Archive for September, 2007
धन बस्नेत, पोखरा / एचकेनेपाल डट कम, सेप्टेम्बर ३० -
जय नेपाल’ स्टेजमा उपस्थित हुने वित्तिकै नेपाली मुलका इन्डियन आइडल-२४ वर्षे ठिटो प्रशान्त तामाङ पोखरेली दर्शक समक्ष प्रस्तुत भए। दिउँसैदेखि प्रशान्त तामाङलाई हेर्न र उनको मिठो आवाजलाई आत्मसाथ गर्न पोखरेली दर्शक दुई घण्टा अगाडि कार्यक्रम स्थल पुगेका थिए।

कन्सर्टमा दीपाली, प्रशान्त र अंकिता। तस्विरः सुदर्शन रञ्जित पोखरा / एचकेनेपाल डट कम।
(more…)
Popularity: 17%
September 30th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम सेप्टेम्बर ३० -
राजधानीमा गत भदौं १६ गते गराइएको श्रृखंलावद्ध बम विस्फोटनमा तराई आर्मी नामक भूमिगत संस्थाको संलग्नता रहेको प्रहरीले जनाएको छ।
प्रहरीले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बम विस्फोटको घटनामा संलग्न ४ जनालाई सार्वजनिक गरेको हो।
पक्राउ परेका चारजनामध्ये एकजना प्रहरी जवान पनि संलग्न भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। पक्राउ गरिएकाको बयानको आधारमा सो घटनामा १५ जनाको संलग्नता रहेको बताइएको छ। पक्राउ पर्नेहरुमा जगदनारायण ठाकुर, उपेन्द्र शाह, संजीव शाह र रामलक्ष्मण ठाकुर रहेका छन्। पक्राउ परेका मध्ये उपेन्द्र शाह प्रहरी हुन्।
तराई आर्मीका कमाण्डर कौहल सहनीको योजना अनुरुप विस्फोटन गराइएको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ। प्रहरीका अनुसार सुरुमा सर्वोच्च अदालत, नयाँ बसपार्क, सिंहदरबार र नेपाल बंगलादेश बैंक क्षेत्र बिजुली बजारमा विस्फोटन गराउने योजना बनाएको थियो। सुरक्षाका कारण विस्फोट गराउने ठाउँ परिवर्तन गरेको पक्राउ परेकाहरुले बताएको प्रहरीले जनाएको छ। विस्फोटनको योजना रौतहटमा बनेको बताइएको छ।
Popularity: 17%
September 30th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, सेप्टेम्बर ३० -
कुमारी रथयात्राको अन्तिम दिन आज कुमारीसँग टीका थाप्न प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला राजधानीको वसन्तपुर जानुहुने भएको छ।
कुमारीसँग टीका थाप्न प्रधानमन्त्री कोइराला साँझ पौने सात बजे वसन्तपुरस्थित कुमारीघर जाने कार्यक्रम रहेको सुरक्षास्रोतले जनाएको छ। राजाका सांस्कृतिक अधिकार कटौती भएपछि राजाको सट्टा कुमारी रथयात्रा, इन्द्रजात्रा, मच्छिन्द्रनाथको जात्रालगायतका कार्यक्रममा सहभागी बन्दै आएका प्रधानमन्त्री कोइरालाको सवारीअघि प्रहरीले सुरक्षा व्यवस्था अत्यन्तै कडा तुल्याएको छ।
Popularity: 17%
September 30th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, सेप्टेम्बर ३० -
सरकारले आफूसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै शैक्षिक गणतान्त्रिक मञ्चले आज मुलुकभरको शैक्षिक संस्था बन्द आहृवान गरेको छ।
विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा राखिनुपर्ने, निजी विद्यालयका शिक्षकहरुको सेवा र सुविधा प्रत्याभूति हुनुपर्ने, अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने लगायतका माग पूरा गर्न आठ दलीय सरकारले गत चैतमा सहमति जनाएको थियो। ती माग पूरा गर्न साउन मसान्तसम्म समयसीमा दिएका आन्दोलनरत शिक्षकहरुले सहमतिप्रति सरकार उदासीन रहेको भन्दै मुलुकभरका सरकारी तथा निजी विद्यालय बन्द गराएका हुन्।
Popularity: 17%
September 30th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, सेप्टेम्बर ३० -
प्रमुख गठबन्धनकारी दलहरुले समानुपातिक निर्वाचन प्रणालीका लागि मनोनयन दर्ता कार्यक्रम पाँच दिन पछि सार्ने सहमति बनाएका छन्।
प्रधानमन्त्री निवास बालसवाटारमा केहीबेर अघि बसेको सात प्रमुख दलका शीर्ष नेताहरुको बैठकले यस्तो सहमति गरेको हो। बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधीका अनुसार सात दलका शीर्ष नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गरी आयोगलाई पत्र पठाइएको छ।
