Archive for November 7th, 2007

स्वर्गिय पत्रकार साहको परिवारलाई व्यानले एकलाख सहयोग गर्ने

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ७ -
माओवादीका कार्यकताहरुले हत्या गरेका पत्रकार वीरेन्द्र साहको परिवारलाई व्रोडकाष्टिङ एसोसिएसन अफ नेपालले राहत स्वरुप रु १ लाख नगद सहयोग गर्ने भएको छ।

एसोसियसनको आज बसेको बैठकले यस्तो निर्णय गरेको एसोसिएसनले विज्ञप्ति जारी गरेर जानकारी दिइएको छ। विज्ञप्तिमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ब्यापक दवाव हुँदा समेत सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक नगरेको, पत्रकार साहको परिवारप्रति सहानुभूति, सद्भाव तथा राहत सहयोग नगरेको र हत्याराहरुलाई कारवाही गर्न नसकेकोमा एसोसियसनले आर्श्चर्य समेत व्यक्त गरेको छ।

विज्ञप्तिमा नेकपा माओवादीले हत्याराहरुलाई समातेर सरकारलाई बुझाउने र सार्वजनिक रुपमा क्षमायाचना गर्दै अवदेखि नागरिकको हत्या गर्ने लगायतका कुनै पनि आपराधिक क्रियाकलाप नगर्ने प्रतिवद्धता जनाउन पनि एसोसिएनले माओवादीको ध्यानाकर्षण गराएको छ।

Popularity: 9%

Add comment November 7th, 2007

मोर्चाका सैन्य फाँट इन्चार्ज हतियारसहित पक्राउ

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ७ -
राजविराजमा प्रहरीले गए राति जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य फाँट इन्चार्ज लुआदत्त मियाँलाई हतियारसहित पक्रेको छ।

प्रहरी निरीक्षक राजेन्द्र वस्नेतको नेतृत्वको टोलीले घोघनपुर गाविसको एक विद्यालयमा लुकेर बसेको अवस्थामा एक थान पेस्तोलसहित पक्रेको सशस्त्र प्रहरी उपरीक्षक प्रहृलाद केसीले जानकारी दिनुभयो। पक्राउ परेका मियाँले एक महिनाअघि घोघनपुर गाविसका यामनी खतिवडाको अपहरण र अन्य अपराधमा संलग्न रहेको प्रहरी जनाएको छ।

Popularity: 9%

3 comments November 7th, 2007

राजधानीमा दिउँसै गोली प्रहार, एक युवक घाइते

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ७ -
अज्ञात समूहको गोली प्रहारबाट आज अपराहृन राजधानीको सितापाईलामा एक युवक घाइते भएका छन्।

दुई वटा मोटरसाईकलमा आएका नकापधारी समूहले स्थानीय दीपक खड्कालाई लक्षित गरी दुई राउण्ड गोली प्रहार गरेका थिए। तर खड्काले छलेपछि जुत्ता सिलाउने एक युवकलाई हातमा गोली लागेको छ। नाम नखुलेको गोली लागेका युवकको अहिले राजधानीको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ भने सो समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Popularity: 9%

1 comment November 7th, 2007

हत्यामा संलग्न एक प्रहरी नियन्त्रणबाटै फरार

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ७ -
सिराहा जिल्लाको सोनमति मझौरा गाविसका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेस महासमिति सदस्य बेचन यादवको हत्यामा संलग्न भएको आंशकामा प्रहरीले पक्राउ गरेका चार जना मध्ये एक जना भागेका छन्।

जनकपुरस्थित अस्पतालमा उपचारका क्रममा प्रहरी नियन्त्रणमा रहेका फिरोज मियाँ भागेको सिराहा प्रहरीले जनाएको छ। यादवको हत्यामा संलग्न भएको आरोपमा सोनमति मझौराका सत्रुधन मण्डल, जिवछ मियाँ, कमरुदिन मियाँ र फिरोज मियाँलाई प्रहरीले पक्रेको थियो।

स्थानीयबासीन्दाको कुटपिटबाट घाइते भएका चारै जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार हुँदाहुँदै फिरोज भने भागेका हुन्। कांग्रेस महासमिति सदस्य यादवको गएको शनिबार साँझ अपहरण गरी हत्या गरिएको थियो।

