Archive for November 5th, 2007

न्युयोर्कमा देवकोटा जयन्ती सम्पन्न (+Photo)

लक्ष्मी आङबुहाङ, न्यूयोर्क / एचकेनेपाल डट कम, नोभेम्बर ३ -
नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ९८औं जन्म जयन्ती न्यूयोर्कका नेपालीहरुले भब्यरुपमा मनाएका छ्न्।

दक्षिण एशियालीहरुको बहुल्यता रहेको स्थानीय ज्याक्सन हाईट्समा आयोजित ९८औं देवकोटा जयन्ती समारोहमा नेपालीहरुले महाकवि देवकोटालाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै नेपाली साहित्यलाई बिश्व साहित्यको स्तरमा पुरयाउने महामानवको सम्मान यसै गरी हुनुपर्ने कुरामा जोड दिए।

महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गरी शुरु भएको सो साहित्यिक सांझको प्रमुख अतिथि नेपालका सांसद चित्र बहादुर केसी हुनुहुन्थ्यो। कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालका आवासीय प्रतिनिधि एवम राजदूत मधुरमण आचार्य लगायतका बिशिष्ट ब्यक्तित्वहरुले महाकवि देवकोटाको योगदानका बारेमा प्रकाश पार्नु भएको थियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरद्वारा आयोजित सो कार्यक्रमकाबीच सम्पन्न यस बर्षको “देवकोटा जयन्ती-प्रतियोगितात्मक कवि गोष्ठी ” मा कवि मणी बाङदेल प्रथम भए। यसैगरी प्रतियोगितामा शहदेब पौडेल द्वितीय र खेम दाहाल तृतीय भएका थिए। उता बाल समूहतर्फ अनुपमा सापकोटा प्रथम, बसुधा सुबेदी द्वितीय र अद्रित खत्री तृतीय भएका थिए भने बिश्रान्ती बाग्ले र यसवस्ती रिजालले सान्त्वना पुरस्कार प्राप्त गरे।

प्रतियोगिताका बिजयीहरुलाई राजदूत मधुरमण आचार्यले पुरस्कार तथा प्रमाण पत्र बितरण गर्नु भयो। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरकी अध्यक्ष गीता खत्रीले च्याप्टरको गतिबिधिमाथि प्रकाश पार्नु भएको सो कार्यक्रमको संचालन शैलेष श्रेष्ठ, राम अविराम र सीता खरेलले गरेका थिए। महाकवी देवकोटाको योगदानका बारेमा मृदूला कोईराला र बसन्त श्रेष्ठले चर्चा गर्दै नेपाली साहित्य देवकोटा बिना अधूरो रहने बताउनु भयो।

सो अवसरमा प्रतियोगी र अप्रतियोगी गरी दर्जनौं कवि कबियित्रीहरुले आ-आफ्नो कविता बाचन गरेका थिए। कविता बाचनगर्नेहरुमा बसन्त श्रेष्ठ, राम अबिराम, राम फुयांल “रोदन”, तिर्थ राज वाग्ले, माधव भण्डारी, पुनम काफ्ले, सहदेब पौडेल, नगेन्द्र ईङनाम “आठराईली”, गीता खत्री, परिता राजभण्डारी, राज्य लक्ष्मी महत, गोबिन्द गिरी “प्रेरणा”, राजेन्द्र श्रेष्ठ, जगदीश उपाध्याय, ज्योति पौडेल, खेम दाहाल, मणि बाङदेल, प्रदिप थापा मगर, सीता खरेल, राम चन्द्र थापा, कुन्ति थापा, दीपा थापा, बिनोद रोका, शिशिर भट्ट, निलम कार्की “निहारिका”, सन्तोष थपलिया, बिधा बिमल बराल र ध्रुब आधिकारी लगायतका कवि कवयित्रीहरू थिए। बाल कवि कवयित्रीहरूमा बसुधा सुबेदी, अद्रित खत्री, बिश्रान्ति वाग्ले, यशस्वी रिजाल, अनुपमा सापकोटा र प्रबेश सुबेदिले कविता बाचन गरेका थिए।

मधुबन पौडेल संयोजक रहनु भएको निर्णायक मण्डलमा निलम कार्की “निहारिका”, गोबिन्द गिरी “प्रेरणा” र ज्योति पौडेल सदस्य रहनु भएको थियो।

न्युयोर्कबाट लक्ष्मी आङबुहाङ / एचकेनेपाल डट कम।

Popularity: 9%

Add comment November 5th, 2007

राजाले संसदलाई घेरा हाली कु गर्न सक्छन्- डा. दिक्षित

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ५ -
शान्ति र विकासका लागि नागरिक समाजका अध्यक्ष डाक्टर सुन्दरमणि दिक्षितले राजाले संसदलाई घेरा हाली कु गर्न सक्ने बताएका छन्।

राजनीतिक गतिरोध बढ्दै जाँदा राजाले भित्री रुपमा आफ्नो गतिबिधि बढाइरहेको सूचना आफूलाई प्राप्त भएको बताउँदै उनले यसका लागि दलहरुलाई अहिल्यै सचेत हुन आग्रह गरे।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको वर्तमान अन्यौलपूर्ण राजनीति: द्विविधा र निकास विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। डा. दिक्षितले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाली काँग्रेसका नेताहरुलाई स्वविवेकले संसदमा मतदान अधिकार नदिएको आरोप पनि लगाएका छन्।

