Archive for October, 2007
एचकेनेपाल डट कम काठमाडौं सम्वाददाता, अक्टोबर ३१ -
करिव १ महिनाअघि अपहरित पत्रकार वीरेन्द्र साहकी पत्नी उमरावती देवीले आज बिहान माओवादी अध्यक्ष प्रचण्डलाई भेटी आफ्नो पति साहको अविलम्ब रिहाईको माग गरेकी छिन्।
पत्रकारहरुसहित प्रचण्डलाई भेट्न साहकी पत्नी उमरावती देवी, भाई भैयाराम साह पनि गएका थिए। उनीहरुले पत्रकार साहको स्थिति सार्वजनिक गर्न आग्रह गरेका थिए। अध्यक्ष प्रचण्डले साहको स्थिति छिट्टै सार्वजनिक गरिने बताएका छन्।
त्यसै गरी साहकी पत्नीले हिजो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटी पत्रकार साहको रिहाईको लागि आग्रह गरेकी थिइन्। प्रधानमन्त्री कोइरालाले राज्यको सम्पूर्ण शक्ति लगाएर भए पनि पत्रकार साहको स्थिति चाँडै सार्वजनिक गरिने आश्वासन दिनुभएको थियो।
अपहरित पत्रकार साहको रिहाईको माग गर्दै उनीहरु नेपाल पत्रकार महासंघ बारा शाखाका नेतृत्वमा ६ जना पत्रकारसहित राजधानी आएका हुन्।
Popularity: 16%
October 31st, 2007
उत्तम गुरुङ, दक्षिण कोरिया / एचकेनेपाल डट कम, अक्टोबर ३१ -
धेरै नेपालीको सपना हुने गरेको छ, विदेश गएपछि कमाइन्छ र फर्केर आफ्नो र परिवारको भविष्य सुन्दर बनाउला। यस्तै सपना बोकेर आजभोलि दिनहूं झण्डै पाँच सयको हाराहारीमा नेपाली युवाहरु विदेशिने गरेका छन्। (more…)
Popularity: 16%
October 31st, 2007
युएइ एचकेनेपाल डट कम सम्वाददाता -
वर्तमान सरकारमा सहभागी दोस्रो ठूलो दल नेकपा एमालेका नेता पूर्व अर्थमन्त्री तथा अन्तरिम व्यवस्थापिका संसद सदस्य माननीय भरतमोहन अधिकारी आफ्नो निजी भ्रमणका क्रममा संयुक्त अरब इमिरेट्स यूएइको राजधानी अबुधावी आइ पुग्नु भएको छ।
यूएइ भ्रमणका क्रममा अबुधावी आइपुग्नु भएका एमाले नेता तथा सांसद अधिकारीलाई नेपाली दूतावासका कावा राजदूत मोहनकृष्ण श्रेष्ठले विमानस्थलमा स्वागत गर्नु भएको थियो। साथै उक्त अवसरमा नेपाली समाजका अध्यक्ष लगायत अन्यको पनि उपस्थिति रहेको थियो।
उहाँको स्वागतमा सोमबार बेलुकी कावा राजदूतले आफ्नो निवासमा एक स्वागत कार्यक्रम तथा रात्रिभोजको आयोजना गर्नु भएको थियो। उक्त अवसरमा कावा राजदूतले नेपाल सरकारमा सहभागी दलका नेता तथा वर्तमान अन्तरिम व्यवस्थापिका संसद सदस्य माननीय भरतमोहन अधिकारी निजी भ्रमणका क्रममा यहाँ आइपुग्नु भएकोले उहाँको स्वागतार्थ आजको कार्यक्रम राखिएको हो भन्नु भएको थियो।
उक्त अवसरमा बोल्दै एमाले नेता तथा सांसद अधिकारीले आफू अबुधावी आइपुग्दा आफ्नो सोचाइमा भएको अबुधावी र वास्तविक अबुधावीमा आकाश जमिनको फरक पाएको बताउनु भयो। अहिले म आएको २४ घण्टा पनि बितेको छैन र यूएइलाई राम्ररी नियाल्न पनि पाएको छैन तथापि मैले अबुधावीलाई जस्तो पाएँ त्यस आधारमा आम नेपालीले सोचेको भन्दा अत्यन्त फरक रहेछ। साथै उहाँले हुन त यो भ्रमण मेरो निजी भ्रमण हो तापनि म यहाँ रहनु हुने अधिकाँश नेपालीहरुलाई भेट्न चाहन्छु र यहाँका प्रवासी नेपालीहरुको अवस्था बुझेर उनीहरुको सन्देश नेपाल सरकार समक्ष पुर्याउने कोशिस गर्दछु भन्नु भयो। उहाँले अगाडि थप्नु भयो विदेशमा रहने हरेक नेपाली नेपालको जनस्तरको राजदूत हुन्छ। तर्सथ तपाईहरु सबैले आफ्नो देशको नाम उच्च राख्ने काम गर्नु पर्छ।
कार्यक्रममा दूतावासका प्रथम सचिव, तृतीय सचिव तथा नेपाली समाजका अध्यक्ष, एनआरएन एनसिसीका उपाध्यक्ष, जनजाति महासंघका अध्यक्ष, लगायत अन्य बुद्धिजिवी, महिला तथा पत्रकारको समेत उपस्थिति रहेको थियो।
Popularity: 17%
