Archive for January, 2007
प्रधानमन्त्रीद्वारा बिशेष सम्बोधन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आहृवान
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तराईमा आन्दोलनरत सबै पक्षलाई वार्तामा आउन आहृवान गर्नु भएको छ।
प्रधानमन्त्री कोइरालाले आज अपरान्ह देशवासीको नाममा संबोधन गर्नुहुदैं तराईका विभिन्न भागमा आन्दोलनरत पक्षलाई वार्तामा आउन आहृवान गर्नुभएको हो।
प्रधानमन्त्री कोइरालाले देश सबैको साझा भएकोले सबै मिलेर समस्या समाधान गर्न तर्फ लाग्नु पर्ने बताउंनु हुंदै वर्तमान अवस्थामा बन्द र हडताल जस्ता काम नगर्न समेत आग्रह गर्नुभयो। वर्तमान अवस्थामा प्रतिगामीको चलखेल हुन सक्ने भएकाले सचेत रहनु पर्ने बताउनु भयो।
आगामी जेठ मसान्तसम्म संविधान सभाको निर्वाचन गर्ने सरकारको संकल्पमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो। सम्बोधनको क्रममा प्रधानमन्त्री कोइरालाले संबिधान सभाको निर्वाचनमा समान प्रतिनिधित्वको लागि निर्वाचन क्षेत्र बृद्धि गरिने र संबिधान सभामार्फत देशलाई लोकतान्त्रिक संघीय शासन व्यवस्थामा लाने घोषणा गर्नुभयो।
प्रधानमन्त्री कोइरालाले वार्ताको लागि गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई वार्ता टोली गठन गर्न निर्देशन दिईसकेको समेत बताउंनु भयो। उहाँले तराईको समस्या समाधान वार्ताबाट मात्र सम्भव हुने जनाउंदै आन्दोलनरत मधेशी, जनजाती, दलित तथा आदिवासी सबै पक्षलाई वार्तामा आउन आहृवान गर्नुभयो।
……………………………………………………………………………..
देशबासीको नाममा प्रधानमन्त्रीले सम्बोधन गर्ने
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आठ दलको बैठकमा भएको सहमति अनुसार देशलाई संघीय संरचनामा लाने विषयलाई लिएर आज देशबासीको नाममा विशेष सम्बोधन गर्नुहुने बुझिएको छ।
समाचार स्रोतका अनुसार मंगलबार बसेको आठ दलको बैठकले संबिधानसभाबाट संघीय लोकतन्त्रमा जाने सर्वसम्मति बनाएको थियो । निर्वाचन प्रणालीका सम्बन्धमा सात दल एकातिर र सदभावना आनन्दीदेवी अर्कातिर भएपछि हिजै टुगो लाग्न सकेको थिएन। केही बुंदागत छलफलको लागि आज पनि आठदलको बैठक बस्ने भनिएको थियो।
आज बैठक बस्न नसके पनि हिजो बैठकमा भएको सहमतिकै आधारमा आज प्रधानमन्त्रीले संबोधन गर्नुहुने वालुवाटार स्रोतले जनाएको छ।
Popularity: 22%
January 31st, 2007
खेमनाथ पौडेल, युएई / एचकेनेपाल डट कम-
युएईको अबुधावी एडनक अबुधवी नेश्नल तेल कम्पनीमा कार्यरत सुनसरी नेपालका डेकबहादुर कार्कीलाई करिव २५ लाख रुपैयाँ पर्ने हम्मर गाडी चिठ्ठामा परेको छ।
अलफलाहा प्लाजा सपिङ सेन्टरले आयोजना गरेको उक्त चिठ्ठामा कार्कीको भाग्यमानी चिठ्ठा नं. ३१७८१५ रहेको थियो।
गत ३० जनवरीमा प्रकाशन भएको नतिजामा उक्त भाग्यमानी चिठ्ठामा नेपालीको तर्फबाट कार्कीको नाम परेको थियो। अरु विजेताहरुमा भने अन्य देशका नागरिकहरु परेका छन्।
विगत ६ वर्षदेखि यहाँ कार्यरत डेकबहादुर कार्की केही दिनअघि भ्याकेशनमा नेपाल गएका छन्। नेपाल फर्कने बेलामा ल है साथी हो हम्मर परेमा खवर गर्नु है भन्दै गएका डेकबहादुर साच्चै नै हम्मर परेको खवर साथीहरुले फोन गरेर सुनाउंदा शुरुमा पत्याएकै थिएनन्। खबर प्राप्त भएपछि उनी तत्काल युएई फर्कने भएका छन्।
Popularity: 22%
January 31st, 2007
धन बस्नेत, पोखरा/ एचकेनेपाल डट कम -