Popularity: 9%

2 comments November 5th, 2007

कांग्रेस गणतान्त्रिक पार्टी भएको गृहमन्त्रीको दावी

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ५ -
गृहमन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस गणतन्त्रवादी पार्टी भएको दाबी गर्नुभएको छ। उहाँले कांग्रेसको अन्य दलको भन्दा गणतन्त्रमा पुग्ने प्रक्रिया मात्रै फरक भएको समेत स्पष्ट पार्नुभयो।

घरेलु तथा साना उद्योग समितिको कार्याशाला गोष्ठीको आज राजधानीमा उदघाटन गर्दै गृहमन्त्री सिटौलाले मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको दाबी गर्नुभयो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गणतन्त्रप्रतिको प्रतिवद्धता संसदको विशेष अधिवेशनमा व्यक्त गरिसक्नु भएकाले गणतन्त्रमा जाने विषयमा कुनै विवाद नभएको उहाँको भनाई थियो। सदनमा दलहरुबीच भएको मत विभाजन प्रजातान्त्रिक प्रक्रिया अनुसार स्वभाविक भएको उहाँले बताउनुभयो। उहाँले यो सामान्य संसदीय प्रक्रिया भएकाले यसबाट सात दलीय एकतामा कुनै असर नपर्ने बताउनुभयो।

Popularity: 9%

Add comment November 5th, 2007

सरकारले व्यक्ति अपहरण सम्बन्धि नयाँ कानुन बनाउने

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ५ -
सरकारले ब्यक्ति अपहरण सम्बन्धि नयाँ कानुन बनाउने भएको छ। सरकारले अपहरण र हत्याका घटना निरन्तर बढी रहेकाले अपहरण सम्बन्धि कडा कानुन बनाई अपराधिलाई कारवाही गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्री परिषदको वैठकले अध्यादेशमार्फत अपहरण सम्बन्धि कडा कानुन बनाउने निर्णय गरेको हो। त्यस्तै कपिलबस्तुमा भएको साम्प्रदायिक दंगाका बारेमा छानविन गर्न गठित समितिको म्याद दुई महिना बढाउने निर्णय गरेको छ। यसअघि छानविनका लागि तोकिएको म्याद सकिएपछि यसै महिनाको १५ गते देखि लागु हुने छानविनको म्याद बढाइएको स्वास्थ्यमन्त्री गिरिराजमणी पाखरेलले जानकारी दिनु भयो। कपिलबस्तुमा भएको दंगामा २५ जनाभन्दा बढीको मृत्यु भएको थियो भने अझै सयौ घरपरिवार विस्थापीत छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालय सिंहदरबारमा बसेको आजको वैठकले सरकारले यसअघि जनजाति तथा आदिवासी महासंघ, मधेसी जनअधिकार फोरम, चुरेभावर प्रदेश एकता समाजसंग भएको सहमतिलाई सैद्धान्तिक अनुमोदन गरेको छ।

त्यस्तै कार्यान्वयन हुन बाँकी रहेका विषयलाई छलफलका लागि राजनितिक सहमतिमा पठाउने निर्णय गरिएको वैठकपछि शान्ति मन्त्री रामचन्द्र पौडेलले जानकारी दिनु भयो। त्यस्तै सरकारले पाकिस्तानमा भएको सैनिक कू को भत्सर्ना गर्दै प्रधानमन्त्री गिरिजाप्रासाद कोइरालाले हिजो दिएको वक्तव्यलाई अनुमोदन गरेको छ।

आजको वैठकमा बढुवा भएका २७ सचिवहरुको पदस्थापन, आर्थिक नियमावली लगायतका विषयमा छलफल गर्ने कार्यतालिका भए पनि अर्को वैठकका लागि सारिएको छ।

Popularity: 9%

Add comment November 5th, 2007

संसद गफ गर्ने अखडा बनाइयोः राप्रपा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्वोच्च निकाय व्यवस्थापिका-संसदबाट राष्ट्रका तमाम समस्या समाधान होस् भन्ने नेपाली जनताका चाहनालाई सात दलले कुठाराघात गर्ने दुष्प्रयास गरेको ठहर गरेको छ ।

सो पार्टींले संसदीय दलको आज बसेको बैठकले व्यवस्थापिका-संसद नियमावलीको दफा- ८० अनुसार सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न सभामुखले बढीमा दुइ घण्टाको समय तोक्नुपर्नेमा त्यसो नभई नियमावलीको ठाडो उल्लङ्घन गरिएको निष्कर्ष निकालेको छ ।

पार्टी प्रमुख सचेतक गोविन्दविक्रम शाहद्वारा जारी एक विज्ञप्तिमा संसद भनेको गफाडीको गफ गर्ने अखडा हो भन्ने मान्यता राख्नेहरूलाई बल मिलेकाले सात दलको यसप्रकारको क्रियाकलापको पार्टी घोर भर्त्सना गर्दछ भनी उल्लेख गरिएको छ ।

Popularity: 9%

1 comment November 5th, 2007

प्रधानमन्त्रीलाई मानवअधिकार आयोगको स्मृतिपत्र

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायसहितको आयोगका सदस्यहरूको टोलीले आज भेट गरी मुलुकको वर्तमान मानवअधिकारको स्थितिबारे जानकारी गराउनुका साथै आयोगलाई पेरिस सिद्धान्तअनुरूप स्वतन्त्र, निष्पक्ष र स्वायत्त संस्थाका रूपमा काम गर्न सहयोग पुर्याउने विषयमा स्मृतिपत्र बुझायो ।

