Archive for August, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
श्रम तथा रोजगार प्रवर्द्धन विभागले ललितपुरको बालकुमारीमा कोरिया कामदार पठाउने सम्बन्धमा विभिन्न कार्य सम्पादन गर्ने उद्देश्यले कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखा स्थापना गरेको छ ।
नेपाल सरकार र गणतन्त्र कोरिया सरकारका बीच सन् २००७ जुलाई २३ का दिन रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियामा नेपाली कामदार पठाउन भएको द्विपक्षीय सम्झौतामा कामदार पठाउन बेग्लै निकाय हुनुपर्ने व्यवस्था भएबमोजिम सो शाखा स्थापना गरिएको बताइएको छ ।
शाखा स्थापनाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक केशरबहादुर बानियाँले शाखाबाट कोरिया कामदार पठाउन गर्नुपर्ने सम्पूर्ण गरिने जानकारी दिनुभयो ।
कोरियामा रोजगारीका लागि कसरी जान सकिन्छ भनेर दैनिक विभागमा जानकारी लिन आउनेहरूको सङ्ख्या ३०० जना भन्दा बढी भएको जानकारी दिँदै विभागका महानिर्देशक बानियाँले र्सवसाधारणको जिज्ञासा मेटाउन पनि शाखा आवश्यक रहेको बताउनुभयो ।
सो शाखाबाट कोरियामा रोजगारीका लागि जाँदा अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाको जानकारी लिन सकिने, कोरिया सरकारसँग सर्म्पर्कका लागि इन्टरनेट तथा वेबसाइटको व्यवस्था हुने, बाँकी सम्झौताका सम्पूर्ण काम हुने जानकारी महानिर्देशक बानियाँले दिनुभयो ।
सो अवसरमा उहाँले कोरिया सरकारसँग सम्झौता कार्यान्वयनका लागि प्रविधिक सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
शाखामा विभागका महानिर्देशकको नेतृत्वमा १४ जना कर्मचारी रहने व्यवस्था मिलाइएको छ ।
Popularity: 19%
August 31st, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
वाइसिएलले गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य महावीर बिष्टको अपहरणको विरोधमा एमालेका भ्रातृसङ्गठनहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय घेराउ गरे ।
अपहरणमुक्त गर्न र दोषीमाथि कारबाहीको माग राखी प्रदर्शनमा उत्रेका उनीहरूले तीन घण्टा जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । उनीहरूले जिल्ला प्रशासन कार्यालयको कामकाज पनि ठप्प पारे ।
एमाले जिल्ला सहसचिव महादेव भट्ट, प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घका महाकाली अञ्चल अध्यक्ष लीलाधर भट्ट, अखिल नेपाल किसान महासङ्घका जिल्ला अध्यक्ष रणबहादुर बिष्टसहितको नेतृत्वमा एमालेका सबै भातृ तथा भगिनी सङ्गठनका नेता तथा कार्यकर्ताहरूको सदरमुकाम गोठालापानीमा विरोध जुलुस प्रदर्शन गरेका थिए ।
वाइसिएलले संविधानसभा चुनावका लागि कार्यकर्ता प्रशिक्षण दिन गाउँ पुगेका एमाले जिल्ला सदस्य एवं पूर्वजिविस सदस्य बिष्ट र विजयपुर गाविसका सचिव कर्णबहादुर महराको अपहरण गरेको एमालेले जनाएको छ ।
Popularity: 19%
August 31st, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले विभिन्न सात वटा मुलुकमा राजदूत र ल्हासामा महावाणिज्यदूत नियुक्ति प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पम्फा भुसाल फ्रान्स, योगेन्द्र ढकाल अष्ट्रेलिया, विजयकान्त कर्ण डेनमार्क, वैजनाथ थपलिय इजरायल, डा.ऋषि अधिकारी मलेसिया, कमल कोइराला दक्षिण कोरिया, अर्जुनबहादुर थापा संयुक्त अरब इमिरेट (यूएइ) र ल्हासाको महावाणिज्यदूतमा ङगिन्द्रप्रसाद उपाध्यायलाई नियुक्त प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले नियुक्ति प्रक्रिया सुरु गर्न निर्णय गरेका व्यक्तिहरूको संसदीय सुनुवाइ पछिमात्र औपचारिक रूपमा राजदूतमा नियुक्ति हुनेछ ।
मन्त्रिपरिषद बैठकमा नेकपा माओवादीका तर्फबाट वेपत्ता पारिएका नागरिकहरूको स्थिति सार्वजनिक हुन नसकेको, नेपाली सेनाले नयाँ भर्ना जारी राखेको र अस्थायी शिविरमा बसिरहेका माओवादी सेनालाई सरकारले दिने भनेको मासिक रु.तीन हजार एकचोटीमा दिएर बन्द गरेका लगायतका विषय उठाएपछि अन्य निर्णय हुन नसकेको बताइएको छ ।
भौतिक योजना तथा निर्माणमन्त्री हिसिला यमीले आफूहरूले उठाएका विषयमा मन्त्रिपरिषदको बैठकमा छलफल हुन नसकेपछि राजदूतको विषयमा मात्र निर्णय गरेर बैठक समाप्त भएको जानकारी दिनुभयो ।
यसैगरी ठूला दुइवटा राजनीतिक दल नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच कुरा नमिल्दा सचिव नियुक्तिको विषयमा कुनै पनि छलफल नभएको जानकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले दिनुभयो ।
मन्त्रिपरिषदको बैठक आज शुक्रबार पनि बस्दैछ।
Popularity: 19%
August 31st, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
सशस्त्र द्वन्द्वको अन्त्य भई शान्तिसम्झौतामा द्वन्द्वरत पक्षहरूले हस्ताक्षर गरेको झण्डै एक वर्ष पुगिसक्दा पनि द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकहरूलाई र्सार्वजनिक नगरिएकोमा नागरिक समाजका बुद्धिजीवीहरूले गुनासो गर्नुभएको छ ।
‘नेपालमा बेपत्ताको अवस्था, सर्वोच्च अदालतको फैसला र राज्यको दायित्व’ विषयमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित अन्तरक्रियामा वक्ताहरूले बेपत्ता पारिएका नागरिकको छानबिनका लागि आयोग गठन गरिनुपर्ने र दोषीहरूलाई कानुन बनाई कारबाही चलाउनुपर्ने माग गर्नुभयो ।
