Archive for June, 2007
एचकेनेपाल डट कम सम्वाददाता काठमाडौं -
सशस्त्र प्रहरी बलका पूर्व डिआइजी बलबहादुर के.सी.ले आज बिहान गोली हानी आत्महत्या गरेका छन्।
समाचार स्रोतका अनुसार पूर्व डिआईजी के.सी.ले महाराजगञ्ज चुनमार्गस्थित आफ्नै घरमा बिहान करिव ५ बजे १२ बोरको बन्दुकले पेटमा गोली हानी आत्महत्या गरेका हुन्। गोली प्रहारबाट आन्ध्राभूंडी बाहिर निस्केका के.सी.को मृत्यु घटनास्थलमै भएको बताइन्छ।
उनले आत्महत्याअघि कोठाको भित्तामा मार्कर पेनले लेखेको सोसाइड नोटमा उनकी कान्छी श्रीमतीले आफ्ना बडी गार्डसंग अनैतिक यौन सम्बन्ध राख्दै आएकी र पछि सबै श्रीसम्पति लिएर भागेकीले असहृय भएर आत्महत्या गरेको आशय व्यक्त गरेको बताइन्छ।
स्रोतका अनुसार के.सी.ले जेठी श्रीमती हुंदा हुंदै आफूभन्दा उमेरले धेरै कान्छी श्रीमती भित्र्याई घरसहित सबै सम्पति उनको नाममा गरेका थिए। केही समयअघि सबै श्रीसम्पति लिएर बडी गार्डसंगै कान्छी श्रीमती भागेको बताइन्छ।
Popularity: 21%
June 30th, 2007
एचकेनेपाल डट कम सम्वाददाता काठमाडौं -
माओवादी अध्यक्ष प्रचण्डसहित अन्य दलका केही नेताहरुको एक टोली आज स्वीटजरल्याण जाने समाचार प्रकाशमा आएको छ।
माओवादी अध्यक्ष प्रचण्डसहित नेपाली कांग्रेसका डा. शेखर कोइराला, एमालेका भीम रावललगायतका नेताहरू आज राति ८ बजे स्वीजरल्याण्डतर्फ प्रस्थान गरिने बताएको छ। एक साता लामो भ्रमणको क्रममा टोलीले त्यहाँको सरकारी अधिकारी र राजनीतिक दलका नेताहरुलाई भेटी नेपालमा संबिधानसभाको निर्वाचनपछि लागु गरिन लागेको संघीय शासन प्रणाली सम्बन्धि विचार विमर्श, संघीय शासन प्रणालीको अध्ययन र संघीय प्रणालीको खाकाबारे छलफल गरिने कार्यक्रम रहेको जनाएको छ। माआवादीका अर्का नेता डा. बाबुराम भट्टराई विदेश भ्रमणको क्रममा हाल नर्वेमा रहेको र उहाँ त्यहाँको राजनीतिक भ्रमण सकेर स्वीजरल्याण्ड जाने बताइएको छ।
Popularity: 21%
June 30th, 2007
एचकेनेपाल डट कम सम्वाददाता काठमाडौं -
नेपाली कांग्रेसका महामन्त्री रामचन्द्र पौडेलले कांग्रेस छिट्टै गणतन्त्रको पक्षमा जाने निर्णय गर्ने बताउंनु भएको छ।
नेपाल बिद्यार्थी संघद्वारा शुक्रबार आयोजित जनसाभामा बोल्दै महामन्त्री पौडेलले लोकतान्त्रिक गणतन्त्रको अभियानलाई कांग्रेसले नेतृत्व गर्ने बताउंनु भएको छ। उहाँले युवा विद्यार्थीहरुको आकांक्षालाई कांग्रेसले बेवास्ता गर्दैन भन्दै महाधिवेशन या महासमितिको बैठकले गणराज्यको पक्षमा निर्णय गर्ने उहाँले बताउंनु भयो।
महामन्त्री पौडेलले कांग्रेसको गणतन्त्र र माओवादीको गणतन्त्रमा फरक रहेको बताउंदै माओवादीले अधिनायकवादी गणतन्त्र चाहेको र कांग्रेसको गणतन्त्र भनेको स्वतन्त्र र सार्वभौम बनाउंने लोकतान्त्रिक गणतन्त्र हो भन्नुभयो।
Popularity: 21%
June 30th, 2007
कुलप्रसाद राई एचकेनेपाल डट कम धनकुटा-
अखिल किसान महासंघ तथा धान दिवसको अवसरमा महासंघको धनकुटा शाखा र जिल्ला कृषि विकास कार्यालय धनकुटाले शुक्रबार किसानको खेतमा असारे पन्ध्र मनाएका छन्।
सो अवसरमा धनकुटा नगरपालिका वडा नं. ३ को बाख्रेखोलामा रहेको कृषक गोपाल कटुवालको खेतमा धान रोपी मनाइएको थियो। उक्त धान रोपाइमा जिल्ला कृषि विकास कार्यालयका प्रमुख दृगनारायण चौधरी, महासंघका शाखा अध्यक्ष शिव आङ्ला लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
महासंघ धनकुटा शाखाका अध्यक्ष शिव आङ्लाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कृषि प्रमुख दृगनारायण चौधरी, महासंघका उपाध्यक्ष अमृत राई, कृषक टीका कटवाल लगायतका महानुभावहरुले बोल्नुभएको थियो।
धनकुटाबाट कुलप्रसाद राई
Popularity: 20%
June 30th, 2007
कुलप्रसाद राई एचकेनेपाल डट कम धनकुटा-
धनकुटा नगरपालिका वडा नं. १ हिलेस्थित मदरल्याण्ड बोर्डिङ स्कूलका तीन जना शिक्षिका सहित ६० जना विद्यार्थीहरु शुक्रबार एक्कासी बेहोश हुने रोगबाट पीडित भएका छन्।
विद्यालयमा कार्यरत तीन जना शिक्षिका र अध्ययनरत ६० जना विद्यार्थीहरु एक्कासी बेहोश भएपछि शुक्रबार विद्यालयको पठन-पाठन बन्द भएको थियो। त्यसरी बेहोश हुनु अघि कराउने, चिच्च्याउने गरेको कुरा विद्यालयका प्रिन्सिपल प्रेम सुब्बाले बताउँनुभयो। त्यसरी बेहोश हुनेहरुमा १२ देखि १५ बर्षउमेर समूहका छात्रा तथा छात्रहरु रहेको कुरा स्थानीय समाजसेवी उमेश घिमिरेले बताउँनुभयो।
गत प्रबेशिका परीक्षाको समयमा पनि केही विद्यार्थीहरु एक्कासी बेहोश हुने रोगबाट पीडित भएका थिए। त्यसपछि विद्यालयले विद्यालय परिसरमा मन्दिरको निर्माण समेत गरेका थिए । तर फेरी एक्कासी सोही प्रकारको रोगबाट शिक्षिका र विद्यार्थीहरु पीडित भएपछि स्थानीय बासिन्दाहरुले मन्दिरमा फोहोर भएको कारणबाट त्यसरी शिक्षिका र विद्यार्थीहरु बेहोश हुन सक्ने बताएका छन्। अर्कोतिर मास हिस्टेरिया हुन सक्ने भएपनि शिक्षिकाहरु बिबाहित भएका र छात्रहरु समेत रहेको कारण केही भन्न नसकिने स्थानीय बासिन्दाहरुले बताएका छन्।