समानुपातिक निर्वाचनको मनोनयन दर्ता अवरुद्ध गर्ने नेकपा माओवादीको आहृवानलाई मध्येनजर गर्दै मनोनयन प्रकृयालाई पाँच दिन पर र्सार्न आयोगलाई आग्रह गरिएको महामन्त्री निधीले बताउनुभयो। सात दलबीच भएको सहमति आजै बिहान मन्त्रिपरिषद्को बैठक बसी अनुमोदन गरिसकेको छ। दलहरुको सहमति पत्र आजै सरकारले निर्वाचन आयोगलाई दिनेभएको छ। समानुपातिक निर्वाचनको मनोनयन दर्ता पाँच दिन पछि सार्ने सहमति भएपछि बन्द सूची बुझाउने आजको कार्यक्रम बिथोल्ने योजना माओवादीले परिवर्तन
गरेको छ।
संविधानसभाको निर्वाचन नौटंकीमात्र भएको भन्दै असोज पहिलो साता माओवादीले अघि सारेको आन्दोलन अन्तर्गत आज समानुपातिक बन्द सूची बुझाउने कार्यक्रम बिथोलने घोषणा गरेको थियो। सहकर्मी दलहरुको सहमतिपछि आजको आफ्नो कार्यक्रमलाई मुलुकभर नै जुलुस र विरोध सभामा परिवर्तन गरिएको माओवदी नेता सीपी गजुरेलले जानकारी दिनुभएको छ।
गणतन्त्रको घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी माओवादीको मागबारे सहमतिको प्रयास जारी राख्न थप समय आवश्यक रहेको ठहर गर्दै दलहरु निर्वाचनको कार्यक्रम केही दिनपछि र्सार्न सहमति बनेको हो। समानुपातिक निर्वाचनको कार्यतालिका पाँच दिन पछि सार्ने सात दलको सहमतिपछि निर्वाचन आयोगको बैठक अहिले बसिरहेको छ।
राजधानीको कान्तीपथस्थित आयोगको कार्यालयमा बसिरहेको बैठकमा प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलसहित सबै आयुक्त उपस्थित रहेका छन्। बैठक निर्वाचन कार्यक्रम सार्ने सात दलको निर्णयपछि विकसित घटनाक्रमका बारेमा केन्द्रित रहेको आयोग स्रोतले जनाएको छ।
Popularity: 17%
September 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले राख्दै योगी रामदेवका पछि राजनीतिक दलका नेता लाग्नु र प्रशान्तको पछि भीड देखिनु नेपालमाथि भारतीयहरूको सांस्कृतिक आक्रमण भएको बताउनुभयो ।
उहाँले नेकपा (माओवादी) ले पछिल्लो समयमा आएर समानुपातिक निर्वाचन प्रणालीको माग गरेर मङ्सिर ६ गते हुने संविधानसभाको निर्वाचन भाड्न खोजेको आरोप लगाउनुभएको छ ।
पार्टीको बनेपा नगर समितिको बनेपामा उद्घाटन गर्दै उहाँले समानुपातिक निर्वाचन प्रणालीमा जान धेरै समय लाग्ने भएकाले सो प्रणालीमा जाने हो भने मङ्सिर ६ गते निर्वाचन हुन नसक्ने स्पष्ट पार्नुभयो ।
नेता बिजुक्छेले व्यवस्थापिका-संसद्को अधिवेशन बोलाई छलफल गर्नुपर्ने र विभिन्न ऐननियम परिवर्तन गर्नुपर्ने भएकाले नेकपा (माओवादी) को यो माग निर्वाचन नगर्ने षडयन्त्र भएको धारणा राख्नुभयो ।
उहाँले सङ्घीय राज्य भनेको मुसाले दुःख दिँदा घरमै आगो लगाउनुजस्तो भएको विचार राख्नुभयो।
Popularity: 17%
September 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले संविधानसभाको निर्वाचन निर्वाध रूपमा समयमै गरी लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नुपर्ने पक्षमा आफू रहेको जनाएको छ ।
पार्टीले आज प्रकाशित गरेको विज्ञप्तिमा पार्टीले निर्वाचन गराउन कुनै पनि पूर्व सर्त नराखेको स्पष्ट गर्दै शान्तिपूर्ण निर्वाचनमा माओवादीसहित सात दलको सहभागित सुनिश्चित गर्दै निर्वाचन समयमै शान्तिपूर्ण रूपबाट सम्पन्न हुनुपर्नेमा जोड दिइएको छ ।
विज्ञप्तिमा समानुपातिक निर्वाचनको बन्दसूची दर्ता गराउन तोकिएको पूर्वसन्ध्यामा पनि निर्वाचनबारे सात दलका मतभिन्नता र अन्योल समाप्त हुन नसकी उत्पन्न असहज स्थितिबारे चिन्ता व्यक्त गरिएको छ ।
आठ दलको नाममा विगतमा चार पार्टीको एकलौटी हैकम तथा पारस्परिक द्वन्द्व र लेनदेनको अवस्थाबाट पीडित देशको राजनीति नेकपा (माओवादी)को असोज १ गतेको घोषणापछि झन् अन्योलग्रस्त भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
Popularity: 17%
September 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बाह्र वर्षपछि पहिलोपटक रोल्पा जिल्लाका विभिन्न स्थानमा गणतन्त्र र समानुपातिक चुनावको माग गर्दै नेकपा (माओवादी)ले मसाल जुलुस प्रदर्शन गर्यो ।
जनयुद्ध कालमा रोल्पा माअोवादीको गढका रुपमा रहेको थियो। यहाँका कैयन् गाउँमा राज्यको उपस्थिति थिएन।
