Archive for November 3rd, 2007

माओवादी प्रस्तावमा सहमतिको सम्भावना बढेको छ - एमाले महासचिव

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ३ -
नेकपा एमालेका महासचिव माधवकुमार नेपालले गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचन प्रणाली सम्बन्धी माओवादीको प्रस्तावमा सहमतिको सम्भावना बढेको बताउनुभएको छ।

महासचिव नेपालले सहमति जुटाउन कै लागि संसदको विशेष अधिवेशन दुई दिन लम्ब्याउनु परेको बताउनुभयो। आज शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव नेपालले संसदमा दर्ता भएका प्रस्तावमा मतदान हुँदा सात दलीय एकता टुट्न सक्ने भएकाले सहमतिका लागि प्रयास गरिएको स्पष्ट पार्नुभयो।

संसदमा एमालेले दर्ता गराएका संशोधन प्रस्तावमा समर्थन जनाउन आग्रह गर्दै महासचिव नेपालले त्यसो भएमा सबै समस्याको समाधान हुने दाबी गर्नुभयो।

Popularity: 9%

Add comment November 3rd, 2007

काठमाडौं अण्डर १५ राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा प्रवेश

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ३ -
काठमाडौं, अण्डर १५ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज शनिवार भएको क्वार्टर फाइनल खेलमा बैतडीलाई २ रनले हराउँदै काठमाण्डुले सेमीफाइनलको यात्रा पक्का गरेको हो।

टस जितेर पहिले ब्याटिङ थालेको काठमाण्डुले निर्धारित ४० ओभरमा ९ विकेट गुमाई १ सय ७१ रन बनाएको थियो। काठमाडौंको लागि ब्रजेस बहादुर सिंहले सबैभन्दा बढि २६ रन बनाए। बैतडीका सुनिल तामाङले काठमाडौंको ४ विकेट झारेका थिए। काठमाडौंले दिएको १ सय ७२ रनको चुनौति पछ्याउने क्रममा बैतडी ३७ ओभरमा १ सय ६९ रन बनाउने क्रममै अल आउट भयो र जित काठमाडौंको पक्षमा गयो।

म्यान अफ दी म्याच भुवन कार्कीले बैतडीका लागि ६६ रनको योगदान दिए। काठमाडौंका असिम अख्तरले ४ तथा विजय गौतमले २ विकेट दिए। फाइनल प्रवेशका लागि अब काठमाडौंले बीरगञ्जको सामना गर्नेछ।
समुह ए अन्तर्गत हिजो भएको खेलमा क्षेत्र नम्बर ३ काठमाडौंलाई ३ विकेटले हराउँदै विराटनगर सेमिफाईनलमा प्रवेश गरको थियो।

भोलि भैरहवा र बिराटनगरबीचको सेमीफाईनल खेल हुनेछ।

Popularity: 9%

Add comment November 3rd, 2007

तत्काल गणतन्त्र र समानुपातिक निर्वाचन प्रणाली स्वीकार्य नहुनेः प्रधानमन्त्री

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ३ -
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्काल लागु गर्ने गरी संसदबाट गणतन्त्र घोषणा गर्नुपर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने माओवादी प्रस्ताव स्वीकार्य नभएको बताउनुभएको छ।

संविधानसभाको पहिलो बैठकबाट लागू हुने गरी संसदबाट गणतन्त्र घोषणा गर्न कांग्रेस सहमत भएको भोलिपल्टै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यस्तो बताउनुभएको हो। नेपाली कांग्रेसका वरिष्ठ नेताहरुसँग आज विहान वालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री कोइरालाले दलहरुबीच्ा सहमति कायम नभए संसदीय प्रकृयाबाट समाधान खोज्नुपर्ने बताउनुभयो। उहाँले संविधानसभाको चुनाव गर्ने राजनीतिक दलहरुबीच साझा प्रतिवद्धता आवश्यक रहेको समेत बताउनुभयो। त्यसका लागि राजनितिक सहमति खोज्न आफू प्रत्यत्नशील रहेको समेत उहाँको भनाई थियो।

छलफलमा प्रधानमन्त्री कोइरालाले संसदमा मतदान गर्ने प्रकृयालाई हारजीतको रुपमा नलिई राजनीतिक खेलको नियमको रुपमा लिन आग्रह गर्नुभएको कांग्रेसका नेता अर्जुननर सिंह केसीले जानकारी दिनुभयो। राजनीतिक सहमतिको खोजी गर्न केही दिनयता भएका राजनीतिक छलफल र भेटवार्ताहरुको समीक्षा गर्न आज विहान कांग्रेसका बरिष्ठ नेता, मन्त्री र केही केन्द्रीय सदस्यहरुसँग प्रधानमन्त्री कोइरालाले छलफल गर्नुभएको हो।

