Archive for November 2nd, 2007

गणतन्त्रको एजेन्डा अल्पमतमा नपार्न बाम दलहरुबीच छलफल

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २ -
नेपाली कांग्रेसको असहमतिका कारण संसदमा गणतन्त्रको एजेन्डा अल्पमतमा पर्ने भएपछि बाम दलहरुले आपसी छलफल तीब्र बनाएका छन्।

एमाले महासचिव माधवकुमार नेपालले आज बिहान जनमोर्चाका अध्यक्ष अमिक सेरचन र एकता केन्द्र मसालका महासचिप नारायणकाजी श्रेष्ठ प्रकाशसँग छलफल गर्नुभएको छ। राजधानीको कोटेश्वरस्थित महासचिव नेपालको निवासमा भएको भेटवार्तामा संसदमा विचाराधिन गणतन्त्रको प्रस्तावमा सहमति कायम गर्नेबारे छलफल भए पनि कुनै निष्कर्ष भने निस्कन सकेन।

माओवादी प्रस्तावबारे सात दलबीच सहमति कायम नभएसम्म एमाले आफ्नै संशोधन प्रस्तावमा अडिग रहने एमाले नेताहरुले बताएका छन्।

Popularity: 9%

1 comment November 2nd, 2007

सदभावनाको असन्तुष्ट पक्षले माओवादीका पक्षमा मतदान गर्ने

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २ -
दलहरुवीच सहमती नभएर संसदमा मतदान हुने अवस्था आए आफ्नो समूहले संघीय गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचनको पक्षमा मतदान गर्ने नेपाल संद्भावना पार्टी असन्तुष्ट पक्षका अध्यक्ष राजेन्द्र महतोले बताउनु भएको छ।

विराटनगरमा संचारकर्मीसंग कुरा गर्दै उहाले अफ्नो पाटी सधै समानुपातिक निर्वाचन र गणतन्त्रको पक्षमा रहेकाले यस्तो निर्णय गरेको बताउनु भयो। महतोले दलहरुबीच सहमती भए त्यसैका आधारमा अघि बढ्ने पनि बताउनु भयो। उहाले आफ्नो पार्टीले मधेसका १० हजार युवाहरुलाई संविधानसभाको निर्वाचन अघि विभिन्न सरकारी निकायमा सहभागी गराएर समावेशीकरणको नमुना देखाउन सरकारलाई दबाब दिने घोषणा गर्नुभएको छ।

Popularity: 9%

2 comments November 2nd, 2007

अमेरिकाले भारत र भुटानलाई दवाव दिने

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २ -
अमेरिकाले भुटानी शरणार्थी समस्याको दिगो समाधानका लागि भारत र भुटान सरकारलाई दबाब दिने भएको छ।

तेस्रो मुलुकमा पुनर्वासको तयारीका लागि नेपालको पूर्वी जिल्ला झापा र मोरङमा रहेका शरणार्थी शिविरहरुको अवलोकन भ्रमणमा आउनुभएका अमेरिकी सहायक विदेशमन्त्री एलेन साउब्रेरीले आज बिहान शरणार्थी शिविरका सचिवहरुसँगको छलफलमा यस्तो बताउनुभएको हो।

समाधानका लागि भारतीय भूमि महत्वपूर्ण हुने भएकोले भारतलाई समाधानतर्फ पहल गर्न मनाउने आश्वासन उहाँले दिनुभयो। झापाको बेलडांगीस्थित शिविरका सचिव, उपसचिवहरुसहितको टोलीले आज बिहान उहाँसँग भेटी शरणार्थी समस्या सुल्झाउन आग्रह गरेपछि सहायकमन्त्री साउब्रेरीको यस्तो आश्वासन आएको हो। शिविरको स्थलगत भ्रमणपछि उहाँ आजै राजधानी काठमाडौं आउने कार्यक्रम रहेको छ।