October 31st, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम अक्टोबर ३० -
कुवेतमा भइरहेको एसीसी ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताबाट नेपालको बाहिरिने सम्भावना बढेको छ।
अफगानिस्तान विरुद्ध आज भएको खेलमा ६ विकेटले पराजित भएपछि नेपालको प्रतियोगिताबाट बाहिरिने सम्भावना बढेको हो। टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरको खेलमा ७ विकेट गुमाई १ सय २१ रन बनायो। नेपालको १ सय २२ रनको लक्ष्यलाई अफगानिस्तानले १८ दशमलव ४ ओभरमा ४ विकेट गुमाई पार लगायो। नेपालको लागि परेश लोहनीले सबैभन्दा बढी ४६, ज्ञानेन्द्र मल्लले ३४ र बसन्त रेग्मीले १४ रन बनाए भने विनोद दासले २ विकेट लिए।
प्रतियोगिता अन्तर्गत नेपालले भोलि ओमानको सामना गर्नेछ। प्रतियोगितामा आफ्नो स्थान जोगाउन नेपालले भोलिको खेल जित्नै पर्ने बाध्यता रहेको छ। यसअघि भएका खेलहरुमध्ये पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो भने दोस्रो खेलमा कतारसँग हारेको थियो।
Popularity: 17%
October 30th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम अक्टोबर ३० -
नेपाली कांग्रेसका महामन्त्री डाक्टर रामवरण यादवले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गए मुलुकमा बिखण्डन हुनसक्ने बताउनुभयो।
पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गए जातीय, क्षेत्रीय समूहहरु छुटिने भएकाले मुलक बिखण्डनमा जाने खतरा रहेको उहाँले स्पष्ट पार्नुभयो। रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।
कार्यक्रममा नेकपा माओवादीका नेता अनन्तले संसदमा दर्ता गरेको प्रस्तावलाई अस्वीकार गरिए ७ दलीय गठबन्धन टुट्ने चेतावनी दिनुभयो। संसदबाट गणतन्त्र घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई मतदानबाट पराजित गराइए सात दलीय गठबन्धमा रहनुको अर्थ नहुने उहाँको भनाई थियो।
कार्यक्रममा पत्रकार वीरेन्द्र साहको अपहरणबारेमा पत्रकारहरुले सोधेको प्रश्नमा माओवादी नेता अनन्तले घटनामा माओवादी संलग्नता रहेको भन्ने भनाई अस्वीकार गर्नुभयो। आफूहरुद्वारा गठित आयोगले छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने बताउदै उहाँले घटनामा संलग्न रहेको पाइए दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहांले सात दलीय एकता टुटेपनि शान्ति प्रक्रिया जारी रहने बताउनुभयो। आफूहरुको प्रस्तावनै जनताको माग भएको जिकिर गर्दै उहांले पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो। प्रस्ताव विफल पारे मुलुकमा दुर्घटना हुने बताउनुभयो।
राष्ट्रिय जनमोर्चाका महासचिव डिलाराम आचार्यले दरबारको चाहना अनुसार माओवादी क्रियाकलाप भइरहेको आरोप लगाउनुभयो।
Popularity: 16%
October 30th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम अक्टोबर ३० -
निर्वाचन आयोगका प्रमुख आयुक्त भोजराज पोखरेलले संविधानसभा चुनावको नयाँ मिति तोक्दा विगतको असफलतालाई ध्यानमा राख्न प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा आयुक्त पोखरेलले यो आग्रह गर्नुभएको हो।
उहाँले प्रधानमन्त्रीलाई संविधानसभा चुनावको वातावरण बनाई चुनावको मिति जतिसक्दो छिटो तोक्न सरकारलाई आग्रह पनि गर्नुभयो। आयुक्त पोखरेलले अब तोकिने चुनाबको मितिको नियति पहिलेको जस्तो हुन नदिन सबै पक्षलाई आग्रह पनि गर्नुभयो। भेटमा प्रधानमन्त्री कोईरालाले सबै पक्षको सहमतिमा चुनाबको मिति चाडै नै तोक्ने आश्वासन दिनुभयो।