सो अन्तरक्रियाको उद्घाटन गर्दै पूर्वन्यायाधीश लक्ष्मण अर्यालले कानुनी राज्य, विधिको शासन र दण्डहीनताको अन्त्यको अवस्थामा मात्र मानवअधिकारको संरक्षण हुने धारणा राख्नुभयो ।
कार्यक्रममा द्वन्द्वको अवधिमा सुरक्षाकर्मीद्वारा दुई हजार १०० जना नागरिकलाई बेपत्ता पारिएको राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको बताइयो ।
त्यसैगरी नेकपा माओवादीद्वारा कब्जामा लिइएका भनिएका ९६४ जनाको उजुरी परेको र तीमध्ये ६८४ जनाको अवस्था सार्वजनिक भई अझै पनि २८० जना नागरिकको अवस्थाका बारेमा कुनै जानकारी नभएको उल्लेख गरियो ।
इन्सेकका अनुसार राज्य र माओवादीद्वारा बेपत्ता पारिएकामध्ये ९३३ जनाको अवस्था अझै र्सार्वजनिक गरिएको छैन ।
इन्सेकको अभिलेखमा राज्यपक्षद्वारा ८२८ र माओवादीले १०५ जना बेपत्ता बनाएको विवरणमा उल्लेख छ ।
Popularity: 19%
August 31st, 2007
राप्के लामा द. कोरिया / एचकेनेपाल डट कम -
हालै गएको अविरल बर्षादका कारण नेपालको विभिन्न भागमा बाढी पहिरोमा परि पीडित हुन पुगेका बाढी पीडितहरुको लागि द. कोरियास्थित हृवागेसा बौद्ध गुम्बाले पचास लाख वोन (५ हजार ३ सय अमेरिकी डलर) सहयोग प्रदान गरेको छ।

नेपाली दूतावास सउलको कार्यालयको कार्य कक्षमा भएको एक विशेष कार्यक्रममा उक्त नगद रकम गुम्बाका प्रतिनिधि मण्डलले का.वा. राजदूत यादवप्रसाद खनाललाई हस्तान्तरण गरिएको थियो।

का. वा . राजदूत खनालले प्रतिनिधि मण्डललाई आफ्नो र नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो। स्मरणीय रहोस्, नेपाली सम्पर्क समितिको पहलमा नेपालको बाढी पीडित क्षेत्रको बारेमा जानकारी गराई सहयोगको आहृवानपछि उक्त सहयोग प्राप्त भएको हो।
तस्विरः राप्के लामा द. कोरिया / एचकेनेपाल डट कम।
Popularity: 19%
August 31st, 2007
आश गुरुङ ‘प्रतीक’, लमजुङ / एचकेनेपाल डट कम भदौ १३ -
सन्दर्भः वेपत्ताविरुद्धको अन्तराष्ट्रिय दिवस
लमजुङमा राज्य र माओवादीद्वारा वेपत्ता २५ जनाको अवस्था अझै अज्ञात
अवस्था सार्वजनिक नगरे संविधान सभाको चुनावमा भोट हाल्दैनौँ:- पीडितहरु
सरकारले लोकतन्त्र घोषणा गरेको पनि करीव डेढ वर्ष पुग्न आँटेको छ। प्रायः सवैले लोकतन्त्रको अनुभूति गर्न पाएका छन् तर, वेपत्ताका परिवारले भने अहिलेसम्म न लोकतन्त्रको अनुभूति नै गर्न पाएका छन् न सहानुभूति नै।
वेपत्ताको स्थिति सार्वजनिक गर्ने भनेर शान्ति सम्झौतामा समेत हस्ताक्षर भईसकेको छ। तर, वेपत्ताको ७/८ वर्ष वितिसक्दा पनि सरकारले अहिलेसम्म वेपत्ताको सत्यतथ्य स्थिति सार्वजानिक गरेको छैन । वेपत्ताको स्थिति सार्वजनिक पनि नहुने र परिवारले उचित क्षतिपूर्ति पनि नपाएका कारण वेपत्ताको परिवारमा पुनः नैराश्यता छाएको छ । उनीहरु भन्छन्, ‘वेपत्ताको स्थिति सार्वजनिक नगरे चुनावमा भोट हाल्दैनौ ।’
सशस्त्र द्वन्द्वकालीन समयमा मात्रै लमजुङमा २५ जनालाई वेपत्ता वनाइएको थियो । राज्यवाट २३ र माओवादीवाट २ जना वेपत्ता पारिएकोमा अहिलेसम्म उनीहरुको स्थिति अज्ञात छ। अहिलेपनि वेपत्ताका परिवारहरु जिल्लाको इन्सेक कार्यालयदेखि केन्द्रको संयुक्त राष्ट्रसंघको कार्यालय सम्म धाईरहेका छन्। त्यतिमात्र नभएर तत्कालीन सुरक्षा निकायका प्रमुखहरुलाई सर्वोच्चमा समेत किटानी जाहेरी दिएका छन् तर वेपत्ता परिवारको आवाज केवल आवाजमा मात्रै सीमित भएको छ। ‘वावालाई वेपत्ता वनाएको ६ वर्ष भयो ।’ लमजुङ, सिम्पानी गाउँ विकास समिति वडा नं. ३, का रामकुमार भण्डारी भन्छन्, ‘लोकतन्त्रपश्चातको सरकारले पनि केही नगरे संविधान सभाको चुनावमा हामी वेपत्ताको परिवार भोट हाल्दैनौँ।’ उनले भने, ‘वेपत्ताको वारेमा सरकार र राजनीतिक दल मौन वसेमा वेपत्ताको घरमा के भनेर भोट माग्न आउँदो रहेछ, त्यो हर्ेन वाँकी छ।’ शान्तिको नाममा न्यायलाई वली चढाउन नसकिने समेत उनको भनाई छ।
५६ वर्षीय तेजवहादुर भण्डारीलाई १६ पुस २०५८ मा लमजुङ सदरमुकाम वेसीशहरको मनाङ्गे चौतारावाट संयुक्त सुरक्षा फौजले गिरफ्तार गरि वेपत्ता वनाएको थियो। वावु वेपत्ता पछिको यथार्थ जानकारी लिन छोरा रामकुमार भण्डारीले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय लमजुङमा जाहेरी दर्ता गर्न जाँदा उनलाई प्रहरीले त्यतिकै फिर्ता पठाएको थियो। त्यस्तै, वैशाख १४ गते जिल्ला प्रशासन कार्यालय लमजुङमा निवेदन दिँदा पनि प्रशासनले कुनै वास्ता नगरेको सामाजिक न्याय समिति लमजुङका संयोजक समेत रहेका रामकुमार भण्डारीले वताए। वेपत्ता नागरिकहरुको यथार्थ स्थिति अविलम्व सार्वजानिक गर्नुपर्ने माग राख्दै उनले वेपत्ता दिवसको अवसरमा आज विहीवार एक प्रेश विज्ञप्ति समेत जारी गरेको छ। कुनैपनि वहानामा मानिसहरुलाई वेपत्ता पार्नु मानव अधिकारको गम्भीर उल्लंघन तथा मानवता विरुद्धको अपराध र वेपत्ता वारे जान्न पाउनु पीडितहरुको अधिकार भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा वेपत्ता कार्यमा संलग्न अपराधीहरुलाई तत्काल कारवाही गर्नुपर्ने र वेपत्ता नागरिकका संवन्धमा एक अविलम्व एक उच्चस्तरीय स्वतन्त्र र निश्पक्ष न्यायीक छानविन आयोगको निर्माण गर्न समेत माग गरिएको छ। त्यस्तै, मानवअधिारवादी एवं इन्सेक लमजुङमा प्रतिनिधि कृष्णप्रसाद अधिकारीले पीडितलाई न्याय र पीडकलाई दण्ड नदिए मुलुक फेरी दुर्घटनामा फस्न सक्ने वताएको छ।