Popularity: 9%

Add comment November 7th, 2007

निजामती कर्मचारीहरुद्वारा सामुहिक राजिनामा

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ७ -
सुरक्षाको कारण दर्शाउदै सप्तरीका अधिकाश निजामती कर्मचारीहरुले सामुहित राजिनामा दिएका छन्। त्यहाँ कार्यरत चारसय १५ जना निजामती कार्मचारीले सरकारले सुरक्षाको प्रत्याभुति दिन नसकेको र हत्यारालाई कारबाही गर्न नसकेको भन्दै आज सामुहिक राजिनामा दिएका हुन्।

निजामती कर्मचारी संगठनको आज बसेको बैठकले राजीनामाका लागि संकलित ४१५ जना कर्मचारिको हस्ताक्षर आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कोइराला समक्ष बुझाइएको छ।

जिल्ला बिकास समिती सप्तरीका नायब सुब्बा प्रभुनारायण यादबको केही दिनअघि अज्ञात समूहले अपहरणपछि हत्या गरे यता त्यहाका कर्मचारीहरुले सबै कर्मचारीहरुको जिउधनको सुरक्षा गर्नु पर्ने र हत्यारा पत्ता लगाई तत्काल सरकारले कारबाही गर्नु माग राख्दै काम काज ठप्प पार्दै आएका थिए।

तराईमा केही समय यता दैनिक जसो कर्मचारीको अपहरण, हत्या जस्ता घटनाहरु भई रहेका छन्। यसैबीच मृतक यादबको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनरत कर्मचारीसंग छलफल गर्न गृहसचिवसहित जिल्लाका सांसदको एक टोली आजै सप्तरी पुग्ने जनाइएको छ। यसैबीच कर्मचारी आन्दोलनमा ऐक्यबद्धता जायर गर्न शिक्षकहरुले पनि आज जिल्लाका सम्पूर्ण शैक्षिक संस्था ठप्प पारेका छन्। शैक्षिक संस्था बन्दका कारण जिल्लाको पठनपाठन ठप्प भएको छ।

Popularity: 9%

1 comment November 7th, 2007

नक्कली पेस्तोलसहित युवक पक्राउ

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ७ -
काठमाडौं महानगरपालिका ११ बबरमहलबाट नक्कली पेस्तोलसहित एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डोटीको महादेव स्थान घर भई नारायणटार जोरपाटीमा बस्ने २३ वर्षीय असुबिन ओझा रहेका छन्। हिजो साँझ ७ बजे कामनपा ११ बबरमहल रातो भाले रेष्टुरेन्ट नजिककै शंका लागी चेका जाँच गर्दा उनलाई नक्कली पेस्तोल र अन्य सामानसहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका ओझाको साथबाट नक्कली पेस्तोल १ थान त्यसमा लाग्ने रवरको गोली ६ थान, १ केजी बारुद, व्याट्री, बिजुलीको तार, खुकुरी लगायतको सामान बरामद गरेको प्रहरीले बताएको छ।

Popularity: 9%

1 comment November 7th, 2007

व्यवसायीमाथिको आक्रमणको बिरोधमा बाह्रबिसे बजार बन्द

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ७ -
व्यवसायीमाथि भएको आक्रमणको विरोधमा आज सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे बजार बन्द गरिएको छ।

बाह्रबिसेका स्थानीय बासिन्दा तथा उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका प्रथम उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद श्रेष्ठमाथि चन्दन तस्करहरुले आक्रमण गरेको बिरोधमा स्थानीय बासिन्दाले बजार बन्द गराएका हुन्। बन्दका कारण बाह्रबिसेबाट काठमाण्डौतर्फ आउने कुनै पनि सवारी साधन चलेका छैनन्। यातायात ठप्प हुँदा सिन्धुपाल्चोक र काठमाडौँ ओहोर दोहोर गर्ने यात्रुहरु बढी मर्कामा परेका छन्।

श्रेष्ठलाई हिजो चन्दन तस्करहरुले तरवारले आक्रमण गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ। उहाँको टाउकोमा एक दर्जन टाका लगाएको बताइएको छ।