आउँदो फागुन ६ गते हुने पोखरा म्याराथनको पुरस्कार राशीमा बृद्धि गरिएको छ। ‘पुरस्कारको राशीमा बृद्धि गरियो’ नेपाल भूतपूर्व खेलाडी मञ्चका महासचिव तेज गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो-प्रतियोगिताको इभेण्टमा समेत बढाइएको छ।’ उहाँले पोखरा म्याराथनमा सहभागिताको लागि नेपालस्थित विभिन्न देशका राजदूतहरु समेत आउने आश्वासन पाएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो।

फाइल तस्वीरः सुदर्शन रञ्जित, पोखरा / एचकेनेपाल डट कम।
खेलाडी मञ्चको आयोजनामा आउँदो फागुन ६ गते हुने छैटौं राष्ट्रिय बाणिज्य बैंक पोखरा म्याराथन २०६३ मा पोखरा च्याम्पियन बन्नेले ४० हजार नगदसहित पदक तथा प्रमाणपत्र पाउने छ भने दोस्रो हुनेले २५ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने छ। त्यसको साथै तृतीयदेखि दशौंस्थानसम्म आउनेलाई क्रमश १५, ५,४, ३, २ र १ हजार प्रदान गरिने उहाँले बताउनुभयो। गत वर्ष क्रमशः ३० हजार र २० हजार पुरस्कार राशी थियो।
सिटी म्याराथनको अवधारणा अनुरुप आयोजना गरिएको उक्त म्याराथनमा करीव ८ इभेण्ट छन्। ४२ किलोमिटरको मुल म्याराथनसहित १० किलोमिटर महिला तथा पुरुष दौड, १० किलोमिटर स्कुलका छात्र तथा छात्राको प्रतिस्पर्धा, ५ किलोमिटर भेट्रान्स एवं सोही दुरीको संचारकर्मी र दुइ किलोमिटर अपाङ्ग दौड समावेश गरिएको छ। संचारकर्मी र अपाङ्ग दौड थपिएका नयाँ इभेण्ट्स हुन्। मुल म्याराथनमा कास्की विजेतलाई समेत पुरस्कार प्रदान गरिने छ।
आयोजकले दिएको जानकारी अनुसार कास्की विजेतालाई ३ हजार प्रदान गरिने छ। १० किलोमिटर तर्फको पुरुष र महिला दौडमा विजयी खेलाडीले क्रमश ७, ४ र ३ हजार पाउने छने भने विद्यालयका छात्र छात्राले भने ३, २ र १ हजार नगदसहित पदक तथा प्रमाणपत्र पाउने छन्। ५ किलोमिटर भेट्रान्स, र संचारकर्मी एवं दुइ किलोमिटर अपाङ्गतर्फो इभेण्टमा प्रतिस्पर्धी विजेताले भने ३, २ र १ हजार सहित पदक तथा प्रमाणपत्र पाउने छन्।
एकदिने म्याराथन सम्पन्न गर्न आयोजकले झण्डै ८ लाख खर्चको अनुमान गरेको छ। गत वर्ष झैं अहिले प्रतियोगिता नुधेकोले छैटौं म्याराथनमा विभिन्न इभेण्टमा ५ हजार भन्दा बढी खेलाडीको सहभागिता हुने लक्ष्य राखिएको महासचिव गुरुङले बताउनुभयो। गतवर्ष३ हजार खेलाडीको सहभागिता रहेको थियो।
छैटौं प्रतियोगितासम्म आइपुग्दा ४ पटक त्रिभुवन आर्मी र एकपटक सशस्त्र प्रहरीका खेलाडी पोखरा म्याराथन च्याम्पियन बनिसकेका छन्। गतवर्षकेवल चार सेकेण्डले सशस्त्रका अक्कलबहादुर बोहरालाई पराजित गरी त्रिभुवन आर्मीका रेवतबहादुर दाहाल पोखरा म्याराथन च्याम्पियन बनेका थिए। म्याराथन सम्पन्न गर्न भुपू खेलाडी मञ्चका अध्यक्ष डा विरेन्द्रसिह गुरुङको संयोजकत्वमा १७ विभिन्न उपसमिति गठन गरिएको छ।
पोखराबाट धन बस्नेत माघ १६ गते
Popularity: 22%
January 31st, 2007
एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष एलपी सावाँ लिम्बूलाई मंगलबार बिहान अज्ञात समूहले गोली प्रहार गरेको छ।
सावाँ घरबाट कार्यालयतर्फ जांदै गर्दा उनी चढेको मोटरमा गोली प्रहार भएको थियो। मोटरसाइकलमा आएका दुई व्यक्तिले उनलाई ताकेर गोली प्रहार गरेका थिए। पहिलो प्रहार उनी बसेको सिट मुनि लागेको थियो। दोस्रो पटक गोली प्रहार गर्ने प्रयास गर्दा मोटरसाइकलको सन्तुलन बिग्रेर पिस्तोल भुईमा खसेपछि उनीहरु भागेका थिए।
समाचार स्रोतका अनुसार अज्ञात समूहले प्रयोग गरेको मोटरसाइकल २७३७ नम्बरको कालो यामाहा भए पनि अल्फाबेट खुल्न नसकेको बताइन्छ।
घटनाको नेपाल उद्योग वाणिज्य संघ र वैदेशिक रोजगार पीडित सरोकार केन्द्रले घोर भत्सर्ना गरेका छन्।
Popularity: 22%
January 31st, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
