Archive for July, 2007

चलचित्र नायक सञ्जय दत्तलाई ६ वर्ष जेल सजाय (+Photo)

एचकेनेपाल डट कम सम्वाददाता, जुलाई ३१ -
बलिउडका ख्यातीप्राप्त नायक सञ्जय दत्तलाई मुम्बईको विशेष टाडा अदालतले ६ वर्षको लागि जेल सजाय तोकेको छ।


अदालत जानुअघि बहिनीहरू प्रिया र नम्रताका साथ अभिनेता सञ्जय दत्त। Photo Courtesy: (AFP/Indranil Mukherjee).

सन् १९९३ मा मुम्बईमा भएको बम हमलाको सिलसिलामा गैर कानुनी ढंगले हतियार राखेको अभियोगमा दत्तलाई ६ वर्षको जेल सजायसहित २५ हजार जरिवाना तोकेको हो। उनले अवैध तरिकाले एके -५६ पिस्तोल राखेको बताइएको छ।

मुम्बई अदालत परिसरमा अभिनेता सञ्जय दत्तको सुरक्षा जाँच गरिदै। Photo Courtesy: (AFP/Sajjad Hussain)

भारतीय सञ्चार माध्यमहरूका अनुसार प्रहरी हिरासतमा आइसकेका नायक दत्तलाई आर्थर रोड जेलमा पठाईने भएको छ।

सन् १९९३ मा भएको मुम्बई बम काण्डमा २ सय ५७ जनाको ज्यान गएको थियो भने ७ सयभन्दा बढी सर्वसाधारण घाइते भएका थिए। मुम्बई बम काण्डमा दोषी पाइएका १ सय जनामध्ये १२ जनालाई मृत्यु दण्ड र २० जनालाई जन्मकैदको फैसला सुनाएको छ। 16:40 HKST

Popularity: 11%

5 comments July 31st, 2007

माओवादीद्वारा एलडीओ को ज्यान लिने धम्की

एचकेनेपाल डट कम सम्वाददाता, जुलाई ३० -
माओवादीले पाँचथरका स्थानीय विकास अधिकारी भक्तिप्रसाद उप्रेतीको ज्यान लिने धम्की दिंदै आक्रमण प्रयास गरेका छन्।

माओवादीले सिफारिस गरेको कर्मचारीलाई छनोट नगरिएको भन्दै एलडीओ उप्रेतीलाई फोन गरेर ज्यान लिने धम्की दिंदै आएको सञ्चार माध्यमहरुलाई अधिकारीले बताएका छन्।

आइतबार राति १ बजे आक्रमण गर्न पुगेका माओवादीले अधिकारीलाई नभेटेपछि उनको निवास कव्जामा लिई तोडफोड गरेका थिए। आफू निवास बाहिर अन्यत्र गएकोले बाँचेको अधिकारीले बताएका छन्। आक्रोशित समूहले अधिकारीको निवासमा रहेका कम्प्युटर र फर्निचरहरु तोडफोड गरेका छन्। पहिलो पटक नभेटिएका उप्रेतीलाई सोही रात माओवादीको समूह दोस्रो पटक निवासमा खोज्न आएका थिए।

कर्मचारी परीक्षाको परिणामपछि असन्तुष्ट बनेका माओवादी जिल्ला सचिव अइन्द्र केरुङ (आकाश) र सदस्य लक्ष्मीप्रसाद न्यौपाने (प्रकाश)ले फोन गरेर उप्रेतीलाई ज्यान लिने धम्की दिदै आएको बताएका छन्।

Popularity: 11%

4 comments July 31st, 2007

नेपाली जनसम्पर्क समितिको क्यालिफोर्निया च्याप्टर गठन

एचकेनेपाल डट कम सम्वाददाता, जुलाई ३० -
नेपली जनसम्पर्क समिति, उत्तर अमेरिकाको क्यालिफोर्निया च्याप्टर गठन भएको छ। नेपाली काँग्रेसप्रति प्रतिवद्ध तथा आस्थावान् नेपलीहरुको भेलाले सर्वसम्मतद्वारा गठित च्याप्टको अध्यक्षमा वैकुण्ठ खनाललाई चयन गरेकोछ।

नेपाली जनसम्पर्क समिति, उत्तर अमेरिकाका प्रवक्ता शिव प्रकाशका अनुसार नव गठित च्याप्टरमा क्यालिफोर्नियका विभिन्न क्षेत्रबाट तीन उपाध्यक्ष क्रमशः अनुप श्रीवास्तव, छिरिङ शेर्पा र हेम पनेरु रहनु भएको छ भने महासचिवमा हरिहर दाहल, सचिवमा मनोज घिमिरे र कोषाध्यक्षमा विनोद भट्ट चुनिनु भएको छ। तेह्र सदस्यीय उक्त समितिको सदस्यमा रामदेवी पालिखे श्रेष्ठ, आङछिरिङ शेर्पा, रत्न पोख्रेल, श्याम पाठक, बुद्ध महर्जन र रवीन्द्र पाण्डे छानिनु भएको छ।

क्यालिफोर्नियको विभिन्न क्षेत्रमा बसोवास गरिरहेका प्रजानन्त्रवादी नेपालीहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको उक्त भेलाले विभिन्न पेशासँग सम्वद्ध ब्यक्तिहरु रहेको एक सल्लाहकार समिति पनि गठन गरेको छ। ११ सदस्यीय सल्लाहकार समितिमा भक्त थापा, मणी पनेरु, पियुष दाहल, जगन्नाथ गौतम, ज्ञान पन्त, दिनेश ढुङ्गेल, सुमन दाहल, अमृता राणा, पुनम शाक्य, रामकृष्ण वाग्ले र नारायण घिमिरे रहनु भएको छ।

क्यालिफोर्नियाको बर्केली शहरमा आयोजित उक्त भेलमा सो सहरका पूर्व मेयर तथा अधिवक्ता रोवर्ट सी चेस्टी तथा सीटी काउन्सीलर क्रिस वोर्थिङ्टनले नेपालको लोकतन्त्रप्रति र्समर्थन जनाउँदै नेपाली जनसम्पर्क समितिलाई आफ्नो तर्फबाट सदैव सहयोग रहने कुरा बताउनु भएको छ। भेलामा नेपाली काँग्रेस विदेश विभाग प्रतिनिधि त्रैलोक्यप्रताप सेन र नेपाली जनसम्पर्क समिति, उत्तर अमेरिकाका संयोजक डा. सुरेन्द्रराज देवकोटाको शुभकामाना कार्यक्रम संचालक धनन्जयनरसिं केसीले पढेर सुनाउनु भएको थियो। जीवनाथ वास्तोला, आमोद पोख्रेल, अनुप श्रीवास्तव, ज्ञान पन्त र भक्त थापाले समितिका बारेमा प्रकाश पार्नु भएको थियो भने हरिहर दाहलले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

भेलाले दुइ काँग्रेसबीच सिघ्र एकताको लागि अनुरोध गर्दै एकढिक्को भएर एउटै काँगे्रस संविधान सभाको चुनावमा जान पनि अहृवान गरेको छ। नेपाली जनसम्पर्क समिति, उत्तर अमेरिकाको यो दोस्रो च्याप्टर हो। यस अघि नै न्यूइङ्ल्याण्ड च्याप्टर गठन भइसकेको छ, अन्य च्याप्टरहरु क्रमशः गठन हुने क्रममा रहेका छन्।

एचकेनेपाल डट कम

Popularity: 10%

Add comment July 31st, 2007

धनकुटाका ग्रामीण सडकहरु अवरुद्ध

कुलप्रसाद राई / एचकेनेपाल डट कम धनकुटा, जुलाई ३० -
केही दिनदेखि परेको अविरल बर्षाका कारण धनकुटा जिल्लाका ग्रामीण सडकहरु अवरुद्ध भएका छन्।

त्यसरी अवरुद्ध हुने सडकहरुमा पाख्रिबास-लेगुवा, पाख्रिबास-मुगा, पाख्रिबास-फलाँटे, हिले-उत्तरपानी-छिन्ताङ्ग, त्रिशुले-हात्तिखर्क, जोरपाटी-चुलाचुली, राजारानी-छ नं. बुधबारे, मूलघाट-बुढिमोरङ्ग लगायतका रहेका छन्। निरन्तर परेको बर्षाका कारण ग्रामीण सडकहरु अवरुद्ध हुँदा त्यस सडकमा चल्ने ल्याण्डरोभर, ट्याक्टरहरु नचल्दा कृषिजन्य वस्तुहरु बजारसम्म ल्याएर बिक्री वितरण गर्ने कार्य बन्द रहेका छन्। यसबाट कृषकहरुलाई मर्कामा परेका छन्।

