Archive for November, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अन्तरिम संविधानको मस्यौदामा सहमतिका लागि सरकार र माओवादीको वार्ताटोलीबीच आज पनि वार्ता भइरहेको छ।
वार्ता हिजो पनि लाजिम्पाटको एक होटलमा भएको थियो।
अन्तरिम संविधानलाई अन्तिम टुङ्गोमा सकेसम्म चाँडो पुर्याइने सरकारी वार्ताटोलीका संयोजक गृहमन्त्री कृष्णप्रसाद सिटौलाले वार्तापछि पत्रकारहरूलाई बताउनुभयो।
उहाँले संविधानका समग्र विषयहरुमा छलफल गरिएको र गत कात्तिक २२ गते तथा मङ्सिर ५ गतेका सम्झौताका विषयलाई आधार मानी संविधानलाई पूर्णता दिइने जानकारी दिनुभयो।
गत कात्तिक २२ गतेको ऐतिहासिक सम्झौताअनुसारको कार्यतालिकामा मङ्सिर १० गते नै अन्तरिम संविधान जारी गर्नुपर्ने तय भएको थियो।
अब यो मिति कहिलेका लागि तय भएको छ भन्ने बारेमा केही पनि बताइएको छैन। साथै सात दलबीच पनि यसबारेमा कुनै छलफल नभएको एमाले महासचिव माधवकुमार नेपालले बताइसक्नुभएको छ।
Popularity: 23%
November 30th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल सुनचाँदी व्यवसायी सङ्घ ललितपुर शाखाका सदस्य विकासरत्न शाक्यमाथि गत ११ गते भएको साङ्घातिक आक्रमण तथा लुटपाटसम्बन्धी घटनाको विरोधमा आज उपत्यकामा सुनचाँदी पसलहरु बन्द गरिएका छन्।
उक्त आक्रमणको भर्त्सना गर्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउन सङ्घले सरकारसँग आग्रह गरेको छ।
घटनामा संलग्न दोषीलाई यथाशीघ्र पत्ता लगाई कडा कारबाही गर्न, पीडित पक्षलाई क्षतिपूर्ति दिन तथा भविष्यमा यस किसिमका घटना दोहोरिन नदिन र शान्ति सुरक्षाको प्रत्याभूति दिन सङ्घले माग गरेको छ।
Popularity: 22%
November 30th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)ले जबरजस्ती भर्ती गर्न यहाँबाट लगेका 2 युवा भागेर प्रहरीको शरणमा आइपुगेका छन्।
दोलखाको लामीडाँडा गाविस-३ गुमु घर भएका २३ वर्षीय होमबहादुर बस्नेत र उनका २० वर्षीय भाइ शङ्कर बस्नेत चितवनको शक्तिखोरस्थित माओवादीको तेस्रो डिभिजनको क्याम्पबाट भागेर वडा प्रहरी कार्यालय नारायणगढमा पुगेका हुन्।
आफूहरूलाई यही मङ्सिर ४ गते दोलखाको चरिकोटबाट माओवादीले सेनामा भर्ती गर्न जबरजस्ती लगेको उनीहरूले बताए।
आफूहरूलाई चरिकोटमा रहेका माओवादी कार्यकर्ताले बसमा हालेर काभ्रेको पनौती पुर्याएको र मङ्सिर ६ गते शक्तिखोरस्थित क्याम्पमा पुर्याएको होमबहादुरले बताए।
माओवादी सेना भएर काम गर्ने इच्छा नभएको र उनीहरूको क्रियाकलाप मन नपरेको बताउने ती दाजुभाइ साँझ क्याम्पबाट भागी रातभर हिँडेर नारायणगढ आइपुगेको बताइएको छ।
“हामी जान्नौं भन्यौँ, तर उनीहरूले जबरजस्ती गरे” भाइ शङ्करले भने। “सेना कम छ। तिमी नगए हाम्रो सङ्ख्या कसरी पुग्छ- भन्दै बसमा हाले।”
Popularity: 23%
November 30th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष प्रचण्डले सङ्घात्मक नयाँ नेपालको निर्माणका लागि आफ्नो पार्टी एघार वर्ष लामो द्वन्द्व समाप्त गरी शान्तिपूर्ण रुपमा वार्तामा आएको बताउनुभएको छ।
काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संविधानसभाको निर्वाचनमा बाधा पुर्याउनसक्ने अतिवादी र सामन्ती तत्वहरुको षड्यन्त्रबाट आगामी दिनमा पनि सावधान रहनुपर्छ भन्नुभयो।
उहाँले माओवादीले द्वन्द्वका समयमा पनि जातीय उत्थानको विषयलाई प्राथमिकता दिएको उल्लेख गर्दै सङ्घीय गणतन्त्रात्मक ढाँचाबाट मात्र नेपालको सामन्तवादी केन्द्रीकृत रुप फेरिनेछ भन्नुभयो।
Popularity: 23%
November 30th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विगत दुई दिनदेखि भएको झडप, अपहरण र तोडफोडका कारण तनावग्रस्त रहेको सानो थिमी शिक्षा क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु -क्रान्तिकारी)बीच अबदेखि झडप नगर्ने सहमति भएको छ।
सानो थिमी क्याम्पस प्रशासन, स्ववियु र कर्मचारीसमेतको पहलमा भएको वार्तापछि उक्त सहमति भएको हो।
सहमतिका लागि वार्तामा बस्नु केही समयअगाडिसम्म एमाले समर्थित अखिल र माअोवादीसमर्थित अखिल (क्रान्तिकारी)बीच भिडन्त हुँदा १२ जना जति विद्यार्थी घाइते भएका थिए।
