Archive for September, 2006

पोखरामा दशैं फेशन शो

धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम -
सवैलाई चाड पर्व लाग्यो। नयाँ कपडामा सजिन सवैको हुन्छ उत्तिकै रहर। के युवा, के युवती के बयोबृद्ध। त्यसमा पनि फेशनेवल पहिरन लगाउने सवैको उत्तिकै चाहना।



पोखरामा विजया दशमीको अवसरमा विल्कुलै नयाँ आयोजकले नौलो कार्यक्रमको आयोजना गर्‍यो। डिजाइन फ्ल्यास नाम दिइएको कार्यक्रममा युवायुवतीको नौलो फेशनले सवै मोहित बने। साँझको चिसो मौसममा विभिन्न डिजाइनरहरुले प्रस्तुत गरेको नयाँ पहिरनमा सजिएर मोडेलहरु र्‍याम्पमा उत्रिदाँ सवैको मन कुँडियो।

हिउँदको याम शुरु भएपनि पोखरामा भने गर्मीको पहिरनले बढी रौनकता दियो कार्यक्रममा। शरिर आधा ढाक्ने गरी दुबोको पहिरन, कागजका खेलौना जस्ता पहिरिएको कागजी पहिरन, महिलाहरुको विशेष रुचिको कडाँइको पहिरनले दुलही सिँगारे जस्तै र अंग अंग देखिने खालको जाली पहिरनले सवैको धडकन एक पटक हृवात्तै बढायो।


उनीहरुको पहिरनलाई साथ दियो सांगितीक कार्यक्रमले। ज्योति गुरुङको क्या राम्रो स्याउ बारी मार्फा गाँउमा निकै जम्यो। मार्फाली स्याउ पोखरा नझरेपनि गीतको रसले स्याउ खाएको अनुभूति दर्शकले निकै गरे। त्यसो त सुरज श्रेष्ठले संझना छ छोडी जानेलाई भन्ने गीत गाइदिएपछि विछोडिएको माया एकाएक मनमा उर्सिएर आयो।


आफै डिजाइनर अनि आफैं मोडेलको भुमिका निर्वाह गरी र्‍याम्पमा उत्रिदा सवै आर्श्चर्यमा परेका थिए। झण्डै २५ जना डिजाइनरले आपनो नयाँ डिजाइनलाई र्सवसाधारण समक्ष प्रस्तुत गरेका थिए। उनीहरुको प्रस्तुतीपछि द एज व्याण्डले पुरानो गीत मेरो आँसु, प्रस्ताव र थाहा छैन जस्ता गीतहरु गाइदिएको थियो। उनीहरुपछि क्रमश एडिन प्रधानले सारा खुशी, सिरसिर र झयाँइ जस्ता गीतहरु गाएका थिए। पुजा राईले आँउदैछु गीत प्रस्तुत गरेकी थिइन्।

रोट्रयाक्ट क्लवको आयोजनामा पहिलो पटक स्थानीय होटल फेवा प्रिन्समा उक्त कार्यक्रमको आयोजना गरिएको हो। क्लवका अध्यक्ष शोभाकान्त सिग्देलले विजया दशमीको शुभकामना स्वरुप युवाहरुमा नयाँ मौसम अनुसार र चाहनाहरु एवं उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

फोटोः सुदर्शन रञ्जित, / पोखरा एचकेनेपाल डट कम। थप फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 11%

6 comments September 30th, 2006

आज महाअष्टमी

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
बडादसैँको आठौँ दिन आज नेपालभरि दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ ।
यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत अधिराज्यका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ।

काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठहरू दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, वज्रबाराहीलगायतका मन्दिरहरूमा पनि बलि चढाउने र पूजाआराधना गर्नेहरूको बिहान सबेरैदेखि घुइँचो लाग्छ।

यसैगरी गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डँडेल्धुराको उग्रतारालगायतका मन्दिरहरूमा पनि शक्तिरूपा भगवतीको पूजाअर्चनाका लागि यस उपलक्ष्यमा विशेष भीड लाग्छ।

महाअष्टमीकै अवसरमा आज दसैँघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै कलपुर्जा, हातहतियार र सवारी साधनहरूलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ।

पशुबलि नचढाउनेहरू पनि आजको दिन जमराकोठामा घिरौँला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खिर तथा नरिवल चढाउने गर्दछन्।

हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गाभवानीको पूजाअर्चना र हर्षबढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ।

नेवारहरूमा विशेषगरी वज्राचार्य, शाक्य, मानन्धरलगायतका जातिहरूमा आजको दिन दुर्गाभवानीको पूजाआजा गर्ने चलन छ।

Popularity: 11%

1 comment September 30th, 2006

राजाको ठाउँमा प्रधानसेनापति

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
फूलपातीका अवसरमा सेनाले टुँडिखेलमा गर्ने बढाइँमा परम्परागत रुपमा हुने राजाको उपस्थितिको प्रचलन यसपटकदेखि तोडिएको छ।

राजाका स्थानमा यस पटक प्रधानसेनापति रुक्माङ्गद कटुवाल प्रमुख अतिथि बनेका थिए।

सेनाका परमाधिपतिका हैसियतले राजा यसअघि उक्त समारोहका प्रमुख अतिथि हुने गर्दथे।

यसैबीच, आज अष्टमीका दिन राजारानीले काठमाडौंमा विभिन्न मन्दिरहरुको भ्रमण गर्ने प्रचलन रहे पनि यस पटक अनौपचारिक रुपमा त्यस्तो सवारी हुने संभावना रहेको स्रोतहरुले बताएका छन्। यस सम्बन्धमा कुनै पनि जानकारी सार्वजनिक गरिएको छैन।

Popularity: 11%

2 comments September 30th, 2006

सवारी दुर्घटनामा १४ यात्रु घाइते

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
एउटा यात्रुवाहक बस र एउटा मालवाहक ट्रक एकआपसमा ठोक्किँदा महोत्तरीमा १४ यात्रु घाइते भएका छन्।

असोज १२ गते बेलुकी साढे १० बजे महोत्तरी जिल्लाका माइस्थानस्थित राजमार्गमा ना२ख ५४०० नम्बरको बस र ना२ख २३७२ नम्बरको ट्रक ठोक्किनाले उक्त दुर्घटना भएको थियो ।

घाइतेहरूलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानतर्फलगिएको बताइएको छ ।