केही दिन अघि चानुवा गाउँ विकास समितिमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पनि एक्कासी बेहोश हुने रोगबाट पीडित भएका थिए।
धनकुटाबाट कुलप्रसाद राई
Popularity: 21%
June 30th, 2007
एचकेनेपाल डट कम सम्वाददाता काठमाडौं -
मूल्याङ्कन मासिक पत्रिकाका प्रधान सम्पादक श्यामकुमार श्रेष्ठका तर्फबाट दायर गरिएको क्षतिपूर्ति मुद्दामा जिल्ला अदालत काठमाण्डौंले संकटकालको अवस्थामा सरकारले गैरकानुनी थुनामा राखी यातना दिएको ठहर गरी पत्रकार श्रेष्ठलाई रू १५ हजार - क्षतिपूर्ति भराइ दिने गरी ऐतिहासिक फैसला गरेको छ। काठमाण्डौं जिल्ला अदालतका मा.न्या. शिवनारायण यादवको इजलासले शुक्रवार उक्त फैसला गरेको हो।
फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार ०५८-५९ मा लागु गरिएको संकटकालको समयमा तत्कालिन शाही नेपाली सेनाद्धारा गैरकानुनी ढंगले गिरफ्तार गरी सैनिक हिरासतमा राखी यातना दिइएका विरुद्ध पत्रकार श्रेष्ठका तर्फबाट २०५९ साल मंसीर १२ गते काठमाण्डौ जिल्ला अदालतमा क्षतिपूर्ति माग गरी निवेदन दायर गरीएको थियो। उक्त मुद्दामा पहिलो पटक काठमाण्डौं जिल्ला अदालतले २०६१ असार ३० गते हदम्याद नपुगेको भनी मुद्दाको विषय वस्तुमा प्रवेश नै नगरी निवेदकको मागदावि खारेज गरेको थियो।
काठमाण्डौ जिल्ला अदालतको उक्त फैसला उपर चित्त नवुझि पत्रकार श्रेष्ठले २०६१ कार्तिक २४ गते पुनरावेदन अदालत पाटनमा पुनरावेदन पत्र दर्ता गरेका थिए। पुनरावेदन अदालत पाटनले मिति २०६३ साल भदौ २७ गते काठमाण्डौ जिल्ला अदालतको फैसला वदर गरी निवेदक श्रेष्ठको मागदावि वमोजिम क्षतिपूर्ति पाउनुपर्ने हो वा होइन एकिन गरी निर्णय गर्नु भनी शुरू अदालतमा मिसिल पठाउने ठहर गरेको थियो।
पुनरावेदन अदालतको उक्त निर्णयलाई काठमाण्डौं जिल्ला अदालतले विचार गरी क्षतिपूर्ति तथा यातना सम्बन्धि ऐन २०५३ को दफा ३ को २ र ३ वमोजिम पत्रकार श्रेष्ठलाई थुनामा राख्दा र छोडदा निजको शारीरिक तथा मानसिक स्थितीको जाँच विपक्षी रक्षा मन्त्रालय समेतले नगरी गैरकानुनी हिरासतमा राखी यातना दिएको हुदा पत्रकार श्रेष्ठले रू १५०००।- क्षतिपूर्ति पाउने ठहर गरेको हो। मुलुकमा संकटकाल लागु रहेको अवस्थामा पत्रकारलाई गैरकानुनी थुनामा राखी गम्भिर रूपमा यातना दिएको विषयमा क्षतिपूर्ति भराइदिनु भनी गरेको उक्त फैसला नेपालको इतिहासमै पहिलो हो। उक्त मुद्दामा अधिवक्ताहरू शेर वहादुर के.सी., गोपालकृष्ण घिमिरे तथा फ्रिडम फोरम, लिगल डेस्कका अधिवक्ताद्धय ऋषिराम घिमिरे र सुवास शर्माले वहस गरेका थिए।
Popularity: 21%
June 29th, 2007
रुसाहाङ चेम्जोङ एचकेनेपाल डट कम क्वाललम्पुर मलेसिया -
हाम्रो देश नेपाल विश्वको सबै भन्दा अग्लो टाकुरा सगरमाथाको देश भनेर चिनिन्छ, बहादुरहरुको देश भनेर चिनिन्छ, गौतम बुद्धको देश भनेर चिनिन्छ, विभिन्न प्राकृतिक सम्पदाहरुको धनी देश भनेर पनि चिनिन्छ। अर्को विश्वका अग्ला अग्ला मान्छेहरूबीच एक थपिएको छ राजन अधिकारी पनि। उनी सामान्य मान्छेहरूभन्दा अग्ला छन्।
विश्व शान्तिको कामना तथा सन्देश बोकेर विश्व यात्रा शुरु गर्नुहुने बयरबन ७, मोरङमा जन्मन्नु भएका २९ वर्षीय ७ फिट ३ इन्च (२.२०९८) मिटर उचाई भएको राजन अधिकारी गत २ मे २००७ का दिन दश वर्षे विश्व भ्रमणमा निस्कन्नु भएको हो। उहाँको पहिलो चरणको भ्रमणमा १० वटा देश भ्रमण गर्ने रहेको छ। भारत, पाकिस्तान, बंगलादेश, थाईल्यण्ड, हुदै मलेसिया आईपुग्नु भएका राजन अधिकारी सिंगापुर, इण्डोनेसिया, ब्रुनाई, फिलिपिन्स, हुदै पुनः मलेसिया आएर नेपाल पकर्ने बताउनु हुन्छ।

अधिकारीका साथ पत्रकार रूसाहाङ चेम्जोङ
मलेसियामा कस्तो अनुभव गरिरहनु भएको छ त ? भन्ने प्रश्नमा उहाँ भन्नु हुन्छ “दुई तीन दिनको अन्तरालमा धेरै नेपाली दाजुभाईहरुलाई भेटे खुशी पनि लाग्यो र दुःख पनि। क्वाललम्पुरको जलन सिलाङ्ग आईपुग्दा आफ्नै घर आँगन जस्तो लाग्यो, तर त्यस भिडभित्र नेपाली दाजुभाई दिदीबहिनीहरुले यहाँको प्रशासनबाट दुःख पाउनु परेको कुरा सुन्दा र देख्दा ज्यादै दुःख लाग्यो।” क्वाललम्पुरको जलन सिलाङ वरिपरि २५ नेपाली रेष्टुरेण्ट तथा पसलहरु संचालित छन्। यस क्षत्रेमा विभिन्न कारणवस अवैधानिक हुन पुगेका नेपालीहरुको बसोबास हुने गरेको पाईन्छ।
मलेसियामा रहेका विभिन्न संघ संस्था व्यवसायी तथा पत्रकारहरुको संयुक्त आयोजनामा यहि जुलाई २ तारिख सोमबार १२ बजे स्वागत कार्यक्रम गर्ने जानकारी पत्रकार मित्र नेत्र बिमलीले जानकारी दिनुभएको छ। सोही दिन मनकामना मिनि मार्केटका संचालक सुबास श्रेष्ठले एक पत्रकार सम्मेलनको आयोजना गरी उहाँको सम्मान तथा सहयोग गर्ने कुरा जानकारी दिनुभएको छ।
मलेसियाबाट रुसाहाङ चेम्जोङ एचकेनेपाल डट कम
Popularity: 21%
June 29th, 2007
सुरेशकुमार राई एचकेनेपाल डट कम, न्युयोर्क -
नेपालका चर्चित सदाबहार गायक शम्भु राईको सम्मानमा युनाइटेड किरात राई ओर्गानाइजेसन अफ अमेरिका न्यू योर्क च्याप्टरले भेट्घाट कार्यक्रम को आयोजना गर्यो।
