Archive for August 6th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
काठमाडौंमा कार्यरत कर्मचारीहरु बोकेर बनेपाबाट काठमाडौं आइरहेको एउटा बस आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन्।
घाइते सबैको वीर अस्पतालमा उपचार भइरहेको छ।
कर्मचारीहरु मात्र बोक्ने बा १ ख ६४१२ नं. को उक्त बस तीव्र गतिका कारण बिहान साढे आठ बजे सडकबाट १० फिट मुनि खेतमा खसेको थियो।
दुर्घटनापछि क्रुध्द स्थानीय बासिन्दाहरुले केही क्षण अरनिको राजमार्ग अवरुध्द पारेका थिए।
Popularity: 20%
August 6th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) ले राजसंस्थाका सम्बन्धमा जनमत सङ्ग्रह वा संविधानसभाले निर्णय गर्नुपर्ने बताएको छ। त्यसरी निर्णय नभएसम्मका लागि प्रतिनिधिसभाले व्यवस्था गरेबमोजिम हुनुपर्ने सुझाव उसले दिएको।
अन्तरिम संविधान मस्यौदा समितिसमक्ष ‘नेपालको अन्तरिम संविधान’बारे उक्त पार्टीले प्रस्तुत गरेको २२ बुँदे अवधारणामा राज्यका कर्तव्य, सिद्धान्त तथा नीतिहरूलाई समावेशी लोकतन्त्र तथा सङ्घीय राज्य प्रणालीको आधारमा निर्माण गरिने उल्लेख गरिएको छ।
उक्त अवधारणाअनुसार हरेक बालिग नागरिकलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्ने, संविधानसभाको निर्वाचनका लागि मतदाता नामावली तयार हुनुअघि नै अनिवार्य रूपमा नागरिकता उपलब्ध गराउने, नागरिकतासम्बन्धी समस्या संविधानसभाको निर्वाचन अगावै समाधान गरिने, मृत्युदण्डको सजाय हुनेगरी कुनै कानुन नबनाइने, कसैलाई पनि नजरबन्दमा नराखिने र कानुन विपरीत नजरबन्दमा राखेमा कानुनबमोजिम क्षतिपूर्ति दिइनेछ।
देशको कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहीत रहने, सेना मन्त्रिपरिषद्प्रति उत्तरदायी हुने, प्रधानसेनापतिको नियुक्ति तथा सेना परिचालनको कार्य मन्त्रिपरिषद्ले नै गर्ने तथा मन्त्रिपरिषद्लाई सुरक्षासम्बन्धी सुझाव दिन राष्ट्रिय सुरक्षा परिषद् गठन गरिने अवधारणामा उल्लेख छ
उक्त अवधारणापत्र ग्रहण गरेपछि समितिका संयोजक लक्ष्मणप्रसाद अर्यालले सुझावस्वरूप प्राप्त अवधारणालाई अन्तरिम संविधानमा समावेश गरिने जानकारी दिनुभयो।
नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)का तर्फबाट महामन्त्री महेन्द्रनारायण निधिले उक्त अवधारणापत्र संयोजक अर्यालसमक्ष प्रस्तुत गर्नुभएको थियो।
Popularity: 20%
August 6th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अमिक शेरचनले माओवादीले हतियार बुझाउँदैमा मुलुकको राजनीतिक समस्या समाधान हुँदैन, यसका लागि राजनीतिक सहमति हुनुपर्छ भन्दै राजनीतिक सहमति नभए र माओवादी हतियारविहीन नै भएर पनि पुनः जङ्गल फर्केमा त्यसले मुलुकका लागि ठूलो खतरा निम्त्याउन सक्ने धारणा व्यक्त गर्नुभयो।
द्वन्द्व समाधान, अन्तरिम संविधान निर्माण, संसद्को वैकल्पिक व्यवस्था, अन्तरिम सरकार तथा संविधानसभाको निर्वाचन नै सरकारको प्रमुख जिम्मेबारी भएको र यसैका लागि जनताले आन्दोलनमार्फत् अधिकार दिएको बताउनुभएको छ ।
