Archive for April, 2007

द. कोरियाका नेपाली दूतावास र संघसंस्थाबीच अन्तरक्रिया कार्यक्रम (+Photo)

भूपेन्द्र आचार्य एचकेनेपाल डट कम दक्षिण कोरिया -
दक्षिण कोरियास्थित नेपाली दूतावास र नेपाली संघसंस्थाबीच हालै एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


कार्यवाहक राजदूत यादव खनाल

द. कोरियामा हालै स्थापना भएको नेपाली दूतावास र संघसंस्थाबीच पहिलो पटक यहाँका नेपालीहरुको समस्याका बारे छलफल भएको हो।

अन्तरक्रिया कार्यक्रममा सम्पूर्ण संघसंस्था एउटै छातामुनि गोलबन्द नभए पनि नेपाली दूतावासले सबै संघसंस्थासंग सहकार्य गरी अघि बढ्ने दूतावासले जनाएको छ। कार्यवाहक राजदूत यादव खनालले नेपाल सरकारको निर्देशन बमोजिम यहाँका नेपालीहरुको समस्या समाधान गर्ने तर्फ लाग्ने बताउंनु भएको छ।

दक्षिण कोरियाका करिव ५० वटा संघसंस्थाका प्रतिनिधि सहभागी रहेको अन्तरक्रिया कार्यक्रममा बोल्नु हुदैं का.वा. राजदूत खनालले द. कोरियामा नेपाली कामदार भित्र्याउने मुनड्रप्सले नेपाली कामदारको समस्याप्रति चासो नराखेको बताउंनु हुंदै यसका प्रतिनिधिलाई बोलाई चेतावनी दिनुका साथै नेपाल सरकारलाई यस सम्बन्धि जानकारी गराउंने बताउंनु भयो।

उहाँले कोरियामा काम गर्न आएका कतिपय नेपाली काममा नजाने देखिएकाले यस्ता आचरणमा सुधार गर्नु पर्ने सुझाब दिनुभयो।

का.वा. राजदूत खनालले कोरियामा रहेपछि यहाँको नियम कानुनलाई आत्मसात गर्नु पर्ने बताउदै यहाँको कानुन पालना गर्ने हरेक नेपालीलाई दूतावासले सहयोग गर्ने बताउंनु भयो।

दक्षिण कोरियामा नेपाली दूतावास भर्खरै मात्र स्थापना भएको र कार्य व्यस्ताका कारण लोकतन्त्र दिवस तोकिएको समयमा मनाउन नपाए पनि कार्यालयको उद्घाटनसंगै लोकतन्त्र दिवस मनाउंने जानकारीसमेत उहाँले दिनुभयो।

दूतावासले केही दिनअगाडिदेखि राहदानी नवीकरण र वितरण कार्य सुरु गरेको छ भने यो पहिलो भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हो। थप कोरिया न्युज

तस्विरः राप्के लामा एचकेनेपाल डट कम दक्षिण कोरिया


Popularity: 11%

2 comments April 30th, 2007

हैसियत नभएको राजालाई हटाउन जनमत संग्रह गर्नुपर्दैन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पूर्वमन्त्री एवम् राजनीतिज्ञ नीलाम्बर आचार्यले एकले अर्कोमाथि दोषारोपण गर्दा एकता कमजोर भई प्रतिगमनकारी शक्तिले फाइदा उठाउने हुँदा आठ दलको गठबन्धन अझ सुदृढ र बलियो हुनुपर्नेमा जोड दिनुभएको छ।

रिपोटर्स क्लब नेपाल लुम्बिनी अञ्चल शाखाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले आरोप प्रत्यारोप गर्दै जाने हो भने कात्तिक मङ्सिरमा पनि संविधानसभाको निर्वाचन हुन नसक्ने आशङ्का व्यक्त गर्नुभयो।

अन्तरिम संविधानमा राजसंस्थाको कुनै स्थान नभएकाले जुनसुकै उपयुक्त समयमा पनि मुलुकलाई गणतन्त्र घोषणा गर्न सकिने विचार उहाँको थियो।

कुनै हैसियत नभएका राजालाई हटाउन जनमतसङ्ग्रह आयोजना गर्नु गणतन्त्र घोषणा गर्ने समयलाई पछि धकेल्नु हो भन्ने उहाँको धारणा थियो।

Popularity: 11%

3 comments April 30th, 2007

कपालको कारण आत्महत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विवाह भएको पाँच दिन नबित्दै सिरहा जिल्लामा एउटी दलित युवतीले आत्महत्या गरेकी छिन्।

असनपुर- ८ बस्ने १९ वर्षीया मीना सदाले गए राति आफ्नै घर (माइत) मा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

विवाहपछि ससुराली खिरौना गाविस पुगेपछि त्यहाँ बेहुलीलाई हेर्न आउने महिलाहरुले बेहुलीलाई कपाल नभएको भनी जिस्काउने गरेका कारण माइतमा आएर आत्महत्या गरेको कुरा पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

ती नवविवाहित युवतीको कपाल छोटो रहेको बताइएको छ।

Popularity: 11%

1 comment April 30th, 2007

पत्रकारहरुमाथि सुतली बम प्रहार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
पत्रकारहरु चढेको सवारीमा हिजो सुनसरीको दुहबीमा सुतली बम प्रहार भएको छ।

मोटरसाइकलमा आएका दुइ जनाले धरान-विराटनगर सडकको दुहबी- ४ स्थित सुभद्रा चोकखण्डमा मोरङका सञ्चारकर्मीहरु चढेको गाडीलाई लक्षित गरी बम विस्फोट गराए पनि कसैलाई केही भएन।

