Archive for February 1st, 2007

नोना कोइरालाको निधनले क्षति

भूपेन्द्र आचार्य, एचकेनेपाल डट कम द. कोरिया प्रतिनिधि -
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख श्रीमति नोना कोइरालाको निधनले लोकतान्त्रिक आन्दोलन र नयां नेपाल निर्माणमा अपूरणीय क्षति पुगेको नेपाली जनसम्पर्क समिति र नेपाली जनसम्पर्क समिति प्रजातान्त्रिक द. कोरियाले जनाएको छ।

२००७ सालदेखि लगातार प्रजातान्त्रिक आन्दोलनमा सकृय रहनु भएकी श्रीमति कोइरालाको निधनले नेपाली जनसम्पर्क समिति द. कोरिया स्तब्ध भएको छ। समितिका अध्यक्ष रतन सुब्बाद्वारा जारी प्रेस विज्ञप्तिमा भनेको छ- यस शोकको घडीमा नेपाली जनसम्पर्क समिति द कोरिया मृतक आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तब्ध परिवार जनहरुमा समवेदना ब्यक्त गर्दछ।

यसैगरि नेपाली जनसम्पर्क समति प्रजातान्त्रिकका अध्यक्ष साम्राज्य राज पाण्डेद्वारा जारी विज्ञप्ति अनुसार प्रजातान्त्रिक आन्दोलनकी महान् योद्धा श्रीमति नोना कोइरालाको निधनमा शोक ब्यक्त गर्दै उहाँको निधनबाट समग्र लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ। यस दुःखद समाचारले हामी सबैलाई स्तब्ध भएको जनाउंदै शोकको यस घडीमा मृतात्माको चिर शान्तिको कामना गर्दै समवेदना ब्यक्त गर्दछौं - वक्तव्यमा भनेको छ।

Popularity: 12%

1 comment February 1st, 2007

प्रमको सम्बोधन धोका, आन्दोलन जारी

एचकेनेपाल डट कम, काठमाडौं सम्वाददाता -
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बुधबार देशवासीको नाममा गरेको सम्बोधन अपूरो र धोका भन्दै आन्दोलनरत पक्षले आन्दोलन जारी राख्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री कोइरालाको सम्बोधनपछि पनि तराईमा तनाव कायम नै रहेको छ। मधेसी जनअधिकार फोरमलगायत विभिन्न संघसंस्थाले प्रधानमन्त्री कोइरालाको सन्देश अपूरो र धोकापूर्ण भन्दै आन्दोलन जारी राख्ने घोषणा गरेका हुन्।

स्थिति तनावपूर्ण रहेकाले विराटनगर र रौतहटमा स्थानीय प्रशासनले बिहान ९ बजेदेखि कर्फ्यु जारी गरेको छ। हिजोदेखि तनावग्रष्त बनेको विराटनगरमा बिहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। रौतहटको चन्द्रनिगाहपुर गरुडालगायतका क्षेत्रमा आज बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म कर्फ्यु जारी गरेको छ।

चन्द्रनिगाहपुरमा पहाडीय र मधेसीबीच बढ्दै गएको तनावले साम्प्रदायिक दंगाको रुप लिन सक्ने सम्भावना बढ्दै गएको समाचार स्रोतले जनाएको छ।

Popularity: 12%

Add comment February 1st, 2007

एनआरएनद्वारा तराईको वर्तमान संकटप्रति चिन्ता व्यक्त

एचकेनेपाल डट कम -
एनआरएन (गैर आवासीय नेपाली संघ) ले तराईको वर्तमान संकटप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद गैर आवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महतोद्वारा जारी प्रेस विज्ञप्तिमा भनेको छ -

