Archive for December, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका आठ नेपाली कामदार केही समयदेखि त्यहाँको जेलमा परेकाले उनीहरूको रिहाइका लागि पहल गरिदिन निजहरूका परिवारजनले सरकारसँग आग्रह गरेका छन्।
माउन्ट एभरेस्ट कन्सल्टेन्सीमार्फत् मलेसिया गएका ती नेपालीहरूको प्रवेशाज्ञा नक्क्ली देखिएको भनी उनीहरूलाई जेलमा कैद गरिएकाले उनीहरूको अविलम्ब रिहाइका लागि माग गरिएको छ।
जेलमा परेका कामदारहरूमा नुवाकोटका कृष्णप्रसाद ओझा, स्याङ्जाका गोविन्द थापा, मोरङका लेखनाथ खनाल, झापाका तर्कबहादुर घिमिरे र तोमप्रसाद पनेरु, काठमाडौँका मोहनबहादुर खत्री, लमजुङका विजयकुमार गुरुङ र कास्कीका रामचन्द्र बास्तोला हुनुहुन्छ।
उक्त कम्पनीले मलेसियाको तामन युनिभर्सिटी कम्पनीमा काम गर्न श्रम तथा रोजगार प्रवर्द्धन विभागबाट स्वीकृति लिई त्यसतर्फ गएका नेपालीहरूलाई केही समय काम गरेपछि मलेसियाको अध्यागमन कार्यालयले उनीहरूको प्रवेशाज्ञा नक्कली भएको भनी गत वर्ष पक्राउ गरी जेलमा कैद गरेको पीडित पक्षले जनाएको छ।
Popularity: 23%
December 31st, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादीका वरिष्ठ नेता पोष्टबहादुर बोगटी (दिवाकर) पनि शनिबार नुवाकोटको सदरमुकाम विदुरमा सार्वजनिक हुनुभएको छ।
उहाँ नेकपा माओवादीले सशस्त्र युद्ध थालनी गरेपछि भूमिगत हुनुभएको थियो।
तुरचे गाउँ विकास समिति, नुवाकोट स्थायी घर भएका बोगटीले संवाददाताहरूसँग कुरा गर्दै आफ्नै माटोमा पहिलो पटक औपचारिक रूपमा देखा पर्ने रहर पूरा भएको बताउनुभयो।
उहाँले संविधानसभाको मिति घोषणा र संसद विघटन पुस महिनाभित्रै गर्न नेपाल सरकारसँग माग गर्नुभयो।
नुवाकोट जिल्लाबाटै राजनीतिक जीवन सुरु गर्नुभएका बोगटीले अबका दिनमा आफ्नो पार्टीले जता खटायो उतै सक्रिय हुने बताउनुभयो।
Popularity: 23%
December 31st, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चारकोसे झाडीमा रामबहादुर बोम्जन मात्र हैन अब देशमा दिगो शान्तिको कामना गर्दै वृद्ध-वृद्धाहरूले पनि मोरङको शनिश्चरेदेखि उत्तरतर्फको चारकोसे जङ्गलमा कष्टपूर्वक तपस्या गर्न थालेका छन्।
जङ्गलको बीचमा रुखको स्याउला मात्र ओछ्याएर दिनहुँ एक छाक खाएर उनीहरू देशमा हत्या र हिंसा सदाका लागि अन्त्य भई दिगो शान्ति कायम होस् भन्ने प्रार्थना गर्दै तपस्या गरिरहेको स्थानीय बासिन्दाले बताएका छन्।
त्यस स्थानमा मोरङ, झापा, सुनसरी, उदयपुर र सङ्खुवासभा जिल्लाका ७५ जना वृद्धवृद्धाले एक हप्तासम्म तपस्या गर्ने बताइएको छ।
Popularity: 23%
December 31st, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मेची अञ्चल अस्पताल विकास समितिका अध्यक्ष डिल्लीकुमार मैनालीलाई नौ वर्षी एक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरी कार्यवाही अगाडि बढाइएको छ।
जनमोर्चा नेपालका जिल्ला सदस्यसमेत रहेका झापाको गरामनी गाविस वडा नं. २ निवासी मैनालीलाई पक्राउ पर्नुअगाडि स्थानीय बासिन्दाले उनलाई कालोमोसो र जुत्ताको माला लगाएर घुमाएका थिए।
