Archive for October 8th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, अक्टोवर ८ -
सरकारले दरबारको सम्पत्ति राष्ट्रियकरण गर्न थप प्रक्रिया अघि बढाउने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले दरबारको सम्पत्ति राष्ट्रिय करण गर्न बनेको मन्त्रिस्तरीय समितिको प्रतिवेदन अनुमोदन गर्दै थप प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
बैठकले राष्ट्रियकरण भएको दरबारको सम्पत्ति ट्रष्ट बनाएर राष्ट्रिय हितमा प्रयोग गर्न आवश्यक कानुन छिटै निर्माण गर्ने निर्णय पनि गरेको छ।
यसैबीच बैठकले माओवादी छापामारलाई दिन बाँकी रहेको तीन महिनाको तलब तत्काल उपलब्ध गराउने निर्णय गरेको छ।
देशभरका स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि निर्णय गरेको बताइएको छ। बैठकमा सचिव नियुक्तिका विषयमा कुरा उठे पनि निर्णय हुन नसकेको र आगामी बैठकले त्यसबारे निर्णय गर्ने स्वास्थ्यमन्त्री गिरिराजमणी पोख्रेलले जानकारी दिनुभयो।
Popularity: 17%
October 8th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, अक्टोवर ८ -
स्कुलबाट घर फर्कने क्रममा चारदिनअघि अपहरणमा परेका राजधानीको सैंबुका आठ वर्षीय बालक धिरज अधिकारी आज बिहान मृत अवस्थामा फेला परेका छन्।
शहिद धर्मभक्त स्कुलमा कक्षा २ मा पढ्ने धिरज गत १७ गते विद्यालयबाट घर फर्कने क्रममा अपहरणमा परेका थिए। आज बिहान बोरा भित्र घांटीमा डोरीले बाँधेर फालेको अवस्थामा राजधानीको बालकुमारी पुलमुनि उनको शव भेटिएको प्रहरीले जनाएको छ।
यसैबीच उनको अपहरण र हत्याको मुख्य योजनाकारसहित अन्य २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हत्याका मुख्य योजनाकार सैइबुका नविन श्रेष्ठसहित टिकाराम श्रेष्ठ र भोजकुमार तामाङ रहेका छन्। उनीहरुले गत १७ गते विद्यालयबाट फर्कने क्रममा धिरजलाई अपहरण गरेको र उनको हत्या समेत आफैले गरेको स्वीकारेको प्रहरीले बताएको छ।
धिरजका छिमेकी श्रेष्ठले उनको अपहरणपछि हत्या किन गरे भन्ने बारेमा भने केही खुल्न सकेको छैन। तर धिरजका बुवा अर्जुन अधिकारी र नविनबीचको व्यक्तिगत रिसिबिका कारण उनको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
यसैबीच मृतकका आफन्त र आक्रोसित स्थानीय बासिन्दाहरुले अहिले राजधानीको बालकुमारी, सैइबुलगायतका स्थानमा विरोध प्रदर्शन गरिरहेका छन्। हत्यारालाई कडा भन्दा कडा कारवाहीको माग गर्दै उनीहरुको प्रदर्शनका कारण अहिले त्यस क्षेत्रको यातायात ठप्प भएको छ।
(HKNepal.com, Last updated: 1:30 NST)
Popularity: 17%
October 8th, 2007
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, अक्टोवर ८ -
माओवादी नेता सिपी गजुरेलले आफ्ना सेनालाई दिने भनिएको रकम भोलिसम्म निकासा नभए छापामारले शिविर छाड्ने चेतावनी दिनुभएको छ।
शिविरमा रहेका छापामारका समस्याबारे सरकार गम्भीर नरहेको आरोप लगाउँदै उहाँले रकम निकासा नभए शिविरबाट बाहिरिनुको विकल्प नभएको दाबी गर्नुभयो।
रिपोर्टर्स क्लबले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गजुरेलले भोलिसम्म रकम निकासा नभए हतियार सुरक्षाका लागि आवश्यक बाहेक अन्य छापामार शिविर बाहिर निस्केर रकम आर्जन हुने कार्यमा लाग्ने उहाँले बताउनुभयो।
नेता गजुरेलले एमालेले दोधारे चरित्र देखाएर संविधानसभा निर्वाचनको वातावरण विथोलेको आरोप लगाउनुभयो।