सात दल र नेकपा माओवादीबीच सम्पन्न शान्ति सम्झौता, अन्तरिम संबिधान र अन्तरिम संसदको स्थापनापछि देश संबिधानसभाको निर्वाचनमा केन्द्रित हुंदै राजनैतिक स्थिरतातर्फ उन्मुख भइरहेकै बेला तराईमा पुनः हिंसाको स्थिति उत्पन्न भएकोमा गैर आवासीय नेपाली संघ गहिरो चिन्ता व्यक्त गर्दछ।

प्रेस विज्ञप्तिमा अघि भनेको छ - तराईका जनताले उठाएका र अन्तरिम संबिधानले सम्बोधन गर्न नसकेका सबै न्यायोचित विषयमा राष्ट्रिय चिन्तन गरी सहमतिको आधारमा नेपालको शासन प्रणालीको निर्माण गर्न आन्दोलनरत सबै पक्षलाई यथासिघ्र वार्ताको लागि आहृवान गर्न हामी सरकारको ध्यानाकर्षण गर्दछौं।

प्रतिशोध, आगजनी, तोडफोड लुटपातजस्ता हिंसात्मक कार्यले साम्प्रदायिक शक्तिलाई बल पुर्‍याउने हुंदा त्यस्ता क्रियाकलाप रोक्न गैर आवासीय नेपाली संघले आहृवान गरेको छ।

Popularity: 12%

2 comments February 1st, 2007

किरात याक्थुङ चुम्लुङद्वारा भत्सर्ना

एचकेनेपाल डट कम-
वैदेशिक रोजगार व्यवसायी संघका वर्तमान अध्यक्ष एलपी साँवा लिम्बूमाथि ज्यान लिने उद्धेश्यले गरिएको आक्रमणप्रति याक्थुङ चुम्लुङ अमेरिकाले घोर भत्सर्ना गरेको छ।

चम्लुङका अध्यक्ष पूर्णबहादुर लिम्बू थेबेद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा यस प्रकारको दुश्प्रयासमा संगलग्न व्यक्तिहरुलाई यथासिघ्र गिरफ्तार गरी कडा कारवाही गर्न माग गर्दै नागरिक जनजीवनको यथोचित सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसंग हार्दिक आग्रह गरिएको छ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष एलपी सावाँ लिम्बूलाई मंगलबार बिहान अज्ञात समूहले गोली प्रहार गरेका थिए। मोटरसाइकलमा आएका ती समूहले चलाएको गोली लिम्बु बसेको गाडीको सिट मुनि लागेकोले त्यस अप्रिय घटनाबाट लिम्बू बचेका थिए।

Popularity: 12%

4 comments February 1st, 2007

दंगामा एक प्रहरीको मृत्यु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विराटनगरको उत्तरी क्षेत्र पुष्पलाल चोक, कञ्चनबारी चोक, ब्रहृमपुरा, कटहरी गाविस जाने सिंघिया पुल छेउमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका क्रममा घाइते भएका प्रहरी नायब निरीक्षक नरेशजङ्ग कार्कीको मृत्यु भएको छ।

मिल्स एरियाको मटेरवामा अपराहृन सीमावर्ती गाविस बुधनगरतिरबाट आएका प्रदर्शनकारीले कफ्र्युको उल्लङ्घन गरी प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच केही बेर झडप भएपछि त्यसलाई साम्य पार्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको त्यस क्रममा दाहोरो फायरिङ हुँदा कार्की गम्भीर घाइते भएका थिए।

घटनामा अन्य केही प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ एकको मृत्यु र केही व्यक्ति घाइते भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

त्यस्तै दुइ प्रहरी सर्म्पर्कमा नरहेको पनि बताइएको छ।

यसैबीच फोरमका आन्दोलनकारीहरूले मोरङको झोराहाटस्थित प्रहरी चौकीलाई अपराहृन १ बजेतिर आगो लगाई ध्वस्त बनाएका छन्।