Popularity: 16%
October 30th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम अक्टोबर ३० -
संविधानसभा चुनावको नयाँ मिति तत्काल घोणणा गर्नुपर्ने, महिलाको समानुपातिक सहभागिता हुने निर्वाचन प्रणाली लागु गर्नुपर्ने लगायतका माग राख्दै महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालले आज पनि राजधानीमा र्याली निकाले।
दलित, अपांग, चेलीबेटी बेचबिखनलगायत महिला अधिकारका विभिन्न क्षेत्रमा कार्यरत संघसंस्थाहरु सम्मिलित संजालले केही दिनदेखि गरिरहेको चरणबद्ध आन्दोलन अन्तर्गत आज सिठी जुलुस निकालेको हो। नयाँ बानेश्वरबाट बिहान ११ बजेपछि शुरु भएको र्याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा महिला अधिकारकर्मीहरुले संसदको विशेष अधिवेशनबाटै आफूले राखेको माग पुरा गर्नुपर्नेमा जोड दिए। ती मागहरुलाई संसदले सम्बोधन गर्नुपर्ने भन्दै संसदको विशेष अधिवेशन चलिरहेको समय पारेर आन्दोलन गरिएको संजालले जनाएको छ।
Popularity: 16%
October 30th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम अक्टोबर ३० -
कर्मचारीको हत्या गरेको बिरोधमा सप्तरीका सबै सरकारी कार्यालय आज बन्द गरिए। कर्मचारीको सुरक्षा गर्न सरकार असफल भएको भन्दै उनीहरुले सुरक्षाको ग्यारेण्टी नभएसम्म काममा नफर्कने बताएका छन्।
अज्ञात समूहले हिजो सप्तरी जिबिसका नायब सुब्बा प्रभु यादबलाई गोली हानेर हत्या गरेको थियो। कर्मचारीहरुले मृतकका परिवारलाई क्षतिपूर्ति र दोषीलाई पक्राउ गरि कारबाही गर्न माग गरेका छन्। कर्मचारीको हड्तालले सप्तरीका सबै सरकारी कार्यालयको काम ठप्प भएका छन्।
यसैगरी निजामति कर्मचारीहरुले यादबको शव यात्रापछि आजै दाहसंस्कार गरिएको छ।
Popularity: 16%
October 30th, 2007
सुविन श्रेष्ठ / एचकेनेपाल डट कम प्रतिनिधि, दोहा, कतार अक्टोबर ३० -
कतारको एक निर्माणाधिन भवनमा कार्य गरिरहेका एक नेपालीको खसेर मृत्यु भएको छ। यहाँको अलमुफ्टार कम्पनीका कार्यरत रामेश शाह तेलीको भवनको १३ तल्लाबाट खसेका हुन्।
२८९२२९२ नम्बरका राहदानीवाहक तेली धनुषा उमाप्रेमपुर-२ का हुन्। १६ महिनाअघि आएका तेलीको मृत्यु सेम्टेम्बर ३० मा भएको थियो। तेलीको शव स्वदेश फर्काइसकेको छ। रोजगारको क्रममा मृत्यु भएकोले बिमाको पहल गरिनेछ। दूतावास स्रोतले एचकेनेपाल डट कमलाई जानकारी दिएको छ। स्वदेशबाट आवश्यक कागजात आएपछि यसको पहल हुन्छ।
अहिलेसम्म कतारमा विविध कारणले नेपालीहरूको मृत्यु संख्या १ सय ३० पुगेको दूतावासका कर्मचारी अली मुद्दिनले जानकारी दिनुभयो।
Popularity: 16%
October 30th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम अक्टोबर ३०-
सातदललाई खबरदारी गर्दै आठ विद्यार्थी संगठनले आज आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएका छन्।
आज बस्ने ८ विद्यार्थी संगठनको सयूक्त वैठकले सातदललाई खबरदारी गर्दै आन्दोलनका कार्यक्रम तय गर्नेछ। ति विद्यार्थी संगठनहरुको सयूक्त वैठक आज अपरान्ह ४ बजे बस्ने अनेरास्ववियूका अध्यक्ष ठाकूर गैरेले जानकारी दिनु भयो।
विद्यार्थीहरु सात राजनीतिक दलको एकतालाई मजबुत बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको आधार तयार गर्न र नयाँ राजनीतिक सहमति निर्माणका लागि संघर्षका कार्यक्रम गर्न लागिएको पनि गैरेले जानकारी दिनु भयो। आन्दोलनका कार्यक्रम अनुसार सिंहदरबार घेराउ गर्ने, मसाल जुलुस निकाल्ने, प्रदर्शन गर्ने लगायतका रहेका छन्।