वार्ता सफल नहुन्जेल संयुक्त राष्ट्रसङ्घ मानवअधिकार उच्चायुक्तको नेपालस्थित कार्यालयका दुई प्रतिनिधिले झडपको अनुगमन गरेका थिए।
सानो थिमी क्याम्पसमा आज एमाले अखिलले क्याम्पसमा अस्ति घटेको घटनाको विरोधमा पठनपाठन बन्द गर्ने र अखिल (क्रान्तिकारी)बीच क्याम्पस खोल्ने विषयमा विवाद भएपछि दुवै पक्षबीच झडप भएको थियो।
Popularity: 22%
November 30th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सम्झौताअनुसार माओवादी शिविरमा भौतिक पूर्वाधार निर्माण गर्न ढिलाइ भए पनि त्यहाँ एकत्रित माओवादी सेनालाई पानी, बत्तीजस्ता अत्यावश्यक भौतिक पूर्वाधारको समस्या भएको छ।
दक्षिणी इलामको चुलाचुलीस्थित कमलझोडामा रहेको पहिलो डिभिजनमा माओवादी सेना क्याम्पमा जम्मा भइसकेपछि त्यहाँ मुख्य रूपमा पानी, बत्तीको समस्या भएको हो।
आठसय छापामार भएको शिविरमा चार थान पानी तान्ने ट्युबवेल मात्र जडान भएको र रातको समयमा बत्तीको आवश्यकता भएको सहकमान्डर पावेल बताउनुहुन्छ।
पावेलका अनुसार त्यस शिविरमा सम्झौताअनुसार गत मङ्गलबार नै सेना शिविरमा जम्मा भइसकेका छन्। यसरी जम्मा भएका लडाकुहरूलाई राख्न क्याम्पभित्र प्लास्टिकको पालबाट १३ वटा टहरा बनाइएको छ।
सरकारले दिने भनिएको राहत आउन ढिलो भएपछि सेना पाल्न समस्या परेको पावेल बताउनुहुन्छ।
त्यसैगरी इलामको दानाबारी शुक्रबारे, मोरङको याङ्सिला र टाँडीमा सहायक क्याम्प राख्ने निश्चत भनिए पनि ती क्षेत्रमा जम्मा भएका छापामारहरू स्थानीय गाउँमा बास माग्दै बस्न बाध्य भएको उहाँले जानकारी दिनुभयो।
इलामको दानाबारी शुक्रबारेमा एक हजार ५०० को सङ्ख्यामा विप्लव स्मृति ब्रिगेड, मोरङको याङ्सिला र टाँडीमा एक हजार ५०० को सङ्ख्यामा बेथान स्मृति ब्रिगेड र रत्न सकुन्तल ब्रिगेडका लडाकु जम्मा भइसकेका छन् तर ती सेनालाई बस्नसम्म ठाउँ नभएपछि घर हेरी २, ४ जनाका दरले गाउँमा बस्न बाध्य भएको उहाँले बताउनुभयो।
Popularity: 22%
November 30th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कलियुगमा नाताको पनि इज्जत रहेन। आफ्नै दिदीको घरबाट विभिन्न धनमाल चोरी गरी बा. १ ज ८८९९ नं.को ट्याक्सीमा भाग्दै गरेकी रचना तुलाचनलाई प्रहरीले पक्राउ गरेको छ।
ती महिलालाई हिजो राति साढे १० बजे ललितपुर उपमहानगरपालिका-१४ थसीखेल बस्ने दिदी दालकुमारी गौचनको कोठाबाट आठ तोला सुनका गरगहना, युएस डलर २०० तथा मुगा २८ थान चोरी गरी भागिरहेको अवस्थामा कलङ्कीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, काठमाडौँ महानगरपालिका वडा नं. २९ गोङ्गबुमा डेरा गरी बस्ने सुशीला बस्नेतको कोठाबाट करिब रू. 2 लाख पाँच हजार बराबरको धनमाल लुटिएको छ।
मङ्सिर १२ गते साँझ मोटरसाइकलमा आएका आफ्नै छोराका दुई जना साथीले दराजभित्र रहेको नगद लुटी लैजानाका साथै एक थान टेलिभिजन तोडफोड गरेको प्रहरीले जनाएको छ।
Popularity: 22%
November 30th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालको सामाजिक एवम् आर्थिक विकासका लागि सङ्घीय गणतन्त्र जर्मनीले रू. तीन अर्ब त्रिचालीस करोड १२ लाख ५० हजार प्रदान गर्ने भएको छ।
नेपालर्-जर्मनी विकास सहायता बैठकको समाप्तिपछि सो घोषणा गरिएको हो।
बैठकमा जर्मनीको प्रतिनिधित्व गर्नुभएका त्यहाँको विकास सहायतासम्बन्धी सङ्घीय मन्त्रालयका दक्षिण एसिया निर्देशक वल्फगङ कनेराले नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाएकामा आफ्नो सरकारका तर्फाट खुसी व्यक्त गर्दै नेपाली जनताको समृद्धिका लागि थप सहायता प्रदान गर्न आफूले सक्दो प्रयास गर्ने बताउनुभयो।
नेपालको सबैभन्दा ठूलो व्यापार साझेदारका रूपमा रहेको जर्मनीमा नेपाली गलैँचा, तयारी पोसाक, चिया र मह निर्यात हुँदै आएको छ।
Popularity: 22%
November 30th, 2006
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
नयाँ दिल्लीमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी एक नेपाली चेलीले मंगलबार आत्महत्या गरेकी छिन्।