Popularity: 17%
October 8th, 2007
शमशेर चाम्लिङ, अमेरिका / एचकेनेपाल डट कम, अक्टोबर ८ -
अमेरिकामा बसोबास गर्दै आइरहेका नेपालीहरुको हालै विभिन्न कारणले मृत्यु भएकोमा दुःख व्यक्त गर्दै युनाइटेड किरात राई ओर्गाइजेशनले एक प्रेस विज्ञप्ति जारी गरेको छ।
ओर्गानाइजेशनका सभापति शिवकुमार राईले जारी गर्नुभएको विज्ञप्तिमा नेपाली परिवारमा परेको शोकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समबेदना प्रकट गर्नुभएको छ। उहाँले मृतात्महरुको चिरशान्तिको कामनासहित दुःखद घडिमा सबै नेपालीहरुलाई सहयोगको अपिल गर्नुभएको छ।
कास्की जिल्ला घर भै लस एन्जल्स क्यालिफोर्नियामा बसोबास गर्दै आएकी नृत्य कलाकार तारा गुरुङको अमेरिकन श्रीमान ४० वर्षीय डोनोभांको गत ३० सेप्टेम्बरमा निधन भएको छ। त्यसै गरी, लम्जुङ घर भै विगत ५ वर्षदेखि न्युयोर्कमा बसोबास गर्दै आएका ३७ वर्षीय खामिनद्रमान घले क्यान्सर रोगका कारण गत २९ सेप्टेम्बरमा निधन भएको छ। घले तमु सोसाइटी अफ युएसएका भूतपूर्व कोषाध्यक्षसमेत रहेका थिए।
काठमाडौ बौद्ध बस्ने २६ वर्षीया हिस्सी नगरकोटी र सामाखुसी बस्ने २६ वर्षीय सुनिल गुरुङको ५ अक्टोबर समुद्रमा डुब्दा मृत्यु भएको छ। २६ सेप्टेम्बर राति करीव १० बजे समुन्द्री किनारा वाटर फ्रन्टस्थित पार्किङबाट गाडी निकाल्दा गाडी अचानक समुन्द्रमा खसेको थियो। करीब आधा घण्टाभित्र प्रहरीले उद्धार गर्दा सिल्टबेल्टसहित फेला पारी अस्पताल लगिएकोमा उपचार हुंदा हुदै मृत्यु भएको थियो।
Popularity: 17%
October 8th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नवनियुक्त प्रधानन्यायाधीश केदारप्रसाद गिरीले अदालतमा भ्रष्टाचार नियन्त्रण गरी यसलाई प्रभावकारी बनाउन आफूले का.मु प्रधानन्यायाधीश भएदेखि नै कार्य प्रारम्भ गरेको बताउनुभएको छ ।
पदबहालीपछि आयोजित पत्रकार सम्मेलनमा पत्रकारका जिज्ञासाको जवाफमा उहाँले संसदीय सुनुवाइका कारण करिब एक महिनासम्म प्रधानन्यायाधीशको पद रिक्त हुनु विद्यमान परिस्थितिकै उपज भएको उल्लेख गर्दै न्यायसम्पादनका क्रममा कुनैपनि मुद्दालाई राजनीतिकरण हुन नदिने र निष्पक्ष भएर न्याय दिने दृढता व्यक्त गर्नुभयो ।
विशेष अदालत सफाइ अदालत भएको भन्ने प्रश्नको जवाफमा प्रधानन्यायाधीश गिरीले यस विषयमा आफूले अध्ययन प्रारम्भ गरिसकेको र सो अदालतलाई पनि प्रभावकारी बनाउन पहल गरिने बताउनुभयो ।
यसअघि आफ्नो लिखित विज्ञप्ति पढ्दै उहाँले न्याय प्रशासनमा प्रभावकारिता ल्याउन मुद्दाको कारबाही र किनारा गर्ने न्यायाधीशलाई बढी जवाफदेही बनाउन खास प्रकारका मुद्दा खासखास न्यायाधीशबाट हेर्ने गरी प्यानल सिस्टम लागु गर्ने, राष्ट्रिय सरोकारका मुद्दालाई प्राथमिकता दिने र मुद्दाको विषयवस्तु र प्रकृतिका आधारमा खास विषयका मुद्दा सोही विषयमा विशेषज्ञता हासिल गरेका न्यायाधीशबाट हर्ेन विशिष्टिकृत इजलासको अवधारणा लागु गर्ने जानकारी पनि दिनुभयो ।
प्रधानन्यायाधीश गिरीले न्यायमा सरोकारवालाको पहुँच बढाउने कार्यमा ध्यान दिने, न्यायपालिकाको संस्थागत संरचनामा सुधार ल्याउने, बार र बेञ्चका सम्बन्धमा सुधार गरी यसलाई र्सवधासाधारणको न्याय प्राप्त गर्ने हक अनुकूल गराउने, अदालतसँग सम्बन्धित सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउन सञ्चारनीति लागु गर्ने, न्यायिक अनुशासन कायम गर्न तथा उत्तरदायित्व बहनमा जोड दिने र बाल इजलास तथा वाणिज्य इजलास स्थापना गर्ने उल्लेख गर्नुभयो ।
