Archive for February, 2007

दक्षिण कोरियामा विशाल आगलागी, प्रवासी मजदुरहरूको मृत्यु (+Photo)

भूपेन्द्र आचार्य, एचकेनेपाल डट कम द. कोरिया प्रतिनिधि -
दक्षिण कोरियाको यसु सिटीको कैदी जेलमा गत शनिवार भएको आगलागी काण्डविरुद्ध आज राजधानीको सउलमा विशाल अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन तथा र्‍याली प्रदर्शन गर्‍यो।

गत शनिवार भएको उक्त आगलागी काण्डमा चाइनीज प्रवासी मजदुर ८ जना र १ उज्वेकिस्तानीको मृत्यु भएको र अन्य २७ जना विदेशी मजदुरहरु घाइते भएको कुरा कोरियाको सरकारी के वी एस् द्धारा प्रेसित समाचारमा जनाइएको छ। उक्त कहाली लाग्दो आगलागी काण्डका विरुद्ध कोरिया कन्फिडिरेसन ट्रेड युनियन लगायत विभिन्न मानव अधिकारवादी संघ संस्थाहरु, माइग्रेन्ट ट्रेड युनियनको संयुक्त आयोजनामा भएको सो र्‍याली तथा अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनमा विभिन्न बत्ताहरुले प्रवासी मजदुरहरुलाई वैधानिक गरिनु पर्ने, प्रवासी मजदुरहरुलाई राख्ने जेलहरु हटाउनु पर्ने, सो आगलागी बाट मृत्यु भएका प्रवासी मजदुरहरुको परिवारलाई उचित क्षतिपूर्ति तत्कालै दिनु पर्ने मागहरु राखिएको थियो।

दक्षिण कोरियाको ३२ वटा जेलहरुमा विभिन्न देशका प्रवासी मजदुरहरुलाई अमानवीय तरीकाले राखिएकोले यस्ता काण्ड फेरि पनि दोहोरिने हुंदा जेल नै हटाई सम्पूर्ण प्रवासी मजदुरहरुलाई बैधानिक गरिनु पर्ने कुरा माइग्रेन्ट ट्रेड युनियनका अध्यक्ष काजीमान खापुङले बताउनु भयो । उक्त अमानवीय घटनाका विरुद्ध आगामी २५ तारिख कोरियाको राजधानी सउलमा विशाल विरोध र्‍याली गरिने भएको छ।


स्मरणनीय रहोस् उक्त आगलागी काण्डबाट प्रवासी मजदुरहरुको अमानवीय तरिकाबाट मृत्यु भएको यो नै पहिलो घटना हो। सो घटनालाई विशेष प्राथमिकता दिएर कोरिया स्थित चाईनीज राजदूतावासबाट यसलाई सोच्नै नसकिने घटना भएको र यसबाट सम्पूर्ण चाइना नै स्तब्ध भएको बताइएको छ र साथै यसको उचित क्षतिपूर्तिको लागि चाइनीज राजदूत स्वयं कोरिया परराष्ट्र मन्त्रालय पुगी कोरियन परराष्ट्र मन्त्रीलाई भेटी आफ्नो गुनासो पोखेको छ।


तस्वीरः राप्के लामा एचकेनेपाल डट कम।

Popularity: 12%

2 comments February 14th, 2007

फौजी कारवाही स्थगित गरेर मोर्चा वार्तामा बस्ने

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) ले सरकारले वार्ताको लागि गरेको आहृवानलाई सकारात्मक रुपमा लिदै फौजी कारवाही, बन्द र हडताल जस्ता कार्यक्रमलाई स्थगित गरेको छ।

तराईमा सशस्त्र विद्रोह गरिरहेका मोर्चाका अध्यक्ष ज्वाला सिंहले मंगलबार एक प्रेस वक्तव्य जारी गरि आन्दोलन स्थगित गरिएको जानकारी दिएका हुन्। सरकारसंग हुने वार्तालाई संघर्षको रुपमा लिई आन्दोलन स्थगित गरेको समेत जनाएका छन्।

मोर्चाले सरकारसँग वार्ताका लागि दशसूत्रीय माग पूरा गर्नुपर्ने प्रस्ताव अघि सार्दै तराईलाई स्वतन्त्र राज्य घोषणा गर्नुपर्ने, सेना, प्रहरी र प्रशासनका सबै संयन्त्रहरूमा मधेशीहरूको नियुक्ति हुनुपर्ने, मधेशीकै संयोजकत्वमा पुनः जनगणना गर्नुपर्ने लगायतका माग मोर्चाले गरेको छ।

Popularity: 12%

1 comment February 14th, 2007

नेपाली जनजाति सरोकार मञ्च,युरोपको प्रथम अधिवेशन सम्पन्न

होम गुरूङ, बेल्जियम/ एचकेनेपाल डट कम, फेब्रुअरी ११ -
वेल्जियमको एन्टवरर्पेन शहरमा स्थानीय तथा युरोपका विभिन्न नेपाली संघ संगठनहरुका प्रतिनिधि तथा विदेशी राजनीतिक पार्टीका आमन्त्रित प्रतिनिधिहरुका साथै सयौंको संख्यामा उपस्थित नेपालीहरुको भेलाबीच “जनजातिको स्वायत्तताको लागि लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनमा अघि वढौं” भन्ने मुल नाराका साथ विधिवत रुपमा संयोजक रामवहादुर गुरुङको अध्यक्षतामा प्रथम अधिवेशन सम्पन्न भएको छ।

नेपाली जनताको मुक्तिका लागि वलिदान दिने ज्ञात अज्ञात महान शहिदहरुप्रति एक मिनट मौन धारणपछि नेपाली जनजाति सरोकार मञ्च, वेल्जियमका सदस्य भक्त कोनले हलमा उपस्थित तथा आमन्त्रित विभिन्न संघ संगठनका प्रतिनिधीहरुलाइ स्वागत गर्नु हुंदै जनजातिको समस्या तथा समाधानवारे आफनो धारणा राख्नु भएको थियो। अधिवेशनमा संयुक्त नेपाली मोर्चा युरोपका अध्यक्ष सुरेन्द्र भुसाल, नेपाली जनजाति सरोकार मञ्च, वेल्जियमका अध्यक्ष गमवहादुर गुरुङ, अन्तर्राष्ट्रियवादी एक्यवद्धता मञ्च, जर्मनीका अध्यक्ष प्रभाकर शर्मा,चौतारी समाज, जर्मनीका प्रतिनीधि, नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनीका अध्यक्ष गंगालाल श्रेष्ठ, तमु समाज वेल्जियमका महासचिव श्रीमती जानकी गुरुङ, वर्ल्ड मगर फेडरेसनका प्रतिनिधि वीरमान घर्तिमगर, सिक्लेस पार्चेकोषका प्रतिनिधि जीत गुरुङ, नेपाल व्यवसायी संघ, वेल्जियमका अध्यक्ष राधाकृष्ण, नेपाली जन सम्पर्क समितिका प्रतिनिधि ओम शर्मा, लोकतान्त्रिक मञ्च, वेल्जियमका प्रतिनिधि वोधराज पौडैल, एनआरएन, वेल्जियमका उपाध्यक्ष गंगाधर गौतम, म्यागदी सम्पर्क मञ्च, वेल्जियमका योगेन्द्र वि.क, जनजाति हल्याण्डका प्रतिनिधि विर्ख सुव्वा र आदीवासी थारु मंचका प्रतिनिधि सोमनारायण थनेतले अधिवेशनको सफलताको शुभकामना सहित नेपालको समसामयिक राजनीतिक अवस्थावारे आ-आफ्नो धारणा राख्नु भएको थियो। त्यसतै गरेर विदेशी पाहुनाहरुः वर्कर्स पार्टी वेल्जियमका प्रतिनिधि, कार्क इटालीका प्रतिनिधि मार्को तथा एन्टवरर्पेन वेल्जियममा विदेशीहरु सम्वन्धि डाइभर्सिटी नामको कार्य संचालन गर्ने द आक्ट नामक संस्थाको प्रतिनिधि रिका पावेलले कार्यक्रमको सफलताको शुभकामनासहित नेपाल र विश्व राजनीति वारे आआफनो धाराणा राख्नु भएको थियो । कार्यक्रममा उपस्थित हुन नसक्नु भएका स्पेनका के.वी थापा तथा स्विजरल्याण्डका सागर शेरचनले संगठनको कार्यक्रम तथा अवधाराणा प्रति पूर्ण समर्थन जनाउंदै अधिवेशनको सफलताको शुभकामना सन्देश पठाउनु भएको थियो।