शान्त बन्दै गैरहेको तराईमा फेरि तनाव बढेको छ। विराटनगरमा मंगलबार एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।
समाचार स्रोतका अनुसार स्थानीय बासिन्दा र प्रदर्शनकारीबीचबीच भएको दोहोरो झडपमा परि विराटनगरका ३३ बर्षीय राजकुमार कामतको मृत्यु भएको छ।
रानीस्थित भट्टीमोडमा दोहोरो झडपमा परि घाइते भएका कामतलाई उपचारको लागि कोशी अञ्चल अस्पतालमा लैजादै गर्दा बाटोमा उनको मृत्यु भएको थियो।
विराटनगरको स्थिति बिग्रेपछि त्यहाँको प्रशासनले अपरान्ह एक बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो। समाचार स्रोतका अनुसार समाचार संकलन गर्न जाने सञ्चारकर्मीहरुलाई अराजक तत्वहरुले बाधा पुर्याउने र लखेट्ने गरेको बताइन्छ।
सोही ठाउंमा नेपाल एफएमका विक्रम लुइटेललाई ढुङ्गा प्रहार गरी घाइते तुल्याउनुका साथै उनको मोटरसाइकल तोडफोड गरेको जनाइएको छ।
Popularity: 22%
January 31st, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकारले ८० भन्दा बढी राजावादीहरुको सूचि तयार पारी प्रहरी निगरानीमा राखेको छ। उनीहरुलाई कुनै पनि समयमा गिरफ्तार गर्न सकिने बताइएको छ।
निगरानीमा रहेकाहरुमा तुलसी गिरी, रविन्द्रनाथ शर्मा, टंक ढकाल, लोकमान सिंह कार्की आदि रहेको बताइएको छ।
Popularity: 22%
January 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का केन्द्रीय सदस्य पम्फा भुसालले मधेसको आन्दोलन दरबारिया घुसपैठबाट संविधानसभाको निर्वाचन बिथोल्ने षड्यन्त्र भएको बताउनुभएको छ।
नेकपा (माओवादी) नवलपरासी जिल्ला कमिटीद्वारा आयोजित विधायक अभिनन्दन समारोहमा भुसालले व्यवस्थापिका संसद रूप हेर्दा उस्तै भए पनि यथार्थतामा फरक छ भन्दै सुस्ता अतिक्रमणबारे अब संसदमा छलफल गरिनुपर्नेमा जोड दिनुभयो।
माओवादी जनसरकारले न्यायपूर्ण तरिकाले कब्जा गरेका सम्पत्ति फिर्ता नगरिने जानकारी उहाँले दिनुभयो।
Popularity: 22%
January 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
लहान घटनासम्बन्धमा गठित आयोगले आफ्नो कार्य प्रारम्भ गरेको छ। सिरहाको लहान नगरपालिका र उक्त जिल्लाको अन्य क्षेत्रमा समेत घटेको घटनाको कारण पत्ता लगाई उक्त घटनामा भएको क्षति र पर्न गएका असर एवं घटनामा दोषीउपर हुनुपर्ने कानुनी कारबाहीका सम्बन्धमा जाँचबुझ गरी रायसहितको प्रतिवेन पेस गर्न सरकारले गत माघ ८ गते सो आयोगको गठन गरेको थियो।
आयोगका संयोजक पुनरावेदन अदालत पाटनका न्यायाधीश जनार्दनबहादुर खड्काले लहान घटनामा परी राजधानीका सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र वीरेन्द्र प्रहरी अस्पतालमा उपचार्रार्थ भर्ना भएका घाइतेहरूसँग भेटघाट गर्ने र स्थलगत अवलोकन गरिने बताउनुभयो।
आयोगले कार्य प्रारम्भ गरेको १५ दिनभित्र आफ्नो कार्य सम्पन्न गर्नेछ।
भद्रकाली प्लाजास्थित महिला आयोगको कार्यालयमा आयोगको कार्यालय रहेको छ।
तीन सदस्यीय आयोगका अन्य सदस्यहरूमा सहन्यायाधिवक्ता राजनारायण पाठक र नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक रवीन्द्रप्रताप शाह रहनुभएको छ।
Popularity: 22%
January 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गणतन्त्रवादी नेता एवं नेपाल जनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद सिंहले मुलुकमा गणतन्त्र स्थापना गर्ने तराईवासीको चाहनाविपरीत माओवादीले सात दलसँग सम्झौता गरी आन्दोलनलाई स्थगित गरेकामा असन्तुष्टि जनाउनुभएको छ।