समाचार स्रोतका अनुसार दुर्गा थापाले अपरान्ह ३ बजे झुण्डिएर आत्महत्या गरेकी थिइन्। थापाले विगत १ महिनादेखि सर्वप्रियबिहारस्थित पटौना -३ सर्लाहीकी सरिता अग्रवालको घरमा काम गर्दै आएकी थिइन्। थापाले काम गर्ने घर मालिक अग्रवाल दम्पती प्राध्यापन पेशामा रहेको बताइन्छ।
Popularity: 22%
November 30th, 2006
धन बस्नेत / एचकेनेपाल डट कम-
पोखरा/नेकपा माओवादीले अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना अर्न्तर्गत पदयात्रामा जाने पर्यटकसँग चन्दा उठाउने कार्य अझै रोकिएको छैन्। माओवादीले अन्नपुर्ण संरक्षण क्षेत्र जाने मुख्य प्रवेशद्वार नयांपुलको बीरेठाँटीमा बकैदा चेकपोस्ट राखेर पर्यटकसँग चन्दा उठाउँदै आएका छन्।
माओवादी र सरकारबीच शान्ति सम्झौता भएपनि माओवादीले त्यसको बेवास्ता गर्दै चन्दा उठाएको प्रति आम र्सवसाधारण, पर्यटक, टे्रकिङ एजेन्ट्स र पथप्रदर्शकको गुनासो रहेको छ। माओवादीले बीरेठाँटीमा चेकपोस्ट राखेर पदयात्रामा जाने पर्यटकसँग दैनिक एकसय रुपैयाको दरले चन्दा उठाँउदै आएका छन्। अघिल्ला वर्षरुमा उनीहरुले प्रतिपर्यटक १५ डलर अर्थात १२ सय रुपियाँ उठाँउदै आएका थिए।
‘पदयात्रामा जाने पर्यटकसँग एकदिनको सय रुपियाँको दरले चन्दा उठाइरहेका छन्।’ घोरेपानी घान्द्रुक पदयात्रा सकेर पोखरा फर्किएका पथप्रदर्शकले भने। शान्ति सम्झौतापछि माओवादीले विरेठाँटीमा चन्दा उठाउने जारी राखेपनि अन्यत्र ठाँउमा भने हटाइसकेका छन्।
माओवादीले एक्याप अर्न्तर्गतको बेनीस्थित घार खोलामा राखिएको चन्दा उठाउने चेक पोस्ट र कास्कीको लान्द्रुक गाविसमा राखिएको चेकपोस्ट हटाएको छ। सरकार र माओवादीबीच भएको शान्ति सम्झौता पछि माओवादी जनसेनाको लागि सरकारले दर्ुइ पटक गरी १७ करोड बजेट छुट्टाइसकेको छ।
यता माओवादी कास्की जिल्ला सचिव करणले पनि बीरेठांटीमा पर्यटकसँग चन्दा उठाएको स्वीकार गर्नुभयो। उहाँले माओवादी अन्तरिम सरकारमा गइसकेपछि मात्र चन्दा उठाउने कार्य रोकिने बताउनुभयो। उहाँका अनुसार आउँदो मंसिर १५ गते अन्तरिम सरकार गठन भएपछि सम्पूर्ण चन्दा उठाउने गतिविधि स्थगित हुने छ।
माओवादीले अन्नपुर्ण क्षेत्रको पदयात्रामा जाने पर्यटकसँग विगत तीनवर्षभन्दा अघिदेखि चन्दा उठाँउदै आएका छन्। विहानीको सूर्योदय हेर्न घोरेपानी पुग्ने प्रत्येक पर्यटकसँग पुनहिलमा हतियारसहितका माओवादीले चन्दा लिने गरेका थिए। अन्नपुर्ण संरक्षण क्षेत्रमा मात्र उठाउन शुरु गरेपछि माओवादीको समूहले विस्तारै सगरमाथा आधार शिविर जाने पर्यटकसँग समेत चन्दा उठाउन थालेका हुन्।
बढदो चन्दा आतंकले पोखराका होटल व्यवसायी तथा टे्रकिङ एजेण्ट्सहरुले माओवादीसित चन्दा नलिन आग्रह समेत गरेका थिए। तर माओवादीले भने केन्द्रीय निर्णय भन्दै पर्यटकसँग १२ सयका दरले चन्दा उठाएका थिए। पदयात्राको एक सिजनमा माओवादीले करोडौं रुपैया उठाएको बताइन्छ।
पोखराबाट धन बस्नेत
Popularity: 21%
November 30th, 2006
धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम -
पोखरा, बुधबार आयोजना गरिएको पत्रकार सम्मलेनमा पूर्व राष्ट्रिय खेलाडी एवं क्लवका प्रशिक्षक विल तामाङ र प्रकाश गुरुङद्वारा संकलित करिव ३० हजार रुपैया सहारा क्लवलाई आर्थिक सहयोग प्रदान गरिएको छ। प्रकाश गुरुङले सम्मेलनमा क्लवका अध्यक्ष विक्रम थकालीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो। (more…)
Popularity: 22%
November 29th, 2006
धन बस्नेत / एचकेनेपाल डट कम -
पोखरा, पुसको पहिलो साता तनुहँ महोत्सव हुने भएको छ। पुस ५ गतेदेखि शुरु हुने उक्त महोत्सवको आवश्यक तयारी शुरु भएको मंगलबार पोखराको पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
भानुभक्त जन्मस्थल, प्राचीन बेदव्यास गुफा, सहासिक प्याराग्लाइडिङ एवं र्याफि्टङ एवं धार्मिक सास्कृतिक लगायतका सामरिक महत्वका स्थानहरुको पहिचान मात्र नभई अन्तरिक तथा बाहृय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनुहँ महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक हरिसिंह गुरुङले पत्रकार सम्मेलनमा बताउनुभयो।