उनीहरूमध्ये आठजनाको अवस्था चिन्ताजनक र छजनाको सामान्य रहेको प्रहरीले जनाएको छ ।

Popularity: 11%

Add comment September 30th, 2006

आज फूलपाती

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
बडादसैँ अन्तर्गत सप्तमी तिथिमा आज देशभरि परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाइँदैछ। दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ।

सो फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरमा पूजारीसहित मगरजातिका छजनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका बाहुन जातिका छजनाले ल्याउने परम्परा रहेको छ।

हर्षढाइँका साथ फूलपाती भित्रयाउन गुरुज्युको पल्टन, शाही नेपाली सेना, नेपाल प्रहरी, राजप्रासाद सेवा र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुजा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र साँस्कृतिक नाचगानसहितको लावालस्कर हनुमानढोकाबाट जमल प्रस्थान गर्दछ।

घटस्थापनाका दिनदेखि दसैँ सुरु हुने भए पनि दसैँको विशेष चहलपहल भने फूलपातीका दिनदेखि नै सुरु हुन्छ।

फूलपातीदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसायलगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू सपरिवार बसेर दुर्गा भवानीको टीका थाप्न आ-आफ्ना घर फर्किने क्रम आजदेखि तीव्र भएको छ।

गाउँघरमा फूलपातीदेखि हालिने लिङ्गेपिङ र रोटेपिङले दसैँको रौनकलाई अझ बढाउँछन्।

Popularity: 11%

1 comment September 29th, 2006

“यस्तो ताल हो भने एक वर्षसम्म पनि वार्ता हुन्न”

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले विभिन्न बहfना गर्दै सरकार संविधानसभाबाट भाग्न खोजेको हो कि भन्ने आशङ्का आफूलाई लागेको उल्लेख गर्दै भन्नुभएको छ-यदि यही गतिमा सरकार चल्ने हो भने आगामी एक वर्षमा नत वार्ता हुन्छ, नत संविधानसभाको निर्वाचन नै हुन्छ।

सरकारलाई विगतमा भएको सहमतिको कार्यान्वयनमा इमान्दार हुन र माओवादीलाई हतियारको मोह त्याग्न उहाँले आग्रह गर्नुभएको छ।

नेकपा (एमाले) संसदीय दलको कार्यालयमा आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो-सरकार माओवादीको हतियारका विषयमा आशङ्का गरिरहेको छ भने माओवादी अन्तरिम संसदमा आफ्नो कति स्थान हुने र संविधानसभामा सरकार कति प्रतिबद्ध छ भन्नेमा अध्ययन गरिरहेको छ।

उहाँले शीर्ष वार्ताका लागि आफूले गृह जिल्ला जाने तय भएको कार्यक्रमसमेत रोकेको तर नेपाली काङ्ग्रेसले स्वेच्छाचारी ढङ्गले वार्ता रोकी संविधानसभाको विषयमा केही गर्न नचाहेकोजस्तो आफूलाई लागेको बताउनुभयो।

Popularity: 11%

Add comment September 29th, 2006

राज्यमन्त्रीको अन्त्येष्टि सम्पन्न

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका वन तथा भू-संरक्षण राज्यमन्त्री गोपाल राई र उहाँकी धर्मपत्नी मीनाको शवलाई पशुपतिस्थित श्लेष्मान्तक वनमा किराँत राई परम्पराअनुसार हिजो साँझ राष्ट्रिय सम्मानका साथ समाधिस्थ गरियो।

दुर्घटनामा मारिएका प्रख्यात भूगोलविद हर्क गुरुङको शव आज परिवारले बुझ्दैछ। यसैबीच मारिएका २४ मध्ये हालसम्म ४ जनाको मात्र सनाखत हुन सकेको छ। डीएनए परीक्षणबाट क्षतविक्षत शवहरुको सनाखत कार्य अगाडि बढाइएको बताइएको छ।

राज्यमन्त्रीको अन्तिम संस्कारमा उहाँहरूका सुपुत्र विकास राईसहितका आफन्तजनहरू सहभागी हुनुहुन्यो।

समाधिस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो।

सोही स्थानमा वन विभागका महानिर्देशक शरद र्राईको पनि किराँत राई परम्पराअनुसार हिजै समाधिस्थ गरियो।

नेपाली काङ्ग्रेसका उपसभापति सुशील कोइराला, उपप्रधानमन्त्री अमिक शेरचन, विभिन्न राजनीतिक दलका नेता, मन्त्रीगण, सांसद, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू एवं ठूलो सङ्ख्यामा समाधिस्थलमा उपस्थित र्सवसाधारणले उहाँहरूप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो।

Popularity: 11%

Add comment September 29th, 2006

१८ वर्षकी आमाले तिम्ल्याहा जन्माइन्

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
यसै साता एक युवतीले तिम्ल्याहा सन्तान जन्माएको खबर नसेलाउँदै सप्तरी जिल्लाको दिधवा गाविस-७ की १८ वर्षीया इनरवती खङ्गले हिजो फेरि एकै पटकमा तिम्ल्याहा (तीनवटा) सन्तानलाई जन्म दिएकी छिन्।

राजविराज नगरपालिकादेखि चार किलोमिटर पूर्व रहेको दिधवा गाविस बस्ने जितेन्द्र खङ्गकी श्रीमती इनरवतीले तीनवटै छोरालाई जन्म दिएकी छन्।

भर्खर १८ वर्ष पुगेकी इनरवतीले तिम्ल्याहा जन्माउँदा न अस्पताल नै जानुपर्यो, न त नर्स, सुडेनीलाई नै गुहार्नुपर्यो।

सप्तरीको सीतापुर-४ की इनरवतीको १७ महिना अगाडि दिधवा-७ का २० वर्षीय जितेन्द्रसँग विवाह भएको थियो। एसएलसी पास गरेका जितेन्द्र रोजगारीका लागि डेढ महिनाअघि मात्र भारतको लुधियाना पुगेका छन्।

Popularity: 11%

Add comment September 29th, 2006

शिखर वार्ता दशैंपछि मात्र

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
माओवादी र सात दलका शीर्ष नेताहरुबीच आज विहीबार हुने भनिएको शिखर वार्ता टरेको छ। सात दलबीच आवश्यक तयारी पूरा हुन नसकेको कारण देखाउँदै शिखर वार्ताको तिथि पर सारिएको छ।

