Archive for March, 2007

सरकार आज पनि बनेन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पूरा तयारी भइसकेको भए पनि अन्ततः आज पनि अन्तरिम सरकार बन्न सकेन। अन्तरिम सरकारबारे अन्तिम टुंगो लगाउन बालुवाटारमा बसेको आठ दलको बैठक भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ।

आजको बैठक स्थगित हुनुमा जनमोर्चा ढिला पुग्नु र मन्त्रीहरुको वरिष्ठताका विषयमा काँग्रेस र एमालेको कुरा नमिल्नु कारण थियो।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एमालेको नेतृत्व सहाना प्रधानबाट हुने भनिएपछि असन्तुष्टि जनाउँदै पुनर्विचार गर्न भनेको थियो। त्यसपछि एमालेको स्थायी समितिको बैठकले सहाना प्रधानलाई वरियता क्रममा वरिष्ठमा नराखिए सरकारमै नजाने निर्णय गरेको थियो।

Popularity: 12%

1 comment March 31st, 2007

एमाले सहाना प्रधानको नेतृत्वमा सरकारमा जाने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अन्तरिम सरकारमा एमालेको नेतृत्व सहाना प्रधानले गर्नुहुने भएको छ। उहाँले परराष्ट्र मन्त्रालयमा केपी अ‍ोलीलाई विस्थापित गर्नुहुनेछ।

यसअघि कसको नेतृत्वमा सरकारमा जाने भन्ने कुरामा एमालेमा विवाद भएको थियो। अ‍ोलीको नेतृत्वलाई हटाउनु पर्ने विचार अधिकांश स्थायी समिति सदस्यहरुले राखेका थिए।

अर्थमन्त्री पाउने भए भरतमोहन अधिकारी र शक्तिशाली मन्त्रीहरु पाउने भए वामदेव गौतमको नेतृत्व ल्याउने कुरा पनि भएको थियो। तर अपेक्षाकृत शक्तिशाली मन्त्रालयहरु नपाएपछि यस्तो निर्णय गरिएको हो।

मन्त्री बनाउन सिफारिस गरिएका भीम रावलले परराष्ट्र बाहेक अरु मन्त्रालयको जिम्मेवारी नसम्हाल्ने विचार व्यक्त गर्नुभएपछि आकस्मिक बैठक बसी एमालेले मन्त्रालयको सिफारिसका नाम सच्याएको थियो।

Popularity: 12%

1 comment March 31st, 2007

आज २६ सदस्यीय मन्त्रिमण्डल बन्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आठ दलको सहमति अनुसार आज चार राज्यमन्त्रीसहित २२ सदस्यीय मन्त्रिमण्डल बन्नेछ। यस मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीको व्यवस्था गरिएको छैन । शक्तिशाली मन्त्रालयहरु काँग्रेसलाई र विकास निर्माणसम्बन्धी महत्त्वपूर्ण मन्त्रालय माअ‍ोवादीको भागमा गएको छ।

अन्तरिम सरकारमा नेपाली काङ्गे्रसले अर्थ, गृह, रक्षा, वातावरण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनःनिर्माण मन्त्रालय, नेपाल कम्युनिस्ट पार्टी माओवादीले सूचना तथा सञ्चार, भौतिक योजना तथा निर्माण, स्थानीय विकास, वन तथा भू-संरक्षण र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय पाउने बताउनुभयो ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले परराष्ट्र, शिक्षा तथा खेलकुद, कृषि तथा सहकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सामान्य प्रशासन तथा नेपाली काङ्गे्रस प्रजातान्त्रिकले जलस्रोत, श्रम तथा यातायात व्यवस्था र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पाउने भएका छन् ।

यसैगरी नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)ले उद्योग, वाणिज्य तथा आपूर्ति, जनमोर्चा नेपालले स्वास्थ्य तथा जनसङ्ख्या र संयुक्त वाममोर्चा नेपालले भूमिसुधार तथा व्यवस्था मन्त्रालय पाउने बताइएको छ ।

आठ दलमा सम्मिलित नेपाल मजदुर किसान पार्टी भने अन्तरिम मन्त्रिमण्डलमा सहभागी नहुने निर्णय यसअघि नै गरिसकेको छ ।

आज बस्ने व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मन्त्रिमण्डलको नामावली प्रस्तुत गर्ने र त्यसलगत्तै प्रधानमन्त्रीले व्यवस्थापिका संसदसमक्ष शपथग्रहण गरेपछि मन्त्रीहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ।