आफ्नै घरमा खाना पकाउन लागेकी दलित बालिकालाई बोलाएर त्यस प्रकारको अनुचित क्रियाकलाप गरेको पीडित परिवारले जनाएको छ।
बालिका रोई-कर्राई गरेको गाउँलेले थाहा पाउनासाथ आरोपित मैनालीलाई समाती घुमाएपछि प्रहरीलाई बोलाएर बुझाएका थिए।
उनलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ भने बालिकालाई स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
Popularity: 23%
December 31st, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेनलाई फाँसी दिइएको विरोधमा नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले संयुक्त रूपमा भक्तपुरमा जुलुस प्रदर्शन गरेका छन्।
विभिन्न नारा लगाउँदै प्लेकार्ड बोकी भक्तपुरको सूर्यमढीबाट सुरु भएको उक्त जुलुस भक्तपुर नगरपरिक्रमा गरी त्रिपुरासुन्दरीमा पुगी सभामा परिणत भएको थियो।
सभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नारायणप्रसाद कोजु, युवा सङ्घका सुरेन्द्रराज गोर्साईँलगायतले इराकका पूर्वराष्ट्रपति हुसेनलाई फाँसीको सजाय दिइएकामा आपत्ति प्रकट गर्नुभयो।
Popularity: 22%
December 31st, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)का सभापति शेरबहादुर देउवाले गुरुङ (तमु) दाजुभाइ तथा दिदी बहिनीहरूको महान पर्व ल्होसारका अवसरमा सम्पूर्ण गुरुङ (तमु) दिदीबहिनी तथा दाजुभाइको सुख समृद्धि एवं सफलताका लागि हार्दिक शुभकामना प्रकट गर्नुभएको छ।
सभापति देउवाले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा विभिन्न भाषा, धर्म, वर्ण सम्प्रदाय र जातजातिको साझा फूलबारी नेपालमा बसोबास गर्ने सबै जातजातिहरूको आ-आफ्नै विशिष्ट सामाजिक र साँस्कृतिक पर्व, परम्परा, रीतिरिवाज र पहिचान रहेको छ भन्दै अनेकतामा एकता नेपालीहरूको परिचयका रूपमा रहेको उल्लेख छ।
उहाँले विज्ञप्तिमा एक अर्काको धर्म, परम्परा, संस्कृति र रीतिरिवाजहरूलाई सबैले सम्मान गर्दै आएको बताउनुभएको छ।
Popularity: 22%
December 31st, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनलाई दिइएको फाँसीको सजायको नेपालमा पनि व्यापक विरोध भएको छ। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फाँसीको सजाय मानव सभ्यताविरोधी भएको भन्दै विश्वबाटै फाँसीको सजायँ उन्मूलन गर्नुपर्ने बताउनु भएको छ।
सद्दामलाई फाँसी दिइएको विरोधमा आज राजधानी काठमाडौँलगायत देशका विभिन्न भागमा प्रदर्शन भएका छन्।
काठमाडौँमा चित्रबहादुर केसीको नेतृत्वमा भोटाहिटीमा र एमाले निकट युवाहरुको संगठन प्ररायुसंघले बागबजारमा विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनमा अमेरिकी साम्राज्यवादको विरोध गर्दै नारा लगाइएका थिए।
नेकपा माअोवादीले पनि सद्दामलाई फाँसी दिइनु मानिसको बाँच्न पाउने अधिकार र अन्तर्राष्ट्रिय मानवअधिकारको विरुद्ध भएको बताएको छ।
त्यसैगरी पोखरामा पनि केही समय चक्काजामका साथ सद्दाम हुसेनलाई दिइएको सजायको विरोध भएको थियो। देशका अन्य भागमा पनि विरोध प्रदर्शनका समाचार छन्।
