Archive for November 6th, 2007

नेपालको गौरव : नेपाल संवत - महेश्वर श्रेष्ठ

- महेश्वर श्रेष्ठ
नेपाल संवतको सामान्य परिचय
काल गणना बेगर इतिहास जान्न पनि सकिन्न र भविष्यको कल्पना कोर्न पनि सकिन्न । त्यसैले सभ्य मानव समाजका लागि काल गणना एउटा अत्यावश्यक वस्तु हो । मानव सभ्यताको उदयसंगै काल गणनाका दुई मुख्य प्रविधिको विकास भएको पाइन्छ - चन्द्रमाको गति अनुसार गरिने काल गणना र सूर्यको गति अनुसार गरिने काल गणना । ती प्रविधिहरुलाई सोही बमोजिम चन्द्रमानक पात्रो र सूर्यमानक पात्रो भनिन्छ । संसारमा अहिले पनि सूर्यमानक र चन्द्रमानक दुबै पात्रो चलनचल्तीमा छन् । ती मध्ये कुनै एउटा पात्रोको आधारमा एउटा विशेष कालखण्डलाई प्रतिनिधित्व गर्ने प्रथालाई संवत भन्ने गरिएको छ । (more…)

Popularity: 9%

Add comment November 6th, 2007

पत्रकार साहको हत्याको विरोधमा पोखरामा विरोध प्रदर्शन

राजबहादुर गुरुङ, पोखरा / एचकेनेपाल डट कम, नोभेम्बर ६ -
पत्रकार वीरेन्द्र शाहको हत्यामा संलग्न माओवादी कार्यकर्तालाई तत्काल कारवाहीको माग गर्दै मंगलबार पोखराका पत्रकारहरुले पोखरामा प्रदर्शन गरेका छन्।

उनीहरुले सरकार, माओवादी र गृहप्रशासनको समेत कडारुपमा विरोध गर्दै पीडित परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरेका छन्।

पोखराको चिप्लेढुङ्गबाट शुरु भएको एक शोक र्‍याली भीमसेनचोक महेन्द्रपुलमा पुगेर विरोध सभामा परिणत भएको थियो। शोक र्‍यालीमा पत्रकार, नागरिक समाज तथा राजनीतिकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। त्यस क्रममा उनीहरुले पत्रकार वीरेन्द्र साह अमर रहून्, लोकतन्त्र जिन्दावाद, प्रेस स्वतन्त्रताको रक्षा गर, हत्यारालाई कारवाही गर, गृहमन्त्री राजीनामा दे लगायतका चर्का नाराबाजी समेत गरेका थिए।

विरोध सभामा बोल्ने वक्ताहरुले जनआन्दोलन सफल बनाउन कलम चलाएका पत्रकारहरुलाई लोकतन्त्र वहालीपछि गरिएको हत्या मानवताविरुद्धको अपराध भएको टिप्पणी गरे। साथै उनीहरुले पत्रकार साहको हत्यामा संलग्न व्यक्तिहरुको यथासिघ्र कारवाही र शोकाकूल परिवारमा तत्काल राहतको व्यवस्था गर्न सकारकारसँग जोडदार माग गरेका छन्।

शोकसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय उपसभापति गंगाधर पराजुली, कास्की शाखाका सभापति रवीन्द्र बाँस्तोला, उपसभापति राजबहादुर गुरुङ, वरिष्ठ पत्रकार माधव शर्मा, राजनितिककर्मीहरु यज्ञबहादुर थापा, खगराज अधिकारी, सन्तबहादुर घिसिङलगायतका स्थानीय नेताहरुले पनि बोल्नु भएको थियो।

Popularity: 9%

2 comments November 6th, 2007

मानव अधिकारको अवस्थामा सुधार नआएको आयोगको ठहर

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ६ -
राष्ट्रिय मानवअधिकार आयोगले नेपाल सरकार र माओवादीबीच भएको प्रतिवद्धता कार्यान्वयन नभएकाले मानवअधिकारको अवस्थामा सुधार आउन नसकेको ठहर गरेको छ।

आयोगको कार्यालय हरिहर भवनमा आज आयोजित पत्रकार सम्मेलनमा मानवअधिकार रक्षाका लागि शान्ति सम्झौतामा गरेको प्रतिवद्धता तत्काल कार्यान्वयन गर्न दुवै पक्षलाई आग्रह समेत गरेको छ। पत्रकार सम्मेलनमा शान्ति सम्झौताको अवधिमा गत फाल्गुनदेखि असार मसान्तसम्मको मानवअधिकारको अवस्थाबारे आज सार्वजनिक अध्ययन प्रतिवेदनले यस्तो निश्कर्ष निकालेको हो। बढ्दो मानवअधिकार उल्लंघनको घटनाप्रति चिन्ता व्यक्त गर्दै आयोगले विभिन्न अपराधमा संलग्न दोषीमाथि सरकारले कारवाही नगर्दा दण्डहिनताले प्रश्रय पाएको जनाएको छ।

पत्रकार सम्मेलनमा आयोगका अनुगमन तथा संरक्षण महाशाखाका प्रमुख यज्ञप्रसाद अधिकारीले माओवादीबाट राजनीतिक प्रतिशोधको भावनाले विभिन्न व्यक्तिलाई कुटपिट गर्ने क्रम जारी रहेको भन्दै त्यस्ता क्रियाकलाप तत्काल रोक्न माओवादी नेतृत्वको ध्यानाकर्षण गराउनुभयो।