Popularity: 12%

Add comment March 31st, 2007

योगीले अर्काकी श्रीमति भगाए

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सबैका लागि श्रद्धाका पात्रका रूपमा रहेका योगीले अर्काकी श्रीमती भगाएर लगेको सुन्दा आर्श्चर्य लाग्न सक्छ, तर यहाँ रहने एक भारतीय एक योगीले पूजापाठ र भक्तिभावलाई छाडेर त्यस्तै काम गरेका छन् ।

हालै मात्र ती योगीले आफ्नै उमेर बराबरकी अर्काकी श्रीमतीलाई भगाएर लगेका छन् ।

आफूलाई योगी बताएर पूजापाठ गर्ने र अरुलाई राम्रो उपदेश दिने भारतको बिहार स्रि्राही बस्ने योगी लालमणि दासले सप्तरी जिल्लाको रम्पुरा मल्हनियाँ गाविसकी एक महिलालाई भगाएर लगेका हुन् ।

योगीहरूमाथि स्थानीय प्रशासनले निगरानी राख्नुपर्ने बताउँदै स्थानीय ज्ञानचन्द्र यादव भन्छन्- “कतिपय योगीहरू राती लुटपाट तथा डकैतीजस्ता क्रियाकलापमा समेत संलग्न रहने गरेका छन् ।”

Popularity: 12%

3 comments March 31st, 2007

माअ‍ोवादी माफी माग्न बाध्य

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
इटहरीको एक साप्ताहिक पत्रिकाले होटल तथा रेष्टुरामा हुने विकृतिको विषयमा समाचार प्रकाशित गरेको बारेमा राखिएको र्सवपक्षीय छलफलमा ९ पत्रकारलाई ज्यान मार्ने धम्की दिएकौप्रति माओवादीले सार्वजनिक रूपमा माफी मागेको छ ।

नागरिक समाज, पत्रकार, माओवादी, प्रहरी र होटल तथा रेष्टुराँ व्यवसायीबीच शुक्रबार बिहान इटहरीमा भएको छलफलमा माओवादीले माफी मागेका हुन् ।

माओवादी समर्थित संयुक्त व्यापार सङ्घका केन्द्रीय सदस्य जगदीश सापकोटाले अबका दिनमा यसप्रकारका घटना नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दै माफी मागेका थिए । त्यसैगरी होटल तथा लज व्यवसायी महासङ्घका इटहरी अध्यक्ष मणिन्द्र कटुवाल र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक विश्वमणि पौखरेलले पनि सार्वजनिक रूपमै माफी मागेका थिए ।

उनीहरूकै उपस्थितिमा माओवादी समर्थित संयुक्त व्यापार सङ्घ सुनसरीका कोषाध्यक्ष रितेश श्रेष्ठले गत सोमबार ९ पत्रकारलाई ज्यान मार्ने धम्की दिएका थिए । धम्कीपछि पत्रकार महासङ्घ सुनसरीले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।

माफी मागेपछि आन्दोलन स्थगित गरिए पनि श्रेष्ठमाथि कडा कारबाही गरिएको सार्वजनिक नगरे पुनः आन्दोलन गर्ने पत्रकार सोमनाथ बाँस्तोलाले छलफलमा चेतावनी दिएको स्वससेले जनाएको छ।

Popularity: 12%

2 comments March 31st, 2007

माअ‍ोवादी पनि सति जाने तयारीमा रहेको आरोप

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
माअ‍ोवादी पनि जनआन्दोलनको भावना विपरीत संवैधानिक राजतन्त्रको पक्षमा उभिएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको लगौँटी छाडेर बाहिरिन नसकी काङ्ग्रेससँग राजतन्त्रको सती जाने निश्चित भएको आरोप एक वामपन्थी विद्यार्थी नेताले लगाएका छन्।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल महिला सङ्घ उदयपुरको जिल्ला अघिवेशनको शुक्रबार संयुक्त उद्घाटन गर्दै अनेरास्ववियुका केन्द्रीय महासचिव गोकुल र्घर्तिमगरले गणतान्त्रिक नेपाल स्थापनाका लागि नेतृत्व गरिरहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अघोषित रूपमा संवैधानिक राजतन्त्रको पक्षमा उभिएर मुलुकलाई गलत दिशातर्फउन्मुख गराएको आरोप लगाए।

