Archive for February 9th, 2007

नेवाः ऐक्यवद्धता अभियान, नेपालको वक्तव्य

नेवाः ऐक्यवद्धता अभियान, नेपालको वक्तव्य
प्यारा मधेशी दाजुभाई तथा दिदीबहिनीहरु,
हिजो प्रधानमन्त्रीले राष्ट्रको नाममा गर्नु भएको सम्बोधनबाट के सिद्ध भएको छ भने सदियौंदेखि अन्याय, अत्याचार, अपमान, शोषण, दमन, उत्पीडन र विभेदको शिकार हुँदै आउनु भएका तपाईं मधेशी दाजुभाई दिदीबहिनीहरुले न्याय, समानता, स्वाभिमान, स्वशासनका लागि तपाईहरुले गर्नु भएको अत्यन्त बहादुरीपूर्ण एवं बलिदानीपूर्ण ऐतिहासिक आन्दोलनको अगाडि शासक वर्ग र जाति झुक्न वाध्य भएको छ ।

सबभन्दा पहिले तपाईंहरु जस्तै विभेदका शिकार एवं अपमानित भई जिउन वाध्य सम्पूर्ण नेवारहरुको तर्फबाट, मेरो संस्था नेवाः ऐक्यवद्धता अभियानको तर्फबाट र मेरो आफ्नै तर्फबाट आन्दोलनको दौरान शहादत हुनु भएका सम्पूर्ण मधेशी दाजुभाई दिदीबहिनीहरुमा अत्यन्त सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र घाइते आन्दोनकारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शहादत प्राप्त गर्नु भएका सबैलाई शहीद घोषणा गर्न, उहाँहरुको परिवारजनलाई तत्काल सम्मानजनक क्षतिपूर्ति प्रदान गर्न, आश्रतिहरुलाई यथायोग्य रोजगारीको व्यवस्था गर्न, घाइतेहरुको स्तरीय उपचार एवं यथेष्ट क्षतिपूर्ति तथा अपांग भएकाहरुलाई सम्मानजनक रोजगारीको व्यवस्था गर्न नेपाल सरकारसंग यसै वक्त्व्य मार्फत जोडदार माग गर्दछु ।

वीर मधेशी दाजुभाई तथा दिदीबहिनीहरु,
हाम्रा समस्या र दुश्मन एउटै हो । तपाईंहरुको यो विजय यस अर्थमा हिमाल, पहाड, तर्राई जहाँ बसेका भए पनि नेपालका सम्पूर्ण शोषित, उत्पीडित, अपमानित र विभेदका शिकार आदिवासी जनजातिहरुको पनि विजय हो किनकि भौगोलिक विविधताका कारण तपाईहरुले भोगिरहनु परेको समस्या र हिमाल पहाडमा बस्ने आदिवासीहरुको समस्या रुप र मात्राका हिसाबले किंचित फरक भए पनि सारमा एउटै हो । नेपालको इतिहासमा पहिलो पटक यस्तो विजय हासिल गर्नु भएकोमा तपाईंहरुको साहस र बलिदानको म अत्यन्त सम्मानका साथ हार्दिक अभिवादन गर्दछु । तर यो विजय आन्दोलन आव्हान गर्ने मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवजीले भन्नु भए जस्तै वार्ताका लागि ढोका खुलेको मात्र हो, ठोस उपलव्धी र पूर्ण सफलता हासिल गर्न बाकि नै छ । तर्सथ ती उपलब्धी र सफलता हासिल नहोउन्जेल तपाईंहरुको शान्तिपूर्ण आन्दोलन जारी रहोस् । यसमा हाम्रो तर्फबाट नैतिक, भौतिक तथा जुझारु र्समर्थन सदा झैं कायम रहने छ । हामी पनि नेपाल आदिवासी जनजाति महासंघको ब्यानर अर्न्तर्गत स्वतस्फूर्त रुपमा संघर्षरत छौं । हामी चाहन्छौं हिमाल, पहाड र तर्राईको आन्दोलन एकीकृत होस् र हाम्रा साझा दुश्मनलाई हाम्रो साझा भूमिबाट सदाका लागि अन्त्य गर्न सकौं ।