पत्रकार सम्मेलनमा कौरा नृत्यसमेत प्रस्तुत गरिएको थियो। फोटोः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम।
साहसिक प्याराग्लाइडिङको लागि उपयुक्त स्थल बन्दीपुर एवं मादी नदीमा र्याफ्टिङको मजा लिन सकिने आयोजकले जनाएका छन्। त्यसो त भानुभक्तको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक स्थलको रुपमा विकास गर्न महोत्सवले थप टेवा पुर्याउने विश्वास गरिएको छ। मेलामा त्यसको अलवा चट्टान आरोहण गर्न समेत सकिने संयोजक गुरुङले जानकारी दिनुभयो।
महोत्सव आयोजकका अनुसार जैविक विविधताको संरक्षण र संवर्द्धन एवं उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको दिगो विकास गर्ने लक्ष्य राखिएको छ। स्थानीय स्तरमा उत्पादित बस्तु तथा सेवाको विस्तार, स्वदेशी गुणस्तरीय बस्तुहरुको उपभोगप्रति उपभोक्ताहरुलाई सुसूचित गर्ने, विभिन्न जातजाति र धर्म सम्प्रदायका परम्परा, भाषा, धर्म कला र सस्कृतिको संरक्षण गर्ने, औद्योगिक व्यापारिक एवं पर्यटकीय स्थलको विकास गर्ने लगायतका उद्देश्यहरु राखिएको छ।
महोत्सवमा औद्योगिक प्रदर्शनी, नगदेबाली सुन्तला, अदुवा र मास प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, घरेलु उत्पादन बस्तुको प्रदर्शनी, जलविहार, पदयात्रा लगायतका आकर्षाहरु रहेका छन्। बन्दीपुरको विमलनगर बजारमा अवस्थित रक क्लाइम्बिङको लागि नेपालकै अग्लो चुन पहरा भएको दावी समेत गरिएको छ। उक्त पहरा करीव डेढसय फिट अग्लो रहेको समेत बताइएको छ।
छ दिनसम्म सञ्चालन हुने महोत्सवमा करीव १ सय ३१ वटा स्टलहरु राखिने छ। महोत्सवमा मनोरञ्जनको लागि कौरा, घाँटु, लाखे, नेवारी लगायतका विभिन्न जनजातिको साँस्कृतिक नृत्य प्रस्तुत गरिने छ। मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा समेत पर्यटन बोर्डको सभाकक्षको स्टेजमा कौरा नृत्य प्रस्तुत गरिएको थियो।
पोखराबाट धन बस्नेत मंसिर १२ गते।
Popularity: 22%
November 29th, 2006
धन बस्नेत / एचकेनेपाल डट कम -
पोखरा, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष लेखनाथ न्यौपानेले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउनुभएको छ। ‘विभिन्न क्षेत्रमा स्थापित शैक्षिक संस्था यतिबेला बेरोजगार जन्माउने माध्यम भएको छ।’ उहाँले भन्नुभयो।
अध्यक्ष न्यौपानेले ‘शैक्षिक विशाल बजार खोली अपराध गर्नेहरुलाई कार्वाही गरिनुपर्छ।’ उहाँले मंगलबार पोखराको पृथ्वीनारायण क्याम्पस आयोजित बृहत विद्यार्थी परिचालन गणतान्त्रिक अभियान कार्यक्रममा भन्नुभयो।
अनेरास्ववियू क्रान्तिकारी मुल इकाई समितिले आयोजना गरेको सो कार्यक्रममा उहाँले २१ औं शताब्दीको शिक्षा देशविकासको निर्माणसँग जोडिनुपर्ने बताउनुभयो। कृषि प्रधान देश नेपालमा शैक्षिक कृषि नीति लागु गरिनु पर्ने उहाँले माग राख्नुभयो। शिक्षामन्त्रीले शिक्षामा आवश्यक सुधार गर्ने क्रान्तिकारीलाई बचन दिएपनि कार्यान्वयन नभएको प्रति इंगित गर्दै भन्नुभयो-’नेपाली शिक्षा कर्मचारी ओरेण्टेड मात्र भएको छ।’
अखिल क्रान्तिकारी यतिबेल शैक्षिक पर्ुनसंरचनाको अभियानमा जुटेको उहाँले जानकारी दिनुभयो। अधिराज्यका विभिन्न क्याम्पसमा भएका स्वतन्त्र विद्यार्थी युनियन-स्ववियु) भ्रष्टाचारको अखडा बनेको दावी गर्दै अध्यक्ष न्यौपानेले स्ववियु कसैको विर्ता होइन् भन्नुभयो।
पृथ्वीनारायण बहुमुखी क्याम्पसको एमाले स्ववियुले स्ववियुलाई विर्ता सम्झेको आरोप लगाउँदै उहाँले विर्ताको रुपमा लिनेभए पशुपति नाथको कुटीमा गएर बसे हुन्छ भन्नुभयो। ‘क्याम्पसको छात्रबासमा गुण्डा राखेर राजनीति गर्ने दिन अब गए।’ उहाँको भनाई थियो। स्ववियु दुइ चारवटा क्याम्पसमा आफनो क्रियाकलाप दोहोर्याउँछ भने क्रान्तिकारीले फु गरेर ढलाई दिने दावी गर्नुभयो।
कार्यक्रममा उहाँले सवै विद्यार्थी संगठनले क्याम्पसमा विद्यार्थीहरु माझ आफना मान्यता राख्न पाउनुपर्ने अडान राख्नुभयो। क्रान्तिकारी अध्यक्ष न्यौपानेले इमान्दारीको राजनीति देशको माटो अनुरुपको शैक्षिक प्रविधिको विकास हुनुपर्नेमा समेत जोडदिनुभयो।
