Archive for February 25th, 2007

माअ‍ोवादी सरकारमा गएपछि भ्रष्टको सम्पति जफत हुने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले जनताको पहलविना महान् राष्ट्रको निर्माण हुन नसक्ने बताउनुभएको छ। लुम्बिनी क्षेत्रीय ब्युरोको आयोजनामा आज बुटवलमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतको राजनीतिक नेतृत्वले जहिले पनि जनताको ऐतिहासिक आन्दोलनलाई सम्झौतामा र अपुरो ठाउँमा टुङ्ग्याउने गरेकाले क्रान्तिले कहिल्यै पनि पूर्णता नपाएको धारणा राख्नुभयो।

माओवादीको केन्द्रीय नेतृत्व तहका नेताहरूले कम्तीमा पनि तीन दशकसम्म व्यक्तिगत जग्गा, घर र सम्पत्ति नराख्ने नीति बनेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो- “नयाँ नेपालको अहिले नयाँ नेपालरूपी बच्चा अपहरण गर्न खोजिँदैछ, त्यसको अपहरण हुन नदिन सबै सचेत हुनुपर्छ।”

क्रान्तिबाट प्राप्त फलको रक्षा गर्न सकिएन भने देश फेरि दुघटनामा पर्ने खतरा छ भन्दै उहाँले दश वर्षो जनयुद्धबाटै सङ्घात्मक गणतन्त्र, संविधानसभा र राज्यको अग्रगामी पुन संरचना जन्मेको विचार राख्नुभयो।

माओवादी सरकारमा गएपछि भ्रष्टाचारीहरूले कमाएको अकुत सम्पत्ति जफत गर्ने, उनीहरूलाई कारबाही गर्ने र त्यसबाट आएको सम्पत्ति गरिबी घटाउन र नयाँ विकासको पूवाधार तयार गर्ने काममा लगाइने उहाँले बताउनुभयो।

अहिले पनि ढल्न लागेको राजसंस्थाले षड्यन्त्रका तानाबुना बुनिरहेको बताउँदै अध्यक्ष प्रचण्डले नेपाल चाँडै गणतन्त्रको युगमा प्रवेश गर्ने विचार व्यक्त गर्नुभयो।

माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईले देशलाई सङ्घीय गणतन्त्र घोषणा नगरेसम्म नेपाली जनताको क्रान्ति पूरा नहुने धारणा राख्नुभयो।

सात राजनीतिक पार्टी र माओवादीको मतैक्य हुने हो भने अन्तरिम विधायिकाको बैठकबाटै मुलुकलाई गणतन्त्रको घोषणा गर्न सकिने विचार व्यक्त गर्नुभयो।

Popularity: 12%

3 comments February 25th, 2007

तनहुँमा महेन्द्रको सालिक तोडफोड

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ तनहुँका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयअगाडि रहेको स्व. राजा महेन्द्रको श्रीपेचसहितको सालिक हिजो दिउँसो तोडफोड गरेका छन्।

प्ररायुसङ्घका व्यास नगर अधिवेशनमा भाग लिन आएका कार्यकर्ताहरूले उक्त सालिक पूर्ण रूपमा तोडफोड गरेका हुन्।

राजाले फागुन ७ मा देशवासीका नाममा सन्देश जारी गरेपछि देशका थुप्रै भागमा शालिकहरु ढालिएका छन्।

Popularity: 12%

Add comment February 25th, 2007

फोरम र माओवादीबीच झडप

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मधेसी जनअधिकार फोरम र माओवादी कार्यकर्ताबीच हिजो नेपालगन्जमा झडप भएको छ। दिउँसो फोरमले नेपालगन्ज नगरको त्रिभुवन चोकमा आयोजना गरेको आमसभामा माओवादीले हस्तक्षेप गरेपछि झडप भएको फोरमले जनाएको छ।

नेकपा (माओवादी)ले आफूहरूको मोटरसाइकल र्यालीलाई रोकिएपछि झडप भएको जनाएको छ।

झडपका क्रममा माओवादीका दुई वटा सवारी साधन र माओवादीको जनपरिषद् कार्यालयमा समेत आगजनी भएको छ, भने दुवै पक्षबीच केही बेर ढुङ्गा हानाहान समेत भएको थियो।

अपराह्न फेरि माओवादी कार्यालयनजिक केही बेर ढुङ्गामुढा भएको थियो।

त्यसै क्रममा प्रहरीले अश्रुग्याससमेत प्रयोग गरेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक उत्तम कार्कीका अनुसार स्थितिलाई नियन्त्रण गर्न ठाउँठाउँमा प्रहरी खटाइएको छ।

Popularity: 12%

Add comment February 25th, 2007

माअ‍ोवादीले हतियार लुकाए कि लुकाएनन ?