विद्यार्थीहरुले हिजो राजनीतिक अन्यौलको अन्त्य गर्न माग गर्दै सिंहदरबार अगाडि दिएको धर्नामा हस्तक्षेप गर्दै प्रहरीले दर्जनौ विद्यार्थीलाई गिरफ्तार गरेको थियो।
Popularity: 16%
October 30th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम अक्टोबर ३०-
सहकर्मी पत्रकार वीरेन्द्र साहको अपहरणको विरोधमा नेपाल पत्रकार महासंघले अहिले विरोध प्रदर्शन गरिरहेको छ।
नयाँ बानेश्वरबाट सुरु भएको जुलुश भर्खरै माइतीघर मण्डलामा पुगेर सभामा बदलिएको छ। पत्रकार महासंघले पत्रकार साहको तत्काल रिहाइको माग गर्दै आज प्रदर्शनको आयोजना गरिएको हो।
नेपाल एफ.एम नेटवर्कका सहकर्मी साहको रिहाइको माग गर्दै हिजो नेपाल पत्रकार महासंघ बारा शाखाको नेतृत्वमा ६ जना पत्रकारसहित पत्रकार साहका पत्नी, छोराछोरी र भाई काठमाण्डुमा आइपुगेका छन्। राजधानी आइपुग्नुभएका पत्रकार साहका भाइ भैयाराम साहले माओवादीका लालबहादुर चौधरीले पहिलेदेखि नै आफ्ना दाजुलाई धम्की दिंदै आएकाले अपहरण माओवादीले नै गरेको बताउनुभएको छ।
पत्रकार साहकी पत्नी उमरावती देवीले जस्तो अवस्थामा भएपनि आफ्नो पतिको स्थिति सार्वजनिक गर्न माग गर्नुभएको छ।
संसदीय टोलीसहित विभिन्न अध्ययन टोलीले पत्रकार साहको अपहरण नेकपा माओवादीकै कार्यकर्ताले गरेको पुष्टि गरिसके पनि २६ दिन अगाडि अपहरणमा पर्नुभएका साहको अवस्था भने अज्ञात छ।
Popularity: 16%
October 30th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम अक्टोबर ३०-
ब्यवस्थापिका संसदको बिशेष अधिवेशनको आजको बैठक बसिरहेको छ। बैठकमा आज पनि माओवादी प्रस्तावमाथिको छलफल जारी रहेकोछ।
प्रस्तावमाथिको छलफलमा बोल्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालाले नेपाली कांग्रेसले अब लचकता देखाउने ठाउँ नभएकोले यो काम अब माओवादीले गर्नुपर्ने बताउनुभएको छ। दलहरुबीचको अविश्वासले संक्रमणकाल झन लम्बिने बताउँदै उहाँले यसबाट प्रतिगामीहरु सल्बलाउन थालेको खतरा औंल्याउनुभयो। दलहरु प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध छन् भने संसदमा पेस गरिएका प्रस्तावहरु फिर्ता लिनुपर्ने उहाँको भनाई थियो।
नेकपा एमालेका तर्फबाट बामदेव गौतमले दलहरुबीचको असहमति बढ्दै जाँदा शान्ति प्रक्रियामा बाधा र व्यवधान बढ्दै जाने भएकोले सहमतिमा आउनुपर्ने बताउनुभयो। उहाँले माओवादी र कांग्रेसलाई मिलाएर लानुपर्ने भएकोले आफूहरुले प्रस्तुत गरेको संशोधन प्रस्ताव उपयुक्त भएको दाबी पनि गर्नुभयो।
आजको बैठकमा माओवादी प्रस्ताबहरु र त्यसउपर अन्य दलहरुद्वारा प्रस्तुत संसोधन प्रस्ताबमा ३८ जना सासदहरुले आफ्ना धारणा राख्नुहुने कार्यक्रम रहेको छ। हिजो बाट सुरु भएको संसदको बिशेष अधिबेसनमा नेकपा माओवदी संसदीय दलका नेता कृष्णबहादुर महराले संसदबाटै गणतन्त्र घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो।
माओवादी प्रस्तावबारे आज साँझसम्म पनि दलहरुबीच सहमति कायम नभए भोलि संसदको बैठकमा मतदान हुनेछ। माओवादी प्रस्ताव संसदबाट पारित हुन दुई तिहाइ बहुमत चाहिने भएकोले मतदान भएमा माओवादी प्रस्ताव विफल हुने निश्चित छ।
माओवादीको प्रस्तावको विपक्षमा मतदान गर्ने बताइसकेको कांग्रेसबिना दुई तिहाइ बहुमत आउन नसक्ने भएकोले माओवादी प्रस्ताव पारित हुने सम्भावना छैन। राजनितिक सहमतिका लागि दलहरुबीच भएका सर्बदलीय र दुपक्षीय छलफल बिना निश्कर्ष टुङगिएपछि जरुरी सार्बजनिक महत्वको बिषेश राजनितिक प्रस्ताबमाथि संसदको हिजोको बैठकबाट छलफल सुरु भएको हो।
Popularity: 16%