उक्त प्रथम अधिवेशनले सत्र सदस्यीय निम्नवमोजिमको कार्यसमिती सर्वसम्मतीले गठन गरेकोछ।

१.अध्यक्षः रामवहादुर गुरुङ्ग, वेल्जियम
२.उपाध्यक्षः गंगालाल श्रेष्ठ, जर्मनी
३.महासचिवः वदन योङ्गहाङ, वेल्जियम
४.सचिवः के.वी.थापा, स्पेन
५.कोषाध्यक्षः अशोक घले, फ्रान्स
६.पदेन सदस्यः गमवहादुर गुरुङ-अध्यक्ष नेपाली जनजाति सरोकार मञ्च,वेल्जियम
७.सदस्यः वीरमान घर्तिमगर, वेल्जियम
८.सदस्यः होम गुरुङ, वेल्जियम
९.सदस्यः जुम गुरुङ, हल्याण्ड
१०.सदस्यः विर्ख सुव्वा, हल्याण्ड
११.सदस्यः रानावहादुर घले, स्पेन
१२.सदस्यः सागर शेरचन, स्विजरल्याण्ड
१३.सदस्यः देव गुरुङ, इटाली
१४.सदस्यः विपिन गुरुङ, यू.के.
१५.सदस्यः सोम थनेत, वेल्जियम
१६.सदस्यः श्याम श्रेष्ठ, वेल्जियम
१७.सदस्यः जीत गुरुङ, वेल्जियम

सम्मेलनको अन्तमा सभाको अध्यक्षता गर्नु हुने नेपाली जनजाति सरोकार मञ्च, युरोपका नवनिर्वाचित अध्यक्ष रामवहादुर गुरुङले अधिवेशनमा उपस्थित सम्पूर्ण जनसमूहका साथै विभिन्न संघ, संगठनका प्रतिनिधीहरुले उत्साहका साथ अधिवेशनमा भागलिएर अधिवेशनलाइ सफल वनाइदिनु भएकोमा धन्यवाद दिंदै भविष्यमा संगठनले आफनो जिम्वेवारीलाइ सक्रियतापूर्वक निभाउने प्रतिवद्धता नवनिर्वाचित कार्यसमितीको तरफवाट व्यक्त गर्दै प्रथम अधिवेशन समाप्त भएको थियो । उक्त कार्यक्रम नेपाली जनजाति सरोकार मञ्च, वेल्जियमका महासचिव होम गुरुङले संचालन गर्नु भएको थियो।

Popularity: 12%

2 comments February 14th, 2007

नेवाः ऐक्यवद्धता अभियान, नेपालको बक्तव्य

नेवाः ऐक्यवद्धता अभियान, नेपालको बक्तव्य
एचकेनेपाल डट कम –
गत माघ २८ गते बत्तीसपुतली स्थित होटल द्वारिकाजमा घटेको हुलहुज्जतको घटनाले यस अभियानको गम्भीर ध्यान आकषिर्त गरेको छ र परिस्थितिको गम्भीरताले अत्यन्त चिन्तित तुल्याएको छ।

समाचारमा आए अनुसार उक्त हुलहुज्जत होटल द्वारिकाजले चर्चेको ४ रोपनी जग्गाको स्वामित्व सम्बन्धमा स्थानीय मूलपानी गाविसका कृष्णमुरारी ढकाल र होटल संचालिका श्रीमति अम्बिकादेवी श्रेष्ठ बीच चालिस वर्षअघिदेखि विवाद भई आएको बुझिन्छ। यस सम्बन्धमा दुबै पक्षले कानूनी उपचारका लागि प्रयास गरेकै हुनु पर्छ। नगरेको भए गर्नु पर्दथ्यो। तर कानून बमोजिम नचलिकन जुन पक्षबाट हुलहुज्जत र तोडफोड गर्ने काम भएको छ, त्यो अत्यन्त निन्दनीय छ। यसले कानूनी शासनको र्सवमान्य सिद्धान्तको उपहास मात्र गरेको छैन चुनौति समेत दिएको छ र हुलहुज्जत, गुण्डागर्दी, तोडफोड र आतंकको माध्यमबाट जग्गा भोगचलनको हक स्थापित गर्ने दुस्प्रयासको एउटा घृणित उदाहरण प्रस्तुत गरेको छ। हामी यस्ता अवान्छित र असामाजिक कृयाकलापको कडा भत्र्सना गर्दछौं र पीडित पक्षप्रति सहानुभूति प्रकट गर्दै दुबै पक्षलाई सयंमित भई कानून बमोजिम चल्न र अदालतको फैसलालाई सम्मान गर्न आग्रह गर्दछौं।

यसै क्रममा होटल मजदुरहरुले हस्तक्षेप गरी घटनालाई उग्र हुनबाट रोक्ने जुन काम भएको छ, त्यसको यस अभियान मुक्त कण्ठले सराहना गर्दछ तर विवादका पक्षहरुलाई सबूद प्रमाण पेश गर्न ७ दिने अल्टिमेटम दिएर मजदुरहरुबाट पनि गल्ती भएको छ। स्थितिलाई काबुमा ल्याउन मात्र त्यसो भनिएको हो भने हाम्रो केही भन्नु छैन । तर साँच्चिकै मजदुर युनियनले नै विवादको फैसला गर्ने हो भने यो अर्को अराजकता हुनेछ। त्यसै गरी होटल भत्काउन भनी डोजर ल्याइएको भनिएको छ। डोजर जस्तो उपकरण कि सरकारसंग हुन्छ कि ‘क’ वर्गको निर्माण व्यवसायीसंग मात्र हुन सक्छ। त्यस्तो उपकरण दुई व्यक्ति बीचको विवादमा दुरुपयोग गर्ने प्रयास हुनु खेदजनक कुरा हो। उल्लेखित विवाद कुनै राजनीतिक समस्या होइन, देवानी मुद्दा हो। त्यसैले त्यसको फैसला अदालतबाटै हुनु पर्छ। तर्सथ कानून आफ्नो हातमा लिने प्रयास कतैबाट र कसैबाट नहोस् भनी हामी सम्बद्ध सबै पक्षसंग आग्रह गर्न चाहन्छौं।