Popularity: 9%

Add comment November 7th, 2007

तराई घटनाका दोषीमाथि कारवाही गरिने प्रधानमन्त्रीको आश्वासन

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ७ -
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकारले विद्यमान कानून अनुसार तराई घटनाका दोषीमाथि कारवाही गरिने आश्वासन दिनुभएको छ।

तराई घटनाका सम्बन्धमा छानबीन गर्न गठित आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने र दोषी उपर कारबाही गरि तराईको शान्ति सुरक्षा सुदृढ पार्ने दृढता व्यक्त गर्नु भएको हो।

सरकारले केही समय अगाडि तराईका विभिन्न जिल्लामा मच्चिएको हिंसाका कारण भएको जनधनको क्षतिका सम्बन्धमा छानबीन गर्न सर्वोच्च अदालतका न्यायाधीश खिलराज रेग्मीको संयोजकत्वमा छानबीन आयोग गठन गरेको थियो।

आयोगका सदस्यहरुले आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा गै प्रधानमन्त्रीलाई भेटी प्रतिवेदन बुझाएका हुन्।

रौतहटलगायत तराईका बिभिन्न जिल्लामा भएका हिंसात्मक घटनाहरुको अध्ययन गरि भएको जनधनको क्षति, दोषीहरु माथिको कारबाही र तर्राईमा शान्ति सुरक्षाका लागि चाल्नुपर्ने कदम लगायतका सुझाब सहितको प्रतिबेदन समितीले प्रधानमन्त्रीलाई बुझाएको हो। गत माघ १ गतेदेखि काम सुरु गरेको आयोगले तराईका रौतहट, बारा, पर्सा, कपिलवस्तुलगायतका १४ जिल्लामा पुगी घटनाको अनुसन्धान गरेको थियो। तराई आन्दोलनका क्रममा २१ जनाको मृत्यु र १६ करोड रुपैयाँभन्दा बढिको धनमालको क्षति भएको र झण्डै ११ सय मानिस घाइते भएको प्रतिबेदनमा उल्लेख छ।

आयोगले ती घटनामा परि ज्यान गुमाएकाका परिवार, घाइते तथा अगंभग भएकाहरुलाई औषधी उपचारका साथै उचित क्षतिपूर्ती उपलब्ध गराउन सिफारिस गरेको जनाइएको छ।

सर्बोच्च अदालतका न्यायधिश खिलराज रेग्मीको अध्यक्षतामा गठित छानविन आयोगमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागका प्रतिनिधीहरु लगायत सँलग्न थिए।

Popularity: 9%

1 comment November 7th, 2007

धन्वन्तरीको जन्मजयन्ती आज मनाइंदै

दीपक अधिकारी, काठमाडौं / एचकेनेपाल डट कम, नोभेम्बर ७ -
विश्वकै प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको जन्मजयन्ती आज मुलुकका आयुर्वेद सम्बद्ध संघ संस्थाहरुले विविध कार्यक्रमका साथ मनाउँदैछन्।

कार्त्तिक कृष्ण त्रयोदशीका दिन उत्पत्ति भएको मान्यताका आधारमा धन्वन्तरी जन्मजयन्ती मनाउने गरिएको छ। देवता र दानव मिलेर बासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि अमृत कलश लिएर धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ।

राजधानीको नरदेविस्थित आयुर्वेद चिकित्सा क्याम्पस स्थापना भएको वर्ष १९७४ देखि नै प्रत्येक वर्षधन्वन्तरी दिवस मनाउन थालिएको छ। आयुर्वेद विज्ञ तथा नेपाल आयुर्वेद चिकित्सक संघको पहलमा २०५६ सालदेखि धन्वन्तरि जयन्तीलाई आरोग्य दिवसको रुपमा समेत मनाउन शुरु गरिएको छ।

Popularity: 9%

Add comment November 7th, 2007

कतार आएको ६ महिना नबित्दै एक नेपालीको मृत्यु

सुविन श्रेष्ठ / प्रतिनिधि एचकेनेपाल डट कम, दोहा, कतार नोभेम्बर ७ -
रोजगारका लागि आएका एक नेपालीले कार्यरत रहेको बेला ज्यान गुमाएका छन्। बडका दियाले-३ खोटाङका भीमबहादुर खुलाल अल वकरा क्षेत्रमा स्काफफोल्डिन काम गरिरहँदा ६ मिटर माथिबाट खसेका हुन्।