नेता सिंहले पत्रकार सम्मेलन आयोजना गर्दै माओवादी जनयुद्धलाई निष्कर्षान पुर्याउनुपर्नेमा तिनका नेता सरकार र संसदमा प्रवेश गरेपछि मधेसी जनताले निरास भई विद्रोहको बाटो रोज्नुपरेको हो भन्नुभयो।
संविधानसभाको निर्वाचन जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उहाँले तराईमा भएको आन्दोलन साम्प्रदायिक नभई राष्ट्रिय आवश्यकता भएको बताउनुभयो।
Popularity: 22%
January 30th, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हृदयेश त्रिपाठीले सोमबार मन्त्री पदबाट राजीनामा दिनुभएको छ।
उहाँले मधेस समस्याप्रति आठ दल संवेदनाशील नभएको भन्दै राजीनामा दिनु भएको हो। उहाँको राजीनामासंगै गठबन्धन सरकारबाट सद्भावना पार्टी (आनन्ददेवी) अलग्गिएको छ।
मधेस जलिरहेको अवस्थामा पनि आठ दलमा गम्भीरताको अभाव भएको हुंदा विवेकका साथ राजीनामा दिएको त्रिपाठीले जनाएको छ। त्रिपाठीले व्यक्तिगत रुपमा आठ दलमा प्रयास गरेको भए पनि सफल नभएपछि आममधेसीको चाहनाको कदर गर्दै राजीनामा दिने निर्णय गरेको बताउनु भएको छ।
त्रिपाठीले मुख्यसचिवमार्फत प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाइए पनि राजीनामा स्वीकृत हुने सम्भावना कम रहेको बताइन्छ। सरकारले तराईका मागलाई पूरा गर्ने भएकोले उहाँको राजीनामा फिर्ता गराइने स्रोतले जनाएको छ।
Popularity: 22%
January 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तराई साम्प्रदायिक हिंसा फैलाएको आरोपमा शाही गृहमन्त्री कमल थापा र कृषि तथा सहकारी मन्त्री बद्री मण्डल सोमबार राति गिरफ्तार भएका छन्। थापालाई उनकै विशालनगरस्थित निवासबाट र मण्डललाई विराटनगरस्थित आ-आफ्नै निवासबाट प्रहरीले गिरफ्तार गरेको हो।
तराईको समस्याका बारेमा छलफल गर्न आठ दलको आज बसेको बैठकले तराई हिंसामा राजावादीहरु पनि जिम्मेवार रहेको सूचना प्राप्त भएकोले रायमाझी आयोगले सिफारिस गरेका शाही मन्त्रीहरुलाई गिरफ्तार गर्ने विषयमा छलफल भएको थियो।
दुवैलाई ‘अनुसन्धानका लागि पक्राउ गरिएको’ पुर्जी दिइएको छ। विशालनगर स्थित घरबाट पक्राउ गरेर थापालाई २ नम्बर गणमा र मण्डललाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।
Popularity: 22%
January 30th, 2007
भूपेन्द्र आचार्य, एचकेनेपाल डट कम दक्षिण कोरिया प्रतिनिधि -
नेपाल मजदुर समिति द.कोरियाको शनिवार बसेको भेलाले आफ्नो समितिको विधान सार्वजनिक गरेको छ।
विभिन्न अनलाइन समाचार संस्थाका सम्वाददाताहरुलाई बोलाई सार्वजनिक गरेको उक्त विधानमा कुनै राजनैतिक तथा धार्मिक संघ संस्थाहरुसंग समितिको सम्बन्ध नरहने उल्लेख गरेको छ।
विधानमा द. कोरियामा रहेका मजदुरहरुको भैंपरि आउने समस्यामा साथ दिने उल्लेख गरिएको छ। करिव ४० जनाको उक्त भेलाको सभापतित्व दिलिप सुब्बाले गर्नुभएको थियो भने समितिका सदस्य सुनिल कर्माचार्यले विधान मस्यौदा प्रस्तुत गर्नुभएको थियो।
.jpg)
.jpg)
.jpg)
तस्वीरः राप्के लामा द. कोरिया / एचकेनेपाल डट कम। थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 22%
January 29th, 2007
एचकेनेपाल डट कम सम्वाददाता -
लण्डन, बिग ब्रदर रियालिटी टिभि शोमा बलिउड अभिनेत्री शिल्पा शेट्टीले पप स्टार जर्मेन ज्याक्सन (माइकल ज्याक्सनको दाजु)लाई हराएर एक लाख पाउण्डको पुरस्कार जितिन्। (more…)
Popularity: 22%
January 29th, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
सरकारले तीन कार्यवाहक राजदूतहरु नियुक्त गरेको छ। परराष्ट्र मन्त्रालयले जनाए अनुसार द. कोरियाको लागि उपसचिव यादव खनाल, अष्ट्रेलियाका लागि शंकर बैरागी र डेनमार्कका लागि धनञ्जय झालाई कार्यवाहक राजदूतमा नियुक्त गरेको छ।