यसैबीच प्रधानमन्त्री कोइराला आज दिनभर भेटघाटमा व्यस्त रहनुहुने बालुवाटार स्रोतले बताएको छ। प्रधानमन्त्री कोइरालाले आज दिनभर सात दलका नेताहरुसँग छुटाछुटै छलफल गर्नुहुने स्रोतले बताएको छ।

Popularity: 9%

2 comments November 3rd, 2007

राजनीतिक गतिरोध अन्त्यका लागि भोलि सातदलको शीर्ष बैठक बस्ने

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ३ -
माओवादीद्वारा संसदमा प्रस्तुत गणतन्त्र र समानुपातिक निर्वाचन प्रणालीको बारेमा सहमति जुटाउन अन्तिम प्रयास स्वरुप भोलि बिहान सात दलका शीर्ष नेताहरुको संयुक्त बैठक पुनः बस्ने भएको छ।

दलहरुवीच संसदमा प्रस्ततु राजनीतिक प्रस्ताबमा सहमतिको नजिक पुग्न लागेको भन्दै हिजो बसेको विशेष अधिवेशन बैठक मतदानको अन्तिम तयारीमा पुगेर दुइ दिनका लागि स्थगित भएको थियो। आज बस्ने भनिएको सात दलको बैठक गृहकार्यको आवश्यकता औंल्याउँदै भोलि बिहान ८ बजेकालागि सारिएको एमाले नेता झलनाथ खनालले बताउनुभयो।

दलहरुवीच हिजो भएको पछिल्लो छलफलमा संसदबाट गणतन्त्रको घोषणा गर्ने कुरामा सहमति नजिक पुगेपनि लागु हुने मितिमा असहमति भएपछि राजनीतिक निकास निस्किन सकेको थिएन। विवाद कायमै रहेका कारण मतदानबाटै टुङ्गोमा पुग्ने तयारी स्वरुप शुरु भएको संसदको बैठक अन्तिममा आएको भोलि २ बजेसम्मका लागि स्थगित भएको थियो। आज विहानैदेखि शीर्ष दलहरु आन्तरिक तथा द्विपक्षीय र बहुपक्षीय भेटवार्तामा क्रियाशील रहेका छन्।

अहिले नेपाली काँग्रेसको आन्तरिक बैठक बसिरहेको र त्यसपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अन्य दलका नेताहरुसंग द्विपक्षीय र बहुपक्षीय छलफल गर्नुहुने नेपाली काँग्रेसमा महामन्त्री डा.रामवरण यादवले जानकारी दिनुभयो।

यता नेकपा एमालेले पनि आज दिउँसो आन्तरिक छलफल गरी सहमतिको प्रयास गर्ने जानकारी एमाले नेता रघुजी पन्तले दिनुभयो। पन्तका अनुसार हिजो नेपाली काँग्रेसले लचकता देखाए पनि माओवादीले अडान नछोडेका कारण अन्तिम समयमा मतदानको अवस्था केही समयका लागि टरेको हो। यता नेकपा माओवादी र अन्य दलहरु पनि आन्तरिक छलफलमा जुटेको बताइएको छ। सात दलका शीर्ष नेताहरुबीचको छलफलको ठ्याक्कै समय र स्थान निर्धारण नभैसकेपछि दिनभरिमा कुनै पनि बेला शीर्ष बैठक बस्ने नेताहरुले बताएका छन्।

हिजो सँसदमा मतदान हुने अन्तिम समयमा आएर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहमति खोज्ने आश्वासन दिएपछि संसद भोलिसम्मका लागि रोकिएको थियो। हिजो दिनभर आन्तरिक, दुइपक्षीय र बहुपक्षीय छलफलका बाबजुद सहमति नबनेपछि दलहरु मतदानको अवस्थामा पुगेका थिए। संसदमा मतदान भएमा दलहरुबीच विभाजन देखिने भएकाले त्यसो हुन नदिने प्रयास भैरहेको छ। माओवादीसहित तीन दलले संसदमा प्रस्तुत गरेको संविधान सभा अगावै गणतन्त्र घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा दलहरुबीच सहमति जुट्न सकेको छैन।