शसस्त्र युद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका सूर्यपाल निवासी कृष्णवहादुर वस्नेतको खोजिमा उनकी श्रीमति मैया वस्नेत आँसुसंगै सदरमुकाम धाउँदैमा ठीक छ। उनी भन्छन्, ‘श्रीमान्लाई माओवादीले खोजि गरिदिने आश्वासन दिएपनि हालसम्म कुनै जानकारी दिएको छैन।’ उनी भन्छन्, ‘कसैले पनि वेवास्ता नगरे हाम्रो भोट कस्का लागि हाल्ने -’ उनी भन्छन्, ‘घरमा छोराछोरीहरु वावा कहिले आउँछ भनेर रोइरहेका छन्, मैले के भनेर चित्त वुझाईदिने।’ उनको श्रीमान् कृष्णवहादुरलाई विद्यालयमा पढाएर आउने क्रममा ३, असार २०५६ सालमा सूर्यपाल ९, सोतिपसलस्थित रामचन्द्र गिरीको घरवाट प्रहरीले गिरफ्तार गरि वेपत्ता वनाएको थियो।
त्यसो त माओवादीको एरिया सदस्य समेत रहेका जिता निवासी रमेशराज पौडेलकी ६३ वर्षीया आमा कुसुमदेवी पौडेलपनि वेपत्ता छोराको खोजी गर्दै लौरो टेकेर सदरमुकाम आउने गर्छिन्। रमेशराज पौडेललाई भोर्लेटार सुरक्षा वेशक्याम्पवाट खटिएका संयुक्त सुरक्षा फौजले कास्कीको मिजुरेडाँडा गाविसको रबैडाँडावाट ६ चैत २०५८ सालमा गिरफ्तार गरि वेपत्ता वनाएको थियो।
लमजुङमा राज्यद्वारा पहिलोपटक ९, कार्तिक २०५५ मा दुराडाँडा प्रहरी चौकीले चन्द्रेश्वर च्यानपाटावाट गोरखाका राजु गुरुङ र लिला खनाल तथा कुन्छाका एकवहादुर विश्वकर्मालाई गिरफ्तार गरि वेपत्ता वनाएका थिए। त्यसपछिको बेपत्ता पारिएकामा सिम्पानीका तेजबहादुर भण्डारी, चक्रतिर्थका लिलाराज कट्टेल, राजेन्द्र परियार र शुक्रबहादुर परियार, भलायखर्कका तोयानाथ पोख्रेल, विष्णुप्रसाद अधिकारी र तिर्थराज घिमिरे, जिताका देवराज पौडेल र रमेशराज पौडेल, सूर्यपालका कृष्णबहादुर बस्नेत र चितीका धु्रवराज तिवारी रहेका छन्।
त्यस्तै, इशानेश्वरका राजन घिमिरे, भोर्लेटारका सूर्यकुमार श्रेष्ठ, वेसीशहरका बाबुकाजी श्रेष्ठ, दुराडाँडाका विष्णु तिवारी, भोटेओडारका रामेश्वरी भट्टराई, भारतेका दलबहादुर भुजेल पनि बेपत्ता छन्।
तनहुँका चिजा विश्वकर्मा, गोर्खाका मिजा कुमाल, राजन प्रजालाई पनि लमजुङबाट सुरक्षाफौजले पक्राउ गरी बेपत्ता पारेको माओवादीले जनाएको छ। वेपत्ता मध्ये इशानेश्वरका चोतनाथ घिमिरे र शेखरनाथ घिमिरेको १७ कार्तिक २०६३ मा स्थानीयवासीले कास्कीको हंशपुर, रुपाकोट र थुम्कीको सिमानामा चिहानमा शव फेला पारेको थियो।
यता, माओवादी पक्षबाट बेपत्ता पारिएका चण्डिस्थानका विद्यार्थी राजकुमार रिमाल र बन्सारका मीनराशी गुरुङको अवस्था पनि अज्ञात रहेको छ। राजकुमार र मीनराशीलाई माओवादीले अपहरण गरि वेपत्ता वनाएका थिए।
मुलुक संविधान सभाको दिशातिर अगाडि वढीरहेको समयमा अझैपनि सरकाले वेपत्ताको कथाब्यथालाई वुझ्न सकेको छैन। बेपत्ताहरुको स्थिति सार्वजनिक नहुँदा उनका परिवारहरु निकै चिन्तित वनेका छन्। त्यसो त लमजुङका जिल्ला प्रशासन कार्यालय, माओवादीलगायत राजनीतिक दल र संवन्धित संघसंस्थासंग पनि बेपत्ताको वास्तविक तथ्याड्ढ छैन। जिल्ला प्रशासन कार्यालय र आईसीआरसीको तथ्याड्ढमा हालसम्म ७ जना बेपत्ता छन्। यसैगरि इन्सेकसंग २१ जनाको छ भने माओवादीसंग २२ जनाको छ। यी सवैको तुलना गर्दा एउटाको नाम अर्कोसंग नहुनुले पनि लमजुङमा २५ भन्दा वढी वेपत्ता हुन सक्ने देखिन्छ।
विगतमा शसस्त्र युद्धमा होमिएको नेकपा माओवादी अहिले सरकारमा छ। माओवादीका नाममा थुनामा परेकाहरु जेलबाट छुटिसकेका छन्। तर, बेपत्ताहरुको कथा र ब्यथा वोकेर तिनका परिवारहरु संविधान सभाको चुनावमा भोट हाल्न वोलाउँदै छन्। यदि संविधान सभा अगावै सरकारले वेपत्ताको वारेमा ठोस कदम नचाले घाटा कस्लाई पर्छ, त्यो भने हेर्न वाँकी नै छ।
लमजुङबाट आश गुरुङ ‘प्रतीक’ एचकेनेपाल डट कम
Popularity: 19%
August 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मलेसियामा सञ्चालित अन्डर १९ एसिसी एलाइट कप प्रतियोगितामा नेपाल विजयी भई लगातार चौंथो पटक सो कपमा कब्जा जमाउन सफल भएको छ ।
ओभल मैदानमा भएको फाइनल खेलमा नेपालले अफगानिस्तानलाई ४८ रनले पराजित गर्दै कपमाथि कब्जा जमाएको हो ।
नेपालले यसअघि मलेसियालाई पाँच विकेटले पराजित गरी फाइनलमा पुगेको थियो ।
आजको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले आफ्नो सम्पूर्ण विकेट गुमाई १७३ रनको लक्ष्य अफगानिस्तान सामु राखेको थियो ।
नेपालका लागि आकाश गुप्ताले र्सवाधिक ४८ रनको योगदान दिए भने सागर खड्काले ३२ र कप्तान पारस खड्काले २७ रन जोडेका थिए ।
जवाफमा ब्याटिङ गर्न मैदानमा उत्रेको अफगानिस्तान ४५.५ ओभरमा १२४ रनमा समेटिएको थियो ।
Popularity: 19%
August 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)ले अन्तरिम संसद्को अधिवेशन पुनः आह्वान गरेर भए पनि संसदबाटै गाणतन्त्र घोषणा गरेर संविधानसभाको निर्वाचनमा जानुपर्ने बताएको छ ।
नेकपा एकीकृत, ३ नं. प्रादेशिक समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संसद्बाटै गणतन्त्रको घोषणा गर्नुको सट्टा अन्तरिम संसद्को चालु अधिवेशन अन्त्य गरी प्रधानमन्त्रीलाई शक्तिकेन्द्र बनाई राजतन्त्रलाई निरन्तरता दिने काम गरेको आरोप पनि लगाइयो ।