Popularity: 9%

Add comment November 6th, 2007

माओवादी कार्यकर्ता नेतृत्वको नियन्त्रणमा छैनन् - एमाले महासचिव

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ६ -
नेकपा एमालेका महासचिव माधवकुमार नेपालले पत्रकार वीरेन्द्र साहको हत्याबाट माओवादीको कार्यकर्ता नेतृत्वको नियन्त्रणमा छैनन भन्ने पुष्टि भएको बताउनुभएको छ।

प्रेस चौतारीले आज राजधानीमा आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा महासचिव नेपालले पत्रकार हत्याको निन्दा गर्दै जनताको विश्वास जित्न हत्या र अपहरणको संस्कारबाट मुक्त हुन माओवादीलाई सुझाव दिनुभयो। आफ्नै क्रियाकलापका कारण माओवादीको जनविश्वास घटेको चर्चा गर्दै नेपालले वीरेन्द्र साहको हत्यारालाई माओवादीले राज्यको जिम्मा लगाउनुपर्ने बताउनुभयो। उहाँले माओवादी नेतृत्वमा जबसम्म आलोचना सहने प्रवृत्ति विकास हुँदैन तबसम्म कार्यकर्ता प्रजातान्त्रिक संस्कारमा आउन नसक्ने टिप्पणी गर्नुभयो।

एमाले नेता रघुजी पन्तले नेपालमा स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने स्थिति नभएको जनाउँदै पत्रकार हत्याको घटनाबाट माओवादीको विश्वसनियता सकिएको बताउनुभयो।

नेपाल पत्रकार महासंघका महासचिव महेन्द्र विष्टले माओवादी अझै रुपान्तरित हुन नसकेको बताउनुभयो। माओवादीमाथि केही देशले झुण्ड्याएको आतंककारीको विल्ला जायज त होइन भनि सोच्ने बेला आएको उल्लेख गर्नुभयो।

सो अवसरमा प्रेस चौतारीले वीरेन्द्र साह क्रियाशील युवा पत्रकारिता पुरस्कार घोषणा गरेको छ। यता नेपाली कांग्रेसले पत्रकार वीरेन्द्र साहको हत्याको भर्त्सना गर्दै यसलाई मानवअधिकार लोकतन्त्रलाई कमजोर पार्ने माओवादीको कायरतापूर्ण षडयन्त्र भएको आरोप लगाएको छ। कांग्रेसले आज एक विज्ञप्ति जारी गरी माओवादीको व्यवहार र चरित्रमा परिवर्तन आउन नसकेकोमा दुख व्यक्त गरेको छ। विज्ञप्तिमा माओवादीहरु हतियारको बलबाट राज्यसत्ता कब्जा गर्न सकिने पूरानै मानसिकताबाट ग्रसित भएको र पत्रकार वीरेन्द्र साहको हत्याले त्यसलाई पुष्टी गरेको उल्लेख छ।

घटनामा संलग्न व्यक्तिलाई कडा कारवाही गर्न र मृतकको परिवारलाई उचित राहत प्रदान गर्न सरकारसँग माग गरेको छ। नेकपा एमालेले पनि आज एक विज्ञप्ति जारी गर्दै साहको हत्या माओवादीको चिन्तनमा रहेको हिंसावादी मनोवृद्धिको उपज भएको जनाएको छ। साथै पत्रकार साहको असहाय परिवार र नावालक परिवारको शिक्षादिक्षा, पालनपोषणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।

Popularity: 9%

1 comment November 6th, 2007

सरकारद्वारा दुई अध्यादेश जारी

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ६ -
सरकारले हात हतियार तथा खरखजाना अध्यायदेश २०६४ जारी गरेको छ। हत्या र अपहरणको घटना बढ्न थालेपछि आज सरकारले यो अध्यायदेश जारी गरेको हो।

यसअघि हिजो मात्रै मन्त्रीपरिषदको बैठकले हत्या अपहरण जस्ता घटना नियन्त्रणका लागि अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।

यसैगरी सरकारले नेपाल ट्रष्ट अध्यायदेश पनि आजै जारी गरेको छ।

Popularity: 9%

Add comment November 6th, 2007

राष्ट्रसंघका उपमहासचिव मेल्कट नेपालको तीन दिने भ्रमणमा

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ६ -
संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीका सहायक एड मेल्कट नेपालको तीनदिने भ्रमणका लागि आज नेपाल आइपुग्नुभएको छ।

उहाँले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा राजनीतिक दलका नेता एवं सरकारी अधिकारीहरुसँग भेट गरी यूएनडिपीले नेपालमा गरेको काम र त्यसको प्रभावकारीताको बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ।

यूएनडिपीका सहायक प्रशासक नवलपरासिमा रहेको माओवादी सेनाको शिविरमा पनि जाने र बाग्लुङ जिल्लाको भिमकिटे गाविसमा रहेको ४२ किलोवाट लघु जलविद्युत परियोजनाको उदघाटन गर्ने कार्यक्रम रहेको छ।

Popularity: 9%

Add comment November 6th, 2007

प्रधानमन्त्री कोइरालाद्वारा नवनियुक्त राजदूतहरुलाई निर्देशन

दीपक अधिकारी काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ६ -
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक प्रक्रियालाई सहयोग गरी काम गर्न नवनियूक्त राजदुतहरुलाई निर्देशन दिनुभएको छ।