Popularity: 23%
December 30th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गृहमन्त्री कृष्णप्रसाद सिटौलाले जेठभित्र संविधानसभाको निर्वाचन निर्बाध ढङ्गले सम्पन्न गर्न गाविस कार्यालय सञ्चालन र प्रहरीचौकी पुनःस्थापनाको विकल्प नरहेको बताउनुभएको छ।
नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री सिटौलाले तोकिएकै समयमा निर्वाचन गर्न मतदाता नामावली सङ्कलन, नागरिकताको प्रमाणपत्र वितरणजस्ता कार्यमा गाविस सचिवको जिम्मेबारी महत्वपूर्ण रहने तथा निर्बाध निर्वाचन सम्पन्न गर्न र शान्ति कायम राख्न प्रहरी चौकी पुनःस्थापना गर्नुपर्ने भएकाले त्यसमा कतैबाट पनि अवरोध सृजना हुन नहुनेमा जोड दिनुभयो।
मतदाता नामावली सङ्कलन, प्रकाशनलगायतका तयारीका लागि गाविस कार्यालय खुलेनन् र गाविस सचिव पुगेनन् भने निर्धारित मितिमा संविधानसभाको चुनाव कसरी सम्भव हुन्छ भन्ने प्रश्न गर्दै गृहमन्त्री सिटौलाले संसद पुनःस्थापना हुँदा सातसयको सङ्ख्यामा रहेका प्रहरी एकाइलाई माघसम्ममा सबै पुनःस्थापना गरिसक्ने योजना रहेको बताउनुभयो।
गृहमन्त्री सिटौलाले सबै दल, माओवादी, नागरिक समाजलगायत सबैसँग सहमति गरेर सरकार अघि बढ्ने विश्वास दिलाउनुभयो।
Popularity: 23%
December 30th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तत्कालीन सभामुख रामचन्द्र पौडेललाई संसदमा नै गाला चड्काउने पूर्व सहायकमन्त्री गोल्चे सार्कीको थापाथलीस्थित नर्भिक अस्पतालमा हिजो निधन भयो।
५६ वर्षीय सार्की लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र आन्द्रासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो।
विसं २०४८ मा नेकपा (एमाले) का तर्फबाट राष्ट्रियसभा सदस्य र पार्टी केन्द्रीय कमिटीको सल्लाहकारको जिम्मेवारी सम्हाल्नुभएका सार्की पछिल्लोपटक शाही सरकारको मन्त्रिमण्डलमा सहायकमन्त्री हुनुभएको थियो।
स्व. सार्कीका श्रीमती, दुई छोरा र एक छोरी छन्।
Popularity: 23%
December 30th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
महानगरीय प्रहरी परिषद्, भक्तपुरले मध्यपुर थिमिका रेष्टुरेन्टमा छापामार्दा दुई पुरुषसहित नौ महिलालाई यौन व्यवसाय गरेको आरोपमा पक्राउ गरेको छ।
रेष्टुरेन्टमा यौन व्यवसाय सञ्चालन गरेको र यौन व्यवसायमा संलग्न रहेको आरोपमा प्रहरीले तिनीहरूलाई पक्राउ गरेको परिषद्का प्रहरी निरीक्षक धर्मराज सुनारले बताउनुभयो।
पक्राउ पर्नेमा मध्यपुर थिमी नगरपालिका अरनिको राजमार्गस्थित निश्चल रेष्टुरेन्ट एण्ड बारका सञ्चालक अरुण केसीलगायत सोही रेष्टुरेन्टमा कार्यरत नौ महिला छन्।
यसैगरी मध्यपुर थिमि, गठ्ठाघरमा सञ्चालित मिड वे क्याफेका कर्मचारी राम कार्कीलाई पनि सोही आरोपमा पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ।
Popularity: 23%
December 30th, 2006