आयोगबाट सरोकार व्यक्त गरिएको स्मृतिपत्रमा नेपाल सरकार र नेकपा -माओवादी)बीच सम्पन्न विस्तृत शान्तिसम्झौताको भावनाअनुसार मानवअधिकारको रक्षा र सर्म्वर्द्धन गर्न सम्बन्धित पक्षहरूलाई जिम्मेवार हुन आग्रह गरिनुका साथै आयोगद्वारा गरिएको सिफारिसहरूका सम्बन्धमा शीघ्र व्यवहारमा लागु गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ ।

हालका दिनमा मानवअधिकार रक्षकको सुरक्षामाथि बढिरहेको हस्तक्षेप नियन्त्रण गर्ने कार्य कमजोरी भएको जानकारी दिंदै मानवअधिकार रक्षकको पर्याप्त सुरक्षा, नागरिकको स्वतन्त्ररूपमा बाँच्न पाउने अधिकार, स्वतन्त्ररूपमा हिँड्डुल गर्न पाउने अधिकार र आफ्नो पेसा, व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चित र प्रत्याभूति गर्नसमेत अनुरोध गरिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।

शान्तिसुरक्षा र विकासको मूल आधार नागरिकहरूको मानवअधिकारको रक्षा र सर्म्वर्द्धनबाट मात्र प्राप्त हुनेसर्न्दर्भमा सो कार्यका लागि राज्यको प्राथमिकता र लगानी बढाउन तथा आयोगलाई राज्यका तर्फाट पर्याप्त स्रोत र साधन उपलब्ध गर्राई दिगो संस्थागत विकासका लागि योगदान पुर्याउनसमेत आग्रह गरिएको छ ।

आयोगका पदाधिकारीहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कोइरालाले वर्तमान आयोगलाई स्वतन्त्र, सक्षम र निष्पक्ष संस्थाका रूपमा अगाडि बढाउन सरकारका तर्फाट हरतरहले सहयोग पुर्याउने वचनबद्धता व्यक्त गर्नुभएको आयोगले जनाएको छ ।

Popularity: 9%

1 comment November 5th, 2007

हत्याको आरोपमा तीनजना पक्राउ

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा पूर्व गाविस अध्यक्ष वेचन यादवको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शत्रुघन मण्डलसहित तीन जनालाई पक्राउ गरी लहानतर्फ ल्याइरहेको अवस्थामा उत्तेजित भिडले प्रहरीको भ्यान तोडफोड गरी अपराधीहरूलाई कुटपिट गरेका थिए । स्थिति तनावग्रस्त बनेपछि त्यहाँ कर्फ्यु लगाइएको थियो।

उत्तेजित भिडको कुटाइबाट सख्त घाइते भएका तीनैजनालाई उपचारका लागि जनकपुर लगिएको सिरहाका प्रहरी उपरीक्षक मिङ्मार लामाले बताउनुभयो ।

आफ्नै घर लहान-३ अस्पतालचोकमा बसिरहेको बेला अज्ञात समूहले फोनगरी घर बाहिर बोलाएर यादवको अपहरण गरेको थियो ।

शनिबार साँझ अज्ञात समूहले यादवलाई अपहरण गर्दा बत्तिको लाइन काटिएकाले चारैतिर अन्धकार थियो । अपहरणकारीद्वारा यादवको हत्यापछि आइतबार उहाँको शव लहान-३ विहारपुरस्थित धानखेतमा परालले छोपिएको अवस्थामा भेटिएको हो ।

मृतक यादवको शव नाङ्गो अवस्थामा रहेको, हाटखुट्टा बाँधिएको, घाँटीमा गलबन्दी बाँधिएका,े लिङ्ग र अण्डकोशमा चोटलागेको तथा नाक र आँखाबाट रगत बगेको अवस्थामा फेला परेको थियो ।

Popularity: 9%

Add comment November 5th, 2007

अदालतका कर्मचारी माओवादीद्वारा अपहृत

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
रुकुम जिल्ला अदालतका डिठ्ठा शशिराम बिष्ट र तामेलदार विचारी खड्बहादुर खड्कालाई अदालतको तहसिल बिगो असुलीको सिलसिलामा जाँदा रुकुम जिल्लाको खोलागाउँ भन्ने स्थानबाट कात्तिक १६ गते अपरान्ह नेकपा (माओवादी)का स्थानीय कार्यकर्ताबाट अपहरण गरी कब्जामा लिइएको सर्वोच्च अदालतले जनाएको छ ।

रुकुम जिल्ला अदालतको निर्णय कार्यान्वयन गर्ने सर्न्दर्भमा अदालतबाट खटिएका कर्मचारीहरूलाई गरिएको यस किसिमको अपहरणको निन्दा एवम् भर्त्सना गर्दै सर्वोच्च अदालतले उहाँहरूको रिहाइका लागि सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

अदालतका कर्मचारीहरूको यस किसिमको अपहरणलगायतका क्रियाकलाप आगामी दिनमा नदोहोर्याउनसमेत सर्वोच्च अदालतका तर्फाट प्रवक्ता तिलप्रसाद श्रेष्ठले आग्रह गर्नुभएको छ ।