उपप्रधानमन्त्री शेरचनले आदिवासी जनजाति संयुक्त संघर्ष समिति तथा नेपाल आदिवासी जनजाति महासङ्घद्वारा यहाँ आयोजित ‘संविधानसभाको निर्वाचन र राज्यको पुनर्संरचना’ विषयक २ दिने राष्ट्रिय राजनीतिक सम्मेलनको समापनका अवसरमा उक्त कुरा बताउनुभएको हो।
मानवअधिकारवादी पद्मरत्न तुलाधरले आदिवासी तथा जनजातिले आफूहरू पनि राज्यको अधिकारको स्रोत तथा र्सार्वभौमसत्तासम्पन्न जनता भएको अनुभव गरी यसैका आधारमा अधिकारको खोजी गर्नुपर्ने बताउँदै प्रतिनिधिसभाले जातीय र भाषिक विभेद अन्त्य भएको घोषणा हालसम्म गर्न नसकेको उल्लेख गर्नुभयो ।
महासङ्घका सल्लाहकार डा. हर्क गुरुङ्ले ‘जनजाति’ तथा ‘आदिवासी’ भन्नुभन्दा ‘मतवाली’ भन्नु उपयुक्त भएको बताउँदै राजनीतिक सम्मेलनपछि राजनीतिक दलसँग बसेर आफ्ना अधिकारका विषयमा छलफल हुनुपर्ने र समानुपातिक सङ्घात्मक सरकारका लागि गाउँगाउँमा गएर जनतालाई जानकारी दिनुपर्ने सुझाव दिनुभयो ।
आदिवासी जनजाति समुदायका बुद्धिजीवी सीताराम तामाङ्ले राजनीति नगरे राज्य पाइँदैन भन्दै जनजातिले आफ्ना अधिकार मागेर नभए संघर्ष गरेरै भए पनि लिनुपर्ने बताउनुभयो।
Popularity: 20%
August 6th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नयाँ जिल्ला घोषणा गर्ने नेतालाई माओवादीको नेतृत्वपंक्तिले कारबाही गरेको छ।
स्वससेले जनाएअनुसार माओवादी जिल्ला संगठन समिति बैतडीको विशेष बैठकले पार्टीको नीति तथा पद्धति विपरित उक्त जिल्ला घोषणा गएको ठहर गर्दै जिल्लाको एरिया नं. ६ कार् इन्चार्ज राजु भण्डारी ‘कञ्चन’ लाई कारबाही गरेको हो ।
साउन ४ र ५ गते बैतडीको तल्लो सोराडमा नागरिक भेला गरी ‘कञ्चन’ले छुट्टै सोराड मुक्ति मोर्चा गठन गरी सोराड जिल्लाको घोषणा गरेका थिए ।
जिल्ला संगठन समितिको सम्पन्न पछिल्लो बैठकले अनुसन्धान अवधिसम्म उनलाई पार्टीबाट निलम्बन गरिएको जनाएको छ।
बैठकले सोराड मुक्ति मोर्चालाई समेत भङ्ग गरेको छ।
राजु भण्डारीको अध्यक्षतामा सोराड मुक्ति मोर्चा गठन गरी बैतडीका २१ र डडेल्धुराका ४ वटा गाविसहरु मिलाई छुट्टै जिल्लाको घोषणा गरिएको थियो।
Popularity: 20%
August 6th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
सिंहदरबारमा बम पड्काएर चर्चामा आएका नेपालका प्रथम गणतन्त्रवादी नेता रामराजा सिंहले नेपाली जनताको गणतन्त्रको चाहनालाई लत्याउँदै सात दलको गठबन्धन सरकारले राजतन्त्रलाई जोगाउने षड्यन्त्र गरिरहेको अरोप लगाउनुभएको छ।
चितवन काठमाडौं गणतान्त्रीक मञ्चले शनिबार राजधानीमा आयोजना गरेको ‘आठ बुँदे सहमती संसद विघटन हतियार व्यवस्थापन’ विषयक विचार गोष्ठीमा बोल्दै सिंहले जनताको भावना विपरीत संसदले राज्य व्यवस्था उत्तराधिकारीको बिधेयक पारीत गरेको बताउँदै यसले दलहरु अझै पनि नेपालमा राजतन्त्र राख्न चान्छन् भन्ने प्रष्ट भएको बताउनुभयो।
काँग्रेसको सत्याग्रह आन्दोलन चर्किरहेको बेला रामराजाले सिंहदरबारमा बम पड्काएका थिए। त्यसपछि शान्ति सुरक्षामा खलल पुग्ने भन्दै काँग्रेसले सत्याग्रह फिर्ता लिएको थियो।
लामो समयसम्म विदेशमा बसेपछि वैशाख ११ को परिवर्तनपछि रामराजा स्वदेश फर्किएका हुन्।
Popularity: 20%
August 6th, 2006