हङकङमा देखा परेको इन्टरनेट समस्याका कारण देश विदेशबाट प्राप्त टेक्स्ट तथा फोटो समाचारहरु अपडेट गर्न नसकिएकोमा हामी क्षमा प्रार्थी छौं। इन्टरनेट समस्याको हल हुनासाथ तपाईहरुबाट प्राप्त टेक्स्ट तथा फोटो समाचारहरुलाई यथावत रुपमा प्रकाशित गरिने छ। एचकेनेपाल डट कमले तपाईहरुबाट प्राप्त गर्दै गरेको सहयोग र सद्भावनाप्रति हार्दिक धन्यवाद प्रकट गर्दै आगामी दिनहरुमा पनि यहाँहरुको सहयोग अपेक्षा गर्दछ।
- प्रधानसम्पादक
एचकेनेपाल डट कम, हङकङ ।
Popularity: 23%
December 30th, 2006
एचकेनेपाल डट कम -
दक्षिणी ताइवानमा गत मंगलबार राति गएको भूकम्पको कारण समुद्रमुनि बिछ्याएका अधिकांश डाटा केबलहरु क्षति हुंदा इन्टरनेट सेवामा देखा परेको समस्याबाट हङकङका इन्टरनेट प्रयोगकर्ताहरु विश्व इन्टरनेट सञ्जालबाट अलग्गिएका छन्।
साधारणतय इन्टरनेट डाटा क्षमतालाई ५० प्रतिशतले घटाइएको छ भने महत्वका दृष्टिले केही सिमित वेबसाइट र इ-मेल सेवाहरुलाई आकस्मिक रुपमा खुला पारिएका छन्।
इन्टरनेट प्रयोगकर्ताहरुको बढ्दो चापले गर्दा अधिकांश वेबसाइटहरु खुल्दै नखुल्ने र खुले पनि ज्यादै ढिला गतिमा खुल्ने समस्या यथावत छ। यसले गर्दा बैकिक संस्था, सरकारी सूचना तथा सञ्चारका वेबसाइट आदिले विगत केही दिनदेखि भोग्दै आएको समस्याको हल भए पनि अधिकांश वेब साइटहरु भने खुलेका छैनन्।
स्रोतका अनुसार दक्षिण कोरियादेखि सिंगापुरसम्मको सेवाहरु पुनःस्थापना भएका छन् भने ताइवानसम्म पूरा गर्न अझै केही दिन लाग्ने बताइएको छ।
टेलिकमका मर्मत टोली ताइवानी समुद्रमुनि क्षति भएका फाइबर अप्टिक केबल मर्मरत र पुनःस्थापना गर्न त्यसतर्फ लागेका छन्। अधिकांश केबलहरु क्षति भएको कारण पूर्णरुपले मर्मत गर्न कम्तीमा एक हप्ता भन्दा बढी लाग्ने बताइएको छ।
यस घटनाबाट प्रत्यक्ष असर नपरेका देशका इन्टरनेट प्रयोगकर्ताहरुले भने हङकङ र अन्य देशका वेबसाइटहरुमा सजिलै विचरण गर्न सकिन्छ।
Popularity: 23%
December 29th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कार्यवाहक प्रधानन्यायाधीश केदारप्रसाद गिरीले अन्तरिम संविधानमा सरकार तथा राष्ट्रप्रमुखको जिम्मेवारी प्रधानमन्त्रीलाई दिनुको अन्य विकल्प वर्तमानमा नदेखिएको बताउनुभएको छ।
काठमाडौँ स्कुल अफ लद्वारा आयोजित सामाजिक तथा आर्थिक विकासका अधिकार तथा सुशासनमा तेस्रो शीतकालीन क्षेत्रीय आवासीय स्कुलको उद्घाटनपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले सिद्धान्ततः एकै व्यक्ति राष्ट्रप्रमुख तथा सरकारप्रमुख हुनु उपयुक्त होइन तर यसको विकल्प छ र भनी प्रतिप्रश्न गर्नुभयो।
उहाँले हाल अन्तरिम संविधानको मस्यौदामात्र आएको, यसको पूर्णरूपमा घोषणा भएपछि मात्र यस विषयमा कुरा गर्नसकिने बताउनुभयो।
गिरीले नेपालमा नयाँ संविधान आउँदा न्यायाधीशहरूले नयाँ संविधानअनुसार सपथग्रहण गर्ने गरेको र अब पनि नयाँ संविधानप्रति सपथ लिनु उपयुक्त नै भएको विचार व्यक्त गर्नुभयो।
Popularity: 22%
December 29th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जनआन्दोलनका घाइतेहरूले अविलम्ब परिचयपत्र वितरण गरी शिक्षा, स्वास्थ्य र रोजगारको उचित व्यवस्था, यातायातमा सहुलियत, घाइतेहरूको अवस्था हेरी स्तर छुट्याई तुरुन्त उपचार व्यवस्था गरिनुपर्नेलगायतका नौ सूत्रीय माग प्रस्तुत गरेका छन्।