Popularity: 9%

Add comment November 5th, 2007

माअ‍ोवादीद्वारा एमाले कार्यकर्ता अपहरित

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले)ले नेकपा (माओवादी) ले दाङका मानवअधिकार संरक्षण मञ्चका सदस्य प्रकाश आचार्य र नेकपा (एमाले) पवननगर गाउँ कमिटीका पूर्वसचिव निर्मलकुमार आचार्यलाई यही कात्तिक १५ गतेदेखि अपहरण गरेको र रुकुम जिल्ला राङसी गाविसका नेकपा (एमाले)का अपहृत कार्यकर्ता चक्रबहादुर बुढामगर, मोहनभक्त बुढामगर र भीमबहादुर विपालुको अवस्था झण्डै एक महिनादेखि अज्ञात रहेकोमा चिन्ता व्यक्त गरेको छ ।

पार्टीले अपहृत सम्पूर्ण व्यक्तिलाई तत्काल सकुशल मुक्त गर्न र यस प्रकारका ज्यादती सदाका निम्ति बन्द गरेर लोकतान्त्रिक आचरण अपनाउन नेकपा (माओवादी)लाई आह्वान गरेको छ ।

Popularity: 9%

Add comment November 5th, 2007

अपहरित पत्रकारको बारेमा कुनै जानकारी सरकारलाई छैन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गृहमन्त्री कृष्णप्रसाद सिटौलाले अपहृत बाराका पत्रकार वीरेन्द्र साहको यकिन तथ्य पत्तालाग्न नसकेको बताउनुभएको छ । साहको हत्या भइसकेको भन्ने अपुष्ट खबरहरुका बीच उहाँले यो कुरा बताउनु भएको हो।

व्यवस्थापिका-संसदको बैठकमा उहाँले पत्रकार साहको गत असोज १८ गते अपहरण भएको र प्रहरीले अपहरणकारीलाई खोजी गर्नेक्रममा आफ्नो सिङ्गो सङ्गठनलाई जिल्ला, अञ्चल, क्षेत्र र प्रहरी प्रधान कार्यालयबाट समेत विशेष टोली खटाएर पक्राउ गर्ने प्रयास गरेको तर अहिलेसम्म पक्राउ गर्न नसकेको बताउनुभयो ।

उहाँले अपहरणकारीमध्ये केहीले भारतमा गएर कुनै ठाउँबाट टेलिफोन गरी विचार दिएका तर त्यसमा कति सत्यतथ्य छ यसलाई प्रहरीले आफ्नो अनुसन्धानको दायरामा ल्याएको जानकारी दिनुभयो ।

उहाँले नेपाल पत्रकार महासङ्घले पत्रकार साहको अपहरणसम्बन्धी घटनालाई लिएर सिंगो मुलुकको ध्यानाकर्षण गरेको उल्लेख गर्दै यसै विषयलाई लिएर महासङ्घले सिंहदरबार दक्षिण ढोकामा दिएको धर्ना कार्यक्रममा प्रहरीले धर्ना उठाउन खोज्दा एक जना पत्रकार घाइते भएको बताउनुभयो ।

उहाँले गिरफ्तार गरिएका अन्य पत्रकारहरूलाई दिउँसो नै प्रहरीले छोडिसकेको र घटनामा एक पत्रकार घाइते भएकोमा दुःख व्यक्त गर्दै घटनाको छानविन गर्न प्रहरी प्रधान कार्यालय र स्थानीय प्रशासनलाई निर्देशन दिएको जानकारी गराउनुभयो ।

उता नेपाल पत्रकार महासङ्घले पत्रकार वीरेन्द्र साहको अपहरणमा संलग्न व्यक्तिको हवाला दिँदै उहाँको हत्या भएको भनेर कतिपय सञ्चारमाध्यममा समाचार आए पनि राज्य र माओवादीले अझै यथार्थ विवरण नदिई अन्योलमा राखिरहेकोमा आक्रोश व्यक्त गरेको छ ।

खुलेआम अन्तरवार्ता दिँदै हिँड्ने अपहरणकारीलाई अझै पक्राउसम्म नगरिनुलाई राज्यको निरीहताको पराकाष्ठाका रुपमा लिँदै महासङ्घले प्रहरीले पत्रकार सम्मेलनमार्फत् दिएको विवरण पनि अपुरो र अस्पष्ट रहेको जनाएको छ ।

महासङ्घले साहको स्थिति तत्काल स्पष्ट गर्न राज्य र माओवादीलाई आहृवान गर्दै ‘यस्तो निरीहता र ज्यादतीविरुद्ध’ देशव्यापी सङ्र्घर्ष जारी राख्ने बताएको छ ।

Popularity: 9%

Add comment November 5th, 2007

कर्मचारीद्वारा सामूहिक राजीनामा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
जिल्ला विकास समिति सप्तरीका नायब सुब्बा प्रभुनारायण यादवको हत्यापछि आन्दोलित सप्तरीका निजामति कर्मचारीहरूले सामूहिक राजीनामा दिन राजीनामा पत्रमा हस्ताक्षर अभियान सुरू गरेका छन् ।

आफ्ना माग सरकारले सुनवाई नगरेको हुँदा जिल्लाका सम्पूर्ण कर्मचारीहरू सामूहिक राजीनामा दिन हस्ताक्षर अभियान सुरू गरिएको निजामति कर्मचारी युनियनका केन्द्रीय सदस्य भूपेन्द्र कार्कीले बताउनुभयो ।