बर्षाका कारण हालसम्म धनकुटा जिल्लामा कुनै पनि प्रकारका घटनाहरु भएका छैनन्। ग्रामीण सडकहरु केही अवरुद्ध भएपनि अन्य मानवीय क्षति नै हुने गरी घटना नभएको प्रहरीले जनाएको छ।

धनकुटाबाट
कुलप्रसाद राई / एचकेनेपाल डट कम।

Popularity: 11%

Add comment July 30th, 2007

धनकुटामा तीन सय ३७ शिक्षण संस्थाहरु

कुलप्रसाद राई / एचकेनेपाल डट कम धनकुटा, जुलाई ३० -
धनकुटा जिल्लामा विभिन्न तहका सरकारी सामुदायिक तीन सय १६ र संस्थागत निजी बोर्डिङ्ग २१ गरी तीन सय ३७ वटा शिक्षण संस्थाहरु रहेका छन्।

एक नगरपालिका र ३५ वटा गाउँ विकास समितिहरु रहेको धनकुटा जिल्लामा प्राथमिक तहको सरकारी सामुदायिक विद्यालयहरु दुई सय १८ वटा रहेका छन्। त्यसैगरी निम्न माध्यमिक तहको ३३, माध्यमिक तहको ५१, उच्च माध्यमिक तहको १३ र एक क्याम्पस रहेका छन्। यसमा पनि प्राथमिक तहमा स्वीकृति पाएका दुई सय नौ र अनुमति पाएका नौ, निम्न माध्यमिक तहमा स्वीकृति पाएका पाँच र अनुमति पाएका २८ र माध्यमिक तहमा स्वीकृति पाएका १९ र अनुमति पाएका ३२ वटा रहेका छन्।

जिल्ला शिक्षा कार्यालय धनकुटाका अनुसार जिल्लामा संस्थागत निजी बोर्डिङ्ग विद्यालयहरुमा प्राथमिक तहका नौ, निम्न माध्यमिक तहको दुई, माध्यमिक तहको आठ र उच्च माध्यमिक तहको दुई वटा रहेका छन्। धनकुटा जिल्लामा सरकारी सामुदायिक विद्यालयमा विभिन्न तहका स्वीकृती पाएका दुई सय ३३ र अनुमति पाएका ८२ गरी तीन सय १५ वटा रहेको कुरा कार्यालयका शाखा अधिकृत मोहन र्राईले बताउँनुभयो।

धनकुटाबाट कुलप्रसाद राई / एचकेनेपाल डट कम।

Popularity: 11%

Add comment July 30th, 2007

कम्प्युटर ‘गेम’ प्रति बालबालिकाको रूची बढ्दो

गोपाल वराइली / एचकेनेपाल डट कम धनकुटा साउन १३ -
गोकुण्डेश्वर उच्च माध्यामिक विद्यालय कक्षा- ५ मा पढ्दै गरेका सन्दिप थापाले कम्प्युटरमा “गेम” नखेलेको सायद दिन छैन। विहानै उढ्ने हातमुख धुने, पढ्ने विद्यालय जाने पढेर आएर कम्प्यूटरमा गेम खेल्नु उनको दिनचर्या हो।

भर्खर ११ वर्ष लागेका थापा कक्षाको पनि जान्ने विद्यार्थीको रुपमा चिनिन्छन्। घरमै कम्प्युटर सेन्टर छ। कम्प्युटरमा गेम नखेल्दा खानै खाएको पच्दैन उनि भन्छन् तर उनले कम्प्यूटरमा गेम खेले वापत पैसा तिर्नु पदैन। कम्प्यूटर खाली हुने वित्तिकै गेम खेल्न वस्यो रमाइलो हुन्छ उनि थप्छन्।

त्यसो त उनकै साथी एलिस हिङमाङ कम्प्यूटरमा गेम खेल्न २० मिनेटको वाटो धाएर आउछन्। साथीहरुले गर्दा गेम खेल्ने वानी भएको उनी बताउछन्। हुन त उनलाई कम्प्यूटरमा गेम खेल्न र साइवरमा च्याट गर्ने पैसा वुवा आमाले नै दिनु हुन्छ।सार्वजनिक विदाका दिन त प्रत्येक साइवरहरुमा वाल विद्यार्थीहरुको भीड भेटिन्छ । शुक्रवार १ बजे पछाडी र शनिवार त यहाका साइवरमा वाल विद्यार्थी वाहेक अन्य भेटिदैन। अहिलेसम्म साइवरमा वालिकाहरु भने नभेटिएको डट कम साइवरको सञ्चालक दिपन श्रेष्ठले बताउछन्।

बिदाका दिनहरुमा धनकुटाका धनाढ्यदेखी मजदुरी गरी जीवनयापन गर्नेहरुका बालबच्चाहरु गेम खेल्न भिड लाग्छन्। एक्काइसौ शताब्दीमा भएको कम्प्युटरको विकाससगै बाल बिद्यार्थीहरुमा कम्प्युटरमा गेम खेल्ने मोह बढ्दै गएको हो। धनकुटा सदरमुकाममा रहेका निजि तथा सरकारी बिद्यालयका बिद्यार्थीहरु साइवर धाउने गर्छन्। धनकुटा-६ स्थित बालसंसार आवासीय उच्च मावि कक्षा -४ मा अध्यनरत १२ वर्षीय दिपेस मल्लिक भन्छन् - सबै साथी साइवरमा गेम खेल्ने गरेका कारण बुबा आमासँग पैसा मागेर गेम खेल्ने गरेका छौ। कम्प्युटरमा गेम खेल्दा सबै कुरा जानिन्छ भन्ने सुनेर कम्प्युटर गेम सिकेको उनी बताउछन्।

त्यसो त कोही भने घरमा ढाँटेर साइवर आउने गरेका छन्। तमोर भ्याली बोर्डिङ स्कुल, तुलसी मेयर बोर्डिङ स्कुललगायत बिद्यालयका केही बिद्यार्थीले भने सर मिस र घरमा बा आमाले कम्प्युटरमा आँखा ब्रि्रन्छ भनेर कराउने गरेको कारण सबैको आँखा छलेर कम्प्युटरमा बस्ने गरेको बताउछन्। तमोर भ्यालिका ज्याक्सन र्राई भन्छन् पढ्ने बेलामा कम्प्युटरमा गेम खेल्ने हो - भनि साथीहरुका बाबु आमाले कराउने गरेका कारण लुकेर र ढाटेर पैसा मागेर आउनु परेको छ।

धनकुटा सदरमुकाममा मात्रै चार वटा साइवर छन् भने अधिकांश साइवरमा कम्प्युटरमा गेम खेलेर रमाइलो गर्ने बालकहरु भेटिन्छन्। उनीहरु पनि साइवरका आयश्रोतका माध्यम बनेका छन्। आधा घण्टा साइवरको कम्प्युटरमा बसेर उनीहरुले १० रुपैया तिर्ने गरेका छन्।

धनकुटाबाट गोपाल वराइली / एचकेनेपाल डट कम।

Popularity: 10%

1 comment July 30th, 2007

सारङ्गी बजाउंदै, गाउंदै गीत सुनाउंदै

राजेश राई / एचकेनेपाल डट कम धनकुटा -
सारङ्गी नै जीवन, सारङ्गी नै सबै थोक/सारङ्गी रेट्यो, अरुका लागी गीत गाई दियो तर आफ्नो हात खाली रित्तै। यसरी नै जीवन बित्दै आएको छ तेजेन्द्र गर्न्धर्वको।

उनी भोजपुर जिल्लाको जरायोटार गा.वि.स. स्थित महेन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत १५ वर्षका तेजेन्द्र पर्ढाई खर्च जुटाउने सारङ्गी रेट्ने गर्छन्। उनले सारङ्गीको तार रेटेर कमाएको पैसाले पढ्न थालेको पनि पाँच वर्ष नाघी सकेको छ।