जनआन्दोलनमा घाइते भएकाहरूको एक समूहले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अमिक शेरचनसमक्ष एक मागपत्र बुझाएको छ।
अन्य मागहरुमा संविधानसभाको निर्वाचनको मिति तोकिनुपर्ने र जनआन्दोलनको भावनाअनुरूप देशलाई राजनीतिक अग्रगामी कदममा अघि बढाउनुपर्ने माग पनि राखिएका छन्।
जनआन्दोलनमा घाइते भएका करिब सात हजार नागरिकका मागको सुनुवाइ नभएमा आन्दोलनका कडा कार्यक्रम अघि बढाइने समूहका संयोजक राम रानाभाटले बताउनुभयो।
सो समूहले अस्ति ललितपुरमा एक घण्टा र हिजो दिउँसो करिब दुई घन्टा माइतीघरमा धर्ना दिई यातायात अवरुद्ध पारेको थियो।
Popularity: 22%
December 29th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल सरकारका सम्बद्ध निकाय र संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालयलगायतका अन्तर्राष्ट्रिय निकायहरूबाट भुटानी शरणार्थी शिविरहरूको निरन्तर अनुगमन भइरहेकाले चरमपन्थीहरूबाट ती शिविरहरूमा अतिक्रमण हुने सम्भावना नेपाल सरकारले नदेखेको परराष्ट्र मन्त्रालयले स्पष्ट गरेको छ।
मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी द काठमाडौँ पोस्ट अङ्ग्रेजी दैनिकको आजको अङ्कमा आएको भुटानको नेसनल एसेम्ब्लीमा त्यहाँका विदेशमन्त्रीले भुटानी शरणार्थीको फिर्तीसम्बन्धमा दिएको भनिएको वक्तव्यप्रति नेपाल सरकारले आर्श्चर्य व्यक्त गरेको जनाएको छ।
सबै भुटानी शरणार्थी ससम्मान र प्रतिष्ठापूर्वक आफ्नो मातृभूमि फर्कनुपर्ने नेपाल सरकारको अडानलाई दोहर्याउँदै विज्ञप्तिमा यससम्बन्धमा नेपाल सरकारले शाही भुटान सरकारसँग १५ चरणमा वार्ता गरिसकेको उल्लेख गरिएको छ।
Popularity: 22%
December 29th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सात राजनीतिक दल र नेकपा (माओवादी) तथा तिनका नेतागणलाई राष्ट्रलाई बर्बाद गर्ने, टुक्र्याउने र राष्ट्रको अस्तित्व मेटाउने किसिमका कुनै पनि गतिविधि सञ्चालन नगर्न अपिल गर्नुभएको छ।
मोरङ जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन तथा केही दिनको विश्रामका लागि हिजो त्यता पुग्नुभएका प्रधानमन्त्री कोइरालाले कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भन्नुभयो-कसैले पनि राष्ट्रमा कुनै किसिमका अशान्ति हुने कुरा गरेर प्रतिगामी र प्रतिक्रियावादी तत्वलाई मौका दिनु हुँदैन।
उहाँले नेपालगञ्जको दुःखद् घटनाले प्रतिगामी तत्व र प्रतिक्रियावादी शक्ति समाप्त नभएको सङ्केत देखाएकाले नेपाल अहिले तरल एवं सङ्क्रमणकालीन स्थितिमा रहेको कुरालाई ध्यानमा राखी त्यस्ता तत्वलाई कुनै किसिमको मौका दिने काम गर्न नदिन दलका नेता तथा प्रजातन्त्रवादीहरूलाई आग्रह गर्नुभयो।
सरकार अब शान्तिसुरक्षाका निम्ति दृढताका साथ अगाडि बढ्ने बताउँदै एक प्रश्नको जवाफमा प्रधानमन्त्री कोइरालाले भन्नुभयो- राष्ट्रहितका निम्ति आफू मरे पनि म यस किसिमको दुर्घटना हुन दिन्न।