नम्बर प्लेट छोपेर विराटनगरबाट इटहरीतर्फ आएको मोटरसाइकल र सोही दिशामै रहेको सञ्चारकर्मीको गाडी एक आपसमा नजिक पुगेका बेला बम विस्फोट भएको प्रहरीले जनाएको हो।

परराष्ट्र मन्त्री सहाना प्रधानको कार्यक्रमको समाचारका लागि मोरङको केराबारीतर्फ गइरहेका पत्रकारहरु विष्णु पोख्रेल, चुमन बस्नेत, गोकुल पराजुली, सरस्वती कार्की, उद्धव घिमिरे, धु्रव रिजाल चढेको सवारीलाई लक्षित गरी बम प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

मधेसी टाइगर्सले आह्वान गरेको बन्दको दोस्रो दिन बम पड्किनुले सो विस्फोट टाइगरले गरेको हुनसक्ने प्रहरीको आशङ्का छ।

Popularity: 11%

Add comment April 30th, 2007

नयाँ मन्त्री थपिए

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेललाई हिजो प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराउनु भयो।

सो समारोहमा मन्त्रिगण र जनमोर्चा, नेपालका अध्यक्ष अमिक शेरचनको उपस्थिति रहेको थियो।

मन्त्री पोखरेल जनमोर्चा, नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै वर्तमान मन्त्रिपरिषदमा सामेल हुनुभएको हो।

जनमोर्चाले स्वास्थ्य राज्यमन्त्रीका लागि शशी श्रेष्ठको नाम पनि सिफारिस गरेको भए पनि राज्यमन्त्री नियुक्ति भने प्रधानमन्त्रीले गर्नुभएको छैन। काँग्रेस र माअ‍ोवादी कै पनि राज्यमन्त्री नियुक्त हुन बाँकी रहेको छ।

Popularity: 11%

1 comment April 30th, 2007

संसदले गणतन्त्र घोषणा गर्न कहाँ मिल्छ ?

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अर्थमन्त्री डा.रामशरण महतले अन्तरिम संविधानको मर्म र भावनाविपरीत संसदले गणतन्त्रको घोषणा गर्न नमिल्ने बताउनुभएको छ।

सहिद वासुदेव घिमिरेको गाउँ आमभन्ञ्याङ गाविसमा नेपाली काङ्ग्रेस आमभन्ञ्याङ गाउँ कमिटीद्वारा आयोजित गाउँ जागरण अभियान सभालाई सम्बोधन गर्दै उहाँले राजतन्त्र राख्ने, नराख्ने विषयमा संविधानसभाको पहिलो वैठकले घोषणा गर्ने निर्णय आठदलले गरिसकेको उल्लेख गर्नुभयो।

अर्थमन्त्री डा.महतले भन्नुभयो-हामीले जनताका अगाडि यस विषयमा वाचा गरिसकेका छौं, गणतन्त्रको घोषणा जनताले गर्ने हो, संसदको दुई तिहाइ मतले होइन।

Popularity: 11%

Add comment April 30th, 2007

भारतीय सुरक्षाकर्मीले गरेको हत्याको विरोध

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अन्तर्राष्ट्रिय सीमा नियमको उल्लङ्घन गरी भारतीय सीमा सुरक्षा बलका जवानले नेपाली युवाको हत्या गरेकोमा सुनसरीका सबै राजनीतिक दलले त्यसको कडा शब्दमा विरोध गरेका छन्।

आठ राजनीतिक दलका जिल्ला नेताहरूले विज्ञप्ति जारी गर्दै शुक्रबार दिउँसो नरसिंह-६ का सन्तोष साहलाई नेपाली भूमिमा क्रुरतापूर्वक हत्या गर्ने भारतीय सीमा सुरक्षा बलका जवानलाई अन्तरराष्ट्रिय कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

बीस वर्षीय साहलाई हत्या गर्ने एसएसबी जवान श्यामल लस्करलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालयले सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

मानवअधिकारकर्मी, पीडित परिवार र राजनीतिक दलको दबाबका कारण प्रहरीले मुद्दा दायर गरेको हो।

भारतीय सीमा सुरक्षा बलका जवानले साहबाट घुस नपाएपछि लखेटेर नेपाली भूमिमा ल्याई उनको हत्या गरेको थाहा भएको छ।

Popularity: 11%

Add comment April 30th, 2007

द.कोरियामा विश्व मजदुर दिवस (+Photo)

भूपेन्द्र आचार्य एचकेनेपाल डट कम द. कोरिया -
प्रवासी मजदुर युनियन तथा दक्षिण कोरिया मजदुर, सामाजिक, राजनैतिक, धार्मिक, मानवाधिकारवादी संघसंस्थाहरुको संयुक्त आयोजनामा विशाल र्‍याली तथा विरोध सभा सम्पन्न भएको छ।

दक्षिण कोरियाको राजधानी सउलको सउल योंग स्टेशनमा भएको विरोध सभालाई विभिन्न देशका प्रवासी मजदुर युनियनका सभापतिहरु, नेपाली सम्पर्क समितिका अध्यक्ष बम लावती, बौद्ध परिवारका अध्यक्ष तथा मजदुर नेता नरेन्द्र गुरुङ, प्रवासी मजदुर युनियन द. कोरियाका केन्द्रीय अध्यक्ष काजिमान खापुङ र कोरियाका संघसंस्थाका र युनियनका प्रतिनिधिहरुले सम्बोधन गर्नुभएको थियो।