October 30th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम अक्टोबर ३०-
राष्ट्रसंघीय राजनीतिक मिसन अनमिन प्रमुख इयान मार्टिनले नेपालमा जारी राजनीतिक गतिरोधप्रति चासो व्यक्त गर्दै शान्ति प्रक्रिया गम्भीर मोडमा रहेको बताउनुभएको छ।
भारतीय टेलिभिजन एक टिभी च्यानललाई हिजो दिनुभएको अन्तर्वार्तामा मार्टिनले नेपालको वर्तमान राजनीतिक अवस्था र शान्ति प्रक्रिया अत्यन्तै गम्भीर रहेको बताउनुभएको हो। उहाँले संविधानसभा निर्वाचन गराउने र त्यसका लागि वातावरण बनाउने प्रतिबद्धता दोहोर्याउनका अतिरिक्त आपसी अविश्वास अन्त्यमा पनि केन्द्रित रहन दलहरुलाई सुझाव दिनुभएको छ।
Popularity: 16%
October 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि
नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले जनआन्दोलनपछि प्राप्त उपलब्धिसहित राज्यको पुनःसंरचना अभियान र नयाँ नेपाल निर्माणका सम्बन्धमा भएको सात राजनीतिक दलबीच सहमति र विश्वासको वातावरणमा गतिरोध आउनु मुलुकका लागि अनिष्ट हो भन्नुभएको छ ।
व्यवस्थापिका-संसदको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको विशेष राजनीतिक प्रस्तावहरु र ती प्रस्तावउपर प्राप्त संशोधनहरुमाथिको छलफलमा मन्तव्य दिँदै उहाँले उक्त कुरा भन्नुभएको हो ।
कार्यवाहक सभापति कोइरालाले अन्तरिम संविधान निर्माणका समयमा समानुपातिक निर्वाचन र गणतन्त्रजस्ता सहमति भइसकेको विषयमा हठात माओवादीबाट प्रस्तुत प्रस्तावले व्यवधान खडा गरेको बताउँदै यस तथ्यप्रति गम्भीर हुन माओवादी पार्टी नेतृत्व वर्गलाई समेत आग्रह गर्नुभयो ।
उहाँले सात राजनीतिक दलबीच सहमतिको आधारमा संविधान निर्माण भई मुलुक संविधानसभाको निर्वाचन सम्पन्न गर्ने कार्यमा अगाडि बढिरहेको अवस्थामा हठात उत्पन्न गतिरोधले फेरि विश्वासको सङ्कट खडा गर्यो, सङ्क्रमणकाललाई बर्ढाई मुलुकको अमनचैनसमेत बिथोल्ने काम भयो, यो स्थिति कहाँबाट उत्पन्न भयो बुझ्नु जरुरी छ भन्दै यसतर्फसात राजनीतिक दल खासगरी माओवादीलाई गम्भीर हुनसमेत आग्रह गर्नुभयो ।
Popularity: 16%
October 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बोक्सीको आरोपमा उदयपुरमा एक महिलालाई आफ्नै देवरले कुटपिट गरेको छ ।
त्रियुगा नगरपालिका वडा नं. १६ का फाइबर दनुवारले आफ्नै भाउजूलाई बोक्सीको आरोपमा कुटपिट गरेको प्रहरीले जनाएको छ ।
घरको कुखुरीले फुल सानो पारेपछि भाउजू दुःखीलाई फाइवरले कुटपिट गरेका रहेछन्।
फाइबरलाई प्रहरीले हिरासतमा लिएको छ भने पीडित दनुवारले घरमै सामान्य उपचार गरिरहेको पारिवारिक स्रोतले जनाएको छ ।
Popularity: 16%
October 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
महोत्तरी जिल्लाका तीन दर्जनभन्दा बढी गाउँ पखालाले प्रभावित भएको छ ।
गत केही साताभित्र बाह्रजनाभन्दा बढी सो रोगबाट मृत्यु भइसकेका छन् तर सम्बन्धित निकायबाट अझ सक्रियता देखाइएको छैन् ।
महोत्तरी जिल्लाका सीमरदेही, पर्सैली, भटौलिया, जलेश्वर नगरपालिका, बथानाहा, मटिहानी, प्रकौली, फूलइट्टा, मनरा, सुगा, पडौल, तिलगढ, बेला, बखरी, पिगौना, लोचना, सिसवा, कटैया, इकहारालगायत तीन दर्जन गाविस र एक नगरपालिकामा उक्त रोगबाट प्रभावित छन् ।
Popularity: 16%
October 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
वाइसिएलका कार्यकर्ताले सोमबार मध्यान्ह भक्तपुरको कटुञ्जेस्थित डिभिजन सडक कार्यालय नजिकबाट अपहरण गरी लगिएका नेपाल तरुण दल भक्तपुरका जिल्ला सल्लाहकार रवि राणालाई कुटपिट गरी छाडेको छ ।