प्रधानमन्त्री कोइरालाले नेपालगञ्जमा भएको घटना दुःखदायी र दर्ुभाग्यपर्ूण्ा भएको बताउँदै नेपालको इतिहासमा यस्तो दुःखदायी घटना कहिल्यै नभएको उल्लेख गर्नुभयो।
Popularity: 22%
December 29th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकारले आफूहरूका लागि उचित स्थान नदिएको भन्दै जनआन्दोलनका घाइतेहरूले फेरि आन्दोलन थालेका छन्। उनीहरुले जनआन्दोलन घाइतेको उपचार निर्देशन तथा व्यवस्थापन समिति, ललितपुरमा अनिश्चितकालीन ताला लगाएका छन्।
घाइतेहरूको जनआन्दोलन संघर्ष समितिले हिजो ललितपुर बजारमा आधा घण्टा चक्काजाम पनि गरेको थियो।
सरकारले आफ्ना १३ सूत्रीय माग गत असोज ३ गते पूरा गर्ने भनेर आश्वासन दिए पनि कार्यान्वयन नगरेकाले अधिराज्यव्यापीरूपमा चरणबद्ध आन्दोलन थालिएको समितिका संयोजक राम रानाभाटले जानकारी दिनुभयो।
राज्यले आफूहरूलाई स्वास्थ्य, शिक्षा, यातायात, रोजगारी, परिचयपत्रलगायतका क्षेत्रमा स्थान दिनुपर्ने आन्दोलनका घाइतेहरूको माग छ।
Popularity: 23%
December 28th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
स्थानीय विकास मन्त्रालयले गाविस सचिवहरूलाई अनिवार्य रूपमा आगामी पुस २५ गतेभित्र आफू खटिएको गाविस कार्यालयमा जान निर्देशन दिएको छ। तोकिएको समयसीमाभित्र आ-आफ्ना कार्यक्षेत्रमा नजाने गाविस सचिवलाई मन्त्रालयले विभागीय कारबाही गर्ने जनाएको छ।
तर गाविस सचिवहरूले स्थानीय तहमा र्सवदलीय संयन्त्र निर्माण नभएसम्म गाउँ जान नसकिने बताएका छन्।
गाविस सचिव हकहित संरक्षण केन्द्र, केन्द्रीय तदर्थ समितिका अध्यक्ष भुवानीप्रसाद घिमिरेले अहिले पनि गाविस सचिवलाई गाउँ नआउन धम्की आइरहेकाले आफूहरू गाउँ जान नसक्ने बताउनुभयो।
विगत पाँच वर्षेखि जनप्रतिनिधि नरहेको र द्वन्द्व चर्केको अवस्थामा गाविस सचिवले स्थानीय तहमा बसेर गरेको कामको मूल्याङ्कनसमेत नगरी जसरी भएपनि गाउँ पठाउने सरकारी निर्णय आफूहरूलाई मान्य नहुने बताउँदै गाविस सचिवका समस्यालाई बेवास्ता गरिएमा संघर्ष गरिने अध्यक्ष घिमिरेले बताउनुभयो।
Popularity: 22%
December 28th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली सेनाका एक जवानले विद्यार्थीहरूलाई ज्यान मार्ने धम्की दिएको बताउँदै विद्यार्थीहरूले हिजो वीरेन्द्र राजमार्गमा चक्काजाम गरेका छन्।
हिजो बिहान क्याम्पस जाँदै गरेकी एक युवतीलाई सेनाका एक जवानले जबर्जस्ती करणी गर्न खोजेको आरोप लगाउँदै विद्यार्थीहरूले ती जवानलाई कालोमोसो दलेर बजार परिक्रमा गराएका थिए।
झुटो आरोप लगाई जवानलाई कालोमोसो दलिएको भन्दै सेनाका आफन्तहरूले विद्यार्थीहरूलाई ज्यान मार्ने धम्की दिएको बताउँदै सो घटनाका विरोधमा ११ बजेसम्म गौर र चन्द्रनिगाहपुरमा महेन्द्र राजमार्ग समेत अवरुद्ध गरेका थिए।
सुरक्षाकर्मीले सेनाका जवानका आफन्तहरू, माओवादी कार्यकर्ता र विद्यार्थीबीच समझदारी गर्राई बाटो खुलाएका छन्।
Popularity: 22%