हजारौं प्रवासी मजदुरहरुको सहभागिता रहेको सो र्‍यालीले विभिन्न स्थानमा बिरोध र्‍याली गरी आमसभामा परिणत भएको थियो। र्‍यालीमा इपीएस खारेज गर, अवैधानिक मजदुरलाई वैधानिक गर, जेल खारेज गर, वर्क परमिट लागु गर जस्ता चर्का नारा लगाइएको थियो। र्‍याली तथा विरोध सभामा नेपाली प्रवासी मजदुर र नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय मात्रमा उपस्थिति रहेको थियो।

तस्विरः राप्के लामा एचकेनेपाल डट कम द. कोरिया


थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 11%

1 comment April 30th, 2007

द.कोरियामा जनआन्दोलन दिवस (+Photo)

भूपेन्द्र आचार्य एचकेनेपाल डट कम-
नेपाली सम्पर्क समिति दक्षिण कोरियाले जनआन्दोलन दिवस तथा जलपानको आयोजना गरी आइतबार जनआन्दोलन दिवस भव्य रुपले मनाएको छ।

प्रथम जनआन्दोलनको दिवसको अवसरमा केक काट्नुको साथै दीप प्रज्वलन गरी शुरु भएको कार्यक्रम जन सम्पर्क समिति सभापति रतन सुब्बाले उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा नेपाल सम्पर्क समितिका अध्यक्ष बमप्रसाद लावती, नेपाल बौद्ध परिवारका अध्यक्ष नरेन्द्र गुरुङ, सनसीक -बिद्यार्थीहरुको संगठन) का सभापति प्रमोद श्रेष्ठले बोल्नुभएको थियो भने स्वागत मन्तव्य केन्द्रीय सदस्य गोपाल घिमिरेले दिनुभएको थियो।

केन्द्रीय महामन्त्री भूपेन्द्र आचार्यले सञ्चालन गर्नुभएको सो कार्यक्रमको सभापतित्व केन्द्रीय सभापति रतन सुब्बाले गर्नुभएको थियो।

तस्विरः राप्के लामा एचकेनेपाल डट कम द. कोरिया

Popularity: 11%

Add comment April 30th, 2007

नेपाली जनसम्पर्क समिति द. कोरियाको क्षेत्र नम्बर तीन गठन

भूपेन्द्र आचार्य एचकेनेपाल डट कम दक्षिण कोरिया -
नेपाली कांग्रेस पार्टीप्रति आस्थावान, प्रतिवद्ध एवं समर्थकहरुको एक बृहत भेलाले देवेन्द्र बस्यालको अध्यक्षतामा ११ सदस्यीय नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया क्षेत्र नम्बर तीन गठन गरेको छ।

नेपाली जनसम्पर्क समितिका केन्द्रीय सदस्य तथा क्षेत्रीय भेला संयोजकद्वय कृष्ण गुरुङ र राजु दर्लामीमगरेल दिनुभएको जानकारीअनुसार नव गठित समितिको उपाध्यक्षमा धनबहादुर लामा, सचिवमा सुदिन पौडेल, सहसचिवमा भक्त विक, कोषाध्यक्षमा मिन पौडेल र सदस्यहरुमा राजु श्रेष्ठ, विनोद श्रेष्ठ, केदार बराल, ध्रुब भट्टराई, शुक्र भट्टचन र दिपक गुरुङ रहनु भएको छ।

उक्त भेलाको संचालन केन्द्रीय सदस्य मुनराज शर्माले गर्नु भएको थियो भने स्वागत केन्द्रीय सदस्य राजु दर्लामीमगरले गर्नुभएको थियो ।

सो भेलालाई केन्द्रीय महामन्त्री भूपेन्द्र आचार्यले शुभकामना मन्तव्य दिनु भएको थियो भने केन्द्रीय सह(महामन्त्री कृष्ण गुरुङ र ४ नम्बर क्षेत्रीय समितिका अध्यक्ष उत्तम आचार्यले आ-आफ्नो मन्तव्य दिनुभएको थियो । भेला केदार खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Popularity: 11%

Add comment April 30th, 2007

पक्राउ गर्न गएका प्रहरीमाथि नै गोली प्रहार

मोहन घले, त्रिभुबन पौडेल एचकेनेपाल डट कम पोखरा -
गुण्डागर्दी गर्ने युवाहरुलाई समात्ने भनेर बसेका प्रहरीमाथि नै शनिवार राती नौ बजे पोखराको रानीपौवामा सोही समूहले गोली प्रहार गरेको छ। गोली प्रहारबाट वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत सिपाही शुकराम सेङ्बु घाइते भएका छन्।

उनको खुट्टामा लागेको गोली वारपार भएको प्रहरीले जनाएको छ। पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार गराइरहेको उनको अवस्था अहिले खतरामुक्त रहेको छ।

“गुण्डागर्दी गर्ने युवाहरु आउने सुराकीका आधारमा प्रहरी तुल्सीघाटमा कुरेर बसेको थियो” प्रहरी स्रोतले भन्यो “१०/१२ वटा मोटरसाइकलमा आए, त्यसपछि मोटरसाइकल रोक भन्दा उल्टै गोली हानेर भागे।” “गोलीको खोका नभेटिएकाले बन्दुक कुन हो थाहा भएन तर पेस्तोलबाट गोली हानिएको हो।” प्रहरी स्रोतले वतायो।

गोलि प्रहार गर्ने पोखरा कै नाम चलेको युवा भएको भनिए पनि गोली प्रहार गर्ने ब्यक्तीलाई प्रहरीले हालसम्म पक्रन सकेको छैन। तर गोली हान्ने ब्यक्तीहरु पोखराको लालीगुराँस टोलका युवाहरुको समूह भएको पत्ता लागेको एक प्रहरी अधिकृतले जानकारी दिइए पनि नाम बाहिरा ल्याइएको छैना।