तत्कालको लागि अष्ट्रेलिया र डेनमार्कमा कार्यवाहकसहित तीन र द. कोरियामा दुई कर्मचारीको दरबन्दी सिफारिस भएको जनाएको छ।
Popularity: 22%
January 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
वीरगञ्जमा रहेको रेडियो वीरगञ्ज एफएम कार्यालयमा प्रदर्शनकारीहरुले आइतबार आक्रमण गरी तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरुले एफएमको जेनेरेटर र कार्यालयमा पार्किङ गरेर राखिएका ४ वटा मोटरसाइकल तोडफोड गरेका छन् ।
वीरगञ्जमा शान्तिसुरक्षा कायम राख्न स्थानीय प्रशासनले कफ्र्यु लगाएको भए पनि त्यसको अवज्ञा गर्दै प्रदर्शन र तोडफोड भएको थियो ।
वीरगञ्जमा प्रदर्शनकारीहरुले फोटोपत्रकार राम सराफ र ध्रुव शाहलाई समेत कुटपिट गरेका छन् । प्रदर्शनकारीहरुले शाहको मोटरसाइकलसमेत तोडफोड गरिदिएका छन् ।
यसैबीच ब्रोडकास्टिङ् एसोसिएसन अफ नेपालले रेडियो वीरगञ्जमाथि भएको आक्रमणप्रति घोर निन्दा र भर्त्सना गरेको छ । बानले स्वतन्त्र रेडियोमाथिको आक्रमण स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिको आक्रमण भएको ठहर गरेको छ ।
Popularity: 22%
January 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
दक्षिण कोरिया नेपाली श्रमिकलाई आफ्नो श्रम बजारमा अवसर दिन सहमत भएको छ। नेपाली कामदारलाई ‘रोजगार अनुमति प्रणाली’ (इपीएस)मा आबद्ध गर्ने सर्न्दर्भमा नेपाल र दक्षिण कोरियाबीच हिजो काठमाडौँमा भएको द्विपक्षीय वार्तामा उक्त सहमति भएको हो।
कति नेपाली कामदारलाई कोरियामा स्थान दिने भन्ने सम्बन्धी सहमतिपत्रमा आगामी फागुन महिनामा हस्ताक्षर हुने भएको छ।
वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका श्रम तथा यातायात व्यवस्था राज्यमन्त्री रमेश लेखकले नेपाली श्रमिकलाई अवसर दिन कोरिया सकारात्मक रहेको बताउनुभयो।
राज्यमन्त्री लेखकको भनाइप्रति कोरियाली श्रममन्त्री ली साङ-सुले र्समर्थन जनाउनुभएको थियो।
Popularity: 22%
January 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय मानवअधिकार आयोग तथा संयुक्त राष्ट्रसङ्घ उच्चायुक्तको कार्यालय, पूर्वाञ्चल क्षेत्रीय कार्यालयको टोलीले हिजोदेखि लहान घटनाको अध्ययन तथा छानबिन सुरु गरेको छ।
प्रदर्शन तथा तोडफोडका क्रममा संयुक्त राष्ट्रसङ्घ उच्चायुक्तको सवारीसाधनमाथि समेत तोडफोड गरिएपछि घटनाको अध्ययन गर्न टोली आउन चाहेको थिएन।
स्थिति सामान्य हुन थालेपछि स्थानीय मानवअधिकारकर्मीका अनुरोधमा टोली आई छानबिन सुरु गरेको लहानस्थित समग्र विकास सेवा केन्द्र क्षेत्रीय कार्यालयका संयोजक दुर्गाप्रसाद महतोले बताउनुभयो।
यही माघ ५ गते र त्यसपछिका घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको बताउँदै आयोगका पूर्वाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक सुवर्ण कर्माचार्यले घटना कहाँ र कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको बताउनुभयो।
सो टोलीले घटनाका क्रममा घाइते भएकाका घरघर गई घटनाका बारेमा सूचना लिने कार्य गरिरहेको जानकारी पनि उहाँले दिनुभयो।
क्षेत्रीय निर्देशक कर्माचार्यका अनुसार घटनालाई केही अपरिचित मानिसले ज्यादती गरी बढाएको तथा त्यसलाई नियन्त्रण गर्ने नाममा प्रहरीले घरघर गई अपशब्द प्रयोग गर्नुका साथै निर्दोषमाथि दमन गरेको पाइएको छ।
उहाँले भन्नुभयो-”माघ ३ गतेदेखि घटेको घटनाको प्रमाण जुटाउने प्रयासमा छौँ, प्रमाण जुटेपछि राज्यलाई र्सतर्क गराउनुका साथै दोषीमाथि कारबाहीका लागि सिफारिस गर्नेछौँ।”