जुलुसपछि आयोजित कोणसभामा माओवादी जिल्ला सेक्रेटरी रेशम पुनमगर ‘चट्याङ’ले गणतन्त्र स्थापनाविनाको चुनाव नौटङ्की मात्र हुने बताउनुभयो
Popularity: 17%
September 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
तीन दिनदेखि लगातार परेको वर्षाका कारण शुक्रबार दिउँसो आएको पहिरोले बागलुङ र पर्वतको सिमानामा रहेको पर्वत नाङलिवाङ गाविस-९ फोस्रेको सोतर खोल्साको ६ घर पुरेको छ भने ३० घर परिवार विस्थापित बनेका छन् ।
उक्त पहिरोले बेनी मालढुङ्गा सडकखण्डलाई ठूलो असर पुर्याएको छ । पहिरो दिउँसो आएकोले मानवीय क्षति भने हुन पाएन ।
पहिरोले स्थानीय जितबहादुर जिसी, प्रवीण सुवेदी, धुव के.सीका घर पुरिएका छन् ।
ती परिवारले हाल छिमेकी बाग्लुङको ढोडेनीमा विस्थापित जीवन बिताइरहेका छन् । पहिरोबाट अन्य ३० घर जोखिमपूर्ण अवस्थामा रहेका छन् ।
उक्त पहिरोबाट ठूलो क्षेत्रफल ओगटेको बनसमेत नष्ट हुने क्रममा रहेको छ भने आठ सय रोपनी जग्गामा पानी ल्याउने गरेको सिँचाइ कुलो बिग्रिएको छ ।
पर्वतदेखि म्याग्दी ढोडेनी जोड्ने झोलुङ्गे पुलसमेत पहिरोले क्षति पुर्याएको छ ।
Popularity: 17%
September 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सात राजनीतिक दलको बैठकमा संविधानसभा निर्वाचनका लागि बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने मिति पाँच दिन र्सार्न निर्वाचन आयोगलाई भोलि पत्र लेख्ने सहमति भएको छ ।
निर्वाचन आयोगले बन्दसूचीको नामावली पेस गर्ने मिति भोलिका लागि तोकेको थियो ।
बैठकमा नेकपा माओवादीले संसदबाट गणतन्त्रको घोषणा र संविधानसभाको निर्वाचन पर्ूण्ा समानुपातिक प्रणालीमा हुनुपर्ने भनी राखेको माग नेपाली काङ्ग्रेसले सहमति नजनाएको जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले संविधान र ऐननियमबाट तय भएको निर्वाचन प्रणाली परिवर्तन गर्न र यही संसदबाट गणतन्त्र घोषणा गर्न नसकिने बताउनुभएको शान्ति तथा पुनःनिर्माणमन्त्रीले पत्रकारहरूलाई जानकारी दिनुभयो ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भने आफ्नो ‘बटमलाइन’नतोके पनि चुनावको कार्यतालिका पाँच दिन र्सार्न आग्रह गर्नुभएको बताइएको छ ।
बैठक भोलि बिहान पुनः बस्ने कार्यक्रम छ ।
बैठकमा नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनलगायत सातै दलका नेताको सहभागिता थियो ।
Popularity: 17%
September 30th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, सेप्टेम्बर २९-
निर्वाचन आयोगले सदभावना आनन्दीदेवी नेतृत्वलाई मान्यता दिएपछि रुष्ट हुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले आज आफ्नो राजीनामा पत्र प्रधानमन्त्रीलाई बुझाउँदै हुनुहुन्छ।
आफ्नो विरोधी खेमालाई आयोगले मान्यता दिएपछि महतोले हिजो राजीनामा दिनुभएको थियो भने उहाँ नेतृत्वको समूहले संविधानसभाको निर्वाचन विथोल्ने गरी आन्दोलनको घोषणा गरेको थियो।
महतो समूहले निर्वाचन विथोल्न निर्वाचन कार्यालय घेराउ र बन्दलगायतका कार्यक्रम अघि सारेको छ। निर्वाचन आयोगले महतो नेतृत्वको पक्षलाई छुट्टै दलका रुपमा दर्ता गराउने मौका आज अपराहृन ४ बजेसम्मका लागि दिइएको छ। यद्यापि अर्को दलका रुपमा दर्ता नगराउने महतो पक्षकी प्रवक्त सरिता गिरीले जानकारी दिनुभयो।
Popularity: 17%
September 29th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, सेप्टेम्बर २९-
माओवादी सरकारबाट बाहिरिएपछि उत्पन्न राजनीतिक संकट समाधानको उपाय खोज्न तीनदिनदेखि जारी सात दलको बैठक आज पनि बस्ने भएको छ।
सात दलको बैठकअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अहिले केहीबेरमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एमालेका महासचिव माधवकुमार नेपालसँग छुटाछुटै र संयुक्त छलफल गर्नुहुनेछ। प्रमुख तीन दलका शिर्षस्थ नेताहरुको छलफलपछि सात दलको बैठकको समय निश्चित शान्ति तथा पुननिर्माणमन्त्री रामचन्द्र पौडेलले जानकारी दिनुभयो।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सो बैठकले आज पनि खासै निकास निकल्ने सम्भावना नरहेको स्रोतले बताएको छ। यसअघि दुइ दिनसम्म भएका वार्ताहरु माओवादीको पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अडानका कारण बिना निष्कर्ष टुंगिएको थियो।