अत्यन्तै गरिब परिवारमा जन्मिएका तेजेन्द्रले सारङ्गीको तालमा गीत गाएर कमाएको पैसाले पढ्नु पर्ने बाध्यता छ। पढ्ने पैसा जुटाउन कै लागी भए पनि उनी वर्षमा तीन पटकसम्म घर छाडेर हिड्ने गर्छन । विद्यालय बिदा हुने बित्तिकै पैसा कमाउनका लागी धनकुटा, धरान, विराटनगर लगायतका शहर पुग्ने गरेको उनी बताउँछन्।

उनले एक पटक घर छाड्दा कपी, किताब, डट्पेन, विद्यालय पोशाक किनेर पनि २५ सय रुपैँयासम्म घर पुर्‍याउने गरेको उनी बताउँछन्। कमाएर घर पुर्‍याएको पैसा पनि घरमा चामल, नुन तेल लगायतका सामाग्री किन्न खर्च गर्छन उनी। सारङ्गी रेटेर कमाएको केही पैसाले भाई र बैनीलाई समेत खर्च गर्छन्। उनका भाई हिमाल कक्षा-४ मा पढ्छन् भने बहिनी सुनिता कक्षा-५मा पढ्दैछिन्।

भविष्यमा जनवादी कलाकार बनेर जनताका गीत गाउने लक्ष्य बोकेका तेजेन्द्रले पैसाका लागी दर्शकले पप र र्‍याप गीत गाउन लगाउने गरेका कारण त्यस प्रकारका गीतहरु पनि गाउने गरेका छन्। कति-कतिले त जनवादी गीत गाउँदा समय अनुसार भएको बताउँदै स्याबासी दिने गरेको उनी बताउँछन्। सारङ्गी रेटेर गीत गाउँदा रित्तो हात हुनु परेको तितो यथार्थ कोट्याउँदै उनले कहिले काँही हात दुख्ने गरी सारङ्गी रेटेर गीत गाउँदा एक पैसा नदिने गरेको उनी बताउँछन्। उनी भन्छन्- गीत गाउन लगाउँछन् जसले पैसा दिंदैनन् उसैले धेरै बेर गीत गाउन लगाउँछन्।

करिब २ सय वटा जति अरुका गीत कण्ठ बनाएका तेजेन्द्रले दुई चारवटा गीत त आफैले पनि बनाएका छन्। तर सुन्नेले अरुका र चर्चित गीत रोज्ने गरेका कारण आफूले रचना गरेका गीत त्यति धेरै सुनाउन नपाएको उनी बताउँछन्।

दुईवर्ष अगाडी सम्म उनी साथीसँग हिड्ने गर्थे तर उनका सहपाठी सन्तोष र सुवासले पढ्न छाडेका कारण उनीहरुसँगको सम्बन्ध तोडेका छन्। ‘पढाइ मिल्दैन, उनीहरु पढ्न मान्दैनन् त्यसैले साथ छाडे’ उनी भन्छन्।

धनकुटाबाट राजेश राई / एचकेनेपाल डट कम।

Popularity: 10%

2 comments July 30th, 2007

लमजुङ जिल्ला प्रशासन कार्यालय बन्द, सर्वसाधारण मर्कामा

आश गुरुङ ‘प्रतीक’ / एचकेनेपाल डट कम लमजुङ, साउन १४ -
जिल्ला प्रशासन कार्यालय लमजुङमा कार्यरत कर्मचारीले प्रशासनको सबै काम बन्द गरेका छन्। चरिकोटमा आइतबार प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीलाई कुटपिट गरेको विरोधमा प्रशासनका कर्मचारीले काम बन्द गरेका हुन।

राष्ट्रसेवक कर्मचारीको दिनहुँ असुरक्षा बढ्दै गएकोले बाध्य भएर कलम बन्द कार्यक्रम गर्नुपरेको लमजुङका प्रमख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेलले बताउनुभएको छ। कर्मचारीहरु कार्यालय काम नगरीकन बसेका छन्। आकस्मिक रुपमा काम बन्द भएपछि गाउँबाट आएका सर्वसाधारण मर्कामा परेका छन् भने थुप्रै मानिस त्यसै फर्किएका छन्।

त्यसै गरी लमजुङका गाउँ विकास समितिका सचिवहरुले जिल्ला विकास समितिमा लगाएको ताला खुल्न नसक्दा सर्वसाधारणका कामहरु सबै अलपत्र परेका छन्। लमजुङका गाविस सचिवहरुले केन्द्रिय आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै गएको शुक्रबारदेखि जिल्ला विकास समिति लमजुङमा तालाबन्दी गरेका थिए। आन्दोलनलाई निरन्तरता दिंदै आज पनि सचिवहरुले जिविसको मूल ढोकामा धर्ना बसेका छन्।

सचिवहरुले द्वन्दका क्रममा मारिएका सचिव लगायत कर्मचारीलाई शहिद घोषणा गर्नुपर्ने, आश्रति परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, स्थानीय निकायमा अन्तरिम व्यवस्था तुरुन्त लागु गर्नुपर्ने, विगत ५ वर्षदेखि थप काम सम्पादन गरेबापत एक तह बढुवा गर्नुपर्ने, १० लाख रुपैंया बिमा गर्नुपर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन माग राखेका छन्।

लमजुङबाट आश गुरुङ ‘प्रतीक’ / एचकेनेपाल डट कम।

Popularity: 10%

2 comments July 30th, 2007

नेपाली तेक्वान्दो प्रशिक्षकहरु कोरियामा सम्मानित (+Photo)

नेपाली तेक्वान्दो प्रशिक्षकहरु कोरियामा सम्मानित
राप्के लामा / एचकेनेपाल डट कम द. कोरिया-
नेपाली तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरु दक्षिण कोरियामा सम्मानित भएका छन्। सम्मानित हुनेहरुमा प्रशिक्षकद्वय मानध्वज लामा र भजेन्द्रबहादुर क्षेत्री छन्।


थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

दुबै जना कोरियाको राजधानी सउलमा जुलाई २४देखि २८ सम्म सञ्चालित १४औं अन्तर्राष्ट्रिय प्रशिक्षक तालिममा सहभागी थिए। लामा नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक हुन् भने क्षेत्री खाङवन राष्ट्रिय विश्वविद्यालयका विद्यार्थी हुन्।

विश्व तेक्वान्दो महासंघका अध्यक्ष डा. वुन क्यु उमले एक समारोहबीच लामा र क्षेत्रीलाई विशेष सम्मान पत्र प्रदान गर्नुभएको थियो।

विश्वका विभिन्न राष्ट्रका १ सय २० प्रशिक्षकहरु सहभागी रहेको प्रशिक्षक तालिममा दक्षिण एशियाली राष्ट्रहरुमध्येबाट नेपाली प्रशिक्षकहरुले मात्र यस प्रकारको अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको अन्तर्राष्ट्रिय तेक्वान्दो युनियनका अध्यक्ष राजु क्षेत्रीले यस सम्वाददातालाई बताए।

थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
द. कोरियाबाट राप्के लामा / एचकेनेपाल डट कम।

१४ औं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षणमा नेपाली प्रशिक्षकहरुको सहभागीता
राप्के लामा / एचकेनेपाल डट कम द. कोरिया, जुलाई 25 -
दक्षिण कोरियाको राजधानी सउलमा सञ्चालन भै रहेको १४ औं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक तालिममा नेपाली प्रशिक्षकहरुले समेत भाग लिएका छन्।

अन्तर्राष्ट्रिय नेपाल तेक्वान्दो युनियनका अध्यक्ष राजु क्षेत्रीले दिएको जानकारी अनुसार २४ देखि २८ जुलाईसम्म सञ्चालन हुने उक्त प्रशिक्षक तालिममा नेपाललगायत विश्वका १ सय २० राष्ट्रका तेक्वान्दो प्रशिक्षकहरु सहभागी छन्। नेपाल र हङकङ गरी १४ जना तेक्वान्दो प्रशिक्षकहरुले उक्त प्रशिक्षक तालिममा भाग लिएका छन्।

द. कोरियाबाट राप्के लामा / एचकेनेपाल डट कम।

Popularity: 11%

Add comment July 30th, 2007

चरिकोट अझै तनावमा, कर्मचारीले गृहमन्त्रालय घेरे

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
वाईसीएलका कार्यकर्ताहरुले दोलखाका प्रजिअमाथि हिजो गरेको हातपातको विरोधमा चरिकोट बजार आज बन्द रहेको छ।

