Archive for February 13th, 2007

जेठभित्र संविधानसभा नभए गणतन्त्र घोषणाः प्रचण्ड

जेठभित्र संविधानसभा नभए गणतन्त्र घोषणाः प्रचण्ड
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता, फेब्रुअरी १३-
नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले मंगलबार काठमाडौंको खुलामञ्चमा २५ वर्षपछि पहिलो पटक सार्वजनिक सभालाई सम्बोधन गर्दै संविधान सभाको चुनावमा ढिलाइ हुने संकेत देखिएमा त्यस अगावै गणतन्त्रको घोषणा गर्न आफूहरूले आन्दोलन गर्ने चेतावनी दिनुभएको छ।

सशस्त्र विद्रोह सुरु गरेको १२ औं वर्ष प्रवेशको उपलक्ष्यमा नेकपा (माओवादी)ले काठमाडौंको खुला मञ्चमा आयोजना गरेको जनसभामा अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको हो। अध्यक्ष प्रचण्डले चुनाव हुन नदिन केही शक्तिहरू गम्भीर षडयन्त्रमा लागेको समेत बताउंनु भयो।

२५ वर्षपछि काठमाडौंमा पहिलो पटक सार्वजनिक हुनुभएका अध्यक्ष प्रचण्डको सम्बोधन सुन्न हजारौं संख्यामा माओवादी कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो। खुलामञ्च र त्यसभन्दा बाहिर ठूलो संख्यमा जनसमुदायको भीड रहेको थियो। माओवादी जुलुस र जनसभाका कारण राजधानीको यातायात व्यवस्था अस्तव्यस्त बनेका थिए।

……………………………………………………………………………………….

सेनाले प्रचण्डलाई मञ्च नदिने, माओवादी रुष्ट
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता, फेब्रुअरी १२-
नेपाली सेनाले माओवादी अध्यक्ष प्रचण्डले भोलि सैनिक मञ्चमा गरिने भनिएको सम्बोधन सभाको लागि सैनिक मञ्च नदिने भएको छ।

सेनाले सैनिक मञ्च नदिने भएपछि माओवादीले त्यसको विरोध गरेका छन्। माओवादीले अध्यक्ष प्रचण्डले सैनिक मञ्चबाट पहिलो पटक सार्वजनिक सम्बोधन गरिने भनी व्यापक प्रचार प्रसार गरिएको थियो। सेनाले सैनिक मञ्च नदिने भएपछि प्रचण्डको भाषण सहिद मञ्चबाट हुने भएको छ।

सेनाले सैनिक मञ्च उपलव्ध नगराएको बिरोधमा आज अपरान्ह ३ बजे माओवादी सुरक्षा दस्ता (योङ कम्युनिष्ट लिग) माओवादी भातृ संगठनहरु, उपत्यका ब्युरो तथा साँस्कृतिक समूहले काठमाडौंका विभिन्न भागबाट विरोध जुलुस तथा र्‍याली निकाल्ने भएका छन्।

माओवादीले सैनिक मञ्च उपलव्ध नगरेकोमा विरोध गर्दै मञ्चमा “पप गीत गाउन दिने र राजनीतिक पार्टीलाई भाषण गर्न नदिने यो कस्तो व्यवस्था हो” एक केन्द्रीय नेताले आक्रोश पोखाएका छन्।

सहमतिमा जाने समयमा “हामीले जबर्जस्ती गर्दैनौं तर उपस्थित जनताले भोलि सैनिक मञ्च कब्जा गर्न सक्छन्” माओवादी सुरक्षा दस्ता (योङ कम्युनिष्ट लिग) का अध्यक्ष रश्मिले जनाएका छन्।

Popularity: 12%

18 comments February 13th, 2007

शिक्षा दिवस नमनाइने, प्रजातन्त्र दिवस मनाइने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सरकारले राजा वीरेन्द्रको राज्याभिषेक भएको दिन मनाइँदै आएको शिक्षा दिवस नमनाउने भएको छ। तर सन्ताउनौँ राष्ट्रिय प्रजातन्त्र दिवस भने आगामी फागुन ६, ७ र ८ गते मनाउने भएको छ। यसका लागि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ।

प्रधानन्यायाधीश दिलीपकुमार पौडेलको अध्यक्षतामा राष्ट्रिय योजना आयोगको समीक्षा हलमा बसेको बैठकले सो समितिको गठन गरेको हो।

मूल समारोह समितिका अन्य सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख सुवासचन्द्र नेम्बाङ, उपप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र अमिक शेरचन, मन्त्रीगण, पूर्वप्रधानमन्त्रीहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कृष्णप्रसाद भट्टर्राई र शेरबहादुर देउवा, उपसभामुख चित्रलेखा यादव रहनुभएको छ।