Popularity: 17%
September 29th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, सेप्टेम्बर २९-
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र गृहमन्त्री कृष्णप्रसाद सिटौलाबीच आज बिहान छलफल भएको छ। सात दलबीच सहमति बन्न नसकेको समानुपातिक निर्वाचन प्रणालीमा सहमति जुटाउन गृहमन्त्री र माओवादी अध्यक्ष प्रचण्डबीच माओवादी पार्टी मुख्यालयमा छलफल भएको हो।
छलफलमा सहमति जुट्न नसकेपछि गृहमन्त्री फर्कनुभएको माओवादीस्रोतले जनाएको छ। गृहमन्त्री सिटौलाले आज बिहानै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट गरी माओवादी अध्यक्ष प्रचण्लाई भेट्न माओवादी पार्टी कार्यालय बुद्धनगर पुग्नुभएको थियो।
स्रोतका अनुसार, प्रधानमन्त्री कोइरालाले गृहमन्त्रीमार्फत सहमतिमा आउन माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभएको थियो।
Popularity: 17%
September 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
म्यान्माको सैनिक सरकारले प्रजातन्त्र र स्वतन्त्राका लागि प्रदर्शनमा उत्रिएका बौद्धभिक्षु एवम् र्सवसाधारण जनताप्रति गरेको दमनको विरोध गर्दै विभिन्न ट्रेड युनियनले नेपालस्थित म्यान्माको दूतावासमा ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल विद्यार्थी संघ, नेपाल ट्रेड युनियन काङ्ग्रेस, नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र नेपाल प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ (डिकोन्ट) ले एक र्यालीसहित पुल्चोकस्थित सो दूतावासमा पुगी ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा म्यान्माको सैनिक सरकारले प्रजातन्त्र र स्वतन्त्राका लागि त्यहाँका जनताले उठाएको आवाजको सम्मान गर्नुपर्ने, मानवअधिकारको रक्षा गर्नुपर्ने र पर््रदर्शनकारीमाथि सैनिक हस्तक्षेप बन्द गर्नुपर्ने माग गरिएको छ ।
सन् १९९० मा भएको प्रजातान्त्रिक निर्वाचनलाई सम्मान गर्दै सैनिक नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको बिनार्सत रिहा हुनुपर्ने माग पनि ज्ञापनपत्रमा गरिएको छ ।
म्यान्मामा हजारौँ प्रदर्शनकारीले जारी राखेको विरोधले त्यहाँको सैनिक शासनले आफ्नो वैधानिकता गुमाएकाले जनताका आवाजलाई कदर गर्दे प्रजातन्त्र बहालीको विकल्प नभएको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Popularity: 17%
September 29th, 2007
सुवास मगर, धनकुटा / एचकेनेपाल डट कम सेप्टेम्बर २९ -
विश्वका आदिवासी जनजातिहरुको हक अधिकार सम्बन्धि घोषणा पत्र संयुक्त राष्ट्र संघले जारी गरीसकेकोले उक्त घोषणा पत्रलाई नेपालमा पनि सरकारले तत्कालै अनुमोदन गर्नु पर्ने कुरा राष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समितिका केन्द्रीय सदस्य तेजनारायण सिंह राईले बताउनु भएको छ।
नेपाल आदिवासी जनजाति युवा संघ धनकुटा जिल्ला भेलालाई आज शनिबार सम्बोधन गर्नु हुँदै आदिवासी जनजाति संयुक्त संघर्ष समितिका केन्द्रिय सदस्य एवं आदिवासी जनजाति महासंघ जिल्ला सल्लाहकार र्राईले नेपालका आदिवासी जनजातिहरुको हकहितको लागि संघर्षरत सिमान्तकृत जातीय संगठनहरुले संयुक्त राष्ट्रसंघको उक्त घोषणा पत्रलाई अनुमोदन गराउन नेपाल सरकारलाई दवाब दिनु पर्ने बताउनु भयो।
त्यसै गरी उक्त भेलालाई सम्बोधन गर्नुहुँदै नेपाल पत्रकार महासंघ केन्द्रीय उपसभापति एवं किरात राई यायोख्खा धनकुटाका अध्यक्ष सञ्जयसन्तोषी राईले संविधान सभामा सवै जातीको समानुपातिक प्रतिनिधित्व हुनु पर्ने बताउनु भयो। उहाँले जातीय आधारमा समानुपातिक प्रतिनिधित्व नभए संविधानसभाको औचित्य नरहने समेत बताउनु भयो।