नेकपा एकीकृत ३ नं. प्रादेशिक समिति इञ्चार्ज जीतवीर लामाद्वारा जारी गरिएको विज्ञप्तिमा आठ दलको गठबन्धनले मुलुकमा विकासको कार्यक्रम र शान्तिसुरक्षा दिन नसकेको मात्र नभई महङ्गी र भ्रष्टाचार पनि नियन्त्रण गर्न नसकेको उल्लेख छ ।
सम्मेलनमा नेकपा एकीकृतले “गणतन्त्र र संविधानसभाका लािग राष्ट्रिय अभियान” सञ्चालन गर्ने जानकारी पनि दिइयो । अभियानको पहिलो चरण भदौ १४ गते काभ्रेपलान्चोकबाट सुरु गरी असोज १ गते धादिङ्गमा अन्त्य गरिने जनाइएको छ
Popularity: 19%
August 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
माओवादी तथा वाइसिएलका कार्यकर्ताहरूले हिजो दिउँसो २३० बजेतिर सिरहाको चोहर्वाबाट इलाका प्रहरी कार्यालय, गोलबजारका प्रहरीसँग रहेका तीन थान राइफल र ११५ राउण्ड गोली लुटेर लगेका छन् ।
वाइसिएलका जिल्ला इञ्चार्ज जगत यादवको नेतृत्वमा हातहतियारसहित आएका करिब २०० को सङ्ख्यामा रहेका माओवादी तथा वाइसिएलका कार्यकर्ताहरूले पुरानो चोहर्वादेखि पश्चिम शिखर होटल अगाडि राखिएको बा.१ झ ७४१० नम्बरको प्रहरी भ्यानलाई चारैतिरबाट घेरी जीप तोडफोड गर्नुका साथै ती हतियार र गोलीहरू लुटेर लगेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, गोलबजारका प्रहरी नायब निरीक्षक धनबहादुर अधिकारीले त्यहाँ भएको चक्काजामको स्थितिलाई नियालिरहेको बेलामा एक्कासि ठूलो सङ्ख्यामा आएका माओवादी कार्यकर्ताहरूले सो हतियार लुटेर लगेको बताउनुभयो ।
सशस्त्र प्रहरी क्याम्पस, सुखीपुरले गत मङ्गलबार वाइसिएल र माओवादीका सात जना कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको विरोधमा उनीहरूले चोहर्वामा चक्काजाम गरेका हुन् ।
घटनामा प्रहरी जवानहरू शुक्रराम थम्वाङ, लालसिंह र्राई, जग्गुराम र सञ्जीव कटवाल गरी चार जना सामान्य घाइते भएको थाहाभएको छ ।
Popularity: 19%
August 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जापानले प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने तीन छात्रालाई उच्च शिक्षा अध्ययनका लागि एकमुष्ठ रू.एक लाख सहयोग उपलब्ध गराउने भएको छ ।
मोर्चाको बैठकले धनकुटास्थित जनता उच्चमाध्यमिक विद्यालयमा अध्ययनरत विष्णुकुमारी पौडेल र होमकुमारी विश्वकर्मा तथा दाङको गुरु जजुर माध्यमिक विद्यालयबाट प्रवेशिका गरेकी दृष्टिविहीन खुमा नेपालीलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको सो मोर्चाले जनाएको छ ।
‘पढ्नका लागि भिख माग्दै’ शीर्षकमा भदौ ७ गतेको कान्तिपुरमा प्रकाशित समाचारबाट प्रभावित भएर मोर्चाले सो सहयोग उपलब्ध गराउने निर्णय गरेको बताइएको छ ।
मोर्चाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उक्त रकम अनलाइन मिडिया एसोसिएसन नेपालका संयोजनमा काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चाँडै वितरण गरिने छ ।
Popularity: 19%
August 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
मानवअधिकार एवम् कानुनी शासनका पक्षमा कार्यरत गैरसरकारी संस्था वकालत मञ्च नेपाल -एडभोकेसी फोरमले बेपत्ता बनाइएका व्यक्तिहरूको स्थिति सार्वजनिक गर्न एवम् यस कसुरमा संलग्न व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउन सम्बन्धित पक्षसँग माग गरेको छ ।
जबरजस्ती बेपत्ताविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा एडभोकेसी फोरमले एक अपिल जारी गरी जबरजस्ती बेपत्ता बनाउनु मानवअधिकारको गम्भीर उल्लङ्घनका साथै एक अपराध पनि भएको जनाएको छ ।
एडभोकेसी फोरमका कार्यकारी निर्देशक मन्दिरा शर्माले सरकार र माओवादीबीच गत वर्षो मङ्सिर ५ गते सम्पन्न बृहद् शान्ति सम्झौतामा ६० दिनभित्र जबरजस्ती बेपत्ता बनाइएका व्यक्तिहरूको स्थिति र्सार्वजनिक गरिने उल्लेख भएपनि सो अहिलेसम्म कार्यान्वयन हुननसक्नु दुःखद भएको बताउनुभयो ।
सो सम्झौता भएको १० महिना बितिसक्दा पनि यस विषयमा कुनै अर्थपूर्ण पहलकदमीसमेत नभएकोमा एडभोकेसी फोरमले चिन्ता व्यक्त गरेको छ ।
कार्यकारी निर्देशक शर्माले सरकारले पीडितका अधिकार, परिवारजनको सत्य जान्न पाउने अधिकार, न्याय एवम् पुनःलाभको अधिकार दिलाउन नसकेको पनि उल्लेख गर्नुभयो ।
राजनीतिक प्रतिबद्धता एवम् जवाफदेहिता अभावका कारण नेपालमा बेपत्ता भएकाहरूको समस्या सामाधान गर्न नसकिएको ठहर फोरमले गरेको छ ।
वि.सं.२०६४ जेठ १८ गते सर्वोच्च अदालतले नेपाल सरकारका नाममा एक आदेश जारी गरी बेपत्ता पारिएका नागरिकहरूका सम्बन्धमा छुट्टै कानुन बनाई सोही कानुनअनुसार उच्चस्तरीय छानबिन आयोग गठन गर्न दिएको आदेशको अवज्ञा गर्दै सरकारले जाँचबुझ आयोग ऐनबमोजिम नै बेपत्ता नागरिकहरूको छानबिन गर्ने आयोग गठन गरेको छ ।
एक अध्ययनअनुसार नेकपा -माओवादी)पक्षबाट अहिलेसम्म करिब ३५० व्यक्ति बेपत्ता पारिएको तथ्य र्सार्वजनिक भएको छ ।
Popularity: 19%
August 30th, 2007
गाडीको चक्का फुस्किदा एक नेपालीको मृत्यु
सुविन श्रेष्ठ / एचकेनेपाल डट कम दोहा, कतार अगस्त २९ -
कतारमा व्यस्त रहने उम्मसाईटको सलवा रोडमा गाडी दुर्घटनामा परेर गत शनिवार एक नेपालीको मृत्यु भएको छ।