Popularity: 9%

Add comment November 2nd, 2007

७५ जिल्लाका बालबालिकालाई आज भिटामिन ए क्याप्सुल

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २ -
पाँच वर्ष मुनिका बालवालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने नियमित कार्यक्रम अन्तर्गत आज ७५ वटै जिल्लाका बालवालिका भिटामिन ए क्याप्सुल खुवाइदैछ।

मुलुकभरका सबै गाउँ विकास समितिका वडा कार्यालयहरुमा स्थापित केन्द्रमा बालवालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन थालेको स्वास्थ्य जनसंख्या मन्त्रालय भिटामिन ए कार्यक्रमले जनाएको छ। आज खुवाउन छुटेकाहरुलाई भोलि खुवाइने छ।

भिटामिन ए संगै एक वर्षदेखि पाँच वर्षसम्मका बालवालिकालाई जुकाको औषधि पनि खुवाइदैंछ। यस वर्ष करिब ३७ लाख बालवालिकालाई भिटामिन ए र ३१ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ।

Popularity: 9%

1 comment November 2nd, 2007

सार्वजनिक सवारी साधनको भाडा तत्कालकालागि बृद्धि नगर्ने

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २ -
सरकारले सवारी साधनमा मूल्यवृद्धि गरेपनि सार्वजनिक सवारी साधनको भाडा भने तत्कालका लागि नबढाउने निर्णय गरेको छ।

सरकार र यातायात व्यवसायी प्रतिनिधिहरुबीच सिंहदरबारस्थित श्रम मन्त्रालयमा आज बिहान भएको छलफलमा यस्तो निर्णय भएको हो।

पेट्रोलियम पदार्थमा बढेको मूल्यलाई ध्यानमा राखी वैज्ञानिक आधारमा भाडा वृद्धिको सिफारिस गर्न यातायात व्यवस्था विकागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरेको छ। समितिलाई २० दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्न जिम्मेवारी पनि दिइएको बैठकमा सहभागी यातायात व्यवस्था राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिनुभयो ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिपछि यातायात व्यवसायीहरुले आफूखुसी भाडा बढाएपछि सर्वसाधारण भने मर्कामा परेका छन्।

Popularity: 9%

Add comment November 2nd, 2007

विशेष अधिवेशन अहिलेसम्म सुरु हुन सकेन

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २ -
माओवादीले संसदमा दर्ता गराएको प्रस्तावमा सहमति जुटाउने प्रयास जारी रहेकाले ब्यावस्थापिका संसदको आजको बैठक अहिले सम्म पनि शुरुहुन सकेको छैन।

संसदको बैठक केहिबेर पछि शुरु हुने एमाले नेता झलनाथ खनालले जानकारी दिनुभयो। आजको बैठक बिहान ११ वजे बस्ने भनिएको थियो। सात दलका बीचमा सहमति जुट्ने संवाभना कम हुदै गएको नेताहरुले बताएका छन्। सहमति नजुटेमा मतदानमा गएर आजै संसदको बैठक अन्त गरिने बताइएको छ।

हिजो नै मतदान गरेर संसदको बिषेश अधिवेशन समापन गर्ने भनिएपनि दलहरुका बीचमा अन्तिम सहमति गर्नका लागि आजसम्मका लागि स्थागित गरिएको थियो। माओवादी आजै संसदको बैठक समापन गर्ने भन्दै आएको छ।

सभामुख सुभाष नेम्वाङ, गृहमन्त्री कृष्णप्रसाद सिटौला, एमाले नेता झलनाथ खनाल, र कांग्रेसका मुख्य सचेतक आनन्दप्रसाद ढुंगानाका बीचमा छलफल भएको थियो। संसदको बिषेश अधिबेशनमा आज सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै पार्टीहरुलाई संसदमा दर्ता गरेका प्रस्ताव फिर्ता लिन आग्रह गर्नुहुने बताइएको छ। माओवादी प्रस्तावमाथि सांसदहरुले बोल्ने क्रम भने हिजो नै सकिएको छ। आजको बैठकमा पनि केही सांसदले छलफलमा भाग लिने संसद सचिवालयले जनाएको छ।
(Last updated: 16:05 Hong Kong HST)