गणतन्त्र स्थापनाका लागि ४० लाख विद्यार्थीहरूलाई लालसेना बनाउन तयार रहेको बताए।

मगरले यतिबेला देशमा सुरताल बिनाको नाचगान भइरहेको बताउँदै उहाँले देशको राजनीतिक अवस्था प्रतिगामी र यथास्थितिवादीहरूको हातमा पुगिसकेको बताउनुभयो ।

कुनै पनि गणतन्त्रवादीहरूले राजतन्त्रका लागि केही गर्न सक्छन् भने त्यो अन्तिम पटक मलामी जानु मात्र भएको बताउँदै उहाँले माओवादीले काङ्ग्रेसको पुच्छर समातेर बैतर्नी तर्ने क्रममा रहेको मगरले बताउनुभयो । (स्वससे)

Popularity: 12%

3 comments March 31st, 2007

“बम पडकाउँदैमा हिन्दु राज्यको घोषणा हुँदैन”

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले हिन्दु राष्ट्र एवम् धर्म निरपेक्षताका सम्बन्धमा अन्तिम निर्णय संविधानसभाले गर्ने बताउनुभएको छ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.कोइरालाले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भन्नुभयो- “बम पडकाउँदैमा हिन्दु राज्यको घोषणा हुँदैन।”

जनताको भावना जितेर राष्ट्रका प्रमुख प्रधानमन्त्रीले सार्क सम्मेलनमा सहभागी हुनु उचित हुने बताउँदै केन्द्रीय सदस्य डा.कोइरालाले नेकपा माओवादीका विधायकहरूद्वारा विधायिका संसदमा उठाइएको कुरा जायज भएकाले त्यसअनुरूप सहमति हुनुपर्नेमा जोड दिनुभयो।

Popularity: 12%

4 comments March 30th, 2007

तराई स्वतन्त्र राज्य घोषित

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जनतान्त्रिक तराई मुक्ति मोर्चाको ज्वाला सिंह समूहले तराईलाई “स्वतन्त्र राज्य” घोषणा गरेको छ। ज्वाला सिंहले चैत १४ को मिति राखी जारी गरेको वक्तव्यमा “गणतन्त्र स्वतन्त्र तराई राज्य”को घोषणा गरिएको भनिएको छ।

वक्तव्यमा स्वतन्त्र तराई राज्य र तराई सरकारको घोषणा भइसकेको र त्यसलाई मोर्चाले सशस्त्र तवरबाट रक्षा गर्ने भनिएको छ।

स्वतन्त्र तराई राज्यका थारुवान प्रदेश, अवधि प्रदेश, भोजपुरी प्रदेश र मिथिला प्रदेश तोकिएको अनि अब त्यहीभित्र वृहत् राजनैतिक मोर्चा बनाई गोलमेच सम्मेलन र तराईभित्र संविधान सभाको निर्वाचन गर्ने वक्तव्यमा उल्लेख छ। नेपालीहरुको अ‍ौपनिवेशिक शासन र शोषण तथा पीडाबाट मुक्त भई विश्वको सामु नयाँ गणतन्त्र देशको रुपमा उदय भएको त्यसमा भनिएको छ।

ज्वाला सिंह माअ‍ोवादीबाट फुटेर बनेको तराई जनतान्त्रिक मुक्ति मोर्चालाई पनि टुक्राएर बनेको समूह हो। यसको अर्को समूहको नेतृत्व जयकृष्ण गोइतले गरिरहेका छन्।

Popularity: 12%

17 comments March 30th, 2007

आज साँझसम्ममा माअ‍ोवादीसहितको मन्त्रिमण्डल बन्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अन्ततः लामो समयसम्मको खिचातानीपछि मंसिर १५ गते बन्नुपर्ने सहमति भएको माअ‍ोवादीसहितको अन्तरिम सरकार कुनै ठूलो परिवर्तन नभए आज साँझसम्ममा बन्ने भएको छ।

यसका लागि आज बिहानैबाट आठ दलको बैठक बस्नेछ।

हिजो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विभिन्न नेताहरुसित गर्नुभएको अलग अलग भेटवार्तापछि अन्तरिम सरकार बन्ने संकेत देखिएको हो।

नयाँ सरकार सानो आकारको हुने बताइएको छ। यसमा एमालेले वरिष्ठ उपप्रधानमन्त्री पाउने छ भने अर्को उपप्रधानमन्त्री पद माअ‍ोवादीले पाउनेछ। माअ‍ोवादीले अर्को महत्त्वपूर्ण मन्त्रालय सञ्चार पनि पाउनेछ।