आफूले गुडाईरहेको टेलर गाडीको अगाडि भागको पाङ्ग्रा फुस्किएपछि असन्तुलन भएर दुर्घटना परेको थियो। अलजऊ ट्रेडिङ्गमा कार्यरत दिपेन्द्र श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो।
स्याङ्जा दहथुमका श्रेष्ठ कतार आएको ७ महिनामात्र भएको थियो। श्रेष्ठ ड्राइभर पेशाका लागि आएका हुन्। विदेश रोजगारको क्रममा मलेशियाबाट कतारमा आएका श्रेष्ठको विमाको पहल शुरू भईसकेको दूतावासले जनाएको छ। अहिले स्थानीय हमाद अस्पतालमा राखिएको शव केही दिनमा सहोदर दाजु शेरबहादुर श्रेष्ठको साथमा स्वदेश फर्काइने दूतावासका कार्यालय सचिव महोमद रमजानले जानकारी दिनुभयो।
कागजी प्रक्रिया सबै सकिएको छ। दूतावासका कार्यवाहक राजदूत रामकाजी खड्काले एचकेनेपाल डटलाई बताउनुभयो। कम्पनीले सबै क्षतिपूर्ति तथा थप खर्च पनि व्यहोरेको छ। २५ वर्षीय विवाहित श्रेष्ठको एक छोरी रहेका छन्। सातौ महिनाको अन्तिमसँग नेपालीहरूको मृत्यु संख्या ९७ पुगेको छ।
दोहा, कतारबाट सुविन श्रेष्ठ / एचकेनेपाल डट कम।
………………………………………………
पानीमा डुबेर नेपालीको मृत्यु
सुविन श्रेष्ठ दोहा, कतार / एचकेनेपाल डट कम, अगस्त २७ -
कतारको राजधानी दोहामा निर्माणाधीन एक पार्सलको जमेको पानीमा डुबेर एक नेपालीको मृत्यु भएको छ । पौडी खेल्न पुगेका रेशम बहादुर विकको मृत्यु भएको हो। निकै पटक पौडी खेलिसकेका विक यसपाली भने पौडिएर निक्लिन असफल भएका थिए।
कालिकोट-५ स्याङ्जाका विकको मृत्यु यही अगस्त ८ मा मृत्यु भएको थियो। विक कतार आएको ३ महिना मात्र भएको थियो। भर्खरै २० वर्ष पुगेका विक आफ्नै दाजुलाई झुक्याएर पौडी खेल्न पुगेका थिए। विकको क्षतिपूर्ति कम्पनीले व्यहोरेको नेपाली दूतावासका कार्यवाहक राजदूत रामकाजी खड्काले जानकारी दिनुभयो। मृतक विकको शव लिएर उनका दाजु चाँडै नेपाल फर्कने तयारी छन्।
त्यसै गरी धनुषाका कटुस नादाफ साईकल दुर्घटनामा परेर मृत्यु भएको जानकारी दूतावासका कार्यालय सचिव महोम्मद रमाजानबाट प्राप्त भएको छ। सातौ महिनाको अन्तिमसँग नेपालीहरूको मृत्यु संख्या ९६ पुगेको छ।
यसभन्दा अघिका समाचार तल…
…………………………………………………
कतारमा २१ दिनमा पाँच नेपालीको मृत्यु
सुविन श्रेष्ठ / एचकेनेपाल डट कम दोहा, कतार अगष्ट २२ -
रोजगारका लागि कतारमा आएका नेपालीहरूको मृत्यु संख्या महिना दिन नवित्दै पाँच पुगेको छ। जसमा यही महिनामा मात्र चार नेपालीको मृत्यु भएको छ भने एक नेपालीको मृत्यु अघिल्लो महिनाको अन्तिम दिनमा भएको थियो।
कमाउने सपना बोकेर बिदेशिएका नेपालीहरू विबिध कारण मृत्यु भएका हुन् । यसै महिना मृत्यु हुने नेपालीहरूमा तीन कार्डियाबाट, एक ब्रेन डेथ र एक दुर्घटनाबाट भएको दूतावासले जनाएको छ। मृतकहरू इनामुल्ला मुसलमान, ओमबहादुर पुन, देवराज ग्यांबा, महेश चौधरी र गोविन्द बहादुर डेगामगर रहेका छन् ।
रूपन्देहीका इनामुल्ला मुसलमान सिन्टिङ्ग नेवाङ्ग कम्पनीमा कार्यरत थिए। आफ्नो कार्यवधि सिध्याएर स्वदेश फर्किने तयारीमा रहेका ३४ वर्षिय मुसलमानको मुस्लिम संस्कारले यहाँ नै दाहसंस्कार गरिएको छ। मुसलमानको कार्डियाबाट यही अगस्त १६ तारिखमा मृत्यु भएको हो ।
भरत पोखरी कास्कीबाट अलमिस्याद कम्पनीमा रोजगारका लागि आएका ओमबहादुर पुनको पनि कार्डियाबाट मृत्यु भएको हो। पुन पनि स्वदेश फर्किने तयारीमा थिए। कम्पनीबाट आवश्यक क्षतिपूर्ति र थप रकमसहित पुनको शव भने स्वदेश फर्काइ सकिएको दूतावासले जनाएको छ। पुनको मृत्यु यही जुलाई ३१ मा भएको थियो।
यस्तै कार्डियाबाट मृत्यु हुनेमा सुनसरीका महेश चौधरी पनि परेका छन्। क्वीन अटोपार्टस्मा कार्यरत चौधरी राति सुतेको अवस्थामा मृत्यु भएका हुन् । दूतावासको पहलमा आवश्यक क्षतिपुर्ति सहित चौधरीको शव स्वदेश फर्काई सकेको छ। चौधरीको मृत्यु अगस्त ११ मा भएको थियो।
त्यस्तैगरि पेनकिलरिया कतार इष्ट कम्पनीमा कार्यरत रूपन्देहीका गोविन्द डेगामगरको ब्रेन डेथबाट मृत्यु भएको छ। ३८ वर्षका मगरको मृत्यु अगस्त १५ मा भएको थियो।
यसरी विविध कारणबाट मृत्यु भएका मध्येमा सडक दुर्घटना र कार्यक्षेत्रमा मृत्यु भएमा क्षतिपुर्ति वापत बिमा रकमको व्यवस्था हुन्छ। नेपाली राजदूतावासका कार्यवाहक राजदूत रामकाजी खड्काले भन्नुभयो। अन्य मृत्युमा क्षतिपूर्ति दिईदैन ।
त्यस्तै अलबतनिया कम्पनीमा कार्यरत ललितपुरका देवराज ग्याबाको गाडीको ठक्करले मृत्यु भएको छ। २९ वर्षीय ग्याबाको साईकल गाडीसँग ठोकिएर दुर्घटना पर्दा मृत्यु भएको हो। दुर्घटना बिमाका लागि निवेदन र आवश्यक कागजातपत्र तयार भएको दूतावासका कार्यवाहक राजदूत खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार अदालतले क्षतिपूर्तिको घोषणा गरेपछि मृतक परिवारलाई जानकारी गराएर बिमा रकम सुम्पिने छ। ग्याबांको शव स्वदेश फर्काई सकिएको छ। ग्याबांको मृत्यु अगस्त ११ मा भएको थियो ।
दूतावासले जनाए अनुसार नेपाली कामदारहरूको मृत्यु संख्यामा अत्याधिक मृत्यु हार्ट अटैकबाट हुने गरेको छ। गत वर्षको तुलनामा यस वर्षको मृत्यु संख्यामा हार्ट अटैकबाट २३ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै सडक दुर्घटनामा १२ प्रतिशतले कमी, कार्यक्षेत्रमा ४ प्रतिशतले कमी, आत्महत्यामा ३ प्रतिशतले र अन्यमा समेत ४ प्रतिशतले कमी आएको छ। साथै मृत्यु हुनेहरूमा कार्डियाबाट ३ प्रतिशतले बढेको दूतावासका कार्यालय सचिव महोम्मद रमादानले जानकारी दिनुभयो। सातौ महिनाको अन्तिमसँग नेपालीहरूको मृत्यु संख्या ९४ पुगेको छ।