श्रीकृष्ण प्रधानको सभापतित्वमा भएको उक्त भेलाले बिनोद लुङ्गेली मगरको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको छ। सो समितिको उपाध्यक्ष रुपा श्रेष्ठ, सचिव ईन्द्र छोङदेन राई, सहसचिव चन्द्रसिंह नेम्वाङ र कोषाध्यक्ष सन्तवीर लामा रहेका छन्। सो भेलामा आदिवासी जनजाती महासंघ जिल्ला अध्यक्ष गेहेन्द्र किन्दाहाङ राई लगायतले बोल्नु भएको थियो।
Popularity: 17%
September 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)ले संविधानसभाको निर्वाचन सुनिश्चित गर्न गणतन्त्रको घोषणा र समानुपातिक निर्वाचन प्रणालीको संवैधानिक व्यवस्था अपरिहार्य रहेको भन्दै व्यवस्थापिका-संसदको बैठक बोलाउन समावेदन दर्ता गरेको छ ।
प्रधानमन्त्रीलाई सम्बोधन गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ८७ जना विधायकको हस्ताक्षरसहितको समावेदन दर्ता गरिएको थियो ।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा-५१ को उपधारा (३) बमोजिम सो बैठक आहृवान गर्न माग गरिएको छ । संविधानको धारा-५१ मा एक चौथाई संसद सदस्यले बैठक डाक्नसक्ने प्रावधान छ ।
समावेदनमा भनिएको छ-”यतिबेला शान्तिप्रक्रिया गम्भीर चरणबाट गुज्रिरहेको छ, संविधानसभाको निर्वाचन, गणतन्त्र, राज्यको सङ्घीय पुनःसंरचनासहितको वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीयलगायतका समस्याको समाधान गर्ने प्रतिबद्धतासहित यहाँ आइपुगेका छौं ।”
गणतन्त्रको घोषणा र समानुपातिक निर्वाचनका सम्बन्धमा व्यवस्थापिका-संसदको बैठकबाट निर्ण्र्ाागर्नुपर्ने परिस्थिति रहेकोसमेत सो समावेदनमा उल्लेख गरिएको छ ।
Popularity: 17%
September 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
निर्वाचन आयोगले आनन्दीदेवी सिंहको नेतृत्वमा रहेको नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) पार्टीलाई मान्यता प्रदान गरेको छ ।
यसैगरी नेपाल सदभावना पार्टी (आनन्ददेवी)को नाममा पर्सा वीरगन्जमा भएको विशेष महाधिवेशनबाट अध्यक्ष हुनुभएका राजेन्द्र महतोले नेतृत्व गर्नुभएको पार्टी नेपाल सदभावना पार्टी (आनन्ददेवी)लाई आज अपराह्न ४ वजेसम्म संविधानसभा सदस्य निर्वाचन प्रयोजनका लागि छुट्टै राजनैतिक दलमा दर्ता गर्न चाहेमा दर्ता गर्ने र निर्वाचन चिन्हसमेत प्रदान गर्ने निर्णय आयोगले गरेको छ ।
तर मन्त्री महतोले भने नयाँ पार्टी दर्ता नगर्ने बताएका छन्। उहाँले मन्त्री पदबाट राजीनामा दिई संविधान सभाको निर्वाचन बिथोल्ने घोषणा गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्नुभएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री महतोको अध्यक्षतामा गठन भएको पार्टीद्वारा पर्सामा भएको विशेष अधिवेशन पार्टी विधानबमोजिम अनधिकृत तथा अवैधानिक भएको हुँदा त्यसलाई मान्यता नदिन संस्थापन पक्षबाट आयोगमा जानकारी गराइएको थियो ।
आयोगले यही असोज ९ र १० गते दुवै पक्षलाई राखेर छलफल गरी प्राप्त तथ्यका आधार तथा सोही प्रकृतिका सम्बन्धमा सर्वोच्च अदालतले गरेको निर्णयसमेतलाई आधार मानी संविधानसभा निर्णय प्रयोजनका लागि सो निर्णय गरिएको जनाएको छ ।
Popularity: 17%
September 29th, 2007
एनआरएनए दोहाको विशेष पार्सद भेला सम्पन्न
मोरङ सुनसरीका टिवि कार्की आइसीसी प्रतिनिधि हुने
कुमार कार्की, कतार / एचकेनेपाल डट कम सेप्टेम्बर २९ -
गैर आवासिय नेपाली संघको आसन्न विश्व सम्मेलनलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ दोहाको विशेष पार्सद भेला हिजो शुक्रवार सम्पन्न भएको छ।
एनआरएनए दोहा च्याप्टरका अध्यक्ष कमलमणि गुरागाँइको अध्यक्षता, आइसीसीका उपाध्यक्ष सागर नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त वैठकमा आइसीसीका सल्लाहकार डा. देवकाजी डंगोल, आइसीसीका लागि कतार प्रतिनिधि भिमप्रसाद शर्मा पौडेल, तथा अन्य एनसीसीका पार्सदहरुको उपस्थिति रहेको थियो।