आजसम्ममा मन्त्रिमण्डल नबने माअ‍ोवादी सरकारमा जाननसक्ने चेतावनी माअ‍ोवादी अध्यक्ष प्रचण्डले दिनुभएको थियो।

Popularity: 12%

4 comments March 30th, 2007

हङकङमा भूपू सैनिकको ऐतिहासिक भेला, ज्ञापन पत्र बुझाइयो (+Photo)

एचकेनेपाल डट कम, मार्च २८-
हङकङमा रहेका गोर्खा भूतपूर्व सैनिक, उनीहरुका सन्तति तथा समर्थकहरुले बुधबार हङकङस्थित बेलायती दूतावासलाई ज्ञापन पत्र बुझाइएको छ।

गोर्खा भूतपूर्व सैनिकहरुले आफूहरुमाथि बेलायत सरकारले जातिय भेदभाव गरेको भन्दै बेलायती सैनिकसरह पेन्सन तथा अन्य समान सुविधाको मागसहित हङकङस्थित बेलायती दूतावासका सहायक वाणिज्यदूत रोब भेनलाई ज्ञापन पत्र बुझाइएका हुन्। (more…)

Popularity: 12%

Add comment March 29th, 2007

एकै दलले सबै पद कब्जा गर्न पाइन्नः नेपाल

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
एमाले महासचिव माधवकुमार नेपालले एकै दलले सबै पद कब्जा गर्ने प्रयास गलत भएको बताउनुभएको छ। उहाँले बराबर हैसियत भएका दलहरूलाई समान ढङ्गले व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो।

यदि काँग्रेसलाई पद नै चाहिएको हो भने सबै पद लिई संविधान सभाको निर्वाचन गराए हुन्छ भन्नुहुँदै उहाँले संविधानसभा निर्वाचन गराउन जस्तोसुकै सहयोग गर्न पनि आफू र आफ्नो पार्टी तयार रहेको जानकारी दिनुभयो।

बल्खुमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले महासचिव नेपालले शक्ति बाँडफाँडमा विश्वास गरी अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह पनि गर्नुभएको स्वससेले जनाएको छ।

Popularity: 12%

7 comments March 29th, 2007

खुमबहादुर खड्काविरुद्ध सर्वोच्चमा मुद्दा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भ्रष्टाचारको मुद्दामा विशेष अदालतले सफाइ दिएका पूर्वमन्त्री खुमबहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।

सार्वजनिक महत्वको पदमा रही रु.दुई करोड ३६ लाख अकुत सम्पत्ति जोडेको अभियोगमा पूर्वमन्त्री खड्कालाई आयोगले मुद्दा चलाएको थियो। तर विशेष अदालतले प्रमाण नपुगेको भन्दै त्यसलाई खारेज गरिदिएको थियो।

Popularity: 12%

4 comments March 29th, 2007

पूर्व प्रधानसेनापति थापालाई पत्र काटियो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानसेनापति प्यारजङ्ग थापालाई बयानका लागि उपस्थित हुन पत्र काटेको छ। रायमाझी आयोगले जनआन्दोलन, २०६३ मा दोषी ठहर्याएका थापालाई बाटोको म्यादबाहेक सात दिनभित्र बयान दिन पत्र काटेको हो।

शाही सरकारले जनआन्दोलन दमनका नाममा राष्ट्रिय ढुकुटी रित्याएको विषयमा छानविन गर्न गठित रायमाझी आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले डेढ महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अधिकार सुम्पेको थियो।

Popularity: 12%

7 comments March 29th, 2007

नाराबाजी गर्दै माअ‍ोवादीद्वारा संसदमा अवरोध

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादीका सांसदहरूले अन्तरिम सरकार छिटो बनाउनु पर्ने माग गर्दै रोष्ट्रम घेरेपछि व्यवस्थापिका- संसदको हिजोको बैठक चल्न सकेन।

निर्धारित समयभन्दा करिब दुई घण्टापछि सभामुख सुवास नेम्बाङको अध्यक्षतामा बैठक प्रारम्भ हुनासाथ नेकपा माओवादीका संसदीय दलका उपनेता देव गुरुङले यथाशक्य छिटो अन्तरिम सरकार गठन र संविधानसभाको निर्वाचन मिति घोषणा नगरिँदासम्म संसदको कारबाही अघि बढ्न नदिने बताउनुभयो।