Popularity: 17%
October 8th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
एक्लो जीवन कति पीडादायी हुन्छ भन्ने कुरा यो घटनाबाट देखिएको छ।
हेरविचार गर्ने कोही नभए पछि ओखलढुङ्गा जिल्ला नारायणस्थान गाविस, अँधेरी बस्ने ८१ वर्षीय एक वृद्धले झुण्डिएर आत्महत्या गरेका छन् ।
आफ्नो परिवार कोही नभएका गणेशबहादुर राईले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
Popularity: 17%
October 8th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)का नेता मोहन वैद्य ‘किरण’ले संसदबाट गणतन्त्रको घोषणा गराउन आफ्नो पार्टीले सात दलसँग वार्ता सुरु गर्न लागेको बताउनुभएको छ ।
गणतान्त्रिक रेडियो मञ्च नेपाल केन्द्रीय समितिद्वारा आयोजित ‘गणतन्त्र स्थापनामा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यक्रममा उहाँले सात दलको एकतालाई सिर्जनात्मक ढङ्गबाट पुनः मजबुत पार्नुपर्छ भन्नुभयो ।
नेता वैद्यले नेकपा (माओवादी) कुनै हालतमा सरकारमा नर्फकने, तर सरकारमा बस्ने दललाई भने सदैव सहयोग गर्ने बताउँदै मुलुकलाई समानुपातिक निर्वाचनप्रणालीमा लैजान र गणतन्त्रको घोषणा गराउन संसदको विशेष अधिवेशन आह्वान भएको उल्लेख गर्नुभयो ।
Popularity: 17%
October 8th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
रायमाझी आयोगद्वारा दोषी ठहरिएका शाहीकालका भेरी अञ्चल प्रशासक रामजी विष्टको चितवनको भरतपुर नगरपालिका वडा नं. २ क्षेत्रपुरस्थित घर वाइसिएल चितवनले आफ्नो कब्जामा लिएको छ ।
बिहान ११ बजेतिर जुलुससहित नारबाजी गर्दै विष्टको घर पुगेका वाइसिएलका कार्यकर्ताले घरमाथि झण्डा गाडेर घर कब्जामा लिएको घोषणा गरेका थिए ।
सो अवसरमा वाइसिएल चितवनका अध्यक्ष प्रकाश खनाल शैलेशले हाल भाडामा दिइएको सो घरबाट उठ्ने मासिक रु १० हजार भाडा आफूहरुले उठाउने बताउनुभयो ।
Popularity: 17%
October 8th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गिनिज बुकमा नाम लेखाउन सफल पर्वतारोही पेम्बादोर्जे सेर्पाले २०५ देशको शान्तिदूतको रुपमा नेतृत्व गर्दै सगरमाथा चढ्दा लगाएको ज्याकेट एउटा संग्रहाललाई हस्तान्तरण गरेका छन्।
२०५ देशका झण्डाअङ्कित सो ज्याकेट राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव जीवनराम श्रेष्ठमार्फत् नेपाल ओलम्पिक सङग्रहालयलाई हस्तान्तरण गरिएको हो।
उक्त अवसरमा सदस्यसचिव श्रेष्ठले खेलकुद क्षेत्रमा अझै धेरै कुराको खोजी गर्नुपर्ने बताउनुभयो ।
Popularity: 17%
October 8th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले दलहरुबीच राजनीतिक सहमति भएमा वि.सं. २०६४ भित्रै संविधानसभाको चुनाव हुने विश्वास व्यक्त गर्नुभएको छ । धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले परिवर्तित राजनीतिक परिस्थितिमा दलहरुबीच सहमति जुटाउन गम्भीर ढङ्गले सोच्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री र आफूबीच भएको भेटघाटमा जनमुक्ति सेनाको समस्या, बेपत्ता नागरिकको खोजी र सहिद परिवारलाई राहतलगायतका विषयमा छलफल भएको जानकारी दिनुभयो ।
परिवर्तित परिस्थितिमा गणतन्त्रको विषय र समानुपातिक निर्वाचन प्रणालीको विषयभन्दा बाहिरका पनि केही विषय हुन सक्छन्, त्यो विकल्प खोज्ने ढङ्गले छलफल भयो -अध्यक्ष प्रचण्डले भन्नुभयो ।