वाइसिएलका कार्यकर्ताले भक्तपुरको कटुञ्जेबाट अपहरण गरेका राणालाई घाइते बनाई अपराह्न २३० बजे सोही ठाउँमा ल्याई छाडेको थियो ।
भक्तपुर निर्माण व्यवसायी सङ्घका सदस्यसमेत रहेका राणालाई दिउँसो डिभिजन सडक कार्यालयमा टेन्डरको काम भएका बेला वाइसिएलले अपहरण गरी लगेको घाइते राणाले बताउनुभयो ।
वाइसिएलका जिल्ला अध्यक्ष दीपशिखाको नेतृत्वमा आएको समूहले आफूलाई अपहरण गरी चरम यातनाका साथ कुटपिट गरी घाइते बनाइएको उहाँले जानकारी दिनुभयो ।
राणाको उपचार हाल भक्तपुर अस्पतालमा भइरहेको छ ।
Popularity: 16%
October 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जनआन्दोलन-२ का बेला प्रहरीले पक्राउ गरी थुनामा कठोर यातना दिएको विषयमा परेको मुद्दाको सुनुवाइमा सप्तरी जिल्ला अदालतले पीडित पक्षलाई क्षतिपूर्ति वापत रु.सात हजार पाँच सय उपलब्ध गराउनुपर्ने आदेश जारी गरेको छ ।
विगतको नगर निर्वाचनको विरोधको क्रममा नेविसङ्घ सप्तरीका सभापति अर्जुन साहलाई प्रहरीले नियन्त्रणमा लिई कठोर यातना दिएका थिए ।
उनलाई सात दिनसम्म उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । साहले जिल्ला प्रहरी कार्यालय, प्रहरी नायब उपरीक्षक विश्वनिरञ्जन प्रधान, गुल्मपति गोविन्द काफ्लेलगायतलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।
Popularity: 16%
October 30th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
छठ पर्वसम्म युद्धविराम घोषणा गरेको ज्वालासिंह समूहको जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ताले फेरि एक गाविस सचिवको अपहरण गरेका छन् ।
मोर्चाका नौ/दश जनाको सङ्ख्यामा आएका सशस्त्र समूहले सोमबार दिउँसो २ बजे सप्तरीको बनैनियाँ गाविसका सचिव अमिर यादवको अपहरण गरेका हुन् ।
सप्तरीको नर्र्घो गाविस-६ फूलवरिया टोल निवासी यादवलाई घरबाट सदरमुकाम राजविराजतर्फजाँदै गरेको अवस्थामा विसनपुर चौकबाट मोर्चा कार्यकर्ताले अपहरण गरेको परिवारजनले बताएका छन् ।
यसैबीच सेतु सामुदायिक विकास तथा मानवअधिकार मञ्च सप्तरीका अध्यक्ष जङ्गबहादुर सिंहले एक विज्ञप्ति जारी गरी यादवको जीवन रक्षा तथा सकुशल रिहाइका लागि मोर्चासँग आग्रह गरेको छ ।
अपहरणको जिम्मा लिँदै मोर्चाका सप्तरी संयोजक कैलाशले छानबिनका लागि यादवलाई नियन्त्रणमा लिइएको बताए ।
Popularity: 16%
October 30th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, अक्टोबर २९ -
सात दलको एकता र राजनीतिक सहमतिमा जोड दिँदै सात विद्यार्थी संगठनले संसदको मूलगेटमा दिएको धर्नामा प्रहरीले हस्तक्षेप गरी झन्डै पाँच दर्जन विद्यार्थी नेता नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ।
प्रहरी हस्तक्षेपका बेला भएको झडपमा परि अनेरास्ववियु अध्यक्ष ठाकुर गैरेलगायतका केही नेता तथा कार्यकर्ता घाइते भएका छन्। घाइतेहरुको काठमाडौं मोडेल अस्पतालमा उपचार गराइएको छ। प्रहरीले अनेरास्ववियुका अध्यक्ष ठाकुर गैरै, नेविसंघका नेता गगन थापा, क्रान्तिकारीका महासचिव हिमाल शर्मालगायतलाई प्रहरीले पक्राउ गरेको हो।
विद्यार्थीहरुले सात दलको एकता तोड्न पाइन्न, राजनीतिक सहमति कायम गर, निर्वाचन तिथि तुरुन्त घोषणा गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर लगायतका नारा लगाएका थिए। पक्राउ परेका विद्याथीलाई प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबमा लगिएको छ।
Popularity: 16%