एग्रीमो प्राप्त ११ राजदूतहरुलाई प्रधानमन्त्री निवास वालुवाटारमा बोलाई प्रधानमन्त्री कोइरालाले संयुक्त निर्देशन दिनु भएको हो। ११ देशका लागि नवनियूक्त राजदूतहरुलाई निर्देशन दिनु हुँदै प्रधानमन्त्री कोइरालाले नेपालको पछिल्लो परिस्थितिलाई ध्यानमा राखी काम गर्न आग्रह गर्नुभयो। सम्बन्धित देशमा गएर नेपालको छवि उच्च राख्ने काम गर्न प्रधानमन्त्री कोइरालाले सबैलाई आग्रह गर्नुभयो।

राजदूतहरुलाई आजै परराष्ट्रमन्त्री सहाना प्रधानले पनि निर्देशन दिने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको निर्देशनपछि एग्रीमो प्राप्त नवनियूक्त राजदुतहरु भोलिदेखि सम्बन्धित देशमा जान सुरु गर्नेछन्।

Popularity: 9%

Add comment November 6th, 2007

पत्रकार साहको हत्याको विरोधमा अनिश्चितकालीन नुवाकोट बन्द

दीपक अधिकारी काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ६ -
पत्रकार वीरेन्द्र साहको हत्याको विरोधमा नुवाकोटका पत्रकारहरुले आजदेखि अनिश्चितकालीन नुवाकोट बन्द गराएका छन्।

पत्रकारहरु साहको हत्याको माओवादीहरुले सार्वजनिक रुपमा माफी माग्नुपर्ने, पत्रकार साहलाई सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राख्दै सडकमा उत्रिएपछि गाडीहरु चल्न सकेका छैनन् भने पसलहरु पनि सबै बन्द रहेका छन्।

प्रेस चौतारी नेपाल र प्रेस यूनियनको आहृवानमा नुवाकोटका पत्रकाहरुले बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला समेत जलाएका छन्। यसैगरी मेची महाकाली मिडिया सोसाइटी, प्रेस चौतारी, नेपाल प्रेस युनियन लगायतका पत्रकार संघसंस्थाहरुले पत्रकार वीरेन्द्र शाहको हत्याको विरोधमा सिराहाको लहानमा एकघण्टा सडक जाम गर्दै यातायात बन्द गराएका छन्। उनीहरुले १० बजेदेखि ११ बजेसम्म एक घण्टा मोटरसाइकल तेर्स्याएर विरोधस्वरुप बाटो बन्द गर्न गरेका हुन्।

Popularity: 9%

Add comment November 6th, 2007

माओवादीले देशव्यापी जागरण कार्यक्रम गर्ने

दीपक अधिकारी काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ६ -
नेकपा माओवादीले संसदबाट हालै पारित गणतन्त्र घोषणा र समानुपातिक निर्वाचन प्रणालीको प्रस्तावबारे जनचेतना जगाउन देशव्यापी कार्यक्रम गर्ने भएको छ।

मुलुकको पछिल्लो परिस्थितिको समीक्षा तथा भावी योजनाबारे छलफल गर्न नेकपा माओवादी केन्द्रीय समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

राजधानीको बुद्धनगरस्थित पार्टी मुख्यालयमा बसेको बैठकले विभिन्न वर्ग तथा समूहसँग अन्तर्क्रिया गरी अघि बढ्ने निर्णय समेत गरेको माओवादी नेता मोहन वैद्य किरणले जानकारी दिनुभयो। बैठकमा माओवादी अध्यक्ष प्रचण्डले गणतन्त्र घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा संसदमा सहमति जुटाउन भएका प्रयासहरुबारे जानकारी गराउनुभएको थियो।

बैठकमा बाम एकता, नयाँ राजनीतिक ध्रुवीकरण तथा सरकारको नेतृत्व परिवर्तनलगायतका विषयमा पनि छलफल भएको स्रोतले बताएको छ। बैठकमा पत्रकारहरुको विरोध प्रदर्शन र हत्यामा संलग्नहरुलाई कसरी कारवाही गर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ। साथै बैठकले मंसिर २ गते देशव्यापी रुपमा वृहत सभा गर्ने निर्णय समेत गरेको छ।

Popularity: 9%

4 comments November 6th, 2007

पत्रकार साहको हत्याबारे सरकारी धारणा आएन

दीपक अधिकारी काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ६ -
पत्रकार वीरेन्द्र साहको नेकपा माओवादीका कार्यकर्ताबाट हत्या भएको सार्वजनिक भइसक्दा पनि सरकारले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

असोज १८ गते अपहरणमा पर्नु भएका बाराका पत्रकार साहको अपहरण गरेकै केहीबेरपछि हत्या गरेको भए पनि माओवादीले त्यसको एक महिनापछि हिजो आएर घटना सार्वजनिक गरेको हो। माओवादीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साहको शव सपही गाविसको जुगुवा र ककरी गाविसको सुखुवा नजिकैको जंगलमा रहेको खाली चौरमा गाडिएको छ।

सो ठाउँमा शवको पत्ता लगाउन प्रहरी सहितको टोली घटनास्थल गएको हाम्रा बारा सहकर्मीले जनाएका छन्। हत्याको प्रतिवेदन माओवादीले गठन गरेको छानबिन समितिले हिजो सार्वजनिक गरेको हो। माओवादी अध्यक्ष प्रचण्डले साहको परिवारसँगको भेटमा ३ दिनभित्र अवस्था सार्वजनिक गरिदिन्छु भनेर समितिलाई जिम्मा लगाई आफूले भने केही बोलेका छैनन्।