आफ्ना कार्यकर्तालाई रिहा गर्नुपर्ने माग गर्दै जुलुससहित आएका वाईसीएलका कार्यकर्ताहरुले हिजो दोलखाका प्रजिअमाथि कार्यालयभित्रै गएर हातपात गरेका थिए।

पूर्व जिविस सभापतिलाई कालोमोसो दलेको अभियोगमा सार्वजनिक अपराध अन्तर्गत मुद्दा लगाइएका माअ‍ोवादी नेतालाई रिहा गर्नुपर्ने माग वाईसीएलका कार्यकर्ताहरुको थियो।

यसैबीच प्रजिअमाथि भएको हातपातको विरोधमा आज निजामति कर्मचारीहरुले गृहमन्त्रालय घेरेर विरोध प्रदर्शन गरेका छन्।

Popularity: 10%

Add comment July 30th, 2007

शतप्रतिशत गणतन्त्रमा मत

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
कारागारका कैदी बन्दीले संविधानसभा चुनावमा भाग लिने नमुना निर्वाचन वीरगन्ज कारागारमा सम्पन्न भएको छ।

कैदी बन्दी मुक्ति अभियान सञ्चालन समिति, वीरगन्ज कारागारको पहलमा भएको सो नमूना चुनावमा वास्तविक चुनावमा अपनाइने प्रायः सम्पूर्ण प्रक्रिया अपनाइएको थियो। यसअघि एउटा मतपत्रमा मतदान गर्ने गरेको उनीहरुले यसपालि भने दुइवटा मतपत्रमा मतदान गरेका थिए।

मतदान प्रक्रियाअर्न्तर्गत राजतन्त्र वा गणतन्त्र भनेर दुइवटा मतपत्रमा मतदान गर्नुपर्ने थियो। राजतन्त्रका लागि पहेँलो रङगको मतपत्र र गणतन्त्रका लागि रातो रङको मतपत्र प्रयोग गरिएको थियो।

वीरगन्ज कारागारमा रहेको २९ जना महिलासहित कुल ५१६ जनामध्ये ५१३ जनाले मतदानमा भाग लिएका थिए। उमेर नपुगेका कारण तीन जना बालबालिकालाई मतदानमा सहभागी गराइएन्।

खसेको शतप्रतिशत मत गणतन्त्रको पक्षमा रहेको थियो।

सो निर्वाचन सम्पन्न गराउन एक हजार पाँच सय रुपियाँ खर्चभएको बताउँदै मतदान अधिकृत पौडेलले मतपत्रसहित मतदानको नतिजा कारागार प्रमुखमार्फत् सभामुख सुवास नेम्बाङलाई पठाइएको जानकारी दिनुभयो।

Popularity: 10%

3 comments July 30th, 2007

७२ को मृत्यु, एक लाखभन्दा बढी प्रभावित

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मुलुकमा जारी अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण अहिलेसम्म ७२ जनाले ज्यान गुमाएका छन्।केन्द्रीय उद्धार तथा राहत समन्वय केन्द्रद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा बाढीका कारण अहिलेसम्म एकलाख ९८ हजार १२७ जना प्रभावित भएको जानकारी दिइयो।

गृहसचिव प्रतापकुमार पाठकले बाढीका कारण जलविद्युत, पुल, झोलुङ्गेपुल, सडक, कुलो गरी करोडौँ मूल्य बराबरको क्षति भइसकेको छ भने २०९ घरपालुवा पशुपंक्षी नष्ट भएको जानकारी दिनुभयो।

बाढीबाट वागलुङ, बाजुरा, जाजरकोट, झापा, उदयपुर, मोरङ, सुनसरी, सप्तरी, र्सलाही, महोत्तरी, धनुषा, पर्सा स्याङ्जा, नवलपरासी, बाँके, बर्दिया, कैलाली, सल्यान, गुल्मीलगायत २७ जिल्ला प्रभावित भएका छन्।

बाढीपीडितहरूको उद्धारका लागि नेपाली सेनाका चार, अनमिनको एक र सिम्रिक एयरको एक गरी छ वटा हेलिकोप्टर परिचालन गरिएको छ भने जिल्लास्तरमा राजनीतिक दल, स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, सामाजिक कार्यकर्ता, जिल्ला विकास समिति, नगरपालिका, नागरिक समाजलगायत परिचालन गरिएको छ।

बाढीपहिरोपीडितका लागि केन्द्रीय दैवीप्रकोप उद्धार कोषमार्फ अहिलेसम्म करिब रू. दुइ करोड २५ लाख निकासा गरिएको, पीडितका लागि अस्थायी आश्रयस्थलको व्यवस्था गर्ने र आवश्यक खाद्यान्न तथा पिउने पानीको प्रबन्ध मिलाउने कार्य भइरहेको जानकारी पनि सो अवसरमा दिइयो।

केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकले बाढीपीडित मृतकका परिवारलाई दिइने रू.प्रन्ध्रहजार रकममा वृद्धि गरी रू.२५ हजार दिने निर्णय गरेको छ।

Popularity: 11%

Add comment July 30th, 2007

नेपाल सरकारद्वारा अन्तर्राष्ट्रिय समुदाय लगायत सबैलाई सहयोगका लागि आग्रह

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल सरकारले केही दिनदेखि मुलुकका विभिन्न भागमा परेको अविरल वर्षाले असहनीय दुःख र पीडा भोग्नु परिरहेका दैवीप्रकोप पीडितहरुको उद्धार एवं राहत सहयोगका लागि सम्पूर्ण पक्षसँग हार्दिक आग्रह गरेको छ।

मन्त्रिपरिषद्को बैठकले उक्त आग्रह गर्दै सो प्रयोजनका लागि सहयोग गर्ने सङ्घसंस्था एवं महानुभावहरुले प्रदान गर्ने सहयोग दैवीप्रकोपबाट पीडितहरुको उद्धार र त्यसबाट भएका क्षतिको पुनःनिर्माण एवं पुनःस्थापनामा मात्र खर्च गर्ने गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको विभिन्न बैङ्क खातामा रकम जम्मा गर्नसमेत अपिल गरेको छ।

साथै बैठकले काठमाडौँ उपत्यका बाहिरको हकमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका नाममा एकाउन्टपेयी ड्राफ्ट बनाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पठाउन हार्दिक अनुरोध गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिअनुसार उद्धार कोषमा रकम जम्मा गर्नका लागि नेपाल-बङ्गलादेश बैङ्क लि. काठमाडौँ प्लाजाको खाता नं.०३५१४१-सी, नेपाल बैङ्क लिमिटेड, जुद्धसडक शाखाको खाता नं. ००२-११-०५३३१३ र नेपाल स्ट्यार्न्र्डड चार्र्टर्ड बैङ्क लि.लाजिम्पाटको खाता नं. १८०१३२४३८०१ तोकिएको छ।

विज्ञप्तिअनुसार वर्षाबाट तराईका सबैजसो जिल्ला र पहाडी क्षेत्रका कतिपय जिल्लाहरु अति नै प्रभावित हुनगई करिब एक लाख मानिस विस्थापित भएका, हजारौँ विघा जग्गा डुबानमा परी बालीनालीको क्षति भएको तथा हजारौँ घर डुबानमा परेका, बगेका एवं भत्किएका छन् भने बाढी पहिरोको चपेटामा परी झण्डै ७२ व्यक्तिले ज्यान गुमाइसकेका छन्।

तत्काल उद्धार र राहत कार्य सरकारी एवं गैरसरकारी संस्थाहरुको सहयोग एवं संलग्नतामा भइरहेको जनाउँदै विज्ञप्तिमा तथापि प्रतिकुल मौसमका कारणले कतिपय स्थानमा राहत पुर्याउन कठिनाइ भइरहेको जनाइएको छ।