भेलाको संचालन संयोजक राजेश दर्शन अर्यालले गर्नु भएको थियो भने भेलामा उपस्थित हुनु भएका सम्पूर्ण अतिथि तथा पार्सदहरुलाई संघका उपाध्यक्ष दिलकिरण खजुमले गर्नु भएको थियो। वैठकमा जम्मा ९२ जना पार्सदहरु मध्येमा जम्मा ५७ जना पार्सदहरुको उपस्थिति रहेको थियो। पार्सदहरुको भेलामा एनसीसीका सदस्यहरु तथा विभिन्न पार्सदहरुले आफ्नो मन्तव्य राखेका थिए। मन्तव्य राख्नु हुनेहरुमा क्रान्ति सिंह, नरेश श्रेष्ठ तथा प्रज्ञान उदास लगायतका हुनुहुन्थ्यो। कार्यक्रममा वोल्ने वक्ताहरुले गैरआवासिय नेपाली संघद्वारा संचालित कल्याणकारी कोषलाई मजवुत तुल्याउनका लागि कसरत गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका लागि कतारवाट प्रतिनिधी पठाउनलाई एन सि सि कतारलाई परिपत्र भए वमोजिम उक्त आकस्मिक वैठक वस्नु परेको कुरा एन आर एन ए एन सि सि का कतारका अध्यक्ष कमलमणि गुरागाँइले जानकारी गराउनु भएको थियो।
एनआरएनए आइसीसीको केन्द्रीय परिषदका लागि कतार प्रतिनिधिको रुपमा एनसीसी दोहाका सदस्य टेक वहादुर कार्कीलाई सिफारिस गर्ने निर्णय उक्त परिषद वैठकले गरेको छ। कार्की एनसीसी दोहाका कार्यकारिणी सदस्य हुनुका साथै मोरङ सुनसरी प्रवासी सेवा समाज दोहाका अध्यक्ष पनि हुनुहुन्छ। आइसीसी प्रतिनिधिको सिफारिस गर्नका लागि इच्छुक एक निर्वाचन मण्डल वनाई पार्सदहरुलाई प्रतिनिधि चुन्नका लागि समय दिईएकोमा चारवटा उम्मेदवारी परेको थियो। चारजनाको उम्मेदवारी दिनेहरुमा एनसीसी दोहाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार वद्रिप्रसाद पाण्डे, समाजसेवी तथा पार्सद भुपति भट्टर्राई, टि. वि. कार्की तथा राजेश दर्शन अर्यालले आफ्नो उम्मेदवारी दिनु भएको थियो। निर्वाचन मण्डलमा संयोजक सागर नेपाल, डा. देवकाजी डंगोल तथा भिमप्रसाद शर्मा रहनुभएको थियो।
उम्मेदवारी दिनु भएका मध्ये वद्रिप्रसाद पाण्डे र भूपति भट्टराईले उम्मेदवारी फिर्ता लिनुभएको थियो। त्यस पछि राजेशदर्शन अर्याल र टिवि कार्कीबीच भएको प्रतिस्पर्धामा टिवि कार्कीको पक्षमा ३६ मत परेको थियो भने राजेश दर्शन अर्यालको पक्षमा १८ मत परेको थियो त्यस मध्येमा ३ भोट वदर भएका थिए।
Popularity: 17%
September 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डलले कपिलवस्तु जिल्लामा हालै भएको घटनाको स्थलगत अनुगमन गर्दा घटनामा परी १८ जनाको मृत्यु र ११ जना घाइते हुनुका साथै २८ जना हालसम्म पनि परिवारको सर्म्पर्क बाहिर रहेको जानकारी गराएको छ ।
यसअघि उक्त घटनामा ३१ जनासम्मको मृत्यु भएको खबर आएको थियो।
उक्त घटनाको प्रतिवेदन र्सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ठूलो सङ्ख्यामा घर, पसल, होटल, ट्रक र बस, जिप, मोटरसाइकल, कपास फ्याक्ट्री एवं पेट्रोल पम्पमा क्षति पुर्याइएको बताइयो ।
स्थानीय मोहिद खाँको हत्या भएको आक्रोशमा मानिसहरुले चन्द्रौटा बजारबाट हिंसाको सुरुवात गरेको जानकारी दिँदै प्रतिवेदनमा पहिलो दिन हत्याको आक्रोशमा मुस्लिम समुदायका व्यक्तिले पहाडे समुदायका घर तथा पसल आगजनी तथा तोडफोड गरिनुका साथै दोस्रो दिन पहाडे समुदायका मानिसले मुस्लिम समुदायका मानिसको घर तथा पसल आगजनी र तोडफोड गरेको उल्लेख छ ।
कपिलवस्तु घटनामा सबैभन्दा बढी मानिसको हत्या विसनपुर गाविसको देवीपुरमा रहेको सुकुम्वासी बस्तीमा भएको पाइयो बताउँदै प्रतिवेदनमा खाँको हत्या भएपछि हिंसा भड्किई अझ उग्ररुप लिनसक्ने प्रशासनलाई जानकारी हुँदाहुँदै तत्कालै सुरक्षा व्यवस्था मिलाउन नसकिएको जनाइएको छ ।
एसोसिएसनका केन्द्रीय उपाध्यक्ष मुकुन्द शर्मा पौडेलको नेतृत्वमा गएको स्थलगत अनुगमन टोलीले राजनीतिक दलहरुले स्थिति हिंसात्मक हुन नदिन तथा शान्तिपूर्ण बनाइराख्न सक्रिय पहल गरिनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचारको व्यवस्था गरिनुपर्ने, घरबारविहीनलाई उचित बसोबासको व्यवस्था मिलाई दैनिक जीवन सञ्चालनको लागि उचित राहत प्रदान गरिनुपर्ने र हिंसाको डरले विस्थापित भएकालाई शान्तिसुरक्षाको प्रत्याभूति गर्राई घर र्फकने वातावरण तयार गर्न सरकारलाई सुझाव दिएको छ ।
Popularity: 17%
September 29th, 2007
एचकेनेपाल डट कम सम्वाददाता, सेप्टेम्बर २९ -
बर्मामा हाल भईरहेको शान्तिपूर्ण आन्दोलनमा त्यहाँको सैनिक सरकारले जारी राखेको दमनको नेपाल मानव अधिकार संगठन, अमेरिकाले घोर निन्दा र भत्सर्ना गरेको छ। संगठनका सभापति राजन त्रिपाठीद्वारा जारी विज्ञप्तिको पूर्ण विवरण -