केही दिन अघि मात्र मधेशीहरुको जायज एवं शान्तिपूर्ण आन्दोलनलाई सरकारले समयमै सम्बोधन नगर्दा र त्यसमा घुसेका देशी विदेशी विखण्डनवादी तथा आतंककारीहरुलाई गृह प्रशासनले समयमै नियन्त्रणमा नलिंदा तीन दर्जनभन्दा बढी मधेशी सपुतहरुले अनाहकमा ज्यान गुमाउनु पर्यो। केयौं घर लुटिए, जलाइए। कैयौं मानिसहरु विस्थापित भए। राजधानी उपत्यकामा दिनहुँ जसो लुटपाट र हत्याका घटनाहरु बढिरहेका छन्। आज दिनदहाडै सयौंको संख्यामा आएका उद्दण्डहरुको जत्थाले विदेशी पाहुनाहरु बसिरहेको होटलमा तोडफोड गर्दा र देशको एकजना अग्रणी महिला व्यवसायी, समर्पित समाजसेवी तथा सम्मानित नागरिक श्रीमति अम्बिकादेवी श्रेष्ठको हुर्मत लिंदा समेत स्थानीय गृह प्रशासन तमासे भएर बसेको देख्दा यो मुलुकमा राज्यको अस्तित्व र उपस्थिति नै नभएको महसुस भइरहेको छ। घटनाका लागि जिम्मेवार उद्दण्ड तत्वहरुलाई तुरुन्त कार्वाही गरी सुरक्षा व्यवस्था चुस्त बनाउन र आफ्नो पदीय दायित्व वहन गर्न असक्षम तथा गैर जिम्मेवार गृहमन्त्री कृष्णप्रसाद सिटौला र उपत्यका महानगर प्रंहरी प्रमुख दीपकसिंह थाङदेनलाई तुरुन्त पदमुक्त गर्न यस अभियान नेपाल सरकारसंग जोडदार माग गर्दछ।

महेश्वर श्रेष्ठ
कार्यकारी सचिव
नेवाः ऐक्यवद्धता अभियान, नेपाल
ने.सं. ११२७ सिल्लागा १र्१र्
इ.सं. २००७ फेब्रुअरी १३
वि.सं. २०६३ फागुन ०१

Popularity: 12%

Add comment February 14th, 2007

जेठभित्र संविधानसभा नभए गणतन्त्र घोषणाः प्रचण्ड

जेठभित्र संविधानसभा नभए गणतन्त्र घोषणाः प्रचण्ड
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता, फेब्रुअरी १३-
नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले मंगलबार काठमाडौंको खुलामञ्चमा २५ वर्षपछि पहिलो पटक सार्वजनिक सभालाई सम्बोधन गर्दै संविधान सभाको चुनावमा ढिलाइ हुने संकेत देखिएमा त्यस अगावै गणतन्त्रको घोषणा गर्न आफूहरूले आन्दोलन गर्ने चेतावनी दिनुभएको छ।

सशस्त्र विद्रोह सुरु गरेको १२ औं वर्ष प्रवेशको उपलक्ष्यमा नेकपा (माओवादी)ले काठमाडौंको खुला मञ्चमा आयोजना गरेको जनसभामा अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको हो। अध्यक्ष प्रचण्डले चुनाव हुन नदिन केही शक्तिहरू गम्भीर षडयन्त्रमा लागेको समेत बताउंनु भयो।

२५ वर्षपछि काठमाडौंमा पहिलो पटक सार्वजनिक हुनुभएका अध्यक्ष प्रचण्डको सम्बोधन सुन्न हजारौं संख्यामा माओवादी कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो। खुलामञ्च र त्यसभन्दा बाहिर ठूलो संख्यमा जनसमुदायको भीड रहेको थियो। माओवादी जुलुस र जनसभाका कारण राजधानीको यातायात व्यवस्था अस्तव्यस्त बनेका थिए।

……………………………………………………………………………………….

सेनाले प्रचण्डलाई मञ्च नदिने, माओवादी रुष्ट
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता, फेब्रुअरी १२-
नेपाली सेनाले माओवादी अध्यक्ष प्रचण्डले भोलि सैनिक मञ्चमा गरिने भनिएको सम्बोधन सभाको लागि सैनिक मञ्च नदिने भएको छ।

सेनाले सैनिक मञ्च नदिने भएपछि माओवादीले त्यसको विरोध गरेका छन्। माओवादीले अध्यक्ष प्रचण्डले सैनिक मञ्चबाट पहिलो पटक सार्वजनिक सम्बोधन गरिने भनी व्यापक प्रचार प्रसार गरिएको थियो। सेनाले सैनिक मञ्च नदिने भएपछि प्रचण्डको भाषण सहिद मञ्चबाट हुने भएको छ।

सेनाले सैनिक मञ्च उपलव्ध नगराएको बिरोधमा आज अपरान्ह ३ बजे माओवादी सुरक्षा दस्ता (योङ कम्युनिष्ट लिग) माओवादी भातृ संगठनहरु, उपत्यका ब्युरो तथा साँस्कृतिक समूहले काठमाडौंका विभिन्न भागबाट विरोध जुलुस तथा र्‍याली निकाल्ने भएका छन्।

माओवादीले सैनिक मञ्च उपलव्ध नगरेकोमा विरोध गर्दै मञ्चमा “पप गीत गाउन दिने र राजनीतिक पार्टीलाई भाषण गर्न नदिने यो कस्तो व्यवस्था हो” एक केन्द्रीय नेताले आक्रोश पोखाएका छन्।

सहमतिमा जाने समयमा “हामीले जबर्जस्ती गर्दैनौं तर उपस्थित जनताले भोलि सैनिक मञ्च कब्जा गर्न सक्छन्” माओवादी सुरक्षा दस्ता (योङ कम्युनिष्ट लिग) का अध्यक्ष रश्मिले जनाएका छन्।

Popularity: 12%

18 comments February 13th, 2007

शिक्षा दिवस नमनाइने, प्रजातन्त्र दिवस मनाइने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकारले राजा वीरेन्द्रको राज्याभिषेक भएको दिन मनाइँदै आएको शिक्षा दिवस नमनाउने भएको छ। तर सन्ताउनौँ राष्ट्रिय प्रजातन्त्र दिवस भने आगामी फागुन ६, ७ र ८ गते मनाउने भएको छ। यसका लागि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ।

प्रधानन्यायाधीश दिलीपकुमार पौडेलको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको समीक्षा हलमा बसेको बैठकले सो समितिको गठन गरेको हो।

मूल समारोह समितिका अन्य सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख सुवासचन्द्र नेम्बाङ, उपप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र अमिक शेरचन, मन्त्रीगण, पूर्वप्रधानमन्त्रीहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कृष्णप्रसाद भट्टर्राई र शेरबहादुर देउवा, उपसभामुख चित्रलेखा यादव रहनुभएको छ।

Popularity: 12%

1 comment February 13th, 2007

फागुन ६ गते ल्होसार मनाउन आग्रह

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
२१३४ अ‍ौँ फागु ल्होसार आयोजक मूल समारोह समितिले यही फागुन ६ गतेका दिन ल्होसार मनाउन सम्पूर्ण महायानी बौद्ध धर्मावलम्बीमा अपिल गरेको छ।

उक्त समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक बौद्ध दर्शनाचार्य कमल तामाङ मोक्तानले वर्षा एक दिनमात्र नयाँ वर्ष आउने भएकाले अलग अलग मनाइँदै आएको ल्होसार एकै दिनमा मनाइनुपर्नेमा जोड दिनुभयो।

संयोजक तामाङले सोनाम, तोला र ग्याल्बो ल्होसार अलग अलग दिन मनाइँदै आएकोमा ल्होसार भनेको एउटै हुने भएकाले यही फागुन ६ गते एकै दिनमात्र ल्होसार मनाउन सबैसँग अनुरोध गर्नुभयो।

सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा नेपालका महायानी बौद्ध सम्प्रदायका जनजातिहरूले स्वीकार गरेको महायानी बौर्द्धधर्मअनुरूपको ज्योतिषशास्त्रद्वारा प्रमाणित पात्रोअनुसारको ल्होसार अर्थात नयाँ वर्षसामान्यतया फागुनशुल्क प्रतिपदाको दिनपर्छ। शेपा, तामाङ, गुरुङ, योल्मोलगायतका नेपालका बौद्ध धर्मावलम्बी जनजातिहरूले ल्होसार मनाउँदै आएका उल्लेख गरिएको छ।