राष्ट्रिय विपत्तिको यस घडीमा पीडित परिवारलाई सबैले आ-आफ्ना स्थानबाट यथाशक्य नगदी तथा जिन्सी सहयोग पुर्याउनु हामी सबैको कर्तव्यमात्र नभई सहयोग गर्नु एउटा पवित्र कार्य पनि हो भन्दै विज्ञप्तिमा यस विपत्तिको घडीमा सम्पर्ूण्ा राजनीतिक दल एवं तिनका भ्रातृ संस्था, समाजसेवी, शिक्षक, राष्ट्रसेवक कर्मचारी, सामाजिक सङ्घसंस्था, गैरआवासीय नेपाली, मित्रराष्ट्र तथा विभिन्न दातृ निकाय र अन्तरराष्ट्रिय समुदायलगायत सबै नेपाली दाजुभाई तथा दिदीबहिनीलाई उदार मनले सहयोग पुर्याउन सरकारद्वारा हार्दिक आग्रह गरिएको छ।

Popularity: 10%

Add comment July 30th, 2007

बाढीपहिरो पीडितका लागि पाँच करोड

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बाढीपहिरो पीडितहरुका लागि सरकारले केही नगरेको गुनासो आइरहेको बेला मन्त्रिपरिषद्को बैठकले दैवीप्रकोप पीडितहरुको तत्काल उद्धार तथा राहत कार्यका लागि पाँच करोड थप निकासा दिने निर्णय भएको छ।

अर्थ मन्त्रालयले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई रु.पाँच करोड थप निकासा दिन लगाउने निर्णय मन्त्रिपरिषदले गरेको हो।

यसैबीच पीडितहरुको राहत कार्यका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यका साथै मन्त्रिपरिषद्का सचिव एवं मुख्य सचिवले सात दिनको पारिश्रमिक सहयोगस्वरुप उपलब्ध गराउने भएका छन्।

Popularity: 10%

Add comment July 30th, 2007

आज गुरु पूर्णिमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
हिन्दु धर्मावलम्बीहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरुषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई आज गुरुपूणिर्माका रूपमा मनाउँदैछन्।

आजका दिन विद्यार्थीले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट टीका थाप्ने चलन छ।

द्वापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूणिर्मा अर्थात् आजकै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो।

आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई र्सवश्रेष्ठ गुरु मानिन्छ र आजका दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ।

संस्कृत भाषामा ‘गु’को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्ने हो। आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरुलाई ब्रहृमा, विष्णु, महेश्वर र साक्षात् परब्रहृमस्वरूप मानिन्छ।

हिन्दु मान्यताअनुसार सङ्गीतलगायत ६४ कला सिकाउने, गायत्री-दीक्षामन्त्र-वेदमन्त्र दिने आचार्य, उमेर-बुद्धि-बल-अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राहृमण र काका गुरुकै कोटिमा पर्दछन्।

Popularity: 10%

Add comment July 30th, 2007

कोरियामा “नेपाली डे” कार्यक्रम सम्पन्न

डम्बर सुब्बा / एचकेनेपाल डट कम द. कोरिया-
द.कोरिया क्यङ्गगीदो योर्ङ्गइन सिटिमा कोरिया प्रवासी मजदुर मानव अधिकार सेन्टर र योर्ङ्गइनका बसोबास गर्ने नेपालीहरुको संयुक्त आयोजनामा नेपाली डे कार्यक्रम सम्पन्न भएको छ।

यस कार्यक्रममा कोरियन, बंगलादेश, मंगोल, फिलिपिन्स, श्रीलंका, भियतनाम राष्ट्रका झण्डै ८० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली खाना निशुल्कमा वितरण गरिनुका साथै नेपाली राष्ट्रिय पोसाक, नेपाली खेलहरुको प्रदर्शन गरिएको थियो।

आयोजक कमिटिका सुरेश पराजुली भन्दछन् “ हामीले यो कार्यक्रम प्रत्येक बर्षमनाउदै आएका छौ। यस पटक मौसम र धडपकडको कारणले गर्दा हामीले आशा गरेको भन्दा कम गेस्टहरु आए। जेहोस् हामी खुशी पनि छौ र गर्व पनि गर्दछौ”।

त्यस्तै कोरिया प्रवासी मजदुर मानव अधिकार सेन्टरका सेक्रेटरी किम सो रयडले हाम्रा बालबच्चाहरुलाई स्कुलमा गएर प्रत्येक महिनामा २ देखि ३ पल्ट विभिन्न राष्ट्रका भाषा, संस्कृति रहनसहन राष्ट्रिय पोसाकका बारेमा शिक्षा दिन्छौ, स्कुलमा शिक्षा दिनु भन्दा यस्ता मनोरन्जनात्मक कार्यक्रम गर्दा झन छिटो बुझने, जान्ने भएकाले यस्ता कार्यक्रमहरु हामी प्राय गरि रहन्छौ भन्नु भयो। साथै सेक्रेटरी किमले हामीले प्रवासी मजदुरहरको मानवअधिकार हनन नहोस र अवैधानिक प्रवासी मजदुरहरुलाई वैधानिकता दिन पर्छ भन्दै कोरिया सरकारसंग धेरै लडयौ तर सरकारको नीतिमा कुनै परिवर्तन आएन। यस पटकको कोरिया सरकारले कडा धडपकड गर्ने नीति बनाएको छ। त्यसको निम्ति हाम्रोतर्फबाट प्रवासी अवैधानिक मजदुरहरुको सुरक्षाको लागि कुन ठोस कार्यक्रम तथा योजना नगरेकोमा खेद व्यक्त गर्दछौ भन्नु भयो।

द. कोरियाबाट डम्बर सुब्बा / एचकेनेपाल डट कम।

Popularity: 10%

Add comment July 30th, 2007

कांग्रेस सांसद शर्माको आकस्मिक निधन (News updated)

आश गुरुङ ‘प्रतीक’ / एचकेनेपाल डट कम लमजुङ, साउन १३ -
अन्तरिम ब्यवस्थापिकाका सांसद डिल्लीराज शर्मा पौडेलको आज आईतवार विहान लमजुङमा निधन भएको छ।
२०५६ सालको निर्वाचनमा नेपाली काँग्रेस पर्वत जिल्ला क्षेत्र नं. २ का निर्वाचित सांसदको लमजुङ सामुदायिक अस्पतालमा विहान साढे ५ वजे उनको निधन भएको हो।

कारागारको भैतिक तथा व्यवस्थापकिय पक्षको अवलोकनका लागि राजधानीबाट उहाँ शुक्रवार लमजुङ आउनुभएको थियो। कारागार सुधार उच्चस्तरीय समितिका अध्यक्ष समेत रहनुभएका सांसद डिल्लीराज शर्मा पौडेलको हृदयाघातबाट निधन भएको लमजुङ सामुदायिक अस्पतालले वताएको छ। सदरमुकाम वेसीशहरस्थित होटल टुकुचेमा राती सवा ४ वजे उहाँ एक्कासी वेहोस हुनुभएको थियो। वेहोसपश्चात उपचारका लागि सामुदायिक अस्पतालमा पुर्याएइनु भएका शर्माको आकस्मिक कक्षामा भर्नाको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायव उपरिक्षक प्रमोदकुमार खरेलले वताए।

कारागार सुधार उच्चस्तरीय समितिका अध्यक्ष एवं सांसद डिल्लीराज शर्मापौडेलका साथमा समितिका सदस्य एवं एमाले सांसद लालवावु पण्डित र माओवादीका सांसद उमा भुजेल, मानवअधिकार आयोगका पूर्व सदस्य सुदिप पाठक र कारागार व्यवस्थापन विभागका महानिर्देशक स्थानेश्वर देवकोटा सहभागी थिए।

स्वर्गीय सांसद डिल्लीराज शर्मा पौडेल पर्वतको फलेवास निवासी हुनुहुन्थ्यो। पूर्व भूमिसुधार सहायक मन्त्री समेत रहनुभएका ६१ वर्षीय शर्मापौडेल २०३१ सालदेखि नेपाली काग्रेसमा सक्रिय हुनुहुन्थ्यो। उहाँको श्रीमती, ४ छोरी र १ छोरा छन्।

सांसद डिल्लीराज शर्मापौडेलको शवलाई नेपाली काँग्रेस केन्द्रय कार्यालय काठमाडौँ लगिएको छ।

लमजुङबाट आश गुरुङ ‘प्रतीक’ / एचकेनेपाल डट कम।

Popularity: 10%

Add comment July 29th, 2007

बाँकेमा विद्युत, खाद्यान्न र पानीको अभाव

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
निरन्तरको वर्षाले डुवानमा परेका बाँके जिल्लावासीको जीवन थप कष्टकर बन्दै गएको छ । पूर्ण रूपमा बाढी तथा डुवानप्रभावित जिल्लाका १९ गाउँ विकास समिति र नेपालगन्ज नगर क्षेत्रमा अहिले स्वच्छ खानेपानी तथा खाद्यान्नको अभाव भएको छ ।