Popularity: 9%

Add comment November 6th, 2007

क्यालिफोर्निया काँग्रेसका दुई सदस्य निष्काशित

क्यालिफोर्निया काँग्रेसका दुई सदस्य निष्काशित
अधिनायकवादी शैलीप्रति खेद

गौतम दाहाल, क्यालिफोर्निया, अमेरिका / एचकेनेपाल डट कम, नोभेम्बर ६ -
जनसम्पर्क समिति, अमेरिका क्यालिफोर्निया च्याप्टरले च्याप्टरको सांगठनिक हितका विरुद्ध लागेको भन्दै आफ्ना दुई केन्द्रीय प्रतिनिधिलाई च्याप्टरबाट हटाएको छ।

च्याप्टरको यही नोभेम्वर ४ तारिख सोमवारका दिन यहाँ बसेको बैठकले दुई केन्द्रीय प्रतिनिधि धनञ्जयनरसिंह केसी र आमोद पोखरेलको हालका गतिविधि च्याप्टरको हित अनुकूल नदेखिएकोले यसरी हटाउने निर्णय गरेको हो। च्याप्टरका प्रवक्ता एवं कोषाध्यक्ष विनोद भट्टले बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिका अनुसार, बैठकमा च्याप्टरका सल्लाहकारहरुसहित बहुमत पदाधिकारीहरुको निर्णयबाट केसी र पोखरेललाई हटाउने निर्णय गरिएको हो।

च्याप्टरका अध्यक्ष बैकुण्ठ खनालको अध्यक्षतामा बसेको बैठकमा हालै नेपाली जनसम्पर्क समिति, अमेरिका (देवकोटा समूह) को नामबाट धनञ्जयनरसिंह केसीले विज्ञप्ति जारी गर्दै क्यालिफोर्निया च्याप्टर विघटन गरेको भन्ने सम्बन्धी भ्रामक समाचारको खण्डन समेत गरेको छ। विघटन गरिएको भनिएको कथित निर्णयलाई अमान्य ठहर गर्दै बैठकले यस किसिमको घोर निन्दनीय र अधिनायकवादी शैलीबाट गरिएको निर्णय भन्दै त्यस कार्यविरुद्ध खेद प्रस्ताव समेत पारित गरेको छ।

च्याप्टरका तर्फबाट जारी गरिएको विज्ञप्तिमा अगाडि भनिएको छ, गत २८ जुलाई २००७ मा बैकुण्ठ खनालको अध्यक्षतामा गठित जनसम्पर्क समिति अस्तित्वमा रहेको क्यालिफोर्नियाको एक मात्र आधिकारिक समिति हो। यसमा भएको भनिएको विघटनसम्बन्धी कुनै पनि शंका र भ्रममा नपर्न सबै सदस्य एवं शुभचिन्तकहरुमा च्याप्टर आग्रह गर्दछ। साथै नेपाली काँग्रेसको आदर्श, मूल्य र मान्यतालाई कदर गर्दै सदैव आपसी एकता र विश्वसनीयता प्रदर्शन गर्न समेत च्याप्टरले सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ। यसैगरी च्याप्टरले पाँच सदस्यीय समन्वय समिति समेत गठन गरेको छ। सो समन्वय समितिको काम, कर्तव्य र अधिकार जनसम्पर्क समिति, क्यालिफोर्निया च्याप्टरले तोके अनुसार हुने गरी गठन गरिएको समितिमा मणी नेपाली, सुमन दाहाल, शिव खड्का, विनोद भट्ट र छिरिङ शेर्पा रहनुभएको छ।

Popularity: 9%

Add comment November 6th, 2007

पत्रकार हत्याको चौतर्फी विरोध, आज देशभर प्रदर्शन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल पत्रकार महासङ्घले नेकपा (माओवादी)का कार्यकर्ताद्वारा गत असोज १८ गते अपहृत पत्रकार वीरेन्द्रकुमार साहलाई सोही दिन अपहरणकारीले गोली हानी हत्या गरेको विवरण सोही पार्टीले सार्वजनिक गरेबाट आफू स्तब्ध, भावविह्वल र आक्रोशित भएको जनाएको छ ।

उक्त विवरण सार्वजनिक भएलगत्तै साँझ बसेको महासङ्घ केन्द्रीय समितिको बैठकले प्रेस स्वतन्त्रताका योद्धा पत्रकार साहप्रति श्रद्धाञ्जलि एवं शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

सूचनाको खोजीमा हिँडेका पत्रकारलाई सूचना दिन भनेर झुक्याएर अपहरण गरी हत्या गरिएको सो घटना प्रेस स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रमात्र हैन मानवीय सभ्यतामाथिकै गम्भीर आक्रमण हो भन्दै महासङ्घले घटनाप्रति निन्दा र खेद व्यक्तका साथ घटनामा संलग्न व्यक्ति र पक्षलाई नेपाली प्रेस जगत्ले माफ नगर्ने जनाएको छ ।

महासङ्घले पत्रकार हत्याको जघन्य अपराधमा संलग्न व्यक्तिलाई अहिलेसम्म पक्राउसमेत नगरिएको, सरकार र माओवादीबाट लामो समयसम्म सूचना लुकाएर परिवार, महासङ्घ र सिङ्गो राष्ट्रलाई गुमराहमा राखिएको, माओवादीले आफ्नै पक्षबाट भएको यस्तो अपराधमा क्षमायाचनासमेत नगरेको र सरकार अकर्मण्य, प्रतिक्रियाविहीन र निरीह भएकोमा आक्रोश व्यक्त गरेको छ ।

विज्ञप्तिमा सो जघन्य अपराधमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै पत्रकार साहप्रति राज्यबाट उच्च तहको सम्मान र परिवारलाई क्षतिपूर्ति, जीविका र बालबच्चाको शिक्षादीक्षाको प्रबन्ध गर्न सरकारसँग माग गर्नुभएको छ ।