मृतक यादवलाई सहिद घोषणा गरिनुपर्ने, सहिद सरह यादवको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, हत्याराको पहिचान गरी कडा कारबाही गर्नुपर्ने, कर्मचारी तथा नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेजस्ता माग राखिएको छ ।

जिविस परिसरमा पाल टाँगेर सम्पूर्ण कर्मचारीहरू कामकाज ठप्प पारी विरोधमा उत्रेका छन् ।

हत्याको विरोध गर्दै जिल्लाका सम्पूर्ण सरकारी कार्यालय बन्द गरी कामकाज ठप्प पारिएको छ ।

Popularity: 9%

Add comment November 5th, 2007

रक्सीले लियो ज्यान

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अत्यधिक मदिरा सेवन गरी बाँझ गाविस वडा नं. ३ पाउटा बस्ने ६० वर्षीय कालु बोहोराको भिरवाट खसेर मृत्यु भएको छ ।

यही कात्तिक १५ गते दिनभर खेतवारीमा काम गरी बेलुका कामबाट रक्सी भट्टीमा दुइ जनासँगै रक्सी खाई मध्यरात तिर घर र्फकंदै गर्दा भिरबाट खसेर तीनदिनपछि अचेत अवस्थामा फेला पार्द उपचार्रार्थ नजिकैको अस्पताल लैजादै गर्दा बोहराको मृत्यु भएको बताइएको छ ।

रक्सी सेवनको कारण एक वर्षभित्र त्यहाँ २० जना भन्दा बढीको ज्यान गइसकेको छ ।

विगत २०५४-५६ तिर बझाङमा रक्सी बन्द गरिएको थियो । पछि ०६३ जेठ १० गतेको सर्वदलीय सहमतिमा रक्सी खुला गरिएको थियो ।

रक्सी खुला भएपछि चैनपुर बजार र बाहिर रक्सी खाएर धेरैका हातखुट्टा पनि भाँचिएका छन् ।

Popularity: 9%

Add comment November 5th, 2007

नेपालका पार्टीहरुद्वारा पाकिस्तानी कूको विरोध

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसले पाकिस्तानी नागरिकका सम्पूर्ण मौलिक र संवैधानिक अधिकारमाथि प्रतिबन्ध लगाउँदै राष्ट्रपति जनरल परवेज मुर्सरफले शनिबार साँझ सङ्कटकालको घोषणा गरी सैनिक कानुन लागु गरेकोमा विरोध गरेको छ ।

पार्टी प्रजातन्त्र एवं संविधानविरोधी घोषणाको परिणामस्वरुप उत्पन्न भएको आजको विषम परिस्थितिलाई ध्यानमा राखेर जनता नै सम्पूर्ण शक्तिका स्रोत हुन् भन्ने यथार्थ स्वीकार गरी पाकिस्तानमा घोषणा भएको सङ्कटकालको आदेश फिर्ता लिन र त्यहाँ अविलम्ब प्रजातान्त्रिक प्रक्रियालाई सुचारु गर्न आग्रह गरेको छ ।

नेकपा (एमाले)ले पाकिस्तानमा हिजो सङ्कटकालको घोषणासहित लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्ने क्रमलाई उत्कर्षा पुर्‍याइएको घटनाप्रति खेद व्यक्त गरेको छ ।

सन् १९९९ देखि सैनिक तानाशाही भोग्दै आएको पाकिस्तानलाई राष्ट्रपति तथा सैनिक प्रमुख जनरल परवेज मुर्सरफको सो कदमले थप समस्यातिर लैजाने निश्चित छ भन्दै एक्काइसौं शताव्दीमा जनताका अधिकारमाथि बन्देज लगाउनु कुनै पनि हालतमा जायज र सम्भव नहुने र आजको युगमा विश्वभरका जनतालाई सैन्य वा अन्य कुनै पनि किसिमको तानाशाही मान्य हुन नसक्ने जनाएको छ ।

उक्त घटनाको निन्दा गर्दै नेकपा (एमाले)ले पाकिस्तानमा अविलम्व लोकतन्त्र बहालीको लागि पाकिस्तानी जनताले चलाएको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।

नेकपा (एकीकृत)ले पाकिस्तानमा सङ्कटकाल लागु गरी सम्पूर्ण संविधान, प्रेस र सञ्चारलाई निलम्बन र नियन्त्रण मात्र नगरी राजनीतिक गतिविधिमाथि दमन तथा सर्वोच्च न्यायालयका न्यायाधीशहरुलाई बर्खास्त गरिएकोमा निन्दा गरेको छ ।

पार्टीले पाकिस्तानमा तत्काल सङ्कटकालको अन्त्य, राजनीतिक दलका नेताहरुको वारेन्ट रद्द तथा कथित निर्वाचनको तत्काल खारेजी र गिरफ्तार नेताको रिहाइको माग गर्दै राजनीतिक स्वतन्त्रताको बहालीको निम्ति न्यायपूर्ण आवाज उठाउने सम्पूर्ण पकिस्तानी जनताप्रति ऐक्यबद्धता प्रकट गरेको छ ।

Popularity: 9%

1 comment November 5th, 2007

पाकिस्तानको संकटकालबाट नेपाल सरकार चिन्तित

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले इस्लामिक गणतन्त्र पाकिस्तानमा हालै भएको राजनीतिक घटनाक्रमबाट नेपाल सरकार चिन्तित भएको बताउनुभएको छ ।