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले)का नेता वामदेव गौतमले दर्ता तथा प्रमाणीकरणका क्रममा माओवादीले हतियार लुकाएको भए त्यो उसकै लागि घाँडो हुने बताउनुभएको छ।
राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले आगामी जेठभित्र संविधानसभाको निर्वाचन हुनुपर्नेमा जोड दिँदै संविधानसभाको निर्वाचन नहुन्जेल यस्ता समस्या आइरहने भएकाले ढिलो नगरेर संविधानसभाको निर्वाचन तोकिएको समयमै हुनुपर्छ भन्नुभयो।

नेपाली काङ्गे्रसका नेता डा.शेखर कोइरालाले शान्ति सम्झौतामा दर्ता र प्रमाणीकरण नगरिएका हतियार अवैध हुने भनिएकाले माओवादीले लुकाएका हतियार स्वतः अवैध हुने बताउँदै संविधानसभाको निर्वाचन तोकिएको समयमा नभएमा यसले अस्वाभाविक परिस्थिति सिर्जना गर्ने धारणा व्यक्त गर्नुभयो।

नेकपा (माओवादी)को जनमुक्ति सेनाका डेपुटी कमान्डर पासाङले हतियार लुकाउनुपर्ने आवश्यकता नरहेकाले हतियार लुकाएको भए प्रमाणित गरियोस् भन्दै बाहिर राखिएका हतियार त्रिपक्षीय सम्झौताअनुरूप राखिएकाले शान्ति प्रक्रियामा आफ्नो दल इमान्दार रहेको बताउनुभयो।

नेपाली काङ्गे्रस (प्रजातान्त्रिक)का नेता डा.मीनेन्द्र रिजालले हतियारको राजनीतिलाई नेपाली जनताले अस्वीकार गरिसकेकाले माओवादीले त्यसतर्फो बाटो सदाका लागि त्याग्नुपर्नेमा जोड दिँदै संविधानसभाको निर्वाचन तोकिएको समयमा नै सम्पन्न गर्न पनि हतियारको छायाँ नरहने स्थिति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

नेकपा -माओवादी)का नेता दीनानाथ शर्माले भन्नुभयो- “हामीलाई अविश्वास नगरियोस्, हामीले कुनै पनि हतियार लुकाएका छैनौ, संविधानसभाको निर्वाचन समयमा हुन नदिने षड्यन्त्रस्वरूप हतियार लुकाएको आरोप हामीलाई आइरहेको छ।”

Popularity: 12%

2 comments February 25th, 2007

संविधान सभाको आवश्यकता छैनः माअ‍ोवादी नेता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
देशै संविधानसभामय भइरहेको बेला नेकपा (माओवादी)का उपत्यका ब्युरो इन्चार्ज सुमनले अहिले संविधानसभाको निर्वाचन गर्नुपर्ने आवश्यकता नभएको बताउनुभएको छ।
नेकपा (माओवादी) समर्थित नेपाल बुद्धिजीवी सङ्गठन भक्तपुरको बालकोटमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले देशमा गणतन्त्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो।

माओवादीको सङ्घर्षबाट नै व्यवस्थापिका संसद गठन भएको दाबी गर्दै उहाँले व्यवस्थापिका संसद अन्तरिम व्यवस्थापिका मात्र भएको बताउनुभयो।

राजदरबार हत्याकाण्डका दोषीलाई सरकारले कारबाही गर्नुपर्नेमा इन्चार्ज सुमनले जोड दिनुभयो।

कार्यक्रममा माओवादीका भक्तपुर जिल्ला इन्चार्ज प्रभाले भक्तपुरमा माओवादी चौथो स्थानमा रहेकाले पहिलो स्थानमा पुग्न कार्यकर्ता जनताको सेवामा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

भक्तपुरमा जाँड, रक्सी, जुवा, तास, वेश्यावृत्तिको अन्त्य गर्न सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।

Popularity: 12%

Add comment February 25th, 2007

आयोजक सहारा पहिलो पटक सेमिफाइनलमा (+Photo)

धन बस्नेत एचकेनेपाल डट कम, पोखरा -
लिगको सातौ स्थान ओगटेको फ्रेण्ड्स क्लबको यात्रा पहिलो क्वार्टर फाइनलबाटै टुङ्गिदा आयोजक पोखरा सहाराले सेमिफाइनलमा आफनो स्थान सुरक्षित बनाएको छ। अतिरिक्त समयमा खेलमा र्फकदै तीन गोल ठोकेपछि श्रेणी विहीन आयोजक पोखरा सहारा सेमिफाइनल यात्रा तय गर्दा लिग खेलिरहेको फ्रेण्ड्स क्लब पहिलो खेलबाटै बाहिरियो।