महासङ्घले पत्रकार हत्याको विरोधमा कात्तिक २०गते देशव्यापी विरोध प्रदर्शन गर्न आहृवान गरेको छ । राजधानीमा अपराहृन ३ः०० बजे नयाँबानेश्वरबाट विरोध प्रदर्शन र माइतीघर मण्डलमा सभा हुने जनाइएको छ ।

यसैगरी प्रेस चौतारी नेपालले चौतारीका केन्द्रीय सदस्यसाहलाई गत असोज १८ गते माओवादी कार्यकर्ताले अपहरण गरी हत्या गरेको खबरले आफू स्तब्ध तथा आक्रोशित भएको जनाएको छ ।

चौतारीका महासचिव गगन विष्टले शोक वक्तव्य जारी गरी सो घटनाबाट “सिङ्गो प्रेस जगत्को घाँटी निमोठ्ने माओवादी जङ्गली व्यवहार जनस्तरबाटै उदाङ्गिएको छ” भन्दै पत्रकार साहको हत्यामा संलग्न दोषीमाथि कारवाही गर्न सम्बन्धित पक्षसँग मागका साथ उक्त घटनाको भर्त्सना गर्नुभएको छ ।

चौतारीले माओवादीले २४ घण्टाभित्र पत्रकार साहको लास बुझाउनुपर्ने र सो घटनाप्रति माओवादी नेतृत्वले सार्वजनिक रुपमा माफी माग्नुपर्ने, अपराधमा संलग्न हत्यारालाई राज्यबाट अविलम्ब कारवाही गर्नुपर्ने, यस प्रकारका जघन्य अपराधका घटना दोहोरिन नदिन र प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धतालाई सदैव सम्मान गर्ने प्रतिबद्धता प्रकट गर्नुपर्ने, पत्रकार साहलाई राज्यले अविलम्ब सहिद घोषणा गर्नुपर्ने, राज्यबाट पत्रकार साहका परिवारको पालनपोषणका साथै सन्तानलाई शिक्षादीक्षाको ग्यारेन्टी गर्नुपर्ने माग पनि गरेको छ ।

पत्रकार साहको हत्याको विरोधमा देशव्यापी रुपमा सबै जिल्ला समितिद्वारा कात्तिक २० गते शोकसभाको आयोजना गर्न नागरिक समाज, सञ्चार क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थालाई आहृवान गर्दै चौतारीले हत्यामा संलग्न अपराधीलाई कारवाहीका लागि दबाब दिनका लागि सबैमा अपिल पनि गरेको छ ।

राष्ट्रिय फोटो पत्रकार समूहले पनि प्रेस विज्ञप्ति जारी गरी बन्दुकले कहिल्यै कलमलाई पराजित गर्न सक्दैन भन्दै आफूलाई लोकतान्त्रिक शक्ति भन्न रुचाउने माओवादीले यस्ता हर्कत तुरुन्त बन्द गर्नुपर्ने माग गरेको छ ।

Popularity: 9%

Add comment November 6th, 2007

शाही मन्त्रीको घर कब्जामा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (माओवादी)ले शाही शासनकालका कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री निरञ्जन थापाको सिर्द्धार्थनगर नगरपालिका-६ गल्लामण्डीस्थित घर नियन्त्रणमा लिएको छ ।

माओवादीको एक टोली हिजो बिहान सो स्थानमा गई घरमा झण्डा गाडेर कब्जा गरेको जनाइएको छ ।

सो घरमा थापाका आफन्त बस्दै आएका थिए । हाल घर मात्र कब्जा गरिएको जनाउँदै आफन्तसँग पछि छलफल गरिने भएकाले हाल घरमा यथावत् रहन माओवादीले निर्देश गरेको छ । थापा परिवार हाल काठमाडौँमा बस्दै आएको छ ।

शाही शासनकालमा रहेर थापाले जनआन्दोलन दबाउन सहयोग गरेको र भ्रष्टाचार गरेकाले घर कब्जामा लिइएको माओवादी सिर्द्धार्थनगर कमिटीले जनाएको छ ।

Popularity: 9%

Add comment November 6th, 2007

राजदूतहरुले पर्यटक भित्र्याउन प्रयास गर्ने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अन्तरराष्ट्रिय जगत्मा नेपालको छवि र प्रतिष्ठा उजिल्याई बढीभन्दा बढी पर्यटक स्वदेश भित्र्याउनेतर्फ आफूहरुको प्रयास केन्द्रित रहने विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुले बताउनुभएको छ ।

विभिन्न पर्यटक व्यवसायी संस्थाद्वारा आयोजित कार्यक्रममा उहाँहरुले साधन र स्रोतले भ्याएसम्म आर्थिक कूटनीतिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा राजदूतहरु मुरारीराज शर्मा (बेलायत), नवीनप्रकाशजङ्ग शाह (थाइल्यान्ड), वैजनाथ थपलिया (इजरायल),सूर्यकिरण गुरुङ (रसिया)लगायतले नव नेपाल निर्माणमा आफूहरुले सक्दो प्रयास गर्ने बताउनुभयो ।

Popularity: 9%

Add comment November 6th, 2007

सातसय किसानद्वारा मसाल जुलुस

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
भूमिमाथि रहेको दोहोरो स्वामित्व अन्त्य गरी मोहीलाई जग्गाधनी बनाइनुपर्ने माग राख्दै भक्तपुर जिल्लाका चार गाविसमा सोमबार ७०० किसानले मसाल जुलुस प्रदर्शन गरे ।