फोटोः श्रुति श्रेष्ठ / रोयटर्स


यसअघि दशैं अगाडि नै देशलाई राजनीतिक निकास दिने सहमति आठ दलका नेताहरु बीच भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रम गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच बिहीवार बसेको अनौपचारिक बैठकमा शिखर वार्ता दशैं पछाडि मात्र हुने बताइएको छ।

पछिल्लो पटक प्राप्त जानकारी अनुसार शिखर वार्ताको मिति असोज २२ गते तोकिएको छ। ललितपुरको कुपण्डोलस्थित हिमालय होटलमा सरकार र माओवादी वार्ता टोलीबीच बसेको बैठकपछि शिखर वार्ता असोज २२ गते सारिएको जानकारी दिइएको हो।

Popularity: 11%

Add comment September 28th, 2006

शव पोष्टमार्टमपछि आफन्तलाई हस्तान्तरण

एचकेनेपाल डट कम सम्वाददाता -
विहीबार, शव पोष्टमार्टमपछि आफन्तलाई हस्तान्तरण गरिन थालेको छ। राज्यमन्त्री गोपाल राईको शव पहिचान भैसके पनि पत्नी मन्त्री मीना राईको शव पहिचान हुन ढिलाइ भएको थियो।

अधिकांश शवहरू डढेको र क्षतविक्षत अवस्थामा रहेकाले शव पहिचान कार्यमा कठिनाइ भएको बताइएको छ। पोशाक र गरगहनाबाट शव पहिचान गरिदै छ। यसैबीच डा. हर्क गुरूङ र तीर्थमान मास्केको शव पहिचान भैसकेको छ।


……………………………………………………………………………………………

शव राजधानीमाः पोष्टमार्टमपछि आफन्तलाई हस्तान्तरण गरिने
एचकेनेपाल डट कम सम्वाददाता -
बुधवार- हेलिकप्टर दुर्घटनामा परी निधन भएका राज्यमन्त्रीसहित १७ नेपाली र ७ विदेशी विशिष्ट व्यक्तिहरुको सबै शव बुधवार अपरान्ह काठमाडौं ल्याई पुर्‍याएको छ।

REUTERS/Gopal Chitrakar (NEPAL)


शवहरु शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम गरी आफन्तलाई हस्तान्तरण गरिने भएकोले आफन्त तथा सरोकारवालालाई अस्पतालमा सम्पर्क गर्न नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ।

AP Photo/Binod Joshi

सेनाको हेलिकप्टरबाट ल्याइएका शवहरू त्रिभूवन अन्तरर्ष्ट्रिय विमानस्थलबाट सोझै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको थियो। शव पोष्टमार्टम प्रक्रिया करिव ८ / ९ घण्टा लाग्ने बताइएको छ। प्रायः शवहरू क्षतविक्षत अवस्थामा रहेकाले चिन्न गाह्रो हुन सक्ने पनि बताइएको छ। अस्पताल परिसरमा आफन्त र शुभेच्छुहरूको घुइचो लागेको छ।

वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राईको पार्थिक शरीर भोलि बिहान नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्घाञ्जलिको लागि राखिने भएको छ।

सरकारले उहाँलाई मन्त्रीसरहको सम्मान दिइ अन्त्येष्टि गरिने निर्णय गरेको छ। Last updated: (Wed. NST 5:07 PM)

…………………………………………………………………………
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
गत शनिवार (२३ सेप्टेम्बर) बिहानदेखि बेपत्ता भएको वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राईसहित अन्य वरिष्ठ व्यक्तिहरु चढेको हेलिकप्टर दुई दिनपछि ताप्लेजुङको घुन्सामा दुर्घटनाग्रष्त अवस्थामा भेटिएको पुष्टि भएको छ।


फाइल फोटो / एफपी

ताप्लेजुङबाट फर्किरहेको श्री एयरको ९-एनएएचजे हेलिकप्टर (एमआई १७२) हेलिकप्टरको खराब मौसमका कारण दुई दिनसम्म स्थिति अज्ञात रहेको थियो।
न्युज अपडेटः सोमबार नेपाली समय अपरान्ह २ :१० बजे
नेपाल नागरिक हवाई उड्डयान प्राधिकरणका निमित्त महानिर्देशक मोहन अधिकारीले दिनुभएको जानकारी अनुसार नेपाल पर्वतारोहण संघ र विश्व बन्यजन्तु कोषका सात जनाको उद्धार टोलीले हराइरहेका हेलिकप्टर दुर्घटना अवस्थामा फेला पारेको छ। खराब मौसमका कारण खोजी कार्यमा ढिलाइ भएको बताउंनु हुंदै हिजो हेलिकप्टरबाट ओरालेका सात जनाको उद्धार टोलीले पहिलो पटक दुर्घटनाग्रष्त हेलिकप्टर फेला पारेका थिए।

हेलिकप्टरमा सवार वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राईसहित सबैजनाको मृत्यु भएको छ। गोपाल राईको शव पहिचान गर्न सकिने अवस्थामा रहे पनि अन्य शव चिन्न नसकिने गरी टुक्रा टुक्रा अवस्थामा भेटिएको उहाँले बताउंनु भयो। हेलिकप्टर घुन्साभन्दा २ किलोमिटर दक्षिण-पश्चिममा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बताइन्छ। हेलिकप्टर पूर्णरूपले क्षतिग्रष्त भएको बताइन्छ। सात जनाको उद्धार टोलीले हेलिकप्टर फेला पारेको केही समयपछि सेनाको एक टोली हेलिकप्टरबाट उद्घारको लागि झरेका छन्।

दुर्घटनाग्रष्त हेलिकप्टरमा नेपालका लागि फिनल्यान्डका राजदूत पाउली गुस्तोनेन, प्रसिद्ध भुगोलविद डा.हर्क गुरूङ, युएसएडका उपनिर्देशक मार्गरेट अलेक्ज्यान्डर, विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा. चन्द्रबहादुर गुरुङ, चालक दलका ४ सदस्यसहित २४ जना थिए।