‘अहिलेको समय सहमतिको दस्तवेज कार्यान्वयन गर्ने बेला हो।’ उहाँले भन्नुभयो-’यस्तो बेलामा एमालेले कुर्चीको मोह त्यागेर जनताको मोहमा जुट्नुपर्छ।’ अमेरिकी साम्रज्यवादले हारेको बेलामा हामीले विजय जुलुश मनाएका हौं उहाँको भनाई छ।
राजतन्त्रको अन्त्यसँगै सामान्तीवादको शुरुवात भएको बताउनुभयो। उहाँले अहिलेको परिस्थितिमा एमाले भन्दा पनि काँग्रेस प्रगतिशिल भएर अगाडि बढेको स्पष्ट पार्नुभयो। ‘संघीय राज्य प्रणालीको शुरुवात संविधान सभाको चुनावले गर्ने छ।’ उहाँले भन्नुभयो।
कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रामदीप आचार्यले टाउको मूल्य तोकिनेहरुको हार भएको र जंगलमा बस्नेहरुको जीत भएको बताउनुभयो। राजनीतिक सत्ता सामाजिक सत्ताको निम्ति लड्दै आएको उहाँको भनाई थियो। कार्यक्रममा नेकपा माओवादी कास्की सचिव करणले जर्वजस्त विचारलाई लादेर निरकुंश बन्नेहरु इतिहासले धिक्कार्ने बताउनुभयो।
पोखराबाट धन बस्नेत मंसिर १२ गते / एचकेनेपाल डट कम।
Popularity: 22%
November 29th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल सरकार र नेकपा (माओवादी)बीच दुवै पक्षको सेना तथा हतियार व्यवस्थापनसम्बन्धी सम्झौता पाँच दिन लामो छलफल र वार्तापछि अन्ततः मंगलबार सम्पन्न भयो।
लाजिम्पाटस्थित साङ्ग्रिला होटलमा आयोजित समारोहमा राष्ट्रसङ्घीय टोलीको रोहवरमा पत्रकारहरूका सामु सरकारी वार्ताटोलीका संयोजक गृहमन्त्री कृष्णप्रसाद सिटौला र माओवादी वार्ताटोलीका संयोजक कृष्णबहादुर महराले सम्झौतामा हस्ताक्षर गर्नुभयो।
हस्ताक्षरपछि सो सम्झौतापत्र राष्ट्रसङ्घका प्रतिनिधि जोनएरिक विलसनलाई हस्तान्तरण गर्नाका साथै संयोजकद्वयबीच साटासाट गरिएको थियो।
सात भाग र १२ पृष्ठको सो सम्झौतापत्रमा हतियार जाँच, हतियार सङ्ग्रहण, सेनाको केन्द्रीयकरण, दुवै सेना ब्यारेक र स्थायी शिविरमा रहने व्यवस्था, सहमतिको कार्यान्वयनको प्रावधान र राष्ट्रसङ्घीय मिसनको दायित्व समावेश गरिएको जानकारी सो अवसरमा आयोजित पत्रकार सम्मेलनमा सरकारी वार्ताटोलीका सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीप ज्ञवालीले दिनुभयो।
सो सम्झौतापत्र संयुक्त राष्ट्रसङ्घमा पठाउने र त्यहाँ अनुमोदन भएपछि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेषदूत इयान मार्टिनले हस्ताक्षर गर्ने बताइएको छ।
माओवादीको सेना व्यवस्थापनका लागि सातवटा मुख्य शिविर र २१ वटा सहायक शिविर रहने र सो शिविरको सुरक्षाका लागि मुख्य शिविरमा ३० वटा र सहायक शिविरमा १५ वटा हतियारमात्र राख्न पाउने व्यवस्था सम्झौतामा गरिएको छ।
Popularity: 22%
November 29th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
माओवादीको भ्रातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) र नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुबीच मंगलबार सानोथिमी क्याम्पसमा झडप भएको छ।
झडपपछि दिउँसो साढे दुई बजे बा १ ज ८६२३ र बा. १ ज ८४८८ नं.को टाटा मोबाइलमा आएका माओवादी कार्यकर्ताले सानोथिमी क्याम्पसका स्ववियु सभापति अनिल थापा, पूर्वसभापति विमल पुन र अनेरास्ववियु प्रा.क. सचिव पुस्तक चन्दलाई अपहरणसमेत गरेको एमाले अखिल सानोथिमी क्याम्पसले जनाएको छ।
एमाले अखिलका नेतालाई माओवादीले अपहरण गरेको भन्दै आक्रोशित विद्यार्थीले आज दिउँसो सानोथिमी सडक अवरुद्ध गरी माओवादी विद्यार्थी सङ्गठनविरुद्ध नाराबाजी गरेका थिए।
अपराह्न चार बजे अपहरित विद्यार्थी नेता सानोथिमी आएपछि अवरुद्ध सडक खुलेको थियो।
विद्यार्थी अपहरणको हल्ला चल्नासाथ प्रहरीले मनोहरा फाँटबाट एउटा टाटामोबाइलसहित छजना अखिल क्रान्तिकारीका कार्यकर्तालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी बिट थिमीले जानकारी दिएको छ।
अखिल क्रान्तिकारीका भक्तपुर जिल्ला अध्यक्ष वीरेन्द्र बस्नेतले बिहान सानोथिमी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका एकाई अध्यक्ष शम्भु दङ्गाललाई एमाले अखिलका विद्यार्थीले कुटपिट गरी घाइते बनाएको बताउनुभयो।