नेकपा (माओवादी) निकट अखिल नेपाल किसान सङ्घ क्रान्तिकारीले आयोजना गरेको एक हप्ता श्रम शिविरमा सहभागी ७०० कृषकले ताथली, सुडाल, बागेश्वरी र नगरकोट गाविसका विभिन्न क्षेत्रमा मसाल जुलुस प्रदर्शन गरेको नेकपा माओवादी भक्तपुर जिल्ला सेक्रेटरी दिवाकरले जानकारी दिनुभयो ।

मसाल जुलुस प्रदर्शन गरी सकेपछि चार वटै गाविसमा कोणसभाको समेत आयोजना गरी भूमिमाथिको दोहोरो स्वामित्व अन्त्य हुनुपर्ने माग गरियो ।

Popularity: 9%

Add comment November 6th, 2007

माअ‍ोवादीले विजय जुलुस निकाले

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संसदबाट पूर्ण समानुपातिक निर्वाचन प्रणाली र गणतन्त्रको प्रस्ताव पारित भएको खुसियालीमा नेकपा (माओवादी) सप्तरीले कञ्चनपुरमा विजय जुलस तथा सभा आयोजना गर्यो ।

स्थानीय माओवादी पार्टी कार्यालय अगाडिबाट निस्केको जुलुस नगरपरिक्रमा पछि सहिदचोकमा पुगी सभामा परिणत भएको थियो ।

सभामा माओवादी नेता तथा कार्यकर्ताले संसदमा पारित भएका प्रस्ताव कार्यान्वयन गराउन सङ्घर्ष जारी राख्नुपर्नेमा जोड दिए ।

सभामा अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी)का केन्द्रीय सदस्य हरिनारायण महतोले पारित प्रस्तावहरूका कार्यान्वयनमा पनि षड्यन्त्र हुनसक्ने बताउँदै त्यस्ता षड्यन्त्रका विरुद्ध सम्पूर्ण जनता एक हुनुपर्ने बताउनुभयो ।

Popularity: 9%

Add comment November 6th, 2007

सबैको साझा लाहुरेको धनकुटालाई कोसेली - राजेश राई

राजेश राई, धनकुटा / एचकेनेपाल डट कम -
धनकुटामा मात्र सय भन्दा बढी ब्रिटीस लाहुरेहरु छन्। ती लाहुरेहरुले प्रत्येक पल्ट घर आउदा आफ्नो परिवार, नातागोतालागि केही न केही कोशेली लिएर आउछन्। गाउँमा लाहुरे आएपछि गाउलेहरु पनि केही न केही पाइन्छ भनेर आश गर्छन्। लाहुरेले पनि केही न केही त बाँड्छन्। (more…)

Popularity: 9%

Add comment November 6th, 2007

कोरियामा पनि इण्डियन आइडल प्रशान्त आउने

पुरु जोशी, द. कोरिया / एचकेनेपाल डट कम, नोभेम्बर ५ -
इण्डियन आइडल - तेस्रो प्रशान्त तामाङ द. कोरियामा लाइभ कन्सर्टको लागि आउने भएका छन्।

इण्डियन आइडल प्रशान्त तामाङका साथ टप टेनमा पुग्न सफल पूजा चटर्जी पनि द. कारिया आउने भएकी छिन्। दक्षिण कोरियामा प्रशान्त र पूजाको लाइभ कन्सर्टको लागि भारतीय सोनी टेलिभिजन च्यानलसंग सम्झौता भैसकेको सुदूरपश्चिम समाज द. कोरियाले जनाएको छ।

प्रशान्त र पूजाको लाइभ कन्सर्ट आगामी ७ फेब्रवरी २००८ मा हुनेसमेत जनाईको छ।

Popularity: 9%

1 comment November 6th, 2007

माओवादीका अगाडि दयनीय दल - अनिल पाण्डे

- अनिल पाण्डे
कात्तिक १८ गते नेपालको शासन केन्द्र सिंहदरवार दुई कारणले चर्चामा रहृयो। पहिलो कारण नेकपा (एमाले) र नेकपा (माओवादी) बीचको मिलिभगत र पत्रकारमाथि लोकतान्त्रिक भनिने सरकारका प्रहरीबाट गरिएको कठोर लाठी प्रहार। पहिलो घटना सिंहदरवारभित्र संसदभवनमा भएको थियो भने दोस्रो सिंह दरवारको दक्षिणी ढोकाबाहिर। (more…)

Popularity: 9%

Add comment November 6th, 2007

तमु धि दक्षिण कोरियाद्वारा भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम (+Photo)

उत्तम गुरुङ, दक्षिण कोरिया / एचकेनेपाल डट कम, नोभेम्बर ५ -
दक्षिण कोरिया गुरुङहरुको संस्था तमु धि दक्षिण कोरियाले नेपालबाट कोरिया आउनु भएका तमु राष्ट्रिय परिषदका महासचिव डा. शेखर गुरुङको उपस्थितिमा एक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

दक्षिण कोरियाको राजधानी सिउलको तोङदेमुनस्थित हिमालयन रेष्टुरेन्टमा तमु धि दक्षिण कोरियाद्वारा आयोजित उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तमु बौद्ध सेवा समितिका सल्लाहकार र नेपाल जर्मन एकेडेमी एसोसिएसनका अध्यक्षसमेत रहनु भएका डा. शेखर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