हेलिकप्टरमा को-को थिए ?
गोपाल राई -वन तथा भूसंरक्षण राज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय पूर्वसदस्य
मीना राई -मन्त्री श्रीमती
डा. दामोदरप्रसाद पराजुली -कामु सचिव, वन मन्त्रालय
हालसालै कामु सचिव भएका पराजुलीले बहुमूल्य वनस्पति लौठसल्लामा भारतबाट विद्यावारिधि गरेका हुन्। स्नातकोत्तरको अध्ययन अस्ट्रेलियाबाट पूरा गरेका हुन्। सहसचिवको तहमा उनी सबैभन्दा वरिष्ठ मानिन्छन्। उनी वन विभाग महानिर्देशक, वन पैदावार समितिका सदस्यसचिव, मन्त्रालयको अनुगमन तथा वैदेशिक महाशाखा प्रमुखका रूपमा काम गरिसकेका छन्।
नारायणप्रसाद पौडेल -महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
पौडेलले ०३३ सालदेखि स्थायी सरकारी जागिर सुरु गरेका हुन्। उनले जिल्ला वन अधिकृत हुँदै ०४४ सालदेखि निकुञ्ज विभागमा इकोलोजिस्टका रूपमा काम सुरु गरेका हुन्। अमेरिकाबाट वनस्पतिशास्त्रमा स्नातक र स्नातकोत्तर गरेका पौडेलको मकालु-बरुण राष्ट्रिय निकुञ्ज स्थापनामा ठूलो भूमिका छ। छ वर्षसम्म उपमहानिर्देशक रहेका पौडेल छ/सात महिनाअघि मात्र महानिर्देशक भएका हुन्।
शरदकुमार राई -महानिर्देशक, वन विभाग
०३३ बाट वन अधिकृतका रूपमा सरकारी जागिर सुरु गरेका राईले अधिकांश समय जिल्ला वन अधिकृतका रूपमा बिताएका हुन्। उनले अस्ट्रेलियाबाट स्नातकोत्तर गरेका हुन्। वन विभाग हुँदै वन मन्त्रालयको अनुगमन महाशाखा प्रमुख भएर काम गरिसकेका छन्।
डा. चन्द्रप्रसाद गुरुङ -राष्ट्रिय प्रतिनिधि, विश्व वन्यजन्तु कोष
गुरुङ सन् १९४९ मा कास्कीको सिकलेसमा जन्मिएका हुन्। उनले अमेरिकाको ह्वाई विश्वविद्यालयबाट भूगोलमा विद्यावारिधि गरेका छन् । केही समय अन्नपूर्ण संरक्षण क्षेत्रमा पनि काम गरिसकेका छन्। संरक्षण क्षेत्रमा उल्लेखनीय काम गरेबापत उनले नेदरल्यान्डका युवराजबाट अडर अफ गोल्डेन एआरके पुरस्कार पाएका छन्। चार दशक बढीबाट संरक्षण क्षेत्रमा सक्रिय विश्व वन्यजन्तु कोष नेपालमा गुरुङ लामो समयदेखि कार्यरत छन्।
डा. हर्क गुरुङ -विश्व वन्यजन्तु कोषका सल्लाहकार
गुरुङले इडिन्वर्ग विश्वविद्यालयबाट भूगोलमा विद्यावारिधि गरेका हुन्। डा. हर्क गुरुङ राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा उपाध्यक्ष, पूर्वशिक्षा, उद्योग तथा वाणिज्य, पर्यटन, सार्वजनिक सेवा तथा यातायात राज्यमन्त्री हुन्। उनको बसाइँसराइ प्रतिवेदन, थेसिस अफ नेपाल, सोसियल डेमोग्राफी अफ नेपाललगायत दर्जन पुस्तक तथा कार्यपत्रहरू प्रकाशित छन्। सन् १९३९ मा लमजुङको ङादीमा जन्मेका हुन्। हक्की स्वभावका गुरुङले अन्तर्राष्ट्रिय तहका विभिन्न संस्थाहरूमा काम गरिसकेका छन्। एसिया प्यासिफिक विकास केन्द्रका निर्देशक भइसकेका गुरुङ अनुसन्धान संस्था न्युएराका निर्देशक छन्।
डा. तीर्थमान मास्के -उपाध्यक्ष, एसियाली गैंडा विशेषज्ञ समूह
मास्के नेपालकै पहिलो वार्डेन हुन्। दुर्लभ वन्यजन्तु गोहीमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति पनि हुन्। उनले अमेरिकाबाटै स्नातकोत्तर र विद्यावारिधि गरेका हुन्। उनी विश्व सम्पदा सूचीमा रहेको नेपालको पहिलो राष्ट्रिय निकुञ्ज ‘चितवन’ का पहिलो वार्डेन भएका थिए। पछिल्लो पटक उनी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक पदमा थिए। उनले संरक्षणका क्षेत्रमा उल्लेखनीय काम गरेबापत अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका छन्। उनले वन्यजन्तु संरक्षण क्षेत्रमा मात्र ३३ वर्ष काम गरिसकेका छन्।
मिङमानोर्बु शेर्पा -दक्षिणपूर्वी एसिया कार्यक्रम निर्देशक, विश्व वन्यजन्तु कोष, अमेरिका)
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत विभिन्न निकुञ्जमा १२ वर्ष वार्डेनका रूपमा काम गरिसकेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्रको स्थापनामा उनको उल्लेखनीय भूमिका छ। उनी विश्व वन्यजन्तु कोष नेपाल कार्यक्रमका राष्ट्रिय प्रतिनिधि भएर चार वर्ष काम गरिसकेका छन् । ५५ वर्षीय मिङमानुर्बु शेर्पा सोलुखुम्बु खुन्दे निवासी हुन्। सन् १९८७ देखि कोषसँग आबद्ध मिङमा हाल दक्षिणपूर्वी एसियाका कार्यक्रम निर्देशक हुन्। अमेरिकामा कार्यरत उनले न्युजिल्यान्डबाट स्नातक र क्यानडाबाट स्नातकोत्तर अध्ययन गरेका छन्।
डा. विज्ञान आचार्य
-कार्यक्रम विकास विज्ञ, यूएसएड
नेदरल्यान्डबाट जैविक विविधतामा विद्यावारिधि र स्नातकोत्तर गरेका आचार्यले केही वर्ष सरकारी वन अधिकृतका रूपमा काम गरिसकेका छन्। उनी पाँच वर्षदेखि यूएसएडमा काम गरिरहेका छन्। यसअघि उनले वन मन्त्रालयको अनुगमन महाशाखामा पनि काम गरेका हुन्।
विजय श्रेष्ठ -उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य
हेमराज भण्डारी -पत्रकार, नेपाल टेलिभिजन
सुनिल सिंह -पत्रकार, नेपाल टेलिभिजन
दावा छिरिङ -अध्यक्ष, कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद
यसी लामा -अधिकृत, विश्व वन्यजन्तु कोष
विदेशी
पाउली मस्टानी -चाल्र्स डी एफियर्स, फिनल्यान्ड
मार्गरेट अलेक्सजेन्डर -सहायक निर्देशक, यूएसएड
डा. जिल वाउलिङ -संरक्षण निर्देशक, विश्व वन्यजन्तु कोष, बेलायत
डा. जेनिफर हेडली -संयोजक, विश्व वन्यजन्तु कोष, बेलायत
म्याथ्थु पि्रस्से -विश्व वन्यजन्तु कोष
चालक दल चार जना
रसियाका दुई जना -क्रिउ
मिङमा शेर्पा - क्याप्टेन
तेह्र वर्षदेखि हेलिकप्टरको पाइलट गर्दै आएका मिङमा सोलुखुम्बु खुम्जुङ निवासी हुन् ।
टन्डु श्रेष्ठ -क्रिउ