उहाँले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा यस क्षेत्रमा प्रजातन्त्रका लागि आशाको किरण देख्न चाहने हामी सबैलाई पाकिस्तानको वर्तमान सत्ताले लागु गरेको सङ्कटकालबाट त्यो आशाको किरणमा ग्रहण लागेको उल्लेख गर्नुभएको छ ।

पाकिस्तानमा प्रजातन्त्रको यथासम्भव छिटो स्थापनाका लागि नेपाल सरकारले सम्बन्धित सबै पक्षलाई क्रियाशील हुन आग्रह गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Popularity: 9%

Add comment November 5th, 2007

इन्डियन आइडल प्रशान्त २८ गते धरान आउने

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ५ -
इन्डियन आइडल प्रशान्त तामाङ कात्तिक २८ गते धरान आउने भएका छन्। तेश्रो इन्डियन आइडल बन्न सफल नेपाली मूलका प्रशान्त पहिलो पटक पूर्वाञ्चल आउन लागेका हुन्।

प्रशान्तलाई धरान ल्याउन सोनी टेलिभिजनसँग शनिवार करारनामा भएको आयोजक कमिटिका सौरभ श्रेष्ठले बताउनुभयो। प्रशान्तले धरान रंगशालमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछन्।

प्रशान्तको कर्न्सट ह्वाइट प्लस प्रोडक्सन, नेपाल तामाङ घेदुङ संघ र युनिक मेनेजमेन्ट प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्। यस्तै प्रशान्त तथा फस्ट रनर अप अमित पल २९ गते झापाको बिर्तामोडमा सांगीतिक कार्यक्रममा सहभागी हुँदैछन्।

Popularity: 9%

2 comments November 5th, 2007

पत्रकार साहको अपहरणकै दिन हत्या भएको अपहरणकारीको खुलासा

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ५ -
अपहरण भएको एक महिनापछि पत्रकार वीरेन्द्र साहको अपहरण गरेकै दिनमा हत्या भएको अपहरणकारीले खुलासा गरेका छन्।

अज्ञात स्थलमा वीरगञ्जका एक सञ्चारकर्मीलाई बोलाएर पत्रकार वीरेन्द्र साहको अपहरणमा संलग्न माओवादी बारा क्षेत्र नम्बर ४ का इन्चार्ज एक पूर्व जनसरकार प्रमुख लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम पटेल र रामएकवाल सहनीले अपहरण गरेको दिन असोज १८ गते नै पत्रकार साहको हत्या गरेको खुलासा गरेका हुन्।

भारतको अज्ञात स्थलमा बीरगंजका एक संचारकर्मीलाई चौधरीले बाराको रतनपुरी गाविसको जंगलभित्र पत्रकार साहलाई कुटपिटपछि खाल्डो खनेर गाडिदिएको बताएका छन्। लालबहादुर चौधरीले सपही निवासी एक साहुजीको आदेशमा आफुले कुन्दन फौजदारलाई पत्रकार साहलाई समातेर जिम्मा लगाउन भनेकोमा फौजदार र रामएकबाल सहनीले उमजनबाट पत्रकार साह र रामदेव दासलाई समाती ककडी जंगल छेउमा पुर्‍याएका थिए। त्यस पछि अर्का पत्रकार दासलाई फर्कन भने पनि उनले नमानेकाले उनलाई पनि सामान्य कुटपिट गरिएको उनीहरुले बताए।

त्यसपछि पत्रकार साहलाई भने हातखुट्टा बाधेर कुटपिट गरी रतनपुरीको जंगलभित्र एउटा टुटेफुटेको घरभित्र राखेको र बेलुकी पत्रकार साह होशमा आए पछि पुनः कुटपिट गर्दा बेहोस भएको वा मृत भएको थाहा नभए पछि अचेत अवस्थामै घर नजिकै खाल्टो खनेर गाडेको उनीहरुले बताए। पत्रकार साहको शरीर सोही स्थानमा भेटिने पनि उनीहरुले बताए।

खाल्टोमा गाड्नु पूर्व साहको घांटीमा रहेको सिक्री, हातमा रहेको औठी र पाइन्टमा रहेको पर्स निकालेको र पर्समा रहेको अमेरिकी १० डलर साट्न बीरगंजका रहेको माछापुच्छ्रे बैकमा जाँदा बैकमा पासपोर्ट मागिएकाले रित्तै फर्किएको पनि उनीहरुले खुलासा गरेका छन्।

पत्रकार साहलाई मार्नुको पछाडि सपहीका एक साहुजीको आदेश भएको चौधरीलगायत चारै आरोपीले संचारकर्मीलाई बताएका छन्। सपहीका साहुजी जनयुद्ध कालमा माओवादीलाई र अहिले मोर्चा पक्षधरलाई हातहतियार सप्लाई गर्दै आएको पनि उनीहरुले बताएका छन्।

साहुजीको नाम नखोले पनि उनीहरुले पत्रकार साहको खोजीमा सर्च गर्दा प्रहरीले हतियार बरामत गरेका व्यक्ति नै साहुजी भएको बताए। पत्रकार साहले साहुजीको कारोबारका बारेमा चाल पाएपछि ठूलो रकम माग गरेका र पछि एउटा निश्चित रकम दिने कुरामा सहमति भएर उक्त रकम दिएपछि पनि हातहतियार सम्बन्धमा साहुजीको नामसमेत सार्वजनिक गरी समाचार संम्प्रेषण गरेकै कारण साहुजीले पत्रकार साहलाई मार्न सुपारी दिएको बताए।