डा. गुरुङ दक्षिण कोरियामा आयोजना हुने वायु मण्डलमा रहेको ओजन तह मापनसम्बन्धी एक कार्यक्रममा भाग लिन कोरिया आउनु भएको हो । उहाँ कोरियामा आयोजना हुने टु एटेण्ड-११ बाइनियल ब्रेयर युजर कन्फरेन्समा भाग लिन कोरिया आउनु भएको बताइएको छ। सोही अवसर पारी तमु धि दक्षिण कोरियाले सो भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

सो कार्यक्रमलाई सम्बोधन गर्दै डा. गुरुङले नेपालमा मात्र होइन विश्वभर रहेका गुरुङहरु एकीकृत हुनुपर्ने र जीवनको अन्तिम लक्ष्यसम्म जस्तोसुकै परिस्थिति आइपरे पनि तमु एकताका लागि लागिरहनु पर्नेमा जोड दिनुभयो। उहाँले संसारको कुनै पनि ठाउँमा गए पनि र जहाँ भए पनि अरु कुनै वादले नछोए पनि गुरुङवादले सबै तमुहरुलाई छुनुपर्ने बताउनुभयो। उहाँले यही मंसिर १५, १६ र १७ गते पोखरामा गुरुङ परिषदको दोस्रो महाधिवेशन हुने र सो महाधिवेशनमा नेपालभित्रका गुरुङ संस्थाका साथै अन्तर्राष्ट्रिय गुरुङ संघ/संस्थाहरुले पनि भाग लिने बताउनुभयो।

डा. गुरुङले सो महाधिवेशनमा गुरुङ संघ संस्थाका वर्तमान राजनीतिक परिवेशबारे आफ्नो धारणा स्पष्ट पारिने बताउनुभयो। सो कार्यक्रममा स्वगत भाषण तमु धि दक्षिण कोरियाका सदस्य इश्वर गुरुङले गर्नुभएको थियो भने वक्ताहरुमा तमु धि कोरियाका सल्लाहकार चाङकुमार गुरुङ र नेपाल बौद्ध परिवारका अध्यक्ष एवं तमु धि कोरियाका सल्लाहकार नरेन्द्र गुरुङले पनि बोल्नु भएको थियो।



कार्यक्रमको सभापतित्व तमु धि दक्षिण कोरियाका अध्यक्ष रामकाजी गुरुङले गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गुरुङले तमु एकता नभएका कारणले विदेशमा रहेर हामीलाई सहयोग गर्न पनि अप्ठ्यारो रहेको बताउनुभयो। कार्यक्रमको संचलन तमु धि दक्षिण कोरियाका सचिव लोकबहादुर गुरुङले गर्नुभएको थियो।

तस्विरः उत्तम गुरुङ, दक्षिण कोरिया / एचकेनेपाल डट कम । थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 9%

1 comment November 6th, 2007

मोरङ सुनसरीद्वारा मृतक श्रेष्ठको शब नेपाल फर्काउन आर्थिक सहयोग

कुमार कार्की, कतार / एचकेनेपाल डट कम, नोभेम्बर ५ -
मोरङ सुनसरी प्रवासी सेवा समाज दोहा कतारद्धारा मृतक धिरज श्रेष्ठको लास नेपाल फर्काउनका लागि आफन्तहरुको सकृयतामा कतारी रियाल आठ हजार एकसय एकाउन्न संकलन गरि प्रदान गरेको छ।

कतारमा विगत १८ महिनादेखि कार्यरत धरान नगरपालिका वडा नं ६ घर भएका धिरज श्रेष्ठको गत ३१ सेप्टेम्वरमा हृदयघातवाट निधन भएको थियो। श्रेष्ठको आर्थिक अवस्था कमजोर रहेको तथा अवैधानिक रुपमा कार्यरत रहेको हुँदा निजको मृत शरिरलाई नेपालसम्म पुर्याउनका लागि आर्थिक रकमको आवश्यकतालाई पूर्ति गर्न निजका आफन्त नेत्र श्रेष्ठले मोरङ सुनसरी प्रवासी सेवा समाज दोहालाई अपिल गरेपछि संस्थाको पहल तथा आफन्त नेत्र श्रेष्ठ लगायत अन्य कतारवासी नेपालीहरुको सकृयतामा सहयोग रकम जुर्टाईएको कुरा संस्थाका पदाधिकारीहरुले जनाएका छन्।

कतारमा दिनानुदिन वढिरहेको हृदयघातबाट हुने मृत्यु दरका क्रममा नेपालीको संख्या अत्याधिक रहने गरेको पाईएको छ।

जिवन थापा अल्खोरबाट कतारी रियल ३०२ , अनिक महर्जलनद्वारा अल्सादबाट कतारी रियल २०००, राजन दहालद्वारा सनैयाबाट कतारी रियल १७९ , निर्मल सुन्दास संस्थाका सल्लाहकारद्वारा कतारी रियल ७८, आगम र्राई, दिलकुमार तामाङ्ग र नेत्र श्रेष्ठद्वारा दोहाबाट कतारी रियल १४५०, डल्लाकोटी तथा रन्जितद्वारा कतारी रियल १२७५, रमेस कार्कीबाट ३३०, खेम पौड्यालबाट १००, लालबहादुर श्रेष्ठ र राजु श्रेष्ठ दोहाबाट कतारी रियल ६५०, आमेगा पनिद्धारा ११५०, रुट्स कतारमा कार्यरत नेपालीहरुबाट कतारी रियल ६४५, गरि जम्मा ८१५१ रियाल संकलन भएको छ।