खुलालको स्थानीय अस्पताल लगिने क्रममा मृत्यु भएको थियो। ३१३६८५२ नम्बरका राहदानी वाहक खुलाल यहाँ मे १९ मा आएका थिए। यहाँको पेट्रो प्लाष्टिक कम्पनीमा कार्यरत खुलाल २४ वर्षका थिए।

खुलालका ७ महिनाका छोरा रहेको जानकारी प्राप्त भएको छ। कार्यरत रहँदा दुर्घटना भएको हुनाले बिमाको क्षतिपूर्ति प्राप्त हुन्छ। दूतावास स्रोतले एचकेनेपाल डट कमलाई जानकारी दिएको छ। राजधानीबाट आवश्यक कागजात आए लगतै खुलालको बिमाका लागि पहल गरिने दूतावासले जनाएको छ।

अहिलेको प्राप्त जानकारी अनुसार कतारमा नेपालीहरूको विविधकारणले मृत्यु संख्या १ सय ३१ पुगेको छ।

Popularity: 9%

2 comments November 7th, 2007

वीरेन्द्र साहको स्मृतिमा टिभी पत्रकारिता पुरस्कार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
एभिन्यूज टेलिभिजनका बारा सम्वाददाता वीरेन्द्र साहको निर्ममतापूर्वक हत्या भएपछि पीडित परिवारप्रति समवेदना प्रटक गर्न एभिन्यूज टेलिभिजनले श्रद्धाञ्जलि सभाको आयोजना गरेको छ ।

सभामा टेलिभिजनका कार्यकारी अध्यक्ष भाष्करराज राजकणिर्कारले वीरेन्द्र साहको योगदानको कदर गर्दै प्रत्येक वर्षप्रदान गर्नेगरी वीरेन्द्र साह टेलिभिजन पत्रकारिता पुरस्कारको घोषणा गर्नुभयो ।

त्यस्तै पीडित परिवारलाई सहानुभूति स्वरुप एक लाख एक रुपैया र पीडितका भाइ भैयाराम साहलाई एभिन्यूज टेलिभिजनमा बारा सम्वाददाता नियुक्ति गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

सभामा एभिन्यूज टेलिभिजनका पत्रकार र कर्मचारीहरुले दिवंगत साहको तस्वीरमा पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

Popularity: 9%

Add comment November 7th, 2007

काग तिहारमा कागको जुलुस

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
काग तिहारको अवसरमा आज दिउँसो रत्नपार्कमा काग जुलुस हेर्न र १५० भन्दा बढी चराचुरुङ्गीको आवाज सुन्न पाइने भएको छ ।

भगवान युवा क्लब आलाकोटद्वारा आयोजना हुने त्यस किसिमको कार्यक्रममा मकवानपुर जिल्ला निवासी गौतम सापकोटाले सो कला प्रदर्शन गर्ने भएका छन् ।

आफूले कागका आठ/नौ भाषा सिकेको बताउँदै सापकोटाले काग सम्मेलनमा करिब चारहजार काग रत्नपार्कमा आउने आफूले अपेक्षा गरेको बताए ।

शान्तिको सन्देश दिन तथा संविधानसभाको निर्वाचन यसै वर्षभित्र सम्पन्न गराउन सम्बद्ध पक्षको ध्यानाकर्षण गर्न काग जुलुसले पनि सहयोग पुर्याउने बताए ।

नेपालमा ८६५ जातका चराचुरुङ्गी रहेको र सम्भव भएसम्म ती सबैको आवाज निकाली विशेष प्रतिभा प्रदर्शन गर्दै गिनिजबुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम समावेश गर्ने इच्छा रहेको सापकोटाले बताए

Popularity: 9%

Add comment November 7th, 2007

आजदेखि तिहार सुरु

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली हिन्दुको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन बिहान गाई र साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोबर्द्धन पूजा र अन्तिम दिन भाइटीका गरी सम्पन्न हुन्छ ।