घटनापछि पोखराका तीनवटै वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले त्यस क्षेत्रका घर तथा होटलहरुमा समेत खानतलासीलाई अगाडी बढाएको स्थानीयबासीले बताएका छन्। यस बिषयलाई प्रहरीले समेत पुष्टी गरेको छ । घटनापछि आक्रोशित प्रहरीले केही निर्दोष व्यक्तिलाई त्यस क्षेत्रबाट पक्रेर निर्घात कुटेको समेत एक पीडितले वताएका छन्। पोखराको अमरसिंहचोकबाट प्रहरीले कुटपिट गरेका प्रकाश गुरुङ लगायत युवालाई गण्डकी अस्पताल भर्ना गर्नुपरेको छ।

अहिलेसम्मको अनुसन्धानले घटनामा संलग्न रहेको व्यक्ति मिलेर अर्चलबोटका युवाहरुसँग झगडा गर्न हिडेको जानकारी आएको प्रहरीले वताएको छ। पोखरामा समूह समूहमा लर्डाई भइरहने प्रहरीले स्वीकारेको छ।

कुटपिटपछि पीडितका आफन्त प्रहरीकोमा गएर घटनाको बारेमा जानकारी गराएपछि, प्रहरीले माफी मागेको पीडितका एक आफन्तले जानकारी दिएका छन्। घटनापछि प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएकोमा, केहीलाई छाडिएको र बाँकीलाई अनुसन्धानको लागि राखिएको प्रहरीले जनाएको छ।

पोखराबाट मोहन घले र त्रिभुबन पौडेल एचकेनेपाल डट कम।

Popularity: 11%

3 comments April 30th, 2007

सिमकार्डका लागि बिहानैदेखि नै ग्राहक लाइनमा

मोहन घले एचकेनेपाल डट कम पोखरा -
नेपाल टेलिकम पोखरा शाखाले आजबाट प्रिपेड मोवाईलको सिम कार्डका लागि फाराम दर्ता शुरु गरेको छ। टेलिकमको रानिपौवास्थित कार्यालयमा बिहानदेखि नै उपभोक्ताको लाम लागेको छ।

ग्राहकको लाम मध्यान्हतिर रानिपौवाबाट फूलबारी सम्म पुगेको थियो। टेलिकमले उपभोक्तालाई सजिलो होस भनेर वेभसाइट बाट पनि फारम भर्ने ब्यबस्था मिलाएको भए पनि बेलैमा र्सार्वजनिक सूचना नदिदा धेरैले प्रविधिको उपयोग गर्न पाएनन्।

आज मध्य दिनबाट वेभर्साईटबाट पनि फाराम भर्न सकिने सूचना संचार माध्यमबाट सुन्न थालेपछि पोखरा वजारका र्साईवर क्याफेमा फाराम भर्नेहरुको चहल पहल बढ्न लागेको छ। हिजो मात्रै ५ बजे सम्म पोखरामा करीब १६ हजार४ सय ५४ फाराम दर्ता भई सकेका छन् भने दर्ताका लागि १२ वटा काउन्टर खुल्ला गरीएको थियो।

प्रिपेड सिमकार्डकै लागि आज दमौलिमा पनि बिहान ४ बजेबाट उपभोक्त्ता लाइनमा बसेको जनाएका छन्। हिजो मात्रै दमालीबाट करिब ४ हजार फारम दर्ता भएको जनाइएको छ। यस्तै गोर्खामा पनि फारम भर्नेहरुको भिड लागेको प्राप्त समाचारमा जनाईएको छ।

लमजुङको वेसि शहरमा पनि राति २ बजे देखि नै प्रिपेड सिमकार्डको लागि फराम बुझाउनेहरु पालो कुरेर बसेका थिए।

पोखराबाट समाचारः मोहन घले, तस्विर सुदर्शन रञ्जित एचकेनेपाल डट कम।

Popularity: 11%

2 comments April 29th, 2007

मधेस-आन्दोलनसम्बन्धी उपन्यास प्रकाशित

एचकेनेपाल डट कम -
धीरकुमार श्रेष्ठद्वारा लिखित ‘घुर’ उपर राजधानीमा आयोजित अन्तक्रिर्या कार्यक्रममा प्रा. राजेन्द्र सुवेदीले पूर्वदीप्ति शैली र चेतनप्रवाह पद्धतिको प्रयोग गरी आत्मसंस्मरण रुपमा लेखिएको उपन्यासले इतिहासमा छायामा पर्न सक्ने मधेसआन्दोलनलाई साहित्यमा शाश्वतीकरण गरेको छ भन्नुभयो ।

उपस्थित सबै र्सजकले सभापतित्व गर्नुभएको सो कार्यक्रममा प्रा. जीवेन्द्रदेव गिरीले झर्रा शब्दको समेत प्रयोग गरी लेखिएको उपन्यासले आन्दोलनका राम्रा र नराम्रा पक्षका बारेमा प्रकाश पार्दै खराब कुराप्रति वितृष्णा र राष्ट्रिय एकताका पक्षमा मत व्यक्त गरेको छ भन्नुभयो।

उपन्यास पढ्दा मधेस पुगेको अनुभूति हुन्छ भन्ने उहाँको विचार थियो। पत्रकार एवं साहित्यकार विजय चालिसेले पत्रकारिता र साहित्यको फ्युजन भएको रिपोर्ताज भन्नुभयो। अर्का साहित्यकार धीरेन्द्र प्रेमषिर्ले साम्प्रदायिक विद्वेष नफैलिएको राजविराजलाई आन्दोलनको उदाहरणीय केन्द्रविन्दुमा राखी लेखिएको उपन्यास स्वयम्मा एउटा उपलब्धि भएको बताउनुभयो। पत्रकार एवम् साहित्यकार राजकुमार बानियाले नयाँ विषयलाई अनुभूत गरी समसामयिक घटनामा आधारित रोचक उपन्यासको संज्ञा दिनुभयो।