Popularity: 21%
January 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विगत केही समयदेखि विद्युत कटौतीको समस्या झेल्दै आएका जनताले आगामी दिनमा पनि थप अन्धकारमा बस्नुपर्ने भएकाले विद्युत उपयोग गर्ने तरिकामा परिवर्तन गर्न नेपाल विद्युत प्राधिकरणले ग्राहकसँग अनुरोध गरेको छ।
हाल दैनिक तीन घन्टा विद्युत कटौती गरिएकोमा आगामी फागुनमा छ घन्टा, चैतमा आठ घन्टा र वैशाखमा छ घन्टाका दरले विद्युत आपूर्ति नहुने भएकाले कम विद्युत खपत गर्न आग्रह गर्नु परेको हिजो यहाँ आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख अर्जुन कार्कीले बताउनुभयो।
विद्युत कटौतीको यो अवस्था आगामी सन् २०१२ सम्म नयाँ प्रस्तावित पाँचवटा आयोजनाबाट ४४० मेगावाट विद्युत उत्पादन नभएसम्म कायमै रहने उल्लेख गर्दै उहाँले आगामी वर्षमङ्सिर महिनादेखि दैनिक तीन घन्टा हुँदै चैत-वैशाखसम्म १२ घन्टासम्म कटौती हुनसक्ने भएकाले विद्युत उपयोग शैलीमा परिवर्तन गर्नु परेको हो भन्नुभयो।
साँझको ‘पिक आवर’ मा बढी विद्युत खपत गर्ने ‘होर्डिङ बोर्ड’, व्यापारिक केन्द्र तथा होटलहरूलाई कम विद्युत उपयोग गर्न अनुरोध गरिने र त्यसअनुसार कम खपत नभएमा फागुनदेखि त्यस्ता निकायमा विद्युत काट्न पनि सकिने प्रमुख कार्कीले बताउनुभयो।
Popularity: 21%
January 29th, 2007
नेपालले इपीएस पाउने निश्चित
कोरियन श्रम मन्त्री सहित १४ सदस्यीय टोली नेपालमा
भूपेन्द्र आचार्य/ एचकेनेपाल डट कम द. कोरिया प्रतिनिधि -
नेपाललाई श्रम सूचीको कोटा प्रदान गर्न कोरियन श्रममन्त्री साङ सु ली शनिवार नेपाल प्रस्थान गर्नु भएको छ। नेपाल सरकारको निमन्त्रणामा शनिवार नेपाल प्रस्थान गर्नुभएका श्रम मन्त्री ली सहित नेसनल एसेम्ब्लीका दुई सदस्य सहित श्रम मन्त्रालयका अन्य उच्च स्तरका कर्मचारी रहेका छन्।
भ्रमणको उद्देश्यका बारे प्रश्न गर्दा श्रम मन्त्री लीले आफ्नो मुख्य उद्देश्य दुई देशवीचको श्रम सहकार्य प्रवन्धन गर्ने र पारस्परिक सम्बन्ध अझ मजबुत गर्ने बताउनु भयो। केही समय अगाडी नेपालका श्रम राज्य मन्त्री रमेश लेखक, यातायात मन्त्री गोपालमान श्रेष्ठ, श्रम सचिव श्याम मैनाली कोरिया आई नेपाललाई श्रम कोटा दिन आग्रह गर्नु भएको थियो। नेपालले सबै प्रकृया पूरा गरे श्रम सूचीमा राख्ने (EPS=Employment Permit System दिने) बताउंदै आएका कोरिया सरकारले यस पटकको नेपाल भ्रमणबाट नेपाललाई श्रम सूचीमा राख्ने प्रायः निश्चित भएको छ। नेपाललाई यस वर्षदेखि श्रम सूचीमा राख्ने के निश्चित भएको छ त ? भनी टेलिफोनमा सोधिएको प्रश्नमा श्रम मन्त्रालयका सचिव श्याम मैनाली भन्नु हुन्छ हामीले कोरियाले भनेका सबै प्रकृया पूरा गरेका छौं आशा गरौं अब हामीले अवश्य नै इपीएस पाउने छौं।
दक्षिण कोरियामा रहेका विभिन्न मजदुर युनियनहरुले “इपीएस होइन वर्क परमिट लागू गर” भन्दै आएपनि नेपालले इपीएस पाएमा आश्चर्य मान्नु पर्दैन। स्मरणीय छ, कोरियन श्रम मन्त्री लीले नेपालका श्रम राज्य मन्त्री रमेश लेखक, सभामुख सुवास नेवाङ र नेपालका प्रधानमन्त्री गिरिजा प्र. कोइरालासंग छुट्टा छुट्टै भेटघाट गर्ने श्रम मन्त्रालयले बताएको छ।
Popularity: 21%
January 29th, 2007
भूपेन्द्र आचार्य / एचकेनेपाल डट कम द. कोरिया प्रतिनिधि -
सुन्तला र स्वाउ पिरती लाउने भए अलि वर आऊ जस्ता दर्जनौं लोक गीतहरुका गायक रेशम गुरुङ दक्षिण कोरियाको भ्रमणमा आउनु भएको छ।