उहाँले पूर्व सहमति र सम्झौता एवं जनआन्दोलनको भावनाविपरीत सरकारले आफूखुसी निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र सुरक्षा निकायका पदाधिकारीहरूको बढुवा गरेको तथा माओवादी अस्थायी शिविरमा आधारभूत आवश्यकतासमेत उपलब्ध नगराएको भनी रोष प्रकट गर्दै वर्तमान सरकार तत्काल विघटन गरी अन्तरिम सरकारको गठन हुनुपर्छ भन्नुभयो।

सोही दलका खिमलाल देवकोटाले नेपालको अन्तरिम संविधानको धारा-४३ मा सरकार सञ्चालन र धारा-४५ मा व्यवस्थापिका संसदको सञ्चालन राजनीतिक सहमति र जनआन्दोलनको भावनाअनुरुप हुनुपर्ने भएपनि सरकार र व्यवस्थापिका-संसदको कामकारबाही त्यसअनुरुप हुन नसकेको भन्दै संसदको बैठक स्थगन गर्न माग गर्नुभयो।

आफ्ना भनाइ राखिसकेपछि माओवादी विधायकहरूले सभामुखअगाडिको रोस्टममा उभिएर तत्काल अन्तरिम सरकार गठन गर्न, संविधानसभा निर्वाचनको मिति घोषणा गर्न र निर्वाचन क्षेत्र निर्धारण आयोग विघटन गर्न माग गर्दै नाराबाजी गर्नुभएको थियो।

सभामुख नेम्बाङले सरकारका तर्फाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाले बोल्न खोज्नु भएकाले आ-आफ्नो स्थानमा बसिदिन आग्रह गर्नुभएपनि माओवादी विधायकहरूको नाराबाजी जारी रहेकाले यही चैत १६ गते दिनको १ बजेसम्मका लागि बैठक स्थगन गरिएको घोषणा गरियो।

Popularity: 12%

3 comments March 29th, 2007

भूपू गोरखा सैनिकद्वारा बेलायती दूतावासलाई ज्ञापनपत्र

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गोरखा भूतपूर्व सैनिक सङ्घले बेलायती सैनिकसरह पेन्सन, अन्य सुविधा, समान आवासीय प्रवेशाज्ञा तथा सैनिकका परिवारजनलाई आकस्मिक विशेष व्यवस्थाको माग गर्दै नेपालस्थित बेलायती दूतावासलाई ज्ञापनपत्र बुझाएको छ।

सङ्घको केन्द्रीय कार्यसमितिका पदाधिकारीसहितको गोरखा भूतपूर्व सैनिकहरूले बेलायतकै लिबरल डेमोक्र्याटिक पार्टीको र्समर्थनमा बेलायतमै यही मार्च २६ तारिखदेखि गरिने सडक आन्दोलनबारे पनि जानकारी गराएका छन्।

सङ्घका उपसभापति कुलप्रसाद पुनका अनुसार बेलायती सैनिकसरह नै सुविधा उपलब्ध गराउनुपर्ने मागका साथ स्वदेश तथा विदेशमा रहेका सङ्घअर्न्तर्गतका सम्पूर्ण समितिले आ-आफ्ना क्षेत्रका बेलायती दूतावास तथा वेलफेयर सेन्टरमा समेत विरोध प्रदर्शन गर्नुका साथै ज्ञापनपत्र बुझाएका छन्।

यसैबीच, संयुक्त ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्घ नेपालले संयुक्त राष्ट्र सङ्घको नेपालस्थित कार्यालय पुल्चोकमा बुधबार पनि दुई घण्टा धर्ना दिएको छ। बेलायती सरकारले गोर्खालीहरूमाथि भेदभावपर्ूण्ा व्यवहार गरेको भन्दै विरोध स्वरूप सङ्घले धर्ना दिएको हो।

बेलायतमा गोर्खालीहरूको समस्या समाधानको लागि बेलायती सांसद पिटर क्यारोलको आयोजनामा मङ्गलबारदेखि बेलायतमा भइरहेको सप्ताहव्यापी अभियानअर्न्तर्गत सङ्घले नेपालमा पनि धर्ना दिएको हो।

आफ्ना मागलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले राष्ट्रसङ्घको कार्यालयमा आगामी १६ गतेसम्म प्रत्येक दिन बिहान १० वजेदेखि २ घण्टासम्म धर्ना दिने सङ्घका उपाध्यक्ष हिमाल राईलाई उदधृत गर्दै स्वससेले जनाएको छ।