घाइते दङ्गालको अस्पतालमा उपचार भइरहेको बताउँदै क्रान्तिकारीका जिल्ला अध्यक्ष बस्नेतले आफ्नो सङ्गठनले कसैलाई अपहरण नगरेको बताउनुभयो।
Popularity: 22%
November 29th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल एथलेक्टिस सङ्घले धावक राजेन्द्र भण्डारी डोपिङ प्रकरणमा खास दोषी वा अभियुक्त पत्ता लगाउनका लागि उच्चस्तरीय न्यायिक छानविन आयोगको गठन हुनुपर्ने माग गरेको छ।
साथै डोपिङ प्रकरणमा मुछिएका धावक भण्डारीलाई आफ्ना यथार्थ कुरा आम खेलप्रेमी जनतामाझ राख्नका लागि सार्वजनिक गराउन पनि सङ्घले नेपाली सेनासँग माग गरेको छ।
सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष किशोरबहादुर सिंहले सो माग गर्दै राष्ट्रिय खेलकुद परिषद्ले उक्त प्रकरणमा गठन गरिएको छानविन समितिले दिएको प्रतिवेदन सत्य नभएको आरोप लगाउनुभयो।
परिषद्का उपाध्यक्ष एवं छानविन समितिका अध्यक्ष सीताराम मास्केको संयोजकत्वमा गठित समितिले डोपिङ प्रकरणमा सङ्घका अध्यक्ष सिंह, मुख्य एथलेटिक्स प्रशिक्षक नारायण प्रधान र प्रशिक्षक सुशील नरसिंह राणा तथा जर्मन नागरिक गुण्टर लाङगेलाई दोषी ठहर्याएको थियो।
सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा धावक भण्डारी डोपिङ प्रकरणमा कुनै सुक्ष्म अध्ययन नै नगरी विनाप्रमाण, आधार र पूर्वाग्रही भएर लगाइएको आरोपमा कुनै सत्यता नभएको उल्लेख गरिएको छ।
Popularity: 22%
November 29th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पशुपति विकास कोष कार्यव्यवस्था नियमावली-२०५४ को नियम-३ मा भएको व्यवस्था संविधानसँग बाझिएकाले सोको बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।
दलित गैरसरकारी संस्था महासङ्घ, कमलपोखरीका तर्फबाट टेकबहादुर रैकासमेतले दायर गर्नुभएको सो रिट निवेदनमा नेपाल सरकार, पशुपति क्षेत्र विकास कोषलगायतलाई विपक्षी बनाइएको छ।
सो नियमावलीको नियम-३ मा पशुपतिनाथका पुजारी हुन जन्मसिद्ध हिन्दुधर्मावलम्बी वेदाध्यायी सदाचारी धर्मशास्त्रमा विशिष्ट ज्ञान भएको, संस्कृतमा स्नातक, विद्धान, ब्राम्हण तथा स्वजातिमा विवाह भएको व्यक्ति हुनुपर्ने, विधुर वा एकभन्दा बढी पत्नी भएको व्यक्ति मूल पुजारी हुनेछैन भनी महिला तथा गैरब्राम्हण व्यक्तिलाई कानुनत वञ्चित गर्ने गरी गरिएको व्यवस्था संविधान तथा प्रचलित कानुनको भावनाविपरीत भएको जिकिर रिट निवेदनमा गरिएको छ।
Popularity: 22%
November 29th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
एयर चाइनाले चीनका विभिन्न सहरबाट नेपालमा सन् २००७ देखि हवाई सेवा विस्तार गर्ने भएको छ।
सो विमान कम्पनीले पर्यटक आउने उच्च मौसम (सिजन)मा प्रत्येक दिन एक उडान ल्हासाबाट काठमाडौँसम्म गर्ने र अन्य समयमा पनि साताको चारवटा उडानलाई निरन्तरता दिने छ।
त्यसैगरी बेजिङ, साङ्र्घाई, सेनजिन, चेङ्दुलगायत चीनका सात प्रमुख सहरबाट पनि काठमाडौँका लागि उडान प्रारम्भ गर्न लागिएको छ।
एयर चाइनाले हाल ल्हासा र काठमाडौँ उडान उच्च पर्यटकीय मौसममा मात्र सञ्चालन गर्दै आएको थियो।
Popularity: 22%
November 29th, 2006
भूपेन्द्र आचार्य, द. कोरिया / सम्वाददाता एचकेनेपाल डट कम -
गत शनिवार नेपालमा ११ बर्षको जनयुद्धको अन्त गरि शान्ति सम्झौता भएको र देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना हुन लागेको शुखद उपलक्ष्यमा कोरियामा रहेका सम्पूर्ण संघ संस्थाका प्रतिनिधीहरुलाई निमन्त्रणा गरि नेपाल सम्पर्क समिति तथा नेपाली प्रवासी पत्रकार संघको संयुक्त आयोजनामा आउंदो शनिवार दक्षिण कोरियाको राजधानी सउलस्थित पूजा रेष्टुरेण्टमा विशाल चियापान तथा भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ।