पुराणका अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगन गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना बनी बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र-आभूषण दिएर भ्रातृ स्नेह प्रगाढ बनाउने हुनाले यसलाई यमपञ्चक पनि भनिन्छ ।

यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा आज धार्मिक मान्यताअनुसार कागलाई पूजा गरी विविध खानेकुरा दिइन्छ ।

हाम्रो समाजमा कागलाई सन्देशवाहकका रूपमा पनि लिइन्छ । कसैको घरआँगनमा एकाबिहान काग कराएमा त्यस घरमा पाहुना आउने विश्वास गरिन्छ ।

यो दिन कागको पूजा नगरी खाएमा पापको भागी बनिन्छ भन्ने विश्वास छ ।

Popularity: 9%

Add comment November 7th, 2007

इयुद्वारा हत्याको विरोध

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
युरोपेली सङ्घका नेपालस्थित राजदूतहरुले हत्या गरिएका पत्रकार वीरेन्द्र साहको परिवारप्रति समवेदना प्रकट गर्दै दोषीमाथि कानुनी कारवाहीको माग गरेका छन् ।

सङ्घले विज्ञप्ति जारी गरी वाक स्वतन्त्रतामाथि हुने सबै आक्रमणको तीव्र विरोध गर्दै पत्रकारमाथि बढ्दै गइरहेको आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ ।

सङ्घले सरकारलाई र्सार्वजनिक सुरक्षा सुधार गर्नेतर्फयथाशीघ्र कदम चाल्न आग्रह गर्दै हिंसा फैलाउनेमाथि कारवाही गर्न पनि अनुरोध गरेको छ ।

सङ्घको अध्यक्षका हैसियतले बेलायती दूतावासका कार्यवाहक राजदूत पल ब्युटले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ - साहको हत्याले म अत्यन्तै निराश भएको छु । एउटा प्रजातान्त्रिक समाजमा हिंसाको कुनै प्रयोग हुनु हुँदैन । हिंसा परित्याग गर्न र कानुनी राज्य सुदृढ गर्न म सबै पक्षलाई आग्रह गर्छु ।

Popularity: 9%

Add comment November 7th, 2007

प्रधानमन्त्री गृहनगरमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला केहीदिनको विश्रामका निम्ति आज गृहनगर विराटनगर जानुहुने भएको छ ।

विराटनगरस्थित उहाँको पारिवारिक सूत्रका अनुसार यसपालि प्रधानमन्त्री कोइरालाको परिवारमा तिहार मनाउन नहुने भएपनि परिवारलाई त्यसको अभाव नखट्कियोस् भन्नाका लागि तथा केहीदिन भएपनि गृहनगरमा आफन्तसँगको भेटघाट तथा आरामका लागि राम्रो अवसर पाइने हुँदा उहाँ आउन लाग्नु भएको हो ।

यस वर्ष उहाँका दुइ भाउज्यू सुशीला कोइराला र नोना कोइरालाको निधन भएकोमा कोइराला परिवारमा तिहार मनाउन नहुने भएको हो ।

Popularity: 9%

Add comment November 7th, 2007

सरकारको नेतृत्व परिवर्तन कुनै हालतमा नहुनेः अधिकारी

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेकपा (एमाले) स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले वर्तमान सरकारको नेतृत्व परिवर्तन गर्ने कुरा कुनै हालतमा हुन सक्दैन र त्यसको अहिलेको अवस्थामा कुनै संभावना नभएको बताउनुभएको छ ।

उहाँले वामपन्थीहरूको ध्रुवीकरण आवश्यक नरहेको जनाउँदै प्रधानमन्त्री कोइरालाले निर्वाह गर्नु भएको भूमिका अति महत्वपूर्ण र सान्दर्भिक भएको बताउनुभयो ।

वामपन्थी पार्टी नजिक हुनुपर्छ, तर अहिलेको अवस्थामा वाम धुवीकरण र एकताको कुनै संभावना छैन भन्दै पूर्वमन्त्री अधिकारीले चाँडोभन्दा चाँडो संविधानसभाको निर्वाचन गरेपछिमात्र सरकारको नयाँ नेतृत्वको निर्माण गर्नुपर्ने बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीमा अब सात पार्टीको बैठक बोलाएर विशेष अधिवेशनवाट पारित प्रस्तावको कार्यान्वयन गराउन पहल गर्ने गहन जिम्मेवारी आएको बताउनु भयो ।