बर्मामा हाल भईरहेको शान्तिपूर्ण आन्दोलनमा त्यहाँको सैनिक सरकारले जारी राखेको दमनको नेपाल मानव अधिकार संगठन, अमेरिका घोर निन्दा र भत्सर्ना गर्दछ। शान्तिकामी भिक्षु समुदायको नेतृत्वमा प्रजातन्त्र र मानव अधिकारको पक्षमा भई रहेको शान्तिपूर्ण आन्दोलनप्रति हामी पूर्ण ऐक्यवद्धता जनाउँदछौं।
प्रजातन्त्र र मानव अधिकारको पक्षमा विश्व समुदाय समेत एक ढीक्का भईरहेको वर्तमान स्थितिमा बर्मेली जनताको आधारभूत मानव अधिकार समेत हनन हुने गरी त्यहाँको सैनिक शासकले जारी राखेको दमन अति नै निन्दनीय छ। नागरिक स्वतन्त्रताको माग राख्दै जारी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका आम नागरिक विरुद्ध जबर्जस्ती बल प्रयोग गरी दमन नगर्न हामी त्यहाँको सैनिक शासकलाई सचेत गराउन चाहन्छौं। साथै बर्मेली जनताको सहासको उच्च सराहना गर्दै हामी पुनः एकपटक मानव अधिकार र प्रजातन्त्रको पक्षमा बर्मेली जनताको शान्तिपूर्ण आन्दोलन अझ शसक्त बन्दै जाओस् भन्ने कामनासहित ऐक्यबद्धता जाहेर गर्दछौं।
यसैगरी नेपालको कान्तिपुर दैनिक र काठमाडौं पोष्ट दैनिक प्रकाशनमा माओवादी निकट मजदूर संगठनले पुर्याएको अवरोधको पनि हामी तीव्र निन्दा र भत्सर्ना गर्दछौं। प्रेस स्वतन्त्रता विरुद्धको यो हस्तक्षेप र अवरोधले पूर्ण लोकतन्त्रप्रति अघि बढ्दै गरेको प्रक्रियालाई समेत अवरोध पुग्न सक्दछ। स्वतन्त्र प्रेस विरुद्ध माओवादी निकट मजदूर संगठनका नामबाट भएको यस्ता गतिविधि ज्यादै निन्दनीय छ। जनताको सुसूचित हुन पाउने नैसर्गिक अधिकारलाई कहीं कतैबाट पनि अवरोध पुर्याउनु हुन्न भन्नेमा नेपाल मानव अधिकार संगठन, अमेरिका माओवादी निकट मजदूर संगठनको ध्यानाकर्षण गराउँदछ।
राजन त्रिपाठी
सभापति
नेपाल मानव अधिकार संगठन, अमेरिका
२९ सेप्टेम्बर, २००७
Popularity: 17%
September 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेस एकीकरणपश्चात् यसको केन्द्रीय पदाधिकारीमा हेरफेर गरिएको छ । पार्टीद्वारा पार्टी एकीकरणसम्बन्धी जानकारी गराउने उद्देश्यले निर्वाचन आयोगमा दिइएको पत्रमा उक्त कुरा उल्लेख गरिएको छ ।
सो अनुसार पार्टी सभापतिमा गिरिजाप्रसाद कोइराला, संस्थापक नेतामा कृष्णप्रसाद भट्टर्राई, नेतामा शेरबहादुर देउवा र कार्यवाहक सभापतिमा सुशील कोइराला रहनुभएको छ ।
यसैगरी तीन उपसभापतिमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ र प्रकाशमान सिंह रहनुभएको छ भने तीन महामन्त्रीमा कुलबहादुर गुरुङ, विमलेन्द्र निधि र डा.रामवरण यादव रहनुभएको छ ।
उक्त पदाधिकारीसहित पार्टी केन्द्रीय सदस्य सङ्ख्या ७९ रहने छ जसमा एकीकरणपूर्व नेपाली काङ्ग्रेसमा रहेका ३७ र नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) मा रहेका २७ केन्द्रीय सदस्य तथा अन्य १५ जना रहने छन् ।
पार्टीका अनुसार रिक्त १५ जना सदस्यको नामावली पछि घोषणा गरिनेछ ।
Popularity: 17%
September 29th, 2007
गोविन्दप्रसाद न्यौपाने/ एचकेनेपाल डट कम, सेप्टेम्बर २९ -
शुक्रबार ललितपुरको भट्टेडाँडास्थित तीनपाने नजिकै बा१ख ७९९० नम्बरको यात्रुबस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना भन्दा बढी घाइते भएका छन् । बस सडकबाट खसेर ३०० मिटर तल पुगेको थियो।
भट्टेडाँडाबाट चापागाउँ आउँदै गरेको उक्त बस करीब चार बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनामा आठ जनाको घटनास्थलमै र एकको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। दुर्घटनाको कारण थाहा हुन नसकेको भए पनि यान्त्रिक गड्बडीले सो दुर्घटना भएको अनुमान गरिएको छ।
दुर्घटनामा मृत्यु हुनेहरुमा ललितपुर -ठेचोका अष्टमान महर्जन, चापगाउँकी पवना न्यौपाने, इकुडोलका एकै परिवारका जयराम घिमिरे र सिर्जना घिमिरे, आश्राङका राजेन्द्र घिमिरे, ठेगाना नखुलेका राजीव न्याछ्यों, चन्द्र महर्जन र सानु बजगाईं रहेका छन्। एक जना मृतकको भने सनाखत हुन सकेको छैन।