डुवानप्रभावित क्षेत्रमा सेना, प्रहरी र सर्वसाधारणको संयुक्त प्रयासबाट उद्धार र राहतको कार्यलाई तीव्र पारिएको छ ।

नेपालगन्जबाट विभिन्न स्थानमा सार्वजनिक यातायातका सवारी साधन सञ्चालन नहुँदा यात्रुहरू अलपत्र परेका छन् ।

जिल्लाको राप्तीवारि र पारिका बाढीप्रभावित क्षेत्रमा उपयुक्त स्थान नभएकाले राहत बोकेको हेलिकप्टर अवतरण गर्न नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भारतद्वारा नेपाल-भारत सीमानजिक बनाइएको लक्ष्मणपुर बाँधको ढोका पानी निकासका लागि खोलिएको भनिएता पनि सो कुरा मान्न जिल्लावासी तयार छैनन् ।

डुवानका कारण तीन दिनदेखि जिल्लामा शैक्षिक प्रतिष्ठान, कलकारखाना, पसल तथा केही सरकारी तथा गैरसरकारी कार्यालयसमेत बन्द रहेका छन् ।

यहाँको विद्युत सवस्टेसनको कन्ट्रोल रूममा पानी पसेकाले तीन दिनदेखि विद्युत आपूर्तिसमेत ठप्प छ ।

बाढी तथा डुवानका कारण बाँके जिल्लाका करिब १२ हजार नागरिक प्रत्यक्ष तथा करिब ३०/३५ हजार अप्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

Popularity: 11%

Add comment July 29th, 2007

जनकपुर पूरै जलमग्न

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
दुई सातादेखि परेको अविरल वर्षाका कारण कमला, जलाद, जमुनी र दुधमति नदीमा आएको बाढीले सदरमुकाम जनकपुरसहित ग्रामीण क्षेत्रको जनजीवन कष्टकर भएको छ ।

वर्षाका कारण जनकपुर नगरपालिकाको मुख्य सडक टप्पुमा परिणत भएकाले जनकपुरदेखि ग्रामीण क्षेत्रको सम्पर्क विच्छेद भएको छ ।
पानी निकासका लागि ढलको उचित व्यवस्था नभएकाले नगरपालिकाका सबै वडा डुवानमा परेको छ भने मुख्य सडकमा तीनदेखि पाँच फिटसम्म पानी जमेको छ । सदरमुकाम जोड्ने सडकहरू अवरुद्ध भएपछि सदरमुकाममा आउने दूध र तरकारीको अभाव भएको छ ।

मुसहरी टोलका विस्थापित परिवारले धर्मशालामा आश्रय लिएका छन् भने विद्यालय, क्याम्पससमेत अनिश्चितकालका लागि बन्द भएको छ ।

त्यस्तै धनुषा जिल्लाका बाढीबाट प्रभावित ६० गाविसमा सयौँ विघा खेतीयोग्य जग्गा नदीले कटान गरेको छ । कमला नदीको मूल नहर तीनस्थानमा क्षत्रि्रस्त भएका कारण पर्ूर्वी क्षेत्रका २३ गाविस डुवानमा परेका छन् ।

प्रारम्भिक विवरणअनुसार बाढीका कारण धनुषा जिल्लामा ६०० घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Popularity: 11%

Add comment July 29th, 2007

डायास्पोरिक उपन्यास ‘यमपुरीको महल’ लोकार्पण

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली डायास्पोरिक साहित्यको प्रथम उपन्यास ‘यमपुरीको महल’ शिक्षा तथा खेलकुद मन्त्री प्रदीप नेपालले लोकार्पण गर्नुभयो।

आख्यानकार डा. ध्रुवचन्द्र गौतमको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, कुमार कोइराला, बिष्णुबहादुर सिंह, युवराज नयाँघरे लगायतले पुस्तकमाथि प्रकाश पार्नुभएको थियो।

उपन्यासकार होमनाथ सुवेदीको १३औँ कृतिका रूपमा प्रकाशित यस कृति भित्र नेपालीहरूले अमेरिकाको बारेमा देख्ने गरेको सपना, उनीहरूको आन्तरिक पीडा, देखावटी खुशी आदिको चित्रण गरिएको छ।

उपन्यास अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशित गरेको हो।

होमनाथको नयाँ उपन्यास ‘यमपुरीको महल ‘ को विमोचन
राजु सत्याल काठमाडौं
होमनाथको नयाँ उपन्यास ‘यमपुरीको महल ‘ले नेपाली उपन्यासको क्षेत्रमा एउटा नयाँ आयाम कोर्न सफल भएको छ।

पुस्तक विमोचन समारोहमा म राजु सत्याल पनि उपस्थित हुने अवसर प्राप्त भएको हुँदा सो कार्यक्रममा देखिएका तथा व्यक्त भएका प्रमुख विषयलाई बुँदागत रुपमा स्मरणका लागि लेखि पठाएको छु । आशा छ ‘यमपुरीको महल ‘ को कार्यक्रमप्रतिको जिज्ञासालाई शान्त पार्न केही हदसम्म सफल हुनेछु ।

मिति : २०६४/०४/१२/०७
स्थान : प्रज्ञा भवन , कमलादी , काठमाडौं
कार्यक्रम : ‘यमपुरीको महल ‘ को सार्वजनिकीकरण
समय : अपरान्ह २ :४५ – ४ :००
सभाध्यक्ष : डा . ध्रुवचन्द्र गौतम (आख्यान पुरुष )
मुख्य अतिथि : प्रदीप नेपाल , शिक्षा मन्त्री / प्रसिद्ध आख्यानकार
वक्ताहरु : डा . कुमार कोइराला + डा‌ . गोविन्दराज भट्टराई
‘ दुई शब्द वाचन ‘ युवराज नयाँ घरे
धन्यवाद ज्ञापन : वि‌ .पि‌ . सिंह , सचिव , काठमाडौं च्याप्टर , अनेसास
सहभागिता : आनन्ददेव भट्ट , ठाकुर पराजुली , टीका अर्याल , रमा शर्मा , विश्वम्भर चञ्चल , डा . हेमाङ्गराज अधिकारी, डा . रामचन्द्र लम्साल , गुहनाथ पौडेल , डा . भूपहरि , कुवेर गर्तौला , रोचक घिमिरे, नगेन्द्र शर्मा, गोपाल पराजुली (कोटेश्वर +वानेश्वर), H.B. भण्डारी, उषा सत्याल +रमेश+किरण पुकार सुवेदी, कविता सुवेदी, पुष्कर लोहनी, रामबाबु सुवेदी, डा . तुलसी भट्टराई आदि सहित पत्रकार, प्राध्यापक, सम्पादक, विद्यार्थी लगायत करीब १५० जना भन्दा बढी।
उद्‌घोषक : रमेश पौडेल
कृति परिचय : प्रा० कुमार कोइराला
•विश्व साहित्यमा प्रस्तुत गर्न सकिने विधा
•उत्कष्ट किसिमको , बेग्लै पहिचान भएको
•आफ्नो देश छाडेर अन्य ठाउँमा रहँदाको पीडा व्यक्त भएको उपन्यास
•पात्रको मानसिक अवस्था , विचार , धारणाको अटुट प्रवाह पोखिएको अवस्था
•मान्छे भित्रको अहमलाई यमपुरीको रुपमा चित्रण गरिएको
•चरम भौतिकवादी जीवनपद्धतिको चित्रण गरिएको , जीवनको विसंगतिको बोध गरिएको
•मृत्युको बोध गरिएको
•समकालिन नेपाली राजनीतिक चित्रण
•जन्मभूमि र कर्मभूमिमा कसलाई बढी माया गर्ने भन्ने विषय उठाइएको ।
गोविन्दराज भट्टराई – कृति समीक्षा
•उपन्यासको क्षेत्रमा सीमाविहीनताको स्थितिको सुरुवात
•तेस्रो विश्वका व्यक्ति वाहिर जाने र त्यहाँको भाषा साहित्यले पार्ने प्रभावको अध्ययन
•नयाँ Trend Set गर्ने कार्यको थालनी
•संरचनागत नवीनता
•दुई संस्कृति र भूगोलमा रहँदाको चित्रण
•विचित्र लेखन शैली (पात्रले आफैंलाई उपहास गरेको )
•तृप्त नहुने भौतिक चेतनालाई प्रस्तुत गरिएको
•Magic Realism ( जादुई यथार्थता ) को प्रयोग भएको उपन्यास ।
प्रदीप नेपाल – वरिष्ठ आख्यानकार , उपन्यासकार , शिक्षा मन्त्री, तथा प्रमुख अतिथि
•साहित्यकारले भोगेको यथार्थ
•जीवन र मृत्युको पीडाव्यक्त
•अमेरिका जान चाहनेले पढ्नु आवश्यक उपन्यास, अमरिकाप्रतिको धारणामा नै परिवर्तन ल्याउन सफल कृति ।
विष्णुबहादुर सिंह - नेपाल Chapter का महासचिव
•धन्यवाद ज्ञापन ।
ध्रुवचन्द्र गौतम – कार्यक्रम सभापति
•रुखबाट उखेलिएको जराले अन्य स्थानमा जरा खोज्न खोजेको अवस्था
•चेतन प्रवाहको यथार्थ प्रयोग
•अमेरिकामा बसेका नेपालीहरुको यथार्थको चित्रण , पीडा
•चेतन , अर्धचेतन तथा अचेतन मनको अवस्थालाई पात्रका माध्यमबाट सहज रुपमा व्यक्त गरिएको उपन्यास
•उपन्यास पढ्दा आफूमा परेको व्यापक प्रभावको वर्णन ।