जनयुद्धको क्रममा धेरैको हत्या गरेकाले यो हत्यालाई सरल सहज लिएको र भोलिपल्टै पत्रकार साहको घर परिवारलाई मारिसकेको सन्देश दिंदै काजक्रिया गर्न भनेको दावी गरेका छन्। हामीले भोलि पल्टै भनेका हौं तर कुनै अर्को माओवादीले जिउँदै देखेको र फोनमा कुरा गराइदिन्छु भनि आशा देखाएकाले पत्रकार साहको परिवार आशामा बाधिएको र अहिले यत्रो रुप लिएको बताए। अमलेखगंजको नदिमा फेला परेको अज्ञात शव साहको नभएको पनि उनीहरुले बताएका छन्।

आरोपी चारैजनाले अपहरण पछि हत्या गरेपछि केही दिन रौतहटको सन्तपुर कलैया आसपास, बीरगंजको भिस्वा एरिया र भारतीय सीमा घोडासहन पछि सिकटालगायतका स्थानमा बस्दै आएको उनीहरुले बताए। पछि साहको खोजीमा सुरक्षाकर्मी र वाइसीएल घोडा सहनसम्म पुगेपछि आफुहरु विशेष सतर्क भएको पनि उनीहरुले बताए। हामीलाई थाहा भएन, हामीले सोचेका पनि थिएनौं कि यत्रो बवाल हुन्छ, तसर्थ यथार्थ कुरा सार्वजनिक होस् र हामी अनुकुल अवस्थामा सरेन्डर हुन पाँउ-उनीहरुले भने। चारैजना आरोपीले पत्रकार साहको बारेमा निक्कै चर्चा परिचर्चा भएपछि साहको लास नष्ट गर्ने पनि सोच बनाएको तर सुरक्षाकर्मी र माओवादी कार्यकर्ता सक्रिय भएकाले हिम्मत जुटाउन नसकेको स्पष्ट पारेका थिए। चारैजनाले घटनामा पार्टीको कुनै संलग्नता नरहेको र आफूहरुले साहुजीको आदेशमा पत्रकार साहको हत्या गरेको बारम्बार दोहोर्‍याएका थिए। संञ्चारकर्मीलाई यी सबै बृतान्त सुनाउँदा आरोपी चारजनाले रेकर्डिङमा प्रतिबन्ध लगाइ केवल श्रवण गर्ने अवसर दिएका थिए।

Popularity: 9%

2 comments November 5th, 2007

द. कोरियास्थित नेपाली दूतावासमा लक्ष्मीपूजा मनाउने

डम्बर सुब्बा दक्षिण कोरिया / एचकेनेपाल डट कम ५ -
नेपाली दूतावासको आहृवानमा आइतबार बसेको बैठकले दक्षिण कोरियास्थित विभिन्न संघ संस्थासंग सहकार्य गरी यहि आउंदो १० तारिख शनिबारको दिन सांझको ६ बजे देखि ९ बजे सम्म हिन्दूहरुको दोस्रो महान चाड लक्ष्मी पूजा भव्यताको साथमा मनाउने भएको छ।

प्रवासी भूमिमा आफ्नो परिवारिक यादको तडपनलाई थोरै भए पनि राहत दिलाउनका निम्ति भेटघाट र शुभकामनाको आदान प्रदानका साथै लक्ष्मी पूजागरी प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ। दक्षिण कोरियामा बसोबास गरी रहेका समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा लक्ष्मी पूजामा सहभागी भई दिन हुन आहृवान समेत गरिएको छ। लक्ष्मी पूजा शुक्रबार सांझदेखि नै शुरु गरिने बताएको छ।

Popularity: 9%

Add comment November 5th, 2007

विशेष अधिवेशन समाप्त

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
माओवादीको प्रस्तावमाथि विचार गर्न आह्वान गरिएको व्यवस्थापिका-संसदको विशेष अधिवेशन आज राति ९ बजेबाट समाप्त भएको छ ।

उक्त प्रस्तावमाथिको छलफलका लागि संसदको बैठक नौपटक भएपनि सो छलफलले २५ दिनको समय लियो भने छलफलमा ८४ जना सांसदले भाग लिए ।

प्रस्तुत प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफू सात दलको सहमतिबाट प्रधानमन्त्री भएकाले उक्त प्रस्तावको मतदान प्रक्रियामा आफू सहभागी नहुने बताउँदै प्रस्तुत प्रस्तावका विषयमा प्रजातान्त्रिक प्रक्रियामा भाग लिएकामा सबै राजनीतिक दललाई धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपालको अन्तरिम संविधान २०६३ को धारा ५१(२) बमोजिम सभामुखको परामर्शमा व्यवस्थापिका-संसदको चालु अधिवेशन अन्त्यसम्बन्धी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पठाउनुभएको पत्र सभामुखले पढेर सुनाउनुभएको थियो ।

विशेष अधिवेशनमा समापन मन्तव्य दिँदै सभामुख सुवास नेम्बाङले सिङ्गो व्यवस्थापिका-संसद लोकतान्त्रिक गणतन्त्रको पक्षमा एकताबद्ध रहेको र सात दलको एकतालाई अझ ठोस र मजबुत बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले विशेष अधिवेशनमा उठेका विषयले दलहरुलाई एकताबद्ध भई अग्रगमनलाई बढ्न निश्चित आधार दिएको र यसले लोकतान्त्रिक प्रक्रियालाई अवलम्बन गरी निष्कर्षमा पुग्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