केही सङ्घसंस्थाले ल्होसारलाई “राजाले मान्ने ल्होसार” तथा “केही आप्रवासी तिब्बती”ले मान्ने ल्होसार भनी अनर्गल प्रचार गरिरहेका छन् भन्दै विज्ञप्तिमा ती सङ्घसंस्थालाई समग्र तिब्बती महायान बुद्ध धर्म, ज्योतिषशास्त्रलगायतका विविध पक्षलाई राम्ररी अध्ययन गर्न पनि अनुरोध गरिएको छ।

Popularity: 12%

Add comment February 13th, 2007

बस दुर्घटनामा एकको मृत्यु, ४० घाइते

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सिन्धुपाल्चोक जिल्लाबाट काठमाडौँतर्फ आइरहेको बा१ख ९१९६ नम्बरको यात्रुवाहक बस आज दिउँसो काभ्रे जिल्लाको पाँचखालस्थित अरनिको राजमार्गमा दुर्घटनाग्रस्त हुँदा एकको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

घाइतेमध्ये आठजनाको अवस्था गम्भीर रहेको छ।

घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। सो अस्पतालका अनुसार गम्भीर घाइतेमध्ये पाँचखाल गाविस-१ का ७० वर्षीय कृष्णप्रसाद सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो।

छत्तीस सिट क्षमताको उक्त बसमा १०० भन्दा बढी यात्रु राखिएको र बस द्रुतगतिका कारण पाँचखाल प्रहरी चौकीनजिक सडकमै पल्टिएको थियो। बसका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ।

Popularity: 12%

1 comment February 13th, 2007

निर्वाचन ऐन बनाउन आठ दलको बैठक बस्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधान सभाको निर्वाचनका लागि आवश्यक ऐन र नियमावलि बनाउनका लागि आठ दलको बैठक डाक्ने निर्णय प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालबीचको भेटमा भएको छ।

भेटमा आगामी संविधानसभाको निर्वाचनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

त्यस अवसरमा महासचिव नेपालले संविधानसभाको निर्वाचनका लागि आवश्यक ऐन, कानुन निर्माण गर्न सरकारका तर्फबाट थप गृहकार्य गर्नुपर्ने खाँचो औँल्याउनुभएको थियो।

उहाँले संविधानसभाको निर्वाचन प्रणाली, मतदानको प्रक्रिया, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, मतगणना प्रक्रिया लगायतका विषयमा छलफल गर्न आठ राजनीतिक दलको बैठक बोलाउन आफूले प्रधानमन्त्रीसमक्ष आग्रह गरेको बताउनुभयो।

Popularity: 12%

Add comment February 13th, 2007

माअ‍ोवादी र कर्मचारीबीच झडप

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का कार्यकर्ता र श्रीराम सुगर मिल्स गरुडाका मजदुर कर्मचारीबीच भएको दोहोरो झडपमा 2 पत्रकारसहित १२ जना घाइते भएका छन्।

सो मिल्सको एउटा गाडी माओवादीले कब्जा गरी चालक उमेश झासमेतलाई लगिरहेको अवस्थामा माओवादीको भ्रातृ सङ्गठन मधेसी राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष जयराम यादवलाई मिल्सका कर्मचारीले नियन्त्रणमा लिएपछि उनलाई छुटाउन गएका माओवादी कार्यकर्ता र मिल्सका कर्मचारीबीच झडप भएको हो।

झडपमा पत्रकारहरू प्रभात झा र महन ठाकुर, माओवादीका रामआशिस मुखिया, रामनाथ साह, राजकुमार सिंह, मिल्सका कर्मचारी चन्द्रबहादुर र्राई, सीताराम राय घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

घाइतेहरूको शिवनगर स्वास्थ्यचौकीमा उपचार भइरहेको बताइएको छ।

झडपपछि शान्ति सुरक्षा कायम गर्न गएको प्रहरी टोलीमाथि दुवै पक्षले ढुङ्गाले हिर्काउँदा प्रहरी निरीक्षक श्रीहजुर सिलवालसहित तीजना प्रहरी सामान्य घाइते भएका छन्।

Popularity: 12%

1 comment February 13th, 2007

कोरियामा आई धन कमाउने सपना खरानीमा परिणत (+Photo)

उत्तम गुरुङ, एचकेनेपाल डट कम द. कोरिया सम्वाददाता -
द. कोरियाको छल्लादोको येसुस्थित कानुन मन्त्रालय अध्यागमन विभागमा सोमबार अपरान्ह करिव ४ बजेतिर आगालागी हुंदा अध्यागमन विभागको कारागारभित्र रहेका ९ जना विदेशीको मृत्यु भएको छ भने २८ जना घाइते भएको कोरियास्थित समाचार एजेन्सीहरुले जनाएका छन्।

समाचार स्रोतका अनुसार ४ तले भवनको तेस्रो तलाको ३०४ नं. कोठादेखि आगलागी सुरु भएको थियो। मृत्यु हुनेहरुमा अधिकांश चिनीय नागरिक भएको बताइए पनि केहीको कुन देशका नागरिक हुन् भनेर सनाखत हुन सकेको छैन। घाइतेहरुको अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भैरहेको जनाएको छ।

आफ्नो परिवारको जीवनलाई सुखमय बनाउंने सपना बोकेर कोरिया आएका प्रवासी श्रमिकहरु सरकारी धरपकडमा परि उक्त अध्यागमन कारागारमा कडा सुरक्षाका साथ थुनिएका अवस्थामा आगलागीमा परेर ९ जनाले ज्यान गुमाएका थिए।

अध्यागमन विभागको कारागारमा ५५ जना विदेशीहरु धरपकड गर्दा पक्राउ परेर अनुसन्धान गरी स्वदेश फर्काउंने तयारी रहेकै अवस्थामा सो घटना भएको जनाएको छ।

घटनापछि मानव अधिकारवादी संघ संस्था, प्रवासी श्रमिक युनियनका कार्यकर्ताहरु ६ घण्टा लामो यात्रा गरी घटनास्थल पुगेर पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा सरकारले प्रवासी श्रमिकमाथि गर्दै आएको क्रियाकलापको घोर विरोध गर्दै मृतकको परिवारलाई उचित क्षतिपूर्तिका साथै घाइतेहरुको उचित उपचारको माग गरेका थिए।

सरकारद्वारा धरपकड बन्द गरी यहाँका सम्पूर्ण प्रवासी श्रमिकहरुलाई उचित व्यवस्था गर्नु पर्ने र यो लापरवाहीको लागि आम माफी माग्नु पर्ने विषयलाई लिएर प्रवासी श्रमिक युनियन (एमटीयु) तथा अन्य मानवअधिकारवादी संघसंस्थाहरुको संयुक्त विरोध सभा चांडै नै आयोजना गरिने जनाएको छ। विदेशीप्रति गरिने भेदभाव र अध्यागमन विभागका कर्मचारीहरुबाट हुने मनपरीतन्त्र, दूरव्यवहार र मानव अधिकार हननको विरोधमा आयोजना हुन लागेको विरोध सभामा सम्पूर्ण प्रवासी श्रमिकहरुलाई उपस्थित हुन आहृवान गरिएको छ।