फुटबल मोह-पोखरामा सञ्चालन भइरहेको आहा गोल्डकप हेर्दै पूर्व मिस नेपाल निलिमा गुरुङ। र साथमा उनका सञ्चारकर्मी संगिनी सपना। (तस्विरमा वायाँ)

उदघाटन खेलमा जस्तै घरेलु दर्शकको साथ नपाए पनि घरेलु मैदानको भरपुर फाइदा उठाउदै पोखरा सहाराले खेलको ९९ औं मिनेटमा आइपुगेर गोलको खडेरी तोडदै अग्रता लिएको थियो। राष्ट्रिय लिगमा सातौं स्थानमा रहेको अधिकांश अनुभवी खेलाडी सम्मिलित फ्रेण्ड्सले निकै दबाव दिए पनि घरेलु मैदानको सदुपयोग गर्दै अनिल गुरुङले अतिरिक्त समयको ९ मिनेटमा गोल ठोकेका थिए।


एडिडास म्यान अफ दि म्याच अनिल गुरुङले पहिलो गोल गर्दै। उनको प्रहारलाई रोक्ने प्रयास गर्दै फ्रेण्ड्सका रक्षक विनोद लामा।

स्ट्राइकर राजन अधिकारीले दिएको ब्याक पासमा अनिलले २५ यार्ड टाढाबाट हिर्काएको कडा ग्रास सट बलले पोष्टको दिशालिदैं जाली हल्लाएको थियो। निर्धारित समयमा मिडफिल्डमै रमेको पोखरा सहाराका प्रशिक्षक डम्बर गुरुङले खेलको रणनीति परिवर्तन गरी आक्रमक शैलीमा उतारेपछि अतिरिक्त समयमा धमाधम गोल हुन पुगेको थियो।

अतिरिक्त समयको ९ औं मिनेटमा अग्रता लिएको पोखरा सहाराले खेलको अतिरिक्त समयको १७ औं मिनेटमा अर्को गोल थप्दै सेमिफाइनलको यात्रा तय निश्चित गर्ने पक्कापक्की जस्तै बनायो। त्यसको ६ मिनेट पछि पुन अर्को गोल गरेपछि पाँचौ आहा गोल्डकपमा सेमिफाइनल पुग्ने पहिलो भाग्यमानी टोलीको रुपमा पोखरा सहाराले आफुलाई प्रस्तुत गरेको छ। पाँचौ आहा गोल्डकपसम्म आइपुग्दा आयोजक सहारा सेमिफाइनलमा पुगेेका यो पहिलो अवसर हो। शुरुको क्याराभान गोल्डकपमा बाहेक पोखरा सहारा क्वार्टर फाइनलसम्मको यात्रामा चित्त बुझाउँदै आएको थियो।

खेलको १७ औं मिनेटमा स्ट्राइकर राजन अधिकारीले अनिल गुरुङको सजिलो पासमा दोस्रो बार च्याप्दै सहाराका लागि दोस्रो गोल गरेका थिए। दुई गोलले पछि परेको फ्रेण्ड्स क्लब गोल फर्काउन निकै हतारिदाँ खेलको अतिरिक्त समयको २३ औं मिनेटमा काउण्टरमा आक्रमण गर्दै एडिडास म्यान अफ दि म्याच अनिल गुरुङको पासलाई सदुपयोग गरी अधिकारीले एकल दोस्रो गोल गर्दै सेमिफाइनल यात्रा निश्चित गरे। उनको कडा फ्लिक प्रहार गोलकिपर उज्जवल मानन्धरको हातबाट फुत्किएर बलले जाली चुमेको थियो।

‘स्ट्राइकरको प्रहार बिममा लागेर फर्किनु नै हाम्रो दुर्भाग्य निम्तियो।’ फ्रेण्ड्स क्लबका प्रशिक्षक सिद्धी व्यञ्जनकारले प्रतिक्रिया दिदैं भने-’केटाहरुले खेल पनि त्यति खेल्न सकेनन् ।’ उनले सहाराले उत्कृष्ठ खेल खेलेको प्रशंसा गर्दै आफना खेलाडीहरु सन्तुलित हुन नसकेको बताए।