Popularity: 13%

45 comments September 28th, 2006

लिग उपाधि सहारालाई

धन बस्नेत / एचकेनेपाल डट कम, पोखरा -
गतिलो घरेलु उपाधिबाट सधै विमुख हुने प्रतिष्ठित सहारा क्लवले लिगको उपाधि चुमेको छ। लेखनाथ नगरपालिका सम्पन्न दोस्रो ठूलो धन राशी पुरस्कार भएको आर्दश कप उचाल्नबाट बञ्चित हुनपुगेको सहाराले लिग उपाधि उचाल्दै पुरानो घाउ बिर्सेको छ। बुधबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा ड्यामसाइड युथ क्लवलाई पराजित गर्दै २५ हजार नगदको पुरस्कार हात पारेपछि सुखद अनुभूति गरेको छ।


अघिल्लो दिन खेलाडीमाथि लगाएको प्रोटेस्टले मानसिक दवाव परेको सहाराले ड्यामसाइडलाई कडा चुनौतिको सामना गर्दै पराजित गरेको हो। बर्षे झरी सकिएर खुलेको आकाश र विग्रिदै गएको मैदानमा बुधबार दिउँसो सम्पन्न फाइनलमा सहाराले ड्यामसाइडलाई एकका विरुद्ध दुइ गोलले पराजित गर्दै उपाधिमाथि धाक जमाएको हो।



पुरानै जर्सीमा मैदानमा देखापरेको सहाराले निकै धैर्यता खेल प्रस्तुत गरेको थियो। शुरुमा आच्छु आच्छु बनाएको ड्यामसाइडले हाफको पहिलो ३० मिनेटसम्म सहारालाई पारेको थियो। दवावमा राखेको ड्यामसाइडले त्यसपछि क्रमश फितलो प्रदर्शन गर्दै जानथालेपछि गोल खान पुगेको थियो। खेलको ३९ औं मिनेटमा लेफ्ट विङ्स ज्ञानेन्द्र थापाले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।

एक गोलले पछि परेर हतारिएको ड्यामसाइडले आफनो पुरानै गल्तीलाई दोहोर्‍याउँदा खेलको ५३ औं मिनेटमा स्ट्राइकर तेज परियारले अर्को गोल थप्दै विजय निश्चित बनाएका थिए । दर्ुइ गोलले पछाडि परेको ड्यामसाइडका लागि खेलको ७९ औं मिनेटमा असिम थापाले प्रतिस्पर्धात्मक गोल गरे। उनको गोलले हौसिएको ड्यामसाइडलाई समयले समेत धोका दियो। गोल फर्काएको एक मिनेटमै रेप|mी गोपाल थापाले लामो सकिएको सिटी फुकिदिए।


रेफ्रीमाथिको कुटपिट र मैदानमा सुर्ती सेवन गर्ने खेलाडीलाई एन्फा कास्कीले आज विहीबार बैठक बसी कार्वाही गर्ने जनाएको छ। खेलमा अभद्र व्यवहार देखाएका ड्यामसाइडका रक्षक गम्भीर परियारलाई एन्फाले दुइ खेलको प्रतिवन्ध लगाएको थियो। दर्ुइ खेल प्रतिवन्धमा विताएका परियारले आफनो क्लवलाई सेमिफाइनलमा निर्णायक गोल गरी फाइनलसम्म पुर्‍याएका थिए। आयोजक एन्फाका अनुसार हारेका क्लवलाई आज विहीबार अनुशासन समितिको बैठकले कार्वाही गर्ने बताएको छ।

फाइनल विजेता क्लवलाई २५ हजार नगदसहित ७ थान फुटवल र उपविजेताले १० हजार नगदसहित ५ थान फुटवल प्रदान गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीय प्रशासक शुसिलजङ्ग राणाले खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको थियो। लिगमा १९ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा र्सवाधिक गोलकर्ताको पुरस्कार पोखरा फुटवल क्लवका लक्ष्मण लामाले पाएका छन्। उत्कृष्ठ खेलाडीको पुरस्कार ड्यामसाइड युथ क्लवका तेन्जिङ नाम्गेल र अनुशासित टिम एपेक्स युवाक्लव ढिकोरपोखरीले पाएको छ। लामा र नाम्गेलले क्रमशः ५/५ हजार नगद तथा एपेक्सले कप हात पारेको छ।

पोखराबाट धन बस्नेत, फोटोः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम।

Popularity: 11%

2 comments September 28th, 2006

प्यारो पोखरा सार्वजनिक

एचकेनेपाल डट कम, पोखरा-
युवा पत्रकार अमृत भादगाउँलेको प्यारो पोखरा कृति वुधवार पोखरामा सार्वजनिक भएको छ। पर्यटनविद् झलक थापाले कृतिको सार्वजनिक गरेका हुन। कृतिको विमोचन गदै थापाले प्रस्तुत पुस्तकले समग्र पोखरालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन मदत गर्ने बताउनु भयो।