दोहा कतारबाट सुविन श्रेष्ठ / एचकेनेपाल डट कम।
Popularity: 22%
August 29th, 2007
श्यामकुमार श्रेष्ठ / एचकेनेपाल डट कम बिगु, दोलखा भदौ १२ -
दोलखाको बिगु गुम्बामा लागेको जात्रामा झगडा हुदा तीन दर्जन ब्यक्तिहरु घाईते भएका र केहीको अवस्था चिन्ता जनक रहेको छ।
मंगलवार राति जात्राको क्रममा विगु गाविस-७ का ङाटासी शेर्पा समेत छ जनाको समूहले मादक पदार्थ सेवन गरी जथाभावि कुटपीट गर्न लागेपछि जात्रा हेर्न आएका तीन दर्जन ब्यक्तिहरु घाईते भएका थिए। घाईते मध्ये १५ बर्षीया शान्ती थामी, ५० बर्षीया पटासी थामी, ङाछिरी शेर्पा, लिला थामी लगायतको अवस्था गम्भीर रहेको घटनाका प्रत्यक्षदर्शीहरुले बताए।
घटनामा र्घाईते भएका शान्ती थामी र पटासीकाले थामीको आलम्पू उप-स्वास्थ्य चौकीमा उपचार भै रहे पनि विरामीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि सदरमुकाम लानु पर्ने स्वास्थ्य चौकीका अहेव रत्न थामीले बताउनु भयो।
यता विरामीको आफन्तहरु भने आर्थिक अवस्था कमजोर भएकाले उपचारको लागि चरिकोट लान नसकिने बताएका छन्। मादक पदार्थ सेवन गरेको उक्त समूहले स्थानीय नौ वटा पसलमा समेत तोडफोड गरी क्षति पुर्याएका थिए। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव निरीक्षक सुरेन्द्रप्रसाद मैनालीले घटनाको जानकारी प्राप्त भएपछि सिंगटीबाट त्यस तर्फ प्रहरीको टोली पठाइएको बताए।
दोलखाबाट श्यामकुमार श्रेष्ठ / एचकेनेपाल डट कम।
Popularity: 19%
August 29th, 2007
श्यामकुमार श्रेष्ठ / एचकेनेपाल डट कम, दोलखा भदौ १२ -
नेकपा माओवादी भातृ संगठन वाईसिएलका कार्यकर्ताले फोनबाट विभिन्न धाक धम्की दिएको विरोधमा आज नेपाल आदिवासी जनजाति संघ दोलखाले घोर भत्सर्ना गरेको छ।
माओवादीका भीमेश्वर इन्चार्ज सफलले अधिनायकवादी निरंकुश शैलीमा नेपाल आदीवासी संघ दोलखाका संयोजक विश्व निति (अभियान) लाई ९७४१०४६५१० मोवाइल नम्बरबाट धम्की दिएकोमा संघले आज एक प्रेश विज्ञप्ति जारी गरी त्यस्तो निन्दनिय कार्यको घोर भत्र्सना गरेको छ।
आदिवासी जनजाति संघमा आवद सदस्यलाई मात्र नभई देशका कुनै पनि नागरिकलाई डर, त्रास, धाकधम्की दिनु भनेको अझैँ १० वर्षीय द्धन्द्धको धङ-धङी माओवादी नहराएको यथार्थमा परिणत हुन्छ। स्वतन्त्रपूर्ण ढंगले नागरिकले बोल्न पाउने अधिकारमाथि कुठराघात गर्नु अझैँ निरंकुश शैलीको मानसिक उपज हो। संघद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ।
दोलखाबाट श्यामकुमार श्रेष्ठ / एचकेनेपाल डट कम।
Popularity: 19%
August 29th, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
वीरगञ्जमा गए राति अज्ञात हतियारधारी र प्रहरीबीच भएको दोहोरो भिडन्तमा चार जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मारिएका चार जना लुटेराहरु रहेका छन्। लुटेराहरु सक्रिय रहेको खबर पाउनसाथ त्यहाँ पुगेका प्रहरीमाथि फाइरिङ शुरु गरेपछि दोहोरो भिडन्त शुरु भएको बताइन्छ । वीरगञ्ज नगरपालिका - १६ सिर्सिया खोलामा राति करिव १ बजे भएको भिडन्तमा चार लुटेरा मारिए पछि अन्य लुटेराहरु भागेका थिए।
प्रहरीले घटनास्थलबाट चार थान पिस्तोल र १२ राउण्ड गोली बरामद गरेको पनि बताएको छ।
अज्ञात हतियारधारी समूहले यो एक वर्षभित्र वीरगञ्जका केही व्यापारीहरुलाई गोली हानी हत्या गरिसकेका छन्।
Popularity: 19%
August 29th, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका पूर्व सांसद नीलाम्बर पन्थीको आज बिहान निधन भएको छ।
अस्वस्थ भै राजधानीस्थित नर्भिक अस्पतालमा उपचार गराई रहनु भएका पन्थीको बिहान ७ बजे निधन भएको हो।
गुल्मी जिल्लामा जन्मिनु भएका पन्थी २००७ सालदेखि सक्रिय रुपले राजनीतिमा लाग्दै आउनु भएको थियो। उहाँको श्रीमती र दई छोरी छन्।
Popularity: 19%
August 29th, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
पोखराको केही टोलहरुमा राति दैनिक जस्तो चोरी र डैकेती बढेपछि त्यहाँका बासिन्दाहरु रातभर जागेर टोल टोलको सुरक्षा दिन थालेका छन्।
एक महिनामा करिव २५ भन्दा बढी लुटपाट भएका कारण त्यहाँका स्थानीय जनता प्रहरीसंग मिलेर रातभर जागेर सुरक्षा दिन थालेका हुन्।
घारी पाटन, हनुमान टोल, हिमाली टोल, पाउरहाउस, रामेश्वर मार्ग, शिशु निकेतन आदि क्षेत्रहरुमा चोरी र डकैती बढेकाले सुरक्षा दिन थालेका हुन्। सुरक्षा टोली बनाएर राति हिड्न थालेपछि चोरी र डकैतीमा कमी आएको स्थानीय जनताले बताएका छन्।
Popularity: 19%
August 29th, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
घर परिवारले आत्महत्या गरेर मरेको ठानी किरिया गरिसकेको मान्छे घर फर्कदा सबै जना अचम्भित भएका छन्।
मोरङ शनिश्चरेका ४४ वर्षीय टेकबहादुर दर्जीलाई मरेको ठानी परिवारले किरिया गरिसकेका थिए। करिव तीन साताअघि जाँते जंगलमा आत्महत्या गरी झुण्डिएको शव भेटेका थिए। परिवारले सडेको अवस्था रहेको उक्त शव टेकबहादुरको हुन सक्ने ठानी प्रहरीको मुचुल्कापछि अन्तिम संस्कार गरेका थिए।