तस्वीरः उत्तम गुरुङ द. कोरिया / एचकेनेपाल डट कम।


Popularity: 12%

2 comments February 13th, 2007

दोहामा अलपत्र परेकाहरुको आक्रोस राजदूतावासप्रति

कुमार कार्की, रवि भट्ट / एचेकेनेपाल डट कम, फेब्रुअरी ११ -
दोहा कतार, कतारको दोहामा विगत केहि समयबाट अलपत्र परेका नेपालीहरुको आक्रोस नेपाली राजदूतावास दोहाप्रति वढ्न थालेको छ।

दोहामा सम्पन्न एशियाली खेलका वेला काम गर्न ल्याईएका नेपालीहरु कम्पनीमा काम नपाएपछि अलपत्र परिरहेका वेला ती नेपालीहरुले आफ्नो समस्यालाई संवोधन नगरि समस्याबाट पन्छिन खोजेको भन्दै नेपाली राजदूतावास दोहाको चर्को आलोचना गर्न थालेका हुन्।

करिव ३ सय ५० जनाभन्दा बढी नेपालीहरु अलपत्र परेका थिए त्यस मध्ये आफ्नै पैसाले हवाई टिकट गर्दै केहि स्वदेश फर्की सकेका छन् भने अव बाँकी १ सय ९७ जना नेपालीअनिश्चित भविष्यको दोधारमा दिनहरु व्यतित गरिरहेका छन्।

मान्छेका आधारभुत समस्याहरुबाट समेत वञ्चित हुन थालेको वताउने उनीहरुका लागि गाँसवास र कपासको समस्या पर्दै गईरहेको छ। पछिल्लो समयमा कतारमा कार्यरत समाजसेवीहरुले केही राहत संकलन गरि खाने व्यवस्था गरे पनि आवास क्षेत्रमा पानी समेत नहुँदा हाल निकै ठूलो संकट भोग्नु परिरहेको वताएका छन्। मुलुकका विभिन्न क्षेत्रवाट रोजगारीका लागि कतार आएका ती युवाहरु नेपाली राजदूतावासप्रति आक्रोशित हुनुको मुख्य कारण चाँहि नेपाली राजदूतावास दोहाले समस्यामा परेका ती नेपालीहरुका लागि कुनै ठोस पाईला नचालेको दुखेसो पोखेका छन्।

गत शनिवार कतारमा कार्यरत समाजसेवीहरु स्याङ्गजा सेवा समाजका अध्यक्ष पूर्ण के. सी., गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहाका कोषाध्यक्ष के. वि हमाल, मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहाका सदस्य चाणक पोखे्रल, राजधानी साप्ताहिकका संवाददाता रवि भट्ट तथा मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज दोहाका सचिव कुमार कार्कीले पीडितहरुलाई भेट्दा उक्त दुखेसो पोखेका हुन्। पीडितहरुलाई भेट्दा आफूहरुका लागि पिउने पानीको व्यवस्था पनि नभएको दुखेसोपोखे पछि गैरआवासिय नेपाली संघका कोषाध्यक्ष के. वि हमालले पिउने पानी किनेर वितरण गर्नुभयो। गत केहि दिन अगाडी मोरङ्ग सुनसरी प्रवासी युवा सेवा समाज र प्रवासी झपाली संपर्क मंचले दाल र चामल राहत स्वरुप प्रदान गरेको थियो।

८५ हजार देखि १ लाख ३० हजार सम्मको मोटो रकम तिरेर कतार आएका ती युवाहरु विचल्लिमा परेपछि यसरी दुख पाउनु पर्दा पनि नेपालीको प्रतिनिधित्व गर्ने नेपाली राजदूतावासले चासो नदेखाएकोमा राजदूतावास विरुद्ध चर्का नारावाजी गर्न थालेका छन्। राष्ट्रको रेमिटेन्सका लागि आफूहरु विदेश आएको तर त्यहि रेमिटेन्सको भरमा तलव खाएर वस्ने राजदूतावासका कर्मचारीहरुले आफ्ना समस्याप्रति चासो नदेखाए पछि उनीहरुले त्यस्ता नारावजी गर्न थालेको वताएका छन्। वास्तविक कमिसन खाने राजदूतावासका कर्मचारी भएको पनि आरोप लगाएका छन्।

नेपाली राजदूतावासमा आफ्ना समस्या लिएर जाँदा भोलि भन्दै टार्ने प्रवृत्ति रहेको गुनासो पोख्दै आफूहरुले दुख पाउनुमा राजदूतावासको पनि हात रहेको आरोप लगाएका हुन्।

राजदूतावास मात्र नभएर केहि व्यत्तिहरुले पनि आफूहरुलाई झुलाउने गरेको आरेप लगाएका छन्। अर्को कम्पनीमा काम लगाउने प्रलोभन देखाएर कम्तीमा ५४०० नेपाली रुपैया वरावरको रकम असुल गरे अर्को कम्पनीमा काम गर्न पाईने आश्वासन दिने गोकुल कुँवर भन्ने व्यक्तिले पनि आफूहरुलाई भुक्याईरहेको आरोप लगाएका छन्।

आफु आएका म्यानपावरका मान्छेहरुले आफु नेपाल र्फकनु परे रकम फिर्ता गन नसक्ने जानकारी दिएको वताएका छन् राजधानी म्यानपावरका निर्देशक धन वहादुर खड्काले रकम फिर्ता गर्न नसक्ने जानकारी दिदैं कतारमा नै काम खोजिदिने प्रलोभन देखाएका छन्। राजदुतावासले भिसा प्रमाणिकरण गर्ने वेलामा राजदुतावासको गल्ति भएको स्विकारेको पनि पिडितहरुले पत्रकारहरु समक्ष व्यक्त गरेका छन्।

हाल संवन्धित म्यानपावरका मान्छेहरु कतारमा रहेका तर आफ्ना कामदारको समस्यामा भन्दा पनि नयाँ भिसाका खोजीमा तल्लिन रहेको वुझिन आएको छ। कम्पनिको आवास क्षेत्रमा खानेपानीको लाई काटे पछि पत्रकार रवि भट्टले ति व्यक्तिहरुलाई सम्पर्क गरि समस्याको अवगत गराउनु भएको थियो।

विभिन्न ८ भन्दा वढि म्यानपावर मार्फत दोहामा आएका ति कामदारहरुका लागि अझै पनि ठोस कदम नचाल्ने हो भने झन ठुलो संकट पर्ने कुरा समाजसेवीहरु वताउछन्। हाल दोहामा चर्चाको विषय नै वनि सकेको यो समस्याका वारेमा जताततै चर्चा हुने गरे पनि समाधानमा भने कम मात्र चासो दिने गरेको पिडितहरु वताउछन्।

Popularity: 12%

Add comment February 12th, 2007

कोरियामा पत्रकार आचार्य सम्मानित (+Photo)

राप्के लामा, एचकेनेपाल डट कम दक्षिण कोरिया-
प्रवासी भूमि द. कोरियामा रहेर अनवरत रुपमा प्रवासी नेपालीहरुका समाचार विभिन्न अनलाइनहरुमा सम्प्रेषण गरिरहनु भएका नेपाली प्रवासी पत्रकार संघ, नेपाल पत्रकार महासंघ कोरिया सम्पर्क शाखाका सचिव भूपेन्द्र आचार्य सम्मानित हुनुभएको छ।