न्यायप्रेमी मधेशी दाजुभाई तथा दिदीबहिनीहरु,
हामी सम्पूर्ण आदिवासीहरुको आदि भूमी नेपाल सानो भए पनि अनेक विविधताले भरिएको विश्वको एक सुन्दर फूलवारी हो । यो मुलुकमा तपाईं हामी सबैलाई जहाँ मन लागे पनि स्वतन्त्रतापर्ूवक हिंडडुल गर्ने र बस्ने अधिकार छ । तर तपाईंहरुको न्यायपूर्ण आन्दोलन भित्र घुसेर त्यसलाई बदनाम गर्दै पृथकतावादी र साम्प्रदायिक दंगामा बदल्ने कुत्सित नियत सहित घुसपैठ गरेका मरणशील सामन्ती दरबारिया तत्वहरु, हिन्दु अतिवादी तत्वहरु, धमिलो पानीमा माछा मार्न पल्केका कथित राजनीतिक दलका गुमस्ताहरु र सिमाना पारीका पेशेवर डकैतहरुले तपाईं हाम्रै आन्दोलनकारी दाजुभाई दिदीबहिनीहरुलाई बदनाम गर्दै आतंक फैलाएका छन्, लूटपाट मच्चाएका छन्, देशका सम्मानित व्यक्तित्वहरुको सालिक ढालेका छन्, घरबार छोडेर भाग्न वाध्य पारेका छन्, कैयौंको ज्यान समेत लिएका छन् । यस्ता अपराधिक कृयाकलापको हामी घोर भत्र्सना गर्दछौं र यस्तो कार्य नरोकिएमा ती अपराधिक तत्वहरुले कल्पना नगरेको परिणाम भोग्नु पर्ने चेतावनी समेत दिन चाहन्छौं । ती अपराधिक तत्वहरुकै आतंक र धम्कीका कारण हाम्रो तथा अन्य समुदाय समेतका केही व्यक्ति र परिवार विस्थापित भएका छन् । यसले हामीलाई दुखित र चिन्तित तुल्याएको छ । आन्दोलनका आगामी दिनहरुमा तपाईंहरुले त्यस्ता घुसपैठिया अपराधिक तत्वहरुलाई चिनेर समयमै जनकार्वाही गर्नु हुनेछ र विस्थापितहरुको पुनर्स्थापनाका लागि यथासिघ्र पहल गर्नु हुनेछ भन्ने अपेक्षा गर्दै तपाईंहरुको जायज आन्दोलनमा हाम्रो सदैब जुझारु समर्थन रहने प्रतिवद्धता जाहेर गर्दछौं ।

वीर आदिवासी शहीदहरु अमर रहून् ।
आदिवासीहरुको मुक्ति आन्दोलन जिन्दावाद ।
हिमाल पहाड तराई, कोही पनि छैन पराई ।
आदिवासीहरुको जुझारु एकता अमर रहोस ।

भवदीय,
महेश्वर श्रेष्ठ
कार्यकारी सचिव
नेवाः ऐक्यवद्धता अभियान, नेपाल
मितिः- फेब्रुअरी ८, २००७

Popularity: 11%

2 comments February 9th, 2007

आदिवासीहरुद्वारा विरोध र्‍याली

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेशीहरुको अधिकारका लागि मात्र प्रधानमन्त्रीले सम्बोधन गरेको भोलिपल्ट नेपालको अन्तरिम संविधान-२०६३ मा भएका आदिवासी जनजातिको हक, अधिकार सुनिश्चित गर्न संविधानको केही धारामा सुधार र थप्नुपर्ने माग गर्दै काठमाडौँका विभिन्न स्थानमा विरोध र्‍यालीको आयोजना गरियो ।

नेपाल आदिवासी महासङ्घसँग आबद्ध विभिन्न ४० सङ्घसंस्थाको संयुक्त तत्वावधानमा काठमाडौँको माइतीघर मण्डल, भद्रकालीचोक, पद्मोदय चोक, हनुमानथानचोक र अनामनगर चोकमा विरोध र्‍याली प्रदर्शन गरिएको थियो ।