माओवादी प्रस्तावका बाबजुद नेकपा एमालेले अर्को प्रस्ताव दर्ता गराएको छ भने स्वयं नेपाली काँग्रेसले पनि आफ्नो तर्फबाट प्रस्ताव प्रस्तुत गरेको छ। हिजै माओवादी अध्यक्ष प्रचण्डले पनि काँग्रेस एमाले, जनमोर्चालगायत दलका नेताहरुसँग सहमतिको प्रयास गरेपनि त्यो परिणाममूखी हुन सकेको थिएन।

Popularity: 9%

1 comment November 3rd, 2007

अनिश्चितकालीन कपिलबस्तु बन्द

अनिश्चितकालीन कपिलबस्तु बन्द
दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ३ -
सरकारले उचित क्षतिपूर्ति नदिएको भन्दै कपिलबस्तु घटनाका पीडितहरुले हिजोबाट शुरु गरेको अनिश्चितकालीन कपिलबस्तु बन्दका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ भने अवरुद्ध महेन्द्र राजमार्ग आज पनि ठप्प छ।

गत भदौ ३० मा भएको कपिलवस्तु घटनाका पीडितहरुले जिल्लाका विभिन्न स्थान तथा राजमार्ग क्षेत्रमा अवरोध खडा गरेपछि हिजो देखि रोकिएका सयौँ सवारी साधन तथा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन्। पीडितहरुले चन्द्रौटालगायत आसपासका बजार पनि बन्द गराएका कारण जनजीवन कष्टकर बनेको छ।

सरकारले उचित क्षतिपूर्ति नदिएको, दोषीलाई कारवाही नगरेको, विस्थापितलाई पुनर्स्थापना नगरेको, मृतकलाई शहिद घोषणा गर्नुपर्ने माग गर्दै पीडितहरु पुन आन्दोलित भएका हुन।

घटनापछि गत असोज ५ गते सघर्ष समिती बनाई आन्दोलनमा उत्रेका पीडितहरुले सरकारको आश्वासनमा यस अघि दुई पटकसम्म आन्दोलन स्थगित गरेका थिए। गत भदौ ३० गते कपिलबस्तुको वीरपुरका मोहित खांको हत्यापछि भड्किएको हिंसामा १४ जनाको ज्यान गएको थियो भने २० करोड भन्दा बढिको क्षति र ५ हजार भन्दा बढि विस्थापित भएका थिए।

कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी बेणी माधव ज्ञवालीले सरकारले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउदै गएको र सरकार त्यसप्रति गम्भीर भएको भन्दै बन्द फिर्ता गर्न अनुरोध गरेपनि त्यो आग्रह प्रभावकारी भएन।

यसैबीच कपिलवस्तुमा छिमेकी भारतीय नाकावाट विस्फोटक पदार्थ आयात गर्न प्रतिवन्ध लगाइएको छ। जिल्ला सुरक्षा समितिको बैठकले तिहारको समयमा हुने पटका तथा विस्फोटक पदार्थहरु आयात गर्न, विक्री वितरण तथा पटका पड्काउनमा समेत प्रतिवन्ध लगाएको छ।

Popularity: 9%

Add comment November 3rd, 2007

अमेरिकी शरणार्थीमन्त्री र प्रधानमन्त्रीबीच भेटवार्ता

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ३ -
भुटानी शरणार्थीहरुको तेस्रो मुलुकमा पुर्नस्थापनाबारे अध्ययनका लागि नेपाल भ्रमणमा आउनु भएका अमेरिकी सहायकमन्त्री एलेन साउब्रेरीले आज प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग भेटवार्ता गर्नुभएको छ।

भेटमा भुटानी शरणार्थी समस्याको समाधानका बारेमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ। प्रधानमन्त्री कोइरालासंगको भेटका लागि अमेरिकी सहायक मन्त्री साउब्रेरी आज विहान साँढे ८ बजे प्राधानमन्त्री निबास बालुवाटार पुग्नुभएको थियो।

सहायक मन्त्री साउब्रेरीसंगको भेटमा अमेरीकी राजदूत न्यान्सी जे पाबेल पनि सहभागि हुनुहुन्थ्यो। भुटानी शरणार्थी समस्या समाधानको बारेमा अध्ययन तथा छलफल गर्न झण्डै दुई साताको नेपाल भ्रमणमा आउनु भएका सहयक मन्त्री साउब्रेरीले हिजो पूर्वी नेपालमा अवस्थित भुटानी शरणार्थी शिविरमा गई शरणार्थीहरुसंग भेटघाट गर्नुभएको थियो।