दुर्घटनामा परी घाइते हुनेहरुमा सुमन थापा, सुनिता थापा, विनोद बजगाईं, राजेन्द्र खड्का, विमला सञ्जेल, शिव धिमाल, ज्ञानी लामिछाने, मिठ्ठा दुलाल, जित बहादुर ठोक्कर, भिम ठोक्कर, कृष्ण बहादुर घिमिरे र चालक प्रदीप लामिछाने रहेका छन्। घाइतेहरुको ललितपुरस्थित पाटन अस्पताल र केहीको बि एण्ड बि अस्पताल ग्वार्कोमा उपचार भईरहेको छ।
Popularity: 17%
September 29th, 2007
दीपक अधिकारी / एचकेनेपाल डट कम, सेप्टेम्बर २८ -
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले संसदबाट गणतन्त्र घोषणा गरिनु जनआन्दोलनको भावना विपरीत हुने बताउनुभएको छ।
चुनावी घोषणापत्रमा छलफल गर्न बोलाइएको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकमा सञ्चारकर्मीहरुसँग अध्यक्ष राणाले संसदबाट गणतन्त्र घोषणा गरिनु जनआन्दोलनले दिएको अधिकारविपरीत हुने दाबी गर्नुभयो। सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको अधिकार भएको भन्दै उहाँले कसैले पनि त्यसलाई बीचमै खोस्न नहुने बताउनुभयो।
उहाँले राजतन्त्रबारे संविधानसभाको पहिलो बैठकले जे निर्णय गर्छ आफूहरुलाई पनि स्वीकार्य हुने बताउनुभयो।
मुलुकलाई बेठेगान र अनिश्चिततातर्फ पुर्याइएको जनाउँदै उहाँले जनताले चाहे बमोजिम मंसिर ६ गते संविधानसभाको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो। निर्वाचनका लागि गृह प्रशासनले भने इमान्दार भएर तयारी नगरेको उहाँको आरोप थियो। आफनो पार्टी समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो।
अध्यक्ष राणाले कान्तिपुर पब्लिकेसनको प्रकाशनमा बाधा पुर्याउने माओवादी भ्रातृ संगठनको कार्यप्रति आपत्ति प्रकट गर्नुभयो। मुलुकलाई नभई नहुने प्रेस स्वतन्त्रतामा नियोजित रुपमा एक पछि अर्को पत्रिका बन्द गराउन खोज्नु अत्यन्त निन्दनीय भएको उहाँले बताउनुभयो।
Popularity: 18%
September 29th, 2007
राजबहादुर गुरुङ, पोखरा / एचकेनेपाल डट कम, सेप्टेम्बर २८ -
नेपाल भूपू सैनिक संघ कास्कीको पन्ध्रौ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। संघका जिल्ला सभापति क्याप्टेन टिकप्रसाद गुरुङको सभापतित्वमा सम्पन्न सभामा सचिबको प्रतिबेदन क्या. बिरध्वज गुरुङले र कोषाध्यक्षको प्रतिबेदन क्या. कमलबहादुर गुरुङले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा वक्ताहरुले ब्रिट्रिश सैनिक सरह नेपालीहरुले पनि समान सुबिधा पाउनुपर्ने, भारतीय भूपूहरुका बिभिन्न समस्या समाधानका लागी कुटनीतिक रुपमा पहल गरिनु पर्ने भूपूहरुमाथि अझै शोषण भैरहेको तर्फ ध्यान पुर्याउनु पर्नेमा जोड दिएका थिए। कार्यक्रममा कर्णेल रामकाजी गुरुङ, क्या गंगाबहादुर खत्री, कर्णेल झुमबहादुर गुरुङ, क्या. कुशलसिङ गुरुङ, क्या. किमबहादुर गुरुङ, क्या. गञ्जबहादुर गुरुङ , सु. बलबहादुर क्षेत्री, क्या. लालप्रसाद गुरुङ, क्या. तिर्थबहादुर गुरुङ, क्या. तेजबहादुर गुरुङ, सु. इन्दबहादुर गुरुङ, मायादेबी तझ्या, क्या. तुलसीप्रसाद गुरुङ लगायतका भूपूहरुले बोल्नुभएको थियो।
Popularity: 18%
September 29th, 2007
दीपक अधिकारी, एचकेनेपाल डट कम, सेप्टेम्बर २८ -
नेपालमा योग शिविर सञ्चालन गर्न आउनुभएका भारतका प्रख्यात योगगुरु स्वामी रामदेव शुक्रबार स्वदेश फर्कनुभएको छ।
भारत फर्कनुअघि उहाँले राजधानीको मण्डिखाटारमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग नेपालमा योग तथा आयुर्वेदको सेवा दिन पातञ्जली योगपीठको शाखा स्थापना गर्ने बताउनुभयो। उहाँले पीठको मुख्य उद्देश्य मेडिकल कलेज निर्माणका लागि थप सहयोग जुटाउनु रहने पनि बताउनुभयो।
भारतको हरिद्वारमा जस्तै प्राचीन योगऋषि पातञ्जलीको नामबाट नेपालमा समेत योगपीठ निर्माणको सुरुआत भइसकेको उहाँले जानकारी दिनुभयो। आफूले नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गर्दा नेपालमा आयुर्वेदिक मेडिकल कलेजको आवश्यकता रहेको बताउनुभएकोले यो एक हप्ते योग शिविरबाट उठेको रकम त्यसमै लगाइने उहाँले बताउनुभयो।
Popularity: 17%
September 29th, 2007
Previous Posts