१९९१ मा द. कोरिया आई केही वर्ष अघि नेपाल गई दोभान लोक दोहोरी रेष्टुरेण्ट लगातार सञ्चालन गरी सांगीतिक क्षेत्रमा लागि गायक मात्र होइन गीत लेखन सम्पादन समेत गर्नुहुन्छ। नेपाली संस्कृतिलाई विश्व सामु चिनाउने उद्देश्य लिएर द. कोरिया आउनु भएको गायक गुरुङले गुरुङ भाषाको कांशी देखि रोंधी प्रोडक्शनद्धारा निर्मित तथा प्रितम गुरुङद्धारा निर्देशित नानु चलचित्रमा चरित्र अभिनेताको समेत भूमिका निर्वाह गर्नु भएको छ।
द. कोरियाको भ्रमणको उद्देश्यको बारेमा गायक गुरुङले पहिले आफ्नो कर्म थलोमा आएर आफ्नो सांगीतिक क्षेत्रलाई प्रचार प्रसार र नेपाली सांस्कृतिको पहिचान गर्ने बताउनु भयो। गुरुङ भाषाको नानु चलचित्रमा अत्यन्तै मार्मिक भूमिका निर्वाह गर्नु भएका गुरुङले निकट भविष्यमा गुरुङ भाषाको चलचित्र निर्माण गर्ने बताउनु भयो। नेपाली कला संस्कृतिका बारेमा नेपाली दर्शकहरुलाई केही भनिदिनुहुन्छ कि भन्ने प्रश्नमा नेपाली कला संस्कृतिलाई माया गरौं, तपाईहरुको माया नै मेरो सम्पत्ति हो भन्नुभयो।
Popularity: 21%
January 29th, 2007
भूपेन्द्र आचार्य / एचकेनेपाल डट कम दक्षिण कोरिया प्रतिनिधि -
नेपाली कांग्रेसको भातृ संगठन नेपाली जन सम्पर्क समिति कोरियाको क्षेत्र नं. ४ बुक् उइजम्बु शाखा गठन गरिएको छ।
.jpg)
नेपाली जन सम्पर्क समिति द. कोरियाको केन्द्रीय महाधिवेशनको तयारीका लागि शुरु गरिएको संगठन विस्तार व्यापक रुपमा भइ रहेको छ।
यसै क्रममा नेपाली जनसम्पर्क समिति बुक् उइजम्बु शाखा उत्तम आचार्यको अध्यक्षतामा १३ सदस्यीय मिति गठन गयएकि छ। उपाध्यक्षमा केदार आचार्य सचिवमा युवराज शर्मा सहसचिवमा हस्तराज आङदेम्बे कोषाध्यक्षमा कुलप्रसाद खत्री रहनु भएको छ भने सदस्यहरुमा क्रमशः भोला खत्री, गणेश कार्की, तिलक कार्की, चन्द्र बहादुर लावती, नरेश गुरुङ, ओम ज्ञवाली, गणेश सापकोटा, धन बहादुर लामा, पूर्णबहादुर गुरुङ, टासी लामा, कुन्जोक शेर्पा, पेम्बा रितर लामा, मदन पौड्याल रहनु भएको छ।
.jpg)
सो क्षेत्र अधिवेशनलाई सम्बोधन गर्दै नेपाली जनसम्पर्क समिति द. कोरियाका अध्यक्ष रतन सुब्बाले निकट भविष्यमा समितिको महाअधिवेशन गर्न र नेतृत्व प्रदान गर्न आफू तयार रहेको बताउंदै पार्टीको विधान वमोजिम कार्य गर्न निर्देशन दिनुभयो। यसैगरि महामन्त्री भूपेन्द्र आचार्यले नेपाली जनसम्पर्क समिति द. कोरियाको जन्म जसरी भएपनि छोटो समयमा यसले विशाल रुपमा संगठनको कार्य शुरु गरेको र आगामी महाअधिवेशनले सम्पूर्ण विवादलाई अन्त्य गर्ने बताउनु भयो।
.jpg)
सो कार्यक्रममा शुभकामना मन्तब्य केन्द्रीय सदस्य उत्तम गुरुङले र स्वागत भाषण मणि चेम्जुङले गर्नुभएको थियो। सो अधिवेशनमा केन्द्रीय कोषाध्यक्ष राप्के लामा, सह महामन्त्री कृष्ण गुरुङ, केन्द्रीय सदस्य तथा क्षेत्रीय अधिवेशन तयारी समितिका संयोजक राजु दर्लामी मगरको पनि उपस्थिती रहेको थियो।
.jpg)
तस्वीरः उत्तम गुरूङ द. कोरिया / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 21%
January 29th, 2007
वेर्न स्वीट्जरल्याण्ड / एचकेनेपाल डट कम, जनवरी २६ -
नेपाली जनताको जनादेश अनुसार संविधान सभाको निर्वाचन मार्फत निर्माण हुन गईरहेको नयां नेपालको विरोधी तत्वहरु सक्रिय रुपमा संविधान सभाको निर्वाचन नै हुन नदिन लागि परेका छन् ।
राजनैतिक पार्टीहरुबीच फाटो ल्याई संविधान सभाको निर्वाचनलाई बिथोलेर फेरि नेपाली जनतालाई शोषित र उत्पिडित गराइ राख्ने देशी तथा विदेशी तत्वहरु सक्रिय रुपमा लागि परेका छन् । नेपालका लागि अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीका नेपाली जनताविरोधी हर्कतहरुले अमेरिकाले दावी गर्ने प्रजातन्त्रको खोक्रो र नांगो रुप प्रदर्शन गरेको छ ।