साहित्यकार सरुभक्तले भादगाउँले प्यारो पुस्तक लेखेर पोखरेलीलाई ठूलो गुन लगाएको वताए। कार्यक्रममा कवि तीर्थ श्रेष्ठ, पर्यटन वोर्डंका सदस्य वासु त्रिपाठी, वरिष्ठ कलाकार दुर्गा वराल, पर्यटन व्यवसायी सुन्दर श्रेष्ठ लगायतले कृतिको वारेमा वोलेका थिए।

कृतिका स्रष्टा भादगाउँलेले पोखराको वारेमा आफूले अझै धेरै गर्न बांकी रहेको वताए। कान्तिपुर दैनिकका पत्रकार भादगाउँलेका यस अघि लोककवि अलिमिया र असल गुरु नामक पुस्तक प्रकाशित छन्।

फोटोः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम।


Popularity: 11%

1 comment September 28th, 2006

राजारानी मन्दिर घुम्दै

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
राजारानी दशैंका बेला मन्दिर घुम्दै ठिक्क छन्। हिजो राजारानीले गोरखा दरबारस्थित गोरखाकालिका मन्दिर सवारी भई दुर्गा भवानीको पूजाअर्चना गरेका थिए।

राजारानीबाट दरबार परिसरमा रहेको बाबा गोरखनाथ मन्दिर तथा उपल्लोकोटस्थित वज्रभैरवको मन्दिरमा पनि पूजाअर्चना गरेका थिए।

गोरखनाथले १३ पुस्तापछि राज्य गुम्ने सराप दिएका थिए भनिन्छ। राजा वीरेन्द्र १२ औं पुस्ताका राजा थिए। दीपेन्द्र १३ औं पुस्ताका राजाका रुपमा केही दिन गद्दीमा बसेका भए पनि उनको मृत्युपछि पुनः गद्दी १२ औं पुस्तामा सरेको थियो।

राजदम्पती गोरखाकालिका, गोरखनाथ र वज्रभैरव मन्दिरको दर्शन एवम् पूजाअर्चनापश्चात् हिजै अपराह्न पोखरा फर्केका थिए। राजारानी आज काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ।

Popularity: 11%

Add comment September 28th, 2006

दैलेखमा कुकुर आतंक

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
दैलेखमा कुकर आतंक मच्चिएको छ। कुकुरको टोकाइबाट यहाँ आठ वर्षीय एक बालकसहित छब्बीस जना घाइते भएका छन् ।

घाइते हुनेमा नारायणनगर नगरपालिका-४ का अनि डाँडीमाडी र बडलम्जी गाविसका व्यक्तिहरू छन्।

आफूले पालेको कुकुरले ती व्यक्तिहरूलाई टोकेकाले आफ्नो कुकुरसहित त्यस क्षेत्रका सम्पूर्ण कुकुर मार्ने अभियान चलाइएको कुकुर मालिक पूर्णबहादुर शाहीले बताएका छन् ।

Popularity: 11%

Add comment September 28th, 2006

बाढीले करोडौँ मूल्यको माछा बगायो

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
महोत्तरी जिल्लामा अविरल वर्षाका कारण आएको बाढीले पोखरीमा पालिएका करोडौँ रूपैयाँ बराबरको माछा बगाएको छ ।

स्थानीय माछापालक ठेकेदार विनोद साहका अनुसार असोज ८ गते रातिदेखि आएको बाढीले करिब ३५ वटा पोखरीका माछा बगाउँदा माछापालकहरूले रू. एक करोड ५० लाख बराबरको घाटा बेहोर्नुपरेका छन्।

बाढीबाट हजारौँ परिवार विस्थापित भएका छन् भने खेतमा बल्लतल्ल रोपिएका धानबाली पनि कुहिन थालेकाले कृषकहरू निकै चिन्तित देखिएका छन्।

बाढीका कारण बर्दिबास-जलेश्वर, सम्सी-जलेश्वर, जलेश्वर- भिठ्ठामोड तथा जलेश्वर-मटिहानी रुटका यातायात सेवा चल्न सकेका छैनन्। हाल जनकपुर-जलेश्वर रुटमात्र सञ्चालनमा आएको बताइएको छ।

Popularity: 11%

Add comment September 28th, 2006

घर लिप्न खोज्दा युवती ठहरै

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
घर लिप्नका लागि माटो खन्दै गर्दा एक युवतीको माटोको ढिस्कोले पुरिएर मृत्युभएको छ ।

इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार मृतक बिजौरी-४ हेमन्तापुर निवासी १७ वर्षीया राधा बुढाथोकी छिन्।

उता, टरिगाउँ-१ का ४० वर्षीय छोटीलाल मिजारले आज आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका छन्।

लामो समयदेखि क्षयरोगको बिरामी भएका र घरको आर्थिक स्थिति पनि कमजोर भएका कारण दिक्क भएर उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।

Popularity: 11%

Add comment September 28th, 2006

थन्केको जहाज यसरी ठोक्कियो

साभारः जनआस्था -
काठमाडौं । देशका धुरन्धर विद्वानहरु, विदेशी कूटनीतिज्ञहरु र वन राज्यमन्त्रीसमेतलाई चढाएर विकट हिमाली भेगमा उडेको विमान कति पुरानो थियो भन्ने थाहा पाउदा तपाईलाई नेपालको उडान क्षेत्रको नीतिगत विडम्बना पक्कै थाहा लाग्नेछ ।


ताप्लेजुङको घुन्सा फलेडांडामा २४ जना दिग्गजहरुको सम्पूर्ण समाप्तिसहित क्षतविक्षत भएको श्री एयरको ९ एन अल्फा होटल जुलियट कलसाइनको जहाज १९८४ मा बनेको थियो। र, दुर्घटनाको मितिसम्ममा यसले २२ वर्षे आयु नाघिसकेको थियो।

वास्तवमा सो जहाज एमआई-१७ पनि थिएन। जहाज एमटी थियो र यसलाई मोडिफिकेशन (आधुनिकीकरण) गरी एमआई- १७ भर्सनमा लगिएको थियो। एमआई-१७ जहाज सन् १९९० पछिमात्र बन्न थालेका हुन्। यो बाहेक हाल नेपालमा सञ्चालित अन्य रुसी जहाजहरु एमआई-१७ भर्सनका छन्।

विश्व वन्यजन्तु कोष डब्लुडब्लूएफ जस्तो संस्थाले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वहरु, राजदूत र मन्त्रीहरुलाई उडाउनुपर्दा यस्तो जहाज कसरी रोज्न पुग्यो ? भन्ने प्रश्न उठेको छ।