December 28th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालगञ्जमा मंगलबारदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आज बिहानदेखि हटाइएको छ। माअोवादीको अगुवाईमा विभिन्न धार्मिक सङ्घसङ्गठन, नागरिक समाज, राजनीतिक दल, व्यापारी-उद्योगी, मानवअधिकारकर्मी र पत्रकारहरूको सहभागितामा नेपालगञ्जमा हिजो शान्ति एवं सद्भाव र्यालीको आयोजना गर्यो।
‘नेपाली-नेपाली एक हौं, नयाँ नेपाल निर्माण गरौँ, शान्ति एवं सद्भावकायम गरौं’ भन्ने नारासहित निस्केको उक्त र्यालीमा स्वफूर्तरूपमा मानिसहरू सहभागी भएका थिए।
अराजकता सिर्जना गर्ने अभियोगमा प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ।
नेपालगन्जमा हिजो पनि अनिश्चितकालीन कर्फ्र्यू कायमै राखिएको थियो। बिहान २ घण्टाका लागि कर्फ्यु खुला गरिएको अवस्थामा र्याली निकालिएको थियो।
Popularity: 22%
December 28th, 2006
दक्षिणी ताइवानमा हिजो गएको भूकम्पका कारण हङकङ लगायत एसियाका विभिन्न भागमा इन्टरनेट र दूरसचारका अन्य सेवा प्रभावित हुन गएका कारण केही दिनसम्म एचकेनेपाल डट कम हङकङका स्थानीय समाचारहरु अपडेट गर्न असमर्थ भएका छौँ। यसबाट पाठकहरुमा पर्न जाने असुविधाप्रति क्षमा प्राथ्री छौँ । नेपालबाट हुने अपडेट यस अवधिमा पनि जारी रहनेछ ।
ताइवानमा गएको उक्त भूकम्पका कारण समुद्र मुनि बिछ्याइएका केबुलहरुमा क्षति पुगेका छन् र यसलाई पूर्ववत् स्थितिमा ल्याउन अझै कयौँ दिन लाग्ने बताइएको छ । भूकम्पका कारण एउटा भवन भत्कँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । त्यसैगरी कम्तीमा पनि ४० जना घाइते हुन पुगेका छन् ।
Popularity: 22%
December 27th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
स्वास्थ्य संस्थाहरूमा निरन्तर रूपमा भइरहेको तोडफोड, हातपात एवं अभद्र व्यवहारको विरोधमा देशभरका सम्पूर्ण सरकारी तथा निजी अस्पतालहरू आजदेखि शुक्रबारसम्म बन्द भएका छन्।
नेपाल चिकित्सक सङ्घको कार्यकारिणी समिति तथा चिकित्सकहरूको हिजो बसेको संयुक्त बैठकले पुस १२ देखि १४ गतेसम्म आकस्मिक सेवाबाहेक देशका सम्पूर्ण सरकारी तथा निजी अस्पतालहरू बन्द गर्ने निर्णय गरेको हो।
नेपाल चिकित्सक सङ्घका महासचिव डा.किरण श्रेष्ठद्वारा प्रकाशित विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा विभिन्न स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूमा निरन्तर रूपमा भइरहको तोडफोड, अभद्र व्यवहार र साङ्घातिक हमलाबाट उचित सुरक्षा गर्न र मेडिकल सुरक्षा ऐन तर्जुमा गरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गरिएको छ।
Popularity: 22%
December 27th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
क्षेत्रीय दंगा भडकिएको नेपालगञ्जको स्थिति आज सामान्य हुँदै गरेको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ। सरकारले उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने र पीडितलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ।
हिजो त्यहाँ भएको झडपका क्रममा घाइते भएकामध्ये बाँके भवनियापुर-८ का २३ वर्षीय कमल गिरीको मृत्यु भएको थियो।