भेटघाट कार्यक्रममा यु कि रा ओ को सभापति प्रभाकर राईले न्यूयोर्कमा पाल्नुहुने राई पाहुनाहरुलाई स्वागत गर्ने हाम्रो नियमित कार्यक्रम हुनाले र नेपालबाट आउनुहुने राई दाजुभाईहरुबाट बिचार आदान प्रदान होस् भन्ने हेतुले भेटघाट गरिएको बताउनु भयो। गायक राईले नेपालमा दियालो बालेर पढ्ने नानीहरु, आधा घण्टा लगाएर गाग्री काखिमा च्यापेर पानी बोक्ने दिदिबहिनीहरुको लागि पनि तपाईंको संस्थाले काम गरोस् हामी नेपालबाट सहयोग गर्न तयार छौं भन्नु भयो। उहाँले जापान र अमेरिकाको तिता मिठा अनुभवहरुसमेत सुनाउनु भयो। यु कि रा ओ का महासचिब बल राईले उहाँको परिचय गराउनु भएको थियो भने यु कि रा ओ को सुरेश चाम्लिङ मिलन राई, केशब राई, पर्खी राई, नारद राईले संस्थाको उद्धेश्य बारे बिचार ब्यक्त गर्नु भयो। उक्त अवसरमा हैटीमा तालिमको लागि आउनु भएका नेपाली सेनाको मेजर नबिन राई र विश्वको समेत न्यूयोर्कमा स्वागत गरिएको थियो। गायक शम्भु राई, मनोज गजुरेल, मौसमी गुरुङ, रोशन गुरुङलगायतका कलाकारहरु मदर्ल्यान्ड नाइट को लागि अमेरिकामा आउनु भएको थियो।
न्युयोर्कबाट सुरेशकुमार राई
Popularity: 21%
June 29th, 2007
कुलप्रसाद राई एचकेनेपाल डट कम धनकुटा -
धनकुटा नगरपालिका वडा नं. ७ मा रहेको मुर्दाघर नजिकै बुधबार साँझ एक मृत नवजात शिशु फेला परेको छ ।
अन्दाजी तीन के. जी. तौल रहेको सो शिशुलाई फालिएको अवस्थामा स्थानीय बासिन्दाहरुले भेटाएका थिए । धेरै दिन अगाडि फालिएको हुनाले सवै किराले खाइ सकेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । पुरुष जातको रहेको उक्त शिशुलाई कसले जन्माएर फालेको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । मृत शिशुको शवलाई धनकुटा नगरपालिकाले बिहीबार शवदहन गरेको छ ।
धनकुटाबाट कुलप्रसाद राई
Popularity: 21%
June 29th, 2007
कुलप्रसाद राई एचकेनेपाल डट कम धनकुटा -
समयमा काम सम्पन्न हुन नसक्दा तेह्रथुम जिल्लाको संक्रान्ति-हाङ्गपाङ्ग दोभान सडक खण्डमा छुट्टाइएको रकममध्ये आठ लाख रुपैयाँ फ्रिज हुने भएको छ ।
पूर्वाञ्चल सडक डिभिजन कार्यालय धनकुटाद्वारा निर्माण भइरहेको उक्त सडकको लागि ३३ लाख रुपैयाँ रकम विनियोजन गरिएको थियो । हालसम्म एक हजार सात सय ८० मीटर सडक खण्डको निर्माण कार्य सम्पन्न भइसकेको भएपनि बाँकी काम हुन नसकेको कारण आठ लाख रुपैयाँ रकम फ्रिज हुन लागेको हो । सो सडकको लागि तीन वटा ठेक्का लागेको भएपनि समयमा काम हुन नसकेपछि रकम प्रिmज हुने अवस्थामा पुगेको हो ।
सडकको लागि २०६३ माघ २२ गते मात्रै टेण्डर खुलेको र समयमा रकम निकासा हुन नसक्दा काम समयमा सम्पन्न हुन नसकी रकम फ्रिज हुन लागेको कुरा पूर्वाञ्चल सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख देवेन्द्र कार्कीले बताउँनुभयो । प्रमुख कार्कीले सो सडक खण्डको रकमबाहेक अन्यको भने रकम प्रिmज नहुने समेत बताउँनुभयो ।
धनकुटाबाट कुलप्रसाद राई
Popularity: 21%
June 29th, 2007
एचकेनेपाल डट कम सम्वाददाता, जुन २८ -
अफगानिस्तानको काबुलस्थित जलालाबाद रोड पुली चार्खी झयालखाना नजिकै आज बिहान एउटा आत्मघाती कार बम बिस्फोट हुँदा ३ जनाको मृत्यु हुनुका साथै २ जना सख्त घाइते भएका छन्।

Photo Courtesy: ( AFP/ Massoud Hossaini)
काबुलबाट रोहित गुरुङले दिनुभएको जानकारी अनुसार मृत्यु हुनेमा एक जना नेपाली ब्रिटिश सेनाबाट अवकास प्राप्त भूपू गोपाल लिम्बुका साथै एक जना अमेरिकी र अर्का एक जना अफगानी नागरिक रहेका छन्। मृतक लिम्बुसंग एकै कम्पनीमा काम गर्नुभएका गुरूङका अनुसार उनी अफगानिस्तानस्थित ग्लोबल कम्पनीमा कार्यरत थिए। मृतक लिम्बुबारे थप विवरण प्राप्त भएको छैन। (Last update: 16:15 HKST)

Photo Courtesy: REUTERS/Omar Sobhani (AFGHANISTAN)
समाचार एजेन्सीहरूले त्यहाँको प्रहरीको भनाइलाई उदृत गर्दै भनेको छ - दुईवटा विदेशी गाडी एउटा पसल छेउबाट अगाडि बढिरहंदा तेश्रो गाडीबाट आत्मघाती कार बम बिस्फोट गराइएको थियो। विस्फोटनपछि गाडीमा आगलागी भएका थिए। घटनाको जिम्मेवारी तालिवान उग्रवादीले लिएको बताइएको छ।
त्यसै गरी दक्षिणी जाबुलमा तालिवान उग्रवादीले १५ वर्षीय एक किशोरलाई जासुसी गरेको आरोपमा शिर क्षेदन गरी हत्या गरेको समाचार प्रकाशमा आएको छ। अपहरण गरी हत्या गरिएको किशोरको शव एक दिनपछि बुधवार बरामद भएको त्यहाँको प्रहरी अधिकारीले बताएको छ।
Popularity: 21%
June 28th, 2007
एचकेनेपाल डट कम सम्वाददाता -
माओवादी भातृ संस्था तमु राष्ट्रिय मोर्चाले आहृवान गरेको गण्डक बन्दका कारण पश्चिमाञ्चलको जनजीवन प्रभावित बनेको छ।
बन्दका कारण पोखरा भएर चल्ने लामो र छोटो दूरीका यातायात आज बिहानदेखि बन्द भएका छन् भने शैक्षिक संस्था, बजार र कलकारखानाहरु ठप्प भएका छन्। पोखरामा बन्द शान्तिपूर्ण ढंगले भएकाले अहिलेसम्म कुनै अप्रिय घटना घटेको छैन।
लमजुङ बेशीशहरमा भने केही प्रदर्शनकारीले यातायात बन्द गराउंने क्रममा ट्रक र मोटरसाईकल तोडफोड गरेका छन्।
तमु राष्ट्रिय मोर्चाले तमु स्वायत्त क्षेत्रको माग गर्दै कास्की, पर्वत, लमजुङ र गोर्खालगायतका क्षेत्रहरुमा बन्दका आहृवान गरेका हुन्।