Popularity: 9%

Add comment November 5th, 2007

एमालेको गणतन्त्र र माओवादीको पूर्ण समानुपातिक प्रस्ताव पारित

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
व्यवस्थापिका-संसदको आजको बैठकले नेकपा (एमाले)द्वारा नेकपा (माओवादी)ले राखेको गणतन्त्रसम्बन्धी सार्वजनिक महत्वको विशेष राजनीतिक प्रस्तावमाथि प्रस्तुत संयुक्त संशोधन प्रस्तावलाई बहुमतले पारित गरेको छ ।

नेकपा (माओवादी) संसदीय दलका नेता कृष्णबहादुर महराले संसदबाट गणतन्त्रको घोषणा अवलम्बन गर्न प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको विशेष राजनीतिक प्रस्तावमाथि नेकपा (एमाले)द्वारा प्रस्तुत संयुक्त संशोधन प्रस्तावलाई समर्थन जनाउनुभएपछि भएको मतदानमा संयुक्त संशोधन प्रस्ताव ध्वनिमतको आधारमा बहुमतबाट पारित भएको हो।

सो प्रस्तावमाथिको मतदानमा जनमोर्चा नेपाल र नेकपा (एकीकृत)ले पक्षमा तथा नेपाली काङ्ग्रेस, नेमकिपा, राप्रपा र राष्ट्रिय जनमोर्चाले विपक्षमा मतदान गरेका थिए भने संयुक्त वाममोर्चा नेपाल र नेपाल सद्भावना पार्टी तटस्थ रहेका थिए ।

यसैगरी नेकपा (माओवादी) संसदीय दलका नेता महराद्वारा संविधानसभाको निर्वाचनमा सबै वर्ग, लिङ्ग, क्षेत्र र जातिको समानुपातिक सहभागिता सुनिश्चितता गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न प्रस्तुत सार्वजनिक महत्वको विशेष राजनीतिक प्रस्ताव पनि बहुमतबाट पारित भएको छ ।

उक्त प्रस्तावको पक्षमा नेकपा (एमाले), नेकपा (माओवादी), राप्रपा, जनमोर्चा नेपाल र नेकपा (एकीकृत)ले तथा विपक्षमा नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाले मतदान गरेका थिए ।

यसअघि नेकपा (एमाले)द्वारा प्रस्तुत संयुक्त संशोधन प्रस्तावमाथिको छलफलमा नेकपा (एमाले)का रघुजी पन्तले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आफ्नो दलले प्रयास गरेको तर त्यो प्रयत्न सफल नभएको भन्दै संसद गणतन्त्रको पक्षमा भएकाले संसदबाट गणतन्त्रको प्रस्ताव हार्नु हुँदैन भनी आफ्नो पार्टीले सबै दलको भावना समेटी ल्याएको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।

नेकपा (माओवादी)का महराले पार्टीले अडानलाई कायम राख्दै मूल प्रस्तावलाई फिर्ता लिने र नेकपा (एमाले)का पन्तले राख्नुभएको संयुक्त संशोधन प्रस्तावलाई आफ्नो पार्टी समर्थन गर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका महेश आचार्यले सात दलबीचको मत विभाजन नहोस् भनी आफ्नो पार्टी विकल्प प्रस्ताव ल्याएको उल्लेख गर्दै गणतन्त्रको मुद्दा नेपाली जनताको मुद्दा भएकाले त्यसमा मत विभाजन हुन नदिन सात दल एक ठाउँमा उभिने चेतना चाहिएको छ भन्नुभयो ।

जनमोर्चा नेपालका लीलामणि पोखरेलले प्रस्तुत भएका मूल प्रस्ताव र संशोधन प्रस्तावमा आफ्नो दलको फरक दृष्टिकोण रहँदारहँदै पनि नेकपा (एमाले)का पन्तले राख्नुभएको संयुक्त संशोधन प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको बताउनुभयो ।

संयुक्त वाममोर्चा नेपालका सिपी मैनालीले गणतन्त्रको पक्षमा सबै एकमत हुँदाहुँदै पनि मतदान प्रक्रियामा जानु दुःखको कुरा हो भन्दै आफ्नो पार्टीले प्रस्तावमा तटस्थ रहने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका डिलाराम आचार्यले नेकपा (माओवादी)को प्रस्तावमा समर्थन गर्न जति सजिलो थियो नेकपा (एमाले)को प्रस्तावलाई समर्थन गर्न त्यतिकै गाह्रो भएको जनाउँदै नेकपा (एमाले)ले प्रस्तुत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संशोधन प्रस्तावलाई समर्थन नगर्ने बताउनुभयो ।

नेकपा (एकीकृत)का परी थापाले मूल प्रस्तावमा विषयवस्तु राम्रा हुँदाहुँदै पनि नेकपा (माओवादी)ले उक्त प्रस्ताव फिर्ता लिएकाले नेकपा (एमाले)को संशोधन प्रस्तावलाई समर्थन गर्ने बताउनुभयो ।

यसअघि नेकपा (माओवादी)ले संसदबाट गणतन्त्रको घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न प्रस्तुत गरेको प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति र राष्ट्रिय जनमोर्चाका डिलाराम आचार्यले राख्नुभएको संशोधन प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत हुँदा अस्वीकृत भएको थियो ।

Popularity: 9%

2 comments November 5th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....