Popularity: 12%

1 comment February 13th, 2007

फागुन ६ गते ल्होसार मनाउन आग्रह

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
२१३४ अ‍ौँ फागु ल्होसार आयोजक मूल समारोह समितिले यही फागुन ६ गतेका दिन ल्होसार मनाउन सम्पूर्ण महायानी बौद्ध धर्मावलम्बीमा अपिल गरेको छ।

उक्त समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक बौद्ध दर्शनाचार्य कमल तामाङ मोक्तानले वर्षा एक दिनमात्र नयाँ वर्ष आउने भएकाले अलग अलग मनाइँदै आएको ल्होसार एकै दिनमा मनाइनुपर्नेमा जोड दिनुभयो।

संयोजक तामाङले सोनाम, तोला र ग्याल्बो ल्होसार अलग अलग दिन मनाइँदै आएकोमा ल्होसार भनेको एउटै हुने भएकाले यही फागुन ६ गते एकै दिनमात्र ल्होसार मनाउन सबैसँग अनुरोध गर्नुभयो।

सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा नेपालका महायानी बौद्ध सम्प्रदायका जनजातिहरूले स्वीकार गरेको महायानी बौर्द्धधर्मअनुरूपको ज्योतिषशास्त्रद्वारा प्रमाणित पात्रोअनुसारको ल्होसार अर्थात नयाँ वर्षसामान्यतया फागुनशुल्क प्रतिपदाको दिनपर्छ। शेपा, तामाङ, गुरुङ, योल्मोलगायतका नेपालका बौद्ध धर्मावलम्बी जनजातिहरूले ल्होसार मनाउँदै आएका उल्लेख गरिएको छ।

केही सङ्घसंस्थाले ल्होसारलाई “राजाले मान्ने ल्होसार” तथा “केही आप्रवासी तिब्बती”ले मान्ने ल्होसार भनी अनर्गल प्रचार गरिरहेका छन् भन्दै विज्ञप्तिमा ती सङ्घसंस्थालाई समग्र तिब्बती महायान बुद्ध धर्म, ज्योतिषशास्त्रलगायतका विविध पक्षलाई राम्ररी अध्ययन गर्न पनि अनुरोध गरिएको छ।

Popularity: 12%

Add comment February 13th, 2007

बस दुर्घटनामा एकको मृत्यु, ४० घाइते

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सिन्धुपाल्चोक जिल्लाबाट काठमाडौँतर्फ आइरहेको बा१ख ९१९६ नम्बरको यात्रुवाहक बस आज दिउँसो काभ्रे जिल्लाको पाँचखालस्थित अरनिको राजमार्गमा दुर्घटनाग्रस्त हुँदा एकको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

घाइतेमध्ये आठजनाको अवस्था गम्भीर रहेको छ।

घाइते सबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। सो अस्पतालका अनुसार गम्भीर घाइतेमध्ये पाँचखाल गाविस-१ का ७० वर्षीय कृष्णप्रसाद सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो।

छत्तीस सिट क्षमताको उक्त बसमा १०० भन्दा बढी यात्रु राखिएको र बस द्रुतगतिका कारण पाँचखाल प्रहरी चौकीनजिक सडकमै पल्टिएको थियो। बसका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ।

Popularity: 12%

1 comment February 13th, 2007

निर्वाचन ऐन बनाउन आठ दलको बैठक बस्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधान सभाको निर्वाचनका लागि आवश्यक ऐन र नियमावलि बनाउनका लागि आठ दलको बैठक डाक्ने निर्णय प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालबीचको भेटमा भएको छ।

भेटमा आगामी संविधानसभाको निर्वाचनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

त्यस अवसरमा महासचिव नेपालले संविधानसभाको निर्वाचनका लागि आवश्यक ऐन, कानुन निर्माण गर्न सरकारका तर्फबाट थप गृहकार्य गर्नुपर्ने खाँचो औँल्याउनुभएको थियो।

उहाँले संविधानसभाको निर्वाचन प्रणाली, मतदानको प्रक्रिया, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, मतगणना प्रक्रिया लगायतका विषयमा छलफल गर्न आठ राजनीतिक दलको बैठक बोलाउन आफूले प्रधानमन्त्रीसमक्ष आग्रह गरेको बताउनुभयो।

Popularity: 12%

Add comment February 13th, 2007

माअ‍ोवादी र कर्मचारीबीच झडप

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का कार्यकर्ता र श्रीराम सुगर मिल्स गरुडाका मजदुर कर्मचारीबीच भएको दोहोरो झडपमा 2 पत्रकारसहित १२ जना घाइते भएका छन्।