Popularity: 21%
June 28th, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
शान्ति तथा पुनःनिर्माणमन्त्री रामचन्द्र पौडेलले जन्मेर राजा हुन पाउंदैन जनताले जसलाई चाहन्छन् त्यसैले शासन गर्न पाउंने बताउंनु भएको छ।
जिल्ला विकास समिति तनहूंद्वारा करिव ४० लाख रुपैयाँमा निर्मित व्यापारिक भवनको बुधबार उद्घाटन गर्दै मन्त्री पौडेलले कांग्रेसको मूल आदर्श गणराज्य भएकोले जनता बाहेक कोही पनि राष्ट्रको मालिक हुन नसक्ने बताउंनु भयो।
मन्त्री पौडेलले तोकिएको समयभित्र निर्वाचन हुने दृढता व्यक्त गर्दै निर्वाचनपछि दरवारिया षडयन्त्रहरु किनारा लाग्ने बताउनु भयो। संबिधानसभाको निर्वाचन हुदैन भन्ने तत्वहरु कोही स्वार्थ र कोही जागिर जोगाउनका लागि त्यस्ता अभिव्यक्ति दिंदै आएको मन्त्री पौडेलले बताउनु भएको छ।
Popularity: 21%
June 28th, 2007
राजेश राई एचकेनेपाल डट कम धनकुटा, असार १३ -
संविधानसभाको निर्वाचन अगावै राजतन्त्र नफालिए निर्वाचन सहज रुपमा सम्पन्न हुन नसक्ने मानवअधिकारवादी नेता तथा नागरिक समाजका अगुवा कृष्ण पहाडीले बताउनुभएको छ।
मानव अधिकार तथा शान्ति समाज धनकुटाले बुधबार आयोजना गरेको नागरिकसभालाई सम्बोधन गर्दै पहाडीले राजतन्त्र फोहरको थुप्रो भएको र यसलाई चाँडै नहटाए फेरि नेपाली जनताको सपनामा थुप्रिने बताउनुभयो। तराईका विभिन्न जिल्लाहरुमा नागरिक सभा सम्पन्न गरेर धनकुटा आइपुगेका पहाडीले आदिवासी जनजाति, मधेसी, चुरेभावर, कर्णालीलगायतका आन्दोलन समूहहरुलाई सम्बोधन नगरी संविधान सभाको चुनाव गरिए त्यसको औचित्य नहुने र फेरि मुलुकले अर्को गृहयुद्ध व्यहोर्नु पर्ने खतरा रहेको बताउनु भयो। उहाँले भन्नुभयो-’जुन समुदाय वर्ग क्षेत्र, जातिलाई संविधानसभाको चुनाव चाहिएको छ, त्यसलाई पन्छाएर संविधान सभाको चुनाव गर्नु भनेको आफ्नै खुट्टामाथि बन्चरो हान्नु जत्तिकै हो।’
सोही सभामा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति पुरुषोत्तम दाहालले मधेशमा दरबारीया शक्तिहरुले माओवादी नेताहरुको हत्या गर्न उक्साउँदै माओवादीलाई फेरि पनि हतियार बोक्न बाध्य पारेर फेरि पनि राजनैतिक दलका गठबन्धन फुटाएर आफ्नो हातमा शक्ति लिन खोजिरहेको बताउनुभयो। उहाँले आन्दोलनरत सबै समूहलाई एकैठाउँमा राखेर गोलमेच सम्मेलन गरेपछि मात्रै संविधानसभाको चुनाव गरिनुपर्ने बताउनुभयो। कार्यक्रममा लोकतान्त्रिक कवि अर्जुन पराजुलीले कविता वाचन गरेर सभालाई मनोरञ्जक बनाएका थिए। कार्यक्रम समाजका धनकुटा अध्यक्ष रियेन्द्र गुरागाईको सभापतित्वमा सम्पन्न भएको थियो।
धनकुटाबाट राजेश राई एचकेनेपाल डट कम।
Popularity: 21%
June 28th, 2007
रासस, मध्यपुर थिमी, असार १३ -
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल यही असार २४ गतेभित्र प्रकाशित गर्ने भएको छ ।
परीक्षाफल असारको पहिलो साता प्रकाशित गर्ने योजना बनाएको सो कार्यालयले दुइ साता शिक्षकहरूले हड्ताल गरेका कारण परीक्षाफल प्रकाशित गर्न ढिलाइ हुन गएको परीक्षा नियन्त्रक हर्कप्रसाद श्रेष्ठले आज बताउनुभयो । परीक्षाफल चाँडो प्रकाशित गर्नकै लागि कार्यालयका कर्मचारीले अहिले बिहान छ बजेदेखि राति आठ बजेसम्म कार्य गरिरहेको बताउँदै उहाँले सबै जिल्लाबाट कापी जाँच भएर नतिजा आइसकेको बताउनुभयो । अहिले विद्यार्थीहरूले पाएको अङ्क कम्प्युटरमा टाइप भइरहेको र यसलाई रुजु गर्न अझै चार दिन लाग्ने पनि उहाँले बताउनुभयो । परीक्षाफल असार २२ देखि २४ गतेभित्र प्रकाशित गरिने र यसवर्ष पनि परिक्षार्थीले परीक्षाफल वेभसाइटमा हेर्न सक्ने, एसएमएस र टेलिफोन गरेर पनि नतिजा थाहा पाउन सकिने व्यवस्था गरिएको बताइएको छ ।
Popularity: 21%
June 28th, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
बैंक ठगीको अभियोग भोगी रहेका उद्योगपति सीताराम प्रर्साईंसंग काठमाडौं जिल्ला अदालतले १ करोड ८० लाख ४९ हजार रुपैयाँ धरौटी माग गरेकोछ।
नेपाल घरेलु तथा साना उद्योग विकास बैंकलाई हानी नोक्सानी गरेको आरोपमा पक्राउ गर्ने आदेश दिइए पनि राजनैतिक दलहरुका आशिर्वाद पाएर सुरक्षित रहेका प्रसाईंलाई केही दिन अघि वाईसिएलका कार्यकर्ताले आफ्नो नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको थियो।
प्रसाईंविरुद्ध बैंक ठगीका १६ वटा मुद्दा परेका थिए। मुद्दाको सुनुवाईपछि प्रसाईंसंग काठमाडौं जिल्ला अदालतले धरौटी माग गरेको हो। प्रसाईंका कानुन व्यवसायी माधव बास्कोटाले केही दिनभित्र धरौटी बुझाउंने जानकारी दिएका छन्।
Popularity: 21%
June 28th, 2007
राजेश राई एचकेनेपाल डट कम धनकुटा, असार १३ -
धनकुटा नगरपालिका वडा नं. ६ स्थित गोकुण्डेश्वर उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागी भारतीय राजदूतावासले रु ५४ लाख आर्थिक सहयोग गर्ने भएको छ।