सम्मान तथा प्रशंसा पत्र ग्रहण गर्दै पत्रकार आचार्य, तस्वीरः राप्के लामा

नेपाल कोरिया सांस्कृतिक मञ्च द. कोरियाले आफ्नो संगीत सरगम नामक कार्यक्रम सफल भएकोमा सउल स्थित हिमालय रेष्टुरेण्टमा आयोजित नयां कार्य समितिको घोषणा तथा जलपान समारोहमा नेपाली नेपाल जापान डट कम, एचकेनेपाल डट कम, समुद्रपारी डट कम र कामना प्रकाशन समूहका द. कोरिया प्रतिनिधी (रिपोर्टर) भूपेन्द्र आचार्यलाई सो मञ्चका पूर्व सभापति तथा संस्थापक सल्लाहकार गंगा राईले नेपाली ढाका टोपी लगाई दिई प्रसंसा पत्रका प्रदान गरि सम्मान गर्नुभयो। एक दशक अगाडीदेखि पत्रकारिता पेशामा लाग्नु भएका आचार्य नेपालमा रहंदा प्रभातकालीन दैनिक र जनसत्ता साप्ताहिक जस्ता चर्चित पत्रिकाहरुको सम्पादक समेत रहिसक्नु भएको थियो।

पत्रकार आचार्य द. कोरियामा रहेर पनि आफ्नो पत्रकारिता पेशालाई अनवरत रुपमा अगाडी बढाईरहनु भएको छ। वहांको सफलतको लागि हाम्रो पनि शुभकामना।

Popularity: 12%

1 comment February 12th, 2007

नेपाल कोरिया सांस्कृतिक मञ्चद्धारा जलपान कार्यक्रम सम्पन्न (+Photo)

भूपेन्द्र आचार्य, एचकेनेपाल डट कम दक्षिण कोरिया-
नेपाल कोरिया सांस्कृतिक मञ्च द. कोरियाद्धारा आयोजना गरिएको संगीत सरगम कार्यक्रम सफल भएको उपलक्ष्यमा एक जलपान कार्यक्रमको आयोजना गर्‍यो।

आफ्नो संस्थाको प्रथम वाषिर्कोत्सव तथा नयां कार्य समितिको समेत घोषणा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली सर्म्पर्क समितिका अध्यक्ष बम प्रसाद लावतीले नेपाली कला संस्कृतिलाई प्रवासी भूमिमा रहेर पनि विश्व सामू चिनाउन लागि परेको यस संस्थासंग आफ्नो संस्था सहकार्य गरि अगाडी बढ्न तयार रहेको कुरा बताउनु भयो । यसैगरि उक्त संस्थाका पूर्व अध्यक्ष तथा संस्थापक सल्लाकार गंगा राईले संस्था जन्माउनु ठूलो कुरा नभएको तर यसलाई हुर्काउनका साथ जिवित राख्नु सबैको कर्तब्य रहेको बताउनु भयो। नेपाल कोरिया सांस्कृतिक मञ्चका नव निर्वाचित प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमलाई सम्बोधन गर्दै तनहुं प्रवासी उद्धार समितिका अध्यक्ष राजु दर्लामी मगरले राष्ट्रले उत्पादन गर्न नसकेका कलाकारहरु यस संसथाले उत्पादन गरि नेपाली संस्कृतिलाई विश्व सामू चिनाउने कार्य गरेकोमा खुशी ब्यक्त गर्नु भयो। नेपाल कोरिया सांस्कृतिक मन्चका महासचिव राजु आङ देम्बेले सञ्चालन गर्नु भएको सो कार्यक्रममा माइग्रेन्ट ट्रेड युनियनका केन्द्रीय अध्यक्ष काजीमान खापुङ्गले प्रवासी भूमि द. कोरियामा नेपालीका प्रत्येक समस्याहरुलाई आफ्नो संस्थाले उठाउने बताउंदै नेपालीको छोरा एम् टीयु जस्तो संस्थाको अध्यक्ष पदमा पुगेकोमा सम्पूर्ण नेपालीहरुले गौरब गर्ने खुलासा गर्नु भयो ।

सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको उक्त कार्यक्रममा किरात र्राई परिवारका अध्यक्ष सम्भु राई, भोजपुर परिवारका अध्यक्ष प्रकाश राई, नेपाल बौद्ध परिवारका अध्यक्ष नरेन्द्र गुरुङ्ग, नेपाल मगर संघका सचिव गगन पुन, लमजुङ्ग परिवारका उपाध्यक्ष कृष्ण गुरुङ्ग, परदेशी युवा क्लव स्याङ्जाका उपाध्यक्ष गुप्त गुरुङ्ग र नेपाल मजदुर समितिका अध्यक्ष दिलिप सुब्बाले समेत बोल्नु भएको थियो।


तस्वीरः राप्के लामा / एचकेनेपाल डट कम।

Popularity: 12%

Add comment February 12th, 2007

सुम्निमा सांस्कृति कार्यक्रमको तयारी अन्तिम चरणमा

सुम्निमा सांस्कृति कार्यक्रमको तयारी अन्तिम चरणमा
अध्यक्ष राईद्धारा सम्पूर्ण नेपालीहरुलाई सहभागी हुन आग्रह
भूपेन्द्र आचार्य, एचकेनेपाल डट कम दक्षिण कोरिया-
दक्षिण कोरियामा आगामी फेबुअरी १८ आईतबार सम्पन्न हुन गइरहेको किरांत राई परिवारको छैठौ वाषिर्कोत्सव तथा सुम्निमा सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ।

छैठौं वाषिर्कोत्सवका तयारीका बारेमा सम्बन्धमा सो परिवारका अध्यक्ष सम्भु राईद्धारा एक प्रेस विज्ञप्ति प्रकासित गरी कोरियाका सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुलाई सहभागी भैदिनहुन हार्दिक अपील गर्नु भएको छ। वहांद्धारा जारी विज्ञप्तिमा भनिएको छ, किरांत राई परिवार सधै आम नेपालीवीच एक आपसमा सौहार्द्धताका साथ सहयोग तथा सद्भावना निरन्तरताका लागि प्रतिवद्ध रहेको छ।

२००२ मा यस संस्थाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा आम नेपाली दाजु भाइ तथा दिदी वहिनीहरुको बृहत उपस्थितिले सफलताको शिखर चुमेको यहांहरुलाई अवगतै छ । यस संस्थाले आफ्नो छैठौं वाषिर्कोत्सव सम्पन्न गर्न नेपाल बाट 1974 एडी, नायिका पुजना प्रधानका साथमा गायिका राधा राईलाई नेपालबाट निम्तो गरी सांस्कृतिक कार्यक्रम गर्ने भएकोले सम्पूर्ण कोरियावासी नेपालीहरु उक्त कार्यक्रममा उपस्थित भैदिन हुन हार्दिक अनुरोध गर्नु भएको छ । साथै यस संस्थाले उक्त कार्यक्रममा सबैले हेर्न पाओस् भनेर कोरियामा अध्ययनरत विद्यार्थीहरुलाई ४० प्रतिशत, कामको सिलसिलामा अपाङ्ग भएकाहरुलाई निःशुल्क गरिएको र प्रत्रकार साथीहरुलाई आफ्नो नैर्सर्गिक अधिकार प्रदान गरेका छौं भन्नु भएको छ।

स्मरणीय छ, उक्त कार्यक्रमबाट संकलित रकम नेपालमा द्धन्द्ध पिडीत असहाय वालवालिकाको शिक्षाको लागि खर्च गरिने भनिएको छ ।


Popularity: 12%

Add comment February 12th, 2007

मधेशीहरुलाई जनजातीहरुको प्रश्न : किन नेपाली भाषाको बिरोध गर्छौ ?