उपन्यासका कमजोर पक्षहरुका बारेमा पनि खुलेर चर्चा गरिएको कार्यक्रममा टिप्पणीकारहरु गोपाल पराजुलीले मधेसआन्दोलनका पाँच कारण, मणि लोहनीले मिथका रुपमा शीर्षकको प्रयोग, कृष्ण शाह यात्रीले मधेसी रङ्गमञ्चको यथार्थ तस्बिर, बालाकृष्ण अधिकारीले शैलीगत विविधतामा लेखिएको कला र विचारको समन्वय भएको आञ्चलिक उपन्यास, करुण ढकालले यथार्थवादी उपन्यासको अभावपूर्ति र धीरज गिरी ‘कल्पित’ ले आन्दोलनका स्वरुपलाई उपन्यासले व्यक्त गरेका जस्ता धारणा प्रकट गर्नुभयो। देवी नेपालले उद्घोषण गर्नुभएको कार्यक्रममा उपन्यासकारले पनि उपन्यास लेखनको प्रेरणास्रोत र कारणका बारेमा प्रकाश पार्नुभयो।

Popularity: 11%

Add comment April 29th, 2007

मा‍अ‍ोवादी तेस्रो जनआन्दोलन घोषणा गर्ने तयारीमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का वरिष्ठ नेता एवम् पूर्वी कमान्ड इञ्चार्ज रामबहादुर थापा ‘बादल’ले लोकतान्त्रिक जनआन्दोलनलाई पूर्णता दिँदै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न नेकपा माओवादीले तेस्रो जनआन्दोलनको घोषणा गर्ने तयारी गरिरहेको बताउनुभएको छ।

नेकपा माओवादी धनकुटाद्वारा पाख्रिवासमा आयोजित सभामा उहाँले देशी-विदेशी प्रतिक्रियावादीहरूले मुलुकमा गणतन्त्र घोषणा गर्न नदिनका लागि चलखेल गरिरहेको स्पष्ट पार्नुभयो।

उहाँले विदेशी तथा प्रतिक्रियावादीहरूको चलखेलमा फस्ने राजनीतिक पार्टी नेताहरूलाई अब सुरु हुने नेपाली जनताको तेस्रो जनआन्दोलनले समाप्त गर्ने दाबी गर्दै लोकतान्त्रिक गणतन्त्रको स्थापनाबिना नेपाली जनताले न्याय र मुक्ति नपाउने भएकाले नेकपा माओवादीले नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गराएरै छाड्ने दृढता व्यक्त गर्नुभयो।

केही लोकतान्त्रिक राजनीतिक पार्टीको अहिलेसम्म स्पष्ट धारणा नआएकाले प्रतिक्रियावादीहरूले षडयन्त्र गर्न थालेको विचार व्यक्त गर्दै उहाँले संविधानसभाको निर्वाचनअघि नै गणतन्त्र घोषणा गर्नुपर्ने माओवादीको अहिलेको एजेन्डा रहेको चर्चा गर्नुभयो।

Popularity: 11%

5 comments April 29th, 2007

प्रिपेड लिन ओछ्यानसहित लाममा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल टेलिकमले प्रिपेड मोबाइल फोन वितरणका लागि निवेदन आह्वान गरेपछि नेपाल टेलिकम धनगढीमा हिजो सर्वसाधारणको ठूलो भीड लागेको छ।

प्रिपेडको सिमका लागि निवदेन दर्ता गर्न साँझदेखि नै टेलिकमको स्थानीय कार्यालयअगाडि उपभोक्ताहरू ओछ्यान र सुकुल बोकेर रातभरि सुतेका थिए।

भीड हुने देखिएकाले आफूहरू एक दिन अगाडि नै लाइनमा बसेको ती उपभोक्ताहरू बताउँछन्।

यसरी लाइनमा बस्नेहरूमा अधिकांश युवाहरू नै छन्। टेलिकमले वैशाख १५ गते बिहान १०३० बजेदेखि प्रिपेडका लागि निवदेन दर्ता गर्ने जनाएपछि उपभोक्ताको यस्तो भीड लागेको हो।

टेलिकमले धनगढीमा पहिलोपटक प्रिपेड मोबाइलका लागि निवदेन दर्ता कार्य सुरु गरेको हो। यहाँका साइबरहरूमा पनि रातभरि इन्टरनेटबाट दर्ता गर्नेहरूको भीड रहेको थियो।

Popularity: 11%

Add comment April 29th, 2007

हतियारधारीको अनुगमन जटिल चुनौतिः महासचिव मुन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले नेपालको शान्तिप्रक्रिया द्रुत गतिमा अघि बढे पनि माओवादी सेना र हतियार दर्ताको कार्य अझै थाती रहेको बताउनुभएको छ।

सुरक्षा परिषदमा नेपालसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै उहाँले शान्ति प्रक्रियामा उल्लेखनीय प्रगति भए पनि हतियार र हतियारधारीहरूको कसरी अनुगमन गर्ने भन्ने जटिल चुनौती कायम रहेको बताउनुभयो।

परम्परागत रूपमा पिछडिएका समुदायलाई समेटेर संविधानसभाको निर्वाचन हुनुपर्नेमा जोड दिँदै महासचिव मुनले त्यसमा ‘जनचाहना’ प्रतिबिम्बित हुनुपर्नेमा जोड दिनुभयो।