राजु सत्याल
काठमाडौं ।
मिति : २०६४-४-१३

यमपुरीको महल उपन्यास पृ.१५२,
उपन्यासकारः होमनाथ सुवेदी
मूल्यः नेरु १७५.०० नेपालमा, विदेशमा डलर ५.००
पाइने ठेगानाः
In USA
International Nepali Literary Society
1727 Horner Road,
Woodbridge, VA 22191
703-491-1014
Email: info@inls.org
http://www.inls.org
hsubedi@gmail.com

बितरकः
मोर्डन बुक्स
अनाम नगर, काठमाडौं, फोनः ०१६९१०४०९


Popularity: 11%

Add comment July 29th, 2007

युनिलिभर आजदेखि सञ्चालनमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
एक सातादेखि बन्द रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेड आजदेखि सञ्चालन हुने भएको छ।

मकवानपुर जिल्लाको बसामाडी गाविसमा रहेको उक्त उद्योगमा कार्यरत लोडिङ अनलोडिङ सेक्सनमा कार्यरत बीस मजदुरले स्थायी नियुक्ति पत्र पाउनुपर्ने, दुर्घटनामा बिमा गराउनुपर्ने लगायतका विभिन्न माग राखी आन्दोलन गरेका कारण उक्त उद्योग एक साताअघिदेखि बन्द रहेको थियो।
साथै उद्योगले ती मजदुरहरू युनिक कन्ट्रक्सन कम्पनीमार्फत् आपूर्ति गर्दै आएकाले मजदुरहरूको दायित्व लिन अस्वीकार गर्दै आएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको र्सवपक्षीय बैठकपछि उद्योग व्यवस्थापन, आन्दोलनरत मजदुरहरू र युनिक कन्ट्रक्सन कम्पनी बीच सहमति भएपछि उद्योग खोल्न सहमति भएको हो ।

मजदुर आपूर्ति कम्पनी युनिक कन्ट्रक्सन कम्पनीले नियुक्ति पत्र दिने, दुर्घटना बिमा गराउने, खाइपाई आएको तलब भत्तामा वाषिर्क रू. तीन हजार ३०० उपदान कोषमा जम्मा गर्दै जाने र भदौ ५ गतेसम्म राजीनामा दिने मजदुरलाई कामगरेको अवधिको वाषिर्क १५ हजारका दरले एकमुष्ट रकम उपलब्ध गराउने सहमति भएको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिपकप्रसाद श्रेष्ठले बताउनुभयो ।

Popularity: 11%

Add comment July 29th, 2007

पोखरामा शसस्त्र र जनपदबीच झडप, दर्जनौ घाइते (+Photo)

धन बस्नेत / एचकेनेपाल डट कम पोखरा, साउन १२ -
सशस्त्र प्रहरी र जनपद प्रहरीबीच शनिवार बेलुका ढुंगा हानाहान हुंदा दर्जनौं प्रहरी र सर्वसाधारण घाईते भएका छन्। बाराही क्लवद्वारा शनिवार पोखरा लेकसाइडस्थित डिहीको पाटन खेलमैदानमा आयोजित भलिबल प्रतियोगितामा दुई पक्षबीच विवाद भै झडप उत्पन्न भएको थियो।


शसस्त्रको ढुंगा प्रहारबाट घाइते भएका सहायक रेफ्री राजेन्द्र जिसी उपचारको क्रममा। तस्विरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम पोखरा।

अन्तिम सेटको अन्तिम पोइन्ट बाँकी रहदाँ जनपद प्रहरी र सशस्त्र प्रहरी बीच भएको भलिबल प्रतियोगिताको शनिबारको फाइनल खेल स्थगित भएको छ। भलिबल महोत्सव शनिबारको फाइनल खेलमा शसस्त्रले अन्तिम सेट गुमाउने स्थिति भएपछि सशस्त्रका राष्ट्रिय खेलाडी कैलाश भट्टले रेफ्रीमाथि हातपात गर्न खोजेपछि झडप भएको थियो ।

भलिवल महोत्सवको फाइनलमा जिल्ला प्रहरी कार्यालय कास्की र शसस्त्रको मुक्तिनाथ बाहिनीबीच फाइनल खेल भइरहेको थियो। चार सेट मध्ये दुवै टोलीले दुई दुई सेट जितेका थिए। पहिलो सेट जितेको प्रहरीले दोस्रो र तेस्रो सेट गुमाएको थियो। पहिलो सेट प्रहरीले २५-१७ मा जितेको थियो भने दोस्रो र तेस्रो सेट क्रमश शसस्त्र प्रहरीले २६-२४ र २९-२७ ले आफनो पकडमा ल्याउन सफल भएको थियो। चौथो सेट भने प्रहरीले २५-१४ मा सहज जित हात परेको थियो। अन्तिम सेट १५-१४ मा चलिरहेको अवस्थमा शसस्त्रका राष्ट्रिय खेलाडी कैलाश भट्टले शसस्त्र प्रहरीले हार्ने निश्चित भएको थियो। रेफ्रीमाथि अभद्र व्यवहार गरेपछि जनपदले रोक्ने खोज्दा दुवै पक्षबीच झडप भएको थियो।

दुवै पक्षबीच ढुंगा हानाहान भएपछि भागदौड मच्चिएको थियो। शसस्त्रको ढुंगा प्रहारबाट सहायक रेफ्री राजेन्द्र जिसी गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको क्लबले जनाएको छ। उनलाई पोखरा सृजनाचोकस्थित फेवासिटी हस्पिटलमा उपचारको लागि लगिएको छ। भट्टले आफू सार्क स्तरीय खेलाडी भएको फूर्ति दिदैं मुख्य रेफ्री डिबी नेपालीमाथि हात पात गर्न खोजेको आयोजक क्लबका अध्यक्ष राजु अधिकारीले जानकारी दिए। हातपात गर्न खोजेपछि जनपदले रोक्ने प्रयास गरेपछि दुवैपक्ष बीच ढुंगा हानाहान भएको उनले बताए।

रेफ्रीमाथि हातपात गर्न खोजेपछि जनपदले रोक्ने प्रयास गर्दा अधिक संख्यामा पुगेका शसस्त्रले जनपद प्रहरीमाथि आक्रमण गरेका थिए। ढुंगा प्रहारबाट दर्जनौ सर्वसाधारण र प्रहरी घाइते भएको आयोजक क्लबले जनाएको छ। शनिबारको उक्त फाइनल खेल हेर्न एकहजार भन्दा बढी सर्वसाधारणको उपस्थिति रहेको थियो।