Popularity: 12%

3 comments March 29th, 2007

संघात्मक व्यवस्थामा त जाने, तर अहिले नै होइनः कोइराला

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपाली काङ्ग्रेस केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको पक्षमा नरहेको तर अहिलेकै स्थितिबाट देशलाई सङ्घात्मक संरचनामा लैजाने प्रयत्न भएमा राज्य टुक्रिने खतरा रहेको बताउनुभएको छ।

डा.कोइरालाले देशलाई सङ्घीय व्यवस्थामा लैजान अझै धेरै कुराको परिवर्तन गर्न बाँकी रहेको उल्लेख गर्दै राज्यको पुनःसंरचना भाषा, जनसङ्ख्या, भौगोलिक अवस्था, आर्थिक स्थिति, सामाजिक संरचना र अल्पसङ्ख्यक जाति तथा जनजातिका आत्मसम्मानको यथार्थ विश्लेषण गरेर मात्र देशलाई सङ्घात्मक संरचनामा रुपान्तरण गरिनुपर्नेमा जोड दिनुभयो।

सुकुना बहुमुखी क्याम्पस, नेविसङ्घद्वारा मोरङको विराटचोकमा आयोजित “संविधानसभा तथा सङ्घात्मक राज्यप्रणाली'’ विषयक विचारगोष्ठीमा डा.कोइरालाले संविधानसभा समयमा नै गर्न नसकिए देशमा अराजकता बढ्नसक्ने खतरा रहेको औँल्याउँदै यसका लागि सबै राजनीतिक दल एक भएर संविधानसभा निर्वाचनका लागि केन्द्रीत हुनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।

Popularity: 12%

Add comment March 29th, 2007

75 वर्षकी वृध्दादेखि तीन वर्षकी बालिकासम्म बलात्कृत

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पचहत्तर वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा कन्चनपुर गुलरियाका एक २२ वषीय युवकलाई प्रहरीले हिरासतमा लिएको छ। सोमबार राति ती वृद्धालाई बलात्कार गरेको अभियोगमा प्रकाश देउवालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको बताइएको हो।

अभियुक्त देउवाले सन्यासी जीवन बिताइरहेकी वृद्धालाई उनकै कुटीमा मदिरा सेवन गरेर गई बलात्कार गरेको प्रहरीले जनाएको छ।

यसैगरी दुई बालिकामाथि यौन दुराचार गरेको आरोपमा प्रहरीले मोरङ, मधुमल्ला गाविस-५ का एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा १७ वर्षीय वीरबहादुर विक रहेको इलाका प्रहरी कार्यालय, उर्लाबारीले जनाएको छ।

उनले मङ्गलबार सोही वडाका पाँच र तीन वर्षीया बालिकामाथि यौन दुराचार गरेका थिए।

Popularity: 12%

2 comments March 29th, 2007

नेपालमा गणतन्त्र आउला ? (१) - महेश्वर श्रेष्ठ

- महेश्वर श्रेष्ठ
२०५८ साल जेठ १९ गते तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह र निजको एकल परिवारका सदस्य बाहेक तत्कालीन गद्दीनसिन राजा वीरेन्द्र, नीजको सम्पूर्ण परिवार सदस्य तथा नजिकका नातागोता समेत नारायणहिटी राजदरबारमा मारिएबाट एक किसिमले नेपालमा परम्परागत राजतन्त्रको अन्त्य भएको थियो । (more…)

Popularity: 12%

Add comment March 29th, 2007

तपस्वी बोम्जन ३ वर्षको लागि बङ्करभित्र छिरे (News update)

एचकेनेपाल डट कम मार्च २८ -
बाराको रतनपूरीमा ६ महिनासम्म पानी समेत नखाई तपस्या गरेका रामबहादुर बोम्जन सोमबारदेखि ३ वर्षको लागि बङ्करमा छिरेर तपस्यामा लीन भएका छन्। (more…)

Popularity: 12%

Add comment March 28th, 2007

होसियार, ‘नेपाल डिफेन्स आर्मी’ को बिगबिगी बढ्यो…

एचकेनेपाल डट कम -
नेपालमा भारतीय समूहद्वारा सञ्चालित’ नेपाल डिफेन्स आर्मी’ले आतंक फैलाउने, डर देखाउंने जस्ता कार्यको बिगबिगी बढ्न थालेको छ।