दूतावासले हालै मात्रै औपचारिक रुपमा आर्थिक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेपछि अब उक्त विद्यालयमा थप ८ कोठे भवन निर्माण हुने भएको छ । गोकुण्डेश्वरलाई नमुना उच्च मा.वि. बनाउने लक्ष्य रहेको हुँदा अव बन्ने भवनमा नियमित पठनपाठनका अतिरिक्त विज्ञान प्रयोगशाला र ब्यवस्थित पुस्तकालयको स्थापना गरिने विद्यालयका प्रधानाध्यापक महानन्द पोख्रेलले बताउनुभयो ।
दूतावासले गरेको उक्त आर्थिक सहयोगले मात्र भवन निर्माण हुन नसक्ने भएमा अन्य विभिन्न निकायहरुसँग सहयोगको माग गरिने र आवश्यक मात्रामा स्थानीय जनश्रमदान समेत जुटाई भवन निर्माण गरिने बताइएको छ । साथै विद्यालयलाई नमुना उच्च मा.वि. बनाउन आगामी दिनहरुमा अझै पठनपाठनमा सुधार गरिने र संकाय थप गर्नुका साथै प्रशासन यन्त्रमा समेत उल्लेखनीय सुधार गरिने प्रधानाध्यापक पोख्रेल बताउनुहुन्छ । हाल सो विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म नियमित कक्षा सञ्चालन हुनुका साथै उच्च मा.वि. तर्फ कक्षा ११ र १२ मा वाणिज्य र शिक्षा शास्त्र गरि २ वटा संकायहरुमा अध्यापन गरिदै आएको छ।
धनकुटाबाट राजेश राई एचकेनेपाल डट कम।
Popularity: 21%
June 28th, 2007
कुलप्रसाद राई एचकेनेपाल डट कम धनकुटा, जुन २७ -
मानवअधिकारकर्मी कृष्ण पहाडीले अढाई बर्षका बच्चा हृदयेन्द्रले पाँच के. जी. को श्रीपेच बोक्न नसक्ने बताउँनु भएको छ।
उक्त कुरा पहाडीले मानवअधिकार तथा शान्ति समाज धनकुटा शाखाद्वारा आज बुधबार धनकुटामा आयोजित लोकतान्त्रिक नागरिक सभामा बताउनुभएको हो। इतिहासमै सबैभन्दा कमजोर बनेको अहिलेको राजतन्त्रलाई एक धक्का दिने बित्तिकै ढल्ने कुरा बताउँनु हुँदै पहाडीले जुनसुकै नाम र अर्थको राजतन्त्र नेपाली जनतालाई स्वीकार्य नभएको समेत बताउँनुभयो।
राजतन्त्र एक फोहोर भएकोलेले त्यसलाई फाल्न सबै एक भएर लाग्नु पर्ने बताउँनुहुदै पहाडीले राजतन्त्ररुपी फोहोर फाल्नलाई राजनीतिक दलहरुबीच हानथाप चलिरहे सो राजतन्त्ररुपी फोहोर दलहरुले खाने भोजनको भागमा थुप्रिने बताउँनु भयो। त्यस अवसरमा पहाडीले राजतन्त्रलाई पालेर भुल नगर्न राजनीतिक दल र आम नागरिकसँग आग्रह समेत गर्नुभयो।
राजतन्त्र रहेसम्म संविधानसभाको निर्वाचन हुने कुरामा द्विविधा रहेको बताउँनुहुँदै पहाडीले लोकतन्त्र गणतन्त्रका लागि संविधानसभाको निर्वाचनमा नेपाली जनतालाई जिताउन सम्पूर्ण राजनीतिक दलहरु मिल्नु पर्ने बताउँनु भयो। बालुवामा पानी हाल्दा बरु विरुवा उम्रने तर राजतन्त्र राखेर संविधानसभाको निर्बाचन हुन कठिन हुने बताउँनुहुँदै पहाडीले अराजकताको सर्पले निल्न लाग्दा समेत राजनीतिक दलहरु हेरेर बसिरहेको बताउँनुभयो। त्यस अवसरमा उहाँले नयाँ नेपाल निर्माण गर्नका लागि आठ राजनीतिक दलको एकता अनिबार्य रहेको बताउँनुभयो।
अहिले नेपालमा हतियार दलाल गर्ने अपराधिक समूहले निक्कै चलखेल गरिरहेको बताउँनुहुँदै तर्राईमा देखिएको अहिलेको अपराधिक समूहबाट मधेसीहरु नै बढि पीडित रहेको बताउँनुभयो। सो अवसरमा पहाडीले मधेसी, जनजाति, महिला र दलितका मागहरु राज्यले सम्बोधन गर्नु पर्ने बताउँनुभयो। त्यस अवसरमा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष पुरुषोत्तम दाहालले अन्त हुने चरणमा पुगेको राजतन्त्रले केही हिंसा र आतंक मच्च्याउने बताउँनुभयो।
समाजका जिल्ला अध्यक्ष रियेन्द्र गुरागाँईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा चर्चित कवि अर्जुन पराजुलीले लोकतन्त्र र गणतन्त्रका पक्षमा आफना कविताहरु ब्ााचन गनुभएको थियो ।
धनकुटाबाट कुलप्रसाद राई एचकेनेपाल डट कम।
Popularity: 21%
June 27th, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
नवलपरासीको सुनौल -४ मा गएराति एम्बुलेन्स र ट्रक ठोक्किदा दुईजनाको मृत्यु भएको छ भने अन्य तीन जना घाईते भएका छन्।
मृत्यु हुनेमा दाङका पशुपति नारायण चौधरी र दिनेश चौधरी रहेको प्रहरीले जनाएको छ। अन्य तीन जनाको स्थिति सामान्य रहेको बताएको छ। घाइतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौबाट दाङतर्फ गै रहेका ना २ ख ३४६८ नं. ट्रक र दाङतर्फ गै रहेका लु १ च २१३४ नं.को एम्बुलेन्स ठोक्किएको प्रहरीले जनाएको छ। घटनापछि भाग्न खोजेका ट्रक चालकलाई प्रहरीले पछि हिरासतमा लिएको छ।
Popularity: 21%
June 27th, 2007
विनो दुखिया लामा एचकेनेपाल डट कम मलेसिया -
मलेसियास्थित क्वालालम्पुरको द खुकुरी नेपाली रेष्टुरेण्टमा नेपाल पत्रकार महासंघ मलेसिया शाखालाई बैचारिक प्रावधान दिने उद्देश्यले यस शाखा महासंघको दोस्रो औपचारिक बैठक यही २५ जुन २००७ का दिन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विनोद पहाडीको प्रमुख अतिथि र काठमाडौंपत्रका रिपोर्टर निश्चल गुरुङको अतिथिमा एक बैठक सम्पन्न भयो ।