साँझको समय भएकोले ढुंगा प्रहारबाट कति जना घाइते भएका छन् भन्ने यकिन गर्न कठिनाई भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख रमेशबहादुर भट्टराईका अनुसार झण्डै आधा दर्जन प्रहरी ढुंगा लागेर घाइते भएका छन्। उता कालिका गणका गणपति बालकुमार श्रेष्ठले भने रेफ्रीको गलत निर्णयले स्थिति तनाव भएको प्रतिक्रिया दिएका छन्। मौसमको खरावीले ढिला गरी सञ्चालन गरिएको प्रतियोगितामा अवेरसम्म चलेकै कारण समस्या सृजना भएको हो।

पोखराबाट समाचार धन बस्नेत, तस्विर: सुदर्शन रन्जित / एचकेनेपाल डट कम।

Popularity: 11%

7 comments July 28th, 2007

नेपालमा नयाँ पुस्ताबाट खगोलिय अध्ययनको सुरुवात गरिने

श्यामकृष्ण खकुरेल / एचकेनेपाल डट कम काठमाडौं -
खगोलिय पिण्ड र तिनीहरुबाट पृथ्वीमा पर्ने प्रभाव साथै तत्सम्बन्धी अनुसन्धान र जानकारी कसरी गर्न सकिन्छ भन्ने विषयमा Student’s Astronomical Society का विद्यार्थीहरु र खगोलविदहरुबिच अन्तरक्रिया कार्यक्रम सम्मन्न भएको छ।

उक्त कार्यक्रममा नास्टका प्राज्ञ, इन्जिनियर एजं खगोलविद ऋषि केश विक्रम शाह, वाल्मीकि क्याम्पसका उप. प्रा. एवं खगोलविद जयन्त आचार्य र ज्ञालिलियो एष्ट्रोनोमिकल सोसाइटीका केदार बढुले आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो। कार्यक्रममा Student’s Astronomical Society लाई विद्यार्थीहरुको छाता संगठनका रुपमा विकास गरी नेपालमा खगोलिय अध्ययनको नयाँ सुरुवात गर्ने विषयमा छलफल भयो। खगोलविद्हरुले नयाँ अध्ययनको शुरुवात नयाँ पुस्ताबाटै शुरुवात गर्नुपर्ने बताउनुभयो । वक्क्ताहरुले Student’s Astronomical Society का मार्फत नयाँ नयाँ कार्यक्रमहरु ल्याई आम जनमानसमा खगोलिय पिण्ड सम्बन्धी अनुसन्धात्मक तथा प्रयोगात्मक कार्यक्रम लैजानु पर्नेमा जोड दिनुभयो । खगोलविदका अनुसार मौसम सफा रहेको अवस्थामा अहिलेपनि नाङ्गो आँखाले बृहस्पति, शनि र शुक्र ग्रह देख्न सकिनेछ। साथै पृथ्वीको गति र प्रभावले गर्दा अबको १२ हजार वर्ष अहिलेको मौसम उल्टो हुने र २६ हजार वर्ष फेरी सुरुको अवस्थामा नै आइपुग्ने छ। स्मरणीयः कुरा के छ भने मौसम परिवर्तन हुँदा साउन-भदौ महिनामा अत्याधिक जाडो हुने र पुस-माघ महिनामा अत्याधिक गर्मी हुनेछ। फेरी २६ हजार वर्षपछि मौसममा परिवर्तन हुने र पुनः अहिलेकै अवस्थामा फर्किने छ । Student’s Astronomical Society का विद्यार्थीहरुले विशेष रुचि जनाएको उक्क्त कार्यक्रमपछि उत्साहित विद्यार्थीहरुले आफूहरु यस विषयमा गम्भीर भएर लाग्ने र खगोलिय पिण्डहरुको बारेमा जनमानसमा पनि जानकारी गराउने कुरा व्यक्त गरेका थिए।

उक्त कार्यक्रम प्रदर्शनीमार्गस्थित वाल्मिकी विद्यापीठमा सम्पन्न भएको थियो।

काठमाडौंबाट श्यामकृष्ण खकुरेल / एचकेनेपाल डट कम।

Popularity: 11%

1 comment July 28th, 2007

लमजुङको बाँझाखेत पाङ्ग्रे क्यूमा पहिरो

लमजुङको बाँझाखेत पाङ्ग्रे क्यूमा पहिरो
४५ घर परिवार विस्थापित अवस्थामा

आश गुरुङ ‘प्रतीक’ / एचकेनेपाल डट कम लमजुङ, साउन १२ -
लमजुङको बाँझाखेत गाउँ विकास समिति वडा नं. ३ स्थित पाङ्ग्रेक्यू गाउँ पहिरोको चपेटामा परेको छ। गाउँको दक्षिणपटि्ट भागमा ठूलो पहिरो गएपछि कुल ४५ घरपरिवार भएको गाउँ नै विस्थापित अवस्थामा पुगेको छ।

अविरल वर्षाका कारण दिनानुदिन वढ्दै गएको पहिरोले गाउँलेलाई त्रसित वनाएको छ। गाउँ नजिकैको ज्योति बाल विकास केन्द्र भन्दा तल ठूलो पहिरो गएपछि बालविकास केन्द्र वगाउन लागेको छ। वर्ल्ड भीजनको ७५ हजार आर्थिक सहयोगमा निर्माण गरिएको बालविकास केन्द्र अहिले सार्नु पर्ने अवस्थामा पुगेको निवर्तमान वडा अध्यक्ष मीनराशी गुरुङले बताए।

पाँग्रे क्यूमा विषेशगरि गुरुङ जातिको बसोबास रहेको छ। पहिरो नियन्त्रणका लागि जिल्ला सिंचाई कार्यालयमा तारजालीको माग गरेपनि अहिलेसम्म तार जाली उपलब्ध हुन नसकेको स्थानीय बासिन्दा बताउँछन।

लमजुङबाट आश गुरुङ ‘प्रतीक’ / एचकेनेपाल डट कम।

Popularity: 11%

Add comment July 28th, 2007

अमेरिकामा राईहरुको गतिबिधि

सुरेशकुमार राई / एचकेनेपाल डट कम अमेरिका -
युनाइटेड किरात राई ओर्गनाइजेसन अफ अमेरिकाको हालैको बैठकले एक प्रस्ताव पारित गरी केआरएसए लगायतका संस्थाहरुलाई वार्ताको लागि आव्हान गर्ने महत्वपूर्ण निर्णय गरेको छ।

जुन सुकै राईहरुको संस्था भएता पनि राईहरुको भाषा, लिपी, धर्म, संस्कार, संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने हेतुले काम गरी रहेको र नीतिगत मतभेद केही नभएका अवस्थामा बिभिन्न संस्थामा बस्दा भाबी पिढिका लागि राम्रो नहुने भएको हुँदा एक भै अगाडि बढ्न बार्ताको लागि आव्हान गरिएको छ। हिजोका दिनमा भएका गलत समझदारी ब्यक्तिगत इगो सम्पूर्ण कुरा छाडि बिना पूर्वाग्रह र बिना सर्त बार्तामा आउन आव्हान गरिएको छ।

यसै बिच अमेरिका भ्रमणमा रहनु भएका नेपाल कराते फेडेरेसनका सभापति थानेश्वर राईकी आमा अजम्शा राई ८६ वर्षको उमेरमा निधन भएकोमा युकेआरएओका सभापति शिवकुमार राईले समबेदना ब्यक्त गर्नु भएको छ।

सभापति राईले युकेआरएओ बोर्ड कोषाध्यक्ष प्रेमा राईको स्कटसँग र युकेआरओए न्युयोर्क चाप्टरका कोषाध्यक्ष मुना राईको मेखसँग शुभ विवाह भएकोमा बधाई ज्ञापन गर्नु भएको छ।

त्यसै गरी न्युएङ्ल्यान्ड चाप्टरले गत २२ तारिख बृहत बिबिक्यु पार्टीको आयोजना गरेको थियो। युकेआरएओ न्यु एङ्ल्यान्ड चाप्टरका सभापति श्यामकुमारी राईको प्रायोजनमा भएको उक्त पार्टीमा सभापति शिवकुमार राई, बोर्ड मेम्बर डा. कृष्ण राई, धोउलवीर राईलगायतका थुप्रै पाहुनाहरुको उपस्थिति रहेको थियो।

अमेरिकाबाट सुरेशकुमार राई / एचकेनेपाल डट कम ।

Popularity: 10%

1 comment July 28th, 2007

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2007
M T W T F S S
« Jun   Aug »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category

More news....