झापा वेलडागीस्थित शरणार्थी शिविरको अवलोकन गर्दै अमेरिकी साहयकमन्त्री एलेन साउव्रेरीले आफूले पाएको अवसर रोज्न भुटानी शरणार्थीसंग आग्रह गर्नुभएको छ। आगामी २००८ सम्ममा १५ हजार शरणार्थीलाई अमेरिका लगि सकिने जानकारी दिदै उहाँले भन्नुभयो- दुःख कष्टमा वस्नु पर्ने शरणार्थी जीवनवाट मुक्ति पाउनका लागि पनि अमेरिका जादा उत्तम हुने तर्क उहाँले दिनुभयो। उहाँले झापाका बेलडाँगी र खुदुनाबारी शिबिवरमा गई शरणार्थीसंग प्रत्यक्ष कुराकानी गरि तेस्रो देशमा उनीहरुको पुनर्बासबारे छलफल गर्नुभएको थियो।

Popularity: 9%

Add comment November 3rd, 2007

आपराधिक कार्यमा संलग्न १२ जना प्रहरीद्वारा सार्वजनिक

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ३ -
छुट्टाछुट्टै आपराधिक कार्यमा संलग्न १२ जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। पक्राउ परी सार्वजनिक भएकाहरुले लागू औषध चरेशको कारोबार गर्ने, मोटरसाइकल चोरी गर्ने, फोनबाट ज्यानमार्ने, अपहरण गर्ने र वेपत्ता पार्ने धम्की दिने कार्य गर्दै आएका थिए।

यसरी पक्राउ पर्नेहरुमा लागूऔषध चरेशको कारोबार गर्ने म्याग्दीका लिला शाही, कृष्ण पुन, बाग्लुङ्गका ओमबहादुर छन्त्याल, ढालबहादुर खत्री, जीवन सुनुवार, रोल्पाका विशन सिंह ठकुरी र टोप केसी रहेका छन्। त्यस्तै मोटरसाइकल चोरी गरी विक्री गर्दै आएका चितनवका प्रकाश बाबु घिमिरेलाई पनि प्रहरीले सार्वजनिक गरेको छ। यसैगरी प्रहरीले फोनबाट आफ्ना साथीका अभिभावकलाई ज्यानमार्ने, अपहरण गर्ने र वेपत्ता पार्ने धम्की दिँदै आएका जोरपाटी र लोकन्थलीका २ स्कुले बालकलाई पनि सार्वजनिक गरेको छ।

Popularity: 9%

Add comment November 3rd, 2007

प्रेस युनियनको राष्ट्रिय भेला आगामी २८ र २९ गते

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ३ -
नेपाल प्रेस युनियन केन्द्रीय समितिको राष्ट्रिय भेला आगामी मंसिर २८ र २९ गते राजधानीमा हुने भएको छ।

युनियनले जिल्ला, प्रतिष्ठान एवं उपशाखाका अध्यक्षहरुको भेला गर्न वरिष्ठ उपाध्यक्ष दामोदर दवाडीको संयोजकत्वमा व्यवस्थापन समिति समेत गठन गरेको छ। साथै युनियनको विधान अनुसार राजेन्द्र गौतमको सभापत्विमा नेपाल टेलिभिजनमा प्रतिष्ठान स्तरीय तदर्थ शाखा गठन गरिएको छ। युनियनका महासचिव विन्दुकान्त घिमिरेको संयोजकत्वमा भेलामा प्रस्तुत गरिने कार्यसूची तय गर्न एक मस्यौदा समिति समेत गठन गरिएको छ।

Popularity: 9%

Add comment November 3rd, 2007

पत्रकार साहको अपहरण सम्बन्धि प्रतिवेदन सभामुखलाई

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ३ -
बाराका पत्रकार वीरेन्द्र साहको अपहरण बारे छानविन गर्न गठित संसदीय समितिले घटनामा माओवादी जिल्ला जनसरकार प्रमुख लालबहादुर चौधरीलगायतको संलग्नता रहेको निश्कर्षसहितको प्रतिवेदन सभामुख सुभाष नेम्वाङलाई बुझाएको छ।

सांसद उर्मिला अर्यालको संयोजकत्वमा गठित समितिले शुक्रबार बुझाएको प्रतिवेदनमा चौधरीसहित माओवादी निकट थारुवान मुक्ति मोर्चाका अध्यक्ष कुन्दन र स्थानीय कार्यकर्ता रामएकबाल सहनी र हरेराम पटेल संलग्न रहेको जनाइएको छ।