नेपाली विश्व आम सञ्चारको संजाललाई नेपाल पत्रकार महासंघको छातामुनी रहेर विभिन्न देशहरुमा नेपाल पत्रकार महासंघ शाखा गठन भइसकेको र हुदै पनि छन् यसक्रमलाई निरन्तरता दिनेक्रममा नेपाल पत्रकार महासंघ मलेसिया शाखा गएको एक महिन अगाडि ११ जनाको तदर्थ समिति गठन भएको थियो । तदर्थ समितिलाई नै कायम गरी अन्य सदस्य तथा सल्लाहकारहरुलाई यही दोस्रो बैठकले चयन गरिएको छ । बैठकका सभापतित्व पत्रकार महासंघ मलेसिया शाखाका संयोजक विचारी चाम्लिङ्गले गर्नु भएको थियो भने अन्य उपस्थित पत्रकारहरुमा विश्व राई (पत्रकार तथा नेपाल पत्रकार महासंघ मलेसिया शाखा उपसंयोजक), एस्तर बस्याल -हाम्रो आवाज प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ मलेसिया शाखा सल्लाहकार), विपिन राई (न्यु सगरमाथा साप्ताहिक सम्पादक तथा नेपाल पत्रकार महासंघ मलेसिया शाखा सल्लाहकार), सुनिल चालिसे (जनपृष्ठ भूमि साप्ताहिक तथा नेपाल पत्रकार महासंघ मलेसिया शाखा सल्लाहकार), देवेन्द्र सुर्केली (नेपाल सन्देश साप्ताहिक तथा नेपाल पत्रकार महासंघ मलेसिया शाखा सदस्य), सुन्दर आले (जनपृष्ठ भूमि साप्ताहिक तथा नेपाल पत्रकार महासंघ मलेसिया शाखा सदस्य) वि.के कंडेल -पत्रकार तथा नेपाल पत्रकार महासंघ मलेसिया शाखा सदस्य), नेत्र विक्रम विमली (नेपाल सन्देश साप्ताहिक तथा नेपाल पत्रकार महासंघ मलेसिया शाखा सदस्य) हुनुहुन्थ्यो भने सो कार्यक्रमको सञ्चालन (जनपृष्ठ भूमि साप्ताहिक तथा नेपाल पत्रकार महासंघ मलेसिया शाखाका सचिव) विनो लामा दुखियाद्धारा सञ्चालन गर्नु भएको थियो ।
बैठकमा अतिथि तथा अन्य पत्रकारहरुले आ-आफ्नो धारणापत्र पेश गरेको थिए । तत्कालिन अवस्थामा नेपाल पत्रकार महासंघको कुनै पनि निर्देशन तथा सदस्या नियमवाली सम्वन्धी अवधारणहरु नआउनजेलसम्म मलेसिया शाखाको आफ्नै निर्णय अनुरुप अगाडि बढ्ने र आउदो दिनहरुमा नेपाल पत्रकार महासंघ मलेसिया शाखा कोषको छिटै गठन गरिने समेत उक्त बैठकद्धारा प्रस्तावना गरिएको छ । बैठकको प्रमुख अतिथि विनोद पहाडीले आफूले यस मलेसिया शाखाको बैधानिकताबारे नेपाल पत्रकार महासंघ केन्द्रीय बैठकमा जोडदारका साथ प्रस्वात राखिने र आफ्नो व्यक्तिगत हिसावले पनि मलेसियामा रहेका पत्रकार महासंघ शाखालाई भरपूर सहयोग गर्ने समेत बताउनु भयो । यसैक्रममा उहाले नेपाली आम सञ्चार प्रवासी भूमिमा पनि फैलिएको र यही अवस्था निरन्तरता होस् भन्ने शुभकामना पनि दिनुभएको थियो ।
बैठकमा मलेसिया शाखालाई दुई देखि तीन हप्ताको बीचमा केन्द्रिय अवधारण निर्देशन भएपछि पुर्नगठन गरिने र केन्द्रीय निर्देशन नआएसम्म उही शाखा नियम निर्देशनमा अगाडि बढ्ने भएको छ । मलेसिया शाखाले आशा गरेको छ कि केन्द्रिय अवधारणहरु छिटै आउनेछ । र यी अवधारणहरु वा विधान भित्र रहेर मलेसिया शाखाले काम कार्वाही समेत गरिने जानकारी गरिएको छ । अन्त्यमा मलेसिया शाखालाई बैधानिकतको लागि जोडदार आवाज लैजाओस् र यी पत्रकार महासंघ मलेसिया शाखाको कार्यक्रममा औपाचिरक उपस्थिता हुनु भएकोमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य विनोद पहाडीलाई नेपाल पत्रकार महासंघ मलेसिया शाखाद्वारा आभार व्यक्त गर्दै आफ्नो अमुल्य समयमा केन्द्रिय निति तथा निर्देशनको जानकारी गराउनु भएकोमा धन्यवाद ज्ञापन समेत गरेको थियो।
क्लालालम्पुरबाट विनो दुखिया लामा
Popularity: 21%
June 27th, 2007
बिलबहादुर गुरुङ एचकेनेपाल डट कम कतार -
यहि जुन २२ तारिख शुक्रवारका दिन नेपाली राजदुतावास दोहा कतारको सभाकक्षमा गैर आवासीय नेपाली कल्याणकारी कोष, दोहा कतारको तदर्थ समितिको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ ।
कोषका अध्यक्ष कमल मणी गुरागाइको अध्यक्ष्यतामा बसेको बैठकमा नेपाली राजदूतावास दोहा कतारका कार्यवाहक राजदूत रामकाजी खड्काको पनि उपस्थिति रहेको थियो । बैठकले तदर्थ समितिका सदस्य बिलबहादुर गुरुङलाई सदस्य सचिवको रुपमा चयन गर्दै विभिन्न निर्णयहरु गरेको छ।
कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई कोषको सदस्यता लिन सार्वजनिक रुपमा आव्हान गर्ने निर्णय गरिएको छ । त्यसै गरि विभिन्न सामाजिक तथा व्यावसायीक संघ संस्थाहरुलाई सदस्यता लिनका लागि कोषको एक प्रति विधानका साथमा अनुरोध पत्र प्रेषित गर्ने पनि निर्णय गरिएको छ। उक्त कार्यको लागि आवश्यक पूर्वाधारहरु जस्तै आवेदन र्फम, सदस्यता शुल्क रसिद, सहयोग रसिद, छाप तथा प्रतिक चिन्ह र लेटर प्याड सक्दो छिटो तयार पार्ने भनि निर्णय गरिएको जानकारी प्राप्त भएको छ। यस कोषलाई व्यवस्थित गर्न कतारको कुनै एक प्रतिष्ठत बैंकमा खाता खोल्ने निर्णय पनि उक्त बैठकले गरेको छ । खातामा तदर्थ समितिका सदस्यहरुले स्वइच्छाले आफ्नो गच्छे अनुसार चन्दा सहयोग गर्ने बचनबद्धता पनि जाहेर गरेका छन् । यसरी सबै सदस्यहरुबाट उठ्ने रकम र राजदूतावासबाट प्राप्त हुने सहयोगबाट हालसम्म लगभग कतारी रियल १९ हजार जति तुरुन्त जम्मा हुन सक्ने जानकारी सदस्य सचिव बिलबहादुर गुरुङले दिनु भएको छ।
कतारबाटः बिलबहादुर गुरुङ
Popularity: 21%
June 27th, 2007
एचकेनेपाल डट कम सम्वाददाता -
बेल्जियममा आइ बसोबास गरेका बिभिन्न मुलुकका कागजबिहिनहरुको हकहितको संरक्षणका लागि संघर्षरत सस्था उडेप लुभेनको मिति २५ जुन २००७ का दिन बृहत साधारण भेला सम्पन्न भएको छ ।