पत्रकारको प्रश्नमा उहाँले जनमसङ्ग्रह खाली राजतन्त्र र गणतन्त्र भन्ने मात्रै विषय नहुन सक्छ, समानुपातिक निर्वाचन प्रणाली पनि जनमतसङ्ग्रह हुनसक्छ भन्नुभयो ।
उहाँले दलबीच राजनीतिक विषयमा सहमति हुन नसके जनतामा जाने थुप्रै बाटा भएको पनि अौँल्याउनुभयो ।
एक अर्को प्रश्नमा उहाँले नयाँ राजनीतिक सहमति बनेमा माओवादी सरकारमा जाने बताउनुभयो ।
Popularity: 17%
October 8th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
विगत केही दिनदेखि आन्दोलनको नाममा विभिन्न समूह, समुदायद्वारा लगातार बन्द, हडताल, आगजनी, तोडफोडजस्ता अराजक एवं उच्छृङ्खल गतिविधिको सम्बन्धमा झापाको बिर्तामोडमा बसेको छ राजनैतिक दलको विशेष बैठकले ती घटनाको निन्दा गरेको छ ।
बैठकले एम्बुलेन्स तोडफोड गर्ने, बिरामीलाई अलपत्र पार्ने, दशैको मुखमा आएर बन्द गर्नेजस्ता कार्य रोकी वातारणलाई सहज बनाउन आग्रह गरेको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले गम्भीर स्थिति सहज तथा अनुकूल बनाउन जनताको र जनताको जिउधनको रक्षा गर्न जिल्लाको पश्चिमी क्षेत्र माइखोलादेखि मावा खोलासम्म लगाइएको कर्फ्युबाट पर्न गएको असुविधा र अप्ठेरो अन्त गर्नका लागि सम्पूर्ण झापाली समुदायलाई संयमता अपनाउन अपिल गरेको छ ।
Popularity: 17%
October 8th, 2007
पुरू जोशी, द. कोरिया एचकेनेपाल डट कम -
चितवन सम्पर्क समितिद्धारा आयोजित चितवन धमाका कार्यक्रममा सहभागी हुन द. कोरिया आएका नेपालका चर्चित वरिष्ठ कलाकार नायक राजेश हमाल, चर्चित लोक दोहोरी गायक बद्री पंगेनी र गायिका प्रिती आलेको सम्मानमा दक्षिण कोरियास्थित नेपाली राजदूतावासद्वारा एक रात्री भोजको आयोजना गर्यो।

अतिथि कलाकारहरुले रात्रिभोजका लागि कार्यवाहक राजदूत यादव खनाललाई धन्यवाद ज्ञापन व्यक्त गरेका थिए। त्यसै गरी नेपाली दूतावासले नेपाली कलाकारहरूले मुलुकबाट टाढा रहेका नेपाली माझ बेला बेलामा मनोरन्जन दिलाउनुका साथै कोरियाली जनता माझ आफ्नो संस्कृतिको प्रवर्द्धन गर्ने कार्यमा सहयोग गर्दै आएकोमा धन्यवाद ज्ञापन गरेको थियो।

सोही अवसरमा उपस्थित रहनु भएका आयोजक संस्था चितवन सम्पर्क समितिका अध्यक्ष गुन्जन श्रेष्ठले कार्यक्रम आयोजना गर्ने क्रममा नेपाली राजदूतावासले गरेको सहयोगको लागि संस्थाको तर्फबाट आभार ब्यक्त गर्नु भएको थियो।
Popularity: 17%
October 8th, 2007
एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
झापा जिल्लाको कमल खोलाको तोपगाछी नजिक प्रहरीको गोलीबाट आइतबार अपराह्न लिम्बुवानका एक कार्यकर्ता युवकको मृत्यु भएको छ ।
कर्फ्यु जारी रहेको सो क्षेत्रमा प्रहरीको गाडीमाथि ढुङ्गामुढा बर्साउन थाल्दा स्थिति नियन्त्रण गर्न प्रहरीद्वारा चलाइएको गोलीबाट युवकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जयमुकुन्द खनालले बताउनुभयो ।
मृतक राज आङदम्बे रहेको र उनी लिम्बुवानको कार्यकर्ता रहेको सङ्घीय लिम्बुवान राज्य परिषद्ले जनाएको छ ।
झापा जिल्लाको माइखोलादेखि पश्चिम मावाखोलाको २२ किलोमिटर महेन्द्र राजमार्ग क्षेत्रमा कर्फ्यु जारी नै छ ।
यसैबीच विराटनगरमा आइतबार दिउँसो हटाइएको कर्फ्यु संवेदनशील शान्ति सुरक्षाको स्थितिलाई हेर्दै राति पुनः लगाइएको छ।
Popularity: 17%
October 8th, 2007