Popularity: 9%

Add comment November 2nd, 2007

व्यवसायी अपहरणको विरोधमा बिहानैदेखि कलंकीमा चक्काजाम

दीपक अधिकारी, काठमाडौं र एचकेनेपाल डट कम, नोभेम्बर २ -
अज्ञात समूहले गए राति कलंकीबाट एक यातायात व्यवसायीलाई अपहरण गरेको विरोधमा यातायात मजदुर र व्यवसायीहरुले आज बिहानैदेखि काठमाडौंको कलंकीमा चक्काजाम गरेका छन्।

मितेरी यातायातका रमेशराज शर्मालाई कलंकीबाटै अपहरण गरिएपछि उनको तत्काल रिहाइको मागगर्दै व्यवसायीले सडकमा गाडी तेर्साएर बिरोध पदर्शन गरिरहेका छन्। चक्काजामका कारण काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं भित्रिने सवारी साधन बिचमै रोकिएका छन्।

प्रहरीले अपहरणकारीको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको बताएको छ। त्यसैगरी अहिलेसम्म कसैले पनि अपरहणको जिम्मेवारी लिएको छैन।

Popularity: 9%

Add comment November 2nd, 2007

राजपरिषदका पूर्वसदस्य वाइसीएलद्वारा अपहरित

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २ -
राजपरिषद स्थायी समितिका पूर्व सदस्य द्वारिकामान सिंह प्रधानलाई माओवादी निकट वाइसिएलका कार्यकर्ताले गएराति दोलखाबाट अपहरण गरेका छन्।

एक भिक्षुलाई लिएर पुर्खौली थलो दोलखा गएका प्रधानलाई गएराति साढे १२ बजे अपहरण गरिएको परिवारले जनाएको छ। चरिकोटस्थित त्रिपुरा गेष्टहाउसमा बसेका उनलाई एक दर्जनको समूहमा रहेका कार्यकर्ताले अपहरण गरेको बताइएको छ। माओवादीका जिल्ला नेताले अपहरणको स्वीकार गरेपनि उनलाई कहाँ राखिएको छ भन्ने बताएको छैन। उनलाई राजावादीको आरोपमा अपहरण गरिएको बताइएको छ।

Popularity: 9%

Add comment November 2nd, 2007

एमाले नेता अधिकारी भेटघाटमा व्यस्त

एचकेनेपाल डट कम, युएइ नोभेम्बर २ -
नेकपा एमालेका नेता तथा वर्तमान अन्तरिम व्यवस्थापिका संसद सदस्य भरतमोहन अधिकारी आफ्नो निजी भ्रमणका क्रममा गत आइतबार यूएइ आइपुग्नु भएपछि हाल उहाँ प्रवासी नेपालीहरुसँगको भेटघाटमा व्यस्त रहनु भएको छ।

निजी भ्रमण भए पनि आफूले प्रवासी नेपालीहरुको बास्तविक अवस्थाको बारेमा जान्न चाहेको बताउने एमाले नेता अधिकारी प्रवासी नेपालीहरुद्वारा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी भएर वर्तमान नेपालको राजनीतिक अवस्थाका बारेमा जानकारी दिंदै प्रवासीहरुका समस्या लगायतका विषयहरुमा जानकारी बटुलिरहनु भएको छ।

यसै क्रममा सांसद अधिकारी बिहीबार बेलुकी नेपाली दूतावासका प्रथम सचिव प्रकाशमणि पौडेलद्वारा आफ्नो निवासमा आयोजना गर्नु भएको स्वागत समारोहमा सरिक हुनु भयो। कार्यक्रममा नेपाली दूतावासका कावा राजदूत मोहनकृष्ण श्रेष्ठ तथा परिवार, तृतीय सचिव, नेपाली समाजका अध्यक्ष, एनआरएनका उपाध्यक्ष लगायत पत्रकारहरुको पनि उपस्थिति रहेको थियो।