राजनीतिक पार्टीले केही विवादास्पद विषयलाई टुङ्गो लगाउने क्रममा प्रस्तुत गरेको इच्छाशक्तिको प्रशंसा गर्दै उहाँले द्वन्द्वका प्रमुख कारक मानिएका विषय सम्बोधन गर्न बाँकी रहेको उल्लेख गर्नुभयो।

“यद्यपि शान्तिप्रक्रियाका क्रममा प्राप्त उपलब्धिलाई ऐतिहासिक मान्नुपर्छ”- महासचिवको प्रतिवेदनमा भनिएको छ।

यसैबीच, महासचिव मुनले माओवादी शिविरप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ। “वर्षायामको आगमनसँगै माओवादी शिविरमा बसोवासको अवस्था कठिन बन्दै गएको” शान्तिप्रक्रियामा मद्दत गर्न यहाँ स्थापित राष्ट्रसङ्घीय कार्यालय (अनमिन)लाई उद्धृत गर्दै मुनले भन्नुभयो।

शान्तिसुरक्षाको अवस्था सुदृढ तुल्याउन कानुनको प्रभावकारी कार्यान्वयन तथा देशभरि प्रहरी परिचालन गर्न सम्बद्ध सबैले सहयोग गर्नुपर्नेमा महासचिव मुनले जोड दिनुभएको छ।

Popularity: 11%

Add comment April 29th, 2007

चुरे भावरको बन्दमा एकको मृत्यु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
चुरेभावर एकता समाजका कार्यकर्ता र प्रहरीबीच हिजो र्सलाहीमा भएको झडपमा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने प्रहरीसहित १२ जना घाइते भएका छन्।

चुरेभावरले बन्द आह्वान गरी ठप्प पारेको पूर्व-पश्चिम राजमार्गमा प्रहरीले ‘एस्कर्टिङ’ गरी सवारीसाधन सञ्चालनमा ल्याउन लाग्दा दोहोरो झडप भएको थियो।

झडपमा प्रहरीको गोली लागी र्सलाहीको ढुङ्गे खोला-१ का ४० वषीय बन्ठा भनिने मङ्गलबहादुर गुमछानको घटनास्थलमा नै मृत्यु भएको छ भने ढुङ्गेखोला-२ का ३५ वषीय रमित लामा र ढुङ्गेखोला-४ का २२ वषीय उत्तम उप्रेती त्रि्रा र छातीमा गोली लागी गम्भीर घाइते छन्।

गम्भीर घाइतेलाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै झडपमा हरिवन-५ का नवराज रेग्मी, हरिवन-६ का राधाकृष्ण मास्के, मोसलिम मिया, कृष्ण मैनाली, सुब्बा लामा, पूर्ण खड्का तथा ढुङ्गे-४ का हरिप्रसाद पौडेललगायत आन्दोलनकारी घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार गरिएको छ।

Popularity: 11%

1 comment April 29th, 2007

अब भूँइचालो गए काठमाडौँमा ४० हजार मर्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालमा ६८ वर्षको अन्तरालमा ठूलो भूकम्प जाने गरेको पाइएको छ।

विसं. १९९० माघ २ गते गएजत्रो भूकम्प जाने हो भने काठमाडौँ उपत्यकामा मात्रै ४० हजार मानिसको मृत्यु हुने अनुमान गरिएको छ।

त्यस्तो खालको महाभूकम्पबाट ९५ हजार मानिस घाइते हुने, ६० प्रतिशत घर पुनर्निर्माण गर्न नमिल्ने गरी भत्कने र सात लाख मानिस घरबारविहीन हुने बताइएको छ।

नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी क्षेत्रीय केन्द्र बुटवलको आयोजनामा सञ्चालित ‘भूकम्प प्रतिरोधात्मक निर्माण प्रविधि’ सम्बन्धी एकदिने चेतनामूलक गोष्ठीमा उक्त जानकारी दिइएको हो

Popularity: 11%

3 comments April 29th, 2007

फिल्मी शैलिमा कैदी फरार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
एक नाबालिकालाई बलात्कार गरेको आरोपमा गत तीन वर्षेखि राजविराज कारागारमा बन्दी जीवन बिताइरहेका एक कैदी नाटकीय शैलिमा भाग्न सफल भएका छन्।

कारागारका बन्दीहरूका लागि तरकारी किन्न राजविराज हटिया जाँदै गर्दा २६ वर्षीय कैदी हजरत मियाँ फरार भएका हुन्।

सप्तरीको कल्याणपुर गाविस-२ बस्ने हजरत बलात्कार गरेको आरोपमा तीन वर्षेखि राजविराज कारागारमा बन्दी जीवन बिताइरहेका थिए।

दुइवटा मोटरसाइकलमा आएका चारजनाले मियाँसँगै रहेका कारागारका प्रहरी भोला यादवलाई बाटैमा कुटपिट गरी उनलाई भगाएको प्रत्यक्षदर्शीहरूले बताए।

अनुसन्धानका लागि सिपाही भोला यादवलाई पक्राउ गरिएको छ। प्रहरी टोलीले फरार कैदी हजरत मियाँको खोजतलास गरिरहेको छ।

Popularity: 11%

Add comment April 29th, 2007

दलित बस्तीका तीन महिला बलात्कृत

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
डकैती गर्न गएका सशस्त्र डाकाहरूको एक समूहले हिजो राति सिरहा जिल्लाको प्रि्रा गाउँ विकास समिति वडा नं. ४ को दलित बस्तीका तीन महिलालाई बलात्कार गरेका छन्।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार हिजो राति २ बजेतिर २५/३० जनाको समूहमा लाठी, खुकुरी, कटुवा बन्दुकसहित आएका ती सशस्त्र डाकाहरूले दलित बस्तीका आठ घरमा लुटपाट गर्नाका साथै तीनजना विवाहित महिलालाई कोठामा थुनेर बलात्कार गरेका थिए।