नेपालको हवाई नीतिमा २० वर्षभन्दा पुरानो जहाज भित्र्याउन पाईदैन। नियमले हेर्दा यो जहाज २० वर्ष नपुग्दै भित्र्याइएको देखिन्छ तर जहाज १२ वर्षसम्म कुनै मर्मत सम्भार नभई पूर्वी जर्मनीमा बेवारिसे अवस्थामा थन्किएको थियो। पूर्वी र पश्चिम जर्मनीका बीच तनाव चलिरहंदा भएको अवरोधका कारण जहाज प्रयोगमा नआएको र प्रयोग नै नगरे पनि यन्त्रहरुको हुनुपर्ने नियमित परीक्षण नभएको कारण अत्यन्त सस्तो मूल्य ७ लाख अमेरिकी डलरमा नेपाल भित्र्याइएको थियो। २३/२४ हजार घण्टा उडाइसकेपछि जहाज हिउँचुली एयरले किन्ने प्रयत्न गर्‍यो। हवाई उड्डयनमा राम्रै दलालको संज्ञा पाइसकेका कर्णाली एयरका नारायणसिंह पुनले ६ लाख डलरमा पाए किन्ने प्रस्ताव पठाएका थिए तर मनाङ एयरले दिएन। थुप्रै एमआई-१७ जहाज रहेको श्री एयरले अन्ततः यो जहाज पनि १३ लाख डलरमा किनेको थियो।

विज्ञहरु जहाजको अवस्थालाई मात्र दुर्घटनाको सम्पूर्ण दोषचाहिं दिंदैनन्। मौसमको प्रतिकूलता दुर्घटनाको देखिएको कारण हो भने २४ जना बोकेर हाई अल्टिच्युड भएको ठाउंमा भीआईपी बोकेर उड्नु अर्को कारण हो। समाचारअनुसार, भीरमा जहाज बिष्फोट भई मानव शरीर टुक्राटुक्रा भएर छरिएका कारण हिजो अबेरसम्म सबै लाश संकलन हुन सकेका छैनन्।

Popularity: 11%

Add comment September 27th, 2006

आज राष्ट्रिय शोक

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
हेलिकप्टर दुर्घटनामा राज्यमन्त्रीसहित देशका ख्यातिप्राप्त विशिष्ट व्यक्तिहरुको निधन भएकोमा आज बुधबार राष्ट्रिय शोक मनाइने भएको छ।

राष्ट्रिय शोक मनाउने क्रममा देशभर विदा दिइएकोछ। त्यसैगरी सम्पूर्ण सरकारी कार्यालय र देशबाहिरका कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

यसैबीच, पर्यटन दिवस (सेप्टेम्बर २७) को अवसर पारेर बुधबार आयोजना गरिन लागेका सबै कार्यक्रमहरू स्थगित गरी दशैंपछि सारिएको छ।

Popularity: 11%

6 comments September 27th, 2006

माओवादी सुरक्षाबीच फुटवल प्रतियोगिता

धन बस्नेत, लामाचौर पोखरा/ एचकेनेपाल डट कम -
विजया दशमीको अवसरमा व्लुएन्जल युवा क्लवले पहिलो पटक सेभेन ए साडड फुटवल प्रतियोगिताको आयोजना गरेको छ। प्रतियोगिताको शान्ति सुरक्षाको सम्पूर्ण जिम्मेवारी माओवादी जनमुक्ति सेनाले लिएको छ।


कास्कीको लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको हाताभित्र सञ्चालित प्रतियोगितामा माओवादीका ६ जना कार्यकर्ता नियमित उपस्थित हुने गरेका छन्। माओवादीको उपस्थितिले खेल शान्तिपूर्ण तरिकाले सञ्चालन भइरहेको छ। प्रतियोगितामा ४४ टिमको सहभागिता रहेको छ।

माओवादीका ती जनसेनाले शान्ति सुरक्षा मात्र होइन फोर्थ अफिसियलको भुमिका समेत निभाएका छन्। प्लेयर बक्समा खेलाडी र अफिसियल बाहेक अन्यलाई उनीहरुले जाँच गरी भित्र छिर्न दिने गरेका छन्। ‘हाम्रो क्षेत्र भएकोले शान्ति सुरक्षा गर्नु हाम्रो दायित्व हो।’ माओवादी जनसेनाले भने-नियमित रुपमा क्लवले नबोलाएपनि हाम्रो कर्तव्य पुरा गर्न आँउछौ।’


माओवादीलाई शान्ति सुरक्षा प्रदान गर्न क्लवले निमन्त्रणा भने गरेको होइन। दैनिक उपस्थित भई शान्ति सुरक्षा गरेपनि कुनै शुल्क भने नलिने उनीहरुले बताए। आयोजकले विहानको खाना र दिउँसोको खाजाको प्रवन्ध मिलाइदिएको एक जनसेनाले भने। माओवादीले लामाचौरलाई आफनो ४ नं क्षेत्र भएको बताएका छन्।

हरियो र्सट पाइन्टमा उपस्थित भएका जनसेनाको गतिविधिलाई नेपाल प्रहरी अधिकृत र जवानले स्टेजमा बसेर नियालिरहेका थिए। माओवादी सुरक्षा घेरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डाक्टरहरुले सहभागिता जनाउँदै सोमबार विहान आफनो खेल प्रस्तुत गरे। सधैंको विरामी जाँचले फुर्सद नपाउने डाक्टरहरुको सहभागिता रहेको यो सम्भवत पहिलो पटक हो।

डाक्टर ९ को नामबाट मैदानमा छिरेका खेलाडी डाक्टरहरुमा क्रमश राजेन्द्र पुन, दिपेश कार्की, सन्तोष श्रेष्ठ, चिरायु भारी, कृष्ण रिजार, योगेश रेग्मी, सुरेश थापा, प्रकाश थापा, सूर्यमान गुरुङ, निरन्जन राजभण्डारी रहेका छन्। टिमकोचमा डा. पविन थापा र मेनेजरमा डा सुशिल छन्। उनीहरुले विहान त्रिपल एक्ससँग एक गोल खाँदै बहिरिएका छन्।

पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा दैनिक दश खेल सम्पन्न हुने छ। खेल २०/२० मिनेट खेलाइएको छ। प्रतियोगितामा विजयी क्लवलाई च्याङग्रा, कप, पदक तथा नगद प्रदान गरिने छ। नगद पुरस्कारको भने यकिन गरिएको छैन्। प्रतियोगिताको प्रायोजन सरस्वती आदर्श विद्याश्रम र कोशेली प्रकाशनले गरेका छन्।

फोटोः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम।

Popularity: 11%

4 comments September 26th, 2006

राजारानी पोखरातर्फ

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
राजा र रानी केही दिनको लागि हिजो पोखरा सवारी भ्रमणमा गएका छन्। धादिङस्थित सल्यानकोट त्रिपुरासुन्दरी भगवाती मन्दिरबाट हेलिकप्टरमा उनीहरु पोखरा पुगेका हुन्।

पोखरामा राजारानीको भ्रमणका बारेमा पूर्वजानकारी दिइएको थिएन।

राजारानी ११ गते त्यहाँबाट फर्कने कार्यक्रम रहेको बताइएको छ।

Popularity: 11%

1 comment September 26th, 2006

सात दलका शीर्ष नेताको बैठक निश्कर्षविहीन

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
सात राजनीतिक दलका शीर्ष नेताहरूको बैठकमा राजतन्त्रका विषयमा कुनै सहमति हुन सकेन। बैठकले सहमतिका आधारमा संयुक्त राष्ट्र सङ्घलाई पठाएको पाँचबुँदे पत्रबमोजिम हतियारको व्यवस्थापन कार्य अविलम्ब प्रारम्भ गर्ने र अन्तरिमा संविधान मस्यौदालाई पूर्णता दिनेलगायतका शान्ति प्रक्रियाका समग्र विषयमा छलफल गर्न सात राजनीतिक दल र नेकपा -माओवादी) का शीर्ष नेताहरूको बैठक आपसी सल्लाहले चाँडै सम्पन्न गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसदमा प्रस्तुत नागरिकता विधेयक- २०६३ लाई यसै सदनबाट सहमतिबमोजिम पारित गर्ने निर्णय गरेको छ।

बैठकपछि नेकपा एमालेका महासचिव नेपालले बैठकमा अन्तरिम संविधानको मस्यौदा, अन्तरिम सरकार, हातहतियार व्यवस्थापन आदि महत्वपूर्ण विषयमा सहमति र समझदारी बनाउन सात राजनीतिक दल र नेकपा माओवादी दुवै शीर्ष बैठक बस्नेबारेमा छलफल भएको जानकारी दिनुभयो।

उहाँले सम्भव भएसम्म असोज १२ गते शीर्ष बैठक बस्ने पनि जानकारी दिनुभयो।

Popularity: 11%

Add comment September 26th, 2006

जनकपुर जलमग्न

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
दशैंअगाडिको अविरल वर्षाका कारण जनकपुर नगरपालिका क्षेत्र जलमग्न भएको छ।

पानीको निकास नभएकाले सडकहरूमा पानी जमेको छ भने अधिकांश सरकारी कार्यालय परिसर जलाशयझैँ भएको छ।

वर्षाका कारण राष्ट्रिय समाचार समिति, राजस्व, हुलाक र वन कार्यालयहरू डुबानमा परेका छन्। सडकमा पानी जमेकाले आवागमनमा समेत अवरोध उत्पन्न भएको छ।

राजदेवी मन्दिर, बौद्धिमाई, अमरखाना, पलटीमाईलगायतका शक्ति पीठहरूमा लाखौँ खर्च गरेर सजाइएको ध्वजापताका वर्षाका कारण निर्रथक हुनपुगेको छ।

Popularity: 11%

Add comment September 26th, 2006

दरबारमार्गमा बमको हल्ला

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
दरबारमार्गस्थित कतार एअरवेजमा आज बिहान बम राखिएको हल्लाले त्यहाँ निकै तनाव उत्पन्न गरायो। बम फेला पार्न बिहानैदेखि त्यहाँ सेना र प्रहरीको टोली खटिएको थियो।

सेना र प्रहरीले कार्यालयभित्र कुनै पनि कर्मचारीलाई पस्न नदिई खोजी कार्य अगाडि बढाएका थिए।

दुई-तीन घण्टासम्म खोजबिन गरेपछि पनि बम भेट्टाउन भने सकिएन। बम नभएको प्रमाणित गरेपछि सुरक्षाकर्मीले त्यहाँ कर्मचारीहरुलाई पस्न दिएका थिए।

युध्दविराम भइसकेपछि काठमाडौंमा फैलिएको यो दोस्रो बमको हल्ला हो। यसअघि सिंहदरबारभित्रको महिला तथा बालबालिका मन्त्रालयमा बम राखिएको हल्ला फैलिएको थियो।

Popularity: 11%

Add comment September 25th, 2006

पहिरोमा पुरिएर एकै परिवारका चारको मृत्यु

एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
सिन्धुपाल्चोकको थोकर्पा गाउँमा केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आएको पहिरोमा पुरी एकै परिवारका चार जनाको मृत्यु भएको छ।

प्राप्त समाचार अनुसार पहिरोले कृष्णबहादुर नेपालीको घर भत्काएपछि एकै कोठामा सुतिरहेका ती चार बालिकाको मृत्यु भएको हो।

सोही घरको अर्कै कोठामा सुतिरहेकाहरु भने बच्न सफल भएको बताइएको छ।

Popularity: 11%

Add comment September 25th, 2006

बालुवाटारमा सात दलको शिखर बैठक शुरु

एचकेनेपाल डट सम्वाददाता -
बालुवाटारसहित प्रधानमन्त्री निवासमा बिहानदेखि सात दलको शीर्ष नेताहरुबीच शिखर वार्ता शुरु भएको छ।

१२ गते हुने शिखर वार्ताको तयारीका लागि उक्त बैठक शुरु भएको हो। आजको बैठकमा शिखर वार्ताको एजेन्डाहरु तयार पार्ने र केही एजेन्डाहरुमा सहमति जनाउने रहेको छ। अन्तरिम संविधान विधायिका र सरकार निर्माणको राजनीतिक प्याकेज तथा हतियार व्यवस्थापनसम्बन्धी बैठक केन्द्रीत हुने बताइएको छ।


Popularity: 11%

Add comment September 25th, 2006

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

September 2006
M T W T F S S
« Aug   Oct »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category

More news....