तर जीवितै घर फर्केका टेकबहादुरले आफू कपडा सिलाउन टाँडी गाउं गएको बताएका छन्। मरेको भनी काजक्रिया गरिसकेका टेकबहादुर घर फर्कदा अब के गर्ने भनी घर परिवार अन्यौलमा परेका कारण यही विषयमा इलाका प्रहरी लेटाङले परिवारका सदस्यलाई आज छलफलको लागि बोलाएको बताएको छ।
Popularity: 19%
August 29th, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता -
जनै पूर्णिमाको अघिल्लो रात हुने भक्तजनहरुको मेलामा अज्ञात समूहले खुकुरी प्रहार गर्दा एक युवकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
दोलखाको प्रसिद्ध कालिन्चोक मन्दिरमा मेला भर्न आएका भक्तजनमाथि साँझ करिव ७ बजे अज्ञात समूहद्वारा आक्रमण हुंदा दोलखा लापिलाङ - ५ का २७ वर्षीय रणबहादुर थामीको मृत्यु भएको छ। घटनापछि उपचारको लागि सदरमुकाम लैजादै गर्दा अत्यधिक रक्तश्रावका कारण थामीको मृत्यु भएको बताइन्छ। घटनामा तीर्थबहादुर थामी लयागत दर्जनौं घाइते भएको बताइएको छ। अज्ञात समूहले के कारण आक्रमण गरेका हुन् भन्ने कारण थाहा हुन सकेको छैन।
दोलखाको कालिन्चोक गाविस पर्ने भगवती मन्दिरमा जनै पूर्णिमाको अघिल्लो रात बर्सेनी मेला लाग्दै आएको बताइन्छ।
Popularity: 19%
August 29th, 2007
मोती चाम्लीङ्ग अरव दम्माम, एचकेनेपाल डट कम अगष्ट २८ -
प्रवासमा स्थापित नेपाली कुटनिति नियोगको कार्यकुशलतालाई साउदी अरवमा नियाल्दै आएको सातौं वर्षरु बितिसकेका छन्। नेपालको राजनितिमा कायापलट आउनु अघि र पछि दुवै समयपरिवेशभित्र रियाद दूतावास भू.पू. राजालाई स्तुति स्तोत्र फलांक्ने राजावादीहरुको केन्द्रको रुपमा स्थापित हुन पुगेको छ। (more…)
Popularity: 19%
August 28th, 2007
श्यामकृष्ण खकुरेल / एचकेनेपाल डट कम काठमाडौं -
यस वर्ष (सन् २००७ ) को दोस्रो तथा अन्तिम चन्द्रग्रहण मंगलबार मिति २०६४/०५/११ तदनुसार २८ अगस्ट २००७ जनैपूर्णिमाको दिन परेको जानकारी गराइन्छ।
यो खग्रास चन्द्रग्रहण नेपालबाट नदेखिएता पनि विश्वको अन्य महाद्वीपहरु जस्तै पूर्वी एशिया, उत्तर तथा दक्षिण अमेरिका, अष्ट्रेलिया आदि ठाउंहरुबाट देख्न सकिनेछ। चन्द्रग्रहण एउटा ज्यामितीय प्रक्रिया भए पनि हाम्रो धर्म-संस्कृति तथा पृथ्वीमा घट्ने विभिन्न घटनाहरुलाई यसले असर पार्ने विश्वास रही आएको छ।
मौसमले साथ दिएको खण्डमा नेपालबाट पनि विरल छायाँ जनित चन्द्रग्रहण देख्न सकिनेछ। २८ तारिखका दिन नेपालमा चन्द्रोदय साँझ ६:३० बजे मात्र हुने भएकाले चन्द्रग्रहण थोरै समय मात्र रहने र अरु दिन भन्दा त्यसबेला चन्द्रमा अलि धमिलो देखिने जानकारी गराइएको छ।
पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ। यस क्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पर्न जान्छ, तव पृथ्वीको छाँया चन्द्रमामा पर्दछ। चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छाँयाले चन्द्रमा छेकिन्छ, जसलाई नै चन्द्रग्रहण भनिन्छ।
सूर्य, पृथ्वी र चन्द्रमा पूर्णिमा वा औंसीको समयमा एउटै सरल रेखामा पर्न सक्ने भए पनि सबै पूर्णिमा वा औंसीमा यो सम्भव नहुन सक्छ किन भने चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब ५ ड्रि्रीको कोण बनाएको हुन्छ। त्यस्तै चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई दुई बिन्दुमा काटेको हुन्छ। यी दुई बिन्दुहरुलाई प्राचीन ज्योतिष शास्त्रमा राहु र केतु नाम दिइएको छ।
२८ अगस्ट २००७ का दिन पश्चिमी गोलार्द्व र पूर्वी एशियामा बस्ने मानिसहरुले यस चन्द्रग्रहणको दृश्य थोरै मात्र देख्न सक्नेछन् भने आन्द्र प्रदेशीय टापुहरु जस्तैः क्यानडा, न्युजिल्याण्ड, अमेरिकाको अलास्का र हवाई प्रान्त र पूर्वी अष्टे्रलिया आदि देशहरुबाट प्रष्ट रुपमा देख्न सकिनेछ।
चन्द्रग्रहण देखिने विस्तृत समय विवरण:
२८ अगष्ट २००७ तदनुसार २०६४ भाद्र ११ गते
अवस्था जी.एम.टी. - नेपाली समय
विरल छायाँमा प्रवेश ७:५३ -१३:३८
सघन छायाँमा प्रवेश ८:५१ -१४:३६
खग्रास ग्रहण शुरु ९:५२ -१५:३७
खग्रास ग्रहण अन्त्य ११:२२ -१७:०७
सघन छायाँ छोड्ने १२:२३ -१८:०८
विरल छायाँबाट बाहिरिने १३:२१ -१९:०७
नेपालमा सूर्यास्त हुने समय -साँझ ६:३० बजे
चन्द्रोदय हुने समय -साँझ ६:३० बजे
नेपालबाट चन्द्रग्रहण साँझ ६:३० बजे देखि ७:०७ बजे सम्म देख्न सकिनेछ ।
काठमाडौंबाट श्यामकृष्ण खकुरेल / एचकेनेपाल डट कम।
Popularity: 19%
August 28th, 2007
रबि भट्ट दोहा / एचकेनेपाल डट कम -
हालै नेपालमा भएको भिषण बाढीको कारण पीडितहरुलाई कतारस्थित नेपाली राजदूतावासको पहलमा ६ लाख ४१ हजार २ सय ७५ रुपैया सहयोग पठाएको छ। कतारस्थित बिभिन्न संघसंस्था र ब्यक्तिगत गरि उक्त रकम उठाईएको हो।
संकलित रकमलाई नेपाली दूतावासका का.वा. राजदूत रामकाजी खड्काले स्ट्यार्ण्र्डड चार्टड बैंक कान्तिपथ शाखाको खाता नं. १८०१३२४३८०१ मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्ठाईएको हो। देश विदेशबाट रकम उठाउने क्रममा कतारबाट एक हप्तामा उर्ठाईएको यो रकम संभवत पहिलो र छोटो समयमा अत्याधिक उर्ठाईएको रकम हो। रकम दिनेहरुमा ठूलो रकम भने बिदेशिहरुबाट पनि प्राप्त भएको छ।
कतारमा करीब ५ दर्जन जति बिभिन्न संघसंगठनहरु रहेता पनि करीब ३ दर्जन जतिबाट मात्र रकम संकलनमा सहभागि रहेका थिए। यद्यापि कतिपय संघसंस्थाले भने दूतावासमा नभई सिधै नेपालमा पठाएका छन्।