कागजबिहीनहरुको संघर्षमा सहयोग पुर्याउनु हुने सपोर्ट गु्रप तथा हरेक तहबाट सहयोग प्रदान गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यबाद दिदै उडेप लुभेनका संयोजक दामोदर प्रसाद आचार्यले स्वागत गर्नु भएको थियो भने उक्त कार्यक्रम उडेप लुभेनका नेर्टवर्क डेभ्लपर गमबहादुर गुरुङले संचालन गर्नु भएको थियो ।
दुई भागमा बिभाजन गरि संचालन गरिएको उक्त कार्यक्रमलाई सफल पार्न उपस्थित हुनु भएका महानुभावहरुले हल पुरै भरिएको थियो । प्रथम भागको कार्यक्रम संचालनका क्रममा उक्त सस्थाका सयोजक दामोदरप्रसाद आचार्यले उडेप लुभेनले हालसम्म हासिल गरेका उपलब्धीहरुका बारेमा संक्षीप्त जानकारी गराउनु भएको थियो ।
वर्षैंदेखि बेल्जियम सरकारले शरणार्थीहरु उपर न्यायोचित तरीकाले शरणार्थी प्रक्रियाको कार्यान्वयन नगरेको र कतिपय निर्णयहरु भेदभावपूर्ण तवरले गर्ने गरेका कारण उत्पन्न बिकराल सामाजिक समस्यालाई मानवीय आधारमा आप्रवासीहरुलाई बैधानिकता दिनुपर्ने कानुन निर्माणको आबश्यकता भयकोले संसदमा उडेप नेशनलको तर्फबाट पेश गरियको बिधेयक पास गराउने उदेश्यका लागि दबावस्वरुप बेल्जियमका बिभिन्न शहरहरुमा ४१ चर्चहरुमा धर्ना र भोक हडतालका कार्यक्रम संचालन भयका थिए । सोहि अनुसार उडेप लुभेनले पनि ४ जुन २००६ देखि चर्चमा बसेर धर्ना बाट सुरु गरि ३९ दिनसम्म भोक हडतालको कार्यक्रम गरेको थियो । अन्तमा, उडेप नेशनलको बिधेयकमा संसदको मतदानमा ४२ मत र सरकारको तर्फबाट पेश गरियको बिधेयकमा ८४ मत पर्न गइ अल्पमतमा परेको थियो ।
त्यसपछि उडेप लुभेनले आफ्नो ग्रुपका सम्पूर्ण सदस्यहरुको फाइलहरु स्वीकृत गरिनुपर्ने माग राखि भोक हडताललाइ निरन्तरता दिइरहको क्रममा भोक हडतालको १२औ दिन र ३३औ दिन गरि २ पटक ग्रह मन्त्रालयका महानिर्देशक आइ सम्पूर्ण सदस्यहरुको फाइलहरु मानविय आधारमा पुनर्बिचार गरिने आश्वासन दिनुभयको थियो । त्यसपछि भोक हडतालको ३९औ दिन तेस्रो पटक सांसद तथा नेचुरलाइजेशन कमिशनका सदस्य स्टाइन बेक्स आइ ग्रह मन्त्रालयका महानिर्देशक कै भनाइलाई दोहोर्याउनु भयको थियो र आफुले सक्दो प्रयास समेत गर्ने जानाकारी दिनुभयपछि ३९औं दिन भोक हडताल स्थगन भयको थियो । भोक हडताल स्थगन गर्नु अगाडि ग्रह मन्त्रालयका महानिर्देशकको (१२औ दिनको) पहिलो भ्रमणको ५ दिन पछि एकैपटक १७ जनाको फाइलहरु स्विकृत भयका थिए र भोक हडताल स्थगन भयपछि उडेप लुभेनले बुझायकामध्ये थप ३५ फाइलहरु स्विकृत भयको समेत जानाकारी उडेप लुभेनका संयोजक श्री दामोदर प्रसाद आचार्यले दिनुभयको थियो । त्यसपछि सहभागिहरुबाट आएका बिभिन्न जिज्ञासा तथा आशंकाहरुको बारेमा संयोजक श्री दामोदर प्रसाद आचार्यले प्रकास पार्नु भएको थियो ।
त्यसैगरि उक्त सस्थाका कोषाध्यक्ष खेम गुरुङ्गले उडेप लुभेनको आर्थिक बिबरण पेश गर्नु भएको थियो । उडेप लुभेनले चलाएको संर्घषका दौरानमा आर्थिक रुपबाट सहयोग गर्नु हुने सम्पूण जनसमुदायलाइ धन्यबाद दिनु भएको थियो । कागज बिहिनहरुको सघर्षमा अत्यन्तै महत्वपूर्ण सहयोग तथा योगदान पुर्याउदै आउनु भएका पोल भ्यान क्याम्पले हाल आएर उडेप लुभेन तथा उडेप नेसनल संग सहकार्य गर्न नसक्ने बताइ उडेप लुभेनको कोषमा रहेको रकम कार्यकारी समितिको सहमति बिना बहा आफैले खोलेको सस्था रेक्थ अफ इम्रि्रयासि तथा उडेप लुभेनलाइ आधा आधा गरि बाडफाड गर्नु भएको बिषयमा गरमागरम बहस चलेको थियो । रकम प्रयोजन गरिएको कार्य ठिक हुदा हुदै पनि उक्त रकम उडेप लुभेनको सहमति बेगर प्रकृया नपुर्याइ बिभाजन गरिएकोमा उपस्थित जनसमुदायले गम्भिर चिन्ता र चासो लिदै आआफ्नो प्रतिकृया दिनु भएको थियो ।
सपोर्ट गुपका सदस्य पिटर भान्दरलेडेनले बेल्जियममा बिकसित राजनैतिक परिस्थिति र सम्भावनाहरुको बारेमा प्रकास पार्नु भएको थियो भने कागज बिहीनहरुले संगठित भइ र धेरै भन्दा धेरै मुलुकका कागज बिहीनहरुलाई समावेस गरि संघर्ष अगाडि बढाएमा बढि प्रभाकारी हुने सुझाव समेत दिनु भएको थियो ।
दोस्रो भागमा भएको कार्यक्रममा भेलाले निम्न अनुसारको उडेप लुभेनको नया कार्य समितिको चयन गरेको छ ।
१. सयोजकः खेम गुरुङ ( नेपाल )
२. सचिवः बिनोद पौडेल - नेपाल )
३. कोषाध्यक्षः राजन सीवाकोटी ( भुटान )
४. सदस्यः होम गुरुङ ( नेपाल )
५. सदस्यः मुस्तफा तपादर ( बंगलादेश )
६. सदस्यः सोनाम जाम्बो ( तिब्बत)
७. सदस्यः गोपाल सिंखडा ( नेपाल )
८. सदस्यः छिरिङ्क साम्दुप ( तिब्बत)
९. सदस्यः पुर्ण लिम्बु ( नेपाल )
१०. सदस्यः श्रीमति सोनम खत्री क्षेत्री ( नेपाल )
११. सदस्यः जिवन तमु ( भुटान )
१२. सदस्यः ग्याल्मु सुब्वा ( भुटान )
१३. सदस्यः उद्धव गौतम ( नेपाल )
सल्लाहकारहरुः
दामोदर प्रसाद आचार्य
गमबहादुर गुरुङ
सीता सापकोटा
Popularity: 21%
June 27th, 2007
राजेश राई एचकेनेपाल डट कम धनकुटा -
“पोहोरको साल एस.एल.सी. पास गरेको थिएँ क्याम्पस पढ्ने रहर हुदा हुदै पनि आर्थिक समस्याले गर्दा पढ्न सकिएन । दिनको दुई सय दिन्छ खाना, खाजा खादा मुस्किलले दिनमा एक सय बचाउछु, यही पैसा जम्मा गरेर अर्को वर्षेखी क्याम्पस पढ्न जाने सोच बनाएको छु ।”