समाचार स्रोतका अनुसार यो संगठन सीमावर्ती भारतमा स्थापना भएको बताइन्छ। यस संगठनको प्रमुख रक्सौलस्थित काली मन्दिरका बाबा सञ्जयनाथ रहेको पनि बताइन्छ। नेपाल धर्मनिरपेक्ष भएपछि स्थापना भएको नेपाल डिफेन्स आर्मीको कार्यकर्ता मदेसी जनअधिकार फोरमको आन्दोलनमा सक्रिय रुपले लाग्दै आएको बताईन्छ। राजावादी पञ्चायतकालीन नेताहरुसंग सुमधुर सम्बन्ध रहंदै आएको यस संगठनले पछिल्लो समय नेपालमा आतंक फैलाउन शुरु गरिएको छ।

स्रोतका अनुसार कान्तिपुर पब्लिकेशन्स क्षेत्रीय कार्यालय परिसरमा सोमबार साँझ सोही समूहले सकेट बम राखेर आतंक फैलाउने प्रयास गरेको थियो। सानो आकारमा भए पनि निकै शक्तिशाली रहेको उक्त सकेट बमलाई बम निष्क्रिय पार्ने सशस्त्र टोलीले निष्क्रिय पारि दिएको हुनाले मानवीय र भौतिक क्षति हुन पाएको थिएन। तर बम निष्क्रिय पार्न ढिला वा बम राखिएको बारे जानकारी नभएको भए कान्तिपुर क्षेत्रीय कार्यालय पूर्णरुपले ध्वस्त हुन सक्ने सम्भावना रहेको थियो।

सोही समूहले नेकपा एमालेको जिल्ला कार्यालय बारामा सोमबार राति बम विस्फोट गराएर आतंक फैलाएका थिए। त्यसै गरी सोही समूहले नेपाली कांग्रेसका विधायक अशोक कोइरालाको निवासको मूल गेटमा मंगलबार साँझ बम विस्फोट गराउंदा सामान्य क्षति भएको छ। मोरङ टंकिसिनुवारी गाविसस्थित म्याकडवेल्स कम्पनीमा पनि सोही समूहले बम विस्फोट गराउंदा भवनको छाना र भवनभित्र राखिएका सवारी साधनमा क्षति पुगेको इन्सेकले जनाएको छ।

नेपाल डिफेन्स आर्मीका कार्यकर्ताले नेपाललाई धर्म निरपेक्ष हटाइ पुनः हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने माग राख्दै दवाव दिइएको जनाएको छ।

Popularity: 12%

7 comments March 28th, 2007

नक्कली सेनालाई किन सरकारले पैसा दिएकोः सुजाता

काङ्ग्रेस नेतृ सुजाता कोइरालाले सरकारले माओवादी नक्कली सेनाका लागि रकम खर्च गरेको आरोप लगाउनुभएको छ । माओवादीका नक्कली सेनाहरू क्याम्पमा बस्ने र सक्कली सेनाहरू क्याम्प बाहिर निस्केर हिँड्ने गरेको बताउँदै नेतृ कोइरालाले माओवादी सेनाहरूको प्रमाणीकरण हुनुपर्नेमा जोड दिनुभयो ।

डा. विनोद निता कंडेल स्मारक आँखा अस्पताल परासीद्वारा आयोजित निःशुल्क ह्वील चियर वितरण कार्यक्रममा नेतृ कोइरालाले क्याम्पमा रहेका नक्कली सेनाका लागि सरकारले बाषिर्क एक अर्ब रूपैयाँ खर्च गरेको समेत बताउनुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य एवम् विदेश विभाग प्रमुखसमेत रहेकी नेतृ कोइरालाले संविधानसभा निर्वाचनमा आफूहरू पराजित हुने देखेर माओवादीहरूले चन्दा आतङ्क र डर त्रास देखाई आतङ्क मच्चाइरहेको बताउँदै त्यसका लागि आफ्नो युवा सङ्गठन योङ कम्यनिस्ट लिग (वाइसिएल) परिचालन गरेको आरोप लगाउनुभयो ।

माओवादी अहिले पनि हतियार लिएर आतङ्क मच्चाउने गरेको बताउँदै उहाँले समयमै निर्वाचन नभए त्यसको दोष माओवादीको हुने बताउनुभयो । (स्वससे)

Popularity: 12%

19 comments March 27th, 2007

कचकच गरेको भन्दै आमालाई काट्ने छोरा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
खुर्पाले घाँटी रेटेर आफ्नै आमाको हत्या गरेका एक युवकले हत्या गरेको स्वीकार्दै प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