नरेन्द्र भाट मार्फत लेवननका खैराला दौलावानी मुफिद, वालीद दौलावानी मुफिद, जर्ज दौलावानी मुफिद, अब्दुल्ला दौलावानी मुफिदद्धारा क्रमशः १ हजार २ सय ५० कतारी रीयालका दरले ५ हजार, कुबेर राई १ सय, हिमालय गिरी १ सय, रहन खान ए. खान १ सय १, रवि गुरुङबाट स्वयं ५ सय १ र प्रतिमा महर्जन २ सय करी, हेमलाल विश्वकर्माबाट २ सय, हफिज खान १ सय ५०, विष्णु थापा १ सय १, रमेश कुमार राई २ सय १, चाणक पोख्रेलबाट १ सय ५ र उनि मार्फ सन्तोष कुमार १ सय ५, हिमाल पुरी १ सय, राजेश यादव मार्फ मोहम्मद माल्कि १ सय, पोषण ओली मार्फत समीर अहमद १ सय, जासिम एम. सुलेमान १ हजार, सुरेन्द्र कुमार ठाकुर १ सय १, बद्रि प्रसाद पाण्डे ५ सय र मार्फत सुरजराज भण्डारी १ सय, नरेन्द्र मणि पौडेल १ सय, सुनिल अम्गाँइ १ सय र राजु पाण्डे १ सय रहेका छन् । त्यसै गरि पुष्प वाईवा मार्फत ओटिएसबाट खड्ग सिं बि.के. १ सय ११, ङवाङ थर्वा शेर्पा १ सय १, अभिषेक थापा १ सय १ गरि जम्मा ९ हजार ६ सय ७९ रहेको छ भने अन्य संघसंस्थाबाट गरेर २५ हजार ८ सय २९ कतारी रियाल गरि ३५ हजार ५ सय ८ कतारी रियाल उक्त १८ दशमलव ०६ का दरले ६ लाख ४१ हजार २ सय ७५ रुपैया पर्ठाईएको छ ।
दोहा कतारबाट रवि भट्ट / एचकेनेपाल डट कम।
Popularity: 19%
August 28th, 2007
शान्ति गुरुङ न्युयोर्क / एचकेनेपाल डट कम, अगष्ट २६ -
नेपालका बाढी पीडितहरुको सहयोगार्थ न्युयोर्कका स्टेट सिनेटर जोन डि. साबिनीको कार्यालयको अग्रसरतामा आईतबार स्थानीय शनीसाईडस्थीत ट्यान्ग्रा मसला रेष्टुरेण्टमा राहत रकम संकलन कार्यक्रम सम्पन भयो। स्थानीय नेपाली संघ संस्थाहरुको सहयोगमा एलाएन्स फर डेमोक्रसी एन्ड ह्युमन राईट्सद्वारा आयोजित सो कार्यक्रमबाट उठेको रकम रेडक्रसमार्फत बाढी पीडितहरुका लागि नेपाल पठाईंदैछ।
आईतबारको सो कार्यक्रमबाट उठेको अमेरिकि डलर ३,६८४ (तीन हजार ६ सय चौरासी) विश्व रेडक्रस संस्थामार्फत नेपाल पुग्ने गरी पठाउन लागेको जानकारी सिनेटर जोन डि साबिनीको कार्यालयका साम्स तारेकले दिनुभयो। सो अवसरमा संस्थागत रूपमा चेक हस्तान्तरण गर्नेहरुमा अमेरिका-नेपाल मैत्री समाजका डा. तारा निरौला, तमु सोसाईटीका अर्जुन गुरुङ र किरांत याक्थुङ चुम्लुङ, यू.एस. ए. का बिक्रमनेम्बाङ लिम्बु हुनुहुन्थ्यो।
यसैगरी नेपाली संघ संस्था तथा सम्पूर्ण सहयोगी महानुभावहरूले प्रदान गर्नु भएको रकम एलाएन्स फर डेमोक्रसी एन्ड ह्युमन राईट्स संस्थाका महासचिव नगेन्द्र ईङनामले अमेरिकन रेड्क्रस ईन ग्रेटर न्यूयोर्कका चिफ एक्सटर्नल एफयर्स अफिसर क्रिष्टोफी पी. लोब्रे -बोलांगरलाई हस्तान्तरण गर्नु भएको थियो।
कार्यक्रममा एलायन्सका अध्य़क्ष अनिल शाही र उपाध्यक्ष बिन्दू चौधरीले राहत संकलनबारे जानकारी गराउदै सहयोग गर्नेहरुप्रति हार्दिक आभार ब्यक्त गर्नु भएको थियो भने रेड्क्रस प्रतिनिधि ट्राभिस भेल, क्रिष्टोफी लोब्रे र जोन फोलेले रेड्क्रसको आपतकालीन राहत गतिबिधिमाथि प्रकास पार्नु भएको थियो। यसैगरी, संयुक्तराष्ट्र संघका लागि नेपालका उप आबासीय प्रतिनिधी मधुबन पौडेलले आपत बिपद पर्दा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने काम सरहानीय भएको बताउनु भयो।
न्युयोर्कबाट शान्ति गुरुङ / एचकेनेपाल डट कम।



Popularity: 19%
August 28th, 2007
पुरु जोशी द. कोरिया / एचकेनेपाल डट कम -
आगामी सेप्टेम्बर २५ का दिन सउलको जिन्गाक जोङ, बिहार (गुम्बा) स्थित सम्पूर्ण नेवाः हरुको एक बृहत भेला हुने भएको छ।
कोरियामा बिभिन्न पेशमा आवद्ध रही बसोवास गरिरहेका सम्पूर्ण नेवाः दाजु भाई तथा दिदीवहिनीहरु एक साथ जम्मा भै नेपालको महान् चाड बडा दशैं तथा कोरियाको महान चाड छुसक् भब्यताका साथ मनाउने भएको छ। आयोजकका अनुसार उक्त दिन नेवाः पूचःको पुरानो कार्यसमिति बिघटन गरि नयां कार्यसमिति गठन गरिने छ। सोही दिन छोयला बजी र समे भोजको कार्यक्रम पनि रहेको छ।
Popularity: 19%
August 28th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विभिन्न माग राखी लामो समयदेखि आन्दोलनरत गाविस सचिवहरूले आसन्न संविधानसभा निर्वाचनलाई ध्यानमा राखी आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम संविधानसभा निर्वाचनसम्मका लागि स्थगित गरेका छन् ।
गाविस हकहित संरक्षण केन्द्रको केन्द्रीय समितिको बैठकले संविधानसभा निर्वाचनमा स्थानीयस्तरमा गाविस सचिवले निर्वाह गर्नुपर्ने भूमिका महत्वपूण रहेको र सरकारले गाविस सचिवहरूले उठाएका मागहरूलाई पूरा गर्ने पहल गरिरहेकाले आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।
केन्द्रका अध्यक्ष भुवानीप्रसाद घिमिरेले आफूहरूले उठाएका मागहरू सरकारले पूरा गर्ने पहल गरिरहेको र संविधानसभा निर्वाचनलाई बाधा नपुगोस् भनेर आन्दोलनका कार्यक्रम स्थगन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
गाविस सचिवहरूले गत साउन २ गतेदेखि मुलुकभरका सम्पूर्ण गाविसको काम ठप्प पारेर सुरु गरेको आन्दोलन साउन १७ गतेसम्म जारी राखेका थिए । गाविस सचिव र स्थानीय विकास मन्त्रालयबीच गत साउन १७ गते गाविस सचिवले उठाएका मागहरू सम्बोधन गर्ने सहमति भएपछि उनीहरू साउन १८ गतेदेखि काममा फर्केका थिए।
Popularity: 19%
August 28th, 2007
Previous Posts