यो भनाई संखुवासभाको खादवारी जाने सडकको बैरेनी स्थित अक्करमा बाटो खनीरहेको संखुवासभा नाम्कू गा.वि.स.को उत्तर ब. राईको हो । माथि हेर्दा आँखाले नभ्याउने भीर तल अरुणको किनार यस्तो विचको अक्करमा बाटो खनिरहेका उत्तरबहादुर राई क्याम्पस पढ्नका लागि दिनको एक सय बचाइरहेका छन् । म सँगै पास गर्ने साथीहरु यही बाटो भएर झोला बोकेर धनकुटा क्याम्पस पढ्न जान्छन् । आफू चाहि परे अन्टकार भीरमा पसिना चुहाउदै बाटो खन्नुपर्छ दुखी त भएर उत्तर बहादुरले भने । दिनमा एक सय बचाएर क्याम्पस पढ्न जाने सपना बुनेका राईको परिवारमा बाबा, आमा बुढाबुढी छन्, दाजुहरु आ-आफ्नो मेलोमा लागीसकेका छन् ।
यो भन्दा झन् ठूलो पीडा खोटाङ्गको चियानडाँडाबाट बाटो खन्न आएका मनीकुमार तामाङ्गको छ । कक्षा ६ मा पढ्दा पढ्दै आर्थिक समस्याले गर्दा काम गर्न खादवारी बजारमा गाउँका एकजना मान्छेले ल्याएका हुन् । खादवारीमा होटलमा काम गर्दा गर्दै साहुले बाटो खन्न पठायो र यहाँ आएँ तामाङ्गले भने । अवसर पाए पढ्ने चाहना भएका तामाङ्गलाई बाटो खने वापत कति पाइन्छ कसले पैसा दिन्छ थाहा छैन । साहुले पठायो आएँ पैसा पाउछु कि पाउदिन थाहा छैन । उनले भने ।
अक्करमा बाटो खन्न भनेको जीवन मरणको लडाइँ लड्नु जस्तै हो । केही कारणले चिप्लियो भने सास सम्म फेर्न पाइन्दैन । एकैचोटी अरुणमा झरिन्छ अर्का बाटो खनिरहेका चन्द्र ब. रम्तेलले भने । मोरङ्गको बेलबारीबाट बाटो खन्न आएका रम्तेलको आँखामा झलझली छ भर्खर साथी बाटो खन्दा खन्दै लडेर अरुणमा झरेको । केही दिनका लागि काम गर्न आएका इन्जिनियर मोहन राई त्यही भीरबाट लडेर मरे । अर्का पढ्ने उमेरका जीवन मरणको लडाइँ लड्दै बाटो खनिरहेका भर्खर १६ वर्षमात्र पुगेका कृष्ण राईको घाउ झन् नमिठो छ । घरमा एकजना बुढी आमा र दिदी मात्र छ । पढ्ने त कहाँ हो कहाँ, एकछाक जुटाउन मुस्किल छ । दिनभर खान्नुपर्छ, ठेकदारहरुले उठ्नसम्म दिदैन, ज्याला काटीदिन्छु कृष्ण राई भन्छन् । अर्का संखुवासभा आँखीभूँइ ६ का चन्द्र कार्कीसँग पनि पीडा उस्तै छ । उनी यतिबेला कक्षा ८ मा गाउकै विद्यालयमा पढ्दै छन् तर विद्यालय नियमित जान पाउदैन । स्कूल जाने मन त छैन पाइन्दैन, परिक्षा चाहि दिन्छु कृष्ण कार्की भन्छन् । ठेकेदार मिलन र्राई बाटो खन्न लागि यी उमेरका विद्यार्थी खोजेर ल्याएको होइन उनीहरु काम खोज्दै आएको बताउछन् । पढ्ने उमेरमा अकन्टार अक्करको भीरमा बाटो खन्ने धेरै बाल मजदुरहरु छन् । दिनरात पसिना बगाएर उज्यालो सुदुर भविष्यको खोजी गर्नेहरुको पीडा दर्दनाक छ । उनीहरुको एक स्वर छ , रहरले होइन बाध्यताले अक्करको भीरमा पढ्ने उमेरमा जीवन मरणको लडाइँ लडेर बाटो खन्दै आफ्नो भविष्य खोजी गरिरहेका छन् ।
धनकुटाबाट राजेश राई
Popularity: 21%
June 27th, 2007
राजेश राई एचकेनेपाल डट कम धनकुटा, १२ असार-
विजुलीको करेन्ट लागेर धनकुटामा मंगलबार एक युवकको मृत्यु भएको छ । विजुलीको ट्रान्सर्फमर बनाउँदा विजुलीको खम्बामा चढेर तार मिलाइरहेको बखत अचानक विद्युत प्रवाह भएपछि मूर्तिढुंगा-६ का सूर्य कार्कीको आज विहान घटनास्थल मूर्तिढुंगामा नै मृत्यु भएको हो।
धनकुटा,१२ असार/धनकुटामा आँखा पाक्ने रोगको प्रकोप बढेपछि जिल्ला अस्पतालमा आँखा रोगीहरुको चाप बढेको छ । हाल दैनिक कम्तीमा १५ जना आँखा रोगी उपचारको लागि आउने गरेको अस्पतालका एक डाक्टर सुवास देवकोटाले बताए ।
अधिकांश आँखाको रोग सरुवा हुने भएकोले पनि विरामीको संख्या बढिरहेको अस्पतालले जनाएको छ । यसैवीच धनकुटा अस्पताल डाक्टर विहिन हुँदा दैनिक उपचार्रार्थ आउने विरामीहरुलाई समस्या भएको छ । डाक्टरहरु आयुष खनाल र राजवीर सिंह दुवैजना लामो समयदेखि काजमा बसेको कारणले राम्ररी उपचार नपाइरहेको विरामीहरुले गुनासो गर्ने गरेका छन् । अनुभवी डाक्टरहरुको अनुपस्थितीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आएका र धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्स धनकुटाका प्रयोगात्मक प्रशिक्षणमा रहेका विद्यार्थीहरुले विरामी उपचार गर्ने गरेका छन् ।
धनकुटाबाट राजेश राई
Popularity: 20%
June 27th, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता-
विगतका वर्षहरुमा सरकारी स्तरमै धुमधामले मनाइने राजाको जन्मोत्सव गत वर्ष दरवारभित्र मात्रै सिमित रहे पनि यो वर्ष भने धुमधामले मनाउने भव्य तयारी भै रहेको छ।
राजा ज्ञानेन्द्रको जन्मोत्सव असार २२, २३ र २४ गरी तीन दिन भव्य रुपले मनाउने तयारी गरिरहेको समाचार स्रोतले जनाएको छ। तर राजाको जन्मोत्सव सरकारी स्तरबाट नभै दरबारकै सक्रियतामा हुने भएको छ।
राजाको जन्मोत्सवको अवसरमा दरवारभित्र र सोल्टी होटल दुई ठाउंमा गरी चिया पार्टी, ककटेल पार्टी र डिनर पार्टीको आयोजना गरिने भएको छ। जन्मोत्सवको लागि दरवारमा सरसफाई कार्यलाई तीब्रता दिएको छ भने निम्तालुहरुको नाम लिष्ट तयार पारिदैछ।
विभिन्न चरणमा आयोजित हुने पार्टीहरुमा दुई हजारभन्दा बढीलाई निम्तो पठाउने तयारी गरिरहेको बताईएको छ।
Popularity: 20%
June 26th, 2007
Previous Posts