

विक्रम संवत् १९७५ साल फागुन १५ गते जन्मनुभएका लोककवि मियाँ विगत १४ महिनादेखि गम्भीर रूपमा अस्वस्थ हुनुहुन्थ्यो।

प्यारालाइसिस, दम, मोतियाविन्दु र पिसाबसम्बन्धी रोगबाट पीडित अलि मियाँको गएराति सिकिस्त बिरामी भएपछि बोली अवरुद्ध भएको थियो।

उहाँका चार छोरा, तीन छोरी र ७५ भन्दा बढी नातिनातिना र पनातिपनातिना छन्।

जगदम्बा पुरस्कार, इन्द्रराज्यलक्ष्मी पुरस्कार, शिरोमणि पुरस्कारलगायत दर्जनौँ पुरस्कार र सम्मानबाट विभूषित अलि मियाँका ‘विरक्त लहरी’, ‘नेपाली झयाउरे गीतसङ्ग्रह’, ‘न्याउलीको पुकारा’, ‘पहाडको उद्गार’, ‘सेतीको सुस्केरा’, ‘उज्यालो भैसक्यो’, ‘सम्झनाको दियो’, ‘अलिमियाको आवाज’जस्ता गीतसङ्ग्रह प्रकाशित भइसकेका छन्।

रोगले निकै चाप्न थालेपछि उहाँ पटकपटक अस्पताल भर्ना हुनुभएको थयो। पछिल्लो पटक असार १७ गते स्थानीय नर्सिङ होममा उपचार गराएपछि उहाँले आफ्नै घरमा बसेर स्वास्थ्यपरीक्षण गराइरहनुभएको थियो।

मियाका जेठा छोरा हनिफ मियाले रातिदेखि रोगले चापेपछि सलाइन चढाएर उपचार दिन थालिएकामा बिहान ११ बजेदेखि हात सुन्निएपछि सलाइन दिन छोडिएको जानकारी दिनुभयो।

उहाँ बिरामी भएको सुनेपछि स्वास्थ्यस्थितिबारे जानकारी लिन यहाँस्थित साहित्यकर्मी, आफन्त र शुभेच्छुकको भिड लागेको थियो।

उहाँले पीरमर्का र दुःख-पीडालाई सहज र सरल ढङ्गले गीतका माध्यमबाट साहित्य सिर्जना गरेका कारण लोककविको सम्मान पाउनुभएको थियो।

Popularity: 20%

1 comment August 4th, 2006

मृतक खेलाडी गुरुङको परिवारलाई क्षतिपूर्ति दिइने

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
प्रहरीले चलाएको गोलीबाट मृत्यु भएका कराँते खेलाडी राकेश गुरुङको परिवारलाई छानबिन समितिको प्रतिवेदन आएपछि क्षतिपूर्ति दिइने भएकोछ।


जिल्ला प्रहरी कार्यालय काठमाडौंमा बिहीबार बसेको सर्वपक्षीय बैठकमा खेलाडी गुरुङको परिवारलाई क्षतिपूर्ति दिइने सहमति भएको हो।

सरकार र पीडित पक्षका प्रतिनिधिबीच भएको छलफलपछि गुरुङको आज दाह संस्कार गरिदैंछ।

प्रहरी सहायक निरीक्षक मानबहादुर अधिकारीले हानेको गोली लागेर घाइते भएका खेलाडीको उपचार गर्ने क्रममा मंगलबार राति शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो।

घटनाको विरोधमा निस्केका प्रदर्शनकारीले गलत समाचार प्रकाशन गरेको भनी कान्तिपुरलाई तोडफोड गर्ने प्रयास गरेका थिए।

प्रदर्शनको नेतृत्व शाही सत्ताका पूर्वक्षेत्रीय प्रशासक डा. शेखर गुरुङले गरेका थिए। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले घटनाको मौका छोपी केही अज्ञात समूहले उच्छृंल कार्यहरु गरी खेलाडी र खेल जगतलाई बदनाम गर्ने प्रयास गरेकोमा खेद प्रकट गरेको छ।


Popularity: 20%

Add comment August 4th, 2006

सप्ताहव्यापी आदिवासी दिवस

एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
नेपाल आदिवासी जनजाति महासंघले विश्व आदिवासी दिवसको अवसर पारेर बिहीबार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने घोषणा गरेको छ।


नेपाल आदिवासी जनजाति महासंघका महासचिव डा. ओम गुरुङले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सप्ताहव्यापी आदिवासी दिवसको कार्यक्रमबारे जानकारी दिनु भएको थियो।

जनजाति महासंघको मूल नारा ‘आदिवासी जनजातिको चाहना- लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधानसभाको निर्वाचन र राज्यको पुनरसंरचना’ भन्ने रहेकोछ।

सार्वजनिक गरिएको कार्यक्रमको रुपरेखा अनुसार साउन १९ र २० गते राष्ट्रिय राजनीतिक सम्मेलन, २१, २२ र २३ गते आदिवासी खेलकुद र सांस्कृतिक महोत्सव र २४ गते विश्व आदिवासी दिवस रहेकोछ।

विश्व आदिवासी दिवस प्रत्येक वर्ष अगस्ट ९ तारिखका दिन विश्वव्यापीरुपमा मनाइँदै आएको छ।


Popularity: 20%

Add comment August 4th, 2006


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2006
M T W T F S S
« Jul   Sep »
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Posts by Month

Posts by Category

More news....