सृजना लिम्बु, एचकेनेपाल डट कम, फेब्रुअरी ११-
दबिएको नेपाली समूदायको रूपमा रहेपनि जनजातीहरुलाई नेपाली भाषा र नेपाली राष्ट्रियताको असाध्यै माया छ भने नेपालको मूल प्रवाहमा आउन खोज्ने अर्को दबिएको बर्ग मधेशीहरु किन नेपाली भाषा र नेपाली शब्द लाई ‘हेट्’ गर्छन ? किराँत याक्थुङ चुम्लुङ अमेरिकाका उपाअध्यक्ष नगेन्द्र इङ्नामले तराईका सम्बन्धमा शनिबार न्यूयोर्कमा आयोजित एक कार्यक्रममा सोधेको यो प्रश्नले न्यूयोर्कमा रहेका नेपाली मधेशीहरुलाई अन्तत्: भावुक बनाई छाडयो ।
नेपालको संसदमा हालै केही मधेसी सांसदहरुले तराईको भाषामा सम्बोधन गर्दा कमान सिंह लामा लगायतका अर्का सांसदहरुलाई पर्न गएको अप्ठ्यारो प्रती पनि कार्यक्रममा धेरैले मनमनै भावुक भएर सोचे ।
प्रत्युत्तरमा मधेशी मूलका प्राध्यापक प्रमोद कण्ठ्ले भने–अनेक भाषा भाषी भएको तराईमा मधेशीहरुले आ-आफ्नो भाषा प्रयोग गरेपनि राष्ट्रिय स्तरमा संपर्क भाषा नेपालीको सम्मान मधेशीहरुले पनि गर्नु पर्छ । उँहाले आफूले पनि नेपाली भाषामा कविता लेखेको उल्लेख गर्दै अधिकार खोज्नको लागि सबै तराईबासी र पहाड्वासी जनजाती मिल्नुपर्ने कुरामा जोड दिनुभयो।

प्राध्यापक महेन्द्र लावतीले मान्छेले बौद्यिक रुपमा संगठित भएर अगाडि बढ्नु पर्ने बताउनु भयो। संयुक्त राष्ट्रसंघका उप महासचिब कुलचन्द्र गौतमले जती जात जातीहरुमा बाडिंएपनि नेपाली राष्ट्रियता र अखण्डता भन्दा ठुलो अरु केही नहुने बताउनु भयो।

कार्यक्रममा तराई आन्दोलनका क्रममा “मधेशलाई छुट्टै राष्ट्र बनाउने र छुट्टै राष्ट्र बनिसके पछि त्यसले नेपाललाई शत्रुको रुपमा हेरी नेपालसंग कहिल्यै कूटनीतिक सम्बन्ध स्थापना नगर्ने” भन्ने आशयको अभिब्यक्ती दिने परमेन्द्र कुमार भगतलाई र्‍याख्र्‍याख्ती पारिएको थियो।

यूनाईटेड नेप्लिज डेमोक्र्याटिक फोरमका टेक गुरुङले सम्बिधान सभामा जान लागेको “क्रीटिकल्” अवस्थामा पहाडे मधिशे जस्तो सम्बेदनशील बिषयमा आगो सल्काएकोमा उनीहरुप्रती तीतो प्रकट गरेका थिए भने ADHRN का महासचिव अनिल शाहीले कोही कोही मधेशबासिले अर्को मधेस् देश बनाउने ब्यक्तिगत अभिब्यक्ती दिनुको असल नियत के हो भनी धेरै जटिल र सम्बेदनासिल प्रश्न गरेका थिए।

अझ अर्का मधेशवासी सतेन्द्र साहले नेपालको तराईमा अन्य आफ्नै भाषाहरु भएको अवस्थामा हाम्रो देशमा भारतीय हिन्दी भाषाको वकालत गर्नु ठीक नभएको बिचार ब्यक्त गरे। कार्यक्रममा अमेरिकन, जापान तथा अन्य मुलुकका शुभचिन्तक मित्रहरूले पनि चासोकासाथ धेरै प्रश्नहरु गरेका थिए।

कार्यक्रम न्यू स्कूल बिश्वबिद्यालयको इण्डिया- चाईना ईन्स्टिच्यूट्ले आयोजना गरेको थियो। उक्त अवसरमा ईन्स्टिच्यूट्का निर्देशक अशोक गुरुंगले कार्यक्रमको शुरुवातकासाथ सम बिषयमा बोल्दै समापन गर्नु भएको थियो।

Popularity: 12%

1 comment February 12th, 2007

राजा महेन्द्रको सालिक तोडफोड

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
महेन्द्रनगर बजारको मध्य भागमा रहेको राजा महेन्द्रको शालिक अखिल क्रान्तिकारीका विद्यार्थीहरुले तोडफोड गरेका छन्।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले शनिबार राति राजा महेन्द्रको सालिक तोडफोड गरेका हुन् । जनआन्दोलन-२ का बेला आन्दोलनकारीहरूले तोडफोड गरेको उक्त सालिक मर्मत गरिएको थियो ।

उक्त समूहले सालिकसँगै रहेको स्मारक क्षेत्रमा समेत तोडफोड गरेका छन् ।

सालिकमा क्रान्तिकारीले आफ्नो पार्टीको झण्डा पनि राखेका छन् ।

Popularity: 12%

1 comment February 12th, 2007

आदिवासी जनजातिको वार्ता समिति गठन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आदिवासी जनजाति महासङ्घले सरकारसित वार्ता गर्न एउटा समिति गठन गरेको छ ।

सरकारले आह्वान गरेअनुसार महासङ्घले आफ्नो सल्लाहकार डा.ओम गुरुङको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो ।

समितिका अन्य सदस्यमा डा.कृष्णबहादुर भट्टचन, सोमा र्राई, कृपासुर शेर्पा र भुलाई चौधरी रहनुभएको छ ।

समितिलाई आवश्यक सल्लाह दिन पद्मरत्न तुलाधरको संयोजकत्वमा छ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको महासङ्घका अध्यक्ष पासाङ् शेर्पाले बताउनुभयो ।

Popularity: 12%

1 comment February 12th, 2007

साहित्यकार हुमागाईँ रहेनन्

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
साहित्यकार जनकप्रसाद हुमागाइँको ६९ वर्षको उमेरमा हिजो साँझ निधन भयो ।

क्यान्सरबाट पीडित साहित्यकार हुमागाईँको उपचारका क्रममा नर्भिक एस्कर्टस् इन्टरनेसनल अस्पताल काठमाडौँमा मृत्यु भएको हो ।

नेपाल बाल साहित्य समाजका संस्थापक अध्यक्षसमेत रहनुभएका स्वर्गीय हुमागाइँका गीति काव्य, खण्डकाव्य र बालकथा गरी एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

उहाँले शृङ्खला र बालपोषजस्ता साहित्यिक पत्रिकाको सम्पादनसमेत गर्नुभएको थियो ।

आज दिउँसो एक बजेसम्म उहाँको पार्थिव शरीर नेपाल प्रज्ञाप्रतिष्ठानमा राखिनेछ र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

स्वर्गीय हुमागाईँका श्रीमती र पाँच छोरा हुनुहुन्छ ।

Popularity: 12%

1 comment February 12th, 2007

गृहमन्त्रीले राजीनामा नदिएसम्म फोरम वार्तामा नबस्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेशी जनअधिकार फोरमले गृहमन्त्रीले राजीनामा नदिएसम्म आफूहरु वार्ताको टेबलमा नबस्ने बताएको छ।

संयुक्त मधेसी मोर्चा काठमाडौँद्वारा हिजो आयोजित ‘मधेसी जनअधिकारका आधारभूत सहमतिका बुँदाहरू’ विषयक गोष्ठीमा फोरमले यस्तो चेतावनी दिएको हो।

कार्यक्रममा उपसभामुख चित्रलेखा यादवले जनआन्दोलन भाग-२ को आधारभूमि जनकपुर भए पनि आठ राजनीतिक दलले मुलुकको यथार्थलाई बुझ्न नचाहँदा मधेसका जनताले थप विद्रोह गर्नुपरेको बताउनुभएको छ।