October 29th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, अक्टोबर २९ -
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं सगरमाथा टेलिभिजनका सहसम्पादक रामजी दाहालमाथि प्रहरीले आज सिंहदरबारमा दुर्व्यवहार गरेको छ।
संसदको समाचार संकलनको लागि बिहान ११ बजेतिर सिंहदरबारको मूल ढोकामा कार्यालयको गाडीमै रहेको बेला सोधपुछ गरी परिचय पत्र मागेर फालि दिएको पत्रकार दाहालले जानकारी दिनुभयो।
महानगरीय प्रहरी प्रभाग सिंहदरबारका प्रमुख एवं प्रहरी इन्स्पेक्टर विष्णुवर सिह थापाले यस्तो दुर्व्यवहार गरेको उहाँले जानकारी दिनुभयो। आफू पत्रकार भएको परिचय दिएर परिचय पत्र देखाउँदा देखाउँदै प्रभागका प्रमुख थापाले म को हो चिनेको छ भन्दै धम्कीसमेत दिएको बताइएको छ।
समाचार संकलनका क्रममा सिंहदरबारभित्र छिर्न लाग्नुभएका पत्रकार दाहाललाई दुर्व्यवहार गरेकोमा रिपोर्टर्स क्लबले घोर भत्सर्ना एवं निन्दा गरेको छ। क्लबले आज विज्ञप्ति निकालेर पत्रकारमाथि यस्तो घटना हुनु लोकतान्त्रिक सरकारको लागि नै लाजमर्दो विषय भएको ठहर छ। क्लबले आफ्नो विज्ञप्तिमा दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै पत्रकारमाथि हुने गरेका आक्रमण र दुर्व्यवहार रोक्न लोकतान्त्रिक सरकारसंग आग्रह गरेको छ।
तराईको पत्रकारिता असुरक्षित बन्दै जांदा सिंहदरबारमा समेत राज्यले खटाएका सुरक्षाकर्मी पत्रकारमाथि दुर्व्यवहारमा उत्रनु चिन्ताजनक विषय भएको क्लवले जनाएको छ।
Popularity: 16%
October 29th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, अक्टोबर २९ -
अपहरणमा परेका पत्रकार वीरेन्द्र साहलाई तत्काल रिहा गर्न उनका परिवार तथा पत्रकारहरुले माग गरेका छन्।
नेपाल पत्रकार महासंघको संयोजनमा पत्रकार साहको परिवारले आज राजधानीमा गरेको कार्यक्रममा उनीहरुले यस्तो माग गरेका हुन्। कार्यक्रममा पत्रकार साहकी पत्नी उमरावतीदेवी साह, छोराछोरी र उनका भाईले जस्तो अवस्थामा भएपनि वीरेन्द्र साहको अवस्थाको सार्वजनिक गरिदिन माग गरेका छन्।
महासंघका सभापति विष्णु निष्ठुरी र महासचिव महेन्द्र विष्टले पत्रकार साहको अपहरणमा माओवादी कार्यकर्ताको संलग्नता रहेको पुष्टी भइसक्दा पनि माओवादी पन्छन खाजेको बताउनुभयो। उहाँले पत्रकार साहको अपहरण सिंगो पे्रसमाथिको हस्तक्षेप भएको भन्दै पत्रकारहरुले यो घटनालाई त्यसै नछोड्ने बताउनुभयो।
कार्यक्रममा पत्रकार महासंघ बारा शाखाका सभापति विनोद प्याकुरेलले अपहरणको घटना विवरण प्रस्तुत गर्नुभयो। पत्रकार साहको रिहाइको लागि पहल गर्ने उद्देश्यले महासंघ बारा शाखाको नेतृत्वमा ६ जना पत्रकारसहित पत्रकार साहका पत्नी, छोराछोरी र भाई राजधानी आएका छन्। साहका भाई भैयाराम साहले दाजुको तत्काल रिहा गर्न माग गरेका छन्। माओवादीका लालबहादुर चौधरीले पहिलादेखि नै आफ्ना दाजुलाई धम्की दिंदै आएकाले अपहरण माओवादीले नै गरेको दावी गरे। कार्यक्रमका सहभागीहरुले माओवादीले पछिल्लो अवस्थामा समितिहरु गठन गरेर घटनाको ढाकछोप गर्न लागेको आरोप लगाए। उनीहरुले अपहरित पत्रकारको अवस्था सार्वजनिक हुनुपर्ने, पे्रस स्वतन्त्रताको सुनिश्चित हुनुपर्ने, दण्डहीनताको अवस्था अन्त्य हुनुपर्ने लगायतका माग राखेका थिए।
पत्रकार साह गएको असोज १८ गते जिल्लाकै प्रि्रा बजारबाट अपहरमा परेका हुन्। अपहरणको घटनाको छानबिन गर्न हिजो माओवादीले पनि अध्ययन टोली गठन गरेको छ।
पत्रकार साहको अपहरणको विरोधमा नेपाल पत्रकार महासंघले भोलि विहान १० वजे नयाँबानेश्वरमा प्रदर्शन समेत गर्ने भएको छ ।