Popularity: 9%

1 comment November 7th, 2007

चार चेलीको उद्धार

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालको पूर्वीद्वार काँकडभिट्टा नाकाबाट भारततर्फ लगिरहेको अवस्थामा चार युवतीलाई माइती नेपालले उद्धार गरेको छ ।

उद्धार गरिएका युवतीहरूमा झापाका घैलाडुब्बा बस्ने शोभा श्रेष्ठ, रूपा श्रेष्ठ, मन्जु श्रेष्ठ र दिलकुमारी श्रेष्ठ रहेका छन्।

ती युवतीहरूलाई भारतबाट कुवेतमा रोजगार लगाइ दिने प्रलोभन देखाई राजेन्द्र खवासले लगिरहेको अवस्थामा नाकाबाट उद्धार गरिएको थियो ।

उद्धार गरिएका युवतीहरूलाई आज अभिभावकको जिम्मा लगाइने बताइएको छ ।

राजेन्द्र खवासलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताइएको छ ।

Popularity: 9%

2 comments November 7th, 2007

बन्दीहरुले अनसन तोडे

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
लामो समयदेखि अनसन बसिरहेका कारागार शाखा डिल्लीबजारका बन्दीहरूले अनसन तोडेका छन् ।

कारागारको भौतिक अवस्था र बन्दीहरूको अधिकारका सम्बन्धमा उनीहरूले राखेको मागका सम्बन्धमा आयोगको यथेष्ट पहल र सो सम्बन्धमा सरकार सकारात्मक भएपछि बन्दीहरूले आयोगका सदस्य डा. केवी रोकाया तथा मानवअधिकारकर्मीहरूको रोहवरमा अनसन तोडेको आयोगले जनाएको छ ।

आयोगले सो लगायत मुलुकका विभिन्न कारागारहरूको अनुगमन गरी कारागारको भौतिक अवस्था र बन्दी तथा थुनुवाहरूको अधिकार तथा मानवीय पक्षका सम्बन्धमा नेपाल सरकारलाई पटक पटक सिफारिस गरी पठाएको थियो ।

पछिल्लोपटक आयोगले यही कात्तिक १४ गते सरकारबाट कारागार सुधार उच्चस्तरीय सुझाव समितिको प्रतिवेदन प्राप्त गरी यससम्बन्धमा सरकारलाई सिफारिस समेत गरी पठाएको थियो ।

कारागार शाखा डिल्लीबजारमा अनसन तोडेका बन्दीहरूले मुलुकका अन्य कारागारमा अनसनमा रहेका बन्दीहरूलाई पनि अनसन तोडन आग्रह गरिने कुरा आयोगलाई जानकारी दिएका छन् ।

कारागार सुधार र बन्दीहरूको अधिकारका सम्बन्धमा आयोगले गरेका सिफारिसहरू पूर्ण रूपमा कार्यान्वयन गर्न समेत आयोगले नेपाल सरकारलाई पुनः स्मरण गराएको छ ।

Popularity: 9%

Add comment November 7th, 2007

काङ्ग्रेस नेताको अपहरणपछि हत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गत बिहीबार सिरहाको मिर्चैयाबाट अपहरित नेपाली काङ्ग्रेसका नेता रामबालक सिंहको मृत शरीर मिर्चैयामा फेला परेको छ ।

घाँटी काटिएको अवस्थामा रहेको सो मृत शरीर रामनगर मिर्चैया-३ कत्था उद्योग छेउमा रहेको उखुझाडीमा स्थानीयवासीले फेला पारेका हुन् ।

मृत शरीरबारे प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

मझौलिया अरंग घर भई रामनगर मिर्चैयामा बस्दै आएका सिंह बिहीबार कात्तिक १५ गते अज्ञात समूहबाट रहस्यमय तरिकाले अपहरणमा परेका थिए ।