नेपाल सम्पर्क समिति द. कोरियाका सचिव तथा नेपाली प्रवासी पत्रकार संघका सह सचिव केशव खड्काद्धारा दिइएको जानकारी अनुसार उक्त जलपान कार्यक्रम देशमा भर्खरै सम्पन्न भएको शान्ति सम्झौतालाई अक्षरशः पालन गर्न कोरियामा रहेका सम्पूर्ण नेपालीहरु एकजुट भै नेपाल सरकारलाई दबाव दिनुपर्ने आवश्यक देखिएकोले उक्त जलपान समारोहको आयोजना गरिने भएको बताउनु भयो।
यसैबीच सो कार्यक्रममा नेपाल प्रवासी पत्रकार संघ द. कोरियाले हाल एसियाली पत्रकार संघको बैठकमा भाग लिन आउनु भएका नेपाल पत्रकार महासंघका उप सभापति गंगाधर पराजुली र केन्द्रीय सदस्य विष्णु छिमेकीलाई उक्त कार्यक्रममा अतिथिको रुपमा सहभागी गर्राई नेपाल प्रवासी पत्रकार महासंघलाई आफ्नो सर्म्पर्क शाखाको घोषणा गर्ने र नेपाल पत्रकार महासंघबाट पठाइएको परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको जानकारी त्यसै संघका अध्यक्ष डम्बर सुब्बाले बताउनु भयो।
साथै यसै समाचारलाई आधार बनाई उक्त कार्यक्रममा सहभागी हुन कोरियामा बसोवास गरिरहनु भएका सम्पूर्ण नेपालीहरुलाई उपस्थित हुन हार्दिक अनुरोध गरिएको छ।
Popularity: 22%
November 28th, 2006
एचकेनेपाल डट कम नोभेम्बर, २६
सम्पूर्ण अमेरिकावासी लिम्बूहरुको समुदायलाई प्रतिनिधित्व गर्नेगरी पूर्ण लिम्बू थेबेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको कार्यदल गठन गरेर किरात याक्थुङ चुम्लुङ अमेरिकाको पहिलो महाधिबेशन सम्पन्न भएको छ।
नयाँ पदाधिकारीहरूमा अध्यक्षमा पूर्ण लिम्बू थेबे, उपाध्यक्षमा नगेन्द्र ईङनाम्, महासचिबमा दिपेश लिम्बू चबेगु, सचिबमा बिक्रम नेम्बाङ लिम्बू, कोषाध्यक्षमा जुद्धप्र. लिम्बू कुरुम्भङ, सह कोषाध्यक्षमाआनिल लिम्बु सम्बाहाङ्फे रहनुभएको छ।
त्यसै गरी कार्यसमितिका सदस्यहरूमा प्रेम लिम्बू मेन्याङ्बो, कर्ण लिम्बू योङ्हाङ, धिरेन्द्र नाल्बो, मुनिन्द्र बिक्रम नेम्बङ, भरत ईवाहाङ, बाहादुर लिम्बू पन्धाक रहनुभएको छ।
अन्य राज्यका प्रतिनीधिहरूसहित तीन सदस्यहरूको पदपूर्तिसमेत गरिएको छ। जस अनुसार सरोज तुम्बाहान्फे लिम्बू (सह कार्यसमिति, टेक्सास), जीवन सुब्बा (क्यलिफोर्निया), याम लिम्बू सिङ्गोक (न्यू मेक्सिको), नरेश लिम्बू लावोती (ओहायो), महेश लिम्बू साङघेक्पा(मेस्सेचुस्सेट) ईक्सा लिम्बु (भर्जिनिया) रहनुभएको छ।
बिनोद पोमो लिम्बू प्रमुख र प्रेम कुरुम्बाङ चुनाब समितिको संयोजक रहनु भएको थियो।
Popularity: 23%
November 27th, 2006
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
माओवादलाई आत्मसात गरिरहेका नेपालका माओवादी र माओको भूमि चीनबीचको सम्बन्धलाई जो कोहीले अत्यन्तै सुमधुर होला भन्ने अड्कलबाजी गरिरहेका हुन सक्छन् तर वास्तवकिता फरक रहन गएको छ।
यसको उदारहण हो, हालै चीनको सत्तारुढ घटक चीनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपप्रधानमन्त्री लिउ होङ काईले गरेको नेपाल भ्रमणमा माओवादी नेताहरुसंग हुन नसकेको भेटघाट।
नेपाल भ्रमणको क्रममा उहाँले प्रधानमन्त्री, उपप्रधानमन्त्रीका साथै नेकपा एमालेका महासचिव माधवकुमार नेपाल, नेपाली कांग्रेसका उपसभापति सुशील कोइराला, नेका प्रजातान्त्रिका सभापति शेरबहादुर देउवासंग भेटघाट गरे पनि माओवादीका कुनै पनि नेताहरुसंग भेटघाट गर्न चाहनु भएन।
माओवादीको ११ बर्षे द्वन्दकालमा भारतले आतंककारीको सूचीमा राखेको भए पनि चीनले माओवादीलाई सरकारविरोधी सशस्त्र समूहको संज्ञामात्र दिई आतंककारीको सूचीमा राखेको थिएन।
भारतलाई विस्तारवादी भन्दै आएको माओवादी केही समय यता भारतप्रति नरम बन्दै जानु, भारतको प्रशंसा गर्नु, माओवादी नेतृत्व भारतीय दूतावासमा गई खुशी पार्ने काम गर्नु आदि क्रियाकलापले चीनलाई निराशा पारेको हुन सक्ने राजनैतिक विश्लेकहरुले बताएका छन्।
Popularity: 22%
November 27th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेकपा एमालेका महासचिव माधवकुमार नेपालले संविधानसभाको निर्वाचन जुनसुकै अवस्थामा तोकिएकै मितिमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै यदि त्यसो हुन नसके प्रतिगामनकारीहरूले खेल्ने मौका पाउन सक्नेतर्फमुलुकका सबै लोकतान्त्रिक शाक्ति सजग हुनुपर्नेमा जोड दिनुभएको छ।