उहाँले प्रवासी नेपालीहरुसँगको भेटमा नेपाल र यूएइबीचको सम्बन्ध बिस्तार लगायत नेपालको विकासमा यूएइबाट हुन सक्ने सहयोग र सम्भावनाका बारेमा छलफल गर्नु भएको छ भने प्रवासमा रहेर नेपालीहरुले भोग्नु परेका समस्याहरुका कारण र त्यसका निराकरणका सम्भावनाहरुका बारेमा पनि छलफल गर्नुभएको छ।

Popularity: 9%

Add comment November 2nd, 2007

कोरियामा नेपाली खेलाडीलाई सफलता

पुरू जोशी, द. कोरिया / एचकेनेपाल डट कम, नोभेम्बर २ -
तेस्रो कोरिया अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिन नेपाली खेलाडीले कांस्य पदक जितेका छन्।

नोभेम्बर १ देखि शुरु भै भोलि नोभेम्बर ३ सम्म सन्चालन हुने तेस्रो कोरिया अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिनमै नेपालकी बिमा राईले फिन वेट तर्फ नेपाललाई कांस्य पदक दिलाउन सफल भएकी हुन्।

विश्वका कुल ३३ वटा देशका खेलाडी सहभागिता रहेको यस प्रतियोगितामा हिजो नेपालका अन्य प्रतिष्पर्धी खेलाडीहरु कुमार मानन्धर, पुष्प थापा मगर, पिताम्बर उप्रेतीले अन्यन्तै राम्रो खेल देखाए पनि पदक हात पार्न सकेनन् भने आज हुने खेलमा आयशा शाक्य, पद्मा गुरुङ र मनिता शाहीले प्रतियोगितामा सहभागिता जनाउनेछन्। भोलि अन्तिम दिन साग प्रतियोगितामा लगातार ३ वटा स्वर्ण हात पारी ह्याट्रिक गर्न सफल नेपाली खेलाडी दिपक विष्ट र गणेश खड्काको खेल हुने भएको छ।

Popularity: 9%

Add comment November 2nd, 2007

संसदमा पुरानै अडान

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २ -
गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माओवादी प्रस्तावमाथि व्यबस्थापिका संसदको विशेष अधिवेशनमा हिजो पनि दलका सांसदहरुले आ-आफ्नै दलका अडान दोहोर्याएका छन्।

बैठकमा बोल्दै कांग्रेस सांसदहरु सुजाता कोइराला, चिरन्जिवी वाग्ले लगायतले माओवादीको हठ र जिद्धीले राष्ट्रिय बिखण्डन आउन लागेको दावी गर्नुभएको छ। माओवादीले चाहैको जस्तो गणतन्त्रको पक्षमा कांग्रेस नरहेको उहाँहरुको धारणा थियो।

त्यस्तै एमालेका रिजमान अन्सारीले कांग्रेस र माओवादी दुवैले एमालेको संसोधन प्रस्तावमा सहमत जनाए सहमतिमा पुग्न सक्ने बताउनुभयो।

माओवादीका प्रभु शाह र रुपा चौधरीले माओवादीले संसदको बैठकबाट प्रस्ताव फिर्ता नलिने बताउनुभयो।
दलहरुबीच राजनितिक सहमति कायम हुन नसकेपछि व्यवस्थापिका संसदको विशेष अधिवेसनमा माओवादीले प्रस्तुत गरेको प्रस्ताबमा मतदान हुने सम्भावना बढ्दै आएको छ। लगातार तीन दिनदेखि बसेको बैठकले कुनै निश्कर्ष दिन नसके पछि पुन आज पुनः बैठक बस्ने भएको छ।

Popularity: 9%

1 comment November 2nd, 2007

अज्ञात समूहद्वारा युवकको हत्या

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २ -
सिरहामा अज्ञात समूहले एकजना युवकको बुधबार राति हत्या गरेको छ। सिराहा बस्तीपुर गाबिस-३ का अन्दाजी २७ वर्षीय आनन्द यादबलाई लहानको जे.एस. मुरारकार क्याम्पस नजिक अज्ञात समूहले हत्या गरेको हो।