Popularity: 9%

Add comment November 7th, 2007

पोर्चुगलमा नेकपा माओबादीका नेता सीपी गजुरेलद्वारा सम्बोधन (+Photo)

पोर्चुगलमा नेकपा माओबादीका नेता सीपी गजुरेलद्वारा सम्बोधन
अब हामी जङल फर्कन्नौ क.गौरब

केजिन राई, लिस्बोन पोर्चुगल / एचकेनेपाल डट कम, नोभेम्बर ६ -
देशको राजनीतिक समस्या समाधान नभएसम्म देशको बिकास सम्भब छैन। माओबादी मात्र त्यस्तो संगठन हो जस्ले आम नेपालीको भावनालाई आत्मसात गर्दै मुलुकको मुहार फेर्न सक्छ । राजनीतिक निकास दिन सक्छ।

हिजो नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा पोर्चुगलको आयोजनामा मोर्चाको स्थापनाको अबसरमा राजधानी लिस्बोनको होटल अल्मरेन्ते रेईमा प्रमुख अतिथिको रुपमा बोल्दै नेकपा माओबादीका बरिष्ठ नेता एबं पार्टी बिदेश बिभाग इन्चार्ज चन्द्रप्रसाद गजुरेल “क. गौरब”ले सो कुरा बताउनु भएको हो।

“एक मात्र निर्णायक र जनताको पार्टी माओबादीले राजनीतिक निकास दिने र राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना तथा नबिन नेपालको निर्माण गर्न सक्छ ।” इन्चार्ज गजुरेलले अगाडि दावी गर्नु भयो। इन्चार्ज सीपी गजुरेलले राजा ज्ञानेन्द्र यति चाडै कमण्डलु भिरेर बनारस जानेवाला छैन। तसर्थ लोकतान्त्रिक गणातान्त्रिक मोर्चा समस्त माओबादीको नभई गणतन्त्र नेपाल चाहने नेपालीहरुको साझा मोर्चा भएको कारण समस्त प्रबासी नेपालीहरू मोर्चामा गोलबन्द र एकाकार हुनु आग्रह गर्नु भयो। राजतन्त्रको अन्त र गणतन्त्र चाहने यस्ता शक्तिलाई माओबादीको सदैव समर्थन रहनेछ भन्नु भयो। आफ्नो देश नेपालदेखि साढे नौ हजार किलोमिटर टाढा रहेको पोर्चुगलमा आएर राष्ट्रियता र देशभक्तिपूर्ण सोचले जागरूक रहनु पर्ने बताउदै बरिष्ठ नेता गजुरेलले नेपाललाई उन्नत बनाउन राजनीतिक समस्या बाधक रहेकोले समस्या समाधान गर्ने माओबादीले ९२ बर्गकिलोमिटर तथा १०.५ मिलियन जनसंख्या रहेको पोर्चुगलभन्दा आकाश जमिनको फरक समृद्ध बनाउन सकिने र आमूल रुपान्तरण गर्न सकिने छ। किनभने पोर्चुगलको भन्दा नेपालको प्राकृतिक श्रोत साधन प्रचुर रहेको छ भन्नु भयो। ढुक्क हुनुहोस हामी अब जङलमा, युद्धमा फर्कदैनौ। शान्तिपूर्ण तवरले राजतन्त्रको अन्त सम्भब देखेर हामी संसद गएका हौ। कुनैपनि हालतमा राजतन्त्रको अन्त र आमूल परिवर्तन हाम्रो महान लक्ष्य रहेको छ। इन्चार्ज गजुरेलले प्रष्ट अगाडि भन्नु भयो।

कार्यक्रमका अर्का अतिथि नेकपा माओबादीका केन्द्रीय सदस्य कन्चन शर्माले मुलुकको उर्बर जनशक्ति परदेशमा श्रम बेच्न बाध्य पारिएको प्रसंग उल्लेख गर्दै नेपाल सामान्ती र प्रतिकृयाबादीहरुको अड्डा जमाउने थलो भएको बताउनु भयो।