आदिवासी जनजाति, महिला, मधेसी, दलित एवं पिछडिएका वर्गको सहभागिता रहेको विरोध र्‍यालीमा विभिन्न महानुभावले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा अन्तरिम संविधान, २०६३ को धारा-४ र ५ को ख, ग, धारा-७, ३३ -घ, ३४ -२ र अन्य धारामा थपघट र परिमार्जन गर्नुपर्ने बताइएको थियो ।

नेपालमा करिब ३८ प्रतिशत जनसङ्ख्या आदिवासी रहेको बताइएको छ ।

आदिवासी महासङ्घका महासचिव रामबहादुर थापाले सरकारले आदिवासीको हितमा काम नगरे आन्दोलनलाई निरन्तता दिइने बताउनुभयो ।

Popularity: 11%

2 comments February 9th, 2007

राजतन्त्र च्याप्न खोज्ने राजतन्त्रसँगै समाप्त हुन्छः गौतम

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा एमाले स्थायी समिति सदस्य बामदेव गौतमले राजतन्त्र च्याप्न चाहनेहरू राजतन्त्रसँगै समाप्तै हुने बताउँदै विभिन्न तवरबाट राजालाई फेरि सक्रिय गराउन खोजिएको, तर जतिसुकै षड्यन्त्र गरे पनि त्यो सफल नहुने बताउनुभएको छ ।

नेकपा (एमाले) कास्कीद्वारा “लोकतान्त्रिक गणतन्त्रका लागि जनअभियान” अर्न्तगत आज यहाँ आयोजित जनसभालाई सम्बोधन गर्दै नेता गौतमले आठदल, अधिकारकर्मी र सचेत जनताका कारण राजाले जतिसुकै षड्यन्त्र गरे पनि त्यो सफल नहुने उल्लेख गर्नुभयो ।

उहाँले मुलुक अहिले गणतन्त्रमय भएको बताउँदै जेठ महिनामा हुने संविधानसभाको पहिलो बैठकले राजालाई नेपाली नागरिक हुन प्रस्ताव गर्ने र नमाने जनताले नारायणहिटीबाट निकालेर जेल हाल्ने बताउनुभयो ।

चार महिनाभित्र मुलुकमा राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने लक्ष्यलाई कसैले रोक्न नसक्ने पनि उहाँको जिकिर थियो।

Popularity: 11%

1 comment February 9th, 2007

मधेसी फोरमद्वारा आन्दोलन स्थगित

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसी जनअधिकार फोरम नेपालले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गर्नुभएको सम्बोधनबाट आफ्नो ऐतिहासिक राजनीतिक जीत भएको भन्दै तराई बन्दको कार्यक्रम स्थगन गरेको छ ।

फोरमद्वारा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मुलुकमा भइरहेको शान्ति व्यवस्थापनलाई ध्यानमा राख्दै आन्दोलनकारी र मधेसी फोरमको वार्ताटोलीबीच वार्ता प्रक्रियालाई सहज बनाउन फोरमद्वारा गरिएको चक्काजाम र बन्दका कार्यक्रम दस दिनका लागि स्थगन गरेको जानकारी दिइयो ।

मुलुकको राज्यसञ्चालनका सबै अङ्ग र तहमा मधेसी, दलित, आदिवासी र जनजातिलाई समानुपातिक समावेशीका आधारमा सहभागी गराई अन्तरिम संविधानमा भएको ‘राज्य संरचना’को मौलिक हकलाई ‘सहभागिताको हक’का रूपमा व्यवस्था गरिनुपर्ने सो अवसरमा बताइयो ।

फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसी आन्दोलनमा सहादतप्राप्त व्यक्तिलाई सहिद घोषणा गर्नुपर्ने, सहिद परिवार तथा अपाङ्ग परिवारलाई सरकारी सेवामा सम्मानित रोजगारको व्यवस्था गर्नुपर्ने र घाइतेहरूको यथोचित उपचारको व्यवस्था हुनुपर्ने माग राख्नुभयो ।