तनहुँको पुर्कोट गाविस वडा नं. ४ का हरि सापकोटाले आइतबार बेलुकी आफ्नै आमा दीर्घमाया सापकोटाको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ।

अभियुक्त सापकोटाले आमाको कचकच सहन नसकी हत्या गरेको प्रहरीसमक्ष बताएको प्रहरी नायब उपरीक्षक खिनुप्रसाद आचार्यले जानकारी दिनुभयो।

अभियुक्त सापकोटालाई जिल्ला प्रहरी कार्यालय, तनहुँले हिरासतमा राखेको छ।

Popularity: 12%

12 comments March 27th, 2007

एकसय तीस वर्षकाले नागरिकता पाए

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
हुम्ला जिल्ला सदरमुकाम सिमिकोटबाट खटिएको नागरिकता वितरण टोलीबाट स्थानीय मदाना गाविस-८ निवासी १३० वर्षीय काल्चे नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्।

जिल्लामा भीषण हिमपात भएता पनि सदरमुकाम सिमिकोटबाट ४८ कोस टाढा पर्ने मैला, मदाना, श्रीनगर, कालिका र जैर गरी पाँच गाविसका तीन हजार १६६ जनालाई घरदैलोमा पुगी सहज ढङ्गले नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको टोली प्रमुख धनिचन्द्र ठकुरीले बताउनुभयो।

Popularity: 12%

2 comments March 27th, 2007

बंगलादेशमा बर्डफ्लु भेटिएपछि नेपालमा सतर्कता

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सिमानाबाट २६ किमिको दूरीमा रहेको बङ्गलादेशको साबर भन्ने स्थानमा बर्डफ्लु रोग भेटिएको र त्यो विश्व पशु स्वास्थ्य सङ्गठनबाट समेत प्रमाणित भइसकेकाले अवैध पशुपंक्षीजन्य पदार्थको ओसारपसार रोकी नष्ट गर्ने निर्णय प्रशासनले गरेको छ।

बर्डफ्लु रोग तथा अस्वस्थ पशुपंक्षी र पंक्षीजन्य पदार्थ भारतीय सीमाक्षेत्रबाट नेपालमा भित्रिन नदिन प्रभावकारी कदम चाल्ने निर्णय पनि भएको छ।

स्वदेशमा उत्पादन भएका पशुपंक्षीको ओसारपसार र बिक्री वितरण गर्दा दर्तावाल पशु चिकित्सकको प्रमाणपत्र हुनुपर्ने र नेपालमा पशुपंक्षी भित्र्याउँदा जाँच गराउनुपर्ने निर्णय पनि भएको छ।

बंगलादेशमा सेना परिचालन गरेर कुखुरा मार्ने काम भइरहेको छ।

Popularity: 12%

1 comment March 27th, 2007

तोकिएकै समयमा निर्वाचन हुन्छः उपप्रम

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
उपप्रधानमन्त्री अमिक शेरचनले तोकिएकै समयमा संविधानसभाको निर्वाचन गराउन आठ राजनीतिक दल र सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

उहाँले संविधानसभा निर्वाचनको तयारीका क्रममा केही ढिलाइ भएमा आगामी असार १५ गतेसम्म निर्वाचन सम्पन्न हुने जानकारी दिनुभयो।

अन्तरिम सरकार गठनका लागि प्रधानमन्त्री आठ राजनीतिक दल र सरकारसँगको छलफलमा गम्भीररूपमा प्रस्तुत भइरहनुभएको जानकारी दिँदै उपप्रधानमन्त्री शेरचनले भन्नुभयो- ‘आगामी सार्क सम्मेलनअघिसम्म अन्तरिम सरकारको गठन गर्ने गृहकार्य भइरहेकाले अन्तरिम सरकार गठनमा आशङ्का गर्नुहुँदैन्।’

उहाँले अन्तरिम सरकार गठन र संविधानसभा निर्वाचनको मिति तय नहुनुमा आठ वटै राजनीतिक दल जिम्मेवार भएको बताउँदै आफूहरूमा रहेको सामन्तवादको गन्धका कारण सबै कार्यमा तालमेल हुन नसकेको उल्लेख गर्नुभयो।

Popularity: 12%

Add comment March 27th, 2007

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2007
M T W T F S S
« Feb   Apr »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Posts by Month

Posts by Category

More news....