पहिलो आहा गोल्डकपमा उपविजेताको रुपमा चिक्त बुझाएको फ्रेण्ड्स क्लब चार वर्षको विश्रामपछि पाँचौ आहा गोल्डकप खेल्न पोखरा आएको थियो। लिग खेलेर निकै खारिएको खेलाडीहरु भए पनि भाग्यको साथ नपाउँदा बाई पाएको फ्रेण्ड्सले सहाराको कडा चुनौतीलाई पन्छाउनै सकेन्। राजकुमार केसीको फ्रिकिकलाई शिशिर अधिकारीले हिर्काएको बल माथिल्लो क्रसबारमा लागेर रिफ्लेक्ट हुनु नै फ्रेण्ड्सको दुर्भाग्यको समयको शुरुवात भयो।

निर्धारित समयमा दुवैपक्षबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। दुवै टोली आक्रमक रणनीतिमा मैदानमा उभिएपनि प्राप्त अवसर खेर फाल्दा गोलको खडेरी नै लाग्यो। दोस्रो हाफको मध्य समयमा रविन व्यञ्जनकारले अफसाइड ट्रयापमा आएर हानेको बल पोष्ट भित्र छिर्दा रेफ्री लब खत्रीले अफसाइडको संकेत गर्दै लामो सिटी फुकिहाले।

त्यसो त पोखरा सहाराका रक्षक जय थापाले क्लियर गर्न खोजेको हेडबल आफनै पोष्टमा ठोक्किएर बाहिरिदा दर्शकहरु चर्को आवाजमा चिच्याएका थिए। दोस्रो हाफमै राजन अधिकारीले हानेको लामो प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो भने पहिलो हाफमा तेज परियारले गरेको ड्रभ हेड फष्टबारको नजिकैबाट आउट भएको थियो।

‘आक्रमण रणनीतिमा उत्रिएका थियौं।’ पोखरा सहाराका प्रशिक्षक डम्बरसिंह गुरुङले भने-’आक्रमण खेल नै रक्षात्मक रणनीति हो।’ आइतबारको खेल डिफेन्डिङ च्याम्पियन अफ्रिकन युनाइटेड विरुद्ध तेस्रो आहा गोल्डकप विजेता मनाङ मर्स्याङदी बीच हुने र हुने छ। दोस्रो क्वार्टर फाइनल खेल्न पोखरा हिडेको मनाङ मर्स्याङदी पृथ्वीराजमार्ग अन्तरगत मुग्लिनमा जाममा परेको छ। चितवन बन्दको क्रममा टोली केही घण्टा रोकिएका थिए।

पोखराबाट धन बस्नेत फागुन १२ गते
तस्वीर- सुदर्शन रन्जित एचकेनेपाल डट कम, पोखरा।

Popularity: 11%

Add comment February 25th, 2007

युएईमा मगर दिवस (+Photo)

खेमनाथ पौडेल, एचकेनेपाल डट कम युएइ -
आफ्नो देशलाई मर्लक्कै बिर्सेर विदेशिएका अनेक जनजातिमध्ये मगर जाति पनि एक हो। तर यहाँका मगरजातिले आफ्नो देशको परम्परा, रितीथिती र गाउंघरलाई युएईमा रहेर पनि बिर्सन नसकी गत शुक्रबार मगर संघको दोश्रो वाषिर्क उत्सव तथा मगर दिवस मनाएका छन्।



युएईका लागि का.वा. राजदूत मोहनकृष्ण श्रेष्ठको आतिथ्य तथा संघका अध्यक्ष तेज आले मगरको सभापतित्वमा युएइको बर दुबईस्थित अष्टेरिया होटलमा विविध साँस्कृतिक कार्यक्रमका साथ मगर दिवस मनाए।

कार्यक्रममा दूतावासका द्धितीय सचिव प्रकाशमणी पौडेल, तृतीय सचिव बिक्रम गिरी, नेपाली समाजका महासचिव यमलाल शर्मा पगेनी, अनेसास यू.ए.ई. च्याप्टरका सभापति बालचन्द्र पोख्रेल, यू.ए.ईमा स्थापना भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, ब्यापारी, बुद्धिजिवी, पत्रकारहरु साथ साथै यू.ए.ईमा छरिएर रहेका प्रवासी नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

स्वागत मन्तब्य नेपाली मगर संग यू.ए.ई.दुवई क्षेत्रिय समितिका प्रमुख खिम भमलामीले दिनु भएको थियो। कार्यक्रम सञ्चालन गिरमान थापा मगर, झविलाल मगर र चुलबहादुर पुलामी मगरले गर्नु भएको थियो।

तस्विरः खेमनाथ पौडेल एचकेनेपाल डट कम, युएई। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 12%

3 comments February 25th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category

More news....