झडपमा करिब २५ जना घाइते भएका थिए ।
घाइतेमध्ये गोली लागेका तीनजनाको अवस्था गम्भीर रहेको र तिनको स्थानीय भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनेमा बाँके पुरैना-२ का नफिस खाँ, नेपालगन्ज-४ का नाजिर खाँ र नेपालगन्ज-१५ की मानसी लखेर रहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
अन्य घाइते सामान्य उपचारपछि घर फर्केको बताइएको छ ।
Popularity: 22%
December 27th, 2006
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकारले हालै प्रकाशित गरेको नयाँ निशाना छापप्रति ललितकलासँग सम्बन्धित विभिन्न डिजाइनरले आपत्ति जनाएका छन् ।
अन्तरराष्ट्रियस्तरमा समेत महत्व राख्ने राष्ट्रिय प्रतिष्ठासँग जोडिएको लोगो प्रष्ट बुझिने खालको हुनुपर्ने, त्यसमा नेपालीको प्रतिनिधित्व हुनुपर्ने, संविधानमा लोेगोको विषयमा उल्लेख हुनुपर्ने, राष्ट्रिय झण्डालाई प्राथमिकता दिइनुपर्ने, लोगोका सम्बन्धमा पर्याप्त बहस हुनुपर्ने र यसका लागि सरोकारवालाहरूलाई समावेश गरिनुपर्नेमा उनीहरुले जोड दिए ।
सो लोगोमा नेपालको नक्सा मानचित्र अनुसारको नभएको, जैविक विविधताको अङ्श नभएको, धानको बालालाई रातो रङ्गमा देखाइएको, यसको आकार कुनै पोष्टरमा अङ्कितचिन्ह वा खाद्यवस्तुको लोगोजस्तो देखिएको, अनावश्यरूपले गुराँसको फूल राखिएको तथा हिमाल, पहाड र तर्राईको प्रतिनिधित्व नभएको आरोप लगाउँदै यसलाई संसदले अनुमोदन गर्न नहुनेमा जोड दिनुभयो ।
सो लोगोमा परिमार्जन गर्नुपर्ने माग राख्नेहरुमा डिजाइनर मदन चित्रकार, ललितकला वाङ्मय समाजका अध्यक्ष नगेन्द्र पौडेल, ललितकला समीक्षक समाजका अध्यक्ष रमेश खनाल, कलाकार समाजका अध्यक्ष के.के. कर्माचार्य र ग्राफिक डिजाईनर्स गिल्डका अध्यक्ष सुन्दर बस्नेत हुनुहुन्छ ।
उक्त लोगो निर्णायक समितिका सदस्यसमेत रहनुभएका राधेश्याम मुल्मीले लोगोको डिजाइनलाई परिमाजर्न गर्न आफूले दिएको सुझावलाई बेवास्ता गरी हतारमा निर्णय गरिएको आरोप लगाउनुभयो ।
Popularity: 22%
December 27th, 2006
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
बाँके जिल्ला प्रशासनले आज बिहान ११ बजेदेखि बेलुकी साढे ५ बजेसम्मको लागि कर्फ्यु जारी गरेको छ।
समाचार स्रोतका अनुसार नेपाल सद्भावना पार्टी र अन्य दलका कार्यकर्ताबीच भएको झडपले साम्प्रदायिक दङ्गाको रुप लिन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु जारी गरिएको जनाएको छ।
सद्भावना पार्टीद्वारा हिजो आयोजित तर्राई बन्द कार्यक्रममा भएको तोडफोड र झडपको बिरोधमा आज नेपालगञ्जमा निस्केको प्रदर्शनकारीमाथि सद्भावना पार्टीका कार्यकर्ताहरु जाइ लागेका थिए। सद्भावना पार्टीका कार्यकर्ताले आक्रमण गरेपछि अन्य दलका समर्थकहरु पनि प्रतिरोधमा उत्रेका थिए।
दुबै पक्षका समर्थकहरुले रड, घरेलु हतियार, लाठी प्रयोग गरी एक आपसमा भिडेका थिए। झडपका कारण दुबै पक्षका कयौं घाइते भएका छन्।
Popularity: 22%
December 26th, 2006
Previous Posts