Popularity: 12%

Add comment February 1st, 2007

घाइते र निधन भएकालाई बेवास्ता गरिएको आरोप

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा -एमाले)का केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा देशवासीलाई गरेको सम्बोधनमा प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्रीले आन्दोलनमा सहादत प्राप्त गर्ने तथा घाइतेका बारेमा समवेदना र सहानुभूति व्यक्त नगर्नु सम्बोधनको दुर्बल पक्ष रहेको टिप्पणी गर्नुभयो।

केन्द्रीय सदस्य झाले प्रधानमन्त्रीले वार्ताका लागि आहृवान गर्नु सकारात्मक कुरा भएकाले त्यससम्बन्धमा जिम्मेबार भएर सजग भूमिका निर्वाह गर्नु जरुरी छ भन्नुभयो।

नेकपा -माओवादी)का धनुषा जिल्ला इन्चार्ज रोसन जनकपुरीले सम्बोधन अपर्याप्त र भ्रमपूर्ण रहेको टिप्पणी गर्नुभयो।

नेपाल सद्भावना पार्टी कार्यवाहक राष्ट्रिय अध्यक्ष लक्ष्मणलाल कर्णले सम्बोधनलाई सकारात्मक रूपमा लिँदै आन्दोलनरत सबै दल, सङ्घसंस्थासँग वार्ता गरी समस्याको उचित समाधान अविलम्ब गर्न सरकारसँग माग गर्नुभयो।

Popularity: 12%

Add comment February 1st, 2007

श्रीस्वस्थानी व्रतकथाको आज समाप्ति

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
हिन्दु धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदैछ।

व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि नुहाई मध्याहृन श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गर्राई गरिब तथा दुःखीहरूको उद्धार गर्नुभएकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ।

आज व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने १०८ रोटी, १०८ पान, १०८ कुड्का सुपारीलगायतका सामग्रीमध्ये आठ-आठवटा रोटी, सुपारी र पानलगायतका सामग्री आफ्ना श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मितछोरालाई दिने र मितछोरा पनि नभए मेरो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने प्रचलन छ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो।

Popularity: 12%

Add comment February 1st, 2007

प्रधानमन्त्रीको सन्देशको पूर्ण विवरण

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री कोइरालाको सन्देशको पूर्ण विवरण यस प्रकाश छः-

दाजुभाइ तथा दिदी-बहिनीहरू !

देशमा सबै जात-जाति, सबै वर्ग र सबै क्षेत्रका जनताको प्रतिनिधित्व हुने किसिमले तथा देश निर्माणमा सबैको उचित भूमिका रहने गरी, नयाँ संरचनामा देशको नयाँ स्वरूप तयार पार्न हामी लागेका छौँ।

समान जनसङ्ख्या र मुलुकको भौगोलिक स्थिति र अनुकूलतालाई मूलभूत आधार बनाएर, निर्वाचन क्षेत्रको निर्धारण गरिनेछ, यसो गर्दा जिल्लाको निर्वाचन क्षेत्रहरू नघर्टाई, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रहरूको सङ्ख्यामा वृद्धि गरिनेछ। संविधानसभाले बनाउने नयाँ संविधानमा सङ्घीय लोकतान्त्रिक शासन प्रणालीको व्यवस्था हुने नै छ।

हाल देशका केही भागमा भएका बन्दलगायत आन्दोलनका सबै घटनाहरू तत्काल रोक्न तथा वार्ताद्वारा समस्याहरूको समाधान गर्न र देशमा शान्ति, सुव्यवस्था एवं सद्भाव कायम गर्न म सबैलाई आहृवान गर्दछु।

आज हामी सबैको प्रमुख जिम्मेवारी आगामी जेठ महिनाभित्र संविधानसभाको चुनाव सु-सम्पन्न गर्नु हो। यसप्रति संवेदनशील भएर देशमा शान्ति स्थिति कायम गर्न म- मेधेसी, आदिवासी, जनजाति, दलित, महिलालगायत विभिन्न वर्ग र क्षेत्रका समुदायसँग हार्दिक अपिल गर्दछु।
जय नेपाल !

Popularity: 12%

Add comment February 1st, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....