मृतक श्रेष्ठको लासलाई नेपाल फर्काउन लाग्ने आवश्यक खर्चका लागि उक्त संकलित रकमवाट जम्मा ३८८४ रियाल वुझाईसकेको जानकारी संस्थाका निवर्तमान अध्यक्ष टि वि कार्कीले जानकारी दिनु भएको छ। अन्य वाँकीरहेको रकम मृतक धिरज श्रेष्ठकी श्रीमति डम्वरकुमारी श्रेष्ठको नाममा पठाउनका लागि मृतकका आफन्त तथा सहयोग रकम संकलनमा सकृय भुमिका निर्वाह गर्नुहुने नेत्र श्रेष्ठलाई प्रदान गरिएको कुरा जानकारी प्राप्त भएको छ।

Popularity: 9%

Add comment November 6th, 2007

मोरङ सुनसरी कतारमा नेतृत्व परिवर्तन

कुमार कार्की, कतार / एचकेनेपाल डट कम, नोभेम्बर ५ -
मोरङ सुनसरी प्रवासी सेवा समाज कतारको गत २ नोभेम्वर शुक्रवारका दिन सम्पन्न वैठकले संस्थाको नेतृत्वमा हेरफेर गरेको छ।

संस्थाका निवर्तमान अध्यक्ष टि वि कार्की काठमाडौंमा सम्पन्न गैर आवासीय नेपाली संघको तश्रो विश्व सम्मेलन मार्फत अन्तर्राष्ट्रिय समन्वय परिषदको कतार प्रतिनिधिमा निर्वाचित हुनु भएपछि कार्य व्यस्तताका कारण संस्थामा दिनु भएको राजिनामालाई वैठकले स्वीकृत गरि संस्थाको नेतृत्वमा हेरफेर गरेको छ।

संस्थाको वैठकले निवर्तमान अध्यक्षको ठाँउमा परिवर्तन गर्दै वासुदेव खड्कालाई अध्यक्ष पदमा चयन गरेको छ। त्यस्तै कोषाध्यक्षमा कमल परियार र दुइजना सदस्य पदमा हेरफेर गरेको छ जसमा निश्चल सुमन र गोपाल विष्ट रहनु भएको छ।

संस्थाको वैठकले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कतार प्रतिनिधिको रुपमा निर्वाचित हुनु भएका निवर्तमान अध्यक्ष टि वि कार्कीलाई हार्दिक वधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गरेको छ।

विद्यालय भवन निर्माणका लागि सहयोग
संस्थाले मोरङ्ग जिल्ला दुलारी गा. वि. स. स्थित वुढिखापमा निर्माणधिन श्री श्रृजनशील प्राथमिक विद्यालयको भवन निर्माणका लागि सहयोग प्रदान गर्ने उद्धेश्यका साथ सहयोग रकम संकलन गरिरहेको जानकारी दिदैं उक्त कार्यमा सहयोग गरिदिनुहुन मोरङ, सुनसरी तथा अन्य सम्पूर्ण प्रवासी नेपालीहरुमा उक्त सहयोग संकलन समितिका संयोजक सन्तोष श्रेष्ठले हार्दिक अनुरोध गर्नुभएको छ। साथै कतारमा कार्यरत सहयोग दाता मात्र नभएर अन्य देशमा कार्यरत प्रवासी नेपालीहरुले पनि यसका लागि सहयोग गर्न सक्ने कुरा जानकारी गर्राईएको छ।

सहयोग गर्न चाहने प्रवासी नेपालीहरुले ००९७४५९९६४०७ र ००९७४५८७३१४२ तथा इ-मेल मार्फत morangsunsarinrna@yahoo.com मा पनि सम्पर्क गर्न सकिने कुरा जनाईएको छ ।

Popularity: 9%

Add comment November 6th, 2007

सउल शहरमा बृहत प्रदर्शन हुने

द. कोरिया, एचकेनेपाल डट कम, नोभेम्बर ५ -
नेपालीहरुको अर्को महान चाड भाई टिका कै दिन कोरियाको राजधानी सउल शहरमा आठलाख मजदुरहरुले बृहत प्रदर्शन गर्ने भएका छन्।

उक्त प्रदर्शनीमा कोरियाका शक्तिशाली मजदुर संगठन केसिटियु - Korean Confederation of Trade Union ) र यसका भातृ संगठनहरु, प्रजातान्त्रिक मजदुर पार्टी (KDLP) , बिद्यार्थी संगठनहरु र कृषक संगठनको संयूक्त शान्ति र्‍याली हुने आयोजकबाट जानकारी हुन आएको छ।

तर राष्ट्रपतिको चुनाव संघारमा नै आएको हुनाले केही गल्ति भएको खण्डमा मजदुर पार्टीलाई अप्ठयारो पर्ने हुनाले सतर्कता अपनाएर गरिने भएको छ। उक्त र्‍याली बिहान ११ बजे यङ्गदम्पु, मारोनी पार्क, सिटिहल, सउल स्टेशन, छुन्गाक र हेवादोङ्गमा कोण सभाहरु भएर दिनको १ बजे राष्ट्रपति भवन अगाडी खागामुनमा पुगेर आमसभामा परिणत हुने भएको छ। प्रदर्शनीमा प्रवासी श्रमिक युनियन (MTU) र विभिन्न देशका संधसंस्थाहरुले सहभागिता जनाउने भएको छ। प्रदर्शनको एजेण्डा “अस्थायी श्रमिकहरुलाई स्थायी गर, कृषकहरुको एफटिए सम्झौता रद्घ गर, श्रमिकको तीन अधिकार लागु गर” आदि रहेका छन्।

Popularity: 9%

Add comment November 6th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....