उनलाई बाटोको कलभर्टमा फालिएको अबस्थामा स्थानीय बासिन्दाले बिहीबार बिहान मृत अबस्थामा फेला पारेका हुन्। मृतक यादब माओबादीका पूर्व कार्यकर्ता भएको जनाएको छ। हत्याको जिम्मावारी कसैले लिएका छैनन्।

Popularity: 9%

Add comment November 2nd, 2007

बीरगंजमा सम्साझै बम विस्फोट, एकको मृत्यु पाँच घाइते

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २ -
दशै भरी शान्त रहेको वीरगन्जमा हिजो साँझ प्रेशर कुकर बम विष्फोट हुँदा एकको मृत्यु भएको छ भने ५ घाइते भएका छन्।

घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको छ। बीरगंजको मुटु मानिने घण्टाघरस्थित जुत्ता पसल नजिकै उक्त बम विस्फोट भएको प्रहरीले जनाएको छ। प्रहरी उपरिक्षक जयवहादुर चन्दका अनुसार मृतक बम बोकेर आएका व्यक्ति थिए। उनले किन र कुन प्रयोजनका लागि बम बोकेर हिंडेको थिए भन्ने बारेमा भने कुनै जानकारी नरहेको उनले बताएका छन्।

विष्फोटमा घाइते हुनेहरुमा वीरगन्ज उपमहानगरपालिका - १० निवासी राजेश महरा, प्रभु महरा, इन्दु महरा, दशरथ महराको पहिचान भएको छ भने अर्का एक घाइतेको पहिचान हुन सकेको छैन। पहिचान हुन नसकेको व्यक्तिको अवस्था चिन्ताजनक रहेको र सोही व्यक्तिले बोकेको बम विष्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन्। विष्फोट पछि प्रहरीले सुरक्षा जाँच कडा बनाएको छ भने वीरगन्ज भन्सार नाका पनि बन्द गरिएको छ।

घाइतेहरुको वीरगन्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरिक्षक रमेशशेखर बज्राचार्यले जानकारी दिनुभयो।

Popularity: 9%

Add comment November 2nd, 2007

अण्डर १५ क्रिकेट प्रतियोगिताको खेलमा बिराटनगर बिजयी

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर २ -
राजधानीमा जारी पेप्सि अण्डर-१५ क्रिकेट प्रतियोगिता अर्न्तर्गत बिहीबार सम्पन्न खेलमा क्षेत्र नम्बर १ विराटनगरले क्षेत्र नम्बर ६ बैतडीलाई ६७ रनले पराजित गरेको छ।

ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेल मैदानमा टस जिती पहिले ब्याटिङ गरेको विराटनगरले पुरै ४० ओभरमा २ विकेट गुमाएर २३० रन तयार पारेको थियो। विराटनगरका लागि समेश यादवको ६८ तथा सनि पुनको ६४ रनको योगदान सामेल रहृयो।

जवाफी ब्याटिङमा उत्रिएको क्षेत्र नं.६ वैतडी पुरै ओभरमा अल आउट भै १६३ रनमा अल आउट भएपछि विराटनगरले यो जित दर्ता गराएको हो। कप्तान प्रदीप ऐरेको ४५ तथा गोकुल जोशीको ४० रनको योगदानका बाबजुद वैतडीले आफ्नो जित सुनिश्चित गर्न सकेन र ६७ रनको विशाल अन्तरको पराजय बेहोर्न बाध्य भयो।

प्रतियोगिता अन्तर्गत आजको खेल क्षेत्र नं.१ विराटनगर र क्षेत्र ३ काठमाडौबीच हुने छ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा क्रिकेट संघ क्षेत्र नं.३ को व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भैरहेको छ।

Popularity: 9%

Add comment November 2nd, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....