बलात्कृत तिनै दलित महिला दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आइरहेका प्रहरीले जनाएको छ।

सुरुमा ती डाकाहरूले एक राउन्ड हवाई फायर गरी दलित बस्तीका विनोद कायती, धर्मेन्द पासवान, शिवजी महरा, लटु महरा, उत्तिमलाल महरा, रामआशिष महरा, गङ्गाराम महरा र महारङ्ग महराको घरमा डकैती गरी सुनचाँदी, तथा केही नगद रुपैयाँ लगेको प्रहरीले जनाएको छ।

मिर्चेयास्थित मारुति सिमेन्ट कारखानाबाट हिजो ज्यालादारीको रकम बुझेर आएका ती दलितहरूलाई कोठामा थुनी लुटपाट गरिएको थियो।

मिर्चैया बजारबाट करिब सात किलोमिटर पूर्व-दक्षिणतर्फरहेको सो गाउँमा घटना भएको १२ घण्टापछि प्रहरी पुगेको बताइएको छ।

Popularity: 11%

2 comments April 29th, 2007

नेपाल जापान डट कम हयाक, २४ देखि ४८ घण्टा बन्द रहने

एचकेनेपाल डट कम -
जापानबाट संचालन हुंदै आएको अनलाइन पत्रिका नेपाल जापान डट कम आज विहानदेखि ह्याकको कारण २४ देखि ४८ घण्टाका लागि बन्द रहने भएको छ।

सो अनलाइनका वेव एड्मिन अनुनय दाहालका अनुसार, आफ्ना र्सवर प्रोभाइडरका अनुसार उक्त अनलाइन ह्याक भएर त्यसमार्फत विभिन्न नचाहिदा काम भइरहेको थाहा हुन आएपछि, बाध्य भएर र्सभर डाउन गरिएको हो। नेपाल जापान डट कमलाई चाँडै नै यथास्थितिमा ल्याउने कुरा दाहालले जानकारी दिनु भयो। त्यसबाट आफ्ना पाठक, विज्ञापनदाता, सहयोगी र शुभ चिन्तकहरुमा पर्न गएको असुविधाका लागि नेपाल जापान डट कम परिवारले क्षमा याचना गर्दै आफ्नो सेवा चाँडै यथास्थितिमा ल्याउंने कुरा दाहालले बताउनु भएको छ।

Popularity: 11%

1 comment April 28th, 2007

पीडित परिवारद्वारा पेन्सनको माग

धन बस्नेत एचकेनेपाल डट कम पोखरा -
गत बैशाख ३ गते हत्या गरिएका बारा जिल्लास्थित शैक्षिक तालिम केन्दका प्रशिक्षक बासुदेव पौडेलको परिवारले सरकार समक्ष विभिन्न मागहरु राखेका छन्। पौडेलको गत ३ गते तर्राई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहले हत्या गरेको थियो।

हत्याको १२ औं दिनको दिन कास्कीको हेमजा गाविसस्थित श्रद्धाञ्जलि व्यक्त गर्न पुग्नुभएका शिक्षा तथा खेलकुद मन्त्री प्रदीप नेपालसित पीडित परिवारले तीनवटा मागहरु राखेका छन्। पीडितका भाई सन्तोषले मन्त्री नेपाल समक्ष छोरालाई एमबीबीएस अध्ययनको लागि भर्ना तथा पढाइदिनुपर्ने, कान्छी छोरीलाई उच्चशिक्षाको व्यवस्था गर्नुपर्ने र पेन्सनको व्यवस्था गरिदिनुपर्ने जस्ता मागहरु राख्नुभएको छ।

मागहरुप्रति गम्भीर हुदै मन्त्री नेपालले आफनो तर्फबाट सरकारमा राख्ने जानकारी दिनुभयो। ‘सहयोगको लागि आफनो तर्फबाट सम्पूर्ण पहल गर्ने छु।’ उहाँले परिवारलाई आश्वास्त पार्दै भन्नुभयो।

त्यसैगरी मुख्य सचिव भोजराज घिमिरेले पेन्सनको व्यवस्था गर्न बैठकमा राख्ने बताउनुभयो। उहाँले बैठक मार्फत पीडित परिवारलाई राहत उपलब्ध गराउने विश्वास समेत दिलाउनुभयो।

तालिम केन्द्र प्रशिक्षक पौडेलले १३ वर्ष२ महिना सेवा गरेको बताइएको छ। उक्त सेवालाई २० वर्षको अनुरुप पेन्सनको व्यवस्था गर्नुपर्ने पीडित परिवारको माग रहेको छ । आज शनिबार १३ औं दिनको दिन स्थानीय बासिन्दाले मौन जुलुस निकाल्ने भएका छन्।

Popularity: 11%

1 comment April 28th, 2007

अहिल्यै मिल्दैन गणतन्त्र घोषणा गर्नः पौडेल

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
शान्ति तथा पुनर्निर्माण मन्त्री रामचन्द्र पौडेलले संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको टुङ्गो लगाउने आठ दलको सहमतिलाई नाघेर संसदबाट गणतन्त्रको घोषणा गर्न नमिल्ने बताउनुभएको छ।

नेपाल प्रेस युनियन, बाँकेद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले जन्मदै राजा हुन नपाइने पक्षमा नेपाली काङ्ग्रेस सधैं रहिआएको बताउँदै तर निर्णय गर्दा विधिसम्मत हुनुपर्छ भन्नुभयो।