राजाको रैतिहरूको देश, भाडाका सिपाहीहरुको देश, बम्बैया चेलीहरुको देश बनाई मुलुक हाक्ने होनाहार जनशक्तिलाई बिदेशका गल्लीगल्लीमा भौतारिन बाध्य पार्ने अर्ध सामान्ती र अर्ध औपनिबेसिक राज्यसत्ता मुठ्ठीभर झुण्डहरुको केन्द्रीय सदस्य शर्माले एक एक हिसाब किताब र सत्य प्रमाणहरु माओबादीसंग रहेको बताउदै जनतासामु अतितदेखि बर्तमान सम्मका जनतालाई जातोमा पिस्दै बिदेसीबाट लेबी खादै रमाउनेहरुलाई कालान्तरमा नङ्ग्याउने बताउनु भयो।

अर्का अतिथि प्रबासी एक्यबद्धता मन्च सोलीडारिटी एमिग्रान्ते पोर्चुगलका सयोजक टिमोथी मासादोले न्याय स्वतन्त्रता र मुक्तिको लडाई लडने नेपालीहरुको महान आन्दोलनप्रति मोर्चा एक्यबद्धता जाहेर गर्दै आन्दोलनमा सहभागी हुने बताउनु भयो। नेपालको प्रजातन्त्रको रक्षा र जनताको लक्ष्यप्राप्तिको महान लडाईमा सत्ताले नसुने सडक निस्कन पर्ने बताउदै संयोजक तिमोथीले पोर्चुगलमा रहेका समस्त अबैध आप्रबासीहरुले कसैको लहै-लहैमा नलागि साम्य भएर बस्न आग्रह गर्दै सबैलाई बैध गर्ने अभियानमा अथक प्रयत्नहरु भई रहेको जानकारी गराउनु भयो।


एनआरएन आईसीसी पूर्ण हमालले अतिथिको रूपमा बोल्दै दोहोरो नागरिकता ब्यबस्था गर्न र सम्बिधान सभाको निर्वाचनमा अब मताधिकार प्रयोग गर्न पाउने ब्यबस्था गर्न माग दोहोर्यौनु भयो।

कार्यक्रमको सफलताको कामना गर्दै जनप्रगतिशिल मन्च बेल्जियमका नबिन सापकोटा, बिष्णु भुजेल, लिलाधर पन्त, लोकतान्त्रीक गणतान्त्रिक मोर्चा स्वीजरल्याण्डका संयोजक कमल चौलागाई आदिले शुभ कामना सन्देश पठाउनु भएको थियो। कार्यक्रमबाट प्रमुख अतिथि बरिष्ठ नेता सीपी गजुरेलको उपस्थितिमा तथा नेपाली बाम आन्दोलनका शिक्षक नेता रामबहादुर गौचनको अध्यक्षतामा १३ सदस्यीय नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा पोर्चुगलको औपचारिक निर्माण गरेकोछ।


मोर्चाको उपाध्यक्षमा डिल्लीराम भण्डारी, महासचिबमा लक्ष्मण देबकोटा, सचिवमा जयराम लामा र कोषाध्यक्षमा तारा प्रशाद शेरचन “बिष्णु” तथा सदस्यहरुमा बेलकाजी गुरुङ , प्रेम परियार, डिल्लीराम चापागाई, बैकुण्ठ पहारी”राम”, प्रेम पाठक, रामबहादुर पुन “हरी”, बिष्णु बराल, केजिन राई रहनु भएकोछ।

मोर्चाका पोर्चुगल अध्यक्ष रामबहादुर गौचनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मोर्चाका सदस्य जयराम लामाले स्वागत तथा उपस्थित सबैलाई मोर्चाका सदस्य केजिन राईले धन्यबाद ज्ञापन गर्नु भएको सो कार्यक्रम सञ्चालन प्रेम पाठकले गर्नु भएको थियो।

कार्यक्रममा नेता गजुरेल तथा शर्माले तरुणदल, लोकतान्त्रिक मन्च, जनसम्पर्क समिति नेपाली समाज लगायतका उपस्थित बिशाल जनसमूहले राखेका बिबिध जिज्ञासाको उत्तर दिनुका साथै कुनै पनि संगठनलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर प्रशिक्षण समेत दिनु भएको थियो।


Popularity: 9%

1 comment November 7th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category

More news....