उहाँले वर्तमान समयमा राजनीतिक दलहरू समस्या समाधान गर्नेतर्फ होइन सत्ता लिने काममा मात्र लागेको गुनासो गर्नुभयो

पूर्वमन्त्री एवं फोरमको वार्ता टोलीका सदस्य सीतानन्दन रायले तराईका जनप्रतिनिधि एकढिक्का भएर काम गरेमा सरकार मधेसका समस्या समाधान गर्न बाध्य हुनुपर्छ भन्नुभयो।

उक्त गोष्ठीका सहभागीले संविधान तुरुन्त संशोधन गरिनुपर्ने, गृहमन्त्रीले नैतिकताका अधारमा राजिनामा दिनुपर्ने तर्राईको आन्दोलनमा भएको दमनको उच्चस्तरीय छानबिन समिति बनाई दोषीलाई कारबाही गर्नुपर्ने र मारिएकालाई सहिद घोषणा गरी उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभयो।

Popularity: 12%

3 comments February 11th, 2007

जनआन्दोलन दबाउनेमाथि कारबाहीको जिम्मा अख्तियारलाई

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जनआन्दोलनमा भएको दमनका बारेमा छानबिन गर्न गठित रायमाझी आयोगको सिफारिसको कार्यान्वयन जिम्मा अख्तियारलाई दिइएको छ।

अख्तियारले यही साताबाट कारबाही थाल्ने भएको छ।

यसैबीच, उपप्रधानमन्त्री एवं जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले जनआन्दोलन दबाउनेमाथि सरकारले कारबाही गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ।

अखिल नेपाल जनवादी युवा सङ्घको छैटौँ राष्ट्रिय सम्मेलनको काभ्रेको धुलिखेलमा उद्घाटन गर्दै उपप्रधानमन्त्री शरचनले सरकारले जनआन्दोलनका दोषीलाई कारबाही गर्न प्रक्रिया सुरु गरिसकेको र दोषीहरूको नामावली छिट्टै सार्वजनिक गरिने जानकारी दिनुभयो।

नोटहरूमा राजाको निसानी हटाई सगरमाथा चित्र अङ्कित नोटहरू प्रकाशन गर्न लागिएको जानकारी दिँदै उहाँले प्रतिगामी र निरङ्कुशहरू बढारिएर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भई छाड्ने ठोकुवा गर्नुभयो।

कार्यक्रममा नेकपा (माओवादी)का प्रवक्ता एवं विधायक कृष्णबहादुर महराले संविधानसभाको निर्वाचनलाई असफल बनाउन प्रतिगामीहरूको चलखेल बढेको बताउँदै लोकतन्त्रलाई सफल बनाउन युवा समूह चनाखो हुनुपर्ने बताउनुभयो।

Popularity: 12%

Add comment February 11th, 2007

सरकारद्वारा ब्रेललिपि स्वीकृत

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालमा दृष्टिविहीनहरूले प्रयोग गर्ने ब्रेललिपिलाई शिक्षा तथा खेलकुद मन्त्रालयले हालै स्वीकृत गरेको शिक्षा विभागले जानकारी दिएको छ।

यसबाट देशका विभिन्न क्षेत्र, जिल्ला एवं स्थानहरूमा सबै दृष्टिविहीनहरूले एकै किसिमको ब्रेललिपि प्रयोग गर्ने आधार तयार भएको छ।

विगत १८ वर्षेखि नेपाली ब्रेललिपि प्रयोग हुँदै आएको भए पनि सरकारले स्वीकृत नदिएकाले समस्या सृजना भएको थियो।

Popularity: 12%

Add comment February 11th, 2007

एकै खुट्टाले साइकल चलाउँदै ४९ जिल्लाको भ्रमण नुवाकोट

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कैलालीका २९ वर्षीय यमलाल रसाइली एकै खुट्टाले साइकल चलाउँदै ४९ जिल्लाको भ्रमण गरिसकेका छन्। बायाँ खुट्टामात्र भएका रसाइली हिँडेर बिहीबार पाँचौँ पटक काठमाडौँको बुढानिलकण्ठबाट नुवाकोट उत्रिए।

प्रथम नुवाकोट महोत्सवका अवसरमा आयोजित माउन्टेन बाइक प्रतियोगितामा भाग लिएका रसाइली छ घण्टामा नुवाकोट आइपुगेका हुन्।

बुढानिलकण्ठबाट छहरे हुँदै ४६ किलोमिटरको दूरी साइकलबाट पार गरी नुवाकोट उत्रिएका उनलाई महोत्सव मञ्चमा स्वागत र पुरस्कृत गरिएको थियो।

उनले कैलालीमा सिलाइ व्यवसाय गर्दै आएका छन्।

Popularity: 12%

1 comment February 11th, 2007

असारमा राजतन्त्र अन्त्यको घोषणाः गौतम

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जेठमा संविधानसभाको चुनाव भई असारको पहिलो हप्ता बस्ने संविधानसभाको साधारण बैठकले राजतन्त्रको अन्त्य गर्ने घोषणा गर्ने विश्वास नेकपा (एमाले)का स्थायी कमिटी सदस्य वामदेव गौतमले व्यक्त गर्नुभएको छ।

नेकपा (एमाले) तनहुँद्वारा हिजो दमौलीमा आयोजित बृहत् र्‍याली र जनसभामा उहाँले प्रतिगमनकारीहरू अझै पनि नेपाली जनतालाई भ्रममा पार्न लागिरहेकाले त्यसतर्फचनाखो भइरहनुपर्नेमा जोड दिनुभयो।

नेकपा (एमाले)का केन्द्रीय सदस्य त्रिलोचन ढकालले २३८ वर्षपुरानो राजतन्त्र नहटेसम्म मुलुक माथि उठ्न नसक्ने बताउनुभयो।

अर्का केन्द्रीय सदस्य पृथ्वी सुब्बा गुरुङले संविधानसभाको चुनावमा गणतन्त्रको पक्षमा अत्यधिक मत ल्याउन सबै लाग्नुपर्छ भन्नुभयो।

Popularity: 12%

1 comment February 11th, 2007

लोकतन्त्र मदिरा बेच्नका लागि ?

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कसलाई केको धन्दा, घरज्वाइँलाई खानको धन्दा भने जस्तै लोकतन्त्र व्यापारीहरुलाई मदिरा बेच्ने निहुँ भएको छ। आठ वर्षअघि नुवाकोट जिल्लामा बन्द रहेको मदिराको बिक्री वितरण प्रथम नुवाकोट महोत्सवको अवसर पार्दै व्यापारीहरूले खुल्ला रूपमा गर्न थालेका छन्।

वि.सं. २०५६ देखि जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र जिल्ला प्रहरी कार्यालयले मदिरा निषेधित क्षेत्र घोषणा गरेको नुवाकोटमा खुल्ला रूपमा मदिरा बिक्री भएको यो पहिलो पटक हो।

“हामी आठ वर्षेखि मदिरा खुलाउने प्रयत्नमा थियौँ, आज सफल भइयो”- नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नुवाकोट महोत्सव आयोजक समितिका संयोजक शरण उत्सुक भन्छन्।

नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको महोत्सव स्टलमा विदेशी तथा स्वदेशी रक्सीहरू बिक्रीका लागि राखिएका छन। आधा दर्जन स्टलमा रहेको मदिरा देखेर नुवाकोटवासी अचम्ममा परेका छन्।

जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेपछि अधिकृत बिक्रेताहरूको अनुमतिपत्र समेत प्रशासनको निर्देशनमा कोष तथा लेखा नियन्त्रण कार्यालयले नवीकरण गरेको छैन।

Popularity: 12%

Add comment February 11th, 2007

Next Posts Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....