‘संविधानसभाको निर्वाचन समानुपातिक निर्वाचनपद्दतिबाट मात्र लागु गरिनुपर्ने माग राखिएकोमा त्यसतर्फकुनै सम्बोधन भएन’-अध्यक्ष यादवले भन्नुभयो ।

सङ्घीय राज्यप्रणालीअर्न्तर्गत आत्मनिर्णयको अधिकारसहित स्वायत्तशासन सुनिश्चित नगरिएकोमा प्रधानमन्त्री कोइरालाको सम्बोधनलाई पूर्ण मान्न सकिन्न-उहाँको भनाइ थियो ।

यादवले आन्दोलनमा ३८ जनाले सहादत प्राप्त गरेको, सातसय घाइते र करिब दुई सय जना अपाङ भएको बताउँदै त्यसको निष्पक्ष छानबिन गर्न आन्दोलनकारीको सहमतिमा उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीउपर कारबाही गर्न सरकारसमक्ष माग गर्नुभयो ।

राजतन्त्रको अन्त्य, समावेशी लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा जातीय जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्वको सवालमा फोरमले शान्तिपूर्ण आन्दोलन जारी राख्ने पनि त्यस अवसरमा बताइयो ।

Popularity: 11%

2 comments February 9th, 2007

आदिवासी कलाकारलाई सम्मान

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आदिवासी गीतकार समाज-नेपालले यस वर्षको आदिवासी गीति विशिष्ट सम्मान वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ, आदिवासी गीति सम्मान गीतकार शिवशङ्कर थापा मगर र आदिवासी गीति प्रतिभा पुरस्कार गीतकार रामकृष्ण बान्तवालाई प्रदान गरेको छ।

गीत र सङ्गीतका माध्यमबाट आदिवासी जनजातिको उत्थान तथा नेपाली सङ्गीतको विकासका क्षेत्रमा योगदान पुर्‍याएबापत उहाँहरूलाई सम्मान गरिएको हो ।

समारोहमा प्राज्ञ वैरागी काइँलाले सम्मानित व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गर्दै हाम्रो मुलुकमा रहेको विविधतालाई शक्तिको स्रोत मानेर अगाडि बढ्नसकेमा मुलुक बलियो हुने बताउनुभयो ।

उहाँले जुनसुकै गीत र सङ्गीतको अभिव्यक्तिको माध्यमबाट समग्र मानव तथा राष्ट्र हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।

Popularity: 11%

Add comment February 9th, 2007

१० रुपैयाँको नोटमा सगरमाथाको तस्वीर बस्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अन्तरिम संविधानको संशोधनका लागि अन्तरिम व्यवस्थापिका-संसदमा संशोधन प्रस्ताव दर्ता गर्न कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आठ राजनीतिक दलका नेताहरूको बैठकपछि राष्ट्रका नाममा दिनुभएको सम्बोधनलाई अनुमोदन गर्दै बैठकले रायमाझी आयोगले दोषी ठहर गरेकालाई तत्काल कारबाही गर्नसमेत ढोका खोलेको छ ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री दिलेन्द्रप्रसाद बडुले मन्त्रिपरिषद्को आजैको बैठकबाट राष्ट्र बैङ्कले निष्काशन गर्ने रू. १० को नोटमा सगरमाथाको तस्बिर राख्नाका लागि स्वीकृति दिएको जानकारी दिँदै हाल विभिन्न मन्त्रालयमा कायममुकायमको जिम्मा दिइएका सचिवलाई अर्को व्यवस्था नभएसम्मका लागि निरन्तरता दिने पनि निर्णय भएको बताउनुभयो ।

कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री नरेन्द्रविक्रम नेम्बाङले जनआन्दोलनका दमनकारीलाई कारबाही गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न गठित सुझाव समितिको प्रतिवेदन बैठकले पारित गरेकाले जनआन्दोलनका दोषीमाथि कारबाही गर्ने प्रक्रियाको ढोका खुलेको बताउनुभयो ।

Popularity: 11%

Add comment February 9th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....