उहाँले संविधानसभा निर्वाचनलाई ओझेलमा पार्ने निर्णय र वक्तव्यबाजीले आठ दलको सहमतिलाई अप्ठ्यारोमा पार्ने सम्भावना औँल्याउँदै मुलुकको महत्वपूर्ण मुद्दालाई हल्का रूपमा लिनु हुँदैन भन्नुभयो।

एक प्रश्नको जवाफमा मन्त्री पौडेलले नेपाली सेना नयाँ सैनिक ऐनअनुसार चलेको बताउँदै राजाको पारिवारिक समारोहमा खारेज गरिएको पुरानो राष्ट्रिय धुनको सम्मान राजालाई दिइएको सम्बन्धमा सरकारले छानविन गर्ने स्पष्ट पार्नुभयो।

नेता पौडेलले दुई काङ्ग्रेसको एकीकरण एक महिनाभित्र हुने पनि बताउनुभयो।

Popularity: 11%

2 comments April 28th, 2007

सडक, सदन र सरकारबाट गणतन्त्र घोषणाः बादल

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा माओवादीका नेता रामबहादुर थापा बादलले संविधानसभाको निर्वाचन अघि नै माओवादीले सडक, सदन र सरकारबाट गणतन्त्रको घोषणा गर्ने तयारी गरिरहेको बताउनुभएको छ।

नेपाल पत्रकार महासङ्घ, धनकुटा शाखाद्वारा धनकुटाको पाख्रिवासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानसभाको निर्वाचनअघि नै गणतन्त्र घोषणा गर्ने पार्टीको धारणा रहेको बताउनुभएको छ।

गणतन्त्रको घोषणा गर्न लोकतान्त्रिक शक्तिहरुबीच एकता अनिवार्य रहेको बताउँदै नेता बादलले माओवादी अहिले आठ दलको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्व परिवर्तन गर्ने पक्षमा नरहेको प्रस्ट पार्नुभयो।

प्रधानमन्त्रीको विकल्प खोज्नुभन्दा अहिलेकै नेतृत्वबाट सहमति कायम गरी गणतन्त्रको घोषणा गर्ने पक्षमा माओवादी रहेको उहाँले बताउनुभयो।

नेता बादलले नेपाली जनताको चाहना र भावना विपरीत गणतन्त्रको घोषणा नगरी संविधानसभाको मिति घोषणा गरे माओवादीले सडक र सदनबाट गणतन्त्रको घोषणा गर्दै तेस्रो जनआन्दोलनको घोषणा गर्ने बताउनुभयो।

निकट भविष्यमा नै मुलुकमा गणतन्त्र पक्षधरहरुको गणतान्त्रिक मोर्चा बन्ने उल्लेख गर्दै उहाँले त्यसका लागि सम्पूर्ण गणतान्त्रिक पक्षधरहरु व्यापक तयारीमा जुटेको पनि बताउनुभयो।

Popularity: 11%

2 comments April 28th, 2007

रायमाझी आयोगका दोषीलाई खोई कारबाही ?

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
रायमाझी आयोगले दोषी ठहर्याएका अभियुक्तलाई कारवाही गर्न नसक्नु सरकारको ‘लाचारीपन’ भएको आरोप विद्यार्थी नेताहरूले लगाउनुभएको छ।

सञ्चार समूह नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा वक्ताले सरकारकै कमजोरीले गर्दा आज पनि अभियुक्तहरू छाती फुलाएर हिँडेका छन् भन्दै तिनलाई कारबाही नगरे फेरि २०५९ सालको घटना दोहोरिन सक्ने आशङ्का व्यक्त गर्नुभयो।

विधायक तथा अनेरास्ववियु क्रान्तिकारीका महासचिव अमृता थापाले मल्लिक आयोग र रायमाझी आयोगले दोषी ठहर्याएका व्यक्तिलाई चेतावनी दिइसकिएको उल्लेख गर्दै अब गणतन्त्र घोषणा गरी तिनलाई देश निकाला गर्न सकिन्छ भन्नुभयो।

उहाँले संविधानसभाको निर्वाचन छिटो गराउन पनि गणतन्त्रको नारामा एकताबद्ध हुन आग्रह गर्नुभयो।

अनेरास्ववियुकी उपाध्यक्ष रामकुमारी झाँक्रीले आयोगले दोषी ठहर्याएका अभियुक्तलाई कारबाही गर्न सरकारले लाचारी देखाए संविधानसभाको निर्वाचन पनि बिथोलिने बताउनुभयो।

विद्यार्थी नेता गगन थापाले आठदलको सरकारले जनादेश लत्याएको गुनासो गर्दै जनादेश कार्यान्वयन गराउन आठ विद्यार्थी सङ्गठन मिलेर फेरि आन्दोलन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष गुरुराज घिमिरेले रायमाझी आयोगले दोषी ठहर्याएका पूर्व प्रधानसेनापति प्यारजङ्ग थापालाई शपथ खुवाउनु र रुक्माङ्गत कटुवाललाई प्रधानसेनापतिमा नियुक्ति गर्नु गल्ती थियो भन्दै शीर्ष नेताहरूले अब दोहोरो चरित्र नदेखाई नयाँ नेपाल बनाउन पुराना गल्ती सच्याउनुपर्ने र संविधानसभाको निर्वाचन गर्न तथा आवश्यक परे गणतन्त्रको घोषणा गर्न राजनीतिक सहमति हुनुपर्ने बताउनुभयो।

Popularity: 11%

2 comments April 28th, 2007

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2007
M T W T F S S
« Mar   May »
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Posts by Month

Posts by Category

More news....