अन्तरिम सरकारको निर्माण आठ राजनीतिक दल मिलेर गर्ने भएकाले आफ्नो पार्टी अन्तरिम सरकारमा सहभागी हुने, नहुने विवादको विषय होइन भन्नुभएको छ।
महासचिव नेपालले अन्तरिम सरकारमा एमालेको भूमिका र सहभागिताका विषयमा पार्टीमा छलफल भइनसकेको उल्लेख गर्नुभयो।
अन्तरिम सरकारको नेतृत्वका बारेमा महासचिव नेपालले गत कात्तिक २२ गतेको सहमति एवं अन्य कुनै बैठकमा छलफल नभएको खुलासा पनि गर्नुभयो।
उहाँले अहिले मुलुकमा एमालेको भूमिका र महत्वलाई कम आङकलन गर्ने काम भइरहेकोतर्फलक्षित गर्दै तर गत वर्षो मङ्सिर ८ गते सात दल र नेकपा (माओवादी)बीचको १२बुँदे सम्झौतादेखि आजसम्ममा नेकपा एमालेले खेलेको महत्वपूर्ण भूमिकाप्रति सबै नेपाली जानकार रहेको पनि स्पष्ट गर्नुभयो।
महासचिव नेपालले नेपाल भ्रष्टाचारीको देशको कोटीमा पर्ने तर देशमा कतै पनि भ्रष्टाचारी नभेटिने प्रसङ्ग कोट्याउँदै महासचिव नेपालले लोकतान्त्रिक सरकारले देशलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउनेतर्फ प्रभावकारी काम गर्न नसकेको गुनासो पनि गर्नुभयो।
Popularity: 22%
November 27th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
भारतीय विदेश सचिव शिवशङ्कर मेनन नेपालको तीनदिने भ्रमणका लागि यही मङ्सिर १३ गते यहाँ आउनु हुने भएको छ।
परराष्ट्र मन्त्रालयका सचिव भगिरथ बस्नेतको निमन्त्रणमा उहाँ नेपाल भ्रमणमा आउन लाग्नुभएको हो।
नेपाल बसाइका अवसरमा भारतीय विदेश सचिव मेननले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अमिक शेरचनलगायत अर्थमन्त्री डा.रामशरण महत र गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयद्वारा आज प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ।
भ्रमणका अवसरमा मेननले नेपालका केही प्रभावशाली राजनीतिज्ञहरूसँग पनि भेट गर्नुहुने बताइएको छ।
Popularity: 22%
November 27th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
नेकपा (माओवादी) र राज्यपक्षको हतियार तथा सेनाको अनुगमनको प्रक्रिया तय गर्न सरकार, माओवादी र राष्ट्र सङ्घीय प्रतिनिधिबीच हिजो हुने भनिएको त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुन नसकेपछि आज वा भोलिसम्ममा हस्ताक्षर हुनसक्ने बताइएको छ।
वार्तामा शिविर सुरक्षार्थ खटिने सेनाको संख्याका सम्बन्धमा मतभेद रहेको बताइएको छ।
हिजो अपराह्न ४ बजे माओवादीका तर्फबाट छलफलमा सहभागी जनमुक्ति सेनाका डेपुटी कमान्डरहरू चन्द्रप्रकाश खनाल (बलदेव), नन्दकिशोर पुन (पासाङ), वर्षान पुन (अनन्त) र सुरेश आलेमगर साढे पाँच बजे सम्झौतामा हस्ताक्षर हुने जानकारी दिँदै छलफलस्थल कुपन्डोलस्थित होटल समिटबाट बाहिरिनुभएको थियो।
त्यसपछि सुरेश आलेमगर बाहेकका माओवादी नेताहरू छलफलस्थलमा फर्कनुभएन।
Popularity: 22%
November 27th, 2006
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
एसियाली क्रिकेट परिषद्को ‘एसिसी प्रिमियर लिग’ तीन दिने क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र मलेसियाबीच मलेसियामा भएको खेल बराबरीमा टुङ्गिएपछि नेपाल फाइनलमा पुग्ने निश्चित भएको छ।
नेपालले दिएको २४५ रनको विजयलक्ष्यलाई पछ्याउने क्रममा मलेसिया दोस्रो इनिङमा सात विकेटको क्षतिमा १०१ रनको दयनीय अवस्थामा रहेको बेला खराब प्रकाशका कारण तेस्रो तथा अन्तिम दिनको खेल सात ओभरअघि नै रोक्नुपरेपछि खेल बराबर भएको हो।
नेपालले शक्ति गौचनको ४७ रन, ज्ञानेन्द्र मल्लको २७ रन, शरद् भेषावकरको २३ रन र वसन्त रेग्मीको अविजित २२ रनको मद्दतमा ७० ओभरमा छ विकेट गुमाई १८० रनको स्थितिमा दोस्रो इनिङ समाप्तिको घोषणा गरेको थियो।
मलेसियाको दोस्रो इनिङमा पारस खड्काले तीन, महबुब आलमले दुई तथा विनोद दासले एक विकेट लिए।
उक्त खेलबाट नेपालले ब्याटिङमा ८ र बलिङमा ८.५ गरी कुल १६.५ अङ्क पाएको छ भने मलेसियाले बलिङमा ८ र ब्याटिङमा ५ गरी कुल १३ अङ्क पाएको छ।
उक्त खेलमा नेपालका राजकुमार प्रधान ‘म्यान अफ द म्याच’ घोषित भए।
Popularity: 22%
November 27th, 2006
Previous Posts