सो मिल्सको एउटा गाडी माओवादीले कब्जा गरी चालक उमेश झासमेतलाई लगिरहेको अवस्थामा माओवादीको भ्रातृ सङ्गठन मधेसी राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष जयराम यादवलाई मिल्सका कर्मचारीले नियन्त्रणमा लिएपछि उनलाई छुटाउन गएका माओवादी कार्यकर्ता र मिल्सका कर्मचारीबीच झडप भएको हो।

झडपमा पत्रकारहरू प्रभात झा र महन ठाकुर, माओवादीका रामआशिस मुखिया, रामनाथ साह, राजकुमार सिंह, मिल्सका कर्मचारी चन्द्रबहादुर र्राई, सीताराम राय घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

घाइतेहरूको शिवनगर स्वास्थ्यचौकीमा उपचार भइरहेको बताइएको छ।

झडपपछि शान्ति सुरक्षा कायम गर्न गएको प्रहरी टोलीमाथि दुवै पक्षले ढुङ्गाले हिर्काउँदा प्रहरी निरीक्षक श्रीहजुर सिलवालसहित तीजना प्रहरी सामान्य घाइते भएका छन्।

Popularity: 12%

1 comment February 13th, 2007

कोरियामा आई धन कमाउने सपना खरानीमा परिणत (+Photo)

उत्तम गुरुङ, एचकेनेपाल डट कम द. कोरिया सम्वाददाता -
द. कोरियाको छल्लादोको येसुस्थित कानुन मन्त्रालय अध्यागमन विभागमा सोमबार अपरान्ह करिव ४ बजेतिर आगालागी हुंदा अध्यागमन विभागको कारागारभित्र रहेका ९ जना विदेशीको मृत्यु भएको छ भने २८ जना घाइते भएको कोरियास्थित समाचार एजेन्सीहरुले जनाएका छन्।

समाचार स्रोतका अनुसार ४ तले भवनको तेस्रो तलाको ३०४ नं. कोठादेखि आगलागी सुरु भएको थियो। मृत्यु हुनेहरुमा अधिकांश चिनीय नागरिक भएको बताइए पनि केहीको कुन देशका नागरिक हुन् भनेर सनाखत हुन सकेको छैन। घाइतेहरुको अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भैरहेको जनाएको छ।

आफ्नो परिवारको जीवनलाई सुखमय बनाउंने सपना बोकेर कोरिया आएका प्रवासी श्रमिकहरु सरकारी धरपकडमा परि उक्त अध्यागमन कारागारमा कडा सुरक्षाका साथ थुनिएका अवस्थामा आगलागीमा परेर ९ जनाले ज्यान गुमाएका थिए।

अध्यागमन विभागको कारागारमा ५५ जना विदेशीहरु धरपकड गर्दा पक्राउ परेर अनुसन्धान गरी स्वदेश फर्काउंने तयारी रहेकै अवस्थामा सो घटना भएको जनाएको छ।

घटनापछि मानव अधिकारवादी संघ संस्था, प्रवासी श्रमिक युनियनका कार्यकर्ताहरु ६ घण्टा लामो यात्रा गरी घटनास्थल पुगेर पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा सरकारले प्रवासी श्रमिकमाथि गर्दै आएको क्रियाकलापको घोर विरोध गर्दै मृतकको परिवारलाई उचित क्षतिपूर्तिका साथै घाइतेहरुको उचित उपचारको माग गरेका थिए।

सरकारद्वारा धरपकड बन्द गरी यहाँका सम्पूर्ण प्रवासी श्रमिकहरुलाई उचित व्यवस्था गर्नु पर्ने र यो लापरवाहीको लागि आम माफी माग्नु पर्ने विषयलाई लिएर प्रवासी श्रमिक युनियन (एमटीयु) तथा अन्य मानवअधिकारवादी संघसंस्थाहरुको संयुक्त विरोध सभा चांडै नै आयोजना गरिने जनाएको छ। विदेशीप्रति गरिने भेदभाव र अध्यागमन विभागका कर्मचारीहरुबाट हुने मनपरीतन्त्र, दूरव्यवहार र मानव अधिकार हननको विरोधमा आयोजना हुन लागेको विरोध सभामा सम्पूर्ण प्रवासी श्रमिकहरुलाई उपस्थित हुन आहृवान गरिएको छ।

तस्वीरः उत्तम गुरुङ द. कोरिया / एचकेनेपाल डट कम।


Popularity: 12%

2 comments February 13th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....