Popularity: 16%
October 29th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, अक्टोबर २९ -
व्यवस्थापिका संसदको विशेष अधिवेशनको आजको बैठक सकिएको छ। बैठक भोलि बिहान आठ बस्नेगरी आज टुंगिएको हो।
बिहान ११ बजे बस्ने भनिएको विशेष अधिवेशन सभामुखले दलका नेताहरुसँग छलफल गरेकोले केही ढिला गरी पौने २ बजेतिरमात्रै सुरु भएको थियो।
बैठक शुरु हुने बित्तिकै नेकपा एमालेका सांसद रघुजी पन्तले पत्रकार बीरेन्द्र साहको अपहरणको झण्डै महिना दिन हुन लागिसक्दा पनि राज्य र माओवादी दुवैले वेवास्ता गरेको भन्दै विरोध जनाएका थिए। बैठकमा माओवादीका संसदिय दलका प्रमुख कृष्णबहादुर महराले माओवादीले दर्ता गराएको प्रस्ताव पेश गर्नुभएको थियो।
बैठक भोलिसम्मका लागि स्थगित भएको भए पनि माओवादी प्रस्ताव अल्पमतमा पर्ने प्राय निश्चित भएको छ। यस अघि आज बिहान बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले माओवादी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ भने नेकपा एमालले आफुले पेस गरेको सहमति सहितको समानुपातिक प्रस्तावको पक्षमा मतदान गर्ने बताइसकेको छ।
Popularity: 16%
October 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
दशैँअगाडि राजनीतिक सहमतिका लागि स्थगित गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दैछ। त्यसअघि माअोवादीले राखेको प्रस्तावका विषयमा राजनीतिक सहमति जुटाउन दलका नेताहरु बैठक बसिरहेका छन्।
बैठकमा राजनीतिक सहमति भएन भने सबैभन्दा पहिला एमालेले राखेको संशोधन प्रस्तावमा र त्यसपछि मूल प्रस्तावमा मतदान हुनेछ।
यसैबीच काँग्रेस संसदीय दलको आज बसेको बैठकले प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
माअोवादी संसदीय दलको बैठकले भने अडान नछाड्ने निर्णय गरेको छ। बैठकले आफ्नो प्रस्तावमा सहयोग गर्न एमालेलाई आग्रह गर्ने भएको छ।
एमालेको सहयोग भए पनि प्रस्ताव पास त हुनेछ तर संविधान संशोधनका लागि चाहिने दुई तिहाई मत भने काँग्रेसको सहयोग बिना संभव छैन।
Popularity: 16%
October 29th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अरनिको राजमार्गमा भइरहेका आपराधिक क्रियाकलापको अन्त्य गरी यात्रु, मजदुर र सवारीसाधनको सुरक्षाको माग गर्दै सो राजमार्गमा चल्ने यातायात मजदुरहरूले आजदेखि यस रुटमा चल्ने सम्पूर्ण यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका छन् ।
अखिल नेपाल यातायात मजदुर सङ्घ, अरनिको मूल एकाइ समितिले भक्तपुरको सल्लाघारीमा एक पत्रकार सम्मेलन गरी अरनिको राजमार्गमा यातायात निर्वाधरूपमा सञ्चालन गर्नसक्ने वातावरण नबनेसम्म सवारीसाधन बन्द गर्ने जानकारी दियो ।
अरनिको यातायात मूल इकाइ समितिका अध्यक्ष दिर्जालाल श्रेष्ठले अरनिको राजमार्गमा यातायात मजदुर, सवारीसाधन र यात्रु दिनानुदिन कुटिने, लुटिने र तोडफोड हुनेजस्ता घटनाका बारेमा सुरक्षा निकाय र प्रशासनलाई पटकपटक जानकारी गराउँदा पनि कुनै पहल नभएपछि यातायात मजदुरहरू यातायात सेवा बन्द गर्न बाध्य भएको बताउनुभयो ।
अरनिको राजमार्गअर्न्तर्गत काभ्रेको साँगा, बनेपा, धुलिखेल, खावादेखि दोलालघाटसम्म र सिन्धुपाल्चोकको वनदेउदेखि तातोपानीसम्म र जिरी सडकको पाखर सडकखण्डमा सवारीसाधन अवरोध गरी चन्दा असुली, मजदुर, यात्रुमाथि कुटपिट र लुटपाटका क्रियाकलाप व्यापकरूपमा भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
Popularity: 16%
October 29th, 2007
Previous Posts