प्रतिवेदनमा स्थानीय प्रशासनको लापरवाही र जिल्ला सुरक्षास्थितिका कारण अपहरणकारी भाग्न सफल भएको उल्लेख छ। प्रतिवेदन बुझ्दै सभामुख नेम्वाङले साहको अपहरण लोकतन्त्र र सिंगो पत्रकारितामाथिको प्रहार भन्दै दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउने बताउनुभएको छ। सभामुख नेम्वाङले दोषीमाथि सरकारले कारवाही गरे नगरेको बारे सदनले अनुगमन गर्ने बताउनुभयो।

Popularity: 9%

Add comment November 3rd, 2007

शरणार्थी शिविरमा हत्या

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ३ -
झापाको बेलडाँगी शरणार्थी शिबिरका एकजना शरणार्थीको बिहीबार राति हत्या भएको छ। बेलडाँगी शिबिरको सेक्टर ए का ३२ बर्षीय तेन्जिङ शेर्पाको शव शुक्रबार बिहान स्थानीयबासीले फेला पारेका थिए।

शेर्पालाई टाउकोमा धारीलो हतियार प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ। हत्याको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Popularity: 9%

2 comments November 3rd, 2007

कोरियामा आजु इन्टरनेशनल डे भव्यताका साथ सम्पन्न (+Photo)

डम्बर सुब्बा द. कोरिया / एचकेनेपाल डट कम, नोभेम्बर ३ -
दक्षिण कोरिया क्थङ्गगिदोको सुवनस्थित आजु यूनिभरसिटिद्वारा आयोजित आजु इन्टरनेशनल डे २००७ अक्टुबर १ तारिख बिहीबारको दिन भव्यताका साथ सम्पन्न भयो।

आजु यूनिभरसिटिमा अध्ययनरत नेपाललगायत अन्य विभिन्न ४० राष्ट्रका विधार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रत्येक राष्ट्रको लोक सांस्कृति झल्कने राष्ट्रिय पोशाक, परिकार एवं राष्ट्रको परिचयात्मक फोटोहरुको प्रदर्शनी गरिएको थियो। कार्यक्रममा कोरियन र विदेशी गरी अन्दाजी १ हजार जति विधार्थी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

कार्यक्रममा आजु यूनिभरसिटिका उच्च पदाधिकारीहरु, नेपालका कार्यवाहक राजदूत यादव खनाल, बंगलादेशका कुटनीतिज्ञलगायत अन्य राष्ट्रका तीन विधार्थी प्रतिनिधिले रिबन काटेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।

आजु यूनिभरसिटिका एक कोरियन विधार्थीले एकै स्थानमा विभिन्न राष्ट्रको लोक संस्कृति सम्बन्धि जानकारी हासिल गर्न पाएकोमा आफूलाई भाग्यमानी सम्झेको छु भन्दै आउदो दिनहरुमा पनि यस्तो कार्यक्रम हुन पर्ने आवश्यकता छ भने। त्यस्तै आजु यूनिभरसिटिमा अध्ययनरत जापानीज विधार्थी योसिकोले यस्ता कार्यक्रमले व्यक्ति बिशेष मात्र नभएर एक राष्ट्र र अर्का राष्ट्रको पारस्पारिक सम्बन्धमा घनिष्टता बढन सक्छ भन्नु भयो।

सोही यूनिभरसिटिमा अध्ययनरत नेपाली विधार्थी अर्जुन गुरुङले अन्तर्राष्ट्रिय स्तरमा नेपालीहरुको लोक संस्कृतिको परिचय गराउनु गौरवको बिषय हो भन्नु भयो।



नेपाली दूतावासका कार्यवाहक राजदूत यादव खनाललाई यस कार्यक्रममा कस्तो अनुभव प्राप्त गर्नु भयो भनी सोधिएको प्रश्नमा विदेशी भूमिमा व्यस्तताको बाबजुद पनि समयको सदुपयोग गरेर यस्तो अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा नेपालको परिचय गराउनु भनेको महान विषय हो भन्दै यस्ता कार्यहरुले राष्ट्रलाई ठूलो सहयोग पुग्न सक्ने विचार व्यक्त गर्नु भयो।

कार्यक्रममा विभिन्न किसिमका सामुहिक मनोरञ्जनात्मक खेलको व्यवस्था, कोरियन गीत प्रतियोगिता राख्नुका साथै कुन राष्ट्रको परिकार स्वादिष्ट भयो भन्ने बारेमा मुल्यांकन पनि गरिएको थियो। त्यस परिकारको मूल्यांकनमा चाईनिज खाना प्रथम भएको थियो भने नेपाल ३५ औ नम्बरमा परेको थियो।

Popularity: 9%

6 comments November 3rd, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....