मोरीयार्टीका गतिविधिको भत्सर्ना नेपालमा मात्र नभएर प्रवासी नेपालीहरुले पनि गरेका छन्। यसैक्रममा अन्तरराष्ट्रियतावादी नेपाली ऐकवद्धता मञ्च, स्वीट्जरल्याण्ड र लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, स्वीट्जरल्याण्डको एक प्रतिनिधि मण्डलले मोरीयार्टीलाई तुरुन्त कारवाही गर्न माग गर्दै अमेरिकी राष्ट्रपति जर्ज डव्लु बुसलाई स्वीट्जरल्याण्डको वेर्नस्थित अमेरिकी दूतावास मार्फत ज्ञापन पत्र वुझाएको छ । कडा सुरक्षा व्यवस्थाकाबीच अन्तरराष्ट्रियतावादी नेपाली ऐकवद्धता मञ्च, स्वीट्जरल्याण्डका अध्यक्ष अशोक चौलागाईं र लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, स्वीट्जरल्याण्डका अध्यक्ष गोपीचन्द्र लामीछानेले दूतावासका पव्लिक अफयेर्सका कार्यवाहक अधिकारीलाई उक्त ज्ञापन पत्र वुझाइएको थियो। ज्ञापन पत्रको विषय देख्नासाथ अधिकारी आर्सनले भने, मैले बुझें म यसलाई जतिसक्दो चांडो सम्बन्धित निकायमा पठाउने छु।
ज्ञापन पत्रमा अगाडी भनेको छ नयां नेपाल निर्माणको यो संघारमा मोरीयार्टीका हर्कतहरु कुटनितीक मर्यादा विपरित त छंदैछन् तिनले नेपालको आन्तरिक मामीला र र्सार्वभौमिकता माथि नांगो हस्तक्षेप गरेको छ। त्यसैले उक्त ज्ञापन पत्रमा मोरीयार्टीलाई तुरुन्त सचेत गराउन राष्ट्रपति बुशलाई आहृवान गरिएको छ ।
Popularity: 21%
January 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आन्दोलनरत मधेसी जनअधिकार फोरमका समर्थकहरू र प्रहरीबीच भिडन्त हुँदा कलैयामा थप एक प्रदर्शनकारीको मृत्यु भएको छ। भिडन्तमा भएका आठजना घाइतेमध्ये २५ वर्षीय सफर मियाको उपचारका क्रममा मृत्यु भएको भएको छ।
प्रदर्शनकारीहरुले कर्फ्र्युका समयमा साँझ स्थानीय नापी कार्यालय र भूमिसुधार कार्यालयका फर्निचरहरू सडकमा ल्याई आगो लगाउनाका साथै कलैया अस्पतालको एउटा एम्बुलेन्सलाई आगो लगाई क्षति पुर्याएको छ।
प्रदर्शनकारीहरूले आगो नियन्त्रण गर्न गएको एउटा दमकललाई पनि तोडफोड गरी क्षति पुर्याएका थिए।
Popularity: 22%
January 28th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जनकपुरमा आन्दोलनकारीहरूले नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. रामवरण यादवको घरमा आगजनी गरेका छन्।घरका सामानहरू बाहिर निकालेर घरमा आगो लगाइएको बताइएको छ।
त्यस्तै आन्दोलनकारीहरूले पूर्वमन्त्री लीला कोइरालाका घरमा तोडफोड गर्नाका साथै गाडीलाई क्षति पुर्याएका छन्।
नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक आनन्द ढुङ्गानाको मिसौरी नगरस्थित घरमा पनि आन्दोलनकारीहरूले तोडफोड गरेका छन्।
यसैबीच स्थितिको गम्भीरतालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले हिजो साँझ ६ देखि अघि बिहान ४ बजेसम्मका लागि कर्फ्र्यु आदेश जारी गरेको छ।
आन्दोलनकारीहरूले हिजो जिरो माइलमा रहेको राजा महेन्द्रको सालिकलाई तोडफोड गरेका छन्।
Popularity: 22%
January 28th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राजविराज नगरपालिका-१ मा रहेको राजा त्रिभुवन र राजा महेन्द्रको सालिकलाई हिजो प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्।
ती दुवै सालिक नगरको मध्य भागमा रहेका छन्।
यसैगरी सप्तरीको कदमाहामा रहेको बिपी कोइरालाको सालिक र मलेकपुर गाविसमा रहेको गणेशमान सिंहको सालिकलाई पनि प्रदर्शनकारीहरूले हिजो बेलुका तोडफोड गरेका छन्।
Popularity: 21%
January 28th, 2007
Previous Posts